शरणार्थी प्रकरण मिलेमतोमा सल्ट्याउने प्रयास गर्नु नहुने रास्वपा निष्कर्ष


काठमाडौँ – शीर्षस्थ तीन दलका नेताहरुको बैठकलाई लिएर रास्वपाले आशंका व्यत्त गरेको छ ।
पार्टीको संसदीय दलको बैठकमा तीन दलका शीर्ष नेताहरूको बैठक बसेर नक्कली शरणार्थी प्रकरण मिलेमतोमा सल्ट्याउने प्रयास गर्नु नहुने निष्कर्ष निकालेको हो ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बारम्बार बसिरहेको बैठकलाई लिएर रास्वपाले आशंका व्यत्त गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक सन्तोष परियारले संसदीय दलको बैठकमा भ्रष्टाचारको घटना मिलाउनका लागि तीन दलको बैठक बस्नु नहुने पनि स्पष्ट पार्नुभयो । उहाँले आफ्नो पार्टी राजनीतिक लेनदेनमा नबस्ने भन्दै संसद् प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । भ्रष्टाचारमा अहिले भइरहेको छानबिनको विषयलाई पार्टीले समर्थन गर्ने तर यतिमा मात्रै खुसी हुने अवस्था नरहेको भन्दै उहाँले सबै चनाखो भएर रहनुपर्ने अवस्था आएको बताउनुभयो । नक्कली भुटानी शरणार्थी प्रकरणलाई तलमाथि हुन नदिन आफ्नो पार्टी लागिपरेको उहाँको भनाई छ ।
बैठकमा शीर्षस्थ नेताहरुको बैठक बस्न मिल्ने तर संसदीय गतिविधिहरू संसद्बाट नै हुनुपर्ने अडान रास्वपाको रहेको थियो ।