`

बागलुङमा गाउँपालिकाका कर्मचारी सवार गाडी दुर्घटना हुँदा ११ जना घाइते

बागलुङ । बागलुङमा पिकअप जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जिल्लाको तमानखोला गाउँपालिकाका कर्मचारी सवार पिकअप जिप दुर्घटना भएको हो ।

तमानखोलाको केन्द्र बोङ्गादोभान बजारदेखि पर्यटकीय क्षेत्र बराहतालतर्फ जाँदै गरेको पिकअप जिप उकालोमा ब्रेक फेल भई दुर्घटनामा परेको जनाइएको छ ।

दुर्घटनामा तमानखोला गाउँपालिकाकी सहायक प्रशासकीय अधिकृत गलकोट नगरपालिका–१ की ३० वर्षीया मुना विक, नायब पशु शाखा प्राविधि जुम्ला कन्कासुन्दरी गाउँपालिका–२ का २६ वर्षीय प्रेम रावल, सहायक लेखा अधिकृत रुकुम पश्चिम बाँफिकोट गाउँपालिका–६ का ३२ वर्षीय सुदर्शन कुसारी, कार्यालय सहयोगी तमानखोला गाउँपालिका–२ का २९ वर्षीय सचिन विक, प्राविधिक साहयक रुकुम पश्चिम चौरजहारी नगरपालिका–१३ का २३ वर्षीयको नवीन मल्ल घाइते भएका छन् ।

त्यस्तै, गाउँपालिकाकी पूर्वउपाध्यक्ष तमानखोला गाउँपालिका–१ की ५२ वर्षीया मनसरी शेरचन, सोही स्थानकी ६३ वर्षीया इन्द्राकुमारी गिरी, २५ वर्षीया वसन्ती मगर, सोही स्थानका गाडीचालक २७ वर्षीय सुशील रसाइली, १२ वर्षीया मनी मगर र तमानखोला गाउँपालिका–२ की २० वर्षीया झरना गिरी घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

घाइतेमध्ये सहायक प्रशासकीय मुना विक र प्राविधिक साहयक नवीन मल्लको अवस्था गम्भीर रहेको यादवको भनाइ छ । गम्भीर दुवै जनालाई धौलागिरि प्रादेशिक अस्पताल बागलुङ पठाइएको उनले जानकारी दिए । अन्य घाइतेहरूको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको छ ।

वर्ष २०८२ मा आशावादी छन् चलचित्रकर्मी

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष, २०८१ स्मरणयोग्य एवं सुखद् रह्यो। गत वर्ष प्रदर्शनमा आएको चलचित्र पूर्णबहादुरको सारङ्गीले घरेलु बजारमा इतिहास रच्न सफल भयो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको ‘सेन्ट्रल म्यानेज्मेन्ट टिकट सिस्टम’ (बक्स अफिस)मा यस चलचित्रले रु ४६ करोड ८० लाख (ग्रस) कारोबार गरेको तथ्याङ्क छ। जसले विसं २०८१ मा मात्रै नभई नेपाली चलचित्रको इतिहासमै ‘रेकर्ड’ दर्ज गरेको देखिन्छ।

यसकारण पनि चलचित्र क्षेत्रमा नयाँ सम्भावना देखिएको अभिनेता हरिवंश आचार्यको बुझाइ छ। नेपाली चलचित्रको बजारको आकार र अवसरलाई गएको वर्षले प्रस्ट्याएको अभिनेता आचार्यले बताए।

उनले भने, ‘यो वर्ष हामीले आशावादी हुने धेरै ठाउँ छन्, किनकि हामीले हाम्रो दर्शक र बजारको क्षमता बारे बुझ्ने मौका पाएका छौँ। तर, संख्यात्मक नभई हामीले गुणात्मक चलचित्र बढाउनुपर्छ। अघिल्लो वर्ष केही चलचित्रले गरेको व्यापारका कारण यो वर्ष प्रदर्शनको सङ्ख्या बढ्ने देखिन्छ तर हामीले बजारलाई बुझेर त्योअनुसार चलचित्र ल्याउनु पर्छ।’

उनले अभिनय गर्नुभएको चलचित्र ‘भूठान’ यही वैशाख १२ गते र ‘हरिबहादुरको जुत्ता’ आगामी दसैँमा प्रदर्शन हुँदैछ। यस वर्ष मह सञ्चारबाट चलचित्र निर्माण गर्ने भन्दा पनि आएका प्रस्तावमा अभिनय गर्ने सोच अभिनेता आचार्यले बनाएका छन्।

‘चलचित्र निर्माण गर्दा आफूमा धेरै दायित्व आउँछ, सोही कारण अहिले अभिनयमै केन्द्रित छौँ। दुई चलचित्र प्रदर्शन भएपछि आगामी के गर्ने भन्ने सोच बन्छ, अहिले भने ती दुई चलचित्रकै काममा केन्द्रित छु’, अभिनेता आचार्यले भने।

अभिनेता निखिल उप्रेती पनि केही वर्षको विश्रामपश्चात् यो वर्षदेखि आफ्नो चलचित्रकर्मलाई निरन्तरता दिँदै छन्। उनले छायाङ्कनका लागि नेपालसँगै भारतको केही भूभागको अवलोकन पनि गरिसकेका छन्।

‘म जेठदेखि चलचित्रको छायाङ्कन गर्ने तयारी गरिरहेको छु, अन्तिम साताबाट काम सुरू हुन्छ। अहिले नेपाली चलचित्रको राम्रो समय आएको छ, चलचित्र भवनसम्म आएका दर्शकलाई बढाउने र ल्याइरहने गरी हामी चलचित्रकर्मीले काम गर्न जरुरी छ। म यसपटक भिन्न कथा र शैलीको चलचित्र दर्शकलाई दिने तयारी गरिरहेको छु’, उनले भने। अभिनेता उप्रेतीले द्वन्द्वप्रधान चलचित्रमा वैचारिक द्वन्द्वलाई प्रस्तुत गर्ने बताए।

झन्डै आठ वर्षपछि निर्देशक तुलसी घिमिरे पनि निर्देशनमा फर्किएका छन्। उनले ‘पहाड’ नामक चलचित्रको छायाङ्कन गरिरहेका छन्। उनले आज नयाँ वर्षको सन्दर्भ पारेर चलचित्रको प्रदर्शन कात्तिक ७ मा हुने घोषणा गरिएको छ। निर्देशक घिमिरेले दर्शकको विश्वास चलचित्र र चलचित्रकर्मीप्रति बढेको महसुस गरेका छन्। सोही कारण उहाँ यो वर्ष चलचित्रकर्ममा फर्किए।

‘केही समय मैले बनिरहेका चलचित्रको अध्ययनज्ञ नै गरेँ। हामीले विश्वका अन्य चलचित्रमा नभएका विषय र भावनात्मक कथालाई प्रस्तुत गर्नसक्नुपर्छ। चलचित्र हेर्ने संस्कृतिलाई बढाउन स–परिवार चलचित्र भवनमा आउने किसिमका चलचित्र निर्माण हुनुपर्छ। यो वर्ष नेपाली चलचित्रका लागि अघिल्लो वर्षभन्दा पनि उपलब्धिमूलक हुने विश्वास लिएको छु’, निर्देशक घिमिरेले भने।

कलाकार अभिनेता मदनकृष्ण श्रेष्ठ, सुनिल थापासँगै विपिन कार्की र अरुण क्षेत्रीजस्ता नयाँ पुस्तासँग चलचित्रमा काम गरेका निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई अभिनेत्री र जेठी छोरी भावना घिमिरेलाई प्राविधिक टिममा ‘प्रोडक्सन डिजाइनर’ को जिम्मेवारी दिएका छन्।

‘अन्य पेसाकर्मीझैँ हामीलाई पनि सन्तानले हामीले गरिरहेको पेसा रोज्दा खुसी लाग्छ। मेरो दुवै छोरीले गरेको कामको मूल्याङ्कन मैले गर्दा अस्वाभाविक लाग्ला तर यो चलचित्रकर्म ठीक भन्ने लाग्नु सुखद् पक्ष हो। उनीहरु चलचित्रकर्ममा आउनुले चलचित्रप्रति उक्त पुस्ताको सकारात्मक सोचलाई दर्शाएको छ’, निर्देशक घिमिरेले भने।

अभिनेत्री केकी अधिकारी वर्ष २०८२ मा प्रदर्शन हुने चलचित्रमा विविधता देख्न पाइनेमा आशावादी छिन्। अघिल्लो वर्ष घोषणा र छायाङ्कन गरिएका चलचित्र हेर्दा यो वर्ष नयाँपन र मौलिकतासँगै भव्यता पनि चलचित्रमा पाइने अभिनेत्री अधिकारीले बताइन्।

‘अघिल्लो वर्ष चलचित्रको विषयलाई दर्शकले हिरो बनाउनुभयो। यो हाम्रो लागि सुखद् खबर थियो। त्यसकारण पनि यो वर्ष चलचित्रमा कलाकारसँगै विषयमा निर्माताले लगानी गर्नुभएको छ। म एउटा चलचित्रकर्मीका हिसाबले जति उत्साहित छु, दर्शकमा पनि त्यही उत्साह छ भन्ने विश्वास छ’, अभिनेत्री अधिकारीले भनिन्।

गत वर्ष २०८१ को पहिलो चलचित्रका रुपमा उनले निर्माण गरेकी ‘बोक्सीको घर’ प्रदर्शन भएको थियो। चलचित्रमा समावेश गीत ‘बुझिन मैले, बुझाइ देऊ कसैले’ सफल हुँदा त्यसको प्रभाव चलचित्रमा पर्‍यो। उक्त चलचित्रलाई प्रदर्शन अगाडि सामान्य रुपमा हेरिएको थियो। तर, यसले अकल्पनीय व्यापार गर्‍यो।

‘बक्सअफिस’को तथ्याङ्कअनुसार यस चलचित्रको घरेलु बजारमा रु १० करोड दुई लाखको व्यापार भएको छ। यो चलचित्र सफलताको श्रेय विषयवस्तुलाई जान्छ। त्यसकारण गत वर्ष कलाकारको ‘स्टारडम’ भन्दा ‘कन्टेन्ट’ चलेको वर्षका रुपमा हेर्न सकिन्छ। अभिनेत्री अधिकारी पनि यस वर्ष आफ्नो निर्माण रहने चलचित्रको छायाङ्कन गर्ने र आउँदो वर्ष प्रदर्शन गर्ने तयारीमा छिन्।

समग्रमा यस वर्षलाई चलचित्रकर्मीले ठूलो आशाका साथ स्वागत गरेक छन्। वर्षकै पहिलो दिन सात चलचित्र प्रदर्शन तथा निर्माण घोषणा गरिएको छ। यो वर्ष कलात्मकसँगै व्यावसायिक चलचित्र उल्लेख्यरुपमा दर्शकले हेर्न पाउने छन्।

यी हुन् २०८१ न्यून व्यापार गर्ने चलचित्र

गत वर्ष चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले इतिहास रच्दा केही चलचित्रले भने सामान्य व्यापार पनि गर्न सकेनन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको ‘सेन्ट्रल म्यानेज्मेन्ट टिकट सिस्टम’(बक्स अफिस)’ मा रहेको तथ्याङ्कअनुसार वर्ष २०८१ मा ६२ नेपाली चलचित्र प्रदर्शन भए।

गत साउन १८ गते प्रदर्शन भएको चलचित्र ‘शीरफूल’ ले ८९ वटा टिकट बिक्रीबापत रु १८ हजार ५०० को मात्र कारोबार गरेको छ। यस्तै, फागुन ११ गते प्रदर्शन भएको चलचित्र ‘ख्या वोला’ले ९२ टिकटबिक्री गरेबापत रु २७ हजार ६००, सोही मितिमा प्रदर्शन भएको चलचित्र ‘गाले वाना’ को ७२ टिकट बिक्रीबापत रु २१ हजार ६००, मात्रै कमाएको छ। साथै माघ ४ गते प्रदर्शन भएको चलचित्र ‘एक्टर’ को १२१ टिकट बिक्री भएबापत रु ३३ हजार २८५ र असोज ११ गते प्रदर्शन भएको ‘आँखा’ ले २६२ टिकट बिक्री भएबापत रु ९२ हजार ५२५ को व्यापार (ग्रस) गरेको छ।

उक्त व्यापारमा मूल्य अभिवृद्धि करबापत १३ प्रतिशत र मनोरञ्जन करबापत पाँच प्रतिशत तिरिएको रकम कट्टा गरेर चलचित्र भवन र निर्माताले आधाआधा रकम पाउने गर्छन। उक्त रकममा वितरकले पाउने तय गरिएको रकम प्राप्त गरेपछि मात्र निर्माताले आफ्नो हिस्सा पाउने गर्छन्। तसर्थ उल्लेखित चलचित्रले गरेको व्यापारबाट निर्माताले पाउने रकम निकै न्यून हुन्छ।

नवप्रवेशी निर्माताले बढी सँगसँगै न्यून व्यापार भएका चलचित्रको विवरणलाई पनि हेर्नुपर्ने पुर्नेन्दु झाले बताए। उनले भने, ‘निर्माता बढी व्यापार भएको चलचित्र हेरेर हौसिने गरेको पाइन्छ, तर चलचित्र निर्माणभन्दा अगाडि न्यून व्यापार पनि हेर्नुपर्छ। किनकि यहाँ यस्तो नै हुन्छ भन्ने अवस्था हुँदैन। निर्देशकले पनि सुरुआती समयमै घाटा र नाफाबारे स्पष्टरुपमा बुझाउनुपर्छ।’

उनले आश गरिएका केही चलचित्रको व्यापार राम्रो हुन् नसकेको बताए। विशेषत अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा अब्बल सावित भएका चलचित्रले घरेलु बजारमा दर्शक पाउन सकेनन्। ‘शाम्बाला’ र ‘राजागञ्ज’ चलचित्रको व्यापार नहुनु दुःखद् रहेको निर्देशक झाको बुझाइ छ।

‘कलात्मक चलचित्रको घरेलु बजार उत्साहजन देखिएन तर चलचित्र निर्माणमा भिन्नता आउनु आवश्यक छ। ती चलचित्र निर्माण तथा निर्देशन गर्ने चलचित्रकर्मीको आटलाई हामीले हौसला दिनु जरुरी छ’, निर्देशक झाले भने।

यस वर्ष प्रदर्शन भएको चलचित्र ‘शाम्बाला’ ले रु दुई करोड १२ लाख २२ हजार ३२५ र ‘राजागञ्ज’ ले रु १६ लाख २१ हजार ८८१ को व्यापार (ग्रस) मात्र गरेको छ।

सगरमाथा आरोहणका लागि खुम्बु आइसफलको बाटो तयार

काठमाडौँ । वसन्तकालीन यामा सगरमाथा आरोहणका लागि दुई सयभन्दा बढीले आरोहण अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार बिहीबारसम्म २२ आरोही समूहका ३८ महिला र एकसय ७८ पुरुष गरी कूल २१४ जनाले अनुमति पाएका हुन् । आरोहण अनुमति लिएर विभिन्न मुलुकका आरोहीहरु धमाधम गन्तव्यतर्फ लागिरहेका छन् ।

विभागले चैतको तेस्रो सातादेखि सगरमाथा आरोहण अनुमति दिन सुरु गरेको थियो । विभागका निर्देशक आरती न्यौपानेका अनुसार सगरमाथा आरोहणका लागि धमाधम आरोही गन्तव्यतर्फ गइरहेका छन् ।

नेपालसहित ३१ मुलुकका नागरिक सगरमाथा आरोहणका लागि भएका छन् । विभागले हालसम्म सगरमाथासहित विभिन्न १७ हिमाल आरोहणका लागि ‘एक्सपीडिसन पर्मिट’ जारी गरेको छ । पछिल्लो विवरणमा हिमाल आरोहणमार्फत ३६ करोड ५८ लाख १५ हजार २७ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको छ ।

सगरमाथाबाट मात्रै ३१ लाख ६९ लाख ८६ हजार २८ रकम उठेको छ । हालसम्म विभिन्न हिमाल तथा पिक आरोहण गर्न ५४ आरोही समूहका ९९ महिला र तीनसय ९८ गरी कूल चार सय ९७ जनाले विभागबाट अनुमति लिएका छन् ।

आरोहणका लागि खुम्बु आइसफलसम्मको बाटो निर्माण सम्पन्न भएको छ । आइसफलका डाक्टरहरुले खुम्बु आइसफल हुँदै रुट फिक्सिङ पूरा गरेको विभागले जनाएको छ । असाधारण प्रयासका लागि एसपिसिसीका आइसफल डाक्टरलाई विभागले प्रसंशा व्यक्त गरेको छ ।

सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म बाटो निर्माणका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) ले खुम्बु आइसफलमा बाटो बनाउने ‘आइसफल डाक्टर’ खटाएको थियो । यो सिजनका लागि १० जनाको टोली खटाइएको एसपिसिसीले जनाएको छ ।

पर्वतारोहण सञ्चालक सङ्घले सगरमाथाको दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउनेअर्थात् ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) काम गर्ने छ । सङ्घले यो सिजनको सगरमाथा आरोहणका लागि बाटो बनाउने तथा रोप फिक्सिङको व्यवस्थापकीय जिम्मेवारी एट्के एक्सपीडिसन कम्पनीलाई दिएको छ ।

वसन्त ऋतु सगरमाथासहितका हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ । यो याममा सगरमाथा आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी आउँछन् ।

जनताले चाहेको तीव्र विकासको आकांक्षा पूरा गर्नु साझा दायित्वः राष्ट्रपति पौडेल

नगरकोट । राष्ट्रपति रामचन्द्र पौडेलले न्यून आर्थिक वृद्धिको चक्रबाट मुक्ति लिदैं नेपाली अर्थतन्त्रमा सुधार गरी संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसहित नेपाली जनताले चाहेको तीव्र विकासको आकांक्षा पूरा गर्नु हामी सबैको साझा दायित्व भएको बताएका छन् ।

सोमबार राष्ट्रपति पौडेलले नगरकोट भ्रमण वर्ष २०८२ को शुभारम्भ समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

‘पर्यटन, कृषि, जलस्रोत, ऊर्जा, सूचना प्रविधि र उद्योगधन्दा मुलुकको अर्थतन्त्रको मूल मेरुदण्ड हो । आर्थिक वृद्धिका यी क्षेत्रमा विद्यमान समस्या हटाएर उपयुक्त नीति, कानुन र अवसरको सिर्जना गर्नु राज्यको प्राथमिक दायित्व हो । रोजगारीका अवसर सिर्जना, लगानीयोग्य वातावरण निर्माण, उत्पादनको लागत घटाएर प्रतिस्पर्धा प्रवर्धन गरी औधोगिकरणलाई बढावा दिनु पनि उत्तिकै जरुरी छ’ उनले भने,‘न्यून आर्थिक वृद्धिको चक्रबाट मुक्ति लिदैं नेपाली अर्थतन्त्रमा सुधार गरी संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसहित नेपाली जनताले चाहेको तिव्र विकासको आकांक्षा पूरा गर्नु हामी सबैको साझा दायित्व हो ।’

राष्ट्रपति पौडेलले सांस्कृतिक, ऐतिहासिक, धार्मिक धरोहरलाई आर्थिक विकासमा रुपान्तरण गर्न पूर्वाधारको विकास र कौशल बढाउनुपर्ने र यस क्षेत्रको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति, सभ्यतालाई नेपाल र विश्व पर्यटन बजारमा प्रवद्र्धन गरी पर्यटन क्षेत्रलाई आय आर्जन र समृद्धिको आधारकोरूपमा स्थापित गर्न सकिने प्रचुर संभावना रहेको पनि उल्लेख गरे ।

उनले भने, ‘पर्यटकीय उपजहरूको व्यवसायीकरण गरी यसबाट प्राप्त लाभको समन्यायिक वितरण सुनिश्चित गर्न आवश्यक छ । पर्यटकीय वस्तुको विकास, बजारीकरण र सहज पहुँचको व्यवस्था गरी नेपाललाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्दछ ।’

राष्ट्रपति पौडेलले काठमाडौँको उकुसुमुकसबाट उम्केर प्रकृतिमय क्षण व्यतित गर्ने उत्कट चाहना राख्नेहरूका लागि नगरकोट नजिकको रोजाइस्थल भएको र यो संस्कृति, प्रकृति, इतिहास र भौगोलिक आकर्षणका लागि पनि गौरव र शान भएको उल्लेख गर्दै जसले देश विदेशमा चिनाउन र पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न योगदान दिएको पनि बताए ।

‘यसलाई अझै विकसित, आधुनिक र सुविधासम्पन्न बनाउन स्थानीय वासिन्दा, उद्यमी, पयर्यटनव्यवसायीसहित संघ, प्रदेश सरकार र विशेषत यहाँका चारैवटा नगरपालिकाको सहकार्य बढी अपेक्षित रहेको मैले ठानेको छु’, उनले भने ।

राष्ट्रपति पौडेलले उत्तरतर्फका सुन्दर हिमश्रृङखला, सूर्योदय र सूर्यास्त एवम् सुन्दर काठमाडौँ उपत्यका अवलोकनको लागि स्वदेशी विदेशी पर्यटकबीच नगरकोटको महिमा अधिक रहेको उल्लेख गर्दै यसको निकटमा अवस्थित् विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर, पौराणिक प्रसङ्ग जोडिएको महादेव पोखरी, मन्जुश्री गुफा, ऐतिहासिक भंगेरी र पुतली दरवार, शंखरापुर नगरपालिकाको प्रसिद्ध शालीनदी तथा बज्रयोगिनी माईको मन्दिर र साँखु बजारको ऐतिहासिक, पुरातात्विक सम्पदासँगै यसलाई केन्द्रमा राखेर विस्तार हुँदै गएको पदयात्रा मार्गले यहाँको पर्यटकीय गतिविधिलाई बढाएको पनि बताए ।

नगरकोटलाई मूल विन्दु बनाएर चारवटै नगरपालिकाले आ–आफ्नो क्षेत्रका सम्पदा एवम् ऐतिहासिकस्थलको प्रवद्र्धन गर्न अगाडि बढ्नु प्रशंसनीय रहेको उल्लेख गर्दै उनले पर्यटन पूर्वाधारको विस्तार र सहज आवागमनको लागि सडकको स्तरोन्नति गर्नेतर्फ ध्यान दिन जरुरी रहेको बताए । उनले नगरकोट भ्रमण वर्ष घोषणा विकासको प्रमुख आधारशीला पर्यटन क्षेत्रले यसबाट लाभ लिएर मुलुकको आर्थिक समृद्धिमा योगदान दिने विश्वास पनि व्यक्त गरे ।

राष्ट्रपति पौडेलले नयाँ वर्ष २०८२ को अवसरमा जनताको चाहनाअनुरुप शान्ति, दिगो विकास, समावेशी समाज, आर्थिक समृद्धि र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसहित राष्ट्र निर्माणको अभियानमाा जुट्न यो दिनले हामी सबैलाई प्रेरणा देओस् भन्ने कामना पनि गरे ।

जनताका समस्यालाई टुलुटुलु हेरिरहने प्रवृत्ति त्याग्नुपर्छ: पूर्वराष्ट्रपति भण्डारी

-विद्यादेवी भण्डारी

नयाँ वर्ष २०८२ को पावन अवसरमा, म स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । साथै, नयाँ वर्षको यस आगमनले बितेका दिनका कतिपय असमझदारी, तीक्तता, निराशा र अवरोधलाई समीक्षाको विषय बनाएर विस्मृत तुल्याउन तथा आफ्नो, समाज र सिङ्गो राष्ट्रकै भविष्य सुरक्षित, सुनिश्चित, सुन्दर एवं गतिशील बनाउन  सबैलाई प्रेरणा प्रदान गर्ने विश्वाससमेत लिएको छु ।


हामी सबैलाई ज्ञात भएकै विषय हो कि, नेपाली जनताले इतिहासमा सदियौँसम्म सामन्ती शोषण तथा उत्पीडनको पीडा ब्यहोर्न बाध्य हुनुपरेको थियो । त्यसका अवशेषहरू अझै बाँकी नै छन् । विकास प्रक्रियाको गत्यावरोध तोड्न, अन्याय–अत्याचारको दुष्चक्रबाट मुक्त हुन र स्रोतसाधनले सम्पन्न सुन्दर यस मलुकलाई विश्वकै समृद्ध एवं प्रतिष्ठित देशको कोटीमा पुर्याउने अभियान तीव्र पार्न जनताले अनेकौँ बलिदानीपूर्ण सङ्घर्षसहित अद्वितीय योगदान गर्दै अगाडि बढिरहेको यथार्थ हामी सबैका सामू छर्लङ्ग छ । अर्थात्, हामीहरू हाम्रा पूर्वज र अभिभावकको मुलुक समृद्ध बनाउने तथा जोगाउने दृढ सङ्कल्प र वीरताबाट प्रेरणा लिएर देशप्रतिको आफ्नो कर्तव्य र दायित्व पूरा गर्न सदा कटिबद्ध रहिआएका छौँ । पुर्खाले आर्जेको हाम्रो प्यारो राष्ट्रको अखण्डतामा आँच आउन नदिन, नेपाली राष्ट्रियताको प्रवद्र्धन गर्न र जनताको जीवनस्तर माथि उठाउन गरिएका अनेकौँ प्रयासका क्रममा परिस्थितिले निर्धारण गरेका विभिन्न जिम्मेवारीमा रहेर हामीले भूमिका निर्वाह गरिनै रहेका छौँ । हाम्रा यी घरेलु समस्या समाधानका निम्ति हामीले जनजागरण, दबाब र सङ्घर्षको नीति मात्र अवलम्बन गरेनौँ, बरु सघन संवाद, सहमति र सहकार्यको लोकतान्त्रिक एवम् सिर्जनात्मक माध्यमसमेत अपनाउँदै आएका छौँ । यस्ता हाम्रा असल प्रयासहरू भविष्यमा समेत कायमै रहनुपर्दछ भन्ने मलाई लागेको छ ।

देश र जनताको सामाजिक–आर्थिक उन्नतिका निम्ति हामीले समर्पण गरेको समय, मिहिनेत र प्रयासका बाबजुद सो उद्देश्य र लक्ष्य प्राप्तिमा अपेक्षित सफलता हासिल हुन नसक्नु विडम्बना नै हो । अनि यो असाध्यै दुःखको विषय समेत हो । स्वदेशमै कमाउन र रमाउन नसक्ने ठानी गहभरि आँसु पारेर अहिले लाखौँ युवाहरू विदेसिन बाध्य भएका छन् । स्थिरता र सुशासनको पूर्ण प्रत्याभूति दिलाउन नसक्दा व्यवसायी तथा सेवाग्राहीहरू दुःखित र निराश बन्न पुगेका छन् । कृषिलाई आधुनिकीकरण गरी उत्पादन र उत्पादकत्व बढाएर कृषिमा आधारित उद्योगसहित अनेक आधुनिक औद्योगिक प्रतिष्ठानहरू विस्तार गर्न नसक्दा बेरोजगारहरूको ठूलो सङ्ख्या दिनप्रतिदिन बढिरहेको अवस्था छ । कर्मचारी प्रशासनलाई जवाफदेही, कार्यमुखी र गतिशील तुल्याउन नसक्दा सर्वसाधारणले अनेकोँ झमेला र दुःख ब्यहोर्न बाध्य हुनुपरेको छ । यी यावत् समस्या, अवरोध र नकारात्मक प्रवृत्तिले गर्दा हाम्रो मौलिक संस्कृति, पहिचान र धर्मसमेत रक्षात्मक स्थितिमा पुगेको ठानिँदैछ । त्यसैले, विगत वर्षका यस्ता समस्या र नकारात्मक प्रवृत्तिहरूबाट गम्भीर पाठ सिकेर नयाँ वर्षको अवसरमा आजकै दिनबाट नयाँ सङ्कल्पका साथ विकास प्रक्रियालाई तीव्र तुल्याउनु पर्दछ । स्वाधीन, सवल र आत्मनिर्भर अर्थतन्त्र निर्माणका दिशामा सरकारले आफ्ना प्रयासहरू थप तीव्र बनाउनु पर्दछ ।


राष्ट्रियता सुदृढीकरण, अग्रगमन र जनसमस्याको समाधानको नाममा हामीले पटक–पटक व्यवस्था र संविधान बदल्यौँ तर अवस्था बदल्ने हाम्रो सपना अझै पूरा हुन सकिरहेको छैन । सामाजिक–आर्थिक रूपान्तरण प्रक्रियाले तीव्रता पाउन सकेको छैन । अनेक राजनीतिक विकल्पहरूको अभ्यासपछि पनि जनतामा चरम निराशा छाउने स्थिति किन उत्पन्न भयो ? सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि देशको कायापलट हुने विश्वास हामीले जनतालाई दिलाएका हौँ, खोजेको व्यवस्था प्राप्त भएपछि पनि जनताको जीवनस्तरमा आशातीत परिवर्तन किन हुन सकिरहेको छैन ? यस्ता प्रश्नहरूमा अब चिन्तामात्र प्रकट गरेर जनताको सहानुभूति बटुल्न खोज्नुभन्दा निर्मम आत्मसमीक्षा गर्दै फेरि पनि निरन्तर इमान्दार प्रयास गर्नुको विकल्प छैन । यस दिशामा सम्बद्ध सबैको ध्यान जाओस् ।


      हाम्रो देशमा यहीँ विकसित भएको मौलिक विचारको खाँचो थियो–जसले मुलुकलाई सामाजिक न्याय र समानतामा आधारित समुन्नत समाज बनाउन मार्गदर्शन गर्न सकोस् । अब त्यो सिद्धान्त हामीले पाइसकेका छौँ । यस प्रगतिशील सिद्धान्तको प्रभावकारी कार्यान्वयन गरी देश विकास गर्नुको विकल्प छैन । यो देशको सामाजिक–आर्थिक रूपान्तरणको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवादका प्रणेता जननेता मदन भण्डारीको सपना आफ्ना सहकर्मी सहयात्रीहरूलाई राज्यसत्तासम्म पु¥याउने इच्छामा मात्र सीमित थिएन, बरु यस सिद्धान्तलाई कार्यान्वयन गर्दै जनताको जीवनस्तर बदल्ने र राष्ट्रको गौरव बढाउने थियो । बहुदलीयता र बहुलवादलाई आत्मसात् गरी सक्रियता, पहलकदमी, जनसेवा र प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्दै अरू राजनीतिक शक्तिहरूलाई समेत मुलुकका साझा विषयमा अग्रसर र गतिशील बनाउने नै जननेताको चाहना हो । मदनको विचार र भावनाअनुरूप अगाडि बढ्न हामीलाई कसैले कतैबाट अवरोध त पैदा गरिरहेको छैन ? यस प्रश्नमा आत्मचिन्तन गर्ने समय आएको छ । मदन भण्डारीले देश र जनतालाई केन्द्रविन्दुमा राखेर धारणा बनाउने गर्नुहुन्थ्यो । निजी स्वार्थ, लोभ र महत्वाकाङ्क्षाभन्दा माथि नउठेसम्म जनआकाङ्क्षालाई सम्बोधन गर्ने चेत, इमानदारिता र दृढ मनोबल उत्पन्न हुन नसक्ने उहाँको ठम्याइ थियो । त्यसैले, हामी सबैले जननेताको सपना पूरा गर्ने अठोट फेरि एकपटक दोहोर्याउनुपर्ने बेला भएको छ । नेपालको राजनीतिक आन्दोलन र सामाजिक–आर्थिक रूपान्तरणको अभियानमा ऐतिहासिक भूमिका निर्वाह गरी अपार जनविश्वास आर्जन गर्न सफल बनिसकेको जननेताको विरासत बोकेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राज्यप्रतिको विश्वास र भरोसा थप अभिवृद्धि गर्न ढिला नगरी ठोस कार्ययोजना अघि सारेर त्यसको कार्यान्वयनमा तदारुकता देखाउनु पर्दछ ।


      राष्ट्रहित भन्दा महत्वपूर्ण अर्को कुनै विषय हुन सक्दैन र जनताको मुहारमा मुस्कान ल्याउनुभन्दा ठूलो अर्को कुनै खुसी हुँदैन । देशले दिनसक्ने जति अवसर हामीलाई दिइसकेको छ । अबको हाम्रो समय केवल राष्ट्रको नाममा समर्पण गर्नुपर्दछ । यस्तो दृढ अठोटबिना देश बदल्ने सपना पूरा हुन असम्भव छ । नयाँ वर्षको आगमनसँगै हामी सबैले जनताका समस्यालाई टुलुटुलु हेरिरहने र समाधानका प्रयासहरूबाट आफूलाई अलग राख्ने प्रवृत्ति त्याग्नै पर्दछ । यो नयाँ वर्ष नवीन आशा र विश्वासको दियो बाल्ने वर्ष बन्नुपर्छ, समृद्धिको द्वार खुल्ने ऐतिहासिक वर्ष बन्नुपर्छ । नयाँ वर्षको पावन अवसरमा दृढ अठोट र ऊर्जाका साथ नयाँ वर्षलाई देशोपयोगी बनाउने सामथ्र्य हामी सबैमा प्राप्त होस् भन्ने शुभेच्छासहित सबैलाई हार्दिक शुभकामना !

एमालेले भन्यो-प्रचण्डले सरकार परिवर्तनको कुरामात्र गर्नु सत्तामोहबाहेक केही होइन

काठमाडौं । नेकपा एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षसँगै सरकार फेरिने भनेर दिएको अभिव्यक्ति सरकार छाड्नुपर्दाको पीडाबोध भएको बताएको छ ।

सोमबार बसेको सचिवालय बैठकले प्रचण्डले दिएको अभिव्यक्ति खारेज गर्दै असान्दर्भिक भएको निष्कर्ष निकालेको हो । बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले प्रचण्डको अभिव्यक्ति भ्रम सिर्जना कोसिस भएको बताए ।

उनले भने, ‘प्रचण्डले फेरि सरकार परिवर्तनको हल्ला गरिरहनुभएको छ । यो सरकार बाहिर हुँदाको एक खालको कुण्ठा र पीडाबोध हो । राष्ट्रिय राजनीतिको अरु यावत् कुरा छाडेर सरकार परिवर्तनको कुरामात्र गर्नु भनेको सत्तामोह बाहेक अरु केही पनि होइन । त्यसले भ्रम सिर्जना गर्ने कोसिस भएको छ त्यसलाई हामीले खण्डन गरेका छौं ।’

त्यस्तै बैठकमा पार्टीको आन्तरिक जीवनसँग र केही राष्ट्रिय राजनीतिसँग जोडिएका विषयहरुमा छलफल भएको उनले बताए । बैठकले बैसाख ९ गते आफ्नो पार्टी स्थापनाका दिन सात जनालाई यो वर्षको कम्युनिष्ट योद्धा सम्मानबाट सम्मानित गरिने निर्णय गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिए ।

यसवर्ष लालबहादुर विश्वकर्मा कञ्चनपुर, रत्नशर्मा न्यौपाने जाजरकोट, शोभाराम बस्नेत दाङ, बाचस्पति देवकोटा गोरखा, शान्ता मानवी काठमाडौं, सत्यनारायण मण्डल सप्तरी र हरिचरण सिवाकोटी झापालाई कम्युनिष्ट योद्धा सम्मानबाट सम्मानित गरिने निर्णय भएको उनले बताए ।

के हुनुपर्छ नयाँ वर्षमा राजनीतिक सङ्कल्प ?

नारायण न्यौपाने/अशोक घिमिरे, काठमाडौँ । राजनीतिक दलका युवा नेताहरुले समृद्धि, सुशासन, सामाजिक न्याय, सार्वजनिक सेवा प्रवाहको सुधार तथा जनअपेक्षा पूरा गर्न नयाँ वर्ष नयाँ राजनीतिक सङ्कल्प र प्रतिबद्धताको आवश्यकता औँल्याएका छन् । उनीहरुले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ गर्न तीन तहकै सहरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वमा आधारित रहेर आगामी मार्गचित्र तय गर्नुपर्नेमा जोड दिएका छन् ।

नेताहरुले यसका लागि कानुन निर्माण र त्यसको प्रभावकारी कार्यान्वयन रहेको उल्लेख गर्दै सार्वजनिक खर्चको मितव्ययिताका लागि सांसद र मन्त्रिमण्डल तथा कर्मचारीको सङ्ख्या कटौती गरेरै भए पनि जानुपर्ने धारणा राख । नयाँ वर्ष २०८२ को प्राथमिकताका विषयमा केन्द्रित रही विभिन्न राजनीतिक दलका नेतासँग गरिएको कुराकानीः

दलहरुबाट दरिलो प्रतिबद्धता आवश्यक छ : चन्द्र भण्डारी (नेपाली कांग्रेस)

नेपालको संविधान, राजनीतिक दल र नेताहरुको यो मुलुकमा हामी पाँच वर्षमा गरिबीबाट अन्त्य गर्न सक्छौँ भन्ने पहिलो प्रतिबद्धता हुनुपर्छ । मुस्ताङ, मनाङ, कर्णालीजस्ता ठाउँका नागरिक काठमाडौँ आएर विकास माग्न नपरोस्, सरकार आफैँ त्यहाँ उपस्थित होस् । हिमाली क्षेत्रमा भेडाच्याङ्ग्रा पालेर आम्दानी गर्न सकोस् । जलस्रोतबाट धेरै आम्दानी गर्न सकिन्छ । जलस्रोत र पशुपालन क्षेत्रलाई अघि बढाउने नीति लिइयोस् । सीमान्तकृत वर्गलाई जलस्रोत उत्पादनमा शेयर पाउने व्यवस्था गरोस्, यति गर्नासाथ मुलुक सम्पन्न हुन्छ । शैक्षिक क्षेत्रलाई पनि उकास्न नयाँ योजना ल्याउन सकोस् भन्ने सरकारसँग कामना गर्छु । तर, हालको सोच र शैलीले हुँदैन, त्यसका लागि नेताहरुको सोचमा परिर्वतन हुनुपर्यो ।

अहिले विकासमा धेरै लगानी गर्नसक्ने अवस्था छैन । सांसदहरुको सङ्ख्या घटाएर एक सयको हाराहारीमा ल्याउनुपर्छ, मन्त्रिमण्डल सानो र छरितो बनाउनुपर्छ, प्रदेश नहटाए पनि प्रदेश सांसद र मन्त्रिपरिषद्को सङ्ख्या घटाउनुपर्छ । संवैधानिक आयोग र कर्मचारी हालको सङ्ख्यामा ६० प्रतिशत घटाउनुपर्छ । संस्कृति, समाज र बनोटलाई हेर्दा स्थानीय निर्वाचनलाई ‘पार्टी लेस’ व्यवस्था गर्नुपर्छ । तब मात्रै यो मुलुक अघि बढ्न सक्छ । ‘सही व्यक्ति, उचित जिम्मेवारी’ हुनुपर्छ । अवकाशप्राप्त कर्मचारीलाई पुनः जिम्मेवारी दिने प्रवृत्ति अन्त्य गर्नुपर्छ ।

२०८२ कानुन निर्माणको वर्ष बनोस् : दीपा शर्मा (नेत्री एमाले)

सुशासन, विकास तथा सामाजिक न्यायसम्मका विषयमा एकताबद्ध भएर सामाजिक मूल्यमान्यतालाई अघि बढाउन सकियोस्, राजनीतिक दलहरु पनि एक ढिक्का भएर देश विकासको साझा मुद्दामा लाग्न सकून् । अर्थतन्त्रलाई सुधार गरेर विकासका कामलाई तीव्रता दिन सकौँ । व्यवस्थामाथि कहीँकतै प्रश्न उठेका छन्, त्यसलाई निराकारण गर्ने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो र मजबुत बनाउन तीनै तहका सरकार लाग्नुपर्छ । आमजनताले सुशासन र सामाजिक न्यायको अनुभूति गर्न चाहिरहेका छन्, त्यसका लागि इमान्दार नेतृत्व खोजिरहेका छन् ।

समाज रुपान्तरणका लागि जे सङ्कल्प लिएर काम गरे फेरि पनि सम्पूर्ण राजनीतिक दल एकढिक्का भएर मुलुक बनाउन अघि बढुन् भन्ने जनचाहनालाई पूरा राजनीतिक नेतृत्व तथा समाजका सबै तह र तप्काका नागरिक एक हुन प्रेरणा मिलोस् । सुशासन, सामाजिक न्याय र सेवा प्रवाहमा सुधार गर्न राज्यका निकायलाई चुस्त राख्दै कानुन निर्माणमा लाग्न प्रेरणा प्रदान गरोस् । यो वर्ष कानुन निर्माणको वर्ष होस्, बनेको कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्ने कार्यभार हुनुपर्छ । यसबाट मात्रै ‘समृद्ध नेपाल सुखी नेपाली’को परिकल्पना हासिल हुनुसक्छ ।

व्यवस्थालाई स्थायित्व दिने सङ्कल्प गरौँ : माधव सापकोटा (माओवादी केन्द्र)

राजनीतिक हिसाबले अस्थिरताको स्थिति छ, स्थिरतामा जानुपर्छ । संविधान संशोधनको छलफल गरिरहेका छौँ, इमान्दारिताका साथ संविधान संशोधनका लागि प्रमुख राजनीतिक शक्तिहरुबीच राजनीतिक संवाद गर्ने, व्यवस्थामा स्थायित्व दिने गरी संविधान संशोधनको सङ्कल्प गर्ने । खासगरी रोजगार र स्वरोजगारलाई सुनिश्चित बनाउन उचित वातावरण बनाउने आजको मुख्य अभिभारा हो । नयाँ वर्षले राजनीतिक नेतृत्व र दलहरुलाई त्यस दिशामा प्रेरणा देओस् ।

सुशासन र सार्वजनिक सेवामा सुधार अपरिहार्य : मनिष झा (राष्ट्रिय स्वतन्त्र पार्टी)

सुशासन र सार्वजनिक सेवामा सुधार अहिलेको अपरिहार्यता हो । यो नै विकासको आधार हो । यी क्षेत्रमा काम नगरी मुलुक समृद्ध हुन सक्दैन । संविधान संशोधन राजनीतिक स्थिरताका लागि हुनुपर्छ । तर अहिले संविधान संशोधन सत्ता स्थिरताको मुद्दा मात्रै बनेको छ । राजनीतिक स्थिरताको संस्थागत अभ्यासका लागि मुद्दा हुनुपर्ने तर गठबन्धन बनाउने मात्रै सीमित भइदियो । संशोधनभन्दा पनि परिमार्जन चाहिन्छ । त्यो परिमार्जन हुने तयारी भएन, त्यसमा काम गर्नुपर्छ ।

हाम्रै प्रयास र लगनशीलताबाट समृद्धि सम्भव छ : शरत्सिंह भण्डारी (लोकतान्त्रिक समाजवादी पार्टी)

नेपालको समृद्धिको लक्ष्य हाम्रै प्रयास र लगनशीलताबाट प्राप्त गर्न सम्भव छ । नयाँ वर्ष २०८२ देखि नै आर्थिक विकासमा योगदान, सेवा प्रवाहमा सुधारलगायत रोजगारयोग्य वातावरण सिर्जना गर्न रुपान्तरणकारी कार्यहरुको सुरुआत गर्नुपर्नेछ । नेपालको श्रम बजारको विकास तथा विस्तारमा हामीले समग्र रोजगार शृङ्खलामै गुणात्मक परिवर्तन ल्याउनु छ ।

नेपालको वर्तमान श्रम तथा रोजगारीलाई क्रमशः सुधार गर्दै आगामी दश वर्षभित्रै नेपाली वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यकारी अवस्थालाई हटाउन नेपाल सरकार पूर्ण कटिबद्ध छ । नेपाली श्रमिक नेपाल या विदेशमा जहाँ भए पनि नेपालीको हकहित र संरक्षण अभिवृद्धि गर्न नीतिगत तथा कानुनी सुधार गर्नका लागि सरकारले तत्कालै सुधारका क्रियाकलाप कार्यान्वयन गर्नेछ ।

उकालो दौड प्रतियोगिताको उपाधि ओखलढुङ्गाका कार्कीलाई

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित अन्नपूर्ण युवा क्लबले नयाँ वर्षको अवसरमा सोमबार आयोजना गरेको उकालो दौड प्रतियोगिताको उपाधि ओखलढुङ्गाका टङ्कबहादुर कार्कीले जितेका छन् ।

शुक्लागण्डकी नगरपालिका–२ स्थित कोत्रेबाट स्थानथोक कोटदरबारसम्मको नौ किलोमिटर दूरीको उकालो दौड प्रतियोगिता ४३ मिनेट ४० सेकेण्डमा पूरा गर्दै कार्कीले उपाधि जितेका हुन् ।
प्रतियोगितामा खोटाङका गजेन्द्र राई द्वितीय, रोल्पाका मनकुमार रोका मगर तृतीय, धनकुटाका उमेश थापा चौथो र भक्तपुरका विकास राई पाँचौँ भएका छन् ।

प्रतियोगितामा प्रथम हुनेलाई ३३ हजार ३३३, दोस्रो हुनेलाई २२ हजार २२२, तृतीय हुनेलाई ११ हजार १११, चौथो हुनेलाई रु पाँच हजार ५५५ र पाँचौँ हुनेलाई तीन हजार ३३३ नगद पुरस्कार प्रदान गरिएको प्रतियोगिताका प्रवक्ता तीर्थराज खनालले जानकारी दिए ।

त्यस्तै महिलातर्फ लमजुङका विपना लामा प्रथम, लमजुङकै करुणा गुरुङ दोस्रो र तनहुँका सरस्वती डुम्राकोटी तृतीय भएका छन् । उनीहरुलाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार नगद पुरस्कार प्रदान गरिएको छ ।

प्रतियोगितामा १६६ धावकको सहभागिता रहेको थियो । कोत्रेबाट सुरु भएको दौड एक्लेखेत, तार्कुडाँडा, मनवानपुर, भुजिकोट, स्थानथोक हुँदै भूमेभैरव कोट पुगेर सकिएको थियो ।

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित दौड प्रतियोगिता आयोजना गरिएको हो । उक्त ठाउँमा यसअघि विसं २०७५ मा पहिलोपटक दौड आयोजना गरिएको हो । दौडले यस ठाउँका पर्यटकीयस्थलको प्रचारप्रसारमा सहयोग पुगेको क्लबका अध्यक्ष अनिल खनालले बताए ।

गत वर्ष दुई लाख २१ हजारले गरे पाथीभराको दर्शन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा विसं २०८१ मा दुई लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । सोही अवधिमा झन्डै  तीन करोड पाँच लाखभन्दा बढी भेटीघाटी सङ्कलन भएको छ ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार, वर्षभरिमा दुई लाख २१ हजार ६०२ जना दर्शनार्थीले मन्दिरको दर्शन गरेका थिए ।

तीमध्ये सबैभन्दा बढी कात्तिकमा ६१ हजार १७३ भक्तजन पाथीभरा पुगेका थिए । उक्त अवधिमा कुल रु तीन करोड पाँच लाख ५६ हजार १२ भेटीघाटी सङ्कलन भएको समितिले जनाएको छ ।

आम नागरिक र सञ्चारकर्मीलाई जानकारी दिन तथा पारदर्शिता सुनिश्चित गर्न समितिले मासिक रूपमा दर्शनार्थी र भेटीघाटी विवरण सार्वजनिक गर्दै आएको छ ।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार पछिल्लो समय भारतसहित विभिन्न देशबाट श्रद्धालुहरूको उल्लेखनीय आगमन भइरहेको छ । साथै, पारदर्शिता कायम राख्न मासिक विवरण प्रकाशनको अभ्यासलाई निरन्तरता दिइएको छ ।

टिकटक बनाउने क्रममा कालीगण्डकीमा एक महिला बेपत्ता

पर्वत । कालीगण्डकी नदी स्नान गरेर टिकटक बनाउने क्रममा बगेर एक महिला बेपत्ता भएकी छन्। पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणीस्थित कालीगण्डकी नदी किनारमा स्नान गरेर फर्किने क्रममा भिडियो खिच्न लाग्दा पर्वतको महाशिला गाउँपालिका–५ घर भई पोखरा बस्ने ३५ वर्षीया विष्णु पन्त चिप्लिएर लड्दा नदीमा खसेकी थिइन्।

बेपत्ता पन्तको खोजी जारी रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्वत र सशस्त्र प्रहरी बल २५ नं गण चण्डिकाको टोलीले खोजीकार्य तीव्र बनाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक रवीन विष्टले जानकारी दिए। प्रहरीको टोली खोजी गर्दै बिहादीसम्म पुगिसकेको छ।

उनीसँगै उनकी दिदी र दुई छोरासमेत गएका थिए। उनीहरु भने सकुशल फर्किएको प्रहरीले जनाएको छ। नयाँ वर्ष तथा वैशाखे सङ्क्रान्तिको अवसरमा कालीगण्डकी स्नान गर्नका लागि विभिन्न जिल्लाका भक्तजनको घुइँचो लाग्छ।

यु-१९ विश्वकप एशिया छनोटः नेपालद्वारा ओमान ८ विकेटले पराजित

काठमाडौं । आईसीसी यु १९ विश्वकप एशिया छनोटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । मूलपानी मैदानमा सोमबार भएको खेलमा नेपालले ओमानलाई ८ विकेटले हराएको हो ।

ओमानले दिएको ११८ रनको लक्ष्य नेपालले २ विकेट गुमाएर १४ ओभर ३ बलमै भेटायो । नेपालका निरजकुमार यादवले ४६, शाहिल पटेलले ४२ रन बनाए । ओमानका सौम्य भविन सम्पतले २ विकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले ३८ ओभरमा ११७ रन बनाउँदा सबै विकेट गुमायो ।

ओमानका जीत व्रजेश शाहले सबैभन्दा धेरै ५२ रन बनाए । नेपालका युवराज खत्रीले ५ विकेट लिए । नेपालले पहिलो खेलमा आइतबार यूएईलाई डीएसएल मेथडका आधारमा ५ रनले हराएको थियो । एशिया छनोटमा नेपाल, ओमानसहित यूएई, अफगानिस्तान र हङकङ सहभागी छन् ।

मातातीर्थ सवस्टेसनमा आगलागी, वैकल्पिक व्यवस्थाबाट उपत्यकामा बिजुली

काठमाडौँ । भूमिगत लाइन परीक्षणका क्रममा मातातीर्थ सवस्टेसनमा आगलागी भएपछि काठमाडौँ उपत्यकामा वैकल्पिक माध्यमबाट बिजुली उपलब्ध गराइएको छ ।

नेपाल विद्युत् प्राधिकरणको मातातीर्थ सवस्टेसनअन्तर्गतको ११ केभी फिडर लाइनमा विद्युत् आपूर्ति नियन्त्रणका लागि प्रयोग हुने ब्रेकर प्यानलमा आइतबार दिउँसो अचानक आगलागी भएपछि विद्युत् अवरुद्ध भएको थियो ।

उक्त घटनाका कारण केही समयका लागि तीनवटा फिडरमार्फत वितरण हुने क्षेत्रको विद्युत् आपूर्ति प्रभावित भएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्रभावित भएका अधिकांश क्षेत्रमा आइतबारदेखि विद्युत् आपूर्ति पुनःसञ्चालन गरिसकेकोे जानकारी दिए ।

बूढानीलकण्ठ र चपली सवस्टेसनबाट आवश्यक स्वीचगियर ल्याएर प्रतिस्थापन प्रक्रिया अगाडि बढाइएको शाक्यले बताए । उनले तत्कालका लागि स्युचाटार सवस्टेसनबाट आपूर्ति रिरोटिङ गरी अधिकांश क्षेत्रको विद्युत् सेवा पुनः सञ्चालन ल्याइएको जानकारी दिए ।

“केही गलत सूचना बाहिरिएको छ, अधिकांश क्षेत्रमा हिजै आपूर्ति बहाल भइसकेको हो, केवल चन्द्रागिरि आसपासको केही क्षेत्र मात्र बाँकी छ, जुन क्षेत्रमा धमाधम काम भइरहेको छ, केही समयमै सहज ढंगले विद्युत आपूर्ति हुन्छ”, उनले भने ।

भूमिगत लाइन परीक्षणको क्रममा आगलागी भएको हुँदा यसको सम्पूर्ण जिम्मेवारी निर्माण ठेकेदारले लिनुपर्ने प्राधिकरणले जनाएको छ ।

“ब्रेकर प्यानलको स्वीच सञ्चालन गर्ने क्रममा स्पार्क भई आगलागी भएको हो, जलेका उपकरण ठेकेदारले प्रतिस्थापन गर्नेछ”, कार्यकारी निर्देशक शाक्यले भने ।

उक्त घटनाले काठमाडौँ उपत्यकामा निर्माणाधीन भूमिगत केबल प्रणालीको विश्वसनीयता माथि पनि प्रश्न उठाएको छ । भूमिगत पाइपलाइन प्रणालीको स्थायित्व र सम्भावित जोखिमहरूबारे थप अध्ययन आवश्यक रहेको पाइएको छ । आगामी दिनमा यस्ता घटना दोहोरिन नदीन आवश्यक प्राविधिक सुधार र जोखिम मूल्यांकनका उपायहरू अपनाइनुपर्ने देखिन्छ ।

कार्यकारी निर्देशक शाक्यले आगामी दिनमा प्राविधिक त्रुटिको यथार्थ पत्ता लगाई भविष्यमा यस्ता समस्या पुनः नदोहोरिÞने गरी आवश्यक कदम चालिने बताए ।

निगमले बुझायो जहाज खरिद गर्दा लिएको ७ अर्ब भन्दाबढी ऋण

काठमाडौं । नेपाल वायु सेवा निगमले जहाज खरिद गर्दा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको मध्ये ५३ करोड ऋण भुक्तानी गरेको छ ।

निगमले सोमबार विज्ञप्ति जारी गरी अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई बाइडवडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्ये दुई न्यारोबडी जहाजको चैत महिनाको किस्ताबापत पूरा र दुई वाइडवडी जहाजको आंशिक गरी ५३ करोड नौ लाख ५५ हजार दुई सय ८१ रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।

मालदिभ्सले पुस्तागत प्रतिबन्धसहित धुमपान चरणबद्ध रूपमा बन्द गर्ने

माले । मालदिभ्सले यस वर्ष दक्षिण एसियाली विलासी पर्यटक द्वीपसमूहमा धुमपानलाई निषेध गर्ने प्रयास गर्नेछ र हाल १९ वर्षमुनिका कसैलाई पनि कहिल्यै चुरोट किन्न अवैध बनाउने प्रतिबन्ध लगाइनेछ ।

प्रस्तावित कानूनले सन् २००७ जनवरीपछि जन्मिएका व्यक्तिहरूलाई सुर्तीजन्य उत्पादनहरूको बिक्री निषेध गर्नेछ । यसले भविष्यका पुस्ताहरूका लागि धुमपानलाई प्रभावकारी रूपमा चरणबद्ध रूपमा हटाउनेछ ।

‘नयाँ कानून सन् २०२५ नोभेम्बर १ देखि लागू हुनेछ’, राष्ट्रपति मोहम्मद मुइज्जुको कार्यालयले आइतबार मन्त्रिमण्डलको बैठकपछि जारी गरिएको वक्तव्यमा उल्लेख गरिएको छ ।

नयाँ कानून उल्लङ्घन गर्नेका लागि जरिवानाहरू तत्काल घोषणा गरिएको थिएन तर अधिकारीहरूले नयाँ कानूनसँग मिल्ने गरी विद्यमान सुर्ती नियन्त्रण कानूनहरू संशोधन गर्न काम गरिरहेको बताएका छन् ।

बेलायतमा प्रस्तावित यस्तै कानून अझै विधायी प्रक्रियामा छ भने धुम्रपानविरुद्ध पुस्तागत कानून लागू गर्ने पहिलो देश न्युजिल्यान्डमा सन् २०२३ नोभेम्बरमा यो पेश भएको एक वर्षभन्दा कम समयमा यसलाई खारेज गरिएको थियो ।

माल्दिभ्सले नोभेम्बरमा धुमपानको कानूनी उमेर १८ बाट बढाएर २१ बनायो र ई–सिगरेट र भ्यापिङ उपकरणहरूको आयातमा प्रतिबन्ध लगायो । यी नीतिहरू पर्यटकहरूमा पनि लागू हुनेछ ।

सिरियाको पुनर्निर्माणमा सहयोग गर्न यूएई तयार

अबुधाबी । संयुक्त अरब इमिरेट्स (युएई) ले सिरियाको पुनर्निर्माणमा सहयोग गर्न चाहेको संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपतिले बताएका छन् ।

राष्ट्रपतिले अबुधाबीमा सिरियाका अन्तरिम नेता अहमद अल–शरासँगको भेटमा नाह्यानले युएईले सिरियाको पुनः निर्माणमा सहयोग गर्न चाहेको बताएका हुन् ।

सिरियाले सङ्क्रमणकालीन चरणका चुनौतीहरूको सामना गर्न र सिरियाको पुनर्निर्माण गर्न, वाम न्यूज एजेन्सीले जनाएको छ।

सिरियाली विदेशमन्त्री असद अल–शैबानीले शारासँगको भेटपछि भने, ‘आज महत्त्वपूर्ण उपलब्धि हासिल भएको छ ।’

सामाजिक सञ्जाल एक्समा गरेको एक पोस्टमा शैबानीले लगानीका क्षेत्रहरू, हवाई यातायातको पुनरुत्थान, र सबै क्षेत्रमा द्विपक्षीय सम्बन्धको सुदृढीकरणका बारेमा जानकारी गराएका थिए ।

एक दशकभन्दा लामो गृहयुद्धपछि गत डिसेम्बरमा लामो समयदेखि सत्तामा रहेका बशर अल असदलाई सत्ताच्यूत गर्ने क्रममा भएको फिल्मी शैलीको आक्रमणको नेतृत्व गरेपछि शाराले आफ्नो देशका लागि खाडी राष्ट्रहरूसँग सहकार्यको लागि हात बढाएका छन् ।

तर विद्रोहीहरूले असदलाई सत्ताच्युत गरेको केही दिनपछि युएईका राष्ट्रपतिका सल्लाहकार अनवर गार्गाशले सिरियाका नयाँ शासकहरूको इस्लामवादी संलग्नतालाई सरकारले ‘निकै चिन्ताजनक’ महसुस गरेको बताएका थिए ।

सिरियाको सरकारी समाचार संस्था सानाका अनुसार गत जनवरीमा शाराले युएईका राष्ट्रपतिसँग फोनमा सम्बन्ध प्रगाढ बनाउने विषयमा कुराकानी गरेका थिए ।

गाजा युद्ध अन्त्य गर्न र बन्धकहरूलाई फिर्ता गर्न इजरायली गुप्तचरका पूर्वअधिकारीहरुको आग्रह

जेरुसेलम । इजरायलको मोसाद गुप्तचर निकायका २५० भन्दा बढी पूर्व अधिकारीले गाजा पट्टीमा जारी युद्ध तत्काल अन्त्य गर्न र त्यहाँ रहेका इजरायली बन्धकहरूको रिहाईका लागि आग्रह गरेका छन् ।

उनीहरूले एक पत्रमा हस्ताक्षर गरी युद्ध अन्त्य र बन्धकको रिहाईका लागि आग्रह गरेको इजरायलको सरकारी स्वामित्वको कान टिभी न्यूजले जनाएको छ ।

मोसादका तीन जना पूर्व प्रमुख डानी याटोम, एफ्रेम हालेभी र तामिर पार्डोका साथै उक्त सेवाबाट निवृत्त भएका अन्य दर्जनौं अनुभवी अधिकारीले हस्ताक्षर गरेका छन् ।

मोसादका पूर्व सदस्यहरूले पत्रमा भनेका छन्, “निरन्तरको लडाईंले बन्धक र हाम्रा सैनिकको जीवनलाई खतरामा पार्छ र त्यो दुःखको अन्त्य गर्ने सम्झौतामा पुग्नका लागि सबै सम्भावनाहरू खोजिनुपर्छ । साहसी निर्णय गर्न र देशको सुरक्षाका लागि जिम्मेवार भएर काम गर्न हामी सरकारलाई आह्वान गर्दछौँ।”

उनीहरूले आरक्षित वा सेवानिवृत्त सयौँ सैन्य एयर सदस्यहरूको पक्षमा समर्थन व्यक्त गर्दै शत्रुताको अन्त्य र बन्धकहरूको फिर्तीको लागि आह्वान गरेका हुन् ।

बिहीवार एयर क्रूहरूको पत्र प्रकाशित भएपछि इजरायली वायु सेनाका कमान्डर टोमर बारले हस्ताक्षरकर्ताहरूमध्ये सक्रिय रिजर्भिस्टहरूको सेवा समाप्त गर्ने निर्णय गरेका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बर्खास्तीको निर्णयको समर्थन गर्दै हस्ताक्षरकर्ताहरूलाई ‘साना अतिवादी समूह’ को संज्ञा दिएका छन् भने उनीहरूले ‘इजरायली समाजलाई भित्रबाट तोड्न’ प्रयास गरिरहेको बताएका छन् ।

आइतबार पनि करिब २०० इजरायली सैन्य चिकित्सकले युद्ध रोक्न र बन्धकहरूलाई घर फर्काउन माग गर्दै एउटा निवेदनमा हस्ताक्षर गरेको पत्रको प्रतिलिपि प्रकाशित गर्ने विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।

“गाजामा जारी लडाईंको मुख्य उद्देश्य कुनै सुरक्षा उद्देश्य बिना राजनीतिक र व्यक्तिगत स्वार्थ पूरा गर्नु हो र यसले सैनिक र बन्धकहरूको जीवनलाई खतरामा पार्छ,” विज्ञप्तिमा भनिएको छ।

हमासले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा गरेको आक्रमणका क्रममा २५१ जनालाई गाजामा बन्धक बनाएको थियो । हाल गाजामा ५९ जना इजरायली बन्धक रहेका छन् र तीमध्ये २४ जना अझै जीवित रहेको अनुमान गरिएको छ ।

इजरायल र हमासबीच गत जनवरीमा तीन चरणको युद्धविराम सम्झौता भएको थियो । तर, पहिलो छ हप्ताको वार्ता मार्च १ मा सकिएपछि दोस्रो चरणको वार्तामा गतिरोध उत्पन्न भएको छ । त्यसपछि इजरायलले युद्धविरामको गतिरोधका बीच मार्च १८ मा गाजामा सैन्य कारबाही पुनः सुरु गरेको थियो । 

वर्ष २०८१ः नेपाली खेलकुदलाई फर्केर हेर्दा

-राजु सिलवाल

काठमाडौँ । नेपाली खेलकुद क्षेत्रमा व्यावसायिक अभ्यासका लागि २०८१ साल महत्वपूर्ण वर्षका रुपमा रह्यो । भलिबल, क्रिकेट, कबड्डी, फुटबलजस्ता खेलको व्यावसायिक प्रतियोगिता आयोजना हुनु मुलुककै खेलकुद विकासका लागि उल्लेखनीय मानिएको छ । यस्तै फुटबल, क्रिकेटजस्ता खेलमा केही खेलाडीले विदेशी क्लबमा आबद्ध रहेर खेल्न पाउनु पनि नेपालक लागि गौरवको विषय बन्ने नै भयो ।

विगतको तुलनामा प्रतियोगिताहरुको आयोजना तथा अन्तरराष्ट्रिय सहभागिता घटेता पनि एक वर्षमा केही उल्लेखनीय नतिजा पनि हासिल भएका छन् । पारा ताइक्वाण्डो खेलाडी पलेशा गोवर्धनले इतिहासमै पहिलोपटक पारा ओलम्पिकमा कास्य पदक जित्नु महत्वपूर्ण उपलब्धि थियो ।

यस्तै देशको प्राथमिकतामा पर्न नसकेको ‘खोखो’ खेलको विश्व च्याम्पियनसिपमा नेपाल उपविजेता बन्नु, कराते खेलाडी एरिका गुरुङले अष्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा स्वर्ण पदक जित्नुजस्ता सफलताले मुलुकलाई गौरवान्वित बनाएको छ ।

क्रिकेटर सन्दीप लामिछानेले ‘टि–२०’ अन्तरराष्ट्रिय क्रिकेटमा एक सय विकेटको रेकर्ड पु¥याएर विश्वमै छिटो विकेट लिनेहरुमा दोस्रो स्थानमा पुग्न सफल हुनु, कतार बिरुद्धको खेलमा दीपेन्द्रसिंह ऐरीद्वारा एक ओभरमा छ छक्का प्रहारजस्ता कीर्तिमान साधारण उपलब्धि होईनन् । यसै अवधिमा काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रङ्गशालामा राति पनि खेल सञ्चालनका लागि ‘फ्लडलाइट’ जडान तथा १० हजार दर्शक क्षमताको प्यारापिट निर्माण एंव रुपन्देहीको तिलोत्तमा नगरपालिकामा व्यक्तिगत तवरबाट बनाइएको क्रिकेट रङ्गशालाको निर्माण सम्पन्न हुनुजस्ता प्रगति पनि भएका छन् ।

तीनपटक मिति घोषणा भएर पनि दशौँ राष्ट्रिय खेलकुद आयोजना हुन नसक्नु, नेपाल ओलम्पिक कमिटीमा तालाबन्दी हुनु, कैयौँ खेलका राष्ट्रिय प्रतियोगिता नहुनु, प्रदेशस्तरमा खेलका गतिविधि सन्तोषजनक नहुनुजस्ता अप्रिय सन्दर्भ पनि खेलकुद क्षेत्रमा नभएका होइनन् । गत असोज १२ गते परेको भीषण पानी तथा त्यसपछिको बाढी–पहिरोमा परी मकवानपुरस्थित एन्फा एकेडेमी फुटबल प्रशिक्षणमा रहेका छजना बालकको दुःखद निधन पनि यो सालको बिर्सिन नसकिने घटनाका रुपमा लिनुपर्दछ । प्रस्तुत सामग्रीमा २०८१ सालको खेलकुदसम्बन्धी केही प्रमुख प्रसङ्ग उल्लेख गरिएको छ ।

पारा ओलम्पिकमा पहिलो पदक

सन् २०२२ मा चीनमा भएको पारा एसियाली खेलकुदमा पहिलो ऐतिहासिक कांस्य पदक जितेर चर्चामा आएकी पलेशा गोवर्धनले आफ्नो इतिहासलाई दोहोर्याएकी छिन् । सन् २०२४ मा फ्रान्सको राजधानी पेरिसमा ओलम्पिक खेलकुद सम्पन्न भएलगत्तै आयोजित पारा ओलम्पिकमा नेपाली खेलाडी पलेशा गोवर्धन कांस्य पदक जितेर मुलुकलाई पहिलोपटक पारा ओलम्पिकको आधिकारिक पदक दिलाउन सफल भइन् ।

उनले महिला ५७ केजी तौल समूहको ‘रिपाचेज’को फाइनलमा सर्बियाकी खेलाडीलाई पराजित गरी पदक जितेकी थिइन् । उनी पहिलो खेलमा भेनेजुयलाकी खेलाडीलाई पराजित गर्दै ‘क्वाटर फाइनल’मा प्रवेश गर्न सफल भएकी हुन् । उनी क्वाटरफाइनलमा ब्राजिलकी खेलाडीसँग भने हारेकी थिइन् । रिपाचेज चरणमा फ्रान्स र सर्बियाकी खेलाडीलाई हराएर पलेशा नेपालको पहिलो ओलम्पिक पदकको हकदार बनेकी हुन् ।

ओलम्पिकमा कमजोर सहभागिता

पेरिसमा सम्पन्न ओलम्पिकमा नेपालको १५औँ सहभागिता रहे पनि उपलब्धि भने नगन्य रह्यो । छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाउन पुगेका नेपालका पहिलो टेबुल टेनिस खेलाडी स्याण्टु श्रेष्ठ सेनेगलका खेलाडीसँग ‘४–०’को सोझो सेटले पराजित भएका थिए ।

महिला म्याराथनमा धाविका सन्तोषी श्रेष्ठ ७९औँ भएकी थिइन् । उक्त प्रतिस्पर्धामा ९२ जनाको सहभागिता रहेको थियो । नेपाली स्विमिङ खेलाडी एलेक्जेण्डर शाह पुरुषको एक सय मिटर दूरीको ‘फ्रिस्टाइल इभेन्टस’मा हिटस प्रतिस्पर्धामै सीमित रही कूल सहभागीहरुमध्ये ५९औँ स्थानमा रहे । २०० मिटर दूरीको महिला फ्रिस्टाइलमा डुबाना लामा पनि हिटसका प्रतिस्पर्धीहरुमध्ये पुछारमा रहेकी थिइन् । जुडोमा मनिता श्रेष्ठ पहिलो भिडन्तमै सर्बियाकी खेलाडीसँग ‘१०–०’ अङ्कले हार्न पुगिन् ।

यस्तै सुटिङ खेलतर्फ १० मिटर दूरीको एयरराइफल इभेन्टसमा सुस्मिता नेपाल ४२औँ स्थानमा पुगेकी थिइन् । ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल डेनमार्क, आयरल्याण्ड तथा इजरायलका खेलाडीसँग पराजित भएका थिए । ओलम्पिकमा नेपाली खेलाडीहरुले उचित खेल प्रदर्शन गर्न सक्ने सम्भावना भएका खेलको पदक लक्षित दीर्घकालीन प्रशिक्षण सञ्चालन नगरेसम्म ओलम्पिकमा निरन्तर सहभागिताबाट खासै नतिजा नआउने सन्देश पेरिसमा नेपाली खेलाडीहरुको प्रदर्शनले दिएको थियो ।

ओलम्पिक कमिटीमा ताला

अन्तरराष्ट्रिय खेलकुदमा नेपालको प्रतिनिधित्व गर्ने आधिकारिक संस्था नेपाल ओलम्पिक कमिटीको कार्यालयमा ताला लाग्नु पनि यस वर्षको खेलकुदजगत्का लागि दुःखद घटना बन्न पुग्यो । युवा तथा खेलकुद मन्त्रालयको निर्देशनमा सो ताला लगाइएको थियो । ओलम्पिक कमिटीको केही समयअघि सम्पन्न निर्वाचनप्रति असहमति जनाउँदै कार्यालयमा ताला लगाइएको थियो ।

नेपालले अन्तरराष्ट्रिय खेलकुद प्रतियोगितामा ओलम्पिक कमिटीको झन्डामुनि सहभागिता जनाउँदै आइरहेको छ । ओलम्पिक कमिटीका नयाँ निर्वाचित टोलीलाई हालसम्म सरकारका तर्फबाट मान्यता प्रदान गरिएको छैन । यसले गर्दा नेपालमा ओलम्पिक गतिविधिलाई गम्भीर असर पर्नाका साथै आगामी वर्ष पाकिस्तानमा आयोजना हुने दक्षिण एसियाली खेलकुदलगायतका अन्तरराष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता अन्योल पर्न सक्ने देखिएको छ ।

बिर्सन नसकिने फुटबल

विगतमा ओझेलमा परेको महिला फुटबल विस्तारै लयमा फर्कंदै छ । तर साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा केही वर्षदेखि नै पराजय भोग्दै आइरहेको नेपाली टोली २०८१ सालमा पनि उपाधि विजेता बन्न सकेन । नेपाली टोलीले यस प्रतियोगिताको फाइनलमा पराजय ब्यहोरेको छपटक भइसकेको छ । घरेलु मैदानमा दशौँ हजार दर्शकको उपस्थितिमा नेपाली टोलीले राम्रो प्रदर्शन गर्दागर्दै पनि बङ्गलादेशको टोलीसँग हार ब्यहोर्नु परेको थियो ।

यसअघि सन् २०२२ मा नेपाल बङ्गलादेशसँग नै फाइनलमा पराजित भएको थियो । नेपाली टोलीको पराजय भएपछि नेपाली फुटबल प्रेमीहरुको चित्त बुझाउन कठिन भयो । यसअघि फाइनलमा भारतसँग चारपटक हार ब्यहोर्न परेको नेपाली टोलीले यसपटक भने सेमी फाइनलमा भारतविरुद्ध व्यापक रुपमा दबाब दिएर पराजित गर्दै फाइनलमा पुगेको थियो ।

फेरि उप–विजेता

चारवटा मुलुकका टोलीहरुको सहभागिता रहेको ‘फोर नेसन्स’ महिला फुटबल प्रतियोगितामा पनि नेपाल उपविजेतामै सीमित हुनपुग्यो । प्रतियोगिताका सहभागी टोलीहरु कीर्गिस्तान, लेबनानलाई पराजित आफ्नो बलियो उपस्थिति देखाएको नेपालले म्यानमारसँग बराबरी खेल खेल्दै फाइनलमा पुगेको थियो । अन्तिम प्रतिस्पर्धामा नेपाल म्यानमारसँग पराजित हुन पुगको थियो ।

एउटै प्रतियोगिता खेल्दा लाखौँ रुपैँया

नेपालकै पहिलो फ्रेन्चाइज खेलकुद प्रतियोगिता मानिएको नेपाल सुपर लिग फुटबल प्रतियोगिता एनएसएलको तेस्रो संस्करण पनि व्यावसायिक खेलको दृष्टिकोणले महत्वपूर्ण मानिएको छ । फुटबलका लागि पहिलोपटक अक्सन गरिएको यो प्रतियोगितामा नेपाली पुरुष खेलाडीहरु एउटै प्रतियोगिताका लागि डेढ लाखदेखि चार लाख रुपैयाँमा अनुबन्ध भई विभिन्न मुलुकका ख्यातिप्राप्त खेलाडीहरुसँग एउटै टोलीमा रहेर खेल्दैछन् । विदेशी खेलाडीलाई अझ धेरै पारिश्रमिक दिएर नेपालमा खेल्न आमन्त्रण गरिएको छ । २०८२ साल मङ्सिरमा महिलाहरुको पनि फ्रेन्चाइज लिग हुने भएपछि महिला खेलाडीहरुमा पनि उत्साह थपिएको छ ।

भलिबलतर्फको सफलता

भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा गरिएपछि यसको गतिविधि र सफलता बढ्दै गएको छ । २०८१ सालमा पनि भलिबलमा विभिन्न उपलब्धि हासिल भएका छन् । नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभा महिला भलिबल लिग नेसन्स च्याम्पियनसिपमा दोस्रो स्थान हासिल गरेको थियो । लिग चरणमा श्रीलङ्का, माल्दिभ्स र भारतलाई पराजित गर्न सफल नेपाली टोलीले सेमी फाइनलमा इरानलाई पराजित गरेको थियो । नेपाली टोली आफूले लिग चरणमा हराइसकेको भारतीय टोलीसँग फाइनलमा हारेर उपाधि जित्नबाट वञ्चित भएको थियो ।

माल्दिभ्समा भएको काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले उपाधि जितेको थियो । उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई पराजित गरेर प्रतियोगिता च्याम्पियन बनेको नेपाली टोलीले लिग चरणकै पाँचवटा खेल जितेर उपाधि हात पार्न सफल भएको थियो । नेपालको पुरुष ‘टी–२०’ भलिबल टोली काभा पुरुष भलिबल च्याम्पियनसिपको कोलम्बोमा भएको फाइनलमा उज्वेकिस्तानसँग पराजित भई दोस्रो भएको थियो ।

एनपिएल क्रिकेटको रौनक

अन्तरराष्ट्रियस्तरमा नेपाललाई चिनाउने प्रमुख खेलमा क्रिकेट पर्दछ । क्रिकेटका लागि २०८१ साल व्यस्तताको वर्ष रह्यो । नेपाली दर्शकहरु नेपाली क्रिकेट खेलाडीहरुको टी–२० विश्वकप खेल हेर्न अमेरिकासमेत पुगेबाट नेपालमा क्रिकेटको लोकप्रियता कति रहेछ भनेर आकलन गर्न सकिन्छ ।

नेपालमा यो वर्ष आयोजना भएका खेलकुद प्रतियोगितामध्ये दिनहुँ अत्यधिक दर्शकहरुको उपस्थिति रहेको नेपाल प्रिमियर लिग एनपिएलको क्रिकेटको रौनक पनि बिर्सन नसक्ने घटनाका रुपमा रह्यो ।

नेपाली तथा विभिन्न मुलुकका ख्यातिप्राप्त क्रिकेट खेलाडीहरुले एकसाथ निजी क्षेत्रको लगानी रहेको एनपिएलको पहिलो संस्करणमा प्रतिस्पर्धा गरेका थिए । काठमाडौँमा नेपाल क्रिकेट सङ्घले आयोजना गरेको घरेलु प्रतियोगितामध्ये सबैभन्दा ठूलो प्रतियोगिता मानिएको एनपिएलमा खेलाडीहरुको पारिश्रमिक तथा पुरस्कारमै मात्र करोडौँ रुपैयाँ खर्च गरिएको थियो ।

विभिन्न अन्तरराष्ट्रिय क्रिकेट खेलाडीहरुलाई आकर्षक पारिश्रमिक दिएर खेल्न आमन्त्रण गरिएको एनपिएलमा नेपाली मार्की खेलाडीहरुले हालसम्मकै उच्च २० लाख रुपैयाँ पारिश्रमिक पाएका थिए । पहिलो संस्करणको उपाधि जितेर जनकपुर बोल्डस टोलीले एक करोड १० लाख रुपैयाँसहित उपाधि जित्न सफल भएको थियो ।

उक्त टोलीले फाइनलमा सुदूरपश्चिम रोयल्स टोलीलाई पाँच विकेटले हराएको थियो । प्रतियोगिताको उपविजेता सुदूरपश्चिम रोयल्स टोलीले ५१ लाख रुपैयाँ पुरस्कार पाएको थियो भने सो टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले प्रतियोगिताकै उत्कृष्ट खेलाडी बन्दै मोटरकार पुरस्कार प्राप्त गरेका थिए ।

दक्षिण अफ्रिकासँग एक रनले हार

नेपाली क्रिकेट टोलीले २०८१ सालमा आइसिसी ‘टी २०’ विश्वकप क्रिकेट प्रतियोगिताको समूह चरणको खेल खेल्ने अवसर प्राप्त गर्यो । नेपालले अमेरिका र वेष्ट इण्डिजमा भएको कूल चारवटै खेलमा जित्न नसकी लिग चरणबाटै बाहिरिएको थियो । नेपाल तीन खेलमा पराजित हुन पुगेको थियो भने श्रीलङ्कासँगको खेल वर्षाको कारण रद्द भएपछि दुवै टोलीले एक–एक अङ्क पाएका थिए । दक्षिण अफ्रिकासँगको खेलमा नेपाली टोलीले सशक्त खेल प्रस्तुत गर्दै एक रनले मात्र पराजित भएको थियो ।

महिलाको सशक्त उपस्थिति

‘यू–१९’ महिला क्रिकेट टोलीले मलेसियामा टी–२० विश्वकप खेल्न पाउनु नेपाली खेलकुदको अर्को सफलता मानिएको छ । युगाण्डामा आयोजित क्रिकेट प्रतिस्पर्धामा नेपाली महिला खेलाडीहरुले चार खेल जितेर पहिलोपटक मुलुकलाई विश्वकपमा छनोट गराउन योगदान गरेका थिए ।

व्यक्तिगत लगानीमा रङ्गशाला

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नागरिकस्तरबाट व्यक्तिगत लगानीमा क्रिकेट रङ्गशाला निर्माण गरी प्रतियोगिता र प्रशिक्षण सुरु हुनुलाई महत्वपूर्ण उपलब्धिका रुपमा लिन सकिन्छ । गुल्मीका विनोद कुँवरले व्यक्तिगत लगानीमा निर्माण सम्पन्न गरेको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा राति पनि खेल सञ्चालन गर्न फ्लड लाइटको व्यवस्था गरिनु अझ खुसीको विषय हो । यस रङ्गशालामा एक वर्षको अवधिमा एक सयभन्दा बढी खेल सञ्चालन भइसकेका छन् ।

हुन नसकेको राष्ट्रिय खेलकुद

विसं २०८१ मा १०औँ राष्ट्रिय खेलकुदको मिति तीनपटक घोषणा भएता पनि प्रतियोगिता भने हुन नसक्नु दुःखद पक्ष मानिएको छ । सरकारले राष्ट्रिय खेलकुदका लागि कुल ६० करोड रुपैयाँ विनियोजन गरेको थियो । राष्ट्रिय खेलकुद परिषद्ले २०८१ साल मङ्सिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा उक्त प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको थियो । तर तयारी नपुगेको जनाउँदै परिषद् बोर्ड बैठकले २०८१ साल चैत २३ देखि ३० गतेसम्मका लागि उक्त प्रतियोगिताको मिति सारेको थियो । तर चैतमा पनि हुन नसकेपछि २०८२ साल जेठ ३ गतेदेखि १० राष्ट्रिय खेलकुद तयारी नपुगेको भन्दै पुनः स्थगित भएको थियो । जेठमा प्रतियोगिता गर्दा मौसम प्रतिकूल हुने कारण पनि जनाइएको छ ।

अब जेठमा पनि नहुने भएपछि राष्ट्रिय खेलकुद अन्यौलमा परेको छ । २०३८ सालमा सुरु भएको राष्ट्रिय खेलकुद तीन दशक भइसक्दा पनि नवौँ संस्करण मात्र सम्पन्न हुनु नेपाली खेल पदाधिकारीहरुको ठूलो कमजोरी मान्न सकिन्छ ।
नेपालमा खेलकुदको संस्थागत विकास भएको लामो समय भइसक्दा पनि दीर्घकालीन योजना प्रभावकारी हुन सकेको छैन । खेलकुदमा लगानीको दृष्टिकोणमा प्रतिफल सन्तोषजनक छैन । मुलुकका युवालाई अनुशासित बनाउने तथा विश्व मानचित्रमा देशलाई चिनाउने माध्यम मानिएको खेलकुदलाई सरकारले यथोचित प्राथमिकता दिएर आवश्यक योजनाअघि बढाउनु पर्दछ ।

देशभर खेलकदुमय वातावरण बनाउँदै विद्यालयतहसम्म खेल प्रशिक्षणलाई विस्तार नगरिएसम्म नेपाल जुनसुकै स्तरको अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी भए पनि उपलब्धिविहीन हुनसक्ने जोखिम कायम छ । ओलम्पिक तथा एसियाली खेलकुदजस्ता महत्वपूर्ण प्रतियोगिता लक्षित लामो अवधिको प्रशिक्षण सञ्चालन नगरिएसम्म नेपालको अन्तरराष्ट्रिय सहभागिता, सहभागितामै सीमित नहोला भन्न सकिन्न ।

यसैगरी, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्जस्ता जिम्मेवार निकायले नेपालमा खेलेर पनि बाँच्न सकिने परिस्थितिको सिर्जना गर्नका लागि विशेष अभियान नै सञ्चालन गर्नुपर्ने आवश्यकता भइसकेको छ । यदि यसो गर्न सकिएमा २०८१ सालमा जस्तै आगामी वर्षहरूमा हाम्रा प्रतिभाशाली खेलाडीहरुको विदेश पलायन हुने दर न्यूनीकरण तथा नियन्त्रण गर्न सकिनेछ । समग्रमा खेलकुदमार्फत राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा नेपालको प्रतिष्ठा र पहिचान अभिवृद्धि गर्न सकिन्छ ।

मुस्ताङमा ३४ बोरा अवैध शालिग्राम बरामद

मुस्ताङ । प्रहरीले अवैध शालिग्राम बरामद गरेको छ । ३४ वटा सेतो बोरामा ‘प्याकिङ’ गरिएको ८९४ केजी शालिग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–३, घमिबाट जोमसोमतर्फ आउँदै गरेको ग३च ८१५२ नम्बरको बोलेरो जीपमा अवैध शालिग्राम फेला पारी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं इन्स्पेक्टर विशाल अधिकारीले जानकारी दिए ।

लोघेकर दामोदरकुण्ड–५, सुर्खाङका ४१ वर्षीय कुनसाङ रेञ्जिङ गुरुङले बोलेर जीपमा लोड गरेर लुकाइछिपाइ शालिग्राम जोमसोमतर्फ ल्याउँदै गर्दा इलाका प्रहरी कार्यालय छुसाङले बरामद गरेको इन्स्पेक्टर अधिकारीको भनाइ छ ।

अवैध रूपमा ल्याउँदै गरेको शालिग्रामसहित जीप, चालक र शालिग्राम ल्याउने धनीलाई अन्नपूर्ण संरक्षण कार्यालय जोमसोममा पेस गरिएको प्रहरीले जनाएको छ ।

एक्याप जोमसोमले शालिग्राम शिलासहित जीप, चालक र शालिग्राम ल्याउने धनीलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको प्रधान कार्यालय पोखरामा अनुसन्धानका निम्ति पठाइसकेको कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिए ।

मुस्ताङको दामोदरकुण्ड हुँदै कालीगण्डकी नदीमा जम्मा हुने शालिग्रामलाई हिन्दु धर्मशास्त्रमा विष्णु भगवान्को प्रतीकका रूपमा पुज्ने गरिन्छ । व्यावासायिक रूपमा ठूलो परिमाणमा शालिग्राम ओसारपोसार गर्नेविरुद्ध मुस्ताङ प्रशासन, प्रहरी र एक्यापले कडान निगरानी गर्ने गरेको छ । व्यक्तिगत रूपमा फुटकर शालिग्राम खरिद गरेर जिल्लाबाहिर लैजानका निम्ति प्रशासन, प्रहरी र एक्यापले छुट दिएको छ ।

जिल्लामा सडक सञ्जालको विकाससँगै शालिग्राम दोहनको क्रम बढ्दो छ । यहाँका कागबेनी, मुक्तिनाथ, जोमसोमलगायत स्थानमा खुद्रा व्यापारीले शालिग्राम बिक्रीका निम्ति राख्ने गर्छन् । जिल्लामा पर्यटक आगमन बढेसँगै शालिग्राम संरक्षणको विषय निकै चुनौती बनेको छ । 

चैत मसान्तसम्म २९ प्रतिशत विकास खर्च

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक अवधिसम्ममा विकास खर्च २९ प्रतिशतमा खुम्चिएको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चैत ३० गतेसम्मको सरकारको पुँजीगत खर्च एक खर्ब दुई अर्ब ९० करोड बराबर मात्रै छ ।

पुँजीगत शीर्षकमा चालु आर्थिक वर्षका लागि सरकारले तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख बराबर विनियोजन गरेको थियो । वार्षिक विनियोजनको तुलनामा हालसम्मको पुँजीगत खर्च २९ दशमलव दुई प्रतिशत हो ।

विकास खर्च मात्र नभई यो अवधिको समग्र बजेट खर्च कमजोर देखिएको छ । वार्षिक विनियोजनको तुलनामा चैत मसान्तसम्ममा ५३ दशमलव ६७ प्रतिशत बराबर बजेट खर्च भएको हो ।

चालु आर्थिक वर्षका लागि सरकारले  १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख बराबरको बजेट ल्याएको थियो । चैत मसान्तसम्ममा  नौ खर्ब ९८ अर्ब ५० करोड बराबर खर्च भएको छ ।

त्यस्तै, चालु शीर्षकमा रु ११ खर्ब ४० अर्ब ६६ करोड विनियोजन भएकामा ५९ दशमलव ४५ प्रतिशत अर्थात् रु छ खर्ब ७८ अर्ब छ करोड बराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

वित्तीय व्यवस्था शीर्षकमा चैत मसान्तसम्मको खर्च  ५९ दशमलव २३ प्रतिशत बराबर छ । चालु आर्थिक वर्षका लागि यो शीर्षकमा सरकारले रु तीन खर्ब ६७ अर्ब २८ करोड ४५ प्रतिशत बराबर विनियोजन गरेकामा वार्षिक विनियोजनको ५९ दशमलव २३ प्रतिशत खर्च भएको हो ।

यो अवधिको राजस्व सङ्कलन पनि कमजोर छ । कुल  १४ खर्ब १९ अर्ब ३० करोड बराबर राजस्व उठाउने लक्ष्य राखिएकोमा चैत २९ गतेसम्म आठ खर्ब २१ अर्ब ६७ करोड बराबर मात्रै राजस्व उठेको छ । यो वार्षिक लक्ष्यको ५७ दशमलव ८९ प्रतिशत बराबर हो ।

त्यस्तै, यस वर्ष  ५२ अर्ब ३२ करोड ६५ लाख बराबर वैदेशिक अनुदान उठाउने लक्ष्य रहेकामा हालसम्म वार्षिक लक्ष्यको रु २७ दशमलव २७ प्रतिशत अर्थात् रु १४ अर्ब २६ करोड ८८ लाख बराबर मात्रै अनुदान उठेको छ ।

‘३० लाख बालबालिकाको मृत्युको कारण औषधि प्रतिरोधसँग सम्बन्धित’

बीबीसी । एन्टिबायोटिकहरू सङ्क्रमण नियन्त्रण गर्न नसक्ने अवस्था उत्पन्न भएका कारण सन् २०२२ मा मात्रै विश्वभरिमा ३० लाख बालबालिकाको मृत्यु भएको बाल स्वास्थ्यका दुई प्रमुख विज्ञले गरेको अनुसन्धानले देखाएको छ ।

यस्तो समस्याका कारण दक्षिणपूर्वी एशिया र अफ्रिकाका बालबालिका सबैभन्दा धेरै जोखिममा छन् । सङ्क्रमण निम्त्याउने सूक्ष्मजीवहरू एन्टिबायोटिक औषधिले काम नगर्ने किसिमले विकास भएको अवस्थालाई ‘एन्टिमाइक्रोबिअल रेजिस्टन्स’ (एएमआर) अर्थात् ’प्रतिजैविक प्रतिरोध’ भनिन्छ ।

एन्टिबायोटिकले काम नगर्ने अवस्था अहिले विश्वभरिका मानिसहरूले सामना गरिरहेको जनस्वास्थ्यको सबैभन्दा ठूलो चुनौतीको रूपमा पहिचान भएको छ । नयाँ अध्ययनले एएमआरले बालबालिकाहरूको ज्यान लिइरहेको खुलासा गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठन र विश्व बैंकसहित कैयौँ स्रोतबाट तथ्याङ्क लिएर दुई विज्ञले तयार पारेको अध्ययन प्रतिवेदनमा सन् २०२२ मा ३० लाखभन्दा धेरै बालबालिकाको मृत्युको कारण औषधिले काम नगर्ने सङ्क्रमणसँग सम्बन्धित देखिएको उल्लेख छ ।

विज्ञहरूका अनुसार यो नयाँ अध्ययनले बालबालिकाहरूमा एएमआरसम्बन्धी सङ्क्रमण तीन वर्षमै १० गुनाले बढेको देखाएको छ । कोभिड सङ्क्रमणका कारण यो सङ्ख्या खराब अवस्थामा पुगेको आँकलन गरिएको छ ।

छालाको सङ्क्रमणदेखि निमोनियासम्म कैयौँ प्रकारका ब्याक्टेरियाबाट हुने सङ्क्रमण रोक्न वा उपचार गर्न एन्टिबायोटिकको प्रयोग हुने गरेको छ । यस्ता औषधिहरू कतिपय अवस्थामा उपचारभन्दा पनि सङ्क्रमणको रोकथामका लागि प्रयोग गरिन्छ।

उदाहरणका लागि, शल्यक्रिया गर्नुपर्ने बिरामी वा क्यान्सरविरुद्ध कीमोथेरपी गर्नुअघि एन्टिबायोटिक औषधि चलाइन्छ । रुघाखोकी, ज्वरो वा कोभिडजस्ता भाइरल सङ्क्रमणमा एन्टिबायोटिकको प्रभाव हुँदैन । प्रतिवेदनका प्रमुख लेखकहरू अस्ट्रेलियाको मर्डोख चिल्ड्रन्स् रिसर्च इन्स्टिट्यूडका डा यान्हङ जेसिका हू र क्लिन्टन हेल्थ एक्सेस इनिशटिभ्सका प्राध्यापक हर्ब हार्वेल सबैभन्दा जटिल सङ्क्रमणमा मात्रै प्रयोग गरिनुपर्ने एन्टिबायोटिकहरूको प्रयोग उल्लेख्य मात्रामा बढेको देखाएका छन् ।

सन् २०१८ देखि २०२१ को बीचमा ‘वाच एन्टिबायोटिक्स’ भनिने उच्च प्रतिरोधी क्षमता भएका एन्टिबायोटिकहरूको प्रयोग दक्षिणपूर्वी एशियामा १६० प्रतिशतले र अफ्रिकामा १२६ प्रतिशतले बढेको अध्ययनले देखाएको छ ।

त्यही अवधिमा ‘रिजर्भ एन्टिबायोटिक्स’ भनिने जटिल र बहुऔषधि प्रतिरोधी सङ्क्रमणमा अन्तिम अवस्थामा मात्रै उपचारका लागि प्रयोग हुने एन्टिबायोटिकहरूको प्रयोग दक्षिणपूर्वी एशियामा ४५ प्रतिशत र अफ्रिकामा १२५ प्रतिशतले बढेको देखिएको छ।

भोजपुरको पर्यटकीयस्थल नागछाँगा आझेलमा

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका रहेको ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल नागछाँगाको सरक्षणसँगै प्रचारप्रसारमा स्थानीय सरकार जुटेको छ ।

गाउँपालिकाले यो स्थलको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार गरेर संरक्षणको थालेको हो । ढुङ्गाभरी जेलिएका नागको चित्र देख्दा यहाँ आउने मानिस अचम्मित हुने गरेका छन् । यो ठाउँमा दर्शन गरे मनोकाङ्क्षा पूरा हुने स्थानीयवासी राजन घिमिरेले बताए ।

अनौठो प्राकृतिकस्वरुप रहेको धार्मिकस्थल भए पनि प्रचार अभावमा ओझेलमा परेको उनको भनाइ छ । वडा नं ६ बैकुण्ठे र वडा नं २ धोद्लेखानीको सिमनामा पर्ने यो धार्मिकस्थल प्रर्याप्त प्रचारप्रसार नहुँदा ओझेलमा परेसँगै यसको प्रवद्र्धनका लागि प्रचारप्रसारमा जोड दिएको वडाध्यक्ष एकराज आचार्यले बताए ।

नागछाँगा, गङ्गाखोला, गोल्मे राजागोल्मे रानीभीर, थामडाँडालगायतका धार्मिक र पर्यटकीयस्थलको प्रचारप्रसारमा वडा कार्यालयले काम गरिरहेको उनको भनाइ छ । नागछाँगाको किम्बतन्दीको खोज तथा अनुसन्धान गरिरहेको उनले बताए । “नागछाँगा एक ऐतिहासिकस्थल हो” वडाध्यक्ष आचार्यले भने, “परापूर्वकालमा सक्कली नाग बस्ने गरेको किम्बदन्ती पनि छ । यसको किम्बदन्तीको खोजीमा लागेको छौँ । यो स्थानको संरक्षणसँगै प्रचारप्रसारमा जोड दिएका छौँ ।”

पर्यटकलाई लक्षित गरेर नागछाँगासम्म पुग्ने पदमार्ग निर्माणसँगै शौचालय, विश्राम निर्माणलगायतको काम गरिएको गाउँपालिकाले अध्यक्ष थामबहादुर राईले जानकारी दिए । यो क्षेत्रको विकासका लागि विभिन्न आर्थिक वर्षमा करिब  ६० लाख लगानी भइसकेको उनको भनाइ छ ।

“स्थानीय सरकारको तर्फबाट यो क्षेत्रको विकासका तथा संरक्षणको काम गरिहेका छौँ”अध्यक्ष राईले भन्नुभयो,“प्रसिद्ध धार्मिक क्षेत्र भए पनि प्रचारप्रसार अभावमा ओझेलमा परेको छ । हामी अहिले सरक्षणसँगै यसको महत्व उजागरका लागि जुटेका छौँ ।”

गाउँपालिकाले यसको विकाससँगै यसको अन्य तथ्यको विषयमा खोजी गर्ने जनाएको छ । स्थानीयको धार्मिक आस्थाको ठाउँ रहेकोले नागछाँगालाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष राईले बताए ।

बालकुमारीको खटजात्रा

हरेक वर्ष भक्तपुरको मध्यपुर थिमिमा मनाईने बिस्का जात्रा अन्तर्गत सोमबार चान्हसिया जात्रामा प्रमुख देवता बालकुमारीको खटजात्रा गर्दै । मध्यराति देखि विभिन्न पूजाअर्चना गर्दै बिहान ३ बजेतिर खटजात्रा गरि लायकू दरबारदेखि बालकुमारी मन्दिरसम्म विभिन्न बाजागाजासहित चिलाख बालेर जात्रालु सहभागी हुन्छन् ।

तस्बिर : रत्न श्रेष्ठ/ रासस

‘जेरी अन टप’ असोज ३१ गते प्रदर्शन हुने

काठमाडौं । फिल्म ‘जेरी अन टप’ को प्रदर्शन मिति तोकिएको छ । निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै फिल्म आगामी असोज ३१ गते प्रदर्शनको मिति तोकिएको जानकारी दिएको हो ।

फिल्ममा अनमोल केसीसहित जसिता गुरुङ, आँचल शर्मा, विपना थापा, केदार घिमिरे ‘माग्ने बूढा’, निर्मल शर्मा, भुवन केसी, सुरक्षा पन्तलगायतले अभिनय गरेका छन् ।

फिल्म दुई महिना लगाएर मुस्ताङ, काठमाडौँ र लुक्लामा छायाँकन गरिएको छ । अनन्या फिल्मस् र भण्डारी मल्टी ट्रेडको ब्यानरमा रहेको फिल्मका निर्माता सरोज न्यौपाने हुन् । फिल्म सुयोग गुरुङले निर्देशन गरेका हुन्।

सत्तामा रहिरहनका लागि संसदभित्र अनेक चलखेल हुँदैआएको छः सांसद प्रधान

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष तथा प्रतिनिधिसभाका सांसद ध्रुबबहादुर प्रधानले संविधान संशोधन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । विसं २०५६ देखि राजनीतिमा सक्रिय उनले न्यायाधीशको सवालमा संविधान संशोधन गर्न जरुरी रहेको बताए । सांसद प्रधान नेकपा माओवादी विद्रोहको समयमा नेपाल प्रहरीको प्रमुख थिए ।

तीन दशकसम्म देशको सेवा गर्दै आफ्नो जीवनको अधिकांश समय नेपाल प्रहरीमा बिताएका उनी नेपाल प्रहरीको वरिष्ठ पद अतिरिक्त प्रहरी महानिरीक्षक (आइजिपी) सम्म पुग्न सफल भएका थिए । प्रतिनिधिसभाका सांसद प्रधानसँग राससका समाचारदाता सुशील दर्नालले गरेको कुराकानीको सम्पादित अंश ।

संविधानका अन्य धेरै प्रावधान संशोधन गर्नुपर्ने देखिन्छ । हाम्रो पार्टीले राजसंस्थाको कुरा गर्दै आएको छ । हामीले राजसंस्थासहितको गणतन्त्र पनि भनेका छौँ ।   हिन्दू राष्ट्रको पुनःबहालीको सवाल पनि हाम्रो पार्टीले उठाउँदै आएको छ । अर्को, सङ्घीयता अत्यन्त खर्चिलो छ । त्यसलाई पनि संशोधन गर्नुपर्ने छ । प्रदेश सरकारलाई तलब मात्रै दिने काम भएको छ । सरकार आफ्नो अनुकूलतामा मात्रै नभएर सबै पार्टीको कुरा सुनेर संविधान संशोधन गर्नुपर्ने हुन्छ । जनताको चाहना बमोजिम संशोधन गर्नुपर्छ । 

जनतालाई सुशासन दिने सवालमा सरकारको नेतृत्वकर्ताको ठूलो भूमिका हुन्छ । सुशासनको सन्दर्भमा पार्टी र सरकारको प्रवृतिमा भरपर्छ । पहिला पहिला मरेपछि नर्कमा गइन्छ, भन्ने डरले पनि मानिसले भ्रष्टाचार गर्दैन थिए । यो आध्यात्मकतासँगै जोडिएको कुरा पनि भयो । सनातन धर्म अनुसार पनि हामीलाई गाइड गरेको थियो । तर अहिले मानिसलाई आर्थिक अनियमितता गर्न कुनै डर छैन । जनतालाई सुशासन दिने सन्दर्भमा दलहरुले सम्बोधन गरेको पाइँदैन । सरकारमा रहेका मन्त्रीहरु नै भ्रष्ट्राचारमा मुछिएको देखिन्छ । 
प्रतिनिधिसभा कानुन निर्माणमा त्यति सक्रिय भएको देखिँदैन ।

राष्ट्रिय हितलाई चिन्तन गरेर मुलुक र जनताको हितको लागि विकासलाई सांसदहरुले प्राथमिकता दिएको देखिँदैन । सदनले आफ्नो जुन भूमिका निर्वाह गर्नुपर्ने हो, त्यो भूमिका निर्वाह गरेको देखिँदैन । यो दलीय व्यवस्थाको कारणपनि भएको होला । संसद्मा दलिय गन्ध अलि बढी आउँछ । संसद्लाई कानुन निर्माण गर्नेभन्दा पनि दलहरु सत्तामा जाने भ¥याङको रुपमा प्रयोग मात्रै गरेको जस्तो देखिन्छ । सत्तामा रहिरहनको लागि संसद्भित्र अनेक चलखेल हुँदैआएको छ । त्यो कुरा राष्ट्रपति र प्रधानमन्त्री चुन्ने बेलामा पनि देखिन्छ ।  सदनमा सांसद भइसकेपछि सार्वभौम संसदहरुले आफ्नो स्वच्छाले चल्नुपर्ने हो । तर पार्टीको ह्वीपको आधारमा सांसद चलेको देखिन्छ । सांसदहरुले निष्पक्ष रुपमा जनताका सवाललाई संसद्मा उठाएको देखिँदैन । 

त्यो ठूला दल वा सानो दल सबैमा लागू भएको छ । सांसदले जनताको प्रतिनिधिको हिसाबले  आफ्नो विषय उठाएको कमै देखिन्छ । यसको प्रत्यक्ष प्रभाव मुलुकले अहिले भोगिरेहको छ । यद्धपि, संसद्ले कानुन निर्माणको पाटोमा काम गरिरहेको छ । तरपनि कानुन निर्माणमा ठूलो दलको प्रभाव परेको छ । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लगायतका ठूला राजनीतिक पार्टीहरु एक आपसमा नमिल्दा त्यसको प्रभाव कानुन निर्माणमा परेको छ ।

जस्तो टिआरसीको सवालमा निकै लामो समय लागेको छ । ठूला दलकै कारण द्वन्द्वको समस्या अहिलेपनि समाधान हुन सकेको छैन । यो ठूला दलको भागबण्डा नमिलेका कारण भएको हो । राजनीतिक भागबण्डाको कारण मिल्न सकेको छैन । सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रलगायत जनताका सामसामयिक चासोको विषय उठाउने गरेका छन् । तर निर्णायक घडीमा सांसद दलको घेराभन्दा बाहिर आउन सक्दैनन् । त्यसले गर्दा जनताले राहत पाउने कुरा हुँदैन । म न्याय, कानुन तथा मानवअधिकार समितिको सदस्य छु । यो समितिले भने आफ्नो जिम्मेवारी सही ढङ्गबाट पूरा गर्दै आएको छ । समितिमा अहिले विभिन्न ऐनकोबारेमा छलफल भइरहेको छ ।

हाम्रो पार्टी वर्तमान व्यवस्था परिवर्तनको लागि लागिरहेको छ । व्यवस्था परिवर्तन गर्नका लागि अर्को विकल्प वार्ताको माध्यमबाट पनि हाम्रो माग सम्बोधन गर्न पनि सकिन्छ । पार्टीगत रुपमा अहिले भइरहेको आन्दोेलनलाई सहयोग गर्दै पार्टीको आन्दोलनको पनि घोषणा गरिएको छ । हाम्रो माग सम्बोधन भएको खण्डमा मात्रै हामी सङ्घीयता सुध्रिण गर्ने सवालमा बोल्ने योजना छ । युवा पलायन रोक्नका लागि सबैभन्दा पहिला सही व्यक्तिको निम्ति सही पदको व्यवस्था हुनुपर्छ । क्षमतावान मानिसको लागि त्यही अनुसारको पद हुनुपर्छ । 

देशमा क्षमतावान व्यक्तिभन्दा पनि पार्टीका कार्यकर्ता र आफ्नो मान्छेलाई पोस्ने काम भएको छ ।  योग्य व्यक्तिले अवसर पाउँछन् भन्ने वातावरण सिर्जना गर्नुपर्छ । हामीले युवा पुस्तालाई दोष मात्रै दिएर हुँदैन । देशमा युवाको क्षमताको सम्मान हुनसकेको छैन । देशमा केही अवसर नभएपछि युवाहरु विदेशिन बाध्य भएका हुन । हामीले अन्य मुलुकबाट विकासका काम गराइरहेका छौँ । तर हाम्रा युवाहरु विदेशिन बाध्य छन् । रोजगारीको राम्रो व्यवस्थापन पनि हुनसकेको छैन । देशमा युवाहरुको लागि जुन वातावरण हुनुपर्ने हो, त्यो वातावरण हुन सकेको छैन । अहिले त नेपाली युवा विदेश जानका लागि पनि कडाइ गरिँदै छ । अमेरिका, अष्ट्रेलिया र कतिपय युरोपियन देशमा युवालाई प्रतिबन्ध गरिँदै छ । 

सरकारको रोजगारी सिर्जना गर्नेतर्फ ध्यानै गएको छैन । कुनै एउटा सरकार मात्रै होइन । कुनै पनि सरकारको उद्योग÷कलकारखाना सञ्चालन गर्नेबारे ध्यानै गएको छैन । त्यसैले हामीले व्यवस्था परिवर्तन गर्नुपर्छ भनेको हो । यो अहिलेको व्यवस्थाले मुलुकको हितको निम्ति केहीपनि गर्न सकेको छैन । नेपालका राजनीतिक दलहरु सबै योग्य र सक्षम हुनुहुन्छ । तर मुलुको हितको लागि सोच्नुपर्छ । उहाँहरुले जनताको हितममा कामना गर्नुपर्छ । आफू केन्द्रित भएर आफ्नो फाइदाको लागि काम गर्नुहुँदैन । जबसम्म जनतालाई केन्द्रमा राखेर काम हुँदैन, तबसम्म देशमा केही पनि हुँदैन ।  कतिपय देशमा एउटा व्यवस्थाले काम नगरेपछि अर्को व्यवस्था ल्याएर काम गरेको पनि धेरै उदाहरण छन् । 

म निर्वाचित नवलपरासी जिल्ला कृषिमा आधारित जिल्ला हो । त्यहाँका किसानलाई सिँचाइको समस्या छ । बीउ र मलको अभाव छ । त्यसको लागि पहल गर्ने मेरो योजना छ । नवलपरासी जिल्ला भारतसँगको बार्डरसँग पनि जोडिएको छ । यो जिल्लाको सडक सञ्जालको विषय पनि छ ।

हुम्लामा ‘स्काभेटर’ दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु

हुम्ला । हुम्लाको दक्षिण भेगस्थित चङ्खेली गाउँपालिकामा गएराती स्काभेटर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा चङ्खेली गाउँपालिका–२का ४५ वर्षीय परबल कामी र स्काभेटर चालक सोही वडाका ३१ वर्षीय अर्जुन कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिए । उनीहरु दुवैजनाको उपचारको क्रममा मृत्यु भएको प्रनाउ पोखरेलले बताए ।

चङ्खेली गाउँपालिकाको–लोती भन्ने स्थान पिपलाङ्बाट मिमितर्फ जानेक्रममा प्रदेश नम्बर २.०३.००१ क ९७५ को स्काभेटर पल्टिएर एक सय मिटर तल खसेको जनाइएको छ ।

चालक अर्जुन कामीले बिग्रेको स्काभेटरलाई चलाउने क्रममा एक्कासि स्काभेटर सडकबाट करिब सय मिटर तल खस्दा घाइते भएका दुबै जनाको उपचारका लागि श्रीमष्ठा प्रथामिक स्वास्थ्यचौकी पुर्याइएको थियो ।

विद्यालय शिक्षा विधेयक पारित गराउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना अभियान सुरू भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने आदर्श वाक्यकासाथ शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना अभियान सुरू भएको हो ।

अभियान सफल पार्न प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवालाहरूलाई आग्रह गरेका छन् । प्रधानमन्त्रीले अहिले आधारभूत तहको खुद भर्नादरमा सुधार आएको देखिए पनि विद्यार्थीको टिकाउ दर बढाउन हामीले अझै मेहनत गर्नुपर्ने देखिएको भन्दै यसमा थप सुधार गर्न शिक्षालाई स्वरोजगारका अवसर सिर्जना गर्नुपर्ने उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘अझै पनि नेपालमा निरपेक्ष गरिबीको रेखामुनी रहेको जनसङ्ख्या करिब २० प्रतिशत रहेको छ । यो हाम्रा निम्ति दुःखको कुरा हो । गरिबीलाई न्यूनीकरण नगरी हामी हाम्रो राष्ट्रिय लक्ष्यमा पुग्न सक्दैनौं । गरिबीलाई हटाउने पहिलो सर्त शिक्षा हो । हामीले हाम्रा बालबालिकाहरूलाई अब पनि विद्यालय बाहिर राख्न सक्दैनौँ । अहिले आधारभूत तहको खुद भर्नादरमा सुधार आएको देखिए पनि विद्यार्थीको टिकाउ दर बढाउन हामीले अझै मेहनत गर्नुपर्ने देखिएको छ ।’

प्रधानमन्त्रीले शिक्षा क्षेत्रमा बजेटको अंश वृद्धि गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न र विद्यालय शिक्षा विधेयक, २०८१ लाई छलफल सहित पारित गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त : राष्ट्रपति पौडेल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले समृद्धिको बाटोमा बाधक बनेर देखिने बेथितिको अन्त्य, सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त भएको बताएका छन् ।

नव वर्ष २०८२ को सुखद् अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले आजको दिन जनताको यही चाहना पूरा गर्ने सङ्कल्प गर्न आग्रह गरेका छन् । “आजको दिन राष्ट्रको उन्नति र समृद्धिका लागि उत्साहका साथ जुट्न र एउटा साझा संकल्प लिएर अघि बढ्न म सम्वद्ध सबैलाई अपिल गर्दछु”, उनले भनेका छन् ।

शुभकामना सन्देशमा विक्रम संवत् प्राचीन हिन्दू परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य संवत् रहेको उल्लेख गर्दै उनले इतिहास र सामाजिक जीवनमा लामो समयदेखि स्थापित यो संवत्ले हाम्रो सभ्यता, सामाजिक जीवन र परम्पराहरूको प्रतिनिधित्व गर्दै नेपालको गौरवमय विगतलाई सम्झाउने र उन्नत भविष्यतिर अगाडि बढ्न प्रेरित गर्ने उल्लेख गरेका छन् ।

“हामी नेपालीहरू नयाँ वर्षलाई विगतको समीक्षा गर्ने तथा आगामी दिनका लागि प्रतिज्ञा र संकल्प गर्ने शुभसाइतका रुपमा लिन्छौँ”, उनले शुभकामना सन्देशमा भनेका छन्, “विशेष पर्व र दिनहरूमा जीवनका लक्ष्यहरू निर्धारण गर्ने र त्यसलाई पूरा गर्न जीवनभर संकल्पवद्ध रहने हाम्रो परम्परा छ । यस अर्थमा, नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यसलाई प्राप्त गर्न संकल्प गर्ने दिन हो ।”

राष्ट्रपति पौडेलले ठूलो राजनीतिक परिवर्तनपछि जनताले राखेको तीव्र आकांक्षाको परिपूर्तिमा हुन गएको केही ढिलाइ र केही कमी, कमजोरीलाई देखाएर भ्रमपूर्ण स्थिति सृजना गर्न खोजिएका प्रयत्नहरू एक एक गरी विस्तारै निस्तेज हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।

विश्व प्रविधिमैत्री भइसकेको अवस्थामा प्रविधिमैत्री अभ्यासलाई अझ बृहत बनाई सुदृढ गर्दै लैजानु पर्नेमा उनले जोड दिएका छन् । कृषि, पर्यटन, जलस्रोत, ऊर्जा, सूचना प्रविधि र उद्योगधन्दा मुलुकको अर्थतन्त्रको मूल मेरुदण्ड भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले आर्थिक वृद्धिका यी क्षेत्रमा विद्यमान समस्या हटाएर उपयुक्त नीति, कानुन र अवसरको सिर्जना गर्दै कृषि, पर्यटन र जलस्रोतको विकासद्वारा समृद्ध राष्ट्र निर्माण गर्ने संकल्प गर्न आग्रह गरेका छन् ।

“आजका दिनले हामी, हाम्रा राजनीतिक दल, नेतृत्व, सरकार र सम्पूर्ण नागरिकलाई अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बन्न प्रेरित गर्नेछ भन्ने विश्वास लिएको छु”, जारी शुभकामना सन्देशमा भनिएको छ ।

आजदेखि नववर्ष २०८२ प्रारम्भ

काठमाडौँ । आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ ।

आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष माधव भट्टराईले बताए।

‘विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थिति अनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश गरिएको छ,’ उनले भने।

सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष लाग्ने भएकाले वैज्ञानिक रहेको विद्वानहरुको भनाइ छ । सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ । कलि युग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् सुरु भएको हो ।

हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता/असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् । आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मठ मन्दिरमा गई पूजा आराधना एवं दर्शन गर्ने, मीठोमीठो खाने, साथीसङ्गी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् ।

चान्द्रमान अनुसार चैत्र शुक्ल प्रतिपदाका दिन नै सुरु हुने नयाँ संवत्सर भने चैत १७ गतेदेखि नै सुरु भइसकेको छ । चैत १७ गतेदेखि सिद्धार्थी नामको संवत्सर सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए।

वैदिक सनातन हिन्दू धर्म अनुसार ६० संवत्सर छन् । यी संवत्सर आदि अनादिकालदेखि घुम्दै आएका छन् । षष्टि संवत्सरमध्येको पहिलोको नाम प्रभव हो । अहिले चलिरहेको सिद्धार्थी ५३ औँ संवत्सर हो ।

माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टी सहयोग आदानप्रदानको समझदारी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) बीच आपसी सहयोग आदानप्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

चीनको चोङकिङ नगरमा आइतबार आयोजित एक कार्यक्रममा समझदारीपत्रमा हस्ताक्षर भएको हो।

समझदारीअनुसार पार्टी निर्माण, राज्य सञ्चालन, कार्यकर्ता प्रशिक्षण तथा अनुभव साटासाटका क्षेत्रमा आपसी सहकार्यलाई सुदृढ बनाइनेछ।

पार्टी स्कुल विकास, पाठ्यक्रम निर्माण, शिक्षक विकास र शिक्षण विधिमा सहकार्य गर्दै कार्यकर्ता शिक्षाको अन्तरराष्ट्रियकरण तथा व्यावसायिकता प्रवर्द्धन गरिने प्रतिनिधिमण्डलका सदस्य रामदीप आचार्यले जानकारी दिए।

समझदारीपत्रमा उच्चस्तरीय भ्रमण, शिक्षक आदानप्रदान, संयुक्त गोष्ठी, कार्यशालाहरू तथा शैक्षिक संवादमार्फत उच्चस्तरीय संयन्त्र निर्माण गरिने उल्लेख छ। माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा नेतृत्वको प्रतिनिधिमण्डल गत बुधवारदेखि चीनको भ्रमणमा छ।

विपिन जोशीको सकुशल रिहाइ निम्ति सहजीकरण गर्न कतारसँग नेपालको फेरि आग्रह

काठमाडौं । कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेलले अतिवादी समूह हमासको कब्जामा रहेका विपिन जोशीको सकुशल रिहाइका निम्ति सहजीकरण गर्न कतारसँग आग्रह गरेका छन्।

कतारको परराष्ट्र मन्त्रालयका महासचिव अहमद बिन हसन अल हमादीसँग आइतबार भएको भेटमा राजदूत पौडेलले इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्व समाधान गर्न कतार सरकारले निभाएको भूमिकाको सराहना गर्दै बन्धक बनाइएका जोशीको रिहाइका लागि सहजीकरण गरिदिन अनुरोध गरेका हुन्।

दोहास्थित नेपालको राजदूतावासका अनुसार उनीहरूबीच गत वर्ष कतारी अमिरको नेपाल भ्रमणका क्रममा भएका सहमति एवं समझदारीको कार्यान्वयनमा जोड दिँदै द्विदेशीय श्रम सम्झौता नवीकरणबारे विचारविमर्श भएको थियो।

महासचिव हमादीले जोशीको रिहाइका निम्ति प्रयत्न गर्न तथा श्रम सम्झौता नवीकरण गर्न कतार सकारात्मक रहेको बताएका थिए।

बिस्केट जात्रामा रथले किचेर एक जनाको मृत्यु

भक्तपुर । भक्तपुरमा बिस्का जात्रा मनाउने क्रममा भैरवनाथको रथले किचेर एक जनाको मृत्यु भएको छ ।
भक्तपुर नगरपालिका–४ घर भई हाल सूर्यविनायक नगरपालिका–८ सिपाटोलस्थित इटबू बस्ने ३६ वर्षीय सुशील तमखूको मृत्यु भएको हो ।

बिस्काः जात्राको चौथो दिन आइताबर भेलुखेलस्थित योसिंखेलमा ५५ हात लामो योसिं ठड्याउन भैरवनाथको रथलाई गाःहिटीबाट योसिंखेल लैजाने क्रममा तमखूलाई रथले किचेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए ।

रथले तमखूको शरीरको बीच भागमा किचेको र उनको घटनास्थलमा नै मृत्यु भएको उनले बताए ।

न्युरोडबाट ९ लाख नगदसहित हुन्डी कारोबारमा संलग्न एकजना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको न्युरोडबाट ९ लाख नगदसहित हुन्डी कारोबारमा संलग्न १ जनालाई पक्राउ गरेको छ ।

आइतबार प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले गोरखाको पालुङटारकी १९ वर्षीया करिना देवकोटालाई पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट ९ लाख नगद र ६ लाखको चेक बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

वीरगंज घटनाका दोषीमाथि कारबाही गर्ने सर्वपक्षीय सहमति

वीरगंज । वीरगन्जमा भएको घटनाका दोषीमाथि कारबाही गर्ने र समाजिक सद्भाव कायम राख्ने सर्वपक्षीय सहमति भएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साको पहलमा आइतबार भएको सर्वपक्षीय भेलामा ५ बुँदे सहमति भएको हो । भेलापछि भएको निर्णयमा घटनामा संलग्न दोषीहरुमाथि विस्तृत छानविन गरी कारबाही गर्ने, सामाजिक सदभाव र सहिष्णुता कायम राख्ने, घाइते भएका व्यक्तिहरुको निःशुल्क उपचार तथा क्षतिको क्षतिपूर्तीका लागि प्रशासनले पहल गर्ने विषय उल्लेख छ ।

शनिबार अपरान्ह ५ शोभायात्रामा निस्केको समूहमाथि वीरगन्जको श्रीराम हलस्थित जामा मस्जिदबाट एक्कासी ढुंगा प्रहार गरेकोले दुवै पक्षबीच झडप सिर्जना भएको थियो । झडपमा मोटरसाइकल र पसलको फ्रिज बाहिर निकालेर आगजनी भएको थियो।झडप नियन्त्रण गर्न प्रहरीले ५ सेलअश्रुग्यास प्रहार गरेको थियो ।

नागरिक स्वतन्त्रता भन्दा ठूलो तन्त्र वा वाद अरु हुँदैनः पूर्वराजा शाह(भिडियोसहित)

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले चैत १५ गते काठमाडौंका तिनकुनेमा भएको जनधनको क्षतिबाट दुःख व्यक्त गरेका छन् ।

नयाँ वर्ष २०८२ को उपलक्ष्यमा शुभकामना सन्देश जारी गरी पूर्वराजाले घटनामा भएको मानवीय तथा भौतिक क्षतिबाट दुःख व्यक्त गरेका हुन् ।

उनले भनेका छन्, ‘केही दिनअघि भएको जनप्रदर्शनमा हिंसा, आगजनी भयो त्यसबाट मानवीय एवम् भौतिक क्षति भयो त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लागेको छ ।’

उनले नागरिक स्वतन्त्रताभन्दा ठूलो वाद नहुने पनि बताएका छन्। उनले भनेका छन्, ‘नागरिक स्वतन्त्रता भन्दा ठूलो वाद हुँदैन। वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ राम्रो–नराम्रो जनगुनासो वा राम्रो सुन्ने परम्परा र संस्कार हुन्छ।’

उनले जनसमुदायले आफ्नो धारणा र विचार अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता भएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘समाजका विभिन्न दल, वर्ग र जनसमुदायले आफ्नो धारणा र विचार अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो । त्यस्तो धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम् अपनाउनुपर्दछ।’ यसैगरी पूर्वराजा शाहले जनतामा जागरूकता पैदा हुनु भने सकारात्मक रहेको बताएका छन्।

नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा चहलपहल, व्यवसायी उत्साही

सिबी अधिकारी, काठमाडौँ । नयाँ वर्ष २०८२ को आगमनसँगै मुलुकको पर्यटन क्षेत्रमा पर्यटकको चहलपहलका कारण उत्साह थपिएको छ ।

वसन्त ऋतुको आगमन र विद्यालयको वार्षिक शैक्षिक बिदाका कारण अभिभावक आफ्ना सन्ततिलाई लिएर आन्तरिक पर्यटन प्रवद्र्धनमा निस्किएका छन् भने सरकारी कर्मचारीको पनि वार्षिक बिदा सक्नुपर्ने भएकाले बिदामा पर्यटकीय गन्तव्यमा पुगेका छन्।

जसका कारण पूर्वको पाथीभरादेखि पश्चिमको शैलेश्वरीसम्मका धार्मिकस्थलमा अहिले धार्मिक पर्यटकको चहलपहल बढेको छ । यसले पर्यटन प्रवद्र्धनसँगै मुलुकको अर्थतन्त्रसमेत चलायमान हुन पुगेको छ। मुलुकभित्रका प्रमुख पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति रहेको छ ।

होटल सङ्घ नेपाल (हान) का अध्यक्ष विनायक शाहका अनुसार नयाँ वर्षको पूर्वसन्ध्यामा अधिकांश पर्यटकीय गन्तव्यमा पर्यटकको चहलपहल बढेको छ । ‘मुलुकभरका होटलहरुमा न्युनतम ३५ देखि झण्डै कुनै स्थानमा शत प्रतिशतसम्म अकुपेन्सी पुगेको छ। केही समय सुस्ताएको व्यवसायमा नयाँ आशा सञ्चार भएको छ ठमेल, पोखरा, सौराहा, लुम्बिनी, भेँडेटारलगायत क्षेत्रमा ‘न्यू इअर इभ’ कार्यक्रम आयोजना गरिएको छ, यसले पर्यटनलाई थप चलायमान बनाएको छ।’

देशका प्रमुख पर्यटकीय गन्तव्यस्थल पाथीभरा, इलाम, तीनजुरे, धरान, भेडेटार, वसन्तपुर, मकालु आधार शिविर, खुम्बु क्षेत्र, सगरमाथा आधारशिविर, लुक्ला, बराहक्षेत्र, बुढासुब्बा, हलेसी, दन्तकाली, केचनाकवल, छिन्नमस्ता, जनकपुरधाम र भरततालमासमेत धेरै सङ्ख्यामा पर्यटक पुगेका छन् ।

त्यस्तै, कालिञ्चोक, चरिकोट, शैलुङ, जिरी, पाँचपोखरी, हेलम्बु, पनौती, पलाञ्चोक भगवती, चितवन राष्ट्रिय निकुञ्ज, सौराहा, हेटौंडास्थित मदनभण्डारी पार्क, पालुङ, दामन, लाङ्टाङ, गोसाइँकुण्ड, नुवाकोट दरबार, बन्दीपुर, पोखरा, गोरखादरबार क्षेत्र, कपिलवस्तु, तिलौराकोट, रामग्राम, बुटवल पाल्ला, लुम्बिनी पर्यटकको प्रमुख गन्तव्य मानिन्छन् ।

बर्दिया राष्ट्रिय निकुञ्ज, ढोरपाटन, कर्णाली पुल, काँक्रे बिहार, बुलबुले ताल, शुक्लाफाँटा, दोधारा–चादनी झोलुङ्गे पुल, अपि सैपाल हिमाल, स्वर्गद्धारी, सुपादेउराली, बागलुङ कालिका, गलेश्वर, मुक्तिनाथ, लोमान्थाङ, दाङ, घोडाघोडी, धारापानी, शैलेश्वरी, बडिमालिका, राराताल, बागेश्वरी, स्वर्गद्धारी, रानीमल पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बनेका छन् ।

पदयात्रा र पर्वतारोहणको उपयुक्त मौसम भएकाले विदेशी पर्यटक साहसिक पर्यटना लागि हिमाली क्षेत्रमा पुगिरहेका छन् । सगरमाथासहितका हिमाल आरोहण गर्न धेरै सङ्ख्यामा स्वदेशी र विदेशी आरोही आधारशिविर पुगेका छन् ।

संघीय राजधानी काठमाडौँ उपत्यका मात्रै नभइ देशका अधिकांश पर्यटकीय गन्तव्यमा पर्यटकहरुको भिडभाड छ । उपत्यकाको नगरकोट, धुलिखेल, लाकुरीझञ्ज्याङ, गोदावरी, चन्द्रागिरि, खुलेखानी, चित्लाङ, शिवपुरी, ककनी, जर्सिङपौवालगायत गन्तव्यमा आन्तरिक पर्यटकको भिडभाड छ ।

दक्षिणकाली, पशुपतिनाथ, स्वयभू, बौद्धनाथ, वसन्तपुर, पाटन र भक्तपुर दरबारक्षेत्रमा पर्यटकले भरिभराउ छन्। नगरकोटस्थित नगरकोट अलमस्ट होटलका नवीन गुरुङले आफ्नो होटलमा अकुपेन्सी शतप्रतिशत रहेको उल्लेख गर्दै अन्य होटलमा पनि राम्रो अकुपेन्सी भएको बताए।

व्यवसायी उत्साहित

नयाँ वर्षको अवसरमा पर्यटन राजधानी पोखराको पर्यटन चलायमान बनेको छ । तपापि आन्दोलनका कारण पर्यटकले केही बुकिङ् रद्ध गरेका छन् । नयाँ वर्षको सन्दर्भमा पोखरामा हरेक वर्ष तीन/चार दिन पर्यटक बढ्ने गरेको पोखरा पर्यटन विकास परिषद्का अध्यक्ष तारा पहरीले बताए । ‘नयाँ वर्षमा पोखरामा दुईदेखि तीन दिन चहलपहल बढ्छ । विशेषगरी भारतीय र चिनियाँ पर्यटक बढी देखिएका छन्’, उनले भने ।

उनका अनुसार पोखरा आसपासका गन्तव्य पर्यटकले भरिभराउ छन् । पर्यटकीय क्षेत्र लुम्बिनीमा पर्यटकको माहोल बढेको छ । पर्यटन राजधानी पोखरामा नयाँ वर्ष तथा महोत्सवले चहलपहल बढाएको छ । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान), पोखराका अध्यक्ष विश्वराज पौडेलका अनुसार यतिबेला अकुपेन्सी ७० प्रतिशतभन्दा बढी पुगेको छ ।

भैरहवास्थित सिद्धार्थ होटल सङ्घका अध्यक्ष सिपी श्रेष्ठका अनुसार उक्त क्षेत्रमा अकुपेन्सी ३५ प्रतिशतभन्दा बढी पुगेको छ । नयाँ वर्षको आगमनले पर्यटनलाई चलायमान बनाएको उहाँको भनाइ छ । ‘भैरहवाका होटलमा विशेषगरी भारतीय पर्यटकले भरिभराउ छन् । आन्तरिक पर्यटक पनि बढेका छन् । होटलहरुले विभिन्न छुट र अफर दिएका छन् । सङ्घका अनुसार भैरहवामा पाँचतारेदेखि पर्यटकस्तरका डेढसय भन्दा बढी होटल सञ्चालनमा छन् ।

पर्यटकीय नगरी सौराहामा पनि नयाँ वर्षको सन्दर्भमा पर्यटकको भिडभाड बढेको छ । रेस्टुरेन्ट एण्ड बार एशोसिएशन (रेवान) सौराहाका अध्यक्ष ध्रुव गिरीका अनुसार सौराहामा आन्तरिक र विदेशी पर्यटक उल्लेख्य सङ्ख्यामा पुगेका छन् । नयाँ वर्ष विभिन्न मेला महोत्सवले पर्यटन प्रवद्र्धनमा टेवा पुगेको उनले बताए ।

क्षेत्रीय होटल संघ नेपाल चितवनका निवर्तमानअध्यक्ष गङ्गा गिरीका अनुसार चितवनका होटलमा रुम पाउने अवस्था छैन । ‘नयाँ वर्षमा होटलहरुको अकुपेन्सी शतप्रतिशत छ, तीन दिसम्मका लागि कुनै होटलमा रुम उपलब्ध छैनन्’, उनले भने ।

ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डे पनि नयाँ वर्ष पर्यटनमा आशा जगाउने वर्ष हुने भएकाले पर्यटन व्यवसायमा सकारात्मक उत्साह थपिएको बताए । उनले भने, ‘आन्तरिक मात्र होइन विदेशी पर्यटक पनि उल्लेख्य सङ्ख्यामा आउने भएकाले पर्यटन व्यवसायीमा पनि हौसला बढेको छ।’

बोर्डको सक्रियता

पर्यटन क्षेत्र चलायमान बनिरहेको र आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटन आकर्षणका लागि बजारीकरणलाई प्राथमिकताकासाथ अगाडि बढाइएको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले बोर्डले आक्रामक रुपमा अन्तरराष्ट्रिय प्रवद्र्धनको कार्य गरिरहएको जानकारी दिए । उनका अनुसार पछिल्लो पाँच महिनामा विदेशमा १७ वटा बिटुबी कार्यक्रम गरिएको छ ।

आन्तरिकतर्फ नेपाल इन्डिया चाइना एक्स्पो सम्पन्न भएको छ भने ‘इस्ट टुरिजम मार्ट’ सकिएको छ । सुदूपश्चिम मार्टको तयारी भइरहेको छ । अन्तरराष्ट्रिय बुद्धिस्ट ट्राभल मार्ट घोषणा गरिएको छ । नेपालका गन्तव्यमा विदेशी इन्फ्लुएन्सर, मिडियालाई भ्रमण गराएर पर्यटन प्रवर्द्धन गरिएको छ ।

बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ मा ११ लाख ४७ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०२३ मा १० लाख १५ हजार पर्यटक नेपाल भित्रिएका थिए । महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए । तर सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आइ दुई लाख ३० हजार ८५ सङ्ख्यामा खुम्चियो ।

त्यसैगरी २०२१ मा भने एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका थिए । हवाई पूर्वाधार र सडक सञ्जाल चुस्तदुरुस्त भएमा मात्रै यो लक्ष्य भेट्टाउन सहज हुन्छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालित छ । तर, भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा अन्तरराष्ट्रिय विमानस्थल प्रभावकारी रुपमा सञ्चालनमा आउन सकेका छैनन् । भलै ती दुई विमानस्थलमा अन्तरराष्ट्रिय उडान भने सञ्चालन भइरहेको छ ।

सडक सञ्जाल र हवाई सम्पर्क सञ्जाललाई प्रभावकारी बनाउन सकेको खण्डमा मुलुकको पर्यटनले फड्को मार्ने अध्यक्ष शाहको विश्वास छ । नेपाल एशोसिएशन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमारमणि थपलियाले नयाँ वर्षले पर्यटनमा सकारात्मक ऊर्जा थपिएको बताए ।

वर्ष २०८१ मा पर्यटन क्षेत्रमा अपेक्षा र निरासा दुबै मिश्रित रहेपनि आगामी वर्षमा पर्यटन क्षेत्रमा उत्साह थपिने उनको विश्वास छ । उनले भने, ‘भैरहवा विमानस्थलमा अन्तरराष्ट्रिय उडान भएको थियो,तर वर्षको उत्तरार्धमा उडान स्थगित भएको छ । महँगो हवाई सेवा भएको वर्षको रुपमा पनि लिन सकिन्छ, समग्रमा आशा मरेको छैन, नीतिगत फड्को मारेर परिणाम ल्याउनुपर्ने अपरिहार्यता छ।’

नयाँ वर्षको सन्दर्मा प्रमुख पर्यटकीय गन्तव्यमा भ्रमणवर्ष जस्ता कार्यक्रम आयोजना गरेर बढीभन्दा बढी पर्यटक आकर्षण गर्ने योजना छ । यसैसन्दर्भमा सन् २०२५ लाई पोखराले भ्रमणवर्षको रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

पोखरामा फेवा महोत्सव सुरु भएको छ । नयाँ वर्षको अवसरमा नगरकोटमा वैशाख १ गतेदेखि ‘नगरकोट भ्रमणवर्ष-२०८२ आयोजना हुदैछ । भ्रमण वर्षको शुभारम्भ राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने तालिका छ ।

नगरकोट क्षेत्रको प्राकृति, संस्कृति र इतिहासलाई थप प्रचारप्रसार गर्ने उद्देश्यले नगरकोट नाल्दुम पर्यटन विकास समितिको समन्वयमा भ्रमणवर्ष हुन लागेको हो । समितिका अध्यक्ष नवीन गुरुङ्ले नयाँ वर्षको अवसरमा नगरकोटमा आन्तरिक र विदेशी पर्यटकको घुइँचो लागेको तथा महोत्सवले पर्यटनमा थप रौनक ल्याउने विश्वास व्यक्त गरे ।

बन्दीपुरमा आन्तरिक पर्यटकको घुइँचो

दमौली । नयाँ वर्षको पूर्वसन्ध्यामा पर्यटकीय नगरी बन्दीपुरमा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । पहाडकी ‘रानी’ नामले परिचित बन्दीपुरमा नयाँ वर्ष मनाउने आन्तरिक पर्यटकको घुइँचो बढेको हो । 

‘बन्दीपुर भ्रमण वर्ष–२०२५’ चलिरहेका बेला आन्तरिक पर्यटकको चहलपहल बढेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले नयाँ वर्ष मनाउन पर्यटकको आगमन बढेपछि कारोबार पनि वृद्धि भएको जानकारी दिए ।  

यसअघि दैनिक करिब एक हजार आन्तरिक तथा बाह्य पर्यटक आउने गरेकामा पछिल्लो दुई दिनयता आगन्तुकको सङ्ख्या बढेर दैनिक दुई हजार पुगेको उनले जानकारी दिए । “दुई हजार जनाले बास बस्नेसक्ने क्षमता यहाँका होटलको छ । तर, पछिल्लो दुई दिनदेखि यहाँका सबै होटल भरिभराउ भएका छन्”, उनले भने ।

नयाँ वर्ष लक्षित पर्यटकको आगमन दोब्बरले बढेको जनाउँदै अध्यक्ष प्रधानले अहिले यहाँका होटलले १५ प्रतिशत छुटको व्यवस्था गरेका जानकारी दिए । उनले भने, “नयाँ वर्षमा यहाँ आयोजना गरिएको स्थानीय परिकारका खानाको महोत्सवले पनि पर्यटकको आगमन बढाएको हो । शनिबारदेखि यहाँ पर्यटकको चहलपहल बढेको छ ।” अन्य समयमा घुमेर फर्किने पर्यटक बढी हुने गरेकामा नयाँ वर्षमा बास बस्न आउनेको सङ्ख्या वृद्धि भएको उनको भनाइ छ । 

अध्यक्ष प्रधानका अनुसार नयाँ वर्षलाई लक्षितगरी बन्दीपुरमा दुई हजार बढी पर्यटक आइपुगेका छन् । यहाँ आएकामध्ये ८० प्रतिशत बास बसेका छन् । यस वर्ष यहाँ दुई लाख १० हजार पर्यटक आएकामध्ये ६० बाह्य र एक लाख ५० हजार आन्तरिक पर्यटक रहेका बन्दीपुर भ्रमण वर्ष सचिवालयले जनाएको छ ।

बन्दीपुर सामुदायिक होमस्टेकी दिलकुमारी थापाले नयाँ वर्षको आगमनसँगै आन्तरिक पाहुँनाको आगमन बढेको बताइन् । उनले भनिन्, “होमस्टेमा पारिवारिक हिसाबले बस्न पाइने भएकाले पनि आन्तरिक पाहुना होमस्टेमा बस्न रुचाउँछन् ।”

यहाँ होटल सङ्घसँग आबद्ध सानाठूला गरी ७७ होटल सञ्चालित छन् । यहाँ शनिबारदेखि स्थानीय जातका (रैथाने) खाना महोत्सव सुरु भएको छ । महोत्सवको औपचारिक उद्घाटन आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्दै छन् । महोत्सव आगामी वैशाख २ गतेसम्म सञ्चालन हुनेछ ।

यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन प्रदान गर्न सांस्कृतिक महोत्सव आयोजना गरिएको भ्रमण वर्षका संयोजक वैशबहादुर गुरुङले बताए ।

उनले भने, “भ्रमण वर्ष घोषणा गरेर हामी यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा जुटेका छौँ । सन् २०२५ भरी यहाँ विविध कार्यक्रम आयोजना गरी यस क्षेत्रको प्रचारप्रसार गर्नेछौँ ।‘ महोत्सवमा मगर, नेवार, गुरुङ, ब्राम्हणलगायत अन्य जातजातिका सांस्कृतिक नाँचलाई सडक खाना महोत्सवमा समावेश गरिएको बन्दीपुर भ्रमण वर्षका प्रचारप्रसार संयोजक राजु बानियाँले जानकारी दिए ।

उनका अनुसार बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्वीट्जरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाका पर्यटक आएका छन् ।

बन्दीपुरमा हाल वार्षिक एक लाख पर्यटक आउने गरेकामा सो सङ्ख्यालाई दोब्बर बनाउने लक्ष्यसहित भ्रमण वर्ष सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । उनका अनुसार खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख पर्यटकीय गन्तव्यका रूपमा सूचीकृत गरेको छ ।

भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थल यहाँ आउने पर्यटकको रोजाइमा पर्ने अध्यक्ष थापाले उल्लेख गरे । 

निजामती ऐन जारी गर्ने प्रक्रियामा अगाडि बढाउन सरकारलाई ६वटा निजामती ट्रेड युनियनहरुको चेतावनी

काठमाडौँ । निजामती कर्मचारीसम्वद्ध ट्रेड युनियनहरूल संघीय निजामती सेवा ऐन निर्माणमा आफूहरूसँग छलफल नगरी अगाडि बढेमा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

नेकपा एमाले, नेपाली कांग्रेसआवद्ध लगायतका कर्मचारी संगठनले  संयुक्त विज्ञप्ति जारी गरी समग्र कर्मचारीको साझा हितका साथै स्थानीय र अन्य सरकारी सेवाको मार्गदर्शकको रूपमा रहेको संघीय निजामती सेवा ऐन निर्माणको प्रक्रियामा सरोकारवाला पक्षहरूको अर्थपूर्ण सहभागिता अपरिहार्य रहेको बताएका छन् ।

सरकारले यस्ता विषयलाई समयमै सम्बोधन नगरेमा सार्वजनिक प्रशासनका तथा शैक्षिक क्षेत्रमा समेत गम्भीर समस्या उत्पन्न हुने र यसले प्रशासनिक तथा शैक्षिक क्षेत्रमा अराजकता निम्त्याउने कुरामा समेत सचेत रहन उनीहरूले आग्रह गरेका छन् ।

उनीहरुले आफूहरुका मागहरूप्रति सरकार उदासिन भइ सुनुवाइ नगरेमा संयुक्त ट्रेड युनियन सञ्जालको तर्फबाट चरणबद्ध आन्दोलनको सुरूवात गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

रविको मुद्दामा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन माग गरेको छ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले लामिछानेलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन मागेको हो । उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले चैत २२ गते लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो ।

उक्त आदेशविरुद्ध लामिछानेको तर्फबाट शुक्रबार दर्ता सर्वोच्चमा निवेदन दर्ता भएको थियो । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणका अभियुक्त लामिछाने चैत २२ पक्राउ परेका थिए ।

उच्च अदालतको आदेशलगत्तै उनलाई प्रहरीले काठमाडौँको बूढानीलकण्ठस्थित घरबाटै पक्राउ गरेको थियो । उनी अहिले भैरहवा कारागारमा छन् ।

यसअघि गत माघ १३ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले रविलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

चारदेशीय टी–२० सिरिजमा नेपाल बन्यो उपविजेता, कुवेतसँग तीन रनले पराजित

काठमाडौं । हङकङमा भएको चारदेशीय टी–२० सिरिजमा नेपाल उपविजेता भएको छ । आइतबार भएको फाइनल खेलमा नेपाल कुवेतसँग ३ रनले पराजित हुँदै उप विजेता भएको हो ।

पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७४ रन बनाएको थियो । कुवेतका लागि रविजा सन्दारुवानले अर्धशतकीय पारी खेले । उनले ३६ बलमा छ चौका र चार छक्काको मद्दतले सर्वाधिक ६३ रन बनाए । क्लिन्टो एन्टोले २६, उस्मान पटेलले २३, मीट भावसारले १६ र मोहम्मद असलमले १३ रन बनाए भने अन्य खेलाडीले दोेहोरो अङ्कमा रन जोेड्न सकेनन् ।

नेपालका सोमपाल कामी र नन्दन यादवले दुई दुई विकेट लिँदा करण केसी र कुसल भुर्तेलले एक एक विकेट लिए । जवाफी लक्ष्यसहित मैदानमा उत्रिएको नेपालको सुरुवात राम्रो भएन । कुशल भुर्तेल जम्मा ३ रन बनाएर आउट हुँदा नेपालले पहिलो विकेट गुमायो । त्यसपछि दोस्रो विकेटको रुपमा अर्का ओपनर आशिफ शेख ११ बलमा २१ रन बनाएर पभेलियन फर्किए ।

तेस्रो विकेटको रुपमा कुशल मल्ल गोल्डेन डकआउट भए भने लगत्तै दीपेन्द्रसिंह ऐरी पनि खाता नै नखोली पभेलियन फर्किए । पाँचौ विकेटको रुपमा कप्तान रोशित पौडेल १६ बल खेलेर ७ रन बनाउँदा आउट भए ।

सोमपाल कामी ४ रन बनाएर रनआउट हुँदा गुल्सन झा ९ रनका साथ पभेलियन फर्किए । करण केसीको ब्याटबाट पनि ४ रनमात्रै बन्यो । क्रिजमा छैटौं नम्बरमा आएका बसिर अहमद र नवौं नम्बरमा आएका नन्दन यादवले नेपालको पारि सम्हाल्दै जित नजिक पु¥याएका थिए । नन्दनले १४ बलमा २ चौका र ४ छक्काको मद्दतले ३७ रन बनाए ।

अन्तिम २ ओभरमा नेपाललाई जितका लागि २३ रन आवश्यक रहेको थियो । नन्दनले लगातार २ छक्का प्रहार गर्दै टिमको आशा जिवितै राखे । लगत्तै उनी आउट भएपछि क्रिजमा आएका ललित राजवंशीले २ बल डट खेल्दै ओभर समाप्त पारेका थिए । अन्तिम ६ बलमा जितका लागि नेपाललाई ११ रन आवश्यक रहेको थियो ।

पहिलो बल नो सहित बसिरले छक्का प्रहार गरेपछि बाँकी बलमा ४ रन आवश्यक रहेको थियो । नो बलमा उनले रन लिन सकेनन् भने त्यसपछि अर्को बलमा क्याच आउट भएपछि नेपाल ३ रनले पराजित हुँदै उप विजेता बन्यो । बसिरले ४३ बल फेस गर्दा चार छक्का र ८ चौकाको मद्दतले ८० रनको शानदार पारि खेले । कुवेतका अनुदीपले ३ विकेट लिँदा नविन राज र यासिन पटेलले दुई दुई विकेट लिए ।

नेप्से आठ अङ्कले घट्यो

काठमाडौँ ।यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आठ दशमलव ६२ अङ्कले घटेर दुई हजार छ सय ६२ दशमलव ०८ को बिन्दुमा कायम भएको छ ।

आज विभिन्न ३२२ कम्पनीका एक करोड ३१ लाख ८९ हजार ३२८ कित्ता शेयर ५४ हजार ३६१ पटक खरिदबिक्री हुँदा रू छ अर्ब २८ करोड दुई लाख ९६ हजार २४५ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा होटल तथा पर्यटन समूह शून्य दशमलव १४, लगानी एक दशमलव ६८, म्युचुअल फन्ड शून्य दशमलव २६ र निर्जीवन बीमा शून्य दशमलव ०८ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ शून्य दशमलव २१, विकास बैंक शून्य दशमलव ७७, वित्त शून्य दशमलव ८८, जलविद्युत् शून्य दशमलव ४५, जीवन बीमा शून्य दशमलव ६१ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ८४ प्रतिशतले घटेको छ । त्यस्तै लघुवित्त शून्य दशमलव २६, व्यापार एक दशमलव ४० र अन्य समूह शून्य दशमलव ८० प्रतिशतले घटेको छ ।

गुडविल फाईनान्स लिमिटेड डिबेञ्चर–२०८३ र नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिइडिबी होल्डिङ्स लिमिटेडको रू ४५ करोड ३२ लाख नौ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै राधी विद्युत् कम्पनी लिमिटेडको आठ लाख ९४ हजार पाँच सय १० कित्ता शेयर किनबेच भएको छ ।