`

प्रधानमन्त्रीद्वारा गौरादह नगर अस्पतालको शिलान्यास

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगर अस्पतालको आज शिलान्यास गरेका छन्।

नगरपालिकाको वडा न १ स्थित चौतु चोकमा आयोजित कार्यक्रममा सो अस्पताल भवनको शिलान्यास भएको हो।

कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्माण हुने अस्पतालले स्थानीयवासीका साथै छिमेकी भारतका जनताको स्वास्थ उपचारमा समेत लाभ दिनसक्ने विश्वास व्यक्त गरे। उनले आवश्यकताका आधारमा अस्पतालको सेवा विस्तार गर्दै जान सकिने जनाउँदै सूचना र प्रविधिको उपयोगबाट सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील रहेको बताए।

मुलुकलाई रचनात्मक कामबाट विकसित गराउने अभियानमा सरकार रहेकाले युवाहरूलाई स्वदेशमै व्यवसायिकता र रोजगारीमा लाग्न उनले आग्रह गरे। अस्पताल निर्माणका लागि कुल दुई बिगाहा जग्गामा रु १२ करोड ५९ लाख ७९ हजार चार सय ९६ को लागतमा २०८३ माघ १४ भित्र बन्ने गरी जे एन्ड जे निर्माण सेवासँग सम्झौता गरिएको छ।

प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा २०७५ सालमा सबै स्थानीय तहमा १५ शैयाको आधारभूत अस्पताल निर्माण गर्ने घोषणा भएकोमा जग्गा प्राप्तिमा ढिलाइका कारण गौरादहमा अस्पताल निर्माण सुरु हुन सकेको थिएन। कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबकुमार कार्कीसहित उपस्थित रहेका थिए।

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनविरूद्ध विद्रोहको मुद्दा

सियोल । दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलले गत डिसेम्बरमा अल्पकालीन सैनिक शासन लागू गरेको अभियोगमा उनीविरुद्ध सोमबार फौजदारी मुद्दा दायर गरिने भएको छ ।

उनले डिसेम्बर ३ मा राजनीतिक गतिविधि र मिडियाको सेन्सरसिप स्थगन गर्न आदेश दिएपछि देशमा सैन्य शासन लागू गर्ने प्रयास गरेका थिए । विपक्षी सांसदहरूले मतदान गरेपछि उक्त आदेश ६ घण्टा मात्र चलेको थियो।

यस विनाशकारी प्रयासका लागि दक्षिण कोरियाली संसद् नेसनल एसेम्ब्लीले युनलाई महाभियोग लगाएको थियो भने महाभियोगको प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए । संवैधानिक अदालतले अप्रिल ४ मा उनलाई राष्ट्रपतिको जिम्मेवारीबाट पूर्ण रूपमा हटाउने आदेश सुनाएको थियो ।

यद्यपि, उनले राष्ट्रपतिको सबै विशेषाधिकार गुमाइसकेका छन् । अझै पनि विद्रोहको अभियोगमा उनीविरुद्ध सोमबार आपराधिक मुद्दा दायर गर्ने तयारी गरिएको छ ।

फेब्रुअरीमा भएको प्रारम्भिक सुनुवाइका क्रममा युनका वकिलले उनको हिरासत प्रक्रियागत रूपमा त्रुटिपूर्ण भएको तर्क गरेका थिए, जुन तर्कलाई अदालतले स्वीकार गरेको थियो । हिरासत प्रक्रियागत रूपमा त्रुटिपूर्ण भएको तर्कका आधारमा उनी पक्राउ परेको ५२ दिनपछि रिहा भएका थिए ।

हप्तौँसम्म प्रहरी र अभियोजनकर्ताविरुद्ध आवाज उठाएपछि जनवरीमा उनलाई पक्राउ गरिएको थियो । उहाँ राष्ट्रपति रहेकै समय पक्राउ पर्ने पहिलो दक्षिण कोरियाली राष्ट्रपति बनेका थिए ।

दोषी ठहरिएमा युनलाई आजीवन कारावास वा मृत्युदण्डसमेत हुन सक्छ । शुक्रबार ६४ वर्षीय पूर्वनेताले राष्ट्रपति निवास खाली गरी सियोलस्थित आफ्नो निजी निवासमा पुगी आफ्ना समर्थकलाई अअभिनन्दन गरेका थिए ।

‘अब, म गणतन्त्र कोरियाको एक साधारण नागरिकमा फर्कन्छु, र म हाम्रो देश र हाम्रा जनताको सेवामा नयाँ बाटो खोज्नेछु,’ उनले सामाजिक सञ्जालमा जारी एक विज्ञप्तिमा भनेका छन् ।

युनलाई हटाएसँगै दक्षिण कोरियामा आगामी जुन ३ मा उनको उत्तराधिकारी चयनका लागि मध्यावधि निर्वाचन हुने भएको छ । त्यतिवेलासम्म यो देश कार्यवाहक राष्ट्रपति हान डक–सोद्वारा शासित रहनेछ । 

सियरा लियोनको राष्ट्रपति भवनमा आगलागी

फ्रिटाउन । सियरा लियोनको मध्य फ्रिटाउनस्थित राष्ट्रपति भवनभित्र शनिबार आगलागी भएको प्रत्यक्षदर्शी र सरकारले बताएका छन्। आगलागीका समयमा राष्ट्रपति जुलियस माडा बायो घटनास्थलमा नभएको बताइएको छ।

राष्ट्रपति बायो एक सम्मेलनमा भाग लिन हाल टर्की भ्रमणमा रहेका छन्। अग्निनियन्त्रकहरूले पाँच घण्टापछि आगो नियन्त्रणमा लिएको दमकल सेवाका एक वरिष्ठ अधिकारीले एएफपीलाई बताए।

आगलागीबाट कोही पनि हताहत नभएको तर भवनमा रहेका कागजपत्र र फर्निचर जलेर नष्ट भएको अधिकारीहरुले बताएका छन्।

स्टेट हाउसको तेस्रो र चौथो तल्लामा विस्फोट भएको र दोस्रो तल्लामा रहेको राष्ट्रपतिको कार्यालयमा भने केही नभएको सूचना मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

स्थानीय समयअनुसार अपराह्न ४  बजे (स्थानीय समयअनुसार १६ :00 बजे) सुरु भएको आगलागीको कारण खुल्न नसकेको बताइएको छ।

सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोमा ठूलो सेतो भवनको माथिल्लो तलाको झ्यालमा आगोको ज्वाला र बाक्लो कालो धुवाँको मुस्लो देखिएको छ।

स्थानीय बासिन्दा मोहम्मद कामाराले एएफपीसँग भने, “शनिबार साँझ भवनको झ्याल र माथिल्लो तलाबाट धुवाँ र आगो निस्केको देखिएको थियो।”

प्रहरीले भवन वरपरका सडकलाई घेराहालेर सुरक्षाकर्मी र सैनिक परिचालन गरेको थियो।

पेरुका राष्ट्रपतिको ‘रोलेक्सगेट’ काण्ड खारेज

लिमा । पेरुका राष्ट्रपति डिना बोलुआर्टेमाथि ‘रोलेक्सगेट’ घडी उपहार लिएको आरोपमा महाभियोगको तयारी रोकिएको छ। संसदीय छानबिन उपसमितिले घडी गैरकानुनी उपहार (घुस) नभई उनको साथीले पैसा तिरेर किनिदिएको ठहर गरेको छ। यसले बोलुआर्टेलाई भ्रष्टाचारको आरोप र महाभियोगबाट जोगाएको छ।

पेरुको कंग्रेसले उनिविरुद्धको भ्रष्टाचार अनुसन्धान रोकेको छ। उपसमितिले शुक्रबार यो मुद्दा खारेज गर्न सिफारिस गरेको थियो, जसले राष्ट्रपतिको अलोकप्रियता थप नबिगारोस् भन्ने उद्देश्य राखेको छ।

सन् २०२६ को जुलाईमा ६२ वर्षीया बोलुआर्टेले पद छोड्दा र राष्ट्रपतिको उन्मुक्ति गुमाउँदा यो मुद्दामा फेरि अनुसन्धान हुन सक्छ।
सन् २०२४ को मार्चमा राष्ट्रपतिसँग अघोषित महँगो रोलेक्स घडी र गहना फेला परेपछि ‘रोलेक्सगेट काण्ड’ सुरु भएको थियो।

बोलुआर्टेले अभियोजकलाई ती घडी साथीले पैसा तिरेर किनिदिएको बताएकी थिइन्, तर महान्यायाधिवक्ताले कंग्रेसमा यसलाई घुसका रूपमा औपचारिक आरोप लगाएका थिए।

राष्ट्रपतिको समर्थन दर एकल अङ्कमा छ र उनको संसद्मा कुनै पार्टी वा नेतृत्व छैन, तर सत्तारूढ कन्जरभेटिभ पार्टीहरूको समर्थन छ। सन् २०२३ मा नाकको शल्यक्रिया गर्न दुई हप्ता अनुपस्थित भएको विषयमा उनले छुट्टै छानबिनको सामना गरेकी थिइन्। उनले यो शल्यक्रिया कस्मेटिक नभई स्वास्थ्य उपचारका लागि भएको बताएकी थिइन्।

पेरु लामो समयदेखि राजनीतिक अस्थिरतामा छ। पछिल्ला आठ वर्षमा त्यहाँ छ जना राष्ट्रपति भएका छन्। सन् २०२२ को डिसेम्बरमा बोलुआर्टेले वामपन्थी राष्ट्रपति पेड्रो क्यास्टिलोलाई विस्थापित गरी पद सम्हालेकी थिइन्। उनी क्यास्टिलोकी उपराष्ट्रपति थिइन्। पेरुमा अर्को राष्ट्रपति र विधायिका निर्वाचन सन् २०२६ को अप्रिलमा हुनेछ।

जात्रामय भएको छ भक्तपुर, नौदिने बिस्काको महिमा के छ ?

-रमेश गिरी, भक्तपुर । नयाँवर्षको आगमनलाई देशभर स्वागत गरिरहँदा भक्तपुर भने यतिखेर जात्रामय बनेको छ । नयाँवर्षको सङ्घारमा भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने बिस्काः अर्थात् बिस्केट जात्राले यतिखेर स्वदेशी तथा विदेशी पर्यटकलाई समेत आकर्षित बनाएको छ । यहाँका नेवार समुदायले भव्य रुपमा बिस्काः जात्रा मनाउन स्वदेशका परिवार आफन्त मात्रै नभई विदेशमा रहेका आफन्त र परिवार पनि घर फर्कने गर्दछन् । भक्तपुर जिल्लाभरिनै हर्षोल्लासका साथ मनाइने यो जात्रा ऐतिहासिक मात्रै नभई तान्त्रिक एवं धार्मिक विधिमा मनाउने गरिन्छ ।

यस्तो छ बिस्काः जात्राको इतिहास

बिस्काः जात्राका ऐतिहासिक पक्षका सम्बन्धमा ऐतिहासिक धेरै पक्षहरु फेला परेका छन् । संस्कृतिविद् एवं इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार भक्तपुर टौमढीस्थित यक्षमल्लको पालाको शिलालेखमा बिस्काःलाई विश्व जात्रा भनी उल्लेख गरिएको छ ।

भक्तपुरको राजदरबारमा नेपाल सम्वत् ८०८ र ८१८ को राजा जितामित्र र भूपतिन्द्र मल्लको पालामा लेखिएको अभिलेखमा बिस्क्यात शब्द उल्लेख रहेको छ । अझ त्यसअघि थिमिमा प्राप्त नेपाल सम्वत् ५०० को तमसुक पत्रमा विश्व केतुलाई सम्झाउने पर्यायका रुपमा बिसिक शब्द उल्लेख भएको पाइएको छ ।

बिस्काः जात्रा परापूर्वकालमा दुई दिनमात्र मनाइन्थ्यो । बिस्काः जात्राको मूल जात्रा भनेकै चैत्र शुक्ल मसान्तको दिन विश्वकेतुसहित योसीं द्यः (लिङ्गो) उठाई त्यसमा एक जोडा ध्वजा फहराउनु अनि वैशाख सङ्क्रान्तिको दिन उक्त योसीं ढाल्नु हो प्रा डा श्रेष्ठ भन्छन् । यक्ष मल्लको टौमढीको ने सं ५६१ को शिलापत्रमा यसलाई ‘विश्वजात्रा’ भनिएको छ ।

ने सं ६४१ को भूमिसम्बन्धी तमसुक ताडपत्रमा ‘विसक जात्रा’ उल्लेख छ । ने सं ७१२ देखि जात्रा सम्बन्धमा टिपिएको ने संं ९१८ मा लेखिएको ठ्यासफुमा समेत विश्वजात्रा नै भनिएको उनी बताउँछन् । यता ने सं ८०८ को राजा जितामित्र मल्लको अभिलेखमा ‘विसक्यात’ र भक्तपुरका अर्का राजा भूपतिन्द्र मल्लको मालती चोकको अभिलेखमा पनि बिसक्यात उल्लेख छ ।

लिच्छवी वंशको लामो इतिहासमा प्राचीन भक्तपुर नगरको पतनपछि मध्यकालमा लिच्छवी राजा आनन्द देवले स्थापना गरेको भक्तपुर विशाल नेपालमण्डलकै राजधानीका रुपमा यक्षमल्लसम्म निरन्तर रह्यो । यस अवधिको करिब ३६७ वर्षजति भक्तपुर नेपाल मण्डलकै राजधानी रहेको थियो ।

त्यतिबेला भक्तपुर नगरको वरपर प्रशस्त जङ्गल रहेको हुँदा सबैतिरबाट जात्रा हेर्न सकियोस् भनेर ठूलो र अग्लो काठको लिङ्गो उठाउने गरियो । जसमा पछि एक जोडा ध्वजा थपियो । यसरी दुई दिनमात्र चल्ने जात्रामा काशी विश्वनाथ र भद्रकालीकोसमेत जात्रा गर्ने प्रचलन मल्लकालको मध्यतिर सुरु भएको भनाइ छ ।

भक्तपुरका राजा राय मल्लको समयमा भक्तपुर अधीनस्थ कैयौँ राज्य स्वतन्त्र हुँदै भक्तपुरको भूभाग सानो हुँदै गएकालाई उनका छोरा भुवन मल्लले आफ्नो अधिकार भएको टोखा, सुनाकोठी, थिमि, नगदेश, बोडे, साँगा, श्रीखण्डपुर चौकोटजस्ता ठाउँहरुमा समेत बिस्काः मनाउने चलन चलाएको बताइन्छ ।

भक्तपुरको बिस्काः जात्रालाई भैरव र भद्रकालीको रथ बनाई जात्रा चलाउनेदेखि अन्य देवदेवीहरुको समेत जात्रा पूजापर्व गर्ने परम्परा बसाल्न भक्तपुरका विश्व मल्ल, गङ्गारानी, जगज्र्याेति मल्ल, जगतप्रकाश मल्ल, जितामित्र मल्ल, भूपतिन्द्र मल्लको योगदान रहेको बताइन्छ ।

अहिलेसम्म तलेजुमा बिस्काः जात्राको सङ्कल्प पूजामा विश्वजात्रा महापर्व भनेर सम्बोधन गरिने बताउदै उनले संस्कृत शब्द विश्वकेतु पछिल्लो कालखण्डमा नेवारी नामकरणअनुसार बिसिक, बिस्क हुँदै बिस्का हुन पुगेको प्रा डा श्रेष्ठ बताउँछन् । त्यसैको बिस्काबाट अपभ्रंश भएर बिस्केट हुन पुगेको उनको भनाइ छ । नेवारीमा अहिले पनि यो जात्रालाई बिस्काः जात्रा भन्ने गरिन्छ । विक्रम सम्वत्अनुसार सौरमासका आधारमा चल्ने बिस्केट जात्रा बिःसीत (नागनागिन म¥यो) भन्ने भावका आधारमा लिच्छवीकालदेखि मनाउँदै आएको हो भन्ने पनि भनाइ छ ।

यसरी सुरु हुन्छ बिस्काः

विश्वमा नेपालको संस्कृतिलाई चिनाउने महत्वपूर्ण जात्रामध्ये एक मानिने बिस्केट जात्राको पहिलो दिन चैत २८ गते बिहान स्थानीय बासिन्दा, मध्याह्नमा गुठी संस्थानबाट सरकारी पूजा र त्यसपछि टोलको पूजा सकेपछि स्थानीय काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीन तल्ले भैरवनाथको रथमा खड्ग, तरबार, निशान राखिसकेपछि भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई भैरवनाथ र भद्रकालीको रथ तानेर सुरु हुने गर्दछ ।

पाँचतल्ले मन्दिर प्राङ्गणबाट भैरवको रथलाई ठने (माथिल्लो) र क्वने (तल्लो) क्षेत्रमा तानेर लैजाने परम्परा रहेको छ । यसरी तानातान गर्ने क्रममा थनेतर्फ पहिला तानेर लैजानसके दत्तात्रयसम्म लैजाने र त्यहाँबाट तानेर पुनः टौमढी हुँदै क्वनेतर्फको टेखापुखुसम्म ल्याएर त्यहाँबाट पनि फर्काएर गःहिटीमा रथ पु¥याएपछि पहिलो दिनको जात्रा सम्पन्न हुने गर्दछ । यस वर्ष रथलाई वंशगोपाल पुर्याएर पुनः राति १ः०० बजे गहिटी ल्याएर राखिएको थियो ।

जात्राको मुख्य आकर्षण पहिलो दिन २८ गते र अन्तिम दिन ५ गते रथ तानातान गर्नु हो भने ३० गते ल्यासिंखेलमा ५५ हात लामो लिङ्गो उठाउने र वैशाख १ गते दिनभर जात्रा गरेर साँझ लिङ्गो ढालेर मनाउनु हो ।

जात्राको किंवदन्ती

जात्राको पहिलो किंवदन्तीअनुसार प्राचीन भक्तपुर राज्यको दरबारकी राजकुमारीसँग विवाह गर्न बलवान् राजकुमारको खोजी गर्ने क्रममा विभिन्न राज्यबाट राजकुमारहरु आउने, विवाह गर्ने र पहिलो दिन राजकुमारीसँग रात बिताउने क्रममा राजकुमारीको नाकको प्वालबाट दुईवटा नागनागिन निस्केर राजकुमारलाई डसेर मार्ने गर्दथे । धेरै राजकुमारको त्यसरी मृत्यु भएपछि एक तान्त्रिकले एक रात आफ्नो तन्त्र विद्याबाट राजकुमारीको नाकबाट निस्केका नागनागिनलाई तरबारले काटेर झुण्ड्याएको खुसीयालीमा राजाले यो जात्रा मनाउन लगाएको किंवदन्ती छ ।

यसबारेमा इतिहासविद् प्रा डा श्रेष्ठ बिस्का जात्राको प्रचलित किंवदन्ती गलत भएको बताउँछन् । उनी भन्छन्, “यो जात्रा विश्वनाथ भैरव र उनकै शक्ति भद्रकालीको हो । लिङ्गोमा फहराइने एकजोडी हलिपत (ध्वजा) साक्षात भैरव र भद्रकालीको हो । यसलाई जबर्जस्ती बि को अर्थ सर्प र स्यातको अर्थ मारियो भन्ने अर्थमा बिस्क, बिस्का, बिस्केट चल्दै आएको भनेर भ्रम फैलाउँदै जात्राको धार्मिक तथा ऐतिहासिक पक्षलाई बिगार्न खोजिएको छ ।”

यो जात्राका विषयमा अहिलेसम्म चलेका प्रमाण, अभिलेखक र मल्लकालीन राजा जगत्प्रकाश मल्लदेखि शाह वंशीय राजा त्रिभुवन, ज्ञानेन्द्र र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले फेरेका हलिपतामा हेर्न हो भन्ने विश्व केतु, वीर ध्वजा लेखिएको छ ।

उनका अनुसार यो विश्वनाथको ध्वजा विश्वध्वजा हो । वीर ध्वजा हो भन्ने स्पष्ट छ । यसमा वीर भनेर भैरवको बाहान वीर बेताललाई भनिएको हो । त्यस मानेमा पनि यो ध्वजा विश्वध्वाजा र वीरध्वाजा मान्न सकिन्छ । तर जनमानसमा यो नागनागिनी भनेर प्रचलित छ यो गलत हो । यो जात्रा किराँतहरुसँगको युद्धमा विजयी भएपछि लिच्छवी राजाहरुले खुसीयालीमा दुई दिन मनाएको र पछि मल्ल राजाले यसलाई भैरव र भद्रकालीको जात्रा थप गरी आठ रात नौ दिन पुर्याएको हो ।

आठ रात नौ दिन जात्रामा के के हुन्छ ?

प्राचीनकालदेखि चल्दै आएको बिस्का जात्रामा नकिंजु (खुसिं) अजिमा भद्रकालीको द्यःखः (रथ) जात्रा समेत थपगरी काशी विश्वनाथ भैरवको जात्रासमेत समावेश गरी बिस्का जात्रा सञ्चालन गर्दै भक्तपुरवासीले मोहनी नखः(पर्व) पछिको प्रमुख चाडपर्वका रुपमा मनाउँदै आएको पाइन्छ ।

जात्राको पहिलो दिन भैरवनाथको रथलाई टौमढीबाट तल र माथिका बासिन्दाले तान्ने गर्दछन् । जता तान्न सक्यो उतै लैजाने परम्पराअनुसार माथि लगे दत्तात्रयसम्म र तल लगे नासमनासम्म पुर्याएर फेरि फकाएर गहिटी पुर्याउनपर्ने परम्परा छ ।

भैरवको रथको अगाडि भागमा छ वटा र पछाडि चार वटा लामो लठारो (डोरी) समातेर दुवैतर्फका जात्रालुहरूले रथलाई ‘होस्से..हैसे…हा..हा..’ गर्दै आफ्नोतर्फ तानेर जात्रा मनाइन्छ । रथ तान्ने जात्रामा हजारौँ स्थानीय बासिन्दाहरूले रथको अगाडि पछाडि डोरी तानातान गरेर आआफ्नो टोलमा लैजान खोज्छन् ।

रथ तानातान गर्नु नै यस जात्राको मुख्य आकर्षक हो, बिस्केट जात्राको पहिलो दिनलाई द्यो क्वहाँ विजाइगु (देवता तल्ल आगमन हुने) भनिन्छ । त्यस दिन बेलुकी सम्पूर्ण देवगणहरु आआफ्ना देवगृहको आसनबाट तल विराजमान गराइन्छन् । यसलाई स्थानीय भाषामा द्यःक्वहाँ बिज्याकेगु भन्ने गरिन्छ । दोस्रो दिन भद्रकाली रथलाई गःहिटीस्थित खलाटोलमा अजिमा द्योछें (भद्रकाली देवघर) मा पु¥याइन्छ । तेस्रो दिन गःहिटीमा भैरवनाथलाई बली चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ ।

उक्त बलिपुजाको मासु प्रसादका रुपमा लाकुलाछेवासीलाई बाँडिन्छ जसलाई स्थानीय भाषामा स्याःको त्याःको भनिन्छ । बिस्केटको चौथो दिन पुरानो वर्षको अन्तिम दिन चैतको ३१ गते बिहान तालाक्वस्थित कुमाले टोलमा हात नभएको लिङ्गो (ल्हामरु म्ह) उभ्याइन्छ भन्ने साँझपखः तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ५५ हात लामो लिङ्गो उभ्याइन्छ । पुरानो वर्षको विदाइ र नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा लिङ्गो उभ्याउने गरिन्छ ।

भैरवनाथको प्रतीक मानिने लिङ्गोको शीर्ष भाग र हातहरू नौलो कपडाले बेरिएको हुन्छ । लिङ्गो कोखामा झुण्ड्याइएका दुई ध्वजालाई वीरध्वजा, विश्वध्वजा, आकाशभैरवका ध्वजासमेत भनिन्छ । एकजोडी ध्वजाहरू फुकाएपछि एउटा संवत्सर फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ ।

लिङ्गो उभ्याउन बाधेको आठ वटा डोरीलाई अष्टमात्रिकाको प्रतीक मानिन्छ । लिङ्गो उभ्याउने क्रममा नवदुर्गा देवगण यहाँ उपस्थित हुन्छ । लिङ्गो उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गर्ने चलन रहेको छ । बिस्केट जात्रा हेर्नाले सत्रुहरू नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले त्यसैले यस जात्रालाई ‘शत्रुहन्ता’ जात्रा पनि भनिन्छ । यस दिन भैरवनाथ र भद्रकालीको रथ पनि यसै स्थानमा पुर्‍याएर लिङ्गो उठाउनेबित्तिकै स्थानीय बाराही देवीको तिंप्वा जात्रा मनाइन्छ ।

बिस्केटको पाँचाैँ दिन नयाँ वर्ष वैशाख १ गतेका दिन दिनभर जात्रा गरि साँझ लिङ्गो ढालिन्छ । त्यसकोलगत्तै खँला टोलमा (रथ जुधाउने टोलमा) भैरवनाथ र भद्रकालीको रथलाई एकआपसमा जुधाइने परम्परा रहेको छ । जसलाई स्थानीय भाषामा ‘द्यो ल्वाकिगु’ भनिन्छ । साँझपख दुमाजु देवीको जात्रासमेत गरिन्छ । लिङ्गो उभ्याउने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख जात्रा हो ।

जात्राको छैठो दिन नगरको मध्यभागमा महाकाली र महालक्ष्मीको खट् जुधाउने जात्रा, सातौँ दिन ब्रम्हायणी र महेश्वरीको तिप्वाजात्राका साथ खट् जुधाउने जात्रा हुन्छ । जात्राको आठौँ दिन भक्तपुर नगरमा रहेका सम्पूर्ण देवीदेवताको सगुण पूजा जात्रा हुन्छ । यसलाई स्थानीय भाषामा ‘द्यो स्वंगँ विइगु’ भनिन्छ ।

बिस्केट जात्राको अन्तिम दिन वैशाख ५ गतेका दिन भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा समापन हुने गर्दछ । यस दिनलाई स्थानीय भाषामा द्यो (देवता) थाहा विज्याइगु अर्थात् देवतामाथि सवार हुने भनिन्छ । यस दिन बिस्केट जात्रा पहिलो दिनजस्तै भैरवनाथ र भद्रकालीको रथ तानेर सम्पन हुने गर्दछ । जात्रा अवधिमा भक्तपुर नगरभित्रका सम्पूर्ण अष्टमातृका देवीहरु, गणेश, भैरव, कुमारी आदि देवदेवीहरुको जात्राले नगर शोभायमान हुन्छ ।

नेपाललाई कुवेतले दियो १७५ रनको लक्ष्य

काठमाडौं । कुवेतले हङकङमा जारी चारदेशीय ट्वान्टी–२० शृंखलाको फाइनलमा नेपाललाई १७५ रनको लक्ष्य दिएको छ ।

हङकङको मोङ कोकमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७४ रन बनायो ।

कुवेतका ओपनर रविजा सन्द्रावरुनले आक्रामक ब्याटिङ गर्दै ६३ रन बनाए । उनले ३६ बलमा ६ चौका र चार छक्का प्रहार गरे ।

यस्तै, अर्का ओपनर क्लिन्टो आन्टोले १४ बलमा एक चौका र तीन छक्कासहित २६ रन थपे । यी दुईले पहिलो विकेटका निम्ति ४.२ ओभरमा ४९ रनको साझेदारी गर्दै कुवेतलाई बलियो सुरुवात दिलाएका थिए ।

उस्मान पटेलले २३ रन जोड्दा मित भावसरले १६ र कप्तान मोहम्मद अस्लामले १३ रन बनाए । लिग चरणबाट शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको नेपालले तीन खेलबाट पाँच अंक जोडेको थियो । यसअघि, लिग चरणमा भएको खेलमा नेपालले कुवेतविरुद्ध ६ विकेटको जित निकालेको थियो ।

प्रधानमन्त्रीबाट तीन जिल्लाका सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापा, तेह्रथुम र ताप्लेजुङका १५ सामुदायिक विद्यालयलाई कम्प्युटरलगायत शैक्षिक सामग्री वितरण गरेका छन्।

सामाजिक उत्तरदायित्वअन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय कोषको रकमबाट आज दमकमा आयोजित कार्यक्रममा ती सामग्री वितरण गरिएको हो।

प्रधानमन्त्री ओलीले शैक्षिक गुणस्तर वृद्धिका लागि सरकारी र निजी क्षेत्रले यस्ता शैक्षिक सामग्री उपलब्ध गराई सहयोग गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललगायत सहभागी थिए।

जिब्रो छेड्ने जात्राको पूर्वतयारीः हात नभएको लिङ्गो उठाइयो

भक्तपुर। भक्तपुरको प्रसिद्ध बिस्काः जात्रा अन्तर्गत आइतबार तालाक्वस्थित कुम्हाले टोलमा ल्हा मरुम्ह योसिँद्योः अर्थात हात नभएको लिङ्गो ठड्याइएको छ ।

पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाइने उक्त योसिँद्योःकोे टुप्पोमा प्रसादका रूपमा हरियो घाँस र फूल राखिएको हुन्छ । प्रत्येक वर्ष चैत मसान्तका दिन योसिँद्योः ठड्याउने र वैशाख ५ गतेका दिन ढालेपछि नौ दिन आठ रात लामो बिस्का जात्रा सम्पन्न हुने परम्परा छ ।

संस्कृतिविद्हरुका अनुसार, राज्य र स्थानीय प्रजापती समुदायबीच मनमुटाव भएपछि मल्लकालमा नै राज्यद्वारा उभ्याइने योसिँख्योको लिङ्गोभन्दा पहिला नै स्थानीयद्वारा हात नभएको लिङ्गो उभ्याउने प्रचलन सुरु भएको हो ।

हात नभएको लिङ्गो ढालेपछि बिस्केट जात्राको अन्त्य हुने भएकाले पनि नेवार समुदायमा यो लिङ्गो उभ्याउनुको ठूलो महत्व रहेको संस्कृतिविद्हरुको भनाइ छ ।

लिङ्गो जात्रा हेर्नाले सुख, शान्ति, समृद्दि, सहकाल आउनुका साथै शत्रु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहको छ ।

सरकारलाई उच्चस्तरीय आर्थिक सुधार आयोगको सुझाव अनुरुप बजेट निर्माण गर्न अध्यक्ष ढकालको अनुरोध

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उच्चस्तरीय आर्थिक सुधार आयोगका सुझावअनुरुप बजेट निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् ।

अर्थ मन्त्रालय, राजस्व परामर्श समितिले रुपन्देहीमा आयोजना गरेको बजेट तथा राजस्व नीतिसम्बन्धी अन्तरक्रिया कार्यक्रममा आयोगका सदस्यसमेत रहेका अध्यक्ष ढकालले आयोगको सुझावअनुरुप बजेट निर्माण गर्दा अर्थतन्त्रका धेरै विषय सम्बोधन हुने बताए ।

उनले बजेट जनता केन्द्रित विकास, वर्तमान आवश्यकता र प्राथमिकताका आधारमा उत्पादन र रोजगारी वृद्धि गर्ने गरी ल्याउनुपर्नेमा जोडदिँदै सरकारले राजस्व सङ्कलनलाई मात्र प्राथकितामा राख्दा रोजगारी सिर्जना र उत्पादन वृद्धि तथा आयात प्रतिस्थापनको विषय ओझेलमा परेको बताए ।

अध्यक्ष ढकालले विगत दुई वर्षदेखि विप्रेषणको आन्तरिक कारोबार शून्य बनाइएकाले साना व्यवसायी तथा विद्यालय, कलेज, अस्पताललगायत सङ्गठित सङ्घसंस्थामा आवश्यक पर्ने सानो रकम प्रयोगमा सर्वसाधारणले समस्या भोग्नु परेकाले यसलाई पुनः सुचालु गर्नुपर्नेमा जोड दिए ।

वीरगञ्जमा कर्फ्युको समय थप

वीरगंज । पर्साको वीरगञ्जमा क्षेत्रमा लगाइएको कर्फ्यु आदेश आइतबार राति १२ बजेसम्मका लागि लम्बिएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आइतबार मध्यान्ह सूचना जारी गर्दै राति १२ बजेसम्मका लागि कर्फ्यु आदेश थप गरिएको जानकारी दिएका छन् ।

पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटलाई चार किल्ला मानेर कफ्र्यु आदेश जारी गरिएको छ । शनिवार हनुमान जयन्तीको शोभायात्राका क्रममा तनाव सिर्जना भएपछि कफ्र्यू आदेश जारी गरिएको थियो ।

सौराहामा आन्तरिक पर्यटकको चहलपहल बढ्यो

चितवन । नेपाली नयाँ वर्ष मनाउन जिल्लाका पर्यटकीय क्षेत्रमा पर्यटक आउन थालेका छन्। स्वदेशीसँगै विदेशी पर्यटक आउन थालेका हुन्। लामो समययता पर्यटकको सङ्ख्या न्यून रहँदै आएको सौराहा क्षेत्रमा पछिल्ला दिनमा पर्यटकको सङ्ख्या बढ्दै गएको छ।

आज साँझसम्ममा सबै होटल भरिने अपेक्षा व्यवसायीहरूको छ। क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष ओमप्रकाश पाण्डेका अनुसार सौराहामा नयाँ वर्ष मनाउन आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ। यद्यपि वीरगञ्जको कर्फ्युलगायत आन्दोलनका कारण केही प्रभाव पर्यटन क्षेत्रमा देखिएको छ। यसका साथै सडकका कारण पनि प्रभाव देखिने उनले बताए। उनले भने, ‘विभिन्न कारणले प्रभाव पारे पनि नयाँ वर्षको साँझमा सौराहाका होटल भरिन्छन्।’

विगतका वर्षहरूमा नयाँ वर्षको अघिल्लो साँझ पर्यटकले कोठा नपाएर फर्किनुपर्ने अवस्था हुन्थ्यो। त्यस्तो अवस्था भने यस वर्ष नआउने उनको भनाइ छ। माघयता सौराहामा पर्यटकको आगमन कम हुँदै आएको थियो।

संघका उपाध्यक्ष गुणराज थपलियाले केही होटल शुक्रबारदेखि नै भरिएको जनाउँदै अहिलेको बुकिङ राम्रो रहेको बताए। उनले भने, ‘मेरो होटल केही दिनयता भरिएको छ, साथीहरूले पनि बुकिङ राम्रो हुँदै गएको बताएका छन्।’ यद्यपि विगतको तुलनामा पर्यटकको आगमन कम रहेको उनको भनाइ छ।

शुक्रबार र शनिबार परेकाले पनि पर्यटकको आगमन क्रमशः बढ्दै गएको उनी बताउँछन्। संघका पूर्वअध्यक्ष सुमन घिमिरे विद्यालयमा बिदा र शुक्रबार-शनिबार परेकाले पर्यटकको आगमन बढ्दो रहेको बताउँछन्। उनले भने, ‘साँझसम्म सौराहाका सबै होटल भरिन्छन्।’

सौराहामा रेष्टुरेन्ट एन्ड बार एसोसिएसनले आज साँझ सांकृतिक कार्यक्रम आयोजना गरेको जनाउँदै उनले नयाँ वर्षमा रमाउन आउने धेरै नेपाली रहेको बताए। होटल सिद्धार्थ भिलासा वनवासका महाप्रबन्धक प्रकाश न्यौपानेले शुक्रबारदेखि मंगलबारसम्म होटलका ३४ कोठा पूरै भरिएको बताए।

आएका पर्यटकमध्ये आधाभन्दा बढी विदेशी रहेको उनको भनाइ छ। पोल्याण्ड, चीन, भारतलगायत देशबाट पर्यटक धेरै आएका छन्। उनले भने, ‘नयाँ वर्षमा होटलमा कोठा छैन भन्दैमा फुर्सद छैन।’ अरु बेलामा पर्यटकको आगमन कम भए पनि यो बेला भरिभराउ हुने गरेको उनको भनाइ छ।

जंगल क्राउन होटल पनि केही दिनयता भरिएको छ। होटलका महाप्रबन्धक सन्तोष गिरीका अनुसार दुई महिनायता होटलमा पर्यटकको सङ्ख्या राम्रो छ। शनिबारबाट सबै कोठा भरिएका छन्। अब ‘सिजन’ भएकाले पर्यटकको सङ्ख्या बढ्दै जाने उनले बताए।

रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) सौराहाका महासचिव नवीन नेपालले आज साँझ नयाँ वर्ष विशेष कार्यक्रम राखिएको बताए। उनका अनुसार ख्यातिप्राप्त कलाकारको प्रस्तुति हुने भएकाले पर्यटकको सङ्ख्या उल्लेख हुने अपेक्षा गरिएको छ। नेपाली नयाँ वर्ष भएकाले नेपाली पर्यटकलाई लक्षित गरी कार्यक्रम गरिएको नेपालले बताए। उनले भने, ‘साँझ अबेरसम्म सौराहामा रमाएर फर्किने पर्यटक पनि हुन्छन्।’

नयाँ वर्ष प्रारम्भसँगै सौराहा आउने पर्यटक चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा हात्ती, जीप, पैदल, डुंगा सयर गर्ने गर्दछन्। जंगल सफारीका लागि सौराहा विश्वप्रसिद्ध पर्यटकीयस्थल हो। 

वर्तमान सरकार धेरै अगाडिसम्म नजाने परिस्थिति बन्दैछः प्रचण्ड

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डले वर्तमान सरकार धेरै अगाडिसम्म नजाने परिस्थिति सिर्जना भएको बताएका छन् ।

चितवनको भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले आफूहरुको ध्यान सरकारतिर नगएपनि परिस्थितिले सरकार लामो नजाने बताए ।

शिक्षक, डाक्टर, नर्स र राजनीतिक दलहरु समेत वर्तमान सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिएको भन्दै अध्यक्ष प्रचण्डले परिस्थिति निकै गम्भीर र पेचिलो बनेको बताए ।

अध्यक्ष प्रचण्डले २०८२ सालमा राम्रो काम गर्नका २०८१ सालले आधार भने दिएको बताए । उनले नयाँ वर्षमा २०८२ सालमा जनता र राष्ट्रको आवश्यकता अनुसार अगाडि बढ्ने संकल्प गर्नुपर्ने बताए ।

सुनको मूल्य निरन्तर बढ्दो, तोलाको एक लाख ८६ हजार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार ३ हजार ९०० रुपैयाँले बढेर १ लाख ८५ हजारमा पुगेको सुन आज १ हजारले बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य १ लाख ८६ हजार कायम भएको छ। सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ।

आज एक तोला चाँदीको मूल्य १९ सय ६० रुपैयाँ पुगेको छ। शुक्रबार एक तोला चाँदीको मूल्य १९ सय ५ रुपैयाँ कायम भएको थियो।

विपद्को एक वर्ष : आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु

काठमाडौँ । गएको एक वर्षमा विपद्जन्य घटनामा ७४५ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षमा आठ हजार ८६१ वटा विपद्का घटना घटेको र ती घटनामा परी ७४५ जनाको मृत्यु भएको हो ।

ती घटनामा परी ६९ जना बेपत्ता भएका र एक हजार ७०२ जना घाइते भएका प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिए । उनका अनुसार एक वर्षमा विपद्बाट १८ हजार ९९१ घरपरिवार प्रभावित हुन पुगेका छन् । कुल रु तीन अर्ब १३ करोड बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ ।

कुन घटनामा कति मानवीय क्षति ?

सबैभन्दा बढी पहिरोका कारण ३५१ जनाको ज्यान गएको छ । त्यसपछि बाढीबाट ९७, चट्याङबाट ७८ र आलागीबाट ७७ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । भारी वर्षाका कारण आठ, जनावरको आक्रमणबाट ४३, लेक लागेर २४, हवाई दुर्घटनामा २३, सर्पदंशबाट १९ जनाको मृत्यु भएको छ ।

त्यसैगरी, डढेलोबाट १०, हुरीबतासका कारण सात, डुङ्गा पल्टेर एक र अन्य विविध कारणबाट सात जनाको मृत्यु भएको छ । पहिरोबाट ४८, बाढीबाट १८ र हिउँ पहिरोमा परेर तीन जना बेपत्ता भएका छन् ।

सबैभन्दा बढी आगलागीका घटना

विपद्जन्य घटनाका सङ्ख्या अध्ययन गर्दा सबैभन्दा बढी आगलागीका घटना यस वर्ष भएका छन् । विसं २०८१ वैशाख १ देखि चैत २९ गतेसम्मको तथ्याङ्कअनुसार आगलागीका मात्र चार हजार १४५ वटा घटना भएका छन् । त्यसपछि डढेलोका एक हजार १९५ वटा र पहिरोका एक हजार पाँच घटना भएको छ ।

त्यस्तै बाढी ४१८, भारीका वर्षाका ५६८, चट्याङका ४१८, जनावर आक्रमणका ४७७, लेक लागेका १११ वटा घटना भएका छन् । हवाई दुर्घटनाका दुई, सर्पदंशका ८४, हावाहुरीका ३४९, डुङ्गा पल्टेका एक, हिउँ पहिरोका छ, भूकम्पका ७४, असिनापानी एक र अन्य सातवटा विपद्जन्य घटना भएको प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

सरकारी कर्मचारीलाई संवैधानिक निकायमा नियुक्ति गर्दा दुई वर्षको ‘कुलिङ पिरियड’ राख्न कोइरालाको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उच्च पदस्थ सरकारी कर्मचारीलाई संवैधानिक निकायमा नियुक्ति गर्दा दुई वर्षको ‘कुलिङ पिरियड’ राख्नुपर्ने बताएका छन् ।

आइतबार सामाजिक संजालमार्फत कोइरालाले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘उच्च पदस्थ सरकारी कर्मचारीहरुलाई संबैधानिक निकाय, राजदुत वा अन्य पदमा नियुक्ति गर्दा कम्तीमा दुई वर्षको कुलिङ समय राख्नु पर्दछ । यसले पारदर्शिता बढाउने र कन्फिल्क्ट अफ ईन्ट्रेष्टलाई कम गर्न मद्दत गर्दछ ।’

संसदीय उपसमितिले राज्य व्यवस्था तथा सुशासन समितिलाई राजनीतिक नियुक्तिका लागि कर्मचारीलाई एक वर्ष ‘कुलिङ पिरियड’ राख्नुपर्ने सुझावसहितको प्रतिवेदन बुझाएको छ । निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले १ वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति नपाउने व्यवस्था गरिएको छ, तर सरकारले गर्ने कूटनीतिक नियुक्ति वा नेपालको संविधानबमोजिम न्यायपरिषद्को सिफारिसमा न्यायाधीश पदमा हुने नियुक्ति पाउन बाधा नपुग्ने उल्लेख गरिएको छ ।

गाजामा इजरायली ‘शत्रुता’ अन्त्य भएपछि मात्र हमासले बन्धक मुक्त गर्ने

गाजा । गाजा पट्टीमा इजरायली ‘शत्रुता’ को समाप्तिको सर्तमा इजरायली बन्धकहरूको रिहाई हुने हमासले बताएको छ ।

प्यालेष्टिटनी लडाकू समूह हमासले भनेको छ, “समीकरण स्पष्ट छ । शत्रुताको अन्त्यको बदलामा बन्धकहरूको रिहाई हुनेछ। विश्वले यसलाई स्वीकारेको छ, तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यसलाई अस्वीकार गर्नुभएको छ।”

हमाससँग निकट इजिप्टका दुई स्रोतले इजरायल र इजिप्टका अधिकारीहरूले सम्भावित युद्धविराम र बन्धक मुक्त सम्झौतासम्बन्धी मस्यौदा प्रस्तावहरू आदानप्रदान गरेको बताएका छन्।

स्रोतका अनुसार इजिप्टको प्रस्ताव र अमेरिकी विशेष दूत स्टिभ विटकोफले अघि सारेको छुट्टै योजनाबीचको भिन्नतालाई समाधान गर्न दुवै पक्षले काम गरिरहेका छन् ।

इजिप्टले प्यालेस्टिनी कैदीहरूको रिहाईको बदलामा पाँचदेखि आठ जीवित बन्धकहरू र धेरै शवहरू रिहा गर्ने प्रस्ताव गरेको थियो । साथै, राफा सीमा नाका खोल्ने, गाजामा मानवीय सहायताको प्रवेश गर्ने र गाजाबाट इजरायली सेनालाई क्रमिक रूपमा फिर्ता गर्ने प्रस्ताव इजिप्टले गरेको थियो।

इजरायली पक्षसँगको छलफलमा रिहा गरिएका बन्धक र बन्दीहरूको सङ्ख्या विवादास्पद विषय भएको र इजिप्ट र कतारी मध्यस्थहरूले इजिप्टको प्रस्ताव हमासलाई पठाएको र त्यसले अनुमोदनका साथ जवाफ दिएको स्रोतले बताएको छ।

यसैबीच, इजरायलका रक्षामन्त्री इजरायल काट्जले गाजा पट्टीका अधिकांश भूभागमा इजरायलले चाँडै नै आफ्नो अभियान विस्तार गर्ने बताउँदै भने, “हमासलाई हटाउने, इजरायली बन्धकहरूलाई रिहा गर्ने र युद्ध अन्त्य गर्ने यो अन्तिम क्षण हो ।”

त्यस्तै, इजरायली रक्षा बलले एक विज्ञप्ति जारी गर्दै दक्षिणी गाजाको राफा शहरलाई पूर्ण रूपमा घेरेको घोषणा गर्दै ‘मोराग करिडोर’ को स्थापना पूरा गरेको छ, जुन राफा र खान युनिसलाई छुट्याउने उद्देश्यले गाजा पट्टीको दक्षिणमा एक मार्ग हो।

इजरायलले मार्च २ देखि गाजामा सबै मानवीय सहायता प्रवेशमा रोक लगाएको छ । त्यसपछि उसले मार्च १८ मा हमाससँगको दुई महिनाको युद्धविराम अन्त्य गरेको थियो भने यस क्षेत्रमा घातक हवाई र जमीनी आक्रमण पुनः सुरु गरेको छ ।

गाजाका स्वास्थ्य अधिकारीहरूले इजरायलले गरेको युद्धविरामपछिको आक्रमणमा हालसम्म एक हजार ५६३ प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य चार हजार चार जना घाइते भएको शनिबार जानकारी दिएका छन् ।

स्मार्टफोन र कम्प्युटर राष्ट्रपति ट्रम्पको विश्वव्यापी करबाट मुक्त

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले स्मार्टफोन, कम्प्युटर र अरू इलेक्ट्रोनिक्स सामानलाई ‘पारस्परिक’ करबाट छुट दिएको छ । यसले लोकप्रिय उच्च प्रविधियुक्त उत्पादननिम्ति अमेरिकी उपभोक्तामा पर्ने लागत प्रभावलाई कम गरेको छ ।

अमेरिकी भन्सार तथा सीमा सुरक्षा कार्यालयले शुक्रबार राति जारी गरेको सूचनामा चीनबाट अमेरिका भित्रने स्मार्टफोन र कम्पोनेन्टलगायत विभिन्न इलेक्ट्रोनिक सामानमा १४५ प्रतिशत थप कर लगाइएको थियो ।

सेमिकन्डक्टरलाई अधिकांश अमेरिकी व्यापारिक साझेदारमा ‘आधारभूत’ १० प्रतिशत र चीनमा थपिएको १२५ प्रतिशत करबाट पनि बाहिर राखिएको छ ।

यो प्रतिबन्धले राष्ट्रपति ट्रम्पले यसै महिनाको सुरुमा घोषणा गरेको १० प्रतिशत र चीनबाट सामानमा दण्डित अतिरिक्त दर करको दायरालाई संकुचित गरेको छ ।

ट्रम्पले विशेष गरी आफ्नो ‘पारस्परिक कर’ चीनलक्षित गरेको देखिएको छ । र, यो वासिङटनले अनुचित ठानेका अभ्यासलाई सम्बोधन गर्न जारी गरिएको कर हो ।

विश्वको दोस्रो सबैभन्दा ठूलो अर्थव्यवस्था (चीन)ले अमेरिकाबाट चीन आयात हुने सामानमा यसै हप्तादेखि लागु हुने गरी १२५ प्रतिशतको नयाँ कर सुरु गरेको छ ।

‘हार्ड ड्राइभ’ र ‘कम्प्युटर प्रोसेसर’सहित धेरै छुट भएका उत्पादन सामान्यतया अमेरिकामा बनेका छैनन् ।

ती सामानलाई अमेरिकामा उत्पादन गर्ने एक तरिकाका रूपमा कर जारी गरिएको थियो । तर, विकल्पमा घरेलु उत्पादन बढाउन सम्भवतः वर्षौं लाग्नेछ ।

वीरगंजमा प्रशासनले लगायो कर्फ्यु

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंजमा कर्फ्यु  आदेश जारी गरेको छ । शनिबार साँझ साढे ६ बजेदेखि वीरगंज महानगरपालिकाको वडा नम्बर १४, १५, १६ र २५ नम्बर वडामा कर्फ्यु  आदेश जारी गरेको हो ।

हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा विवाद दुई समुदायबीचको झडप उग्ररुप लिएपछि प्रशासनले कर्फ्यु  लगाएको हो ।

वीरगञ्जमा दुई समुदायबीचको विवादले तनाव

वीरगंज । हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा विवाद हुँदा वीरगंजमा दुई समुदायबीच झडप भएको छ ।

शनिबार दिउँसो वीरगञ्जको छपकैया चोकमा हिन्दू र मुस्लिम समुदायबीच झडप भएको हो । झडपका क्रममा पसल र मोटरसाइकलमा आगजनी भएको प्रहरीले जनाएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको जनाएको छ ।

एनएसएलमा झापा र पोखराबीचको खेल बराबरीमा

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएको झापा एफसी र पोखरा थन्डर्सबीचकोे खेल बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा दुवै टोलीले एक÷एक गोल गर्दै अङ्क बाँडेका हुन् ।

खेलको ५२औँ मिनेटमा पोखरा थन्डर्सका स्टिफन समीर बिनोङले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ६५औँ मिनेटमा झापाका लाजार आर्सिकले गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन् । त्यसपछि दुवै समूहले गोल गर्न सकेनन् ।

आजको खेलसँगै झापाको यो लगातार चौथो पटकको बराबरी खेल होे । आजको खेलपछि पाँच खेल खेलेको पोखरा पाँच अङ्कसहित तालिकाको चौथो स्थानमा उक्लिएकोे छभने झापा चार खेलबाट चार अङ्क बटुल्दै छैटौँ स्थानमा छ । आजको दोस्रो खेलमा ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी भिडनेछन् ।

अमेरिकी सहायता कटौतीले अफगानिस्तानमा लाखौं मानिसलाई भोकमरीको खतरा

 काबुल । अमेरिकाले अफगानिस्तानका लागि दिएको खाद्य सहायता कटौती गरेपछि यहाँका लाखौं मानिस भोकमरीको गम्भीर जोखिममा परेका छन् ।

संयुक्त राष्ट्र अन्तर्गतको विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) का अनुसार अहिले उनीहरूसँग सीमित स्रोत मात्र बाँकी छ, जसले गर्दा सबैलाई आवश्यक सहायता दिन असम्भव भएको छ ।

डब्लूएफपीका अनुसार अफगानिस्तानमा करिब ४५ लाख मानिसलाई खाद्य सहायता आवश्यक छ । तीमध्ये ३१ लाख मानिस अकालको मुखमा छन् । अहिलेको अवस्थाअनुसार, वर्षभरि जम्मा आठ लाख मानिसलाई आधा परिमाणमा मात्र खाद्य सहायता दिन सकिनेछ ।

डब्लूएफपी अफगानिस्तानका प्रमुख मुइन्टा चिमुकाको प्रश्न छ, ‘हामीसँग निकै थोरै स्रोत छ । अझै सहयोग प्राप्त भएन भने, हामीले केही समुदायलाई भन्नु पर्छ कि हामी तपाईंहरूलाई सहयोग गर्न सक्दैनौं । त्यसपछि उनीहरू कसरी बाँच्ने ?’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हालेपछि सबै विदेशी सहायता तीन महिनाका लागि रोक्ने निर्णय गरेका छन् । आपतकालीन सहायता छुट हुने भनिए पनि अफगानिस्तानसहित १४ देशका लागि सहायता कटौती गरिएको छ । केही देशको सहायता पछि पुनः बहाल गरिएको भए पनि अफगानिस्तानमा कटौती यथावत् छ ।

संयुक्त राष्ट्रका अनुसार अफगानिस्तानमा बेरोजगारी, गरिबी र अन्य देशबाट फिर्ता आएका मानिसहरूका कारण स्थिति झन् जटिल हुँदै गएको छ । खाद्यान्नको अभाव, कृषि क्षेत्रमा समस्या र पोषणको कमीले लाखौं जनताको जीवन संकटमा परेको छ ।

संयुक्त राष्ट्रले सबै दाताहरूसँग अपिल गर्दै भनेको छ, ‘यदि हामीले तुरुन्त सहयोग जुटाउन सकेनौं भने अफगान जनतालाई भोक र पीडाबाट जोगाउन गाह्रो पर्छ । दीर्घकालीन समाधानका लागि अहिले नै कदम चाल्न जरुरी छ ।’

इतिहासलाई पछाडि धकेल्न चाहनेहरुले १७ हजारको हत्यारा माओवादी हुन् भनेः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी मात्रै १७ हजारको हत्यारा हो त भन्दै प्रश्न गरेका छन् ।

संक्रमणकालिन न्यायसम्बन्धी खिमलाल देवकोटाले लेखेको पुस्तक शनिबार विमोचन गर्दै अध्यक्ष प्रचण्डले इतिहासलाई पछाडि धकेल्न चाहनेहरुले १७ हजारको हत्यारा माओवादी हुन् भनेर आरोप लगाएका बताएका हुन् ।

उनले यो हत्या युद्धमा भएको बताए । उनले भने, ‘माओवादी मात्र १७ हजारको हत्यारा हो, आतंककारी हो भने विस्तृत शान्ति सम्झौता अन्तरिम संविधानको अंग बनेको कुरालाई हामी के भन्छौं त ? त्यो गलत हो त ? होइन । यसबारेमा पार्टीका नेताहरु किन बोल्दैनौं त ? सबैले यसबारेमा बोलेपो शान्ति प्रक्रियालाई टुंग्याउन सजिलो हुन्छ ।’

अध्यक्ष प्रचण्डले आफूलाई १७ हजारको हत्याराको आरोप लगाएपनि आफूले व्यक्तिगत रुपमा कसैलाई मार्नु त कहाँ, पिट्न समेत नपिटेको बताए । उनले युद्धमा सबैभन्दा बढी पीडित माओवादी र माओवादी नजिकका मान्छे भएका बताए ।

उनले भने, ‘संक्रमणकालिन न्याय पीडित केन्द्रित हुनपर्छ भनेका छौं । किन त्यसो भन्यौं भन्दा माओवादी र उनीहरुको नजिकका मान्छे बढी पीडित छन् ।’

अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाको बाँकी काम राष्ट्रिय सहमतिमा टुंग्याउनुपर्ने बताए । उनले बहुमतका आधारमा टुंग्याउने कोसिस गरियो भने त्यसले दुर्घटना निम्तने भएकाले आफूले सहमतिमा जोड दिएको बताए ।

अध्यक्ष प्रचण्डले अब जनयुद्ध हुने सम्भावना नरहेको बताए । उनले भने,‘दुई चार जना उफ्रेर जनयुद्ध हुन सक्दैन । यसका लागि विचार, दर्शन, परिस्थिति र रणनीति सबै चाहिन्छ । धेरै चिज मिल्नुपर्छ । तिनकुनेमा आगलागी र हत्या गरेजस्तो होइन ।’

पोखरामा ‘फेवा नववर्ष महोत्सव’ सुरु

पोखरा । पोखराको लेकसाइडमा फेवा नववर्ष महोत्सव सुरु भएको छ । नेपाली नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा होटल सङ्घ पोखराले आयोजना गरेको महोत्सवको शनिबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरेका छन् ।

यस प्रकारका मेला महोत्सवहरूले पोखराको पर्यटनलाई चलायमान बनाउन महत्त्वपूर्ण टेवा पुग्ने मेयर आचार्यले विश्वस व्यक्त गरे ।

महोत्सव आगामी वैशाख १ गतेसम्म चल्ने छ । महोत्सवमा आउने पर्यटकका लागि लक्षित गरी होटलले आफ्नो दररेटमा २० प्रतिशत छुट गरेका छन् ।

सङ्घका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले महोत्सवमा यसपटक भक्तपुरको विस्केट जात्रा विशेष आकर्षणको रूपमा रहने जानकारी दिए । महोत्सवमा गण्डकी प्रदेशका ११ जिल्लाका मौलिक संस्कृतिको प्रस्तुति रहने उनले बताए ।

बाजा, भजन र रत्यौलीका कार्यक्रम पनि महोत्सवमा समेटिने जनाइएको छ । पोखराको खहरेचोकदेखि ड्यामसाइड वीचको तीन किलोमिटर सडकमा आयोजना गरिने महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । पर्यटन, संस्कृति र खाना फेवा महोत्सवको मुख्य आकर्षण रहने छन् ।

अहिले पोखराका होटलमा पर्यटकको अकुपेन्सी ६० प्रतिशत रहेको र महोत्सवका अवसरमा यो ९० प्रतिशत पुग्ने सङ्घका अध्यक्ष सुवेदीले जानकारी दिए ।

प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रमको प्रस्तुति, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम र पर्यटक दौड प्रतियोगिता महोत्सवका आकर्षण रहने छन् । व्याडमिन्टन कप प्रतियोगिता यसपटकको नयाँ आकर्षणको रूपमा रहेको छ ।

लोक दोहोरी कार्यक्रम पनि महोत्सवमा प्रस्तुत हुनेछ । महोत्सवको प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा महानगरपालिका रहेका छन् ।

राजावादीलाई प्रधानमन्त्री, मन्त्री बनाउनु भन्दा पशुपतिका बाँदरलाई बनाउनु राम्रोः प्रधानमन्त्री ओली

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीलाई प्रधानमन्त्री, मन्त्री बनाउनु भन्दा पशुपतिका बाँदरलाई मन्त्री बनाउनु राम्रो भएको टिप्पणी गरेका छन् ।

शनिबार झापामा नेकपा एमालेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले राजावादीहरुले चैत १५ गते काठमाडौंमा घटाएको घटनालाई लक्षित यस्तो टिप्पणी गरेका हुन् ।

प्रधानमन्त्रीले राजा फर्काएपछि के हुने भन्ने कुरा तिनकुने घटनाले देखाएको बताए । उनले भने, ‘राजा फर्काउने अरे । राजा फर्काएपछि ती प्रधानमन्त्री, मन्त्री बन्ने अरे । तिनीहरुलाई भन्दा त पशुपतिका बाँदरलाई मन्त्री बनायो भने अलिकति राम्रो हुन्छ।’

प्रधानमन्त्रीले व्यक्तिका घर, पसल व्यवसाय लुटेर क्रान्ति नहुने बताए । सम्बोधनका क्रममा प्रधानमन्त्री ओली दुर्गा प्रसाईंप्रति आक्रोशित देखिएका थिए । उलने जसले गाडीको सिटमै नबसी राम्रो ड्राइभिङ गर्न सक्छु भन्छ उसैले देश चलाउने भन्दै व्यंग्य गरे ।

उनले भने, ‘राजा फर्काउँछु भन्नेहरु बैंक डुबाउनेहरू र आफूले लिएको ऋण तिर्नु पर्दैन भनेर अभियान चलाउनेहरू, जनताको समस्यामा सरोकार नभएका तर, जनतालाई भड्काएर आफ्नो दुनो सोझ्याउनेहरू हुन् । राजनीति भनेको ढुङ्गा हान्न मात्र जान्नेहरूले देश चलाउँछु भन्ने जस्तो होइन । कहिल्यै चित्र नबनाएकाले चित्रकारले भन्दा राम्रो चित्र बनाउँछु भन्नेजस्तो, वा डुंगा खियाउन नजान्नेले माझीले सकेन भनेर डुंगा डुबाइदिने जस्तो हो ।’

उनले तोडफोड, आगजनी जस्ता कुरा अब स्वीकार्य नहुने समेत चेतावनी दिए। उनले भने, ‘तोडफोड, आगजनी, हिंसा, हत्या जस्ता कुराहरु अब स्वीकार्य हुँदैन। देशलाई संविधान र कानुन बमोजिम अगाडि बढाइन्छ।’

प्रधानमन्त्रीले देशमा युवा निराश हुनुपर्ने अवस्था नरहेको बताए । उनले सरकारले नयाँ वातावरण निर्माण गरेर युवालाई स्वरोजगार बनाउने बताए । प्रधानमन्त्रीले यस्तो देशमा किन बस्ने भनेर दुष्प्रोत्साहित गर्ने तत्व सक्रिय रहेको बताए ।

निराशालाई आशामा बदल्दै दार्चुलाको मालिकार्जुन गाउँपालिका

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले शिक्षा क्षेत्रमा गरिरहेको लगानी र प्रभाव बिस्तारै देखिने अवस्थामा रहेको छ । “शिक्षामा गरिएको लगानीको प्रतिफल थोरै ढिला देखिन्छ, काम गराइ र अपनत्वको हिसाबले गाउँपालिकाले थालेको पहलकदमी सकारात्मक छ”, वडा नं ३ का खडकसिंह धामी भन्छन्, शिक्षामा भइरहेको राजनीतिकरण कमी गर्न सके धेरै परिवर्तन सम्भव छ ।”

बि.सं. २०७९ मा निर्वाचित भए लगत्तै जनप्रतिनिधिले विकास निर्माणका कार्य होस् या शिक्षामा विद्यार्थी अनुपातमा शिक्षक व्यवस्थापनको कार्य होस्, गाउँपालिकाले थालेको पहलकदमी सकारात्मक रहेको उनको बुझाइ छ ।

“कम्तीमा राम्रो गरेको कामलाई प्रंशसा गर्न सिकौँ”, वडा नं ४ का बलदेव सिंह धामीले भने, “राम्रो कामलाई प्रशंसा र नराम्रो कामलाई खबरदारी गर्‍यौँ भने जनताका सपना पूरा गर्नतर्फ जनप्रतिनिधि अग्रसर हुने हो ।”

गाउँपालिकाले शिक्षा क्षेत्रमा धेरै लगानी गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का जिल्ला संयोजक पदमराज पन्त बताउँछन् । उक्त विचार प्रतिनिधिमूलक विचार मालिकार्जुनको आयोजना र दार्चुला विकास संगठनले सहजीकरण गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा व्यक्त भएका हुन् । गाउँपालिकाको प्रथम र द्वितीय चौमासिक सार्वजनिक सुनुवाइको क्रममा स्थानीय अहिले पालिकाले गरिरहेको कामप्रति धेरै निराशावादी छैनन् । धेरै आशा गर्ने ठाउँ बाँकी रहेको भन्दै त्यसलाई सुधार गर्नेतर्फ भने स्थानीयले सुझाव दिएका छन् ।

नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक पन्तले शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत् र कृषि पशु क्षेत्रमा गाउँपालिकाले अझै काम गर्न सक्ने अवस्था रहेको बताए । “शिक्षामा केही प्रयास भएका छन्, कृषि पशुमा कर्मचारी राख्ने काम भएका छन्, तर वडामा गएर हाजिरी लगाउने मात्र नभई बजेट दिएर कृषि पशु क्षेत्रको विकासमा लगानी बढाउन सुझाव छ”, उनले भने, “पशु र कृषि प्राविधिक पठाएर मात्रै भएन, बीउ विजन, औषधि, कृषि यान्त्रीकरणका कुरा बढाउनुपर्छ, किसानलाई धेरै चाहिएको छैन, थोरै बजेटमार्फत हुने काम गर्नतर्फ पालिका अग्रसर हुनुपर्‍यो ।”

पालिकाका अधिकांश वडा बस्तीमा अहिले पनि पम्पिङमार्फत गाउँमा खानेपानी पुर्‍याइएको छ । केही योजना निर्माणकै क्रममा छन् । जनताले पानीको महसुल र विद्युत्को महसुल दुवै तिर्नुपर्ने अवस्था रहेको छ । उनले भने, “विद्युत् र पानीमध्ये एउटा महसुल गाउँपालिकाले व्यहोर्ने गरी काम गर्‍यो भने जनतामा सरकारप्रति नैराश्यता पैदा हुन पाउँदैन, जहाँ पनि करको भार मात्रै थोपर्ने हो भने जनतामा निराशा पैदा हुन्छ, सानातिना समस्या समाधानतर्फ अगाडि बढ्नुपर्छ ।”

गाउँपालिकामा निर्वाचित भए लगत्तै पालिकाकै स्काभेटर प्रयोग गरी वडा सदरमुकाम जोड्ने गरी गाउँपालिकाले सडकको काम गरेको छ । अहिले वडा नम्बर २ को न्वालपानी बस्तीमा सडक पुगेको छ । झण्डै १२ किलोमिटर सडक पालिकाकै बजेटमा खनिएको छ ।

मालिकार्जुन-४ लाई गाउँपालिकाको चक्रपथ सडकमा जोड्नुपर्नेमा स्थानीय बलदेव धामीले जोड दिए । अरु वडाका बस्तीमा धमाधम काम भइरहेको छ । पालिका भवन निर्माणाधीन अवस्थामा छ । दश शैय्याको अस्पताल सञ्चालनमा आएको छ । वडाहरूमा नयाँ वडा कार्यालय भवन निर्माण भइरहेका छन् ।

जनप्रतिनिधिले देखेको सपना पूरा गर्न नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले बताए । “वार्षिक कार्य योजना अनुरूप हामीले काम गर्दै आएका छौँ, खरिद ऐन नियमअनुसार काम गरिरहेका छौँ, अझै पालिकाको विकासका लागि जनप्रतिनिधि, राजनीतिक दल, आम जनसमुदायको सहभागितामा अभिवृद्धि गर्दै समन्वयात्मक ढंगले अघि बढ्न प्रतिबद्ध छौँ”, ठगुन्नाले भने ।

गाउँपालिका उपाध्यक्ष कल्यानसिंह धामी पालिकामा आउने उजुरी तथा गुनासामाथि छलफलकै माध्यमबाट समाधान हुँदै आएको बताउँछन्। गाउँपालिका अध्यक्ष हिरासिंह धामी आफ्नो नेतृत्वमा आएको टोली मालिकार्जुनबासीको समृद्धिको सपना पूरा गर्नतर्फ अग्रसर रहेको बताउँछन् । “धेरै ‘सिस्टम’मा समस्या थियो, बिस्तारै सुधार गर्दै जनतालाई रोजगारी सिर्जना हुने गरी काम थालनी गरेका छौँ ।” नागरिकमा निराशा पैदा हुन नदिने गरी गाउँपालिकाले नीति तथा कार्यक्रममार्फत जनता खुसी बनाउने सपना कार्यान्वयन गर्दै आएका धामीको भनाइ छ ।

अस्तव्यस्त अवस्थामा रहेको शिक्षा क्षेत्र बिस्तारै लयमा ल्याउने प्रयास भएका छन् । केही विद्यालय ‘डाउन साइज’ र केही समायोजन गरिएका छन् । उनका अनुसार त्रैमासिक रूपमा शिक्षकले तलब पाउँदै आएकामा देशमै पहिलो पटक गाउँपालिकाले ‘इएफटी’मार्फत मासिक रूपमा तलब भत्ता खातामा जाने व्यवस्था सञ्चालन गरेको छ । विद्यार्थी अनुपातमा शिक्षक व्यवस्थापन र शिक्षक अभाव भएको ठाउँमा पदपूर्ति गरेर अघि बढेको अध्यक्ष धामीले बताए।

“रोजगारी पालिकामै सिर्जना गर्न गारमेन्ट उद्योग सञ्चालनको तयारी गरिएको छ, किसानलाई कृषि यान्त्रिकरण सहयोग गर्दै आएका छौँ”, उनले भने, “रोजगारी सिर्जना गर्ने र उद्यमी बनाउने नीतिलाई प्राथमिकता साथ लिएका छौँ, पशु क्षेत्रका सम्भावना भएका ठाउँमा मुर्रा भैँसी वितरण गरिएको छ, पकेट क्षेत्र घोषणा गरिएका छन्, सोहीअनुसार लगानी हुँदैछ, किसानको उत्पादनलाई बजारसम्म ल्याउन संकलन केन्द्र निर्माण गरिँदै छ ।” अहिलेको सीमित स्रोतसाधनले गाउँवासीको सपना पूरा गर्नतर्फ निरन्तर प्रयास हुने धामीको भनाइ छ ।

दश शय्या अस्पतालमा मात्र नभई गाउँपालिकाले बस्ती स्तरसम्म शिविर सञ्चालन गरेर स्वास्थ्य सेवा प्रवाह गरेको छ । चालू आर्थिक वर्षमा गाउँपालिकाले रु. ५७ करोड ९१ लाख ७४ हजार बजेट कार्यान्वयन गरिरहेको छ । त्यसमार्फत पालिकाभरि ११८ योजना कार्यान्वयन भइरहेको छ । गाउँपालिकाले सामाजिक विकास क्षेत्रमा ३३, आर्थिक विकासको क्षेत्रमा सात, महिला लक्षित दुई तथा बालबालिका र दलित लक्षित एक/एक योजना कार्यान्वयन भइरहेका छन् ।

सामाजिक सुरक्षामा चार करोड बजेट भुक्तानी

गाउँपालिकाले दोस्रो चौमासिक अवधिसम्म रु. चार करोड बढी बजेट सामाजिक सुरक्षामा भुक्तानी गरेको छ । पालिकाभरिका एक हजार २५२ महिला तथा ८९९ पुरुष गरी कूल दुई हजार १५१ लाभग्राहीलाई कूल रु. चार करोड १४ लाख ४३ हजार ३५१ भुक्तानी गरिएको गाउँपालिकाले जनाएको छ ।

पालिकाभरि सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिक गैर दलित सङ्ख्या एक हजार ३२८, ज्येष्ठ नागरिक दलित १२९, पूर्ण अपांगता ६१, आंशिक अपांगता ७८, ज्येष्ठ नागरिक एकल महिला ८९, एकल महिला २४५, बाल संरक्षण अनुदान २१४ तथा लोपोन्मुख आदिवासी जनजाति सात जना रहेको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख लोकेन्द्रसिंह धामीले जानकारी दिए । चालू आर्थिक वर्षमा सामाजिक सुरक्षा कार्यक्रमका लागि कूल रु. सात करोड ९९ लाख ४० हजार बजेट विनियोजन गरिएको छ ।

चालू आर्थिक वर्षमा सात कार्यविधि निर्माण

गाउँपालिकाले चालू आर्थिक वर्षमा सात वटा कार्यविधि निर्माण गरेको छ । गाउँपालिकाले पहिलो र दोस्रो चौमासिक अवधिमा काम कारबाहीलाई सजिलो बनाउन कार्यविधि निर्माण गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत ठगुन्नाका अनुसार चालू आर्थिक वर्षमा मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधि २०८१, आधारभूत अस्पताल सञ्चालन कार्यविधि २०८१, गाउँपालिकाको अनुगमन, सुपरीवेक्षण र फरफरकासम्बन्धी कार्यविधि २०८१, उपभोक्ता गठनसम्बन्धी कार्यविधि २०८१, विद्यालय दिवा खाजा भान्से व्यवस्थापन कार्यविधि २०८१, कर्मचारी कल्याण कोष नियमावली २०८१ तथा विद्यालय भान्सा कोठा निर्माण कार्यविधि २०८१ निर्माण गरिएको छ ।

यसअघि गाउँपालिकाले २४ ऐन, कार्यविधि, मापदण्ड र निर्देशिका ८९ तथा नियमावली छ वटा बनाएको गाउँपालिकाले जनाएको छ ।

सहकारीले बदमासी गर्नेछैन भन्ने विश्वास दिलाउनुपर्छः सभापति देउवा

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सहकारीले कुनै पनि प्रकारको अनियमितता, बदनाम र आलोचना हुने काम गर्ने छैन भन्ने विश्वास दिलाउनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको १७ औं वार्षिकोत्सवमा सभापति देउवाले अहिले सहकारीको धेरै ठूला बदनामी भइरहेकाले अब यस्तो हुन नहुने बताएका हुन् । उनले सहकारीले सच्चा मान्यतामा, राष्ट्रको लागि काम गर्नुपर्ने बताए ।

उनले भने, ‘केही कमीकमजोरीहरु भएका छन्, यी कुरालाई ध्यानमा राखेर काम गरेका छौ । यो सहकारी रविको सहकारी होइन यसले भ्रष्टाचार गर्दैन, यो ठगी गर्ने संस्था होइन भन्ने विश्वास दिलाउनुपर्छ ।’

पूर्वराजाको संलग्नताको मात्रा अनुसार कारबाही गर्ने दायित्व सरकारको हो

टीकाराम भट्टराई ।

शुक्रबारको संसदीय समितीमा चैत्र १५ गते राजावादीले मच्याएको अमानवीय बितण्डाकाबारेमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई बोलाउनु पर्ने बिषयमा भएको छलफल र माननीय जीवन परियार लगायतले राख्नु भएको मतको सम्मान गर्नुपर्दछ । पूर्वराजाको कानुनी हैसियत केवल एक नागरिक सरह भएकोले त्यो बिषयमा संसदीय समितिले उनलाई सिधै बोलाउन सक्ने कुरा छलफल योग्य नै हो तर मेरो बिचारमा
संसदीय अभ्यास र मूल्य मान्यताका आधारमा त्यसो गर्न मिल्दैन किन ?

. उनी केवल नागरिक हुन्, संसद नागरिकप्रति उत्तरदायी हुन्छ र सरकार जनताप्रति जवाफदेही हुन्छ ।

२. संसदले कार्यकारी अधिकार नभएको एउटा नागरिकलाई सिधै संसदमा बोलाउन मिल्दैन त्यसो गरिएमा स्वयं संसदीय गरिमाको मूल्यमान्यातामा प्रश्न उठ्छ ।

३. कार्यकारी अधिकार सरकारमा भएको हुनाले त्यो बितण्डामा पूर्वराजाको संलग्नताको मात्रा अनुसार करबाही गर्ने दायित्व सरकारको हो । किन कारबाही भएन भनेर प्रधानमन्त्री र गृहमन्त्रीलाई संसवले जवाफदेही बनाउन सक्छ तर एउटा नागरिकलाई सिधै संसदमा बोलाउन मिल्दैन । त्यसको एउटा अपवाद छ संसदको विशेषाधिकार हनन् भएको र महाअभियोगको प्रश्न उठेको अवस्थामा भने संसदले सर्वसाधारण नागरिकलाई पनि झिकाउन सक्छ।

४. पूर्वराजालाई संसदमा बोलाउने कुराले उनैको महत्व र गरिमा बढ्ने र उनी कार्याकारी अधिकार प्राप्त व्यक्ति हुन् भन्ने सन्देश सम्प्रेषण हुन्छ र यसले संसदीय व्यवस्थाको मूल्य मान्यतामा समेत ह्रास आउँछ । तसर्थ उनलाई होइन यो प्रकरणमा सरकारले उनलाई अहिलेसम्म किन कारबाही नगरेको भनेर सरकारलाई जवाफदेही बनाऔं ।

तीव्र हावाहुरीले उत्तर चीन प्रभावित, सयौँ उडान रद्द, पार्क र रेल सेवा स्थगित

बेइजिङ । चीनमा शनिबार चलेको तीव्र हावाहुरीका कारण जनजीवन प्रभावित बनेको छ। बेइजिङलगायत विभिन्न शहरहरूमा सयौं हवाई उडान रद्द हुनुका साथै प्रमुख पर्यटकीय स्थलहरू बन्द गरिएका छन् । साथै केही रेल सेवाहरू पनि अस्थायी रूपमा रोकिएका छन् ।

चीनको मौसम विज्ञान प्रशासनले जनाए अनुसार यो तीव्र हावा चिसो वायुमण्डलीय चक्रवातका कारण उत्पन्न भएको हो, जुन पूर्व र दक्षिणतर्फ सर्दै शुक्रबारदेखि नै असर पारिरहेको छ।

‘अप्रिल १२ गतेको दिन सबैभन्दा तीव्र हावा चल्ने अनुमान छ र केही स्थानहरूमा वायु गति सन् १९५१ यता कै रेकर्ड नाघ्न सक्नेछ,’ मौसम विभागले बताएको छ।

बेइजिङले पछिल्लो १० वर्षमा पहिलोपटक उच्च स्तरको हावा हुरी सतर्कता जारी गरेको छ। शनिबार बिहानसम्म बेइजिङको राजधानी अन्तर्राष्ट्रिय विमानस्थलमा ४१३ उडानहरू रद्द भएका छन् ।

त्यसैगरी, विमानस्थल जाने एक्सप्रेस मेट्रो र केही तीव्र गतिको रेल सेवा पनि स्थगित गरिएको छ।

समर प्यालेस, टेम्पल अफ हेभन, बेइजिङ चिडियाखाना र युनिभर्सल स्टुडियो पार्कजस्ता पर्यटकीय स्थलहरू अस्थायी रूपमा बन्द गरिएका छन् ।

बेइजिङ शहरमा करिब ३०० रूख ढलेका छन् र १९ वटा गाडीहरूमा क्षति पुगेको छ, तर हालसम्म कुनै मानवीय क्षतिको खबर छैन ।

जलवायु परिवर्तनका कारण यस्ता चरम मौसमका घटनाहरू चीनमा बारम्बार देखिन थालेका छन् । गत वर्ष बाढीका कारण दर्जनौं नागरिकको मृत्यु भएको थियो र हजारौं विस्थापित भएका थिए । यसैगरी, गत मे महिनामा लगातारको वर्षाले दक्षिणी चीनको एउटा सडक भासिँदा ४८ जनाको मृत्यु भएको थियो  ।

नेपाल चार देशीय क्रिकेटको फाइनलमा

काठमाडौं । वर्षाले खेल हुन नसकेपछि हङ्कङसँग अङ्क बाँडेपछि नेपाली राष्ट्रिय क्रिकेट टोली हङ्कङमा जारी चार देशीय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

कतार र कुवेतबीचको अघिल्लो दुई खेल जितेको रहेको नेपालले शनिबार एक अङ्क प्राप्त गरेसँगै प्रतियोगिताको फाइनलमा पुगेको हो । फाइनलमा नेपालले कुवेतसँग खेल्नेछ । तीन खेलमा दुईमा जित हात पार्दै चार अङ्क बटुलेको कुवेतको रनरेट नेपालभन्दा राम्रो स्थितिमा थियो ।

यो अवस्थामा यदि शनिबारको खेलमा हङ्कङले नेपाललाई पराजित गर्न सकेको भए फाइनलमा पुग्न सक्थ्यो । वर्षाका कारण शनिवार टस जितेर पहिला फिल्डिङ रोजेको नेपालले आयोजक हङ्कङलाई ब्याटिङको निम्तो दिएको थियो । ९ ओभरमा हङ्कङले तीन विकेट गुमाइ ६८ रन बनाएर खेलिरहेको अवस्थामा पानी परेपछि खेल स्थगित हुन पुगेको थियो ।

पानी नरोकिएपछि खेल अवरुद्ध भएको घोषणा गरिएको थियो । फाइनल खेल आइतबार नेपाल र कुवेतबीच हुनेछ ।

‘नेपाली मिडिया समाजका पहरेदार’

ललितपुर– नेपाली कांग्रेस केन्द्रीय सदस्य उदय शम्शेर जबराले नेपाल पत्रकार मञ्चको शनिबार ललितपुरमा आयोजित सातौँ महाधिवेशनको उद्घाटन गर्दै दक्षिण एशियाली देशका तुलनामा नेपाली ‘मिडिया’ स्वतन्त्र, निष्पक्ष र प्रभावकारी भएको बताएका छन्।

प्रतिनिधिसभा सदस्यसमेत रहेका उनले नेपाली मिडिया समाजका पहरेदारका रुपमा क्रियाशील रहेकामा सराहना गरे ।

नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहालले पत्रकारको हकहितका लागि पत्रकार महासङ्घ सधैँ क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे । सार्वजनिक प्रसारण सेवा नेपाल टेलिभिजनका नायब महाप्रबन्धक आरती चटौतले पत्रकारिता जोखिमपूर्ण पेसा भएको बताउँदै राज्यले पत्रकारिताको संवेदनशीलतालाई ध्यान दिनुपर्नेमा जोड दिइन्ु ।

मञ्चका अध्यक्ष युवराज विद्रोहील कुनै पनि राजनीतिक दलमा पत्रकार लाग्न नहुनेमा जोड दिए ।

सो अवसरमा क्रियाशील पत्रकारिता पुरस्कार नायब महाप्रबन्धक चटौत, प्रताप स्मृति पत्रकारिता पुरस्कार अन्नपूर्ण पोष्ट दैनिकका रामकला खड्कालाई प्रदान गरिएको थियो ।

गौरीनारायण श्रेष्ठ मध्याह्न पुरस्कार चन्द्र सूर्यवाणी डटकमका सम्पादक सन्तोष मिश्रलाई, नाजीर उद्दीप स्मृति पत्रकारिता पुरस्कार चेतनराज सापकोटा, डा चुडाबहादुर श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार फोटोपत्रकार घनश्याम श्रेष्ठ र बल्लभ भण्डारी स्मृति पत्रकारिता पुरस्कार टेलिभिजन पत्रकार टङ्ककला तिमल्सिनालाई प्रदान गरिएको थियो ।

सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ३२ जनाको मृत्यु

सुडान । सुडानको उत्तर दारफुर राज्यमा रहेको जमजम नामक विस्थापितहरूको शिविरमा अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) ले आक्रमण गर्दा कम्तीमा २५ जना सर्वसाधारणको ज्यान गएको छ । ज्यान गुमाउनेमा महिला र बालबालिकासमेत परेको स्थानीय स्वयम्सेवी समूहहरूले जनाएका छन् ।

उत्तर दारफुरको घेरामा परेको राजधानी अल–फासेरमा क्रियाशील स्थानीय प्रतिरोध समितिका अनुसार यो आक्रमण शिविरको दक्षिण र पूर्वतर्फबाट भारी गोलीबारी गर्दै गरिएको थियो ।

झण्डै दुई वर्षदेखि सुडानको सैनिक बल र अर्धसैनिक समूहबीच चलिरहेको सशस्त्र द्वन्द्वका कारण जमजमसहितका अन्य भीडभाडयुक्त विस्थापित शिविरहरू अत्यन्तै प्रभावित भएका छन् ।

गत महिनामा राजधानी खार्तुममा नियन्त्रण गुमाएपछि अर्धसैनिक समूहले सुडानको पश्चिमी भूभाग दारफुरमा आफ्नो पकड जमाउन आक्रमण तीव्र पारेको छ ।

प्रत्यक्षदर्शीहरूका अनुसार, उक्त समूहका सशस्त्र सवारी साधनहरू गोलीबारीको आडमा शिविरभित्र पसेका थिए ।

स्थानीय प्रतिरोध समितिका अनुसार आक्रमणको केही जवाफी प्रतिकार पनि गरिएको थियो, तर संचार माध्यम र इन्टरनेट बन्द भएकोले क्षतिको सम्पूर्ण विवरण प्राप्त हुन सकेको छैन ।

गत वर्ष संयुक्त राष्ट्रसङ्घको सहकार्यमा भएको एक अध्ययनले जमजम क्षेत्रमा भोकमरीको स्थिति घोषणा गरेको थियो ।

सन् २०२३ अप्रिल १५ बाट सुरु भएको सैनिक नेताहरूबीचको सत्ताको सङ्घर्ष गृहयुद्धमा रूपान्तरण भएपछि अहिलेसम्म दशौँ हजार मानिसको ज्यान गइसकेको छ र एक करोडभन्दा बढी नागरिकहरू घरबारविहीन भइसकेका छन् ।

चीनको नयाँ उपलब्धि: विश्वकै पहिलो मेडिकल उद्धार ड्रोन तयार

बेइजिङ । चीनले आपतकालीन अवस्थाहरूमा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन विश्वकै पहिलो अत्याधुनिक मेडिकल ड्रोन सफलतापूर्वक विकास गरेको छ । यस ड्रोनको विकास हैशेन मेडिकल टेक्नोलोजी कम्पनी लिमिटेडले चीन राज्य पोत निर्माण निगम अन्तर्गत चिनियाँ विज्ञान अकादमी तथा अन्य साझेदार संस्थाहरूको सहकार्यमा गरेको हो ।

यो विशेष ड्रोनमा रिमोट भिडियो निगरानीजस्ता अत्यावश्यक स्वास्थ्य सेवासम्बन्धी उपकरणहरू जडान गरिएका छन् । कम्पनीका अध्यक्ष तथा प्रमुख इन्जिनियर श्री हुआङ युहङका अनुसार यो ड्रोन उच्च चिसो तापक्रम तथा पाँच हजार मिटरको उचाइसम्मका कठिन भूगोलमा समेत प्रभावकारी रूपमा खोज तथा उद्धार कार्य गर्न सक्षम छ ।

यो ड्रोनको तौल ६०० किलोग्राम छ र यसले ३०० किलोग्रामसम्मको भार बोक्न सक्छ । यसमा स्वचालित उडान प्रणालीका साथै टाढाबाट नियन्त्रण गर्ने सुविधा पनि रहेको छ । यसले गर्दा बिपद् वा महामारीको बेला छिटो र प्रभावकारी रूपमा उद्धार कार्य सञ्चालन गर्न सकिनेछ ।

हुआङले भने, ‘हामीले मेडिकल उपकरण, ड्रोन प्रविधि र कृत्रिम बुद्धिमत्ताको संयोजनमार्फत चीनको स्मार्ट आपतकालीन उद्धार क्षमतामा ठूलो सुधार ल्याएका छौँ ।’

पाकिस्तानबाट पाँच हजारभन्दा बढी अफगान नागरिक स्वदेश फिर्ता

इस्लामावाद । पाकिस्तानबाट तोरखाम सीमा हुँदै पाँच हजार २३६ जना अफगान नागरिक स्वदेश फिर्ता गरिएको जियो न्यूजले अध्यागमन अधिकारीहरूलाई उदृत गर्दै जनाएको छ ।

अधिकारीहरूका अनुसार स्वदेश फर्केका मध्ये ३,८६५ जना अफगान नागरिक स्वेच्छाले “लान्दी कोटाल ट्रान्जिट क्याम्प” पुगेका थिए भने पन्जाबमा पक्राउ परेका १०७ जना अफगान नागरिकलाई निर्वासनका लागि तोरखाम लगिएको थियो । उनीहरुले अन्य २९५ जना अफगान नागरिकलाई जम्मू–कश्मीरबाट निर्वासित गरिएको जनाएका छन् ।

स्वदेश फिर्ता अभियानको क्रममा कानुन बमोजिम बसोबास गर्दै आएका अफगानीहरुलाई पनि स्वदेश फिर्ता पठाइएको जनाइएको छ । पाकिस्तानी राज्यमन्त्री तलाल चौधरीले अफगान नागरिकलाई सम्मानजनक रूपमा फिर्ता गरिएको बताएका छन् ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री चौधरीले अफगान नागरिकको सुविधाका लागि पाकिस्तानका सबै प्रान्तमा “ट्रान्जिट प्वाइन्टहरू” तथा “हेल्पलाइन” हरु स्थापना गरिएको बताएका छन् । अवैध नागरिकको फिर्ता प्रक्रिया मार्चसम्मको लागि तोकिएको र साहि समयमै अभियान पूर्ण गर्ने बताएका छन् ।

उनका अनुसार हाल सम्म आठ लाख ५७ हजार १५७ अवैध विदेशी नागरिकलाई स्वदेश फिर्ता पठाइएको छ । पाकिस्तानी सरकारले उनीहरूलाई मार्च ३१ सम्म देश छोड्न समय दिएको बताउँदै उनले थप समय उपलब्ध नगरिने उल्लेख गरे । उनले स्वदेश फर्केका अफगान नागरिकले वैध पासपोर्ट र भिसा भएको अवस्थामा पाकिस्तान भ्रमण गर्न, काम गर्न र बस्ने सम्वाभना भने कायम रहेको बताएका छन् ।

उनले सन् २०२३ अक्टोबर देखि अवैध विदेशी नागरिकलाई स्वदेश फिर्ता गर्ने नीति लागू भएको स्मरण फिर्ती अभियान चरणबद्ध रूपमा सम्पन्न गरिने बताए ।

पहिलो चरणमा पाकिस्तानले कानुनी कागजातबिना अवैध रुपमा बस्दै आएका विदेशी नागरिकलाई स्वदेश फिर्ता पठाएको थियो । दोस्रो चरणमा, आवाश्यक कागजात भएकाहरुलाईसमेत पठायो । त्यसै गरी तेस्रो चरणमा आवाश्यक कानुनी प्रक्रीया पूरा गरेका नागरिकलाईसमेत स्वदेश फिर्ता पठाइने जियो न्यूजले जनाएको छ ।

दशकौँसम्म लाखौँ अफगान नागरिकलाई आतिथ्यतासहितको बसोबास अनुमति दिए पछि हाल पाकिस्तानले यो निर्णय गरेको उनले बताएका छन् । मन्त्री चौधरीले अफगान नागरिकहरू पाकिस्तानमा लागूऔषधको व्यापार र आतङ्कवादी गतिविधिलगायतमा संलग्न रहेककाले अभियान तिव्र पार्नु परेको स्पष्ट पारेका छन् ।

जुम्लामा शैक्षिकसत्र अगावै पाठ्यपुस्तक

जुम्ला । हिमाली जिल्ला जुम्लामा पाठ्यपुस्तक पुगेको छ । शैक्षिक सत्र सुरु नहुँदै जिल्लामा यस वर्ष समयमै पाठ्यपुस्तक पुगेको हो ।

देशभर नयाँ शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुने गर्दछ । हिमाली जिल्लामा केही वर्ष पहिले फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु हुने गर्दथ्यो । दुई शैक्षिक सत्र अघिदेखि जुम्लामा वैशाखदेखि नै सुरु हुने गरेको छ ।

यस वर्ष शैक्षिक सत्र सुरु हुनुअगावै जिल्लामा पाठ्यपुस्तक आइपुगेको सदरमुकाम खलङ्गा बजारमा रहेको सन्ध्या स्टेशनरीका सञ्चालक सुमन खड्काले जानकारी दिए ।

नयाँ शैक्षिक सत्रका लागि जिल्लामा गत चैत १७ गते पाठ्यपुस्तक पुगेको छ । खड्काले भने, ‘कक्षा १–५ सम्मको रु एक हजार ५०० सेटको र कक्षा ६–१० सम्मको दुई हजार प्रतिसेटमा पाठ्यपुस्तक आइपुगेको छ, यहाँका आठ स्कुलले पाठ्यपुस्तक लिएका छन्, अझै विद्यालयबाट माग आउँदै छ, आन्दोलनका कारण शिक्षक बाहिर छन्, अहिले कमै मात्र बिक्री भइरहेको छ, स्कुल खुलेपछि पाठ्यपुस्तक लिनेको सङ्ख्या बढ्ने सन्ध्या स्टेसनरीका सञ्चालक खड्काको भनाइ छ ।’

यहाँका सामुदायिक विद्यालयलाई जिपी स्टेशनरी र सन्ध्या स्टेशनरीले पाठ्यपुस्तक बिक्री–वितरण गर्दै आएका छन् । यस्तै कनकासुन्दरीको दर्पण स्टेशनरी, सिँजाको कर्णाली र तिलाको दीपकैलाश स्टेशनरीले पाठ्यपुस्तक बिक्री–वितरण गर्दै आएका छन् । जिल्लाभर करिब १४५ सामुदायिक विद्यालय रहेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।

कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ

कैलाली । विसं २०८० माघ १० गते सरोज गोडिया पक्राउ परे। उनलाई कर्णाली नदी किनारमा अड्किएका काठ ट्र्याक्टरमा लोड गरेर घर ल्याउँदै गर्दा टीकापुरको प्रहरीले पक्राउ गर्‍यो। बर्दियाको गुलरिया घर भइ टीकापुरमा दैनिक ज्यालादारीमा ट्र्याक्टर चलाउँदै आएका गोडियालाई पक्राउ गरेर प्रहरीले सबडिभिजन वन कार्यालय टीकापुरमा बुझाइदियो। उनलाई कर्णाली नदी किनारमा बाढीले अलपत्र पारेका काठ संकलन गरेर ओसारपसार गरेको आरोप लगाइएको थियो।

सबडिभिजन वन कार्यालयले थप अनुसन्धान गरेर कारबाहीका लागि पक्राउ परेका गोडियाविरुद्ध कैलाली जिल्ला अदालतमा मुद्दा दायर गर्‍यो। गोडिया १४ हजार ४३३ रूपैयाँ बिगो बराबरको धरौटी तिरेर रिहा भएको सबडिभिजन वन कार्यालयका फरेष्टर भीष्मराज ओझाले बताए। गोडिया फरक जिल्ला बर्दियाका बासिन्दा भएका कारण पक्राउ परेका होइनन्। कर्णाली नदीबाट काठ निकाल्ने जो कोहीलाई स्थानीय प्रशासनले पक्राउ गर्दै आएको छ। त्यहीँका स्थानीयले पनि नदीले बगाएर ल्याएको काठ संकलन गरेर प्रयोग गर्न पाउँदैनन्।

हरेक वर्ष वर्षायाममा कर्णाली नदीले काठ बगाएर ल्याउँछ। अधिकांश काठ भेलसँगै बगेर भारततर्फ जान्छन्। भारतको कोडियाघाटलगायत स्थानीयले ती काठ केहीमात्रामा संकलन गर्ने गर्दछन्। नेपालमा भने कर्णाली नदीबाट काठ संकलनमा रोक लगाइएको छ। कानूनी जटिलताका कारण आफ्नै देशको काठ कुहिएर खेर गइरहेको छ।

भन्सार विभागको तथ्यांकअनुसार विगत ६ वर्षमा एक खर्ब ४१ अर्ब ३८ करोड रूपैयाँ बराबरको काठ तथा फर्निचर आयात भएको छ भने २७ अर्ब चार करोड रूपैयाँ मूल्य बराबरको निर्यात भएको छ। चालु आर्थिक वर्षको माघसम्म सात अर्ब ८४ करोड आयात र पाँच अर्ब ८७ करोड रूपैयाँ निर्यात भएको देखिन्छ। पछिल्ला वर्षहरूमा आयात निरन्तर बढिरहेको छ।

केही स्थानीय र काठ व्यवसायीले बगेको काठ सदुपयोग गर्न खोजे पनि उनीहरु सफल भएका छैनन्। वन ऐन नियमावलीअनुसार कसैले पनि वन कार्यालयको इजाजतबिना काठ दाउरा संकलन, ओसारपसार तथा बिक्री गर्न पाइँदैन।

त्यसकारण कतिले पक्राउ परी जेल सजायसमेत भोगेका छन् भने घरायसी प्रयोजनका लागि पनि नदीका काठ दाउरा संकलन गर्न पाउँदैनन्। टीकापुरस्थित फाटा गाउँका दानबहादुर चौधरीसँग काठ संकलन गरेबापत प्रहरीको केरकार सहनु परेको अनुभव छ। उनले आफ्नो अनुभव सुनाउँदै ने, ‘गत वर्ष नदीबाट निकालेको गोलिया नजिकैको सत्ती बजारमा रहेको सःमिलबाट चिरान गरी आफ्नै घरको झ्याल ढोकाका लागि लैजाँदै थिए, सशस्त्र प्रहरीले रोकेर यसको पुर्जी, सःमिल/फर्निचरको बिल चाहिने, नभए काठ लैजान नमिल्ने र मुद्दासम्म चल्ने भनेर रोकेका थिए, पछि आइन्दा यस्तो नगर्नु भनेर छाडिदिए।’

उनलाई नदीमा बग्दै गरेका, अड्किएका, पुरिएका र गाडिएका रुख संकलन गरी प्रयोगमा ल्याउँदासमेत प्रहरी प्रशासनले अपराधी जस्तो व्यवहार गरेको अनुभव हुन्छ। त्यस कारण स्थानीय बासिन्दासँग बगेर जाने नदीका काठ हेरेर बस्नुको विकल्प हुँदैन। कर्णाली नदीमा चार दशक बढीदेखि डुंगा चलाइरहेका राजापुर बर्दियाका गौरीशंकर थारु पनि बगेर जाने काठ हेरि बस्छन्। उनका आँखा अगाडिबाट बर्सातमा बाढीसँगै कर्णाली नदीमा धेरै काठ दाउरा बगेर भारत पुग्छन्।

‘नदी किनारमा अड्किएका काठ पनि प्रयोगमा रोक लगाइएको छ?, स्थानीयलाई बगेर जाने काठ संकलन गर्ने अनुमति छैन भने नगरपालिका, वन कार्यालय वा अन्य कुनै निकायलेसमेत संकलन गर्दैनन्’, उनले भने, ‘एकातिर बाढीसँगै थुप्रै काठ दाउरा बगेर जाने छँदैछ, अर्कोतिर कर्णाली नदीमा अड्किएका र गाडिएका रुख पनि आधिकारिक रूपमा संकलन हुँदैनन्।’

नेपालको सबैभन्दा लामो कर्णाली नदी तिब्बतको मानसरोवरबाट नेपालमा हुम्ला हुँदै कर्णालीमा मिसिएपछि यसको नाम कर्णाली रहन्छ। बाजुरा, कालीकोट, दैलेख, अछाम, सुर्खेत हुँदै कैलाली र बर्दियाको सिमाना भएर यो नदी भारतको गंगा नदीमा मिसिन्छ। ठूली भेरी, सानी भेरी, तिला, बूढीगंगा र सेतीजस्ता ठूला नदी यसका सहायक नदी हुन्।

कर्णाली र यसका सहायक नदी तटीय क्षेत्रमा घना वनजंगल रहेको छ। यहाँ विशेषगरी खयर, सिसौ, साल, हल्दु, असनालगायत मूल्यवान प्रजातिका रुख पाइन्छन्। नदी कटानले ल्याएका रुख बर्सातमा बगेर भारत पुग्छन् तर स्थानीयलाई तिनको सदुपयोग गर्नबाट बञ्चित गरिँदै आएको छ।

के छ कानूनी व्यवस्था?

वन नियमावली २०७९ मा नदी वा खोलाले बगाइल्याएको, किनारा लागेको, अड्केको, डुबेको वा पुरिएको काठ दाउरालाई ‘दहत्तर बहत्तर’ भनेर परिभाषित गरिएको छ। वन ऐन, २०७६ को परिच्छेद-११ मा दहत्तर बहत्तर वा बेवारिसे अवस्थामा रहेको काठ अरू कसैको हक प्रमाण पुगेकाबाहेक प्रदेश सरकारको स्वामित्वमा रहने प्रावधान रहेको छ।

डिभिजन वन कार्यालयले आफ्नो कार्यक्षेत्रभित्र रहेका बेवारिसे तथा दहत्तर बहत्तर काठ, दाउरा संकलन तथा घाटगद्दी गरी डिभिजनल वन अधिकृतले लिलाम बिक्री गर्नुपर्ने र लिलाम बिक्रीबाट प्राप्त रकम सम्बन्धित प्रदेशको प्रदेश सञ्चित कोषमा जम्मा गर्नुपर्ने प्रावधान वन नियमावली, २०७९ मा रहेको छ।

त्यस्तै सुदूरपश्चिम प्रदेश वन ऐन, २०७७ को परिच्छेद १७ को दफा ७८, ७९ र ८० मा दहत्तर बहत्तर वा बेवारिसे काठ दाउरा प्रदेश सरकारको सम्पत्ति ठहरिने र उक्त काठ डिभिजनल वन अधिकृतले संकलन गरी सुरक्षित स्थानमा घाटगद्दी गराउनुपर्ने व्यवस्था रहेको छ ।

डिभिजनल वन अधिकृतले आफ्नो कार्यक्षेत्र भित्रबाट संकलन गरी घाटगद्दी गरेको बेवारिसे तथा दहत्तर बहत्तर काठ दाउराको कुनै व्यक्ति, उपभोक्ता समूह, सङ्घ संस्था वा निकायले हक दाबीसम्बन्धी सूचना प्रकाशन, छानबिन गरी कसैको हक दाबी नपुग्ने भएमा उक्त काठ लिलाम बिक्री गर्नुपर्ने सुदूरपश्चिम प्रदेश वन नियमावली २०७८ को परिच्छेद-१३ मा व्यवस्था रहेको छ।

संकलन गर्ने छैन इजाजत

कर्णाली सत्ती पुलको उत्तरतर्फ पश्चिमी नदी तटीय क्षेत्रमा एउटा सानो बस्ती छ। त्यसको नाम हो फाँटा गाउँ। टिकापुर नगरपालिका-८ मा पर्ने उक्त फाँटा गाउँमा अधिकांश कच्ची घर र कमजोर आयस्रोत भएका थारु समुदायको बसोबास छ। पचासभन्दा बढी घरधुरी भएको उक्त फाँटा गाउँका मानिसको जीविकोपार्जनको प्रमुख स्रोत नै कर्णाली नदी हो। नदीमा माछा मार्ने, हिउँदमा बगरमा तरकारी खेती गर्ने र बाह्रै महिना नदीमा बग्दै गरेका, अड्किएका, डुबेका काठ दाउरा संकलन गरी टीकापुर राजापुरलगायत बजारमा बिक्री गरेर गुजारा चलाउने गरेको फाँटा गाउँका राजेश चौधरी बताउँछन्।

फाँटा गाउँको पूर्वपट्टी नदी ढिक, गाउँको सडक किनार र घर वरिपरि गोलिया काठ तथा दाउरा संकलन गरेर राखेको भेटिन्छ। सत्ती पुलबाटै पनि नदीको किनारमा काठ दाउरा किनार लगाएर राखेको देख्न सकिन्छ। ती काठ दाउरा बाढीको बेला समातेका र अड्किएका रुख स्थानीयले संकलन गरेर राखेको चौधरी बताउनुहुन्छ । काठ दाउरा आफ्नै घरायसी प्रयोजनसँगै केही बिक्री गर्ने गरेको उनको भनाइ छ। चौधरीका अनुसार नदीमा बगेर जाने काठमध्ये अड्किएर बसेका २० देखि २५ प्रतिशत मात्रै गाँउलेले संकलन गर्ने गर्दछन्।

त्यसरी संकलन गरेको काठ दाउरा आफैले प्रयोग गर्दा कोही केही गर्दैनन् तर अरूलाई बिक्री गर्दा भने समस्या हुने गरेको अर्का स्थानीय दानबहादुरले बताए। उनले भने, ‘बिक्री गर्नका लागि काठ दाउरा उत्पादनको स्रोत कहाँबाट हो भन्ने चाहिने रहेछ, हामीसँग नदीबाट काठ दाउरा संकलन गर्ने कुनै अनुमति हुँदैन, त्यस्तो अनुमति नहुँदा वनबाट चोरेर ल्याएको भन्ने बुझिने रहेछ।’

राजेश र दानबहादुर जस्तै फाँटा गाउँका स्थानीय ज्यानै जोखिममा राखेर बाढीको बेला र अरू बेला काठ दाउरा संकलन गर्छन्। उनीहरू सबैको एउटै गुनासो छ, ‘काठ दाउरा संकलन गर्दा कोही कसैले केही भन्दैनन् तर जब आफ्नो ज्यानसमेत जोखिममा राखेर बगेर जाने काठ दाउरा संकलन गरिन्छ तब प्रहरी र वन कर्मचारीले यो काठ दाउरा कहाँबाट ल्याएको, पूर्जी वा इजाजत छ छैन खोज्दै आउँछन्।’

ती रुखहरू संकलन गर्ने कुनै अनुमति नभएको र प्रविधि पनि नभएको दानबहादुर बताउँछन्। उनले भने, ‘अहिले पनि हामी बाढीका बेला डोरीले बग्दै गरेको काठलाई अड्काएर किनारा लगाउँछौँ, गाडिएका काठ पनि निकाल्छौँ, तर यो सबै गर्न हामीसँग कुनै कानूनी अनुमति भने हुँदैन।’

बर्सातमा कर्णाली नदी तटीय क्षेत्रमा भू-क्षय, पहिरो र कटानका कारण नदीले रुखसमेत बगाएर लैजान्छ। बगेर आएका अधिकांश रुख बर्सातको भेलसँगै भारततर्फ जान्छन् भने कतिपय रुख नदीको बहाव कम भएसँगै चिसापानी पुलको दक्षिणतर्फ जानकी गाउँपालिका र टिकापुर नगरपालिकाका विभिन्न घाटमा अड्किएर नदीभित्र पुरिने गरेको जानकी-६ स्थित माँ भुवनेश्वरी सःमिल तथा फर्निचर उद्योगका सञ्चालक लोकेन्द्रबहादुर शाह बताउँछन्।

सो गाउँपालिकाअन्तर्गत बलचौर घाट, पाताभार घाट र टिकापुरअन्तर्गत दौलतपुर घाट, प्रमौला घाट, सत्तीघाट, सन्कट्टी घाट तथा वनकट्टी घाटलगायत फराकिला स्थान रहेका छन्। त्यस्ता ठाँउमा बगेर आउने काठ छेउ लागेर अड्किन्छन् भने कतिपय नदीभित्र पुरिन्छन्।

कर्णाली नदी चिसापानीबाट तल लागेपछि धेरै भँगालोमा बाँडिन्छ। ती भँगालोको बीचबीचमा प्राकृतिक वन छन्। ती वनको संरक्षण, व्यवस्थापन तथा वन पैदावारको सदुपयोग गर्न स्थानीय समुदायलाई सामुदायिक वनका रूपमा हस्तान्तरण गरिएका छन्। सामुदायिक वनका रूपमा हस्तान्तरण गरे पनि बाढीसँगै बगेर जाने रुख संकलन गर्ने अनुमति भने वन कार्यालयले नदिने गरेको गाउँपालिकास्थित छतिवन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष विनोद भण्डारीले बताए।

भण्डारीका अनुसार सामुदायिक वनको क्षेत्रभित्र पर्ने भँगालोमा अड्केका, पुरिएका रुखह भने केही मात्रामा निकाल्न मिल्छ। अड्किएका सबै रुख संकलन गर्न मिल्दैन। जिल्लाको जानकी गाउँपालिकाअन्तर्गत चिसापानी कर्णाली, छतिवन, चेतना, कालिका, शिवशक्ति पाताभार, जगतपुरलगायत सामुदायिक वन कर्णाली नदीका विभिन्न भँगालोमा अवस्थित छन्। सामुदायिक वनहरूले आफ्नो वन क्षेत्रभित्र पर्ने भँगालोमा अड्किएका र पुरिएका रुख स्वीकृत वन कार्य योजनाको अधीनमा रही तोकिएको मात्रामा असोजदेखि जेठसम्म संकलन गर्ने गरेको सव-डिभिजन वन कार्यालय टीकापुरका फरेष्टर भीष्मराज ओझाले बताए।

कानूनी मापदण्डको अभाव

कैलालीको वन क्षेत्र व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेश सरकारको मातहतमा दुई डिभिजन वन कार्यालय रहेका छन्। जिल्लाको पश्चिमी भागको आधा क्षेत्र कैलाली र पूर्वी क्षेत्र पहलमानपुर डिभिजन वन कार्यालयअन्तर्गत पर्दछ। कर्णाली नदी र आसपासको वन क्षेत्रको व्यवस्थापकीय जिम्मेवारी डिभिजन वन कार्यालय पहलमानपुरको पर्दछ। कर्णाली नदीबाट हालसम्म दहत्तर बहत्तर काठ/दाउरा संकलन नगरिएको डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले बताए। कँडेलका अनुसार जिल्लाका अन्य नदीभन्दा कर्णालीबाट काठ/दाउरा संकलनको प्रकृति बेग्लै छ।

जिल्लामा कर्णालीबाहेकका नदी, खोलाहरुको उद्गमस्थल चुरे क्षेत्र हो। त्यसमा बर्सातको समयमा मात्र धेरै पानी हुने र हिउँदमा प्रायः सुक्ने वा एकदमै कम पानी रहने गर्छ। कर्णाली नदीमा भने बाह्रै महिना ठूलो पानी हुन्छ। अझ बर्सातको समयमा धेरै नै रहन्छ। चुरे क्षेत्र उद्गम भएका स-साना नदी खोलाले बाढीका बेला बगाइल्याएका रुख केही तल नेपालको सीमाभित्रै अड्किने, किनार लाग्ने भए पनि कर्णालीले बगाएर ल्याउने काठ/दाउरा भने पानीको उच्च बहावका कारण सिधै भारततर्फ बगेर जाने कँडेलले बताए।

बग्दै गरेका रुखलाई संकलन गर्न सकिने कुनै कानूनी व्यवस्था वा मापदण्ड नै नभएको कँडेलको भनाइ छ। ‘वन कार्यालयको कार्यक्षेत्रभित्र पर्ने काठ/दाउरा संकलन गर्न रुखको गोलाइ, लम्बाइ, त्यसको ‘जीपीएस लोकेसन’सहितको विवरण सव-डिभिजन वन कार्यालय मार्फत लिने र त्यस्ता रुखको डिभिजन वन कार्यालयबाट १५ प्रतिशत तथा प्रदेश वन निर्देशनालयबाट पाँच प्रतिशत जाँचपश्चात् मात्र संकलन गर्ने अनुमति दिन सकिने व्यवस्था रहेको छ। यस प्रक्रियाले बग्दै गरेको काठ संकलन गर्न सकिने कुरालाई सम्बोधन गर्न सक्दैन’, उनले भने।

कतिपय रुख नदी बगरको सतहमा गाडिएका वा पानीभित्र डुबेको अवस्थामा रहेका हुन्छन्। त्यस्ता रुखलाई स्काभेटरको सहायताले उत्खनन गरेर मात्रै संकलन गर्न सकिन्छ। ‘बग्दै गरेका, गाडिएका, डुबेका रुख संकलन गर्न डिभिजन वन कार्यालयसँग रहेको स्रोत साधन, जनशक्ति, सामथ्र्य र बजेटले भ्याउँदैन’, उनले भने।

काठ सदुपयोगमा सरकारी उदासीनता

कर्णाली नदीमा अड्किएका तथा गाडिएका रुखको व्यवस्थापन गर्ने प्रयास भए पनि अन्तर सरकार विवादका कारण सफल हुन सकेको छैन। टीकापुर नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा ठेक्कामार्फत दहत्तर बहत्तर काठ दाउरा संकलनको पहल गरेको थियो। प्रदेश सरकार र स्थानीय सरकारबीच कार्यक्षेत्रको विवादका कारण उक्त कार्यलाई निरन्तरता दिन नसकिएको टिकापुरका निवर्तमान नगर प्रमुख तपेन्द्र रावलले बताए।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद-९ दफा ६२ क (२) अनुरूप, पालिकाले आफ्नो क्षेत्रभित्र रहेका सार्वजनिक तथा ऐलानी जग्गामा भएका काठ, दाउरा, जराजुरी, दहत्तर बहत्तर आदि बिक्री गर्नसक्ने कानूनी व्यवस्था रहेको छ। यही व्यवस्थाअनुसार कर्णाली नदीका दहत्तर बहत्तर काठको संकलनका लागि टीकापुरले दुई वर्षको ठेक्का प्रदान गरेको थियो।

ठेक्का सम्झौताअनुसार उक्त काठ संकलनको जिम्मा टीकापुर-१ स्थित भास्कर सःमिल तथा फर्निचर उद्योगले पनि पाएको थियो। उद्योगका सञ्चालक दिलबहादुर ठकुल्लाका अनुसार आवश्यक साधन स्रोत तथा अनुभवको अभावका कारण सो समयमा पर्याप्त काठ संकलन गर्न सकिएन। ‘यदि अहिलेको जस्तो स्रोत, साधन र अनुभव भएको भए, एक लाख घन फिटभन्दा बढी काठ संकलन गर्न सकिन्थ्यो’, ठकुल्लाले भने।

वन कार्यालयले उक्त संकलन कार्य प्रदेश सरकारको कार्यक्षेत्रमा पर्ने भन्दै ठेकेदारका ढुवानीका साधन नियन्त्रणमा लिई काममा अवरोध गरेको थियो। त्यसयता, वन कार्यालयले र नगरपालिकाले कर्णाली नदीका दहत्तर बहत्तर काठ संकलनका लागि कुनै पहल नगरेको पूर्वनगरप्रमुख रावलले बताए।

आँखै अगाडि करोडौ पर्ने काठ बगेर भारततर्फ गएको देखिन्छ। कतिपय रुख नदीमा गाडिएका, अड्किएका तथा डुबेका अवस्थामा छन्। बाढीसँगै बगेर जाने काठबाहेक, अड्किएका काठ संकलन गर्न सकिए मात्र पनि करोडौँ आम्दानी हुनसक्ने जानकी-६ स्थित माँ भूवनेश्वरी सःमिल तथा फर्निचर उद्योगका सञ्चालक शाहले बताए। ‘कर्णाली नदीमा अहिले पनि वर्षाको बाढीले बगाएर ल्याइ अड्किएका तथा गाडिएका हजारौँ रुख देख्न सकिन्छ’, शाहले भने, ‘तर, यी काठ संकलन नगरिँदा अर्को वर्षको बाढीले फेरि सबै बगाएर लैजान्छ।’

डिभिजन वन कार्यालय कैलाली र पहलमानपुरको तथ्यांकअनुसार कर्णाली नदी बाहेकका अन्य साना नदीबाट चालु आर्थिक वर्षमा मात्रै जिल्लामा एक हजार २६ रुख (३९ हजार ७६० क्युफिट) काठ संकलनका लागि लगत लिइएको छ। लगत लिइएका ती काठ संकलन भए करिब रु चार करोड बराबरको राजस्व प्रदेश सरकारलाई प्राप्त हुने वन कार्यालयको आँकलन छ। कर्णाली नदीमा मात्रै अन्य नदीको तुलनामा पाँचगुणा बढी (करिब दुई लाख क्यु फिट) भन्दा धेरै काठ बगेर जाने आकलन रहेको सुदूरपश्चिम प्रदेश वन निर्देशक हेमराज विष्ट बताउँछन्। यस आकलनअनुसार करोडौं बराबरको काठ बग्ने गर्दछ।

संघीय संरचनाअनुसार संरक्षित क्षेत्रबाहेकको वन व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारलाई दिइएको छ। प्रदेश सरकारले वन संरक्षण, व्यवस्थापन तथा वन पैदावार सदुपयोगका लागि प्रदेश वन ऐन र नियमावली जारी गरेको छ। यी कानूनी व्यवस्थाले कर्णाली नदीमा बगेर जाने, गाडिएका, अड्किएका र डुबेका रुखको संकलन सम्बन्धी स्पष्ट कानूनी आधार तय गर्न सकेका छैनन्।

कानूनी रूपमा कर्णाली नदीमा बगेर आउने काठको स्वामित्व प्रदेश सरकारको हुन्छ। सोको व्यवस्थापनका लागि प्रदेश सरकारसँग कानुन बनाउन, कार्यान्वयन गर्न तथा आवश्यक संस्थागत संरचना स्थापित गर्ने अधिकार पनि छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, प्रदेश वन निर्देशनालय, डिभिजन वन कार्यालय र सव डिभिजन वन कार्यालय प्रदेशभर स्थापना गरिएका छन्।

प्रदेश सरकारको उदासीनताका कारण कर्णाली नदीमा करोडौँ बराबरको काठ व्यवस्थापन हुन नसकेको पर्यावरण संरक्षण तथा वन पैदावार उद्योग व्यवसायी संघ कैलालीका अध्यक्ष जोन शाहले बताए। नीतिगत र प्रक्रियागत जटिलताका कारण ढलेका, सुकेका रुख तथा कर्णाली जस्ता ठूला नदीबाट संकलन गर्न सकिने काठसमेत उपयोगमा आउन नसकेको अध्यक्ष शाहले बताए। प्रदेश सरकारले सहज कानूनी व्यवस्था गरेमा कर्णाली नदीका काठ संकलन गर्न सकिन्छ। यसबाट वन पैदावार आयात प्रतिस्थापनमा टेवा पुग्ने मात्र होइन नदी तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाले रोजगारी पाउने र प्रदेश सरकारलेसमेत करोडौँ राजस्व संकलन गर्नसक्ने शाहको दाबी छ।

प्रविधिको अभावले राजस्व गुमाउँदै सरकार

बर्सातको समयमा कर्णाली पुलबाट हेर्दा प्रशस्तमात्रामा काठ बगेर गएको देखिन्छ। बगिराखेकै अवस्थामा काठ संकलन गर्ने क्षमता नहुँदा भारततर्फ गइरहेको प्रदेश वन निर्देशक हेमराज विष्टले बताए। ‘हामीसँग हालसम्म बग्दै गरेको काठ दाउरा संकलनका लागि उपयुक्त प्रविधि छैन, असार, साउन, भदौमा पानीको बहाव धेरै हुँदा ठूलठूला रुख बगेर गएको देखिन्छ’, विष्टले भने, ‘त्यस्ता काठ सामान्य तरिकाबाट निकाल्न सकिँदैन, त्यसका लागि काठ संकलन गर्ने घाट बनाएर ठूला क्रेनले तान्नुपर्छ।’

नीतिगत समस्याका कारण कर्णाली नदीका काठ संकलन गर्न नसकेको सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले बताए। उनले भने, ‘हालसम्म त्यस्ता काठ संकलनका लागि प्रदेश सरकारमार्फत काम गरिएको छैन, अब संकलन गर्ने योजना बनाउनेछौँ।’ 

सरकार सुशासन दिन चुकिरहेको छः कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस सत्तामा भएपनि सरकारमा नभएको बताएका छन् ।

शनिबार वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको साधारण सभालाई सम्बोधन गर्दै कोइरालाले सरकारले जनताको चाहना बुझ्न नसकेको र असल सुशासन दिन चुकिरहेकाले एमाले भोलिको प्रतिस्पर्धी पार्टी भएकाले खबरदारी गर्न नछाड्ने बताएका हुन् ।

उनले सरकारले सुशासन दिन नसकेको र दण्डहिनता बढेकाले यसलाई नियन्त्रण गर्नुपर्ने बताए । उनले भने, ‘अहिलेको सरकार नेपाली काँग्रेस सम्मिलित सरकार हो र यसमा हामी पनि छौँ । तर मैले एउटा कुरा भन्दै आइरहेको छु–हामी सत्तामा छौँ तर सरकारमा छैनौँ । सरकारले गलत वा कमजोरी गरिरहेको छ की भनेर खबरदारी गरिराख्नुपर्छ भन्ने हो । खबरदारी गरेनौंं भने कांग्रेसलाई अफ्ठ्यारोमा पर्नसक्छ ।’

कोइरालाले अहिले सडकमा उठिरहेका धेरै माग संविधान संशोधनबाट पुरा गर्न सकिने बताए ।

कृषि उपजको बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालन

भोजपुर । पौवादुङमा गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । किसानले उत्पादन गरेको कृषि उपजको सहज बजारीकरणका लागि गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।

गाउँपालिकाले कृषिमा जोड दिएकाले किसानले उत्पादन गरेका कृषि उपजको सहज बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष किरण राईले बताए । उत्पादित वस्तुलाई सहजरुपमा बाहिरी जिल्लाका बजारसम्म पुर्‍याउन कृषि एम्बुलेन्सले सहजता थप्ने उनको भनाइ छ ।

‘गाउँपालिकाले कृषिमा जोड दिएको छ’, अध्यक्ष राईले भने, ‘किसानले व्यावसायिक रुपमा विभिन्न नगदेबालीको खेती गरिरहेका छन्, गाउँपालिकाभित्र उत्पादन भएका सम्पूर्ण कृषि उपजको सहज बजारीकरणका लागि एम्बुलेन्स सञ्चालनमा ल्याएका हौँ।’

गाउँपालिकाले किवी, अकबरे खुर्सानीलगायत अन्य विभिन्न नगदेबालीको खेतीमा अनुदानका कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए। धेरै किसान व्यावसायिक रुपमा कृषिमा लागेकाले यहाँ उत्पादन भएका वस्तुको बजारीकरणमा टेवा पु¥याउने लक्ष्यले गाउँपालिकाले आफ्नै कृषि एम्बुलेन्स सञ्चालन ल्याएको उनको भनाइ छ।

व्यावसायिक रुपमा कृषिमा लागेका किसानलाई थप प्रोत्साहन गर्न ७०० बढी किसानलाई कृषि सामग्री वितरण गरिएको प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिए।

बौद्धमा बत्ती बालेर तामाङ समुदायद्वारा बालाजुमा स्नान

काठमाडौं । पितृको मुक्तिको कामना गर्दै बौद्ध चैत्य परिसरमा शुक्रबार रातभर बत्ती बालेका बौद्ध धर्मावलम्बी तामाङ समुदाय स्नान गर्न बालाजु बाइस धारातर्फ प्रस्थान गरेका छन् ।

बालाजु बाइस धारामा स्नान गर्न भक्तजन बिहानैदेखि प्रस्थान गरेका काठमाडौँ महानगरपालिका वडा नं ६ का वडाअध्यक्ष भुवन लामाले जानकारी दिए ।

चैत्र शुक्ल चतुर्दशीका दिन बौद्धमा आई पूजा गरेर दिवङ्गत पितृका नाममा बत्ती बाल्ने, पूर्णिमाका दिन बिहान बालाजु २२ धारामा स्नान गरी नागार्जुनको जामाचो र स्वयम्भूमा दर्शन गर्ने प्रचलन छ ।

तेमालका अन्तिम तामाङ राजा रिन्छिन दोर्जेको कालदेखि यो पर्वलाई राष्ट्रिय मान्यता दिइ बौद्धमा आएर मेला लाग्ने परम्पराको थालनी भएको बौद्धनाथ क्षेत्र विकास समितिका पूर्वध्यक्ष राजकुमार लामा बताउँछन् ।

प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीका दिन स्तूपमा बत्ती बालेमा पितृले मुक्ति पाउने धार्मिक विश्वास छ ।
जात्राका अवसरमा बौद्ध क्षेत्रमा तामाङ सेलो र तामाङ संस्कृति झल्कने वेशभूषा एवं र्याली आयोजना भएको थियो । हिजोदेखि सुरु भएको बौद्धको तेमाल जात्रा आज बालाजु २२ धारा, जामाचो र स्वयम्भू पुगेर स्नान, पूजा आराधनापछि सम्पन्न हुन्छ ।

जात्रामा काभ्रेपलाञ्चोक, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, काठमाडौँ र मकवानपुरलगायत जिल्लाका तामाङ समुदायको सहभागिता थियो ।

भरतपुर अस्पतालमा प्लाष्टिकका झोला प्रतिबन्धित

चितवन । भरतपुर अस्पतालले वातावरण प्रदूषणक प्लाष्टिकका झोलामा प्रतिबन्ध लगाएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेलका अनुसार अस्पतालको फार्मेसी र अस्पतालभित्रका खाजा घरमा पनि प्लाष्टिकका झोला प्रयोगमा रोक लगाइएको हो । उनले भने, “फार्मेसीमा औषधि दिँदा र खाजाघरमा कागजको झोलाको प्रयोग गरिएको छ ।”

अस्पतालमा बिरामी भेट्न आउँदा कागजका झोला र कपडाका झोला प्रयोग गर्न अस्पतालले बिरामीका आफन्तहरुलाई आग्रह गरेको छ ।

अस्पतालले कुनै पनि कार्यक्रममा प्लाष्टिकका सामग्रीको प्रयोग नगर्ने उनले बताए । प्लाष्टिकका झोलाले वातावरणलाई हानि गर्ने भएकाले प्रयोगमा रोक लगाइएको हो ।

यी हुन् वर्ष २०८१ का नेपालका प्रमुख घटना

काठमाडौँ । अघिल्ला वर्षहरू झै वर्ष २०८१ पनि राजनीतिक, आर्थिक र सामाजिक तथा विपद्जन्य घटनाका कारण चर्चामा रहन पुग्यो ।

मुलुकका दुई प्रमुख राजनीतिक दल मिलेर सरकार गठनदेखि पूर्वराजाको समर्थनमा भएको प्रदर्शन, सहकारी प्रकरण, ठूलो जनधनको क्षतिसहितको प्राकृतिक प्रकोप र दुर्घटना तथा अध्यादेश, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्राउ र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीसम्बन्धी विषय चर्तित बने । वर्ष २०८१ मा भएका विभिन्न प्रमुख घटना यसप्रकार छन् :

राजनीतिक घटनाक्रम

वैशाख १७ गते– बझाङ जिल्लाको प्रदेशसभा १ मा भएको उपनिर्वाचनमा नेकपा (एमाले)का दमनबहादुर भण्डारी विजयी ।

वैशाख १८ गते– इलाम निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनमा नेकपा (एमाले)का सुहाङ नेम्वाङ विजयी ।

वैशाख २७ गते– नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की तेस्रो पटक कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त ।
जेठ ४ गते– सत्ता साझेदार तीन दल र प्रमुख प्रतिपक्षी दलबीच सहकारीमा भएको आर्थिक अपचलनका सन्दर्भमा संसदीय छानबिन समिति गठन गर्ने सहमति ।

जेठ ७ गते– प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत ।

जेठ १४ गते– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको विश्वासको मत असंवैधानिक गर्दै नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतको परमादेश ।

जेठ २३ गते– मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादव विश्वासको मत पाउन असफल ।

जेठ २५ गते– मधेस प्रदेशका मुख्यमन्त्रीमा सतिशकुमार सिंह नियुक्त ।

असार १९ गते– सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा (एमाले)द्वारा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता ।

असार २० गते– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्षमा माधवकुमार नेपाल पुनः सर्वसम्मत चयन ।

असार २२ गते– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई विश्वासको मत प्राप्त ।

असार २८ गते– विश्वासको मत नपाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदमुक्त ।

असार ३० गते– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त ।

साउन ६ गते– प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त ।

साउन ८ गते– बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका बहादुरसिंह लामा (तामाङ) नियुक्त ।

साउन २० गते– नेपाली कांग्रेसका कमलबहादुर शाह दोस्रो पटक सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त ।

भदौ ३१ गते– संसदीय छानबिन विशेष समितिद्वारा गोर्खा मिडियाका सञ्चालकलाई कारबाही गर्न सिफारिस ।

पुस ८ गते– प्रतिनिधिसभा सदस्य रवि लामिछानेको सांसद पद निलम्बन ।

चैत ५ गते– स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन ।

चैत १५ गते– पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनमा पत्रकार सुरेश रजकसहित दुई जनाको मृत्यु, घाइते, सार्वजनिक तथा निजी सम्पत्तिमाथि आगजनी र तोडफोड, जिल्ला प्रशासन कार्यालय काठमाडौँद्वारा कर्फ्यू आदेश ।

चैत २० गते– नेपाल शिक्षक महासङ्घको आह्वानमा शिक्षकहरूको काठमाडौँ केन्द्रित आन्दोलन सुरू ।

कूटनीति

वैशाख ११ गते– कतारका अमिर शेख तमिम विन हमाद अल थानीबाट नेपालको राजकीय भ्रमण ।

जेठ २७ गते– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा सहभागी ।

जेठ २९ गते– राष्ट्रपति रामचन्द्र पौडेल औपचारिक विदेश भ्रमणका क्रममा जेनेभा प्रस्थान ।

असार १ गते– राष्ट्रपति रामचन्द्र पौडेल जर्मनी भ्रमणमा ।

भदौ १० गते– ओमानका विदेशमन्त्री सैयद बद्रविन हमाद विन हमुद अबुसैदी नेपाल भ्रमणमा ।

असोज ४ गते– प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको ७९ औँ महासभामा सहभागी हुन न्यूयोर्क प्रस्थान ।

कात्तिक २५ गते– राष्ट्रपति रामचन्द्र पौडेल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घ सम्मेनल (कोप २९) मा नेपालको प्रतिनिधित्व गर्दै अजरवैजान प्रस्थान ।

मङ्सिर १६ गते– प्रधामन्त्री केपी शर्मा ओली चीन भ्रमणका लागि प्रस्थान ।

चैत १९ गते– प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बिम्स्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्ड प्रस्थान, भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता ।

अपराध

वैशाख १३ गते– रौतहट जिल्ला अदालतद्वारा पूर्वमन्त्री अफताव आलमसहित चार जनालाई जन्मकैद ।

वैशाख २७ गते– केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)द्वारा काठमाडौँको नक्सालस्थित नेपाल बाल सङ्गठन (बालमन्दिर) को जग्गा दुरूपयोग गरी अनियमितता गरेको आरोपमा २० जनाविरूद्ध पक्राउ पूर्जी जारी ।

जेठ २ गते– राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा उच्च अदालत पाटनद्वारा सफाइ ।

कात्तिक २ गते– पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ ।

कात्तिक २० गते– गण्डकी प्रदेशसभाका सदस्य ‘दीपक मनाङे’ भनिने राजीव गुरूङलाई ज्यान मार्ने उद्योग मुद्दामा सर्वोच्च अदालतबाट पाँच वर्ष कैद सजाय ।

चैत ५ गते– काठमाडौँको टोखाबाट करिब रू २५ करोड बराबरको विदेशी मुद्रा बरामद ।

चैत २९ गते– काठमाडौँको तीनकुनेमा हिंसात्मक प्रदर्शनलगत्तै फरार भएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाई झापाबाट पक्राउ ।

पूर्वाधार निर्माण

वैशाख ३ गते– नागढुङ्गा–सिस्नेखोला सुरूङमार्ग आयोजनाअन्तर्गत सुरूङमार्ग छिचोलियो ।

माघ १३ गते– राष्ट्रिय गौरवको सिद्धबाबा सुरूङमार्गको सुरूङ सात महिनामै छिचोलियो ।

आर्थिक गतिविधि

वैशाख १५ गते– काठमाडौँमा तेस्रो लगानी सम्मेलन, ५२ देशका लगानीकर्ता नेपालमा ।

जेठ १५ गते– सरकारद्वारा आगामी आर्थिक वर्ष २०८१÷८२ लाई आर्थिक सुधारको वर्ष घोषणा गर्दै रू १८ खर्ब ६० अर्ब ३० करोडको बजेट प्रस्तुत

माघ १४ गते– अमेरिकी सहयोग नियोग (युएसएड) मार्फत नेपाललाई प्राप्त अनुदान ९० दिनका लागि स्थगित ।
चैत ९ गते– एमसिसी परियोजना अघि बढाउने अमेरिकी सरकारको प्रतिबद्धता ।

खेलकुद र पर्वतारोहण

जेठ ९ गते– कीर्तिमानी पर्वतारोही कामिरिता शेर्पा ३० औँ पटक सगरमाथा शिखरमा ।

जेठ १९ देखि असार १५ गते – संयुक्तराज्य अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न आइसिसी मेन्स टी–२० क्रिकेट विश्वकपमा नेपाल सहभागी । नेपाल लिग चरणबाट बिदा भए पनि प्रभावशाली खेल प्रदर्शन ।

पुस ६ गते– जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन ।

विविध

असार ९ गते– अख्तियार दुरूपयोग अनुसन्धन आयोगद्वारा मुख्यसचिव डा वैकुण्ठ अर्यालविरूद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचारको अभियोगमा मुद्दा दायर । वरिष्ठ सचिव लीलादेवी गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी ।

साउन ३० गते– बेपत्ता पारिएका व्यक्तिको खोजविन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित ।

भदौ १३ गते– मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त ।

कात्तिक १४ गते– तत्कालीन मुख्यसचिव डा वैकुण्ठ अर्याललाई विशेष अदालतद्वारा सफाइ ।

मङ्सिर २ गते– पूर्वसभामुख दमनाथ ढुङ्गानाको निधन ।

मङ्सिर ६ गते– राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भारतीय सेनाका स्थलसेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान ।

मङ्सिर २० गते– विशेष अदालतद्वारा नेपाल वायु सेवा निगमको खरिद अनियमितता प्रकरणमा तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित चार जना दोषी ठहर ।

फागुन ३ गते– संयुक्त राष्ट्रसङ्घको आह्वानमा द्वन्द्वरत मुलुक लेबनानमा खटिएको नेपाली शान्ति सैनिकमाथि आक्रमण ।
– पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा बेलुन पड्कँदा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य घाइते ।

फागुन ४ गते– भारतको उडिसा भुवनेश्वरमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद ढङ्गबाट मृत्यु ।

फागुन २९ गते– साहित्यकार लीलबहादुर क्षेत्रीको निधन ।

चैत १ गते– उपभोक्ता अदालत गठन ।

चैत ४ गते– नेपाल प्रहरीको महानिरीक्षकमा दिपक थापा नियुक्त ।

चैत ९ गते– राष्ट्रिय समाचार समितिका पूर्व अध्यक्ष एवं वरिष्ठ पत्रकार माधवरसिंह बस्नेतको निधन ।

चैत ११ गते– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पदमुक्त ।

चैत १७ गते– लेखक, कूटनीतिज्ञ एवं वरिष्ठ पत्रकार कमलप्रसाद कोइरालाको निधन ।

चैत २४ गते– राष्ट्रिय समाचार समितिका पूर्व प्रमुख समाचारदाता एवं वरिष्ठ पत्रकार भैरव रिसालको निधन ।

घटना–दुर्घटना

असार १७ गते– रोल्पामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु ।

असार २८ गते– नारायणगढ–मुग्लिन खण्डअन्तर्गत सिमलतालमा पहिरो जाँदा ६२ जना यात्रु बोकेका दुई वटा बस त्रिशूली नदीमा बेपत्ता ।

साउन ९ गते– काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्रै दुर्घटना हुँदा १८ जनाको मृत्यु ।

साउन २३ गते– काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही क्षणमै एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनामा पाँच जनाको मृत्यु ।

भदौ ३ गते– बझाङ, जाजरकोट र स्याङ्जामा पहिरोमा परी आठको मृत्यु ।

भदौ ७ गते– भारतीय पर्यटक सवार बस पृथ्वी राजमार्गको आँबुखैरेनीमा दुर्घटना हुँदा २७ को मृत्यु, १६ घाइते ।

भदौ ९ गते– रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–३, टोकरपुरस्थित लेकखर्कमा पहिरोले वस्ती बगाउँदा छ जनाको मृत्यु ।

असोज १२ गते– अविरल वर्षाका कारण बाढीपहिरो र डुबानमा परी ९० जनाको मृत्यु, ७२ घाइते ।

असोज १३ गते– दुई दिनदेखिको वर्षाका कारण काठमाडौँ आउँदै गरेका दुई वटा माइक्रो बस र एउटा बस झ्याप्ले खोलाको पहिरोमा पुरिँदा ३५ जनाको मृत्यु ।

असोज १७ गते– काभ्रेको तेमाल गाउँपालिका–२ ढडेन पाखामा गएको पहिरोमा परी एकै परिवारका छ जनाको मृत्यु ।

असोज ३० गते– महेन्द्रनगरबाट बैतडीको पुर्चौंडीतर्फ गएको रात्रिबस दुर्घटनामा पाँचको मृत्यु, १२ घाइते ।

मङ्सिर १४ गते– रामेछापको गोकुलगङ्गा गाउँपालिका–६ मा गाडी दुर्घटना हुँदा पाँचको मृत्यु ।

माघ २६ गते– सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी ।