`

टप एण्ड टी-२० सिरिज : मेलबर्न रेनेगेड्स विरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

Nepal One HD ४ भदौ २०८२ ११:३०
खेलकुद

काठमाडौँ । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजअन्तर्गत आफ्नो पाँचौँ मेलबर्न रेनेगेड्स एकेडेमी विरुद्धको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको छ ।

नेपालको कप्तानको जिम्मेवारी अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई दिइएको छ । मंगलबारको खेलमा आराम दिइएका ऐरीलाई प्रशिक्षकले बुधबारको खेलमा कप्तानको जिम्मेवारी दिएका हुन् । उनी नेपाली टिमको नियमित उपकप्तान हुन् । यो प्रतियोगितामा नेपालका प्रशिक्षकले सबै खेलाडीहरुलाई पालैपालो अवसर दिइरहेका छन् ।

यससँगै मेलबर्न रेनेगेड्स एकेडेमीले पहिला बलिङ गर्नेछ । नेपालले हालसम्म खेलको चार खेलमा एक खेलमा जित तथा तीन खेलमा पराजय भोगेको छ । नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने दोस्रो खेलमा बङ्गलादेश ‘ए’ सँग ३२ रनले पराजित भएको थियो । त्यस्तै तेस्रो खेलमा नेपाल मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो ।

मंगलबार भएको आफ्नो चौथो खेलमा भने नेपालले होबर्ट हुरिक्यान्स एकेडेमीलाइ ६६ रनले पराजित गर्दै विजयी भएको हो । आज नेपालले आफ्नो जितलाई निरन्तरता दिने लक्ष्यमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *