`

एमाले अध्यक्ष ओलीमाथि अभद्र व्यवहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ : नारायणकाजी श्रेष्ठ

Nepal One HD १३ वैशाख २०८० १७:२७
राजनीति

काठमाडौँ – उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी ओलीमाथि कालोझण्डा प्रदर्शन र ढुंगामुढा गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिनुभएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा श्रेष्ठले कोसी नामकरणमा विरोध गर्ने समूहले कालोझण्डा प्रदर्शन गर्ने र कार्यक्रम हुन नदिने प्रयासस्वरुप ढुंगामुढा गर्ने काम गरेको भन्दै ढुंगामुढा प्रहारमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएको जानकारी दिनुभएको हो ।

घटना लगतै प्रहरीले स्थिति नियन्त्रणमा लिएको र ओली आफ्नो कार्यक्रम स्थलतर्फ गएको उहाँले बताउनुभयो । उहाँले सरकार संविधानको प्रभावकारी कार्यान्वयनका लागि दृढ रहेको र संविधान अन्तर्गत लोकतान्त्रिक अधिकारको प्रयोग गर्न र शान्तिपूर्ण तवरबाट विचार राख्न छुट रहेको बताउनुभयो । तर कुनै पनि कोणबाट गैर संवैधानिक गतिविधि गर्ने, नेता, जनताको कार्यक्रमलाई अवरोध गर्ने कामलाई छुट दिन नसकिने उहाँले धारणा राख्नुभयो ।

त्यस्तै श्रेष्ठले मिटरब्याजी पीडितसँग गरिएको सम्झौतालाई कार्यान्वयन गर्दै यससम्बन्धी समस्या सदाका लागि अन्त्य गरिने बताउनुभयो । मिटर ब्याजलाई फौजदारी कानुनको परिभाषामा समेट्ने गरी मुलुकी फौजदारी संहिता संशोधन मस्यौदा विधेयक मन्त्रिपरिषद् स्वीकृत गरिसकेको र छिटै संसदमा पेश गरिने उहाँले जानकारी दिनुभयो ।

उपप्रधान एवं गृह मन्त्री श्रेष्ठले नागरिकता सम्बन्धी कानुनलाई सबैको सहमतिमा नै अघि बढाउनका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

श्रेष्ठले शान्ति प्रक्रियाका बाँकी कामलाई अघि बढाउनका लागि सबैको सहयोग आवश्यक रहेकाले सबैको भावना अनुसार नै सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कानुनलाई अघि बढाइने जिकिर गर्नुभयो ।


प्रतिक्रिया