`

मधेशका काकाकुल क्षेत्रमा दमकलले पानी ओसार्दै

धनुषा । वीरगञ्जसहितका मधेसका विभिन्न स्थानमा उत्पन्न खानेपानीको सङ्कट समाधान गर्न मधेस प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले वारुणयन्त्रबाट पानी आपूर्ति गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारसँग रहेका पाँच हजार लिटर क्षमताका आठवटा वारुणयन्त्र आज वीरगञ्ज पठाइएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले खानेपानी समस्या समाधानका निम्ति आफू क्रियाशील रहेको बताए । खानेपानीको समस्या भएका स्थानमा वारुणयन्त्र चाबीसै घण्टा परिचालित गरिने जानकारी दिँदै उनले वारुणयन्त्रको व्यवस्थापन र पानी आपूर्ति नेपाली सेनाले गर्ने बताए ।

साथै सेनाले आफूसँग भएका सातवटा ट्याङ्करबाट पनि पानी आपूर्ति गर्ने तयारी गरेको जनाइएको छ । यसअघि वन विभागले तीनवटा ट्याङ्करमार्फत सुक्खाग्रस्त क्षेत्रमा खानेपानी आपूर्ति गर्दै आएको थियो ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा भगवती न्यौपाने नियुक्त

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नेकपा (एमाले)की राष्ट्रियसभा सदस्य भगवती न्यौपाने नियुक्त भएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार अपराह्न न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका हुन् ।

‘नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आफ्नो पदबाट सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष राजीनामा दिनुभएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा माननीय श्री भगवती न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नु भएको छ,’राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

घुस डिल अडियो प्रकरणमा मुछिएका राजकुमार गुप्ताले मंगलबार नै पदबाट राजीनामा दिएसँगै न्यौपाने मन्त्रीमा नियुक्त भएकी हुन् ।

न्यौपाने राष्ट्रियसभामा एमाले संसदीय दलको प्रमुख सचेतकको भूमिकामा छिन् ।

‘ग्रास रुट’ अभियानले कार्यकर्तासँगको सम्बन्ध सुधार गरेको एमालेको निष्कर्ष

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सञ्चालन गरेको ‘ग्रास रुट’ अभियानले जनतासँग पार्टी र कार्यकर्तासँग नेताको सम्बन्धमा सुधार हुँदै गएको निष्कर्ष निकालेको छ । पार्टीको सङ्गठन विभागको बैठकमा सो अभियानले आम कार्यकर्ता चलायमान भएको निष्कर्ष निकालेको हो ।

सङ्गठन विभागका सचिव माधव ढुङ्गेलद्वारा जारी विज्ञप्तिमा गत वर्षको माघदेखि चैतसम्म सञ्चालन गरिएको वडा केन्द्रित ग्रास रुट अभियानका कारण पार्टी गतिविधि बढेको, मातहतका अधिकांश पार्टी कमिटीको अधिवेशन भएको, पार्टी सदस्यता नवीकरण र विस्तारमा उल्लेख्य प्रगति भएको जनाइएको छ ।

“जनतासँग पार्टी नेता र कार्यकर्ताको सम्बन्धमा सुधार आएको छ । जनसङ्गठनका महाधिवेशन र अधिवेशनहरू भएका छन्, उनीहरू क्रमशः आफ्नो समुदायमा स्थापित हुँदै गएको देखिएको छ”, विज्ञप्तिमा भनिएको छ, “अभियानले जिम्मेवारी पाएका नेता कार्यकर्ताको सक्रियता बढाएको र निर्णय कार्यान्वयनमा सुधार आएको महसुस भएको छ ।”

विज्ञप्तिमा उल्लेख गरिएअनुसार सो अवधिदेखि हालसम्म करिब ९८ प्रतिशत पालिका कमिटीका अधिवेशन भएको, ८५ प्रतिशत वडाका अधिवेशन भएको र करिब १७ हजारमध्ये १० हजारभन्दा बढी टोल कमिटीहरू गठन गरिएको छ ।

विभागले महाधिवेशन तथा अधिवेशनहरूमा जिम्मेवारी नपाएर बाहिर रहेका नेताहलाई अविलम्ब जिम्मेवारी दिन पार्टी नेतृत्वसँग अनुरोध गर्ने निर्णय गरेको छ । एमालेका २३ वटा जनसङ्गठनका महाधिवेशन सम्पन्न भएका छन् । पार्टीका ७७ जिल्लामध्ये ४९ वटामा निर्वाचन र २८ वटामा सर्वसम्मत नेतृत्व चयन भएको जनाइएको छ ।

बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाबाट ९० मेगावाट सञ्चालनमा: मन्त्री खडका

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट अवरुद्ध जलविद्युत् आयोजनामध्ये करिब ९० मेगावाट क्षमता बराबरको आयोजना सञ्चालनमा ल्याउन थालिएको बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुको सवालको जवाफ दिँदै मन्त्री खड्काले यस बाढीबाट क्षति पुगेका चिलिमे, देवीघाट, त्रिशूली, सूर्यकुण्ड, बुद्धभूमि,  अपरमौलुङलगायतका कुल ९० मेगावाट क्षमता बराबरका जलविद्युत् आयोजना सञ्चालनमा ल्याइएको जानकारी दिए। उनले ६० मेगावाट क्षमताको त्रिशूली ‘ए’ जलविद्युत् आयोजना केही दिनमा नै सञ्चालन हुने जानकारी गराए।

यस्तै बढी क्षमताका आयोजनालाई चाँडो सञ्चालनमा ल्याउन काम सुरु भइसकेको मन्त्री खड्काको भनाइ थियो ।

“सबैभन्दा बढी क्षति भएको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना संरचनालाई सञ्चालनमा ल्याउन केही समय लाग्छ”, उनले भने, “बाढीबाट उक्त आयोजनामा बढी क्षति पुगेको थियो । यसको ‘हेडवर्कस’मा पूर्णरुपले क्षति पुगेको छ । यसलाई सकेसम्म चाँडो सञ्चालनमा ल्याउनेगरी काम सुरु गरिसकेका छौँ ।”

सभाको अघिल्लो बैठकमा मन्त्री खड्काले रसुवा बाढीबाट त्रिशूली नदी करिडोरमा सञ्चालनमा रहेका विद्युत् आयोजना र प्रसारण संरचनामा गम्भीर क्षति हुँदा त्यसबाट करिब २६० मेगावाट राष्ट्रिय प्रसारण प्रणालीमा विच्छेद रहेको जानकारी दिएका थिए । उनले अहिले उक्त क्षेत्रमा बाढीको बहाव केही घट्दो क्रममा रहे पनि जोखिम यथावत् रहेको भन्दै सचेत रहन आग्रह गरे ।

विस्तृत अध्ययन तथा मूल्याङ्कन कार्य अघि बढाइएको जानकारी दिँदै मन्त्री खड्काले सावधानीका सबै उपाय अवलम्बन गरेको उल्लेख गरे । “पूर्वसूचना प्रणालीलाई थप प्रविधिमैत्री, सक्रिय र प्रभावकारी बनाउँछौँ”, उनले भने, “हिमतालको जोखिम मूल्याङ्कन तथा अनुगमनलाई संस्थागत गर्नुपर्ने आवश्यकता छ ।”

तीन देशका अन्तरिक्ष यात्रीहरूका लागि निजी अन्तरिक्ष उडान प्रशान्त महासागरमा अवतरण

केप क्यानाभेरल (फ्लोरिडा)। भारत, पोल्यान्ड र हङ्गेरीबाट ४० वर्षभन्दा बढी समयपछि पहिलो अन्तरिक्ष यात्रीहरू समावेश गरेको निजी अन्तरिक्ष उडान मङ्गलबार प्रशान्त महासागरमा अवतरणसँगै समापन भएको छ ।

उनीहरूको स्पेसएक्स क्याप्सुल सोमबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट अलग भएको थियो र २४ घण्टाभन्दा कम समयमा दक्षिणी क्यालिफोर्नियाको तटमा समुद्रमा प्यारासुटको सहायताले अवतरण गरेको थियो । चार जनाको टोलीले लगभग तीन हप्ताअघि ह्युस्टन कम्पनी एक्सिओम स्पेसद्वारा चार्टर्ड उडानमा प्रक्षेपण गरेको थियो । सबैभन्दा अनुभवी अमेरिकी अन्तरिक्ष यात्री एक्सिओमकी पेगी ह्विटसनले कमान्डरका रूपमा सेवा गरे ।

उनीसँग भारतका शुभांशु शुक्ला, पोल्यान्डका स्लावोस्ज उज्नान्स्की–विस्निएव्स्की र हङ्गेरीका तिबोर कापु थिए। उनीहरूको देशहरूले मिशनका लागि प्रत्येकले छ करोड ५० लाख डलरभन्दा बढी तिरेका थिए । भ्रमण गर्ने अन्तरिक्ष यात्रीहरूले आफ्नो सम्पदाको उत्सव मनाउँदै कक्षामा दर्जनौँ प्रयोगहरू सञ्चालन गरे । भारत, पोल्यान्ड र हङ्गेरीले अन्तिम पटक सन् १९७० र सन् १९८० को दशकको अन्त्यमा सोभियतहरूसँग अन्तरिक्षमा प्रक्षेपण गरेका थिए ।

यो सन् २०२२ पछि परिक्रमा चौकीमा एक्सिओमको चौथो मिशन थियो र नासाको थप व्यवसाय र मानिसहरूका लागि ठाउँ खोल्ने चलिरहेको प्रयासको एक हिस्सा हो । कम्पनी हालको स्टेसन प्रतिस्थापन गर्न आफ्नै अन्तरिक्ष स्टेसनहरू विकास गर्ने धेरैमध्ये एक हो । नासाले ३० वर्षभन्दा बढी सञ्चालनपछि सन् २०३० मा चौकी त्याग्ने योजना बनाएको छ ।

सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेस

काठमाडौँ । सार्वजनिक लेखा समितिको २३औँ वार्षिक प्रतिवेदन, २०८२ प्रतिनिधिसभामा पेस भएको छ ।
समितिका सभापति ऋषिकेश पोखरेलले आजको बैठकमा प्रतिवेदन पेस गर्दै अर्थ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, खानेपानीलगायत मन्त्रालयको धेरै बेरुजु भएको र त्यस विषयमा समितिमा छलफल सम्पन्न भइसकेको जानकारी दिए। समितिको २५६ वटा बैठक सकिएको उनले बताए ।
सांस्कृतिक सम्पदा भाडाामा दिने काम रोक्न समितिले सरकारलाई निर्देशन दिएको सभापति पोखरेलले जानकारी दिए । बेरुजुको सम्परीक्षण  भइरहेको उनको भनाइ थियो ।
बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा सभामुख देवराज घिमिरेले पढेर सुनाएका थिए ।

सेयर बजारमा हरियाली, ३४ अंकले बढ्याे

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ४६ अङ्कले बढेर दुई हजार ७६० दशमलव १७ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव २६ प्रतिशतको वृद्धि हो ।
आज ३१७ कम्पनीको दुई करोड ६५ लाख १७ हजार २०९ कित्ता शेयर ७४ हजार ५७ पटक खरिदबिक्री हुँदा रू नौ अर्ब ४१ करोड ९१ लाख ६५ हजार ८०७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । बैंकिङ एक दशमलव ८१, विकास बैङ्क एक दशमलव २२, वित्त एक दशमलव ७९, होटल तथा पर्यटन शून्य दशमलव ९३, जलविद्युत् एक दशमलव ७१, लगानी एक दशमलव ०८ र जीवन बीमा शून्य दशमलव ६८ प्रतिशतले बढेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन शून्य दशमलव ८८, लघुवित्त एक दशमलव २८, निर्जीवन बीमा शून्य दशमलव ७६, व्यापार शून्य दशमलव ८५ र अन्य समूह शून्य दशमलव ५२ प्रतिशतले बढेको छ ।
सुपर मादी हाईड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै आठ दशमलव ०८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने भगवती हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य चार दशमलव ६४ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै बुटवल पावर कम्पनी लिमिटेडको रू ५२ करोड ३२ लाख ६३ हजार ६३ बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने प्रभु सेलेक्ट फन्डको १२ लाख २१ हजार ६०० कित्ता शेयर खरिदबिक्री भएको छ ।

ओझा निलम्बनमा परेपछि बीमा प्राधिकरणको जिम्मेवारी सहसचिव पोखरेललाई

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदबाट शरद ओझा निलम्बित भएपछि उक्त जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई दिइएको छ ।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष आज पोखरेलले पद तथा गोपनियताको सपथ लिएका हुन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष भइ काम गर्ने गरी तोक्ने निर्णय गरेको थियो ।

नेपाल बीमा प्राधिकरण सञ्चालक समितिका अध्यक्ष ओझाका बारेमा उजुरी परेपछि मन्त्रिपरिषद्को बैठकले बीमा ऐन २०७९ को दफा १२ को उपदफा २ बमोजिम उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा तीन सदस्यीय छानविन समिति गठन गरेको छ। छानबिन समिति गठन भएपछि ओझा स्वतः निलम्बन परेका छन्।

यसैबीच, छानबिन समितका अध्यक्ष गिरी, सदस्यद्वय जीवनप्रकाश सिटौला र कपिलदेव ओलीले आज पत्र बुझ्नु भएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ।

तुइन चुँडिदा महाकाली खसेर दार्चुलाका नारायण बुढाथोकी बेपत्ता

दार्चुला । तुइन चुँडिदा महाकाली नदीमा खसेर एकजना बेपत्ता भएका छन् । दार्चुलाको व्याँस गाउँपालिका–२ दुम्लिङस्थित तुइनबाट मंगलबार महाकाली नदीमा खसेर स्थानीय २८ वर्षीय नारायण बुढाथोकी बेपत्ता भएका हुन् ।

मध्यान्ह १२ बजे दुम्लिङबाट महाकाली तरेर भारततर्फ जानेक्रममा बुढाथोकी तुइन चुँडिदा नदीमा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए ।

नारायणसँगै स्थानीय २६ वर्षीय जितु बिष्ट र ४५ वर्षीय जयदु बुढाथोकी पनि तुइनमार्फत महाकाली नदी पार गर्न गएका थिए । नारायणभन्दा अघि जितुले तुइनमार्फत महाकाली नदी सकुशल पार गरी भारतर्फ गएका थिए । त्यसपछि महाकाली पार गर्ने क्रममा नारायण नदीको बीच भागमा पुगेपछि तुइन चुँडिदा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

घटनापछि जितु र नारायणसँगै गएका जयदुले तुइन चढ्ने प्रयास नै गरेनन् । बेपत्ता भएका नारायणको स्थानीयवासी र प्रहरीले खोजी गरिरहेको प्रहरी निरीक्षक रावतले बताए ।

पूर्वाञ्चल विश्वविद्यालयको सभा : एक अर्ब ७० करोड बजेट स्वीकृत

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको आज सम्पन्न ४१ औ सभा बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ७० करोड १४ लाख ३० हजारको बजेट स्वीकृत गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकमा रजिष्ट्रार प्रा डा कल्याणी मिश्र त्रिपाठीद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ का प्रस्तावित आय–व्यय विवरण स्वीकृत भएको हो ।

यस्तै उपकुलपति प्रा डा बिजुकमार थपलियाद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । सो विश्वविद्यालयले शिक्षण अस्पतालको स्तरोन्नतिसहित एमबिबिएस कार्यक्रम सञ्चालनका लागि प्राथमिकता दिएको छ ।

प्रधानमन्त्री एवं कुलपति ओलीको तत्परतामा नयाँ आर्थिक वर्ष लाग्नुपूर्व नै सबै विश्वविद्यालयको सभा बैठक आयोजना भई बजेट स्वीकृतिको क्रम जारी रहेको छ ।

ऊर्जा क्षेत्रमा लगानीमैत्री वातावरण बनाउन सभापति देउवाको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी र विदेशी लगानीकर्ताले नेपालमा ढुक्कका साथ लगानी गर्न सक्ने वातावरण तयार पार्नुपर्नेमा जोड दिएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २३औँ वार्षिक साधारणसभामा सभापति देउवाले लगानीकर्तालाई सहज र सरल प्रक्रियाबाट ऊर्जा क्षेत्रमा लगानी गर्ने वातावरण तयार गरेमा निजी लगानी प्रोत्साहन गर्न सकिने बताए। उनले स्वदेशमा उत्पादित विद्युत्को खपत र व्यापार गर्ने प्रमुख दायित्व सरकारको भएको उल्लेख गर्दै नेपालमा उत्पादित विद्युत्को नेपालमा नै खपत बढाउने लक्ष्य राख्नुपर्ने तथा बढी भएको बिजुली निर्यात गर्न सकिने बताए ।

“जलविद्यत्मा लगानीका लागि निजी क्षेत्र र जनताको समेत सक्रिय सहभागिता रहेको छ । जलविद्युत् आयोजनामा आइपिओ रोक्नु गलत छ । अब धितोपत्र बोर्डले चाँडै शेयर निष्कासन प्रक्रिया अघि बढाउनुपर्छ,” सभापति देउवाले भने, “लगानीका लागि आउनेलाई सहज र सरल माध्यमबाट लगानी गर्ने वातावरण बनाउनुपर्छ । लगानीकर्तालाई दुःख दिनु हुँदैन ।”

नेपालको आर्थिक र सामाजिक विकासमा पनि निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सभापति लविद्युत् आयोजनामा निजी क्षेत्रको संलग्नतासम्बन्धी नीति कार्यान्वयनमा देखिएका कमजोरी सच्याएर निजी क्षेत्रलाई थप प्रोत्साहन गर्न तथा उत्पादन वृद्धिमा सहयोग गर्नुपर्नेमा जोड दिए ।

सभापति देउवाले ऊर्जा क्षेत्रलाई नेपालको प्रकृतिले दिएको महत्वपूर्ण सम्पत्तिको सङ्ज्ञा दिँदै ग्रिन इनर्जी (हरित ऊर्जा) तर्फ थप ध्यान केन्द्रित गर्दै सम्भावना विस्तार गर्नुपर्ने बताए ।

“अहिले उत्पादित विद्युत्को खपत बढाउनु र व्यापार सुनिश्चित गर्नु सरकारको दायित्व हो,” उनले भने, “यसका लागि निजी क्षेत्रलाई सहभागी गराउनु जरुरी छ । स्वदेशी तथा विदेशी लगानीकर्ताले ढुक्कसँग लगानी गर्न सक्ने वातावरण सुनिश्चित गर्नुपर्छ ।” निजी क्षेत्रको योगदानका कारण मुलुकमा ‘लोडसेडिङ’ अन्त्य भएको सभापति देउवाको भनाइ थियो ।

स्पेन भ्रमणबारे छानबिन गर्न एसएसपीको नेतृत्वमा छानबिन समिति गठन

काठमाडौं । स्पेन भ्रमणमा भिजिट भिसामा गएर नफर्किएकाहरूबारे छानबिन गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होबिन्द्र बोगटीको नेतृत्वमा छानबिन समिति गठन भएको छ।

सिआइबी र मानब बेचबिखन अनुसन्धान ब्युरोका सदस्यहरू रहनेगरी ६ सदस्यीय समिति बनाइएको हो।

ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङका अनुसार, सार्वजनिक भएका विवरणहरुबारे जाँच गर्न सीआईबी र मानव बेचबिखन अनुसन्धान ब्यूरोको संयुक्त टोलीलाई खटाउने हिसाबले समिति बनाइएको हो ।

यो समितिलाई रकम लिएर स्पेन पठाइएको भनिएको घटनाको सत्यतथ्य पत्ता लगाउने जिम्मेवारी दिइएको छ ।

 

संसद्‌मा रास्वपाको प्रश्न- गृहमन्त्रीमा नैतिकता कहिले जाग्ने हो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमार्फत ‘भइरहेको’ मानव तस्करीबारे सरकारले नसुनेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद नेपालीले भिजिट भिसाको आवरणमा भइरहेको तस्करीबारे आफूहरूले निरन्तर आवाज उठाए पनि सरकारले पेलेरै जाने प्रवृत्ति देखाएको बताए ।

“संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएको समाचार आएको छ । यतिले मात्र हुँदैन । अरू मन्त्री पनि पोलिएका छन्, यस विषयमा निष्पक्ष छानबिन होस् । दोषीउपर सख्त कारबाही यथाशीघ्र होस्,” उनले भने ।

उनले अगाडि थपे, “तर अझै पनि एउटा गम्भीर प्रश्न अनुत्तरित नै छ सभामुख महोदय, अध्यागमन विभागमार्फत भइरहेको मावन तस्करीको प्रत्यक्ष संरक्षण र अप्रत्यक्ष संलग्नता भएका गृहमन्त्रीको नैतिकता कहिले जाग्ने हो ? त्यो पदको यत्रो लोभ किन हो ? छानबिन समिति कहिले बन्ने हो ?”

उनले अडियो प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएरमात्र नपुग्ने बताए ।

राजकुमार गुप्तालाई पक्राउ गरेर छानबिन गरियोस्: ज्ञानेन्द्र शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले आजमात्रै पदबाट राजीनामा दिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पक्राउ गरेर छानबिन गर्नुपर्ने बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभामा बोल्दै  शाहीले गुप्ताले मन्त्री पदबाट राजीनामा दिएर मात्रै नपुग्ने भन्दै पक्राउ गरेर छानबिन गर्न माग गरे ।

बहालवाला मन्त्रीले घूसको डिल गरेको अडियो सार्वजनिक हुने बेलासम्म छानबिन गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग के हेरेर बसेको छ भन्ने प्रश्न पनि सांसद शाहीले गरे ।

संविधान संशोधन अल्पमत र बहुमत नभई आमसहमतिको विषय होः अर्थमन्त्री पौडेल (अन्तरवार्ता)

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल पछिल्ला चार निर्वाचनमा रुपन्देही जिल्लाबाट लगातार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्दै आएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष समेत रहेका अर्थमन्त्री पौडेल त्यसअघि २०५१ सालमा पाल्पा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य बनेका थिए ।

विसं २०५४ युवा, खेलकुद तथा संस्कृतिमन्त्रीको जिम्मेवारी सम्हालेका उनले त्यसयता जलस्रोत मन्त्री, रक्षामन्त्री, अर्थमन्त्रीको जिम्मेवारी सम्हाली सकेका छन् । पार्टीभित्र सन्तुलित र प्रस्ट धारणा राख्ने छवि बनाएका उपाध्यक्ष पौडेल पार्टी नेतृत्वले पत्याएका नेताका रुपमा रहेका छन् ।

उपप्रधान तथा अर्थमन्त्री पौडेलसँग राससका समाचारदाता सुशील दर्नालले बजेट, मौद्रिक नीति, वैदेशिक लगानीको वातावरण, सरकारको एक वर्षको मूल्याङ्कनलगायतका विषयमा लिएको अन्तर्वार्ताको सम्पादित अंशः

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट र मौद्रिक नीतिले देशको आर्थिक विकासलाई अघि लैजान कसरी सम्भव होला ?

बजेटले अर्थतन्त्रलाई चलायमान गर्न, उत्पादन र उत्पादकत्व वृद्धि गर्न, रोजगारी सिर्जना गर्न, स्वदेशी र विदेशी लगानीलाई आकर्षित गर्न सहयोग पुग्नेछ । यो बजेटले ऊर्जा, जलस्रोत, औद्योगिकीकरण, श्रम रोजगार, शिक्षा, स्वास्थ्य र कृषिको क्षेत्रमा धेरै महत्वपूर्ण विषय अघि सारेको छ । यस्ता कार्यक्रम कार्यान्वयनले हाम्रो अर्थतन्त्र चलायमान हुन्छ भन्ने सरकारको विश्वास छ ।

मौद्रिक नीतिले पनि स्वाभाविक रुपमा आर्थिक विकासलाई टेवा दिने हो । समग्रमा सरकारको मौद्रिक नीति र बजेटको प्रभावकारिताको माध्यमबाट हामीले अर्थतन्त्रलाई गतिशील बनाउन सक्छौँ । त्यसैले हामीले भनेका छौँ कि आगामी आर्थिक वर्ष छ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्छौं ।

वर्तमान सरकार गठन भएको एक वर्ष भयो । यो अवधिमा नेपालमा लगानीमैत्री वातावरण निर्माण गर्न गरिएका नीतिगत र कानुनी सुधार के–के हुन् ?

लगानीमैत्री वातावरण निर्माण गर्न वर्तमान सरकारले धेरै नीतिगत सुधार गरेको छ । कानुनी सुधार पनि गरिएको छ । सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) ऐन २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन २०८१, निजीकरण (पहिलो संशोधन) ऐन २०८१, भन्सार महसुल ऐन, २०८१, बैङ्किङ कसुर तथा सजाय ऐन २०८२ र भन्सार ऐेन २०८१ ल्याएको छ ।

त्यसैगरी, विनियोजन ऐन २०८२, राष्ट्र ऋण उठाउने ऐन २०८२, आर्थिक ऐन २०८२, वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८१, (प्रतिनिधिसभामा पेस), आन्तरिक राजस्व परिचालन रणनीति सार्वजनिक २०८१, सार्वजनिक खर्चलाई मितव्यायी तथा प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड २०८१ र वैदेशिक सहायता परिचालन नीति २०८२ पनि सार्वजनिक गरेको छ । यद्यपि, लक्ष्यअनुसारको राजस्व सङ्कलन, पुँजीगत खर्चमा थप वृद्धि र नेपाललाई वित्तीय अपराध नियन्त्रण कार्यदल (एफएटिएफ) को सूचीबाट बाहिर निस्कने अर्थतन्त्रका चुनौती छन् ।

निजी क्षेत्रको दायित्व भुक्तानी, आर्थिक वृद्धिदर, बहुवर्षीय ठेक्का प्रक्रिया, अर्थतन्त्रको आकार, राजस्व वृद्धि, पुँजीगत खर्च र पुँजी बजारमा सुधार कसरी भएको छ ?

निजी क्षेत्रका गुनासा तथा मागहरु सुनुवाइ र आत्मविश्वासमा वृद्धि भएको छ । निर्माण क्षेत्रका गुनासा र माग सुनुवाइ भएका छन् । अघिल्लो वर्षको दायित्व ३० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी तथा भुक्तानीको समस्या साम्य भएको छ । चालु आर्थिक वर्षमा आर्थिक विकास ४.६१ प्रतिशत लक्ष्य प्राप्तिको प्रक्षेपण भएको छ । गत वर्ष ३.८७ प्रतिशत थियो । बहुवर्षीय ठेक्का प्रक्रियालाई व्यवस्थित र कार्यान्वयनयोग्य बनाइएको छ । अर्थतन्त्रको आकार चार खर्ब वृद्धि भएको छ । गत वर्ष ५७ खर्ब रहेकामा यो वर्ष ६१ खर्ब पुगेको छ । चालु आर्थिक वर्षमा राजस्व सङ्कलन १० खर्ब ९७ अर्ब भएको छ ।

चालु आर्थिक वर्षमा विप्रेषण योगदानको अवस्था कस्तो रह्यो ?

चालु आर्थिक वर्षमा विप्रेषण १५.५ प्रतिशत वृद्धि भई रु १५ खर्ब ३२ अर्ब पुगेको छ । अघिल्लो वर्ष १३ खर्ब २७ अर्ब थियो । शोधनान्तर स्थितिमा सुधार भएको छ । अहिले यो रु चार खर्ब ९१ अर्ब पुगेको छ । विदेशी विनिमय सञ्चिति १८ अर्ब ६५ करोड अमेरिकी डलर छ । यो गत वर्ष १४ अर्ब ७२ करोड डलर थियो ।

वैदेशिक सहायता प्रतिबद्धतामा पनि वृद्धि भएको छ । यो वर्ष एक खर्ब १९ अर्बले वृद्धि भएको छ । यो वर्ष कुल रु दुई खर्ब १९ अर्बको प्रतिबद्धता भएको छ । गत वर्ष सोही अवधिमा एक खर्ब दुई अर्ब प्रतिबद्धता रहेको थियो ।

यहाँसँग लामो संसदीय अभ्यास र अनुभव छ । मुलुकको वर्तमान संसदीय अभ्यासलाई कसरी विश्लेषण गर्नुभएको छ ?

संसद्मा सत्तापक्ष र प्रतिपक्षसहितको संसदीय अभ्यास सबै दृष्टिकोणले उत्कृष्ट हुनुपर्छ । सत्तापक्ष र प्रतिपक्षलाई पनि एजेन्डाले डो¥याउनुपर्छ भन्ने म ठान्दछु । पछिल्लो दिनमा प्रतिपक्षको काम कारबाहीले अचम्मित तुल्याएको छ । साथीहरु किन यसो गरिरहनुभएको छ, बुझ्न सकिएको छैन । प्रतिपक्षी दलका सांसदले विषयवस्तु उठाउनु हुन्छ, तर त्यो विषयसँग सम्बन्धित परिपक्व आधार हुँदैन, छैन । उहाँहरुले सदन बहिष्कार गर्नुहुन्छ । रोस्ट्रम घेर्नुहुन्छ । यो तरिका उपयुक्त होइन । तथ्य र तर्कमा आधारित भएर सदनमा प्रस्तुत हुने, सदनलाई विश्वास गर्ने अनि सदनमार्फत सिङ्गो समाजलाई विश्वास जित्ने गरी प्रतिपक्ष जानुपर्छ । त्यो नगरेका कारण प्रतिपक्ष केही दलको भूमिका अपरिपक्व देखियो ।

संविधान पूर्ण कार्यान्वयन हुन सकेन भन्ने गुनासो सुनिन्छ । यसमा यहाँको भनाइ के हो ?

संविधानका अधिकांश प्रावधान कार्यान्वयन भएकै छन् । संविधान बनेसँगै संविधानले परिकल्पना गरेको संरचना बनेका छन् । संविधानको मर्म र भावनाअनुसार धेरै कानुन बनेका छन् र कतिपय कानुन बन्ने क्रममा छन् । संविधानले परिकल्पना गरेअनुसार तीनै तहका दुईवटा निर्वाचनसम्पन्न भइसकेका छन् । जनप्रतिनिधि संस्थाले आ–आफ्नो काम गर्दै अगाडि बढ्ने कोसिस गरिरहेका छन् ।

आम रुपमा हेर्दा आधारभूत रुपमा संविधानको कार्यान्वयन भएको छ । जहाँसम्म, संविधानमा परिकल्पना गरिएका ध्येय र उद्देश्यहरु छन्, त्यो प्राप्तिका लागि समय लाग्छ । स्रोतसाधनको पनि आवश्यकता पर्छ । यी सबै कुरा हेर्दा समग्रतामा संविधान कार्यान्वयन सही मार्गमा अघि बढेको छ, भएको छ । संविधान कार्यान्वयसँग सम्बन्धित बाँकी अभिभारालाई प्रभावकारी ढङ्गले अगाडि बढाइरहेका छौँ ।

सरकारले संविधान संशोधनको विषय उठाएको वर्ष भए पनि संशोधनको सुरसार देखिँदैन नि ?

हामीले सुरुदेखि भन्दै आएका छौँ कि, संविधान ढुङ्गामा लेखिएको अक्षर होइन । समाज र राष्ट्रको आवश्यकता तथा अनुभवसँगै संविधान परिष्कृत हुने भन्ने मान्यता राख्छौँ । त्यसकारण संविधानलाई अपरिवर्तनीय होइन, परिवर्तन गर्न सकिने दस्तावेजको रुपमा मान्दछौँ ।

संविधान घोषणा भएदेखि आजसम्मको अनुभवका आधारमा संविधानमा कहाँ–कहाँ संशोधन गर्नुपर्छ होला भन्ने एक खालको अनुभूति राजनीतिक दलहरुको बीचमा र संसद्का सदस्यहरुमा भएको छ । ती विषयमा आवश्यकताका आधारमा छलफल गरी राजनीतिक सहमति जुटाउँदै संसद्बाट संविधान संशोधन गर्ने बाटो हिँड्नुपर्छ भन्ने सरकारको बुझाइ हो ।

सरकार बनाउँदा हामीले उल्लेख गरेको सात बुँदामध्ये एउटा महत्वपूर्ण बुँदा संविधान संशोधन पनि हो । हामी यसमा अहिले पनि त्यसप्रति प्रतिबद्ध छौँ । स्वाभाविक रुपमा रातारात आजको आजै गरिहाल्ने विषय होइन । पहिलो संविधान संशोधनको विषय पहिचान गर्नुपर्नेछ । त्यसपछि दलहरुको बीचमा छलफलको विषय छ । यो कुनै बहुमत वा अल्पमतको विषय होइन । संसद्को आम सहमतिको विषय हो । त्यही हिसाबले जानुपर्छ भन्ने सरकारको बुझाइ हो ।

सङ्घीय संरचनालाई सुदृढ बनाउने सन्दर्भमा सरकारहरुले पर्याप्त ध्यान दिएनन् भन्ने छ नि ?

सङ्घीयतालाई सुदृढ गर्ने भनेको संविधानमा जे व्यवस्था छ, त्यो कार्यान्वयन गर्ने कुरा हो । अहिले स्थानीय, प्रदेश र सङ्घीय तहको बीचमा आपसी समन्वय र सहकार्य भएको छ । सम्बन्धित तहले गर्नुपर्ने परिभाषित अभिभाराहरु एक साथ समन्वयात्मक ढङ्गले गरिएको छ ।

आ–आफ्नो क्षेत्राधिकारको विषयमा संविधानको अधिकारको सूची संविधानले निर्धारण गरेको छ । कुन तहको कर्तव्य के हो भन्ने कुरा पनि संविधानमा उल्लेख छ । त्यसअनुसार सरकारले काम गरेको छ । यद्यपि, नेपालको सन्दर्भमा सङ्घीयताको अभ्यास नयाँ हो । सङ्घीयताको अभ्यासका क्रममा केही सबल, केही दुर्वल अनुभव हामीले प्राप्त गरेका छौँ । सबल अनुभवलाई सुदृढ गर्दै जाने हो । कमजोरीलाई सच्याउँदै जानुको विकल्प छैन ।

वर्तमान राजनीतिक व्यवस्थामाथि नै खासगरी सामाजिक सञ्जालको प्रयोग गरेर नकारात्मक टीका–टिप्पणी भइरहेको देखिन्छ । यसप्रति तपाईंको भनाइ के हो ?

आर्यघाटमा विसर्जन गरिसकेको लास ब्यँुतेर आउने कुरा जति असम्भव छ, पुरानो व्यवस्था ब्युँतिने कुरा पनि त्यति नै असम्भव छ । अहिले राजतन्त्रको कुरा गर्नु भनेको समाजको अग्रगतिलाई रोक्ने कोसिस मात्र हो । नेपालमा राजतन्त्र अहिले होइन, कहिल्यै पनि आउँदैन । जन्मकै आधारमा राजा हुने कुरा न जीव विज्ञानसँग मेल खान्छ, न समाज विज्ञानसँग मेल खान्छ । यो प्रकृतिको नियमसँग पनि मेल खाँदैन । अझ सामाजिक सञ्जालको दुरुपयोग गरेर एउटा उच्चतम राजनीतिक प्रणालीमाथि आक्रमण गरिनु अशोभनीय विषय हो ।

देशविदेशमा रहेबसेका आम नेपालीले देशको स्थितिलाई लिएर निरन्तर निराशा व्यक्त गरेको पाइन्छ ? के हाम्रो समग्र प्रणाली कमजोर भइसकेको हो ?

निराशा समस्याको समाधान होइन । हामीले यस्तो प्रणाली विकास गरेका छौँ कि, हर कसैको मूल्याङ्कन हुन्छ । राजनीतिक पार्टी र पार्टीका नेताको पनि आवधिक निर्वाचनमार्फत मूल्याङ्कन हुन्छ । जनताले निर्वाचित गरेका जनप्रतिनिधिले शासन सञ्चालन गर्ने, जनप्रतिनिधिको मूल्याङ्कन स्वयम् जनताले गर्ने खालको प्रणालीको विकास भएको छ । त्यसकारण हामी उन्नत लोकतान्त्रिक अभ्यासमा छौँ । उन्नत संविधान हामीसँग छ । संविधानले परिकल्पना गरेका संरचना हामीसँग छन् ।

राज्यका समग्र प्रणाली कमजोर अवस्थामा छैनन् अर्थात् कामै नलाग्ने अवस्थामा हाम्रो राज्यप्रणाली पुगेको छैन, खबरदारी गर्न सकिन्छ तर भड्काउन हुन्न । देशलाई विकसित गर्न सकिन्छ भन्ने आत्मविश्वासका साथ हामी सबै अगाडि बढ्नु पर्छ । त्यसकारण सरकारले गरेका राम्रा कामहरुमा साथ, समर्थन र सहयोगका निम्ति सबैलाई हार्दिक रुपमा आग्रह गर्न चाहन्छु । यो सरकारले देशलाई विकास, समृद्धितर्फ र सामाजिक न्यायतर्फ लिएर जान्छ भन्ने कुरामा विश्वास गर्न सबैलाई आग्रह गर्न चाहन्छु ।

खानेपानी समस्या समाधानका लागि प्रदेश सरकारले स्रोतसाधन परिचालन गर्ने

जनकपुर। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सुक्खाग्रस्त र खानेपानीको समस्या समाधानका लागि प्रदेश सरकारले स्रोतसाधन परिचालन गर्ने बताएका छन्।

आज सरोकारवाला मन्त्रालय र दातृ निकायहरुसँगको बैठकमा मुख्यमन्त्री सिंहले ती समस्या समाधानका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए।

उनले मौजुदा अवस्थामा  प्रदेश सरकार तथा दातृ निकायहरुबाट गर्न सकिने तात्कालीन र दीर्घकालीन उपायहरु अवलम्बन गर्न आग्रह गरे। उनले भने, ‘बैठक र निर्णयमात्र होइन के गर्न सकिन्छ तुरुन्तै सुरु गरौँ।’

प्रदेशका सबै १३६ वटै पालिकामा सुक्खा र खानेपानीको समस्या रहेको बताउँदै उनले प्रदेशका नागरिक समस्यामा रहेका बेला सहयोग गर्न अग्रसरता देखाउनका लागि दातृ निकायका प्रतिनिधिहरूलाई आग्रह गरे। ‘प्रदेशका नागरिक अहिले वातावरणीय असन्तुलनको प्रभावबाट संकटमा रहेका बेला खुल्ला हृदयले सहयोग गर्न दातृ निकायहरुलाई आग्रह गर्दछु’, उनले भने।

बैठकमा प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्री, गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखी र ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवको समेत उपस्थिति रहेको थियो। यस्तै, वर्तमान अवस्थाबारे मन्त्रालयगत रूपमा तथ्यांक प्रस्तुत गरिएको थियो।

बैठकमा दातृ निकायका प्रतिनिधिहरुले आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन्।

सुदूरपश्चिम विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोड बजेट स्वीकृत (फोटो फिचर)

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको १३औँ सभाको साधारण बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ५४ करोडको अनुमानित बजेट स्वीकृत गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं सो विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्रा डा. विनोद लेखकद्वारा प्रस्तुत बजेट र कार्यक्रम संशोधनसहित स्वीकृत गरिएको हो ।

कुलपति ओलीले विश्वविद्यालयको आर्थिक स्थितिलाई तन्दुरुस्त राख्न आग्रह गर्दै बजेट प्रस्तुत गर्दा यथार्थ चित्रका आधारमा गर्न निर्देशन दिए । साथै आव २०८१/८२ को नियमानुसार लेखा परीक्षण गराउन पनि उनले निर्देशन दिए ।

कालीगण्डकी नदीमा बेलिब्रिज जडान

मुस्ताङ ।  घरपझोङ गाउँपालिका–२ र १ जोड्ने कालीगण्डकी नदीमा बेलिब्रिज निर्माण सम्पन्न भएको छ । दुई वर्षमा बेलिब्रिज निर्माण सम्पन्न भएको हो ।

बेलिब्रिज निर्माणका लागि सङ्घीय विशेष अनुदानको एक करोड ९७ लाख र घरपझोङ गाउँपालिकाको ९० लाख लागत साझेदारी गरी जम्मा दुई करोड ८७ लाख २६ हजारमा बेलिब्रिज निर्माण गरिएको गाउँपालिकाका सबइन्जिनियर राजन कँडेलले जानकारी दिए ।

सो बेलिब्रिजको लम्बाइ ४२ मिटर र चौडाइ ४.२० मिटर छ । बेलिब्रिज निर्माणका लागि रविचक्र निर्माण सेवाले ठेक्का लिएको थियो ।

राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक राजमार्ग नजिकै भएर पनि कालीगण्डकी पारि ओझेलमा परेका घरपझोङ—१ छैरो र चिमाङ गाउँका स्थानीय किसानलाई बेलिब्रिज निर्माणले राहत पुगेको सो वडाका वडाध्यक्ष आशबहादुर थकालीले उल्लेख गरे ।

मोबाइल फोनको चार्जर छुटाउँदा करेन्ट लागेर मृत्यु

खोटाङ ।  बराहापोखरी गाउँपालिका–४ फाक्टाङकी २५ वर्षीया इन्द्रा राईको करेन्ट लागेर निधन भएको छ । गएराति मोबाइल फोन चार्जबाट छुटाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।

घाइते इन्द्रालाई उपचारमा लैजाने तयारी गर्दागर्दै मृत्यु भएको फाक्टाङका वडाध्यक्ष सन्तोष आचार्यले जानकारी दिए । घटनाका बारेमा जानकारी आउनासाथ जिल्लाबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

ऊर्जामन्त्री खड्काको एक वर्षः ऐन, कानुन निर्माणसहित विद्युत् विकास विस्तारमा सफलता

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा नीतिगत तथा कानुनी सुधारको थालनी गरेका छन् । यसबीचमा ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको बाधक रहँदै आएका नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, जलस्रोत विधेयक, विद्युत् विधेयक संसद्मा अघि बढाइएका छन् ।

सरकारको सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने बृहत् लक्ष्यका साथ ‘ऊर्जा विकास मार्गचित्र–२०८१’ मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । उक्त लक्ष्यमार्फत उत्पादित विद्युत्मध्ये १३ हजार ५०० मेगावाट विद्युत् स्वदेशमा खपत गर्ने र बाँकी १५ हजार मेगावाट विद्युत् छिमेकी मुलुक भारत, बङ्गलादेशलगायतमा बिक्री गर्ने उल्लेख छ ।

“उक्त मार्गचित्रको लक्ष्य पूरा गर्ने क्रममा ६५ खर्बभन्दा बढी परिचालन हुने र लाखौँ युवाले रोजगारी पाउनेछन्, राष्ट्रिय गौरवका ठूला जलाशययुक्त आयोजना निर्माणको कामसमेत अगाडि बढ्नेछ”, ऊर्जामन्त्री खड्काले भने ।

त्यसैगरी, मन्त्री खड्काकै सक्रियतामा ‘जनताको जलविद्युत् कार्यक्रम’ दोस्रो संशोधन गरिएको छ । उक्त कार्यक्रममार्फत गरिब तथा सीमान्तकृत वर्गलाई आयोजनाको क्षमता हेरेर दुई लाखदेखि पाँच लाखसम्म आयोजना नै धितो रहनेगरी सहुलियत कर्जामा जलविद्युत्मा शेयर लगानी गर्ने वातावरण मिलाइएको छ ।

विपन्न नागरिकलाई समृद्ध बनाउनेगरी सरकारले जनताको जलविद्युत् कार्यक्रम संशोधन गरेको ऊर्जामन्त्री खड्काले बताए । मन्त्री खड्काको कार्यकालको एक वर्षमा विद्युत् उत्पादन तथा प्रसारण क्षेत्रमा समेत उल्लेख्य प्रगति भएका छन् ।

यस अवधिमा राष्ट्रिय प्रसारण लाइनमा ४०८ मेगावाट विद्युत् थप भएको छभने कुल उत्पादन क्षमता तीन हजार ५६५ मेगावाट पुगेको छ । यसै अवधिमा विद्युत् विकास विभागबाट ८० जलविद्युत् आयोजनाबाट एक हजार ९५ मेगावाट र ६७ सौर्य ऊर्जा केन्दबाट एक हजार १९९ मेगावाट विद्युत् उत्पादनका लागि सर्वेक्षण अनुमति जारी गरिएको छ ।

यसैगरी, एक हजार २४२ मेगावाट क्षमताको ३० जलविद्युत् आयोजना र करिब ५० मेगावाट क्षमताको आठवटा सौर्य विद्युत् आयोजनालाई उत्पादन अनुमति जारी गरिएको छ ।

त्यसैगरी, विद्युत् विकास विभागबाट आठ हजार ७७६ मेगावाट क्षमताको १४७ जलविद्युत् आयोजना र एक हजार ८५१ मेगावाट क्षमताको ९५ सौर्य आयोजना सर्वेक्षण अनुमति दिएको छ ।

त्यस्तै, २६४ जलविद्युत् (१० हजार ७५०.७४ मेगावाट क्षमताको २६४ आयोजना र करिब १०० मेगावाट क्षमताको १३ सौर्य आयोजना उत्पादन अनुमति जारी भएका छन् । यसबाहेक तीन हजार ३३० मेगावाट क्षमताको १७० जलविद्युत् आयोजना र ११३ मेगावाट क्षमताको १९ वटा सौर्य आयोजना सञ्चालनमा छन् ।

मन्त्री खड्काको एकवर्षे कार्यकालमा ३०० सर्किट किलोमिटर प्रसारण लाइन तथा ७०० एमभिए क्षमताका सबस्टेसन निर्माणसम्पन्न भएका छन् । हालसम्म विभिन्न क्षमताका करिब छ हजार ८०० सर्किट किलोमिटर प्रसारण लाइन निर्माण तथा १३ हजार ७५४ एमभिए क्षमताका सबस्टेसन आयोजना सञ्चालनमा रहेका छन् ।

एक वर्षमा ६० प्रसारण लाइन (एक हजार ३१ सर्किट किलोमिटर) का लागि सर्वेक्षण अनुमति र २६ प्रसारण लाइन (२७८ सर्किट किलोमिटर) का लागि प्रसारण अनुमति जारी गरिएको छ । यसैगरी, १४४ प्रसारण लाइन–तीन हजार १७४ सर्किट किलोमिटर) का लागि सर्वेक्षण अनुमति र २७१ प्रसारण लाइन (पाँच हजार ७०६ सर्किट किलोमिटर) का लागि प्रसारण अनुमति जारी भएको मन्त्रालयले स्पष्ट गरेको छ ।

यसैबीचमा लामो समयदेखि विवादमा रहेको मध्यभोटेकोशी जलविद्युत् आयोजनाका साथै ढल्केवर सीतामढी प्रसारण लाइनको विवाद समाधान गरिएको छभने रसुवागढी, सान्जेन, मध्यभोटेकोशीलगायत बहुप्रतिक्षित आयोजना सफलतापूर्वक सञ्चालनमा आएका छन् ।

अन्तरदेशीय विद्युत् व्यापारअन्तर्गत छिमेकी मुलुकसँगको निरन्तर भेटघाट, छलफल तथा कूटनीतिक पहलमार्फत भारतसँगै बङ्गलादेशमा समेत विद्युत् निर्यात सुरु भएको छ ।

हाल भारतमा ९४१ मेगावाट विद्युत् निर्यात स्वीकृति प्राप्त भइसकेको छभने भारतबाट एक हजार मेगावाट विद्युत् आयातको प्रबन्ध गरिएको छ । सन् २०२४ मा मात्र करिब रु १७ अर्ब बराबरको विद्युत् भारत निर्यात गरिएको थियो । विगतमा ठूलो परिमाणमा भइरहेको विद्युत् आयात घटाउँदै निर्यात बढाउँदै लगिएको छ । सन् २०२४ मा भारतबाट करिब रु १६.९ अर्ब बराबरको विद्युत् आयात गरिएको थियो ।

यस वर्षदेखि बङ्गलादेशमा ४० मेगावाट विद्युत् अमेरिकी डलरमा भुक्तानी निर्यात प्रारम्भ भएको छ । प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्मको वर्षायाममा उत्पादित विद्युत् खेर जाने गरेको अवस्थामा करिब रु एक अर्ब २५ करोडको विद्युत् बङ्गलादेश निर्यात हुन थालेको छ । चीनमा समेत विद्युत् व्यापारको सम्भावनालाई हेरेर चिलिमे–जिलोङ्ग २२० केभी प्रसारण लाइन सहकार्यमा अघि बढाइएको छ ।

यसैगरी, करिब ५० किलोमिटर तटबन्ध निर्माण भइ ४७० हेक्टर जग्गा संरक्षण भएको छ । हालसम्म एक हजार ४७८ किलोमिटर तटबन्ध निर्माण भई करिब १३ हजार ६७२ हेक्टर जग्गा संरक्षण गरिएको छ । एक वर्षमा १५ हजार हेक्टर जमिनमा सिँचाइ पूर्वाधार विकास भएको छ ।

हालसम्म मुलुकभर १५ लाख ८४ हजार ३२ हेक्टर जमिनमा सिँचाइ पूर्वाधार विकास भएको छ । यो अवधिमा सरकारले राष्ट्रिय गौरवका सिँचाइ आयोजनालाई उच्च प्राथमिकतामा राखेको छ ।

राष्ट्रिय गौरवका महाकाली, रानीजमरा, बबई, सिक्टा, भेरी–बबई र सुनकोशी–मरिन डाइभर्सनलगायतका आयोजनाहरुबाट लाखौँ हेक्टर जमिनमा सिँचाई सुविधा विस्तार तथा सयौँ मेगावाट विद्युत् उत्पादन हुने भएकाले उक्त आयोजना निर्माणलाई उच्च प्राथमिकता दिएको मन्त्री खड्काले बताए ।

यसैगरी, बागमती, सुनसरी–मोरङ, प्रगन्ना–बड्कापथ, बृहत दाङ उपत्यका, एकीकृत कर्णाली र भेरी कोरिडोर सिँचाइ आयोजनामार्फत देशका विभिन्न क्षेत्रका कृषियोग्य जमिनमा सिँचाइ सुविधा विस्तार भइरहेको छ । यस अवधिमा ५७० स्वचालित जल तथा मौसम केन्द्र तथा चित्रात्मक पूर्वानुमान सेवा सुरु गरिएको छ ।

मन्त्रालयले विपद्बाट हुने क्षतिको पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राखेको छ । गत वर्ष असार १० देखि १२ गते मुलुकभर परेको अविरल वर्षाबाट क्षति पुगेको माथ्लो तामाकोशी, मेलम्ची, खुम्बु क्षेत्रलगायत प्रभावित आयोजना पुनः सञ्चालनमा ल्याइएको छ ।

सरकारले राष्ट्रिय प्रसारण लाइन पुग्न नसकेका गाउँमा वैकल्पिक ऊर्जामार्फत विद्युतको पहुँच पु¥याउँदै आइरहेको छ । ऊर्जा मन्त्रालयले एक वर्षमा ३९७ किलोवाट लघु जलविद्युत् र ६०३ किलोवाट सौर्य ऊर्जा प्रणाली विस्तार गरेको छ । तीन हजार ५८४ बायोग्यास प्लान्ट, चार हजार १४२ घरेलु सौर्य प्रणाली र ३२० सुधारिएको चुलो जडान गरिसकेको छ ।

यस अवधिमा सरकारले वैदेशिक सहकार्यबाट एक अर्ब डलरभन्दा बढी ऋण÷अनुदान सुनिश्चित गरेको छ । जल तथा सिँचाइ मापदण्ड निर्माण, जल सम्मेलन आयोजना, नदी नियन्त्रण तथा व्यवस्थापन कार्यमा प्रगति हासिल गरेको छ ।

मन्त्री खड्काले आगामी दिनमा ‘ऊर्जा विकास मार्गचित्र–२०८१’ कार्यान्वयन गर्न दृढ सङ्कल्पका साथ लाग्ने बताए । ऊर्जा विकास मार्गचित्रले राखेको लक्ष्य पुरा हुँदैगर्दा प्रतिव्यक्ति विद्युत् खपत एक हजार ५०० युनिट पु¥याइने छभने आगामी आवमा ४७० युनिट पु¥याउने लक्ष्य लिइएको छ ।

आगामी वर्ष स्मार्ट ग्रिड, वैकल्पिक ऊर्जा, र ऊर्जा भण्डारण प्रणालीमा लगानी विस्तार गरिने बताइएको छ । बुटवल–गोरखपुर, लम्की–बरेली, इनरुवा–पूर्णियालगायत अन्तरदेशीय लाइन निर्माणलाई तीव्रता दिइनेछ । आगामी आर्थिक वर्षमा जलस्रोत तथा सिँचाइ व्यवस्थापनतर्फ ६३ किलोमिटर तटबन्ध निर्माण गरी २७० हेक्टर जमिन ‘उकास’ गरिने छभने नदी ‘बेसिन’ योजनाअनुसार जल व्यवस्थापन, जलवायु अनुकूल रणनीति अपनाइने बताइएको छ ।

सरकारले आगामी आर्थिक वर्षमा नौ हजार ३५० हेक्टरमा सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य लिएको छ । समग्रमा वर्तमान सरकार गठन भएको यस अवधिमा ऊर्जा, जलस्रोत तथा सिँचाइका क्षेत्रमा अत्यावश्यक ऐन, कानुन निर्माणका प्रक्रिया अघि बढ्नाका साथ पूर्वाधार विकास एवं विस्तारका क्षेत्रमा अपेक्षा गरिएभन्दा बढी काम भएको सरकारले दाबी गरेको छ ।

जैविक विविधता बढाउन वृक्षरोपण अभियान

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका–१ स्थित बन्दीपुर सबडिभिजन वन कार्यालयले विभिन्न जातका ९९ हजार ५०० रुखका बिरुवा उत्पादन गरेको छ। रुख रोपेर हरियाली बढाउने उद्देश्यले उत्पादन गरिएका यी बिरुवा निःशुल्क वितरण तथा वनजङ्गल क्षेत्रमा रोपण गर्न प्रयोग गरिने जनाइएको छ।

सबडिभिजन वन कार्यालयका प्रमुख तथा वन अधिकृत रामकेवल रायका अनुसार महोगनी, टिक, खयर, अमला, गुलमोहर, अर्जुन, शनि, तेजपात, गम्हाइर, सरिफा, जामुन, इपिल–इपिल, बकाइन, बयर, लिची, बरो, टाकीलगायत प्रजातिका बिरुवा उत्पादन गरिएको हो। यो कार्यक्रम सङ्घीय सरकारअन्तर्गतको राष्ट्रिय वन विकास तथा व्यवस्थापन कार्यक्रम, प्रदेश सरकार तथा चुरे जलवायु उत्थानशील चुरे कार्यक्रमअन्तर्गत सञ्चालित भएको हो।

स्थानीय नगरपालिका, गाउँपालिका तथा वन क्षेत्रलाई हराभरा र वातावरणमैत्री बनाउन यस वर्ष पनि कार्यालयले हजारौँ बिरुवा उत्पादन गरेको वन अधिकृत रायले बताए। उनले भने, ‘स्थानीय बासिन्दालाई निःशुल्क वितरण तथा वनजङ्गल क्षेत्रमा रोप्नका लागि यी बिरुवा तयार गरिएको हो।’

उत्पादित बिरुवा डिभिजन वन कार्यालय लहान र क्षेत्रीय वन निर्देशनालयबाट निरीक्षण तथा पास भएपछि मात्र सम्बन्धित पालिकामार्फत वितरण गरिनेछ। बाँकी रहेका बिरुवा भने प्रत्यक्ष रूपमा वनजङ्गल क्षेत्रमा वृक्षरोपण गरिने वन अधिकृत रायले जानकारी दिए ।

वन कार्यालयले हरेक वर्ष यस्ता बिरुवा उत्पादन गरी निःशुल्क वितरण गर्दै आएको छ। वातावरण संरक्षण र जैविक विविधता बढाउने उद्देश्यले यस्ता कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको वन कार्यालयको भनाइ छ।

बेइजिङमा लाभरोभ र सीबीच भेट : रूसी विदेश मन्त्रालय

मस्को। रूसी विदेशमन्त्री सर्गेई लाभरोभले मङ्गलबार बेइजिङमा चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेको मस्कोले जनाएको छ । यो भेटवार्ता साङ्घाई सहयोग सङ्गठनको बैठकमा भाग लिन आएका शीर्ष रूसी कूटनीतिज्ञको भ्रमणका क्रममा भएको हो ।

“सीले चिनियाँ राजधानीमा लाभरोभलाई साङ्घाई सहयोग सङ्गठन (एससिओ) को विदेशमन्त्रीहरूको परिषद्को बैठकमा उहाँको सहभागिताको एक भागका रूपमा स्वागत गर्नुभयो”, रुसको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।

एससिओ शिखर सम्मेलन र दोस्रो विश्वयुद्धको वार्षिकोत्सव समारोहमा सहभागी हुन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको चीन भ्रमणको तयारीसहित उच्चतम र उच्च स्तरमा द्विपक्षीय राजनीतिक सम्पर्कका धेरै मुद्दामा छलफल गरिएको पनि मन्त्रालयले बताएको छ ।

चिनियाँ राष्ट्रपतिले एससिओका विदेशमन्त्रीहरूसँग ‘सामान्य बैठक’ गरेपछि लाभरोभलाई भेट गरेको रुसको तास समाचार एजेन्सीले जनाएको छ ।

लाभरोभले आइतबार आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग युक्रेन र संयुक्त राज्य अमेरिकासँगको सम्बन्धका बारेमा छलफल गरेका थिए ।

रूसी विदेशमन्त्री उत्तर कोरियाको भ्रमणपछि चीन आएका हुन् । उत्तर कोरियामा रहँदा उनले युक्रेनसँगको द्वन्द्वमा समर्थनको आश्वासन प्राप्त गरेका थिए।

मस्कोको कूटनीतिक र आर्थिक सहयोगी बेइजिङले रूस र युक्रेनबीचको द्वन्द्वमा तटस्थ भएको दाबी गरेको छ ।

तर चीनले रुसको तीन वर्षभन्दा लामो सैन्य अभियानको कहिल्यै निन्दा गरेको छैन न आफ्नो सेना फिर्ता लिन आह्वान गरेको छ । युक्रेनका धेरै सहयोगीले बेइजिङमाथि मस्कोलाई समर्थन गरेको विश्वास गर्छन् ।

चीनले नियमित रूपमा लडाइँ अन्त्य गर्न आह्वान गरेको छ भने युक्रेनलाई हतियार प्रदान गरेर पश्चिमी देशहरूले द्वन्द्वलाई लम्ब्याएको आरोप लगाएको छ ।

बेइजिङले लामो समयदेखि १० सदस्यीय साङ्घाई सहयोग सङ्गठनलाई नाटो जस्ता पश्चिमी नेतृत्वका शक्ति समूहहरूको प्रतिकारको रूपमा प्रस्तुत गर्न खोजेको छ भने राजनीति, सुरक्षा, व्यापार र विज्ञानमा यसका सदस्य देशहरूबीच सहयोग बलियो बनाउन जोड दिएको छ ।

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौँ । सोमबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ । चाँदीको भाउ भने रु ४० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आइतबारको तुलनामा तोलामा रु ४०० ले वृद्धि भई सोमबार रु एक लाख ९३ हजार ३०० कायम भएकामा आजका निम्ति पनि त्यति नै मोल निर्धारण भएको हो ।

त्यसैगरी, एक तोला चाँदीको मूल्य रु दुई हजार २७५ कायम भएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मोल तीन हजार ३६३ अमेरिकी डलर निर्धारण भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

मन्त्री गुप्ताले राजीनामा दिदै भने- कहिले काहिँ नखाएको विष पनि लाग्दो रहेछ

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् । ७८ लाख घुस काण्डमा मुछिएका उनले मंगलबार पदबाट राजीनामा दिएका हुन् ।

उक्त प्रकरणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले चासो राख्दै राजीनामा गर्न निर्देशन दिएपछि गुप्ताले बालुवाटार पुगेर प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका हुन्।

प्रधानमन्त्री ओलीले यसबारेमा हिजो बालुवाटार बोलाएर यसमा संलग्न व्यक्तिहरूबारे सोधपुछ गर्दै २४ घण्टाभित्र राजीनामा गर्न निर्देशन दिएका थिए ।

उक्त अडिओको वास्तविकता अनुसन्धानका लागि फरेन्सिक ल्यावमा परीक्षणका लागि पठाइसकिएको छ । साथै, यो प्रकरणको निष्पक्ष छानबिन र अनुसन्धानका लागि अख्तियारलगायत राज्यका नियामक निकायलाई पत्राचार गरिने प्रधानमन्त्रीनिकट स्रोतले बतायो ।

केही दिनअघि मात्र भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति साथै कर्मचारीको सरुवाका लागि भन्दै बिचौलिया र मन्त्री गुप्ताबीच लाखौंको घुस डिलको अडिओ सार्वजनिक भएको थियो । आफूमाथि लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनी राजीनामा दिएको उनले बताएका छन् ।

राजीनामापछि फेसबुकमा स्टाटस लेख्दै उनले ‘प्रविधिको उच्चतम प्रयोग’ को शिकार भएको जिकिरसहित अरु कोही नबनुन् भनेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, “विगत केहि दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिल सगै जोडेर प्रचारमा आएको कुरा सबैलाइ बिदितै छ । कहिले काहि नखाएको बिष पनि लाग्दो रहेछ म अहिले त्यसैको शिकार भए । अब लागेका आरोप अनुसन्धान गरि सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस भनेर सम्मान्निय प्रधान मन्त्रि समक्ष सामान्य प्रशासन मन्त्रि पदबाट राजिनामा गरेको छु । प्रबिधिको उच्चतम प्रयोगको शिकार अब अरु कोहिपनि नबनुन भन्ने अपेक्षा गर्दै आजसम्मा बिभिन्न रुपले आफुलाई सहयोग गर्नुहुनेहरुलाइ हार्दिक धन्यबाद ब्यक्त गर्दछु । अब फेरि एकपटक देश र जनता प्रति थप जिम्मेवारि बोधका साथ पार्टिले दिएको जिम्मेवारि इमान र निस्टाको साथ पुरा गर्ने प्रतिवद्दताकाे साथ जनताको घर दैलोमा आउने प्रण गर्दछु ।”

 

अमेरिकामा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु

काठमाडौं । अमेरिकामा भएको एक कार दुर्घटनामा दुईजना नेपालीको मृत्यु भएको छ ।

लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको कार दुर्घटनामा मृत्यु भएको हो ।

रोजिनको नेपालको ठेगाना दाङ हो भने, राजनको ठेगाना खुलेको छैन । दुर्घटनामा अरु दुईजना घाइते भएका छन् । अमेरिकामा भारी वर्षा आँधीबेहरीको समयमा दुर्घटनामा परेको जनाइएको छ । कार एक रुखमा ठोक्किएको थियो । दुर्घटनामा घाइते भएका दुईजनाको एक स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछ: प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक संरचना र पूर्वाधार निर्माणसहित मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी भइरहेको बताएका छन् । मुस्ताङबाट प्रतिनिधित्व गर्ने संघीय सांसदसहित स्थानीय तहका जनप्रतिनिधिहरूसँग गए राति प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलका प्रधानमन्त्री ओलीले सो जानकारी दिएका हुन् ।

यही असार २४ गतेको गोसाईंकुण्ड गाउँपालिका-२ मा आकस्मिक बाढीका कारण नेपाल-चीन जोड्ने नाका रसुवागढीस्थित भोटेकोशी नदीको मितेरी पुल बगाइ आवागमन बन्द भएकै दिन प्रधानमन्त्री ओलीले सो क्षेत्रको स्थलगत भ्रमण गरी वैकल्पिक मार्ग र नाका पूर्ण सञ्चालनका लागि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका थिए ।

प्रधानमन्त्री ओलीले आफूले बेनीघाट-कोराला बाटो निर्माण सुरु गरेको, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मुक्तिनाथको भ्रमण गराएको, मुक्तिनाथ केवलकार सञ्चालनका लागि प्रक्रिया अघि बढाएको, स्याउको सुपर जोन निर्माण र च्याङ्ग्रा पालन आदि काममा प्राथमिकता दिएको पनि स्मरण गराए ।

प्रधानमन्त्री ओलीसँग प्रतिनिधिमण्डलले मुस्ताङको माथिल्लो भेगका लोमान्थाङ र लो-घेकार दामोदर कुण्ड गाउँपालिका क्षेत्रमा नेपाल सरकारले निषेधित क्षेत्र घोषणा गरी प्रति विदेशी पर्यटक ५०० अमेरिकी डलर शुल्क उठाउँदा पर्यटकहरूमा कमी आएकाले पर्यटन रोयल्टीबारे पुनः विचार गर्न माग गरेको थियो ।

साथै कालिगण्डकी करिडोरको कागबेनी–कोरला सडक खण्डमा कालोपत्र गर्न र आवश्यक संरचना निर्माण गरी कोरला नाकामा पूर्णरुपमा सञ्चालनमा ल्याउन माग गरिएको थियो । कोराला नाकामा भन्सार, अध्यागमन, एकीकृत सुरक्षा पोष्ट, सुख्खा बन्दरगाहलगायत व्यापारिक प्रतिष्ठानका भौतिक निर्माण आवश्यक रहेको विषयमा ध्यानाकर्षण गराइएको छ । सडक र नाका पूर्ण सञ्चालन नहुँदा तथा निषेधित क्षेत्रको कार्यान्वयनका कारण माथिल्लो मुस्ताङका होटेल तथा स्थानीय व्यवसायी घाटामा रहन बाध्य भएको जनप्रतिनिधिको गुनासो थियो ।

प्रतिनिधिमण्डलमा संघीय सांसद योगेन्द्र गौचन थकाली, लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टासी न्हर्वु गुरुङ, लोप्साङ छोम्पेल विष्टलगायत सहभागी थिए। कागबेनी–कोरला सडक खण्ड ९७ किलोमिटर कालोपत्रका लागि ठेक्का हुन बाँकी रहेको छ भने तातोपानी खोला, दाना खोला, पाण्डा खोला, तान्ग्बे खोलामा पुल निर्माणमा ठेक्का तोडिएकाले पुनः सुचारु गर्नुपर्ने देखिएको छ ।

सीके राउतले गरे रविको पक्षमा हस्ताक्षर

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले रविको पक्षमा हस्ताक्षर गरेका छन् । रास्वपा मुख्यालय घण्टीघर पुगेर राउतले ‘रविमाथिको राजनीतिक प्रतिशोधविरुद्धको हस्ताक्षर अभियान’ मा ऐक्यवद्धता जनाएका हुन् ।

हस्ताक्षरपछि प्रतिक्रिया दिदै उनले लामिछानेमाथि प्रतिशोध साँधिएको र त्यो गलत भएको बताए । ‘रवि लामिछानेलाई पहिलो पटक गिरफ्तार गर्दा नै मैले राजनीतिक प्रतिशोध भयो भनेको थिएँ । यो राज्यले कसैमाथि यसरी प्रतिशोध साँध्न हुँदैन । स्वस्थ प्रतिष्पर्धा गर्नुपर्छ भनेर आफ्नो विचार राख्दै आएका छौँ ।’

त्यस्तै उनले हाम्रो व्यवस्थामा कार्यापालिकाको हस्तक्षेप न्यायपालिकामा स्वभाविक भएको बताए । ‘नेपालमा राजनीतिक व्यवस्था त्यति परिपक्क छैन र शक्ति पृथकिकरण राम्रोसँग हुन सकेको छैन । यहाँ कार्यपालिका, न्यायपालिका पृथक हो भनेर हेर्न पाइदैन ।’ उनले भने, ‘अहिलेको हाम्रो व्यवस्थामा न्यायाधीशहरुको नियुक्ति कार्यपालिकाले नै एकहिसावले प्रभावित गर्ने भएर गर्ने भएकाले हामीकहाँ झनै हेर्न पाइदैन । त्यही भएर अदालतलाई प्रभावित गर्ने, न्यायलयको निर्णयमा प्रभावित हुने स्वभाविक देखिन्छ ।’

सोमबार रास्वपाको पार्टी कार्यालयमै उपस्थित भएर उनले हस्ताक्षर गरेका हुन् ।

रास्वपाले सभापतिमाथि राज्यले प्रतिशोध साँधेको भन्दै असार ७ गतेबाट देशब्यापी रुपमा हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ । देशभित्र मात्र नभएर विदेशमा पनि यो अभियान चलेका छन् ।

आजै बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले पनि रास्वपाको अभियानमा ऐक्यबद्धता जनाएका छन् ।

घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्रीसँग महामन्त्री थापाको माग

काठमाडौँ। सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री तथा संघीय सांसद गगन थापाले घुस काण्डमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन्। मन्त्री गुप्ताको घुस काण्डको अडियो सार्वजनिक भएपछि थापाले उनलाई बर्खास्त गर्न माग गरेका हुन्।

महामन्त्री थापाले बहालवाला मन्त्रीले गल्ती नगरेको भए तुरुन्त राजीनामा दिएर ममाथि छानबिन होस् भन्नुपर्ने बताए। सोमबार कांग्रेसको बुद्धिजीवी विभागले काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले भने,‘आफूले गल्ती गरेको होइन भन्ने आँट पनि छैन। प्रधानमन्त्रीले तुरुन्त मन्त्रीलाई बर्खास्त गरिहाल्नुहोला भन्ने मेरो अपेक्षा थियो। यसबारेमा टिप्पणी नै गर्नुपर्दैन होला भन्ने लागेको थियो। तर टिप्पणी गर्नुपर्ने अवस्था आयो। प्रधानमन्त्रीज्यूलाई अनुरोध गर्छु, तपाईंले तत्काल तपाईंको मन्त्रीलाई बर्खास्त गर्नुस्।’

थापाले मन्त्रीलाई बर्खास्त गरेर मात्र नहुने पनि बताए। ‘यतिको कुरा आइसके पछाडि यसको दूधको दूध, पानीको पानी हुनुपर्छ। यसको छानबिन हुनुपर्छ,’ थापाले भने,‘संलग्न भएका अरू को-को छन्? कोही छन् भने कसैको बारेमा अहिले टिकाटिप्पणी गर्ने कुरा हतारो हुन्छ। तर अनुसन्धान गर्दै गर्दा कहींकतै कोही दोषी देखिन्छन् भने उसलाई कारबाही हुनुपर्छ।’

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

काठमाडौँ। उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले बस्तीहरुलाई व्यवस्थित ढङ्गले विकास गर्नका लागि राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको कार्य अघि बढाइएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रालयगत प्रश्नउत्तर कार्यक्रममा मन्त्री सिंहले एकीकृत सहरी विकास र नमूना बस्ती विकासको अवधारणाबमोजिम व्यवस्थित बस्ती विकासका लागि ७५३ वटै स्थानीय तहमा प्राथमिकताका आधारमा लगानी विस्तार गर्दै लगिने बताए ।

“सङ्घीयता कार्यान्वयनसँगै देशमा तीन तहको सरकारबाट संविधान अनुकूल आ–आफ्नो दायित्व बहन गर्ने क्रममा ७५३ वटा स्थानीय तह कार्यरत रहेको अवस्था छ, यस परिवेशमा सहरी क्षेत्रको व्यवस्थापनको चुनौती स्थानीय तहलाई मात्र नभई सङ्घीय र प्रादेशिक तहमा समेत देखापरेको छ”, उपप्रधानमन्त्री सिंहले भने, “यसका लागि सङ्घीय, प्रादेशिक र स्थानीय तहले आ–आफ्नो स्तरबाट सहरी पूर्वाधार निर्माण गर्दै गरेको भए पनि न्यून बजेटको कारण तीव्र सहरीकरणले उब्जाएको समस्यालाई सम्बोधन गर्न अझै समय लाग्ने देखिन्छ ।”

सांसद प्रेम सुवालको प्रश्नको जवाफ दिँदै उनले मन्त्रिपरिषद्को २०७५ मङ्सिर १७ गतेको निर्णयबमोजिम काठमाडौँ उपत्यकामा फोहोरमैलाको दीर्घकालिन व्यवस्थापनका लागि बञ्चरेडाँडामा स्यानिटरी ल्यान्डफिल साइटको पूर्वाधार निर्माण गर्ने जिम्मेवारी सहरी विकास मन्त्रालयलाई तोकिएको जानकारी गराए ।

सहरी विकास तथा भवन निर्माण विभागमार्फत ल्यान्डफिल साइटको करिब ४० मिटर उचाइको बाँधमध्ये हाल २५ मिटर उचाइको बाँधसहितको सम्पूर्ण भौतिक पूर्वाधार निर्माणसम्पन्न गरी सञ्चालनका लागि काठमाडौँ महानगरपालिकालाई उपलब्ध गराइएको उनको भनाइ थियो ।

“हाल बाँधको उचाइ बढाउने कामको खरिद प्रक्रिया अगाडि बढेको छ, सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको क्षेत्रीय सहरी विकास आयोजनाबाट एकीकृत फोहोरमैला व्यवस्थापनका लागि आवश्यक ल्यान्डफिल साइटसहितका पूर्वाधारहरु धनगढी, शुक्लाफाँटा, गोदावरी, वीरगञ्ज र नेपालगञ्जमा निर्माण सञ्चालन भएका छन् र केही सम्पन्न भई सञ्चालनमा आएका छन् ।”

उनले विगतमा रहेका ५८ वटा नगरपालिकामध्ये आवधिक योजना तर्जुमा गरेका नगरपालिकाहरूको आवधिक योजना कार्यान्वयन गर्नका लागि सघन सहरी विकास कार्यक्रम सञ्चालन भएको जानकारी दिए ।

“आर्थिक वर्ष २०७३/७४ मा मित्रराष्ट्र भारतको सिमानासँग जोडिएका तराई क्षेत्रका १८ वटा जिल्ला सदरमुकाम रहेका नगरपालिकाहरुमा सडक, नाला, बसपार्क, सार्वजनिक पार्कलगायतका पूर्वाधार निर्माणका लागि वार्षिक ५० करोडका दरले बजेट विनियोजन भएर सहरी क्षेत्र सुधारमा यस कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो”, उपप्रधानमन्त्री सिंहले भने, “त्यसपछिका आर्थिक वर्षमा समेत यो कार्यक्रम १०८ वटा नगरपालिकामा विस्तार भई सडक, नाला, बसपार्क, सार्वजनिक पार्क र बजार केन्द्र निर्माण कार्यमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।”

विसं २०७८ को राष्ट्रिय जनगणनाअनुसार पराल वा खरको छाना भएको घरको सङ्ख्या दुई लाख ६० हजार छ रहेको छ । नेपाल सरकारले आर्थिक वर्ष २०७५÷७६ को बजेट वक्तव्यमार्फत पराल वा खरको छाना भएका घरपरिवारहरुलाई जस्तापाताको छानामुनि ल्याउने उद्देश्यअनुरुप सुरक्षित नागरिक आवास कार्यक्रमको सुरुआत गरेको थियो ।

त्यस्तै, ३६ जिल्लाबाट सुरु भएको कार्यक्रम हाल ७४ जिल्लामा १५० निर्वाचन क्षेत्रमा रहेका दुई लाख १४ हजार २३० आवास सङ्ख्या स्वीकृत भएका छन् । नेपाल सरकारबाट स्वीकृत सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधि, २०७५ अनुसार स्थानीय तहबाट उक्त कार्यक्रम हाल कार्यान्वयन भइरहेको मन्त्री सिंहले जानकारी दिए ।

सांसद सूर्यप्रसाद ढकालको प्रश्नमा उपप्रधानमन्त्री सिंहले सहरी विकास तथा भवन निर्माण विभागबाट २०७५ असार २८ मा कोहलपुर नगरपालिकाभित्र सिटी हल निर्माणका लागि माटो परीक्षण, आर्किटेक्चरल, स्ट्रकचरलसहित सम्पूर्ण डिजाइन तयार भइसकेको जानकारी दिए ।

असोज ३ गतेभित्र एनटिभी वल्र्ड सञ्चालनमा ल्याउन मन्त्री गुरुङको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण नेपालको ‘एनटिभी वल्र्र्ड’ असोज ३ गतेभित्रै सञ्चालन गर्न निर्देशन दिएका छन् ।

सिंहदरवारस्थित नेपाल टेलिभिजनमा पुगेर उनले एनटिभी वल्र्डको तयारी भइरहेकोमा निरीक्षण गर्दै व्यवस्थापनलाई आवश्यक निर्देशनात्मक सुझाव दिएका हुन्। मन्त्री गुरुङले एनटिभी वल्र्डले विश्वमा नेपाल जोड्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै यसको सञ्चालनमा छिटो जोड दिनुपर्ने बताएका हुन् ।

सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले नेपालको मौलिकता र विशेषतालाई कायम राख्ने गरी एनटिभी वल्र्डका कार्यक्रमहरू प्रस्तुत गर्न सुझाव दिए । साथै उनले विश्वसामु नेपालको पहिचान स्थापित गर्ने विषयमा जोड दिन आग्रह गरे ।

पिएसबीका अध्यक्ष डा महेन्द्र विष्टले एनटिभी वल्र्डको मर्म र उद्देश्यपूर्ति गर्न व्यवस्थापनमा खटिएको बताए। यसका लागि मन्त्रालयको सहकार्यले नै कार्य सम्पादनमा सघाउ पुगेको उनले जानकारी दिए। सीमित स्रोत र साधनका बीच एनटिभी वल्र्डलाई विश्वसामु लायक बनाउन प्रयत्नरत हुने उनको प्रतिबद्धता छ ।

कार्यक्रममा डा. टंक उप्रेतीले एनटिभी वल्र्ड सञ्चालनको पूर्वतयारीबारे कार्यपत्र प्रस्तुत गरेका थिए। उनको प्रस्तुतिमा एनटिभी वल्र्ड सञ्चालनको ढाँचा, सामग्री र रचनात्मक संरचनामा केन्द्रित थियो ।

प्रचण्डलाई प्रधानमन्त्रीको जवाफ : फ्लडलाइट हेर्न कीर्तिपुर जानुस्, बनिरहेको छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फ्ल्डलाइट र प्यारापिट हेर्न कीर्तिपुर जान आग्रह गरेका छन् ।

सोमबार प्रचण्डले संसदमा सम्बोधन गर्दै कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्यप्रति भइरहेको ढिलाइप्रति प्रश्न उठाएका थिए ।सो प्रश्नको जवाफ प्रधानमन्त्ती ओलीले सामाजिक सञ्जाल फेसबुकबाटै दिएका हुन् ।

दाहालले ३ सय दिनमा फ्लडलाइट र प्यारापिट कहाँ बन्यो भन्दै प्रधानमन्त्री ओलीलाईघ प्रश्न गरेका थिए । आफ्नो नेतृत्वको सरकारले कीर्तिपुरको रंगशालामा फ्लडलाइट जडान गर्न ठेक्का सम्झौता गरेको प्रचण्डले बताएका थिए । ३ सय ६५ दिन बितिसक्दासमेत उक्त घोषणा कार्यान्वयनमा आउन नसकेको भन्दै प्रचण्डले सरकारको प्रतिबद्धता र क्षमतामाथि प्रश्न उठाएका थिए ।उनले भनेका थिए, ‘जोडियो त फ्लडलाइट ? बन्यो त प्याराफिट ?’

ओलीले जवाफमा भनेका छन्, ‘पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालजीले आज प्रश्न सोध्नु भएछ– कीर्तिपुरको मैदानमा खोई फ्लडलाइट ? खोई प्यारापिट ? मेरो उहाँलाई आग्रह छ, बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस् । बनिरहेको छ ।’

त्यस्तै आफू प्रधानमन्त्री हुँदा प्रचण्डले कुनै पनि टाइमलाइन नतोकेको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘सरकारको कामबारे तथ्यतथ्यांक राखेर तपाईंले प्रधानमन्त्रीको रुपमा जवाफ पनि दिनु परेन। तपाईंका त न कुनै वाचा, न कुनै निर्णय, न कुनै संकल्प, न कुनै काम । मैले त दिन तोकेर गर्छु भनें, आफैंमाथि प्रश्न आह्वान गरें र काम पनि गरें । तपाईंले जर्जर छोडेको अर्थतन्त्र अहिले कहाँ पुग्यो, तथ्याङ्क हेर्नुस् भन्ने सुझाव दिन चाहन्छु,’ उनले भनेका छन् ।

 

 

सरकारको एक वर्षः अर्थतन्त्रको शिथिलता अन्त्य गर्न कति सक्षम ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष साउन ६ गते संसद्मार्फत दुई सत्तारूढ दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको सातबुँदे सहमति सार्वजनिक गरेका थिए ।

उक्त सहमतिमा संविधान संशोधन, भ्रष्टाचार नियन्त्रण, सुशासन कायम, विकास निर्माणका काममा तीव्रताजस्ता महत्वपूर्ण बुँदाहरु थिए । यो समीक्षा मूलतः उक्त सातबुँदे सहमतिको बुँदा नम्बर ३ कार्यान्वयनको अवस्थाबारे केन्द्रित छ ।

नेपाली कांग्रेस र एमालेबीच भएको उक्त सहमतिको बुँदा नम्बर ३ मा भनिएको छ, “अर्थतन्त्रमा विद्यमान शिथिलतालाई अन्त्य गरी विश्वसनीय व्यावसायिक वातावरण तयारी गरी आर्थिक गतिविधिलाई चलायमान बनाउने, आन्तरिक र बाह्य लगानीलाई प्रोत्साहन गरी मुलुकभित्र पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्ने ।”

यो बुँदा कार्यान्वयनको अवस्था कस्तो छ भन्ने हेर्नका लागि राससले सरकार र मातहतका निकायको आधिकारिक दस्तावेज, प्रतिवेदन, वार्षिक बजेटलगायत सार्वजनिक विवरणहरुको सहारा लिएको छ ।

करिब डेढ महिनाअघि जेठ १५ गते संसद्मा प्रस्तुत भएको र अहिले सदनबाट पारितसमेत भइसकेको आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यको बुँदा नम्बर १८ देखि २३ सम्म हेर्ने हो भने मुलुकको आर्थिक अवस्था र वित्तीय स्वास्थ्य ठीक छैन । विकास निर्माणका काममा गति छैन । आन्तरिक रोजगारी बढेको छैन । निजी क्षेत्रमा लगानीका लागि आत्मविश्वास छैन ।

समयमै पर्याप्त कानुनी व्यवस्था गर्न नसक्दा र अनुसन्धान तथा अभियोजन प्रभावकारी हुन नसक्दा मुलुक सम्पत्ति शुद्धीकरणको सघन अनुमगन सूची (ग्रे लिस्ट) मा छ । समग्र मागमा आएको कमीले गर्दा उद्योग क्षेत्र पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । भौतिक पूर्वाधारमा गरिएको लगानी आर्थिक क्रियाकलाप विस्तारमा प्रतिबिम्बित हुन नसक्दा उत्पादन वृद्धिमा वाञ्छित योगदान पुग्न सकेको छैन । डिजिटल पूर्वाधारको कमीले डिजिटल अर्थतन्त्र विकासको गति सुस्त छ ।

मुलुकको श्रम बजार र उत्पादित जनशक्तिको सीपबीच सामाञ्जस्यता छैन । औद्योगिक र निर्माण क्षेत्रमा आवश्यक जनशक्ति विदेशबाट आपूर्ति गर्नुपर्ने अवस्था छ । स्वदेशमा पर्याप्त रोजगारीका अवसर सिर्जना हुन नसक्दा अर्धदक्ष जनशक्तिसमेत विदेश पलायन हुने प्रवृत्ति चिन्ताजनक अवस्थामा छ । गरिबीको रेखामुनिको जनसङ्ख्याको अनुपात अझै उच्च छ ।

मुलुकको कुल स्थिर पुँजी निर्माणमा निजी क्षेत्रको योगदान अपेक्षित मात्रामा बढ्न सकेको छैन । लगानी जोखिम व्यवस्थापन गर्न विकसित भएका नवीनतम् वित्तीय उपकरणहरूलाई प्रभावकारी रूपमा परिचालन गर्न सकिएको छैन । उत्पादनमूलक क्षेत्रमा आवश्यक मात्रामा वित्तीय साधन प्रवाह हुन सकेको छैन । नियामक निकायहरूको भूमिकालाई प्रभावकारी बनाउने र वित्तीय जोखिम न्यून गर्ने चुनौती छ । पहिलोपटक सम्पन्न भएको मुलुकको ‘क्रेडिट रेटिङ’बाट तुलनात्मक रूपमा अनुकूल नतिजा प्राप्त भए पनि त्यसबाट लाभ लिन बाँकी छ । नीतिगत र कानुनी सुधार गरिए पनि अपेक्षाकृत रूपमा विदेशी पुँजी र प्रविधि आकर्षित हुन सकेको छैन ।

निर्यात विस्तार र विविधिकरण हुन नसक्दा उच्च व्यापार घाटा कायमै छ । कमजोर उत्पादन क्षमताले गर्दा उपभोग्य वस्तुको आयात उच्च छ । पर्यटन, सूचना प्रविधिलगायतका क्षेत्रबाट सेवा निर्यात हुने उच्च सम्भावनाको अपेक्षित लाभ लिन सकिएको छैन । विप्रेषणको उच्च भूमिका रहेको बाह्य क्षेत्रलाई दिगो रूपमा सन्तुलनमा राख्ने चुनौती छ ।

विकासका लागि राजस्व बचत न्यून हुँदै गएको छ । आम्दानीका स्रोतहरू साँघुरिँदै गएका छन् । राजस्वको वर्तमान संरचनालाई आन्तरिक उत्पादनमा आधारित, फराकिलो र दिगो बनाउने चुनौती छ । विनियोजन कुशलता कायम गर्न सकिएको छैन । चालु खर्च उच्च रहँदा परम्परागत स्रोतबाट पुँजीगत खर्च जुटाउन चुनौतीपूर्ण बन्दै गएको छ । कार्यान्वयन पक्ष कमजोर हुँदा आयोजना सम्पन्न गर्न लामो समय र बढी लागत लाग्ने अवस्था रहेको छ । स्रोतको आवश्यक प्रबन्ध नहुँदा विकास आयोजना तथा कार्यक्रमहरु घोषणामा सीमित हुने जोखिम छ ।

सार्वजनिक ऋणको बढ्दो परिमाणले ऋणको दिगोपना कायम गर्ने चुनौती थपेको छ । सार्वजनिक प्रशासनलाई व्यवसायिकीकरण गर्न नसक्दा सेवा प्रवाहको गुणस्तरमा अपेक्षित सुधार हुन सकेको छैन । सार्वजनिक सेवामा ढिलासुस्ती, जिम्मेवारीबोधको कमी, परम्परागत निर्णय प्रक्रिया र अन्तर निकाय समन्वय कमजोर हुँदा सुशासन कायम गर्ने चुनौती थपिएको छ ।

बजेटले स्वीकारेका यी तथ्यहरुले अर्थतन्त्रको सूक्ष्म सूचकहरुमा अहिले पनि समस्यामा रहेको इङ्गित गर्छन् । यद्यपि, अर्थतन्त्रका बृहत् सूचकहरुमा केही सुधारको लक्षण देखिएको छ ।

सकारात्मक बाह्य सूचक

नेपाल राष्ट्र बैङ्कले गत शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले भन्छ, “अर्थतन्त्र क्रमशः लयमा फर्कन थालेको छ । मुद्रास्फीति वाञ्छित सीमाभित्र छ । विप्रेषण आप्रवाह, विदेशी पर्यटक आगमन र निर्यातको बढोत्तरीले विदेशी विनिमय सञ्चिति बढेको छ । विगत दुई वर्षदेखि सङ्कुचनमा रहेका आर्थिक क्षेत्रहरूसमेत विस्तार भई आर्थिक वृद्धि दर अघिल्लो वर्षको तुलनामा सुधार भएको छ ।”

लक्षित आर्थिक वृद्धिदर हासिल गर्न सरकार चुकेको छ । यस आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धि चार दशमलव ६१ प्रतिशत हुने राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुमान छ । जबकि यस वर्ष सरकारले छ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको थियो ।

निर्माणाधीन राष्ट्रिय गौरवका तथा उच्च प्राथमिकता प्राप्त पूर्वाधार आयोजनाहरूमध्ये नागढुङ्गा सुरुङमार्ग, काठमाडौँ–तराई द्रुतमार्ग, पृथ्वी लोकमार्गको पोखरा–मुग्लिन सडक खण्ड, भेरी–बबई बहुउद्देश्यीय परियोजना, सिद्धबाबा सुरुङमार्गलगायतका आयोजनाहरू सम्पन्न हुने चरणमा छन् । यस्ता आयोजनाहरूको निर्माणपश्चात् उद्योग र सेवा क्षेत्रको क्षमता विस्तारमा सहयोग पुग्दै आर्थिक क्रियाकलाप विस्तार हुने अनुमान राष्ट्र बैङ्कले गरेको छ ।

यसैगरी, आगामी पाँच वर्षसम्म जडित जलविद्युत् क्षमता प्रत्येक वर्ष कम्तीमा एक हजार मेगावाटका दरले थपिने गरी काम अघि बढेको छ । बङ्गलादेशसँग विद्युत् खरिद सम्झौता भई २०८२ असार १ गतेदेखि विद्युत् निर्यात हुन थालेको छ । पर्यटक आगमन सङ्ख्या कोभिड–१९ अघिको अवस्थामा पुगेको छ ।

गत जेठ महिनासम्ममा औसत उपभोक्ता मुद्रास्फीति चार दशमलव २४ प्रतिशत छ । यो वाञ्छित सीमाभित्रै हो । तर मुद्रास्फीति नेपालको आफ्नै प्रयासले मात्रै भन्दा पनि विश्व बजारको प्रभाव नेपालमा पनि देखिएको रुपमा बुझ्न सकिन्छ ।

अन्तरराष्ट्रिय मुद्रा कोषका अनुसार विगत तीन वर्षदेखि विश्व मुद्रास्फीति घट्दै गएको छ । सन् २०२४ मा पाँच दशमलव सात प्रतिशत रहेको विश्वको उपभोक्ता मुद्रास्फीति सन् २०२५ मा चार दशमलव तीन प्रतिशत कोषको प्रक्षेपण छ ।

कोभिड महामारीको समयमा खुम्चिएको वैदेशिक व्यापारले गति लिन थालेको छ । गत जेठ मसान्तसम्ममा कुल वस्तु निर्यात ७७ दशमलव आठ प्रतिशतले वृद्धि भई रु दुई खर्ब ४७ अर्ब ५७ करोड पुगेको छ । तर नेपालले निर्यात गरेको वस्तुमा आधाभन्दा बढी हिस्सा स्वदेशको उत्पादन नभई आयातित भटमास र सूर्यमुखी तेलको छ । चालु आर्थिक वर्षको ११ महिनामा वस्तु आयात १३ दशमलव एक प्रतिशतले वृद्धि भई १६ खर्ब ४४ अर्ब ८० करोड पुगेको छ । यस अवधिमा व्यापार घाटा छ दशमलव तीन प्रतिशतले बढेर रु १३ खर्ब ९७ अर्ब २३ करोड पुगेको छ ।

यस अवधिमा विप्रेषण आप्रवाह बढेको छ । पछिल्लो ११ महिनामा विप्रेषण आप्रवाह १५ दशमलव पाँच प्रतिशतले वृद्धि भई रु १५ खर्ब ३२ अर्ब ९३ करोड पुगेको छ । यस अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या पनि उल्लेख्य बढेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यस वर्ष विदेश जानेहरुको सङ्ख्या ११ दशमलव चार प्रतिशतले वृद्धि भई सात लाख ६० हजार ३९१ पुगेको राष्ट्र बैङ्कको तथ्याङ्क छ ।

त्यस्तै, गत जेठ मसान्तसम्ममा शोधनान्तर स्थिति रु चार खर्ब ९१ अर्ब ४४ करोड र चालु खाता रु तीन खर्ब सात अर्ब ३१ करोडले बचतमा छ । आयातको तुलनामा विप्रेषण आप्रवाह वृद्धि उच्च रहेकाले शोधनान्तर स्थिति र चालु खातामा उल्लेख्य बचत कायम हुन सकेको हो । राष्ट्र बैङ्कका अनुसार कुल विदेशी विनिमय सञ्चिति २५ दशमलव नौ प्रतिशतले वृद्धि भई रु २५ खर्ब ६९ अर्ब ३८ करोड पुगेको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैङ्कले निजी क्षेत्रतर्फको कर्जा १२ दशमलव पाँच प्रतिशतले विस्तार हुने अनुमान गरेकामा गत जेठ मसान्तसम्ममा सात दशमलव तीन प्रतिशतमा खुम्चिएको छ । यसबाट निजी क्षेत्र लगानी विस्तार गर्नका लागि अझै तयार नभइसकेको अवस्थाका रुपमा बुझ्न सकिन्छ ।

कमजोर खर्च बढ्दो ऋण

सरकारको पुँजीगत खर्च कमजोर देखिँदा चालु शीर्षक र सार्वजनिक ऋणको साँवा ब्याज तिर्नका लागि हुने खर्च भने निरन्तर बढ्दो छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार असार २९ गते बेलुकासम्ममा सरकारले गरेको पुँजीगत खर्च ६० प्रतिशत पनि पुग्न सकेको छैन । असार ३० गतेसम्म सरकारको चालु शीर्षकको खर्च वार्षिक लक्ष्यको ८१ प्रतिशत र वित्तीय व्यवस्थातर्फको ८६ प्रतिशत छ । त्यस्तै यो अवधिसम्ममा सरकारको राजस्व सङ्कलन ७८ प्रतिशत मात्रै रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कबाट देखिन्छ ।

त्यस्तै, यस वर्ष रु ५२ अर्ब ३२ करोड ६५ लाख वैदेशिक अनुदान लिने लक्ष्य राखेको सरकारले लक्ष्यको ४३ प्रतिशत अर्थात् रू २२ अर्ब ६२ करोड बराबर मात्रै उठाउन सकेको छ । विकास आयोजनामा पुँजीगत खर्च कमजोर हुँदा यस वर्षका लागि राखिएको बाह्य ऋणको लक्ष्य आधा पनि भेट्न सकिएको छैन । यद्यपि, सरकारको तिर्न बाँकी ऋणको ग्राफ भने निकै बढिसकेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले हालसम्म तिर्न बाँकी कुल ऋण रु २६ खर्ब ५४ अर्ब ६८ करोड रहेको छ । गत वर्ष साउनमा कुल सार्वजनिक ऋण रु २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा पछिल्लो ११ महिनामा मात्र रु दुई खर्ब २० अर्ब ५८ करोड ऋण थपिएको हो । आन्तरिक ऋण लक्ष्यअनुसार नै उठाएको सरकारले बाह्य ऋण आधा पनि उठाउन सकेको छैन ।

चालु आर्थिक वर्षका लागि रु दुई खर्ब १७ अर्ब बाह्य ऋण उठाउने भनेर बजेट स्रोत देखाएको सरकारले गत जेठ मसान्तसम्ममा रु ९९ अर्ब २० करोड १७ लाख बराबर मात्रै बाह्य ऋण उठाएको छ । जुन वार्षिक लक्ष्यको ४५ दशमलव ७२ प्रतिशत हुन आउँछ ।

सरकारले अधिकांश बाह्य ऋणलाई पुँजीगत शीर्षक अर्थात् विकास आयोजनामा खर्च हुने बजेट स्रोतका रुपमा देखाएको हुन्छ । अहिले विकास आयोजनाको काम सुस्त हुँदा र खर्च गर्न नसक्दा वैदेशिक ऋण प्राप्ति कमजोर देखिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको भनाइ छ । अर्कोतर्फ सरकारीको ऋणको साँवाब्याज भुक्तानीका लागि पछिल्लो ११ महिनामा रु तीन खर्ब २९ अर्ब ६० करोड खर्च भएको छ । जुन रकम यही अवधिमा सरकारले गरेको पुँजीगत खर्चभन्दा करिब दोब्बर हो ।

प्रधानमन्त्रीको फरक दाबी

प्रधानमन्त्री ओलीले सोमबार आफ्नो सामाजिक सञ्जाल ‘फेसबुक’मा अर्थतन्त्र सुधार हुँदै गएको र पूर्वाधार निर्माणमा अपेक्षित गति देखिएको दाबी गरेका छन् ।  “हामी सरकारको आएको एक वर्ष पुग्दैछ । यसबीचमा मुलुकको आर्थिक सूचकाङ्कहरु सकारात्मक देखिएका छन् भने विकासका राष्ट्रिय आयोजनाहरुको कामले गति लिएको छ । ‘टाइमलाइन’ तोकेर काम गर्ने र नतिजा खोज्ने प्रचलन यसअघि थिएन, अहिले त्यो सुरुआत भएको छ ।” तर प्रधानमन्त्री ओलीकै अध्यक्षतामा गत शुक्रबार बसेको राष्ट्रिय विकास समस्या समाधान समिति (एनडेक) को ५४औँ बैठकमा पेस भएका तथ्यले उनको फेसबुकमा लेखिएको उनको भनाइलाई खण्डन गर्छ । विकास अनुगमन गर्ने सर्वोच्च संयन्त्रका रुपमा रहेको एनडेकमा प्रस्तुत गरिएका विवरणअनुसार विभिन्न विकास आयोजनामा देखिएका समस्या समाधानका लागि भएका ८३ वटा निर्णयमध्ये २७ वटा मात्रै पूर्ण रुपमा कार्यान्वयन भए ।

त्यस्तै, निर्णय कार्यान्वयन भए पनि समस्या यथावत् रहेको ४०, कार्यान्वयन प्रक्रियामा रहेको १४ र कार्यान्वयन सुरु नै नभएको निर्णय दुईवटा छन् । यी सबै विकास आयोजनाहरुमा देखिएका समस्या समाधानका लागि प्रधानमन्त्रीको तहबाटै भएका निर्देशनको कार्यान्वयनको अवस्था हो ।

एनडेकको ५४औँ बैठकमा उठाइएका विषयहरु हेर्ने हो भने पनि अहिले अर्थतन्त्रमा सुधारको तात्विक गुञ्जायस देखिएको छैन । यतिसम्म कि उक्त बैठकमा राष्ट्रिय योजना आयोगले ‘नेपालको आर्थिक विकासको मोडल के हो ?’ भन्ने नै स्पष्ट नरहेका कारण यसको गति सुस्त भएको कारण देखाउँदै आर्थिक विकासको नयाँ रुपरेखा कोर्नुपर्ने बतायो ।

त्यस्तै, नेपाल सन् २०२६ भित्रमा अतिकम विकसित मुलुकबाट स्तरोन्नति भइसक्नुपर्ने र त्यस क्रममा नेपालको वैदेशिक व्यापार, विकास सहायतालगायतका क्षेत्रमा पर्ने असरको न्यूनीकरण, सम्भावित अवसरको उपयोग र सहज तथा दिगो स्तरोन्नतिका लागि आवश्यक तयारी नपुगेको भनेर प्रधानमन्त्रीकै अगाडि आयोगले समस्या सुनाएको थियो ।

पूर्वाधार विकासका लागि चाहिने सामग्री अभाव, झन्झटिलो जग्गा प्राप्ति तथा मुआब्जा विवाद, अन्तर निकाय समन्वय अभावजस्ता समस्याहरु पनि एनडेकमा उठाइए । त्यस्तै, विकास निर्माण र सुशासनमा बाधा पु¥याउने कानुनको पहिचान गरी संशोधन तथा नयाँ निर्माण गर्न नसकेको विषय पनि एनडेकमा महत्वका साथ उठाइएको थियो ।

उदाहरणका लागि विद्यमान वन नियमावली, २०७९ को व्यवस्थाका कारण मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समितिअन्तर्गत कार्यान्वयन भइरहेको प्रसारणलाइन आयोजनामा क्षेत्रमा पर्ने रूख कटानमा समस्या देखिएको विषय एनडेकमा राखिएको थियो ।

गाजामा भएको इजरायली आक्रमणमा ४३ जनाको मृत्यु, शान्ति वार्ता स्थगित

गाजा। गाजाको पानी वितरण केन्द्रमा भएको इजरायली हवाई आक्रमणमा केही बच्चासहित ४० जनाभन्दा बढी प्यालेस्टिनीको ज्यान गएको गाजाको नागरिक सुरक्षा निकायले जनाएको छ । उक्त निकायका अनुसार इजरायल र हमासबीचको युद्धविरामको लागि वार्ता हाललाई रोकिएको छ ।

इजरायल र प्यालेस्टिनी लडाकु समूहका प्रतिनिधिमण्डलहरूले गाजा पट्टीमा २१ महिनादेखि चलेको युद्ध रोकी युद्धविराममा सहमतिका लागि एक हप्तादेखि वार्ता जारी राखेका थिए ।

नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बासलले पानी वितरण केन्द्रमा भएको ड्रोन आक्रमणमा १० जना पीडितमध्ये आठ जना बालबालिका रहेको उल्लेख गरेका छन्।

इजरायली सेनाले मध्य गाजाको नुसिरात शरणार्थी शिविरमा एक आतङ्ककारीलाई लक्षित गरी आक्रमण गर्दा ‘प्राविधिक त्रुटि’ भएको जनाउँदै ‘हतियार लक्ष्यबाट दर्जनौँ मिटर टाढा खसेको’ बताएको छ ।

वासिङ्टन इजरायलको शीर्ष सहयोगी हो भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामका लागि दबाब दिइरहेको र आफू सम्झौताको लागि आशावादी रहेको बताएका छन् ।

इजरायली नागरिक सुरक्षा निकायका प्रवक्ता बासलले भने युद्ध अन्त्यको तत्काल कुनै सङ्केत नभएको र आइतबार प्यालेस्टिनी क्षेत्रभरि भएको आक्रमणमा गाजा सहरमा ११ जनासहित कम्तीमा ४३ जनाको मृत्यु भएको बताएका छन् ।

हाल गाजाभरीसैन्य कारबाही तीव्र पारेको इजरायली सेनाले विगत २४ घण्टामा वायुसेनाले ‘१५० भन्दा बढी आतङ्ककारी लक्ष्यहरूमा आक्रमण गरेको’ बताएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयले अधिकांश नागरिकसहित कम्तिमा ५८ हजार २६ जना प्यालेस्टिनीहरू इजरायलको जवाबी अभियानमा मारिएको जनाएको छ ।

संयुक्त राष्ट्र सङ्घका निकायहरूले शनिबार इन्धनको अभाव ‘गम्भीर स्तरमा’ पुगेको र गाजाको २० लाखभन्दा बढी मानिसहरूको अवस्था थप बिग्रने खतरा रहेको चेतावनी दिएका छन् ।

इजरायल र हमासले एकअर्कालाई सम्झौता रोक्न खोजेको आरोप लगाएपछि शनिबार कतारको राजधानी दोहामा ६० दिने युद्धविराम र बन्धक मुक्तिका लागि वार्ता स्थगित भएको थियो ।

गतिरोधको बावजुद, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने,“आशा छ, हामी अर्को हप्तामा यसलाई सुधार्ने छौँ ।”

हमासले गाजाबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता लिन चाहन्छ, तर वार्ताको जानकारी भएको प्यालेस्टिनी स्रोतले इजरायलले ४० प्रतिशतभन्दा बढी क्षेत्रमा सेना राख्ने योजना प्रस्तुत गरेको बताएको छ ।

नेप्से परिसूचक ३५ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ३५ दशमलव ०९ अङ्कले घटेर दुई हजार ७२५ दशमलव ७१ को विन्दुमा कायम भएको हो । यो एक दशमलव २७ प्रतिशतको गिरावट हो ।

आज ३२१ कम्पनीको दुई करोड ११ लाख दुई हजार ५४० कित्ता शेयर ७२ हजार ६०१ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब १७ करोड २१ लाख ४३ हजार ३२६ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा जलविद्युत् समूह शून्य दशमलव १५ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै बैङ्किङ समूह दुई दशमलव ४६ प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैङ्क एक दशमलव ४८, वित्त एक दशमलव १३, होटल तथा पर्यटन शून्य दशमलव २५, लगानी एक दशमलव २५, जीवन बीमा एक दशमलव ३६ र उत्पादन तथा प्रशोधन शून्य दशमलव ७८ प्रतिशतले घटेको छ ।

त्यस्तै, लघुवित्त एक दशमलव २३, म्युचुअल फन्ड शून्य दशमलव १७, निर्जीवन बीमा एक दशमलव ०५, व्यापार शून्य दशमलव ६४ र अन्य समूह एक दशमलव २४ प्रतिशतले घटेको छ ।

माईखोला हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै पाँच दशमलव ९० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य चार दशमलव ४६ प्रतिशतले घटेको छ ।

स्वास्थ्य बीमा क्षेत्रमा पुनः विचार गरिनेछ: प्रधानमन्त्री (फोटो फिचर)

काठमाडौँ। प्रधानमन्त्रकी केपी शर्मा ओलीले स्वास्थ्य बीमा क्षेत्रमा पुनः विचार गरिने बताएका छन् ।

सो अस्पतालको ४३ औँ वार्षिकोत्वसका अवसरमा आज आयोजित समारोहमा प्रधानमन्त्री ओलीले स्वास्थ्य बीमाका नाममा कतिपय दुरुपयोग हुने गरेको पाइएको बताउँदै उनले औचित्य पुष्टि हुने गरी स्वास्थ्य बीमा कार्यक्रममा पुनरावलोकन गरिने जनाए ।

उनले निरोगी नेपाल अभियान र बिरामीलाई सही उपचार गराउने काममा थप सफलता हासिल गर्न त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताललाई आग्रह पनि गरे । प्रधानमन्त्री ओलीले नेपाली जनताको सेवा गर्ने मामिलामा सर्वोत्कृष्टता हासिल गरेको यस अस्पतालले दक्ष जनशक्ति उत्पादन, स्वाथ्य उपचार र स्वास्थ्य सेवाका क्षेत्रमा यसले अझै सफलता हासिल गर्दै जानुपर्नेमा जोड दिए।

प्रधानमन्त्री ओलीले आफूले दोस्रो पटक मिर्गौला प्रत्यारोपण शिक्षण अस्पतालमै गरेको स्मरण गर्दै नेपालमै हुने उपचार यही गर्नुपर्ने बताए ।


“मानिसहरु बिरामी भएपछि चिकित्सक, नर्स र अस्पतालप्रति विश्वास र आशा गर्छन् । अस्पताल पुगेपछि बिरामीले बाँच्छु भन्ने आशा राखेको हुन्छ । त्यो विश्वासलाई पूरा गर्नु तपाईँहरुको दायित्व हो ।”, प्रधानमन्त्री ओलीले भने, “नर्सहरुको हातमा जादु हुन्छ । बिरामीलाई उपचार गर्न औषधिले मात्रै होइन, नर्सको मृदुभाषीपन र राम्रो व्यवहारले पनि बिरामीलाई निको पार्छन् । ठिक औषधि, ठिक मात्रामा र ठिक समयमा औषधि खान चिकित्सकले गर्ने सिफारिसका आधारमा औषधिलाई खुवाउने र स्याहार सुसार गर्ने काम नर्सहरुको हो ।”

कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट कर्मचारी र अस्पतालको विस्तार सेवा भवन निर्माणमा सहयोग गर्ने भाटभटेनी सुपर मार्केटका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङलाई सम्मान प्रदान गरेका थिए । अस्पतालको वार्षिकोत्सवका अवसरमा आजै सो नयाँ सेवा भवनको प्रधानमन्त्री ओलीबाट उद्घाटन भएको थियो ।

सरकारले तत्काल विपद् प्रतिकार्यलाई सशक्त बनाउनुपर्छ: प्रचण्ड

काठमाडौँ ।   संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै सरकारले तत्काल विपद् प्रतिकार्यलाई सशक्त बनाउनुपर्नेमा जोड दिएका छन्।

सम्बोधनको सुरुवातमा उनले राष्ट्रिय स्वाधिनता र संघीय लोकतान्त्रिक गणतन्त्रका लागि प्राण उत्सर्ग गर्ने सहिद, वेपत्ता तथा घाइते योद्धाप्रति श्रद्धा र सम्मान प्रकट गरे। रसुवालगायत देशका विभिन्न क्षेत्रमा बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको उल्लेख गर्दै प्रचण्डले नेपालको हिमाली क्षेत्र जलवायु संकटको विस्फोटक केन्द्रजस्तो बन्दै गएको प्रति चिन्ता व्यक्त गरे।

उनले हिमताल फुटेर आउने बाढी, नदी थुनिएर जलप्रवाह बढ्ने अवस्था र हिमाली पर्यावरणको जोखिम न्यूनीकरणका लागि अन्तर्देशीय सूचना प्रणाली र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए।

गतवर्ष राजधानीमै चार घण्टा उद्धार नपाएर नागरिकको मृत्यु भएको घटनालाई स्मरण गर्दै यस वर्ष थप क्षति हुन नदिन सरकारलाई गम्भीर तयारीमा जुट्न आग्रह गरे।

‘विपद् व्यवस्थापन सामूहिक जिम्मेवारी हो,’ प्रचण्डले भने, ‘हाम्रो पार्टी, माओवादी केन्द्र, वाइसिएल र जनवर्गीय संगठनहरू प्रभावित क्षेत्रमा सक्रिय छन्।’

५ वर्ष स्थिर सरकार पायौँ भने मुलुकलाई रूपान्तरण गर्न सक्छौँ : प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले पाँच वर्ष सरकार चलाउन पाए देश रूपान्तरण गर्न सक्ने अठोट रहेको बताएका छन् ।

सोमबार (असार ३०) प्रतिनिधिसभा बैठकमा उनले विगतमा आफूहरूले इतिहास बनाएको जिकिर गरे । “हामीले इतिहास बनाएर आएका हौँ । भविष्यको खाका कोर्ने हिम्मत र साहस अझै बाँकी छ,” उनले भने ।

विगतमा अरू दलसित गठनबन्धन गरेर सरकार बनाउँदा आफूहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय मानक बनाउन सफल भएको उनले उल्लेख गरे । “पाँच वर्ष सरकार सञ्चालन गर्न पाए यो देश रूपान्तरण गर्न सक्छौँ भन्ने अठोट अहिले पनि हामीसँग छ,” प्रचण्डले भने ।

सोही अठोटका साथ आत्मालोचना गर्न थालिएको उनको भनाइ थियो ।

तनहुँमा रोकिराखेको मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा रोकिराखेको मिनी ट्रकमा आज दिउँसो स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ग २२ प ३९८९ नम्बरको स्कुटर सडकखण्डको बायाँपट्टि रोकि राखेको बा १ क ८७१४ नम्बरको मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–१२ छिर्कने बस्ने अन्दाजी २५/३० वर्षीय सागर न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । दुर्घटनामा स्कुटरमा सवार सोही ठाउँ बस्ने ६० वर्षीय कृष्णमाया पन्त घाइते हुनुभएको छ ।

दुर्घटनामा घाइते न्यौपानेलाई रत्नहरि अस्पताल पठाइएकामा चिकित्सकले मृत घोषणा गरेको प्रनाउ थापाले बताउनुभयो । घाइते पन्तलाई थप उपचारका लागि गण्डकी मेडिकल अस्पताल पोखरा पठाइएको छ ।

अप्राकृतिक गठबन्धनको चरित्र लोक लजाउने गरी उजागर भयो : प्रचण्ड

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एव‌ पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार दलाल र बिचौलियाको स्वार्थमा चलेको बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा विशेष सम्बोधन गर्दै उनले अप्राकृतिक गठबन्धनको चरित्र लोकले नै लाज मान्ने गरी उजागर भएको समेत बताए ।

प्रचण्डले भने, “तपाईँहरूले सरकार बनाउने क्रममा जे तर्क दिनुभयो, त्यसपछाडि रहेको निहित स्वार्थ लोकले नै लाज मान्ने गरी उजागर भइसकेको छ ।” उनका अनुसार अर्बौँको चलखेल उल्ट्याउन र सेटिङ भत्काउन खोज्दा बनेको अप्राकृतिक गठबन्धन स्वयंले आफ्नो चरित्र प्रकट गरिसकेको छ ।

उनले धितोपत्र बोर्ड, भुटानी शरणार्थी काण्ड, जग्गा घोटाला, विद्युत बक्यौता मिनाहा, भूमाफिया संरक्षण, तथा सरुवा–नियुक्तिमा हुने लाखौँका डिलहरूजस्ता घटनाहरूको उदाहरण दिँदै, सरकार नियामक संस्थामाथि समेत बिचौलियाको इशारामा काम गरिरहेको गम्भीर आरोप लगाए ।

स्टक एक्सचेन्जको नयाँ लाइसेन्स वितरण प्रक्रिया र सुरक्षा निकायको हतियार खरिद जस्ता विषयमा भइरहेको चलखेलप्रति चिन्ता व्यक्त गर्दै उनले सरकार पारदर्शिता र मापदण्डअनुसार अघि बढ्न तयार छ कि छैन भन्ने प्रश्न समेत उठाए ।

सम्बोधनको क्रममा अध्यक्ष प्रचण्डले भने, “सरकार कमिसन डिल र दलालको निर्देशनमा चल्ने प्रवृत्तिमा लागेर सुशासनको पूर्ण पतनतर्फ उन्मुख भएको छ, जुन लोकतन्त्रका लागि खतरनाक संकेत हो ।”

संघीय मामिलामन्त्री गुप्तालाई बर्खास्त गरी निष्पक्ष छानबिन गर्न एमालेको माग

काठमाडौँ । नेकपा एमाले सांसद किरणकुमार साहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई बर्खास्त गरी निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सामान्य प्रशासन मन्त्री गुप्तालाई बर्खास्त गरी निष्पक्ष छानबिन गर्न माग गरेका हुन् ।

मन्त्री गुप्ताले घुस डिल गरेको अडियो सार्वजनिक भइसकेको अवस्थामा सरकार किन मौन छ ? भन्दै प्रश्न गरे । दुनियाँले सुनेको अडियो सरकारले नसुनेको झैँ गर्नु लोकतन्त्रको अपमान भएको उनले बताए ।

सांसद साहले भनेका छन्, ‘सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताजीले घुस डिल गरेको अडियो सार्वजनिक भइसकेको अवस्थामा सरकार किन मौन छ ? दुनियाँले सुनेको अडियो सरकारले नसुनेको झैँ गर्नु लोकतन्त्रको अपमान हो । म यो सदनमार्फत माग गर्दछु, गुप्ताज्यूलाई बर्खास्त गरियोस् र निष्पक्ष छानबिन होस् ।’