जनआन्दोलनमा सहभागिताका लागि राजावादीले लेखे रास्वपालाई पत्र

NepalOne
७ जेठ २०८२ १७:१९
बिशेष

काठमाडौं । संवैधानिक राजसंस्था र सनातन हिन्दू अधिराज्य सहित बहुदलीय प्रजातन्त्र पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले जेठ १५ देखि सुरु हुने जनआन्दोलनमा सहकार्य गर्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई पत्र पठाएको छ ।

समितिका संयोजक नवराज सुवेदीले रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई संयुक्त जनआन्दोलनमा सहकार्यका लागि प्रस्ताव गरेका हुन् ।

पत्रमा भनिएको छ, ‘तपाईंको पार्टीका सभापति श्री रवि लामिछानेज्यूले पनि हालको व्यवस्था अन्तर्गत निष्पक्ष न्याय पाउन सकिनेमा शंका व्यक्त गर्नुभएको तथ्य सर्वविदित छ । राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरू दलिय हस्तक्षेप र दलियकरणको गम्भीर शिकार बनिसकेको सन्दर्भमा यस व्यवस्थाबाट तपाईंहरू पनि सन्तुष्ट हुनुहुन्न भन्ने हाम्रो बुझाइ छ । यसैले वर्तमान व्यवस्था परिवर्तन गर्नु आजको ऐतिहासिक आवश्यकता हो भन्ने कुरामा हामीबीच साझा समझदारी हुन सक्ने आशा लिएको छु ।’

समितिले वर्तमान राजनीतिक व्यवस्थाले नेपाली जनताको सुशासन, समृद्धि र राष्ट्रिय पहिचानका अपेक्षाहरू पूरा गर्न असफल भएको कुरा आज सबैमा स्पष्ट भइसकेको र धर्म, संस्कृति र मौलिक मूल्य–मान्यतामा आधारित हाम्रो सनातन पहिचान गम्भीर संकटमा पर्दै गएको उल्लेख गरेको छ ।

पत्रमा भनिएको छ, ‘यस पृष्ठभूमिमा, तपाईंकै पार्टीको मूल सैद्धान्तिक चिन्तन र वर्तमान व्यवस्था प्रतिको आलोचनालाई दृष्टिगत गर्दै, म हाम्रो आन्दोलनमा सहकार्य र सहभागिताको प्रस्ताव गर्दछ । आउनुहोस्, यो चरम दलियकरण र अव्यवस्थाको अन्त्य गरी राष्ट्रिय पहिचान, न्याय, धर्म र लोकतन्त्र पुनःस्थापित गर्ने हाम्रो साझा लक्ष्यका लागि संयुक्त रूपमा अघि बढौं, संवैधानिक राजसंस्था, सनातन हिन्दू राष्ट्र, बहुदलिय प्रजातन्त्र पूनस्र्थापना गरौ ।’


प्रतिक्रिया