केही दिनभित्रै समाजवादी मोर्चा गठन गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा


काठमाडौँ – प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनभित्रै समाजवादी मोर्चा गठन गर्ने घोषणा गर्नुभएको छ ।
कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा नेकपा एकीकृत समाजवादीले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले समाजवादी मोर्चामार्फत नै कम्युनिष्ट ध्रुवीकरण सुरु हुने समेत बताउनुभयो । उहाँले विभिन्न कारणले यसअघि नेकपा दुर्घटना परेको उल्लेख गर्दै लाखौँ कार्यकर्ता र जनताले अनुमोदन गरेको नेकपातर्फ फर्किन पहल गरिने धारणा राख्नुभयो । मोर्चा र एकताको अभियान सुरु गरेपछि एमालेभित्रै पनि डिबेट सुरु हुने प्रचण्डले बताउनुभयो ।
उहाँले आग्रह वा पूर्वाग्रहमा नगई देशको आवश्यकतालाई मध्यनजर गर्दै कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्ने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम र बजेट मार्फत देशलाई नयाँ आशा र विश्वास दिने गरी सरकारले तयारी गरिरहेको बताउनुभयो ।
उहाँले आफ्नो विदेश भ्रमण हुन लागेको भन्दै त्यसको तयारीमा लागेको पनि धारणा राख्नुभयो ।