घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्रीसँग महामन्त्री थापाको माग


काठमाडौँ। सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री तथा संघीय सांसद गगन थापाले घुस काण्डमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन्। मन्त्री गुप्ताको घुस काण्डको अडियो सार्वजनिक भएपछि थापाले उनलाई बर्खास्त गर्न माग गरेका हुन्।
महामन्त्री थापाले बहालवाला मन्त्रीले गल्ती नगरेको भए तुरुन्त राजीनामा दिएर ममाथि छानबिन होस् भन्नुपर्ने बताए। सोमबार कांग्रेसको बुद्धिजीवी विभागले काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले भने,‘आफूले गल्ती गरेको होइन भन्ने आँट पनि छैन। प्रधानमन्त्रीले तुरुन्त मन्त्रीलाई बर्खास्त गरिहाल्नुहोला भन्ने मेरो अपेक्षा थियो। यसबारेमा टिप्पणी नै गर्नुपर्दैन होला भन्ने लागेको थियो। तर टिप्पणी गर्नुपर्ने अवस्था आयो। प्रधानमन्त्रीज्यूलाई अनुरोध गर्छु, तपाईंले तत्काल तपाईंको मन्त्रीलाई बर्खास्त गर्नुस्।’
थापाले मन्त्रीलाई बर्खास्त गरेर मात्र नहुने पनि बताए। ‘यतिको कुरा आइसके पछाडि यसको दूधको दूध, पानीको पानी हुनुपर्छ। यसको छानबिन हुनुपर्छ,’ थापाले भने,‘संलग्न भएका अरू को-को छन्? कोही छन् भने कसैको बारेमा अहिले टिकाटिप्पणी गर्ने कुरा हतारो हुन्छ। तर अनुसन्धान गर्दै गर्दा कहींकतै कोही दोषी देखिन्छन् भने उसलाई कारबाही हुनुपर्छ।’