भैरहवा विमानस्थल अध्ययन उपसमितिमा नराखेकोमा माओवादीको आपत्ति

काठमाडौं । नेकपा माओवादी केन्द्रले भैरहवा विमानस्थल अध्ययन उपसमितिमा आफ्नो प्रतिनिधित्व नगराइएकोमा आपत्ति जनाएको छ ।
बुधबारको लेखा समितिको बैठकमा माओवादी केन्द्रका सांसद राजन दाहालले भैरहवा विमानस्थल अध्ययन उपसमितिमा आफ्नो दलका सांसदलाई नराखिएकोमा आपत्ति जनाएका हुन् । उनले प्रश्न गरे, ‘उपसमितिमा माओवादी केन्द्रलाई किन सहभागी गराइएन ?’
कांग्रेस सांसद मञ्जु खाँणको संयोजकत्वमा उपसमिति बनाएको थियो । यसअघि उपसमितिको संयोजक योगेश भट्टराई थिए । भट्टराई पूर्वपर्यटनमन्त्री भएकाले स्वार्थ बाझिने भन्दै उनी संयोजकबाट अलग भएका थिए ।
बैठकमा एमाले सचिव भट्टराईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको छानबिन उपसमितिमा जनार्दन शर्मा रहेको भन्दै प्रश्न उठाए । उनले शर्मा निर्णय प्रक्रियामा पनि रहेको र उपसमितिको सदस्य पनि रहेकाले स्वार्थको द्वन्द्व हुनसक्ने बताए ।
भट्टराईले भने, ‘भैरहवाकै प्रतिवेदन बनाउन तपाईंले मलाई रोक्नुहुन्छ भने यो पनि मान्न सकिँदैन ।’ भैरहवा विमानस्थल अध्ययन उपसमितिमा नेकपा एमालेका सांसदहरू योगेश भट्टराई, अच्युतप्रसाद मैनाली, सराज अहमद फारुकी, कांग्रेस सांसद श्यामकुमार घिमिरे, रास्वपा सांसद मनीष झा र स्वतन्त्र सांसद अमरेशकुमार सिंह सदस्य छन् ।