`

कृषि ऐनका लागि मस्यौदा बनाउने काम भइरहेको छ : बेदुराम भुसाल

Nepal One HD २८ वैशाख २०८० १७:१३
राजनीति

काठमाडौँ – कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालले कृषि ऐन बनाउने तयारी भइरहेको जानकारी दिनुभएको छ ।

बिहीबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा मन्त्री भुसालले नेपाल कृषिप्रधान देश भए पनि कृषि सम्बन्धी कुनै ऐन नभएकाले कृषि ऐन बनाउनका लागि मस्यौदा बनाउने काम भइरहेको जानकारी गराउनुभएको हो । मूल कृषि ऐन बनाउँदा यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि सहज हुने उहाँले बताउनुभयो ।

त्यस्तै मन्त्री भुसालले मल ल्याउनका लागि अर्थ मन्त्रालयले आवश्यक सहजीकरण गर्नुपर्ने बताउनुभयो । यो वर्ष ३८ अर्ब भन्दा बढीको मल आयात गरेको भन्दै आगामी आर्थिक वर्षमा त्यही अनुसारको तयारी गर्नुपर्ने उहाँको भनाइ छ । मन्त्री भुसालले कृषि उत्पादनमा वृद्धि गरेर आयात प्रतिस्थापन गरेको निर्यात प्रवर्द्धन गर्ने नीति रहेपनि त्यसअनुसार राज्यले लगानी गर्न नसकेको धारणा राख्नुभयो । अर्थतन्त्रको मेरुदण्ड कृषि क्षेत्र भए पनि यस क्षेत्रमा बजेटको समस्या हुने गरेको उहाँले बताउनुभयो ।

उहाँले अहिले रैथाने बालीलाई पनि प्राथमिकतामा राख्दै जमिन र बढी उत्पादनशील बीउ आवश्यक रहेको बताउनुभयो । उहाँले तराईका ५० प्रतिशत जमिन अझै पनि सिँचाइबाट वञ्चित हुन पुगेको र जनशक्तिका अभावका कारण जमिनहरू बाँझो रहने अवस्था देखिएको र जसका कारण उत्पादनमा कमी हुने गरेको पनि बताउनुभयो ।


प्रतिक्रिया