`

प्राडा खड्ग केसीलाई निमित्त उपकुलपतिको जिम्मेवारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा रिक्त निमित्त उपकुलपतिको जिम्मेवारी रेक्टर प्राडा खड्ग केसीलाई दिइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को व्यवस्था नभएसम्मका लागि केसीलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएका हुन् ।

त्रिवि ऐनमा उपकुलपति रिक्त रहे रेक्टरलाई बढीमा ३ महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारी दिन सकिने व्यवस्था छ । प्राडा केशरजंग बरालले उपकुलपति पदबाट राजीनामा दिएपछि पद रिक्त थियो ।

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले बुधबार दिउँसो १ बजे पार्टी कार्यालयमा बस्नेगरी बैकठ बोलाएको हो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई उपस्थितिका लागि मुख्य सचिव कृष्णप्रसाद पौडेलले आग्रह गरेका छन् । पछिल्लो समय सरकारका कामकारबाहीलाई लिएर कांग्रेस नेताहरु असन्तुष्ट छन् ।

कांग्रेस नेताहरुको असन्तुष्टिपछि मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । दुई नेताको भेटपछि बुधबार साँझ संरकार संचालनका लागि गठित राजनीतिक संयन्त्रको बैठक बोलाइएको छ ।

एकै वर्षमा दुई लाखले गरे बन्दीपुर भ्रमण

दमौली। २०८१ सालमा दुई लाख दस हजार पर्यटकले बन्दीपुर भ्रमण गरेका छन् । यो अवधिमा ६० हजार विदेशी पर्यटक र एक लाख ५० हजार स्वदेशी पर्यटक आएका बन्दीपुर भ्रमण वर्ष सचिवालयले जानकारी दिएको छ ।

सचिवालयका अनुसार बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड्स, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, संयुक्त अधिराज्य, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, स्विट्जरल्याण्ड, मलेसिया, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाबाट पर्यटक आएका थिए ।

गत जनवरी १ तारिखदेखि जारी बन्दीपुर भ्रमण वर्षका क्रममा पूर्वाधार विकास, तथ्याङ्क सङ्कलन, दक्ष जनशक्ति उत्पादन, पर्यटन व्यवसायीको स्तरमापन कार्यक्रम गरिएका छन् ।

प्रशस्त किनमेल गर्ने र लामो समयसम्म पर्यटकलाई नगर क्षेत्रमा नै आकर्षित गर्ने उद्देश्यका साथ अतिथि सत्कारलगायत गतिविधि गुणस्तरीय बनाइएको छ । पर्यटकीय गन्तव्य र उपजहरुको विस्तार, पर्यटकीय सेवासुविधा वृद्धिमा जोड दिइएको छ ।

शेयर बजारमा २७ अंकको वृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव १४ अङ्कले बढेर दुई हजार छ सय ८९ दशमलव २२ को बिन्दुमा कायम भएको छ ।

मंगलबार विभिन्न तीन सय २० कम्पनीका दुई करोड १८ लाख ४१ हजार ४७ कित्ता शेयर ६९ हजार तीन सय ६४ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ५४ करोड ४३ लाख ५७ हजार आठ सय ८७ बराबरको कारोबार भएको छ ।

म्युचुअल फन्ड शून्य दशमलव ०७ र व्यापार शून्य दशमलव ६४ प्रतिशतको गिरावट देखिएको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूह दुई दशमलव ४६ र लगानी समूह दुई दशमलव ७१ ७१ प्रतिशतले बढेको छ । बैंकिङ शून्य दशमलव ४८, वित्त एक दशमलव ५९, होटल तथा पर्यटन एक दशमलव ९९, जलविद्युत् एक दशमलव ४७, जीवन बीमा शून्य दशमलव ८१, उत्पादन तथा प्रशोधन एक दशमलव २२, लघुवित्त शून्य दशमलव ६० र निर्जीवन बीमा समूह एक दशमलव ०७ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी बलेफी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले घटेको छ ।

कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै बलेफी हाइड्रोपावर लिमिटेडको रू दुई अर्ब एक करोड २९ लाख ९३ हजार एक सय ४२ बराबरको ८६ लाख ७८ हजार दुई सय २५ कित्ता शेयर किनबेच भएको छ ।

होटल र पार्कले भरिँदै धरान आसपासका डाँडापाखा

-संगीता राई, धरान (सुनसरी) । घुम्नका लागि धरान पुग्नेहरु भेडेटारमा पुगेर चिसोको आनन्द लिने गरेको वर्षौं भइसक्यो । अर्थात् धरान र भेडेटार एकअर्काका पर्याय भइसके, स्थापित भइसके ।

कवि उपेन्द्र सुब्बाले ‘भेडेटारको पिकनिक’ कवितामा भने झैँ भेडेटारमा रहेका पर्यटकीय पूर्वाधारले सबै उमेर समूहका व्यक्तिलाई लोभ्याउने गरेकै थियो । अहिले भने भेडेटारसम्म पुग्नै पर्दैन । केही तलका डाँडापाखामा खुलेका राम्रा, आकर्षक, शान्त र मनै लोभ्याउने होटल रिसोर्टले स्थानीय र टाढाटाढाका पर्यटकलाई राम्रै सेवा दिन थालेका छन् ।

धरान उपमहानगरपालिका–१३ स्थित भ्यू–पोइन्ट र साराङ्गा डाँँडालगायतका डाँडापाखा केही वर्षपहिले सुनसान जङ्गल थिए । तर ती ठाउँ अहिले नयाँ होटल, रिसोर्ट र रमणीय पार्कहरुले भरिँदै गएका छन् ।

पार्क र होटलहरु निर्माण भएसँगै पर्यटनको आगमन पनि बढ्दै गएको छ । अहिले यस क्षेत्रमा ४० वटाभन्दा बढी होटल रिसोर्ट र रेष्टुरेन्टहरु सञ्चालनमा रहेका छन्भने दर्जनौं पार्क निर्माण गरिएको छ जसका कारण यहाँ दैनिक नेपाल भारतलगायतका ठाउँहरुबाट उल्लेखनीय सङ्ख्यामा पर्यटकहरुको आगमन हुने गरेको स्थानीय व्यवसायीहरुको भनाइ छ ।

धरान–१३ का स्थानीय निरज कोइरालाको भनाइअनुसार धरानको सन्ध्याकालीन व्यापार र रमझम केहीमाथिका डाँडातिर सरेको छ । “केही वर्ष अगाडिसम्म यी डाँडा, जङ्गल, झाडी र गोठालाका खेलमैदान सुनसान जस्तै हुन्थे । हामी घाँसदाउरा र गोठाला जाने गथ्र्यौं,” कोइरालाले सुनाए ।

“कुनै समय उजाडझैँ देखिने डाँडापाखाहरुमा पार्क र रिसोर्टहरुले ढाकिएसँगै यहाँका स्थानीयवासीले रोजगारीका लागि नयाँ अवसरहरु पनि पाइरहेका छन्,” कोइरालाले भने । ‘लाहुरेको शहर, फेसनेबल शहर, खेलकुदको शहर’लगायत अनेक उपनामले परिचित धरान शहर पछिल्लो समय मनोरञ्जन क्षेत्रका रुपमा निकै अगाडि छ । यसैको एउटा नमूना हो, डाँडापाखामा खुलेका नयाँ होटेल, रिसोर्ट र मनोरञ्जनात्मक पार्कहरु ।

पर्यटकीय हिसाबले भरपुर सम्भावना देखिएसँगै यस क्षेत्रलाई लक्षित गर्दै स्थानीय तथा बाह्य लगानीकर्ताहरुले पर्यटन व्यवसायमा लगानी बढाउँदै लगेका छन् । वैदेशिक रोजगारीका सिलसिलामा १४ वर्ष कतारमा दुःख गरेर नेपाल फर्किएका सुनिल श्रेष्ठले धरान उपमहानगरपालिका–१३ मा ‘द होटल भ्यू’ सञ्चालन गरिरहेका छन् । विदेशमा गएर सिकेको सीप, अनुशासन र व्यवसाय कौशललाई होटल सञ्चालन गरेर उपयोग गरिरहेको सञ्चालक श्रेष्ठले बताए ।

“सुरुमा ठूलो लगानीबाट सुरु गरिएको व्यवसाय कतै डुब्ला कि भन्ने डर थियो । सुरुआती समयमा चुनौतीहरु भए पनि अहिले होटल राम्रो चलिरहेको छ । त्यही कारण व्यवसायमा थप लगानी गर्ने हौसला मिलेको छ । धरानको प्राकृतिक सौन्दर्यलाई जोगाउँदै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने प्रयत्न गरिरहेका छौँ,” उनले भने । अहिले तीन कट्ठा जमिनमा करिब एक करोडको लगानीमा सपरिवार मिलेर होटल सञ्चालन गरिरहेको उनले जानकारी पनि दिए ।

धरान आसपासका डाँडामा होटल र मनोरञ्जन पार्क निर्माण भई सञ्चालनमा आएपछि रोजगारीको अवसर पनि खुलेको छ । ‘द होटल भ्यू’ मा मात्रै १७ जनाले रोजगारी पाएका छन् । “समय समयमा कामदारलाई तालिम दिने गरेको छु । अब चाहिँ लाग्न थाल्यो स्वदेशमै बसेर पनि राम्रो कमाई गर्न सकिने रहेछ,” श्रेष्ठले भने ।

द होटल भ्यूमा विगत तीन वर्षदेखि काम गरिरहेका समीर परियार भन्छन्, “मैले यहाँ रोजगारी नपाएको भए अहिले म विदेश पलायन भइसक्थेँ होला । आफ्नै ठाउँमा रोजगार पाएको छु । धेरथोर भए पनि आम्दानी गरिरहेको छु । परिवारसँग बस्न पाएको छु । आफ्नो गाउँठाउँका होटलहरु विदेशी र स्वदेशी पाहुनाहरुको स्वागत सत्कार गर्न पाउँदा खुसी लागेको छ ।”

“धरान–१३ को होटल मनशान्तका मेनेजर सुजन राईका अनुसार कोरोना महामारी भएको बेला व्यापार–व्यवसाय खस्किएको थियो । तर अहिले बिस्तारै पर्यटकको आगमन बढ्न थालेको छ । जस्ले गर्दा व्यापार–व्यवसायमा सुधार हुँदै गएको छ,” उनले भने । अहिले पर्यटकको चहलपहल निकै हुन थालेपछि यहाँका व्यवसायीहरु पनि खुसी छन् । दैनिक हजारौँ सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउने गरेको उनले बताए ।

धरानका डाँडापाखामा व्यावसायिक प्रयोजनका लागि होटल र पार्कहरु तीव्र गतिमा भरिने क्रममा रहेको छ । डाँडापाखा शान्त वातावरण, प्राकृतिक सौन्दर्य र शीतल हावाको मजा लिन चाहनेहरूका लागि धरानका डाँडापाखाहरु गन्तव्य बनेको छ ।

पिकनिक स्पट, भव्य रिसोर्ट, आकर्षक पार्कले आन्तरिक पर्यटकलाई तानिरहेको इटहरीबाट घुम्न आएकी सुमी राईले बताइन् । “धरानको सिरानमा रहेका यस क्षेत्रका होटल रिसोर्टहरु साँच्चिकै मनमोहक छन् । इटहरीबाट साथीहरुलाई लिएर घुम्न आएँ । यस ठाउँबाट धरान बजारका साथै सुनसरीको समथर फाँट, कोशी नदी, चारकोसे झाडी, चिन्डेडाँडालगायतका ठाउँको दृश्यावलोकन गर्न सकिन्छ रहेछ । साथै चिसो हावापानी पाउँदा साँच्चिकै रमाइलो लागेको छ ।”

सुमी राईलाई जस्तै तराईको गर्मी छल्ने र केही घण्टा भए पनि मनोरञ्जन गर्नेहरुका लागि धरान आसपासका डाँडा नयाँ गन्तव्य बनेका छन् । केही वर्षअगाडि यस ठाउँमा आउँदा फाट्टफुट्ट मात्र रिसोर्टहरु थिए । तर अहिले डाँडाभरि होटल रिसोर्टहरु खुलिसकेका छन् । “हामी शहरको भीडभाडबाट केही माथि सुन्दर अनि शान्त ठाउँमा आएर निकै रमाइलो गर्यौं, यहाँको प्राकृतिक सौन्दर्यले मन नै आनन्दित हुन्छ अरू साथीभाइलाई पनि यस ठाउँमा घुम्न आउन आग्रह गर्छु,” सुमीले भनिन् ।

धरानका डाँडापाखामा खुलेका होटल र फास्टफुड पसलमा नेपाली पर्यटकसँगै भारतीय पर्यटकको पनि आकर्षण बढेको छ । धेरैजसो पर्यटकहरु धनकुटाको भेडेटार र नाम्जे जाने गर्थे । तर धरान आसपासका डाँडामा होटल र रिसोर्टहरु खुलेपछि पर्यटकहरु आकर्षित भएको धरान–१३ स्थित होटल साराङ्गाका सञ्चालक जेशिस राईले बताए ।

कोशी राजमार्ग आसपास रहेको होटल र रिसोर्टमा आउने पर्यटकमध्ये करिब ४० प्रतिशत भारतीय नागरिकहरु रहेका छन् । पूर्वाधार विकाससँगै थप मनोरञ्जनका क्षेत्र विस्तार गर्न सके यो क्षेत्रमा पर्यटन व्यवसाय अझै फस्टाउने होटल साराङ्गाका सञ्चालक राईको भनाइ छ ।

धरान आसपासका डाँडामा व्यक्तिका नाममा जग्गा भए पनि उपयोगमा आएका थिएनन् । घारी जङ्गल थियो, चोरी डकैती हुने गथ्र्यो । लागुऔषध सेवनकर्ता जताततै देखिन्थे । दिउँसो एक्लै हिँड्डुल गर्न कठिन थियो । साँझ परेपछि धनकुटातिर जाने सवारी साधनहरुमा समेत लुटपातको डर हुने गथ्र्यो । तर अहिले मध्यरातसम्म यी ठाउँमा झिलीमिली र गुल्जार हुने गरेको धरान–१३ का स्थानीय पदम राईले बताए ।

“डाँडापाखामा चारैतिर होटल रिसोर्टहरुले झिलीमिली भएको देख्दा साह्रै राम्रो लाग्छ । होटल रिसोर्टहरुमा सयौँ युवाले स्वदेशमै रोजगार पाएका छन् । अझै थप पूर्वाधार निर्माण हुने क्रममा रहेको छ । अब यो ठाउँ धरान आउने पर्यटकका लागि पुग्नै पर्ने गन्तव्यका रुपमा विकास भएको छ,” उनले भने ।

धरान उपमहानगरपालिका–१३ मा निर्माण गरिएको ओशो पार्क जहाँ आन्तरिक तथा बाह्य पर्यटकको मुख्य आकर्षण केन्द्रका रुपमा विस्तार हुँदै गएको छ । धरानको मुख्य बजार भानुचोकबाट करिब छ किमीमाथि निर्माण गरिएको पार्क जहाँ त्यसको वरपर श्रमदानबाट बनाइएका एसडिबी, रकगार्डेन, बिपी पार्कलगायत एकैसाथ दर्जनौँ पार्क निर्माण गरिएको छ ।

वरिपरिको हरियाली वातावरणसहित ढकमक्क फुलेका फूलले पर्यटकको मन त्यसै लोभ्याउँछ । ओशो पार्कमा पुग्नुभएका पाँचथरका सन्दीप लिम्बू भन्छन्, “आजभन्दा पाँच–सात वर्षअगाडि यस ठाउँमा आउँदा चारैतिर जङ्गल झाडी अनि बगर थियो । अहिले यस्तो राम्रो पार्क बनिसकेछ ।”

“अब स्थानीयस्तरबाट पनि केही पार्क र वनभोजस्थलहरु थप्नका निम्ति कामहरु गर्न खोजिरहेका छौँ । होटेल पार्कहरुमा स्थानीय संस्कृति झल्काउने वातावरण बनाउने योजना अगाडि ल्याएका छौँ,” धरान उपमहानगरपालिका–१३ का वडाध्यक्ष नेत्र काफ्लेले बताए ।

“नयाँनयाँ निर्माण भइरहेका होटेल र पार्क निर्माणका कार्यलाई हामीले नियमन र सहजीकरण गर्दै आइरहेका छौँ । धरानको उत्तरी क्षेत्रलाई संरक्षण र विकास गर्न उपमहानगरपालिकाका तर्फबाट विस्तृत योजना बनाइरहेका छौँ । यो ठाउँलाई धरानको सौन्दर्य पहिचानसँग जोड्ने योजना छ,” वडाध्यक्ष काफ्लेले भने ।

यहाँ सुनसरी, मोरङ, झापा, विराटनगरलगायत नेपालका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक घुम्न जाने क्रम बढ्दै गएको छ । यहाँ पारिवारिक मिलन र भेटघाट, पारिवारिक घुमफिर, जन्मदिनका कार्यक्रम गर्ने चलन पनि बढ्दै गएको छ । यहाँका होटलमा नेपाली खानाका परिकार, स्थानीय जातजातिका खानाका परिकार, धराने कालो बङ्गुरको सेकुवा, सुकुटी, तोङ्बालगायतका स्थानीय खानाको स्वाद पनि पाइने होटल व्यवसायीहरुले बताए । 

मातृ तथा शिशु मृत्यु दरलाई शून्य बनाउने प्रयासमा सरकार छः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालमा मातृ तथा शिशु मृत्युदर शून्यमै झार्ने लक्ष्यका साथ निरन्तर रुपमा अघि बढ्नुपर्ने बताएका छन् ।

उनले मातृ तथा शिशु मृत्युदर घटाउन नेपाल उल्लेखनीय रुपमा सफल भएको उल्लेख गर्दै आगामी बजेटमा सरकारले प्रसूति उपचारलाई प्राथमिकतामा राख्ने गरी नै बजेट विनियोजन गरिने बताए ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको मातृ तथा नवजात शिशु सिमुलेसन ल्याबको उद्घाटनका अवसरमा उनले भने, ‘यो ल्याबको प्रभावकारिता दीर्घकालीन रुपमा कायम गर्नुपर्नेछ । यस्ता ल्याब अब सबै प्रदेशमा पनि विस्तार गर्नुपर्छ ।’

यो ल्याब अस्पतालको कुपन्डोल शाखामा सञ्चालनमा ल्याइएको छ । वन हर्ट वल्र्डवाइडको सहयोगमा निर्माण भएको सिमुलेसन ल्याब मातृ तथा नवजात स्वास्थ्य सेवा प्रदायकहरुको ज्ञान र क्लिनिकल सीपमा दक्षता हासिल गर्नमा प्रयोग हुनेछ ।

स्वास्थ्य मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले ल्याबको सञ्चालन र प्रभावकारिता वृद्धिमा ध्यान दिनुपर्ने बताए ।

उनले भने, ‘जनशक्तिको चुनौती पनि छ । ल्याब सुरु गर्नु ठूलो कुरा हो तर त्योभन्दा ठूलो कुरा निरन्तर रुपमा सञ्चालन गर्नु हो ।’

मातृ शिशु स्वास्थ्य सेवा प्रदायहरुका लागि चिकित्सकीय विधिहरुको अभ्यास गर्न यस प्रयोगशालाले सहजता ल्याउने अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले बताए ।

उनले भने,’यस प्रयोगशालाले चिकित्सकीय सीप सिक्ने तथा सिकाउने र नयाँ सीपमा दक्षता विकास गर्न एवं उच्च सीपयुक्त रही कार्यसम्पादन गर्न मद्दत पुग्ने अपेक्षा छ ।’

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच के विषयमा भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

सरकारको काम कारबाहीलाई लिएर कांग्रेसका नेताहरुले प्रश्न उठाउन थालेपछि दुई नेताबीच मंगलबार भेटवार्ता भएको हो ।

दुई नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार एक घण्टा वार्ता भएको हो । दुई नेताबीच सरकारको कामका विषयमा छलफल भएको बताइएको छ । केही दिनअघि माओवादी अध्यक्ष प्रचण्डले सरकार परिवर्तन हुने बताएका थिए ।

त्यस्तै कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सरकारको कार्यशैलीलाई लिएर आलोचना गरिरहेका छन् । कांग्रेस महामन्त्री थापाले त सरकारको गति ट्याक्टरको गतिमा भएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले विचौलियाहरु प्रधानमन्त्रीको बेडरुमसम्म पुग्ने गरेको बताएका छन् ।

अर्का महामन्त्री शर्माले सरकारका प्राथामिकता छोडेर प्रधानमन्त्री सडकतिर व्यस्त हुनु उचित नभएको बताउँदै आएका छन् ।

शनिबार नेपालगंजमा आयोजित कार्यक्रममा शमाले भनेका थिए, ‘प्रधानमन्त्रीले सडकको प्रदर्शनमा होइन, सरकारको प्रदर्शनमा ध्यानकेन्द्रित गर्न जरुरी छ । आज दिनभर प्रधानमन्त्रीज्यूको समय शिक्षक आन्दोलनको हल खोज्न केन्द्रित हुनुपथ्र्यो । तर, प्रधानमन्त्रीज्यू त्यतातिर होइन सडकतिर लाग्नु भो ।’

त्यस्तै कांग्रेस नेता डा. शेखर कोइरालाले पनि सरकारले सुशासन नदिएको भन्दै सरकारको आलोचना गर्दै आएका छन् । दुई नेताबीचको भेटमा यिनी असन्तुष्टिकाबारेमा कुराकानी भएको बताइएको छ ।

युक्रेनमा पक्राउ परेका चिनियाँ सैनिकबारे बेइजिङद्वारा ‘हेरफेर र प्रचार’ गरेको आरोप

बेइजिङ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले मस्कोले बेइजिङलाई आफ्नो आक्रमणमा तानेको आरोप लगाएपछि युक्रेनमा पक्राउ परेका आफ्ना दुई नागरिकबारे ‘हेरफेर र प्रचार’ भन्दै चीनले मङ्गलबार अस्वीकार गरेको छ ।

“चीनले सान्दर्भिक जानकारी र परिस्थितिको पुष्टि गरिरहेको छ”, विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले युद्धबन्दीहरूको बारे सोधिएको प्रश्नमा भने, “बेइजिङले सान्दर्भिक पक्षहरूलाई चीनको वस्तुनिष्ठ र निष्पक्ष दृष्टिकोणलाई सही रूपमा बुझ्न र राजनीतिक हेरफेर र प्रचारबाट टाढा रहन आग्रह गरेको छ ।”

युक्रेनले सोमबार आयोजना गरेको  पत्रकार सम्मेलनमा सशस्त्र गार्डअन्तर्गत चिनियाँ युद्धबन्दीहरूले पत्रकारहरूलाई आफूले अदला–बदली हुने आशा गरेको र अन्य चिनियाँ नागरिकहरूलाई युद्धमा नजान चेतावनी दिएका थिए ।

जेलेन्स्कीले शुक्रबार सयौँ चिनियाँ नागरिक रुसका साथ फ्रन्ट लाइनमा लडिरहेको बताएका थिए ।

तर बेइजिङले मङ्गलबार जोड दिँदै भन्यो, “चीनले बारम्बार सुरक्षा सल्लाह जारी गरेको छ, चिनियाँ नागरिकहरूलाई सशस्त्र द्वन्द्वका क्षेत्रहरूबाट टाढा रहन र कुनै पनि प्रकारको द्वन्द्वमा संलग्न हुनबाट बच्न आग्रह गरेको छ ।”

“विदेशमा चिनियाँ नागरिकहरू संलग्न व्यक्तिगत कार्यहरू र कन्सुलर मामिलाहरूको सम्बन्धमा चीनले कानून अनुसार तिनीहरूलाई व्यवहार गर्दछ”, लिनले भने ।

चीनले आफूलाई युक्रेन युद्धमा तटस्थ पक्षको रूपमा प्रस्तुत गर्दछ र संयुक्त राज्य अमेरिका र अन्य पश्चिमी राष्ट्रहरू विपरीत कुनै पनि पक्षलाई घातक सहायता नपठाएको बताउँछ ।

तर चीन रुसको नजिकको राजनीतिक र आर्थिक मित्र हो र नाटो सदस्यहरूले बेइजिङलाई युद्धको ‘निर्णायक सक्षमकर्ता’ भनेका छन् । युद्धलाई चीनले कहिल्यै निन्दा गरेको छैन । 

बूढीगण्डकी जलविद्युत आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण

गोरखा । बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि मुआब्जा निर्धारण गरिएको छ । चुमनुब्री गाउँपालिकाका जनप्रतिनिधि, प्रवद्र्धक कम्पनी साहस ऊर्जाका प्रतिनिधि र स्थानीयको सहभागितामा मुआब्जा निर्धारण गरिएको हो ।


साहस ऊर्जाका प्रबन्ध निर्देशक हिम पाठकका अनुसार बाँध निर्माणस्थल रहेको वडा नं ३ को सल्लेरीका बस्ती क्षेत्रमा रहेका जग्गाको प्रतिआना  तीन लाख कायम गरिएको छ ।


“चार आनाभन्दा कम जग्गा हुनेको हकमा भने प्रतिआना  चार लाख र बस्तीभन्दा बाहिर प्रतिआना एक लाख ५० हजार मुआब्कजा निर्धारण भएको छ ।” उनका अनुसार करिब ८० रोपनीको मुआब्जा दिनुपर्ने आकलन गरिएको छ । 


उक्त भेलाले घरको मूल्याङ्कन भने गरेको छैन । गाउँपालिकाका प्राविधिकले तयार गरेको प्रतिवेदनका आधारमा घरको मुआब्जा निर्धारण हुने पाठकले जानकारी दिए । आयोजनाबाट २६ घरधुरी विस्थापित हुने भएका छन् ।


विस्थापित हुनेहरुको पुनःस्थापनाका विषयमा पनि छलफल भइरहेको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए । “डुबानका कारण विस्थापित हुनेहरु कसैलाई फिलिममा, कसैलाई जगतमा पुनःस्थापित गर्ने विषयमा छलफल भइरहेको छ तर निर्णय भइसकेको छैन”, लामाले भने । 


गाउँपालिकाका अध्यक्ष निमा लामा, उपाध्यक्ष लक्ष्मी गुरुङ, वडा नं २ का अध्यक्ष रामकुमार गुरुङ, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)का प्रतिनिधि, सल्लेरी, भालुवन, जगत, नाग्चेतका बासिन्दालगायतको मुआब्जा निर्धारण भेलामा उपस्थिति थियो । 


अर्धजलाशययुक्त (पिकिङ रन अफ रिभर) प्रविधिको ३४१ मेगावाट क्षमताको उक्त परियोजना निजी क्षेत्रबाट सञ्चालित सबैभन्दा ठूलो परियोजना हो । साहस ऊर्जाले सल्लेरीमा बाँध निर्माण गर्ने छभने त्यहाँबाट ६.८ किलोमिटर भूमिगत सुरुङ हुँदै धार्चे–३ मा रहेको तातोपानीस्थित पावर हाउसमा विद्युत् उत्पादन गर्नेछ । उत्पादन हुने विद्युत् ४५ किलोमिटर लामो प्रसारण लाइनमार्फत नुवाकोटको रातामाटे सबस्टेसनमार्फत केन्द्रीय प्रसारणलाइनमा जोडिनेछ । आयोजनाको कुल लागत ७० अर्ब रहेको छ ।

सीको भियतनाम भ्रमणले अमेरिकालाई ‘बिगार्ने’ लक्ष्य राखेको छ : ट्रम्प

हनोई । चिनियाँ राष्ट्रपति सी जिनपिङले मङ्गलबार भियतनामका दिवङ्गत क्रान्तिकारी नेता हो ची मिन्हलाई हनोईको भ्रमणको अन्तिम दिन श्रद्धाञ्जलि अर्पण गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त भ्रमणले संयुक्त राज्यलाई ‘बिगार्ने’ लक्ष्य राखेको बताएका छन् ।

मलेसिया र कम्बोडिया समावेश हुने दक्षिणपूर्वी एसिया भ्रमणको एक हिस्साका रूपमा सी भियतनाममा छन् । ती मुलुकका नेताहरूले अमेरिकी भन्सार शुल्कको सामना गरिरहेको बेला बेइजिङले आफूलाई ट्रम्पको स्थिर विकल्पका रूपमा स्थापित गर्न खोजिरहेको छ ।

बेइजिङको सरकारी मिडियाका अनुसार चिनियाँ राष्ट्रपति सीले सोमबार आफ्नो देश र भियतनामलाई ‘एकपक्षीय धम्कीको विरोध गर्न र विश्वव्यापी स्वतन्त्र व्यापार प्रणालीको स्थिरतालाई कायम राख्न’ आह्वान गरे ।

केही घण्टापछि ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूलाई उनीहरूको बैठक संयुक्त राज्यलाई चोट पु¥याउने उद्देश्यले थियो भने ।

“म चीनलाई दोष दिन्नँ । म भियतनामलाई दोष दिन्नँ । म दिन्नँ । मैले देखेँ कि उनीहरू आज भेट्दैछन्, र त्यो अद्भुत छ”, उनले भने, “त्यो एक सुन्दर बैठक हो… हामीले संयुक्त राज्य अमेरिकालाई कसरी बिगार्ने भनेर पत्ता लगाउने प्रयास जस्तै ।”

चीन र भियतनामले सोमबार आपूर्ति शृङ्खला, कृत्रिम बौद्धिकता (एआई), संयुक्त समुद्री गस्ती र रेलमार्ग विकास सहित ४५ सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सीले सोमबार भियतनामका शीर्ष नेता तो लामसँगको बैठकमा उनीहरूको देशहरू ‘इतिहासको निर्णायक विन्दुमा उभिएका छन्… र संयुक्त हातहरू अगाडि बढ्नुपर्छ’ भने ।

भियतनाम समाचार एजेन्सीका अनुसार लामले वार्तापछि दुई नेताले ‘धेरै महत्त्वपूर्ण र व्यापक साझा धारणाहरू प्राप्त गरेको’ बताए ।

– रेल लिङ्क –

आफ्नो भ्रमणको अन्तिम दिन सीले मध्य हनोईमा स्वर्गीय नेताको समाधिमा आफ्नो नाम र ‘भियतनामका महान नेता राष्ट्रपति हो ची मिन्ह दीर्घायु रहुन्’ शब्दहरू अङ्कित रातो माला चढाए ।

उनी भियतनाम–चीन रेलवे सहयोगको शुभारम्भमा पनि सहभागी हुने कार्यक्रम छ । उक्त रेलवेले यस वर्ष घोषणा गरिएको भियतनामको सबैभन्दा ठूलो उत्तरी बन्दरगाह सहरलाई चीनसँगको सिमानामा जोड्ने आठ अर्ब डलरको रेल परियोजना व्यवस्थापन गर्न मद्दत गर्नेछ ।

उत्पादन पावरहाउस भियतनामको वर्षको पहिलो तीन महिनामा सबैभन्दा ठूलो निर्यात बजार संयुक्त राज्य अमेरिकाले विश्वव्यापी भन्सार अभियानको हिस्साका रूपमा भियतनामी सामानहरूमा ४६ प्रतिशत भन्सार शुल्क लगाएको लगभग दुई हप्तापछि सीको भ्रमण भएको हो ।

भियतनाम र अन्य धेरै देशमा अमेरिकी करहरू रोकिए पनि चीनले अझै पनि ठूलो भन्सार शुल्कको सामना गरिरहेको छ र क्षेत्रीय व्यापार सम्बन्धलाई कडा बनाउन र सीको यस वर्षको पहिलो विदेश भ्रमणका क्रममा तिनीहरूको प्रभावलाई कम गर्न खोजिरहेको छ ।

सी मङ्गलबार पछि मलेसिया र त्यसपछि कम्बोडिया जानुहुने र यसले व्यापक क्षेत्रका लागि ‘प्रमुख महत्त्व राख्ने’ बेइजिङले बताएको छ ।

यसअघि सीले भियतनाम र चीनलाई ‘बहुपक्षीय व्यापार प्रणाली, स्थिर वैश्विक औद्योगिक र आपूर्ति शृङ्खला र खुला र सहकारी अन्तर्राष्ट्रिय वातावरणको दृढतापूर्वक रक्षा गर्न’ आग्रह गरेका थिए ।

उनले सोमबार भियतनामको प्रमुख राज्यद्वारा सञ्चालित नहान दान अखबारमा प्रकाशित एउटा लेखमा ‘व्यापार युद्ध र भन्सार शुल्क युद्धले कुनै विजेता उत्पादन गर्दैन र संरक्षणवादले कतै नेतृत्व गर्दैन’ भन्ने बेइजिङको लाइनलाई पनि दोहोर्‍याए ।

दुवै कम्युनिस्ट पार्टीद्वारा शासित चीन र भियतनाम पहिले नै ‘व्यापक रणनीतिक साझेदारी’ साझा गर्दछन् जुन हनोईको सर्वोच्च कूटनीतिक स्थिति हो ।

भियतनामले चीन र संयुक्त राज्य अमेरिका दुवैसँग राम्रो सर्तमा रहन प्रयास गर्दै लामो समयदेखि ‘बाँस कूटनीति’ दृष्टिकोण अपनाएको छ ।

बाँस कूटनीतिले लचिलोपन र स्वतन्त्रताको सिद्धान्तमा निहित विदेशी सम्बन्धमा भियतनामको विशिष्ट दृष्टिकोणलाई जनाउँछ । यो अवधारणाले भियतनाममा गहिरो सांस्कृतिक महत्त्व राख्ने बाँसको बोटबाट प्रेरणा लिन्छ राख्छ ।

दुई देशबीच घनिष्ठ आर्थिक सम्बन्ध छ तर हनोईले विवादित दक्षिण चीन सागरमा बेइजिङको बढ्दो दृढताबारे अमेरिकाको चिन्ता साझा गर्दछ । 

त्रिभुवन विमानस्थलबाट गाँजासहित एकजना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो ९७० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा २७ वर्षीय भारतीय नागरिक भिसाक भिजयन रहेको विमानस्थलका सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौँरले जानकारी दिए ।

उनले भने, ‘थाई एयरको उडानमार्फत बैङ्कक हुँदै गएराति नेपाल आएका उनको लगेज जाँचका क्रममा उक्त परिणामको गाँजा फेलापरेपछि पक्राउ गरिएको हो ।’ भिजयनलाई थप अनुसन्धानका लागि लागुअषौध ब्यूरो कोटेश्वर पठाइएको छ ।

सिन्धुली कलाघर–जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति

सिन्धुली । नेपाली मौलिकता झल्किने घुमाउने घरको छानोमा गर्वका साथ झन्डा फरफराइरहेको देखिन्छ । दलानमा बाँसबाट बनाइएका आकर्षक मुड्का लस्करै छन् । अतिथि सत्कारका लागि राखिएका मुड्का कुनै खाली छैनन् । 
मञ्चमा स्थानीयदेखि राष्ट्रिय कलाकारसम्मले विभिन्न लोपोन्मुख सांस्कृतिक प्रस्तुतिहरु पस्किरहेका छन् । दर्शकदीर्घा हरेक दिन भरिन्छ, बच्चादेखि बुढासम्मको उपस्थितिले । २०८१ चैत २८ गतेदेखि यहाँ राष्ट्रिय कला महोत्सव चलिरहेको छ । महोत्सवमा नेपालको मौलिक जीवनशैली झल्किने वस्तुहरू सजिएका छन् ।

परम्परागत घरको नमूना बनाइएको छ । यहाँ प्रदर्शन गरिएका रोङ्गटे पिङ, ऐतिहासिक पुरातात्विक सामग्रीहरु, मौलिक बाजागाजादेखि जातीय झाँकी, गीत, लोक नृत्यमा संस्कृति बोलिरहेको छ । अर्गानिक खाद्यवस्तु, चियादानीमा उमालेको चिया र घरजत्रै ठेकीको मोहीसम्ममा नेपालीपन झल्किएको देखिन्छ । 
खैंजडी भजनको लय, सुर र ताल, लोकदोहोरीको मिठास, स्थानीय र राष्ट्रिय कलाकारहरूको मन छुने प्रस्तुति महोत्सवका विशेषता हुन् ।

महोत्सवको भव्य उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाबाट भएको थियो । वैशाख ३ गतेसम्म चल्ने यो महोत्सवमा हजारौँ दर्शकले आ–आफ्नो संस्कृति र पहिचानलाई नजिकबाट सिक्न, बुझ्न पाइरहेका छन् । 

चपौली, बागमती प्रदेशको कमलामाई नगरपालिका–३ सिन्धुलीमा पर्दछ । यहाँको शान्त र सुरम्य परिवेशमा निर्माणाधीन छ, ‘राष्ट्रिय कला सङ्ग्रहालय सिन्धुली कलाघर’ । कलाघर पुग्न बिपी राजमार्गको सोलाभन्ज्याङ हुँदै सिन्धुलीगढी पार गरेर सात किलोमिटर अगाडि बढ्नुपर्छ । कालोपत्र सडकले यहाँ पुग्न सहज बनाएको छ । महोत्सव नचल्दा पनि पर्यटकलाई आकर्षित पार्दै गइरहेको यो स्थानले सिन्धुलीलाई कला नै कलाको पहिचानका रुपमा चिनाउँदै छ । 

सिन्धुली कलाघरको प्राण हुने, कलाकार चित्रबहादुर थापामगर ‘सुमन’ । चपौलीको स्थानीय बासिन्दासमेत रहेका उनी सिन्धुली कलाघरको परिकल्पनाकार हुन् । कलाघरभित्र अनेक कलाहरु निर्माण गरी प्रदर्शनमा राखिएका छन् ।

चार रोपनी क्षेत्रफलमा फैलिएको कलाघर परिसरमा धार्मिकस्थल पशुपतिनाथ, बौद्धस्तूपा, भगवान् गौतमबुद्धको जन्मस्थान लुम्बिनी, जानकी मन्दिर, नौतले धरहरा, डम्फु, विश्वकै ठूलो सारङ्गी, मादल, मौलिक घुमाउने घर, लटरम्म फलेको जुनारको बोट,  काठ तथा जराबाट बनाइएका कलाहरु, नेपाली मौलिक लोकबाजाहरु, परम्परागत लोपोन्मुख घरेलु तथा कृषि सामग्रीहरु, क्यानभास चित्रहरुलगायतका मौलिक संरचनाहरु कलामा रङ्गिएर बसेका छन् । 

सिन्धुली कलाघर नेपाली मौलिकताको सम्मान, संस्कृति प्रवद्र्धन र सम्पूर्ण कला सिकाइको केन्द्र हो । बाहिरबाट हेर्दा सामान्य देखिने कलाघरभित्र अद्भुत कलाहरु सङ्ग्रहित छन् । गौरीशङ्कर हिमालको टाकुरोबाट टल्किने दृश्य यहीँबाट देखिन्छ । प्राकृतिक सुन्दरता, शान्त परिवेश र प्रेरणादायी वातावरणले यहाँ पुग्ने सबैको मन मोहित बनाउँछ । 

अबको १० वर्षभित्र १९५ मुलुकलाई कलाको स्वरुपमा उतारेर कलाघरलाई ‘विश्व कलाघर’ का रुपमा विकास गर्ने सङ्कल्पका साथ खटिएको सिन्धुली कलाघरका अध्यक्षसमेत रहेका कलाकार सुमनले जानकारी दिए । उनले भने, “हामी कलाघरलाई यतिमै सीमित राख्दैनौँ, यो हाम्रो जीवनशैली, संस्कार र सम्पदा हो । कलाकारको आश्रम, सांस्कृतिक विश्वविद्यालय र कला अनुसन्धान केन्द्र निर्माण गर्ने उद्देश्य बोकेर हामी यो महाअभियानमा होमिएका छौँ ।”

कलाघरभित्र कला आश्रम पनि बन्नेछ । जहाँ जीवनभर कलामा समर्पित कलाकारले बुढ्यौलीपन सम्मानका साथ बिताउन सक्नेछन् । जसबाट कलाकारको जीवनभरको साधनालाई सम्मान हुनेछ । “कलाकारको पनि बुढ्यौली आउँछ, रोगले गाँज्छ । त्यसबेला कलामा रमाएर जीवन बाँच्न सकियोस् भनेर कला आश्रम निर्माण गर्नुपर्छ भनी लागिपरेका छौँ,” कलाघरको नेतृत्व गरिराखेका सुमनले भने ।

कला बचाउन सके देश बच्छ भन्ने बुझाइ भएका कलाकार सुमनसँग धेरै विधाका कला अनुभव छन् । नेतृत्वकला, वाद्यवादन, अभिनय, कार्टुन निर्माण, नाटक लेखन तथा भिडियो निर्देशन, उद्घोषण, मार्सलआर्ट, काष्ठ तथा हस्तकला, नृत्य, क्यारिकेचरलगायत विविध सिर्जनात्मक कला उनले कलायात्राकै दौरानमा बटुलेका हुन् ।

आफूले बटुलेका कला आफैँभित्र मात्रै सीमित राखेका बहुप्रतिभाका खानी कलाकार सुमनले । ज्ञान बाँडे बढ्छ भनेझैँ उनले आफूले सिकेका कला अरूलाई पनि सिकाए । जसले पहिचान बनाए उनी जस्तै कलाकारको । जो आज सुमनकै परिकल्पना र अवधारणालाई सार्थक बनाउन रात–दिन नभनी पसिना बगाइरहेका छन्, कलाकारहरु–पवित्रा रम्तेल, रीता थिङ, निरुता लामा, सञ्चिता थापामगर, रीता विश्वकर्मा, रिता तामाङ, रुविना पुलामी, सिर्जना गोले, अम्बिका पुलामी, गङ्गा ठटाल, सिद्धबहादुर विक, पदमबहादुर सार्की, जीवन थापामगरलगायत ।

युवाहरु वैदेशिक रोजगारीमा पलायन भइरहेकै बेलामा आफ्नै थातथलोमा बसेर कला र संस्कृतिलाई संरक्षण, संवद्र्धन गर्ने उद्देश्य राखेका उनीहरुले कलालाई मनोरञ्जनका रुपमा मात्रै होइन, रोजगारी र आत्मनिर्भरताको आधारका रुपमा पनि लिएका छन् ।

कलाघरका सबै कलाकारहरु पञ्चेबाजा बजाउनदेखि नाच्न, गाउन पनि उत्तिकै सिपालु छन् । उनीहरुलाई देश तथा विदेशका विभिन्न ठाउँहरुमा प्रस्तुतिका लागि बोलाउने गरिएको छ । जहाँ पुग्दा पनि आफ्नो कला, गलाले सबैको मन जितेर फर्कन्छन् । एक पटक बोलाएको ठाउँमा पटक–पटक बोलाउँछन् । उनीहरुको जीविका यसैबाट चलेको छ नै कलाघर निर्माणमा समेत मद्दत पुगेको छ । 

बाहिरी कार्यक्रमबाट फुर्सद मिल्नासाथ कलाकारहरु कलाघर फर्कन्छन् । कसैले बाजाको अभ्यास गर्न थाल्छन् । कसैले नृत्यमा पारङ्गत हुन प्रयास गर्छन् । कसैले गीतलाई प्रभावकारी बनाउन रियाज गर्छन् । फलाम, काठ, ढुङ्गा र माटामा विभिन्न कलाकृति खोज्न कसिन्छन् ।

सिन्धुली कलाघरको समूह नेपाली कला, संस्कृतिको संरक्षण र प्रवद्र्धनमा समर्पित छ । विशेषगरी, लोप हुँदै गएका परम्परागत बाजाहरू बचाइराख्ने कार्यमा कलाघर अग्रसर छ । नेपाली संस्कृतिमा कुनै पनि महत्वपूर्ण कार्य साइतमा गरिन्छ, र यस्ता साइतहरूलाई मङ्गलमय बनाउन मङ्गल धुन बजाउने परम्परा छ । जसका लागि अहिले देश–विदेशका धार्मिक, सामाजिक, साङ्गीतिक र सांस्कृतिक समारोहमा कलाकारका पञ्चेबाजा बजाउने महिला कलाकारको माग बढ्दो छ ।

मौलिक पोसाकमा सजिएर दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाईको तालमा नाचेर कलाकारले दर्शकलाई नेपालीपनमा झुम्ने बनाउँछन् । पञ्चेबाजामा नेपाली संस्कृतिको आफ्नै भव्यता र गरिमा छ । एक समय महिलाले बाजा छुनु पनि अपवित्र मानिन्थ्यो, तर अहिले कलाघरका महिलाहरू बाजा बजाउने मात्र होइन, प्रशिक्षण दिनेसम्मको भूमिकामा छन् ।

कलाघरको महिला पञ्चेबाजा समूहले राष्ट्रियस्तरका प्रतिस्पर्धामा समेत उत्कृष्ट सफलता हात पारिसकेको छ । विवाह, व्रतबन्ध, उत्सवदेखि अन्तरराष्ट्रिय साङ्गीतिक कार्यक्रममा समेत कलाघरको समूहलाई निमन्त्रणा आउँछ । “पुराना बाजाहरू हराउँदै जान थालेपछि हामी संरक्षणमा लाग्यौँ । बाजा भएर मात्रै भएन, बजाउने सीप पनि चाहियो भनेर बजाउन सिक्यौँ । अहिले विभिन्न कार्यक्रम, समारोहमा व्यावसायिक हिसाबले बजाउँदै हिँड्छौँ । नयाँ पुस्तालाई सिकाउन पनि सुरु गरेका छौँ,” कलाकार तथा कलाघरकी उपाध्यक्ष पवित्रा रम्तेलले सुनाइन् । 

नेपाली मौलिकता र सांस्कृतिक पहिचानलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने कलाघरको अभियान बिस्तारै साकार बन्दै गएको उनले बताए । २०७५ सालमा सिन्धुलीमाडीमा सिन्धुली उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सवमा आफ्नो कलाले पाएको प्रशंसाले कला संरक्षणको सपना जागाएको थियो, सुमनलाई । त्यही सपना साकार पार्ने सोचमा जन्म भएको हो, सिन्धुली कलाघरको । 

कलाकार समुनको नेतृत्वमा रहेको कलाघर समूहले आफ्नै मेहनत र सिर्जनात्मकताबाट धेरै संरचनाहरू बनाइसकेको देख्न सकिन्छ । खुल्ला चौरबाट सुरु गरिएको सङ्घर्षले आज चार रोपनी क्षेत्रमा राष्ट्रिय कला सङ्ग्रहालय, सिन्धुली कलाघर निर्माणधीन छ । तर, कलाघरले अघि सारेको दीर्घकालीन लक्ष्य, उद्देश्य, योजना र अवधारणाअनुसार संरचना विस्तारका लागि जमिनको थप आवश्यकता परेको छ ।

कलाघरलाई विश्व कलाघरका रूपमा विकास गर्दै १९५ राष्ट्रको सांस्कृतिक प्रतिनिधित्व गर्ने लक्ष्य साकार पार्न अझ धेरै ठाउँको खाँचो छ । कलाकारका लागि आवासीय कला आश्रम, सांस्कृतिक विद्यालय, र पाठशालाहरू निर्माण गर्न हालको जमिनले पुग्दैन ।

योजनाहरू महत्वकाङ्क्षी छन्, तर ती योजना कार्यान्वयनमा ल्याउन आर्थिक स्रोतको व्यवस्थापन सबैभन्दा ठूलो चुनौती बनेको छ । कलाघरका योजना सुन्दा जति भावुक बनाउँछ, कार्यान्वयन उत्तिकै कठिन छ । तर, कलाघर समूहले हरेस खाएको छैन । “पैसा छैन, तर हिम्मत छ । हामी दिनरात नभनी पसिना बगाइरहेका छौँ । बनाउन सक्छौँ–सबैको साथ रह्यो भने,” कलाकार तथा सिन्धुली कलाघरकी उपाध्यक्ष पवित्रा रम्तेलले भनिन् । 

हालसम्म सहयोगीका रूपमा केही समाजसेवी, स्थानीय सरकार, सङ्घसंस्था, र कलाप्रेमी अगाडि आएका छन्, तर त्यो पर्याप्त छैन । नेपालको मौलिक कला, संस्कृति र पहिचान जोगाउ र यसलाई विश्वसँग जोड्न स्थानीय, प्रदेश र सङ्घ सरकारसँग हारगुहार गरिरहेका छन्, सिन्धुली कलाघर समूह ।  “हामीसँग लक्ष्य, उद्देश्य, योजना र जनशक्ति छ, तर स्रोत छैन । हाम्रो कलालाई विश्वसामु उभ्याउन, सिन्धुली कलाघरलाई ‘वल्र्ड आर्ट हाउस’का रुपमा विस्तार गर्न सरकारको दरिलो साथ चाहिएको छ,” कलाकार रीता विश्वकर्माले सुनाइन् ।

सिन्धुली कला सङ्ग्रहालयमा राखिएका लोपोन्मुख सामग्री, ऐतिहासिक र सांस्कृतिक कलाकृतिहरू तथा कलाकारहरुको अद्भुत कला अनि सांस्कृतिक प्रस्तुतिहरुले स्थानीय र विदेशी पर्यटकहरूको ध्यान आकर्षित गर्न सफल भएको कमलामाई नगरपालिका, सिन्धुलीका प्रमुख उपेन्द्रकुमार पोखरेलले बताए । 
नगरपालिकाले कलाघरले गरिरहेको सिर्जनात्मक र मौलिक कलाको उजागर, संरक्षण र प्रवद्र्धनमा निरन्तर सहयोग गर्ने उनको भनाइ छ । 

बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले आगामी आर्थिक वर्षमा कला र संस्कृति संरक्षणमा बागमती प्रदेश सरकारले बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता गरे । कला र संस्कृतिलाई जोगाउन सकेमा राष्ट्रिय एकता र समृद्धि बलियो हुने सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्माको धारणा छ । नेपाली मौलिक कला, संस्कृति र पहिचानलाई बचाइराख्ने अभियानमा जुटेको सिन्धुली कलाघर अब सरकारको साथ र समर्थनमा अघि बढ्नेमा सङ्घीय सांसद सुशीला थिङ ढुक्क छिन्  ।

सङ्घलाई जिडिपीको पाँच र प्रदेश तथा स्थानीय तहलाई राजस्वको १२ प्रतिशत नबढ्ने गरी ऋण उठाउन सिफारिस

काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष तीन तहका सरकारले उठाउन पाउने आन्तरिक ऋणको सीमा सिफारिस गरेको छ ।

आगामी आर्थिक वर्षका लागि आन्तरिक ऋण उठाउँदा सङ्घ सरकारले मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को पाँच प्रतिशत र प्रदेश तथा स्थानीय तहले आफ्नो आन्तरिक स्रोत तथा वित्तीय हस्तान्तरणबाट प्राप्तसमेत कुल राजस्वको १२ प्रतिशतभन्दा बढी नहुनेगरी ऋण उठाउन पाउने व्यवस्था भएको छ ।

‘देशको समष्टिगत आर्थिक स्थिति, राजस्व तथा खर्चको अनुमान र बजार सहजताको विश्लेषण गरी सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि अनुमानित कुल गार्हस्थ्य उत्पादनको पाँच प्रतिशतमा नबढ्ने गरी आन्तरिक ऋण उठाउन सक्नेछ’, आयोगको सिफारिसमा भनिएको छ ।

आन्तरिक ऋण उठाएर पुँजी सिर्जना गर्ने क्षेत्रमा मात्र सरकारले लगानी गर्नुपर्ने सुझाव दिइएको छ । राष्ट्रिय नीति तथा योजनामा आधारित भई लागत–लाभ विश्लेषणबाट आन्तरिक प्रतिफल दर वा खुद वर्तमान मूल्य उपयुक्त भएका परियोजना, राष्ट्रिय गौरवका आयोजना, रुपान्तरणकारी आयोजना र मध्यकालीन खर्च संरचनाअन्तर्गतको पहिलो प्राथमिकता प्राप्त आयोजनाका लागि मात्र आन्तरिक ऋण उठाउन आयोगको सिफारिस छ ।

प्रदेश र स्थानीय तहहरुले भने तोकिएको कानूनी प्रक्रिया पूरा गरेर मात्रै ऋण उठाउन सक्नेछन् । यसअघि सङ्घ सरकारको अनुमतिविना प्रदेशहरुले घाटा बजेट ल्याएर आन्तरिक ऋणलाई स्रोतका रुपमा देखाउने गर्दथे । तर वित्त आयोगले प्रक्रिया पूरा गरेर मात्रै आन्तरिक ऋणलाई स्रोतका रुपमा देखाउन भनेको छ ।

‘प्रदेश सरकारहरुले आन्तरिक ऋण परिचालनको संरचनागत र प्रक्रियागत प्रबन्ध पूरा भएको अवस्थामा आर्थिक वर्ष २०८२/८३ मा सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँटको रकम र प्रदेश सरकारको आन्तरिक स्रोतबाट प्राप्त हुने राजस्व रकमको योगफलको बाह्र प्रतिशतमा नबढ्ने गरी आन्तरिक ऋण उठाउन सक्नेछन्’, सिफारिसमा भनिएको छ । प्रदेशहरुले पनि आन्तरिक ऋण उठाएको रकमलाई पुँजी सिर्जना गर्ने र गौरवका आयोजनामा लगानी गर्नुपर्ने छ ।

प्रदेश सरकार मात्र नभई स्थानीय तहहरुले पनि आन्तरिक ऋण उठाउन सक्ने व्यवस्था गरिएको छ । आगामी आर्थिक वर्षका लागि स्थानीय तहहरुले सङ्घ र प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँटको रकम र उनीहरुको आफ्नो आन्तरिक स्रोतबाट प्राप्त हुने राजस्व रकमको योगफलको बाह्र प्रतिशत नबढ्ने ऋण उठाउन सक्नेछन् ।

‘पुँजी सिर्जना गर्ने आयोजनामा मात्रै लगानी गर्नू’

वित्त आयोगले पुँजी सिर्जना गर्ने र प्रतिफल दिने आयोजनामा लगानी गर्नका लागि मात्र ऋण लिन सरकारलाई सिफारिस गरेको छ । चालु खर्च धान्न ऋण उठाउन नहुने आयोगले जनाएको छ ।
‘आन्तरिक ऋणको उपयोग रोजगारीका अवसर सिर्जना, दीर्घकालीन लाभ प्रदान गर्ने तथा पुँजी निर्माणमा योगदान गर्नसक्ने आयोजनाहरुका लागि विनियोजन गरिनुपर्दछ । चालु र प्रशासनिक खर्चमा कडाईका साथ निषेध गरिनुपर्छ’, आयोगको सिफारिसमो छ ।

आयोजनाहरुको पुँजीको लागत भन्दा आन्तरिक प्रतिफल दर अधिक भएका नाफामूलक आयोजनामा ऋण लगानी गर्नुपर्ने छ । ऋण लगानी गरी सञ्चालन हुने क्रमागत आयोजना वा नयाँ आयोजना पहिचान, विकास र छनोट गर्दा अन्य विषयका अतिरिक्त आयोजना वा कार्यक्रमको कार्यान्वयनबाट प्राप्त हुने प्रतिफलबाट ऋण लगानीको साँवा र ब्याज भुक्तानी गर्न सकिने सुनिश्चिता हुनुपर्ने छ । आयोगको सिफारिसअनुसार उत्पादन वृद्धि, रोजगारी सिर्जना, आय वृद्धि, पूर्वाधार विकास र पुँजी निर्माण हुने पूर्वतयारी सम्पन्न भएका आयोजनामा आन्तरिक ऋण परिचालन गर्न सकिनेछ ।

यसैगरी अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा १४ मा उल्लेख भएबमोजिम सरकारको स्वीकृति प्राप्त भएपछि मात्र प्रदेश र स्थानीय सरकारहरुले आन्तरिक ऋणलाई बजेटमा स्रोतको रुपमा उल्लेख गर्नुपर्ने सुझाव आयोगको छ ।। तर प्रदेशहरुले भने आफुखुशी बजेट स्रोतका रुपमा आन्तरिक ऋण देखाउँदै आएका छन् ।

ऋण उठाउन सक्दैनन् प्रदेश, सङ्घ सरकारको स्वीकृतिविना बजेट स्रोत देखाउँदैः

नेपालको संविधान, २०७२ ले प्रदेश र स्थानीय तहलाई पनि आन्तरिक ऋण उठाउन सक्ने अधिकार दिएको छ भने बाह्य ऋण सङ्घ सरकारले मात्रै उठाउन पाउँछ । संविधानको धारा २५१ को व्यवस्थाबमोजिम तीनवटै तहका सरकारले लिन सक्ने आन्तरिक ऋणको सीमा सिफारिस गर्ने जिम्मेवारी तथा दायित्व राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको हो । आयोगले आर्थिक वर्ष २०७५/७६ देखि प्रदेश र स्थानीय सरकारलाई उनीहरुले उठाउन सक्ने ऋणको सीमा सिफारिस गर्दै आएको छ ।

वित्त आयोगको सिफारिस हेर्दा आर्थिक वर्ष २०७५/७६ मा सङ्घीय सरकारलाई अनुमानित कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को पाँच प्रतिशत र प्रदेश तथा स्थानीय तहलाई उनीहरुको आन्तरिक राजस्व र राजस्व बाँडफाँटबाट प्राप्त रकमको १० प्रतिशतसम्म आन्तरिक ऋण उठाउन सक्ने सुझाव दिएको देखिन्छ ।

प्रदेश र स्थानीय सरकारले उठाउन सक्ने ऋणको सीमा आर्थिक वर्ष २०७७/७८ पछि भने बढाएर १२ प्रतिशत पु¥याइयो । आगामी आर्थिक वर्षका लागि पनि वित्त आयोगले यहि सिफारिस गरेको छ । प्रदेश र स्थानीय सरकारले आफ्नो राजस्व र राजस्व बाँडफाँटबाट प्राप्त रकमको १२ प्रतिशतसम्म आन्तरिक ऋण उठाउन पाउने व्यवस्था छ ।

सङ्घीयता कार्यान्वयन भएसँगै प्रदेश र स्थानीय सरकारले आर्थिक अधिकार पनि पाएका छन् । आफ्नो क्षेत्राधिकारभित्र बसेर आर्थिक अधिकारसम्बन्धी कानुन बनाउने, नीति तथा योजना तयार पार्ने, वार्षिक बजेट तर्जुमा गर्ने तथा कार्यक्रम कार्यान्वयन गर्ने र त्यसको लेखाङ्कन एवं लेखापरीक्षणसम्मका अधिकार प्रदेश र स्थानीय सरकारलाई छ । उनीहरुले आफ्नो वार्षिक बजेट अनुमान गर्दा अनुमानित आयभन्दा व्यय बढी हुनेगरी घाटा बजेट पनि जारी गर्न सक्छन् ।

केही प्रदेश र स्थानीय सरकारले आफ्नो घाटा बजेट पूर्ति गर्नका लागि अर्थात् वार्षिक बजेटको स्रोतमा आन्तरिक ऋण लाई देखाउँदै आएका भएपनि उनीहरुले हालसम्म आन्तरिक ऋण सङ्कलन र परिचालन भने गरेको देखिँदैन । उदाहरणका लागि गण्डकी प्रदेशले आन्तरिक ऋण उठाउने भन्न थालेको सात वर्ष भयो ।

गण्डकी प्रदेशको आर्थिक वर्ष २०७६/७७ यताका सबै बजेटको स्रोतमा आन्तरिक ऋणलाई पनि राखिएको छ । बागमती र सुदूरपश्चिम बाहेक अरु सबै प्रदेशका सरकारले कुनै न कुनै वर्षको बजेट स्रोतमा आन्तरिक ऋण देखाएका छन् । तर हालसम्म पनि कुनैपनि प्रदेशले आन्तरिक ऋण उठाएर उपयोग गर्न नसकेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

ट्रम्पका दूत स्टिभ भन्छन्-इरान वार्तामा प्रमाणीकरण ‘मुख्य विन्दु’ हो

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूतले संयुक्त राज्य अमेरिका र इरान बीचको कुनै पनि आणविक सम्झौता तेहरानको सम्वद्र्धन र हतियार क्षमताहरूको प्रमाणीकरणमा निर्भर हुने बताएका छन् ।

“पहिलो बैठक सकारात्मक, रचनात्मक, बाध्यकारी थियो”, गत हप्ता ओमानमा वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गरेका स्टिभ विटकफले टेलिभिजनमा फक्स न्युजसँगको अन्तर्वार्तामा भने ।

‘यो सम्वद्र्धन कार्यक्रममा प्रमाणीकरणको बारेमा धेरै हुन गइरहेको छ’ भन्दै उनले इरानको आणविक कार्यक्रमलाई पूर्ण रूपमा विघटन गर्न आह्वान गर्न छोडेको देखिन्थ्यो ।

“उनीहरूलाई तीन दशमलव ६७ प्रतिशतभन्दा बढी समृद्ध गर्न आवश्यक छैन”, ट्रम्पले आफ्नो पहिलो कार्यकालमा सन् २०१८ मा बाहिरिएको अघिल्लो आणविक सम्झौताअन्तर्गत अनुमति दिइएको अधिकतम स्तरलाई सन्दर्भ गर्दै रियल स्टेट व्यवसायी विटकफले भने, “केही परिस्थितिमा उनीहरू ६० प्रतिशतमा छन्, अन्य परिस्थितिमा २० प्रतिशत । त्यो हुन सक्दैन र तपाईंलाई जसरी उनीहरू दाबी गर्छन्, नागरिक आणविक कार्यक्रम चलाउन आवश्यक छैन जहाँ तपाईं तीन दशमलव ६७ प्रतिशतभन्दा बढी समृद्ध गर्दै हुनुहुन्छ ।”

सन् २०१५ मा ट्रम्पले त्यागेको बहुपक्षीय सम्झौताले इरानलाई आणविक बम निर्माण गर्न व्यावहारिक रूपमा असम्भव बनाउने लक्ष्य राखेको थियो भने एकै समयमा यसलाई नागरिक आणविक कार्यक्रमलाई अगाडि बढाउन अनुमति दिएको थियो ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) ले इरानसँग अनुमानित दुई सय ७४ दशमलव आठ किलोग्राम युरेनियम रहेको बताएको छ । यो ६० प्रतिशतमा समृद्ध छ र ९० प्रतिशत हतियार ग्रेडको नजिक छ ।

‘हतियारीकरण’ क्षमताहरूको प्रमाणीकरण इरानसँगको वार्तामा अर्को ‘महत्त्वपूर्ण’ विन्दु हुने विटकफले बताए ।

“यसमा मिसाइलहरू समावेश छन्, उनीहरूले त्यहाँ भण्डार गरेका मिसाइलहरूको प्रकार र यसमा बमको ट्रिगर समावेश छ”, उनले फक्स होस्ट सीन ह्यानिटीलाई भने, “कुनै पनि औपचारिक कागजातको विवरणमा समस्या लुकेको हुन्छ, आशा छ कि हामीसँग कागजातको मस्यौदा प्राप्त गर्ने उच्च गुणस्तरको समस्या हुनेछ । तर प्रमाणीकरण मुख्य विन्दु हुनेछ जसले यस सम्झौतालाई समर्थन गर्दछ ।”

नवलपुरबाट माओवादी केन्द्रको जागरण अभियान पुनः सुरु

नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को ‘जनतासँग माओवादी हुलाकीमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान’ नवलपुरको गैँडाकोटबाट सुरु भएको छ । झापाबाट सुरु भएको अभियान गत चैत ८ मा चितवन पुगेर स्थगित गरिएको थियो । 

अभियानका लागि सोमबार साँझ नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको टोली गैँडाकोट आइपुगेको थियो । नयाँ वर्षको अवसर पारेर नवलपुरबाट पुनः अभियान सुरु गरिएको अध्यक्ष दाहालले बताएका थिए । गैँडाकोटबाट अभियान पुनः सुरु गर्न पाउँदा खुसी लागेको अध्यक्ष दाहालको भनाइ थियो । 

अध्यक्ष दाहालसहितको टोलीले मंगलबार बिहान गैँडाकोट–४ को गैँडाकोट पम्पिङ स्किम खानेपानीबाट अभियानको सुरुवात गरेको छ ।  टोलीले यहाँ करिब पाँच किलोमिटर ‘मर्निङ वाक’  गरेको माओवादी केन्द्र गैँडाकोट नगर समितिका अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिए ।

अभियानका क्रममा अध्यक्ष दाहालले गैँडाकोट–८ स्थित लखन चोकमा रहेको नेपालका प्रथम सहिद लखन थापाको सालिकमा माल्यार्पण गरेका थिए ।

अभियानका क्रममा अध्यक्ष दाहालले नगरपालिकाभित्र रहेका पार्टी निकट सहिद परिवार, शुभेच्छुकलगायतका व्यक्तिहरुसँग समेत भेटघाट र कुराकानी गरेका थिए । माओवादी केन्द्रका उपाध्यक्ष नन्दकिशोर पुन पनि अभियानमा सहभागी छन् । 

अध्यक्ष दाहालले अभियानअन्तर्गत आज दिउँसो देवचुली नगरपालिकाको रजहर, जिल्ला सदरमुकाम कावासोतीलगायतका स्थानमा सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ । 

अभियानका क्रममा आज नवलपुर केन्द्रित कार्यक्रम रहने नगर अध्यक्ष अधिकारीले जानकारी दिए । जनतासँग माओवादी हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियान कञ्चनपुर पुगेर समापन गर्ने तयारी गरिएको छ ।

पुटिन युक्रेनसँग ‘स्थायी शान्ति’ सम्झौताका लागि तयार : ट्रम्पका दूत

वासिङ्टन । तीन वर्षभन्दा बढी चलेको युद्ध अन्त्य गर्ने वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनसँग ‘स्थायी शान्ति’ सम्झौताका लागि खुला रहेको बताएका छन् ।

ट्रम्पले मस्को र किएभलाई युद्ध विराममा सहमत हुन दबाब दिइरहेका छन् तर रुसी र अमेरिकी अधिकारीहरूबीच बारम्बार वार्ता भए पनि क्रेमलिनबाट कुनै ठुलो सहुलियत प्राप्त गर्न असफल भएका छन् ।

शुक्रवार ट्रम्पका विशेष दूत स्टिभ विटकफले सेन्ट पिटर्सबर्गमा पुटिनसँग भेट गरे । रिपब्लिकन राष्ट्रपति ट्रम्प जनवरीमा ह्वाइट हाउस फर्केपछि उनीहरूको यो तेस्रो बैठक थियो । सोमबार टेलिभिजनमा प्रसारण गरिएको फक्स न्युजको अन्तर्वार्तामा विटकेफले शान्ति सम्झौता ‘उदय हुँदै’ गरेको आफूले देखेको र पुटिनका दुई प्रमुख सल्लाहकार युरी उसाकोभ र किरिल दिमित्रिभ ‘प्रभावशाली बैठक’ मा रहेको बताए ।

“पुटिनको अनुरोध यहाँ स्थायी शान्ति होस् भन्ने हो । त्यसैले युद्ध विरामभन्दा पर हामीले त्यसको जवाफ पायौँ”, विटकफले भने, “हामीलाई यो ठाउँमा पुग्न केही समय लाग्यो, मलाई लाग्छ हामी केही कुराको नजिक हुन सक्छौँ जुन विश्वव्यापी रूपमा धेरै, धेरै महत्त्वपूर्ण हुनेछ ।”

उनले रुस र संयुक्त राज्य अमेरिका बीचको व्यापारिक सम्झौताहरू पनि वार्ताको हिस्सा रहेको बताए । “मलाई लाग्छ केही धेरै आकर्षक व्यापारिक अवसरमार्फत रुसी-अमेरिकी सम्बन्धलाई पुनः आकार दिने सम्भावना छ, जसले यस क्षेत्रमा वास्तविक स्थिरता दिन्छ भन्ने मलाई लाग्छ”, उनले भने ।

कूटनीतिक उथलपुथलका बाबजुद युक्रेन युद्ध विराम प्राप्त गर्ने ट्रम्पको मुख्य उद्देश्यमा थोरै अर्थपूर्ण प्रगति भएको छ । पुटिनले गत महिना द्वन्द्वमा पूर्ण र बिना सर्त विरामका लागि अमेरिका–युक्रेनी संयुक्त प्रस्तावलाई अस्वीकार गर्नुभयो भने क्रेमलिनले कृष्ण सागरमा युद्ध विराम गरेको छ र पश्चिमले केही प्रतिबन्धहरू हटाएको छ ।

त्रिविमा ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि अनलाइन सेवा सुरु

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि अनलाइन सेवा सुरु गरेको छ ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार मंगलबारदेखि अनलाइन सेवा सुरु गरिएको हो । अनलाइन सेवा सुरु भएपछि परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेर अब कागजी फारम भर्ने र त्यो बुझाउन लाइन लाग्नुपर्ने झन्झटबाट हट्ने भएको छ ।

आगामी जेठ १५ गतेदेखि परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट दिइने सम्पूर्ण सेवा अनलाइनबाट सञ्चालन गर्ने तयारी गरिएको छ ।

अनलाइन फारम भर्नका लागि student.tuexam.edu.np मा लगइन गरी दिइएको निर्देशन अनुसार फारम भर्न सकिन्छ । साथै तोकिएको शुल्क संलग्न बैंक मार्फत् अनलाइनबाट भुक्तानी गरी सबमिट पनि गर्न सकिने छ ।

तोलामा १७ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । गत आइतबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य मंगलबार केही ओरालो लागेको छ ।

गत आइतबार प्रतितोला एक लाख ८६ हजार कारोबार भएको सुनको मूल्य मंगलबार तोलामा एक हजार ७०० रुपैयाँ ले घटेर एक लाख ८४ हजार ३०० मा किनबेच हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदी तोलामा १५ रुपैयाँ घटेर एक हजार ९४५ रुपैयाँमा खरिदबिक्री हुनेछ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार २२५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

आन्दोलनरत शिक्षकका माग सम्बोधनका लागि गगन र विश्वप्रकाश सक्रिय

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आन्दोलनरत शिक्षकका मागकाबारेमा छलफल गरेका छन् ।

महामन्त्रीद्वय थापा र शर्माले पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार साँझ शिक्षक महासंघका पदाधिकारीसँग छलफल गरेका हुन् । छलफलमा शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, महामन्त्री तुलाबहादुर थापा लगायत सहभागी थिए ।

छलफलमा सरकारले मन्त्रिपरिषदको निर्णयबाट गर्न सकिने निर्णय तत्काल गर्ने र शिक्षा ऐन जारी गर्नका लागि संसदीय समितिबाट छिटो विधेयक पास गरेर संसदमा पठाउने विषयमा छलफल भएको बताइएको छ । गत चैत २० देखि शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।

सरकारसँग यसअघि भएका सहमति कार्यान्वयन गराउन भन्दै उनीहरूले निर्णायक दबाबका लागि आन्दोलन गरिरहेका हुन् ।

महामन्त्री थापा र शर्माले प्रधानमन्त्रीलाई सडकमा भाषण गरेर हिँड्नु भन्दा शिक्षकहरुसँग वार्ता गर्न सुझाव दिँदै आएका छन् । तर प्रधानमन्त्रीले शिक्षकका मागमा त्यति चासो नदेखाएको देखिएको छ ।

भोजपुरको वैकुन्ठेमा सुन्तला, कागती फलफूल सिकाइ केन्द्र स्थापना

भोजपुर । रामप्रसादराई गाउँपालिका–६ स्थित वैकुन्ठेमा ‘सुन्तला, कागती फलफूल’ सिकाइ केन्द्र स्थापना गरिएको छ । व्यावसायिक सुन्तला तथा फलफूलखेतीमा लागेका किसानलाई खेती प्रविधिको विषयमा अभ्यासमूलक सीप दिन यहाँ सिकाइ केन्द्र स्थापना गरिएको हो ।

वैकुन्ठे क्षेत्र सुन्तलासँगै फलफूलखेतीका लागि उपयुक्त रहेकाले वडाले बजेट विनियोजन गरेर सिकाइ केन्द्र स्थापना गरेको रामप्रसादराई–६ का वडाध्यक्ष एकराज आचर्यले बताए ।

किसानलाई बाहिरका बिरुवाभन्दा पनि यहीको हावापानी, भूगोल, माटो सुहाउँदो सुन्तलाका बिरुवा उत्पादन गर्ने लक्ष्यले नर्सरी स्थापना गरिएको वडाध्यक्ष आयर्चले बताए । गत आर्थिक वर्षमा वडाले रु एक लाख ५० हजार बजेट विनियोजन गरेर केन्द्र स्थापना गरेको उनको भनाइ छ ।

“वैकुन्ठेका अधिकांश किसानले व्यावसायिक सुन्तलासँगै फलफूलखेती गरिरहेका छन्”, वडाध्यक्ष आचार्यले भने, “कतिपय किसानलाई सुन्तला तथा फलफूलखेतीसम्बन्धी सामान्य जानकारी नहुँदा समस्या पनि देखिन्छ । किसानलाई सुन्तला, कागतीलगायत खेती प्रणालीको विषयमा प्रयोगात्मक रूपमा जानकारी दिन सिकाइ केन्द्र स्थापना गरेका हौँ ।”

केन्द्रमा किसानको सक्रियतामा सुन्तला नर्सरीसमेत स्थापना गरिएको छ । दुईवटा टनेलमा सुन्तलाका बिरुवा उत्पादन गरिएको स्थानीय राजेन्द्रकुमार राईले बताए । नर्सरीमा उत्पादन भएका बिरुवा किसानलाई वितरण गरिने उनको भनाइ छ । आफ्नै ठाउँमा सिकाइ केन्द्रबाट सुन्तलासँगै फलफूलखेतीको विषयमा आवश्यक प्राविधिक ज्ञान लिन सहज भएको उनले बताए ।

“सिकाइ केन्द्रमार्फत हामीले सुन्तलाका बिरुवा पनि उत्पादन गरेका छौँ”, उनले भने, “हामीले कृषि प्राविधिकको प्रत्यक्ष निगरानीमा खेती प्रविधिको विषयमा जानकारी लिन पाएका छौँ । सुन्तला, कागतीमा रोग, कीरा देखिएमा कसरी निराकरण गर्ने भन्ने पनि सिक्ने अवसर पाएका छौँ । सिकाइ केन्द्रबाट अभ्यासमूलक ज्ञान लिन सहज छ ।”

सिकाइ केन्द्रका माध्यमबाट किसानलाई खेती प्रविधिको विषयमा जानकारी दिने कार्य भइरहेको गाउँपालिका कृषि शाखा प्रमुख धिरज ठाकुरले बताउनुभयो । किसानलाई सिकाइ केन्द्रमा बोलाएर अभ्यास गराएर नै खेती प्रविधिका बारेमा जानकारी दिने गरिएको उनको भनाइ छ । “किसानलाई बढी मात्रामा लाग्ने रोग, कीरा प्रकोप र खेती प्रविधिका बारेमा जानकारी दिन्छौँ”, उनले भने, “एकसाथ अभ्यास गराएर सिकाइने भएकाले कार्यक्रम किसानका लागि उपयुक्त देखिएको छ ।”

बारा–पर्सा औद्योगिक करिडोरमा श्रम अदालत नहुँदा श्रमिक समस्यामा

हिमाल लम्साल, वीरगन्ज। बारा–पर्सा औद्योगिक करिडोरमा श्रम अदालत नहुँदा श्रमिक र रोजगारदाताबीच कानूनी उपचार खोज्नका लागि संघीय राजधानी काठमाडौँ धाउनुपर्ने बाध्यता छ।

यसबाट श्रमिक र रोजगारदाताको समय र खर्च दुवै बढी हुने कारणले पनि न्यायको पहुँचसम्म पुग्न हिचकिचाइरहेको अवस्था छ। मुलुकभरकै श्रमिक तथा रोजगारदाता श्रमसम्बन्धी मुद्दा लिएर श्रम अदालत काठमाडौँ जाँदा अदालतमा पनि मुद्दाको चाप बढी हुँदा न्याय प्राप्तिका लागि धेरै समय खर्चिनुपर्ने बाध्यता पनि थपिएको छ।

नेपाल ट्रेड युनियन कांग्रेस मधेश प्रदेशका पूर्वअध्यक्ष लक्ष्मण कुर्मी बारा–पर्सा औद्योगिक करिडोरमा श्रम अदालत नहुँदा यहाँका मजदुरले ठूलो समस्या झेल्दै आइरहेको बताउँछन्। “उद्योगी र व्यवसायीबाट पीडित भएको श्रमिक न्याय खोज्नकै लागि श्रम अदालत काठमाडौँ धाउनुपर्ने समस्या यथावत् नै छ,” उनी भन्छन्, “बिहान–साँझ श्रम गरेर खानुपर्ने श्रमिक आफ्ना सबै कुरा छाडेर कानूनी उपचारका लागि काठमाडौँ धाउनुपर्ने बाध्यताको अन्त्य गर्न जरुरी भइसकेको छ। हामीले पटक–पटक बारा–पर्सा औद्योगिक करिडोर क्षेत्रलाई समेट्नेगरी श्रम अदालत स्थापना गर्न माग गरिसक्यौँ, तर अहिलेसम्म पनि कार्यान्वयन हुन सकिरहेको छैन।”

अध्यक्ष कुर्मीले अहिले पर्साकै कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया पर्साकै भएकाले पनि उनले पहलकदमी गरेको खण्डमा श्रम अदालत वीरगन्जमा ल्याउन सकिने बताए। “ठूला खालका औद्योगिक करिडोर भएका स्थानमा श्रमसम्बन्धी विवाद पनि धेरै हुने भएकाले श्रम अदालतको आवश्यकता र औचित्य धेरै नै छ। त्यसैले पनि यहाँ श्रम अदालत स्थापनाका लागि जोडदार माग राख्दै पनि आइरहेका छौँ,” उनी भन्छन्।

श्रमिकसँग जोडिएका मजदुरका तीनवटै संगठनले पटक–पटक बारा–पर्सा औद्योगिक करिडोरमा श्रम अदालत स्थापना हुनुपर्ने माग राख्दै आइरहेका छन्। तर, अहिलेसम्म श्रम अदालत भने स्थापना हुनसकेको छैन। श्रमिकका नेतामात्र नभएर बारा–पर्साका औद्योगिक करिडोरमा उद्योगधन्दा सञ्चालन गर्दै आइरहेका उद्योगी व्यवसायी पनि यहाँ श्रम अदालत हुनुपर्नेमा जोड दिँदै आइरहेका छन्।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम उद्योगधन्दाबाट मर्का परेका श्रमिक न्याय खोज्न काठमाडौँ धाउनुपर्ने परिपाटीको अन्त्य गर्न जरुरी रहेको बताउँछन्। “झापा वा महेन्द्रनगरका कुनै उद्यमीले श्रमिकलाई अन्याय गरेपछि न्याय खोज्न श्रमिक काठमाडौँको श्रम अदालत धाउनुपर्ने बाध्यता विद्यमान छ। त्यहाँको श्रमिक न्याय खोज्नका लागि काठमाडौँ आउन निकै झन्झटिलो छ। त्यसैले पनि उद्योगमा ती श्रमिक पिल्सिएर नै बस्नुपर्ने अहिलेको अवस्थाले देखाउँछ,” उनी भन्छन्,

अध्यक्ष गौतमले बारा–पर्सा औद्योगिक करिडोरमा ५० हजारभन्दा धेरै श्रमिक कार्यरत रहेकाले पनि यहाँ श्रमसम्बन्धी धेरै विवाद र मुद्दा पर्ने भएकाले पनि श्रम अदालत स्थापना गर्नुपर्ने बताए। पर्सा र बारामा ठूला खालका उद्योगधन्दा यति नै छन् भन्ने खालको यकिन तथ्यांक नभए पनि ८०० देखि १ हजार २०० को हाराहारीमा रहेको अनुमान गरिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय आर्थिक गणना २०७५ अनुसार पर्सामा औद्योगिक उत्पादन गर्ने प्रतिष्ठानको संख्या भने एक हजार ६४६ रहेको छ। त्यसैगरी कृषि, वन तथा माछापालन व्यवसाय दर्ता भएका प्रतिष्ठान १२६ छन्। बारामा पनि औद्योगिक उत्पादन गर्ने प्रतिष्ठानको संख्या एक हजार २२५ छ। कृषि, वन तथा माछापालन व्यवसाय दर्ता भएका प्रतिष्ठानको संख्या भने १५२ छ।

यस्तो छ कानूनी व्यवस्था

श्रम ऐन, २०७४ को दफा १५१ मा सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी आवश्यक संख्यामा श्रम अदालत गठन गर्ने व्यवस्था गरिएको छ। अधिवक्ता रामनारायण कुर्मी बारा–पर्सा औद्योगिक सानाठूला गरेर एक हजारभन्दा धेरै उद्योग कलकारखाना भए पनि श्रमिकसम्बन्धी कुनै विवाद भएको खण्डमा श्रम अदालत काठमाडौँ धाउनुपर्ने बाध्यता रहेको बताए।

“यहाँ श्रम अदालतको आवश्यकता भए पनि अहिलेसम्म राज्यले ध्यान दिन सकिरहेको छैन,” उनले भने, “मजदुरको श्रमसम्बन्धी विवाद वा गुनासो सुन्ने ठाउँ नहुँदा पनि उनीहरू समस्यामा परिरहेका छन्।” अधिवक्ता कुर्मी श्रम ऐन, २०७४ मा उच्च अदालतलाई श्रम अदालतको काम गर्ने जिम्मेवारी तोक्ने व्यवस्था भए पनि अझै कार्यान्वयनमा आउन नसकेको बताउँछन्।

श्रम ऐन, २०७४ को दफा १५८ मा उच्च अदालतले श्रम अदालतको काम गर्ने सम्बन्धमा कानूनी व्यवस्था पनि गरेको छ। “यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी कुनै उच्च अदालतलाई क्षेत्राधिकार तोकी श्रम अदालतको काम गर्नेगरी तोकिदिन सक्नेछ,” श्रम ऐनमा भनिएको छ।

तर, सरकारले राजपत्रमा सूचना प्रकाशित गरेको खण्डमा मात्र उच्च अदालतले श्रमसम्बन्धी मुद्दाको कारबाही र किराना लगाउन सक्ने थियो। सोसँग सम्बन्धित व्यवस्था नहुँदा श्रमिक र रोजगारदाता दुवैले सास्ती भोग्दै आइरहेका छन्। उपदफा १ बमोजिम तोकिएको उच्च अदालतले मुद्दाको कारबाही र किनारा गर्दा यस परिच्छेदबमोजिम श्रम अदालतले प्रयोग गर्ने  सबै अधिकार प्रयोग गर्न सक्ने छ। श्रम अदालतमा अध्यक्ष र दुई जना सदस्य रहने प्रावधान छ। उच्च अदालतका बहालवाला न्यायाधीश वा उच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेको व्यक्ति श्रम अदालतको अध्यक्ष वा सदस्य हुन योग्य हुने छ।

संघका अध्यक्ष गौतमले उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जलाई श्रम अदालतको जिम्मेवार निकाय तोकेको खण्डमा मात्र पनि श्रमिक र रोजगारदाता दुवै सहज न्यायको पहुँचमा पुग्ने बताए। “श्रम अदालत भएसँगै श्रमिकले सहज ढंगले आफ्नै घरदैलो पनि न्यायमा सहज पहुँच र न्याय प्राप्त गर्न सक्ने छ। उद्योगपतिहरूले पनि अर्धन्यायिक निकायबाट भन्दा पनि न्यायिक निकायबाट आफ्नो मुद्दाको निरूपण गर्ने मौका प्राप्त गर्न सक्छन्,” उनले भने, “संघीयताको मर्मअनुरूप श्रम अदालतले विकेन्द्रीकृतलाई जोड दिने छ। न्यायको पहुँचमा पुर्‍याउन मद्दत पुग्ने छ।”

गैँडाको शून्य चोरीसिकार पाँच सय दिन कट्यो

चितवन । दुर्लभ एकसिङ्गे गैँडाको चोरीसिकार विगत पाँच सय १६ दिनदेखि रोकिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा प्राकृतिक कारणले गैँडा मरे पनि चोरीसिकारी हुन नपाएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार २०८० साल कात्तिक ३० गते निकुञ्जकै पूर्वी सेक्टरअन्तर्गत चपरचुली क्षेत्रमा खाल्डोमा पारेर तस्करले दुईवटा गैँडा मारेका थिए । त्यसको नौ दिनमा नौ जना अभियुक्तलाई निकुञ्जले पक्राउ गरी सार्वजनिक गरेको थियो ।

यसयता सुरक्षा रणनीतिमा थप परिवर्तन गरी काम गरिरहेकाले चोरीसिकार हुन नपाएको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षको हालसम्म २४ गैँडा मृत भेटिएका छन् । यी सबै प्राकृतिक कारणले मरेका हुन् ।

सूचना अधिकारी थापामगरका अनुसार बाघ तथा गोहीको आक्रमणमा परेर, एकापसमा जुधेर, बिरामी भएर, दलदलमा फसेर, बूढो भएर, भाले गैँडाले थिचेर ती गैँडा मरेका हुन् । निकुञ्ज आसपास बसोबास गर्ने जनता सचेत हुँदा चोरीसिकारीले गैँडा मार्न नपाएका हुन् ।

गत आर्थिक वर्षमा गैँडा २१ वटा मरेका थिए । मरेका गैँडामध्ये १८ वटा प्राकृतिक कारणले होभने दुईवटा चोरीसिकारीले र एउटाको कारण खुल्न नसकेको उनले बताए ।

मगरका अनुसार आर्थिक वर्ष २०७९/८० मा चितवन राष्ट्रिय निकुञ्जमा २२ वटा गैँडा मरेका थिए । जसमध्ये २० वटा कालगतिले, एउटा विद्युतीय करेन्टबाट र एउटा चोरी सिकारीले मारेका थिए ।

विगतमा एक हजार ७१ दिनसम्म चोरीसिकार शून्य भएपछि उत्सवका रूपमा मनाइएको थियो । यसपछिका वर्षहरूमा चोरीसिकार शून्य गर्ने तर यसलाई उत्सवका रूपमा नमनाउने नीतिअनुरुप काम गरिएको थियो ।

सन् २०२१ को गणनाअनुसार नेपालमा गैँडाको सङ्ख्या ७५२ पुगेको छ । एकसिङ्गे गैँडाको सङ्ख्या सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ६९४ रहेको छ ।

बर्दियामा ३८, शुक्लाफाँटामा १८ र पर्सामा तीन गैँडा रहेको तथ्याङ्क छ । यस वर्ष गैँडा गणना गर्ने कार्यक्रम रहे पनि अन्तिम समयमा बजेट व्यवस्थापनमा समस्या भएपछि स्थगन गर्नुपरेको थियो । गणना गर्न नसके पनि अनुगमनलाई तीव्रता दिइएको छ ।

सिन्दुर खेलेर भक्तपुरमा मनाइयो सुथसिया जात्रा(फोटोफिचर)

भक्तपुर । मानिसको भीड, भीडमा सबैको टाउको, अनुहार, शरीर सबै फुस्रो अबिरैअबिरले राताम्मे । अगाडि हातहातमा धपक्क बलेको चिरागका समूह, त्यसपछि धिमे र मुस्या बाजा बजाउने अर्को समूह, त्यसपछि आ–आफ्नो टोलका देवीदेवतालाई विराजमान गराइएका खट बोकेर टोलटोल घुम्दै बालबालिका, युवायुवतीदेखि ज्येष्ठ नागरिकसमेत बिहानै जात्राको भीडमा सिन्दुर खेल्दै रमाउँदै मंगलबार भव्य रूपमा मध्यपुरथिमिका बासिन्दाले सुथसिया अर्थात् बिहानीको जात्रा मनाएका छन् ।

बिस्केट जात्राका अवसरमा मध्यपुरथिमिका बासिन्दाले आज बिहानैदेखि टोलटोलका देवता विराजमान खट जात्रा गरी टोलटोल घुमेर बालकुमारी मन्दिर प्राङ्गणा २६ देवीदेवता विराजमान खटलाई ल्याएर बालकुमारीको परिक्रमा गराई धिमे, मुस्या बाजाको तालमा झुम्दै, नाच्दै र अबिर छर्कँदै हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथसिया जात्रा मनाएका हुन् ।

थिमिमामात्र मनाइने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमेलगायत स्थानीय बाजाका तालमा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्य रूपमा मनाउने परम्परा छ । तर केही वर्षयता भने २६ खटमात्र जात्रामा सहभागी हुने गरेका छन् ।

यो जात्रामा आज बिहानै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालेको थियो । सोमबारदेखि विष्णुवीर र दक्षिण बाराहीको खटसमेत मन्दिरमा राखिएको थियो । बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरूसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु भएको थियो ।

जात्रा सुरु भएपछि पमाहरु हातहातमा चिराग अर्थात् बत्ती लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवताघर परिक्रमा गराइएको थियो । यसैगरी विष्णुवीर, सिद्धिकालीलगायत देवीदेवताको खट ल्याएर यो जात्रा मनाइएको छ ।

थिमिमा ३२ देवीदेवताका खट सहभागी रथ बोकेर टोलटोल परिक्रमा गराई परम्परागत रूपमा मनाउँदै आएको यो जात्रा अहिले थिमि क्षेत्रमाा २३ वटा, नगदेशमा एक, बोडेमा सात, टिगनीमा एक छुटाछुटै स्थानमा खटजात्राका साथ सिन्दुर जात्रा मनाइने गरेको छ । यसमा थिमिको बालकुमारी, दक्षिणवाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलवाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा सिन्दुर खेल्दै मनाइन्छ ।

जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ । जात्रामा काँयाबाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एकअर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानीय जात्रालुहरू रमाइलो गर्ने भएकाले पनि यसलाई केही वर्षयता सिन्दुर जात्रा पनि भन्न थालिएको छ ।

बालकुमारीबाट परम्परागत रूपमा सिद्धिगणेश, सिद्धिकाली र त्यसका गणहरूसहित क्वाछें द्यो, हिचो द्यों, अजिमा द्यों, विष्णुवीर र अन्य देवगणहरूको खट उचालेपछि बालकुमारीको जात्रा सुरु गरिएको छ । परम्पराअनुसार नै देवता लायकू दरबारभित्र पस्न नपाउन् भनेर लायकू प्रवेशद्धारमा पेंखा मुस्या, बालकुमारी, बालखुचा द्यों, सिद्धिकाली र अरु देवताका गणहरू बाटो छेकेर बस्ने परम्परा छ । खट जात्रा अगाडि बढाउँदै ल्याउने बालकुमारीलाई भैलः द्यों परिक्रमा गरी क्रमैसँग सुगां द्यों, क्वाछे द्योंमा पनि सिन्दुर खेल्दै परिक्रमा गराइन्छ । बालकुमारीलाई विभिन्न क्षेत्रको परिक्रमा गराई भव्य एवं उमङ्ग र उत्साहका साथ थिमिका बासिन्दाले सिन्दुर खेल्दै यो जात्रा मनाइएको छ ।

बिहानै सुरु भएको यो जात्रा मध्याह्नसम्म चल्ने छभने त्यसपछि बोडेमा जिब्रो छेड्ने जात्राको तयारी गरेर दिउँसो २ः०० बजे बोडेमा जिब्रो छेडेर जात्रा मनाउने गरिन्छ ।

तस्बिरः रमेश गिरी

एमालेसँग मिलेर सरकारमा गएपछि तुरुन्त काम गर्न सक्छौँ भनेको थिएँ, तर भएनः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको गति ट्याक्टरको जस्तो भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

मंगलबार बौद्धिक पेसाकर्मी अभियान परिषद्ले काठमाडौंमा आयोजना गरको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा महामन्त्री थापाले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका हुन् ।

उनले भने, ‘अहिले मानिसले दैनिक परिवर्तन खोज्छ । तर सरकारको गति नै भएन । सरकार ट्याक्टरको गतिमा गयो । एमालेसँग मिलेर सरकारमा गएपछि सरकारमा पनि तुरुन्त काम गर्न सक्छौँ भनेको थिएँ, तर भएन ।’

उनले अहिले सरकारको विकल्प नखोजिएको भन्दै गतिका सम्बन्धमा व्यापक असन्तुष्टि रहेको बताए । महामन्त्री थापाले आफूहरु सरकारलाई सहयोग गरेर परिणाम दिनुपर्ने पक्षमा रहेको बताए । उनले सरकारले काम गर्न नसक्दा पार्टीको तल्लो तहको समर्थकमा पनि निराशा छाउने अवस्था आएको बताए ।

महिलाको आर्थिक पहुँचमा वृद्धि गर्नुपर्छः सांसद खान

काठमाडौँ । बाँके जिल्लाको सदरमुकाम नेपालगन्जबाट करिब ६ किलोमिटरपूर्व यात्रा गरेपछि डुडुवा गाउँपलिका–३, हलबल डोली गाउँ आउँछ । सोही गाउँमा जन्मिएकी हसिना खान प्रतिनिधिसभाको सांसद हुन् । सानै उमेरदेखि महिला अधिकारका निम्ति सक्रिय खानलाई २०७९ सालको निर्वाचनमा जनता समाजवादी पार्टीले समानुपातिकतर्फ मुस्लिम महिलाको कोटाबाट प्रतिनिधिसभाको सांसद बनाएको छ । पार्टीबाट मुस्लिम महिलातर्फ निर्वाचित मञ्जु अन्सारीको गत चैतमा निधन भएपछि बन्द सूचीको क्रमानुसार खानलाई पार्टीले सांसद बनाएको थियो । पूर्वस्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीसमेत बनिसक्नुभएकी सांसद खानसँग राससका समाचारदाता सुशील दर्नालले गरेको अन्तर्वार्ताको सम्पादित अंशः

महिलाका विषयमा संविधानमा केही अधिकार सुनिश्चित गरिएको छ । तर धेरै अधिकार सुनिश्चित गर्नुपर्ने छ । संसद्मा महिलाको ३३ प्रतिशत सुनिश्चित गरिएको छ । तर त्यही कुरा सरकार बनाउने सवालमा लागू भएको छैन । अब सरकारमा महिलाको जनसङ्ख्याका आधारमा ५० प्रतिशत सहभागिता हुने सवाल संविधानमै व्यवस्था गर्नुपर्ने छ । त्यसका लागि राजनीतिक पार्टीको पनि भूमिका हुन्छ । महिला अब आफ्नो अधिकारका निम्ति आफैँ लड्नुपर्छ । तर पहिलेको तुलनामा महिलाका विषयमा सुधार हुँदै गएको छ ।

मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएपछि पहिलोपटक महिला देशको राष्ट्रपति पनि बन्नुभएको छ । सभामुख पनि बन्नुभएको छ । प्रधानन्याधीश पनि बन्नुभएको छ । सरकारको मुख्यसचिव पनि बन्नुभएको छ । तर मन्त्रिपरिषद्मा महिलाको सङ्ख्या जहिल्यै न्यून हुन्छ । २५ सदस्यीय सङ्घीय सरकार गठन हुँदा एक–दुई जनामात्र मन्त्री बन्ने कुरा न्यायोचित छैन । देशमा अहिले पनि पुरुषभन्दा महिलाको संख्या धैरै छ । तर सहभागिता न्यून छ । चुनावमा पनि राजनीतिक पार्टीले सक्षम महिलाका लागि टिकटको व्यवस्था गर्नुपर्छ । महिलाले चुनाव जित्न सक्दैनन् भनेर पार्टीले रोक्नु हुँदैन । पार्टीले टिकट दिएपछि महिलाले चुनाव जितेका धेरै उदाहरण छन् ।

यो देशमा सबैभन्दा पहिला महिलालाई आर्थिक रूपमा बलियो बनाउनुपर्छ । जबसम्म महिलाहरूको आर्थिक रूपमा पहुँच हुँदैन, तबसम्म देश समृद्ध बन्छ जस्तो मलाई लाग्दैन । रोजगारीका सवालमा राज्यले पनि महिलालाई पहिलो प्राथमिकता दिनुपर्छ । उद्यमशील बन्न चाहने महिलाका लागि सरकारले लगानी गर्नुपर्छ । सरकारले महिलाका लागि सानो वा ठूलो जस्तोसुकै काम भए पनि दिनुपर्छ । सम्पत्तिमा पूर्ण हक हुनुपर्छ । अनि मात्र महिला–पुरुष बराबरीको बाटोमा अगाडि बढ्न सक्छन् । अधिकारका निम्ति महिला आफैँ सक्रिय बन्नुपर्छ । अर्को कुरा यदि कुनै पनि बच्चाको बाबु छैन भने उसले आमाको नामबाट नागरिकता बनाउन पाउनुपर्छ ।

नागरिकता नभएपछि ऊ देशको नागरिक बन्न पाउँदैन । त्यसैले आमाको नामबाट नागरिकता दिने सवालमा सबै गम्भीर भएर लाग्नुपर्छ । यदि आमाको नागरिकता छभने बच्चाको नागरिकता सहज रूपमा बन्नुपर्छ । बाँके जिल्लाका महिलाको यो समस्या धैरै नै छ । महिलामाथि हुने हिंसा रोक्न सरकारले कडाभन्दा कडा कानुन बनाएर व्यावहारिक रूपमै कार्यान्वयन गर्नुपर्छ । अहिले पनि नेपाली छोरीहरू असुरक्षित छन् । किशोरीमाथि बलात्कारका घटना भइरहेको छ । बलात्कारपछि हत्या गरेर मारिएको छ । मुख्य कुरा किशोरीहरू जहाँ, जतिबेला पनि सुरक्षित हुनुपर्छ । महिलामाथि हुने घरेलु हिंसाका घटना पनि छन् । घरेलु हिंसा गर्ने जोकोहीलाई कानुनबमोजिम कडा कारबाही हुनुपर्छ । महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न सबैभन्दा पहिला महिला माफैँ सक्रिय हुनुपर्छ । कुनै पनि किशोरी वा महिलाले आफ्नो सुरक्षा आफैँ गर्न सक्ने बन्नुपर्छ । महिलाले कुनै पनि हिंसा खपेर बस्नु हुँदैन । यदि हिंसा भएको छभने प्रहरीमा उजुरी गर्न सक्नुपर्छ । तर बाँकेका महिलामा घरेलु वा अन्य प्रकारका हिंसा भइरहेको छ । तर उनीहरु त्यो हिंसालाई लिएर बाहिर आउन चाहँदैनन् । आफूमाथि भएको विभेद वा हिंसाका बारेमा खुलेर कुरा गर्न सक्नुपर्छ महिलाहरूले । आफूमाथि हिंसा भएको छभने लाज वा डर मानेर बस्नु हुँदैन ।

म प्रतिनिधिसभाको सांसद भएको एक वर्ष भयो । सांसद भएलगत्तै म स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हुँदै गर्दा स्वास्थ्यको क्षेत्रमा आफूले सकेको काम गरेको थिएँ । पैतालीस दिनमात्र राज्यमन्त्री भएको समयमा पनि जनतासँग जोडिएका स्वास्थ्यका समस्यालाई सकेसम्म सम्बोधन गर्ने कोसिस गरेकी थिएँ । बाँकेका मुख्य समस्या भनेको बाटोघाटोको हो । खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारीको पनि उत्तिकै समस्या छ । यहाँ अधिकांश युवा बेरोजगार हुनुपरेको छ । युवाहरूको काम छैन, चोकचोकमा गफ गरेर समय बिताइरहेका छन् । युवालाई रोजगारी दिनेगरी कुनै सरकारले ठोस योजना बनाउनसकेका छैनन् । रोजगार नभएपछि युवा कुलतमा लागेका छन् । धेरै पढेलेखेका मानिस बेरोजगार बस्नुपरेको छ । बाँके पर्यटकका लागि पनि सम्भावना भएको जिल्ला हो । तर त्यसको राम्रो व्यवस्थापन हुनसकेको छैन ।

‘बाँके राष्ट्रिय निकुञ्ज’मा घुम्नका लागि देश–विदेशबाट पर्यटक आउँछन् । एक आर्थिक वर्षमा आन्तरिक र बाह्य पर्यटक गरी कम्तीमा हजारभन्दा बढी पर्यटक आउने गर्छन् । निकुञ्जमा आउने पर्यटकको सङ्ख्या पनि बर्सेनि बढ्दै गएको छ । तर सम्बन्धित निकायले त्यसलाई अझै व्यवस्थित गर्न सकेको छैन । त्यसको व्यवस्थापन र संरक्षणमा अझै बढी ध्यान दिने होभने पर्यटकको सङ्ख्या अझै बढेर जाने देखिन्छ । निकुञ्जभित्रका प्राकृतिक सम्पदा र वन्यजन्तुको संरक्षणमा सरकारको ध्यान जानसकेको छैन । संविधान केही हदसम्म कार्यान्वयन भएको छ । तर धेरै कुरा कार्यान्वयन हुनसकेको छैन । तर अब सबै मिलेर कार्यान्वयन गर्नुपर्छ । अहिलेको सङ्घीयतालाई सुधार गर्नुपर्ने छ । यो सङ्घीयता अलि बढी खर्चिलो भयो कि भन्ने कुरा पनि आइरहेको छ ।

कक्षा १२ को परीक्षा तथा भर्ना अभियानमा सहभागी नहुन शिक्षक महासंघको आह्वान

काठमाडौं । आन्दोलनरत नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा, भर्ना अभियान लगायत कुनैपनि शैक्षिक गतिविधिमा सामेल नहुन आग्रह गरेको छ ।

महासंघले विज्ञप्ति जारी गरी वैशाख ११ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष, निरीक्षक लगायत कुने पनि काममा संलग्न नहुन प्रधानाध्यापक, शिक्षक र कर्मचारीहरूलाई आग्रह गरेको हो ।

शीघ्रताका साथ शिक्षा ऐन जारी गरेर विद्यालय शिक्षाको उचित व्यवस्थापन र गुणस्तर विकासका लागि गरिएको आन्दोलनलाई सहयोग गर्न पनि आग्रह गरिएको छ ।

काठमाडौं केन्द्रित आन्दोलनको अवधिमा उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना लगायतका सबै काममा संलग्न नहुन पनि आग्रह गरिएको छ ।

महासंघले प्याब्सन र एनप्याब्सनलाई पनि आन्दोलनमा बोलाएको छ । चैत २० गतेबाट शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।

सहकारीको समस्याले निम्त्याएको संकट, बचत गरेको रकम निकाल्न नपाउँदा विवाहको जोहोमा पनि कठिनाइ

रामविकास चौधरी, लुम्बिनी । यही ५ वैशाखमा छोरीको विवाहको तयारी गर्दै छिन् ५५ वर्षीय मादिका लोनिया । तर, उनको अनुहारमा खुसी छैन । श्री गौतमबुद्ध स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थामा बचत गरेको ६ लाख समयमै फिर्ता हुने छाँटकाँट नहुँदा उहाँ पीडा र चिन्तामा छिन् ।

सहकारी संस्थाको कार्यालयमा ताला लागेको झन्डै एक महिनाभन्दा बढी हुँदा साना व्यवसायी, किसान, वृद्धवृद्धाको घरायसी जीवनमा आर्थिक समस्या भएको छ । कसैको छोरीको विवाह खर्चको जोहो छैन, कसैको नियमित औषधि छाडिएको छ, त कसैको आपत्कालीन खर्च अन्योलमा परेको छ ।

सम्मरीमाई गाउँपालिका–६ का नन्दलाल चौहानको पनि यस्तै पीडा छ । छोरीको विवाह यही वैशाखमै हुँदै छ । तर सहकारीमा राखेको पैसा फिर्ता नपाउँदा उनी पनि असहाय बनेका छन् । उनले भने, ‘आवश्यकताका लागि बचत गरेका थियौँ, तर आफ्नै पैसा निकाल्न सकिएको छैन ।’

सोही वडामा नन्दलाल चौहानका पिता बुद्धु चौहानले आफ्नो पेन्सनको ५० हजार पनि सोही सहकारीमा राखेका थिए । नातिनीको विवाह खर्चका लागि त्यो रकम निकाल्ने योजना उनले बताएका थिए । ‘अब त्यो योजना पनि अधूरो रहने देखिन्छ,’ उनी भन्छन् ।

छोटेलाल लोहार, असुरैनाका बासिन्दा, छोरीको विवाहका लागि आफन्तकहाँ सहयोग माग्न पुगे । तर अधिकांश आफन्तको जवाफ एउटै छ, ‘आफैँलाई अभाव छ, सहकारीमाथि विश्वास गरेर जम्मा गरेको पैसा नै यस्तो बेलामा फिर्ता नपाउँदा गहिरो चोट लागेको छ ।’

फलफूल व्यवसायी विनोद बर्माले छोरीको विवाहका लागि भन्दै एक वर्षदेखि दैनिक ५ सयका दरले बचत गरेका थिए । अब विवाह नजिकिँदै गर्दा उनले राखेको पैसा पनि अनिश्चित बनेको छ । यस्तै राजकुमार केवटले नियमित औषधि खरिद गर्न बचतमा भर पर्थे । तर अहिले १ लाख ५० हजार थुनिएको छ । उनले भने, ‘यसले सहकारीमा मात्र होइन, स्वास्थ्यमा पनि जोखिम निम्त्याएको छ ।’

यही २०८१ फागुन २६ मा उक्त सहकारी संस्थाका व्यवस्थापक र कार्यालय सहायकलाई सञ्चालक समितिले निलम्बन गरेपछि विवाद सुरु भयो । विवाद अदालतसम्म पुगेपछि उच्च अदालत तुलसीपुर बुटवल इजलासले कारण देखाऊ र निलम्बनको निर्णय यथास्थितिमा राख्न अल्पकालीन आदेश दिएको छ । परिणामस्वरुप, बचत फिर्ता पाउने, ऋण लिने र सावाँब्याज तिर्नेलगायत सबै सेवा ठप्प छन् ।

गौतमबुद्ध स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था सञ्चालक समितिका अध्यक्ष दीपचन्द्र मुराउले भने, ‘मुद्दा अदालतमा विचाराधीन छ । जबसम्म अदालतको निर्णय हुँदैन, सेवाहरू पुनः सञ्चालन गर्न सकिने अवस्था छैन । सहकारीको सेवामा अवरोधले सयौँ बचतकर्तालाइ अप्ठ्यारोमा पारेको छ । यसले आर्थिक सङ्कट मात्र होइन, सामाजिक र मानसिक तनाव पनि बढाएको छ । सहकारी संस्थाको सेवा बन्द हुँदा गाउँको जनजीवन प्रभावित भएको छ । विवाह, उपचार र आपत्कालीन खर्चका लागि गरिएको बचत अहिले बन्द ढोकामै थुनिएको छ ।’

सम्मरीमाई–६ का वडाध्यक्ष तौलन केवटले सहकारीको सेवा प्रवाह पुनः सुरु भएन भने सहकारीप्रतिको जनविश्वास नै सधैँका लागि हराउन सक्ने बताए । बचतकर्ताको एउटै प्रश्न छ, ‘जब हामीले विश्वास गरेर बचत गरेका थियौँ, त्यसले आपतमा साथ नदिएपछि केही बाँकी रहँदैन । सहकारीको नियमन गर्ने निकाय, सम्बन्धित पालिका र अदालतसमेतले अब गम्भीरतापूर्वक हस्तक्षेप नगर्ने हो भने केवल आर्थिक सङ्कट मात्र होइन, सामाजिक सङ्कटको भय पनि बढ्दै जान्छ ।’

चलचित्र छायाङ्कनको ‘हब’ बन्दै मुस्ताङ

मुस्ताङ । पछिल्लो समय बेनी–जोमसोम–कोरला सडकमा आवतजावत गर्न सहज भएसँगै यहाँ चलचित्र छायाङ्कनको आकर्षक गन्तव्य बनेको छ ।

संघीय राजधानि काठमाडौँबाट एक दिनमै यहाँ आउन सकिनेहुँदा जिल्लाका विभिन्न स्थानमा चलचित्र छायाङ्कन गर्नेक्रम बढेको हो । साथै विभिन्न हलिउड, बलिउड र कलिउडका चलचित्र छायाङ्कन गर्नका लागि जनशक्ति, उपकरण र बन्दोबस्तीका सामान ढुवानी गर्न सहज भएसँगै मुस्ताङमा चलचित्र छायाङ्कन गर्नेहरु आकर्षित भएका हुन् ।

जिल्लाको पृथक भूगोलमा छायाङ्कन गर्न पछिल्लो समय चलचित्रकर्मी निकै लालायित हुने गरेको पाइएको छ । हिमाली शृङ्खला, प्राकृतिक भूगोल, जैविक तथा सांस्कृतिक विविधताका साथै यहाँको लोभलाग्दो कृषि र पशुपालन गर्ने संस्कृतिलाई चलचित्रको पर्दामा कैद गर्न पछिल्ला केही वर्षयता चलचित्रकर्मीको लर्को नै लाग्ने गरेको पाइएको छ ।

सडक नहुँदाको तत्कालीन अप्ठ्यारो परिस्थितिमा समेत मुस्ताङमा हिन्दी चलचित्र खुदा गवाह सुटिङ भएको थियो । भारतीय अभिनेता अमिता बच्चन त्यस समयको कठिन परिस्थितिका बेला पनि मुस्ताङ आएर सुटिङ सकाएका थिए ।

तर, त्यसबेलाको कठिन परिस्थिति अहिले पूरै फेरिएको छ । घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले एकैदिन मुस्ताङ आएर चलचित्र सुटिङ गर्न पाइने भएकाले पनि मुस्ताङमा चलचित्र छायाङ्कनका लागि आउनेको सङ्ख्या बढ्दै गइरहेको जानकारी दिए ।

जिल्लामा विभिन्न देशका चलचित्र, म्युजिक भिडियो र डकुमेन्ट्री फिल्म सुटिङ गर्न सहज हुनेगरी यहाँका स्थानीय तहले सीमित राजस्व सङ्कलन गर्ने गरेको उनको भनाइ छ । उनले यसप्रकारका चलचित्रको छायाङ्कनले यहाँको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुगेको उल्लेख गरे ।

पछिल्ला पाँच वर्षयता दर्जनौँ नेपाल चलचित्र, म्युजिक भिडियो र डकुमेन्ट्री फिल्म यहाँ सुटिङ भइसकेका छन् । मुस्ताङको कालीगण्डकी बगर, सदियौँ वर्ष पुराना गुम्बा, माने, छोर्तेन, गुफा, तालतलैयाका साथै फरक–फरक प्राकृतिक सौन्दर्यताकै कारण जिल्ल चलचित्र सुटिङको हब बन्दै गएको हो ।

जिल्लामा हिन्दी चलचित्र खुदा गवाह करिब ४० को दशकमा सुटिङ भएको हो । पछिल्लो पाँच वर्षयता मुस्ताङमा चिनो, प्रेमगीत, सम्हालिन्छ कहिले मन, कबड्डी, जेरी, ब्याज नम्बर सिक्टिन, भकुन्डो, छिरिङलगायत दर्जनौँ चलचित्र सुटिङ भएका थिए ।

यहाँ सुटिङले यहाँको पर्यटन क्षेत्रमा महत्त्वपूर्ण योगदान पुगेको नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिजका सचिव नीरज थकालीले बताए । उनले चलचित्रका माध्यमबाट यहाँका कला, संस्कृति, मौलिकता र सम्पदालाई उजागार गर्न ठूलो सहयोग पुगेको बताए ।

त्यसैगरी, जिल्लामा चलचित्र सुटिङका लागि आएका नेपाल चलचित्र प्राविधिक सङ्घका उपाध्यक्ष अर्जुनप्रसाद पोखरेलले यहाँ चलचित्र छायाङ्कन गर्ने उपयुक्त र सहज गन्तव्य भएको दाबी गरे ।

जिल्ला नेपालकै स्वर्गरुपी जिल्ला भएको उल्लेख गर्दै उनले यस्तो स्थानमा सरकारले चलचित्र स्टुडियो स्थापना गर्न सकेमा यस क्षेत्रको मात्र नभई सिङ्गो गण्डकी प्रदेशको आर्थिक समृद्धिमा सहयोग पुर्याउने बताए । यसका लागि तीन तहको सरकारले पहल गर्न आवश्यक उनको भनाइ छ ।

निलगिरि र धवलागिरिलगायत यहाँ साना दर्जनौँ हिमाल अवस्थित छन्, सबै हिमालमा क्षणभरमै पुग्न सकिने, होटल र यातायात पहिलेको तुलनामा निकै सहज हुँदै जान थालेको छ, यसैले पनि ९० प्रतिशत चलचित्रकर्मीले यही ठाउँमा आएर सुटिङ गर्न थाल्ने छन् ।

यहाँ चलचित्र सुटिङ गर्न पाउँदा स्थानीय पालिका र समुदायबाट ठूलो सहयोग प्राप्त भएको उपाध्यक्ष पोखरेलले बताए । मुस्ताङमा यहाँका ताल, गुम्बा, लेक, खर्क, हिमाल, जैविक विविधता र संस्कृति महत्त्वपूर्ण विशेषता रहेको बताए ।

मुस्ताङको तल्लो क्षेत्र थासाङमा सेकुङ ताल, भुतर्छो ताल र टिटी ताल अवस्थित छन् । कालीगण्डकी नदीको सुन्दर तटीय बस्ती र अनि खर्कमा चर्दै गरेका याक चौँरीका बथानले झनै चलचित्रलाई सुसज्तित पारिदिन्छ ।

घरपझोङ गाउँपालिकामा पर्यटकीय सांस्कृतिक गाउँ मार्फा, ठिनी, स्याङ र जोमसोममा प्राचीन संस्कृति अवलोकन गर्न पाइन्छ । यस पालिकामा ढुम्बाताल र क्षमाताल अवस्थित छ । वारागुङ मुक्ति क्षेत्रमा मुक्तिनाथ मन्दिर, कागबेनी, झोङ, तेताङ, छुसाङ, मुस्ताङ गेटलगायत स्थानमा चलचित्र छायाङ्कन गर्ने गरिएको छ ।

लोमान्थाङमा मुस्ताङी राजाको सात सय वर्ष पुरानो दरबार, गुफा, गुम्बा, माने र छोर्तेनहरु अवलोकन गर्न सकिन्छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकामा पनि गुरु पद्यसम्भवले निर्माण गरेको लोघेकर गुम्बा, चराङ गुम्बा, ढाक्मर रेड पहाडलगायत यहाँका संस्कृति झल्काउने मौलिक परम्परागत बस्ती रहेको छ ।

ढोरपाटन–गुर्जा पदमार्गमा काठे पुल निर्माण

म्याग्दी । ढोरपाटन सिकार आरक्षको गुर्जाघाट र म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने पदमार्गमा पर्ने हुचिनखोलामा काठको पुल निर्माण भएको छ ।

धवलागिरि गाउँपालिकाको रु पाँच लाख अनुदान र उपभोक्ताको रु ६० हजार बराबरको श्रमदानमा ३२ मिटर लामो पुल र दुई सय मिटर पुलसम्म पुग्ने पदमार्ग निर्माण भएको हो ।

पुल निर्माणपछि गुर्जाका बासिन्दा र ढोरपाटन–गुर्जा पदमार्गमा यात्रा गर्ने पर्यटकलाई बर्खायाममा जोखिम मोलेर खोला तर्नुपर्ने समस्या हटेको धवलागिरि–१ गुर्जाका वडासदस्य गुनराम छन्त्यालले जानकारी दिए ।

“रुघाचौरबाट आउने र हुचिनखोलाको दोभानमा बर्खामा आकस्मिक रूपमा बाढी आउने गर्छ । पुल नहुँदा खोला तर्ने क्रममा बाढीले बगाउने जोखिम थियो”, उनले भने, “गाउँमा भएको पुराना पुलको लठ्ठा झिकेर राखिएको थियो । सोही लठ्ठा तानेर काठको फल्याक बिछ्याएर स्थानीय प्रविधिबाट पुल बनाइएको हो ।”

हुचिनखोला हुँदै ढोरपाटन सिकार आरक्षको गुर्जाघाट जोड्ने पदमार्ग छ । पर्यटकका साथै स्थानीयवासीले पशुलाई गोठ लैजान, जङ्गलमा च्याउ, टुसा, जडीबुटी सङ्कलन गर्न जानका लागि हुचिनखोला तर्नुपर्छ ।

अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने

काठमाडौँ । सरकारी निकायका कार्यरत अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका छन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव डण्डुराज घिमिरेका अनुसार नयाँ वर्ष, २०८२ को पहिलो दिन राजपत्रमा सोसम्बन्धी सूचना प्रकाशित गरिएको छ ।

सरकारी कोष, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व भएका संस्थान, निगम, बोर्ड, प्राधिकरण, प्रतिष्ठानमा कार्यरतले सो योजनामा सहभागी हुन पाउने उनले जानकारी दिए ।

सामाजिक सुरक्षा कोषमा योगदानकर्ताका रुपमा सूचीकृत गरी त्यस्ता निकायमा कार्यरत कर्मचारीले खाइपाई आएको तलबको कम्तीमा ६० प्रतिशतलाई आधारभूत तलब मानेर सो योजनामा सहभागी हुन पाउने प्रबन्ध गरिएको छ । त्यसमा २० प्रतिशत रोजगारदाताले र ११ प्रतिशत योगदानकर्ताले जम्मा गर्नुपर्नेछ । सामाजिक सुरक्षा ऐन, २०७४ र सामाजिक सुरक्षा नियमावली, २०७५ बमोजिम उक्त निर्णय भएको राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ ।

गत चैत १५ गते सो निर्णय भएको भए पनि नयाँ वर्षको पहिलो दिन राजपत्रमा सूचना प्रकाशित भएसँगै कार्यान्वयनमा गएको छ । यसबाट सरकारी निकायका कार्यरत अस्थायी, ज्यालादारी कर्मचारीले राहत पाउनेछन् ।

चट्याङ लागेर सङ्खुवासभामा चार जना घाइते

किमाथाङ्का  । जिल्लाको खाँदबारी नगरपालिका–९ साठीमुरेमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन् ।

सोमबार साँझ हावाहुरी तथा पानीसँगै आएको चट्याङ लागेर खाँदबारी–९ साठीमुरेमा एकैपरिवारका चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

चट्याङ लागेर कोपिला श्रेष्ठ, १८ वर्षीय छोरा गगन श्रेष्ठ, १८ वर्षीया बुहारी बविता मगर र १३ वर्षीया छोरी निरुता श्रेष्ठ घाइत जनाउँदै उहाँले घाइते सबैको जिल्ला अस्पताल सङ्खुवासभामा उपचार भइरहेको बताए । उपचाररत चारैजना खतरामुक्त रहेका अस्पतालले जनाएको छ ।

यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५७ रुपैयाँ १४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८१ रुपैयाँ २७ पैसा र बिक्रीदर १८२ रुपैयाँ ०७ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६७ रुपैयाँ ६९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ४२ पैसा तोकिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८७ रुपैयाँ २५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ १५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ५८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०४ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ६० पैसा र बिक्रीदर नौ रुपैयाँ ६४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८ रुपैयाँ ८७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ६० पैसा र बिक्रीदर ३६ रुपैयाँ ७६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १० पैसा र बिक्रीदर चार रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ४० पैसा र बिक्रीदर ३७ रुपैयाँ ५६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६७ पैसा र बिक्रीदर नौ रुपैयाँ ७१ पैसा निर्धारण गरिएको छ ।

यस्तै, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २२ पैसा र बिक्रीदर १४ रुपैयाँ २८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ९५ पैसा र बिक्रीदर २१ रुपैयाँ ०४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ७१ पैसा र बिक्रीदर १७ रुपैयाँ ७९ पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ८९ पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ०२ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३५८ रुपैयाँ ३८ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

जाजरकोट केन्द्र बनाएर फेरि भूकम्पको धक्का

काठमाडौँ । जाजरकोटमा मंगलबार फेरि भूकम्प गएको छ । सोमबार राति ९ बजेर ३१ मिनेट जाँदा पैंक केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएकोमा मंगलबार पुनः अर्को भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४ बजेर ५३ मिनेट जाँदा पैंकलाई नै केन्द्रबिन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

दुवै भूकम्पको कारण कुनै क्षति भएको विवरण भने प्राप्त भएको छैन । लगातारको भूकम्पले जाजरकोट र आसपासका बासिन्दा आतङ्कित भएका छन् ।

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । 

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४२, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (तराई) प्रतिकिलो रु १२, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ३०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु ३०, मूला रातो प्रतिकिलो रु ४५, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ४० तथा भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडीको मूल्य प्रतिकिलो रु ८० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ८०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ९०, तितो करेला प्रतिकिलो रु ५५, लौका प्रतिकिलो रु ४०, परबर (लोकल) प्रतिकिलो रु ९०, परबर (तराई) प्रतिकिलो रु ९०, चिचिण्डो प्रतिकिलो रु ७०, घिरौला प्रतिकिलो रु ६०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, सलगम प्रतिकेजी रु ७०, भिण्डी प्रतिकिलो रु ९० कायम गरिएको छ । 

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ६०, रायो साग प्रतिकिलो रु ८०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग रु १००, तोरी प्रतिकिलो रु ४०, मेथीको साग प्रतिकिलो रु ९०, प्याज हरियो प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु १७०, च्याउ (डल्ले) प्रतिकिलो रु ३२० तथा कुरिलो प्रतिकिलो रु ६०० निर्धारण गरिएको छ ।

निगुरो प्रतिकिलो रु ८०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १८०, कोइरालो प्रतिकिलो रु २२०, रातो बन्दा प्रतिकिलो रु ६५, जिरीको साग प्रतिकिलो रु ६५, ग्याठकोभी प्रतिकिलो रु ६५, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु ३५०, गान्टे मूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २६०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु १५०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु १००, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ५०, रुख कटहर प्रतिकिलो रु १००, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु ९०, उखु प्रतिगोटा रु १००, स्ट्रबेरी  (भुइँऐसेलु) प्रतिकिलो रु २५०, किबी प्रतिकिलो रु ४५०, आभोकाडो प्रतिकिलो रु ६५० तथा अमला प्रतिकिलो रु १२० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १२०, खुर्सानी सुकेको प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु १००, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ३००, भेडे खुर्सानी प्रतिकिलो रु ११०, लसुन हरियो प्रतिकिलो रु ९०, हरियो धनिया प्रतिकिलो रु १८०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १४० र राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।
––

युरोपेली सङ्घबाट प्यालेस्टिनी जनताका लागि नयाँ आर्थिक सहायता घोषणा

लक्जेम्बर्ग । युरोपेली सङ्घले सोमबार प्यालेस्टिनी जनतालाई सहयोग गर्न एक अर्ब ६० करोड युरो बराबरको नयाँ आर्थिक सहायता घोषणा गरेको छ । यो सहयोग तीन वर्षको अवधिमा दिइनेछ ।

यो घोषणा प्यालेस्टिनी प्रधानमन्त्री मोहम्मद मुस्तफा र युरोपेली विदेश मन्त्रीहरूबीचको बैठकको अघिल्लो दिन गरिएको हो ।

“हामी प्यालेस्टिनी जनताको साथमा छौँ । यो सहयोगले सन् २०२७ सम्म पश्चिमी किनारा र गाजाको अवस्था सुधार गर्न मद्दत गर्नेछ,” युरोपेली सङ्घको विदेश नीति प्रमुख काया कालासले सामाजिक सञ्जालमार्फत जानकारी दिए ।

गाजामा युद्ध फेरि सुरु भएपछि युरोपेली सङ्घले प्यालेस्टिनी प्रशासनलाई सहयोग बढाउने निर्णय गरेको हो ।

यस सहयोग अन्तर्गत, प्यालेस्टिनी प्रशासनलाई सिधै ६२ करोड युरो बराबरको अनुदान दिइनेछ । यो सहयोगले शासन प्रणाली सुधार, आर्थिक विकास, पूर्वाधार निर्माण जस्ता काममा सहयोग पुर्याउनेछ ।

अर्कोतर्फ, ४० करोड युरो बराबरको ऋण पनि युरोपेली लगानी बैङ्कमार्फत उपलब्ध गराइनेछ ।

यो नयाँ सहयोग अघिल्लो सन् २०२१ देखि २०२४ सम्मको एक अर्ब ३६ करोड युरो बराबरको सहयोग योजनाको निरन्तरता हो ।

अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला

सिड्नी । अस्ट्रेलियाका वैज्ञानिकहरूले ५५ नयाँ प्रकारका माकुरा फेला पारेका छन् । अनुसन्धान टोलीले अस्ट्रेलियाका टाढा र सुख्खा ठाउँहरूमा खोज गरेर यी माकुरा भेट्टाएका हुन् ।

यी माकुरालाई ‘विशबोन’ माकुरा भनिन्छ । यी माकुराले जमिनभित्र रेशाले प्वाल बनाउने गर्छन् । विशबोन माकुरा अस्ट्रेलियामा पाइने एक विशेष प्रकारको माकुरा हो, जुन ‘एनेम’ नामक समूहमा पर्दछ । यी माकुराले जमिनभित्र रेशाले बनेको ‘वाई’ आकारको बासस्थान बनाउँछन्, जसको कारणले ‘विशबोन’ नाम दिइएको हो ।

उनीहरू सुनौला रङ्गका चम्किला रौंले ढाकिएका हुन्छन् । विशबोन माकुरा टारान्टुला र ट्रयापडोर माकुरासँग सम्बन्धित छन् र प्रायः अस्ट्रेलियाका सुख्खा, दुर्गम क्षेत्रमा पाइन्छन् ।

अनुसन्धानकर्ताहरूका अनुसार अझै धेरै माकुरा प्रजाति पत्ता लाग्न बाँकी छ । यो खोजले अस्ट्रेलियाका जङ्गल र जीवजन्तुको विविधता बुझ्न मद्दत गर्नेछ ।

वैज्ञानिक जेरेमी विल्सनले दुई वर्षभन्दा बढी समय लगाएर यो अध्ययन गरेका हुन् । “हामीले धेरै नयाँ कुरा पत्ता लगाएका छौं,” उनले भने ।

समुद्री क्षेत्रमा दीर्घकालीन सुधारका लागि पाकिस्तानको तयारी

इस्लामावाद । पाकिस्तान सरकारले समुद्री क्षेत्रको दीर्घकालीन विकास र जलवायु परिवर्तनको असर घटाउन समुद्री वातावरणको संरक्षण र प्रवद्र्धन गर्ने योजना अघि सारेको छ ।

पाकिस्तानका जल यातायात मामिलाका मन्त्री मुहम्मद जुनैद अनवर चौधरीले आइतबार एक कार्यक्रममा भने, “समुद्री प्राकृतिक क्षेत्रहरूलाई जोगाउन र पुनःस्थापना गर्न आवश्यक रहेको छ । यस्ता प्रयासहरू पाकिस्तानको वातावरण नीति र समुद्री क्षेत्रको दीगो योजनासँग जोडिएको छ ।”

उनका अनुसार तटीय क्षेत्रमा अनियन्त्रित निर्माण, प्रदूषण, अत्यधिक माछा मार्ने कार्य, वातावरणीय परिवर्तन र असन्तुलित जमिन प्रयोगले समुद्री जीवन र वातावरणलाई असर गरिरहेको छ ।

“यी समस्याले प्राकृतिक सन्तुलन बिगार्छन् र समुद्री जीवजन्तुहरूलाई सङ्कटमा पार्छन्,” उनले भने ।

उनले संरक्षण र आर्थिक विकास सँगसँगै अघि बढ्न समुदायको भूमिका महत्वपूर्ण रहेको पनि उल्लेख गरे ।

“हामी तटीय क्षेत्रका बासिन्दा र स्थानीय माछा मार्नेहरूसँग मिलेर काम गरिरहेका छौं,” उनले भने, “यसले समुदायलाई सशक्त बनाउने र दीर्घकालीन दिगोपन सुनिश्चित गर्नेछ ।”

राप्रपाको आन्दोलनमा सहभागी हुने अमेरिकी नागरिकलाई ‘डिपोर्ट’ गरिने

काठमाडौं । राप्रपाले प्रदर्शन गरेको कार्यक्रममा सहभागी भएका अमेरिकी नागरिकलाई सरकारले देश निकाला गर्ने भएको छ ।

गृह मन्त्रालयले अमेरिकी नागरिक ५८ वर्षीय जुलियन किर्पाललाई नेपाल प्रवेशमा दुई वर्ष प्रतिबन्ध लगाउने गरी निष्कासन गर्ने निर्णय गरेको हो ।

उनी नेपालको राजनीतिक गतिविधिमा संलग्न भएको भेटिएपछि किर्पालविरुद्ध प्रतिबन्धसहितिको डीपोर्ट गर्ने निर्णय गरिएको हो ।

गत चैत १४ गते अमेरिकी नागरिक किर्पाल माइतीघरबाट पक्राउ परेका थिए। उनले राजसंस्थाको पक्षमा नाराबाजी लगाउनुको साथै पम्पलेट पनि प्रदर्शन गरेका थिए। लगत्तै उनलाई काठमाडौं प्रहरीले पक्राउ परेको थियो ।

शिक्षक महासङ्घका माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई परियारको खुल्लापत्रः किन सरकार गम्भीर छैन ?

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले नेपाल शिक्षक महासङ्घको आन्दोलनका माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुल्लापत्र लेख्दै उनले शिक्षकका माग सम्बोधन गर्न आग्रह गरेका हुन् ।

‘सरकार किन गम्भीर हुँदैन, के शिक्षकको शालिनतालाई कमजोरीका रूपमा त हेरिएको होइन ?’ सहमहामन्त्री परियारले प्रश्न गर्दै खुल्लापत्रमा लेखेका छन्, ‘यदि सरकारले १–२ दिनभित्र आन्दोलनका माग समाधान नभएमा कांग्रेसले पनि यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्दछ भनेर मेरो पार्टीसंँग समेत जोडदार माग रहनेछ ।’

महासङ्घले विगत वर्षदेखि चरणबद्ध आन्दोलन गर्ने क्रममा गत चैत्र २० गतेदेखि काठमाडौँ केन्द्रित सडक आन्दोलन गरिरहेको छ । विगतमा महासङ्घसँग सरकारले पटक–पटक सम्झौता गरेको विषय स्मरण गराउँदै प्रतिनिधिसभा सदस्य परियारले जायज मागमा कांग्रेसको समर्थन रहेकोसमेत खुल्लापत्रमा उल्लेख गरेका छन् ।

‘पार्टीको तर्फबाट अनौपचारिक रूपमा सरोकार भएका मन्त्रीसँग बारम्बार छलफल भएको छ । तथापि आजसम्म कुनै नतिजा नआउनु अत्यन्तै दुःखद् पक्ष हो’, उनले भनेका छन् ।

यस्तो छ प्रधानमन्त्रीलाई परियारको खुल्लापत्र

सम्माननीय प्रधानमन्त्रीज्यू
जय नेपाल !

विषयः नेपाल शिक्षक महासंघको आन्दोलनलाई सम्बोधन गर्न सरकारलाई जोडदार माग गर्दै, खुल्ला–पत्र ।

नेपाल शिक्षक महासंघले विगत वर्षदेखि चरणबद्ध आन्दोलन गर्ने क्रममा यही चैत्र २० गतेदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गरिरहेको व्यहोरा अवगतनै छ । नेपाल शिक्षक महासंघसंग विगतमा सरकारले पटक–पटक सम्झौता गरेको विषय स्मरण गराउन चाहन्छु । महासंघले उठाएका जायज मागप्रति हाम्रो समर्थन रहेकोछ ।

पार्टीको तर्फबाट अनौपचारिकरुपमा सरकारका सरोकारबाला मन्त्रीहरुसंग बारम्बार छलफल भएको नै छ । तथापी आजसम्म कुनै नतिजा नआउनु अत्यन्तै दुःखद पक्ष हो भन्ने हामीलाई लागेको छ ।
भोलीबाट २०८२ साल प्रारम्भ हुँदैछ । आम नेपाली जनता नयाँबर्ष आ–आफ्नो तरिकाबाट मनाउँदै छन् तर आम शिक्षक साथीहरु माईतिघरमा आन्दोलन गर्नुपर्ने परिस्थिति सृजना भएको छ ।

सम्माननीय प्रधानमन्त्रीज्यू,

सरकार किन गम्भीर हुँदैन । के शिक्षकको शालिनतालाई कमजोरीकारुपमा त हेरिएको होईन ? यदि सरकारले शिक्षक महासंघको आन्दोलन अब १–२ दिन भित्र समाधान नभएमा नेपाली कांग्रेस पार्टीले यस विषयलाई गम्भीरता पूर्वक लिनु पर्दछ भन्ने मेरो पार्टीसंग समेत जोडदार माग रहनेछ ।
जय नेपाल !
जीवन परियार
प्रतिनिधि सभा सदस्य एवं सहमहामन्त्री, नेपाली कांग्रेस ।

कर वृद्धिमा कुनै पनि देशलाई नछोडिने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै पनि देश करको ‘दायाराबाट बाहिर नरहेको’ चेतावनी दिएका छन् ।

ट्रम्पले विशेष गरी चिनियाँ आयातलाई लक्षित गरी विश्वव्यापी कर आक्रमण सुरु गरेदेखि नै विश्वका दुई ठूला अर्थतन्त्रहरूले तीव्र गतिमा कर वृद्धिको प्रतिशोधात्मक उपायलाई अपनाएको र यसले विश्वको अर्थतन्त्र उच्च जोखिमको खेलमा फसेका छ ।

‘जस्तालाई तस्तै’ व्यवहारको आदानप्रदानले चीनमाथि लगाइएको अमेरिकी कर १४५ प्रतिशतसम्म बढेको छ भने बेइजिङले अमेरिकी आयातमा प्रतिशोधात्मक १२५ प्रतिशत कर लगाएको छ ।

अमेरिकी पक्षले शुक्रबार स्मार्टफोन, ल्यापटप, सेमीकन्डक्टर र अन्य इलेक्ट्रोनिक उत्पादनहरूको लागि कर छूटको सूची दिँदै दबाबलाई केही कम गरेको थियो । यी उत्पादनका लागि चीन एक प्रमुख स्रोत हो ।

ट्रम्प र उहाँका केही शीर्ष सहयोगीहरूले ९० दिन कर छूटको गलत अर्थ लगाइएको आइतबार बताएका छन् । यो अस्थायी मात्र हुनेछ किनकि ट्रम्पको टोलीले सूचीका धेरै वस्तुहरूमा नयाँ करहरू लगाउने दिशामा छलफल गरिरहेको छ ।

“चीन मात्र होइन, विशेष गरी जसले अहिलेसम्म हामीलाई करका हिसाबले सबैभन्दा खराब व्यवहार गर्दछ! कोही पनि ‘कर वृद्धि’को जोखिमबाट टाढा छैन, अमेरिकी राष्ट्रपतिले शनिबार राति आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोशल प्लेटफर्म’मा जारी सन्देशमा भनेका छन् ।

यसअघि बेइजिङको वाणिज्य मन्त्रालयले शुक्रबारको कदमले ‘एउटा सानो कदममात्र हो’ भन्दै ट्रम्प प्रशासनले सम्पूर्ण कर रणनीति ‘पूर्ण रूपमा रद्द’ गर्नुपर्नेमा जोड दिएको थियो।

अमेरिकाले शुक्रबार स्मार्टफोन, कम्प्युटर र अन्य इलेक्ट्रोनिक्स सामानलाई ‘पारस्परिक’ करबाट छुट दिएको थियो । यसले लोकप्रिय उच्च प्रविधियुक्त उत्पादनका लागि अमेरिकी उपभोक्तामा पर्ने लागत प्रभावलाई कम गरेको छ ।

अमेरिकी भन्सार तथा सीमा सुरक्षा कार्यालयले शुक्रबार राति जारी गरेको सूचनामा चीनबाट अमेरिका भित्रिने स्मार्टफोन र अन्य प्रविधिजन्य सामानलगायत विभिन्न इलेक्ट्रोनिक सामानमा १४५ प्रतिशत थप कर लगाएको थियो ।

सेमीकन्डक्टरलाई अधिकांश अमेरिकी व्यापारिक साझेदारहरूमा ‘आधारभूत’ १० प्रतिशत कर र चीनमा थपिएको १२५ प्रतिशत करबाट पनि बाहिर राखिएको छ ।

नयाँ छुटले एनभिडिया र डेल जस्ता अमेरिकी टेक कम्पनीका साथै चीनमा आईफोन र अन्य प्रिमियम उत्पादनहरू बनाउने एप्पललाई फाइदा पुर्याउनेछ।