`

विद्यालय शिक्षा विधेयक : उपसमितिको प्रतिवेदन समितिमा पेश

Nepal One HD २ भदौ २०८२ १६:३०
राजनीति

काठमाडौं । विद्यालय शिक्षा विधेयकको प्रतिवेदन संसदीय समितिमा पेश भएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सचिव दशरथ धमालाले सोमबारको बैठकमा पेश गरेका हुन् ।

‘समितिले दिएको निर्देशन अनुसार प्रतिवेदन तयार पारेका छौँ,’ समिति सचिव दशरथ धमलाले भने, ‘दोहोरिएका विषय हटाइएको छ । भाषालाई मिलाउने काम भएको छ ।’

शिक्षा मन्त्रालय, कानुन मन्त्रालय र समिति सचिवालय बसेर प्रतिवेदन लेखेको हो ।

निजी विद्यालयले पूर्ण छात्रवृत्तिमा आवास र पोशाक दिन नसकिने भनिरहेको छ । तर समितिका सदस्यहरूले पूर्ण छात्रवृत्तिमा आवास र पोशाक पनि हुनुपर्ने धारणा रखिरहेका छन् ।

छविलाल विश्वकर्मा नेतृत्वको उपसमितिले तयार पारेको प्रतिवेदनमा पूर्ण छात्रवृत्ति भन्नाले शिक्षण शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक तथा शिक्षा सामग्री, पोशाक, यातायात, आवासीय सुविधा (विद्यालयमा उपलब्ध भएमा) लगायत विद्यालयले लिने शुल्क तथा उपलब्ध गराउने सुविधा भनिएको छ ।

गत २२ साउनमा बसेको बैठकमा यसबाट आवास र पोशाक झिक्नुपर्ने प्रस्ताव राखिएको थियो । तर सदस्यहरूले नमानेपछि प्रस्ताव पारित हुन सकेको थिएन ।

यही विषयलाई लिएर निजी विद्यालय सञ्चालकहरूले चरणबद्ध आन्दोलन गरिरहेका थिए ।

समितिका सचिवले पेश गरेको प्रतिवेदन समितिका सदस्यलाई पनि वितरण गरिएको छ । यस अघि १६३ दफा रहेकोमा अब १७४ वटा दफा भएका छन् ।

यस अघिको विधेयकमा १४ वटा दफा थपिएका, ३ वटा दफा हटाइएका छन् भने ९८ वटा दफा केहि न केहि हिसावले संशोधन भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *