सरकारलाई राप्रपाको चेतावनीः हिम्मत भए आन्दोलनमा प्रतिबन्ध लगाउनु


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपाली जनताले सडकमै फैसला गर्न बाध्य नपार्न सरकारलाई चेतावनी दिएका छन् ।
बिहीबार सामाजिक संजालमार्फत शाहीले सरकारलाई आन्दोलनमा प्रतिबन्ध नलगाउन चेतावनी दिएका हुन् । बिहीबार दिउँसो मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचारमन्त्री पृथ्वीसुब्बा गुरुङले राजावादीको आन्दोलनमा प्रतिबन्ध लगाउन संवैधानिक हक रहेको बताएका थिए । त्यसको जवाफमा शाहीले यस्तो बताएका हुन् ।
शाहीले भनेका छन्, ‘नेपाल सरकारका प्रवक्ता एवंम माननीय सूचना , प्रविधि तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङज्यू तपाईँ नेपालको संविधानको पालना गर्नुहोस् । संविधानको धारा २७० ले फरक विचार राख्ने पार्टी, दल, संघसंस्था बन्देज गर्न पाइँदैन भनेको छ त्यति मात्र होइन फरक अभिव्यक्ति स्वतन्त्रतालाई हनन गर्ने कुनै पनि किसिमको ऐन कानुन बनाउन पाइँदैन। यदि कुनै ऐन कानुन बनेमा स्वतः खारेज हुनेछ भनेर लेखिएको छ।’
उनले संचारमन्त्रीलाई संविधान अध्ययन गर्न आग्रह गरेका छन् । शाहीले जबर्जस्त गर्न खोजे नेपाली जनता सडकमै फैसला गर्न बाध्य हुने चेतावनी दिएका छन् ।
उनले भनेका छन्, ‘तपाईँलाई संविधानको अध्ययन गर्न आउँदैन कि ? तपाईँ संविधानभन्दा आफूलाई ठूलो ठान्नुहुन्छ ? मन्त्रीपद भनेको संविधानभन्दा ठूलो होइन। त्यसैले भन्छु यसरी संविधानको ठाडो उल्लङ्घन गर्दै धज्जी उडाउँदै अभिव्यक्ति निर्देशन दिने काम बन्द गर्नुहोस्। राष्ट्रवादीलाई धम्काउँछु भन्ने अभिव्यक्ति नेपाल प्रहरीको आइजीपीको जिब्रो थुत्छु भने जस्तो होइन“ अन्यथा नेपाली जनताले सडकमै फैसला गर्न बाध्य नपार्नुहोस्।’