परराष्ट्रमन्त्री राणा र चीनका विदेशमन्त्रीबीच भेटवार्ता

NepalOne १६ जेठ २०८२ १७:२८
बिशेष

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा र चीनका विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । हङकङमा मध्यस्थताका लागि अन्तर्राष्ट्रिय सङ्गठन स्थापनासम्बन्धी महासन्धिमा हस्ताक्षर समारोहका क्रममा शुक्रबार उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटमा आफूहरुबीच उच्चस्तरीय आदानप्रदान र विकास सहयोग सहित नेपाल–चीन द्विपक्षीय सम्बन्धका विभिन्न पक्षहरूमा छलफल भएको मन्त्री राणाले जानकारी दिइन् ।

त्यस्तै दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ पार्न सँगै मिलेर काम गर्ने विषयमा पनि छलफल भएको उनले बताइन् । जनवादी गणतन्त्र चीनको हङकङ विशेष प्रशासनिक क्षेत्रमा ‘मे ३०’ मा हस्ताक्षर समारोह भएको हो ।

सो समारोहमा नेपाल पर्यवेक्षक राष्ट्रका रूपमा सहभागी भएको हो । मन्त्री राणाको नेतृत्वमा परराष्ट्र मन्त्रालय एवं हङकङस्थित नेपाली महावाणिज्य दूतावासका वरिष्ठ अधिकारी सम्मिलित प्रतिनिधिमण्डल समारोहमा सहभागी भएको छ ।


प्रतिक्रिया