`

आठ महिनामा भित्रियो साढे १० खर्ब रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्षको फागुन महिनामा डेढ खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । आर्थिक वर्षको आठ महिनामा साढे १० खर्ब भन्दाबढी रेमिट्यान्स आउदा फागुन मात्रै डेढ खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको हो ।

नेपाल राष्ट्र बैंकले बुधबार प्रकाशित गरेको वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनमा चालु आर्थिक वर्षमा रेमिट्यान्स ९.४ प्रतिशतले बढेको उल्लेख छ ।

फागुन मसान्तसम्म रेमिट्यान्स १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.९ प्रतिशतले वृद्धि भई ७ अर्ब ७४ करोड पुगेको छ । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर हुँदा डलरको तुलनामा नेपाली मुद्रामा रेमिट्यान्सको वृद्धिदर बढी देखिएको हो ।

माघ मसान्तमा ९ खर्ब ५८ करोड रहेको रेमिट्यान्स फागुनमा मात्रै १ खर्ब ५१ अर्ब ५९ करोड रुपैयाँले बढेको हो । यस्तै चालु आर्थिक वर्षको फागुनसम्म खुद द्वितीय आय (खुद ट्रान्सफर) ११ खर्ब ४८ अर्ब १२ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १० खर्ब ४१ अर्ब ९९ करोड रहेको थियो । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या यस अवधिमा उल्लेख्य बढेको छ । गत आर्थिक वर्षको फागुनसम्म वैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिने नेपाली २ लाख ८५ हजार ३५२ जना थिए।

त्यस्तै पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ८२ हजार ७८३ थियो । चालु आर्थिक वर्षको फागुनसम्स अन्तिम श्रम स्वीकृत र पुनः श्रम स्वीकृति लिनेको संख्या बढेको छ।

बुढानिलकण्ठ नगरपालिका र डोल्पाका दुई पालिकाबीच शैक्षिक साझेदारी

ठूलीभेरी (डोल्पा) । शैक्षिक सुधारको साझा प्रयासस्वरूप काठमाडौँको बुढानिलकण्ठ नगरपालिका तथा त्रिपुरासुन्दरी नगरपालिका र शे–फोक्सुण्डो गाउँपालिकाबीच त्रिपक्षीय शैक्षिक साझेदारीका लागि सम्झौता भएको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा आयोजित कार्यक्रममा तीनवटै पालिकाका प्रमुखहरूले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा त्रिपुरासुन्दरी नगरप्रमुख जनचन्द्र रोकाया, शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावासम्दुक गुरुङ र बुढानिलकण्ठ नगरप्रमुख मिठाराम अधिकारीले हस्ताक्षर गरे।

नगरप्रमुख अधिकारीले बुढानिलकण्ठले पछिल्लो तीन वर्षमा १४ प्रतिशत गुणस्तरीय शैक्षिक वृद्धि हासिल गरेको उल्लेख गर्दै असल अभ्यास अन्य पालिकासँग साझा गर्दै आएको बताए। कक्षा १० सम्मका विद्यार्थीलाई नि:शुल्क खाजा कार्यक्रम, चार जिपिए ल्याउनेलाई रु पाँच लाखसम्मको पुरस्कारको व्यवस्था तथा महिला शिक्षालाई प्राथमिकता दिने उक्त समझदारीपत्रमा उल्लेख छ ।

त्रिपुरासुन्दरीका नगरप्रमुख रोकायाले डोल्पा शैक्षिक रूपमा पछाडि परेको भए पनि गुणस्तरीय शिक्षा विकासमा सहयोग र सहकार्यले महत्त्वपूर्ण परिवर्तन ल्याउन सक्ने विश्वास व्यक्त गरे । शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष गुरुङले सकारात्मक सोच र जनचेतनाले दुर्गम क्षेत्रको रूपान्तरण सम्भव रहेको बताए ।

बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाले डोल्पाको दुःख, मर्म र सम्भावनाको गहिरो अनुभव गरिएको उल्लेख गर्दै भने, “यार्सागुम्बा मात्र होइन, डोल्पामा रहेका विविध उत्पादनले देशको अर्थतन्त्रमा योगदान दिन सक्छन् । प्रशासकीय र राजनीतिक शक्ति सक्रिय भए मात्र शिक्षा र अन्य क्षेत्रमा परिवर्तन सम्भव छ ।”

उपप्रमुख लामाले सबै वडामा शैक्षिक सर्वेक्षण गरेर कुनै पनि बालबालिका विद्यालय बाहिर बस्न नपरोस् भन्ने उद्देश्यले काम अघि बढाएको जानकारी दिए । “डोल्पाको धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदा काठमाडौँका लागि नयाँ सम्भावनाको स्रोत हुन सक्छ,” उनले जोड दिए ।

बुढानिलकण्ठ नगरपालिकाका शिक्षा महाशाखा प्रमुख ललितविक्रम सिंहले आफू दुई दशकपछि डोल्पा फर्किएको अनुभव सुनाउँदै त्रिपक्षीय साझेदारी, अनुभव आदानप्रदान र असल अभ्यास अनुसरणमार्फत शिक्षा क्षेत्रमा गुणस्तरीय सुधार ल्याउने साझा उद्देश्य रहेको बताए ।

त्रिपुरासुन्दरी नगरपालिकाका प्रशासकीय अधिकृत भीम थापाले विकट क्षेत्रमा रहेका सामुदायिक विद्यालयको शैक्षिक विकासमा बुढानिलकण्ठको सहकार्यले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

उनका अनुसार त्रिपुरासुन्दरी नगरपालिकामा हाल २९ सामुदायिक विद्यालय सञ्चालनमा छन् भने न्यूनतम स्रोत–साधनको बाबजुद नगरपालिका शैक्षिक विकासमा लागिपरेको छ । बुढानिलकण्ठ नगरपालिकाले डोल्पाका सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न र जेहेन्दार विद्यार्थीका लागि स्टेसनरी सामग्री (कापी, झोला र कलम) समेत प्रदान गरेको छ ।

सहकार्यले डोल्पा र काठमाडौँ उपत्यकाबीचको भावनात्मक सम्बन्ध सुदृढ गर्दै शिक्षामार्फत समावेशी विकासमा योगदान पुर्‍याउनुका साथै दुर्गम क्षेत्रलाई गुणस्तरीय शिक्षामार्फत भावनात्मक रूपमा काठमाडौँसँग जोड्ने र देशभित्रै भविष्य खोज्न सकिने विश्वास निर्माण गर्न सघाउने अपेक्षा गरिएको छ ।

झापा गाउँपालिकाका सबै किसान व्यावसायिक मकैखेतीमा

-चन्द्रकला भण्डारी, झापा। खेतबारीमा हुर्किएका पाँच फिट अग्ला मकैका बोटमा सुत्ला च्यापेका भरिला तीन वटासम्म घोगा फलेको देखेर झापा गाउँपालिका वडा नं. २ का नरेन्द्रकुमार आङ्देम्बेको खुसीको सीमा छैन ।

“आँख्लैपिच्छे सुत्ला च्यापेको छ,” बारीमा मकैखेती फस्टाएपछि दङ्ग पर्दै आङ्देम्बे भन्छन्, “पोहोरभन्दा यसपालि उत्पादन निकै बढ्ला जस्तो छ ।”उनले यसपालि डेढ बिगाहामा मकै खेती गरेका छन् ।

गाउँमा आङ्देम्बे जस्तै ३७ जना किसान मिलेर बरपिपल कृषक समूह गठन गरेका छन् । समूहमा जोडिएरपाँच कठ्ठादेखि चार बिगाहासम्म जग्गा भएका किसानहरु मकै खेतीमा लागेका हुन् ।

झापा जिल्लाको १५ पालिकामध्ये मकै खेतीका लागि प्रख्यात छ झापा गाउँपालिका । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना झापाका प्रमुख रविन्द्र सुवेदीले यो पालिका नेपालमै सबैभन्दा राम्रो मकै उत्पादन हुने क्षेत्र मानिएको बताए ।

परियोजनाले झापा गाउँपालिकाको सबै सात वटा वडा र छिमेकी कनकाई नगरपालिकाको वडा नं. ५ र ६ मा मकै जोन कार्यक्रम लागू गरेको छ । जसका कारण यहाँका ९० प्रतिशत भन्दा बढी किसान व्यावसायिक मकै खेतीतर्फ आकर्षित भएका छन् ।

झापा गाउँपालिका वडा नं. ७का मिर्जा सोरेन सार्जम बाहा कृषि सहकारी संस्थामा आवद्ध छन् । उनी जस्तै सहकारीमा आवद्ध एकसय ९५ जना कृषक व्यावसायिक रुपमै मकै खेतीमा लागेका छन् ।

परियोजना प्रमुख सुवेदीले झापा र कनकाई नगरपालिकाको माटो मकै खेतीका लागि उर्बर रहेको हुँदा सरकारले २०७६ सालदेखि मकै जोन कार्यक्रम लागू गरेको बताए । सुरुमा झापा गाउँपालिकाको वडा नं. ६ र कनकाई नगरपालिकाको वडा नं. ९ मा परीक्षणको रुपमा मकै जोन कार्यक्रम लागू भएको थियो ।

जोन कार्यक्रम लागू हुन पाँच सय बिगाहाभन्दा बढी जग्गामा मकै खेती हुनुपर्दछ । हाल झापाका सबै वडा र कनकाईको वडा नं. ५ र ६ मा यो कार्यक्रम सञ्चालन भइरहेको छ ।

यहाँको मकै खेती अरु जिल्लाका लागि नमुना बन्न थालेको छ । नेकपा माओवादीका नेता एवम् पूर्वमन्त्री जनार्दन शर्मा पार्टीले झापाको भद्रपुरबाट सुरु गरेको ‘जनतासँग माओवादी जागरण अभियान’को क्रममा फागुन १३ गते झापा गाउँपालिका पुगेका थिए ।

हुलाकी मार्गहुँदै मोरङ जिल्लातर्फ दलबलसहित अघि बढेको नेता शर्माको ध्यान झापा गाउँपालिकाको लहलह मकै खेतीले नतान्ने कुरै भएन । उनले स्थानीय किसानसँग मकै खेतीका बारेमा सोधीखोजी गरे । अनि उनले आँखाले भ्याएसम्म हरियाम्ये देखिने मकैबारीको तस्वीर फेसबुकमा पोस्ट गर्दै लेखे, “मकै उत्पादनको केन्द्र झापा गाउँपालिकाबाट शुभ बिहानी ।”मकैखेतीका बारेमा उनले पोस्ट गरेको तस्वीरमा नौ हजारले मन पराएको सङ्केत (लाइक) गरेका छन् भने छ सय फेसबुक प्रयोगकर्ताले टिप्पणी लेखेका छन् ।

धानभन्दा दोब्बर उत्पादन

धानभन्दा मकै दोब्बर फल्ने किसानहरु बताउँछन् । कसै कसैले एक कठ्ठा बारीमा १५ मन (१५०० केजी)सम्म मकै फलाएको बताएका छन् भने प्रति बिगाहा डेढ सय मन मकै त औसतमै फल्ने गरेको झापा गाउँपालिका वडा नं। ४ का मुस्लिम कृषक समूहका कलाम शेख बताउँछन् ।

“धानभन्दा दोब्बर फल्छ मकै,” शेख भन्छन्, “मकैमा खर्च पनि धान खेतीको हिसाबमा थोरै हुन्छ । त्यही भएर गाउँका सबै किसान मकै खेती लगाउन थालेका छन् ।”पछिल्लो समय शून्य खनजोतमै मकै खेती हुन थालिसकेको छ । जसका कारण किसानको लागत ह्वात्तै घटेको छ ।

कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी चेतनाथ भण्डारी झापा गाउँपालिका र कनकाई नगरपालिकामा मकै जोन लागू भएतापनि अरु क्षेत्रमा उत्तिकै मकैखेती फस्टाएको बताउँछन् । पूर्वपश्चिम राजमार्गको उत्तरी क्षेत्रको तुलनामा दक्षिणतिर धेरै मकैखेती हुने गरेको छ ।

झापा जिल्लामा ४४ हजार ३५० हेक्टर र नेपालभर लगभग १० लाख हेक्टर जग्गामा मकै खेती हुने गरेको भण्डारीले बताए ।हाइब्रिड (वर्णशङ्कर) जातको मकैको प्रतिहेक्टर उत्पादकत्व७ दशमलब १७मेट्रिक टन रहेको छ ।

सिङ्गै पालिका मकै खेतीमा

झापा गाउँपालिका सिङ्गै मकै खेतीमा लागेको पाइएको छ । मकै जोन लागू भएकाले सरकारले किसानलाई खेतीका लागि बीऊ, मल, उपकरण, सिचाईं र भण्डारणका लागि सहयोग पुर्याउने गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई झापाका प्रमुख रवीन्द्र सुवेदीका अनुसारझापा गाउँपालिकाको सात वटा र कनकाई नगरपालिकाको दुई वटा वडामा लागू भएको मकै जोन कार्यक्रममा तीन हजार ७३२ महिलासहित छ हजार ४७१ जना कृषक सूचीकृत भएका छन् ।

आदिवासी, जनजाति र मुस्लिम समुदायको बाहुल्य रहेको यस क्षेत्रमा परियोजनाले चक्लाबन्दीमा ठूलो क्षेत्रफलमा मकै खेती गर्ने व्यावसायिक किसानलाई खेतीको क्षेत्रफलका आधारमा सोझै अनुदान दिँदै आएको सुवेदीले बताए । उनले गत वर्ष चक्लाबन्दी खेतीका लागि दुईवटा समूहलाई रु १० लाखका दरले अनुदान प्रदान गरेको बताए । सो समूहलाई नै यस वर्ष पनि रु दुई लाखका दरले अनुदान परियोजनाले थप गरिदिएको बताए ।

उनले चालु आर्थिक वर्षमा मकै जोनका लागि विनियोजन गरेको ३९ लाख ९२ हजार बजेटबाट नै किसानलाई मल, बीऊ, तालिम, कृषि औजारमा अनुदान प्रदान गरेको बताए । उनले किसानले उत्पादन गरेको मकै बजारीकरणमा भने समस्या रहेको बताए । “स्थानीय दाना उद्योगसँग जोन क्षेत्रका किसानलाई जोड्न पहल गरिरहेका छौं”, उनले भने, “यसो गर्न सके बजारीकरणमा समस्या हुने थिएन ।”

उनले पछिल्लो समय जलवायु परिवर्तनको असर मकैमा पनि देखिएको बताए । सिचाईंको व्यवस्था प्रशस्तै भए तापनि प्राकृतिक वर्षा पर्याप्त नहुँदा यसपालि उत्पादन घट्छ कि भन्ने आशङ्का व्यक्त गरे ।

थोरै उत्पादन हुने भएकाले यहाँका किसानले रैथाने जातको मकै खेती गर्न छाडेर धेरै फल्ने र रोगकीरा कम लाग्ने हाइब्रिड जातका मकै खेती गरिरहेको झापा गाउँपालिका वडा नं. ३ को टाघनडुब्बा सामुदायिक साना किसान सहकारी संस्थाकी सदस्य युद्धमाया खड्काले बताए ।

मकै जोन कार्यक्रममा सूचीकृत उक्त सहकारीकाआठसय ५१ जना किसान व्यावसायिक मकैखेतीमा लागेका छन् । उनी भन्छन्, “यहाँका किसानको आम्दानीको मुख्य स्रोत नै मकै हो ।”

किसानहरुले जोनमार्फत साझेदारी अनुदानमा कृषि उपकरण पाउने गरेका छन् । सिचाईं सुविधाका लागि सहुलियत पाइरहेका छन् । तर, उनीहरुले चाहिएको बेला सरकारले पर्याप्त रासायनिक मल उपलब्ध गराउन भने नसकेको गुनासो गरेका छन् ।

पोषिलो मकैको रोचक इतिहास

नेपालमा मल्लकालीन समयमा भारतबाट दालसँगै मकै भित्रिएको इतिहासकारहरुले बताउने गरे तापनि पहाडी क्षेत्रमा पुस्तांैदेखि मकै नै मुख्य अन्नबाली रहँदै आएको पाइन्छ ।

पहाडमा अहिले पनि मुख्य उत्पादन बाली मकै नै हो । समग्रमा नेपालमा यसलाई दोस्रो ठूलो उत्पादन बालीको रुपमा चिनिन्छ ।

पोषिलो र सस्तो भएकाले पछिल्लो समय धानको साटो मकैको चामल बनाएर खाने प्रचलन बढ्दै गएको छ । मकै कलिलोमा पोलेर र उसिनेर खान सकिन्छ । छिप्पिएको मकै सुकाएर भण्डारण गरी लामो समय राख्न सकिन्छ ।

मकैबाट चामल मात्र होइन, चाउचाउ, रोटी, चिउरा लगायतका अनेकन परिकार बनाउन सकिन्छ । पछिल्लो समय यसबाट पशु र पक्षीको आहार बनाउन थालिएका कारण मकैको बजार भाउ उच्च हुँदै गएको छ ।

खासगरी गाईभंैसी, खसीबाख्रा र कुखुराको आहारा मकैबाट बनाउने गरिन्छ । नेपालमा आहार उत्पादनका लागि उद्योगीहरुले किसानको आँगनमै पुगेर मकै खरिद गर्दै आएका छन् । सरकारले मकैको समर्थन मूल्य भने तोकेको पाइँदैन ।

झापा गाउँपालिका वडा नं. ३ को शान्ति कृषक समूहका भरतकुमार राजवंशीले रासायनिक मल अभाव हुने गरेकाले किसानहरु भारतबाट लुकीछिपी ल्याएर प्रयोग गर्न बाध्य रहेको बताए ।

खनजोत नगरी खेती

पछिल्लो समय किसानहरु शून्य खनजोत प्रविधिमा आधारित भएर मकै खेतीमा हुने लागत अझै घटाउने अभियानमा लागेका छन् ।

कृषि ज्ञान केन्द्र झापाले कृषि अनुसन्धान निर्देशनालय तरहरा सुनसरीको प्राविधिक सहयोगमा बिर्तामोड–९, कचनकवल–१ र बाह्रदशी–६ को कूल डेढ बिगाहा क्षेत्रफलमा शून्य खनजोत प्रविधिबाट मकै खेतीको सफल परीक्षण गरेको छ ।

शून्य खनजोत प्रविधिका कारण किसानको उत्पादन लागत घटेको र उत्पादनमा कुनै असर नपरेको किसानहरु बताउँछन् ।धान काटिसकेपछि बाँझो खेतमा मेसिनको प्रयोगबाट मकैको बिउर मल छर्नुलाई नै शून्य खनजोत भनिदै आएको छ । 

‘समृद्धि’तर्फ उन्मुख काभ्रेको डाँडापारी क्षेत्र

-राजकुमार पराजुली

काभ्रे । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्र महाभारत पर्वत श्रङ्खलापारी (डाँडापारी)को क्षेत्र ‘समृद्धि’उन्मुखतातर्फ लम्किएको छ । उक्त क्षेत्रलाई केही वर्षदेखि ‘दुर्गम’ भन्नसमेत छाडिन थालेको छ । कारण सडक, विद्युत, खानेपानी, स्वास्थ्य संस्था र सुविधासम्पन्न विद्यालय भवनको व्यवस्था । उक्त क्षेत्रमा सडक बाहेकका विकास पनि सडकले नै सम्भव दिलाएको छ ।

‘डाँडापारी’मा दुई गाउँपालिका महाभारत र खानीखोला पर्दछन् । सङ्घीय संरचना निर्माणअघि डाँडापारीमा दश गाउँ विकास समिति थिए । महाभारत गाउँपालिकामा नजिकको राजमार्गमार्फत सदरमुकाम जोड्ने पक्की सडक नै निर्माण भैसक्यो । उक्त गाउँपालिका विशेषगरी सडकको पहुँचले काभ्रेपलाञ्चोक सदरमुकाम धुलिखेल र मुख्य सहर बनेपा तथा पनौती डाँडापारीसँग नजिकिएका छन् ।

सडकले सामग्री ढुवानीमा सहजता आएपछि अपुग खाद्यान्हलगायत नुन, तेल र मरमसला किन्न घण्टौँको बाटो हिँड्नुपर्ने बाध्यता हाल दूर भैसक्यो । यहाँका नागरिकका लागि विद्युतीकरणमा केन्द्रीय प्रसारण लाइन र पक्की मोटरबाटोले गाउँदेखि शहरसम्म जोडिएको छ ।

सडकको पहुँचका कारण यहाँका बासिन्दाले उत्पादन गरेका खाद्यान्हलगायत कृषिजन्य वस्तुको बिक्री गर्न नजिकको सहर जान थालिएको छ भने आवश्यक घरायसी सम्पूर्ण लत्ताकपडा–सामग्री गाउँमै पाउन थालिएको छ । विशेषतः सडक सुगमताले जिल्लाको विकट क्षेत्र मानिएको डाँडापारीका दुई गाउँपालिका महाभारत र खानीखोलाको मुहार फेरिदै गयो, यहाँका नागरिक दशकअघिको दुःख–पीडा–बाध्यता सम्झँदै हाल विकसित क्षेत्रको सुविधा उपभोग गरिरहेका पाइन्छन् ।

पछिल्लो समयमा भने सञ्चारको सहज पहुँचसँगै सडक सञ्जालको पहुँच, ‘एक घर, एक खानेपानी’सहितको धारा र केन्द्रीय विद्युत् प्रसारण लाइनको विद्युतीकरण यहाँको नागरिकको मुहार फेरिएको हो । यसो हुनुमा स्थानीय तहको भूमिकालाई पनि विशेष मान्ने गरिएको छ । यहाँका गाउँपालिकाको बस्तीमा विकास निर्माण र नागरिकको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने आयोजनामध्ये सडक निर्माणलाई प्रमुख मानिएको हो ।

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा स्थानीय नागरिकलाई प्रत्यक्ष अनुभूति हुनेगरी दोस्रो चरणको पक्की सडकखण्ड निर्माण अन्तिम चरणमा पुगको बताउँछन् । उनका अनुसार हाल बिपी राजमार्गदेखि मदन भण्डारी लोकमार्ग जोड्ने भूमिचुली–चारकिल्ला–देवीटार–घर्तिछाप–गोकुले–भोर्लेनी सडक (जनमुक्ति मार्ग)को निर्माणमा लागिएको छ भने तीनखुट्टे–भूमिचुली–राजबास खण्डको १७ किमि सडकका लागि करिब रु ९८ करोड विनियोजन भएकामा रु ६० करोड ९७ लाखमा आगामी २०८२ साल कात्तिकमा सम्पन्न गर्नेगरी सम्झौता भई निर्माणाधीन चरणमा छ ।

यस्तै ‘एक घर एक खानेपानी धारा’ अभियानअन्तर्गत सबै नागरिकका घरघरमा खानेपानी पु¥याउनेकार्य निर्माणाधीन अवस्थामा रहेको जनाइएको छ । नागरिकको आर्थिक विकासको लागि कृषि उत्पादनमा सहयोगअन्तर्गत तीन बर्षदेखि चालु आर्थिक बर्षसम्मा डेढ लाख कफीको बिरुवा रोपिएको अध्यक्ष जिम्बाले बताए ।

पक्की सडक सञ्जालसँग जोड्ने क्रममा रहेको डाँडापारीको क्षेत्रमा हाल पनि गर्भवती र सुत्केरीका बेलामा महिलालाई राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत स्थानीय तहको समन्वयमा हेलिकप्टरबाट उद्धार गर्ने कार्य गर्दै आइएको छ ।

महाभारत गाउँपालिकामा मात्र हाल रु दुई अर्बका सडक योजना सञ्चालनमा छन् । सञ्चालित केही योजना बहुवर्षीयसमेत रहेको गाउँपालिकाले जनाएको छ । महाभारतको भुमेचुली–बुढाखानी–तिनखुट्टे करिब १८ किलोमिटर सडक कालोपत्रे भइरहेको, तिनखुट्टे–देवीटार आठ किलोमिटर सडकखण्ड स्तरोन्नति भइरहेको तथा देवीटार–गोकुले करिब सात किलोमिटर सडकखण्ड निर्माणको चरणमा रहेको छ । तर, निर्माण व्यवसायीले विनियोजित बजेटभन्दा कममा सम्झौता गर्ने र नियमितकार्य नगरेका कारण योजना ढिला हुने गरेको अध्यक्ष जिम्वाले बताउँछन् । “निर्माणका क्षेत्रमा हामीले ताकेता गरिरहेका छौँ”, उनले भने ।

त्यसो त, विकट क्षेत्रमा सूचीकृत खोनीखोला गाउँपालिका–५ स्थित तालढुङ्गा लाई बाग्मती प्रदेशको नमूना सहर बनाउन थालिएको छ । यसका लागि पहिलो चरणमा बजार क्षेत्र र वरपरिको सडकलाई पक्की बनाउन थालिएको जनाइएको छ ।

हाल गाउँपालिकाको केन्द्रका रुपमा रहेको उक्त बजारलाई प्रदेशभित्रको नमूना तथा उदयीमान सहरको रुपमा विकास गर्ने उद्देश्यले प्रदेश सरकारले जिल्लास्थित सहरी विकास तथा भवन कार्यालयमार्फत रु दुई करोड विनियोजन गरिएको थियो । उक्त बजेटबाट कार्यालयमाफैत नै वोलपत्र आह्वान गरी सहर भित्रको सडक/बाटो ढलान तथा विभिन्न स्थानमा आवश्यकता अनुसार ड्रेनवाल निर्माणको काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले तालढुङ्गा लाई नमूना सहर बनाउने उद्देश्यस्वरुप ‘ल्याण्ड पुलिङ’को काम गरिररहेको बताए । उनका अनुसार तालढुङ्गा लाई कुन मोडलमा सहरीकरणमा लैजाने विषयमा थप छलफलसमेत भइरहेको छ । तालढुङ्गा नमूना सहर निर्माण भएसँगै खानीखोलाका साथै दुर्गम महाभारत गाउँपालिकालाईसमेत सहज हुने थिङले बताए ।

सहरी विकास तथा भवन कार्यालयले बाग्मती प्रदेश सरकारले गाउँपालिकाबाट अन्य स्थानमा हुने बसाईसराई रोक्ने तथा गाउँपालिकाभित्रको नजिक एवं सर्वसुलभ बजारको रुपमा विकास गर्ने लक्ष्यका साथ तालढुङ्गा लाई नमूना उदयीमान सहरको अवधारणा अघि सारेर काम सुरु गरिएको जनाएको छ । गाउँपालिकाकाले तयार गरेको विस्तृत परियोजना रिपोर्ट (डिपिआर)मा स्थानीय जनप्रतिनिधि, सहरी विकास योजनाविद् तथा स्थानीय नागरिकसँग छलफल गरी काम अघि बढाइएको हो ।

बिपी राजमार्ग र मदन भण्डारी राजमार्ग तथा निर्माणधीन अवस्थामा रहेको जनमुक्ति मार्ग जोड्ने सडक सञ्जालमा गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्र तालढुङ्गा सहर जोडिएको छ । बागमती नदिमा पुल निर्माणकार्य सकेपछि प्रदेश राजधानी मकावानपुरको हेटौडा तालढुङ्गा बाट दूई घण्टामा पुग्न सकिन्छ । तालढुङ्गा मा सडक, ढल, बस्ती विकास, पार्कहरु निर्माणलगायतका काम गर्नसके पर्यटकको आकर्षण बढ्नसक्ने अपेक्षा गरिएको छ । “तालढुङ्गा लाई प्रदेशको एउटा सानो, सुन्दर र आकर्षक सहर बनाउनेछौँ”, थिङले भने ।

खानीखोलासम्म सहज मोटरबाटो नभएका कारण यहाँका नागरिकमा अहिले पनि विकास भनेको सडक मात्रै हो भन्ने धारणा छ । यद्यपि, गाउँपालिकाले पनि सबै मौसममा सबै वडाको केन्द्रसम्म मोटर चल्ने सडक निर्माणको योजना बनाएको छ ।

थिङका अनुसार गाउँपालिकाको मेरुदण्ड सडकको रुपमा स्थापित गराई बाग्मती प्रदेश राजधानीको बजार दुई घण्टाको बाटो बनाउने, जिल्ला सदरमुकाम धुलिखेलबीचको सम्बन्ध सुमधुरको योजना बनाइएको छ । निर्माणको प्रक्रियामा रहेको जनमुक्ति मार्गमार्फत हेटौँडा जोड्ने, खोपासी तालढुङ्गा सडकलाई कालोपत्रे गर्ने लक्ष्य लिइएको जनाइयो ।

त्यस्तै गाउँपालिकाले सडकतर्फ ढुङ्खर्क–च्याम्राङबेशी–मिल्चे–तालढुंगालाई व्यवस्थित गर्ने खोपासी– कामीडाँडा, स्यारेथली, फलाँटेहुँदै तालढुंगा पुग्ने सडकलाई सबै मौसममा चल्ने सडक बनाइने, कालोपत्रे र आवश्यकताअनुसार ढलान गर्ने, च्याल्टी फलामेटार तालढुंगा सडकलाई पनि बाह्रै महिना सञ्चालन गर्ने योजना बनाएको जनायो ।

शिक्षातर्फ भने शैक्षिक सुधार गर्ने उद्देश्यले प्रारम्भिक बाल कक्षादेखि दश कक्षासम्मका बिद्यार्थीलाई तीन समुहमा वर्गीकरण गरेर सानो कक्षालाई ‘डिजिटाइजेशन’ गर्ने तथा कक्षा ६ देखि ८ सम्मलाई थप कक्षा सञ्चालन गरी नौ र दशका विद्यार्थीलाई क्लोज क्याम्पमा राखेर अध्यापन गराउने योजना बनाइएको छ भने जेष्ठ नागरिकको मासिक घुम्ती स्वास्थ्य परीक्षणको काम अघि बढाइएको छ ।

गाउँपालिकाभित्रको अर्को समस्या १४/१५ वर्षको उमेरमा विवाह गर्ने परम्परालाईे बाल विवाह अन्त्य गर्न आम नागरिकमा जनचेतना जगाउने अभियान पटकपटक सञ्चालन भइरहेका छन् । नागरिकलाई स्थानीयस्तरमै स्वास्थ्य सुविधा दिलाउन गाउँपालिकामा आधारभूत अस्पतालको काम सुरु गरिएको छ ।

अस्पताल निर्माणको कामलाई बहुवर्षिय नहुँदा रोकिएको निर्माणकार्यलाई निरन्तरता दिन प्रदेश सरकारले अस्पताल निर्माणको लागि गत आवमा रु तीन करोड बजेट विनियोजन गरेको छ । सात स्थानमा रहेका स्वास्थ्य चौकीका भवन निर्माण गर्ने योजना बनाउनन प्रक्रिया थालिएको थिङले बताए । यस्तै गाउँपालिकाले ‘जसको उत्पादन, उसैलाई अनुदान’ कार्यक्रमअन्तर्गत कफी खेतीमा प्रति किलोग्राम ३५ अनुदान दिन सुरु गरिएको छ ।

गाउँपालिकाभित्र दूध, मासु उत्पादन र जडिबुटीबाट आम्दानी गर्न सकिने भएकाले किसानलाई दुधमा अनुदान दिने कार्यक्रम ल्याउने तयारी भइरहेको तथा खानेपानीका लागि ‘एक घर, एक धारा’ कार्यक्रमलाई योजनाबद्ध बनाइएको छ । गाउँपालिकाभित्र नागरिकले हाल खुवा बिक्री गरेर मासिक रु एक लाख रुपियाँ आम्दानी गर्दैै आएकाले सडकको सुगमताले यो पेसालाई अन्य युवा तथा कृषकले अनुशरण गरी आम्दानीको स्रोत बढाउने छन् ।

डाँडापारीका दुई गाउँपालिका करिब तीन हजार ३ सय परिवार हालैदेखि नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनबाटै बिजुलीको उज्यालोमा बस्न पाएका छन् । दुई गाउँपालिकाका स्थानीयलाई बिजुलीको उज्यालो दिलाउन तत्कालीन सरकारले एक अर्ब ५६ करोड रकम विनियोजन गरी विद्युतीकरणको काम सुरु भएको थियो ।

रकम अपुग भएका कारण आयोजना सम्पन्न गर्न थप  ३० करोड माग गरी विद्युतीकरणको कामलाई सम्पन्न गरिएको महाभारतका अध्यक्ष जिम्बाले बताए । उनका अनुसार घरमा जडान गर्ने मिटर खरिदका लागि रु एक हजार अनुदानसमेत उपलब्ध गराइएको थियो ।

केन्द्रीय प्रसारण लाइन नभएका कारण उक्त गाउँपालिकामा उद्योग, कलकारखाना सञ्चालन गर्न सकिएको थिएन । यसअघि लघु जलविद्युत्, सोलार तथा अन्य वैकल्पिक उपायबाट घरमा बत्ती बाल्दै आइएको थियो ।

यसैबीच, बिपी लोकमार्गलाई प्रदेश राजधानी हेटौँडासँग जोड्नका लागि ‘जनमुक्ति मार्ग’ अन्तर्गत विभिन्न सडकखण्डको स्तरोन्नति तथा कालोपत्रे गर्ने कामलाई तीव्रता दिइएको छ । प्रदेश राजधानीसम्म सडक मार्ग जोडी छोटो दुरीमा पुग्नका लागि जनमुक्ति मार्गअन्तर्गत हाल तीन चरणमा सडक स्तरोन्नति र कालोपत्रे गर्ने कार्य अघि बढिरहेको पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

कार्यालयका अनुसार बिपी लोकमार्ग र हेटौँडा जोड्ने मदन भण्डारी राजमार्गसम्म जोड्नका लागि पहिलो चरणमा पिन्थली–रजबास–भूमिचूली–बुढाखानी–तीनखुट्टे १७ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रे गर्ने काम द्रुत रुपमा भइरहेको छ ।

उक्त सडक स्तरोन्नति तथा कालोपत्रेका लागि ६० करोडमा ठेक्का सम्झौतापछि काम भएकोले समपूरक अनुदानतर्फ गत आवमा सङ्घीय सरकारले २० करोड र प्रदेश सरकारले २० करोड विनियोजन गरेको छ । जनमुक्ति मार्गअन्तर्गत नै महाभारत गाउँपालिकाको तीनखुट्टेदेखि गाउँपालिकाको केन्द्र देविटारसम्मको साढे आठ किमी सडक कालोपत्रेको कामसमेत भैसकेको छ ।

बिपी लोकमार्गदेखि हेटौँडा जोड्ने सडकको स्तरोन्नति र कालोपत्रेका लागि तेस्रो चरणमा महाभारत गाउँपालिकाको केन्द्र देविटारदेखि–घर्तीछाप–गोकुलेसम्मको नौ दशमलव ३ सय ८० किलोमिटर सडक  ३९ करोडमा स्तरोन्नति तथा कालोपत्रेको काम भइरहेको छ । जनमुक्ति मार्गअन्तर्गत महाभारतभित्र ३५ किमी सडक स्तरोन्नति तथा कालोपत्रेको काम भइरहेको हो । कुल लम्बाई ९३ किमी रहेको उक्त मार्गका लागि  तीन अर्ब लाग्ने अनुमान गरिएको छ ।

अब ‘लोडसेडिङ’ हुँदैन : मन्त्री खड्का

काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अब लोडसेडिङ नहुने बताएका छन् । रसुवामा निर्माण सम्पन्न भएको साञ्जेनखोला जलविद्युत् आयोजना (७८ मेगावाट) को बुधबार उद्घाटन गर्दै मन्त्री खड्काले अब नागरिकले लोडसेडिङको समस्या भोग्नु नपर्ने बताए ।

उनले सरकार नागरिकको घरघरमा र उद्योगमा २४सै घण्टा बिजुली दिन प्रतिबद्ध रहेको उल्लेख गर्दै लोडसेडिङ हुन्छ भन्ने हल्लाको पछि नलाग्न आग्रह गरे । आर्थिक सुशासन कायम गरेर लोडसेडिङ हुन नदिने गरी जलविद्युत् क्षेत्रको विकासमा लाग्न विद्युत् प्राधिकरणलाई मन्त्री खड्काले निर्देशन दिए ।

प्राधिकरणको नेतृत्वमा एसियाकै अब्बल इञ्जिनियर हितेन्द्रदेव शाक्य आएकाले आगामी दिनमा विद्युत् प्राधिकरणले थप उचाइ लिने मन्त्री खड्काले विश्वास व्यक्त गरे ।

उनले सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले उक्त लक्ष्यलाई पूरा गर्न निजी क्षेत्र र दातृ निकायलाई सँगसँगै लिएर हिँड्न चाहेको बताए ।

नेपालमा जलविद्युत् क्षेत्रबाटै समृद्धि हासिल गर्न सकिने प्रचुर सम्भावना रहेकाले प्राधिकरणमा थप सुधार गरेर लक्ष्य प्राप्तिका लागि अगाडि बढ्न चाहेको मन्त्री खड्काले उल्लेख गरे । आगामी दिनमा जलाशययुक्त आयोजनालाई प्राथमिकताका साथ अगाडि बढाउँदै भारत, बङ्गलादेशलगायतका देशमा विद्युत् निर्यात गर्ने गरी सरकारले काम गरिरहेको उनले स्पष्ट पारे ।

मन्त्री खड्काले जलविद्युत् क्षेत्र सरकारको मुख्य प्राथमिकतामा रहेकाले उत्पादनसँगै निर्यातमा पनि काम गरिरहेको बताए ।

उनले भारतसँग १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको र बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात गरिसकेको अवस्थामा उत्पादन भएको विद्युत् खेर नजाने भन्दै ढुक्क भएर लगानी गर्न निजी क्षेत्र र दातृ निकायलाई आग्रह गरे । जलविद्युत् आयोजना निर्माणसँगै दुई देशबीचको सम्बन्ध विस्तार, आर्थिक समृद्धि र रोजगारी सिर्जना भएको उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लोडसेडिङ हटाउन प्राधिकरण सक्षम रहेको भन्दै हल्लाको पछि नलाग्न आग्रह गरे । उनले ऊर्जा मन्त्रालयबाट प्राधिकरणलाई पूर्ण सहयोग रहेकाले वर्तमान समस्यालाई चिरेर प्राधिकरणलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

नेपालका लागि चिनियाँ राजदूतावासका कार्यवाहक राजदूत वाङ सिनले नेपालले जलविद्युत् क्षेत्रमा गरेको प्रगति अत्यन्त आशलाग्दो रहेको उल्लेख गर्दै यस क्षेत्रमा चीनको निरन्तर सहयोग रहने बताए ।

‘चाइना हारबर इञ्जिनियरिङ कम्पनी’ र ‘सालासुङ्गी पावर कम्पनी लिमिटेड’को संयुक्त लगानीमा निर्माण गरिएको उक्त जलविद्युत् आयोजना आजदेखि औपचारिक रूपमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । उक्त जलविद्युत् केन्द्र चीनको सिनो हाइड्रो ब्यूरो–११ कम्पनीले निर्माण गरेको हो ।

रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ मा कूल रु २२ अर्ब लगानीमा निर्माण गरिएको उक्त जलविद्युत आयोजना सन् २०१९ देखि निर्माण थालिएको हो । 

झापामा चट्याङ लागेर एकजनाको मृत्यु

झापा । झापाको गौरादह नगरपालिका–५ बालुबथानमा चट्याङ लागेर बुधबार एक जनाको मृत्यु भएको छ ।
घरमै खाजा खाने क्रममा चट्याङ लागेर ५४ वर्षीय दूधकुमार लावतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

मृतक लावती पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुभोटे स्थायी घर भई हाल झापाको गौरादहमा गोमनाथ चेम्जुङको खेती अधिया गर्दै आएका थिए । आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

नेप्सेमा चार अर्ब ४८ करोडको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । बुधबार नेप्से परिसूचक नौ दशमलव ६६ अङ्कले बढेर दुई हजार छ सय ७६ दशमलव २८ को विन्दुमा कायम भएको हो ।

आज तीन सय १७ कम्पनीको एक करोड ७३ हजार आठ सय २२ कित्ता शेयर ४५ हजार ९४ पटक खरिदबिक्री हुँदा चार अर्ब ४८ करोड ४६ लाख १९ हजार सात सय ४० बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ र व्यापारबाहेक सबै समूहको उपसूचक हरियो देखिएको छ । बैंकिङ समूह शून्य दशमलव शून्य तीन, र व्यापार समूह शून्य दशमलव ४० प्रतिशतले घटेको हो । सबैभन्दा बढी होटल तथा पर्यटन दुई दशमलव ४४, लगानी एक दशमलव ४८ र उत्पादन तथा प्रशोधन एक दशमलव ३६ प्रतिशतले बढेको छ ।

विकास बैंक शून्य दशमलव २९, वित्त शून्य दशमलव ३४, जलविद्युत् शून्य दशमलव शून्य आठ र जीवन बिमा शून्य दशमलव २२ प्रतिशतले बढेको छ ।

त्यस्तै, लघुवित्त शून्य दशमलव २२, म्युचुअल फण्ड शून्य दशमलव ५९, निर्जीबन बिमा समूह शून्य दशमलव ५६ र अन्य समूह शून्य दशमलव ३६ प्रतिशतले बढेको छ ।

नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने सिन्धु विकास बैंक लिमिटेडको शेयर मूल्य आठ दशमलव शून्य पाँच प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको रु ४२ करोड ७५ लाख ६८ हजार चार सय ७७ बराबरको कारोबार भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी कुमारी इक्विटी फण्डको १० लाख १० हजार एक सय ७६ कित्ता शेयर किनबेच भएको छ ।

अछामका आगलागी प्रभावितलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख सहयोग गर्ने

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले अछामको बान्नीगढीजयगढ गाउँपालिकास्थित जयगढ बजारमा गएराति भएको आगलागी पीडितलाई तत्काल ५० लाख सहयोग गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा बुधबार बसेको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकपछि मुख्यमन्त्री कमलबहादुर शाहले अछाममा आगलागी पीडित परिवार तथा व्यवसायीलाई प्रारम्भिक चरणमा ५० लाख सहयोग गर्ने निर्णय भएको जानकारी दिए ।

उनले भने, “सम्बन्धित पालिकाले स्पष्ट मापदण्ड तयार गरेर उक्त मानवीय सहायता रकम उपलब्ध गराउने निर्णय गरेका छौँ, क्षतिको यकिन विवरण प्राप्त भएपछि थप सहयोग गर्नेछौँ ।”

मुख्यमन्त्री शाहले जयगढ बजारमा भएको आगलागीबाट प्रभावित एवं पीडितलाई राहत र पुनर्निर्माणका लागि स्थानीय तह, नेपाल सरकार, सङ्घसंस्था र दातृ निकायलाई सहयोगका लागि अपील गरे ।

प्रदेश सरकारले आगलागी भएको क्षेत्रको स्थलगत अवस्था बुझ्नका लागि प्रदेशका सामाजिक विकासमन्त्री र आन्तरिक मामिला तथा कानुनमन्त्रीलाई खटाएको छ ।

अछाम सदरमुकाम मङ्गलसैनबाट उत्तरपूर्वी दिशातर्फ रहेको जयगढ बजारमा गए राति भएको आगालागिबाट दश कच्ची घर, १५ टिनका टहरा, दुई पक्की घर तथा एक सभाहल जलेर नष्ट भएको अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले जानकारी दिए ।

यीमध्ये ११ घरमा पसल सञ्चालनमा थिए । स्थानीय पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रको ग्यास सिलिन्डर विष्फोट हुँदा सल्किएको आगो बजारका अन्य घरपसलमा फैलिएको थियो ।

साँझदेखि सुरु भएको आगलागी राति १ः३० बजेमात्र प्रहरी र स्थानीयवासीको पहलमा नियन्त्रणमा आएको थियो । आगलागीबाट सात करोड ५४ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रजिअ सारुले जानकारी दिए ।

पक्राउ परेका साथीहरुलाई वैशाख २१ सम्म रिहा नगरे २२ गते सामूहिक गिरफ्तारी दिन्छौंः जगमान गुरुङ

काठमाडौँ । राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा.जगमान गुरुङले आगामी वैशाख २१ गतेभित्र राजावादी आन्दोलनका क्रममा पक्राउ परेकाहरुलाई विनासर्त रिहा नगरे र नवराज सुवेदीको नजरबन्द नहटाए सामूहिक गिरफ्तारी दिने चेतावनी दिएका छन् ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी गुरुङले भद्र अवज्ञा आन्दोलन गरेर अघि बढ्ने बताएका हुन् । उनले आस्थाका बन्दी रिहा नगरे वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने बताए ।

उनले भने, ‘हामी ज्यानको माया मारेर अगाडि बढ्ने छौं । सबैभन्दा अगाडि म हुन्छ । तपाईंहरू को–को आउनुहुन्छ आउनुस् ।’

उनले राजसंस्थाको पुनस्र्थापनाका लागि गोरखनाथ र गोरखकालीको अन्तिम पूजा वैशाख १९ गते गर्ने पनि जानकारी दिए । चैत १५ गतेको तिनकुने प्रदर्शनपछि राजावादीहरू भागे भन्ने प्रचार भइरहेकोप्रति आपत्ति जनाए । उनले आफूहरु आन्दोलनमा रहेको र पछि नहटेको बताए ।

देवेन्द्रलाल नेपालीको संयोजकत्वमा तिनकुने घटना छानबिन गर्न नागरिक आयोग गठन

काठमाडौं । राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले चैत १५ गते काठमाडौंको तिनकुनेमा भएको घटना छानबिन गर्न नागरिक छानबिन आयोग गठन गरेको छ ।

समितिले वरिष्ठ अधिवक्ता देवेन्द्रलाल नेपालीको संयोजकत्वमा स्वतन्त्र र निष्पक्ष नागरिक छानबिन आयोग गठन गरेको हो ।

आयोगका सदस्यहरुमा सुरक्षा क्षेत्रबाट पूर्वएआइजी रविराज थापा, चिकित्सा क्षेत्रबाट डा. रामप्रसाद उप्रेती, मानव अधिकारको क्षेत्रबाट मानवअधिकार विषयमा विद्यावारिधी डा.ज्ञान बस्नेत र अधिवक्ता हरि कट्टेल छन् । तिनकुनेमा भएको घटनामा दुई जनाको मृत्यु भएको थियो भने निजी आवास, कार्यालयलगायत तोडफोड र आगजनी भएका थिए ।

घटनामा संलग्न भएको आरोपमा ७३ जना भन्दाबढी पक्राउ परेका छन् । घटनाको छानबिनका लागि न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेपनि सरकार यस विषयमा मौन बसेको छ ।

अमेरिकी करको चिन्ताका बीच आसियान प्रमुखद्वारा क्षेत्रीय अर्थतन्त्रलाई ‘दृढतापूर्वक’ एकीकृत गर्न आह्वान

क्वालालम्पुर। व्यापक अमेरिकी भन्सार शुल्कले विश्वको धेरै भाग विनाशकारी व्यापार युद्धको बीचमा फसेको भन्दै आसियानका प्रमुखले बुधबार क्षेत्रीय आर्थिक एकीकरणलाई गति दिन आसियानले ‘दृढतापूर्वक कार्य’ गर्नुपर्ने बताएका छन् ।

संयुक्त राज्य अमेरिकालाई आफ्नो मुख्य निर्यात बजारका रूपमा गणना गर्ने दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको १० सदस्यीय सङ्घ (आसियान) राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा सबैभन्दा कडा कर लगाउनेहरू मध्ये एक थियो ।

“आर्थिक अराजकता द्रुत रूपमा नयाँ सामान्य हुँदै गइरहेको विश्वमा सान्दर्भिक र लचिलो रहनका लागि हामीले स्थिर, पूर्वानुमानयोग्य र व्यापार–मैत्री वातावरणका लागि आसियानको प्रतिबद्धतालाई पुनः पुष्टि गर्न दृढतापूर्वक, निर्णायक रूपमा र सँगै काम गर्नुपर्दछ”, आसियानका महासचिव काओ किम होर्नले भने ।

मलेसियाको राजधानी क्वालालम्पुरमा आसियानका आर्थिक तथा वित्तमन्त्रीहरू तथा केन्द्रीय बैंकका गभर्नरहरूको बैठकको पूर्वसन्ध्यामा अमेरिकी करको जवाफ कसरी दिने भन्ने विषयमा छलफल गर्न बोल्दै उनले यस्तो बताएका हुन् ।

आसियान सरकारहरूले वार्तालाई प्राथमिकता दिँदै वासिङ्टनविरुद्ध बदला नलिने निर्णय गरेका छन् । तर अर्को प्रमुख बजार चीनले संयुक्त राज्य अमेरिकामा आफ्नै भन्सार शुल्क लगाएपछि उनीहरूको निर्यात उन्मुख अर्थतन्त्रहरू विश्वव्यापी व्यापार युद्धबाट प्रभावित हुने जोखिम छ ।

“अन्तर–आसियान आर्थिक एकीकरणलाई गति दिन र हाम्रो बजार र साझेदारीलाई विविधीकरण गर्न तत्काल र सामूहिक कार्यबिना, हामी विभाजित र द्रुत रूपमा विकसित हुँदै गरेको वैश्विक अर्थतन्त्रमा हाम्रो स्थान छोड्ने जोखिममा छौँ”, काओले भने ।

उत्पादन शक्ति र आसियान सदस्य भियतनाममाथि अमेरिकामा निर्यात गर्ने वस्तुहरूमा ४६ प्रतिशत भन्सार महसुल लगाइएको छ भने ठूला पश्चिमी ब्रान्डहरूका लागि कम लागतको कपडाको प्रमुख उत्पादक छिमेकी कम्बोडियामाथि ४९ प्रतिशत भन्सार शुल्क लगाइएको छ ।

भारी भन्सार लगाइएका अन्य आसियान राष्ट्रहरूमा लाओस (४८ प्रतिशत), म्यान्मा (४४ प्रतिशत), थाइल्यान्ड (३६ प्रतिशत) र इन्डोनेसिया (३२ प्रतिशत) छन् । दक्षिणपूर्व एसियाको तेस्रो ठूलो अर्थतन्त्र मलेसियामाथि २४ प्रतिशतको कम भन्सार लगाइएको छ ।

ब्रुनाईले पनि २४ प्रतिशत भन्सारको सामना गर्दछ भने फिलिपिन्समाथि १७ प्रतिशत र सिङ्गापुरमाथि १० प्रतिशत भन्सार लगाइएको छ।

आसियानको जनसङ्ख्या ६५ करोडभन्दा बढी छ तर लाओस र कम्बोडिया जस्ता गरिब देशहरूदेखि वित्तीय केन्द्र सिंगापुर जस्ता धनी देशहरूसम्म यसका सदस्यहरू आर्थिक विकासका विभिन्न चरणमा छन् । 

चिनियाँ सामानमा १०४ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

वासिङ्टन ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दर्जनौँ अर्थतन्त्रमाथि दण्डात्मक भन्सार दर बुधबार लागू भएको छ।

यसमा चिनियाँ सामानहरूमा १०० प्रतिशतभन्दा बढी कर समावेश छ र यसले विनाशकारी विश्वव्यापी व्यापार युद्धलाई नाटकीय रूपमा बढाएको छ।

सप्ताहन्तदेखि लागू भएका व्यापक १० प्रतिशत भन्सार दरहरूले विश्व अर्थतन्त्रलाई हल्लाएपछि बुधबार बिहान १२.०१ बजे (०४०१ जिएमटी) युरोपेली सङ्घ (इयु) वा जापानजस्ता निर्यातकहरूबाट संयुक्त राज्य अमेरिकामा आयातमा दरहरू थप बढेका छन्।

वासिङ्टनको शीर्ष आर्थिक प्रतिद्वन्द्वी तर प्रमुख व्यापारिक साझेदार समेत रहेको चीन सबैभन्दा बढी प्रभावित भएको छ। ट्रम्प ह्वाइट हाउसमा फर्केपछि चिनियाँ उत्पादनहरूमा लगाइएका भन्सार दरहरू अहिले आश्चर्यजनक रूपमा १०४ प्रतिशत पुगेको छ।

ह्वाइट हाउसले जापान र दक्षिण कोरियाजस्ता सहयोगीहरूलाई प्राथमिकता दिने भन्दै मङ्गलबार आफ्नो सरकारले व्यापारिक साझेदारहरूसँग ‘अनुकूल सम्झौताहरू’ मा काम गरिरहेको ट्रम्पले बताए।

उनका शीर्ष व्यापार अधिकारी जेमिसन ग्रिरले पनि सिनेटलाई अर्जेन्टिना, भियतनाम र इजरायलले आफ्नो कर घटाउने प्रस्ताव गरेको हो।

मङ्गलबार राति साथी रिपब्लिकनहरूसँगको रात्रिभोजमा ट्रम्पले देशहरू सम्झौता गर्न ‘आतुर’ रहेको बताउनुभयो। “म तपाईंलाई भन्दैछु, यी देशहरू मलाई चाट्दै हामीलाई फोन गरिरहेका छन्”, उनले भने।

तर बेइजिङले पछि हट्ने कुनै सङ्केत देखाएको छैन। चीनले व्यापार युद्ध ‘अन्त्यसम्म’ लड्ने र आफ्नो हितको रक्षा गर्न प्रतिकारको वाचा गरेको छ।

चीनले अमेरिकी सामानमा लगाएको ३४ प्रतिशत कर बिहीबारदेखि लागु हुने भएको छ।

अमेरिकी राष्ट्रपतिले आफ्नो नीतिले कम्पनीहरूलाई संयुक्त राज्य अमेरिकामा स्थानान्तरण गर्न बाध्य पार्दै अमेरिकाको हराएको उत्पादन आधारलाई पुनर्जीवित गर्ने विश्वास गर्नुभएको छ।

तर धेरै व्यापार विशेषज्ञहरू र अर्थशास्त्रीहरूले यो कति चाँडो – यदि कहिल्यै – हुन सक्छ भन्नेमा प्रश्न उठाउँदै भन्सार दरले मूल्य बढाउँदा उच्च मुद्रास्फीतिको चेतावनी दिन्छन्।

संखुवासभामा शैक्षिकसत्र सुरु नहुँदै पुगे पाठ्यपुस्तक

किमाथाङ्का । यस वर्ष शैक्षिकसत्र सुरु हुनु अगावै जिल्लामा पाठ्यपुस्तक आइपुगेको छ । जिल्लाका १० वटै स्थानीय तहमा शैक्षिकसत्र अगावै पाठ्यपुस्तक पुगेको हो ।

भौगोलिक विकटताका कारण दुर्गम गाउँका विद्यालयमा पाठ्यपुस्तक समयमा नपुग्ने समस्या हटाउन पुस्तक व्यवसायीले पाठ्यपुस्तक समय अगावै उपलब्ध गराएका हुन् ।

यसअघिका वर्षहरूमा पाठ्यपुस्तक समयमा नपुग्ने सङ्खुवासभामा यो पटक नयाँ शैक्षिकसत्र सुरु नहुँदै गाउँगाउँमा पाठ्यपुस्तक पुगिसकेका बिक्रेताले जनाएका छन् ।

सदरमुकाम खाँदबारीका पुस्तक व्यवसायीले सरकारी बिक्री केन्द्र स्थापना गरेर सामुदायिक विद्यालयलाई पाठ्यपुस्तक बिक्री गरिरहेका व्यवसायी कृष्ण भण्डारीले बताए । सामूहिक लगानीमा बिक्रीकक्ष सञ्चालन गरी पाठ्यपुस्तक उपलब्ध गराउन थालिएको उनको भनाइ छ ।

भण्डारीले जिल्लाका १० वटै स्थानीय तहमा ८० प्रतिशत बढी पुस्तक पुगिसेको जानकारी दिए । उनका अनुसार अन्य स्थानीय तहका विद्यालयले पनि पाठ्यपुस्तक लैजाने तयारी गरिरहेका छन् ।

सङ्खुवासभामा प्रतिकक्षा दुई हजार ५०० सयका दरले पुस्तक आवश्यक पर्दछ । सरकारले जनक शिक्षा सामग्री केन्द्रबाट पुस्तक छपाइ गरेकाले यो वर्ष पुस्तक वितरण सहज भएको व्यवसायीको भनाइ छ । यो वर्ष जिल्लामा वैशाख १ गतेभित्र विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याउने गरी वितरण भइरहेको भण्डारीले बताए ।

प्रधानमन्त्रीद्वारा पाणिनि सम्मेलन उद्घाटन

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्घाखाँचीको पाणिनि गाउँपालिकामा आयोजित ऐतिहासिक पाणिनि सम्मेलनको बुधबार एक समारोहबीच उद्घाटन गरेका छन् ।

दुईदिनसम्म चल्ने  सम्मेलनमा संस्कृत भाषाका विद्वान्, धर्मगुरु, शोधकर्ता, नीतिनिर्मातालगायतको उपस्थिति रहेको छ । कार्यक्रमको आयोजना लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद् तथा पाणिनि गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाले गरेका हुन् ।

यसअघि प्रधानमन्त्री ओलीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरेका थिए । संस्कृत भाषा, प्राचीन ज्ञान सभ्यता र पर्यटनको सम्भावनाका विषयमा सम्मेलनमा छलफल हुने बताइएको छ । र

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि व्यवसायीको माग

भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको माग राख्दै रूपन्देहीका उद्योगी व्यवसायीले ध्यानाकर्षण गराएका छन् ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देही, सिद्धार्थ सञ्जाल रुपन्देही र चेम्बर अफ कमर्स, रुपन्देहीले बुधबार भैरहवामा पत्रकार सम्मेलन गरी चरणबद्ध आन्दोलनका कार्यक्रमको घोषणा गरेका छन् ।

आन्दोलनमा विमानस्थल अगाडि धर्नालगायतका कार्यक्रम सार्वजनिक गरिएको छ । उद्योगी व्यवसायीहरुले विमानस्थल सञ्चालनका लागि सबै मिलेर निर्णायक आन्दोलन गर्ने जनाएका हुन् । सिद्धार्थ सञ्जाल रूपन्देहीको अगुवाइमा हुने आन्दोलनमा जिल्लाका सबै सङ्घ–संस्था रहने गरी संयुक्त आन्दोलन सङ्घर्ष समितिसमेत गठन गरिएको छ ।

पहिलो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत रुपन्देहीमा रहेका विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिका साथै सङ्घ र प्रदेशमा निर्वाचित जनप्रतिनिधिसँग छलफल गरी प्रतिबद्धता लिने, सम्बन्धित एयरलाइन्सका प्रमुखसँग छलफल गर्ने समितिका संयोजक तथा सिद्धार्थ सञ्जालका अध्यक्ष अनिलकुमार ज्ञवालीले बताए ।

त्यस्तै सम्पूर्ण सङ्घ–संस्था, राजनीतिक दल, आम सर्वसाधारण, जनप्रतिनिधिलगायत हजारौँको सङ्ख्यामा उपस्थिति भई विमानस्थल अगाडि अल्टिमेटम दिँदै शान्तिपूर्ण विरोध, प्रधानमन्त्री, पर्यटन, अर्थ, श्रम, स्वास्थ्यमन्त्रीलगायत सम्बन्धित मन्त्रालयका सचिव र नेपाल वायुसेवा निगमका प्रमुखहरुसँग आन्दोलनका कार्यक्रमबारेमा ध्यानाकर्षण गराइने अध्यक्ष ज्ञवालीले जानकारी दिए ।

त्यसैगरी कालोपट्टी बाँधेर दबाबमूलक विरोध प्रदर्शन तथा शान्तिपूर्ण -याली प्रदर्शन तथा बजार परिक्रमा गरिने उनले बताए । मागको सुनुवाइ नभए दोस्रो चरणको आन्दोलनअन्तर्गत विमानस्थलको गेट अगाडि नियमित धर्ना तथा विरोधसभा र यति गर्दा पनि अन्तरराष्ट्रिय उडान सञ्चालन नभए आन्तरिक र बाह्य विमानस्थलको अगाडि विरोध गरिने ज्ञवालीले बताए ।

विमानस्थल सञ्चालनका लागि सिद्धार्थनगर नगरपालिकासहित यहाँ रहेका सम्पूर्ण पालिकाले पहल गर्नुपर्ने उनको माग छ । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट सञ्चालनका लागि यहाँबाट उडान भरिरहेका वायुसेवा कम्पनीले गर्मीयामका लागि ‘समर शेड्युल’ लिएका छैनन् । यसले अब यहाँबाट सातामा एक दिन नेपाल एयरलाइन्सको विमानबाहेक अन्य अन्तरराष्ट्रिय उडान हुने छैनन् । भैरहवाबाट उडान हुँदै आएका जजिरा एयरलाइन्स, फ्लाई दुबई, थाई एयर एसियाले समर शेड्युल लिएका छैनन् ।

गुणस्तरीय शिक्षाको लागि शिक्षा क्षेत्रलाई दलगत राजनीतिबाट मुक्त गर्न रास्वपाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संविधान बनेको यतिका वर्षसम्म पनि शिक्षा ऐन नबन्नु लज्जास्पद भएको बताएको छ । बुधबार रास्वपाको केन्द्रीय शिक्षा विभाग प्रमुख सुमना श्रेष्ठले विज्ञप्ति जारी गरी ऐन जारी गर्नुको साटो व्यवस्थापिकालाई देखाएर सरकार भागेको भन्दै आपत्ति जनाएकी हुन् ।

उनले शिक्षा विधेयकमा वृहत छलफल हुनुपर्ने र यस्तो छलफल सडकबाट मात्र सम्भव नहुने बताएकी छन् । उनले भनेकी छन्, ‘शैक्षिक गुणस्तरको परिभाषा के हो र गुणस्तरको लागि चाहिने संरचना के के हुन् भनी शिक्षक, विद्यार्थी, अभिभावकहरु र सम्पूर्ण समाजले खबरदारी गर्न सक्ने गरी परिभाषित हुनुपर्छ । गुणस्तरको लागि चाहिने स्रोत कति हो, त्यसलाई सुनिश्चित कसरी, कसले र कुन तरिकाबाट गर्ने स्पष्ट दिशानिर्देश हुनु पर्छ । यसमा शिक्षा विधेयकमा वृहत् छलफल हुनै पर्छ । यस्तो छलफल सडकबाट मात्र सम्भव छैन ।’

त्यसैगरी उनले शिक्षकहरुलाई पनि राजनीतिक दलको सदस्यता त्याग्न आग्रह गरेकी छन् । विज्ञप्तिमा भनिएको छ, ‘शिक्षा क्षेत्रमा दलगत राजनीतिक हस्तक्षेप र दलीय संक्रमण भएकोले नै शैक्षिक गुणस्तर खस्किएको हो, शिक्षकको सामाजिक प्रतिष्ठामा आँच पुगेको हो, शिक्षकहरुको मनोबल गिरेको हो र परिणाम स्वरूप शिक्षण पेशाप्रति नै आकर्षण घटेको हो भन्ने हाम्रो ठम्याइ छ । शिक्षा ऐनको दफा १६ मा भएको स्पष्ट प्रावधानलाई आत्मसात गरेर शिक्षकहरुलाई पनि राजनीतिक दलको सदस्यता त्याग्न आग्रह गर्छौँ । गुणस्तरीय शिक्षाको लागि शिक्षा क्षेत्र नितान्त दलगत राजनीति मुक्त हुनै पर्छ ।’

चलचित्र ‘कुस्ती’ को छायाङ्कन सकियो

काठमाडौँ । छायाङ्कन सुरु भएको ३९ औँ दिनमा चलचित्र ‘कुस्ती’ को छायाङ्कन सकिएको छ ।

काठमाडौँ तथा आसपासका क्षेत्रमा छायाङ्कन गरिएको चलचित्रमा प्रेमसँगै स्वभाव भिन्नताले एकसाथ जीविकोपार्जन गर्न सङ्घर्ष गर्न बाध्य जोडीको कथालाई देखाइने निर्माता तथा निर्देशक अनिल योञ्जनले जानकारी दिए ।

“कलाकार र प्राविधिकको मेहनतका कारण हामीले निर्धारित समयमा छायाङ्कन सम्पन्न गर्न सफल भयौँ । एक अर्कासँग छुट्टिएर बस्न नसक्ने र सँगै रहन पनि नसक्ने भावनाको मधुर यात्रालाई यस चलचित्रमा समेटेका छौँ । भावनात्मकतासँगै हाँस्यरसले भरिएको प्रेम कथानक चलचित्र तयार गरेका छौँ”, उनले भने ।

चलचित्रमा मिरुना मगर, धीरज मगर, पुस्कर गुरुङ, भोलाराज सापकोटा, दीकिला शेर्पा, रवीन्द्र झा, पुस्कर गुरुङ, राजाराम पौडेल, किरण केसी, लुनिभा तुलाधर, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ, सुवर्ण थापालगायत कलाकारले अभिनय गरेका छन् ।

अभिनेत्री मगरले लेखिएको कथालाई चलचित्रको पर्दामा उतार्न कुनै कसर बाँकी नराखिएको बताइन् । “सहरको एक आधुनिक जोडीको कथालाई चलचित्रमा दर्शकले हेर्न पाउनु हुनेछ । बाहिरबाट हेर्दा सामान्य देखिने विषयले एउटा दम्पतिको जीवनमा पार्ने असरलाई हामीले प्रस्तुत गर्नेछौँ”, उनले भनिन् । उनले चलचित्र आगामी वर्ष विसं २०८२ को भदौमा प्रदर्शन हुने बताइन् ।

चलचित्रमा उमङ्ग शाहीले छायाङ्कन, मित्रदेव गुरुङले सम्पादन, दीपक शर्मा, अनिल योञ्जन, कल्याण सिंहले सङ्गीत सिर्जना, शिशिर खातीले नृत्य निर्देशन गरेका छन् ।

सडक निर्माणले मालिकाधुरी जाने यात्रा अवधि छोटियो

बेनी । म्याग्दी जिल्लाको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल मालिकाधुरी जाने यात्राअवधि छोटिएको छ । मालिका गाउँपालिका र रघुगङ्गा गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मालिकाधुरीमा पुग्न रघुगङ्गा गाउँपालिका-६ ठाडाखानीबाट सडक निर्माण गरिएपछि यात्रा छोटिएको हो ।

ठाडाखानीबाट सरघारी हुँदै जोगीदेउराली डाँडासम्म सडक निर्माण भएको रघुगङ्गा-६ का वडासदस्य टेकजित छन्त्यालले जानकारी दिए । “पहिले ठाडाखानीबाट तीन घण्टा पैदलयात्रा गर्नुपथ्र्यो, अहिले सडक मार्ग बनेपछि यात्राअवधि छोटिएर एक घण्टामा पुग्न सकिने भएको छ”, उनले भने ।

चालु आर्थिक वर्षमा गाउँपालिकाबाट विनियोजन भएको रु आठ लाख बजेटमा समुदायको अगुवाइमा थप रु १२ लाख जुटाएर सडक निर्माण गरिएको उपभोक्ता समितिले जनाएको छ ।

सडक निर्माण सुरु भएको पाँच वर्ष भइसक्दा समेत ट्याक निर्माणले पूर्णता पाउन नसकेपछि देश तथा विदेशमा रहेका ठाडाखानीवासीबाट चन्दा सङ्कलन गरेर सडकलाई जोगी देउराली डाँडासम्म पु-याइएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मनबहादुर छन्त्यालले बताए ।

गत वर्ष गाउँपालिकाबाट रु १० लाख र स्थानीयवासीको चन्दा सङ्कलनबाट रु आठ लाख बजेट जुटाएर सरघारीसम्म सडकको ट्याक निर्माण गरिएको थियो । अहिले सडकको ट्याक पुगेको देउरालीधुरीमा सवारीसाधन पार्किङका लागि जग्गा सम्माइएको उनले जानकारी दिए।

प्रसिद्ध धार्मिकस्थल मालिकाधुरी पुग्ने सडकको ट्याक निर्माणमा पालिकाको बजेटमा श्रमदान र सहयोग जुटाएर लक्ष्यभन्दा बढी काम गरी उपभोक्ता समितिले उदाहरणीय काम गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले बताए ।

“हामीले सडकको अनुगमन पनि गरेका छौँ, पालिकाको बजेटभन्दा बढी रकम समुदायस्तरबाट जुटाएर निर्माणमा खर्च गरेको पाएका छौँ, विकासमा सरकार र समुदायको साझेदारीले उल्लेख्य उपलब्धि हासिल गर्न सकिन्छ भन्ने उहादरण ठाडाखानीवासीले दिएका छन्”, उनले भने । उनका अनुसार मालिकाधुरी जानका लागि मालिका गाउँपालिकाको बिमबाट सडक निर्माण भइरहेको छ ।

समुद्री सतहबाट तीन हजार ४०० मिटरको उचाइमा अवस्थित मालिकाधुरीमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले सडकको पहुँचसँगै अन्य पर्यटन पूर्वाधार निर्माणमा जोड दिइएको गाउँपालिका कार्यालयले जनाएको छ ।

म्याग्दीका ३५ भन्दा बढी गाउँ देख्न सकिने मालिकाधुरीबाट सिस्ने, गुर्जा, मानापाथी, धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लुलगायत २० भन्दा बढी हिमशृङ्खलाको लहरै दृष्यावलोकन गर्न सकिन्छ भने यहाँबाट सूर्योदयको दृष्य मनमोहक देखिन्छ ।

मालिका क्षेत्रको जङ्गलमा पाइने लालीगुराँस, वन्यजन्तु, पशुपंछी, विभिन्न प्रजातिका फूल, जडीबुटी र वन पैदावार थप आकर्षण हुन् । पर्यटकीयस्थलको रूपमा विकास गर्न लागिएको मालिकाधुरीमा पूजा गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ । चण्डी पूर्णिमा, ज्येष्ठी पूर्णिमा, भाइटीका र बालाचर्तुदर्शीमा यहाँ विशेष पूजा गरिन्छ ।

मालिका, कालिका र जाल्पादेवीको मूर्ति रहेको मालिका मन्दिरमा भाकल पूरा भएमा बोका र परेवाको बलि चढाउने चलन रहेको स्थानीय बताउँछन् ।

विसं १९१० देखि पूजाआजा हुने गरेको इतिहास रहेको मालिकामा पछिल्लो समय बलिको विकल्पमा नरिबल चढाउने चलन बसाइएको छ । भगवान् शिव र पार्वती भ्रमणमा आएका बेला पार्वतीको माला खसेकाले मालिका नाम रहन गएको किंबदन्ती रहेको स्थानीय ज्येष्ठ नागरिक बताउँछन् ।

नेपालको आर्थिक वृद्धिदर चार दशमलव चार प्रतिशत रहने एडिबीको अनुमान

काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले सन् २०२५ मा एसिया क्षेत्रको आर्थिक वृद्धिदर चार दशमलव नौ र नेपालको आर्थिक वृद्धिदर चार दशमलव चार प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको छ ।

एडिबीले बुधबार ‘एसियन डेभलपमेन्ट आउटलुक–२०२५’ प्रतिवेदन सार्वजनिक गर्दै एसियाली मुलुकहरूको आर्थिक वृद्धिदर र मुद्रास्फीतिबारे प्रक्षेपण गरेको हो ।

अमेरिकाले तय गरेको भन्सार नीति, भूराजनीतिक तनावलगायत कारण एसिया र प्रशान्त क्षेत्रमा व्यापारिक अनिश्चितताले आर्थिक वृद्धिदर तथा मुद्रास्फीतिमा प्रभाव पार्ने प्रतिवेदनमा उल्लेख छ ।

अमेरिकाले नयाँ भन्सार दर तोकेपछि यसले विश्वभर व्यापारिक अनिश्चितता कायम गरेको एडिबीले जनाएको छ । अमेरिकी भन्सार शुल्कको क्षेत्रीय प्रभाव विश्लेषण गर्दै एडिबीले एसिया र प्यासिफिक क्षेत्रमा सन् २०२५ मा आर्थिक वृद्धिदर चार दशमलव नौ प्रतिशत र सन् २०२६ मा चार दशमलव सात प्रतिशतमा खुम्चिने अनुमान गरेको छ ।

त्यस्तै, यस क्षेत्रको मुद्रास्फीति सन् २०२५ मा दुई दशमलव तीन र सन् २०२६ मा दुई दशमलव दुई प्रतिशतमा घट्ने प्रक्षेपण गरिएको छ । सन् २०२४ मा एसिया क्षेत्रको मुद्रास्फीति दुई दशमलव छ प्रतिशत थियो ।

नेपालको मुद्रास्फीति भने सन् २०२५ मा पाँच दशमलव दुई र सन् २०२६ मा पाँच प्रतिशत रहने अनुमान गरिएको छ । गत असोजमा आएको बाढीपहिरोका कारण आपूर्ति शृङ्खलामा असर पर्दा मुद्रास्फीतिमा त्यसको प्रभाव देखिएको एडिबीले जनाएको छ । सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर पाँच दशमलव एक प्रतिशत रहने अनुमान गरिएको छ ।

“अप्रिलको सुरुवातमा घोषणा गरिएका अमेरिकी भन्सार शुल्कहरूको पूर्ण कार्यान्वयन र थप अमेरिकी व्यापार नीति परिवर्तनले आर्थिक वृद्धिदरमा गिरावट ल्याउन सक्ने अनुमान गरिएको छ । व्यापार क्षेत्रमा थप अनिश्चिततता देखिन सक्छ”, प्रतिवेदनमा भनिएको छ ।

साथै विस्तारमुखी वित्तीय नीतिहरूले मुद्रास्फीति बढाउन सक्ने अनुमान गरिएको छ । मध्यपूर्व क्षेत्रमा देखिएको तनावका कारण आपूर्ति शृङ्खलामा अवरोध, खाद्य र ऊर्जा मूल्यमा वृद्धि, विश्वव्यापी आर्थिक अनिश्चितता युक्रेन–रुसको युद्धबाट सिर्जित समस्यालगायत कारणले जोखिम बढ्ने एडिबीले अनुमान गरेको छ ।

ट्रम्पको भन्सार दर लागु भएपछि भारतको केन्द्रीय बैंकद्वारा ब्याज दरमा कटौती

मुम्बई । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर लागु भएपछि र नीति निर्माताहरूले ‘विश्वव्यापी आर्थिक अवस्थालाई चुनौतीपूर्ण’ भन्दै चेतावनी दिएपछि भारतको केन्द्रीय बैंकले बुधबार विश्वको पाँचौँ ठूलो अर्थतन्त्र भारतमा ब्याज दर घटाएको छ ।

यो वर्षको दोस्रो यस कटौतीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक भन्सार दरको प्रभावसँग जुध्दै गरेको सुस्त अर्थतन्त्रलाई बढावा दिने लक्ष्य राखेको छ ।

भारतीय रिजर्भ बैंक (आरबिआई) ले बेन्चमार्क रेपो दर २५ आधार अङ्कले घटाएर छ प्रतिशत कायम गरिएको बताएको छ । बेन्चमार्क रेपो दर आरबिआईले वाणिज्यिक बैङ्कहरूलाई ऋण दिने स्तर हो ।

केन्द्रीय बैंकको निर्णय विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको राष्ट्रका लागि ट्रम्प प्रशासनको २६ प्रतिशतको पारस्परिक भन्सार दर लागू भएकै दिन आएको हो ।

पछिल्ला केही महिनामा मुद्रास्फीतिको चिन्तालाई कम गर्न आरबिआईले भारतीय अर्थतन्त्रलाई सुदृढ पार्नमा ध्यान केन्द्रित गर्न अनुमति दिएको छ र यसको वृद्धि विगत केही त्रैमासिकमा सुस्त भएको छ ।

ट्रम्पको संरक्षणवादी व्यापार नीतिहरूले वृद्धिको दबाब बढाउने र भारतीय नीति निर्माताहरूका लागि चुनौती प्रस्तुत गर्ने सम्भावना छ ।

नयाँदिल्ली एउटा उत्पादन शक्ति नभए तापनि अमेरिकाको उच्च भन्सार दरले बहुमूल्य रत्न, गहना र समुद्री खाद्य लगायत विभिन्न क्षेत्रमा भारतको अर्बौं डलरका निर्यातलाई असर गर्ने विशेषज्ञहरूको विश्वास छ ।

– अनिश्चितता –

ट्रम्पको भन्सार दर अभियानले भारतको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिमा प्रभाव पार्ने अर्थशास्त्रीहरूले अनुमान गरेका छन् । गोल्डम्यान स्याक्सका विश्लेषकहरूले चालु आर्थिक वर्षको अनुमान छ दशमलव तीन प्रतिशतबाट घटाएर छ दशमलव एक प्रतिशत पुर्याएका छन् ।

आरबिआईको मौद्रिक नीति समिति (एमपिसी) ले एक वक्तव्यमा ‘हालको व्यापार भन्सार सम्बन्धित उपायहरू’ ले ‘अनिश्चितताहरू बढाएको’ र ‘क्षेत्रहरूमा आर्थिक दृष्टिकोण’ लाई अस्पष्ट बनाएको बताएको छ ।

“यस्तो चुनौतीपूर्ण विश्वव्यापी आर्थिक अवस्थामा, सौम्य मुद्रास्फीति र मध्यम वृद्धिको दृष्टिकोणले एमपिसीले विकासलाई समर्थन गर्न जारी राख्न माग गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।

भारतको केन्द्रीय बैंकले सन् २०२४ फेब्रुअरीमा लगभग पाँच वर्षमा पहिलो पटक ब्याज दरहरू कटौती गरेको थियो । उक्त कटौतीले अर्थतन्त्रलाई बढावा दिन खोजेको थियो तर यो सहरी उपभोक्ता भावना, सुस्त उत्पादन क्षेत्र र कम सरकारी खर्चले अवरुद्ध भएको छ ।

गत आर्थिक वर्षमा भारतीय अर्थतन्त्र छ दशमलव पाँच प्रतिशतले बढ्ने अनुमान गरिएको छ । यो कोभिड–१९ महामारीपछिको सबैभन्दा सुस्त गति र सन् २०२३–२४ मा नौ दशमलव दुई प्रतिशतभन्दा कम हो ।

नयाँदिल्लीले अहिलेसम्म ट्रम्पको अव्यवस्थित व्यापार नीतिहरूमा सावधानीपूर्वक प्रतिक्रिया दिएको छ ।
गत हप्ता वाणिज्य विभागले ट्रम्पको भन्सार शुल्क वृद्धिबाट प्रतिद्वन्द्वी उत्पादन प्रतिस्पर्धीहरू बढी प्रभावित भएपछि ‘प्रभाव’ र ‘अवसर’ दुवैको परीक्षण गरिरहेको बताएको थियो ।

नयाँदिल्ली र वासिङ्टनले हाल द्विपक्षीय व्यापार सम्झौताका लागि वार्ता गरिरहेका छन् । यसको पहिलो किस्ता उनीहरूले यो वर्षको शरद ऋतुसम्ममा अन्तिम रूप दिने आशा गरेका छन् ।

उत्तरी चीनको नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु

बेइजिङ । उत्तरी चीनको हेबेई प्रान्तको एक नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु भएको बेइजिङको सरकारी समाचार एजेन्सी सिन्ह्वाले बुधबार जनाएको छ ।

राजधानी बेइजिङबाट करिब १८० किलोमिटर उत्तरपूर्वमा रहेको लोङहुआ काउन्टीको नर्सिङ होममा स्थानीय समयअनुसार मङ्गलबार राति ९ बजे (१३०० जीएमटी) आगलागी भएको हो ।

बुधबार बिहान ३ बजेसम्म २० जनाको मृत्यु भएको पुष्टि भएको सिन्ह्वाले जनाएको छ । ‘नर्सिङ होममा रहेका अन्य वृद्धवृद्धालाई थप अवलोकन र उपचारका लागि नजिकैको अस्पतालमा सारिएको छ’, सरकारी समाचार एजेन्सीले जनाएको छ । सिन्ह्वाका अनुसार आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।

नर्सिङ होमका जिम्मेवार एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको काउन्टी सरकारले जनाएको छ । चीनमा शिथिल भवन संहिता र कार्यस्थल सुरक्षाप्रति अक्सर लापरवाह दृष्टिकोणका कारण घातक आगलागीहरू तुलनात्मक रूपमा सामान्य छन् ।

जनवरीमा बेइजिङको उत्तरपश्चिममा रहेको झाङजियाकोउ सहरको एक तरकारी बजारमा भएको आगलागीमा आठ जनाको मृत्यु र १५ जना घाइते भएका थिए । त्यसभन्दा एक महिनाअघि पूर्वी चीनको रोङचेङ सहरमा रहेको एक निर्माण स्थलमा भएको आगलागीमा नौ जनाको मृत्यु भएको थियो ।

रविमाथि प्रहरीले ज्यादती गरेको भन्दै रास्वपाले गरायो मानव अधिकार आयोगको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेमाथि प्रहरीले ज्यादती गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ ।

कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रमुख सचेत सन्तोष परियारलगायतका नेताहरुले आयोगको ध्यानाकर्षण गराएका हुन् । उनीहरुले लामिछानेको मानव अधिकार रक्षाका लागि आयोग पदाधिकारीको ध्यानाकर्षण गराए ।

बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा गत शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

उच्च अदालतले जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा छाड्न दिएको आदेश बदर गर्दै पुर्पक्षमा पठाउन आदेश दिएपछि सोही दिन राति लामिछानेलाई प्रहरीले काठमाडौंस्थित निवासबाटै पक्राउ गरेको थियो ।

लामिछानेलाई पक्राउ पुर्जी विना नियन्त्रणमा लिएको र प्रहरीले ज्यादती गरेको भन्दै रास्वपाले विरोध जनाउँदै आएको छ ।

मुख्यमन्त्रीकप राष्ट्रिय भलिबलको पहिलो सेमिफाइलमा गण्डकी विजयी

भोजपुर । भोजपुर नगरपालिका–७ कोदार रङ्गशालामा जारी मुख्यमन्त्रीकप राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत बुधबार भएको पहिलो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई ३–० सेटले हराउँदै गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको छ ।

खेलको पहिलो, दोस्रो र तेस्रोे सेट लगातार २५–२१, २५–१९ र २५–१५ अङ्कको फरकमा गण्डकी प्रदेशले बागमतीलाई पराजित गरेको हो । आजै हुने दोस्रो सेमिफाइल खेल सुदूरपश्चिम र कोशी प्रदेशका बीचमा हुने आयोजक जिल्ला भलिबल सङ्घले जनाएको छ ।

बिहीबारसम्म सञ्चालन हुने प्रतियोगिताका लागि कोशी प्रदेश सरकारअन्तर्गत प्रदेश खेलकुद विकास बोर्डले २० लाख सहयोग गरेको छ । प्रतियोगितमा मधेस र कर्णालीबाहेक कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका खेलाडीको सहभागिता छ ।

प्रतियोगितामा प्रथम हुनेले तीन लाख, दोस्रोले एक लाख ७५ हजार, तेस्रोले ८० हजार र चौथो हुने टोलीले ४० हजार पुरस्कार प्राप्त गर्ने आयोजक जिल्ला भलिबल सङ्घका अध्यक्ष विन्द्रकुमार तामाङले जानकारी दिए । उनका अनुसार पाँच विधामा विधागत रूपमा उत्कृष्ट खेलाडीलाई नगद १० हजारका दरले पुरस्कार प्रदान गरिने छ ।

संरक्षण क्षेत्रका १४३ जनालाई क्षतिपूर्ति प्रदान गरिने

दार्चुला । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले संरक्षण क्षेत्रमा वन्यजन्तुबाट भएको क्षतिबापत १४३ जनालाई रकम वितरण गर्ने भएको छ ।

संरक्षण क्षेत्रका नागरिकलाई वन्यजन्तुबाट भएको पशुधन, अन्नबाली र मानवीय क्षतिको परिपूर्तिस्वरुप रकम प्रदान गरिने उक्त कार्यालयका सूचना अधिकारी मनोज अवस्थीले बताए ।

चालु आर्थिक वर्षमा हालसम्म १०५ जनालाई क्षतिबापतको रकम वितरण गरिएको तथा अन्य ३८ जनालाई रकम दिन सिफारिस गरिएको उनले जानकारी दिए । कार्यालयले गत आर्थिक वर्षमा १४२ जनालाई १५ लाख रुपैयाँ क्षतिपूर्ति दिएको थियो ।

खेलाडी अक्षयकोषमा ३१ बढी लाख भन्दाबढी सङ्कलन

कास्की । अग्रज खेलाडीहरूको संस्था नेपाल भूतपूर्व खेलाडी मञ्च पोखराले स्थानीय तहबाट प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले सुरु गरेको खेलाडी अक्षयकोषमा हालसम्म ३१ लाख ५४ हजार २५६ सङ्कलन भएको छ ।

मञ्चले पोखरा म्याराथनको प्रवद्र्धन, मासिक तथा साप्ताहिक दौड प्रतियोगिता सञ्चालन र गाउँगाउँमा लुकेर रहेका खेलाडीको पहिचान गरी प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले गत माघदेखि कोष स्थापना अभियान सुरुवात भएको हो ।

अक्षयकोषमा देश तथा विदेशमा छरिएर रहेका मञ्चका आजीवन सदस्य र दिवङ्गत आजीवन सदस्यका परिवारहरूबाट आफ्ना स्वजनको स्मृतिमा रकम प्रदान गर्ने गरिएको मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिए ।

उनका अनुसार मञ्चले यसै वर्ष अक्षयकोषमा दुई करोडको पुर्याउने योजना बनाएको छ । अध्यक्ष गुरुङले भने, “यो अक्षयकोष केवल रकम सङ्कलनका लागि मात्र होइन, यसमा एथलेटिक्स खेलको विकासका लागि युवा खेलाडी उत्पादनसँगै मञ्चले सुरु गरेको साप्ताहिक/मासिक दौड र पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि हो ।”

यसैगरी गत फागुन ३ गते पोखरामा सम्पन्न भएको १९औँ संस्करणको पोखरा अन्तरराष्ट्रिय म्याराथनमा १२ लाख २९ हजार ५११ बचत भएको छ । मञ्चका कोषाध्यक्ष हरिबहादुर बरुवालले आम्दानी ९३ लाख ७० हजार ६८९ तथा खर्च ८१ लाख ४१ हजार १७७ भएको जानकारी दिए ।

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा बचत भएको सो रकम हालसम्मकै सर्वाधिक हो । कुनै बेला आर्थिक अभावका कारणका तीन–तीनपटक स्थगन पोखरा म्याराथनले कोभिडपछिका तीन वर्ष घाटासमेत व्यहोरेको जनाइएको छ ।

पत्रकार रजकका परिवारलाई ५० हजार सहयोग

काठमाडौँ । समाजसेवी शोभित उप्रेतीले तीनकुनेमा हालै भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई ५० हजार सहयोग गरेका छन् ।

समाजसेवी उप्रेतीले बुधबार बिहान पत्रकार रजकको ताहचलस्थित निवासमा पुगेर उनकी श्रीमती सुजनलाई उक्त रकम प्रदान गरेका हुन् ।

जंगल जोगाउन कैलालीमा उपभोक्तालाई ग्यास सिलिण्डर र चुल्हो वितरण

कैलाली । भजनी नगरपालिका-९ का हेमराज चौधरीको आर्थिक अवस्था कमजोर छ । उनलाई खाना पकाउन दाउरा चाहिन्थ्यो । दाउराको आवश्यकता उनले नजिकैको सामुदायिक वनबाट टार्दै आएका थिए। उनी दाउराको चुल्होबाट मुक्त भएका छन् । ओम शान्ति सामुदायिक वनले ग्यास सिलिण्डरसँगै चुल्हो पनि वितरण गरेपछि उनको मुहारमा चम आएको छ ।

सामुदायिक वनले विपन्न उपभोक्तालाई ग्यास र चुल्हो वितरण गरेसँगै हेमराजजस्तै १८० परिवार दाउराको निर्भरताबाट मुक्त भएका छन् । हेमराज भन्छन्, “ग्यास चुल्हो पाएपछि त्यसैको सदुपयोग गर्छौँ । जंगल गएर दाउरा खोज्नुपर्ने बाध्यता अन्त्य भएको छ ।”

वर्षौँदेखि दाउरा बालेर खाना पकाउनुपर्ने बाध्यता अन्त्य भएपछि सामुदायिक वनकी उपभोक्ता मधुदेवी चौधरी पनि दङदास छिन्। “दाउराको जोहो गर्ने दिन गए । अब दाउरा खोज्ने समय अन्य काममा सदुपयोग गर्छु ”, उनले भनिन्, “सिलिण्डरसँगै सँगै चुल्हो पनि पाएपछि हामी खुसी छौँ ।”

उपभोक्ता सुनिता चौधरीलाई यस वर्ष वर्षात्को समयमा हुने चिन्ता हटेको छ । दाउरामै खाना पकाउनुपर्ने बाध्यतामा रहेकी सुनिताले वर्षातको समयमा दाउरा पानीले भिजेको हुने हुँदा खाना पकाउन निकै दुःख हुने गरेको बताइन् । “दाउरा ओभानोमा राख्ने ठाउँ छैन । आँगनमा राखेका दाउरा राम्रोसँग बल्दैनन्”, उनी भन्छिन्, “अब त्यो पीडा फर्केर आउने छैन । घरमा ग्यास भएपछि खाना पकाउन सहज भएको छ ।”

विपन्न परिवारका आशाराम चौधरी सामुदायिक वनले ग्यास चुल्हो उपलब्ध गराउँदा आगामी दिनमा समयको बचत हुने बताउँछिन् । उनले दाउरा खोज्ने समय उत्पादनका क्षेत्रमा सदुपयोग गर्न सकिने बताइन्। “एक जना दाउराको खोजीमा हिँड्नुपर्थ्यो । त्यति मात्र नभई खाना पकाउन पनि एक जनाको दैनिकी बन्दै आएको थियो”, उनले भनिन्, “अब खाना पकाउन कसैलाई जिम्मा दिएर राख्नुपर्ने छैन । जतिबेला पनि खाना पकाएर खान सकिने भएको छ ।”

वनको आम्दानीबाट १८० परिवारलाई प्रतिपरिवार रु.आठ हजारका दरले ग्यास चुल्हो वितरण गरिएको वनका अध्यक्ष राजकुमार चौधरीले जानकारी दिए । “बर्सेनि उपभोक्तालाई दाउरा उपलब्ध गराउनुपर्ने हुन्थ्यो । उहाँहरूको मागअनुसार दाउरा उपलब्ध नहुँदा झन् जङ्गल बढी मासिन थाल्यो”, उनले भने, “अब अधिकांश विपन्न परिवारले ग्यास चुल्हो पाएका छन् । जंगल जोगिने आशा छ ।”

चार देशीय टी–२० क्रिकेटमा नेपालद्वारा कतार पराजित

काठमाडौँ । हङ्कङमा बुधबारदेखि सुरु भएको चारदेशीय टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले पराजित गरेको छ । कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको हो ।

नेपालका लागि कुशल भूर्तेलले सर्वाधिक ३८ रन बनाए । उनले १९ बलमा चार चौका र तीन छक्का प्रहार गर्दै ३८ रन बनाएका हुन् । कप्तान रोहित पौडेलले ३७ रन जोडे । उनले २९ बलमा दुई चौका र एक छक्का प्रहार गरे । आसिफ शेखले ३३ रनको योगदान दिँदा बसिर अहमदले ३० रन बनाए । नेपालले अतिरिक्त १६ रन प्राप्त गर्यो । कतारका लागि मुजीब–उर–रहमानले दुई विकेट हात पारे ।

त्यसअघि हङकङको टिन क्वाङ रोड रिक्रिएशन रङ्गशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५१ रन बनाएको थियो ।

कतारका लागि कप्तान इक्रामुल्लाह खानले सर्वाधिक ५४ रन बनाए । उनले ५४ बलमा ५ चौका र २ छक्काको मद्दतले ५४ रन बनाए । शाहजैब जमीलले ३१, मुजीब–उर–रहमानले २०, मोहम्मद इरशादले १८ र अरुमुगागणेश नागराजनले १३ रन बनाए । कतारका लागि रिफाइ थेरुवाथले छ र जसिम खानले चार रनको योगदान दिए । कतारले अतिरिक्त पाँच रन प्राप्त गर्यो ।

नेपालका लागि करण केसी, सोमपाल कामी, नन्दन यादव, गुलसन झा र ललित राजवंशीले समान एक–एक विकेट हात पारेका थिए ।

डेनमार्कका लागि नेपाली राजदूत तुलाधरद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं ।  डेनमार्क अधिराज्यका लागि नेपालकी राजदूत सुम्निमा तुलाधरले त्यहाँका नरेश फ्रेडरिक आन्द्रे हेनरिक क्रिश्चियनसमक्ष आफ्नो ओहोदाका प्रमाणपत्र प्रस्तुत गरेकी छन् ।

कोपनहेगनस्थित क्रिश्चियनबोर्ग दरबारमा आयोजित विशेष समारोहमा उनले मंगलबार आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेकी हुन् ।

प्रमाणपत्र पेस गरेपछि डेनिस नरेशसँग भएको शिष्टाचार भेटमा राजदूत तुलाधरले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट फ्रेडरिको सुख, सुस्वास्थ्यका साथै डेनमार्कका जनताको दिगो समृद्धिको कामना गरेकी कोपनहेगनस्थित नेपालको दूतावासले जनाएको छ ।

त्यस अवसरमा नेपाल–डेनमार्क सम्बन्धका विविध पक्षबारे छलफल हुनाका साथै नेपालले निकट भविष्यमा आयोजना गर्न लागेको सगरमाथा संवादबारे जानकारी दिएकी थिइन् ।

फ्रेडरिकले २०७२ सालको भूकम्पछि पश्चिम नेपालमा भएको मानवीय सहायता परिचालनको अवलोकन गरेको स्मरण गर्दै जलवायु परिवर्तन र हिमालय क्षेत्रमा त्यसको हानिकारक प्रभावबारे चिन्ता व्यक्त गरेका थिए ।

सरकारसँग वार्तामा बस्न शिक्षक महासंघले राख्यो सर्त

काठमाडौं । नेपाल शिक्षक महासंघले अहिलेकै अवस्थामा वार्तामा बस्नुको औचित्य नभएको बताएको छ । बुधबार विज्ञप्ति जारी गरी महासंघले संसदको वर्षे अधिवेशन तत्कालै सुरु गर्ने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेश मार्फत् शिक्षा ऐन जारी गर्नुपर्ने सर्त अघि सारेको हो ।

शिक्षा मन्त्रालयले मंगलबार शिक्षकहरुलाई वार्तामा बोलाएको थियो । त्यसको जवाफमा महासंघले अहिलेकै अवस्थामा वार्तामा बस्नुको औचित्य नभएको बताएको हो ।

महासंघको विज्ञप्तिमा भनिएको छ, ‘विगतका सहमति कार्यान्वयन गर्ने सन्दर्भमा मन्त्रिपरिषदको निर्णयबाट सम्बोधन हुनसक्ने विषयमा शीघ्रातीशीघ्र निर्णय लिँदै ऐन जारी गर्नका लागि माथि प्रस्तावित विकल्पबारे स्पष्टताका साथ पहल भएमा वार्ताको विश्वसनीय वातावरण निर्माण हुने भएकाले त्यस्तो अवस्थामा मात्र महासंघ वार्तामा बस्न सक्ने कुरा स्पष्ट गर्दै विज्ञप्ति मार्फत् आह्वान भएको अहिलेको वार्तामा बस्नुको कुनै औचित्य नरहेको समेत प्रष्ट्याउन चाहान्छौं ।’ विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षक चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।

डोमिनिकन रिपब्लिकमा नाइट क्लबको छत ढल्दा कम्तिमा २७ जनाको मृत्यु, १५० भन्दाबढी घाइते

सान्तो डोमिङ्गो । डोमिनिकन रिपब्लिकको राजधानी सान्तो डोमिङ्गोस्थित जेट सेट नाइट क्लबको छत ढल्दा कम्तिमा २७ जनाको मृत्यु भएको र १५० भन्दा बढी घाइते भएका छन् ।

घटनास्थलमा उद्धार कार्य तीव्र रूपमा चलिरहेको छ । चार सय भन्दा बढी उद्धारकर्मी र दर्जनौं एम्बुलेन्सहरू घाइतेहरूको उद्धारमा संलग्न छन् ।

प्रसिद्ध डोमिनिकन मेरेंग गायक रुबी पेरेज स्टेजमा प्रदर्शन गरिरहेका बेला अचानक अँध्यारो भयो र त्यही समयमा क्लबको छत ढल्न थाल्यो । दुर्घटना हुँदा क्लबमा ५०० देखि एक हजार जनासम्म मानिस थिए ।

राष्ट्रपति लुइस अबिनाडेरले उद्धार कार्यलाई प्राथमिकता दिन घटनास्थलको अनुगमन गरेका छन् ।
आपतकालीन अपरेसन केन्द्र (सीओई) का निर्देशक जोआन मैनुअल मन्डेजले घटनामा २७ जनाको मृत्यु भएको पुष्टि गरे ।

उनले उद्धारकर्ताहरू उद्धारका लागि प्रयास जारी राखेको बताए । एम्बुलेन्सले १५० भन्दा बढी घाइतेहरूलाई अस्पताल पुर्याइएको उनले बताए ।

स्थानीय मिडियाले घटनास्थलमा निर्माण क्रेन प्रयोग गरिरहेको र उद्धारकर्मीहरूले मलबा हटाएर जीवित व्यक्तिहरूलाई खोज्ने कार्यमा केन्द्रित भएको उल्लेख गरेका छन् ।

राष्ट्रपति अबिनाडेरले सरकार उद्धार कार्यको निरन्तर अनुगमन गरिरहेको र सबै राहत एजेन्सीहरूले घाइतेहरूको मद्दतमा जुटेको बताए ।

एनएसएल फुटबलमा काठमाडौँ रेजर्सको पहिलो जित

काठमाडौँ । अमाडोउ डिओपको निर्णायक गोलसँगै काठमाडौँ रेजर्सले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार भएको खेलमा काठमाडौँले बुटवल लुम्बिनी एफसीविरुद्ध १–० गोल अन्तरले जित निकालेको हो ।

यस जितसँगै तेस्रो स्थानमा उक्लिएको काठमाडौँले चार खेलबाट पाँच अङ्क पुर्याएको छ । समान खेल खेलेको बुटवलको भने एक अङ्क छ । बुटवल अङ्क तालिकामा पुछारमा छ ।

काठमाडौँका डिओपले खेलको ८८ औँ मिनेटमा गोल गरेका हुन् । भिन्सेन्ट कोजिइल्लोसँग तालमेल मिलाउँदै बक्स लाइन नजिकबाट उनले प्रहार गरेको बललाई बुटवलका गोलकिपर दीप कार्कीले बचाउन सकेनन् ।

अन्ततः काठमाडौँले खेल जित्यो । प्रतियोगितामा भोलि पोखरा थन्डर्स र धनगढी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ वटा निर्णय गरेको छ । मंगलबार पत्रकार सम्मेलन गरी पृथ्वी सुब्बा गुरुङले बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत कार्यरत सहसचिव (प्रा.) राजेन्द्र प्रसाद शर्माको राजीनामा स्वीकृत गर्ने, गृह मन्त्रालय तथा मातहतका निकायहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने, नेपाली सेनाअन्तर्गत एक जनालाई महासेनानीबाट सहायक रथी दर्जामा बढुवा गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले नेपाल भारत भन्सार महानिर्देशकस्तरीय वार्ताका लागि भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ भने बौद्धनाथ क्षेत्र विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा मोहन कुमार तामाङलाई नियुक्त गरिएको प्रवक्ता गुरुङले जानकारी दिए ।

बैठकले नागरिक एप सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७८ खारेज गरेको छ भने वैकल्पिक वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ ।

हत्याका अभियुक्त १७ वर्षपछि पक्राउ

काठमाडौं । एक व्यक्तिको हत्यापछि साधुको भेषमा लुकिछिपी बसेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । २०६४ वैशाख २५ गते पर्साका ढोडा मुखिया विनलाई जग्गासम्बन्धी विवादको विषयमा छलफलका लागि बोलाइ गोली प्रहार गरी हत्या गरेर फरार भएका अभिुक्त पक्राउ परेका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले हत्यापछि फरार रहेका लोकनाथ साह तेलीलाई सोमबार बीरगंजबाट पक्राउ गरेको हो ।

उनी भारतको चम्पारणस्थित रामजानकी मन्दिरमा १० वर्षदेखि साधुको भेषमा लुकिछिपी रहेको खुलेको छ । उनलाई सर्वोच्च अदालतले २०६९ कात्तिक २४ गते दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । साहलाई अदालतको आदेश अनुसार मंगलबार जेल चलान गरिएको ब्युरोले जनाएको छ ।

लोभलाग्दो च्याउखेती

पर्वत। जलजला गाउँपालिका-८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल भएकी छिन्। कृषि पेसाबाट गाउँमै केही गर्न सकिन्छ भनेर विगत ११ वर्षदेखि व्यावसायिक कृषिखेतीमा सक्रिय खत्रीले च्याउ र तरकारीखेतीबाट बर्सेनि १२ लाख रूपैयाँभन्दा बढी आम्दानी गर्न थालेकी छिन्।

चारवटा गुम्बज टनेलमा कन्ये र गोब्रे च्याउखेती उत्पादन गरी छिमेकी जिल्ला बागलुङ, म्याग्दी र पर्वतको कुश्मा बजारमा खपत गर्ने गरेको अगुवा कृषक खत्रीको भनाइ छ। यस वर्ष च्याउबाट मात्रै सात लाख रूपैयाँभन्दा बढी आम्दानी भएको उनले बताइन्।

‘च्याउखेतीबाट हुने आम्दानीबाट सन्तुष्ट छु, उत्पादित च्याउको बिक्रीका लागि कुनै समस्या छैन,’ कृषक खत्रीले भनिन्। गोब्रे च्याउको प्रतिकिलो ५ सय र कन्येलाई २ सय रूपैयाँमा बिक्री गर्ने गरेका उनले गोब्रे च्याउबाट यसवर्ष पाँच लाख र कन्ये च्याउबाट दुई लाख रूपैयाँ आम्दानी भएको बताइन्।

कच्चापदार्थसहितका साम्रगीसमेत तयार गर्ने गरेकी कृषक खत्रीले सात रोपनी जमिनमा उत्पादन हुने अन्य तरकारीबाट पाँच लाख रूपैयाँको बिक्री गर्छिन्। च्याउबाहेक मौसमअनुसार काँक्रो, घिरौँला, बोडी, सिमी, करेला, भन्टा, खुर्सानी, धनियाँ, गाजरलगायतका तरकारी उत्पादन गर्दै आएको बताइन्।

तीनवटै जिल्लाका सदरमुकाम नजिकै रहेको र कालीगण्डकी करिडोरअन्तर्गत मालढुंगा-बेनी सडक नजिकै रहेकाले उत्पादित च्याउ र तरकारी बजारीकरणमा समस्या नरहेको उनले बताइन्। खत्रीले यस वर्ष उच्च प्रविधिको टनेल थपेर बाह्रै महिना च्याउखेती गर्न थालेकी छिन्। उनले वातानुकूलित टनेलमा जाडो तथा गर्मी दुवै याममा च्याउ उत्पादन हुने बताइन्। अब च्याउखेतीबाट निरन्तर आम्दानी हुने उनको भनाइ छ।

सामाजिक एवं राजनीतिक रुपमा सक्रिय रहेकी खत्रीले राम्रो उत्पादन दिने र श्रमिक पनि कम लाग्ने हुँदा च्याउखेतीलाई विस्तार गर्दै गएकी छिन्। वैदेशिक रोजगारीबाट फर्किएका श्रीमान् भीमबहादुर केसीले च्याउ र अन्य तरकारीखेतीको उत्पादन तथा बजारीकरणमा सघाइरहेका छन्। अहिले दम्पतीका अलावा समय-समयमा ज्यालादारी मजदुर खोजेर तरकारीखेती गर्ने गरेको उनको भनाइ छ।

खेती गर्नलाई धेरै ठूलो ठाउँ, समय पनि नचाहिने र बेच्नलाई सजिलो भएकाले यसप्रति श्रीमानले विदेश नगई सघाउन थालेको खत्रीले बताइन्। मेहनत गर्ने हो श्रीमान्ले विदेशमा कमाउने पैसा दुवै मिलेर यहीँ दुःख गरी कमाउन सकिने खत्रीको अनुभव छ। खत्रीले च्याउखेतीबाट भएको कमाईले छोरीलाई उच्च शिक्षाका लागि विदेश पठाउन सफल भएकी छिन् भने छोरालाई समेत निजी विद्यालयमा पढाएकी छिन।

यसका अलावा बैंकमा बचत गर्न सफल भएको उनले बताइन्। मेहनत र परिश्रम गर्ने हो भने पैसा कमाउन विदेश जान पर्दो रहेनछ भन्ने आफ्नो अनुभवले देखाएको उनले बताइन्।

पछिल्लो समय गाउँपालिकामा व्यावसायिक रुपमा लाग्ने कृषकको आकर्षण बढेको रहेको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए। ‘गाउँपालिकाले पनि प्रोत्साहन गरिरहेको छ, अबका दिनमा च्याउखेतीमा अनुदान समेत बढाउँछौँ,’ आचार्यले भने।

हुम्लाको नाम्खामा ३९ हिउँ चितुवा फेला

सुर्खेत । डिभिजन वन कार्यालय हुम्लाको समन्वयमा उकाली तथा तेस्रो ध्रुव संरक्षणले हिउँचितुवाको अध्ययन गर्दा नाम्खा गाउँपालिकामा ३९ हिउँचितुवा रहेको पत्ता लागेको छ ।

‘क्यामरा ट्र्यापिङ’ प्रविधिको प्रयोग गरेर सन् २०२२ देखि २०२३ सम्म दुर्लभ हिउँचितुवाको संख्या गणना गरिएको थियो । अध्ययनअनुसार उत्तरी नाम्खा गाउँपालिकामा कम्तीमा ३९ हिउँचितुवा रहेको पत्ता लागेका सहायक वन अधिकृत बाबुलाल बमजनले बताए ।

हिउँचितुवा अनुसन्धानकर्ता रिन्जिन फुन्जोक लामाले नाम्खा क्षेत्रमा ६१ वटा क्यामेरा जडान गरेर हिउँचितुवाको अध्ययन गर्दा ३९ हिउँचितुवा कैद गरिएको बताए । हुम्ला सदरमुकाम सिमिकोटदेखि पाँच दिन पैदल हिँडेर लिमी पुगिसकेपछि घोडा–खच्चरमा खानेकुरा बोकेर हिउँचितुवा पाइने स्थानमा पुग्ने उनले जानकारी दिए।

गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले हिउँचितुवाको तथ्यांक ल्याउने कार्य सकिएको बताए। यस्तै, माथिल्लो डोल्पामा हिउँचितुवा पाइएसँगै हुम्लामा पनि पाइने अनुमानका आधारमा हिउँचितुवाको गणनाको काम गरिएको थियो । गाउँपालिकाले पनि अब हिउँचितुवा संरक्षणका लागि कार्यक्रम बनाउने अध्यक्ष लामाले जानकारी दिए ।

नाम्खाभित्रको मात्र अध्ययन गरिएको सहायक वन अधिकृत बमजनले जानकारी दिए । उनले भने, ‘सरकारले २०२४ देखि २०३० सम्म हिउँचितुवाको गणना तथा संरक्षणलाई प्राथमिकतामा राखेको छ ।’ चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको नाम्खामा ६ वडा रहेका छन् । कुल क्षेत्रफल करिब दुई हजार ४१९.६४ वर्गकिलाेमिटर रहेको छ ।

अन्नपूर्ण आरोहण सुरु, एकै दिन ३२ आरोही चुचुरोमा

म्याग्दी । म्याग्दीमा रहेको अन्नपूर्ण हिमालमा चालु वसन्त यामको आरोहण सुरु भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ ।

आरोहण सुरु भएको पहिलो दिन सोमबार बिहान ८ देखि ११ बजेको बीचमा नेपाली शेर्पा र विदेशी पर्वतारोहीसहित ३२ जनाले सफल आरोहण गरेका नेपाल पर्वतारोहण सङ्घले जनाएको छ ।

सङ्घका महासचिव मोहन लम्सालले सेभेन समिट ट्र्याकबाट नौ, पायनियर एडभेन्चरबाट आठ, आठके एक्सपिडेसन बाट नौ, इमाइजिन नेपालबाट तीन र मकालु एभेन्चरबाट दुईजनाले अन्नपूर्णको सफल आरोहण गरेको जानकारी दिए । अन्य दिनको तुलनामा सोमबार मौसम अनुकूल भएकाले धेरै आरोही अन्नपूर्णको शिखरमा पुग्न सफल भएको उनले बताए ।

आरोहण टोलीका दुईजना शेर्पा हिउँपहिरोमा बेपत्ता भएका छन्भने अरू सकुशल आधार शिविर फर्किएका छन् । क्याम्प दुई र तीनको बीचमा हिउँ पहिरो आउँदा बेपत्ता भएका सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पाको खोजीमा हेलिकप्टर र शेर्पाको टोली परिचालन गरिएको छ ।

आरोही मिग्मा शेर्पाले धेरै जोखिम मोलेर अन्नपूर्णको आरोहण गर्न सफल भएको सामाजिक सञ्जाल ‘फेसबुक’ मा लेख्नुभएको छ । ‘सुक्खा अवस्था, धेरै दरार, क्याम्प दुई र क्याम्प तीनबीचको घातक हिमपहिरोले ज्यान बचाउन कठिन भयो’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अठोट र साहसका कारण चुचुरोमा पुगेर यो सुुन्दर हिमाललाई बिदाइ गरे, अन्नपूर्णको सुन्दरताले मलाई सधैँ आकर्षित गर्दथ्यो, तर अब यहाँ मेरो ज्यान जोखिममा पार्न सक्दिनँ।’

वसन्त याममा अन्नपूर्ण आरोहणका लागि ६६ जनाले अनुमति लिएका छन् । गत वर्ष जम्मा २५ जनाले मात्र अनुमति लिएका थिए । चार हजार १९० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकहरुले भरिएको छ ।

अन्नपूर्णको अहिलेसम्म ५२० जनाले सफल आरोहण गरेका पर्यटन विभागले जनाएको छ । सन् १९५० मा फ्रान्सका मौरिस हर्जोगले अन्नपूर्ण पहिलोपटक आरोहण गरेका थिए । प्रथम आरोही मौरिस हर्जोग आरोहणका क्रममा प्रयोग गरेको बाटोलाई पहिचान गरेर नारच्याङ–आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्ग निर्माण गरिएको छ ।

गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारी साधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार शिविर पुग्न सकिन्छ ।

पदमार्गमा रहेको फुतफते झरना, आधार शिविरमा रहेको आकर्षक पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले गर्दा यो क्षेत्र पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ ।

मनाङमा लेक लागेर पर्यटकको मृत्यु

 मनाङ । तिलिचो तालबाट फर्कने क्रममा लेक लागेर एक जना कोरियाली नागरिकको मृत्यु भएको छ ।

जिल्लाको ङिस्याङ गाउँपालिका–९ थोरोज खोला भन्ने स्थानमा उनको मृत्यु भएको हो ।

आज बिहान म्येङोक जोङ नाम गरेका पर्यटकको ज्यान गएको सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले बताए ।

दिवङ्गत पर्यटकको शव व्यवस्थापन गर्न प्रहरी परिचालन भएको जानकारी पनि उनले दिए ।

शव सदरमुकाम ल्याएपछि परीक्षण चामेमा गर्ने वा काठमाडौँ पठाउने भन्ने निर्णय गरिने सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

स्थानीय ‘सम्पदा’ संरक्षणमा जुटे घरपझोङका युवा

मुस्ताङ । घरपझोङ गाउँपालिकाका युवा यतिबेला स्थानीय स्तरको प्राकृतिक तथा जैविक सम्पदा जोगाउन जुटेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम तथा युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनाअन्तर्गत गाउँपालिकाले उनीहरूलाई पालिकाभित्रका प्राकृतिक तथा जैविक सम्पदाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने काममा खटाएको हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत स्थानीय स्तरका बेरोजगार युवायुवतीलाई प्राकृतिक श्रोतको रक्षा गर्न परिचालन गर्ने गरी यो कार्यक्रम नियमित कार्यान्वयनमा रहेको छ । गाउँघरका बेरोजगार युवायुवतीलाई अल्पकालिन रोजगार सिर्जना गर्ने उद्देश्यले यस प्रकारको कार्यक्रममा संघीय सरकार र विश्व बैंकबाट वैदेशिक सहायता रकम उपलब्ध हुँदै आइरहेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत युवाको सीप र क्षमता अभिवृद्धि गर्ने, स्थानीय प्राकृतिक सम्पदाको अपनत्व दिलाउने, न्यूनतम रोजगार उपलब्ध गराउने र बेरोजगारी समस्यालाई न्यूनीकरण गर्दै लैजाने सरकारको उद्देश्य रहेको गाउँपालिकाको रोजगार सेवा केन्द्रका संयोजक शर्मिला श्रीसले जानकारी दिए । कार्यक्रमले पालिकाभित्रको जीर्ण अवस्थामा रहेका प्राकृतिक सम्पदालाई संरक्षण तथा विकास गर्न टेवा पुगेको रोजगार सेवा केन्द्र संयोजक श्रीसको भनाइ छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्ष २०८१/८२ का लागि संघीय सरकारबाट रु ११ लाख ४९ हजार र वैदेशिक सहायता रु ३० लाख ४० हजार गरी रु ४१ लाख ८९ हजार पुँजीगत बजेट विनियोजन भएको रोजगार सेवा केन्द्र संयोजक श्रीसले बताए ।

गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत स्थानीय बेरोजगार अवस्थामा रहेका युवायुवतीलाई पर्यटकीय पदमार्ग स्तरोन्नति, छप्पनी ढुंगा मिलाउनेदेखि बिच्छ्याउनेसम्म, सिँचाइ कुलो मर्मत सुधार, रैथाने बाली बिरुवाको वृक्षारोपण, सरसफाइ तथा कृषि गह्रा सुधार लगायतका काममा परिचालन गरिएको रोजगार सेवा केन्द्र संयोजक श्रीसले उल्लेख गरे ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चालु आवमा गाउँपालिकाका पाँच वटै वडामा युवाहरूलाई रोजगारमूलक काममा व्यवस्थापन गरिएको छ । त्यसअन्तर्गत वडा नं १ को छैरो चिमाङ गाउँमा छप्पनी ढुंगा बिच्छ्याउने, सिँचाइ कुलो मर्मत सुधारका साथै पर्यटकीय पदमार्ग मर्मत सम्भार लगायतका कामहरूको जिम्मेवारी दिइएको छ ।

वडा नं २ मार्फामा सिँचाइ कुलो मर्मत सम्भार, परम्परागत बालीको वृक्षारोपण तथा त्यस क्षेत्रको सरसफाइका साथै खेतबारीको कृषि गह्रा सुधारको कामकाजमा खटाइएको हो । वडा नं ३ स्याङ गाउँमा सिँचाइ कुलो मर्मत सम्भार गरिँदै छ ।

यसैगरी गाउँपालिकाको वडा नं ४ जोमसोममा धोफु (ढुंगे ओढार) जाने सडक बाटो मर्मत सम्भार सुरु गरिएको छ । वडा नं ५ ढुम्बा गाउँअन्तर्गत ढुम्बा गाउँदेखि कुछप तरेङ्गा गुम्बा जाने जीर्ण बाटो मर्मत सम्भार भइरहेको छ । सोही वडाको भुतीधाङमा वृक्षारोपण क्षेत्रमा सरसफाइका साथै पार्क निर्माण तथा मर्मत सम्भार लगायतका काम भइरहेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगार युवाहरूलाई १०० दिनसम्म दैनिक रु ७६० ज्याला सुविधा दिएर स्थानीय सम्पदा जोगाउन काममा खटाइएको रोजगार शाखा संयोजक श्रीसको भनाइ छ । उनीहरूलाई दैनिक आठ घण्टा काममा लगाउने गरी सम्बन्धित वडामा त्यहीँका युवायुवतीलाई व्यवस्थापन गरिएको उनले जानकारी दिए।

चालु वर्षको कार्यक्रममा गाउँपालिकाको रोजगार शाखा केन्द्रले पालिकाको पाँच वटै वडामा गरी ५५ युवायुवती व्यवस्थापन गरेको रोजगार सेवा केन्द्र संयाजक श्रीसले बताए । यसैगरी रोजगार कार्यक्रममा सहभागी युवयुवतीलाई फिल्डमा काम गर्दा जोखिम उत्पन्न नहोस् भन्ने हेतुले आवश्यक सुरक्षा सामग्रीका साथै काम गर्ने घरेलु उपकरणको समेत व्यवस्था गरिएको उनको भनाइ छ ।

उक्त कार्यक्रमअन्तर्गत गाउँपालिकालाई गत वर्ष रोजगारी सिर्जना गर्ने गरी संघीय सरकारबाट रु २१ लाख ४९ हजार र वैदेशिक ऋण सहायता रु २८ लाख ५८ हजार बजेट विनियोजन भएको थियो । गत वर्ष घरपझोङको रोजगार सेवा केन्द्रले पाँच वटै वडामा गरी ६५ जनालाई अल्पकालिन रोजगारी उपलब्ध गराएको संयोजक श्रीसले उल्लेख गरे ।

कार्यक्रमपछि आफैं सरसफाई गरेको भन्दै बालेनले दिए राप्रपालाई धन्यवाद

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले काठमाडौंको बल्खुमा सभा गरेको राप्रपाले कार्यक्रमपछि आफैं सरसफाई गरेको भन्दै धन्यवाद दिएका छन् ।

सामाजिक संजालमार्फत मेयर साहले महानगरको उद्देश्य जरिवाना गर्ने मात्र नभएको भन्दै आफैं सरसफाई गरेको भन्दै धन्यवाद दिएका हुन् ।

मेयर साहले लेखेका छन्, ‘कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुदैन । सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ । राप्रपाले आजको कार्यक्रममा आफै सरसफाइ गरेकोमा धेरै धेरै धन्यवाद छ ।’

राप्रपाका नेता कार्यकर्ताहरुले सभा सकिएपछि बल्खुमा आफैँ सडक सफा गरेका थिए । राप्रपाले मंगलबार बल्खुमा खबरदारी सभा आयोजना गरेको थियो । सभा सकिएपछि नेता कार्यकर्ता र स्वयमसेवकहरुले सडकमा भएको फोहोर सफा गरेका हुन् ।

यसअघि पूर्वराजा पोखराबाट फर्किने क्रममा त्रिभुवन विमानस्थल बाहिरको सडकमा फोहर गरेको र भौतिक संरचनामा क्षति गरेको भन्दै महानगरले राप्रपालाई एकलाख रुपैयाँ जरिवाना गरेको थियो ।