`

चितवनमा गोली लागेर एक सैनिकको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा नयाँ गोरख गण कसरामा कार्यरत सैनिक जवान २२ वर्षीय चन्द्रकिशोर दास छन् ।

ब्यारेकको हतियार सफा गर्ने क्रममा हतियार पड्किएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए ।

उनका अनुसार सफा गर्ने क्रममा हतियार पड्किँदा घाइते भएका दासको चितवन मेडिकल कलेजमा उपचारका क्रममा शुक्रबार साँझ मृत्यु भएको हो ।

दास चितवन राष्ट्रिय निकुञ्जको चरनपुर पोष्टमा कार्यरत थिए । बिहान गस्ती गरेर फर्किएर हतियार व्यवस्थापन गर्दैगर्दा उनलाई गोली लागेको थियो ।

१० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता पुनः स्थगित

काठमाडौं । १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता पुनः स्थगित भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को शुक्रबार बसेको १२२ औँ बोर्ड बैठकले प्रतियोगिता आगामी जेठमा नगर्ने निर्णय गरेको हो ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बैठकमा प्रतियोगिता जेठमा नगर्ने प्रस्ताव राखेका थिए । मन्त्रीको प्रस्तावमा माओवादी निकट सदस्यहरूले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए । प्रतियोगिता यसअघि तीनपटक मिति परिवर्तन भइसकेको छ ।

पछिल्लो पटक राखेपको १२१औँ बैठकले प्रतियोगिता आगामी जेठ ३ देखि १० गतेसम्म आयोजना गर्ने निर्णय गरेको थियो । मिति तय भएपछि सचिवालय स्थापना भइसकेको छ भने लोगो र मस्कट सार्वजनिक भइसकेको छ ।

शिक्षकहरूलाई म भन्न चाहन्छु, शिक्षा ऐन चाँडै आउँछः प्रधानमन्त्री ओली

रुपन्देही । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विद्यालय शिक्षा ऐन चाँडै ल्याउन तत्पर रहेकाले शिक्षकहरूले आन्दोलन गरिरहनु नपर्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) रुपन्देही जिल्ला कमिटीले शुक्रबार बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारले सबै क्षेत्र र समुदायका समस्या र आवाजलाई सुन्ने भएकाले आन्दोलन गरिरहन नपर्ने बताए ।

‘समस्याहरू छन्, तर सडकमा गइरहनुपर्ने थिएन । शिक्षकहरूलाई म भन्न चाहन्छु, शिक्षा ऐन चाँडै आउँछ । तपाईँहरूले आफ्ना समस्या मात्र हैन, राष्ट्रको हित र आर्थिक अवस्थालाई पनि हेरेर विचार गर्नुपर्ने हुन्छ’, उनले भने ।

प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिले अन्य माध्यमबाट पठाएको राजीनामा एकिन गरेर स्वीकृत गरेको जनाउँदै उपकुलपतिसँग आफ्नो भिडन्त भयो भन्ने खालका प्रचारमा कुनै सत्यता नभएको स्पष्ट गरे ।

तिनकुने घटनाको निष्पक्ष छानबिन गर्न मानव अधिकार आयोग समक्ष पत्रकार महासंघको माग

काठमाडौं । नेपाल पत्रकार महासंघले तिनकुने हिंसात्मक घटनामा पत्रकार सुरेश रजकको जलाएर हत्या गरिएको लगायत प्रेस स्वतन्त्रता हननका सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिनका लागि राष्ट्रिय मानव अधिकार आयोग समक्ष माग राखेको छ ।

महासंघका उपाध्यक्ष उमिद बागचन्दको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले शुक्रबार आयोगका अध्यक्ष तपबहादुर मगरसहितका पदाधिकारीहरूलाई भेटेर यही चैत १५ गते तिनकुनेमा भएको हिंसात्मक घटनामा पत्रकार हत्या तथा आक्रमण, सञ्चारगृहमा भएको आगजनी र तोडफोडको स्वतन्त्र छानबिनका लागि आयोगलाई आग्रह गरेको हो ।

त्यस अवसरमा आयोगका अध्यक्ष मगरले आयोगले तिनकुने घटनाको छानबिन गरिरहेकाले पत्रकार मारिएको र प्रेस स्वतन्त्रता हनन्का घटनाको निष्पक्ष छानबिन हुनेमा ढुक्क रहन अनुरोध गरेका छन् । विस्तृत छानबिन प्रतिवेदन तयार पारी दोषिमाथि कारबाही सिफारिससहितको प्रतिवेदन कार्यान्वयनका लागि सरकार र सम्बद्ध निकायलाई पठाइने उनको भनाइ थियो ।

पत्रकार हत्यामा संलग्न दोषिमाथि कारबाही, मृत पत्रकारको परिवार तथा क्षति पुगेको सञ्चारगृहलाई क्षतिपूर्ति, घाइते पत्रकारको निशुल्क उपचार, सञ्चारगृह तथा सञ्चारकर्मीको सुरक्षाको प्रत्याभूति तथा विगतमा प्रेस स्वतन्त्रता हननका घटनका दोषिमाथि कारबाहीको माग गर्दै गृहमन्त्रीसमक्ष ध्यानाकर्षण गराएको तर सरकारले त्यसतर्फ ध्यान नदिएको महासंघले जनाएको छ । यसबारे सरकारको ध्यानाकर्षण गरिने मगरले बताए ।

सरकारले हत्याको निष्पक्ष छानबिनलगायत महासंघको माग सुनुवाइ नगरेझैं आयोगसंग पनि गुनासो गर्ने अवस्था सिर्जना नगर्न महासचिव रामप्रसाद दाहालले सचेत गराएका छन् ।

दाहालका अनुसार, आज महासंघको केन्द्र, प्रदेश र जिल्ला शाखाहरूले आयोग समक्ष आफ्नो माग प्रस्तुत गरेका हुन् । केन्द्रीय समितिले आयोग पदाधिकारी, प्रदेश समितिले प्रदेश कार्यालय र शाखाहरूले इमेलमार्फत आयोगको ध्यानाकर्षण गराएका छन् ।

महासंघका महासचिव दाहालका अनुसार सरकारले माग सुनुवाइ नगरेकाले थप दबाब दिने अभियान अन्तर्गत आयोगको ध्यानाकर्षण गराइएको छ । महासंघले आइतबार देशभरबाट गृहमन्त्रीलाई महासंघको माग पूरा गर्न दबाब दिने सन्देश पठाउन आफ्ना सदस्यहरूलाई आह्वान गरेको छ ।

एउटै अभिनेताको दुई चलचित्र एकसाथ प्रदर्शनमा

काठमाडौँ । केही समययता एकै अभिनेताको दुई चलचित्र एकसाथ प्रदर्शन हुने क्रम बढ्न थालेको छ । अभिनेता दयाहाङ राईले अभिनय गरेको चलचित्र ‘अञ्जिला’ गत फागुन २९ र ‘राजगञ्ज’ यही चैत १ देखि प्रदर्शन भइरहेका छन् । एक दिनको फरकमा एकै अभिनेताको दुई चलचित्र प्रदर्शन हुँदा त्यसको असर पर्ने अनुमान गरिएको थियो । 


सोही अनुसार अञ्जिला व्यावसायिक रूपमा सफल भए पनि राजगञ्जले उल्लेख्य सफलता हासिल गर्न सकेको छैन । आज चैत २९ देखि अभिनेता दिव्यदेव पन्तले अभिनय गरेको दुई चलचित्र ‘कर्मा’ र ‘पिताम्बर’ एकसाथ प्रदर्शन भएका छन् ।


नाटक हुँदै चलचित्रमा अभिनेता बनेका पन्तले ‘कर्मा’मा नेपाल प्रहरी र ‘पिताम्बर’मा खलनायकको भूमिका निर्वाह गरेका छन् । आफ्नो पात्रलाई जीवन्त बनाउन हरप्रयास गर्ने अभिनेता पन्तले नयाँ अनुभव भइरहेको बताए ।


“दुई चलचित्र एकसाथ प्रदर्शन भएको पहिलोपटक हो । दुवै चलचित्रमा मैले आफू देखिने भन्दा पनि पात्रलाई पर्दामा ल्याउने कोसिस गरेको छु । अभिनेता म भए पनि पर्दामा देखिने पात्र फरक भएकाले दर्शकले त्यहाँ दिव्य नभई हेर्ने चलचित्रको पात्र पाउनु हुनेछ”, पन्तले भने । 


नेपाली चलचित्रमा ‘आवरण’मार्फत अभिनय यात्राको सुरुवात गरेका अभिनेता पन्त प्रायः कलात्मक चलचित्रमा देखिनुहुन्छ । कलात्मकतालाई प्राथमिकता दिने उनले ‘महाजात्रा’ चलचित्रपछि लगातार व्यावसायिक चलचित्रमा काम गरेका छन् ।


“अभिनेताले सबै किसिमको चलचित्रमा काम गर्नुपर्छ भन्ने लागेर नै मैले आफूलाई पर्दामा उतारिरहेको गरिरहेको छु । व्यावसायिक होस् वा कलात्मक म आफ्नो पात्रलाई जीवन्त र भिन्न बनाउने कोसिस गरिरहेको हुन्छु । हरेक विधाको चलचित्रमा काम गर्दा यसले मेरो अभियान यात्रामा अनुभव थप्छ भन्ने विश्वास छ”, उनले भने ।


अभिनेता पन्त केही समय विश्राम गरेर आगामी चलचित्रमा काम गर्ने योजनामा छन् । लगातार काम गर्दा त्यसको प्रभाव समीक्षा गर्न नपाउने भएकाले उनले विश्राम लिने योजना बनाएको बताए ।


“आफ्नै कामको मूल्याङ्कन गर्न जरुरी छ, त्यसकारण केही समय विश्राम गरेर त्यसलाई समीक्षा गर्नेछु । म बेलाबखतमा रङ्गमञ्चमा पनि प्रस्तुत हुन्छु, किनकि त्यहाँ आफ्नो अभिनयलाई मापन गर्न सकिन्छ”, अभिनेता पन्तले भने । 

‘पिताम्बर’ धेरै कलाकार हुनुको कारण

चलचित्र ‘पिताम्बर’ आजदेखि प्रदर्शन भएको छ । नेपालसहित विदेशका केही स्थानमा प्रदर्शन भएको चलचित्रमा कलाकारको भीडभाड नै देखिएको छ । अभिनेता सौगात मल्ल, दयाहाङ राई, प्रदीप खड्का, अनुपविक्रम शाही, आर्यन सिग्देल, दिव्यदेव पन्त, प्रमोद अग्रहरि, दिव्या रायमाझी, सुपुष्पा भट्ट, सुरक्षा पन्त, गौरव विष्टलगायत कलाकारले चलचित्रमा अभिनय गरेका छन् ।


उल्लेखित कलाकारहरू कथाको मागका कारण राखिएको निर्देशक कृषा चौलागाईँले जानकारी दिइन् । उनले चलचित्र हेरिरहँदा दर्शकले हरेक कलाकारलाई कथासँग जोडिएर प्रस्तुत गरेको अनुभूति गर्ने बताइन् ।
“हामीले दर्शकलाई एउटा स्तरीय चलचित्र दिने कोसिस गरेका छौँ । कलाकारको भीडभाड देखिए पनि कथाअनुसार सबै आवश्यक छ । यो चलचित्रपछि अन्य निर्मातालाई पनि यी कलाकारलाई लिएर चलचित्र निर्माण गर्ने आँट आउनेछ”, निर्देशक चौलागाईँले भनिन् । उनले दर्शकले आफूलाई मन परेको कलाकारलाई पहिलेभन्दा भिन्न तरिकाले चलचित्रमा देख्न पाउने बताइन् । 


अभिनेता प्रदीप खड्काले चलचित्रका लागि द्वन्द्वको प्रशिक्षण लिएर आफ्नो पात्रलाई तयार गरेको जानकारी दिए । उनले पात्रका लागि शारीरिक तौल घट्बढ्सँगै आवश्यक तयारी गरेको बताए ।


उनले भने, “निर्देशक, निर्मातासहितको समूहले मलाई सुहाउँदो भूमिका छ र यसको तयारी गर्नुपर्छ भनेपछि मैले आफ्नोतर्फबाट प्रयास गरेको हुँ । यसअगाडि एक सामाजिक विषयसँग सम्बन्धित चलचित्रका लागि तौल घटाएको थिएँ, यसका लागि बढाएर आफूलाई पात्रअनुसार तयार गरेँ । एक महिला निर्देशकले द्वन्द्व प्रधान चलचित्र बनाउँछु भनेपछि म तयार भएको हुँ ।”


उनले बिनासम्झौता चलचित्र तयार भएको भन्दै सामाजिक विषयलाई द्वन्द्व विधामा प्रस्तुत गरिएको जानकारी दिए । प्रायः प्रेम कथानक चलचित्रमा अभिनय गरेका अभिनेता खड्काले पहिलोपटक यस प्रकारको द्वन्द्व विधाका लागि आफू मा तयार भएर अभिनय गरेका हुन् ।


चलचित्र भव्य बनेको अभिनेता दिव्यदेव पन्तको भनाइ छ । उनले निर्माण समूहको सोच र लगनशीलता देखेर सम्पूर्ण कलाकारले मेहनत गरेको बताए । “चलचित्रलाई राम्रो बनाउन कुनै सम्झौता गरिएको छैन । यति धेरै कलाकार र बजेटमा एउटा महिला निर्देशकले द्वन्द्व प्रधान चलचित्र तयार गर्नुभएको कुराले अन्य चलचित्रकर्मीलाई पनि उत्साहित बनाएको छ”, उनले भने । 


चलचित्रमा रवीन्द्र झा, कामेश्वर चौरासिया, टीका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडीलगायत कलाकारले अभिनय गरेका छन् । विशाल चौलागाईँ निर्माता रहेको चलचित्रमा पुरुषोत्तम प्रधानले छायाङ्कन, निर्देशक प्रदीप भारद्वाज र अभिमन्यु निरवीले पटकथा र संवाद लेखन, शेरबहादुर लामा र मानकृष्ण महर्जनले छायाङ्कन, बन्देप्रसादले सम्पादन, आशिष अविरल र बाबुल गिरीले सङ्गीत सृजना, हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् ।

पाल्पाको शीतभण्डारमा दुई सय १० मेट्रिकटन आलु भण्डारण

पाल्पा । यसवर्ष रामपुर शीतभण्डारमा दुई सय १० मेट्रिकटन आलु भण्डारण गरिएको छ । रामपुर नगरपालिकाको व्यवस्थापनमा किसानले उत्पादन गरेको बीउ तथा खायन आलु सुरक्षित भण्डारण गरिएको हो । नगरपालिकाले सूचना जारी गरी गत चैत १८ देखि आलु भण्डारणका लागि शीतभण्डार खुल्ला गरेको थियो ।

भण्डारण कक्ष भरिएपछि २१ गते नै बन्द गरिएको छ । यसअघि पहिलो वर्ष बोलपत्रमार्फत व्यवसायीलाई, दोस्रो र तेस्रो वर्ष सूर्योदय कृषि सहकारीसँग सम्झौता गरेर शीतभण्डार सञ्चालन गरिएको थियो । हाल नगरपालिका आफैंले शीतभण्डारको व्यवस्थापन गरिरहेको छ ।

यहाँको शीतभण्डारमा छ सय ८२ किसान तथा कृषि सहकारी र समूहको गरेर दुई सय १० मेट्रिकटन आलु भण्डारण गरिएको नगरपालिकाको कृषिशाखा प्रमुख नारायणप्रसाद गैरेले जानकारी दिए । गत वर्ष एक सय ७० मेट्रिकटन आलु भण्डारण गरिएको उनले बताए ।

यहाँ स्थानीय नगरपालिकासहित स्याङ्जाको चापाकोट नगरपालिकाका केही किसानबाट ल्याइएका आलुसमेत भण्डारण गरिएका छन् । नगरप्रमुख रमणबहादुर थापाले शीतभण्डारको सुविधा भएपछि किसानले उत्पादनमा जोड दिएको बताए । यस क्षेत्रमा आलु बढी उत्पादन बढी हुने भएकाले नगरपालिकाले शीतभण्डार निर्माण गरी प्रयोगमा ल्याएको र त्यसबाट किसान निकै लाभान्वित भएका उनको भनाइ छ ।

यसवर्ष रामपुर क्षेत्रमा प्रतिरोपनी सातदेखि आठ क्विन्टलसम्म आलु उत्पादन भएको छ । किसानबाट प्रतिकिलो रु छ भण्डारण शुल्क लिएर आलु राखिएको नगरपालिकाले जनाएको छ ।

लुम्बिनी प्रदेश सरकारमार्फत रु तीन करोड २६ लाख ७६ हजार ५६६ मा तीन सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गरेर विसं २०७८ देखि सञ्चालनमा ल्याइएको हो । पहिलो वर्ष परीक्षणको क्रममा प्राविधिक समस्याका कारण केही समस्या भए पनि पुनः मर्मतपश्चात् दोस्रो र तेस्रो वर्ष भण्डारण गरिएको आलु राम्रो भएको कृषि शाखा प्रमुख गैरेले बताए ।

नगरपालिकाले शीतभण्डारको रेखदेख, तापक्रममा तथा उपकरणको निरीक्षणका लागि एकजना दैनिक हेरालु राखेको छ । भण्डार केन्द्रमा फरक–फरक क्षमताका पाँच कोठा छन् । हाल पाँचवटै कोठा आलुले भरिएका छन् । सञ्चालनका लागि मासिक रु ५० देखि ६० हजारसम्म विद्युत् महसुल लाग्ने गरेको नगरपालिकाले जनाएको छ ।

शीतभण्डार सञ्चालन हुनुअघि यहाँका किसानले भैरहवा, गल्याङ, पोखरालगात स्थानमा आलु भण्डारण गर्दै आएका थिए ।

एउटै वडामा भेटिए क्षयरोगका २५ सङ्क्रमित

जलेश्वर । महोत्तरीको बलवान नगरपालिकाको एउटै वडामा २५ जना क्षयरोगका सङ्क्रमित भेटिएका छन् । यहाँको वडा नं ११ धमौरा गाउँमा २५ जनामा क्षयरोगको सङ्क्रमण फेला परेको जनस्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी प्रतिभा सिंहले जानकारी दिए ।

धमौरा स्वास्थ्यचौकी इन्चार्ज वीरेन्द्र महतोले यहाँ १७ देखि ७४ वर्ष उमेर समूहका व्यक्तिमा क्षयरोगको सङ्क्रमण देखिएको बताए । उनका अनुसार सङ्क्रमितमध्ये ८० प्रतिशत स्थानीय मुसलिम समुदाय र बाँकी अन्य जातजातिका रहेका छन् ।

यस्तै, सङ्क्रमितमध्ये १२ जनाले हाल स्वास्थ्यचौकीको सम्पर्कमा रहेर औषधि सेवन गरिरहेका स्वास्थ्यचौकी ईन्चार्ज महतोले बताए । स्थानीयले वडामा तत्काल बृहत्त् सचेतना अभियान सञ्चालन गरेर थप सङ्क्रमितको खोजतलाश गर्न र सङ्क्रमण फैलिन रोक्नुपर्ने माग गरेका छन् ।

क्षयरोग चुरोट, बिडी र धूमपान, धुँवाधुलो र खानपानको समस्याले हुने एक प्रकारको सरुवा रोग हो । यसको समयमै उपचार नभए एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दै भयावह रुप लिनसक्ने जनस्वास्थ्यकर्मीको भनाइ छ । नेपाल सरकारले यस रोगको औषधि निःशुल्क प्रदान गरिरहेको छ । 

वर्ष समीक्षा २०८१ः ‘बिबी माइनस’ रेटिङदेखि एफएटिएफको ‘ग्रे लिस्ट’सम्म

काठमाडौँ । कोभिड–१९ महामारियता निरन्तर मन्दी झेलिरहेको नेपालको अर्थतन्त्रमा यसवर्ष केही सुधारका सङ्केत देखिए पनि समग्र स्थिति भने अझै शिथिल अवस्थामै छ । वृद्धिदरमा आंशिक सुधार भए पनि आर्थिक पुनरुत्थानले स्थायित्व प्राप्त गर्न सकेको छैन । 


प्रमुख आर्थिक सूचकाङ्कहरूमा सामान्य सुधार देखिए पनि गुणात्मक रूपमा अर्थपूर्ण प्रगति हासिल हुन सकेको देखिँदैन । खासगरी बाह्य क्षेत्रका सूचक केही सन्तुलित देखिएकामा आन्तरिक आर्थिक संरचना, विशेषगरी सार्वजनिक वित्त व्यवस्थापनलगायत क्षेत्र अझै चुनौतीपूर्ण अवस्थामा छन् । आन्तरिक मागको स्थायी सङ्कुचनले समग्र आर्थिक गतिविधिमा नकारात्मक प्रभाव पारेको छ । 


बैंक तथा वित्तीय संस्थाहरूमा पर्याप्त तरलता उपलब्ध रहेको र ब्याजदर समेत घटेको छ । कर्जाको प्रवाह अपेक्षाकृत रूपमा सुस्त छ । लगानीको वातावरण मापन गर्ने सार्वभौम साख मूल्याङ्कनमा ‘डबल बि माइनस’ अङ्क प्राप्त गर्नु नेपालका लागि यसवर्ष उपलब्धिपूर्ण रह्यो भने सम्पत्ति शुद्धीकरण मामिला हेर्ने वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को खैरो सूची (ग्रे लिस्ट) मा पर्नु दुर्भाग्यपूर्ण रह्यो । वर्ष समीक्षाः २०८१ का लागि राष्ट्रिय समाचार समितिले महत्वपूर्ण आर्थिक घटनाक्रम र उपलब्धि समट्ने प्रयास गरेको छ ।

मुलुकको सार्वभौम साख मूल्याङ्कनः प्रक्रिया 

सुरु भएको करिब छ वर्षपछि नेपालले आफ्नो सार्वभौम साख मूल्याङ्न (सोभरेन क्रेडिट रेटिङ) सम्पन्न गर्यो । पहिलो पटक गरिएको क्रेडिट रेटिङमा नेपालले ‘डबल बी माइनस’ (बिबी माइनस) अङ्क पायो । प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) र बाह्य ऋण भित्राउँदा लगानीकर्ताले खोज्ने महत्वपूर्ण सूचकका रूपमा क्रेडिट रेटिङ पर्दछ । यो रेटिङले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्तीय व्यवस्थापन, र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था सुदृढ रहेको र लगानीमैत्री वातावरण रहेको देखाएको छ । 

विश्वका ३० भन्दा बढी देशमा वित्तीय सूचनासम्बन्धी सेवा उपलब्ध गराइरहेको रेटिङ एजेन्सी ‘फिच रेटिङ’ले नेपालको साखको स्वतन्त्र आंँकलनपछि भनेको छ, “नेपालको सार्वजनिक ऋण र कूल गार्हस्थ्य उत्पादन (जिडिपी)को अनुपात सुविधाजनक अवस्थामा छ । नेपालले राखेको लक्षित आर्थिक वृद्धि र राजस्व सुदृढीकरणबाट यो अनुपात अहिलेकै अवस्थामा कायम रहन सक्छ । ऋण भार सहनशीलता र बाह्य क्षेत्र राम्रो छ ।”

नेपाल एफएटिएफको ग्रे लिस्टमा 

नेपाल सम्पत्ति शुद्धीकरण निवारण कानुनको कार्यान्वयनमा चुक्दा यसवर्ष वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को खैरो सूचीमा नेपाल परेको छ । गत फेब्रुअरी २१ मा फ्रान्सको पेरिसमा सम्पन्न एफएटिएफ बैठकमा नेपालको संरचनागत र व्यवहारिक कमजोरीका कारण यो निर्णय गरिएको थियो । नेपालले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन बनाए पनि अनुसन्धान, अभियोजन र नियमन प्रभावकारी नभएकाले एफएटिफले पुनःग्रे लिस्टमा राखेको हो । नेपाल यसअघि २०१४ मा यो सूचीबाट बाहिरिएको थियो ।

नेपाललाई एक वर्षको निगरानी अवधि दिइएकामा सुधार पर्याप्त नभएकाले अन्ततः खैरो सूचीमा परेको हो । मुख्य कमजोरीमा गैरवित्तीय क्षेत्र नियमन कमजोर भएकाले सम्पत्ति शुद्धीकरणको जोखिम उच्च देखिनु, आतङ्ककारी क्रियाकलापमा भइरहेको वित्तीय लगानी ट्याकिङ गर्न नसक्नु, अनुसन्धान र अभियोजन फितलो हुनु, कानुनी सुधार भए पनि कार्यान्वयन कमजोर हुनु तथा सम्पत्ति शुद्धीकरण निवारणका लागि अन्तर निकाय समन्वय कमजोर हुनुलगायत कारण समावेश छन् ।

तेस्रो लगानी सम्मेलन 

यस वर्षको सुरुमा नेपालले काठमाडौँमा तेस्रो लगानी सम्मेलन आयोजना गर्दै स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्ने प्रयास गरेको थियो । गत वैशाख १६ र १७ गते सम्पन्न सम्मेलनमा डाटा सेन्टर, होटल, पर्यटन, व्यापार, जलविद्युत्, सार्वजनिक–निजी साझेदारी (पिपिपी) लगायतका क्षेत्रमा सहयोग र सहकार्यका लागि एक दर्जनभन्दा बढी समझदारीपत्रमा हस्ताक्षर भएका थिए । 


करिब नौ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत भएको यो सम्मेलनको उल्लेखनीय उपलब्धि हो । साथै, विदेशी लगानी स्वीकृतिका लागि स्वचालित प्रणालीको सुरुवात तथा रेमिट हाइड्रो परियोजना अघि बढाउने सम्झौता पनि सम्मेलनको विशेष पक्ष रह्यो । यसबाट नेपालले आफूलाई लगानीको उपयुक्त गन्तव्यका रूपमा प्रभावकारी ढङ्गले प्रस्तुत गर्न प्रयास गरेको देखिन्छ ।

सार्वजनिक ऋणको भारी 

चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा सरकारले तिर्न बाँकी ऋण रू २६ खर्ब ७६ अर्ब तीन करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधिसम्मको सरकारी ऋणको प्रतिवेदन अनुसार यो आर्थिक वर्षमा मात्र करिब साढे दुई खर्ब सरकारी ऋण थपिएको छ । 


चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण रू २४ खर्ब ३४ अर्ब नौ करोड रहेकोमा फागुन मसान्तसम्ममा रू दुई खर्ब ४१ अर्ब ९३ करोड थप वृद्धि भई कूल सार्वजनिक ऋण दायित्व रू २६ खर्ब ७६ अर्ब तीन करोड पुगेको छ । जुन कूल गार्हस्थ्य उत्पादनको ४६ दशमलव ९१ प्रतिशत हुन आउँछ । गत फागुन मसान्तसम्ममा विदेशी मुद्राको विनिमय दरमा भएको परिवर्तनका कारण मात्रै नेपाललाई रू ६६ अर्ब २९ करोड सार्वजनिक ऋणको दायित्व बढेको छ । 

हालसम्मको कूल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५० दशमलव ८३ प्रतिशत अर्थात् रू १३ खर्ब ६० अर्ब ४६ करोड र आन्तरिक ऋणको हिस्सा ४९ दशमलव १६ प्रतिशत अर्थात् रू १३ खर्ब १५ अर्ब ५७ करोड रहेको छ । कूल गार्हस्थ्य उत्पादनमा आन्तरिक ऋणको अनुपात २३ दशमलव शून्य छ प्रतिशत र बाह्य ऋणको अनुपात २३ दशमलव ८५ प्रतिशत हुन आउँछ ।

सोह्रौंँ योजना कार्यान्वयन

चालु आर्थिक वर्ष २०८१/८२ सोहौँ योजनाको आधार वर्ष हो । ‘सुशासन, सामाजिक न्याय र समृद्धि’ मुख्य लक्ष्यसहित सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (२०८१/८२–२०८५/८६) चालु आवदेखि कार्यान्वयनमा आइसकेको छ । यो आवधिक योजनामा केही महत्वाकाङ्क्षी लक्ष्य राखिएका छन् । आर्थिक वर्ष २०८५/८६ मा आर्थिक वृद्धिदर सात दशमलव तीन प्रतिशत र प्रतिव्यक्ति आय अमेरिकी डलर दुई हजार चार सय १३ पुर्याउने लक्ष्य यो आवधिक योजनाको लक्ष्य हो ।

योजना कार्यान्वयनको अन्तिम वर्षमा निरपेक्ष गरिबीको रेखामुखी रहेको जनसङ्ख्या १२ प्रतिशतमा झार्ने, उपभोक्ता मुद्रास्फीति पाँच प्रतिशतमा झार्ने, मानव विकास सूचकाङ्कमा शून्य दशमलव ६५० अङ्क हासिल गर्ने, मानव सम्पत्ति सचकाङ्क ७८ पुर्याउनेलगायत महत्वपूर्ण लक्ष्यहरू राखिएका छन् ।

सुनको मूल्य हालसम्मकै उच्च 

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै बढी पुगेर कीर्तिमान कायम गरेको छ । चैत २९ गते सुन प्रतितोला रू एक लाख ८५ हजार तीन सयमा कारोबार भएर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

सहकारी प्राधिकरण गठन 

बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको नियमन गर्न सरकारले गत पुस १४ मा ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ ल्याउँदै राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठनका लागि कानुनी आधार तयार पारेको थियो । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता, नियमन, सुपरीवेक्षण, अनुगमन र प्रतिवेदन प्रणालीका लागि राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गर्ने उद्देश्यले यो प्राधिकरण गठन गरिएको हो । 

यसअघि गत जेठ १५ मा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति गठन गरिएको थियो । प्रतिनिधिसभा सांसद सूर्यबहादुर थापा क्षेत्रीको संयोजकत्वमा गठिन उक्त समितिले गत भदौ ३१ मा आफ्नो अध्ययन प्रतिवेदन संसदलाई बुझाएको थियो ।

आर्थिक तथा वित्तीय सूचकहरू

नेपाल राष्ट्र बैंकका अनुसार गत फागुनमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति तीन दशमलव ७५ प्रतिशत रहेको छ । यो आर्थिक वर्षको आठ महिनामा कूल वस्तु निर्यात ५७ दशमलव दुई प्रतिशतले वृद्धि भई रू एक खर्ब ५८ अर्ब १७ करोड पुगेको छ । सोही अवधिमा कूल वस्तु आयात ११ दशमलव दुई प्रतिशतले वृद्धि भई रू ११ खर्ब ४५ अर्ब ५७ करोड पुगेको छ । त्यस्तै, खुद सेवा आय रू ७५ अर्ब १३ करोडले घाटामा रहेको छ ।

चालु आर्थिक वर्षको आठ महिनामा विप्रेषण आप्रवाह नौ दशमलव चार प्रतिशतले वृद्धि भई रू १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको छ । त्यस्तै, यो अवधिमा चालु खाता रू एक खर्ब ८० अर्ब आठ करोड र शोधनान्तर स्थिति रू तीन खर्ब १० अर्ब ३७ करोडले बचतमा रहेको छ । खुद पुँजीगत ट्रान्सफर रू छ अर्ब ४१ करोड रहँदा प्रत्यक्ष वैदेशिक लगानी रू आठ अर्ब ४९ करोड बराबर भित्रिएको छ ।

गत असार मसान्तमा रू २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति आठ प्रतिशतले वृद्धि भई गत फागुन मसान्तमा रू २४ खर्ब नौ अर्ब २५ करोड पुगेको छ । आठ महिनाको आयातलाई आधार मान्दा बंैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७ दशमलव दुई महिनाको वस्तु आयात र १४ दशमलव तीन महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको फागुन मसान्तसम्ममा सरकारको कूल खर्च रू आठ खर्ब ३९ अर्ब ३६ करोड रहेको छ । जसमध्ये चालु खर्च रू पाँच खर्ब ८४ अर्ब १३ करोड, पँुजीगत खर्च रू ८२ अर्ब ३४ करोड र वित्तीय व्यवस्था खर्च रू एक खर्ब ७२ अर्ब ८९ करोड रहेको छ ।

पछिल्लो आठ महिनामा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप रू दुई खर्ब ७७ अर्ब २३ करोडले बढेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा रू तीन खर्ब चार अर्ब ८२ करोडले बढेको छ । बैंक तथा वित्तीय संस्थाबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर विसं २०८० फागुनमा दुई दशमलव ९२ प्रतिशत रहेकामा गत फागुनमा तीन प्रतिशत पुगेको छ । 

गत फागुनमा वाणिज्य बैंकहरूको औसत आधार दर छ दशमलव ३४ प्रतिशत, विकास बैंकहरूको आठ दशमलव ४२ प्रतिशत र वित्त कम्पनीको नौ दशमलव ३२ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरूको औसत आधार दर आठ दशमलव ७७ प्रतिशत, विकास बैंकहरूको १० दशमलव ७१ प्रतिशत र वित्त कम्पनीको १२ दशमलव ३३ प्रतिशत छ ।

गत फागुनमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर चार दशमलव ५४, विकास बैंकको पाँच दशमलव ३२ र वित्त कम्पनीको छ दशमलव ३६ प्रतिशत रहेको छ । पुँजी बजारको अवस्था हेर्दा विसं २०८० फागुन मसान्तमा दुई हजार एक सय आठ दशमलव ७३ रहेको नेप्से सूचकाङ्क गत फागुन मसान्तमा दुई हजार सात सय ३६ दशमलव ४९ कायम भएको छ । गत फागुन मसान्तमा धितोपत्र बजार पुँजीकरण रु ४५ खर्ब ४३ अर्ब ८१ करोड कायम भएको छ । 

हालसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको सङ्ख्या दुई सय ६८ पुगेको छ । सूचीकृत कम्पनीमध्ये एक सय ३० बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी रहेका छन्भने ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, सात होटल, सात लगानी कम्पनी, चार व्यापारिक संस्था र सात अन्य समूहका रहेका छन् ।

विश्व अर्थतन्त्र थलिएको वर्ष 

यो वर्ष विश्व अर्थतन्त्रका लागि पनि फलिफाप रहेन । युद्ध, भूराजनीतिक तनाव, व्यापारिक सम्बन्धको उतारचढावलगायत कारणले विभिन्न देशका अर्थतन्त्र प्रत्यक्ष प्रभावित भए । आपूर्ति शृङ्खला खल्बलिँदा खाद्य सङ्कट, ऊर्जा तथा पेट्रोलियम सङ्कटलगायतको सामना मानव जगतले गर्नुपर्यो । 


पेट्रोलियम पदार्थको मूल्यवृद्धि, आपूर्ति प्रणालीमा देखिएको व्यवधानलगायत कारणले मुद्रास्फीति उच्च रहन गएको पृष्ठभूमिमा हुन गएको ब्याजदरको बढोत्तरीले विश्व अर्थतन्त्रको वृद्धिदर सुस्त देखियो । यो वर्ष विश्व अर्थतन्त्र, राजनीति, र प्रविधिमा गहिरो परिवर्तन ल्याउने वर्षका रुपमा रह्यो । 


भूराजनीतिक तनाव, जलवायु सङ्कट, मुद्रास्फीति, र वित्तीय अस्थिरताले विश्वव्यापी अर्थतन्त्रलाई प्रभावित पारे । युक्रेन–रूस युद्ध, मध्यपूर्वको अस्थिरता र अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको पुनरोदयले अन्तरराष्ट्रिय सम्बन्धमा नयाँ तरङ्ग ल्यायो । अमेरिकाले विभिन्न देशका सामानमा भन्सार महसुल बढाएपछि त्यसको प्रभाव विश्व बजारमा देखिएको छ ।


कृत्रिम बुद्धिमत्ताको तीव्र विकास, फिनटेकको वृद्धि र क्रिप्टोकरेन्सी बजारको उत्कर्षले यस वर्ष विश्वको आर्थिक परिदृश्यमा नवीन सम्भावना देखायो । यद्यपी सन् २०२४ मा विश्व अर्थतन्त्र कमजोर वृद्धिदरको सिकार बन्यो । धेरैजसो देशका केन्द्रीय बैंकहरूले कडाइपूर्ण मौद्रिक नीति अपनाउँदा वित्तीय बजारमा अस्थिरता देखियो । ब्रिक्स राष्ट्रहरूको १६औंँ सम्मेलनमा अमेरिकी डलरको प्रभुत्व घटाउने पहलबारे छलफल गरे । तर ब्रिक्स राष्ट्रहरूले डलरको विकल्प खोज्ने प्रयास गरेमा व्यापार प्रतिबन्धलगायतका सामनाको चेतावनी ट्रम्पले निरन्तर दिइरहेका छन् ।


सन् २०२४ मा फिनटेक क्षेत्रमा ठूलो विकास देखियो । ब्लकचेन र स्टेबलकोइन प्रविधिले अन्तरदेशीय भुक्तानीलाई पारदर्शी, छिटो, र सस्तो बनायो । डिजिटल वालेट, ‘ओपन बैंकिङ’, कृत्रिम बुद्धिमत्ताको प्रयोग र इ–कमर्स भुक्तानी सेवाहरूले वित्तीय सेवामा ठूलो परिवर्तन ल्यायो ।


कोभिड–१९ महामारीका कारण सिर्जित समस्याको निराकरण हुन नपाउँदै रुस–युक्रेन युद्ध र पछिल्लो समय इजराइल–हमास तनावका बाछिटा विश्व अर्थतन्त्रमा देखिएका छन् । इजराइल र हमास समूहबीचको युद्ध तथा हुथी विद्रोहीले ‘रेडसी’ मा गरेको आक्रमणका कारण पनि विश्व आपूर्ति शृङ्खलामा केही अवरोध देखिएको हो ।

नेपालले चीनको विकास र समृद्धिबाट लाभ लिनुपर्छः अध्यक्ष दाहाल

काठमाडौँ। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालले चीनको विकास र समृद्धिबाट लाभ लिनुपर्ने बताएका छन् ।

नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित नेपाल–चीन आर्थिक तथा व्यापार सम्मेलनको अवसरमा उनले चीनले आर्थिक, सामाजिक र प्राविधिक क्षेत्रमा चमत्कारिक प्रगति हासिल गरेको गरेको र नेपालले यसबाट लाभ लिन चाहेको बताए ।

अध्यक्ष दाहालले नेपालमा संविधानसभाबाट जननिर्वाचित प्रतिनिधिहरूले समानुपातिक, समावेशी, धर्मनिरपेक्षतासहितको समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक संविधान बनाउन सफल भएको उल्लेख गर्दै अब विकासमा प्रगति गर्न सोहीअनुसारको सहयोगको अपेक्षा रहेको बताए ।

केही समयअघि मात्रै सङ्घीय संसद्का दुवै सदनबाट नेपालको शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी कानुन सर्वसम्मत रूपमा पारित गरेको उनको भनाइ छ ।

“विश्वभरिबाट नै नेपालको शान्ति प्रक्रिया मौलिक ढङ्गबाट टुङ्ग्याउन सफल भएकामा प्रशंसा भइरहेको छ, अब समाजवादको बाटोमा अगाडि बढ्न आर्थिक रूपले समृद्ध नेपाल निर्माण गर्ने र राजनीतिक स्थायित्व कायम गर्नेबाहेक अरू विकल्प छैन । यसमा चीन सरकारबाट विगतमा झैँ अझै सहयोग र समर्थन हुनेछ भन्ने मैले विश्वास लिएको छु”, अध्यक्ष दाहालले भने ।

राजनीतिक र औपचारिक रूपमा दुई देशबीच सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात् नेपालले एक चीनप्रतिको प्रतिबद्धतालाई व्यवहारतः लागू गर्दै आएको र अहिले पनि एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध रहेको उनले बताए ।

दुई देशले पारस्परिक हित, सहकार्य र समृद्धिको मार्गमा अहिलेसम्म धेरै उपलब्धिहरू हासिल गरेको भन्दै अध्यक्ष दाहालले व्यापार, पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि र जनस्तरको सम्बन्धलगायत सबै क्षेत्रमा उल्लेखनीय प्रगति भएको जिकिर गरे । 

एमालेलाई विभाजनको कोसिस गर्ने देशी–विदेशी प्रतिक्रियावादी तत्वहरू सफल हुँदैनन्ः प्रधानमन्त्री ओली

रुपन्देही । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई कमजोर पारेर समृद्धि र विकासको यात्रा रोक्ने प्रयास सफल नहुने बताएका छन् ।

पार्टीको रुपन्देही जिल्ला कमिटीले शुक्रबार बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले एमालेलाई विभाजनको कोसिस गर्ने देशी–विदेशी प्रतिक्रियावादी तत्वहरू असफल भएको टिप्पणी गरे ।

अध्यक्ष ओलीले भने, “एमालेलाई सिध्याउँछु, केपी ओलीविनाको एमाले बनाउँछु भन्नेहरु सफल हुँदैनन् । म धेरै बाँच्ने होइन, त्यसपछि पनि मभन्दा बलवान् नेताहरू पार्टीमा आउनेछन् । यस देशको विकासको भाग्यरेखा हामी आफैँ कोर्छाैं । मान्छेको घरमा आगो लगाएर, पसलबाट चोरेर भाग्नेहरूले क्रान्ति र परिवर्तनका लागि केही गर्न सक्दैनन् ।”

उनले राजतन्त्र र पञ्चायतकालमा मुलुकमा कुशासन र अव्यवस्था भएकाले जनताको बलिदानीपूर्ण सङ्घर्षबाट लोकतान्त्रिक गणतन्त्र ल्याइएको र यसलाई बलियो बनाउन सरकारले आफ्ना सबै प्रयास गरिरहेको बताए ।

प्रधानमन्त्री ओलीले विगतमा आफ्ना कुशासन र निरङ्कुशताको राज सम्झिएर प्रतिगामी तत्वहरूले यस व्यवस्थालाई बदनाम गर्न अराजकता र अफवाह फैलाउन खोजे पनि त्यसबाट कुनै विचलित नभई समृद्धि र सुशासनको यात्रामा योगदान दिन सबैमा आग्रह गरे ।

अहिलेको आधुनिक समयमा जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तका पछि लाग्नु बेकार भएको उल्लेख गर्दै उनले लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउँदै जनताको समृद्धि र विकासका चाहना पूरा गर्न वर्तमान सरकार कटिबद्ध बताए ।

प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारका पालामा लुम्बिनीमा विभिन्न राजमार्ग, अस्पताल, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ध्यान केन्द्र, कृषि उत्पादन क्षेत्रको विकासजस्ता अनेकौँ विकास, प्रविधिका योजना र कार्यक्रम ल्याइएको जिकिर गरे ।

दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । दुर्गा प्रसाईं र उनका अंगरक्षक दीपक खड्कालाई १२ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

शुक्रबार झापाबाट पक्राउ गरी काठमाडौं ल्याइएका प्रसाईं र उनका अंगरक्षकलाई प्रहरीले शुक्रबार दिउँसो जिल्ला अदालत काठमाडौँमा म्याद थपका लागि उपस्थित गराएको थियो ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीहरुलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । चैत १५ गते काठमाडौँको तिनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनको नेतृत्व प्रसाईंले गरेका थिए । त्यसयता उनी फरार भएका थिए ।

बिहीबार उनलाई भारत आसाम प्रहरीले नियन्त्रणमा लिएर आज शुक्रबार नेपाल–भारत सीमा काँकडभिट्टामा ल्याएर नेपाल प्रहरीको जिम्मा लगाएको थियो । प्रसाईंविरुद्ध राज्य विरुद्धको कसुर, सङ्गठित अपराध र ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा अनुसन्धान गरिने प्रहरीले तयारी गरेको छ ।

बेलायती सभामुखसँग नेपाली राजदूत घिमिरेको शिष्टाचार भेट

बेलायत । बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले बेलायती संसद्को तल्लो सदन ‘हाउस अफ कमन्स’ का सभामुख सर लिन्डसे होयलसँग शिष्टाचार भेट गरेका छन् ।

वेष्टमिनिष्टरमा हालै भएको भेटमा राजदूत घिमिरेले बेलायती संसद्को ऐतिहासिक भूमिकाको प्रशंसा गर्दै नेपालका सभामुख देवराज घिमिरेको सन्देश सुनाएका थिए । उनले नेपालको संसद् समावेशी भएको उल्लेद गर्दै नेपाल हेर्ने बेलायतको सर्वदलीय संसदीय समितिको सहयोगप्रति आभार व्यक्त गरे ।

बेलायत र नेपाल दुई देशबीच दुई शताब्दीभन्दा बढी समयदेखि आत्मिय र सौहार्दपूर्ण सम्बन्ध रहेको भन्दै राजदूत घिमिरेले उच्चस्तरीय भ्रमण आदानप्रदानको महत्वमा जोड दिए । उनले नेपाललाई बेलायतबाट निरन्तर र थप सहयोगको आवश्यकताबारे धारणा राखेको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

राजदूत घिमिरेले विशेष गरी जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, नेपालको समृद्धिको आकांक्षा पूरा गर्न र सन् २०२६ सम्ममा नेपाल अल्पविकसित मुलुक (एलडिसी) बाट स्तोन्नतिपछिको प्रगतिलाई दिगो बनाउन, भूतपूर्व ब्रिटिश गोर्खा सैनिकका गुनासोहरू सकेसम्म चाँडो सम्बोधन गर्न बेलायत सरकारबाट निरन्तर सहयोगको अपेक्षा रहेको बताएका थिए।

उक्त भेटमा सभामुख होयलले नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक र अद्वितीय सम्बन्धको चर्चा गर्दै भविष्यमा दुवै देशका संसदीय समूहहरूबीच सहकार्यको सम्भावनाबारे धारणा राखेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनले बेलायत सरकारले नेपालको आवश्यकता र प्राथमिकतासँग मिल्ने क्षेत्रहरूमा निरन्तर सहयोग र सहकार्य गरिरहने विश्वास व्यक्त गरे ।

वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीपको सदुपयोग गर्ने आधार बनाउनुपर्छः अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीपको सदुपयोग गर्दै कुल ग्रार्हस्थ्य उत्पादनमा योगदान पुर्याउन सरोकार भएका सबैलाई आह्वान गरेका छन् ।

शुक्रबार आयोजित नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३१ औँ वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रममा उनले वैदेशिक रोजगारबाट फर्किएका श्रमिकको पुँजी र सीपलाई भरपुर सदुपयोग गर्ने आधारहरू निर्माणमा सरकार प्रयासरत रहेको बताए ।

वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउने व्यवसायीहरुको प्रयासमा सरकारसँगै रहेको अर्धमन्त्री पौडेलको भनाइ छ ।

उनले अन्तरराष्ट्रिय श्रम बजारमा रहेका नेपाली श्रमिकले सम्मानित र सुरक्षित ढंगले काम गर्न सक्ने वातावरण निर्माणको पक्षमा मन्त्रालयको तर्फबाट सधैँ सहयोग रहेने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले युरोपको मागपत्र प्रमाणीकरण र नयाँ रोजगार गन्तव्य विकास गर्न मन्त्रालयले गरिरहेको प्रयासबारे जानकारी दिए । ‘१ महिनाभित्र युरोपको मागपत्र प्रमाणीकरण गर्छौं । वार्षिक १०० कामदार पठाउने कम्पनीको मात्र नवीकरण गर्ने प्रावधान हटाउने गरी ऐन संशोधन भइसकेको छ,’ उनले भने ।

नेपाली कांग्रेसका सहमहामन्त्री एवं प्रतिनिभिसभा सदस्य जीवन परियारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमार्फत व्यवसायीले भोग्दै आएका कानुनी बाधा अड्चन हटाइने बताए ।

संघका अध्यक्ष राजेन्द्र भण्डारीले समयसापेक्ष ऐन, नियम परिमार्जनमा आवश्यक पहलका लागि आग्रह गर्दै सेवा शुल्क व्यवस्थापन र कामदारको लागत निर्धारण गर्न सरकारको ध्यानाकर्षण गराए ।

संघको २१ सदस्यीय कार्यसमितिमा अध्यक्षसहित सात पदाधिकारी र १० जना कार्यसमिति सदस्य निर्वाचित हुँदैछन ।

थुनामा पठाउने उच्चको आदेशविरुद्ध रविले दिए सर्वोच्चमा निवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने उच्च अदालत बुटवलको आदेश बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

शुक्रबार कानुन व्यवसायीमार्फत लामिछानेले सर्वोच्चमा रिट दर्ता गराएका हुन् । सहकारी ठगी र संगिठत अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीले एक करोड रूपैयाँ धरौटीमा छाड्ने आदेशलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले उल्टाउँदै थुनामा पठाउने आदेश गरेको थियो ।

उच्चको आदेशपछि रवि पुर्पक्षका लागि थुनामा छन् । उच्चको आदेशविरुद्ध लामिछानेले फौजदारी कार्यविधि संहिताको दफा ७३ बमोजिम सर्वोच्च अदालतमा निवेदन दिएको उनका कानुनी व्यवसायी अधिवक्ता डा. नारायणदत्त कँडेलले जानकारी दिए ।

बुटवलको सुप्रिम सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा गत माघ १३ गते रुपन्देही जिल्ला अदालतले लामिछानेसँग १ करोड धरौटी रकम माग गरेको थियो ।

जिल्लाको आदेशमा चित्त नबुझाएर लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए भने सरकारी वकिल कार्यालयले पनि धरौटीमा रिहा गर्ने आदेशबिरुद्ध निवेदन दिएको थियो ।

निवेदनको सुनुवाई गर्दै उच्च अदालतका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो ।

धरानमा पहिलो पटक राष्ट्रिय ‘फाइट नाइट’ हुने

धरान (सुनसरी) । बक्सिङ खेलको प्रवर्द्धन र नयाँ प्रतिभा उत्पादन गर्ने उद्देश्यले धरानमा पहिलो पटक राष्ट्रियस्तरको ‘आइबिए प्रो एन्ड एमेचर महिला–पुरुष फाइट नाइट २०२५’ हुने भएको छ ।

नयाँ वर्ष २०८२ को अवसर पारेर आगामी वैशाख १२ गते यहाँ कार्यक्रम आयोजना गरिएको आयोजक धरान बक्सिङ सङ्घका अध्यक्ष दीपक राईले बताए । धरानमा राष्ट्रियस्तरको यो प्रतियोगिता पहिलो पटक आयोजना गर्न लागिएको उनले जानकारी दिए । प्रतियोगितामा ‘प्रोफेसनल’ (प्रो) र ‘एमेचर’ गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा कोशी प्रदेशबाट प्रो प्रतिस्पर्धामा धरान, धनकुटा, झापा र उदयपुर तथा गण्डकी प्रदेशका पोखरा र बाग्मती प्रदेशको काठमाडौँबाट खेलाडी सहभागि हुनेछन् । एमेचर विधामा भने धरान, धनकुटा, उदयपुर र झापाका खेलाडीले सहभागिता जनाउने धरान बक्सिङ संस्थाका सचिव महेश आले मगरले जानकारी दिए ।

‘फाइट नाइट’ प्रतियोगितामा महिला र पुरुष दुवै राष्ट्रियस्तरका खेलाडीबीच प्रदेशस्तरीय प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिता धरान उपमहानगरपालिका-१५ स्थित किरात याक्थुङ चुम्लुङहिमको हलमा विभिन्न साङ्गीतिक कार्यक्रमसहित हुने संस्थाका सचिव आले मगरले बताए । 

गृहमन्त्रीको प्रश्नः मान्छेका घरमा आगो लगाइएको छ, यसरी हिन्दूराष्ट्र आउँछ ?

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मान्छेलाई घरभित्रै आगो लगाएर हिन्दूराष्ट्रको परिकल्पना गर्न नसकिने बताएका छन् ।

शुक्रबार बसेको संसदको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा गृहमन्त्री लेखकले मान्छेलाई घरभित्र राखेर आगो लगाएर हिन्दुराष्ट्रको परिकल्पना नगर्न बताएका हुन् । उनले तिनकुनेको हिंसात्मक प्रदर्शन व्यवस्था मास्ने प्रयासले गरिएको बताए ।

उनले भने, ‘मान्छेलाई घरभित्र आगो लगाएर मारिएको छ । मान्छेका घरमा आगो लगाइएको छ । यसरी हिन्दूराष्ट्र आउँछ ?’

गृहमन्त्री लेखकले वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्थामा आफ्ना असन्तुष्टि राख्न सकिने तर लोकतन्त्रको विकल्प पछाडि फर्किने व्यवस्था हुन नसक्ने बताए । बैठकमा गृहमन्त्री लेखकले तिनकुनेमा कार्यक्रम आयोजना गर्ने दुर्गा प्रसाईंलाई पक्राउ गरिएकोबारेमा जानकारी गराएका थिए । उनले घटनामा संलग्नहरुलाई पक्राउ गर्ने क्रम जारी रहको र रहने पनि बताए ।

बैठकमा सांसदहरुले तिनकुने घटनामा पूर्वराजालाई पनि जवाफदेही बनाउनुपर्ने बताएका छन् । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौँलाले पूर्वराजा ज्ञानेन्द्रलाई पनि जवाफदेहिताको तहमा ल्याइनुपर्ने बताए ।

उनले फागुन ७ मा ज्ञानेन्द्रले आह्वान गरेको अभिव्यक्तिबाट उत्साही भएर ठूलो घटना घटेको भन्दै मृतकलाई श्रद्धान्जली समेत नदिने उनको क्रियाकलापले उनको संलग्नता देखिएको बताए ।

उनले भने, ‘आन्दोलनको अगुवाई गर्ने दुर्गा प्रसाईंजी प्रहरीको नियन्त्रणमा आइपुगेको भन्ने हामीले सुनेका छौं । अहिले यति भन्छु । कोही कसैलाई पनि उन्मुक्ति नहोस् । फागुन ७ मा पूर्वराजाले आह्वान गरेको अभिव्यक्तिबाट उत्साही भएर घटना भएको देखिन्छ । त्यसैले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि जवाफदेहिताको तहमा ल्याउनुपर्छ ।’

त्यस्तै बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले तिनकुनेमा भएको यस्तो घटना फेरि भविष्यमा नहोला भन्न नसकिने भन्दै सरकार यसमा गम्भीर हुनुपर्ने बताए ।

नेपाली कांग्रेसका सांसद जीवन परियारले चैत १५ गतेको घटनाबारे पूर्वराजा ज्ञानेन्द्र शाहलाई समितिको बैठकमा बोलाएर मानव अधिकार उल्लंघन हो कि होइन ? भने प्रश्न गर्नुपर्ने बताए ।

कर्मचारीको अवकाश र ज्येष्ठ नागरिकको भत्ता पाउने उमेर बढाउन सुझाव

काठमाडौं । सरकारी कर्मचारीको अनिवार्य अवकाश र ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाउने उमेर बढाउन उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई सिफारिस गरेको छ ।

कर्मचारीको अवकाश उमेर ५८ बाट बढाएर ६० र ज्येष्ठ नागरिकले भत्ता पाउने उमेर ६८ वर्षबाट बढाएर ७० वर्ष बनाउन तथा सामाजिक सुरक्षा भत्तामा साढे एक प्रतिशत कर लगाउन सकिने सुझाव दिइएको छ ।

आयोगले आज आफ्नो प्रतिवेदन बुझाउँदै आगामी पाँच वर्षसम्म कुनै पनि प्रकारका सामाजिक भत्ता बढाउन नहुने सुझाव दिएको छ । ‘आगामी पाँच वर्ष सामाजिक सुरक्षा भत्ता वृद्धि नगर्ने र तत्पश्चात् मूल्यवृद्धिको आधारमा प्रत्येक दुई वर्षमा मात्र भत्ता वृद्धि गर्ने व्यवस्था गर्न उपयुक्त हुने देखिन्छ,’ आयोगको प्रतिवेदनमा भनिएको छ, ‘सबै तलब तथा ज्याला भुक्तानीमा एक दशमलव पाँच प्रतिशत सामाजिक सुरक्षा कर लगाई सामाजिक सुरक्षा कोषमा जम्मा गर्ने र अनौपचारिक क्षेत्रका कामदारलाई योगदानमा आधारित सामाजिक सुरक्षामा आबद्ध गर्ने व्यवस्था मिलाइनुपर्छ ।’

सामाजिक सुरक्षा ऐन, २०७५ ले समेटेका बाहेक अन्य कुनै पनि प्रकारका भत्ता बजेटमा घोषणा नगर्न पनि आयोगको सुझाव छ । यस्तै, सबै प्रकारका सामाजिक सुरक्षालाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गरी सामाजिक सुरक्षा उपलब्धताको एकीकृत तथ्यांक तयार गरिनुपर्ने प्रतिवेदनमा उल्लेख छ । प्रदेश र स्थानीय तहले प्रदान गर्ने सामाजिक सुरक्षाको एकीकृत तथ्यांक राख्ने, दोहोरो पर्नेगरी सामाजिक सुरक्षा उपलब्ध नगराउने र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई सबै खालको सामाजिक सुरक्षाको एकीकृत तथ्यांक संकलन एवं व्यवस्थापनको जिम्मेवारी दिइनुपर्ने सुझाव आयोगको छ ।

सामाजिक सुरक्षामा हुने कुल खर्च आगामी पाँच वर्ष कुल गार्हस्थ्य उत्पादनको चार प्रतिशत र संघीय सरकारको कुल बजेटको १५ प्रतिशतभन्दा कम रहनेगरी व्यवस्थापन गर्न सरकारलाई सुझाव दिइएको छ । पाँच वर्षमुनिका बालबालिकालाई बालभत्ता हाल २५ जिल्लामा मात्र प्रदान गरिएकामा गरिब घरपरिवारहरूमा उपलब्ध हुनेगरी सबै जिल्लामा विस्तार गरिनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा व्यवस्था वृद्धि गर्न सामाजिक सुरक्षा व्यवसाय र संघसंस्थालाई उत्प्रेरित गर्ने, स्वास्थ्य बिमाको हालसम्मको सिर्जित दायित्व भुक्तानी गर्ने र स्वास्थ्य बिमाको बढ्दो भार सम्बोधन गर्न स्वास्थ्यमा हानि गर्ने सुर्ती, चुरोट, मदिरामा स्वास्थ्य कर लगाएर बिमा कोषमा जम्मा गर्ने व्यवस्था मिलाइनुपर्ने सुझाव छ ।

मेडिकल शिक्षामा सरकारी कलेजहरूमा विद्यार्थी संख्याको ७५ प्रतिशतलाई पूर्ण छात्रवृत्ति गर्ने गरिएको विद्यमान व्यवस्थालाई परिमार्जन गरी २५ प्रतिशतलाई पूर्ण छात्रवृत्ति र अर्को २५ प्रतिशतलाई आंशिक छात्रवृत्तिको व्यवस्था ल्याइनुपर्ने प्रतिवेदनमा उल्लेख छ । यस्तै, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषबाट परिचालित वित्तीय साधनलाई उच्च प्रतिफल दिने आयोजना लक्षित गरी लगानी गर्ने व्यवस्था गर्न सुझाव दिइएको छ ।

राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आवश्यक: प्रधानमन्त्री ओली

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको विभिन्न सिसमको अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान तथा कवाज प्रदर्शन निरीक्षण गरेका छन् ।

भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा आज आयोजित कार्यक्रममा उनले सुरक्षा परिवेश गतिशील, बहुआयामिक र चुनौतीपूर्ण भएको बेला नेपालको राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आजको आवश्यकता रहेको बताए ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षाका साथै विपद् जोखिम न्यूनिकरण र शान्ति सेनाका माध्यमबाट सेनाले दिएको योगदानको सराहना गरे । त्यस अवसरमा उनले उत्कृष्ट पदिक र अधिकृतलाई पुरस्कारस्वरुप खुकुरी प्रदान गरेका थिए ।

कार्यक्रममा प्रथम महिला राधिका शाक्य, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानसेनापति अशोकराज सिग्देललगायत सहभागी थिए ।

प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाउने तयारी

 काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका मुख्य कमाण्डर दुर्गा प्रसाईंविरुद्ध चार कसुरमा अनुसन्धान गरिने भएको छ  ।
 
तीनकुनेमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीलाई हिंस्रक बन्न उचालेको भन्दै प्रसाईँ विरुद्ध प्रहरीले ज्यानमार्ने उद्योग , संगठित अपराध, आपराधिक उपद्रव र राज्यविरुद्धको कसुरमा मुद्दा चलाउने चयारी गरेको हो ।

उनी विरुद्ध यी चार कसुरमा अनुसन्धान गर्नका लागि प्रहरीले म्याद थप गर्नू पर्ने हुन्छ जस्का लागी प्रहरीले प्रसाईलाई काठमाडौँ ल्याए लग्त्तै अदालत लगिएको छ । प्रसाईंलाई आज नै म्याद थप गरि थप अनुसन्धान अघि बढाईने प्रहरी स्रोतले बताएको छ ।

प्रसाईंले तीनकुने प्रदर्शनमा आफैंले चलाएको गाडीले प्रहरीलाई पेल्दै अघि बढेका थिए । अश्लिल शब्द बोल्दै सुरक्षामा खटिएका प्रहरीलाई पेल्दै हिँडेको भिडियो सार्वजनिक भएको थियो ।

प्रहरी स्रोतका अनुसार, उक्त भिड नियन्त्रणमा खटिएका केही प्रहरीले नै प्रसाईंविरुद्ध जाहेरी दिने तयारी छ ।

चिनियाँ राष्ट्रपति सी र स्पेनिश प्रधानमन्त्री सान्चेजबीच बेइजिङमा भेटवार्ता

बेइजिङ। चिनियाँ राष्ट्रपति सी जिनपिङले शुक्रबार स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसँग भेटवार्ता गरेको बेइजिङको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

युरोपेली सङ्घ (इयु) ले गत हप्ता घोषणा गरिएको अमेरिकी आयात भन्सार शुल्कले विश्व बजारलाई तल झारेको उथलपुथलको सामना गर्दै आफ्नो विश्वव्यापी व्यापारिक सम्बन्धलाई पुनर्विचार गरिरहेको समयमा सान्चेजको यो भ्रमण भएको छ ।

समाजवादी प्रधानमन्त्री सान्चेज दुई वर्षभन्दा कम समयमा तेस्रो पटक चीन भ्रमणमा आएका हुन् ।

स्पेनले आफ्नो चौथो ठूलो व्यापारिक साझेदार चीनबाट हरेक वर्ष करिब ४५ अर्ब युरो (४९ अर्ब १० करोड डलर) को सामान खरिद गर्छ तर करिब सात अर्ब ४० करोड युरो मूल्यको सामान बिक्री गर्छ ।

सान्चेजले सन् २०२४ सेप्टेम्बरमा चीनको आफ्नो अन्तिम भ्रमणमा युरोपेली सङ्घका बाँकी सदस्यहरूसँग सम्बन्ध तोडे्का थिए र चिनियाँ विद्युतीय कारहरूमा उच्च भन्सार शुल्क लगाउने योजनामा पुनर्विचार गर्न र ‘निष्पक्ष व्यापार व्यवस्था’ का लागि आह्वान गरेका थिए ।

इयुले सरकार समर्थित चिनियाँ कम्पनीहरूबाट हुने अनुचित प्रतिस्पर्धाबाट युरोपेली उत्पादकहरूलाई जोगाउन भन्सार शुल्क आवश्यक रहेको तर्क गरेको थियो ।

उनको चीन भ्रमण भियतनामको भ्रमणपछि भएको हो । भियतनामको राजधानी हनोईमा बुधबार उनी र समकक्षी फाम मिन्ह चिन्हले व्यापक रणनीतिक साझेदारीको स्तरमा पुर्‍याउने उद्देश्यले संयुक्त घोषणापत्रमा हस्ताक्षर गरेका थिए । 

वार्ता असफल भएमा अमेरिकी प्रविधि कम्पनीमा कर लगाउन सकिने इयू प्रमुखको भनाइ

ब्रसेल्स । युरोपेली सङ्घ (इयु) विरुद्ध डोनाल्ड ट्रम्पको करयुद्ध अन्त्य गर्न वार्ता असफल भएमा ब्रसेल्सले अमेरिकी विशाल प्रविधि कम्पनीमाथि कर लगाउन सक्ने ब्रसेल्सका प्रमुख उर्सुला भोन डेर लेयेनले दिएको फाइनान्सियल टाइम्सलाई  दिएको अन्तर्वार्तामा बताएकी छिन् ।

अमेरिकी राष्ट्रपतिट्रम्पले स्टिल, आल्मुनियम, कार र युरोपेली सङ्घबाट आयात हुने अधिकांश वस्तुलाई लक्षित गरी कर लगाएपछि इयूलेले वासिङ्टनसँग पारस्परिक लाभकारी सम्झौता गर्न चाहेको बताएको छ ।

भोन डेर लेयेनले अमेरिका लक्षित अहिलेसम्मकै आफ्नो कडा टिप्पणीमा भनेकी छिन्, “उहाँ प्रतिशोधको आफ्नो धम्कीलाई बढावा दिन तयार हुनुहुन्छ र वार्ता असफल भएमा अमेरिकी सेवाहरूलाई लक्षित गर्न तयार हुनुहुन्छ।”

उनले भनिन्, “यदि वार्ताबाट कुनै परिणाम ननिस्केमा प्रतिवादका विभिन्न उपाय अपनाइने छन् ।” एफटीले उनलाई उद्धृत गर्दै भनेको छ, “उदाहरणका लागि इयूले डिजिटल सेवाहरूको विज्ञापन राजस्वमा कर लगाउन सक्नेछ, जसले नयाँ दबावमुलक व्यापार हतियारको प्रयोग बढाउनेछ ।”

युरोपमा सार्वजनिक खरीद सम्झौताहरूमा अमेरिकी कम्पनीहरूको पहुँचसीमित गर्न सक्ने ‘बाजुका’ भन्ने इयूलाई सेवाहरू लक्षित गर्ने कानुनी धारणालाई प्रयोग गर्नसक्छ ।

यूरोपविरुद्ध आफ्नो कर अभियानलाई बढावा दिने गुनासोहरूमध्ये अमेरिकी प्रशासनले तथाकथित गैर–कर अवरोधहरूको बारेमा गुनासो गरेको छ। यसले अनुचित रूपमा अमेरिकी निर्यातमा बाधा पुर्याउनसक्छ ।

विशेष गरी समूहको प्रविधि प्रतिस्पर्धा र सामग्री नियन्त्रणलाई अनलाइनमा नियमन गर्ने मूल्य वर्धित कर (भ्याट) र प्रविधिसम्बन्धी कडा नियम, डिजिटल बजार ऐन र डिजिटल सेवा ऐनको प्रयोग समूहले गर्नसक्ने अधिकारीहरूले बताएका छन् ।

भोन डेर लेयेनले भनिन्, “प्राविधिक कानूनहरू चलाउन नसकिने खालका छन् र इयू जुन घरेलु र आयातित दुवै वस्तुहरूमा लागू हुने भ्याटमा वार्ता गर्न खुला छैन ।”

अन्तर्वार्ताले वार्ता असफलतातर्फ उन्मुख देखिएको सङ्केत गरे पनि भोन डेर लेयेनले वार्ता सफल होस् भन्ने बलियो सङ्केत दिएकी छिन् ।

ट्रम्पले व्यापकरूपमा नयाँ कर लागू गर्ने नीति अख्तियार गरेपनि ‘वार्तालाई मौका दिनका लागि’ भन्दै यसबाट करिब ९० दिनका लागि पछि फर्कने वा घोषणालाई कार्यान्वयनमा नलाने बताएपछि इयू समूहले अमेरिकी सामानहरूमा योजनाबद्ध करवृद्धिहरू राख्नेछ किनकि अमेरिकाले यस पहिले धातु र कारहरूमा लगाउने घोषणा गरेका करहरू लागू छन् र सबै सामानहरूमा आधारभूत १० प्रतिशत कर लगाइएको छ । 

पानी विवादमा मेक्सिकोलाई भन्सार कर लगाउने ट्रम्पको धम्की

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार मेक्सिकोलाई विवादास्पद दशकौँ पुरानो सन्धिअन्तर्गत टेक्सासलाई थप पानी उपलब्ध नगरेसम्म व्यापारमा ‘बढ्दो परिणाम’ हुने धम्की दिएका छन् ।

“मेक्सिकोले टेक्सासका किसानहरूबाट पानी चोरिरहेको छ र गत वर्ष पानीको अभावका कारण टेक्सासको एकमात्र चिनी मिल बन्द भयो”, ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा पोस्ट गरेका छन् ।

मेक्सिकोले सन् १९४४ को सम्झौता उल्लङ्घन गरिरहेको उनले दाबी गरे । उक्त सन्धिअन्तर्गत संयुक्त राज्य अमेरिकाले कोलोराडो नदीबाट रियो ग्रान्डेबाट बग्ने पानीको बदलामा पानी बाँड्छ, जुन दुई देशबीचको सिमानाको हिस्सा हो ।

“मेक्सिकोले सन्धिको सम्मान नगरेसम्म हामी भन्सार कर र सम्भवतः प्रतिबन्धहरू सहितका परिणामहरू बढाइरहनेछौँ”, ट्रम्पले लेखेका छन् ।
दुई देशको सीमा र पानी आयोगका अनुसार वर्तमान सन्धि चक्र अक्टोबरमा समाप्त हुँदैछ र मेक्सिकोले संयुक्त राज्य अमेरिकालाई एक अर्ब ५५ करोड घनमिटरभन्दा बढी पानी दिनुपर्ने छ ।

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबामले बिहीबार आफ्नो सरकारले चलिरहेको खडेरीको अवस्थामा ‘पानीको उपलब्धताको हदसम्म’ सन्धिको पालना गरिरहेको बताए ।

आफ्नो सरकारले अमेरिकी विदेश मन्त्रालयलाई ‘व्यापक प्रस्ताव’ पठाएको उहाँले सोसल मिडिया प्लेटफर्म एक्समा एक पोस्टमा भने । “म विश्वस्त छु कि अन्य मामिलाहरूमा जस्तै एउटा सहमतिमा पुग्नेछ ।”

वासिङ्टनले मार्च २० मा मेक्सिकोले पहिलो पटक पानीको विशेष वितरणका लागि गरेको अनुरोधलाई अस्वीकार गरेको बताएको थियो ।

मेक्सिकोले रियो ग्रान्डे बेसिनमा दुई दशकको खडेरीका कारण आफ्नो डेलिभरी ढिलो भएको बताएको छ ।

यद्यपि अमेरिकी किसान र सांसदहरूले उनीहरूको दक्षिणी छिमेकीले प्रत्येक पाँच वर्षको वितरण चक्रको अन्त्यसम्म प्रतीक्षा गरेको र पछिल्लो अवधिमा छोटो भइरहेको गुनासो गरेका छन् ।

दुई देशले नोभेम्बरमा दक्षिणी अमेरिकी राज्यहरूमा पानीको अभाव रोक्ने उद्देश्यले मेक्सिकोबाट नदीको पानीको अधिक भरपर्दो वितरण गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए ।

सन्धिको पालना गर्ने मेक्सिकोको प्रयासले विगतमा नागरिक अशान्ति निम्त्याएको छ ।

सन् २०२० मा उत्तरी राज्य चिहुआहुआका किसानहरूले संयुक्त राज्य अमेरिकामा जलाशयबाट पानी आपूर्ति गर्नबाट सरकारलाई रोक्न बाँध कब्जा गरेका थिए, जसले प्रदर्शनकारीहरू र नेसनल गार्डबीच झडप हुँदा एक व्यक्तिको मृत्यु भएको थियो ।

जैविक मल उत्पादन गर्दै ठोट्नेखोला सामुदायिक वन

गण्डकी । सामुदायिक वन समूहले काठको विकल्पका रूपमा अन्य वन पैदावारबाट रोजगार सिर्जनासँगै आयआर्ज गर्न सुरु गरेका छन् । वनभित्र थुप्रिएका ज्वलनशील पदार्थको उपयोग गर्दै वन समूह रोजगारीसँगै जैविक मल उत्पादनमा जुटेका हुन् ।

पोखरा महानगरपालिका–१८ सराङकोटस्थित ठोट्नेखोला सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्रमा थुप्रिएको घाँस, पातपतिङ्गर र झाडीलाई सङ्कलन गरेर जैविक मल उद्यम सञ्चालन गरेको छ ।

वनमा कुहिएर, जलेर नष्ट हुने स्याउला सोत्तरबाट उत्पादिन प्राङ्गारिक मल बजारमा बिक्री गर्ने लक्ष्यका साथ सुरु गरिएको मल उद्यमले रोजगारी सिर्जना गर्नुका साथै रासायनिक मलको मागलाई केही हदसम्म भए पनि कम गर्ने वन समूहका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार चैतको पहिलो सातादेखि सुरु गरिएको उक्त अभियानअन्तरर्गत हालसम्म वन क्षेत्रको छुट्टाछुट्टै दुई स्थानमा गरी ५० हजार किलो कच्चापदार्थ सङ्कलन भएको छ । वन पैदावार सङ्कलन कार्यमा दैनिक २० जना श्रमिकले रोजगार प्राप्त गर्दै आएका उनले बताए ।

“उपभोक्ताले सङ्कलन गरेको हरियो स्याउला, भुइँझारलाई सुरुमा प्रतिकिलो दुईका दरले खरिद गरिन्थ्यो । अहिले सुकेको पाँच र हरियो पातपतिङ्गरको तीनमा प्रतिकिलो खरिद गरिँदै आएका छौँ । उत्पादित मल बजारमा सुरुमा प्रतिकिलो २५ मा बिक्री दर कायम गरिएको छ”, उनले भने, “जैविक मल उत्पादनका लागि अहिलेसम्म समूहको दुई लाखभन्दा बढी नगद लगानी भइसकेको छ ।”

वनजङ्लबाट सङ्लन गरिएको स्याउला तथा घाँसपात जम्मा गरेपछि आधुनिक मेसिनद्वारा काटेर सानो आकारको बनाएसँगै जैविक मल उत्पादन गर्न ९० दिन लाग्ने बताउँदै उत्पादन प्रक्रिया पूर्णरूपमा व्यवस्थित र वातावरणमैत्री रहने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

अँधेरीकुनाबाट सुरु गरिएको सङ्कलन कार्य विस्तार गर्दै अहिले देउराली क्षेत्रमा पुगेको बताउँदै उनले भने, “डिभिजन वन कार्यालय कास्कीबाट ज्वलनशील पदार्थ व्यवस्थापन शीर्षकमा १० हजार सहयोग प्राप्त भएको छ । समूहले नवलपुर जिल्लाको विनय त्रिवेणी गाउँपालिकास्थित विनयी सामुदायिक वन समूहले उत्पादन गरेको जैविक मल उद्यमको स्थलगत अध्ययन पश्चात् मल उत्पादन कार्यलाई अघि बढाएको हो ।”

अँधेरीकुनामा सङ्कलित वन पैदावार जोख्न विद्युतीय तुलोको प्रयोग गरिएको छ । पातपतिङ्गर जोख्दै व्यक्तिगत रिपोर्ट बनाउन व्यस्त भइरहेको अवस्थामा भेटिएकी समूहकी सदस्य विष्णु कुमालका अनुसार दिनभरी काम गर्नेले एक हजार पाँचसयसम्म र फुर्सदको समयमा आउने गृहणीले पाँच सय आयआर्जन गर्दै आएका छन् । समूहले गँड्यौलाबाट पनि मल उत्पादन गर्ने योजना बनाएको उनको भनाइ छ ।

जिल्लास्थित डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काप्mलेका अनुसार ठोट्नेखोला सामुदायिक वन समूह जस्तै कार्य गर्न मुलुकका सम्पूर्ण वन समूहले अनुशरण गर्नुपर्नेमा जोड दिँदै यस कार्यबाट मुलुकमा प्रत्येक वर्ष बढ्दै गएको वन डढेलो न्यूनीकरणमासमेत महत्त्वपूर्ण सहयोग पुग्ने बताए ।

दाउरोको प्रयोग कम हुनु, वस्तुभाउ पाल्नेको सङ्ख्यामा कमी आउनुलगायत कारणले वन क्षेत्रमा थुप्रिएको ज्वलनशील पदार्थमा आगो लागेर वन डढेलो बढेको बताउँदै उनले त्यसका लागि वन समूहलाई जैविक मल उत्पादनमा प्रेरित गर्नुपर्ने आवश्यकता औँल्याए ।

यस्ता गतिविधिले मानव–वन्यजन्तु द्वन्दलाईसमेत केही हदसम्म कम गर्ने उनको भनाइ छ । जैविक मल प्रयोगबाट माटोको उर्वरशक्ति बढ्नुका साथै विदेशबाट प्रत्येक वर्ष आयात गरिने खर्बौं रुपैयाँका रासायनिक मललाईसमेत विस्तापित गर्दै प्राकृतिक स्रोतलाई स्थानीयको आयआजर्नसँगै मुलुकको समृद्धिसँग जोड्नेतर्फ सबै सरोकार भएकाको ध्यान जानुपर्नेमा काफ्लेले जोड दिए ।

गण्डकी प्रदेश नवलपुर जिल्लास्थित विनय त्रिवेणी गाउँपालिकाको विनयी सामुदायिक वन समूहले विगतदेखि जैविक मल उत्पादन गर्दै आएको छ । पछिल्लो समय गाउँपालिकाले अपनत्व लिएको सो उद्योगमा ८० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् ।

वन समूहको अधिकारका लागि पैरवी गर्दै आएको छाता सङ्गठन सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले विभिन्न दातृराष्ट्रको सहयोगमा सञ्चालित परियोजनाहरू यस्ता उद्यमसँग जोडिनुपर्ने यस क्षेत्रसँग सम्बन्धित विज्ञको धारणा छ । 

पदमार्गले जोडियो प्रसिद्ध जलजला र माटे

पर्वत  । पर्वतको सबैभन्दा उच्च स्थानमा अवस्थित प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल जलजलादेखि माटेको लेक पुग्ने पदमार्ग निर्माण सम्पन्न भएको छ ।

विश्वकै दश उत्कृष्ट पदमार्गमा सूचीकृत अन्नपूर्ण चक्रीय पदमार्गको वैकल्पिक गन्तव्यका रूपमा विकास भएको ताङ्ले–भमरकोट–डाँडाकमेरे–माटे–जलजला–मोहोरेडाँडा–कोखेडाँडा–घोडेपानी जोड्ने पदमार्गअन्तर्गत माटेको लेकबाट जलजलासम्मको पदमार्ग निर्माणले पूर्णता पाएको हो ।

गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा यस वर्ष झन्डै दुई किलोमिटर लामो पदमार्ग निर्माण गरिएको छ । पर्वत–भमरकोट–घोडेपानी पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष मनबहादुर खड्काका अनुसार ३० लाखको लागतमा उक्त पदमार्ग निर्माण गरिएको हो । गत मङ्सिरदेखि सुरु भएको पदमार्ग निर्माणकार्य यसै साता सकिएको उनले बताए ।

कास्कीको नयाँ पुलबाट पर्वतको मोदी गाउँपालिकाको ताङ्ले–भमरकोट–डाँडाकमेरे–माटे–जलजला–मोहोरेडाँडा–घोडेपानी जोड्ने पदमार्गअन्तर्गत माटेको लेकसम्म १६ किलोमिटर लामो पदमार्ग यसअघि नै निर्माण भइसकेको थियो ।

बाँकी रहेको क्षेत्रमध्ये यस वर्ष दुई किलोमिटर पदमार्ग निर्माण भएपछि अब जलजलासम्म नै सहज रूपमा पर्यटक यात्रा गर्नसक्ने पर्यटन व्यवसायी टीका पुनले जानकारी दिए । योसँगै थप एक किलोमिटर पदमार्ग निर्माण गर्न सकेमा म्याग्दीको पर्यटकीयस्थल मोहोरेडाँडासम्म जोड्न सकिने उनको भनाइ छ ।

नयाँपुलदेखि पर्वतको मोदी र जलजला गाउँपालिका हुँदै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी जोड्ने नयाँ पदमार्ग तयार भएपछि पछिल्लो समय पर्यटकको आकर्षण बढ्दै गएको छ । माटेको लेकबाट जलजलासम्म पदमार्ग नहुँदा पर्यटक घाँसेभिर र झाँडीको बाटो पार गर्दै कष्टपूर्ण यात्रा गर्न बाध्य भएकामा अहिले सहज रूपमा यात्रा गर्न थालेको पर्यटन व्यवसायी पुनले बताए ।

पदमार्ग सहज भएसँगै अहिले हम्पाल र जलजला क्षेत्रमा लालीगुँरास हेर्न र टिप्न जानेको घुइँचो लागेको छ । जलजलामै होटल सञ्चालन गर्दै आएका पुनले दैनिकजसो होटल बुकिङ हुन थालेको बताए । हम्पाल र जलजला क्षेत्रमा विभिन्न रङका १२ थरि लालीगुँरास पाइने गर्छन् । फागुनदेखि जेठसम्म लालीगुँरास रहने भएकाले यो सिजनमा यहाँ पर्यटकको सहभागिता उल्लेख्य मात्रामा बढेको पुनले बताए । पदमार्ग सहज भएपछि आन्तरिक मात्र नभएर विदेशी पर्यटकको उल्लेख्य सहभागिता हुने गरेको छ ।

विगत १३ वर्षअघि पहिचान भएको नयाँपुल–मोहरिया–ताङले–भमरकोट–फलाटे–डाँडाकेटेरी–थामाको डिल–हम्पाल–जलजला–कोखेडाँडा–मोहरेडाँडा–फूलबारी–पुनहिल हुँदै घोडेपानी जोड्ने पदमार्ग सञ्चालनमा आए पनि हम्पाल क्षेत्रमा व्यवस्थित पदमार्ग निर्माणकार्य बल्ल सुरु भएको होटल व्यवसायी पुनले जानकारी दिए । पदमार्ग निर्माण भएपछि राति वा दिउँसो जुनसुकै समयमा पनि पदयात्रा गर्न सहज हुने उनले बताए ।

जलजला गाउँपालिका र मोदी गाउँपालिकाको सहयोगमा गत मङ्सिरमा जलजला र वाइफाइडाँडासम्म विद्युत् सुविधासमेत विस्तार गरिसकिएको छ । अब पदमार्गमा पनि रातिको समयमा हिँडडुल गर्न मिल्नेगरी विद्युतीकरण गर्नुपर्ने आवश्यकता रहेको पुनले बताए ।

यो पदमार्गमा आश्रयस्थल र खानेबस्ने ठाउँको व्यवस्थापन भएपछि गत कात्तिकदेखि नियमित रूपमा सञ्चालनमा ल्याइएको हो । पुनले भने, “कल्चर, नेचर र एडभेन्चर यो पदमार्गको आकर्षण हो ।” मनोरम हिमशृङ्खला, सुन्दर जङ्गल, हावापानी, सूर्योदय र सूर्यास्त दृश्यावलोकन गर्नुका साथै तनाव व्यवस्थापनका लागि यो पदमार्ग निकै आकर्षक मानिएको छ ।

विसं २०६८ मा स्थापना भएको संस्थामार्फत तत्कालीन जिल्ला विकास समिति, सङ्घीयतापछि गाउँपालिका, प्रदेश सरकार र सङ्घीय सरकारको गरी हालसम्म एक करोड ६० लाख सहयोगमा नयाँ पुलबाट पर्वतको सबैभन्दा उच्च स्थानमा रहेको माटेसम्मको १६ किलोमिटर पदमार्ग निर्माण भएको हो ।

ढुङ्गाको सिँढी चिनेर पदमार्ग निर्माण गरिएको हो । साथै पदमार्गमा १० वटा विश्रामस्थल निर्माण गरिएका छन् । यो पदमार्गले पर्वतको मोदीका वडा नं १, २, ३ र ५, जलजलाका ५ र ६ तथा म्याग्दीको अन्नपूर्णका ६, ७ र ८ नं वडालाई समेटेको छ ।

हिमाल र पहाडी भूगोल अवलोकन गर्दै यात्रा गर्न सकिने यो पदमार्गमा पर्ने लौसीबोट, भुक र ताङ्ले तथा लेसपार्कमा घरबास (होमस्टे) सञ्चालन भएको छभने मगर, गुरुङ, दलित, क्षेत्री र ब्राह्मण समुदायको विविधतायुक्त संस्कार, संस्कृति, रहनसहन र जनजीवन यो पदमार्गको आकर्षण हो ।

दुई रात तीन दिनमा यात्रा गर्न सकिने यो पदमार्गमा पर्ने वनजङ्गलमा विभिन्न जडीबुटी, वन पैदावर पाइनुका साथै मृगलगायत वन्यजन्तुको बसोबास छ । गाईभैँसीका घुम्ती गोठ पनि देख्न सकिन्छ भने धवलागिरि र अन्नपूर्ण रेञ्जका हिमाल अवलोकन गर्दै यात्रा गर्न पाइन्छ ।

पदमार्गमा पर्ने पर्वतको फलाटे, हम्पालस्थित वाइफाइडाँडा र जलजलामा चिया पसल तथा रेष्टुरेन्ट र सामुदायिक लज सञ्चालन भएका छन् । पूर्वजानकारी दिई आउने पर्यटकलाई पर्वत–भुमरकोट–घोडेपानी पर्यटन क्षेत्र विकास समितिले घुमाउने व्यवस्था मिलाउँदै आएको छ । 

झापाबाट दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो

काठमाडौं । भारतको आसामबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइएको छ । झापाको भद्रपुर विमानस्थलबाट बुद्ध एयरको विमानमार्फत उनलाई काठमाडौँ ल्याइएको हो ।

भारतमा पक्राउ परेका उनलाई शुक्रबार बिहान काँकडभिट्टा नाकाबाट नेपाल ल्याएर हत्कडीसहित भद्रपुरको विमानस्थल पुर्याइएको थियो ।

चैत १५ गते काठमाडौँको तिकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न गरी राज्य विरुद्ध र संगठित अपराधसम्बन्धी कसूरमा फरार रहेका प्रसाईं र उनको अंगरक्षक दीपक खड्कालाई पक्राउ गरिएको हो ।

प्रसाईं १५ गतेको घटनापछि भारत फरार भएका थिए । प्रसाईंलाई आजै अदालत उपस्थित गराइ अनुसन्धानका लागि म्याद थप्ने तयारी छ ।

सुन तोलाको एक लाख ८५ हजार

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला अघिल्लो दिनको तुलनामा तीन हजार ९०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख ८१ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ८५ हजार कायम भएको छ ।

यो हालसम्मकै उच्च मूल्य हो । साथै आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला एक हजार ९०० मा कारोबार भएको चाँदी आज पाँचले बढेर एक हजार ९०५ पुगेको छ ।

पाँच वटा सार्वजनिक संस्थान खारेज गर्न आयोगको सिफारिस

काठमाडौँ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले जनकपुर चुरोट कारखानासहित पाँच वटा सार्वजनिक संस्थान खारेज गर्न सरकारलाई सिफारिस गरेको छ ।

आयोगले शुक्रबार सरकारलाई प्रतिवेदन पेस गर्दै व्यवसाय सञ्चालन गर्न नसकेका पाँचवटा सार्वजनिक संस्थान खारेज गर्नुपर्ने सुझाव दिएको हो ।

जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल इन्जिनियरिङ कन्सलटेन्सी सेवा केन्द्र, नेशनल कन्स्ट्रक्सन कम्पनी नेपाल र नेपाल ओरियन्ड म्याग्नेसाइट प्रालिलाई खारेजीको सिफारिस गरेको हो ।

यी संस्थानहरू सञ्चालनमा आउन नसक्ने होभने खारेज गरी तिनीहरूका नाममा रहेको अचल सम्पत्ति सरकारको नाममा ल्याई व्यवस्थापन गरिनुपर्ने र यस्ता संस्थाको अचल सम्पत्ति अन्य उत्पादनशील प्रयोगमा ल्याउनुपर्ने आयोगको सुझाव छ ।

हेटौँडा सिमेन्ट उद्योग र उदयपुर सिमेन्ट उद्योगको सम्पत्ति तथा दायित्वको मूल्याङ्कन (डिडिए) गरेर गाभ्ने र सरकारको केही हिस्सामात्र राखेर बाँकी निजी क्षेत्रलाई सेयर बिक्री गर्नुपर्ने सुझाव पनि आयोगले दिएको छ ।

नेपाल वायुसेवा निगमको पुनर्संरचना गरी बाह्य रणनीतिक साझेदार भित्राएर व्यावसायिक ढङ्गले व्यवस्थापन गरिनुपर्ने आयोगको प्रतिवेदनमा उल्लेख छ । निगमलाई व्यावसायिक बनाउन केही समयका लागि विदेशी व्यवस्थापनलाई दिनु उपयुक्त हुने जनाइएको छ ।

त्यस्तै, दुग्ध विकास संस्थानलाई सात प्रदेशमा रहने गरी प्रदेश सरकारको सार्वजनिक संस्थानका रुपमा परिणत गर्न सिफारिस गरिएको छ ।

सार्वजनिक संस्थानमा राजनीतिक हस्तक्षेप नगरी व्यावसायिक ढङ्गले सञ्चालन गर्न विद्यमान कम्पनी ऐनमा संशोधन, सरकारको एकल स्वामित्वमा रहेका पब्लिक लिमिटेड कम्पनीका रूपमा होल्डिङ कम्पनी रहन सक्ने व्यवस्था, सबै सार्वजनिक संस्थानको समयमा लेखा परीक्षणलगायतका सुझाव आयोगमार्फत आएका छन् ।

कार्यसम्पादन सूचकहरू दिएर सार्वजनिक संस्थानहरूमा क्षमतावान व्यक्तिहरू नियुक्ति गर्ने र व्यावसायिक ढङ्गले सञ्चालन गर्न सक्ने गरी स्वायतता प्रदान गर्ने व्यवस्था मिलाउन पनि सरकारलाई सिफारिस आएको छ ।

सार्वजनिक संस्थानहरूलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरी सर्वसाधारणलाई सेयर बिक्री गर्ने र बण्ड जारी गरेर लगानीको लागि पुँजी परिचालन गर्न सक्ने व्यवस्था मिलाइनुपर्ने प्रतिवेदनमा उल्लेख छ । सार्वजनिक संस्थानहरूमा कर्माचारीको तलब वा अन्य खर्च भुक्तानी गर्नका लागि ऋण दिन बन्द गरिनुपर्ने पनि आयोगको सुझाव छ ।

यस्ता छन् उच्चस्तरीय आर्थिक सुधार आयोगले खारेज गर्न सिफारिस गरेका ऐन

काठमाडौँ ।  लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउने सुझावसहित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारसमक्ष शुक्रबार प्रस्तुत गरेको प्रतिवेदनमा कानुनी सुधारका निम्ति विभिन्न ऐन खारेज गर्न सुझाएको छ ।


प्रतिवेदनमा ‘नागरिक र व्यवसायलाई आर्थिक स्वतन्त्रता कुण्ठित गर्ने, व्यवसायको लागत अनावश्यक रुपमा बढाउने, गलत प्रयोग हुनसक्ने, अनावश्यक नियन्त्रणमुखी र वर्तमान सन्दर्भमा असान्दर्भिक देखिएका निम्न ऐन खारेज’ गर्न सुझाइएको छ । 

१. आय टिकट दस्तुर ऐन, २०१९
२. कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२
३. निजी वन जङ्गल राष्ट्रियकरण ऐन, २०१३
४. प्रशासकीय कार्यविधि ९नियमित गर्ने०ऐन, २०१३
५. क्षतिपूर्ति ऐन, २०१९
६. बिर्ता उन्मूलन ऐन, २०१६
७. बिर्तावालले बिर्तामा रकम (भट्टी चर्सा आदि) लगाइ–लिन खान नपाउने ऐन, २०१५
८. राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२
९. विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१
१०. नेपाल एजेन्सी ऐन, २०१४
११. प्रादेशिक विकास योजनाहरु (कार्यान्वित गर्ने) ऐन, २०१३
१२. निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३
१३. सामाजिक व्यवहार सुधार ऐन, २०३३
१४. नेपाली मुद्राको चलनचल्ती बढाउने ऐन, २०१४
१५. वित्तीय मध्यस्थताको काम गर्ने संस्थासम्बन्धी ऐन, २०५५

नयाँ ऐन जारीको  सुझाव 

प्रतिवेदनमा औषधि ऐन, २०३५ लाई परिमार्जन गरी औषधि, औषधिजन्य सप्लिमेन्ट, कस्मेटिक्स, मेडिकल डिभाइस र प्रत्यारोपणका लागि बनाइएका मानव कोषमा आधारित सामग्रीको उत्पादन आयात, बजारीकरण र बिक्री वितरणलाई नियमन गर्नेगरी नयाँ ‘औषधि तथा स्वास्थ्य सामग्री नियमन गर्ने ऐन’ जारी गर्न सुझाइएको छ । 

यसैगरी, अचल सम्पत्ति अधिग्रहण ऐन, २०१३ र जग्गा प्राप्ति ऐन, २०३४ लाई गाभेर बौद्धिक सम्पत्ति, अदृष्य सम्पत्ति, कुनै निकायको शेयर वा स्वामित्व अधिग्रहण गर्न सकिने गरी नयाँ ‘निजी सम्पत्ति अधिग्रहण ऐन’ जारी गर्नुपर्नेमा प्रतिवेदनमा जोड दिइएको छ । 

साथै पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०२२ र प्रतिलिपि अधिकार ऐन, २०५९ गाभेर वर्तमान समयको बौद्धिक सम्पत्ति रक्षाका सबै चुनौतीलाई सम्बोधन गर्ने र असल व्यावसायिक वातावरण निर्माण गर्ने नयाँ ‘बौद्धिक सम्पत्ति अधिकार संरक्षण गर्ने ऐन’ जारी हुनुपर्ने सुझाव दिइएको छ ।

दुर्गा प्रसाईंलाई झापाबाट काठमाडौं ल्याइँदै

काठमाडौं । भारतको आसाममा पक्राउ परेका दुर्गा प्रसाईंलाई झापा ल्याइएको छ । उनलाई शुक्रबार बिहान आसामबाट झापा ल्याइएको हो ।

चैत १५ गते काठमाडौंका तिनकुनेमा राजतन्त्र पक्षधरहरूको हिंसात्मक प्रदर्शनका कमाण्डर प्रसाईं फरार भएका थिए । उनलाई आजै झापाबाट आजै काठमाडौं ल्याउने प्रहरीले तयारी गरेको छ तिनकुनेमा भएको प्रदर्शनमा हिंसा भड्किएपछि प्रसाई भागेर भारत पुगेका थिए ।

तर, उनले भिडियो पोस्ट गर्दै आफू नभागेको बताउँदै आएका थिए । तिनकुनेमा प्रदर्शनले हिंसात्मक रुप लिँदा दुई जनाको मृत्यु भएको थियो भने निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो ।

प्रसाईंलाई काठमाडौं ल्याएर संगठित अपराध, राज्यविरुद्धको कसुर, अपराधिक उपद्रव लगायतका अभियोगमा अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।

अमेरिकामा हेलिकप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु

बीबीसी । अमेरिकाको न्युयोर्कमा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बिहीबार न्युयोर्क सिटीको हडसन नदीमा हेलिकप्टर खसेर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो ।

हेलिकप्टर असन्तुलित हुँदै नदीमा खसेको थियो । हेलिकप्टरमा तीन बालबालिकासहित ६ जना सवार रहेकोमा सबैको मृत्यु भएको न्युयोर्क सिटीका मेयर एरिक एडम्सले जानकारी दिएका छन् ।

हेलिकप्टरले म्यानहट्टनको स्काइलाइन हुँदै उत्तरतर्फ उडान भरेको र त्यसपछि स्ट्याच्यु अफ लिबर्टीतर्फ फर्कने क्रममा दुर्घटना भएको थियो ।

उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

काठमाडौँ । लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउने सुझावसहितको प्रतिवेदन उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारसमक्ष प्रस्तुत गरेको छ ।

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष आयोगका अध्यक्ष रामेश्वरप्रसाद खनालले शुक्रबार अर्थमन्त्रालयमा प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

प्रतिवेदन पेस गर्दै अध्यक्ष खनालले समग्र माग पक्ष कमजोर हुनु, लगानीमा ह्रास आउनु, कर्जा विस्तार बढ्न नसक्नु, घरजग्गा कारोबार खुम्चिनुलगायत देशको समग्र अर्थतन्त्रमा देखिएका समस्याका कारण आर्थिक अवसर सिर्जना गर्न नसकिएको बताए ।

‘समग्र माग पक्ष कमजोर भएकोले आर्थिक वृद्धि दर सुस्त रहेको देखिन्छ । निजी क्षेत्रका सङ्घ– संस्थाहरू, सबै भौगोलिक क्षेत्रका व्यवसायीहरू, प्रदेश तथा स्थानीय सरकारका प्रतिनिधि र विज्ञहरूसँगको छलफलमा पनि उपभोगको वृद्धि दर घट्नु र लगानीमा ह्रास आउनु अर्थतन्त्रको वर्तमान चरित्र हो भन्ने विषय मुख्य रूपमा उठाइएको थियो’, अध्यक्ष खनालले भने, ‘कर्जा वृद्धि कम हुनु, घरजग्गाको कारोबारमा ह्रास आउनु, सहकारी वित्तीय प्रणालीमा लाखौँ मानिसको बचत फस्नु, सरकारले गर्नु पर्ने कतिपय भुक्तानी समयमा नगर्नू र व्यापारिक उधारो असुलीमा समस्या आउनु र निर्माण क्षेत्र संकटग्रस्त बन्न गएकाले उपभोग र लगानीमा ह्रास आएको देखिन्छ ।’

समग्र माग पक्ष कमजोर भए पनि अर्थतन्त्रका तत्कालका समनभएका आयोगको निष्कर्ष उनले बताए । तत्काल माग पक्षमा सुधार ल्याउने नीतिगत हस्तक्षेप आवश्यक छ । लक्षित आर्थिक वृद्धि हासिल गर्न आपूर्ति पक्षबाट पनि संरचनात्मक सुधार गरेर लगानीयोग्य वातावरण बनाउन र उत्पादनको लागत घटाएर प्रतिस्पर्धी आवश्यक भएको उनले बताए ।

प्रतिवेदन ग्रहण गर्दै अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि प्रस्तुत प्रतिवेदन उपयोगी हुने विश्वास व्यक्त गरे । साथै उनले त्यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘हामी आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रियामा छौँं । प्रतिवेदनले अर्थतन्त्रका समस्या पहिल्याउन र त्यसलाई समाधान गर्ने सुझाव दिएको छ । गम्भीरपूर्वक अध्ययन गर्ने र प्राप्त सुझावलाई चरणबद्ध कार्यान्वयनमा लैजान्छौँ’, अर्थमन्त्री पौडेलले भने ।

मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन सरकारीस्तरमा गर्नुपर्ने कामबारे सुझावसहितको प्रतिवेदन प्रस्तुत गर्न सरकारले गत असोजमा पूर्वअर्थसचिव खनालको अध्यक्षमा आयोग गठन गरेको थियो ।

आयोगका सदस्यमा राष्ट्रिय योजना आयोगका सदस्य प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख रामप्रसाद ज्ञवाली, अर्थविद् विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता कल्पना खनाल थिए ।

सरकारले दिएको कार्यादेश बमोजिम २०८१ कात्तिकको दोस्रो हप्तादेखि आयोगले काम थालेको थियो । यसअघि आयोगले २०८१ पुस २४ गते तत्काल गनुपर्ने विषय समेटेर अन्तरिम प्रतिवेदन दिएकोमा अहिले अन्तिम प्रतिवेदन बुझाएको हो ।

उर्जासचिव आचार्यलाई राज्यमन्त्रीको २४ घण्टे स्पष्टीकरण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले सचिव सुरेश आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।

आफू मातहतको विभागले गरेको कार्यक्रममा पदीय आचरण विपरीतको कार्य गरेको भन्दै राज्यमन्त्री तामाङले सचिव आचार्यलाई स्पष्टीकरण सोधेका हुन् ।

यही चैत २५ मा जलस्रोत तथा सिँचाइ विभागले आयोजना गरेको कार्यक्रममा (मन्त्री अनुपस्थित हुँदा) राज्यमन्त्री प्रमुख अतिथिको भूमिकामा रहेको बेला आसनग्रहणका लागि मन्चमा बोलाउँदा समेत नआएको तामाङले सोधेको स्पष्टीकरणमा उल्लेख छ ।

साथै राज्यमन्त्री सहभागी कार्यक्रममा आफू बस्न तयार नभएको भन्ने ‘तुच्छ अभिव्यक्ति’ दिएको पनि तामाङले उल्लेख गरेका छन् । स्पष्टीकरणको पत्रमा भनिएको छ, ‘तपाईंले के कस्को प्रभाव वा पूर्वाग्रही भावनाले विभागीय मन्त्रीको अपहेलाना गर्ने उद्देश्यले कार्यक्रम बहिस्कार गर्नुभएको हो ? साथै देहायको विषयमा समेत २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्नुहुनु जानकारी गराइन्छ ।’

जलस्रोत तथा सिंचाइ विभाग जावलाखेलले यही चैत २५ गते सिंचाइ दिवस एवं ७२ औं वार्षिकउत्सव कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा मन्त्री दीपक खड्का अनुपस्थित भएकाले राज्यमन्त्री तामाङ प्रमुख अतिथिको रुपमा सहभागी थिए ।

कार्यक्रम सञ्चालकले आसनग्रहणको क्रममा बोलाउँदा सचिव आचार्य मञ्चमा सहभागी नभई बाहिरिएका थिए । त्यसपछि राज्यमन्त्री तामाङले सचिवले आफ्नो अपहेलना गरेको र पदीय आचरण विपरीतको काम गरेको ठहरसहित स्पष्टीकरण सोधेका हुन् ।

सरकार विद्यालय शिक्षा ऐन जारी गर्न गम्भीर देखिएनः शिक्षक महासंघ

काठमाडौं । नेपाल शिक्षक महासङ्घको प्रतिनिधिमण्डलले बिहीबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएको छ ।

महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले पुराना सहमतिहरु र ऐनले सम्बोधन गर्नुपर्ने मुख्य मुद्दाहरुको २४ बुँदे सूचीसहितको ध्यानाकर्षणपत्र बुझाएको हो ।

महासंघले संसदीय समितिको बैठक नियमित नहुनु, समयमा उपसमिति गठन नगरिनु, गठित उपसमितिबाट पनि जुन गतिमा काम हुनुपथ्र्यो, त्यस्तो सक्रियता नदेखिनु तथा संसदको हिउँदे अधिवेशन अनुमानित मितिभन्दा अगावै अन्त्य गरिनु जस्ता कार्यले सरकार विद्यालय शिक्षा ऐन ल्याउने कुरामा गम्भीर नरहेको प्रष्ट भएको बताएको छ ।

‘जार’ वैशाख २६ देखि प्रदर्शनमा आउने

काठमाडौँ । साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘जार’ को श्रव्यदृश्य सार्वजनिक गरिएको छ । बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै श्रव्यदृश्य सार्वजनिक गरिएको हो ।

श्रव्यदृश्यमा प्रमुख पात्र सौगात मल्ल, अनुपविक्रम शाही र गिताञ्जली थापालाई चित्रण गरिएको छ । कार्यक्रममा निर्देशक फुर्वाछिरिङ लामाले साहित्यकार राईको कथाअनुसार चलचित्र तयार भएको जानकारी दिए ।

उनले भने, “हामीले कथा पढ्नुभएका पाठकको भावनालाई ध्यानमा राखेर चलचित्र तयार गरेका छौँ । यो कथा पढ्नुभएका र नयाँ दर्शक दुवैलाई हुने किसिमले चलचित्र तयार गरेका छौँ । यसको पात्रलाई कलाकारले जीवन्त बनाउन गर्नुभएको मेहनतले म जस्तो नयाँ चलचित्रकर्मीलाई ऊर्जा थपेको छ ।”

आगामी वैशाख २६ गते प्रदर्शन हुने चलचित्रलाई निर्माण गर्न करिब चार वर्ष लागेको निर्देशक लामाले जानकारी दिए । भारतको सिक्किममा छायाङ्कन गरिएको सो चलचित्रको सरवानन इलावार्सुले छायाङ्कन, अखिलेश राईले सम्पादन तथा झुमा लिम्बू र गङ्गा थापाले सङ्गीत सृजना गरेका छन् ।

सन् १८०० को दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित चलचित्रमा काम गर्ने आफ्नो सपना पूरा भएको अभिनेता मल्लले बताए ।

उनले भने, “मलाई यो पढेदेखि मन परेको कथा हो । यसमा रहेका विभिन्न पात्रमा आफूलाई कल्पना गर्थे । यसमा जोडिएर काम गर्न पाएँ, आफ्नो पात्रलाई जीवन्त बनाएको छु ।” उनले यस किसिमको चलचित्र समाजको एउटा समयलाई डिजिटल रूपमा सङ्ग्रहित गरेको बताए ।

अभिनेता शाहीले यो चलचित्रमा काम गर्नुअगाडि कथाकार राईको कथा पढेर पात्रलाई तयार गरेको बताए । “मैले कलाकारिताको यात्रामा सबैभन्दा बढी मेहनत गरेको पात्र यही हो । किनकि यसमा मैले आफ्नो व्यक्तित्वलाई परिवर्तन गर्नाका साथै लवजमा समेत काम गरेको छु । यो मैले अभिनयका लागि सम्झिने चलचित्र बनेको छ”, उनले भने ।

यस चलचित्रलाई प्रदर्शनका लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्ने उक्त कार्यक्रममा निर्माण पक्षले जानकारी गराएको छ ।

दुर्गा प्रसाईं आसामबाट पक्राउ

काठमाडौं । काठमाडौंको तिनकुनेमा चैत १५ गते भएको हिसांत्मक प्रदर्शनका कमान्डर दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् ।

प्रहरीले प्रसाईंलाई भारतको आसाम राज्यबाट पक्राउ गरेको हो । उनलाई पूर्वीनाका काँकडभिट्टा हुँदै नेपाल ल्याइँदै गरेको प्रहरीको उच्च श्रोतले जनाएको छ ।

प्रसाईंको सचिवालयले भने पक्राउ नभई आफ्नो सुरक्षाका लागि आफैंले आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेको जनाएको छ । सचिवायले भनेको छ, ‘अहिले २ घण्टा अगाडि हाम्रा अभियानका सयोजक दुर्गा प्रसाईंलेज्यूले आफ्नो सुरक्षा को लागि आफै भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नु भएको छ । हिजो मात्र हामीले भिडियोमार्फत हाम्रो ज्यानको सुरक्षाको ग्यारेन्टी भए २४ घण्टा भित्र उपस्थित हुन्र्छां भनेका थियौं र आज उपस्थित भयौं ।’

यसअघि उनले सामाजिक संजालमार्फत भिडियो सन्देश जारी गर्दै आफू नभागेको बताउँदै आएका थिए ।

उनले मानवअधिकारवादीको रोहवरमा २४ घण्टामा उपस्थित हुने बताएका थिए । उनले प्रहरी प्रशासनलाई नखोज्न पनि अनुरोध गरेका थिए ।

बुधबार मात्र भिडियो सन्देश जारी गर्दै उनले भनेका थिए, ‘कहीँ इन्डिया भाग्यो भन्या छ । कहीँ कता भाग्यो भन्या छ । म कतै भागेको छैन ।म नेपालमै छु र कुनै ठाउँमा छु । अघिल्लो दुईवटा घटनामा भोगेको थिइनँ । यो घटनामा जोगिएको मात्रै हुँ ।’

प्रसाईंले आफू रहे भने यो अभियान र जनविद्रोह सफल हुने तर नरहे यो जनविद्रोह दबाएर जाने बताउँदै आएका छन् ।

वाणिज्य विभागद्वारा २० वटा उद्योगको कारोबार रोक्का

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन कार्यलाई तीव्रता दिएको छ ।

विभागले बिहीबार थप चार वटा तार उद्योगको कारोबार रोक्का गरेको छ भने गत यस महिना भरी १५० उद्योग अनुगमन गर्दै २० वटा भन्दा बढीको कारोबार रोक्का गरेको छ ।

बिहीबार कारोबार रोक्का गरिएका उद्योगहरूमा जनता केवल इन्डस्ट्री प्रालि , युनाइटेड वायर एन्ड केवल इन्डस्ट्री प्रा.ली., प्राइम केवल इन्डस्ट्री प्रालि  र राठी ब्रान्डको अन्नपूर्ण केवल प्रालि रहेका छन् ।

विभागले काठमाण्डौँको भोटाहिटी क्षेत्रमा अनुगमन गर्दा तार उद्योगहरूले आफ्ना उत्पादनमा अधिकतम खुद्रा मूल्य (एमआरपी) नराखेको पाएपछि कारोबार रोक्का गरेको हो ।

कारबाहीमा परेका उद्योगीहरूले रोक्का गरिएको कारोबार फुकुवाका लागि बिलविजक लगायतका आवश्यक कागजात सहित विभाग उपस्थित हुन विभागले सूचना गरेको छ ।

विभागका महानिर्देशक कुमार दहालले भने, ‘हामीले मगाएका सबै कागजपत्र र नमुना सहित विभागमा उपस्थित भएको अवस्थामा कारबाही फुकुवा गर्नेछौँ, यसअघि कारोबार रोक्का भएका केही उद्योगको कारबाही फुकुवा पनि गरिएको छ । हामी नयाँ नयाँ ठाउँहरूमा अनुगमन गरी रहेका छौँ, अनुगमन हरेक दिन जारी रहन्छ ।’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको निर्देशनमा अनुगमन कार्यलाई तीव्रता दिएको वाणिज्य विभागले सबै सामग्रीहरूमा(एमआरपी) अनिवार्य गरेको छ ।

सिमेन्टका बोराहरूमा(एमआरपी) राख्नका लागि भने उद्योगीहरूले केही दिनको समय माग गरेकोमा उक्त समय सकिन लागेको छ । सिमेन्टमा आगामी वैशाख १ देखी (एमआरपी) राखिने बताइएको छ ।

तौलेर वा गजले नापेर बेच्ने बाहेकका हरेक सामग्रीमा (एमआरपी) अनिवार्य गरिएको हो । अनुगमन कार्यलाई तीव्रता दिएसँगै अधिकांश उद्योगीहरूले भने (एमआरपी) राखेको पाइएको छ ।

सुरु भयो भक्तपुरको ऐतिहासिक बिस्केट जात्रा(फोटोफिचर)

भक्तपुर । आठ रात नौ दिनसम्म भव्यरुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्त्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा बिहीबारदेखि सुरु भएको छ ।

बिस्केट जात्रा टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथ र भद्रकालीको रथ तानातान गर्दै सुरु भएको हो । काठैकाठले प्यागोडा (छाने) शैलीमा निर्मित तीनतले रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँच तले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा छ ।

जात्राअन्तर्गत गःहिटीमा भैरवनाथलाई बली चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । बिस्काको चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह (हात नभएको) लिङ्गो उभ्याइन्छ भने साँझपखः तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ल्योसिङख्योमा ५५ हात लामो लिङ्गो उभ्याइन्छ ।

बिस्का जात्राको पाँचौँं दिन अर्थात् नयाँ वर्ष वैशाख १ गतेका दिन साँझ अघिल्लो दिन उभ्याएको ५५ हाते लिङ्गो ढालिने परम्परा रहेको स्थानीय अनन्त धौबडेलले बताए । बिस्काको छैटौँ दिन महाकाली र महालक्ष्मीको जात्रा गरिन्छ भने सातौँ दिन ब्रम्हायणी र महेश्वरी देवीको चिराग बालेर मुस्याप्वा जात्रा मनाइन्छ ।

जात्राको अन्तिम दिन भैरवनाथ र भद्रकालीको रथलाई गःहिटीबाट पहिलो दिनमा जस्तो थने र क्वने टोलका बासिन्दाबाट तानातान गरी रथलाई तमारीस्थित भैरवनाथको प्राङ्गणमा पुर्याई जात्रा सम्पन्न गरिन्छ ।

तस्बिरः लक्ष्मी गारु/रासस

उत्पादन र रोजगारी वृद्धि गर्नेगरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र रोजगारी वृद्धि गर्नेगरी जनताका आवश्यकता र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट ल्याउन निर्देशन दिएका छन् ।

आगामी आर्थिक वर्षको बजेट तर्जुमा तथा प्राथमिकता निर्धारणका सम्बन्धमा बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित छलफलमा प्रधानमन्त्रीले उत्पादन र रोजगारी वृद्धि गर्न ठोस योजनासहित अबको बजेट ल्याउनुपर्नेमा जोड दिए ।

शान्ति सुरक्षा, भ्रष्टाचार अन्त्य र जनतालाई सहज रूपमा सेवा दिएर सुशासन कायम गर्ने विषयलाई प्रामथिकतामा राख्न निर्देश गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा शान्ति खल्बल्याउने तत्वहरू पनि सक्रिय भएकाले सुरक्षा प्रबन्ध र उचित स्रोतसाधनको तयारी गर्नुपर्ने बताए ।

सङ्घीय सरकारले हरेक जेठ १५ गते सङ्घीय संसदमा आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्दछ । सोअघि बजेटका प्राथमिकता र सिद्धान्तबारे सदनमा छलफल हुन्छ । सोको तयारीका लागि प्रधानमन्त्री ओलीले आज सबै मन्त्रालयका मन्त्री र सचिवहरूसँग छलफल गरेका हुन् ।

“सुशासन कायम गर्ने विषयमा कसैसँग कुनै सम्झौता गर्नुहुँदैन । राजस्व सङ्कलनमा बदमासी पाइएमा संलग्न जोकोहीलाई तुरुन्त कारबाही गर्नुपर्छ । पर्याप्त राजश्व उठेपछि जनता केन्द्रत विकासमा खर्च गर्न सकिन्छ”, प्रधानमन्त्री ओलीले भने, “स्रोतको आधारविना बजेट ल्याउने हालको प्रवृत्ति अन्त्य गर्नुपर्छ । आग्रह र पूर्वाग्रह राखेर बजेट तर्जुमा गर्न मिल्दैन । बजेट जनता केन्द्रित विकास, वर्तमान आवश्यकता र प्राथमिकताका आधारमा उत्पादन र रोजगारी वृद्धि गर्नेगरी ल्याउनुपर्छ ।”

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोत सुनिश्चितताविना धेरै योजना राखिने, भएको पुँजीगत खर्च गर्न नसक्ने तर थप बजेट माग्नेलगायत अवस्था सुधारेर विधि र मापदण्डमा आधारित रही बजेट तर्जुमा गरिने बताए ।

त्यसका लागि मन्त्रालयले आवश्यकता अनुसार सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरी सुझाव सङ्कलन गरिरहेको उनको भनाइ छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको हालसम्म राजस्व सङ्कलन ५५ प्रतिशत, कूल खर्च ५२ प्रतिशत र पुँजीगत खर्च २८ प्रतिशत भएको छ ।

उदयपुरमा बाढीले निर्माणाधीन पुल भत्काउँदा दुई करोड बराबरको क्षति

कटारी (उदयपुर) । बिहीबार बिहानदेखि परेको अविरल वर्षापछिको बाढीले यहाँको कटारी नगरपालिका–२ स्थित अमाहा खोलामा निर्माणाधीन पक्की पुलमा क्षति पुर्‍याएको छ।

सिद्धिचरण राजमार्गअन्तर्गत सिमानपुर र कल्याणपुर जोड्ने निर्माणाधीन पक्की पुलमा क्षति पुगेको सो वडाका वडाध्यक्ष प्रेम थापा क्षेत्रीले जानकारी दिए। ‘प्रिस्टेड’ प्रविधिद्वारा निर्माणाधीन पुल बाढीका कारण भाँचिएको छ।

इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक कमल बजगाईंका अनुसार पुल भाचिँदा  दुई करोड बराबरको क्षति भएको अनुमान गरिएको छ। “ दुई करोड बराबरको क्षति पुगेको “प्रारम्भिक अनुमान गरिएको छ, अर्को बनाउनुको विकल्प छैन”, उनले भने, “प्राविधिक मूल्याङ्कनपछि वास्तविक क्षतिको विवरण आउँला।”

मिर्चैया–कटारी–घुर्मी सडक योजनाका इन्जिनियर महेश साहका अनुसार पुल ढलान गरिएको १८ दिनमात्र भएको थियो। “त्यहाँ राखिएका तारहरु २८ दिनपछि तन्काउनुपर्ने हुन्थ्यो तर बाढीले क्षति पुर्याइदियो”, उनले भने ,“यसको बिमा गरिएको हुन्छ अब निर्माण कम्पनीले दाबी गरेर काम अघि बढाउँछ।”

पचास मिटर लम्बाइ र ११ मिटर चौडाइको पुलमुनि लगाइएको हृयुमपाइपमा थुनिएर जम्मा भएको पानीले फर्मा र टेका बगाउँदा पुल भाँचिएको उनको भनाइ छ। सूर्य एन्ड सन प्रालि धरानले दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी २०७९ असार २९ गते उक्त सडकखण्डअन्तर्गत पर्ने चारवटा पुल एकमुष्ट रु २८ करोड ९९ लाख ५२ हजारमा ठेक्का लिएको थियो।

प्रदेशको नेतृत्व गर्ने मुख्यमन्त्रीमा पार्टीका वरिष्ठ नेताहरू जान नसक्दा सङ्घीयताको महत्त्व बढ्न सकेनः संचारमन्त्री गुरुङ

पाटन (ललितपुर) । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीयता कार्यान्वयनका क्रममा तीनै तहको सरकारको सुशासन प्रवर्द्धनमा ध्यान दिनुपर्ने बताएका छन् ।

प्रदेश सुशासन केन्द्र बागमती प्रदेशद्वारा बिहीबार आयोजित सङ्घीयताको कसीमा तहगत अन्तरसम्बन्ध विषयक छलफल कार्यक्रममा नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङले सरकारको प्राथमिकतामा रहेको सङ्घीयताको कार्यान्वयन गर्न तीनै तहका सरकारले आफ्ना कार्यशैली र योजनामा परिस्कृत गरी सुशासनमा जोड दिनुपर्ने बताए ।

“एकात्मक शासन प्रणालीका कारण सङ्घीयताको कार्यान्वयनमा अझै पनि समस्या छ, वित्तीय सङ्घीयतालाई पनि जोड दिनुपर्ने आवश्यकता छ, प्रदेशलाई पनि चुस्त र प्रभावकारी बनाउनुपर्छ, सम्बन्धित विषयवस्तुलाई समेट्ने गरी प्रदेशमा पाँचदेखि सातवटा मात्र मन्त्रालय हुनुपर्छ, आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री कार्यालय मातहतमा राख्दा हुन्छ, यसो हुँदा काम गर्न सहज हुन्छ”, मन्त्री गुरुङले भने ।

सङ्घीयतालाई खारेज गर्दा मुलुकमा समान ढङ्गबाट विकास  नहुने र असमानता अन्त्य गर्न नसकिने धाराणा व्यक्त गर्दै उनले सङ्घीयताको मर्म र भावनालाई आत्मसात् गरी सबैको अपनत्व हुनेगरी समावेशी ढङ्गबाट देश विकास गर्नुपर्नेमा जोड दिए ।

“सङ्घीयतामा भएका सकारात्मक कुराहरू पनि धेरै छन्, प्रदेशको आम्दानी बढाउने, साना तथा घरेलु उद्योगको विकास गर्ने, नागरिकको जीवनस्तर उकास्ने कुरामा प्रदेशले ध्यान दिनुपर्छ, नेपालजस्तो भूराजनीतिक अवस्थिति भएको देशमा एकल व्यक्तिमा शक्ति कायम रहने व्यवस्था घातक सिद्ध हुन्छ, स्थिरता दिँदैन, शासन प्रणालीमा दुःखद् घटना निम्त्याउँछ, प्रदेशको नेतृत्व गर्ने मुख्यमन्त्रीमा पार्टीको वरिष्ठ नेताहरू जान नसक्दा सङ्घीयताको महत्त्व बढ्न सकेन, यसलाई पनि सबै राजनीतिक पार्टीले ध्यान दिनुपर्छ”, उनले भने ।

“अन्तरद्वन्द्व र अन्तरनिर्भरतालाई व्यवस्थापन गर्न अन्तरप्रदेश समन्वय परिषद्सम्बन्धी कानुन र कार्यालय नै व्यवस्थापन गर्नुपर्छ । अन्तरप्रदेश परिषद्मा दुई तहको सरकारबीचमा छलफल र सहकार्य हुन्छ, अर्को राष्ट्रिय समन्वय परिषद् भने कानुनी प्रबन्धका लागि मात्रै हो, यसमा तीनै तहको सरकारको प्रतिनिधित्वको व्यवस्था गरिनुपर्छ”, उनले स्पष्ट गरे ।

मन्त्री गुरुङले प्रदेशले आफ्नो एकल अधिकारको सूचीभित्र रहेको विषयको कानुन निर्माण गरेर जनतालाई आकर्षण गर्नेगरी अगाडि बढ्नुपर्नेमा ध्यानाकर्षण गराए ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपालको संविधान र कानुनले सीमान्तकृत समुदायलाई सरकारी सेवा र राज्यको मूल प्रवाहमा अवसरका लागि आरक्षणको व्यवस्था गरेको बताउँदै प्रदेशलाई अधिकार दिने र स्थानीय सरकारलाई सेवा प्रवाहमा अधिकारसम्पन्न बनाउने गरी कानुन निर्माण गरी सङ्घीयताको कार्यान्वयनमा जानुपर्नेमा जोड दिए ।

संविधानले व्यवस्था गरेअनुसार सबैलाई समेट्ने गरी कानुन बनाउन मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले सङ्घीयताको कार्यान्वयनपछि स्थानीय तहमा भौतिक पूर्वाधारको विकाससहित खानेपानी, स्वास्थ, शिक्षाका क्षेत्रमा उल्लेखनीय काम भएको बताए ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सङ्घीयताको कार्यान्वयनका क्रममा जटिल मुद्दाका रूपमा देखिएको निजामती कर्मचारी ऐन, प्रहरी ऐनलगायतका विधेयक संसद्को आगामी अधिवेशनबाट पारित गराउने विश्वास दिलाए ।

बागमती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले सङ्घीयता सवलीकरणका क्रममा भएका छलफल तथा बहसहरूले सुशासन प्रवर्द्धनका साथै नागरिकलाई सेवा प्रवाहमा सहज हुने विश्वास व्यक्त गरे । नेपाल नगरपालिका महासङ्घका महासचिव नरुलाल चौधरीले व्यवस्था परिवर्तन भए पनि मानसिकता र पुरानो कानुन परिवर्तन हुन नसकेको बताए ।