‘जनतामा भ्रम दिएर राष्ट्रिय स्वतन्त्र पार्टी उदाएको हो’ : अध्यक्ष नेपाल


काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा माअोवादी केन्द्र ढुलमुले चरित्रको रहेको टिप्पणी गरेका छन् । शनिबार पार्टी बैठकमा पेस गरेका राजनीतिक प्रतिवेदनमा उनले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबैजसो दलको समीक्षामा यस्तो उल्लेख गरिएको छ ।
प्रतिवेदनमा नेपालले भनेका छन् माअोवादीको वर्ग अडान स्पष्ट छैन, सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियामा आएको यो पार्टी शान्ति प्रक्रिया लम्बिँदै गएपछि सत्ताको वरिपरि केन्द्रीय हुँदै गएको छ’ नेकपा एमालेलाई दक्षिणपन्थी अवसरवादी चरित्रको कम्युनिस्ट पार्टी भन्दै उसको वर्ग अडान स्पष्ट नभएको उल्लेख गरेका छन् । उनले भनेका छन् , ‘दलाल पुँजीपति वर्गसँगको लसपसले गर्दा यसको नेतृत्व तीव्र गतिमा दक्षिणपन्थी हुँदै गएको छ, यो पार्टी संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध छैन । ’
राष्ट्रिय स्वतन्त्र पार्टीलाई भने अध्यक्ष नेपालले पुँजीपति वर्ग चरित्रको पार्टी भन्दै यसको दर्शन, सिद्धान्त, विचार र कार्यदिशा स्पष्ट नभएको बताएका छन् । यो पार्टी राजनीतिक अन्योल र सामाजिक निराशाको परिस्थितिमा सस्तो लोकप्रियताको नारा दिएर उदाएको अध्यक्ष नेपालले बताएका छन् । ‘सस्तो लोकप्रियतावादले सर्वसाधारण जनतामा भ्रम दिएर प्रतिक्रियावादको सेवा गर्नेछ’ उनले भनेका छन् ।