`

चितवनमा बस र इभी गाडी ठोक्किँदा ७ जनाको मृत्यु, १८ घाइते

चितवन । चितवनमा यात्रुवाहक बस र माइक्रो ठोक्किँदा सात जनाको मृत्यु भएको छ।

चितवको राप्ती नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्ग सडकमा यात्रुवाहक बस र माइक्रो ठोक्किँदा सात जना यात्रुको मृत्यु भएको हो। दुर्घटनामा अन्य १८ जना घाइते भएका छन् ।

धनगढीबाट काकडभिट्टा जाँदै गरेको प्रदेश १-०१-००१ख ३५८३ नम्बरको बस र विपरीत दिशातर्फ आइरहेको बागमती प्रदेश ०३-००१ज २९९ नम्बरको माइक्रो ठोक्किएको चितवनका डिएसपी रवीन्द्र खनालले जानकारी दिए।

घाइतेहरुको उद्धार गरी उपचारका लागि भरतपुर ल्याइएको छ। मृत्यु हुनेमा एक जना गर्भवतीसहित पाँच जना महिला र दुई जना पुरूष छन्।

तीमध्ये दुई जनाको सनाखत भएको छ। सनाखत भएका मृतकहरुमा मकवानपुरका ५५ वर्षीय सोमप्रसाद रूपाखेती र मकवानपुर हेटौंडाकै ५३ वर्षीया मैंयाकुमारी न्यौपाने छन्।

अरू चार महिला र एक पुरूषको सनाखत हुन बाँकी छ। घाइतेहरूको पुरानो मेडिकल,नयाँ मेडिकल कलेज र भरतपुरको एलाइभ अस्पतालमा उपचार भइरहको छ।

ठोक्किएका दुवै गाडी सडकमै रहेकाले अहिले पूर्व-पश्चिम राजमार्गको उक्त खण्ड ठप्प भएको थियो।

अहिले डाइभर्सन बनाएर सवारी साधन आवत जावत गर्ने प्रबन्ध मिलाइएको चितवन प्रहरीले जनाएको छ।

विगतका कमजोरीबाट सिकेर विपद् पूर्वतयारी अघि बढाएका छौँ : कार्यकारी प्रमुख भट्ट(अन्तरवार्ता)

काठमाडौँ । मुलुकमा यस वर्षको मनसुन प्रारम्भ भइसकेको छ । जल तथा मौसम विज्ञान विभागले यसवर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ ।

यस वर्षको मनसनुजन्य विपद्बाट देशभर करिब चार लाख ५७ हजार १४५ घरधुरीका २० लाख नागरिक प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभावित हुने आँकलन गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्वतयारी र प्रतिकार्य योजनालाई कार्यान्वयनमा ल्याइसकेको छ । विपद् पूर्वतयारी, प्रतिकार्यलगायत विषयमा केन्द्रित रहेर प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टसँग राष्ट्रिय समाचार समितिका समाचारदाता प्रगति ढकाल र अशोक घिमिरेले गरेको कुराकानीको सम्पादित अंशः

-विपद्बाट हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि प्राधिकरणको तयारी कस्तो छ ?

यस पटकको मनसुनमा २० लाख नागरिक प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभावित हुने अनुमान गरिएको छ । त्यसमध्ये दुई लाखलाई कुनै न कुनै रूपमा राहत व्यवस्थापन गर्नुपर्छ भनेर तयारी गरिरहेका छौँ । स्थानीय तहमा स्वयंसेवकलाई तालिम दिइरहेका छौँ । आमसञ्चार माध्यमबाट विपद्सम्बन्धी सूचना स्थानीय जनतासमक्ष पु¥याउनका लागि सहकार्य गरेर अगाडि बढिरहेका छौँ । नेपाल प्रहरी, सशत्र प्रहरी बल, नेपाली सेनालाई तयारी अवस्थामा राखेका छौँ । विपद्का बेलामा सबैभन्दा नजिक स्थानीय सरकार रहेको हुन्छ । प्रदेश सरकार र स्थानीय तहलाई पनि तयारी अवस्थामा रहन आग्रह गरेका छौँ ।

यसपटक विपद् व्यवस्थापनमा निजी क्षेत्रलाई पनि सँगसँगै लिएर जाने योजना बनाइएको छ । डुबान भएको अवस्थामा उद्धारका लागि डुङ्गा र दक्ष जनशक्तिको आवश्यकता पर्छ । त्यसका लागि र्‍याफ्टिङ एसोसिएसनसँग समन्वय गरेका छौँ । विपद्का समयमा जिल्ला विपद् व्यवस्थापन समितिमार्फत ‘बोट’ र चालकलाई परिचालन गर्ने सहमति भएको छ । नेपाल यातायात व्यवसायी महासङ्घसँग पनि प्राधिकरणले विभिन्न चरणमा छलफल गरेको छ । महासङ्घमार्फत सम्भावित जोखिम क्षेत्रमा यातायात सञ्चालन नगर्न निर्देशन दिन आग्रह गरेका छौँ ।

-विगतका वर्षमा पनि विपद् पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना बनाइन्थ्यो । तर गत वर्षकै उदाहरण हेर्दा त यही उपत्यका र आसपासकै क्षेत्रका बासिन्दाको समयमा नै उद्धार हुन सकेन । भनेपछि अब यो वर्षको कार्ययोजनाको प्रभावकारी रूपमा कार्यान्वयन हुन्छ भनेर विश्वास दिलाउने आधार के छ त ?

विगतमा नहुनु भनेकै हाम्रा लागि पाठ थियो । गत वर्ष किन सकिएन ? कसरी सक्नुपथ्र्यो ? समीक्षा गरेर यो वर्ष हामीले प्रतिकार्य कार्र्ययोजना बनाएका छौँ । विगतका कमजोरीलाई केलाएका छौँ । गत असोज १०, ११ र १२ गतेको भारी वर्षाका कारण सबैभन्दा बढी क्षति पुगेको थियो । कार्ययोजनाको एउटा भाग नै असोजको सिकाइ के रह्यो भनेर समीक्षा गरिएको छ । विगत १५ दिनदेखि सशत्र प्रहरीले सिंहदरबार, धोबीखोला, थापाथली वरपर घुमिरहेको छ । विपद् स्वयम्सेवक बनाउने, कसरी उद्धार गर्ने भनेर अनुगमन गर्नुभएको छ । तसर्थ, विगतबाट पाठ सिकेर यस वर्ष पूर्वतयारीमा जोड दिएका छौँ ।

-विपद् व्यवस्थापनका सम्पूर्ण तयारी भए पनि कहीँकतै अन्तरनिकाय समन्वयमा चुकिरहेका हुन्छौँ । समन्वयमा कहाँ समस्या भइरहेको छ ?

सबै ठाउँमा जानकारी जाने तर कतातिर केन्द्रित हुने भन्ने हुँदा समन्वयमा समस्या भइरहेको हो । बाढीपहिरोबाट अवरुद्ध सडक सञ्चालन गर्न सडक विभाग रहेको छ । सुरक्षाकर्मीलाई आवश्यक उपकरण कसरी व्यवस्थापन गर्ने भनेर जोडेको छौँ । विपद्को प्रभावकारी व्यवस्थापनको जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसिरहेको छ । सकेसम्म कम धनजनको क्षति कम होस् भनेर समन्वयलाई बढाइरहेका छौँ ।

-तल्लो स्तरसम्म प्राधिकरणको आफ्नै संयन्त्र त छैन । यस्तो अवस्थामा समन्वयन बढाउनका लागि कतिको चुनौती हुँदोरहेछ नि ?

प्राधिकरणको आफ्नै संरचना नभए पनि स्थानीय विपद् व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समिति, प्रदेश विपद् व्यवस्थापन समिति रहेका छन् । ती निकायसँग समन्वय गर्ने काम प्राधिकरणले गरिरहेको छ । विपद्मा हामीले निर्देशन दिन्छौँ र कार्यान्वयन ती निकायहरूले गर्छ ।

-अन्तरमन्त्रालय तथा अन्य सरकारी निकायबीच समन्वय कसरी बढाउने ?

समन्वय नभएको भन्ने त होइन । समन्वय भन्ने कुरा कतिको सम्पर्क बढाउनुहुन्छ त्यसमा भर पर्ने कुरा हो । हामीले सञ्चार मन्त्रालयसँग पनि छलफल गरिरहेका छौँ । सम्पर्क बढाइरहेका छौँ । उहाँहरूले दूरसञ्चारसँग समन्वय गर्नुहुन्छ । यस्तै अन्य निकायसँग पनि सम्पर्क बढाइरहेका छौँ । जुन समन्वयले यस वर्षको मनसुनमा विपद्बाट हुन सक्ने क्षति कम होस् भनेर लागिरहेका छौँ ।

-जलवायु परिवर्तनको असरस्वरूप नसोचिएको विपद्का घटनाहरू भइरहेका छन् । यस्तो अवस्थामा विपद् व्यवस्थापनका योजना के–कस्तो बनाउन आवश्यक पर्ला ?

नेपालमा मात्रै नभएर विश्वभर नै जलवायु परिवर्तनको घटना बढिरहेका छन् । गतवर्ष पनि टीकाभैरव क्षेत्रमा बढी पानी पर्दा उपत्यकामा ठूलो क्षति भयो । त्यस्तै भीषण पानी अन्य क्षेत्रमा पनि परेको भए विपद्का घटना अझ बढ्न सक्थ्यो । कञ्चनपुरको दोधरा चाँदनीमा गतवर्ष ‘रेकर्ड ब्रेक’ वर्षा भयो । नेपालसँगै विश्वभर नै नसोचिएको घटना भइरहेका छन् । जलवायु परिवर्तनमा नेपालको योगदान नगन्य भए पनि नेपालमा यसको असर सबैभन्दा बढी परिरहेको छ । तसर्थ, नेपालले जलवायु न्याय पाउनुपर्छ । हामीलाई जलवायुजन्य हानिनोक्सानीस्वरूप रकम उपलब्ध गराउनुपर्ने तथा जलवायु अनुकूलनको क्षमता बढाउनका लागि धनी तथा विकसित मुलुकले सहयोग गर्नुपर्छ भनेर पैरवी गरिरहेका छौँ ।

-विपद्बाट हुन सक्ने क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली अति नै महत्वपूर्ण हुन्छ । नेपाल, चीन र भारतबीच अन्तरदेशीय पूर्वसूचना प्रणालीमा सहकार्य गर्ने कुरा अघि बढेको थियो । त्यो विषय अहिले कहाँ पुगेको छ ?

पूर्वसूचना प्रणालीकै कारण गत वर्ष धेरै स्थानमा नागरिकको जीउधनको रक्षा भएको छ । अन्तरदेशीय पूर्वसूचना प्रणालीमा सहकार्यका बारेमा जेनेभामा आयोजित ‘ग्लोबल प्लाटफर्म फर डिजास्टर रिस्क रिडक्सन’ (डिपिडिआरआर) को बैठकमा कुरा राखेका छौँ । सन् २०१५ को एक अध्ययनअनुसार ४७ वटा हिमताल विस्फोटका नजिक छन् । त्यसमध्ये २५ वटा चीनमा, २१ वटा नेपालमा र एक वटा भारतमा पर्छ । अब २५ वटा तालमा के भइरहेको छ भन्ने कुरा हामीले पूर्वसूचना पाएनौँ भने नेपाली नागरिकको जीउधनको रक्षा गर्न सक्दैनौँ । नेपाल छिरेपछि मात्रै हामीले थाहा पाउने भयौँ ।

यही कुरा मैले डिपिडिआरआरका प्रमुखलाई राखेपछि उहाँले चिनियाँ पक्षसँग भेट गराउनुभयो । चिनियाँ पक्षसँग मैले विषय राखेँ । तपाईहरूसँग सूचना र प्रविधि पनि छ । नेपाली नागरिकलाई जोगाउनका लािग पूर्वसूचना चाहिन्छ भनेर कुरा राखेपछि उहाँहरूले त्यो सम्बन्धमा चिनियाँ सरकारसँग छलफल गर्ने बताउनुभयो । संयुक्त राष्ट्र सङ्घको विपद् व्यवस्थापनसम्बन्धी निकायको यस क्षेत्र हेर्ने अधिकारीको नेपाल भ्रमणका क्रममा छलफल भएको छ । यसका लागि नेपालस्थित विपद्सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय निकाय र प्राधिकरणका प्रतिनिधिले संयुक्त प्रस्ताव बनाएर चीन सरकारलाई पठाउने तयारी भइरहेको छ । समन्वयका लागि युएनडिआरआरलाई अघि राख्न खोजेका छौँ । संयुक्त राष्ट्र सङ्घीय निकायको माध्यमबाट हुँदा काम छिटो चाँडो होला भनेर त्यसो गर्न लागेको हौँ । गृहमन्त्रालयबाट परराष्ट्र मन्त्रालय हुँदै नेपाल सरकारले चिनियाँ पक्षसँग छलफल गर्नेछ ।

-छिमेकी राष्ट्रका विपद् व्यवस्थापनसम्बन्धी निकायसँग प्राधिकरणको छलफल हुन्छ कि हुँदैन् ?

विभिन्न क्षेत्रीय तथा अन्तरराष्ट्रिय मञ्चमा विपद्सम्बन्धी छलफल भइरहेको हुन्छ । विपद्का समयमा सबै छिमेकी मुलुकले नेपालमा विभिन्न सहयोग गरिरहेका हुन्छन् ।

-नेपालका सुरक्षा निकायलाई विपद् व्यवस्थापनमा सबल र सक्षम बनाउँदै उनीहरूलाई अन्तरराष्ट्रिय विपद् प्रतिकार्यमा खटाउने सम्भावना कस्तो रहन्छ ?

विपद्मा जाने टिमले इन्टरनेशनल सर्च एण्ड रेस्क्यू एडभाइजरी ग्रुप (इन्साराग) सम्बन्धी मापदण्ड पूरा गर्नुपर्छ । त्यो मापदण्डमा नपुग्दासम्म नेपालले मेडिकल सहयोग गर्ने मात्रै हो । जस्तै केही समयअघिको भूकम्पमा म्यानमारमा नेपाली सेनाको स्वास्थ्य टोली सहयोगका लागि गएको थियो । अहिले तत्कालै हाम्रा सुरक्षाकर्मी त्यस्ता विपद्मा जाने अवस्था छैन । त्यसका लागि अहिले इन्साराग गाइडलाइन बनाउँदैछौँ । त्यो गाइडलाइन कार्यकारी समितिबाट पास भइसकेको छ । कार्यकारी परिषद्बाट पास भएर कार्यान्वयनमा आएपछि सर्च एण्ड रेस्क्यू टिम तयार हुन्छ । त्यसका लागि केही पाठ्यक्रम पास भइसकेको छ । परिषद्बाट इन्सारागमा जाने भनिसकेपछि सबै पाठ्यक्रम पारित गरेर नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीबाट त्यसअनुसारको टिम बनाइन्छ । यसबाट अहिले अन्तरराष्ट्रिय क्षेत्रमा शान्ति स्थापनार्थ नेपाली सेनाको जुन पहिचान छ, त्यसैगरी विपद्को समयमा नेपाली सुरक्षाकर्मी आयो भने उद्धार गर्छ भनेर राष्ट्रको प्रतिष्ठा बढ्छ । अर्को, विभिन्न परिस्थितिमा काम गरेर आइसकेपछि उहाँहरूको विशेषज्ञता पनि बढ्छ । यसबाट जस्तुसकै विपद् पर्दा उद्धार गर्न सहयोग पुग्छ । यही कारणले नेपाल इन्सारागमा सहभागी हुन खोजेका हौँ ।

-अन्त्यमा, यहाँको सन्देश के छ ?

हामी सबै प्रकारका विपद्को उच्च जोखिममा छौँ । पूर्वतयारीमा हाम्रो ध्यान पुगेकै छैन । जहिले पनि विपद् आउँदा सबैभन्दा पहिलो ‘रेस्पोन्स’ गर्ने भनेको स्थानीय समुदायले नै हो । विसं २०७२ को भूकम्पलाई हेर्ने हो भने पनि ८० प्रतिशत उद्धार स्थानीयले गरेको छ । उन्नाइस प्रतिशत उद्धार नेपाली सुरक्षाकर्मी र एक प्रतिशत अन्तरराष्ट्रिय सुरक्षाकर्मीले गरेको हो । अर्थात् पहिलो ‘रेस्पोन्डर’ स्थानीय समुदाय हो । स्थानीय समुदायभित्र जनचेतना जगाउन सक्यौँ र उहाँहरूलाई आवश्यक पर्ने आधारभूत सीप दिन सक्यौँ भने विपद् व्यवस्थापन प्रभावकारी हुन्छ । विपद्को सूचना सङ्कलन गर्ने, समुदायमा प्रवाह गर्ने, जटिसक्दो छिटो सुरक्षित स्थानमा भेला हुने गरी स्थानीय समुदायमै पूर्वतयारी गर्नुपर्छ । विपद्का समयमा आवश्यक पर्ने आधारभूत सामग्रीको जोहो समुदायले नै गर्नुपर्छ । स्थानीय तहको क्षमता अभिवृद्धि गर्ने हो भने विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सकिन्छ । विपद् प्रतिरोधी पूर्वाधार निर्माण गर्नुपर्छ । विपद् जुनसुकै बेला आउन सक्छ, विपद् रोक्न सकिँदैन । त्यसपछि क्षतिपूर्ति दिने राज्यको दायित्व हो, तर विपद्सँग जुध्नसक्ने समुदाय हामीले निर्माण गर्न सक्नुपर्छ । यति हुँदा मात्रै विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सकिन्छ ।

रवि लामिछानेको प्रश्नः दण्डस्वरुप आज थुना व्यहोरिरहेको मान्छे सत्तालोलुप हो कि विद्रोही ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूविरुद्धका आरोपहरू नियोजित षड्यन्त्र भएको बताएका छन् ।

भैरहवा कारागारबाट अपील जारी गर्दै लामिछानेले राष्ट्रप्रेमी र नयाँ सोच बोकेका नेताहरूलाई हटाउने योजनाअनुसार आफूमाथि आरोप लगाइएको बताएका हुन् । उनले आफूलाई जनताबाट पाएको समर्थन र साँचो देशभक्तिको मूल्यमा दण्डित गर्न खोजिएको बताएका छन् ।

लामिछानेले आफूलाई अमेरिकामा बसेका बेला भएको वैवाहिक सम्बन्ध र त्यससँग सम्बन्धित विषयलाई राजनीतिक स्वार्थले उछालिएको आरोप पनि लगाएका छन् । उनले भनेका छन्, ‘म फेरि जनताको बीचमा आई जिम्मेवारी वहन गर्न तयार छु । यो सस्तो राजनीति हो। जनतालाई झुक्याउने खेल हो। तर म टुक्रिन तयार छु, झुक्न सक्दिनँ ।’

उनले आफूविरुद्धका षड्यन्त्र अझै नसकिएको बताएका छन् । उनले भनेका छन्, ‘मविरुद्धका षड्यन्त्र अझै सकिएका छैनन्। २०४६ सालपछिका छत्तीस वर्षमा यिनीहरूले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई कसरी कब्जा गरिसकेका छन्, आज संसारले देखेको छ। यो अपराधपूर्ण घेराबन्दीमा अब मैले जनताको अदालतबाहेक न्याय माग्न जाने ठाउँ छैन। राज्य यिनको, अड्डा–अदालत यिनको, मिडियासमेत यिनकै । राज्यका सारा अंग र संरचना यिनकै भर्तीकेन्द्र। घरिघरि लाग्छ, यिनीहरूले मलाई धेरै दुःख दिए। तर, विचार गर्दै जाँदा गएका छत्तीस वर्षमा यिनीहरूले देश र जनतालाई दिएको दुःखका अगाडि मैले पाएको दुःख त केही पनि होइन। यिनीहरूले मलाई जेल हाले भनेर के दुखमनाउ गर्नु, जब यिनीहरूले सिंगो देशलाई नै जेल बनाइसके।’

सहकारीको बचत रकम ठगी अभियोगमा पूर्वपक्षका लागि उनी भैरहवा कारागारमा छन् ।

रास्वपामा पदाधिकारीको जिम्मेवारी हेरफेर, बुर्लाकोटी महामन्त्री

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पदाधिकारीको जिम्मेवारी हेरफेर गरेको छ । पार्टीको तेस्रो स्थापना दिवसका अवसरमा शनिबार बसेको केन्द्रीय समिति बैठकले कविन्द्र बुर्लाकोटीलाई महामन्त्री र कार्यवाहक प्रवक्ताबाट मनिष झालाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो । रास्वपाले आज पार्टीको तेस्रो स्थापना दिवस मनाउँदै छ ।

नेपाल स्कटल्याण्डसँग ३४ रनले पराजित

काठमाडौं । टी–२० क्रिकेट नेपाल स्कटल्याण्डसँग पराजित भएको छ । स्कटल्याण्डले नेपाललाई ३४ रनले पराजित गरेको हो ।

स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९३ रन बनाएको थियो भने नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर १५९ रन मात्र बनाउन सक्यो । १९४ रनको लक्ष्य पछ्याएको नेपालको ब्याटिङ सुरुवात कमजोर रह्यो ।

कुशल भुर्तेल ४ रनमा आउट भए भने आसिफ शेख १४ रनमा रनआउट भए । कप्तान रोहित पौडेलले २७ रन र दिपेन्द्र सिंह ऐरीले ३४ रन बनाए पनि टिमलाई जितसम्म पुर्याउन सकेनन् । अन्तिमतिर रुपेश सिंहले ४३ रनको अविजित पारी खेले तर त्यो पर्याप्त भएन ।

स्कटल्याण्डका क्रिस ग्रीभ्सले ३ विकेट र सफियान शरीफले २ विकेट लिए । टस जितेर ब्याटिङ रोजेको स्कटल्याण्डले २० ओभरमा ५ विकेट गुमाउँदै १९३ रन बनायो ।

स्कटल्याण्डले नेपाललाई दियो १९४ रनको लक्ष्य

काठमाडौँ । त्रिकोणात्मक टि–२० अन्तरराष्ट्रिय शृङ्खलाको निर्णायक खेलमा घरेलु टोली स्कटल्याण्डले नेपाललाई जितको लागि एक सय ९४ रनको लक्ष्य दिएको छ ।

स्कटल्याण्डको टिटउट रङ्गशालामा टस जितेर पहिला ब्याटिङको निर्णय गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ९३ रनको योगफल बनाएको हो ।

स्कटल्याण्डका ओपनर जर्ज मुन्सेले अर्धशतकीय पारी खेले । उनले ३९ बलमा पाँच चौका र छ छक्कासहित सर्वाधिक ७८ रन बनाए । त्यस्तै ब्रेन्डन म्याकमुलनले ३० बलमा चार चौका र एक छक्कासहित ४२ रनको योगदान गरे । यसबाहेक अलराउन्डर माइकल लिस्कले २६ र विकेटकिपर म्याथिउ क्रसले १७ रन बनाए ।

नेपालका लागि कुशल भुर्तेलले दुई विकेट लिए भने रुपेश सिंह, सन्दीप लामिछाने र ललित राजवंशीले समान एक–एक विकेट हात पारे । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

रास्वपाको महामन्त्रीमा मुकुल ढकाल

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक महामन्त्री डा. मुकुल ढकाललाई महामन्त्रीमै रहेको पत्र दिएको छ ।

ढकालले आफूलाई गरेको कारबाहीविरुद्ध निर्वाचन आयोगमा निवेदन दिएका थिए । उनको निवेदनमा आयोगले २०८० चैतयता रास्वपाको जिम्मेवारी हेरफेर भएको जानकारी आयोगलाई नभएको भन्दै मुकुन्द महामन्त्री रहेको रेकर्डसहित पत्र पठाएको हो ।

आयोगका अनुसार ढकालले असार ४ गते राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र सदस्यहरूको अध्यावधिक विवरण माग गरेका थिए । त्यस्तै आयोगले २०८० चैत २० गते रास्वपाले पछिल्लोपटक अध्यावधिक विवरण पठाएको र अभिलेखमा सोही नै कायम रहेको पनि उल्लेख गरेको छ ।

ढकाललाई रास्वपाले गत वर्षको भदौ ११ गते बसेको पार्टीको बैठकले साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको थियो । पार्टीबाट निष्काशन गर्नुअघि ढकाल निलम्बनमा परेका थिए। पार्टीले निलम्बनमा राखेपछि उनले आयोगलाई पत्र लेखेर कुनै पनि पत्र अध्यावधिक नगर्न आग्रह गरेका थिए ।

नागार्जुन नगरपालिकाका मेयर बस्नेत भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । विशेष अदालतले नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

शुक्रबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले बस्नेतलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।

बस्नेतले राजु कँडेलबाट ९ करोड २२ लाख रुपैयाँ लिएको ठहरसहित सम्पती शुद्धीकरणमा दोषी ठहर गरेको छ । उनीविरुद्ध २०८१ पुष १४ गते मुद्दा दायर भएको थियो ।

पद्मा कोलनीका सञ्चालक कँडेललाई भने सम्पत्ति शुद्धीकरणमा दाबी नपुग्ने भन्दै सफाइ दिएको छ।विशेष अदालतले सजाय तोक्न असार १६ गतेलाई पेसी तोकेको छ ।

६० किलो सुन तस्करी प्रकरणकी फरार आरोपी अमला रोका पक्राउ

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोका पक्राउ परेकी छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले शुक्रबार काठमाडौंको टोखाबाट रोकालाई पक्राउ गरेको ब्युरोका प्रवक्ता युवराज खड्काले जानकारी दिए ।

रोकाको खोजीका लागि प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)मा डिफ्युटन नोटिस जारी भएको थियो । रोका तिब्बतियन नागरिक दावा लामाकी श्रीमती हुन् । लामा पुर्पक्षकाका लागि थुनामा छन् ।

२०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको ब्रेक–शुमा सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । उक्त ब्रेक शुभित्र ठूलो परिमाणमा सुन भेटिएको थियो । पछि परिणाम जाँच्दा उक्त सुन ६० किलो ७१६ ग्राम रहेको खुलेको थियो ।

विभिन्न नक्कली कम्पनी खडा गरी चीनबाट विभिन्न सामानभित्र सुन राखेर तस्करी गर्ने गरेको खुलेको थियो। सुरूमा यसको अनुसन्धान विभागले नै गरेको भए पनि पछि सिआइबीले अनुसन्धान प्रक्रिया अघि बढाएर मुद्दा दायर गरेको थियो।

देशले पूर्वाधार विकासका क्षेत्रमा गति लिँदै गएको छः प्रधानमन्त्री ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्कोमा नवनिर्मित ‘फ्लाई ओभर’ ले ग्वार्काेसहित आसपासका क्षेत्रमा हुने सवारी जामको समस्या समाधान गर्ने बताएका छन् ।

शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा आयोजित कार्यक्रममा नवनिर्मित फ्लाई ओभरको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारले बहुआयामिक र चौतर्फी ढङ्गले विकास अगाडि बढाएकाले यसमा सबैको साथ रहने विश्वास व्यक्त गरे ।

काठमाडौँ चक्रपथको कलङ्की–कोटेश्वर खण्डमा निर्मित ग्वार्काे फ्लाई ओभरको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण गरेको हो । इञ्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपिसी) ढाँचामा १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा आशिष समानान्तर रेलिगेर जेभीद्वारा निर्मित उक्त फ्लाई ओभर नेपालको पहिलो हो ।

कुल पाँच सय मिटर ‘अप्रोच’ सडक रहेको यसमा ३५ मिटर स्पानको चार लेन पुल निर्माण भएको छ । ग्वार्काे चोकको ट्राफिक जामलाई हटाउन २०७८ सालमा यसको निर्माण आरम्भ भएको थियो ।

‘हामी विकासको बाटोमा लगातार अगाडि बढिरहेका छौँ । हिजो दैलेखमा नेपाललाई ५० वर्ष पुग्ने मिथेन ग्यास रहेको प्रमाणित भयो । तीनवटा कुवामध्ये एउटा कुवाबाट त्यति ग्यास पैदा हुन्छ । त्यसको उत्खननको सुरुवात गरेका थियौँ । धौवादी फलाम कारखाना सुरु भएपछि नेपालमा फलाम उत्पादन भई देशको अर्थतन्त्रलाई धेरै अगाडि बढाउने छ’, प्रधानमन्त्री ओलीले भने, ‘यसरी विकास हुँदा विदेश जाने मुद्रा स्वदेशमा रहन्छ । ठूलो आर्थिक लाभसहित रोजगारी सृजना हुन्छ । अरु खनिजको उत्खनन, कृषिको आधुनिकीकरण गर्नेछौँ । नयाँ उद्योग स्थापना, सामाजिक र प्रशासनिक सुधार गरेर देशलाई अगाडि बढाउनेछौँ ।’

सुनकोशी–मरिन डाइभर्सन आयोजना र हुलाकी राजमार्गले तराईको मुहार फेर्ने र मेची–महाकालीको कायाकल्प गर्ने भन्दै उनले देशले पूर्वाधार विकासका क्षेत्रमा गति लिँदै गएको बताए । उनले मदन भण्डारी राजमार्ग, पुष्पलाल मध्यपहाडी राजमार्गलगायत अन्य आयोजनाले पनि गति लिइरहेका उल्लेख गरे ।

डोटीमा जिप दुर्घटना, तीन जनाको मृत्यु, पाँच घाइते

डोटी । डोटीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो १ः४० बजेको समयमा आदर्श गाउँपालिका–१ खिराधारा धौलामाटीस्थित दिपायल सायल सडकखण्डमा सुप्रप०१००१ज १३९५ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र जोशीका अनुसार दुर्घटनामा परी सायल गाउँपालिका–४ सुण्डकी ४१ वर्षीया देवी विक, जिपचालक आदर्श गाउँपालिका–७ दडिमानाका २७ वर्षीय सुरेश कार्की र सायल गाउँपालिका–६ कटुवाल गाउँकी ३५ वर्षीया काली कटुवालको मृत्यु भएको छ । दुई जनाको घटनास्थलमा र कालीको जिल्ला अस्पताल डोटीमा उपचारका क्रममा ४ः१२ बजेको समयमा मृत्यु भएको हो । प्रहरीका अनुसार मृतक काली गर्भवती रहेको खुलेको छ ।

दुर्घटनामा परी आदर्श गाउँपालिका–३ नुवाकोटकी १४ वर्षीया अनिता विक, १६ वर्षीया स्यानु विक, सोही पालिकाको वडा नम्बर ७ दडिमानाका २२ वर्षीय कैलाश विष्ट, १४ वर्षीय दीपक विष्ट र मृतक काली कटुवालकी १० वर्षीया छोरी साविता कटुवाल घाइते भएको प्रहरी निरीक्षक जोशीले जानकारी दिए । घाइते चार जनाको अवस्था गम्भीर छ भने एक जनाको अवस्था मध्यम रहेको छ । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

दिपायलबाट मौवातर्फ गइरहेको जिप सडक घुम्तीमा अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । जिप सडकबाट करिब २५० मिटर तल खसेको छ ।

ट्राफिक प्रहरीबाट प्रधानमन्त्रीले उद्घाटन गराए ग्वार्को फ्लाइओभर

ललितपुर । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरको उद्घाटन गरिएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले रिबन काटेर उद्घाटन गरेका हुन् ।

उद्घाटनपछि आजैबाट सवारी साधन सञ्चालन गर्ने तयारी गरिएको छ । ललितपुरको ग्वार्को चोकमा नेपालकै पहिलो फ्लाई ओभरको निर्माण भएको हो ।

गत शनिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरी सवारी साधन सञ्चालनको तयारी गर्न निर्देशन दिएको थियो । ‘फ्लाई ओभर’ निर्माणका क्रममा सास्ती भोगिरहेका सर्वसाधरण अब भने ट्राफिक जामको समस्याबाट मुक्त हुने भएका छन् ।

दुई वर्षभित्र काम सम्पन्न हुनेगरी २०७८ साल फागुन १२ गते आशिष–समानान्तर रेलिगेर जेभी निर्माण व्यवसायी कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । यसरी २०८० साल फागुन ११ गते ठेक्का सम्पन्न गर्ने मिति तोकिएको थियो ।

तर तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि २०८१ असारमा निर्माण सम्पन्न हुनेगरी फेरि दोस्रोपटक म्याद थप भएको थियो । तर फेरि पनि तोकिएको समयमा पनि निर्माण सम्पन्न हुन नसकेपछि २०८१ साल पुस ८ गते सम्पन्न गर्नेगरी म्याद थप भयो । आयोजनामा समस्या देखिएपछि गत पुस र माघमा गरी एक महिना जति आयोजना निर्माणको कामसमेत ठप्प भएको थियो ।

ग्वार्को ओभरपासको कुल र्याम्प र पुलको लम्बाइ ५७६ दशमलव २ मिटर, ग्वार्को चोकबाट लगनखेलतर्फ तीन सय २० मिटर र सातदोबाटोतर्फ एक सय ८५ मिटर लामो ओभरपास रहेको छ । दुवैतर्फ चार तहको कालोपत्र गरिनुका साथै ओभरपासको र्याम्पको दूरी भने १० दशमलव २ मिटर रहेको छ । बीचको पुल खण्डको लम्बाइ भने ३६ दशमलव २ मिटर छ ।

यसरी दुईवटै र्याम्प र पुल मिलाएर ओभरपासको कुल लम्बाइ पाँच सय ४० मिटर (र्याम्प) प्लस ३६ दशमलव २ मिटर (पुल) गरी ५७६ दशमलव २ मिटर हुन्छ । तोकिएको समयमा काम सम्पन्न हुन नसक्दा सुरूको सम्झौताभन्दा १४ करोड लागत थप भएको थियो ।

बिपी राजमार्गमा राति सवारी साधन संचालनमा रोक

मन्थली । बिपी राजमार्गमा राति सवारी साधन संचलानमा रोक लगाइने भएको छ । शुक्रबार बसेको काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले खुर्कोटदेखि काभ्रेभञ्ज्याङ सडक खण्डमा आइतबारदेखि आगामी १५ दिनसम्म रातिको समयमा सवारी चलाउन रोक लगाउने निर्णय गरेको हो ।

रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म मालवाहक गाडी बाहेक अन्य सवारी साधन चल्न रोक लगाउने निर्णय भएको जानकारी दिए । समितिले काठमाडौंबाट जाने सवारी काभ्रे भञ्ज्याङमा रोक्ने र काठमाडौं तर्फजानेलाई सिन्धुलीको खुर्कोटमा रोक्ने निर्णय गरेको छ ।

गतवर्षको असोजमा गएको बाढीपहिरोले राजमार्गमा ठूलो क्षति भएको थियो । अहिले राजमार्गमा अस्थायीरुपमा यातायात संचालन भइरहेको छ । राजमार्ग पुनर्निर्माणका लागि ठेक्का सम्झौताको काम भइरहेको छ । ठेक्का लागेपछि सडक पुनर्निर्माण गर्न कम्तीमा दुई वर्ष लाग्नेछ ।

इजरायल र इरानबाट नेपालीलाई उद्धार गर्ने तयारीमा छौँः परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इजरायल र इरानमा विकसित परिस्थितिअनुसार त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र उद्धारका लागि नेपाल सरकारले सम्भव भएका सबै उपायहरु अवलम्बन गर्ने र नेपाल फर्कन चाहनेलाई उद्धार गर्ने तयारीमा रहेको जानकारी दिएकी छन् ।

शुक्रबार  परराष्ट्र मन्त्रालयमा बसेको श्रम रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र गृह मन्त्रालयसँगको संयुक्त बैठकमा मन्त्री डा राणाले इजरायल र इरानमा जारी रहेको युद्धका कारण उत्पन्न परिस्थिति र त्यसको तयारीबारेमा छलफलका क्रममा यस्तो जानकारी गराएकी हुन् ।

मन्त्री राणाले परराष्ट्र मन्त्रालयको समन्वयमा इजरायलस्थित नेपाली दूतावासले सक्रिय रुपमा काम गरिरहेको, स्वदेश फर्कन चाहने नेपालीका लागि रजिष्ट्रेसन पनि खुलेको र उनीहरु स्वदेश फर्कन चाहेमा उद्धारका लागि त्यसको प्रबन्धको तयारीमै सरकार रहेको जानकारी दिइन् ।

उनले भनिन्, ‘जिटुजी प्रक्रियाअन्तर्गत इजरायल पुगेका नेपालीहरू नेपाल फर्कन वा सुरक्षित स्थानमा जान चाहेमा सोका लागि सहजीकरण गर्नु इजरायलको पनि दायित्व हो । त्यसका लागि सीमाक्षेत्रबाट अन्य मुलुकमा जान सहयोग गरिदिन इजरायल सरकारलाई अनुरोध गरिसकिएको छ । नेपालीहरु स्वदेश फर्कन चाहेमा उहाँहरुको उद्धारका लागि नेपाल सरकार तयारी अवस्थामै छ ।’

बैठकमा श्रममन्त्री शरतसिंह भण्डारीले मन्त्रालय पनि त्यहाँ रहेका नेपालीहरुसँग निरन्तर सम्पर्कमा रहेको र उनीहरु स्वदेश फर्कन चाहेमा उद्धारको तयारीमा नेपाल सरकार लाग्नुपर्ने बताए । उनले हाल इजरायल जाने अन्तिम तयारीमा रहेकाहरुलाई श्रम स्वीकृति नदिइ रोकिराखिएको पनि बताए ।

यही जुन १३ मा इजरायल र इरानबीच युद्ध सुरु भएकै दिन परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत दुवै पक्षलाई अधिकतम संयमता अपनाउन र वार्ताद्वारा समस्या समाधान गर्न अपील गर्दै ती मुलुकमा रहेका नेपालीलाई सम्बन्धित नेपाली राजदूतावाससँग सम्पर्कमा रहन अनुरोध गरेको थियो ।

त्यसपछि जुन १५ मा सम्पर्क विवरणसहितको ट्राभल एड्भाइजरी जारी गरी सुरक्षाका दृष्टिकोणले अधिकतम सतर्कता अपनाउन नेपालीलाई अनुरोध गरिएको थियो ।

ती मुलुकमा हाल हवाई मार्ग बन्द रहेको अवस्थामा सुरक्षित स्थान वा सीमावर्ती मुलुकमा जान चाहने नेपालीलाई ‘अनलाइन भिसा’ उपलब्ध गराउनेलगायतका काममा सहजीकरण गरिदिन खाडीस्थित सबै नेपाली नियोगलाई परराष्ट्र मन्त्रालयले गत बुधबार नै निर्देशन दिएको छ ।

साथै मन्त्रालयले अनलाइन पोर्टल खोलेर नेपालीहरूको विवरण लिन सुरू गरेको र उक्त पोर्टलमा हालसम्म ६०० जनाभन्दा बढीले विवरण दर्ता पनि गराइसकेका छन् । योक्रम जारी नै छ ।

परराष्ट्र मन्त्रालयले गत बुधबार नै दोस्रो पटक ट्राभल एड्भाइजरी जारी गरेर हाल इजरायल तथा इरानमा रहेका नेपाली नागरिकलाई सुरक्षाका दृष्टिकोणले अधिकतम सतर्कता अपनाउन र नेपालबाट इजरायल वा मध्यपूर्वका अन्य मुलुकको भ्रमण नगर्न अनुरोध पनि गरिएको थियो ।

यसैसाता नेपालका लागि इजरायलका राजदूत स्मुलिक आरी बाससँग परराष्ट्रमन्त्री डा राणाले भेटगरी नेपाली नागरिकहरूको सुरक्षाको उचित प्रबन्ध मिलाउन इजरायल सरकारलाई अनुरोध गरेकी थिइन् ।

त्यसैगरी, इजरायलस्थित नेपाली राजदूतावास र इरान हेर्ने कतारस्थित नेपाली राजदूतावासलाई सम्बन्धित सरकारी अधिकारी, यस क्षेत्रमा काम गर्ने सङ्घसंस्था र नेपाली समुदायसँग निकटको सम्पर्क स्थापित गर्न र सोका सम्बन्धमा मन्त्रालयलाई ‘रियल टाइम रिपोर्टिङ’ गर्न निर्देशन दिइएको छ ।

हाल इजरायलमा पाँच हजार ५०० देखि सात हजार नेपाली रहेका र तीमध्ये धेरैजसो तेल अबिब, जेरुसेलम र हाइफामा रहेका छन् । त्यस्तै इरानमा १८ जना नेपाली रहेका छन् ।

पोखरीयाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अख्तियारको नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको पोखरिया नगरपालिका(हाल बहुदरमाई नगरपालिका)का प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तवलाई पक्राउ गरेको छ ।

विभिन्न योजनाको स्वीकृत र कर्मचारी नियुक्तिलगायतका विषयमा अनियमितता गरी भ्रष्टाचार गरेको आरोपमा श्रीवास्तव र नायब सुब्बा सन्दीप साहलाई अख्तियारले नियन्त्रणमा लिएको हो । अख्तियारले दुवैजनाको ४ वटा मोबाइल पनि बरामद गरेको छ।

एसिया कप छनोट खेल्ने २३ सदस्यीय टोली घोषणा

काठमाडौँ । अखिल नेपाल फुटबल संघ(एन्फा) ले एसिया कप छनोट खेल्ने २३ सदस्यीय टोली घोषणा गरेको छ । नेपाली राष्ट्रिय महिला टिमका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले शुक्रबार २३ सदस्यीय नेपाली टोली घोषणा गरेका हुन् ।

टोलीको गोलरक्षकमा एन्जिला सुब्बा, उषा नाथ र अञ्जना रानामगर छन् । यस्तै डिफेन्डरमा गीता राना, निशा थोकर, समीक्षा घिमिरे, मनमाया दमाई, प्रतीक्षा चौधरी, विमला विक, पूजा राना र अमृत जैशी छन् ।

त्यस्तै मिडफिल्डरमा विमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, सबिता रानामगर र सरस्वती हमाल परेका छन् ।

फरवार्डमा भने सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल रहेका छन् । उज्वेकिस्तानमा हुने छनोटमा नेपालले लाओस, श्रीलंका र घरेलु टिमको सामना गर्दैछ ।

इरानमा शासन परिवर्तनको चर्चा अस्वीकार्य : क्रेमलिन प्रवक्ता पेस्कोभ

मस्को। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसले इरानमा शासन परिवर्तनको कुनै पनि छलफललाई पूर्ण रूपमा अस्वीकार्य ठानेको बताएका छन् ।

“यो अकल्पनीय छ । निस्सन्देह, यसको बारेमा खुलेर कुरा गर्नु पनि अस्वीकार्य हुनुपर्छ”, पेस्कोभले तेहरानमा सम्भावित शक्ति परिवर्तनका बारेमा पश्चिमी बयानबाजीको जवाफमा बेलायती समाचार आउटलेट स्काई न्युजलाई भने ।

इजरायल र इरानबीचको प्रत्यक्ष द्वन्द्वमा कुनै पनि अमेरिकी संलग्नताले स्थितिलाई उल्लेखनीय रूपमा बढाउने र यस क्षेत्रलाई अस्थिर बनाउने उनले चेतावनी दिए ।

“स्थिति पहिले नै अत्यन्त तनावपूर्ण छ र यस क्षेत्रका लागि मात्र नभई विश्वव्यापी स्थिरताका लागि खतरा उत्पन्न भएको छ । द्वन्द्वको भूगोल विस्तार र सहभागीहरूको सङ्ख्या बढाउनु अझ खतरनाक हुनेछ”, उनले भने ।

पेस्कोभले इजरायल–इरान द्वन्द्वमा अमेरिकी हस्तक्षेपले ‘पान्डोराको बाकस खोल्न सक्ने’ चेतावनी समेत दिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनलाई इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको कहाँ छन् भन्ने थाहा भएको तर उनलाई हाल ‘उन्मूलन’ गर्ने योजना नभएको बताएका थिए ।

ट्रम्पले इरानलाई ‘बिना शर्त आत्मसमर्पण’ गर्न पनि माग गरे । यद्यपि उनले इरानी लक्ष्यहरूमा इजरायली आक्रमणपछि वासिङ्टनको धैर्य ‘कमजोर’ भए तापनि सैन्य बल तैनाथ गर्नबाट बच्न रुचाउने बताए।

पेस्कोभले इरानका सर्वोच्च नेतामाथि कुनै पनि सम्भावित हत्याको प्रयासप्रति रुसको प्रतिक्रिया तीव्र रूपमा नकारात्मक हुने बताए । “हामी यस्तो कार्यको कडा निन्दा गर्नेछौँ”, उनले भने ।

इयुद्वारा प्रमुख राज्य चिकित्सा उपकरण सम्झौताबाट चिनियाँ कम्पनीहरूमाथि प्रतिबन्ध

ब्रसेल्स । बेइजिङले आफ्नो बजारमा पहुँचमा राखेका सीमाहरूको जवाफमा युरोपेली संघ (इयु) ले शुक्रबार चिनियाँ कम्पनीहरूलाई ५० लाख युरो (५८ लाख डलर) भन्दा बढीको सरकारी चिकित्सा उपकरण खरिद गर्न प्रतिबन्ध लगाएको छ ।

सत्ताइस राष्ट्रको समूह इयु र चीनबीचको व्यापारिक तनावको यो पछिल्लो आक्रमणले शल्यक्रिया मास्कदेखि एक्स–रे मेसिनसम्म स्वास्थ्य सेवा आपूर्तिको व्यापक दायरालाई समेट्छ, जसले इयुमा एक खर्ब ५० अर्ब युरोको बजार प्रतिनिधित्व गर्छ ।

‘यी उपायका साथ हाम्रो उद्देश्य इयु व्यवसायहरूका लागि खेल मैदान बराबर गर्नु हो’, ब्लकका व्यापार आयुक्त मारोस सेफकोभिकले भने, ‘हामी यी समस्या समाधान गर्न चीनसँग वार्ता गर्न प्रतिबद्ध छौँ ।’

युरोपेली आयोगले एक विज्ञप्तिमा यो कदम ‘चिनियाँ सरकारको सम्झौताबाट इयु–निर्मित चिकित्सा उपकरणहरूको लामो समयदेखि बहिष्कारको प्रतिक्रियामा’ थियो भनेको छ ।

ब्रसेल्सले चीनमा चिकित्सा उपकरणहरूका लागि सार्वजनिक खरिद सम्झौताको ९० प्रतिशतभन्दा कम इयुका कम्पनीहरू विरुद्ध ‘बहिष्करण र भेदभावपूर्ण उपायहरूको अधीनमा रहेको’ बताएको छ ।

‘चिनियाँ कम्पनीहरूलाई प्रमुख राज्य खरिदबाट प्रतिबन्ध लगाउनुका साथै सफल बोलीका लागि चीनबाट इनपुट पनि ५० प्रतिशतमा सीमित हुनेछ’, आयोगले भनेको छ ।

पछिल्लो तीन वर्षमा ब्रसेल्स र बेइजिङ इलेक्ट्रिक कार, रेल उद्योग, सौर्य प्यानल र पवन टर्बाइन लगायत धेरै आर्थिक क्षेत्रहरू द्वन्द्वमा परेका छन् ।

चिकित्सा उपकरणहरूको निर्णय राष्ट्रपति डोनाल्ड ट्रम्पको संयुक्त राज्य अमेरिकासँग बढेको व्यापारिक तनावको समयमा आएको छ । ट्रम्पले युरोपसहित विश्वभरका आयातहरूमा भन्सार अधिभार लगाएका छन् ।

आफ्ना व्यवसायहरूलाई अनुचित प्रतिस्पर्धाविरुद्ध राम्रोसँग बचाउन कानूनको विशाल हतियार प्रयोग गर्दै इयुले हालका वर्षहरूमा व्यापारमा कडा कदम चाल्ने निर्णय गरेको छ ।

सन् २०२४ अप्रिलमा आयोगले चिकित्सा उपकरणहरूका लागि चिनियाँ सार्वजनिक सम्झौताहरूमा अनुसन्धान खोलेको थियो । यो विदेशी राज्य खरिदहरूमा राम्रो पहुँच प्राप्त गर्न सन् २०२२ मा सुरु गरेको नयाँ संयन्त्रअन्तर्गत पहिलो थियो ।

अर्कोतर्फ चीनले युरोपलाई संरक्षणवादको आरोप लगाउँछ । एक वर्षको वार्तापछि, २७ सदस्य राष्ट्रको तर्फबाट व्यापार नीति व्यवस्थापन गर्ने आयोगले चीनसँग कुनै प्रगति गर्न असफल भएको बताएको छ ।

‘यो उपायले चीनलाई इयु कम्पनीहरू र इयु–निर्मित चिकित्सा उपकरणहरू विरुद्धको भेदभाव रोक्न र इयुले कम्पनीहरूलाई चिनियाँ कम्पनीहरू र उत्पादनहरूसँग इयुले गरेको जस्तै खुलापनका साथ व्यवहार गर्न प्रोत्साहित गर्न खोज्छ’, ब्रसेल्सले भनेको छ ।

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेता छलफलमा

काठमाडौं । सङ्क्रमणकालीन न्यायलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बसिरहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन् ।

त्यस्तै, छलफलमा गृहमन्त्री रमेश लेखक, माओवादी उपमहासचिव वर्षमान पुन, प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल र माओवादी नेता खिमलाल देवकोटा सहभागी छन्।

बजेटप्रति सत्तापक्षकै सांसदको गुनासो, मन्त्री र ठूला दलका शीर्ष नेताको क्षेत्रमा मात्र लगेको दाबी

काठमाडौँ । सांसदहरुले ठूला दलका शीर्ष नेता र मन्त्रीका जिल्लामा मात्रै आवश्यकभन्दा बढी बजेट विनियोजन गरिएको दाबी गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विभिन्न मन्त्रालयको विनियोजनमाथिको छलफलका क्रममा उनीहरुले समानुपातिक रुपमा बजेट विनियोजन नभएकोमा असहमति प्रकट गरेका हुन् ।

छलफलमा भाग लिँदै सांसद दीपक गिरीले विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै दाङको टरिगाउँ विमानस्थलको निर्माणका लागि एक करोड बजेट विनियोनजन गरिएकामा असहमति जनाए ।

उनले  सरकारले  तीन करोडभन्दा कमको बजेट विनियोजन नगर्ने भन्ने व्यवस्था गर्ने भनेर प्रचार गरिएको भएपनि विमानस्थलको जग्गा अधिग्रहणका लागि आवश्यकभन्दा कम बजेट विनियोजन गरेर सांसदहरुको भावनालाई सम्बोधन गर्न नसकेको बताए ।

सांसद मेनकाकुमारी पोखरेलले टरिगाउँ विमानस्थल निर्माणका सम्बन्धमा प्रधानमन्त्रीले नै प्रतिबद्धता र विश्वास दिलाएको भएपनि न्यून बजेट विनियोजन भएको बताइन् ।

सांसद पूर्णबहादुर घर्ती मगरले विनियोजन जनपक्षीय र यर्थाथपरक नभएको टिप्पणी गरे । उनले सहकारी नियमनका लागि स्थानीय सरकारको सहभागितामा प्रभावकारी संरचना निर्माण गर्नुपर्नेमा जोड दिए ।

सांसद अम्मरबहादुर थापाले बजेट जनपक्षीय र मुलुकको बृहत्तर हितका लागि नभएको धारणा राखे । सांसद रञ्जुकुमारी झाले सबै जिल्लालाई समान रुपमा बजेट विनियोजन गर्न माग गरिन् ।

रामप्रकाश चौधरीले मधेस प्रदेशप्रति सङ्घीय सरकारले यथार्थमा आधारित भएर बजेट विनियोजन गर्न नसकेको बताए । सर्लाहीको भौतिक पूर्वाधारका लागि चालु आवको बजेटमा समेत काम नभएको र आगामी आवमा समेत बजेट विनियोजन हुन नसकेको गुनासो गरे ।

सांसद प्रभु साहले सरकारले सञ्चालन गरेको उद्योग व्यवसाय र घाटामा रहँदा निजी व्यवसायी र उद्योेगीसँग कर लिन नमिल्ने बताए । सङ्घीय राजधानी जोड्ने राजमार्गहरु बन्दप्राय रहेको र नागरिक समस्यामा रहेको उल्लेख गर्दै उनले सत्ताधारी दलका नेताहरुको जिल्लामा मात्रै विनियोजन गरिएको र सडक निर्माण गरिएको बताए ।

सांसद रामकृष्ण यादवले मन्त्री र ठूला नेताहरुको निर्वाचन क्षेत्रमा मात्रै बजेट केन्द्रित गरेर भेदभाव गरिएकामा सहमति जनाए । सांसद ईश्वरबहादुर रिजालले पर्यटन क्षेत्रको अपार सम्भावना रहेको दोलखामा आशातित बजेट विनियोजन हुन नसकेको बताए ।

‘नेपाली श्रमिकमाथि हुने शोषण र विभेदप्रति शून्य सहनशीलताको नीति छः श्रममन्त्री भण्डारी

ललितपुर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले नेपाली श्रमिकमाथि हुने शोषण र विभेदप्रति सरकारको शून्य सहनशीलताको नीति रहेको बताएका छन् ।

अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन नेपालद्वारा शुक्रबार ललितपुरमा आयोजित श्रम प्रवासन, लैङ्गिक समानता र जलवायु परिवर्तनको सन्दर्भमा व्यापार तथा मानवअधिकारसम्बन्धी बहुसरोकारवाला नीति संवाद कार्यक्रममा मन्त्री भण्डारीले विदेशमा रहेका श्रमिकहरूको पक्षमा सरकारको सक्रियता बढाइएको बताए ।

मन्त्री भण्डारीले व्यापार, प्रवासन र मानवअधिकारबीचको अन्तरसम्बन्धलाई विशेष रूपमा उल्लेख गर्दै जिम्मेवार व्यापार अभ्याससँगै श्रमिकको मानवअधिकारको रक्षा सरकारको सर्वोच्च प्राथमिकता भएको बताए ।

“वैदेशिक रोजगारी केवल आम्दानीको स्रोत मात्र नभई श्रमिकको गरिमा र अधिकारको विषय पनि हो, नेपाली महिला र पुरुष श्रमिकहरूले श्रम गन्तव्य मुलुकहरूको विकासमा उल्लेखनीय योगदान दिइरहेका छन्, ती मुलुकहरूले सुरक्षित, व्यवस्थित र नियमित आप्रवासन सुनिश्चित गर्न विश्वव्यापी मूल्यमान्यता र मर्मअनुसार व्यवहार गर्नुपर्छ,” मन्त्री भण्डारीले भने ।

उनले द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई लिएर मन्त्रालयले आपत्कालीन उद्धारको तयारी गरिरहेको जानकारी पनि दिए । “धेरै नेपालीहरू बङ्करमा रात बिताइरहेका छन्, यदि स्थिति थप जटिल भयो भने उद्धारका लागि सरकार तयार छ,” उनले भने ।

विदेशमा रहेका नेपालीहरूको अवस्थाको निगरानी र समर्थनका लागि श्रम संसार मोबाइल एप्लिकेसनलाई अझै प्रभावकारी बनाउने प्रयास भइरहेको उल्लेख गर्दै मन्त्री भण्डारीले स्विस कम्प्याक्टलगायत साझेदारहरुको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।

उनले हाल विभिन्न मुलुकहरूमा अवैध रूपमा रहेका नेपालीहरूलाई वैध बनाउने पहल भइरहेको जानकारी पनि दिए । यसका लागि विशेष गरेर महिला श्रमिकहरूको सुरक्षालाई प्राथमिकता दिइएको मन्त्री भण्डारीको भनाइ थियो ।

वैदेशिक रोजगार ऐन संशोधनको प्रक्रिया सुरु भइसकेको बताउँदै मन्त्री भण्डारीले पुराना तथा अव्यावहारिक कानुनी व्यवस्थालाई यथाशीघ्र परिमार्जन गरिने प्रतिबद्धता जनाए । साथै, वैदेशिक रोजगारीलाई बाध्यता होइन, विकल्पका रूपमा विकास गर्ने उद्देश्यले सरकार गृह रोजगारी प्रवद्र्धनको दशक लामो अभियानमा अघि बढेको पनि उनले जानकारी दिए ।

अन्तरराष्ट्रिय श्रम सङ्गठनका महासन्धि ८१ र ८७ को अनुमोदन प्रक्रिया अगाडि बढिरहेको उल्लेख गर्दै मन्त्री भण्डारीले नेपाल एलडिसीबाट स्तरोन्नति हुन समावेशी आर्थिक वृद्धिको गतिलाई तीव्र बनाउनुपर्ने आवश्यकता औँल्याए ।

उनले श्रम बजारको औपचारिकरण र ‘डिजिटल’ प्रविधिको प्रयोगद्वारा पारदर्शिता र नीतिगत निर्णयमा सुधार ल्याउने योजना रहेको पनि स्पष्ट पारे । उनले सबै सरोकारवालासँग सहकार्यमा आधारित साझा प्रयासबाट मात्र सुरक्षित, मर्यादित र नियमित श्रम प्रवासन सम्भव हुने उल्लेख गर्दै सबैलाई साथ र सहयोगका लागि आह्वान गरे ।

कात्तिक दोस्रो साता प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन गर्ने तयारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त दुई स्थान, राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानसहित स्थानीय तहको रिक्त स्थानमा निर्वाचन गर्ने सन्दर्भमा शुक्रबार परामर्श गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरुले भेटेर आगामी कात्तिकको दोस्रो साता प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन गर्न र राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानका लागि निर्वाचन तय गर्ने विषयमा छलफल गरेको हो ।

प्रतिनिधिसभाका सदस्यको रुपन्देही क्षेत्र नं ३ र गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं १ (२) को रिक्त सदस्यका लागि कात्तिकको दोस्रो साता निर्वाचन गर्ने गरी नेपाल सरकारको परामर्शमा यही असार १६ गतेभित्र आयोगले मिति तोक्ने तयारी गरेको छ । यसैगरी स्थानीय तहमा १३ वटा वडाध्यक्षको पद रिक्त रहेको आयोगले अवगत गराएको छ ।

प्रधानमन्त्री ओलीले निर्वाचनका लागि आयोगले गरेको तयारीअनुसार आवश्यक सहजीकरणका लागि नेपाल सरकारका तर्फबाट सहयोग हुने विश्वास दिलाए ।

उनले आगामी आवधिक निर्वाचनका लागि गर्नुपर्ने तयारी पनि गर्दै गर्न आयोगलाई सुझाव दिनुभयो । भेटका अवसरमा आयुक्तहरु डा जानकीकुमारी तुलाधार र सगुनशमशेर जबरा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उच्चाधिकारीलगायत सहभागी थिए ।

देशभर फैलियो मनसुन प्रणाली

काठमाडौँ । यस वर्षको मनसुन प्रणाली आजदेखि देशभर फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाले आज विशेष मौसम बुलेटिन निकालेर २३ दिनपछि मनसुन देशभर फैलिएको जनाएको हो ।

यस वर्षको मनसुन जेठ १५ गते देशको पूर्वी भागबाट प्रवेश गरी कोशी प्रदेशको अधिकांश भूभागमा विस्तार भएकामा जेठ २९ गते मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागसम्म विस्तार भएको थियो ।

मौसमविद् प्रतिमा मानन्धरले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आजदेखि मनसुन फैलिएसँगै अब देशभर मनसुन सक्रिय रहने जानकारी दिइन् ।

‘हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव छ । साथै देशका पश्चिम भागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ’, उनले भनिन्, ‘भारतको पश्चिम बङ्गाल आसपासका क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्रको पनि आंशिक प्रभाव छ ।’

हाम्रो अडानबाट पछि हट्दैनौंः सांसद श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसामार्फत घुस लिएर आफ्नो भाग कति भयो भनेर हिसाब गर्ने राजनीतिक संरक्षकमाथि छानबिन गर्नुपर्ने मागबाट पछि नहट्ने बताएको छ ।

शुक्रबारको सदन बहिष्कारपछि पत्रकारहरुसँग कुरा गर्दै रास्वपाकी सांसद सुमना श्रेष्ठले ऋण नै लिएर भएपनि विदेश जानु पर्छ भन्ने सोच नेपाली युवामा कहाँबाट आयो र यसलाई कसरी समाधान गर्ने भनेर सरकारले सोच्नुपर्ने बताइन् ।

उनले संसदीय छानबिन समिति अथवा उच्चस्तरीय न्यायिक समितिको माग जारी रहने बताइन् । उनले भनिन्, ‘सांसदलाई नसुन्ने सरकारले जनताको आवाज के सुन्ला र ? अन्य देशहरुमा दासको रुपमा नेपालीहरु कसरी पुग्छन् भन्दा भिजिट भिसामार्फत नै हो । त्यस्तो ठाँउमा घुस लिएर आफ्नो भागमा कति पर्यो भनेर हिसाब गर्ने राजनीतिक संरक्षकमाथि छनबिन गरौं भन्दा गरिएन । कतिसम्म गिरेको नेपाल सरकार । ऋण नै लिएर भएपनि विदेश जानुपर्छ भन्ने सोच नेपाली युवामा कहाँबाट आयो, यसलाई कसरी समाधान गर्ने भनेर सरकारले सोच्नु पर्दैन ? हाम्रो अडान जारी रहने छ ।’

उनले नेपाल सरकारले रास्वपाको कुरा नसुनेको र विरोधलाई पनि बेवास्ता गरेको हुनाले बैठक बहिष्कार गरेको पनि बताइन् ।

अमेरिकी अपील अदालतद्वारा ट्रम्पलाई एलएमा नेसनल गार्ड नियन्त्रण गर्न अनुमति प्रदान

सान फ्रान्सिस्को (अमेरिका)। क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमको आपत्तिका बावजु अमेरिकी अपील अदालतले बिहीबार राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जलस (एलए) मा नेसनल गार्ड सेनाको नियन्त्रण जारी राख्न सक्ने फैसला गरेको छ ।

तीन न्यायाधीशको प्यानलले ३८ पृष्ठको सर्वसम्मत फैसलामा ट्रम्पको ‘क्यालिफोर्नियाका गभर्नर ‘मार्फत’ प्रत्यक्ष रूपमा सङ्घीयकरण आदेश जारी गर्न असफल भएको कुराले नेसनल गार्डलाई बोलाउने उनको अन्यथा वैधानिक अधिकारलाई सीमित गर्दैन’ भनेको छ ।

न्यायाधीशहरूले लेखेका छन्, “सङ्घीय कार्यहरू गर्ने सङ्घीय कर्मचारीहरूको सुरक्षा गर्न र सङ्घीय सम्पत्तिको रक्षा गर्न ट्रम्पले नेसनल गार्डका चार हजार सदस्यलाई ६० दिनका लागि सेवामा राख्न आदेश दिएपछि ट्रम्प आफ्नो अधिकारभित्र हुनुहुन्थ्यो ।”

बिहीबार राति ट्रुथ सोसलमा एक पोस्टमा ट्रम्पले यो निर्णयलाई ‘ठूलो जीत’ भन्दै खुशी मनाए ।

“संयुक्त राज्य अमेरिकाभरि यदि हाम्रा सहरहरू र हाम्रा मानिसहरूलाई सुरक्षा चाहिन्छ भने राज्य र स्थानीय प्रहरी जुनसुकै कारणले काम पूरा गर्न असमर्थ भएमा हामी नै तिनीहरूलाई त्यो दिने व्यक्ति हौँ”, ट्रम्पले लेखेका छन् ।

गत हप्ता तल्लो अदालतका न्यायाधीशले प्रदर्शनले प्रभावित लस एन्जलसमा तिनीहरूलाई तैनाथ गर्ने राष्ट्रपतिको निर्णय ‘अवैध’ थियो भन्दै ट्रम्पलाई क्यालिफोर्निया नेसनल गार्डको नियन्त्रण न्युसमलाई फिर्ता गर्न आदेश दिएका थिए ।

न्युसमले पहिलेको निर्णयको स्वागत गर्दै ट्रम्प ‘राजा होइन, उहाँ सम्राट होइन र उहाँले त्यसरी व्यवहार गर्न बन्द गर्नुपर्छ’ भनेका थिए ।

अशान्तिको परिमाणलाई बारम्बार बढाइचढाइ गर्दै आएका ट्रम्पले स्थानीय अधिकारीहरूको आपत्ति हुँदाहुँदै पनि उनीहरूले ‘जलिरहेको’ सहरको नियन्त्रण गुमाएको दाबी गर्दै सात सय अमेरिकी मरीनलाई लस एन्जलस पठाएका थिए ।सन् १९६५ पछि पहिलो पटक अमेरिकी राष्ट्रपतिले राज्यका गभर्नरको इच्छा विपरीत नेसनल गार्ड तैनाथ गरेका थिए ।

न्युयोर्क टाइम्सका अनुसार ट्रम्पले अमेरिकी अपिल अदालत नवौँ सर्किटको प्यानलमा दुई न्यायाधीश नियुक्त गरेका थिए र पूर्वराष्ट्रपति जो बाइडेनले तेस्रो न्यायाधीश नियुक्त गरेका थिए।

इजरायली सेनाद्वारा तेहरानको हतियार अनुसन्धान केन्द्रमा आक्रमण

जेरुसेलम । दुई शत्रुबीचको युद्धको आठौँ दिनमा इजरायली सेनाले रातभर तेहरानमा दर्जनौँ लक्ष्यमा आक्रमण गरेको शुक्रबार बताएको छ।आक्रमणमा ‘इरानको आणविक हतियार परियोजनाको अनुसन्धान र विकास’ केन्द्र भनिने ठाउँ समावेश छ।

सेनाले एक विज्ञप्तिमा भनेको छ, ‘सेनाले तेहरानको मुटुमा शृृङ्खलाबद्ध आक्रमणहरू सम्पन्न गरेको छः सैन्य क्षेप्यास्त्र उत्पादन स्थलहरू र इरानको आणविक हतियार परियोजनाको अनुसन्धान र विकासका लागि एसपिएनडी (अर्गनाइजेसन अफ डिफेन्सिभ इनोभेसन एन्ड रिसर्च) मुख्यालयसहित दर्जनौँ लक्ष्यमा प्रहार गरिएको थियो ।’

इजरायली सेनाका अनुसार एसपिएनडी मुख्यालय इरानी शासनको सैन्य क्षमतालाई समर्थन गर्ने उन्नत प्रविधि र हतियारहरूको अनुसन्धान र विकासका लागि प्रयोग गरिन्छ ।बिहीबार राति ६० वटाभन्दा बढी लडाकू विमानले दर्जनौँ सैन्य लक्ष्यमा प्रहार गरेको सेनाले जनाएको छ ।

‘लक्ष्यहरू मध्ये मिसाइल कम्पोनेन्टहरू उत्पादन गर्ने साइटहरू र कास्टिङ मिसाइल इन्जिनहरूमा प्रयोग हुने कच्चा मालहरू निर्माण गर्ने सुविधाहरू थिए’, सेनाले भनेको छ ।इरान आणविक हतियार विकास गर्ने संघारमा रहेको दाबी गर्दै इजरायलले एक हप्ताअघि आफ्नो कट्टर दुश्मनविरुद्ध हवाई आक्रमण गरेको थियो । उक्त आक्रमणपछि दुवैतर्फ बाट घातक आक्रमण सुरु भएका छन् ।

युद्धको कूटनीतिक समाधानमा पुग्ने आशामा युरोपेली विदेशमन्त्रीहरूले शुक्रबार आफ्नो इरानी समकक्षसँग वार्ता गर्नेछन् भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संलग्नताको सम्भावनालाई विचार गरिरहेका छन् ।

अन्धविश्वासविरुद्धको आवाज हो ‘मोहर’

काठमाडौं । आगामी साउन २३ मा प्रदर्शन हुने चलचित्र ‘मोहर’ ले देवीदेवताको सेवाका नाममा कन्या बालिकालाई ‘देउकी’ बनाउने जस्ता अन्धविश्वासविरुद्ध जनचेतना जगाउने लेखक तथा निर्देशक ओम प्रतीकले जानकारी दिएका छन् ।

शुक्रबार कमलपोखरीस्थित एक चलचित्र भवनमा चलचित्रमा समावेश शीर्ष गीतको श्रव्यदृश्य सार्वजनिक गर्न आयोजित कार्यक्रममा निर्देशक प्रतीकले बालिकामाथि हुने परम्परागत सामाजिक हिंसाका घटनालाई चलचित्रले निरुत्साहित गर्ने संदेश प्रवाह गर्ने बताए ।

उनले भने,“मेरो जानकारीमा भएसम्म विसं २०७९ सम्म देउकी प्रथा चलेको छ । त्यसकारण पनि आजकै शैलीमा उक्त कथालाई भनेका छौँ । अहिले विभिन्न बहानामा बालिका माथि हुने गरेको हिँसालाई बन्देज गर्नुपर्छ भन्ने संदेश चलचित्रले प्रवाह गर्छ । यो मनोरञ्जनसँगै सामाजिक विकृतिलाई उठान गरिएको चलचित्र हो ।”

उनले चलचित्रका माध्यमले धेरै तथ्यलाई बुझाउन सहज भएकाले ‘मोहर’ को विषयवस्तु छनोट गरेको जानकारी दिए । चलचित्रमा पल शाह, बेनिशा हमाल, निती शाह, अर्जुनजङ्ग शाही, मिस पबि लगायतका कलाकारले अभिनय गरेका छन् । सामाजिक यथार्थ र विद्रोह मिसिएको कथावस्तुमा बनेको ‘मोहर’ ले दर्शकलाई निराश बनाउने अभिनेत्री शाहले बताइन् ।

“यसले मनोरञ्जनसँगै हाम्रो एउटा दुःखद परम्परालाई समेटेको छ । यो चलचित्र हेरेपछि महिला वा बालिकालाई हुने हिँसा थोरै भएपनि घट्छ भन्ने विश्वास छ”, उनले भनिन् ।

चलचित्रमा भुपेन्द्र अधिकारीले सम्पादन, दिपेन बस्न्यातले छायाङ्कन, रामजी लामिछाने र कविराज गहतराजले नृत्य निर्देशन, कुमार महर्जनले द्वन्द्व निर्देशन गरेका छन् ।

पूर्वाधार क्षेत्रमा विनियोजित बजेट न्यायसंगत भएनः सांसद बस्नेत

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले विनियोजन विधेयक, २०८२ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको शीर्षकको खर्च रकममा एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रस्ताव पेस गर्दै सांसद बस्नेतले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट बढे पनि न्यायोचित रुपमा विनियोजन हुन नसकेको भन्दै असहमति जनाएका हुन् ।

‘कुनै निर्वाचन क्षेत्रमा त सडक पूर्वाधार विकासका लागि बजेट नै परेको छैन । योभन्दा गैरजिम्मेवारी के हुनसक्छ ?’, बस्नेतले भने, ‘ठूला करिडोरका बजेट समेत घटेको छ । कुनै जिल्लाका पूर्वाधार विकासमा बजेट नै बजेट तर कुनै जिल्लामा बजेट नै नहुने ? यो न्यायसङ्गत भएन ।’

सरकारले सदनलाई हेपेको माओवादीको आरोप

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले मन्त्रीहरु बिना सदन नचल्ने भन्दै विरोध जनाएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै पाण्डेले सदनमा मन्त्रीसामु राख्नुपर्ने गुनासोहरु मन्त्रीहरुकै उपस्थितिबिना सदन संचालन गर्न नहुने भन्दै विरोध गरेका हुन् । उनले प्रश्न गरे, ‘मन्त्रीहरुले नियम पालना गर्न नपर्ने, अरुले मात्रै पालना गर्नपर्ने ?’

पाण्डेले सरकारले सदनलाई हेपेको आरोप लगाए । उनले भने, ‘सरकारले सदनलाई धेरै हेप्यो । बारम्बार कार्यसूची आउँछ अनि फेरि हटाइन्छ । कारण मन्त्रीको अनुपस्थिति भनिन्छ । आजपनि मन्त्री छैनन् । मन्त्रीहरु बेगर यो सदन अघि बढ्दैन । नियम अरुले मान्नपर्ने मन्त्रीहरुले मान्न पर्दैन ?’

रास्वपाका सांसदहरु कालो पोशाक र निलो रिबनमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी का सांसदहरुले शुक्रबारको प्रतिनिधिसभा बैठकमा कालो पोशाक र निलो रिबन लगाएर प्रदर्शन गरेका छन् ।

मानव तस्करीको विरोध स्वरुप कालो पोशाक र निलो रिबन लगाएर संसद् बैठकमा सहभागी हुन संघीय संसद भवन पुगेका उनीहरुले सामूहिक तस्बिर पनि खिचाएका थिए ।

भिजिट भिसा प्रकरण छानबिनको माग गर्दै आएका रास्वपा सांसदहरु मानव तस्करीविरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’प्रतिकका रुपमा रहेको जनाएका छन् ।

यसअघि पनि उनीहरुले निलो रिबन लगाएर सदनमा उपस्थित भएपछि नेपाली कांग्रेसले ‘अमर्यादित’ पोसाक भन्दै टिप्पणी गरेको थियो ।

रास्वपाका सांसद मनिष झाले नेपालमा भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी सम्बन्धी संगठित अपराधको विरोध स्वरुप कालो कपडा र निलो रिबन लगाएको बताए ।

उनले भने, ‘प्रतिनिधिसभाको बैठकमा विरोध स्वरुप सबैले कालो कपडा र निलो रिबन लगाएका छौं । निलो रिबन मानव तस्करी विरुद्धको विश्वव्यापी संकेत हो । अहिले नेपालमा भइरहेको भिजिट भिसाको नाममा जुन मानव तस्करी सम्बन्धी संगठित अपराध भइरहेको छ त्यसको विरोध विगत २२ दिनदेखि १५ वटा बैठकमा गरिरहेका छौ र त्यो विरोधको आज पनि निरन्तरता दिएका छौ । हामी प्रधानमन्त्रीज्यूलाई हाम्रो केही कुरा सुनाउन चाहन्थ्यौं तर उहाँले त्यो कुरा सुन्न चाहनुभएन । बैठकमा हाम्रो कुरा नसुनेर निस्किनुभयो । तसर्थ हामीले, आज राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदहरूले आफ्नो कुरा बोल्न पनि नपाउने र आफ्नो कुरा प्रधानमन्त्रीले नसुनिदिने भएको हुनाले बैठक बहिष्कार गरेर निस्किएका छौं।’

रास्वपा र राप्रपाद्वारा संसद बैठक बहिष्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पाटीले संसद बैठक बहिष्कार गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै रास्वपा र राप्रपा सांसदहरु आआफ्नो ठाउँबाट उभिएर विरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले उनीहरुलाई बस्न आग्रह गरे पनि उनीहरुले मानेनन् ।

त्यसपछि सभामुख देवराज घिमिरे मन्त्रालयगत बजेटमाथिको छलफल सुरु गराएका छन् । त्यसपछि राप्रपा र रास्वपा सांसदहरु बैठक कक्षबाट बाहिरिएका छन् । भिजिट भिसा प्रकरणमा छानबिन समितिको माग गर्दै रास्वपा र राप्रपा सदन अवरुद्ध गर्दै आएका छन् ।

रास्वपा सांसद मनिष झाले भने, ‘हामी प्रधानमन्त्रीज्यूलाई हाम्रो केही कुरा सुनाउन चाहन्थ्यौं तर उहाँले त्यो कुरा सुन्न चाहनुभएन । बैठकमा हाम्रो कुरा नसुनेर निस्किनुभयो । तसर्थ हामीले, आज राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदहरूले आफ्नो कुरा बोल्न पनि नपाउने र आफ्नो कुरा प्रधानमन्त्रीले नसुनिदिने भएको हुनाले बैठक बहिष्कार गरेर निस्किएका छौं।’

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हटाइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पाटीको विरोधका कारण प्रतिनिधिसभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सूचीबाट हटाइएको छ ।

बैठक सुरु हुनासाथ रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध सुरु गरेका थिए । सभामुख देवराज घिमिरले सांसदहरुलाई प्रश्नोत्तर कार्यक्रम अघि बढाउने र अवरोध नगर्न पटक पटक आग्रह गरेका थिए । तर उनीहरुले नमानेपछि सभामुखले प्रश्नोत्तर कार्यक्रम सूचीबाट हटाइएको घोषणा गरे ।

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा अवरोध नगर्न रास्वपालाई सभामुखको आग्रह

काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा अवरोध नगर्न आग्रह गरेका छन् ।

रास्वपा प्रमुख सचेतक सन्तोष परियारलाई कार्यकक्षमा बोलाएर सभामुखले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रभावित नगर्न आग्रह गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले प्रधानमन्त्री बोलिरहँदा वेलमा होहल्ला गर्ने कार्य शोभनीय नहुने भन्दै विरोधको स्वरूप बदल्न सभामुखले आग्रह गरेको जानकारी दिए ।

तर रास्वपाले आफ्नो विरोध जारी रहने जानकारी दिएको अधिकारीले बताए ।

मुद्रास्फीति बढ्दै जाँदा जापानमा चामलको मूल्य दोब्बर

टोकियो । मे महिनाको १२ महिनामा जापानमा चामलको मूल्य दोब्बर भएको तथ्याङ्कले शुक्रबार देखाएको छ । मुद्रास्फीतिमा भएको तीव्रताले प्रधानमन्त्री सिगेरु इशिबामाथि अर्को महिनाको प्रमुख चुनावअघि नयाँ दबाब खडा गरेको छ ।

अक्टोबरमा उनले पदभार सम्हालेपछि उनको प्रशासनका लागि सार्वजनिक समर्थन सबैभन्दा तल्लो तहमा झरेका कारण आंशिक रूपमा जीवनयापनको लागतमा निराश भएपछि संसद्को माथिल्लो सदनका लागि चुनाव इसिबाका लागि महत्त्वपूर्ण छ ।

आक्रोशको मुख्य स्रोतहरू मध्ये एक खाद्य पदार्थको बढ्दो लागत हो । यो आपूर्ति शृङ्खलामा समस्या लगायत विभिन्न कारणहरूले गर्दा अभावका कारण महिनौँदेखि आकाश छुँदै गएको छ ।

मे महिनामा चामलको मूल्य एक सय एक प्रतिशतले बढेको छ । यो अप्रिलमा ९८ दशमलव चार प्रतिशतले र मार्चमा ९२ दशमलव पाँच प्रतिशतले बढेको थियो ।

अस्थिर ताजा खानाको मूल्यलाई समावेश नगर्ने यसले मुख्य मुद्रास्फीति पूर्वानुमानलाई उछिनेर तीन दशमलव सात प्रतिशतमा पुर्याउन मद्दत गरेको छ । यो सन् २०२३ जनवरीपछिको सबैभन्दा उच्च स्तर हो भने अप्रिलको तीन दशमलव पाँच प्रतिशतबाट बढेको हो ।

चामलको सङ्कटले सरकारलाई फेब्रुअरीदेखि आपत्कालीन भण्डार जारी गर्ने दुर्लभ कदम चाल्न बाध्य बनाएको छ । यो सामान्यतया प्राकृतिक प्रकोपका बेला मात्र गरिन्थ्यो ।

तर चामल मात्र मुद्रास्फीति बढाउने कुरा होइन । शुक्रबारको डाटाअनुसार मे महिनामा बिजुलीको बिल ११ दशमलव तीन प्रतिशत बढ्यो भने ग्यासको शुल्क पाँच दशमलव चार प्रतिशत बढ्यो ।
ऊर्जा र ताजा खाना बाहेक उपभोक्ता मूल्यहरू तीन दशमलव तीन प्रतिशत बढेको छ । यो अप्रिलको तीन प्रतिशतको तुलनामा बढी थियो ।

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । विगत केही दिनदेखि उच्च वृद्धि भएको सुनचाँदीको मूल्यमा बिहीबारदेखि सामान्य गिरावट आएको छ ।

बुधबारको तुलनामा बिहीबार सुन तोलामा ४०० रुपैयाँ र चाँदीमा २५ रुपैयाँले घटेकामा त्यति नै परिमाणको सुन र चाँदी शुक्रबार क्रमशः ८०० र ५० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार एक तोला सुनको मोल एक लाख ९४ हाजर ७०० रुपैयाँ सोही परिमाणको चाँदीको मोल दुई हजार १५० रुपैयाँ निर्धारण भएको छ ।

बिहीबार प्रतितोला सुन एक लाख ९५ हजार ५०० र चाँदी दुई हजार २०० मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३०० अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गएराति रोशी खोलामा फसेका पाँच जनाको सकुशल उद्धार

काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका–५, लासकोटस्थित रोशी खोलामा गएराति फसेका पाँच जनाको सकुशल उद्धार गरिएको छ । खोलाको बीचमा फसेका उनीहरुलाई नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालले सकुशल उद्धार गरेको हो ।

गिट्टी उत्खनन् कार्यमा खटिएको एक जेसीबी, एक टिपर र पाँच जना व्यक्ति तीव्र बहावका कारण खोलामै फसेका थिए ।

सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

काठमाडौँ । टी–२० आई सिरिज जित्ने लक्ष्यका साथ आज नेपाल र स्कटल्याण्डबीच अन्तिम खेल हुँदैछ । उक्त खेल स्कटल्याण्डको ग्लासग्लोमा बेलुका ७ः४५ बजे सुरु हुनेछ ।

जारी सिरिजमा नेपालले हालसम्म दुई खेल जितेको छ भने स्कटल्याण्ड एउटा खेलमा मात्र विजयी भएको छ । नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो । नेपालले दोस्रो खेलमा स्कटल्याण्ड्सलाई दुई विकेटले हराएको थियो । बिहीबार सम्पन्न तेस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गरेको थियो ।

यसैगरी स्कटल्याण्डले पहिलो खेलमा नेदरल्याण्ड्सलाई ३९ रनले पराजित गरेको थियो । दोस्रो खेलमा स्कटल्याण्ड नेपालसँग दुई विकेटले पराजित भएको थियो । तेस्रो खेलमा स्कटल्याण्डलाई नेदरल्याण्ड्सले १७ रनले हराएको थियो ।

युद्धमा अमेरिका होमिए दुर्दशा निम्तिने तेहरानको चेतावनी

बीबीसी । इरानका उपविदेशमन्त्रीले इजरायली हमलामा अमेरिका सामेल भए त्यसले ‘सम्पूर्ण क्षेत्रमा दुर्दशा निम्तने’ चेतावनी दिएका छन् ।

सइद खतीबजादेहले ‘यो अमेरिकाको युद्ध नभएको’ भन्दै यदि राष्ट्रपति डोनल्ड ट्रम्पले यसमा सामेल हुने निर्णय गरे उनलाई ‘आफू असंलग्न युद्धमा होमिने निर्णय गर्ने एक राष्ट्रपति’का रूपमा सदा स्मरण गरिने बताए ।

अमेरिकी संलग्नताले जारी द्वन्द्वलाई ’दलदल’मा परिणत गर्ने, निरन्तर आक्रामकता भइरहने अनि ’बर्बर ज्यादती’को अन्त्यमा ढिलाइ हुने पनि बताए । दक्षिण इजरायलको सोरोका अस्पतालमा इरानी क्षेप्यास्त्र प्रहार भएपछि उनको टिप्पणी आएको हो ।

इरानी सञ्चारमाध्यमहरूले अस्पताललाई नभई नजिकैको सैन्य इलाकामा निसाना दागिएको विवरण दिएका छन् । इजरायली सेनाले इरानका परमाणु संरचनाहरूमा हमला गरिरहेको बताएको छ जसमा अराकस्थित ‘निष्क्रिय’ हेभी वाटर रियाक्टर तथा नतान्ज केन्द्र रहेका छन् ।

तेहरानले इजरायलद्वारा भएका आक्रमणमा उसको हताहतीबारे अद्यावधिक विवरण दिएको छैन । बिहीवार ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पले अमेरिका युद्धमा प्रत्यक्ष सामेल हुने कि नहुने भन्ने बारे आगामी दुई साताभित्र निर्णय लिने बताएको छ ।

कैलालीमा सुत्केरी मृत फेला, हत्याको आशंका

कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिका–७ स्थित कैलाशपुरमा एक सुत्केरी मृत फेला परेकी छिन् । स्थानीय १९ वर्षीया तुलसी नाथ घर नजिकै मृत फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले मृत भेटिएकी नाथ सुत्केरी भएको खुलेको बताए ।

नाथ घरको मूलद्वार अगाडिको नालामा मृत भेटिएकी हुन् । उनको १६ दिनको नवजात शिशु (छोरा) भने जिवितै भेटिएको प्रहरी नायब उपरीक्षक चन्दले बताए ।

चितवनमा प्याजले पाएन उचित मूल्य

चितवन । चितवन जिल्लामा उत्पादित प्याजले उचित मूल्य पाउन सकेको छैन । कृषि तथा पशुपन्छि विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत व्यावसायिक प्याज प्रवद्र्धन कार्यक्रमअन्तर्गत लगाईएको प्याजले उत्पादनपछि उचित मूल्य पाउन नसकेको हो ।

तीन पालिकामा लगाइएको प्याज उत्पादन भएर मूल्य नपाउँदा कतिपय किसानले सस्तोमा बेच्न बाध्य भएका छन् । भरतपुर महानगरपालिका–२१ का कृषक बाबुराम धमला १६ कट्ठामा लगाएको प्याजले बजार मूल्य नपाएर बोरामा थन्काउन बाध्य भएका छन् ।

उनले भने, “मैले १८ क्विन्टल प्याज उत्पादन गरेको छु । तर बजारमा मूल्य पाउन सकिन ।” बजारमा मूल्य नपाएर विगत एक महिनादेखि बोरामा राख्न बाध्य भएको उनी बताउँछन् । व्यवसायीले प्रतिकिलो २५ रुपैयाँभन्दा कममा प्याजको माग गर्ने गरेका धमलाले बताए । लागत मूल्य पनि नउठ्ने भएकाले उचित मूल्य आएपछि बिक्री गर्ने योजना बनाएको उनले बताए ।

भरतपुर महानगरपालिका–२५ की गीता रानाभाट उत्पादन गरेको प्याज प्रतिकिलो २० देखि ३० रुपैयाँमा बेच्न बाध्य भएको बताउँछन् । उनले भने, “भण्डारण गरेर राख्न समस्या भएकाले सस्तोमा बेच्न बाध्य भएका छौँ ।”

जिल्लाका २२ वटा समूह, सहकारी र फर्ममार्फत कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो । ती फर्ममा उत्पादित प्याजले बजार भाउ पाउन नसकेको कार्यालयका सूचना अधिकारी रविकिरण अधिकारीले जानकारी दिए । उनले भने, “चितवनको १२ हेक्टर क्षेत्रफलमा करिब १२० टन प्याज उत्पादन भएको छ । यहाँ बजार पाउन कठिन भयो ।”

आयातित प्याजभन्दा यहाँ उत्पादित प्याजको मूल्य कम हुने, यहाँको प्याजको दाना सानो हुने, फुस्रो हुने हुँदा यहाँ उत्पादित प्याजले बजार र मूल्य पाउन नसकेको उनको भनाइ छ । नेपालमा हुने प्याज आयातलाई न्यूनीकरण गर्न कार्यक्रम गरिएको उल्लेख गर्दै सूचना अधिकारी अधिकारीले यसलाई भण्डारण गर्नसके अन्य समयमा उचित मूल्यसहित बजार पाउन सक्ने बताए ।

उनले भने, “अहिले तरकारी बजारदेखि कुनै पनि व्यवसायीले नेपाली प्याज लिन मानेका छैनन् ।” प्याज बिक्री नहुँदा कुहिने, उम्रनेजस्तो समस्या देखिन थालेको उनले जानकारी दिए । अहिले देखिएको समस्या समाधानका लागि आगामी वर्षको कार्यक्रममा योजना बनाउने गरी काम भइरहेको अधिकारीले बताए ।

यहाँको भरतपुर महानगरपालिका, खैरहनी नगरपालिका र राप्ती नगरपालिकामा कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रम लागू गरिएको ठाउँमा रेडक्रियोल र नासिक ५३ जातको प्याजलाई व्यावसायिक खेतीमा प्रयोग गरिएको छ ।