`

वार्तामा बस्न आन्दोलनरत शिक्षकहरुलाई शिक्षा मन्त्रालयको आह्वान

काठमाडौं । चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका शिक्षकलाई सरकारले फेरि वार्तामा बोलाएको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले मंगलबार विज्ञप्ति जारी गरी शिक्षकलाई वार्तामा बोलाएका हुन् । अहिलेसम्म औपचारिक रुपमा छलफल तथा परामर्श हुन नसकेको स्मरण गराउँदै उनले वार्तामा बस्न आह्वान गरेका हुन् ।

वार्ता र संवादका लागि राहत एवं अस्थायी शिक्षक, साविक उच्च माविका शिक्षक, बालविकास शिक्षक, विद्यालय कर्मचारी लगायतका सबै शिक्षक कर्मचारीको प्रतिनिधित्व हुने गरी उपस्थित हुनलाई मन्त्रालयले आमन्त्रण गरेको विज्ञप्तिमा जनाइएको छ ।

यसअघि पनि मन्त्रालयले शिक्षकहरुलाई वार्तामा बोलाएको थियो । तर उनीहरुले प्रधानमन्त्रीसँग मात्र वार्ता गर्ने भन्दै वार्तामा बस्न अस्वीकार गरेका थिए । शिक्षकहरुले हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित गर्न विभिन्न चरणका आन्दोलन गर्दै आएका थिए ।

तर चैत २० गते संसद अधिवेशन अन्त्य भएपछि उनीहरु काठमाडौं केन्द्रित सडक आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले आफ्ना माग पुरा नभएसम्म प्रदर्शन जारी राख्ने घोषणा गरेका छन् । गतवर्ष असोजमा सरकारसँग भएको लिखित सम्झौता अनुसार विधेयक पारित गर्नुपर्ने नेपाल शिक्षक महासंघको माग छ ।

प्रेमभाव झल्काउने ‘माया के हो’

काठमाडौँ।  गायक सुरेश लामा र गायिका त्रिशाला गुरुङले स्वर दिएको प्रेमभाव झल्काउने गीति श्रव्यदृश्य ‘माया के हो’ सार्वजनिक गरिएको छ।

मंगलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा संगीतकार अर्जुन पोखरेलले यस गीति श्रव्यदृश्यको सार्वजनिक उद्देश्य र रोमान्टिक शैलीको गीतको महत्त्वबारे जानकारी दिएका छन्।

पोखरेलले भने,‘अहिले सामाजिक विषयका फिल्महरूको निर्माण बढी भएको देखिन्छ, त्यसैले प्रेमभाव व्यक्त गर्ने रोमान्टिक शैलीका गीतहरूको अभाव महसुस भएको छ। यो गीत झैँ श्रव्यदृश्यले प्रेम र भावनालाई व्यक्त गरेको छ र निर्माण समुहले निकै मेहनत गरेको छ।’

गीतको शब्द प्रेमराज अधिकारीले लेखेका हुन् र यसमा मकवानपुरको कुलेखानी र आसपासका क्षेत्रलाई समेटेर श्रव्यदृश्यको छायांकन गरिएको निर्देशक निकेश खड्काले जानकारी दिए। उनले थपे, ‘दर्शकलाई नयाँ अनुभव दिनका लागि अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री उगेन छोदेनलाई श्रव्यदृश्यमा प्रस्तुत गरिएको छ।’

निर्देशक खड्काले भने, ‘गीतको मिठासलाई दृश्यमा व्यक्त गर्न सकेका छौँ। दुई प्रेमिल जोडीको प्रेम र एकअर्काप्रतिको सम्मानलाई श्रव्यदृश्यमा देखाइएको छ। यसले गीतलाई गुनगुनाइरहने शैलीमा प्रस्तुत गरेको छ।’

अभिनेता आकाश श्रेष्ठले गीत मन पराएर श्रव्यदृश्यमा काम गर्ने इच्छा व्यक्त गरे। ‘मैले यो गीत मन पराएर काम गरेको हुँ। यो आँखालाई शीतलता दिने र कर्णप्रिय गीत बनेको छ,’ उनले भने।

नेपाली फिल्म ‘दुई नम्बरी’ मा काम गरेका भूटानी अभिनेत्री उगेन छोदेनले नेपालमा काम गर्दा खुसीको अनुभव सुनाइन्। यो श्रव्यदृश्यमा उनको पहिलो काम हो। उनले भनिन्, ‘म नेपालमा काम गर्न पाउँदा खुसी छु, यस समुहले मलाई धेरै सहज र सरल वातावरण दिएको छ। मैले नेपालबाट पाएको मायालाई शब्दमा व्यक्त गर्न सक्दिनँ र त्यसैले म पुनः काम गर्न आएकी हुँ।’

ङागस्तो दोर्जी योञ्जनले निर्माण गरेको श्रव्यदृश्यलाई हरि हुमागाईंले छायांकन, सुवास तिमल्सेनाले शृङ्गार, कुसुम बुटिकले वेशभूषा र विकास धमलाले सम्पादन गरेका हुन्।

सरकार नसुध्रिए शान्तिपूर्ण रुपमा बालुवाटार घेर्न जान्छौंः अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्र बनाउनका लागि आफूहरू विद्रोहको बाटो हिँड्न पनि तयार रहेको बताएका छन् ।

मंगलबार काठमाडौंको बल्खुमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले सरकारले चाहे आफूहरू सल्लाह गरेरै विद्रोहको बाटो हिंड्न तयार रहेको बताएका हुन् ।

उनले आफूहरुले शान्तिपूर्ण ढंगले अघि बढ्च चाहिको, यदि सरकारले चाहन्छ भने सल्लाह गरेरे विद्रोहको बाटोमा जाने चेतावनी दिए ।

उनले भने, ‘हामी शान्तिपूर्वक ढंगबाट आफ्नो माग मुद्दालाई स्थापित गर्न चाहन्छौं। तर सरकारले राप्रपाले विद्रोह गरोस् भनेर चाहन्छ भने हामी सल्लाह गरेर त्यो बाटो हिँड्न तयार छौं ।’

उनले कांग्रेस एमालेलाई माओवादीले जनयुद्ध सुरु गरेको दिन सम्झिन पनि आग्रह गरे । उनले चैत १५ गते सरकारले तिनकुनेमा हिंसा मच्चाएको आरोप लगाए ।

अध्यक्ष लिङ्देनले वर्तमान सरकार नसुध्रिए प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेरेर भातपानी बन्द गरिदिने चेतावनी दिए । उनले आफूहरु शान्तिपूर्ण रुपमा बालुवाटार घेर्न जाने बताए ।

उनले भने, ‘हामी पनि गोली चलाउँछौं त भन्दिनँ तर यो कुरा याद राख बालुवाटार घेरेर भात पानी बन्द गरिदिन सक्छौं ।’ लिङदेनले प्रहरीले दुर्गा प्रसाईंलाई पक्राउ नगरेकोमा भने आपत्ति जनाए ।

उनले भने, ‘तपाईंले दुर्गा प्रसाईंलाई पक्रन सक्नुुहुन्थ्यो । दुर्गा प्रसाईंलाई पक्रनुपथ्र्यो, पर्दैनथ्यो भनेर विपरीत कुरा गर्न खोजेको होइन । तर, तपाईंलाई किचौंँलाजसरी आएको दुर्गा प्रसाईंलाई पक्रन सक्नुहुन्थ्यो । तर, पुलिसको फन्दामा परेको दुर्गा प्रसाईंलाई ढुक्कले निकालेर पठाउनुभयो । तर, मञ्चमा भाषण गरेका नेतालाई अश्रुग्यास बर्साउनुभयो ।’

उनले तिनकुने घटनाको जिम्मेवारी प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुखले लिनुपर्ने बताए ।

सरकार नसुध्रिए बालुवाटार घेरेर भातपानी बन्द गरिदिने लिङ्देनको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकार नसुध्रिए प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेरेर भातपानी बन्द गरिदिने चेतावनी दिएका छन् ।

बल्खुमा मंगलबार पार्टीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आफूहरूलाई भृकुटीमण्डपमा सभा गर्न नदिएकोमा पनि आक्रोश व्यक्त गरे ।

केही हजार मान्छेको र्‍याली निस्कन्छ भनेर सरकार डराएको उनको आरोप छ । उनले भने, ‘हामी शान्तिपूर्ण प्रदर्शन नै चाहन्छौँ । तर हामीले चारतिरबाट जुलुस हेल्दिने हो भने के हुन्छ । हामीले बालुवाटारलाई चारतिरबाट घेरा हालेर भातपानी बन्द गर्दिन सक्छौँ ।, राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणालाई तत्काल रिहा गर्न उनको माग छ । त्यस्तै राजा चाहिने भन्नेलाई थुन्ने हो भने लाखौं मानिसलाई थुन्न जेल खाली गर्न पनि उनको माग छ ।


‘शान्तिको कुरा गर्दा हामीलाई हेप्ने र हाम्रो कमजोरी ठान्ने हो भने तपाईंहरूसँगै सल्लाह गरौंला,’ उनले भने ‘एउटा भरुवा बन्दुक र केही घरेलु हतियार बोकेर युद्ध थालेको माओवादीले देशलाई कहाँ पुर्‍यायो । के राजा चाहिनका लागि २/४ हजार मानिस जंगल पस्नलाई तयार छैनन र ? तर, हामी शान्तिको पक्षधर हौं ।’

उनले राप्रपालाई कमजोर नठान्न पनि चेतावनी दिए । राप्रपाले प्रदेश स्तरमा गरिरहेको सभामध्ये देशभर ६ वटा सभा सम्पन्न गरेर मंगलबार बागमती प्रदेशस्तरीय सभा काठमाडौंमा गरेको हो ।

रविन्द्र मिश्र र धवल शमशेरसहित २० जनालाई थप १५ दिन थुनामा राख्न अनुमति

काठमाडौं । काठमाडौंको तिनकुनेमा भएको हिंसात्मक प्रदर्शन पछि पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणासहित २० जनालाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

मंगलबार काठमाडौं जिल्ला अदालतले राज्यविरुद्धको कसुरमा उनीहरूलाई थप १५ हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

राज्यविरुद्धको कसुरमा मिश्र र राणासहित गोपाल मल्ल, गोपीकृष्ण खड्का, सन्तोष चौधरी, रामकुमार धिमाल, पशुपति खड्काविरुद्ध अनुसन्धान भइरहेको छ । प्रहरीले अहिलेसम्म तिनकुनेमा भएको हिंसात्मक प्रदर्शनको क्रममा ७३ जनालाई पक्राउ गरेको छ ।

संगठित अपराध कसुरमा प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने प्रावधान छ । हिंसात्मक प्रदर्शनमा पत्रकार सुरेश रजक र सविन महर्जनको मृत्यु भएको थियो ।

शेयर बजारमा ५ अर्ब ३० करोडको कारोबार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से सामान्य अंकले घटेको छ । मंगलबार नेप्से ३ दशमलव ४४ अङ्कले घटेर २ हजार ६ सय ६६ दशमलव ६१ विन्दुमा झरेको छ ।

आज फाइनान्स, उत्पादन, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर घटेको छ । आज बाराही हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै ६ प्रतिशतले ओरालो लागेको छ ।

समग्रमा बजार घटेको दिन बोटलर्स नेपाल (बालाजु), विन नेपाल लघुवित्त, नेपाल माइक्रो इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आज ३२१ वटा कम्पनीका १ करोड ६ लाख कित्ता शेयर ५ अर्ब ३० करोड रुपैयाँमा किनबेच भएको छ ।

दिउँसो टर्च बालेर शिक्षकहरुको प्रदर्शन

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं प्रदर्शन गर्दैआएका शिक्षकहरूले मंगलबार दिउँसो टर्च लाइट बालेर प्रदर्शन गरेका छन् ।

नयाँबानेश्वर–बबरमहल सडक खण्डमा भेला भएका शिक्षकहरुले दिउँसै मोबाइलको टर्च बालेर सरकार खोज्दै साङ्केतिक विरोध गरेका हुन् । यसअघि शिक्षकहरूले सडकमा सुतेर, सिठी बजाएर तथा कालो मास्क लगाएर मौन प्रदर्शन गरेका थिए ।

शिक्षकहरूले अविलम्ब विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेका छन् । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासङ्घको नेतृत्वमा देशभरका शिक्षकहरू आन्दोलनमा छन् । उनीहरूले चैत २० गतेदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् ।

संविधान संसोधनका लागि समिति बनाएर काम गर्छौं: प्रधानमन्त्री

जनकपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयनको अनुभवका आधारमा विद्यमान व्यवस्थालाई सबल बनाउने लक्ष्यका लागि संविधान संशोधन गर्न राजनीतिक समिति बनाएर काम गरिने बताएका छन् ।

मधेस प्रदेशसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समयको विकास र अनुभवका आधारमा विद्यमान प्रणालीलाई बलियो बनाउन तथा सुशासन र विकासका लागि उचित समयमा संविधान संशोधन हुने स्पष्ट गरे।

“सामाजिक सद्भाव र राष्ट्रिय एकता बनाउनका लागि उपयुक्त समयमा संविधान संशोधन गर्छौँ । त्यसका लागि एउटा नेकपा (एमाले) र नेपाली काँग्रेसको यो संयुक्त सरकारबाट राजनीतिक समिति बनाउँछौँ । तर प्याण्डोराका बाकस खोलेजस्तो गर्दैनौँ । प्रगितमनका लागि ढोका खोल्न संविधान संशोधन गर्दैनौँ ”, प्रधानमन्त्री ओलीले भने, “राजतन्त्र फेरि ल्याउने भनेर केही केही लागेका छन् । विगतमा निरङ्कुश राजतन्त्रको कुशासन नदेखेका नयाँ पुस्तालाई भ्रम दिन खोजेका छन् । हामीले नयाँ पुस्ता सचेत बनाउनुपर्छ । आजको सचेत समाजले त्यस्तो सामन्ती व्यवस्था स्वीकार्न सकिँदैन । गणतन्त्र यस देशको वर्तमान र भविष्य हो । प्रतिपक्षी पनि विद्यमान व्यवस्थाको पक्षमा रहनु खुसीको कुरा हो ।”

प्रधानमन्त्री ओलीले लोकतान्त्रिक गणतन्त्रको व्यवस्था जनताको सङ्घर्षको जगमा ल्याइएकाले यस व्यवस्थालाई सुव्यवस्थित बनाएर अगाडि बनाउने काम सबैको भएको उल्लेख गरे ।

“यो श्रेष्ठ प्रणाली हो, हामीले यसको रक्षा गर्नुपर्छ । कलिलो अवस्थाको व्यवस्थाका केही कमजोरी भए होलान् तर सुधार गरेर जानुको विकल्प छैन ।”, उनले भने, “हामी अब गतिमा गइसकेका छौँ । यस प्रणालीअन्तर्गत संसदको सपथ खाने अनि बाहिर गएर संविधान मान्दिनँ भन्ने खालका सोच राख्नु हुँदैन ।”

प्रधानमन्त्री ओलीले अनावश्यक हल्ला चलाइएको भए पनि दुई छिमेकीसँग हाम्रो राम्रो सम्बन्ध रहेको बताए ।

“सँगै सुतेपछि खुट्टा लाग्छ, खुट्टा हटाउ भनेपछि कुरा सकिन्छ । त्यसकारण नेपालको दुई छिमेकीसँग अशल मित्रता छ ।”

प्रहरी प्रमुख त एमालेको युवा संघको सहअध्यक्ष पो रहेछः अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल प्रहरीका आइजीपी दीपक थापा नेकपा एमालेको भ्रातृ संगठन युवा संघको सहअध्यक्ष बनेको आरोप लगाएका छन् ।

मंगलबार काठमाडौंको बल्खुमा पार्टीको सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले काठमाडौंको तिनकुने घटनालाई लिएर आइजीपी थापामाथि यस्तो आरोप लगाएका हुन् ।

संसदीय समितिमा आइजीपी थापाले अश्रुग्यास एक्सपाइरी डेटको नभएको बताएका थिए । त्यसैलाई संकेत गर्दै अध्यक्ष लिङ्देनले आइजीपीमाथि आक्रोश पोखेका हुन् ।

अध्यक्ष लिङ्देनले भने, ‘प्रहरी प्रमुख एमालेको प्रतिनिधि भएर निर्लज्जतापूर्वक हामीले हानेको अश्रुग्यास कसरी एक्सपाइ हुन्छ भन्छ । प्रहरी प्रहरी भएर बस्नुपर्छ, कुनै राजनीतिक दलको भ्रातृ संगठन भएर बस्ने होइन । प्रहरी प्रमुख त एमालेको युवा संघको सहअध्यक्ष पो रहेछ त । हामीले भेटेको खोका, अश्रुग्यासका बोक्रा जहाँ एक्सपाइरी डेट २००८ लेखेको रहेछ । अनि त्यो प्रहरी प्रमुख एमालेको प्रतिनिधि भएर निर्लज्जतापूर्वक हामीले हानेको अश्रुग्यास कसरी एक्सपाइ हुन्छ भन्छ ।’

अध्यक्ष लिङ्देनले अहिले फूली लगाइदिने दलका नाइके र सिफारिस गर्ने सधैं सत्तामा नहुने कुरा याद राख्न पनि आग्रह गरे । उनले चैत १५ गते काठमाडौँको तिनकुनेमा भएको प्रदर्शनपछि देशको राजनीतिक घटनक्रममा केही परिवर्तन भएको बताए ।

उनले राजावादीको प्रदर्शनमा राज्यको तर्फबाट आतंक सिर्जना गरिएको भन्दै हिंसा भड्काएको आरोप जनाए। उनले भने, ‘राप्रपा हिंसामा विश्वास गर्दैन। जेका लागि भए पनि हिंसाको विरोध गर्छ। १५ गते भएको हिंसाको निन्दा र खेद प्रकट गर्दछौँ । त्यो हिंसा राज्यका तर्फबाट गरिएको थियो ।’

मुलुकका शासकको अहंकार बढ्योः लोहनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले मुलुकका शासकको अहंकार बढेको बताएका छन् । मंगलबार काठमाडौंको बल्खुमा पार्टीले आयोजना गरेको सभालाई सम्बोधन गर्दै लोहनीले शासकको घमण्डका कारण मुलुकमा अराजकता बढेको बताएका हुन् ।

उनले मुलुकमा अहिले रावणहरूको शासन रहेको आरोप लगाए । उनले भने, ‘नेपालमा अहिले रावणहरूको शासन भएको छ । रावण भनेको के हो ? विम्ब तपाईंको अघिल्तिर आउँछ । रावण भनेको अहंकार हो ।’ लोहनीले यस्ता प्रवृत्तिले नेपालको आत्मसम्मानमा धुमिल बनाएको बताए ।

अमेरिकाको खाद्य सहायता कटौतीको सूचनाप्रति राष्ट्रसङ्घीय खाद्य एजेन्सी चिन्तित

रोम । संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले १४ वटा देशमा आपत्कालीन खाद्य सहायता कोषमा रोक लगाउने हालैको अमेरिकी सूचनाप्रति गहिरो चिन्ता व्यक्त गरेको छ ।

“यदि कार्यान्वयन गरियो भने यो भोकमरी र चरम भोकमरीको सामना गरिरहेका लाखौँ मानिसलाई मृत्युदण्डको सजाय हुनसक्छ”, डब्लुएफपीले एक्समा भनेको छ ।

एजेन्सीले आफ्नो जीवन–रक्षक कार्यक्रमहरूको निरन्तर समर्थनका लागि स्पष्टीकरण र अपिल गर्न हाल अमेरिकी सरकारसँग सम्पर्कमा रहेको बताएको छ ।

डब्लुएफपीले संयुक्त राज्य अमेरिका र अन्य अन्तर्राष्ट्रिय दाताहरूबाट प्राप्त गरेको योगदानलाई स्वीकार गरेको छ र कृतज्ञता व्यक्त गरेको छ । साथै एजेन्सीले ‘विश्वभरका भोकमरी र कमजोर समुदायहरूलाई महत्त्वपूर्ण खाद्य सहायता’ प्रदान गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ ।

अमेरिकाले अफगानिस्तान, यमन र अन्य १२ देशका लागि खाद्यान्न सहयोगसहित बाँकी रहेका अधिकांश सहायता रद्द गर्ने निर्णय गरेको अमेरिकी विदेश मन्त्रालय तथा एजेन्सी फर इन्टरनेसनल डेभलपमेन्टका सहायता स्रोतहरूले बताएका छन् ।

चीनको सैन्य विस्तार ‘आश्चर्यजनक’ : नाटो प्रमुख

टोकियो । मङ्गलबारदेखि सुरु भएको जापान भ्रमणमा नाटो प्रमुख मार्क रुटले चीनको सशस्त्र बलको विस्तार ‘आश्चर्यजनक’ रहेको बताएका छन् ।

नाटो प्रमुखको भ्रमण एशिया–प्रशान्त क्षेत्रमा गठबन्धनको शक्ति ‘प्रक्षेपण’ गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

‘हामीले चीनप्रति सरलताका साथ काम लिनु हुँदैन’, महासचिव मार्क रुटले सोमबार प्रकाशित जापान टाइम्सलाई भने, ‘उनीहरूको सशस्त्र सेनाको विस्तार र रक्षा उद्योग तथा रक्षा क्षमताहरूमा गरेको लगानी आश्चर्यजनक छ ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुख्यतः युरोपेली नाटो गठबन्धनका अन्य सदस्यहरूलाई उनीहरूको सैन्य खर्च बढाउन दबाब दिइरहेका छन् ।

साथै उनले एशिया–प्रशान्त सहयोगीहरूलाई चीनको सामना गर्न र उत्तर कोरियालाई नियन्त्रण गर्न सहयोग पुर्‍याउन उनीहरूको सैन्य शक्ति बढाउन चाहेका हुन् ।

‘अमेरिकाले धारा ५ मा नभई शक्ति प्रक्षेपण गर्ने र नाटोभित्र एकअर्कालाई समर्थन गर्ने अर्थमा नाटोलाई (क्षेत्रमा) बढी संलग्न भएको हेर्न चाहन्छ’, रुटले भने।

नाटोको धारा ५ ले यदि एक सदस्य राष्ट्रमाथि आक्रमण गरिएमा अन्य सबैले यसलाई सबैमाथि आक्रमण मानेर सोही अनुसार कारबाही गर्नेछन् भन्ने व्यवस्था गर्दछ ।

रुटले मङ्गलबार योकोसुका नौसेना आधारको भ्रमण गर्ने र बुधबार प्रधानमन्त्री सिगेरु इसिबासहित वरिष्ठ जापानी अधिकारीहरूलाई भेट्ने कार्यक्रम थियो ।

नाटोले पछिल्ला वर्षहरूमा तथाकथित आइपी४ भनेर जानिने जापान, दक्षिण कोरिया, अस्ट्रेलिया र न्युजिल्यान्डसँगको सम्बन्ध बढाउन कदम चालेको छ । यी मुलुकका नेताहरू नाटो शिखर सम्मेलनहरूमा उपस्थित हुँदै आएका छन् ।

रुटले गत हप्ता जापान टाइम्सलाई नाटोले सूचना साझेदारी र रक्षा–औद्योगिक सहयोग बढाएर यो साझेदारीलाई अर्को स्तरमा लैजान चाहेको बताएका थिए ।

‘हामीले संयुक्त घोषणाहरूभन्दा अगाडि बढ्नुपर्दछ… यसलाई व्यावहारिक बनाऔँ’, गत अक्टोबरमा नाटो प्रमुख बनेका डच नागरिक रुटले भने ।

जापानले युरोपका देशहरूसँग सैन्य सहयोग बढाएको छ र गत नोभेम्बरमा टोकियो र युरोपेली सङ्घ (इयु) ले नयाँ सुरक्षा र रक्षा साझेदारीको घोषणा गरेका थिए ।

ट्रम्पले ५०% थप भन्सार महसुलको चेतावनी दिएपछि ‘अन्त्यसम्म लड्ने’ चीनको प्रतिज्ञा

बेइजिङ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको ५० प्रतिशत थप भन्सार महसुलको धम्कीविरुद्ध चीनले मङ्गलबार ‘अन्त्यसम्म लड्ने’ प्रतिज्ञा गरेको छ ।

चीनको उक्त घोषणाले विश्व बजारबाट पहिले नै खर्बौं डलर गुमाइसकेको व्यापारिक युद्धलाई अझ बढाएको छ ।

ट्रम्पले गत हप्ता व्यापक भन्सार महसुल लगाएर विश्व अर्थतन्त्रलाई हल्लाएका थिए । यसले अन्तर्राष्ट्रिय मन्दीको खतरा उत्पन्न गरेको छ तर बजारमा नाटकीय गिरावट आए पनि उनले आफ्नो आक्रामक व्यापार नीतिमा कुनै विराम दिने सम्भावनालाई अस्वीकार गरेका छन्।

विश्वको दुई ठूला अर्थतन्त्र बीचको भिडन्तमा वासिङ्टनको प्रमुख आर्थिक प्रतिद्वन्द्वी बेइजिङले बिहीबारदेखि लागु हुने अमेरिकी सामानहरूमा आफ्नै ३४ प्रतिशत भन्सार शुल्कको घोषणा गरेर प्रतिक्रिया दिएको छ ।

चीनबाट आएको द्रुत प्रतिक्रियाले ट्रम्पबाट नयाँ चेतावनी प्राप्त गरेको छ । यदि बेइजिङले उनको भन्सार महसुलको ब्यारेजविरुद्ध पछि हट्न अस्वीकार गरे उनले थप शुल्क लगाउने बताएका छन् । यसले चिनियाँ वस्तुहरूमा कुल भन्सार शुल्क १०४ प्रतिशत पुर्याउनेछ ।

“मलाई चीनप्रति ठूलो सम्मान छ तर उनीहरूले यस्तो गर्न सक्दैनन्”, ट्रम्पले ह्वाइट हाउसमा भने, “हामीसँग एउटा मौका छ… म तपाईंलाई के भन्छु भने, यो गर्नु सम्मानको कुरा हो ।”

अमेरिकाले गरेको ‘ब्ल्याकमेलिङ’ को आलोचना गर्दै चीनले तुरुन्तै प्रतिक्रिया दिएको छ र यस्तो कार्यलाई ‘कहिल्यै स्वीकार नगर्ने’ बताएको छ ।

“यदि अमेरिका आफ्नै बाटोमा हिँड्न जोड दिन्छ भने, चीनले अन्त्यसम्म लड्ने छ । ट्रम्पको धम्कीले एक पटक फेरि अमेरिकाको ब्ल्याकमेल गर्ने प्रकृतिलाई उजागर गर्दछ”, बेइजिङको वाणिज्य मन्त्रालयका प्रवक्ताले मङ्गलबार भने, “यदि अमेरिकाले आफ्ना भन्सार शुल्क उपायहरू बढाउँछ भने, चीनले आफ्नो अधिकार र हितहरूको रक्षा गर्न दृढतापूर्वक जवाबी कदम चाल्नेछ ।”

मन्त्रालयले संयुक्त राज्य अमेरिकासँग ‘संवाद’ चाहेको र ‘व्यापार युद्धमा कुनै विजेता नहुने’ दोहोर्‍याएको छ ।
बजार अशान्ति

ट्रम्पको भन्सार महसुलले पछिल्ला दिनहरूमा बजारमा पहिले नै नाटकीय प्रभाव पारेको छ । एसियाली वित्तीय सङ्कटयताको सबैभन्दा खराब दिन हङकङको ह्याङ सेङ सोमबार १३ दशमलव दुई प्रतिशतले खस्केको छ । त्यसपछि मङ्गलबारको कारोबारको सुरुआतमा केही नोक्सानी फिर्ता गरेको छ ।

अस्थिर सत्रपछि वाल स्ट्रिट सेयरहरू घटेर समाप्त भए । डाउ र एसएन्डपी ५०० दुवै घट्दै अन्त्य भए । हालैका सत्रहरूमा संयुक्त सेयर बजार मूल्याङ्कनबाट खर्बौं डलर उडेको छ ।

ट्रम्पले सोमबार फेरि दोहोर्‍याउँदै भन्सार महसुल कार्यान्वयनमा कुनै ‘विराम नहेरिरहेको’ बताए ।
उनले भन्सार महसुलका बारेमा चीनसँग कुनै पनि बैठक रद्द गरे तर वार्ता गर्न इच्छुक कुनै पनि देशसँग वार्ताका लागि संयुक्त राज्य अमेरिका तयार रहेको बताए ।

सोमबार साङ्घाईमा सेयरहरूले ठूलो धक्का खाएपछि चीनको केन्द्रीय बैंकले मङ्गलबार कारोबार पुनः सुरु हुनुअघि एक बयान जारी गरी बजारलाई स्थिर बनाउन एक्सचेन्ज ट्रेडेड फन्डहरू खरिद गर्दा यो सार्वभौम कोषको पछाडि उभिएको छ भनेर जोड दिएको छ ।

विनाशकारी व्यापार युद्धबाट कुनै राहत खोज्ने लगानीकर्ताहरूका साथ टोकियोमा मङ्गलबार सेयरहरू उचालिए । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले फक्स न्युजसँगको अन्तर्वार्तामा जापानले अमेरिकी भन्सार महसुलमा ‘वार्तामा प्राथमिकता’ पाउने सङ्केत दिएपछि ‘सेयरहरू धेरै चाँडै अगाडि आए’ ।

अमेरिकी आयातमा विश्वभरबाट १० प्रतिशत ‘आधार’ भन्सार महसुल शनिबार लागू भयो र बुधबारदेखि धेरै देशमा उच्च भन्सार शुल्क लाग्नेछ । यसमा चिनियाँ वस्तुहरूका लागि ३४ प्रतिशत र युरोपेली सङ्घ (इयु) उत्पादनहरूका लागि २० प्रतिशत भन्सार शुल्क समावेश छ ।

धेरै मुलुकले वार्ता खोजेको बेसेन्टले फक्स न्युजलाई बताए । “राम्रो वार्तामार्फत हामीले गर्ने सबै कुरा भनेको स्तरहरू घट्नु हो”, उनले भने ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग भेट्दा भन्सार शुल्कहरूमाथि ट्रम्पसँग व्यक्तिगत रूपमा वकालत गर्ने पहिलो नेतासँग अमेरिकी राष्ट्रपतिले भने, “त्यहाँ स्थायी भन्सार महसुल हुनसक्छ र त्यहाँ वार्ता पनि हुनसक्छ, किनकि भन्सार महसुल बाहेक हामीलाई चाहिने कुराहरू छन् ।”

इयुका व्यापार मन्त्रीहरू सोमबार लक्जमबर्गमा ब्लकको प्रतिक्रियाबारे छलफल गर्न आएका थिए । त्यहाँ जर्मनी र फ्रान्सले अमेरिकी प्रविधि दिग्गजहरूलाई लक्षित कर लगाउन पैरवी गरेका थिए ।

“हामीले वस्तुहरूमा, सेवाहरूमा कुनै पनि विकल्प बाहिर राख्नु हुँदैन”, फ्रान्सेली व्यापारमन्त्री लरेन्ट सेन्ट–मार्टिनले भने, २७–राष्ट्र ब्लकले युरोपेली टुलबक्स खोल्नुपर्छ जुन धेरै व्यापक छ र अत्यन्तै आक्रामक पनि हुनसक्छ ।”

मुद्रास्फीति ? मन्दी ?

बजारले आफ्नो अस्थिर यात्रा जारी राख्दै गर्दा ट्रम्पले अमेरिकीहरूलाई भने, “कमजोर नबन्नुहोस ! मूर्ख नबन्नुहोस !”

अठहत्तर वर्षीय रिपब्लिकन राष्ट्रपति ट्रम्प भन्सार महसुलले विदेशी कम्पनीहरूलाई वस्तुहरू विदेशमा बनाउनुको सट्टा संयुक्त राज्य अमेरिकामा स्थानान्तरण गर्न बाध्य पारेर अमेरिकाको हराएको उत्पादन आधारलाई पुनर्जीवित गर्नेछ भन्ने विश्वास गर्छन् ।

तर अधिकांश अर्थशास्त्रीहरूले उनको सिद्धान्तमाथि प्रश्न उठाउँछन् र उनको करहरू स्वेच्छाचारी भएको बताउँछन् ।

जेपी मोर्गन चेजका सिइओ जेमी डिमोनले आउँदो मुद्रास्फीतिको चेतावनी दिँदै भने, “भन्सार महसुलको मेनुले मन्दी ल्याउँछ वा ल्याउँदैन भन्ने प्रश्न रहन्छ, तर यसले वृद्धिलाई सुस्त पार्छ ।”

ट्रम्पका कट्टर समर्थक अमेरिकी सिनेटर टेड क्रुजले सामान्य मतदाताहरूमा पर्ने प्रभावबारे रिपब्लिकन सांसदहरूबीच व्यापक चिन्ता व्यक्त गरे । उनले रोजगारीको अभाव र बढ्दो मूल्यको चेतावनी दिँदै मन्दीको अर्थ अर्को वर्ष मध्यावधि चुनावमा रिपब्लिकनहरूका लागि ‘रक्तपात’ हुने बताए ।

झूटा मुद्दा लगाए जनताले गणतन्त्रवादी नेताहरूको घर घेर्ने शाही चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता ज्ञानेन्द्रबहादुर शाहीले आफ्नो पार्टीका नेताहरूलाई झूटा मुद्दा लगाएर थुन्ने कोसिस गरिए लाखौँ जनताले गणतन्त्रवादी नेताहरूको घर घेर्ने चेतावनी दिएका छन् ।

राप्रपाले मंगलबार बल्खुमा गरेको खबरदारी सभालाई सम्बोधन शाहीले यस्तो चेतावनी दिएका हुन् । उनले आफ्नो पार्टीका नेताहरूलाई थुनिएको तर तीनकुने लगायत जडीबुटीमा आगजनी गर्ने पूर्व माओवादी कार्यकर्ता भएको पुष्टि भएको भन्दै गणतन्त्रवादीहरूले विभिन्न भ्रष्टाचार काण्ड मच्चाएको बताए ।

शाहीले गणतन्त्र आएपछि देशमा आर्थिक प्रगति भएको भनेर कांग्रेस एमाले र माओवादीलगायत गणतन्त्रवादी नेताहरूले बताउने गरे पनि भ्रष्टाचार र लुटतन्त्र मच्चाएर देश बर्बाद पारिरहेको आरोप लगाए ।

‘यो १६ वर्षमा यिनीहरूले १४ वटा सरकार फेरे । १ हजार मन्त्री भए, करिब ३ हजार सांसद भए,३१ मुख्यमन्त्री र गाउँगाउँमा लुटेराहरूले देश लुटे’, उनले प्रश्न गर्दै भने ‘२५ वटा अस्पताल राजाले बनाए । यिनीहरूले के बनाए ? यसकैविरुद्ध हामीले आन्दोलन गरेका हौँ ।’

शाहीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राष्ट्रपतिका ठाउँमा राजा राख्दैनन् भने कर नतिर्न र रेमिट्यान्स नपठाउन तयार रहन उनले समर्थकहरूलाई आग्रह समेत गरे ।

जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ : प्रधानमन्त्री ओली

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि दृढ अठोट बोकेर जनतालाई पवित्रभावले सेवा दिई लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।

मधेस प्रदेशसभालाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको पहिलो अधिकार गरिबीबाट मुक्ति हुने भएकाले गरिबीका अगाडि अन्य अधिकारको कुनै अर्थ नहुने बताए ।

उनले विकास र समृद्धिको यात्रामा मिलेर अघि बढ्न आह्वान गरे । “सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था ठूलो उपलब्धि हो । यो उपलब्धिलाई केवल राजनीतिक उपलब्धिका रूपमा मात्र होइन जनताको सङ्घर्षबाट प्राप्त भएको उपलब्धिका रुपमा लिनुपर्छ । त्यसकारण हाम्रा प्रयासहरु जनताको सेवामा समर्पित हुनुपर्छ । परिपूर्ण लोकतन्त्रका लागि हामीले काम गर्नुपर्छ,” प्रधानमन्त्री ओलीले भने, “जनताले परिवर्तनको उपलब्धि आफ्नो पेट, आफ्नो आङ र सन्ततिको हितमा खोज्छ । त्यसकारण हामीले जनतालाई लोकतान्त्रिक अधिकार उपयोग गर्न दिनुपर्छ । सम्पूर्ण सामाजिक जीवनमा लोकतन्त्र फुलाउनुपर्छ । त्यसका लागि समाजलाई विकास र सुशासनको गतिमा लानैपर्छ ।”

प्रधानमन्त्री ओलीले मधेस प्रदेशको सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भाव अत्यन्त सुन्दर पक्ष भएको उल्लेख गर्दै यहाँका अनुशासित, चेतनशील तथा विकासप्रेमी नागरिकले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमान कायम गर्न पुर्याएको योगदानको प्रशंसा गरे ।

संविधानले मधेस प्रदेशलाई स्वायत्तता प्रदान गरेको र यो स्वायत्तताको सही उपयोग गर्नु सबैको दायित्व रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय, नीति निर्माण र विकासका कार्यहरूलाई प्रभावकारी बनाउन प्रदेश सरकारको विशेष भूमिका रहने बताए ।

प्रधानमन्त्री ओलीले मधेस प्रदेश सम्भावनै सम्भावनाहरूको उर्वर भूमि, कृषिका लागि उपयुक्त चुरेक्षेत्र जडीबुटी, जङ्गलदेखि पानीको अपार स्रोतयुक्त भएकाले यहाँको विकासलाई सबैको सहयोगमा अघि बढाउनुपर्नेमा जोड दिए ।

उनले सुनकोशी मरिन डाइभर्सन आयोजनाले मधेसमा सिँचाइ भई राष्ट्रिय उत्पादन र उत्पादकत्व वृद्धि गर्ने र यसले पहाड र तराईबीचको एकताभाव सृजना गर्ने बताए ।

प्रधानमन्त्री ओलीले औद्योगिक क्षेत्र, पेट्रोलियम पाइपलाइन, रेलमार्ग, हुलाकी सडक, दू्रतमार्ग, रामराजाप्रसाद सिंह अस्पताल मधेसको विकास र समृद्धिको आधार भएकाले एकीकृत जाँच चौकी तथा प्रमुख भन्सार नाका वीरगञ्जलाई आर्थिक केन्द्र तथा प्राचीन शहर जनकपुरधामलाई सांस्कृतिक पर्यटनको आधारको रुपमा विकास गर्न सकिने बताए।

उनले राजर्षि जनक, माता सीता, महर्षि परशुराम, महाकवि विद्यापतिजस्ता विभूति र विद्वान एवं छिन्नमस्ता, गढीमाईलगायत देवदेवीहरुको भूमि मधेस प्रदेशमा ती पुर्खाका ज्ञान र गौरवलाई स्मरण गर्दै अब विकासको पथमा अग्रसर हुनुपर्नेमा जोड दिए ।

सरकार नसुध्रिए जनताले देश बंगलादेश र श्रीलंका बनाउने सिंहको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंहले वर्तमान सरकार नसुध्रिए जनताले बंगलादेश र श्रीलंकाको अवस्था ल्याउने बताएका छन् ।

मंगलबार काठमाडौंको बल्खुमा जारी प्रदर्शनको सभालाई सम्बोधन गर्दै उनले अहिले देशमा राजतन्त्रबाहेकको कुनै विकल्प नभएको जिकिर गरे ।

‘देश समाप्त हुने तरखरमा पुगेको छ । भ्रष्टाचारले चुर्लुम्म डुबेको छ’, सिंहले भने, ‘एक महिनाअघि राष्ट्र बैंकको गभर्नर नियुक्त गर्नुपर्नेमा गर्न सकेका छैनन्, यो नालायक सरकार हो भन्ने यसैबाट प्रमाणित भएको छ ।’ उनले सरकारलाई चेतावनी दिँदै भने, ‘सरकार सुध्रेन भने अब बंगलादेश र श्रीलंकाको अवस्था नेपाली जनताले ल्याउनेछन् ।’

उनले गत १५ गते तीनकुनेमा भएको घटनामा आफ्ना पार्टीका वरिष्ठ नेता रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई निशर्त रिहा गर्नुपर्ने माग राखे ।

राप्रपा नेतृले भनिन्- राजसंस्था नफर्केसम्म सडकमै खान्छौं, सडकमै सुत्छौं

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की कुन्ती पोखरेले राजसंस्था नफर्किएसम्म आफूहरूले सडक नछाड्ने बताएकी छिन् ।

आगामी वैशाख ७ गतेबाट पार्टीले गर्ने आन्दोलनका क्रममा आफूहरू राजसंस्था नफर्किएसम्म सडकमै बस्ने, खाने र सुत्ने बताइन् ।

‘यो आज सुरुवात हो । अब ७ गतेदेखि हामी यहीँ ठाउँमा बस्छौं । यहीँ सुत्छौं,’ उनले भनिन्, ‘खाना पनि यहीँ पकाउँछौं । जबसम्म यो देशमा हाम्रो अभिभावकीय संस्था राजसंस्था नभएसम्म यहीँ बस्छौं ।’ उनले गणतन्त्रवादी नेताहरूलाई आजै देश छाडेर भाग्न समेत आग्रह गरिन् ।

एउटा कुरा भन्न चाहन्छु । गणतन्त्र भनिने लुटतन्त्रेहरुले के गरे हाम्रो देशमा थाहा छ ? भएका सबै कलकारखाना बन्द गरे । हाम्रा युवाले दुई छाक खाने ठाउँ बन्द गरेर एउटा कारखाना चलाएका छन् । त्यो के कारखाना हो थाहा छ ? भ्रष्टाचारी जन्माउने कारखाना ।

ए लुटतन्त्रेहरु, आजै तिमीहरु भागिहाल, कि घरबाटै थुतेर हाम्रा राष्ट्रवादी साथीहरुले कुट्नेछन् । कि देश छोडेर भाग कि राष्ट्रवादी साथिहरुको अगाडि आत्मसमर्पण गर । नत्र खैरियत छैन ।

उनले आगामी ७ गतेबाट सडक तताउन बल्खुमा उपस्थित भिडलाई आग्रह गरिन् । राप्रपाले संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्रसहितका विभिन्न माग राखेर मंगलबार बल्खुमा प्रदर्शन गरेको छ ।

राष्ट्रसङ्घीय आयोगमा स्वास्थ्यमन्त्रीको सम्बोधनः स्वास्थ्य संस्थाको कमीले स्वास्थ्यको पहुँचमा कठिनाइ भएको उल्लेख

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा मंगलबार आयोजित जनसङ्ख्या तथा विकास आयोगको ५८औँ सत्रलाई सम्बोधन गरेका छन् ।

सम्बोधनका क्रममा स्वास्थ्यमन्त्री पौडेलले पछिल्ला तीन दशकमा नेपालले मातृ तथा सुत्केरीसँग सम्बन्धित मृत्युमा महत्वपूर्ण प्रगति हासिल गरेको बताए ।

दक्षता तथा परिवार नियोजनका साधनको प्रयोगमा वृद्धि तथा प्रजनन क्षमता र किशोरावस्थाको जन्मदरमा कमी तथा बालविवाह घटाउनसमेत नेपालले सफलता पाएको मन्त्री पौडेलले बताए ।

“नेपाल आफ्नो स्वास्थ्य प्रणाली सबल बनाएर हरेक नागरिकलाई स्वास्थ्य सुविधा प्रदान गर्न प्रतिबद्ध छ”, मन्त्री पौडेलले भने, “तर, यो हामी एक्लैले मात्र गर्न सम्भव छैन ।”

उनले अन्तरराष्ट्रिय सहकार्य र ऐक्यबद्धताबाट मात्र सम्भव रहेकामा जोड दिए । स्वास्थ्य क्षेत्रमा बजेटको सीमितता तथा प्रतिव्यक्ति स्वास्थ्य खर्च विश्वव्यापी दरका तुलनामा कम भएका कारण ग्रामीण क्षेत्रमा पर्याप्त पूर्वाधार विकास तथा स्वास्थ्य संस्थाको कमी हुनाले स्वास्थ्य पहुँचमा कठिनाइ भोग्नु परेको मन्त्री पौडेलको भनाइ थियो ।

जलवायु परिवर्तनका कारण नेपालको स्वास्थ्य क्षेत्रले कठिनाइ बेहोर्नु परेको बताए । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको निजी सचिवालयका अनुसार विकास सहायतामा कमीका कारण नेपालजस्ता देशले चुनौतीको सामना गर्नुपरिरहेको उनले बताए ।

“यो समस्या सम्बोधन गर्न हामी नेपाललाई विकास सहायता वृद्धिका लागि विशेष जोड दिन्छौँ”, मन्त्री पौडेलले भने । निजी क्षेत्रको पनि स्वस्थ्य क्षेत्रमा लगानी वृद्धि जरुरी रहेकामा मन्त्री पौडेलले जोड दिएका थिए ।

मुख्यमन्त्रीकप राष्ट्रिय भलिबलमा ३–१ ले गण्डकी विजयी

भोजपुर । भोजपुर नगरपालिका–७ कोदार रङ्गशालामा जारी मुख्यमन्त्रीकप राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ३–१ सेटले पराजित गर्दै गण्डकी प्रदेश विजयी भएको छ । 

खेलको पहिलो, दोस्रो र चौथो सेटमा लुम्बिनीलाई २५–२०, २५–१८ र २५–२१ अङ्कले गण्डकी प्रदेशले पराजित गरेको हो । तेस्रो सेट भने २५–२३ ले गण्डकीलाई लुम्बिनी प्रदेशले जितेको थियो । लिक आधारमा सञ्चालित खेलअन्तर्गत आज नै हुने दोस्रो खेल गण्डकी र सुदूरपश्चिम प्रदेशका बीचमा हुने आयोजक जिल्ला भलिबल सङ्घले जनाएको छ । 

प्रतियोगितमा मधेस र कर्णाली प्रदेशबाहेक कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका खेलाडीको सहभागिता जनाएका छन् । यही चैत २८ गतेसम्म हुने प्रतियोगिता सञ्चालनका लागि कोशी प्रदेश सरकारको कोशी प्रदेश खेलकुद विकास बोर्डमार्फत २० लाख सहयोग गरेको छ । 

अन्य रकम जिल्लाका स्थानीय पालिका, व्यक्ति तथा सङ्घसंस्थाबाट सङ्कलन भइरहेको आयोजक जिल्ला भलिबल सङ्घका महासचिव सङ्ग्राम किरातीले बताए । प्रतियोगितामा कोशी प्रदेश भलिबल सङ्घले प्राविधिक सहयोग गरेको छ । 

प्रतियोगितामा प्रथम हुनेले रु तीन लाख, दोस्रोले रु एक लाख ७५ हजार, तेस्रोले रु ८० हजार तथा चौथो हुने टोलीले रु ४० हजार पुरस्कार प्राप्त गर्ने आयोजक जिल्ला भलिबल सङ्घका अध्यक्ष विन्द्रकुमार तामाङले जानकारी दिए । पाँच विधामा विधागत रुपमा उत्कृष्टलाई रु १० हजारका दरले पुरस्कार प्रदान गरिनेछ ।

बल्खु चोकमा राप्रपाको आसमभा(भिडियोसहित)

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंका बल्खु क्षेत्रमा शक्ति प्रदर्शन गर्दैछ । यतिबेला आमसभास्थलमा राप्रपाका नेता कार्यकर्ता भेला भइरहेका छन् ।

भृकुटीमण्डपमा सभा गर्न प्रशासनले नदिएपछि बल्खुमा गर्न लागिएको हो । आमसभामालाई अध्यक्ष राजेन्द्र लिङ्देन लगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

चैत १५ गते तिनकुनेमा राजावादीको प्रदर्शनले हिंसात्मक रुप लिएपछि आज बल्खुमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । त्यस्तै राप्रपाले पनि घुसपैठ हुन नदिन उल्लेख्य मात्रामा स्वंसेवक परिचालन गरेको छ ।

सङ्गठनलाई मजबुत बनाउन विशेष ध्यान दिन नेता निधिको आग्रह

जनकपुरधाम । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीको सङ्गठनलाई मजबुत बनाउन विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन् ।

मंगलबार जनकपुरधामस्थित आफ्नो निवासमा आयोजित एक बैठकमा निधिले आगामी कार्ययोजना र क्षेत्रीय सङ्गठन मजबुत बनाउनका लागि केही नयाँ रणनीति अपनाउनुपर्नेमा जोड दिए ।

उनले बैठकमा नेपाली कांग्रेसको भविष्यमा सफलताका लागि पार्टीको संरचनामा सुधार र स्थानीय स्तरमा समन्वयमा सुधार ल्याउन महत्वपूर्ण रहेको समेत बताए ।

“नेपाली कांग्रेसको अब गाउँ, नगर र जिल्लामा महत्वपूर्ण भूमिका छ, हामीले जनतासम्म पुग्नका लागि पार्टी संरचनामा सुधार र स्थानीय स्तरमा समन्वयमा सुधार ल्याउन आवश्यक छ,” नेता निधिले भने ।

बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महेन्द्र यादवले पार्टीको एकता र सङ्गठनलाई बलियो बनाउन निरन्तर संवाद र सहकार्यको आवश्यकता रहेको बताए ।

उनले पार्टीको वर्तमान स्थिति र आगामी चुनावका लागि तयारी अवस्थामा रहेको समेत उल्लेख गरे ।

“मधेसमा पार्टीको उपस्थिति बलियो बनाउनु हाम्रो प्राथमिकता हो, यसका लागि हाम्रा नेता र कार्यकर्ताले यथासम्भव जनताको समस्यासँग जुध्न आवश्यक छ,” उनले भने

गाउँपालिकाले आँबुखैरेनीभित्रका विद्यार्थीको उपचार निःशुल्क गरिदिने

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले गाउँपालिकाभित्रका विद्यालयका विद्यार्थीको उपचार आँबुखैरेनी अस्पतालमा निःशुल्क गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाको शिक्षा समितिले पालिकाभित्रका कुनै विद्यार्थी बिरामी भए आँबुखैरेनी अस्पतालभित्र हुने सम्पूर्ण उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीको अस्पतालमा उपचार निःशुल्क हुने जानकारी दिए । उनले भने, “विद्यार्थीको हितका लागि यो निर्णय गरिएको हो, अन्यत्रको अस्पतालको हकमा भने यो निर्णय लागू हुँदैन ।”

शिक्षा समितिको बैठकले निजी र सामुदायिक विद्यालयले पुनः भर्ना शुल्क वा वार्षिक शुल्क नलिने निर्णय गरेको छ । निजी विद्यालयका प्रतिनिधिसहितको बैठकले यस्तो निर्णय गरेको चुमानले बताए । केही विद्यालयले भर्ना शुल्कमा नाममा पैसा लिएको गुनासो आएपछि आफूहरुले यसमा चासो लिएको चुमानको भनाइ छ ।

स्वास्थ्यचौकीका रुपमा रहेको आँबुखैरेनी स्वास्थ्यचौकीलाई विसं २०७९ मङ्सिर १ गते अस्पतालका रुपमा स्तरोन्नति गरिएको थियो । स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल सञ्चालन गरेको हो ।

अस्पतालले तनहुँको आँबुखैरेनीका अलावा जिल्लाकै बन्दीपुर, गोरखाको पालुङटार, सहिद लखन र चितवनको इच्छाकामनाका जनतालाई सेवा दिइरहेको छ ।

गाउँपालिकाले शिक्षा सुधार अभियान सञ्चालन गरिरहेको छ । अध्यक्ष चुमानले भने, “हामी गाउँपालिकाका सबै वडामा रहेका सामुदायिक विद्यालय सुधार्न योजनासहित अगाडि बढेका छौँ ।” आँबुखैरेनीका छ वडामा ३५ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा करिब ५०० विद्यार्थी अध्ययनरत छन् ।

बजेट कस्तो बनाउने ? अर्थले माग्यो सुझाव

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रमको लागि सुझाव दिन आग्रह गरेको छ ।

मंगलबार सूचना जारी गरी मन्त्रालयले बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी कार्य प्रारम्भ गरिसकेको र आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने विषयहरुका सम्बन्धमा आफ्ना सुझावहरु आगामी वैशाख मसान्तभित्र उपलब्ध गराई सहयोग गरिदिन आग्रह गरेको हो ।

मन्त्रालयले विभिन्न संघसंस्था, वुद्धिजिवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, संचारजगत तथा आम नागरिकलाई सुझाव दिन आग्रह गरेको छ ।

कोशी पर्यटन वर्षको तयारी पूरा

विराटनगर । कोशी प्रदेश सरकारको आयोजनामा २०८२ सालभर मनाइने कोशी पर्यटन वर्षको सम्पूर्ण तयारी पूरा भएको छ ।

तेह्रथुमको तीनजुरेमिल्के क्षेत्रबाट पर्यटन वर्षको शुभारम्भ गरिने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताए ।

प्रदेश सरकारले भारतबाट आउने पर्यटकको सुविधालालाई दृष्टिगत गरी उनीहरु सवार सवारीसाधनमा ‘स्टिकर’ टाँस्ने व्यवस्था गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको अगुवाइमा त्यस्तो व्यवस्था भएको हो ।

पर्यटन वर्षलाई सफलतापूर्वक सम्पन्न गर्न पर्यटन वन तथा वातावरणमन्त्री सदानन्द मण्डलको संयोजकत्वमा निर्देशन समिति गठन भएको छ ।

एमालेसँग तत्काल एकताको सम्भावना छैनः अध्यक्ष नेपाल

मोरङ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राजतन्त्र औचित्य समाप्त भएको बताएका छन् ।

मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले औचित्यहीन राजतन्त्र पुनःस्थापना नहुने बताए ।

उनले भने, ‘औचित्य समाप्त भएको राजतन्त्र फेरि फर्काउने दिवास्वप्नबाट मुक्त हुनुपर्छ’, पूर्वराजा ज्ञानेन्द्रको सहमतिमा नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लागु भएको हो ।’

फरक प्रसङ्गमा अध्यक्ष नेपालले संविधान संशोधन आवश्यक भएको बताए । साथै उनले नेपाल कम्युनिष्ट पार्टी एमालेसँग तत्काल एकताको सम्भावना नरहेको स्पष्ट गरे ।

दक्षिण कोरियामा राष्ट्रपतिको निर्वाचन घोषणा

बीबीसी । दक्षिण कोरियामा नयाँ राष्ट्रपति चयनका लागि आगामी जुनमा निर्वाचन हुने भएको छ । युन सुक योल राष्ट्रपतिबाट हटाइएपछि नयाँ राष्ट्रपतिका लागि आगामी ३ जुनमा निर्वाचन हुने भएको हो ।

दक्षिण कोरियाको संसदले युमाथि महाअभियोग लगाएको थियो । सर्वोच्च अदालतले पनि युनमाथिको महाभियोगलाई सदर गरेको थियो ।

उद्योग वाणिज्य संघ सुर्खेतको अध्यक्षमा खड्का निर्वाचित

सुर्खेत । उद्योग वाणिज्य संघ सुर्खेतको अध्यक्षमा हर्षविक्रम खड्का निर्वाचित भएका छन् । वैशाख ६ गते निर्वाचन लागि सोमबार भएको उम्मेदवारी दर्तामा खड्काको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेस निकट व्यवसायीहरुको बाहुल्यता रहेको सुर्खेत उद्योग वाणिज्य संघमा कांग्रेसका दुई समूहहरुको प्रतिष्पर्धा हुने गर्दथ्यो । सुर्खेतमा व्यवसायीहरु पार्टीका उपसभापति पूर्णबहादुर खड्का र पूर्वकेन्द्रीय सदस्य हृदयराम थानीको समूह बनाएर चुनावमा होमिने गरिरहेका थिए ।

अध्यक्षका लागि थानी निकट मानिएका दीपेन्द्र ढकाल लगायतको नाम चर्चामा रहे पनि उनलाई बरिष्ठ उपाध्यक्ष बनाउने तयारी गरिएको छ । वैशाख ६ गते निर्वाचन हुने कार्यतालिका रहेको भएपनि सबै पदमा निर्विरोध गराउने अभ्यास भइरहेको कँडेलले बताए ।

राप्रपाको विरोध सभाले कहाँ-कहाँ हुँदैछ उपत्यकाको सवारी आवागमन प्रभावित ?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंको बल्खुमा सभा गर्दै छ । सभालाई शान्तिपूर्ण र मर्यादित बनाउन राप्रपाले स्वयंसेवक परिचालनमा विशेष ध्यान दिएको राप्रपाले बताएको छ ।

तर कार्यक्रममा कारण काठमाडौंमा सवारी आवागमन प्रभावित हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरीले सभास्थल आसपास डाइभर्सन गरिने बताएको छ ।

वायु प्रदूषण घटाउन सुमनाका पाँच सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले वायु प्रदूषणले जनस्वास्थ्यमा गम्भीर असर पर्ने अवस्था आउदा पनि सरकारले आवश्यक प्रतिक्रिया दिन नसकेको बताएकी छन् ।

वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीलाई सुझावपत्र पठाउँदै उनले वायु प्रदूषणको भयावह अवस्थाको निराकरणतर्फ ठोस कदम सरकारलाई आह्वान गरेकी हुन् ।

उनले भनेकी छन्, ‘विश्वका सबै भन्दा प्रदुषित ठाउँहरूमा अहिले हाम्रा शहरहरू परेका छन् । प्रदूषण स्वास्थ्यलाई हानी पुर्याउने तहमा छ । यो बेला हरेक साल यही नियति भोग्नु पर्ने हुन थालिसक्यो । जनस्वास्थ्यमा गम्भीर असर पर्ने अवस्था आउदा पनि सरकारले आवश्यक प्रतिक्रिया दिन नसकेको भान भएको छ ।’

सांसद श्रेष्ठले आगलागी नियन्त्रण, खुला रुपमा आगो लगाउन नियन्त्रण गर्ने, यातायात व्यवस्थापन, धुलो धुवाँ नियन्त्रण, सचेतना अभियान संचालन गरी वायु प्रदूषणलाई न्यूनीकराण गर्न सकिने उल्लेख गरेकी छन् ।

तिनकुनेमा तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा थप ६ जना पक्राउ

काठमाडौँ । काठमाडौंको तिनकुने क्षेत्रमा चैत्र १५ गतेको आगजनी, तोडफोडमा संलग्न रहेको आरोपमा थप ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीका अमित साह, सुनसरीको धरानका १९ वर्षीय सुमन कार्की, बर्दियाका ३५ वर्षीय हेमराज थारु, धादिङका २७ वर्षीय दिवस बोगटी क्षेत्री, काभ्रेकी ३० वर्षीइा अनिता कुँवर (ऐनी) र सिन्धुपाल्चोकका ३० वर्षीय कुमार तामाङ रहेका छन् ।

प्रहरीले उनीहरु चैत्र १५ गते तिनकुने क्षेत्रमा तोडफोड, आगजनी गरी गराई घरमा प्रवेश गरी नगद, जिन्सी सरसामानहरुमा क्षति पुर्याई, लुटपाट तथा अपराधिक उपद्रव गरी सडकमा गुडिरहेका निजी र सरकारी सवारी साधनहरुमा समेत आगजनी गरेको आरोपमा पक्राउ गरेको जनाएको छ ।

प्रहरीले उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति प्राप्त गरि अनुसन्धान गरिरहेको जनाएको छ ।

राप्रपाले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा आमसभा गर्दैछ । भृकुटीमण्डपमा गर्न प्रशासनले अनुमति नदिएपछि राप्रपाले बल्खुमा प्रदर्शन र आमसभा गर्न लागेको हो ।

राप्रपाले आज बागमती प्रदेशस्तरीय विरोधसभा सहितको प्रदर्शन गर्नुका साथै बैशाख ७ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने जनाएको छ । सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रदर्शन र सभालाई सभ्य, अनुशासित र भव्य बनाउने निर्णय गरेको छ ।

चैत १५ गते भएको राजावादीको आन्दोलन हिंसात्मक भएपछि राप्रपाले आजको प्रदर्शनलाई अनुशासित बनाउने भएको छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो जीवनकालमा देशमा परिवर्तन देख्न चाहने कुशासन, भ्रष्टाचार राज्य आतंकको अन्त्य गर्नको लागि प्रदर्शनमा सहभागी हुन सबैलाई आग्रह गरेका छन् ।

राप्रपाले आमसभामा घुसपैठ भए प्रतिकार गर्ने चेतावनी समेत दिएको छ । राप्रपाले आमसभामा हिंसा भड्काउने प्रयास हुनसक्ने भन्दै त्यसलाई रोक्न हजारौँ स्वयंसेवक खटाइने बताएको छ ।

‘विज्ञप्ति जारी गर्दैमा वायु प्रदूषणको समस्या समाधान हुँदैन, योजना कार्यान्वयन गर्नुपर्छ’

काठमाडौँ । वातावरणसँग सम्बन्धित विभिन्न सङ्घ/संस्थाका प्रतिनिधि र विज्ञहरूले बढ्दो वायु प्रदूषणबारे चिन्ता व्यक्त गरेका छन् । उनीहरुले यो समस्या समाधानका उपाय तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेपाल वातावरण पत्रकार समूह र ग्रामीणमुखी युवा अभियान नेपालले संयुक्त रुपमा सोमबार आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले प्रदूषण रोकथाममा सरकार र सङ्घसंस्थाबीच सहकार्य र समन्वयमा जोड दिएका हुन् ।

हरेक वर्षको सुक्खायाममा वन डढेलोलगायतका कारण प्रदूषण बढ्ने तथ्य हुँदाहुँदै समस्या जटिल भएपछि मात्रै समाधानका उपाय खोज्नु व्यावहारिक नहुने विज्ञहरूको भनाइ छ । वायु प्रदूषण बढेपछि देशैभर श्वासप्रश्वास र अन्य स्वास्थ्य समस्याका बिरामी बढ्दो रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी दीर्घरोगी र बालबालिका बढी प्रभावित हुने बताउँदै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले हरेक वर्ष नेपालीहरूको कूल मृत्युको १९ प्रतिशत कारण श्वासप्रश्वाससँग जोडिएको जानकारी दिए । एक तथ्याङ्कअनुसार प्रदूषणका कारण ४.८ प्रतिशतका दरले नेपालीको औसत आयु घटिरहेको छ ।

प्रदूषण घटाउन यसअघि बनेका नीति, कार्ययोजना कार्यान्वयन नहुँदा, सम्बन्धित निकायहरूबीच समन्वय नहुँदा समस्या जटिल बन्दै गएको उनको भनाइ थियो । सरकारले प्रदूषण नियन्त्रणका लागि हरेक वर्ष तीन अर्ब बढी राजस्व सङ्कलन गरे पनि सो रकम यही शीर्षकमा खर्च हुन नसकेको प्रवक्ता बुढाथोकीले बताए ।

उनले भने, “सरोकारवाला निकायहरूले विज्ञप्ति जारी गर्दैमा समस्या समाधान हुँदैन, विगतमा बनेका योजनाहरू कागजमा सीमित छन् । अब कार्यान्वयनमा जोड दिनुपर्छ ।”

र्यक्रममा वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले प्रदूषणको समस्या न्यूनीकरण गर्न एक सम्बन्धित निकायबीच आरोप/प्रत्यारोप लगाउनु भन्दा आ–आफ्नो ठाउँबाट अनुशासित बन्नुपर्ने बताए ।

प्रदूषण रोकथामकै लागि विभागले उद्योग, कलकारखानाको वातावरणीय पक्षको अनुगमन गर्दै कमीकमजोरी गरेकाहरूलाई सुधार गर्न ध्यानाकर्षण गराएको, सवारी प्रदूषण परीक्षण गर्ने गरेको जानकारी उनले दिए ।

सवारी प्रदूषण परीक्षणका लागि छुट्टै सवारी पार्किङ क्षेत्र र स्रोतसाधन आवश्यक रहेको उनले बताए । परीक्षणमा ५० प्रतिशत बढी सवारीसाधन मापदण्ड विपरित पाइएको र सरकारी सवारीसाधन परीक्षणमा अनुत्तीर्ण हुने गरेको बताए ।

कार्यक्रममा वायु गुणस्तर विज्ञ डा भूपेन्द्र दासले विस्थापित गर्ने भनिएका यूरो–१ र यूरो–३ मापदण्डका सवारीसाधनले निकाल्ने धुँवा, उद्योग कलकारखानाबाट निस्कने प्रदूषण समस्याका नियमित कारण बनिरहेको बताए ।

“अहिलेको मुख्य समस्या वन डढेलो हो, खेतबारीमा कृषि अवशेष र खुला ठाउँमा फोहर जलाउँदा प्रदूषण बढेको छ”, उनले भने, “नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान हरेक वर्ष प्रदूषणको जोखिममा छन्, समाधानका उपायहरू खोज्न ढिलो गर्नु हुँदैन ।”

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का अनुसार यही ८ चैतदेखि हरेक दिन काठमाडौँ र मुलुकका अन्य भेगको प्रदूषण निरन्तर बढिरहेको छ ।

“नेपालमा हरेक वर्ष जनवरीदेखि अप्रिलसम्म प्रदूषण बढ्ने गर्छ, यसमा अन्तरदेशीय कारण पनि छन्,” इमिमोडका वायु गुणस्तर विज्ञ डा खुस्बु शर्माले भनिन्, “प्रदूषण बढ्नु घट्नुमा वायुको प्रभाव पनि रहन्छ ।”

काठमाडौँ उपत्यकाका तीनै जिल्लामा वायु गुणस्तर सूचकाङ्क ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) मानव स्वास्थ्यका दृष्टिले जोखिम तहमा पुगेको छ ।

एक्यूआई दुई सयभन्दा माथि पुगेपछि मानव स्वास्थ्यका दृष्टिले जोखिम मानिन्छ । वातावरण अभियन्ता भोला भट्टराई, समूहका पूर्वअध्यक्ष कसमस विश्वकर्मालगायतले वातावरण विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायतका निकायले एकपछि अर्को कार्ययोजना बनाउने भन्दा पनि विगतका कार्ययोजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

कृषि कर्म र दैनिक घाँस दाउरा गर्ने समुदाय प्रदूषणको प्रत्यक्ष असरमा रहेको उल्लेख गर्दै स्थानीय सरकारको साथ र सहयोगमा प्रदूषण रोकथाम प्रभावकारी बनाउनुपर्ने धारणा व्यक्त गरे । “यस विषयमा प्रदेश र स्थानीय तहलाई पनि जिम्मेवार बनाउन स्वच्छ वायु अधिकार ऐन आवश्यक छ, महत्वपूर्ण कुरा त राजनीतिक प्रतिवद्धता हो”, अभियन्ता भट्टराईले भने ।

दुर्गा प्रसाईंका दाइ राकेश पक्राउ

प्रहरीले दुर्गा प्रसाईंका दाइलाई पक्राउ गरेको छ।

१५ चतैमा भएको राजावादी प्रदर्शनका मुख्य कमाण्डर प्रसाईंका भाइ रोकशलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले राकेशलाई सोधपुछका लागि प्रहरी कार्यालयमा उपस्थित गराइएको बताए ।

२ जनाको ज्यान जानेगरी भएको राजावादी प्रदर्शनपछि दुर्गा प्रसाईं भने फरार छन् । उनी भागेर भारत पुगिसकेको आशंका गरिन्छ ।

प्रदर्शनमा उच्छृंखल गतिविधि गरेको तथा तोडफोड गरकेो आरोपमा प्रहरीले करिब ७० जनालाई पक्राउ गरेको छ ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री तथा सांसद धवल शमशेर राणा लगायतका नेताहरू समेत अहिले हिरासतमा छन् ।

प्रधानमन्त्रीद्वारा शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुका माग र आन्दोलनका सम्बन्धमा सम्बन्धित मन्त्री र सचिवहरूसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, मुख्यसचिव एकनारायण अर्याल र सम्बन्धित मन्त्रालयका सचिवहरुसँगको छलफलमा थप गृहकार्य गरी वार्ताबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिइएको छ ।

छलफलमा शिक्षा मन्त्रालयका तर्फबाट नेपाल शिक्षक महासङ्घको आह्वानमा काठमाडौँमा जारी आन्दोलनमा उठाइएका मागबारे अवगत गराइएको थियो ।

बैठकमा विद्यमान आर्थिक अवस्था, विद्यालय शिक्षाको कानुन निर्माणको प्रक्रिया र सरकारले तत्काल पूरा गर्न सक्ने माग तथा गुणस्तरीय शिक्षाको सुनिश्चितता लगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मंगलबारको प्रदर्शन अहिंसात्मक र शान्तिपूर्ण हुन्छः राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार बल्खु क्षेत्रमा गर्ने प्रदर्शन शान्तिपूर्ण हुने जनाएको छ ।

सोमबार बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले प्रदर्शन शान्तिपूर्णरुपमा गर्ने निर्णय गरेको हो । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबारको प्रदर्शन शान्तिपूर्ण र अहिंसात्मक हुने बताए ।उनले विरोध प्रदर्शन भद्र अवज्ञा र सत्याग्रहको रुपमा अगाडि बढाउने बताए ।

साथै लिङ्देनले आफ्नो जीवनकालमा देशमा परिवर्तन देख्न चाहने कुशासन, भ्रष्टाचार राज्य आतंकको अन्त्य गर्नको लागि प्रदर्शनमा सहभागी हुन सबैलाई आग्रह गरे । राप्रपाले मंगलबार बल्खुमा हुने आमसभामा घुसपैठ भए प्रतिकार गर्ने चेतावनी समेत दिएको छ ।

लिङ्देनले मंगलबार हुने आमसभामा हिंसा भड्काउने प्रयास हुनसक्ने भन्दै त्यसलाई रोक्न हजारौँ स्वयंसेवक खटाइने बताए ।

चार देशीय टी–२० खेल्न हङकङ जाने नेपाली क्रिकेट टोलीको बिदाई

काठमाडौं । हङकङ–चाइनाको आयोजनामा हुने चार देशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार राष्ट्रिय टिमको बिदाइ गरेको हो । नेपालले हङकङमा हुने चार देशीय टी–२०–क्रिकेट प्रतियोगिताका लागि शनिबार रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको थियो ।

छनोट भएका खेलाडीमा आसिफ शेख, कुशल भुर्तेल, लोकेश बम, बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव, ललित राजवंशी, शाहव आलम र रिजन ढकाल छन् ।

बसिरले २ र नन्दनले ३ वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन् । प्रतियोगितामा नेपालले बुधबार कतार, बिहीबार कुवेत र आउँदो शनिबार हङकङसँग खेल्दैछ ।

केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेटमा सिइसी काठमाडौं सेमिफाइनलमा

पोखरा । राष्ट्रिय खेलाडी सहभागी सिइसी काठमाडौं केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरामा जारी दोस्रो संस्करणको प्रतियोगिताको समूह ‘ए’ को विजेता बन्दै काठमाडौं अन्तिम चारमा पुग्ने पहिलो टोली बनेको छ ।

तेस्रो दिनको पहिलो खेलमा सिइसी काठमाडौंले पोखरा महानगरपालिका क्रिकेट क्लबलाई ९ विकेटले हरायो । पोखरालाई हराउँदै कुल ३ खेलमा अपराजित रहँदै ६ अंकका साथ समूह विजेता बन्यो । ५४ रनको झिनो लक्ष्य पछ्याएको काठमाडौंले ४.२ ओभरमा १ विकेट गुमाउँदै ५७ रन बनायो ।

त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर व्याटिङ थालेको पोखरा १७.२ ओभरमा अलआउट हुँदै ५३ रन बनायो । पोखराले १० रन अतिरिक्त रनको रुपमा पायो । सुमह ‘ए’को अन्तिम चरणको खेलमा पोखराको पारीलाई ध्वस्त पार्ने क्रममा म्यान अफ दि म्याच समेत रहेका सिइसी काठमाडौंका दिपेन्द्र रावतले र युनिश विक्रम सिंह ठकुरीले समान ३/३ विकेट हात पारे ।

समूह ‘ए’ बाट पोखरासहित स्याङजा र हेटौडा समेत बाहिरिएको छ । प्रतियोगिताको चौथो दिन मंगलबार समूह ‘बि’ तर्फ ग्रेट हिमालय क्रिकेट एकेडेमी र हिमालयन क्रिकेट एकेडेमी बिच पहिलो खेल हुने छ भने सोही समूह अन्तरगत गण्डकी हिरोज र चितवन क्रिकेट क्लबबीच दोस्रो खेल हुनेछ ।

राजावादी आन्दोलनमा भारतको कुनै समर्थन छैनः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजावादी आन्दोलनमा भारतको कुनै समर्थन नरहेको बताएका छन् ।

गणेशमान सिंह फाउण्डेशनले सोमबार काठमाडौंमा आयोजना गरेको नेपाल भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखरले पुर्याएको योगदान विषयक गोष्ठीमा सभापति देउवाले राजावादी आन्दोलनमा योगी आदित्यनाथको फोटो प्रदर्शन भएपनि भारतीय नेताहरूको राजावादी आन्दोलनमा कुनै समर्थन नरहेको बताएका हुन् ।

नेपालको गणतन्त्रमा आफ्नो पूर्ण समर्थन रहेको र आफू नेपालको संविधान र व्यवस्थाविरुद्ध नरहेको भनी योगी आदित्यनाथले गरेको प्रतिवद्धताप्रति उनले धन्यवाद दिए । सभापति देउवाले नेपाल–भारतबीचको सम्बन्ध निकै प्रगाढ र राम्रो रहेको बताए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले छिट्टै बोलाएको खण्डका दुई देशबीचको सम्बन्ध अझ सुधार हुने बताए ।

कार्यक्रममा उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल–भारतबीच सम्बन्ध सुदृढ बनाउनमा भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरको भूमिका महत्त्वपूर्ण रहेको स्मरण गरे ।

उनले भने, ‘चन्द्रशेखर र गणेशमानबीच निकै घनिष्ठ सम्बन्ध थियो । उहाँहरूले नेताको रूपमा राजनीतिक परिवर्तनमा खेल्नुभएको भूमिका महत्त्वपूर्ण छ । ०४६ सालको जनआन्दोलनलाई सफल बनाउन चन्द्रशेखरज्यूले खेल्नुभएको भूमिका स्मरणीय छ ।’

उनले चन्द्रशेखरको प्रेरणाले नेपाल–भारतको सम्बन्ध झन् बलियो बनाएको बताए । नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले पनि नेपालमा २०४६ मा भएको जनआन्दोलनलाई सफल बनाउनमा चन्द्रशेखरको भूमिकाको स्मरण गरे ।

‘“भारतमा प्रधानमन्त्री हुँदा नेपाललाई निकै सहयोग गर्नुभयो उहाँले । बिपी कोइरालासँगको सम्बन्ध पनि राम्रो थियो’, उनले भने, ‘२०४६ सालको आन्दोलनमा उहाँ नेपालमै आएर गणेशमान सिंहको घरमा भाषण गरेर महत्त्वपूर्ण योगदान गर्नुभएको थियो ।’

विदेशी लगानीका लागि ‘सुरक्षित र आशाजनक भूमि’ रहने चीनको प्रतिज्ञा

बेइजिङ । अमेरिकी आयातमा ३४ प्रतिशत भन्सार शुल्क लगाएपछि चीनका एक उच्च अधिकारीले अमेरिकी कम्पनीहरूको संरक्षण गर्ने प्रतिज्ञा गरेका छन् । साथै उनले आफ्नो देश विदेशी लगानीका लागि ‘आशाजनक भूमि’ रहने वचन दिएको बेइजिङले सोमबार बताएको छ ।

चीनले गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘मुक्ति दिवस’ मा समान स्तरमा घोषणा गरेको भन्सार शुल्क विरुद्ध प्रतिशोध लिएको थियो ।

बेइजिङले चुम्बीकीय प्रतिध्वनि इमेजिङमा प्रयोग हुने ग्याडोलिनियम र उपभोक्ता इलेक्ट्रोनिक्समा प्रयोग हुने यट्रियम गरी सात दुर्लभ खनिज तत्वमा पनि निर्यात नियन्त्रण लागु गरेको छ ।

उप वाणिज्यमन्त्री लिङ जीले आइतबार अमेरिकी कम्पनी प्रतिनिधिहरूको प्यानललाई भन्सार शुल्कले ‘अमेरिकी कम्पनीहरू सहित उद्यमहरूको वैध अधिकार र हितहरूको दृढतापूर्वक संरक्षण गर्दछ’ उनको मन्त्रालयले बताएको छ ।

“बिहीबारदेखि लागू हुने ती करहरू संयुक्त राज्य अमेरिकालाई बहुपक्षीय व्यापार प्रणालीको सही मार्गमा फिर्ता ल्याउने उद्देश्यले हो”, उनले जीई हेल्थकेयर र मेडट्रोनिक लगायत प्रतिनिधिहरूलाई भने ।

चीनमा व्यापक व्यापारिक चासो राख्ने ट्रम्पका निकट सल्लाहकार एवं टेक अर्बपति एलन मस्कद्वारा सञ्चालित विद्युतीय वाहन टेस्लाका प्रतिनिधि पनि उपस्थित थिए । “भन्सार शुल्क समस्याको मूल कारण संयुक्त राज्य अमेरिकामा छ”, लिङले भने ।

उनले कम्पनीहरूलाई ‘विश्वव्यापी आपूर्ति शृङ्खलाको स्थिरता कायम राख्न र परस्पर सहयोग र जीत–जीत परिणामहरू प्रवर्द्धन गर्न संयुक्त रूपमा व्यावहारिक कार्यहरू गर्न’ आग्रह गरे ।

सन् २०२४ मा अमेरिकाले चीनलाई एक खर्ब ४४ अर्ब ६० करोड डलरको सामान निर्यात गरेको थियो । यो उसले आयात गरेको चार खर्ब ३९ अर्ब ७० करोड डलरभन्दा निकै कम हो ।

यसको निर्यातमा प्रमुख क्षेत्रहरूमा विद्युतीय र इलेक्ट्रोनिक उपकरणहरू र विभिन्न इन्धनहरू, साथै तेल बीउ र अन्नहरू समावेश छन् ।

विवादित टापु विवादबीच जापानी एनजिओमाथि रुसको प्रतिबन्ध

मस्को । टोकियोसँगको उत्तेजनाबीच रुसले सोमबार दोस्रो विश्वयुद्धको समयमा मस्कोले कब्जा गरेको विवादित टापु शृङ्खलालाई फिर्ता गर्न आह्वान गर्ने जापानी समूहलाई गैरकानूनी घोषित गरेको बताएको छ ।

रुसी भाषामा कुरिल द्वीपहरू र जापानी भाषामा उत्तरी क्षेत्रहरू भनिने द्वीपसमूह जापानको उत्तरपूर्वी तटमा अवस्थित छ । यी चारवटा टापु युद्धको अन्तिम महिनाहरूमा सोभियत सेनाले कब्जा गरेको थियो र टोकियोले ‘अवैध कब्जा’ भनेर वर्णन गरेदेखि मस्कोले कब्जा गरेको छ ।

रुसी महान्यायाधिवक्ताको कार्यालयले सोमबार टोकियोस्थित उत्तरी क्षेत्र समस्या संघलाई ‘इतिहास पुनर्लेखन गर्न चाहने र रुसको सार्वभौमिकतामा अतिक्रमण गर्ने’ आरोप लगाउँदै ‘अवाञ्छनीय’ घोषित गरेको जनाएको छ । सन् २००३ मा स्थापना भएको यो संघ टापुहरूको फिर्तीका लागि जापानको मुख्य वकालत समूह हो र ‘एरिका–चान’ नामक पफिन मस्कट प्रयोग गरेर बच्चाहरूलाई विवादका बारेमा शिक्षण सामग्री प्रदान गर्दछ ।

‘अवाञ्छनीय’ घोषित हुनाले रुसमा संगठनको लागि काम गर्ने वा सहकार्य गर्ने जो कोही पनि अभियोजनका लागि उत्तरदायी हुन्छ । रुसले अर्को समूह चिशिमा र हाबोमाई द्वीपहरूका निवासीहरूको लिगलाई पहिले नै प्रतिबन्ध लगाइसकेको थियो । पूर्व निवासीहरूद्वारा द्वीपसमूहमा वार्षिक यात्राहरू आयोजना गर्दथ्यो ।

यस विवादले सोभियत संघको औपचारिक उत्तराधिकारी रुसलाई जापानसँग दोस्रो विश्वयुद्धको शान्ति सन्धिमा हस्ताक्षर गर्नबाट रोकेको छ । यो उनीहरूको सम्बन्धमा एउटा प्रमुख अड्किएको विन्दु हो । सन् २०२२ मा युक्रेनमा आफ्नो आक्रमण सुरु गरेदेखि मस्कोले असहमतिमाथि अभूतपूर्व दमन गरेको छ । यसलाई अधिकार समूहहरूले सोभियत युगको सामूहिक दमनसँग तुलना गरेका छन् ।

रुसमा ‘अवाञ्छनीय’ भनेर लेबल गरिएका अन्य संगठनहरूमा विश्व वन्यजन्तु कोष, ग्रिनपिस, ट्रान्सपरेन्सी इन्टरनेशनल र रेडियो फ्रि युरोपररेडियो लिबर्टी समावेश छन् ।