`

चाइना साउदर्नले काठमाडौँ–ग्वाङ्झाउ रात्रिकालीन उडान पुनः सञ्चालन गर्ने

काठमाडौँ । चाइना साउदर्न एयरलाइन्सले यही अप्रिल १० देखि नेपाल–चीन उडान सेवा विस्तार गर्ने भएको छ । एयरलाइन्सले यही अप्रिलदेखि अक्टोबरसम्म काठमाडौँ–ग्वाङ्झाउमा रात्रिकालीन उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ ।

कम्पनीका अनुसार काठमाडौँ–ग्वाङ्झाउ दैनिक राति ११ः३० बजे उडान हुनेछ । साथै दिउँसो भइरहेको उडान तालिका समायोजन गरिएको छ । जसअनुसार अब काठमाडौँ ग्वाङ्झाउका लागि दिउँसो १२ः५० बजे उडान हुने छ ।

‘अप्रिल १० देखि मे महिनासम्म दिउँसोको उडान आइतबार, सोमबार, बुधबार र बिहीबार मात्र हुने छभने जुनदेखि अगस्टसम्म आइतबार र बिहीबार मात्र हुने छ । साथै सेप्टेम्बरदेखि अक्टोबरसम्म दिउँसो हुने उडान दैनिक सञ्चालन हुनेछन्’, कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

चाइना साउदर्नले उक्त अवधिमा उल्लेखनीय रूपमा सिट सङ्ख्या बढाउने योजनासमेत बनाएको छ । काठमाडौँ–ग्वाङ्झाउतर्फ करिब ४५ हजार सिट र ग्वाङ्झाउ–काठमाडौँ ४६ हजारभन्दा बढी सिट उपलब्ध गराइने छन् ।

कम्पनीका अनुसार गत वर्षको तुलनामा काठमाडौँ–ग्वाङ्झाउमा १६ दशमलव पाँच प्रतिशत अर्थात् छ हजार सिट बढी हो भने ग्वाङ्झाउ–काठमाडौँमा १३ हजार अर्थात् ३९ दशमलव ९ ले बढी हो ।
उडान र सिट सङ्ख्यामा भएको वृद्धिले चीन–नेपालबीचको व्यापार, पर्यटन तथा सांस्कृतिक आदानप्रदानलाई थप बल पुर्याउने एयरलाइन्सको अपेक्षा छ ।

‘यो उडान क्षमता वृद्धि चीन–नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव र चीन–नेपाल पर्यटन वर्षको अवसरमा गरिएको हो, चाइना साउदर्नले सधैँ दुई देशबीचको पारस्परिक सम्बन्धलाई प्रवद्र्धनमा प्रतिबद्ध रहँदै आएको छ, जसले दुई देशका जनतालाई अझ सहज, सुविधाजनक र कुशल हवाई यात्रा अनुभव प्रदान गर्दै आएको छ । यसले नेपाल पर्यटन उद्योगको विकासमा योगदान पुर्याउनुका साथै, चीन–नेपाल मित्रता अझ प्रगाढ बनाउनेछ’, कम्पनीले भनेको छ ।

अनलाइनको माध्यमबाट हुने ठगी बढ्यो, सचेत हुनुहोस्ः साइबर ब्युरो

काठमाडौं । सेयर मार्केटको तालिम दिने बहानामा फिसिङ हुने गरेको भेटिएको भन्दै प्रहरीले सचेत रहन आग्रह गरेको छ ।

नेपाल प्रहरीको साइबर ब्युरोले अनलाइनमार्फत सेयरमार्केट तालिम दिने भन्दै फिसिङ लिंक पठाएर ठगी हुने गरेको भन्दै सचेत रहन आग्रह गरेको हो ।

ब्युरोले सामाजिक सञ्जालमार्फत अनलाइन माध्यमबाट लोन भुक्तानी गर्ने, सेयरमार्केट तालिम लिन सकिने र सोको लागि उपलब्ध गराइएको लिंकमा कुनै फिसिङ सफ्ट्वेयर इन्स्टल गर्ने भन्दै ठगी भइरहेको पाइएको जनाएको छ ।

योबाहेक बैंकिङ वालेट प्रयोगकर्ताहरुलाई तपाईंको खातामा असामान्य गतिविधि देखिएको भन्दै एसएमएस गरेर लिंकमा जान लगाउने क्रम बढेको छ।

यसरी लिंकभित्र गएपछि उक्त व्यक्तिको बैंकिङ खातासम्मै पहुँच पुर्याउने हुनाले कुनै पनि प्रकारका असम्बन्धित लिंक नखोल्न पनि आग्रह गरिएको छ।

नेपालद्वारा म्यानमार सरकारलाई २७ टन राहत सामग्री प्रदान

यान्गुन । नेपालले म्यानमार सरकारलाई २७ टन बराबरको राहत सामग्री उपलब्ध गराएको छ । भूकम्पबाट प्रभावित म्यानमारका नागरिकलाई सहयोगस्वरुप उक्त राहत सामग्री उपलब्ध गराइएको हो ।

यान्गुन अन्तरराष्ट्रिय विमानस्थलमा बिहीबार बिहान नेपाली टोलीले म्यानमारका सरकारी अधिकारीलाई राहत सामग्री हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयका सहसचिव एवं दक्षिणपूर्वी एसिया महाशाखा प्रमुख तापस अधिकारीले जानकारी दिए । राहत सामग्रीमा खाद्यान्न, दैनिक उपभोग्य वस्तु, औषधि, स्वास्थ्य उपकरणलगायत छन् ।

सहसचिव अधिकारीका अनुसार म्यानमारका लागि नेपाली राजदूत हरिशचन्द्र घिमिरे र म्यानमारका सरकारी प्रतिनिधिलगायतको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको हो । सामग्री हस्तान्तरणपछि दुई देशका सरकारी प्रतिनिधिबीच छलफलसमेत भएको थियो । सोह्र सदस्यीय नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका उच्चपदस्थ कर्मचारी र पत्रकारलगायत थिए ।

त्यसअवसरमा सहसचिव अधिकारीले भूकम्पमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै म्यानमार सरकार र जनताप्रति गहिरो समवेदना व्यक्त गरेका थिए । उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै नेपालमा २०७२ सालको भूकम्पको समयमा म्यानमार सरकारले गरेको सहयोग स्मरणसमेत गरे ।

“म्यानमारमा भूकम्पले ठूलो क्षति गरेको छ, यस्तो अवस्थामा नेपाल सरकार र निजी क्षेत्रबाट प्राप्त २७ टन बराबर राहत सामग्री यहाँको सरकारलाई उपलब्ध गराइएको हो”, सहसचिव अधिकारीले भने, “नेपाल सरकारले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिनेछ, यसप्रकारको सहयोग आदानप्रदानले दुई देशबीचको मित्रता अझ प्रगाढ बन्नेछ ।”

त्यस अवसरमा म्यानमारका सरकारी प्रतिनिधि हेयू वाई लुविनले उक्त सहयोगका लागि नेपाल सरकारलाई धन्यवाद दिए । उनले भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिबारे संक्षिप्त जानकारी दिएका थिए । उनका अनुसार भूकम्पमा परी हालसम्म तीन हजार ५९० भन्दा बढीको मृत्यु भइसकेको छभने चार हजार ८०० भन्दा बढी घाइते र १४८ बेपत्ता छन् ।

म्यानमार लागि नेपाली राजदूत घिमिरेले वैदेशिक रोजगारीको सिलसिलामा करिब एक लाख ५० हजार नेपाली म्यानमारमा रहेको उल्लेख गर्दै भूकम्पमा परी १८ जना नेपालीको मृत्यु भएको जानकारी दिए ।

म्यानमारको सघाइ प्रान्तलाई केन्द्रविन्दु बनाएर यही अप्रिल २८ मा सात दशमलव सात रेक्टर स्केलको भूकम्प धक्का महसुस भएको थियो । “भूकम्पका कारण अझै १५ जना नेपाली नागरिक बेपत्ता छन्, उहाँहरुको खोजी भइरहेको छ, घाइतेहरुको उपचार जारी छ”, राजदूत घिमिरेले भने ।

म्यानमारस्थित नेपालीहरूको छाता सङ्गठन अखिल म्यानमार गोर्खा हिन्दू धार्मिक संस्थामा करिब २५० जना भूकम्प प्रभावित नेपालीहरूले आश्रय लिएको पनि उनले जानकारी दिए ।

नेपाली सेनाको चिकित्सकको टोलीले विगत सात दिनदेखि म्यानमारको भूकम्प प्रभावित क्षेत्रमा पुगी सेवा दिइरहेको छ । नेपाली सेनाको टोलीले हालसम्म एक हजार ३०० भन्दा बढीको उपचार गरिसकेको उनले जानकराी दिए । उनका अनुसार उक्त टोलीले आठ जना जटिल अवस्थाका घाइतेको सफल शल्यक्रिया गरिसकेको छ ।

अर्थतन्त्र, विकास र समृद्धिमा राजनीतिक दलहरूको साझा धारणा आउनुपर्छः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक समृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले लिनुपर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घको ५९औँ वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवस २०८१ लाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ढकालले सरकारले अघि सारेको समृद्धिको लक्ष्य पूरा गर्न निजी क्षेत्रले निर्वाध रूपमा काम गर्न पाउने विषय पहिलो प्राथमिकता हुनुपर्ने बताएका हुन् । अर्थतन्त्र, विकास र समृद्धिमा राजनीतिक दलहरूको साझा धारणा बनाउनुपर्नेमा उनको जोड थियो ।

अध्यक्ष ढकालले विगतमा सरकारले चाहिनेभन्दा बढी सतर्कता अपनाउँदा अर्थतन्त्र सङ्कुचन भएको उल्लेख गर्दै त्यतिबेला बजारको माग नियन्त्रण गर्न अपनाइएका ती नीतिगत निर्णयले बजारलाई अझैसम्म चलायमान हुन नदिएको बताए ।

‘म निराशा हैन आशा छर्न चाहन्छु । अवस्था सुधारोन्मुख छ । तर हाम्रा युवाहरुको चाहना पूरा गर्न अहिलेको सुधार पर्याप्त छैन । जबसम्म हामी देशभित्रै मर्यादित र उच्च ज्यालासहितको रोजगारीका अवसरहरू सृजना गर्न सक्दैनौं, निराशालाई आशामा बदल्न सकिँदैन । अहिले व्याप्त निराशा त्यसैको परिणाम हो’, उनले भने ।

जहाँ देवीलाई चढाइन्छ दाम्लो

गोरखा । भक्तजनहरू मठमन्दिरमा पूजाआजा गरेर के अर्पण गर्छन् रु सबैको उत्तर हुन्छ, “फूल, अक्षता, भेटी अनि नैवेद्य ।” कोही भक्तजनहरूले लुगाकपडा, गरगहना र अन्य खाद्यान्न सामग्री पनि चढाउँलान् । तर, गोरखामा एउटा यस्तो मन्दिर छ जहाँ देवीलाई गाईभैँसी बाँध्ने दाम्लो चढाइन्छ ।

गोरखा नगरपालिका–५, पस्लाङस्थित नाम्रुङदेवी थानमा पूजाआजा गरेर ‘दाम्लो’ चढाउने सयौँ वर्षदेखिको चलन अहिले पनि कायमै छ । “गाईवस्तु बिरामी भएमा वा ब्याउन गाह्रो भएमा नाम्रुङदेवीको भाकल गर्छौँ”, मन्दिरको पुजारीसमेत रहेका स्थानीय जुनबहादुर रानामगर भन्छन्, “अनि आफूलाई अनुकूल समय मिलाएर थानमा पूजा गरेर दाम्लो चढाउने चलन छ । भाकल गरेपछि अहिलेसम्म पूरा पनि भएको छ ।”

मन्दिरमा दाम्लो चढाउन गोरखा र आसपासका जिल्लाबाट समेत भक्तजन आउने गरेको उनले बताए । “गोरखा, तनहुँ, लमजुङ, चितवनबाट यहाँ पूजा गर्न र दाम्लो चढाउन आउँछन्”, उनले भने । किसानले पशुपालन फस्टाउन्, बालीबाली राम्रो होस्, रोगव्याध नफैलियोस्, दूध पर्याप्त देओस् भनेर पूजा गरी दाम्लो चढाउने गरेको उनको भनाइ छ ।

नाम्रुङदेवीथानमा स्थानीय जातको कुखुराको अण्डा गाडेर मौसम परीक्षण गर्ने चलन पनि छ । “यहाँ हरेक वर्ष चण्डी पूर्णिमाको दिन दुईवटा लोकल कुखुराको अण्डा गाड्ने चलन छ”, उनले भने, “अर्को वर्षको चण्डी पूर्णिमामा त्यसलाई निकाल्दा जस्ताको तस्तै रह्यो भने त्यो वर्ष शुभ हुन्छ भन्ने विश्वास गरिन्छ । अण्डा बिग्रियो, कुहियो भने अशुभ हुन्छ भनेर अनुमान गरिन्छ ।” अण्डा बिग्रिएमा हुरीबतास, असिनापात, भेल, बाढी, वर्षा, डढेलो वा महामारीले गाउँलेलाई दुःख दिने जनविश्वास छ ।

यहाँ दाम्लो चढाएर पूजा गर्ने चलन कहिलेबाट सुरु भयो भन्ने एकिन नभए पनि तनहुँसुरमा मुकुन्दसेन द्वितीय राजा र गोरखामा नरभूपाल शाह राजा हुँदादेखि पूजा गर्ने गरेको अभिलेख भेटिने गोरखा सङ्ग्रहालयका पूर्वकर्मचारी, इतिहासका जानकार गणेशप्रसाद भट्टराई बताउँछन् ।

उनका अनुसार नाम्रुङदेवीथानमा असारको पूर्णिमामा विशेष पूजाआजा र मेला लाग्ने चलन छ । दैनिक नियमित पूजा पनि हुने गर्छ । पूजारी भने मगर समुदायबाट चुनिन्छन् । यहाँ कुखुरा, परेवा, बोका पाठा बलि चढाइने भट्टराईले बताए । पहिले सरकारले पूजा खर्च दिने गरेकामा केही वर्षयता खर्च कटौती गरिएको छ । 

घट्यो शेयर बजार

काठमाडौं । बिहीबार शेयर बजार नेप्से सामान्य घटेको छ । बिहीबार नेप्से ५ दशमलव ५७ अङ्कले घटेर २ हजार ६ सय ७० दशमलव ७० विन्दुमा झरेको छ ।

आज विकास बैंक, जलविद्युत्, माइक्रोफाइनान्स र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेको छ । आज बोटलर्स नेपाल (बालाजु) कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै साढे प्रतिशतले ओरालो लागेको छ ।

समग्रमा बजार घटेको दिन नेपाल माइक्रो इन्सुरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ ।

नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । आज ३ सय २१ वटा कम्पनीका १ करोड १३ लाख कित्ता शेयर ५ अर्ब ६३ करोड रुपैयाँमा किनबेच भएको छ ।

अब सदर चिडियाखाना बेलुका ८ बजेसम्म खुल्ने

काठमाडौँ । जावलाखेलस्थित सदर चिडियाखाना नयाँ वर्ष २०८२ सालदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भएको छ ।

चिडियाखानाद्वारा बिहीबार आयोजित कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जनताको मागअनुसार आगामी वैशाख १ गतेदेखि चिडियाखाना बेलुका ८ बजेसम्म सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए ।

उनले भने, “त्यसका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषको बोर्डबाट निर्णय गरी आवश्यक तयारी र प्रक्रिया अघि बढिसकेको छ ।” चिडियाखाना हाल बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने गरेको छ ।

चिडियाखानाभित्र रहेको फल्चा र शिशु स्तनपान कक्षको उद्घाटन गर्दै मन्त्री शाहीले चिडियाखाना परिसरलाई प्रकृति र वन्यजन्तुका साथै संस्कृति र परम्परासँग जोड्नु सकारात्मक पक्ष भएको उल्लेख गरे। उनले यो चिडियाखाना साँघुरो भएकाले विस्तारका लागि सूर्यविनायकमा खुला चिडियाखानाको प्रावधानअनुसार आवश्यक काम भइरहेको बताए।

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सदर चिडियाखाना ललितपुरको गहना भएको बताउँदै यसको संवर्द्धनमा सबैलाई हातेमालो गर्न आग्रह गरे । साथै उनले आफू प्रमुख भएपछि ललितपुरमा अतिक्रमणमा परेका, मासिएका, पुरिएका, सांस्कृतिक सम्पदाको पुनरुत्थान र संरक्षणमा केन्द्रित भएको जानकारी गराए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा.रामचन्द्र कँडेलले चिडियाखाना थप दुर्लभ वन्यजन्तु स्वदेश तथा विदेशबाट ल्याउने तयारी भइरहेको र त्यसमा विभागले आवश्यक समन्वय गरिरहेको बताए ।

कोषका सदस्य सचिव डा.नरेश सुवेदीले प्रकृति र संस्कृतिलाई सँगै जोड्ने उदेश्यले चिडियाखानाभित्र रहेको स्थानीय समुदायको कुल देवताको मन्दिर र फल्चाको निर्माण गरिएको बताए । उनले सेवाग्राहीको चाहनाअनुसार चिडियाखानामा सिंह र जेब्रा ल्याउनका लागि पहल भइरहेको जानकारी गराए ।

कार्यक्रममा सदर चिडियाखानाका प्रमुख सत्यनारायण साह, ललितपुर महानगरपालिका–४ का अध्यक्ष सन्तोष खडका र स्थानीय गुठीका अध्यक्ष राजेन्द्र महर्जनले कुल देवताको मन्दिर र फल्चाको निर्माणले चिडियाखानाको संरक्षण र संवर्द्धनमा स्थानीयको अपनत्व थपिने उल्लेख गरे।

त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले बरालको राजीनामा बिहीबार स्वीकृत गरेका हुन् ।

बरालले स्वास्थ्य कारण देखाउँदै १५ चैतमा राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

रेक्टर र रजिस्ट्रारले पोखरा पुगेर बराललाई राजीनामा फिर्ता गर्न आग्रह गरे पनि उनी काममा फर्किन तयार भएका थिएनन् ।

लगानीको वातावरण अनुकूल बनाउन नीतिगत सुधारलाई निरन्तरता दिन्छौं : मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानीको वातावरणलाई थप अनुकूल बनाउन सरकारले नीतिगत सुधारलाई निरन्तरता दिएको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घको ५९औँ साधारणसभाको उद्घाटन समारोहलाई बिहीबार सम्बोधन गर्दै उनले लगानीसम्बन्धी ऐन कानुनलाई समयसापेक्ष बनाउने, एकल विन्दु सेवालाई प्रभावकारी बनाउने र विदेशी लगानी आकर्षित गर्न विशेष पहल गरिएको बताए ।

उनले भने, “हामी निजी क्षेत्रलाई लगानी गर्न र उद्यमशीलता विकास गर्न प्रोत्साहित गरिरहेका छौँ, सरकारले औद्योगिक पूर्वाधार विकासमा विशेष जोड दिएको छ, औद्योगिक क्षेत्रहरूको स्थापना र स्तरोन्नति, विद्युत् आपूर्तिमा सुधार, सडक र यातायातको विकास तथा सूचना प्रविधिको विस्तारलाई उच्च प्राथमिकता दिइएको छ, यी पूर्वाधारहरूले उद्योग व्यवसायको लागत घटाउन र उत्पादन क्षमता वृद्धि गर्न मद्दत पुर्याउने छन् ।”

मुलुकको आर्थिक विकासका लागि औद्योगिक विकास अपरिहार्य रहेको मन्त्री भण्डारीको भनाइ छ । उनले भने, “यद्यपि नेपालको तुलनात्मक लाभ भएका र प्रतिस्पर्धी क्षमता भएका वस्तु तथा सेवाको उत्पादन, उत्पादकत्व तथा निर्यात वृद्धि गर्ने प्रमुख उद्देश्य राखेर हामीले नीतिगत सुधार गर्दै आएका छौँ ।”

विगत लामो समयदेखि महासङ्घले नेपाली उद्योग व्यवसायको प्रवर्द्धन र विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै उनले निजी क्षेत्रको छाता सङ्गठनका रूपमा महासङ्घले व्यवसायीका हकहितको संरक्षण गरेर राष्ट्रिय अर्थतन्त्रको विकासमा पुर्याएको योगदान अतुलनीय रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घ सरकारको महत्त्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले भने, “उद्योग व्यवसायको विकास र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य छ, हामीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न, आयात प्रतिस्थापन गर्न र निर्यात प्रवर्द्धन गर्न विभिन्न नीतिगत तथा कार्यक्रमगत प्रयास थालेका छौँ ।”

द्धिपक्षीय व्यापार सहजीकरणमा महासङ्घको भूमिकाको सराहना गर्दै उनले गत जनवरीमा नेपाल–भारत वाणिज्य सचिवस्तरीय बैठक आयोजना गरेको जानकारी गराउँदै उनले महासङ्घ र भारतको सिआइआइको नेतृत्वमा गठन भएको नेपाल–भारत व्यापार मञ्चका सुझाव उक्त बैठकका लागि निकै महत्त्वपूर्ण रहेको बताए ।

महासङ्घले व्यापार विस्तार मात्र नभइ पारदर्शिता र जवाफदेहीतामा पनि विशेष ध्यान दिएको उल्लेख गर्दै मन्त्री भण्डारीले भने, “यहाँहरूले निरन्तर रुपमा उत्पत्तिको प्रमाणपत्र अनलाइन जारी गर्ने व्यवस्थाका लागि हामीलाई आग्रह गरिरहनुभएको थियो, हामीले यसै सातामात्र परिपत्र गरी पूर्ण रूपमा अनलाइनबाट सञ्चालन गर्न सबै संस्थालाई आग्रह गरिसकेका छौँ ।”

उनले महासङ्घले आफ्ना सदस्यका समस्या र सुझाव सरकारसम्म पुर्याउन तथा नीति निर्माण प्रक्रियामा रचनात्मक योगदान दिन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे । उनले भने, “यहाँहरूले अल्प, मध्य र दीर्घकालीन सुधारका लागि नयाँ चरणको सुधारको माग गर्नुभएको थियो, सोहीअनुसार गठित आयोगले सुझाव दिने नै छ, हामी सुधारका लागि तत्पर छौँ ।” 

सरकार र निजी क्षेत्रको सहकार्यबाट राष्ट्रिय उपलब्धि हासिल गर्नुपर्छः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र निजी क्षेत्रको सहकार्यबाट राष्ट्रिय उपलब्धि हासिल गर्नुपर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घको ५९औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘केही गर्न सक्छौँ र गर्नुपर्छ’ भन्ने सङ्कल्प प्रकट भएकामा खुसी व्यक्त गरे ।

उनले निजी क्षेत्र विकासका लागि आत्मविश्वासका साथ अघि बढेकाले सरकार त्यसलाई सघाउन तयार रहेको स्पष्ट गरे ।

‘सरकार र निजी क्षेत्रको सहकार्य नमुनाका रूपमा अघि बढिरहेको छ । हामी सबै मिलेर हाम्रो देश बनाउनुपर्छ । तीव्र गतिमा विकास गर्नुपर्छ । हामीले स्वदेशी वस्तुको प्रयोगलाई बढाएर लाँदा गर्व महसुस गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘निजी क्षेत्रले सरकारलाई प्रेरित गरोस् । यसका लागि कुनै आन्दोलन गरिरहनुपर्ने छैन । यो सरकार स्थिरता, स्थायित्व, सुशासन र विकासका लागि बनेको हो ।’

प्रधानमन्त्री ओलीले जनतालाई सेवा र सुविधा दिन विद्यमान प्रणाली स्थापना भएको र अहिलेको सरकारले यस प्रणालीलाई बलियो बनाउँदै ठुला उत्पादन र उत्पादकत्व बढाउन अग्रसर रहेको जानकारी दिए ।

उनले निजी क्षेत्रले दिएका सुझावका आधारमा सरकारले नीति र कानुन बनाउँदै आएको पनि स्पष्ट गरे ।

कार्यक्रममा बढी कर तिर्ने क्षेत्रगत कम्पनी र महासङ्घका उत्कृष्ट प्रदेश र जिल्ला समितिलाई सम्मान गरिएको थियो ।

अमेरिकी कर स्थगन विश्व अर्थतन्त्रलाई स्थिर बनाउन ‘महत्त्वपूर्ण कदम’ : इयु प्रमुख

ब्रसेल्स । युरोपेली सङ्घ (इयु) की प्रमुख उर्सुला भन डेर लेयनले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नियोजित भन्सार शुल्क वृद्धि रोक्ने निर्णयलाई ‘विश्व अर्थतन्त्रलाई स्थिर बनाउने दिशामा महत्त्वपूर्ण कदम’ का रूपमा स्वागत गरेकी छिन् ।

“व्यापार र आपूर्ति शृङ्खलाले काम गर्नका लागि स्पष्ट, पूर्वानुमानयोग्य अवस्थाहरू आवश्यक छन्”, कार र अन्य औद्योगिक सामानहरूका लागि द्विपक्षीय भन्सार शुल्क छुटको ब्लकको प्रस्ताव दोहोर्‍याउँदै युरोपेली आयोगका अध्यक्षले विज्ञप्तिमा भनिन्, “युरोपेली सङ्घ संयुक्त राज्य अमेरिकासँग रचनात्मक वार्ताका लागि प्रतिबद्ध छ ।”

इयुमा ट्रम्पको विश्वव्यापी भन्सार शुल्कको अंशका रूपमा २० प्रतिशत दर लगाइएको थियो र आयोगले यसको जवाफ तयार गरिरहेको छ । यद्यपि ब्रसेल्सले प्रतिशोध लिन नचाहेको स्पष्ट पारेको छ ।

ट्रम्पले बुधबार ९० दिनका लागि लगभग सबै राष्ट्रका लागि उपायहरू रोक्ने घोषणा गर्नुअघि गत हप्ता दण्डात्मक भन्सार शुल्कहरूको घोषणा गरेर विश्वव्यापी बजारहरूलाई अराजकतामा फ्याँक्नेका थिए ।

अहिले १० प्रतिशतको आधारभूत भन्सार शुल्क दरको सामना गर्ने २७ राष्ट्रको इयु दर्जनौँ देशहरू मध्ये एक हो । दश प्रतिशतको आधारभूत भन्सार शुल्क दरको सामना गर्ने मुलुकमा जापान पनि समावेश छ तर चीन छैन ।

यो ब्लक स्टिल र एलुमिनियममा पहिले लागु गरिएको अमेरिकी भन्सार शुल्कको अधीनमा रहेको छ । यसको प्रतिशोध उसले बुधबार लिएको छ ।

ट्रम्पको आक्रामक व्यापार कदमहरू र इयु विरुद्धको शत्रुतापूर्ण वक्तव्यले ब्रसेल्समा दिमाग केन्द्रित गरेको छ । अहिले नेताहरू भारत लगायत अन्य राष्ट्रसँग नजिकको व्यापार सम्बन्ध स्थापना गर्न अगाडि बढिरहेका छन् ।

“युरोप विश्व व्यापारको ८७ प्रतिशत ओगट्ने देशहरूसँग संलग्न हुँदै आफ्नो व्यापार साझेदारीहरू विविधीकरण गर्नमा निरन्तर केन्द्रित छ”, भन डेर लेयनले भनिन । इयुले आफ्नो एकल बजारलाई पनि बलियो बनाउने र अवरोधहरू हटाउने उनले बताइन् ।

ट्रम्पको भन्सार विश्राम बजारलाई राहत तर चीनसँगको व्यापार युद्ध तीव्र बन्दै

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार विश्व बजारमा उत्साह जगाउँदै अधिकांश देशमा करहरू अचानक रोकेका छन् । तर उनी महाशक्ति प्रतिद्वन्द्वी चीनसँगको कठोर व्यापार युद्धमा अगाडि बढेका छन् ।

केही दिनको उथलपुथलपछि ट्रम्पले लगभग सबै राष्ट्रका लागि ९० दिनका लागि भन्सार शुल्क वृद्धि रोकिएको घोषणा गरेपछि वाल स्ट्रिट र एसियाभरिका स्टकहरूमा ठूलो उछाल देखियो ।

तर ट्रम्पले ‘सम्मानको कमी’ का कारण चीनमाथि कर बढाएर १२५ प्रतिशत पुर्‍याएको पनि बताए ।

बेइजिङले अमेरिकी आयातमा ८४ प्रतिशतको प्रतिशोधात्मक भन्सार शुल्क लगाएर प्रतिकार गरेको छ र यो बिहीबार मध्याह्न (०४०१ जिएमटी) पछि लागू भएको छ । यो विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्रबीचको बढ्दो गतिरोधमा अर्को नयाँ हमला हो ।

ट्रम्पले पत्रकारहरूलाई ‘तपाईं लचिलो हुनुपर्छ’ भन्दै भन्सार शुल्कहरूबाट पछि हट्ने कुरा अस्वीकार गरेका छन् ।

“मानिसहरू अलिकति रेखाबाट बाहिर उफ्रिरहेका थिए, उनीहरू यिप्पी भइरहेका थिए, अलिकति डराइरहेका थिए”, ट्रम्पले भने । ‘यिप्पी’ खेलकुदमा स्नायुहरू क्षति वर्णन गर्ने शब्द हो ।

उनले आफ्नो निर्णय गर्नुअघि नै महत्त्वपूर्ण अमेरिकी बन्ड बजारको ‘धेरै जटिल’ अवस्था हेरिरहेको बताएका थिए ।

“मैले गत रात मानिसहरू अलि वाक्क भइरहेको देखेँ”, उनले भने, “अमेरिकी स्टक बिक्रीको समयमा अमेरिकी बन्ड प्रतिफल बढ्दै जाँदा–अमेरिकी सार्वभौम सरकारी ऋणलाई सामान्यतया सङ्कटको समयमा लगानीकर्ताहरूका लागि सुरक्षित आश्रयका रूपमा हेरिएको छ ।”

ट्रम्पले अहिले अमेरिकी सामानहरूमा प्रतिशोधात्मक भन्सार शुल्क फिर्ता लिन अस्वीकार गरेका चीनसहित सबै देशसँग व्यापार सम्झौता हुने भविष्यवाणी पनि गरेका छन् ।

“चीनसँग एउटा सम्झौता हुन गइरहेको छ । तिनीहरू प्रत्येकसँग एउटा सम्झौता हुन गइरहेको छ”, ट्रम्पले भने, “यद्यपि चिनियाँ नेताहरूलाई यसको बारेमा कसरी जाने भनेर थाहा छैन ।”

ट्रम्पले उनी चिनियाँ भन्सार शुल्कहरू भन्दा अझ बढी ‘कल्पना गर्न नसक्ने’ पनि बताए ।

बेइजिङले थप वृद्धिको लागतको तौल गर्दा ब्लुमबर्गले चीनको शीर्ष नेतृत्वले व्यापार युद्धभन्दा पहिले नै बिरामी रहेको आफ्नो कमजोर अर्थतन्त्रलाई बढावा दिन थप प्रोत्साहनको योजना बनाउन बिहीबार बैठक गर्ने बताएको छ ।

चीनसँग द्वन्द्व

ट्रम्पले एक हप्ताअघि ‘मुक्ति दिवस’ भनेर विश्वव्यापी भन्सार शुल्कहरूको घोषणा गरेपछि बुधबार नाटकीय विश्रामअघि बजारहरू रोलरकोस्टर चढेजस्तै छन् ।

ट्रम्पले शनिबारदेखि लागु भएका सबै देशमा १० प्रतिशत आधारभूत भन्सार शुल्क लगाएका थिए । उनले चीन र युरोपेली सङ्घ (इयु) जस्ता प्रमुख व्यापारिक साझेदारहरूमा उच्च दरहरू लगाएका थिए । तिनीहरूलाई उनले संयुक्त राज्य अमेरिकालाई धोका दिएको आरोप लगाएका छन् । ती भन्सार दरहरू बुधबार सक्रिय भएका छन् ।

तर बजार फेरि प्रभावित हुँदै जाँदा ट्रम्पले आफ्नो ट्रुथ सोसल नेटवर्कमा आश्चर्यजनक घोषणामा उच्च भन्सार शुल्कमा ‘मैले ९० दिनको भुक्तानीलाई अनुमति दिएको छु’, जबकि आधारभूत १० प्रतिशत रहनेछ भने ।

उनले ७५ भन्दा बढी देशले वार्ताका लागि सम्पर्क गरेपछि र कुनै प्रतिशोध नलिएपछि यस्तो निर्णय लिएको बताए ।

तथाकथित पारस्परिक भन्सार शुल्कअन्तर्गत २४ प्रतिशत कर लगाइएको जापानले यो समाचारलाई स्वागत गरेको तर अझै पनि वासिङ्टनले आफ्नो स्टिल र अटो निर्यातमा लगाइएका अन्य करमाथि पुनर्विचार गर्न ‘दृढतापूर्वक’ माग गरेको बताएको छ ।

इयुले यसअघि विश्वव्यापी स्टिल र एलुमिनियम निर्यातमा अमेरिकी भन्सार शुल्कको बदलामा अर्को हप्ताबाट केही अमेरिकी उत्पादनहरूलाई लक्षित गर्ने उपायहरू घोषणा गर्दै आफ्नै प्रतिआक्रमण सुरु गरेको थियो ।

२७ राष्ट्रको यो ब्लकले सोयाबिन, मोटरसाइकल र सौन्दर्य उत्पादनहरूसहित २० अर्ब युरोभन्दा बढी मूल्यका अमेरिकी उत्पादनहरूलाई असर गर्नेछ ।

तर इयुले उल्लेखनीय रूपमा बुधबार लागू भएको २० प्रतिशतको छुट्टै ‘मुक्ति दिवस’ भन्सार शुल्कहरूको विरुद्ध प्रतिशोध लिएको छैन ।

दुई प्रदेश जोड्ने पक्की पुल निर्माण

 दमौली । गण्डकी र लुम्बिनी प्रदेश जोड्न तनहुँको घिरिङ गाउँपालिका–१ कालीगण्डकी नदीमाथि निर्माण गरिएको पक्की पुलबाट यातायातका साधन सञ्चालन हुन थालेका छन् । पुल निर्माण भएर उद्घाटन नभए पनि यहाँबाट यातायातका साधन सञ्चालन हुन थालेको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले बताए ।

पुल निर्माणले गण्डकी प्रदेशअन्तर्गत तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टार र लुम्बिनी प्रदेशअन्तर्गत पाल्पाको रामपुर नगरपालिका–१ स्याउली बजार जोडेको छ । सिग्देलले भने, ‘तनहुँतर्फको भाग पुलसँग जोडिएको छ । पाल्पातर्फको भागमा माटोले सतह मिलाएर यातायात सञ्चालनमा ल्याइएको छ, केही समयभित्रै व्यवस्थापन गरी पुलको उद्घाटन गरिने छ।’

पुल निर्माणकोकाम युनाइटेड विल्डर्सले पाएको थियो । कूल २१० मिटर लामो उक्त पुल पश्चिमक्षेत्र सेक्टर नं ४ को प्रत्यक्ष निर्देशन र निरीक्षणमा पुल निर्माण गरिएको हो । डबल लेन प्रविधिमा निर्माण भएको पुल निर्माणमा रु २७ करोड लगानी भएको छ ।

कालीगण्डकी नदीमा पुल नहुँदा पुट्टार र स्याउलीका सर्वसाधारण पाल्पाको निस्दी गाउँपालिका हुँदै लामो दूरीबाट यात्रा गर्न बाध्य थिए । पुल नहुँदा नजिकै रहेको स्याउली बजार जान पनि घुमेर जाँदा टाढा पर्थ्यो। पुल निर्माण भएपछि सहज रूपमा आवातजावात गर्न सकिन्छ।

डेढ घण्टाको बाटो १५ मिनेटमा छोटियो

घिरिङ गाउँपालिका–२ र ३ जोड्ने चिन्नेखोलामा झोलुङ्गे पुल निर्माण भएपछि डेढ घण्टाको बाटो १५ मिनेटमा छोटिएको छ । चिन्नखोलामा ९२ मिटर लामो झोलुङ्गे पुल बनेपछि यात्रा अवधि छोटिएको हो ।

यहाँ पुल नहुँदा यस भेगका जनताले घुमाउरो बाटो हिँड्नुपर्नेमा पुल बनेपछि सहज भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष खिमबहादुर थापाले बताए । उनले भने, ‘यहाँ पुल नहुँदा यस भेगका जनतालाई दुःख थियो, पुल बनेपछि सहज भयो।’

रु ४५ लाख ६८ हजार १९२ को लागतमा झोलुङ्गे पुल निर्माण गरिएको हो । पुल निर्माणका लागि गैरसरकारी संस्था समन्वय समिति तनहुँले सामाजिक तथा प्राविधिक सहयोग गरेको थियो ।

उक्त संस्थाका महासचिव राजेश्वर हड्खलेले पुल निर्माणका लागि गाउँपालिकाले रु पाँच लाख ९५ हजार ९८५ लागत साझेदारी गरेको जानकारी दिए । त्यस्तै स्थानीयवासीले रु ८९ हजार २४२ बराबरको श्रमदान गरेका थिए । सङ्घीय झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रममार्फत रु ३८ लाख ६७ हजार ७७३ विनियोजन भएको थियो ।

पुल निर्माणका लागि उपभोक्ता समितिसँग रु २०८१ वैशाख १६ गते सम्झौता भएको थियो । विसं २०८१ कात्तिक १५ गतेबाट पुल निर्माण सुरु गरिएको र विसं २०८२ असार १५ गतेसम्म म्याद रहेकामा म्याद अगावै पुल निर्माणको काम सकिएको हड्खलेले बताए । पुल निर्माणपश्चात ११८ घरपरिवारका ९५४ जना लाभान्वित भएका छन् ।

जति धोइपखाली गरेपनि पूर्वराजा ज्ञानेन्द्र संवैधानिक हुँदैनन्ः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले नेपालको राजालाई कुनै हालतमा संवैधानिक बनाउन नसकिने बताएका छन् ।

कांग्रेस बागमती प्रदेशले बिहीबार आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जति धोइपखाली गरेपनि संवैधानिक बनाउन नसकिने बताएका हुन् ।

उनले भने,‘कांग्रेसले जति राजालाई अरु कसले बाकेको छ ? पार्टीको स्थापना भएदेखि नेपालको राजसंस्थालाई संवैधानिक बनाउनुपर्छ भन्ने मान्यता राख्ने पार्टी हो । आठ वर्ष झ्यालखानामा कोचिएको बिपी कोइरालाले सातवटा ज्यान मुद्दा लिएर नेपाल फर्किदै गर्दा गणेशमान र बिपी कोइराला उभिएर त्यो बेलामा नेपालको राजसंस्थालाई संवैधानिक बनाउनुपर्छ भन्ने मान्यता राखेको पार्टी हो । ०४६ सालको परिवर्तनपछि पनि त्यही मान्यता राखेको पार्टी हो । त्यसैले कांग्रेसले लामो अनुभव गरेर त्यो निर्णय गरेको हो । नेपालको राजा कसैले पनि धोएर जति सफा गरे पनि उसलाई संवैधानिक बनाउन सक्दैन ।’

महामन्त्री थापाले निर्मल निवासमा बसेर उत्पात मच्याउने ज्ञानेन्द्रले नारायणहिटी दरबारमा बसेको भए के गर्थे होलान् भन्ने स्पष्ट भएको बताए । उनले राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको बताए ।

शैक्षिक परामर्श दिने कम्पनीलाई ‘स्टार्टअप’ उद्यमका रूपमा प्रवद्र्धन गर्नुपर्छः मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले शैक्षिक परामर्श सेवा दिने कम्पनी तथा संस्थालाई साना व्यवसाय तथा ‘स्टार्टअप’ उद्यमका रूपमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल शैक्षिक परामर्श सङ्घले बिहीबार आयोजना गरेको ‘शैक्षिक परामर्श क्षेत्रको औद्योगिक मान्यताः सरकारको भूमिका’ विषयक कार्यक्रममा उनले शैक्षिक परामर्श सेवा प्रदायकले समेत नवीनतम् सोच प्रयोग गरी व्यवसाय सञ्चालन गरेकाले स्टार्टअप उद्यम हुनसक्ने बताए ।

मन्त्री भण्डारीले शिक्षा क्षेत्रलाई राज्यले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै नेपाल सरकारले शिक्षा क्षेत्रको विकासका लागि ठूलो लगानी गरिरहेको बताए ।

उनले भने, “यसै सन्दर्भमा शैक्षिक परामर्श प्रदान गर्ने कार्यलाई उद्यमशील र रोजगारमुखी क्षेत्रका रूपमा हेरिन्छ, यस क्षेत्रले उल्लेख्य मात्रामा रोजगारी सृजना गरेको सहजै अनुमान गर्न सकिन्छ, शैक्षिक परामर्श प्रदान गर्ने क्षेत्रलाई सेवा उद्योगका रूपमा सरकारले मान्यता दिएको छ ।”

शैक्षिक परामर्श प्रदान गर्ने क्षेत्रलाई पारदर्शी बनाई सहज र सुलभ सेवा प्रवाह गर्नका लागि आवश्यक पूर्वाधार विकासमा थप काम गर्नुपर्नेमा मन्त्री भण्डारीले जोड दिए ।

उनले हाल शैक्षिक परामर्श सेवा दिने कम्पनीहरूले आफ्नो सेवालाई विश्वसनीय बनाउन ‘एक्रिडिटेशन’समेत गरी अघि बढ्नुपर्ने देखिएको बताए ।

ऊर्जामन्त्री खड्कासँग नेपालका लागि जर्मनीका कार्यवाहक राजदूतको शिष्टाचार भेट

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि जर्मनीका कार्यवाहक राजदूत वेन्जामिन साइडेलले शिष्टाचार भेटवार्ता गरेका छन्।

ऊर्जा मन्त्रालयमा बिहीबार भएको भेटमा नेपालको ऊर्जा र सिँचाइ क्षेत्रमा थप सहकार्यका विविध विषयमा छलफल भएको थियो। भेटमा जर्मनीले नेपाललाई गर्दै आएको सहयोगलाई कसरी थप प्रभावकारी बनाएर अगाडि बढ्ने भन्नेबारे छलफल भएको ऊर्जामन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा ऊर्जामन्त्री खड्काले जर्मन सरकारले नेपालको जलविद्युत क्षेत्र वैकल्पिक तथा नविरणीय ऊर्जामा यसअघि गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे। उनले नेपालले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको बताउँदै उक्त लक्ष्य प्राप्तिका लागि नेपालको जलविद्युत् आयोजनामा लगानी गर्न जर्मन सरकारलाई आग्रह गरे।

भेटमा कार्यवाहक राजदूत साइडेलले नेपालको ऊर्जा क्षेत्रको विकासमा जर्मनीको निरन्तर साथ र सहयोग रहँदै आएको बताए। आगामी दिनमा पनि उक्त साथ र सहयोग निरन्तर रहने उनको भनाइ थियो। रासस

पर्यटकको रोजाइ बन्दै रामपुरको तालपोखरा

रामपुर (पाल्पा) । गर्मीयाम बढेसँगै तालपोखरामा पर्यटकको चहलपहल बढ्न थालेको छ । रामपुर नगरपालिका–६ स्थित तालपोखरामा यतिबेला घुम्न जाने आन्तरिक पर्यटक आउने जाने क्रम बाक्लिँदै गएको छ ।

तालपोखरामा डुङ्गा सयर गर्ने, पार्क अवलोकन गर्दै फोटो, टिकटक तथा भिडियो बनाएर रमाउने बढेका छन् । रामपुरको बेझाड बजार, किसानबारी बजार, विजयपुरबाट पक्की सडक जोडिएकाले तालपोखरा पर्यटकको गन्तव्यस्थल बनेको हो ।

बिदाका दिन घुम्न आउनेको बाक्लो उपस्थिति रहने गरेको तालपोखरा संरक्षण समिति सदस्य जनक भण्डारी बताउँछन् ।

सडक सुविधाको पहुँच भएपछि तालपोखरा आउन पर्यटकलाई सहज भएको भण्डारीको भनाइ छ । तालमा पाँच वटा डुङ्गा रहेको डुङ्गा चालक भगवान देवकोटाले जानकारी दिए । ताल परिसरको आरामस्थल चिटिक्क पारिएको छ । हाल दैनिकजसो एक सयभन्दा बढी पर्यटक आउने गरेको जनाइएको छ ।

वर्षायाममा पानी जम्मा हुने सामान्य पोखरीलाई पर्यटकीय विकास गर्ने उद्देश्यले यहाँका स्थानीयले व्यवस्थित ताल निर्माण गरी सञ्चालनमा ल्याएपछि यो क्षेत्र पछिल्लो समय उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको छ । नेपाल सरकारले पनि यस क्षेत्रलाई एक सय पर्यटकीय गन्तस्थलको रूपमा सुचीकृत गरी पर्यटन विकासमा सघाएको छ । 

नेपाल बारको अध्यक्षमा मिश्र निर्वाचित

काठमाडौँ । नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र निर्वाचित भएका छन् ।

बिहीबार सार्वजनिक मतपरिणामअनुसार उनी दुई हजार ४३१ मतान्तरले विजयी भएका हुन् ।
नेपाल बार एसोसिएसन निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार प्राडा मिश्रले पाँच हजार ५२ मत प्राप्त गरेका छन् भने अध्यक्षका प्रत्यासी वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले दुई हजार ६२१ मत प्राप्त गरेका छन् ।

नयाँ नेतृत्वका लागि बृहत् लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्रा डा मिश्रको समूह र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता श्रेष्ठको समूहबीच प्रतिस्पर्धा भएको थियो ।

निरालाका अनुसार उपाध्यक्षहरूमा कोशी प्रदेशमा पदमप्रसाद लिम्बू, मधेस प्रदेशमा अजय शङ्कर झा, बागमतीमा तेजबहादुर रावल, गण्डकीमा भूपेन्द्र खनाल, लुम्बिनीमा कृष्णप्रसाद पोखरेल, कर्णालीमा विवशकुमार बस्नेत, सुदूरपश्चिममा सिद्धराज ओझा, खुला महिलातर्फ सरस्वती श्रेष्ठ विजयी भएका छन् ।

महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले चार हजार ८७४ मत प्राप्त गरी विजयी हुँदा यज्ञमणि न्यौपानेले दुई हजार ३६७ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा जगतबहादुर कार्की निर्वाचित भएका छन् ।

सदस्यहरूमा चिरञ्जीवी तिलक्यानी (दलित), सूर्यकुमार यादव (मधेसी मुस्लिम काठमाडौँ उपत्यका बाहिर), रिङ्कुकुमारी यादव (मधेसी मुस्लिम खुला), राजकुमार श्रेष्ठ (आदिवासी जनजाति काठमाडौँ उपत्यका बाहिर), मङ्गलसुन्दर शिल्पकार (आदिवासी जनजाति खुला) इन्दिरा आचार्य (महिला काठमाडौँ उपत्यका बाहिर), किरण पौडेल (काठमाडाँै उपत्यका बाहिर) र रञ्जिता कार्की (महिला खुला) छन् ।

बारको नयाँ कार्यसमितिको खुला सदस्यहरूमा किरण न्यौपाने, शारदा गुरुङ, दमनबहादुर चन्द, बाबुराम अर्याल, डा मुकुन्द अधिकारी र माधव मैनाली विजयी भएका छन् । बारको नयाँ कार्यसमिति चयन गर्न नौ हजार ९९७ मतदाता रहेकामा सात हजार ९९५ (८० प्रतिशत) मत खसेको थियो । कुल २५ जना रहने कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको थियो ।

वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८१ समग्रमा सुखद् रह्यो। यस वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बजारमा गरेको व्यापार इतिहास बनेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्स अफिस)मा यस चलचित्रले  ४६ करोड ८० लाख (ग्रस) कारोबार गरेको तथ्याङ्क छ। त्यसले विसं २०८१ मा मात्र नभई नेपाली चलचित्रको इतिहासमै ‘रेकर्ड’ दर्ज गर्यो। यसकारण २०८१ साल चलचित्रका लागि स्मरण गरिने वर्ष बन्ने छ।

यसका साथै यस वर्ष चार चलचित्रले १० करोडभन्दा बढीको व्यापार (ग्रस) घरेलु बजारमा गर्न सफल भएका छन्। चलचित्र विकास बोर्डको तथ्याङ्कानुसार यस वर्ष ६० चलचित्र प्रदर्शन भइसकेका छन् भने दुई चलचित्र ‘पिताम्बर’ र ‘कर्मा’ यही चैत २९ देखि प्रदर्शन हुँदैछन्।

यस वर्ष स्वदेशी चलचित्र ६२ प्रदर्शन हुँदा विदेशी ८५ को हाराहारीमा प्रदर्शन हुने बोर्डले जनाएको छ। विदेशी चलचित्रको नेपाल प्रदर्शन अन्तिम समयमा टुङ्गो लाग्ने गरेकाले अङ्क तलमाथि हुनसक्ने बोर्डको भनाइ छ।

‘पूर्णबहादुरको सारङ्गी’ बाहेक यस वर्ष घरेलु बजारमा  १० करोड बढीको व्यापार गर्ने चार चलचित्रमा ‘१२ गाउँ’, ‘छक्कापञ्जा ५’ र ‘बोक्सीको घर’ रहेको बक्स अफिसमा तथ्याङ्क छ। यो वर्षको सुरुआती महिना वैशाख १४ मा प्रदर्शन भएको ‘बोक्सीको घर’ले राम्रो व्यापार गर्न सफल भयो।

चलचित्रमा समावेश गीत ‘बुझिनँ मैले, बुझाइदेऊ कसैले’ सफल हुँदा त्यसको प्रभाव चलचित्रमा पर्यो। केकी अधिकारीले अभिनय गरेको र सुलक्षण भारतीले निर्देशन गर्नुभएको चलचित्रलाई प्रदर्शन अगाडि सामान्य रूपमा हेरिएको थियो। यसले अकल्पनीय व्यापार गर्यो।

बक्स अफिसको तथ्याङ्कानुसार यस चलचित्रको घरेलु बजारमा रु १० करोड दुई लाखको व्यापार भएको छ। यो चलचित्र सफलताको श्रेय गीतसङ्गीत र विषयलाई जान्छ। त्यसकारण यो वर्ष कलाकारको ‘स्टारडम’ भन्दा ‘कन्टेन्ट’ चलेको वर्षका रूपमा हेर्न सकिन्छ। यसपछि दसैँमा प्रदर्शन भएको ‘१२ गाउँ’ र ‘छक्का पञ्जा–५’ ले दर्शकको राम्रो साथ पायो।

बक्स अफिसको तथ्याङ्कानुसार ‘१२ गाउँ’ले  १९ करोड ९२ लाख र ‘छक्कापञ्जा–५’ ले रु १५ करोड २० लाखको व्यापार गरेको छ। अन्य चलचित्रको व्यापार बढेता पनि शृङ्खलाबद्ध रूपमा आइरहेको ‘छक्का पञ्जा’को व्यापार भने अघिल्लोको तुलनामा घटेको छ। यसले बजारको आकार बढ्न अवरोध गर्ने बुझाई वितरक तथा निर्देशक प्रचण्डमान श्रेष्ठको छ। उनले नयाँ दर्शकलाई निरन्तर चलचित्र भवनमा आकर्षित गर्न फरक चलचित्र चाहिने बताए।

उनले भने, ‘लूट चलचित्र प्रदर्शन भएपछि नेपाली चलचित्रमा नयाँ दर्शक बढ्नुका साथै चलचित्र बन्ने शैलीमा पनि परिवर्तन आयो, त्यस्तै एउटा चलचित्र अहिले चाहिएको छ, जसले नयाँ उचाइ पाओस् र शैलीमा परिवर्तन गर्दै नयाँ पुस्तालाई दर्शक बनाउन सफल होस्, यस्तो नहुँदासम्म बजारको आकार बढ्नेमा म सहमत छैन, किनकि एक–दुई चलचित्रको सफलताभन्दा पनि समग्र वर्षको समीक्षा गरेर हेर्नुपर्छ।’

दसैँपछि तिहारमा प्रदर्शन भएको ‘पूर्णबहादुरको सारङ्गी’ले चलचित्र क्षेत्रलाई चलायमान बनायो। यो चलचित्रको सफलता पुराना निर्मातासँगै नयाँ निर्माता पनि चलचित्र क्षेत्रमा सक्रिय भएको बुझाई निर्देशक पुर्नेन्दु झाको छ। उनले कथा बलियो भएमा कलाकारले अभिनय गर्न सके दर्शकले मन पराउने विश्वास चलचित्रकर्मीमा बढेको बताए।

‘निर्माताको समस्या नै चलचित्र निर्माणमा बढेको महँगाइ हो, कलाकारलाई दिने रकमसँगै अन्य प्राविधिक पक्षमा खर्च बढी हुने भएकाले निर्माताले आँट गर्न नसकेको मैले सुनेको छु, तर पूर्णबहादुरको सारङ्गीलाई दर्शकले दिनुभएको मायाले अन्य निर्मातालाई अगाडि बढ्न आँट दिएको छ, त्यसकारण पनि आउँदो वर्ष धेरै चलचित्र प्रदर्शन हुनेछन्’, उनले भने।

आजसम्मको चलचित्रले घरेलु बजारमा गरेको व्यापारलाई हेर्दा यो ‘अञ्जिला’ पाँचौँ स्थानमा छ। यसले घरेलु बजारमा रु सात करोड ५० लाख व्यापार गरेको छ। उल्लेखित व्यापारमा निर्धारण गरिएको शुल्क घटाएर वितरकमार्फत चलचित्र निर्माताले रकम पाउने गर्छन्।

गएको होलीलाई लक्षित गर्दै फागुन २९ मा प्रदर्शन भएको चलचित्र ‘अञ्जिला’ नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ। खेलाडीको कथालाई पर्दामा रुचाउनु सुखद् पक्ष रहेको यसका निर्देशक मिलन चाम्सले बताए।

उनले भने, ‘नेपालमा खेलाडीको विषयमा चलचित्र बनाउन व्यावसायिक पक्षले रोकेको पाइएको थियो, व्यापार नभएपछि निर्माताले लगानी गर्दैनन्, तर अञ्जिलाको व्यापारले अन्य खेलाडीको कथालाई पर्दामा ल्याउन चलचित्रकर्मीलाई आँट दिएको छ, आउँदो वर्षमा अन्य खेलाडीको कथालाई पनि पर्दामा हेर्न पाइनेमा म विश्वस्त छु।’

यस वर्ष प्रदर्शन भएको अन्य चलचित्रमा ‘पूजार सार्की’ ले रु सात करोड ३७ लाख, ‘घरज्वाइँ’ले रु पाँच करोड नौ लाख, ‘फर्की फर्की’ले रु चार करोड ८४ लाख, ‘मनसरा’ले चार करोड ७८ लाख र ‘लाज शरणम्’ले  चार करोड ३४ लाखको व्यापार (ग्रस) गरेको तथ्याङ्क ‘बक्स अफिस’मा छ।

वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध

कालीकोट। वर्षाका कारण कर्णाली राजमार्ग अन्तर्गतको सुर्खेत–हुम्ला सडकखण्ड अवरुद्ध भएको छ ।

कालीकोटको रास्कोट नगरपालिका–८ को भात्तडीमा पहिरो गएका कारण सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सान्नी त्रिवेणी गाउँपालिका-३ सिस्नेमा गएको पहिरो प्रहरी, यात्रु तथा स्थानीयको सक्रियतामा पन्छ्याएपछि सञ्चालनमा आएको छ।

रास्कोट नगरपालिका–८ भात्तडीमा गएको पहिरो प्रहरी, स्थानीय र स्काभेटरबाट पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय प्रमुख टेकबहादुर रावतले बताए ।

‘अहिले पहिरो पन्छाउने काम भइरहेको छ’, उनले भने, ‘आज नै सडक सञ्चालनमा आउँछ।’

शान्तिप्रति हाम्रो सेना र सुरक्षा निकायको प्रतिवद्धता छः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र नेपाली जनताको स्वतन्त्रता, संवैधानिक व्यवस्था तथा शान्तिप्रति हाम्रो सेना र सुरक्षा निकायको प्रतिवद्धता रहेको स्पष्ट पारेका छन् ।

राष्ट्रपति पौडेलले अन्समिल मिसन लिवियामा जाने श्री नयाँ भैरवीदल गुल्म सातौं डफ्फाका सकलदर्जाको प्रि–डिप्लोयमेन्ट तालिम समापन समारोहलाई बिहीबार काभ्रेको पाँचखालमा सम्बोधन गर्दै राष्ट्रपति यस्तो बताएका हुन् ।

‘आन्तरिक रुपमा पनि नेपाल र नेपाली जनताको स्वतन्त्रता, संवैधानिक व्यवस्था तथा शान्तिप्रति हाम्रो सेना र सुरक्षा निकायको प्रतिवद्धता रहेको छ भन्ने कुरा म ढुक्कले भन्न चाहन्छु’, राष्ट्रपति पौडेलले भने ।

नेपाली सेनाले लामो समयदेखि संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यमा भाग लिँदै अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपालीको छविलाई उच्च राख्दै आएको पनि उनले बताए ।

राष्ट्रपति पौडेलले नेपाली सेना र सुरक्षा निकायलाई विश्वले ठूलो भरोसा गरेको छ भन्ने कुरा शान्ति सेनामा सबैभन्दा ठूलो हाम्रो उपस्थितिले स्पष्ट पारेको बताए ।

नेपाली सेनाको उच्च अनुशासन, वफादारिता, कार्य दक्षता तथा शान्ति कार्यप्रतिको प्रतिबद्धताको कदरस्वरुप संयुक्त राष्ट्र संघले नेपाली सेनालाई विभिन्न मिसनमा सहभागी गराउन थालेको ६७ वर्ष पुरा भएको स्मरण गर्दै उनले हालसम्म नेपाली सेनाका करिव १ लाख ५८ हजार बढी शान्ति सैनिकले ४४ वटा संयुक्त राष्ट्रसंघका मिसनमा आफ्नो कार्य दक्षता प्रदर्शन गरिसक्नु हाम्रा लागि खुसीको विषय भएको बताए ।

हाल विभिन्न ११ मिसनमा करिव ६ हजार बढी शान्ति सैनिक कार्यरत रही नेपाल शान्ति सैनिक योगदान दिने मुलुकहरू मध्ये पहिलो स्थानमा रहेको तथ्यले गौरवान्वित बनाएको उनको भनाइ थियो ।

‘नेपाली सेनाको सैनिक मात्र होइन नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने राष्ट्रको शान, शान्ति र मानवताको प्रतिक हुनुहुन्छ तपाईंहरू, राष्ट्र संघको मिसन क्षेत्रमा नेपाली सेनाले करिब छ दशकदेखि कायम गर्दै आएको वीरता र शान्ति स्थापनार्थ देखाएको प्रतिवद्धताको इतिहासलाई तपाईहरूले निरन्तरता दिदंै अगाडि बढाउनु हुनेछ र हाम्रो बहादुरी, सेवा र त्यागको परम्परालाई विश्वमै पहिचान गराउनु हुनेछ भन्ने कुरामा म विश्वस्त छु’, राष्ट्रपति पौडेलले भने ।

त्यसैगरी उनीहरूका परिवार, नेपाली सेना, सम्पूर्ण देशवासी तथा संयुक्त राष्ट्र संघले समेत पूर्ण विश्वास राखेको कुरालाई स्मरण गराउँदै राष्ट्रपति विश्व शान्तिको दायित्वलाई गर्वका साथ पुरा गर्न सफलता मिलोस् भन्ने उनले शुभकामना व्यक्त गरे ।

राष्ट्रपति पौडेलले हालको बदलिंदो विश्व परिवेश र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय जगतमा वृद्धि भइरहेको सुरक्षा चुनौतीका सम्बन्धमा त्यस क्षेत्रमा खटीजानेहरु जानकार नै भएको उल्लेख गर्दै अन्समिल मिसन लिवियामा समेत सुरक्षा स्थिति चुनौतीपूर्ण हुन सक्ने हुँदा जटिल अवस्थामा परिचालन हुनुपर्ने यथार्थलाई मनन् गरी मानसिक तथा शारीरिक रुपले तयार नै रहेको कुरामा विश्वास व्यक्त गरे ।

‘विगतमा नेपाली सेनाले विभिन्न मिसनहरूमा प्रभावकारी रुपमा कार्य गर्दै विश्व शान्तिमा उत्कृष्ट योगदान दिएको वास्तविकतालाई स्मरण गरी नेपाल, नेपाली जनता र नेपाली सेनाको छविलाई सदैव उच्च राख्दै सबैले पेशेवर र अब्बल तरिकाले कार्य सम्पादन गर्नु हुन शुभकामना दिन चाहन्छु’, राष्ट्रपति पौडेलले भने ।

त्यसक्रममा राष्ट्रपति पौडेलले मिसनमा सहभागी हुने टोलीले गरेको पूर्व तयारीसम्बन्धी प्रस्तुतीको अवलोकन गरेका थिए शान्ति मिशनसम्बन्धी विभिन्न तालिमबारे राष्ट्रपति पौडेललाई जानकारी गराइएको थियो ।

नेपाल-भारतबीच व्यापार सहजीकरणका लागि वार्ता

काठमाडौँ । नेपाल र भारतबीचको व्यापारलाई थप सहज एवम् सरल बनाउनुका साथै अवैध व्यापार तथा राजस्व चुहावट नियन्त्रणमा केन्द्रित रहेर दुई देशका भन्सार अधिकारीहरू बीच काठमाडौँमा वार्ता सुरु भएको छ ।

वार्तामा दुई देशका भन्सार कार्यालयहरू बीचमा निर्यात व्यापारसँग सम्बन्धित प्रारम्भिक सूचनाहरू अग्रीम रुपमा उपलब्ध गराउने, तेस्रो मुलुकबाट भारतको बाटो हुँदै नेपाल आउने तथा नेपालबाट भारतको बाटो हुँदै तेस्रो मुलुकसम्म निकासी हुने मालवस्तु बोकेका मालबाहक कन्टेनरमा विद्युतीय कार्गो ट्रयाकिङ्क प्रणाली लागू गर्नेलगायत विषय छन् ।

त्यस्तै, आयात-निर्यात हुने मालवस्तुको गुणस्तर परीक्षणका लागि सीमा नाकामा गुणस्तर तथा क्वारेन्टिन जाँच प्रणालीलाई थप सुदृढ गर्नेलगायतका विषयमा छलफल हुने भन्सार विभागका सूचना अधिकारी नारायण प्रसाद रेग्मीले बताए ।

छलफलमा नेपालले लागू गरेको राष्ट्रिय एकद्वार प्रणालीमार्फत विद्युतीय रुपमा जारी हुने उत्पत्तिको प्रमाणपत्रलाई भारतले मान्यता दिनुपर्ने, भैरहवा तथा चाँदनी–दोधारामा निर्माणाधिन एकीकृत जाँच विन्दुलाई लक्षित समयसीमा भित्रै सम्पन्न गर्ने, नेपाली उत्पादनको भारत निर्यातका लागि भारतले लागू गरेको गुणस्तर प्रमाणीकरण कार्यलाई सहज बनाउनुपर्ने लगायतका विषयमा पनि वार्ता हुनेछ ।

यही चैत्र २८ र २९ गते दुई दिनसम्म चल्ने वार्तामा नेपालको वार्ताटोलीको नेतृत्व भन्सार विभागका महानिर्देशक महेश भट्टराईले गरेका छन् भने भारतको तर्फबाट राजस्व इन्टेलिजेन्स निर्देशनालयका महानिर्देशक अभयकुमार श्रीवास्तवले गरेका छन् ।

नेपालको तर्फबाट वार्ता टोलीमा अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु तथा वाली क्वारेन्टिन विभागलगायतका निकायका उच्च अधिकारीहरूको सहभागिता छ ।

यसैगरी भारतीय टोलीमा राजस्व इन्टेलिजेन्स निर्देशनालय लखनउ क्षेत्रीय इकाईका सहायक महानिर्देशक, नेपालस्थित भारतिय दूतावासका प्रथम सचिव, कलकत्ता, पटना, लखनउ भन्सार कार्यालयका प्रमुखहरु लगायतका अधिकारीहरुको सहभागिता छ । 

भागेको बोआ कन्स्ट्रिक्टरप्रति सिड्नी सतर्क

सिड्नी । चाहे त्यो जोडले बग्ने छाल होस्, मानिस खाने गोही होस् वा शिकारी शार्क होस्–अस्ट्रेलियालीहरू पानीको नजिक रहँदा आफ्ना आँखा खुला राख्न बानी परेका छन् ।

अहिले सिड्नीको एक तटीय क्षेत्रका बासिन्दाहरूलाई एउटा भागेको विदेशी सर्पका लागि पनि सावधान रहन भनिएको छ ।

अधिकारीहरूले बिहीबार सिल्भानियाको तटीय क्षेत्रको उपनगर वरिपरि घुम्दै गरेको ‘बोआ कन्स्ट्रिक्टरको अवलोकनबारे सचेत गराइएको’ बताएका छन् ।

“कृपया जनावरको नजिक नजानुहोस्”, न्यु साउथ वेल्स (एनएसडब्लु) को प्राथमिक उद्योग विभागले एक विज्ञप्तिमा भनेको छ, “यदि सुरक्षित भएमा, एउटा फोटो लिनुहोस् र हामीलाई सम्पर्क गर्नुहोस् ताकि हामी सर्पको पहिचान गर्न र पक्रन प्रयास गर्न सकौँ ।”

सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा ठूलो आकारको जीव एक समुद्री किनाराको छेउको पैदल मार्गमा बिस्तारै घस्रिँदै गरेको देखाइएको छ ।

मध्य र दक्षिण अमेरिकामा पाइने बोआ कन्स्ट्रिक्टर विश्वका सबैभन्दा ठूला सर्प प्रजातिहरू मध्ये एक हो ।
तिनीहरूको औसत लम्बाइ लगभग तीन मिटर (१० फिट) हुन्छ र तिनीहरूले आफ्नो शिकारलाई कसरी निचोरेर मार्छन् भन्ने तरिकाबाट नामकरण गरिएको हो ।

धेरै सर्प प्रेमीले बोआ कन्स्ट्रिक्टरलाई अनौठो घरपालुवा जनावरका रूपमा राख्न चाहन्छन् ।

“बोआ कन्स्ट्रिक्टर अस्ट्रेलियाको स्थानीय प्रजाति होइन र यो एनएसडब्लु र अस्ट्रेलियाभर विस्तृत वातावरणमा जनसङ्ख्या स्थापना गर्ने उच्च जोखिममा छ”, एनएसडब्लु प्राथमिक उद्योग विभागले भनेको छ, “यो सर्पलाई संसारभरि घरपालुवा जनावरको व्यापारका लागि कानूनी र अवैध रूपमा पालिएको र राखिएको छ ।”

अमेरिकालाई अन्य करहरूको समीक्षा गर्न जापानको आग्रह

टोकियो। जापान सरकारले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ भन्सार शुल्कमा गरिएको रोकलाई ‘सकारात्मक रूपमा’ लिएको तर अझै पनि वासिङ्टनले अन्य भन्सार शुल्कहरू पुनर्विचार गरोस् भनी ‘दृढतापूर्वक’ माग गरेको बताएको छ ।

“हामीले पछिल्लो अमेरिकी घोषणालाई सकारात्मक रूपमा लिएका छौँ”, सरकारका मुख्य प्रवक्ता योशिमासा हायाशीले नियमित ब्रिफिङमा भने, “हामीले अमेरिकालाई आपसी भन्सार शुल्क, स्टिल र एलुमिनियममा लगाइएको भन्सार शुल्क र सवारी साधन तथा अटो पार्ट्समा लगाइएको भन्सार शुल्कका उपायहरूको पुनरावलोकन गर्न दृढतापूर्वक माग गरिरहेका छौँ ।”

गत हप्ता धेरै देशका लागि व्यापक ‘पारस्परिक’ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणामा विश्वको चौथो नम्बरको अर्थतन्त्र जापानबाट आयातमा २४ प्रतिशत कर लगाउने समावेश थियो ।

ट्रम्पले बुधबार यी भन्सार शुल्कहरूमा ९० दिनको रोक घोषणा गरेका छन् तर अन्य भन्सार शुल्कहरू अझै कायम छन् । यसमा संयुक्त राज्य अमेरिकामा आउने कारहरूमा २५ प्रतिशतको भन्सार शुल्क समावेश छ ।

अमेरिकाको नजिकको मित्र जापानमा अटो क्षेत्र अर्थतन्त्रको एक प्रमुख स्तम्भ हो । यो क्षेत्रले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लगभग ५६ लाख मानिसलाई रोजगारी दिएको छ ।

यी र अन्य जापानी कम्पनीहरू पनि अन्य ठाउँमा उत्पादन स्थलहरूमा धेरै निर्भर छन् । यसमा भियतनाम जस्ता देशहरूमा पनि उच्च भन्सार शुल्क लगाइएको छ । 

बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । वर्षाका कारण दाउन्नेमा बाटो हिलो र चिप्लो भएकाले सवारीआवतजावत गर्न कठिनाइ भएपछि राजमार्ग अवरुद्ध भएको हो ।

विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा वर्षाका कारण सडक अवरुद्ध भएको नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए । सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन र यात्रु बीच सडकमा अलपत्र परेका छन् ।

दाउन्ने क्षेत्रमा बुधबारदेखि आगामी चैत ३१ गतेसम्मका लागि दिनको ११ः०० देखि ३ः०० बजेसम्म आवागमन बन्द गरेर मर्मत सुरु गरिएको थियो ।

त्यसैगरी, आगामी वैशाख १ गतेदेखि १५ गतेसम्म राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म आवागमन रोकेर विस्तार गरिने तयारी गरिएको छ ।

जनताले महसुस गर्ने गरि काम गरौं, प्रचारबाजीका लागि होइनः उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले प्रचारबाजी मात्र नभई जनताले महसुस गर्नेगरी विकासका कामहरु गर्नुपर्ने बताएका छन् ।

अधिकार सम्पन्न बागमती एकीकृत सभ्यताको ३१औं वार्षिकोत्सव समारोहलाई बिहीबार सम्बोधन गर्दै मन्त्री सिंहले प्रचारबाजीको लागि मात्र नभएर जनताले महसुस गर्नेगरी नै काम गरेर देखाउने समय आइसकेको बताए ।

‘अब हामीले खाली प्रचारबाजीको लागि यो गर्यौं, यो गर्यौं भन्ने होइन कि जनताले महसुस गर्नेगरी नै काम गरेर देखाउने समय आइसकेको छ। त्यो अनुसार हामीले काम अगाडि बढाउनुपर्छ। जे जति योजनाहरु हामीले अहिले सम्पन्न गरेको छौं । त्यसको राम्रोसँग आम जनतालाई जानकारी गराउने र बाँकी भएको कामहरुलाई अगाडि बढाउँदा जनतालाई सुसूचीत गराउनुपर्छ।’

त्यस्तै उपप्रधानमन्त्री सिंहले बाग्मती नदी किनारमा रहेका मन्दिरहरुको पुनःनिर्माण र जिर्णाेद्वार गरिएको पनि उनले बताए । धेरै सम्पदाहरु रहेको बाग्मती नदी किनारमा हेरिटेज वाकको चर्चा भएपनि काम प्रभावकारी हुन नसकेकोप्रति भने उपप्रधानमन्त्री सिंहले असन्तुष्टि व्यक्त गरे ।

‘हेरिटेज वाकलाई कार्यान्वयन गर्नका लागि कहाँ कहाँ कमजोरी भएका छन्, काम भइरहेको तर सदुपयोग हुन सकेको छैन । हेरिटेज वाक शीर्षकमा पढ्छौं तर आम नेपाली जनतालाई अत्तोपत्तो छैन ,’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘कुनै पनि काम गर्दा स्थानीयहरु, स्थानीय पालिका,वडालाई पनि साथैमा लिएर, उहाँहरुलाई चित्त बुझाएर हामीले काम गर्दा राम्रो हुन्छ भन्ने पाठ सिक्नुपर्छ ।’

हेरिटेज वाकदेखि कोरिडोरलाई व्यवस्थित गर्ने र वर्षाको समयमा देखिएको बाढीको नियन्त्रण गर्ने, नदी सफा गर्नेलगायतका काम तत्काल गर्नुपर्नेमा पनि सिंहले जोड दिए ।

त्यस्तै उनले नदीहरुको करिडोर बनाउने काम प्रभावकारी रुपमा अगाडि बढाउने पनि बताए । काठमाडौं उपत्यकाका नदिहरु फोहोर हुँदा दुर्गन्ध फैलिएको भन्दै उनले अब ‘आउने बजेटमा बागमती, विष्णुमतीलगायतका सबै नदीमा दुर्गन्ध हटाउन र स्वच्छ बनाउन आवश्यक योजना बनाएर अघि बढ्ने पनि बताए ।

५० शय्याको बेनी अस्पताल भवन निर्माणको अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको बेनीस्थित प्रदेश अस्पतालको ५० शय्या क्षमताको भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।

एक १८ करोड ८४ लाख आठ हजार ८९ को लागतमा निर्माणाधीन भवनको ९५ प्रतिशत काम सम्पन्न भएको छ ।

भवनको रङरोगनको काम पनि अन्तिम चरणमा पुगेको छ । भवनदेखि बाहिर पाँचसय मिटर रिङरोड कालोपत्र काम मात्र बाँकी छ ।

चार हजार नौ सय ६३ वर्गमिटर क्षेत्रफलमा निर्माण गरिएको चारतले तीन वटा भवनको भित्री भागमा झ्यालढोका र टायल राख्ने काम धमाधम भइरहेको छ ।

विसं २०७२ मा सरकारले बेनी अस्पताललाई १५ बाट ५० शय्यामा स्तरोन्नति गर्ने घोषणा गरेको हो ।

‘सडक आन्दोलन व्यवस्था फेर्न होइन’

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी प्रतिनिधिसभा सदस्य हुन् । ‘नागरिक उन्मुक्ति पार्टी’ का केन्द्रीय सदस्य उनी कैलाली निर्वाचन क्षेत्र– २ बाट निर्वाचित भएका हुन् । विसं २०६५ देखि राजनीति सुरु गरेका राज्यमन्त्री चौधरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य झपडबहादुर रावलसँग पाँच हजार सात सय ४३ मतान्तरका साथ विजयी भएका हुन् । राज्यमन्त्री चौधरीसँग राससका समाचारदाता सुशील दर्नालले गरेको कुराकानीको सम्पादित अंश । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनको सवाल   

सङ्घीय सरकारको काम भनेको विकाससँगै कानुन बनाउने पनि हो । विकासका काम सङ्घीय सरकारले गरेर मात्रै हुँदैन । पर्यटनको सवालमा कतिपय क्षेत्रमा चाहेर पनि काम गर्न सकिएको छैन । रारा राष्ट्रिय निकुञ्जमा पर्यटकका निम्ति स्तरीय होटल छैनन् । त्यहाँ सरकारी आरक्षणको जग्गा मात्रै छ । राराताल गएका पर्यटकलाई व्यवस्थित बासको व्यवजस्था गर्न सकिएको छैन । निकुञ्जका विषयमा पर्यटन मन्त्रालले मात्रैभन्दा पनि वन मन्त्रालयको पनि भूमिका हुन्छ । समृद्ध नेपाल निर्माणका  लागि सरकारले जलविद्युत्, कृषि र पर्यटनमा लगानी बढाउने गरी काम गरिरहेको  छ ।  सरकार बजेट निर्माणको पूर्वसन्ध्यामा छ । संस्कृति, पर्यटन तथा नागरिक  उड्डयन क्षेत्रको विकासका निम्ति लड्ने एउटा कुरा भयो । तर जनताले सङ्घीय सांसद भनेको विकास गर्न संसद्मा गएका हुन् भनेर बुझिदिनुहुँदैन । हाम्रो मुख्य काम कानुन निर्माण नै हो । 

राज्यमन्त्री हुँदैगर्दा कर्मचारीप्रतिको बुझाइ

टीकापुर विमानस्थल २८ वर्षपछि भर्खरै सञ्चालनमा आएको छ । सञ्चालनमा ल्याउनका लागि मैले राज्यमन्त्रीको हैसियतमा धेरै अनुभव लिएको छु । म आफैँ राज्यमन्त्रीको जिम्मेवारी छु । राज्यमन्त्रीको हैसियतमा कर्मचारीलाई निर्देशन दिए पनि कार्यान्वयन हुँदैन । एउटा सामान्य कामका लागि पनि कर्मचारीले अनावश्यक घुमाइरहेका हुन्छन । कर्मचारीमा प्रणालीको विकास हुन सकेको छैन । जनताको काम छिटो गर्नेभन्दा पनि अनेक बहानामा आलटाल गर्ने प्रवृत्ति कर्मचारीमा छ । त्यसलाई हटाउन मैले सक्दो प्रयास गरिरहेको छु । जनतालाई छिटोछरितो सेवा दिने कुरा सुशासनसँग जोडिएको विषय हो । अहिलेको सरकारले सुशासनको निम्ति सरकारी सेवालाई द्रूत बनाउँदै लगेको छ । भ्रष्टाचारीलाई कारबाही पनि गर्दै आएको छ ।   

व्यवस्था परिवर्तनबारे उठेका सवाल

विसं २०५२ देखि २०६२ सालसम्म विकासको काम खासै हुन सकेन । तर २०६२÷०६३ सँगै देशको व्यवस्था परिवर्तन भएपछि जनताले शिक्षा, स्वास्थ्य, रोजगारी, भौतिक विकासको आशा गरेका थिए । जुन आशा पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन । देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आए पनि जनताको अवस्था परिवर्तन नभएका कारण जनतामा दलप्रति एक खालको वितृष्ण पैदा भएको छ । गणतन्त्रपछि बनेका सरकारले जनताको चाहनाअनुसार काम गर्न नसकेको पनि देखिन्छ । त्यो जनताको निरासा र वितृष्ण पछिल्लो समयमा सडकमा पोखिएको छ । जनताले राजसंस्था ल्याउनका लागि सडकमा आएकोभन्दा पनि गणतन्त्रको अभ्यास गरिरहेका राजनीतिक दलप्रतिको वितृष्णा मात्रै हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रपछि भएका प्रगतिबारे राजनीतिक दलले जनतालाई विस्तृत रुपमा बुझाउन जरुरी छ । जनता सडकमा आउनु भनेको नेता सुध्रिने मौका पनि हो ।  अब दलहरु सुध्रिन पनि जरुरी छ । सरकारले देशमा रोजगारी सिर्जनाको निम्ति उद्योग तथा कलकारखाना सञ्चालन गर्न नीति बनाएर काम गरिरहेको छ ।

संविधान कार्यान्वयन र संशोधन 

संविधान अझै पनि पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन । संविधानमा भएका अधिकार मात्रै कार्यान्वयन गरेको खण्डमा देशमा देखिएको वर्तमान अवस्था आउने थिएन । संविधानको पूर्ण कार्यान्वयन भएको खण्डमा जनताहरु निरास भएर राजतन्त्रको नाममा सडकमा आउने अवस्था आउने थिएनजस्तो लाग्छ । त्यसैले साना ठूला सबै दल आपसमा मिलेर संविधान कार्यान्वयनको बाटोमा लाग्नुपर्ने अहिलेको आवश्यकता हो । फेरि संविधानको कार्यान्वयन गर्ने सरकारले मात्रै होइन । कार्यान्वयनमा आमसञ्चार माध्यम, नागरिक समाज, मानवअधिकारकर्मीलगायत सबै जनताको उत्तिकै भूमिका हुन्छ । संविधान संशोधन गर्नुपर्छ भन्ने हाम्रो ‘नागरिक उन्मुक्ति पार्टी’ को एजेण्डा पनि हो । संविधान संशोधन गरेर सीमान्तकृत समुदायको अधिकार  सुनिश्चित गर्नुपर्ने छ । त्यसैगरी सङ्घीयताको विषयमा पनि संविधान संशोधन गर्नुपर्छ ।  

थारु समुदायको सम्बोधन गर्नुपर्ने मुद्दा

थारु समुदायको हकमा संवैधानिक व्यवस्थाको कार्यान्वयन हुनुपर्छ । थारु समुदायको जनसङ्ख्याको आधारमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामा  समान सहभागिता हुनुपर्ने हाम्रो माग हो । संवैधानिक आयोगमा थारु समुदायको सहभागिताको सुनिश्चितता गर्नुपर्छ । अदालतले निजामतीमा थारु समुदायमा कोटा दिनुपर्ने भनेको छ । तर लोकसेवा आयोगले विज्ञापनको सूचना निकाल्दा थारु समुदायको लागि आरक्षणको व्यवस्था गरेको छैन । अहिले पनि थारु समुदायलाई हेर्ने सङ्कीर्ण  सोच छ । हामीले थारु १५ प्रतिशत र रानाथारु तीन प्रतिशतलाई जोडेर १८ प्रतिशतलाई आरक्षणको व्यवस्था गर्नुपर्ने माग गर्दै आएको हो । तर पूरा भएको छैन । 

सङ्घीयता सुदृढीकरणको सुझाव

सङ्घीयतालाई अझै सुदृढ बनाउन स्थानीय र प्रदेशलाई अधिकार दिनुपर्छ । प्रदेश र स्थानीय तहको लागि आवश्यक कानुन समयमै बनाउनुपर्छ । हामी सङ्घीयता आएपछि पनि पुरानै सोच विचारमा गुज्रिरहेका छौँ कि जस्तो लाग्छ । अहिले प्रदेश र स्थानीय सरकार ‘पेन्डुलम’जस्तो भएको छ । प्रदेश र स्थानीय सरकार दलको कार्यकर्ता व्यवस्थापन गर्ने थलोजस्तै भएको छ । यदी प्रदेश र स्थानीय सरकारलाई पर्याप्त अधिकार दिने हो भने सङ्घीय सरकारले यति धेरै बोझ बोक्नुपर्दैन थियो । यदी सङ्घीयता बलियो बनाउने हो भने तल्लो  तहको सरकारलाई बलियो बनाउनै पर्छ । 

सङ्घीय संसद्, प्रतिनिधिसभाको अनुभव 

मेरो पाँच वर्षअघिको योजना लम्कीचुहा नगरपालिकाको प्रमुख भन्ने योजना थियो । तर त्यो पूरा भएन । मेरो अनुभवमा पछिल्लो चरणको सङ्घीय संसद्, प्रतिनिधिसभामा नयाँ पुस्ताको सङ्ख्या बढेको छ । ठूला दलहरु नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट पनि युवा पुस्ता सशक्त रुपमा संसद्मा आउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट पनि युवाको संसद्मा उत्तिकै सहभागिता छ । युवा पुस्ताले सङ्घीय संसद्प्रति चासो जगाउनुभएको छ । युवा सांसदले सदनमा जनताका सवाललाई प्राथमिकताका साथ उठाउनुभएको छ । त्यसले पनि संसद्प्रति जनताको चासो बढेको देखिन्छ ।  संसद्मा जनताको सवाल पर्याप्त रुपमा उठेका छन् । 

सरकारले पनि संसद्मा उठेका विषयलाई कार्यान्वयन गर्दै लगेको छ । यद्यपि कानुन निर्माणको काम अपेक्षाकृत हुन नसकेको सत्य हो । यसको मतलब कानुन नै नबनेको भन्ने होइन, तर तीव्र गतिमा हुन सकेको छैन । जुन रफ्तारमा कानुन बन्नुपर्ने हो, त्यो हुन सकेको छैन । अहिले देश सङ्घीयतामा आएको छ । तर हामीले २०१८ साल, २०३२ सालका कानुनअनुसार काम गरिरहेका छौँ । विकासका विषयमा देश सङ्घीयतामा आएपछि अहिले गाउँ÷गाउँमा, टोल÷टोलमा बाटो पुगेको छ । तर शिक्षा क्षेत्रमा प्रगति हुन सकेको छैन । मैले संसद्मा पटकपटक कृषिमा जोड दिँदै आएको हो । जति बेला खेती गर्ने समय आउँछ, त्यतिनै खेर किसानलाई सिँचाइ, मल र बीउ अभाव हुन्छ । यस्तो अवस्थाबाट मुक्त हुनेतर्फ लाग्नु राष्ट्रिय आवश्यकता हो, त्यस निम्ति सदन र सरकारमा भएका सबैबीच सहकार्य हुनुपर्छ ।

सुनको मूल्य तोलाको १ लाख ८१ हजार १०० रुपैयाँ

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार सुन तोलामा ५ हजार ७०० रुपैयाँले बढेर ऐतिहासिक रेकर्ड कायम गरेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ५ हजार ७०० रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ८१ हजार १०० रुपैयाँ कायम भएको हो । बधुबार २ हजार रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ७५ हजार ४०० रुपैयाँ कायम भएको थियो ।

चाँदीको मूल्य पनि वृद्धि भएको छ। आज चाँदी तोलाको १९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

नेपालद्वारा कुवेत ६ विकेटले पराजित

काठमाडौं । चारदेशीय टि २० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले दोस्रो जित दर्ता गरेको छ । बिहीबार हङकङको मङककस्थित मिसन रोड ग्राउन्डमा भएको खेलमा नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले १८५ रन बनाएको थियो । १८६ रनको विजय लक्ष्य पछाएको नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ८१ रनको पारी खेले। उनले ५० बलमा ६ चौका र ६ छक्का प्रहार गरे ।

नेपालका लागि ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलको शतकीय साझेदारीले नेपाललाई जित नजिक पुर्याए । यसअघि पहिलो इनिङमा ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८५ रन बनाएको थियो ।

नेपालले पहिलो खेलमा कतारलाई ८ विकेटले हराएको थियो। तेस्रो खेल १२ अप्रिलमा नेपालले घरेलु टिम हङकङसँग खेल्नेछ ।

काठमाडौंबाट रामेछाप गइरहेको बस रोशीमा दुर्घटना, ११ जना घाइते

काभ्रे । काठमाडौंबाट रामेछापको बाम्तीभण्डारतर्फ गइरहेको बस बीपी राजमार्गमा दुर्घटना भएको छ ।

काभ्रे रोशी गाउँपालिका–९ दाउने मोडमा बिहीबार बिहान काठमाडौंबाट रामेछापतर्फ जाँदै गरेको प्रदेश ३–०१– ००६ ख १३३९ नम्बरको बस दुर्घटना भएको प्रहरी निरीक्षक कृष गिरीले जानकारी दिए ।

उनका अनुसार बस दुर्घटनामा ११ जना घाइते भएका छन् । उनीमध्ये ४ जनालाई मेथिनकोट अस्पताल र ७ जनालाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र मंगलटारमा पठाइएको गिरीले बताए ।

शिक्षकहरुले आन्दोलनलाई थप सशक्त बनाउने

काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई थप सशक्त बनाउने भएको छ । सरकारले वार्तामा बोलाएपनि महासंघले आन्दोलनलाई थप सशक्त बनाउने भएको हो ।

महासंघले आज बिहान ११ बजे माइतीघर मण्डलामा उपस्थित भई आन्दोलनलाई थप उचाइमा पुर्याउन शिक्षकहरुलाई आगह गरेको छ । सरकारले महासंघलाई वार्तामा बोलाए वार्तामा बस्ने समय निश्चित भएको छैन ।

महासंघले भनेको छ, ‘सत्ता सञ्चालकहरु पेसागत आन्दोलनलाई बोझ सम्झन्छन् । निषेध गर्न खोज्छन् । कुनै तह र तप्काले आफ्ना माग नउठाउन् र आफ्नो सत्ता बिना बाधा चलिरहोस्, सत्ताको सुकोमल विछ्यौनामा चैनको निन्द्रा सुतिरहन पाइयोस् भन्ने चाहना राख्छन् । हामी त्यही सोच र व्यबहार विरुद्ध लडिरहेका छौं । कुनै प्रायोजित हल्ला र षड्यन्त्रलाई विश्वास नगरी आन्दोलनको मोर्चामा यथावत् जुटिरहन हामी सबै आन्दोलनकारी शिक्षक–कर्मचारी साथीलाई आग्रह गर्दछौं ।’

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै चैत २० देखि देशभरका शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।

डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु, सात जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको चट्याङ लागेर गए राति सायल गाउँपालिका–६ दल्लेखमा एक महिलाको मृत्यु भएको र सात जना घाइते भएका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार स्थानीय लहरी नागरीको घरमा चट्याङ पर्दा उहाँकी श्रीमती ३३ वर्षीया कमला नागरीको मृत्यु भएको हो ।

मृतक नागरीकी १० वर्षकी छोरी तारा, ८ वर्षका छोरा अविषेक, ६ वर्षका छोरा अवि, तीनमहिने छोरा शङ्कर नागरी घाइते भएका हुन् ।

यसैगरी, सोही स्थानकी ४० वर्षीया तारा नागरी, ८० वर्षीया काली दमाईं र भीम नागरीकी ६ वर्षीया छोरी खुसी नागरी घाइते भएकी प्रहरी उपरीक्षक शर्माले बताए ।

एनएसएलमा पोखरा र धनगढीबीचको खेल बराबरी

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत बुधबार भएको पोखरा थन्डर्स एफसी र धनगढी एफसीबीचको खेल बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेल गोलरहित बराबरीमा टुङ्गिएको हो ।

एनएसएलमा तीन खेल खेलेकोे धनगढीको यो लगातार दोस्रो बराबरी हो । यसअघि धनगढीको ललितपुर सिटी एफसीसँगकोे खेल पनि गोलरहित बराबरी खेलेको खेलेको थियो । धनगढीले आफ्नो पहिलो खेलमा बुटवल लुम्बिनी एफसीलाई ४–१ गोल अन्तरले हराएको थियो ।

जारी एनएसएलमा चार खेल खेलेको पोखरा यसअघि दुई खेलमा हार बेहोर्दा एक खेल भने जितेको थियो । यससँगै धनगढी तीन खेलबाट ५ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । चार खेल खेलेको पोखरा भने ४ अंकसहित तालिकाको पाँचौं स्थानमा छ ।

यातायात कार्यालयमा तीन करोड लेनदेन प्रकरणः अख्तियारद्वारा चारजना पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय बाँके चारजनालाई पक्राउ गरेको छ ।

सवारी चालक अनुमतिपत्र(लाइसेन्स) वितरणमा करोडौँ लेनदेन गरेको सूचनाका आधारमा आयोगले कर्मचारी र ड्राइभिङ सेन्टरका सञ्चालकलाई पक्राउ गरेको हो ।

आयोगको टोलीले यातायात व्यवस्था कार्यालय नेपालगन्जमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुर, सहायक कम्प्युटर अपरेटर (ज्यालादारी) मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्ज, बाँकेका नायब सुब्बा मुकुन्दराज केसी र मामा भान्जा मोटर ड्राइभिङ सेन्टर नेपालगन्जका प्रोप्राइटर शरदकुमार गोराथोकीलाई आयोगले बुधबार पक्राउ गरेको हो ।

कर्मचारीहरूले नक्कली सवारीचालक अनुमतिपत्र वितरण गरी मासिक ३ करोडभन्दा बढी रकम कलेक्सन गर्ने गरेको भन्नेसमेतको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको आयोगले जनाएको छ ।

म भागेको छैन, यो घटनामा जोगिएको मात्रै हुँः दुर्गा प्रसाईं(भिडियो)

काठमाडौँ । प्रहरीको खोजीमा रहेका राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंले आफू कतै नभागेको बताएका छन् ।

बुधबार सामाजिक संजालमार्फत भिडियो सन्देश जारी गर्दै प्रसाईंले मानवअधिकारवादीको रोहवरमा २४ घण्टामा उपस्थित हुने बताएका हुन् । उनले प्रहरी प्रशासनलाई नखोज्न पनि अनुरोध गरेका छन् ।

उनले भनेका छन्, ‘कहीँ इन्डिया भाग्यो भन्या छ । कहीँ कता भाग्यो भन्या छ । म कतै भागेको छैन ।म नेपालमै छु र कुनै ठाउँमा छु । अघिल्लो दुईवटा घटनामा भोगेको थिइनँ । यो घटनामा जोगिएको मात्रै हुँ ।’

प्रसाईंले आफू रहे भने यो अभियान र जनविद्रोह सफल हुने तर नरहे यो जनविद्रोह दबाएर जाने बताएका छन् ।

उनले आफूले नेपाल र नेपालीलाई बचाउन चाहेको उल्लेख गरे । उनले चैत १५ गते तीनकुनेमा भएको घटनामा ज्यान गुमाएका सविन महर्जन र सुरेश सजकको परिवारलाई पाँच–पाँच लाख दिने घोषणा समेत गरेका छन् ।

युक्रेनमा १ करोड ३० लाख मानिसलाई तत्काल मानवीय सहायताको आवश्यकता

न्युयोर्क । युक्रेनमा एक करोड ३० लाख मानिसलाई तत्काल मानवीय सहायताको आवश्यकता रहेको मानवतावादी मामिलाका लागि राष्ट्रसङ्घीय उपमहासचिव टम फ्लेचरले बताएक छन्।

युक्रेनीहरुको अवस्थाबारे सुरक्षा परिषद्लाई जानकारी दिँदै संयुक्त राष्ट्रसङ्घका राहत प्रमुखले अन्तर्राष्ट्रिय समुदायलाई सहयोग र समर्थन गर्न आह्वान गरे । उनले द्वन्द्वरत पक्षले अन्तर्राष्ट्रिय कानूनअनुसार नागरिकको रक्षा गर्नु पर्ने विषयमा जोड दिए ।

उनका अनुसार रूस–युक्रेन युद्धका कारण लगभग ३७ लाख युक्रेनी विस्थापित भएका छन् भने सात लाख हाल शरणार्थीका रूपमा बाँचिरहेका छन् । यसै गरी रूसले कब्जा गरेका डोनेट्स्क, खेरसन, लुहान्स्क र जापोरिझ्जियाका अनुमानित १५ लाख नागरिकसम्म पुग्न असमर्थ रहेको मानवीय सहायताकर्मीहरूले बताएका छन् ।

बढ्दो आवश्यकताका बावजुद युक्रेनमा दुई अर्ब ६० करोड अरब डलर राष्ट्रसङ्घीय नेतृत्वको मानवीय प्रतिक्रिया योजनाले आवश्यक कोषको १७ प्रतिशत मात्र प्राप्त गरेको जनाइएको छ ।

रूसी राजदूत भासिली नेबेन्जियाले युक्रेनी मिडियाले आफ्नो देशलाई जानाजानी शान्ति प्रयासलाई कमजोर पार्ने देशके रूपमा चित्रण गरिरहेको बताएका छन् ।

यसैबीच संयुक्त राष्ट्रसङ्घका लागि युक्रेनकी स्थायी प्रतिनिधि क्रिस्टिना हायोभिशिनले आफ्नो देशमा भएको आक्रामक कार्यका लागि रूस जवाफदेही बन्नुपर्ने बताएका छन् । उनले युद्ध अन्त्य गर्न छलफल मात्र नभए वास्तविक दबाब दिन आवाश्यक रहेकोसमेत बताए ।

हायोभिशिनले रूसले तत्काल ३० दिनको अन्तरिम युद्धविरामका लागि अमेरिकी प्रस्तावको जवाफ दिई युक्रेन विरुद्धको आक्रमक युद्ध समाप्त गर्नुपर्ने बताए ।

संयुक्त राज्य अमेरिकाको प्रतिनिधित्व गर्दै कार्यवाहक प्रतिनिधि डोरोथी सियाले आफ्नो देश न्यायपूर्ण र स्थायी शान्ति प्राप्त गर्न प्रतिबद्ध रहेको बताए । उनले रूस र युक्रेनसँगको द्विपक्षीय संलग्नतामा अमेरिकाले पूर्ण युद्धविरामको प्रस्ताव गरेको उल्लेख गरे ।

शान्ति कायम गर्नका लागि युक्रेन र रूसले पहिले नै गरिसकेका युद्धविराम प्रतिबद्धताहरू पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने बताउदै उनले पूर्ण रूपमा कार्यान्वयन गरियो भने जीवन रक्षा र जीविकोपार्जनमा सुधार हुने बताए । 

नेपाली विद्यार्थीले आठ महिनामा विदेश अध्ययन गर्न जाँदा लगे ८९ अर्ब

काठमाडौं । आर्थिक वर्षको आठ महिनामा नेपालबाट विदेश अध्ययन गर्न जाने विद्यार्थीले ८९ अर्ब रुपैयाँ लगेको छन् ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार साउनदेखि फागुन मसान्तसम्म ८८ अर्ब ९८ करोड रुपैयाँ विद्यार्थीले विदेश लगेका छन् ।

यस अवधिमा मुलुकको कुल भ्रमण व्यय १ खर्ब ४८ अर्ब रुपैयाँ छ । यसमध्ये शिक्षामा ८९ अर्ब विदेशिएको हो ।

चालु खाता १ खर्ब ८० अर्बले बचतमा

काठमाडौं । नेपाल राष्ट्र बैंककले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । बैंकले बुधबार देशको वर्तमान आर्थिक स्थिति सार्वजनिक गरेको हो ।

आर्थिक वर्ष २०८१/८२ को ८ महिनाको तथ्यांकको आधारमा वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ३.७५ प्रतिशत रहेको छ ।

त्यस्तै आयात ११. २ प्रतिशतले र निर्यात ५७.२ प्रतिशतले बढेको छ । नेपाल सरकारको खर्च ८३९ अर्ब ३६ करोड र राजस्व परिचालन ७२० अर्ब ३५ करोड रहेको केन्द्रीय बैंकले जनाएको छ । चालु आर्थिक वर्षको आठ महिनासम्ममा विदेशी विनिमय सञ्चिति २४ खर्ब ९ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्म २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेको थियो । यो अवधिमा कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले बढेको छ । सञ्चिति अमेरिकी डलरमा असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा फागुन मसान्तमा १३.१ प्रतिशतले बढेर १७ अर्ब २७ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा फागुन मसान्तमा १५.२ प्रतिशतले बढेर २१ खर्ब ३० अर्ब ३१ करोड पुगेको छ ।