`

नेपाल–चीन सांस्कृतिक आदानप्रदान तथा पर्यटन प्रवर्द्धन कार्यक्रम आगामी वैशाखमा हुने

काठमाडौँ । चीनको गुइलिनमा आगामी वैशाखमा नेपाल–चीन सांस्कृतिक तथा पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना हुने भएको छ ।

चीनस्थित गुइलिन मर्चेन्टस इन्टरनेशनल ट्राभल सर्भिस, गुइलिन पर्यटन विश्वविद्यालय र गुइलिन इग्लिस कर्नर स्कुलसँगको सहकार्यमा कार्यक्रम आयोजना गरिने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कम्पनीका अध्यक्ष सत्यकला तामाङ लामाले नेपाली कलाकार, पर्यटन व्यवसायी, उद्यमी तथा व्यापारी, सरकारी प्रतिनिधिलगायत सहभागी हुने जानकारी दिइन् ।

“आगामी वैशाख २८ गते चीनको गुइलिनमा दुईदेशीय सांस्कृतिक आदानप्रदान तथा पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना गरिनेछ । यसले द्विपक्षीय सम्बन्ध अझ बलियो बनाउनुका साथै पर्यटन क्षेत्रमा सहकार्य बढ्ने विश्वास लिएका छौँ”, अध्यक्ष तामाङले भनिन् ।

कार्यक्रममा नेपाल र चीनका मौलिक गीत, नृत्य प्रस्तुत गर्नुका साथै नेपालको पर्यटन प्रवद्र्धन गरिने कम्पनीका प्रबन्ध निर्देशक फुर्बा ग्याल्बो मोक्तानले बताए ।

उनले त्यस अवसरमा नेपालको संस्कृति र पर्यटन क्षेत्रमा योगदान गरेका व्यक्तिलाई पुरस्कृत गरिने जानकारी दिए ।

‘कोरियोग्राफर’ कमल राईले चीनको गुइलिनमा राई, लिम्बू, गुरुङ, थारुलगायत पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका वेशभूषा र संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने बताए ।

सरकार भ्रष्टाचारीको रक्षक भएको छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली सरकारविरुद्ध निर्णायक धक्का दिने बताएका छन् ।

नेवाः राष्ट्रिय मुक्ति मोर्चाको बैठकलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले राजावादीहरुको वितण्डाको विरोध गर्दा सरकारले राहत महसुस गरेपनि आफूहरू सरकारको पक्षमा नरहेको बताएका हुन् ।

उनले जनविरोधी सरकारका कारण प्रतिगामीले टाउको उठाएका भन्दै सरकारको ज्यादतिको विरोध गर्ने बताए ।

उनले भने, ‘राजावादीले गरेको वितण्डाको विरोधमा हामीले सभा गर्दा सरकारलाई राहत मिलेजस्तो भएको छ । राम्रो काम गर्नेलाई लखेट्ने, आफ्ना भ्रष्टको रक्षा गर्ने काम अहिले भइरहेको छ । मेरो नेतृत्वको सरकारले राम्रो काम गर्न खोज्दा खोज्दै अपारदर्शी ढंगले त्यसपछि जनतामा आक्रोश छ । तर हामी सरकारलाई धक्का दिन्छौं ।’

अध्यक्ष प्रचण्डले चारैतिर आन्दोलनको माहोल बन्दै गरेकाले ओली सरकारविरुद्ध निर्णायक प्रहार गर्ने बताए । उनले सरकारको कारण शिक्षकहरु सडकमा आउनु परेको बताए ।

उनले आन्दोलनरत शिक्षकहरूको माग पूरा गर्न आवश्यक परेमा विशेष अधिवेशन बोलाउन सकिनेसमेत बताए । उनले भने, ‘तपाई्ंहरूले माग पूरा नभएसम्म आन्दोलन छोडदिन भन्नुभएको छ । जबसम्म माग पूरा हुँदैन, कहिले सिटी बजाउनुस्, कहिले के । हामी तपाईंहरूको साथमा छौं ।’

रुसमा पक्राउ परेका अमेरिकी नागरिक जोसेफलाई जबर्जस्ती पठाइयो मनोरोग अस्पताल

मस्को । रुसमा हिरासतमा लिइएका र यसै महिना मुद्दा चलाउने तयारी गरिएका एक अमेरिकी नागरिकलाई जबर्जस्ती मनोरोग अस्पतालमा पठाइएको रूसी समाचार संस्था तासले आइतबार जनाएको छ ।

अमेरिकी नागरिक ४६ वर्षीय जोसेफ टेटरलाई सन् २०२४ को अगष्टमा मस्कोमा पक्राउ गरिएको थियो । उनीविरूद्ध एक होटलका कर्मचारीलाई दुव्र्यवहार गरी एक प्रहरी अधिकारीमाथि पनि आक्रमण प्रयास गरेको आरोप लगाइएको थियो।

उनी दोषी ठहरिएमा उनलाई पाँच वर्षसम्मको जेल सजाय हुनसक्छ । मस्कोको एक अदालतले टेटरलाई मानसिक रोगका कारण बिरामीको रूपमा जबर्जस्ती अस्पताल भर्ना गर्न मानसिक अस्पतालका चिकित्सकहरूको अनुरोधमा सहमति जनाएको छ।

मार्च १५ मा मस्कोको एलेक्सेयेभा मनोरोग अस्पतालका चिकित्सकहरूको एक मेडिकल कमिसनले टेटरले ‘तनाव, आवेग एवं भ्रमपूर्ण विचार र मनोवृत्ति’ देखाएको र जसमा ‘सतावट’ को भावना रहेको र ‘आफ्नो राज्यप्रति आलोचनात्मक दृष्टिकोणको कमी’ रहेको ठहर गरेको थियो ।

अदालतले टेटरलाई अस्पताल भर्ना गर्ने निर्णय कहिले जारी ग¥यो भन्ने कुरा तत्काल स्पष्ट हुन सकेको छैन ।
तासका अनुसार टेटरलाई मस्कोको सर्बस्की सेन्टरमा मानसिक जाँचका लागि पठाइएको थियो ।

यो फोरेन्सिक मनोरोग केन्द्र र अस्पताल सोभियत युगमा मनोवैज्ञानिक रोगहरूको झूटो निदानको साथ राजनीतिक असन्तुष्टी जारी गर्न कुख्यात थियो ।

टेटरको मुद्दा आगामी अप्रिल १४ देखि मस्कोको अदालतमा सुरु हुँदैछ । उनलाई मार्च १३ मा पुर्पक्षका लागि थुनामुक्त गरिएको थियो ।

तासका अनुसार रुसले प्रतिवादीलाई मनोरोग अस्पतालमा राखेर समाजबाट अलग्गै राख्ने निर्णय गरेको आरोप लगाउँदै उहाँका वकिलले उहाँलाई अस्पताल भर्ना नगर्न अपील गरेका छन् ।

रुसले हालैका वर्षहरूमा जासुसी, रुसी सेनाको आलोचना गर्नेदेखि लिएर सानातिना चोरी र पारिवारिक विवादमा थुप्रै अमेरिकी नागरिकलाई पक्राउ गरेको छ ।

गत सेप्टेम्बरमा अदालतमा भएको सुनुवाइमा टेटरले अमेरिकी नागरिकता त्याग्न चाहेको बताएका सार्वजनिक गरिएको थियो । उनले दूतावासका अधिकारीलाई त्यहाँबाट हटाउन माग गर्दै आफूलाई वर्षौंदेखि सीआईएले निशाना बनाएको बताएका छन् ।

टेटरका वकिलले न्यायाधीशसँग सुनुवाईका क्रममा ’अमेरिकाका सम्बन्धित अधिकारीहरूको उत्पीडनको सम्बन्धमा राजनीतिक शरण प्राप्त गर्ने उद्देश्यले’ उनी रुस आएको बताएका थिए ।

युक्रेन आक्रमण र पश्चिमा मुलुकसँगको तनावबीच राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा नागरिकलाई राजनीतिक आधारमा रुसमा स्थानान्तरण गर्न सहज बनाएका छन् ।

बेलायत उद्योगको संरक्षणका लागि सरकार तयार : प्रधानमन्त्री स्टार्मर

लण्डन । बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले नयाँ संसार स्थापित नियमहरूद्वारा कम र ‘सम्झौता र गठबन्धनद्वारा अधिक’ शासित हुने बताएका छन् ।

बदलिँदो विश्वव्यापी आर्थिक मार्गलाई पहिचान गर्दै अब केही क्षेत्रहरूको रक्षा गर्न राज्यको प्रत्यक्ष हस्तक्षेप प्रयोग गर्न आफू तयार रहेको उनले बताएका हुन् ।

उनले भने, ‘औद्योगिक रणनीतिमा अपेक्षित प्रमुख घोषणा अघि यो हप्ता हामी हाम्रो घरेलु प्रतिस्पर्धात्मकतामा सुधार गर्न योजनाहरू तयार पार्नेछौँ।’ ‘हामी आँधीबेहरीबाट बेलायती व्यवसायलाई बचाउन औद्योगिक नीति प्रयोग गर्न तयार छौँ।’

‘केही मानिसहरूलाई यस बारेमा असहज लाग्न सक्छ तर जब विश्वले यो अनशन गरिरहेको छ, हामी पुरानै भावनामा अडिग रहन सक्दैनौं,’ उनले भने ।

उनले भने, ‘हामीलाई थाहा भएको संसार समाप्त भएको छ । बेलायत अमेरिकी कर वृद्धिको प्रभावबाट उद्योगहरूलाई आश्रय दिन राज्यको प्रत्यक्ष हस्तक्षेप प्रयोग गर्न तयार छ।’

‘अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बुधबार व्यापक कर लगाउनुले ‘पुरानो अनुमानलाई अब हल्कारूपमा लिन सकिँदैन’ भन्ने देखाउँछ,’ स्टार्मरले सन्डे टेलिग्राफ पत्रिकामा प्रकाशित एक लेखमा भनेका छन् ।

उनले भने, ‘नयाँ संसार स्थापित नियमहरूद्वारा कम र ‘सम्झौता र गठबन्धनद्वारा अधिक’ शासित हुन्छ । यसले बेलायती गुणहरूको सर्वोत्तम माग गर्दछ र यसको विकल्प ठण्डा दिमाग, व्यावहारिकता र हाम्रो राष्ट्रिय हितको स्पष्ट समझदारी हो।’

प्रधानमन्त्री स्टार्मरले भने, ‘व्यापार युद्धबाट कोही पनि विजयी हुँदैन’ भन्ने आफ्नो सरकारको विश्वास दोहोर्‍याउँदै तत्कालको रणनीति ‘शान्त रहने र सर्वोत्तम सम्झौताका लागि लड्ने’ रहेको छ।’

उनले अमेरिकी व्यापार सम्झौता ‘बेलायती व्यापारका लागि सही भएमा’ मात्र गरिने र बेलायतमाथि १० प्रतिशत करको जवाफ दिन ‘सबै विकल्पहरू टेबलमा नै रहने’ बताए ।

बेलायतको लक्जरी कार निर्माता कम्पनी जगुआर ल्याण्ड रोभरले अप्रिलमा संयुक्त राज्य अमेरिकामा नयाँ व्यापारिक शर्तहरूलाई सम्बोधन गर्दै निर्यात ‘रोकिने’ बताएको छ ।

झोलुङ्गे पुल सञ्चालनमा आएपछि स्वरोजगार बन्दै स्थानीय

नवलपरासी ।  नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) सुस्ता गाउँपालिका-५ पक्लिहवास्थित नरायणी नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुल सञ्चालनमा आएपछि स्थानीय स्वरोजगार बन्दै गएका छन् ।

एक वर्षअघि यहाँ झोलुङ्गे पुल सञ्चालनमा आएपछि स्थानीयले विभिन्न किसिमका पसलमार्फत रोजगारीका अवसर सिर्जना गर्न थालेका हुन् ।

यहाँ निर्मित झोलुङ्गे पुल हेर्न जिल्लाका साथै भारतबाट पनि पर्यटक आउन थालेपछि स्थानीयद्वारा सञ्चालित पसलमा व्यापार बढ्न थालेको सुस्ता-५ का वडाध्यक्ष प्रभुनाथ यादवले बताए ।

“यहाँ झोलुङ्गे पुल सञ्चालनमा आएको एक वर्ष भएको छ । हालसम्म होमस्टे (घारबास) तथा व्यवस्थित सवारी पार्किङस्थल बनाउन सकेका छैनौँ । स्थानीयले स-साना पसल सञ्चालन गरी स्वरोजगार बन्दै गएका छन् । यसले स्थानीयको आर्थिकस्तर सुधार हुँदै गएको छ”, उनले बताए ।

वडाध्यक्ष यादवले आन्तरिक तथा छिमेकीमूलुक भारतको बिहार, उत्तर प्रदेशलगायत क्षेत्रबाट र न्यून सङ्ख्यामा अन्य मुलुकबाट पर्यटक यहाँ आउन थालेको बताए । दैनिकी एक हजार भन्दा बढी पर्यटक झोलुङ्गे पुल अवलोकन गर्न आउन थालेका जनाउँदै उहाँले स्वरोजगार बनेसँगै स्थानीयको दैनिकी फेरिन थालेको उल्लेख् गरे।

सुस्तामा झोलुङ्गे पुल निर्माणपछि यो क्षेत्र थप आकर्षित हुनुका साथै पर्यटकीय गतिविधि चलायमान बन्दै गएको गाउँपालिकाका अध्यक्ष टेकनाराण उपाध्यायले बताए । हाल स-साना पसल सञ्चालनमार्फत स्थानीयले आम्दानी गरिरहेकाले आगामी दिनमा घरबास सञ्चालन गरी पर्यटकलाई बस्न, खान सहज व्यवस्थापनसहित रोजगारीका नयाँ अवसर सिर्जना गर्ने योजना पालिकाले बनाएको उनको भनाइ छ ।

डोटीको खप्तड इञ्जिनियरिङ क्याम्पस सञ्चालनका लागि प्रधानमन्त्रीसमक्ष अनुरोध

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष डोटीको खप्तड इञ्जिनियरिङ क्याम्पस सञ्चालनका लागि आगामी बजेटमा कार्यक्रम समावेश गर्न मागपत्र बुझाइएको छ ।

आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टीसहित जिल्लाका बौद्धिक समुदायका सदस्य सम्मिलित प्रतिनिधिमण्डलले क्याम्पसका आवश्यक भौतिक पूर्वाधार निर्माणका साथै अध्ययन अध्यापनका लागि ध्यान दिन र विकासमा पछाडि परेको डोटीलाई बजेट विनियोजनमा प्राथमिकता दिन आग्रह गरेको हो ।

प्रधानमन्त्रीसमक्ष मागपत्र प्रस्तुत गर्न पूर्वमन्त्री वीरबहादुर बलायर, संविधानसभा सदस्यहरू गौरी वली र भरतबहादुर खड्का, सुदूरपश्चिम प्रदेशसभा सदस्य चक्र मल्ल, जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मणबहादुर सिंह, दिपायल सिलगढी नगरपालिकाका बाजीसिंह खड्का, केआईसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाही, नेपाली काँग्रेसका जिल्ला सभापति नरेन्द्रबहादुर सिंह, नेकपा (एमाले)का जिल्ला अध्यक्ष मञ्जु मलासीलगायत प्रधानमन्त्री निवासमा उपस्थित थिए ।

दिपायल सिलगढी नगरपालिका–६, थाप्लामा त्रिभुवन विश्वविद्यालयअन्तर्गत डोटी प्राविधिक आङ्गिक क्याम्पसका रूपमा सञ्चालन गर्ने तयारी भए पनि जनशक्ति र बजेट अभावमा काम अघि नबढेकाले प्रतिनिधिमण्डलले उच्च राजनीतिक तहमा सहयोगका लागि ध्यानाकर्षण गराएको हो ।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र गृहमन्त्री एवं काँग्रेस नेता रमेश लेखकसहित उपस्थित कार्यक्रममा प्रधानमन्त्री ओलीले आगामी बजेटलाई सन्तुलित, व्यवस्थित र प्रभावकारी कार्यान्वयनमुखी बनाउन छलफल भइरहेको बताउँदै डोटी विकासमा पछाडि परेको वास्तविकताबारे आफू जानकार रहेकाले डोटीको विकास अब प्राथमिकतामा पर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले थालेका काम पूरा गर्ने र बजेट विनियोजन गर्दा स्रोत सुनिश्चित गरेर मात्र रकम छुट्याइने उल्लेख गर्दै खप्तड इञ्जिनियरिङ क्याम्पस पूर्वाधार निर्माण गर्दा छात्रावास पनि निर्माण गर्न सकेमा टाढाका विद्यार्थीलाई सहज हुने बताए ।

राजनीतिमा विचौलियाको हावी भयोः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले हरेक ठाउँमा विचौलियाहरुको विगविगी बढेको बताएका छन् ।

आइतबार डा.सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ नामक पुस्तक विमोचन कार्यक्रममा कोइरालाले देशको राजनीति परिस्थिति एकदमै नाजुक भएको भन्दै हरेक ठाउँमा विचौलियाहरुको विगविगी बढेको बताएका हुन् । उनले देशको अर्थतन्त्रसँग खेल्ने अधिकार कसैलाई नभएको बताए ।

उनले भने, ‘देशको अर्थतन्त्रसँग खेल्ने, मजाक गर्ने अधिकार कसैलाई छैन । सरकारले सुशासन दिन्छौ, देशमा भ्रष्टाचार न्यूनिकरण गर्छौ भन्नुभयो तर सुशासन कस्तो अवस्थामा छ मैले भनिरहन पर्दैन ।’

उनले पुस्तक ‘कात्रोमा खल्ती’को प्रसंग झिक्दै हाल नेपालमा कात्रोमा खल्ती नै हुन्छ कि जस्तो गरी मानिसहरुले प्रवृत्ति देखाउन थालेको बताए ।

कोइरालाले केही स्थानमा राजनेता बीपी कोइरालाको शालिकमा मोसो दल्ने काम भएकोप्रति चिन्ता व्यक्त गरे । उनले भने,‘पश्चिमतिर बीपीको शालिकमा कालो मोसो दल्ने काम भएछ । त्यो राम्रो संस्कार होइन् । मोसो दल्दैमा बीपी कालो हुने पनि हैन । बीपीबाट धेरै कुरा सिक्न जरुरी छ ।’

कोइरालाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत ल्याएको सम्पत्ति शुद्धीकरण, राजश्व अनुसन्धान र राष्ट्रिय अनुसन्धान आफ्नो मन्त्रालयअन्तर्गत लैजान जरूरी रहेको बताए । सम्पत्ति शुद्धीकरण मुद्दा लागेसँगै सांसदको पद जाने र सम्पत्ति शुद्धीकरण प्रधानमन्त्रीमातहत रहेकोमा मानिसहरू डराइरहेको पनि कोइरालाले बताए ।

काभ्रे-कोशीपूर्वका दुई सडक स्तरोन्नति गरिँदै

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको कोशीपूर्वका दुई सडक स्तरोन्नति भइरहेका छन्। अरनिको राजमार्गसँग जोडिएको दोलालघाट–फलाँटे–कोलाँती–पोखरीचौरी–गुराँसे खण्डअन्तर्गत दोलालघाट–फलाँटे–कोलाँती खण्ड र सोही खण्डसँग जोडिएको भुम्लु गाउँपालिकास्थित हबेली–सापिङ–सिम्थली–बेखसिम्ले–वाफल खण्ड स्तरोन्नति भइरहेको हो।

बागमती प्रदेश सरकारको ग्रामीण सडक सञ्जाल सुधार आयोजना (एएफ) आयोजना कार्यान्वयन इकाई भक्तपुरमार्फत छ दशमलव पाँच किलोमिटर सडक विस्तार भइरहेको आयोजना कार्यालयले जनाएको छ।

गत असोजको बाढीपहिरोले करिब एक दशमलव पाँच किमी सडक क्षतिग्रस्त बनाएपछि उक्त क्षेत्रमा नयाँ डिजाइन गर्नुपर्ने आयोजना कार्यालयका कार्यक्रम व्यवस्थापक उषेश श्रेष्ठले जानकारी दिए। नयाँ डिजाइन नहुँदासम्म यो क्षेत्रमा काम गर्ने अवस्था नरहेको उनको भनाइ छ।

श्रेष्ठका अनुसार विस्तारित सडकमा हाल नाली, टेवा पर्खाल, ग्याबिन निर्माण अन्तिम चरणमा पुगेको छ। आगामी सातादेखि ग्रेडिङको काम गर्नेगरी निर्माण कम्पनीले तयारी गरिरहेको उनले बताए। एसियाली विकास बैंक (एडिबी)को लगानीमा बन्धन–भगवती निर्माण कम्पनीले २०८० चैत १३ गते दुई वर्षमा सम्पन्न गर्नेगरी १२ करोडमा ठेक्का लिएको थियो।

हालसम्म २५ प्रतिशत आर्थिक प्रगति र ४० प्रतिशत भौतिक प्रगति भएको आयोजना कार्यालयले जनाएको छ। चालु आर्थिक वर्षभित्र ‘असपाल्ट’ प्रविधिबाट कालोपत्र गर्ने तयारी गरिएको निर्माण कम्पनीले जनाएको छ।

यसैबीच, गत साता बागमती प्रदेशसभाका सांसद लक्ष्मण लम्सालले निर्माणाधीन सडक अनुगमन गरी तोकिएको समयभित्रै काम सम्पन्न गर्न आयोजना तथा निर्माण कम्पनीका प्रतिनिधिलाई आग्रह गरेका थिए।

हबेली–सापिङ–सिम्थली–बेखसिम्ले–वाफल सडकअन्तर्गत हबेली–सापिङ खण्डमा कालोपत्र सुरु गरिएको छ। प्रदेश सरकारको बजेटबाट स्तरोन्नति थालिएकामा शुक्रबार ‘प्राइम’ हालेपछि आजदेखि पिच बिछ्याउने काम थालिएको निर्माण कम्पनीका व्यवस्थापक प्रदीप गौतमले जानकारी दिए।

उनका अनुसार पहिलो चरणमा तीन किमी २०० मिटर असपाल्ट प्रविधिबाट कालोपत्र र चार सय मिटर ढलानको काम हुनेछ। नौ करोड ३२ लाख ६५ हजार ५०० मा पूर्वाधार विकास कार्यालय धुलिखेलले गत मङ्सिरमा पिएसके–एभरेष्ट जेभीसँग ठेक्का सम्झौता गरेको थियो। उक्त आयोजना आगामी मङ्सिरसम्म सम्पन्न गर्ने समयसीमा तोकिएको छ।

कम्पनीका व्यवस्थापक गौतमले निर्धारित समयावधि अगावै ठेक्का सम्पन्न गर्नेगरी तीव्रगतिमा काम भइरहेको जानकारी दिए।

खेतीमा यन्त्रको प्रयोग बढाउँदै दाङका किसान

देउखुरी । दाङका  किसानलाई नगदेबाली भित्र्याउन भ्याइनभ्याइ छ । किसान गहुँ, जौ, तोरी र मुसुरो थन्क्याउन व्यस्त छन् । अधिकांश किसानले यन्त्र प्रयोग गरेर बाली भित्र्याउने गरेका छन् ।

घोराही उपमहानगरपालिका–६ गुरुवागाउँका श्याम चौधरीले दुई बिघा खेतमा तोरी, मुसुरो, गहुँ र जौखेती गरेका छन् । उनले खेत जोत्ने र बाली भित्र्याउन यन्त्र प्रयोग गर्दै आएका छन् ।

‘खेतबारीमा काम गर्ने खेताला पाइँदैन, यन्त्रको सहायताले खेती गर्न सजिलो भएको छ । तोरीखेती गर्न हाते ट्र्याक्टरले खेत जोतेको हुँ । थ्रेसरले दाइँ गरेर तोरी, गहुँ र मुसुरो भित्र्याएको उनले बताए । यन्त्रको प्रयोगले खेती गर्न सजिलो भएको छ’, उनले भने ।

घोराही–१७ कर्जाहीका आशाराम चौधरीले पनि थ्रेसरको प्रयोग गरेर जौ, गहुँ र तोरी दाए । ‘खेताला लगाउँदा चार–पाँच दिन लाग्थ्यो अब थ्रेसरको सहायताले सजिलो भएको छ । थ्रेसरका माध्यमबाट कम समयमा धेरै काम हुने भएकाले किसानलाई राहत मिलेको छ’, उनले भने ।

घोराही उपमहानगरपालिकाले हाते ट्र्याक्टर, थ्रेसर, मल छर्ने मेसिन, सिँचाइका उपकरण अनुदानमा वितरण गर्दै आएको नगरप्रमुख नरुलाल चौधरले बताए । उनले भने, ‘मागका आधारमा थ्रेसरलगायत उपकरण पालिकाले आधा सुविधामा वितरण गर्दै आएको छ ।’

सात समूहलाई सगरमाथा आरोहणको अनुमति

काठमाडौँ । यस वर्षको वसन्तकालीन याममा सगरमाथा आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म सात आरोही समूहका १७ महिला र ६० पुरुषले अनुमति लिइसकेका छन् ।

विभागका निर्देशक लीलाधर अवस्थीले आइतबारसम्म सगरमाथासहित अन्य स–साना २९ हिमाल आरोहणका लागि आरोहण अनुमति दिइएको छ । उनले अनुमति पाएका आरोही गन्तव्यतिर लागेको जानकारी दिए ।

विभागको विवरणमा हालसम्म नेपालसहित विभिन्न देशका आरोहीले आरोहण कूल १९८ आरोहीले हिमाल आरोहणका लागि अनुमति लिएका छन् ।

अन्नपूर्ण–१ मा ६ आरोही समूहका ६६ जना र अन्नपूर्ण–५ का लागि एक आरोही समूहका आठ जनाले अनुमति लिएका छन् । मकालु आरोहणका लागि एक आरोही समूहका १५, ल्होत्सेमा एक आरोही समूहका १५ जनाले अनुमति पाएका छन् ।

सगरमाथाको दोस्रो शिविरसम्म बाटो निर्माण जारी

सगरमाथा आरोहणका लागि अहिले धमाधम बाटो निर्माण भइरहेको छ । सगरमाथा क्षेत्रमा दुई दिनयता तीव्र बेगको हावा चलेकाले बाटो बनाउन कठिन भइरहेको जनाइएको छ । हिजो साँझसम्म प्रतिघण्टा ३५ किलोमिटरको गतिमा हावा चलिरहेको र ‘आइसफल’का टुक्रा छरिरहेकाले आइसफल डाक्टर अनुकूल मौसमको प्रतिक्षामा रहेको विभागले जनाएको छ ।

खुम्बु आइसफल क्षेत्रमा अहिले भर्याङ राख्ने र ह्याङगिङ एयरमा किला ठोक्ने काम भइरहेको छ । ‘आइसफल क्षेत्रमा चार वटा भर्याङ  र १२ वटा किला ठोकिसकिएको छ’, निर्देशक अवस्थीले भने, ‘दोस्रो शिविरसम्म दुई हजार दुई सय मिटरसम्म बाटो बनाउनुपर्ने हुन्छ । हालसम्म एक हजार एक सय मिटरसम्मको बाटो बनिसकेको छ ।’

सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) बाटो बनाउन ‘आइसफल डाक्टर’ खटाएको छ । यो यामका लागि १० जनाको टोली खटाइएको एसपीसीसीले जनाएको छ । दुवै टोलीले सगरमाथा आरोहीहरूलाई सुरक्षित बाटो बनाउनेछन् । खुम्बु आइसफलमा बाटो बनाउने आरोहीलाई (आइसफल डाक्टर) भनिन्छ ।

सगरमाथाको दोस्रो शिविरसम्म बाटो तयार भएपछि मात्रै पर्वतारोहण सञ्चालक सङ्घले दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउने अर्थात् ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) काम गर्ने छ ।

यसका लागि सङ्घले अशोक लामाको नेतृत्वमा आठ सदस्यीय टोली खटाइसकेको जनाएको छ । सङ्घले यो याममा सगरमाथा आरोहणका लागि बाटो बनाउने तथा रोप फिक्सिङको व्यवस्थापकीय जिम्मेवारी एट्के एक्सपिडिसन कम्पनीलाई दिएको छ ।

वसन्त ऋतु सगरमाथासहितका हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ । यो याममा सगरमाथा आरोहणका लागि उल्लेख्य सङख्यामा विदेशी आउँछन् ।

तिनकुने घटनाको अविलम्ब न्यायिक छानबिन गरी फेरि हिंसात्मक घटना नदोहोरिने सुनिश्चित गर्न माग

काठमाडौँ । चारवटा मानवअधिकारवादी संस्थाले तिनकुने घटनाको अविलम्ब न्यायिक छानबिन गर्न माग गरेका छन् ।

जवाफदेहिता निगरानी समिति, एमनेस्टी इन्टरनेसनल नेपाल, एड्भोकेसी फोरम नेपाल र न्याय तथा अधिकार संस्था (जुरी) नेपालले आइतबार संयुक्त रूपमा विज्ञप्ति जारी गरी घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका हुन् ।

तिनकुनेमा चैत १५ गते भएको घटनामा बल प्रयोग र मानवीय क्षति सम्बन्धमा नेपाल प्रहरीले चैत २० गते सार्वजनिक गरेको विवरण र विभिन्न पत्रपत्रिकामा नेपाल प्रहरीको गोप्य प्रतिवेदनलाई आधार मानेर समाचारप्रति गम्भीर एवम् चिन्तित बनाएको भन्दै उनीहरूले यस्तो अपील गरेका हुन् ।

राजावादीले गरेको प्रदर्शनका क्रममा तिनकुने घटनामा दुई जनाको ज्यान गएको थियो भने कैयौँ घाइते भएका थिए। यसैगरी आगजनी र लुटपाटका कारण करोडौँको क्षति भएको थियो।

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणमा चैत १५ गते ५८ राउन्ड गोली चलाइएको, २० जना गोली लागेर घाइते भएका, गोली लागेर सविन महर्जनको मृत्यु भएको, घाइतेमध्ये १३ जना उपचाररत रहेको उल्लेख छ। यसैगरी प्रदर्शनकारीमाथि प्रहरीद्वारा ७४६ सेल अश्रुग्यास प्रहार गरिएको, १९८ राउन्ड ब्ल्यांक राउन्ड (आवाजमात्रै निकाल्ने) चलाइएको भनिएको छ ।

प्रहरीकै गोप्य प्रतिवेदनलाई उदृत गर्दै प्रकाशित समाचारमा प्रहरीले ११० लाइभ राउन्ड गोली प्रहार गरेको, गोली प्रहार गर्न अर्धस्वचालित हतियार (एसएलआर) समेत प्रयोग गरिएको, रबर बुलेट २०१ राउन्ड प्रहार गरिएको, नेपाल प्रहरीले ८६४ राउन्ड र सशस्त्र प्रहरीले १०४ राउन्ड अश्रुग्यास प्रहार गरेको उल्लेख छ।

उनीहरुको विज्ञप्तिमा भनिएको छ, ‘घटनाका सम्बन्धमा उजागर हुँदै गएका तथ्य हेर्दा प्रहरीबाट गरिएको बल प्रयोग ‘आवश्यक’ र ‘समानुपातिक’ थियो भनेर विश्वास गर्न र गृह प्रशासनलाई शंकाको सुविधा दिन सकिने अवस्था देखिँदैन।’

उनीहरूले घटनामा भएको बल प्रयोग, त्यसको दुष्परिणाम साथै पत्रकार सुरेश रजकको रहस्यमय मृत्यु र प्रदर्शनकारीबाट भए गरिएका हिंसात्मक कार्यहरूको निष्पक्ष तथा स्वतन्त्र न्यायिक छानबिन अत्यावश्यक देखिएको उल्लेख गरेका छन्। नागरिकको सुरक्षाको आशा र भरोसाको केन्द्रमा रहेको प्रहरी संगठन तथा गृह प्रशासनको विश्वसनीयता क्षयीकरण हुन नदिन पनि यस्तो स्वतन्त्र छानबिन अत्यावश्यक भएको सुझाव उनीहरूको छ ।

अत्यधिक बल प्रयोगका जिम्मेवारलाई जवाफदेही बनाउन एवं बल प्रयोगसम्बन्धी कानुन तथा अभ्यासमा सुधार ल्याउन विगतदेखि नै पटकपटक सिफारिस हुँदै आएको स्मरण पनि उनीहरूले गराएका छन् । मानवअधिकारवादी संघसंस्थाले त्यस्ता सिफारिसहरूको कार्यान्वयन गरी जवाफदेहिता सुनिश्चित गर्न नसकिएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

चेन अफ कमान्डमा कानुनसंगत आदेशको आधारमा चल्नुपर्ने संगठन भए पनि दण्डहीनताको निरन्तरताका कारण अत्यधिक बल प्रयोगको प्रवृत्ति तोडिन नसकेको चासो उनीहरूको छ। यसअघि भएका घटनाहरू (जस्तै पाथीभरा केबलकार विवाद तथा बालकुमारी घटना) का सन्दर्भम समेत बलको अत्यधिक प्रयोग भएको भन्ने गुनासा अभिव्यक्त भएको स्मरण अपीलमा गरिएको छ।

उनीहरूले जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ समेत अन्तर्गत यथोचित संयन्त्र गठन गरी जवाफदेहिता सुनिश्चित गर्न माग गरेका छन्। त्यस्तो संयन्त्रलाई तीनकुने घटनामा भएको बलको प्रयोग, त्यसबाट भएको मानवीय क्षति, आगजनी तथा तोडफोडलगायतका हिंसात्मक घटनाहरूको सत्यतथ्य उजागर गर्ने, अत्यधिक बल प्रयोग एवं हिंसाको प्रयोगका लागि प्रत्यक्ष वा परोक्ष रूपमा जिम्मेवार सुरक्षाकर्मी तथा व्यक्तिहरूको पहिचान गरी जवाफदेहिता सुनिश्चित गर्ने, घटनाका पीडितलाई यथोचित परिपूर्तिको सिफारिस गर्नेलगायतका कार्यदेश तोक्न उनीहरूले सुझाव दिएका छन्।

प्रदर्शनका क्रममा भएका आगजनी, तोडफोड, लुटपाट लगायतका आपराधिक क्रियाकलापनालाई बहाना बनाएर राजनीतिक आस्थाको आधारमा अस्वाभाविक रूपमा राज्यद्रोह वा संगठित अपराधको अभियोजनमा तान्ने कार्य किमार्थ जायज नहुने अपीलमा उल्लेख छ।

भारतीय प्रधानमन्त्री मोदीद्वारा श्रीलङ्कासँगको घनिष्ठ सम्बन्धको प्रशंसा

कोलम्बो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीलङ्काको पवित्र बौद्ध वृक्षको आइतबार दर्शन गरेका छन् ।
प्रधानमन्त्री मोदीले बौद्ध बहुल श्रीलङ्काको सार्वभौमिकताको प्रतीक अनुराधापुरामा रहेको श्री महाबोधीमा फूल चढाई बुद्धप्रति श्रद्धाभाव व्यक्त गरेका हुन् ।

बुद्धले दुई हजार ५०० वर्षअघि बुद्धत्व प्राप्त गरेको भनिएको धारतमा रहेको अञ्जीरको बोटको बिरूवा भएको विश्वास गरिने यस अञ्जीरको बोटलाई कडा पहरा दिएर राखिएको छ ।

हिन्दू राष्ट्रवादी भारतीय प्रधानमन्त्री मोदीले सन् २०१५ मा आफ्नो अघिल्लो भ्रमणका क्रममा पनि यसको पूजा अर्चना गर्नुका साथै दुवै देशका लागि यसको धार्मिक र सांस्कृतिक महत्वमाथि उजागर गरेका थिए ।

बोटानिकल नाम फिकस रिलिजियोसा भनिने यस रूखलाई दैनिक हजारौँले ‘जीवित बुद्ध’ को प्रतीकको रूपमा पूजा गर्छन्, यसको हाँगाहरू सुनको लेप लगाइएको फलामको सहारामा संरक्षित गरिएका छन् ।
भिक्षु, प्रहरी र सशस्त्र फौजले यस रूखको चौबिसै घण्टा पहरा दिनेगर्छन् ।

“यो भ्रमणले दुई देशबीचको गहिरो सांस्कृतिक, आध्यात्मिक र सभ्यतागत सम्बन्धलाई पुनः पुष्टि गरेको छ,” मोदीले भारत फर्कनुअघि सामाजिक सञ्जालमा लेखेका छन् ।

शनिबार मोदी र श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले रक्षा र ऊर्जालगायत सात सम्झौतामा हस्ताक्षर गरेका थिए ।

दिसानायकेले श्रीलङ्काप्रति देखाएको ‘गहिरो व्यक्तिगत मित्रता’ सम्मानस्वरूप उहाँलाई देशको सर्वोच्च नागरिक सम्मान प्रदान गरेका छन् ।

मोदीको यो भ्रमणलाई यस क्षेत्रमा चीनको बढ्दो प्रभावको सामना गर्ने रणनीतिक कदमका रुपमा हेरिएको छ । दिसानायकेले आफूले मोदीलाई ‘भारतको सुरक्षालाई कमजोर पार्न कसैले पनि श्रीलङ्काली भूमि प्रयोग गर्न नदिने’ आश्वासन दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

इरानका उच्च कूटनीतिज्ञद्वारा अमेरिकासँगको प्रत्यक्ष वार्ता अस्वीकार

तेहरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सिधा वार्ता गर्न चाहेको बताइरहेका समय इरानका विदेशमन्त्री अब्बास अराघचीले आइतबार अमेरिकासँगको प्रत्यक्ष वार्तालाई ‘अर्थहीन’ भन्दै यस्तो सम्भावनालाई अस्वीकार गरेका छन् ।

ट्रम्पले गत महिना तेहरानलाई वासिङ्टनसँग आफ्नो आणविक कार्यक्रमबारे वार्ता गर्न आह्वान गरे । उनले कूटनीति असफल भएमा इरानमाथि आक्रमण गर्ने चेतावनी दिएका थिए । बिहीबार अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँग ‘सिधा वार्ता’ गर्न चाहेको बताएका थिए ।

“मलाई लाग्छ तपाईं मध्यस्थहरूमार्फत जानुभन्दा यो छिटो हुन्छ,” उनले भने । आइतबार अराघचीले भने, “संयुक्त राष्ट्रसङ्घको बडापत्रको उल्लङ्घन गर्दै निरन्तर बल प्रयोग गर्ने धम्की दिने र आफ्ना विभिन्न अधिकारीहरूबाट विरोधाभासी अडान व्यक्त गर्ने पक्षसँग प्रत्यक्ष वार्ता ‘अर्थहीन’ हुनेछ।”

“हामी कूटनीतिप्रति प्रतिबद्ध छौँ र अप्रत्यक्ष वार्ताको बाटो प्रयोग गर्न तयार छौँ,” परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

“इरान सबै सम्भावित गतिविधि वा घटनाका लागि तयार रहन्छ र जसरी यो कूटनीति र वार्तामा गम्भीर छ, त्यसरी नै उसले आफ्नो राष्ट्रिय हित र सार्वभौमिकताको रक्षामा पनि निर्णायक र गम्भीर हुनेछ,” अराघचीले भने ।

शनिबार इरानी राष्ट्रपति मसूद पेजेशकियानले आफ्नो देश अमेरिकासँग समान स्तरमा वार्ता गर्न इच्छुक रहेको बताएका थिए ।

उनले वार्ताका लागि आह्वान गर्ने वासिङ्टनको इमान्दारितामाथि पनि प्रश्न उठाउँदै भने, “यदि तपाईं वार्ता चाहनुहुन्छ भने धम्की दिनुको अर्थ के हो?”

संयुक्त राज्य अमेरिकाको नेतृत्वमा पश्चिमा देशहरूले दशकौँदेखि तेहरानले आणविक हतियार हासिल गर्न खोजेको आरोप लगाउँदै आएका छन्।

इरानले उक्त आरोपको खण्डन गर्दै आफ्नो आणविक गतिविधि नागरिक प्रयोजनका लागि मात्र भएको बताउँदै आएको छ । इस्लामिक रिभोल्युसनरी गार्ड कोरका प्रमुख हुसेन सलामीले शनिबार देश युद्धका लागि ‘तयार’ रहेको बताएका थिए ।

बागलुङ कालिका मन्दिरमा एकैदिन तीन लाख भक्तजन

बागलुङ । गलकोट (बागलुङ) चैतेदसैँको मुख्य दिन चैत्राष्टमीमा अहिलेसम्मकै धेरै भक्तजन कालिका मन्दिर दर्शनका लागि आएका छन्। चैतेदसैँका अवसरमा बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका मन्दिरमा एकैदिन तीन लाख भक्तजन आएको कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ।

चैतेदसैँ मेला प्रसिद्ध कालिका भगवती मन्दिरसँग जोडिएकाले पछिल्लो समय दर्शनार्थीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो। चैतेदसैँको मुख्य दिन शनिबार अष्टमीको दिनमात्रै तीन लाख भक्तजन कालिका मन्दिर दर्शनका लागि आएको र सोही दिन  ११ लाख ८१ हजार भेटीसमेत सङ्कलन भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए।

चैतेदसैँमा कालिका मन्दिर दर्शन गर्न र मेला भर्नका लागि नेपालका विभिन्न जिल्ला तथा भारतबाटसमेत धार्मिक पर्यटक भित्रिने गरेका छन् । पछिल्लो समय प्रचारप्रसार र पूर्वाधार निर्माणसँगै कालिका मन्दिरमा दर्शनार्थीको सङ्ख्यामा वृद्धि भइरहेको खड्काले बताए।

उनले मुस्ताङ हिँडेका धार्मिक पर्यटक कालिका दर्शनलाई आउने गरेको बताउँदै चैतेदसैँको मुख्य दिन एकैपटक एक हजार चारपाङ्ग्रे सवारीसाधनले बाङ्गेचौर खेल मैदान भरिएको जानकारी दिए। चैतेदसैँ सुरु भएसँगै कालिका मन्दिरमा दर्शनार्थीको भीड लाग्ने गरे पनि मुख्य दिन बिहानै ४ बजेदेखि एक किलोमिटरभन्दा लामो लाइनमा भक्तजनले लामबद्ध भएर कालिका मन्दिर दर्शन गरेका थिए।

‘अहिलेसम्मकै बढी भक्तजन कालिका मन्दिरमा भित्रिएको अनुनमान छ, सिसी क्यामेरा, फूलप्रसाद बिक्रीको सङ्ख्या, भेटीको सङ्ख्या र एक किलोमिटरभन्दा लामो लाइन दिनभर भएकाले चैतेदसैँको मुख्य दिनमात्र तीन लाख दर्शनार्थी र चैतेदसैँभर छ लाख पर्यटक भित्रिएका छन्’, अध्यक्ष खड्काले भने, ‘चैतेदसैँमा बलीको सङ्ख्या घटे पनि नगद भेटी चढाउनेको सङ्ख्या बढेकाले एकैदिन रु ११ लाख भेटी सङ्कलन भएको हो ।’

नेपालकै महत्वपूर्ण मेलामध्येको एक चैतेदसैँ मेला यस वर्ष चैतको २० देखि २५ गतेसम्म चलिरहेको छ । नवरात्रको चौथो दिनदेखि नै कालिका मन्दिरको पार्किङस्थलले नथेगेपछि धार्मिक पर्यटक बोकेका सवारीसाधनलाई बाङ्गेचौर खेल मैदानमा पठाइएको थियो। चैतेदसैँ मेलामा रु तीन करोडभन्दा बढीको आर्थिक कारोबार हुने मन्दिर व्यवस्थापन समितिको अपेक्षा रहेको छ। कालिका मन्दिरका कारण बागलुङको पर्यटन व्यवसाय फस्टाउँदै गएको पर्यटन व्यवसायी एञ्जिल शाक्यले बताए।

पर्वतका राजा प्रतापीनारायण मल्लले पाल्पाकी राजकुमारी विवाह गरेर ल्याउँदा दाइजो दिएको कालिकाको मूर्ति घना जङ्गलको बीचमा बिसाएर उठाउन खोज्दा नसकेपछि सोही ठाउँमा स्थापित गरी पूजा गर्ने चलन बसेको मन्दिरको अभिलेखमा उल्लेख छ। कालिका भगवती मन्दिर विसं १५९१ मा स्थापना गरिएको इतिहास छ। चैतेदसैँ मेलामा घरायसी प्रयोजनका सामग्री डाला, नाङ्ला, ठेका, हातहतियारलगायत वस्तुहरुको परम्पराकालदेखि नै किनमेल हुने गरेको छ।

रविलाई प्रधानमन्त्री बन्ने अवसर नै नजुटेको मुकुल ढकालको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्री पद छोडेको भन्ने दाबी निराधार भएको बताएका छन् ।

आइतबार सामाजिक संजालमार्फत ढकालले रविलाई प्रधानमन्त्री बन्ने अवसर नै नजुटेको बताएका हुन् । उनले भनेका छन्, ‘इतिहासको कुनै पनि समयमा रवि लामिछानेलाई प्रधानमन्त्री बन्ने अवसर जुटेको थिएन । प्रधानमन्त्री पद छोडेको भन्ने दाबी निराधार छ ।’

उनले नेपाली राजनीतिमा धोकाधडी अनेक हुने गरेको, काङ्ग्रेसबाट आएको उक्त प्रस्ताव १–२ दिनमा नै कार्यान्वयन हुन नसक्ने र ३० दिनसम्मको टाइमफ्रेममा काङ्ग्रेसले धोका दिए पार्टीलाई ठूलो क्षति हुन्छ भनेर विश्लेषण गरिएको उल्लेख गरेका छन् । ढकालले त्यतिबेला काङ्ग्रेसलाई पत्याउन सक्ने दरिलो आधार पनि नभएको बताएका छन् ।

यस्तो छ मुकुल ढकालको भनाई

त्यतिबेला प्रधानमन्त्री प्रचण्डले काङ्ग्रेससँग गठबन्धन परिवर्तन गरि एमाले–रास्वपा गठबन्धन बनाए र रवि दाइ गृहमन्त्री बने, काङ्ग्रेस प्रतिपक्षमा बस्यो । काङ्ग्रेस प्रतिपक्षमा बसेपछि, विभिन्न माध्यम र कोणबाट डेमोक्रेटिक एलायन्स बनाउने प्रस्तावहरू आए । नेपाली काङ्ग्रेसले त्यतिबेला रवि लामिछानेलाई १ वर्षका लागी प्रधानमन्त्री बनाउने र त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने गरी प्रस्ताव गरेको थियो ।

काङ्ग्रेसबाट त्यसरी प्रस्ताव आएपछि, रवि दाइ प्रधानमन्त्री बन्न आतुर भइसकेका थिए । सरकार कसरी छोड्ने र काङ्ग्रेससँगको सहकार्यलाई कसरी प्राकृतिक देखाउने, त्यसका लागी रणनीति बनाउन मलाई सभापतिले निर्देशन दिनु भएको थियो । तर मकहाँ त्यो प्रस्ताव र निर्देशन आइसकेपछि, मैले रवि दाइलाई संविधानका ‘धारा १००(२) – प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नु पर्नेछ ।’  अनुसार जान पर्ने हुन्छ र तत्कालिन प्रधानमन्त्री प्रचण्डले ३० दिन समय पाउने कुरा बताए । त्यसरी प्रचण्डले ३० दिनमा आफैँ प्रधानमन्त्री बन्न ३० दिनभित्र अनेक तिकडम गर्न सक्ने, त्यो नि गर्न नसके शेरबहादुर देउवालाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री बनाउन सक्छन् भनेर निचोड निकालियो । रास्वपाले तत्काल सरकार छाडे, काङ्ग्रेस–माओवादी गठबन्धन बन्न सक्ने र ७६(२) अनुसार देउवा प्रधानमन्त्री बन्ने, वा त्यो पनि हुन नसके ७६(३) अन्तर्गत पनि ठूलो दलको नाताले देउवा नै प्रधानमन्त्री बन्ने देखियो ।

नेपाली राजनीतिमा धोकाधडी अनेक हुने गरेको, काङ्ग्रेसबाट आएको उक्त प्रस्ताव १–२ दिनमा नै कार्यान्वयन हुन नसक्ने र ३० दिनसम्मको टाइमफ्रेममा काङ्ग्रेसले धोका दिए पार्टीलाई ठूलो क्षति हुन्छ भनेर विश्लेषण गरियो । काङ्ग्रेसलाई पत्याउन सक्ने दरिलो आधार थिएन । यसरी, रास्वपालाई झुक्याएर, छलेर देउवा नै प्रधानमन्त्री बन्ने छन् भनेर कानुन र संविधानका पाटाले देखाइसकेपछि बल्ल रवि दाइ प्रधानमन्त्री नबनिने रहेछ, यो त झुक्याइएको रहेछ भन्नेमा पुगे र त्यसपपछि काङ्ग्रेसप्रति नै आक्रमक भएर प्रस्तुत भए ।
यसर्थ, इतिहासको कुनै पनि समयमा रवि लामिछानेलाई प्रधानमन्त्री बन्ने अवसर जुटेको थिएन । प्रधानमन्त्री पद छोडेको भन्ने दाबी निराधार छ ।

माथि उल्लेख गरिएका तथ्यको प्रमाणका लागी नेपालको संविधान पल्टाउन सक्नुहुन्छ । काङ्ग्रेसबाट आएको प्रस्तावका बारेमा त्यतिबेलाको आर्काइभ हेर्नसक्नु हुन्छ । डेमोक्रेटिक एलायन्समा पुग्ने संसदको अंकगणित नाप्न सक्नु हुन्छ र रास्वपा नेतृत्वमा त्यो कति असम्भव थियो, त्यो पनि जोडजाड गर्न सक्नुहुन्छ । यसर्थ जनतालाई भ्रममा पार्ने गरि हौवा नपिटौँ ।

जनकपुरमा रामनवमी महोत्सव

जनकपुरधाम । सीताको जन्मभूमि नगरी जनकपुरधाममा आज रामनवमी पर्व धूमधामका साथ मनाइँदै छ । भगवान् रामको जन्म चैत्रशुक्ल नवमी तिथिमा भएको स्मरणमा आज रामनवमी पर्व विशेष उत्साहका साथ मनाउने गरिन्छ ।

शनिबारदेखि भारतको विभिन्न भेगका साथै नेपालको विभिन्न जिल्लाबाट हजारौँ श्रद्धालु भक्तजनासहित साधुसन्त रामनवमी पर्व मनाउन जनकपुरधाममा आएका छन् । मर्यादा पुरुषोत्तम रामको जन्मजयन्तीका अवसरमा आज यहाँ रामनवमी महोत्सव आयोजना गरिएको छ ।

रामको प्रेमभूमि र सीताको जन्मभूमि जनकपुरधामको प्राचीन राममन्दिरमा आयोजित महोत्सवमा नेपाल र भारतका साधुसन्तसहित श्रद्धालु भक्तजनको उल्लेख्य सहभागिता रहेको जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्वले जानकारी दिए । उनकाअनुसार मन्दिर परिसरमा श्रद्धालुद्वारा भजनकीर्तनका साथै मिथिलाञ्चलमा जन्मसंस्कारमा गाइने गीतले रामको जन्मोत्सवमा झैँ अनुभूति भइरहेको छ ।

“त्रेतायुगमा चैत्रशुक्ल नवमीका दिन रामको जन्म भएको शास्त्रमा उल्लेख गरिएको छ । अयोध्याका राजा दशरथपुत्र राम सूर्यवंशी क्षत्रिय राजकूलका ६१औँं पुस्ताका रूपमा मानिन्छन् । ‘राम शब्द रम्’ धातुबाट बनेको हो जसको अर्थ क्रीडा, खेल र आनन्द हुन्छ । विद्वानहरूले यसलाई विभिन्न अर्थ लगाए पनि रामको अलौकिक सौन्दर्यमा जीव मात्रलाई रमाउने क्षमता छ, सोही क्षमताबाट उहाँको नाम राम भएको ग्रन्थमा उल्लेख छ”, मन्दिरका महन्त वैष्वले भने ।

राम परब्रह्मा, परमतप र परमतारक ब्रम्ह भएको विश्वासका आधारमा मानिसले आफ्ना सन्तति र ठाउँको नामसमेत राम राखेका पाइन्छ । महर्षि वैदिक विश्वविद्यालयमा गरिएको एक शोधमा विश्वमा रामको नाम जोडिएका एक हजारभन्दा बढी सहर रहेका पाइएको वैष्वले जानकारी दिए ।

धार्मिक ग्रन्थमा शिवको रामभक्ति तथा हनुमान, नारद, अत्रि, अनुसूया, भरत, शवरीलगायतको रामप्रतिको प्रेम, भक्ति र उपासनाका बारेमा चर्चा गरिएको छ । कल्याणस्वरूप र सत्यस्वरूपका रूपमा पूजा गरिने राम पुण्य र मोक्षदायक हुन् ।

जसले रामनवमी व्रत गर्छ, त्यसले सम्पूर्ण पाप नाश गरी सिद्धि पाउँछ भन्ने शास्त्रमा वर्णन गरिएको महन्त वैष्वले बताए । उनका अनुसार विश्वका महापुरूषको परम्परामा राम एक मात्र मर्यादा पुरूषोत्तम हुन् भने उनको राज्य व्यवस्था र आदर्श लोकतन्त्रका लागि प्रेरणाका स्रोत मानिन्छन् ।

आज पनि सुशासन, सुव्यवस्थालगायत लोककल्याणकारी, आदर्श व्यवस्थाका लागि शास्त्रीय गुणलाई एउटै शब्दमा पूर्ण अभिव्यक्ति दिन रामराज्य शब्दलाई व्याख्या गर्ने गरिएको जानकारहरू बताउँछन् ।

देशभक्ति, पितृभक्ति, मातृभक्ति, भातृप्रेम, प्रजावत्सलता, सरलता, सहिष्णुता, धार्मिकता, नैतिकता, क्षमाशीलता र वीरताका उदाहरण दिँदा पनि रामलाई सम्झिने गरिएको राम मन्दिरका महन्त गिरीले उल्लेख गरे । रामको जन्मोत्सवका अवसरमा आज यहाँ विधिवत् पूजाअर्चना गरिने र साँझमा बधाई गानसहित झाँकी तथा गीतनाद आयोजना हुने उनले जानकारी दिए ।

कुर्था–जनकपुर–जयनगर मार्गमा नेपाल रेल्वे सञ्चालन भएकाले यहाँका जानकी मन्दिर र राम मन्दिरमा दर्शन गर्ने श्रद्धालु भक्तजनहरूको सङ्ख्यामा वृद्धि हुँदै गएको जनकपुरधाम उपमहानगरपालिका–३ का वडाध्यक्ष दीपेन्द्र साहले बताए ।

शोभायात्रा, झाँकी तथा सांस्कृतिक कार्यक्रममा धार्मिक मर्यादा कायम राख्न सबैलाई आग्रह गरिएको बताउँदै उनले शान्ति, सुव्यवस्था र धार्मिक सौहार्द कायम राख्न स्थानीय प्रशासनले आवश्यक तयारी गरेको जानकारी दिए ।

बार निर्वाचनको मतगणना सोमबारदेखि

काठमाडौँ । नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना सोमबारदेखि हुने भएको छ ।

बारको नयाँ कार्यसमितिका लागि शनिबार मतदान भएको थियो । प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार बारको मतपेटिका आज बेलुकासम्म काठमाडौँ आइपुग्ने छ भने सोमबारदेखि मतगणना सुरु गरिनेछ ।

बारको नयाँ कार्यसमिति चयन गर्न नौ हजार ९५७ मतदाता रहेकामा ८० प्रतिशत मत खसेको थियो । कूल २५ जना रहने कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको थियो ।

काठमाडौँ र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्रमा मतदान भएको थियो । बारको नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठमा प्रतिस्पर्धामा छन्।

वरिष्ठ अधिवक्ता प्राडा मिश्रको समूहमा महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला छन् भने वरिष्ठ अविधक्ता श्रेष्ठको समूहमा अधिवक्ता यज्ञमणि न्यौपाने उम्मेदवार छन्।

अमेरिकामा आँधीका कारण १६ जनाको मृत्यु

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको मध्य–पूर्वी क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । राष्ट्रिय मौसम सेवाले शनिबार आँधीको चेतावनी जारी गरेको थियो ।

अर्कान्सासदेखि ओहायोसम्म फैलिएको आँधीबेहरीले भवनहरूमा क्षति पुर्‍याएको, सडकहरू बाढीमय भएको र हालैका दिनहरूमा दर्जनौँ चक्रवात उत्पन्न भएका छन्।

टेनेसी राज्यको पश्चिमी भागमा १० जनाको मृत्यु भएको राज्यका अधिकारीहरूले बताएका छन् ।

केन्टुकी राज्यका गभर्नर एन्डी बेशियरका अनुसार बाढीका कारण एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।

सामाजिक तथा स्थानीय सञ्चारमाध्यममा शेयर गरिएका तस्वीरमा आँधीका कारण कैयौँ राज्यमा व्यापक क्षति पुगेको, घरहरू भत्किएको, रुखहरु ढलेको, बिजुलीको तार ढलेको र कारहरु पल्टिएको देखिएको छ ।

राष्ट्रिय मौसम सेवा (एनडब्ल्यूएस) ले मध्य–पूर्वी क्षेत्रका केही भागहरूमा आइतबारसम्म ‘व्यापक रूपमा आकस्मिक बाढी’ आउन सक्ने उल्लेख गर्दै ‘जनजीवन र भौतिक संरचनामा क्षति हुने ठूलो खतरा रहेको’ चेतावनी दिएको छ।

आँधीका कारण मिसौरीमा दुई र इन्डियानामा एक जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यम र अधिकारीहरूले जनाएका छन् ।

अर्कान्सास राज्यको लिटिल रकस्थित एक घरमा पाँच वर्षीय एक बालक मृत अवस्थामा फेला परेको राज्यको आपतकालीन व्यवस्थापन निकायले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

केन्टुकीका गभर्नर बेशियरले शनिबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘धेरै समुदायमा बाढी उच्च स्तरमा पुगेको छ, राज्यका बासिन्दाहरूलाई ‘यात्रामा ननिस्किन र जल क्षेत्रको नजिक नजान’ आग्रह गरिएको छ।

अर्कान्सास र टेनेसीमा आइतबार बिहानसम्म एक लाखभन्दा बढी ग्राहक विद्युत्विहीन रहेको ट्र्याकिङ वेबसाइट ‘पावर आउटेज डट कम’ले जनाएको छ ।

एनडब्लुएसले टेनेसी भ्याली र लोअर मिसिसिपी भ्यालीका केही भागमा आइतबार मध्यमदेखि गम्भीर आँधीबेहरी आउन सक्ने जनाएको छ ।

वैज्ञानिकहरूका अनुसार ग्लोबल वार्मिङले जलवायु परिवर्तन र पानीको चक्रलाई बिथोलिरहेको छ, जसले चरम मौसमलाई बारम्बार अधिक क्रूर बनाइरहेको छ ।

गत वर्ष संयुक्त राज्य अमेरिकामा उच्च तापमानको अहिलेसम्मकै उच्च रेकर्ड कायम भएको थियो भने चक्रवात र विनाशकारी आँधीबेहरीको असरले प्रभावित तुल्याएको थियो ।

पूर्खाको मेहनत र परिश्रमको चिनो सम्पदाको संरक्षण हाम्रो साझा दायित्व : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बहुजाति, बहुभाषा, परपम्परा र संस्कृति रहेको देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवद्र्धनमा तीनै तहको सरकारले ध्यान दिनु जरुरी रहेको बताएका छन् ।

पाटन दरबार क्षेत्रमा पुनर्निर्माण गरिएको श्री देगुतलेजु मन्दिरको आइतबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सम्पदा संरक्षणमा नागरिकस्तरको सचेतना, जागरुकता र चासो उत्तिकै आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘भावी सन्ततिका लागि यी अमूल्य सम्पदा हाम्रो समय, इतिहास र पूर्खालाई बुझ्ने महत्वपूर्ण कडी हुन् । देशका यस्ता महत्वपूर्ण स्थलको संरक्षण र संवद्र्धन गरी पूर्खाको मेहनत, परिश्रम र चिनोको रुपमा रहेका कैंयन सम्पदाको संरक्षण हाम्रो साझा दायित्व हो ।’

उनले अनुपम भौगोलिक विविधताको सुन्दर देश नेपालमा प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवम् प्रकृतिको वरदानका रुपमा कयौं  रमणीय स्थलहरू रहेको उल्लेख गर्दै अनगिन्ति मठमन्दिर, शक्तिपीठ, देवस्थल र तीर्थस्थलहरू नेपालीहरूको सभ्यता, संस्कृति तथा राष्ट्रिय गौरवसँग जोडिएको बताए ।

राष्ट्रपति पौडेलले ललितपुर महानगरपालिकास्थित विश्व सम्पदा सूचीभित्र पर्ने पाटन दरबार क्षेत्रको यो एउटा बहुमूल्य सम्पदा भएको भन्दै स्वदेशी विदेशीको प्रमुख पर्यटकीय गन्तव्य यहाँका सम्पदाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको बताए । देशभर रहेका हाम्रा ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदा नेपाल र नेपालीको शान र पहिचान भएको उनको भनाई थियो ।

राष्ट्रपति पौडेलले विनाशकारी गोरखा भुकम्पमा क्षतिग्रस्त ऐतिहासिक सम्पदाहरूको पूर्ववत स्वरूप र संरचनामै पुनर्निर्माण तथा जिर्णोद्धार चुनौतिपूर्ण कार्य हुँदाहुँदै यो मन्दिर पुननिर्माणले पाएको सार्थकताले यहाँको शोभा र सौन्दर्य बढाएको उल्लेख गरे ।

भलिबलको साख फर्काउने चाहनामा कप्तान अरुणा

कास्की । राष्ट्रिय महिला भलिबल टोलीका कप्तान अरुणा शाहीले पोखरा–३ नदीपुरमा एटि भलिबल एकेडेमी सञ्चालन गरेकी छन् ।

एकेडेमीमा महिला खेलाडीलाई नियमित प्रशिक्षण प्रदान गरिँदै आइएको छ । एकेडेमीबाट क्षमतावान् महिला भलिबल खेलाडी उत्पादन गरेर विगतको गण्डकीको भलिबलको साख फर्काउने चाहना अरुणाको छ ।

एकेडेमी चलाउनका लागि भने आर्थिक रूपमा समस्या भएकाले स्रोत जुटाउनका लागि यही चैत २९ देखि वैशाख १ गतेसम्म प्रथम एलिट कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी गरिएको छ ।

एकेडेमीमै हुने प्रतियोगिताबाट खेलाडी उत्पादनमा टेवा पुग्ने राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान एवं एकेडेमीकी प्रशिक्षक शाहीले बताइन् ।

प्रतियोगिता संयोजकसमेत रहेकी अरुणाले प्रतियोगिताबाट बचत रकम महिला खेलाडी उत्पादनमा खर्चिने बताइन् ।

उनले भनिन्, “प्रतियोगिताबाट आएका उत्कृष्ट खेलाडीलाई पठनपाठनमा छात्रवृत्तिसँगै निःशुल्क प्रशिक्षण गराउनेछौँ । त्यसले भविष्यमा खेलाडी उत्पादनमा टेवा पुग्ने हाम्रो विश्वास छ ।” एकेडेमीले उत्कृष्ट दुई महिला खेलाडीलाई पठनपाठनसँगै निःशुल्क प्रशिक्षण गराउने जनाएको छ ।

विशेषगरी महिला भलिबल खेलाडी उत्पादन गर्ने लक्ष्य एकेडेमीको रहेको शाही बताउँछिन् । “पुरुषभन्दा पनि महिला खेलाडी उत्पादन गर्नु हाम्रो एकेडेमीको लक्ष्य हो । कसरी हुन्छ, पहिलाको जुन साख छ पोखरा र गण्डकीको त्यसलाई उजागर गर्ने हाम्रो उद्देश्य हो”, शाहीले भनिन् ।

प्रतियोगितामा पुरुषतर्फको विजेताले एक लाख र उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । महिलातर्फ विजेतालाई ५० हजार र उपविजेतालाई २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट पुरुष खेलाडीले रु पाँच हजार र सर्वोत्कृष्ट महिला खेलाडीले तीन हजार प्राप्त गर्नेछन् ।

विधागततर्फ उत्कृष्ट हुने पुरुष खेलाडीलाई समान दुई हजार र महिलातर्फ समान एक हजार ५०० प्रदान गरिनेछ । पुरुषतर्फ दर्ता शुल्क ६ हजार ५०० र महिलातर्फ तीन हजार ५०० रुपैयाँ तोकिएको छ । दुवैतर्फ टिममा सातौँ, आठौँ र नवौँ राष्ट्रिय खेलकुद र अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी भएका बढीमा दुई जना खेलाडी समावेश गर्न पाइने प्रतियोगिता संयोजक शाहीले बताइन् ।

हालसम्म पुरुषतर्फ नौ र महिलातर्फ सात टोलीले नाम दर्ता गराएको खेल संयोजक तथा एकेडेमीका प्रशिक्षक मलिन रोकाले जानकारी दिए । महिला भलिबलका कप्तान शाहीसहित तीन जना मिलेर नदीपुरमा एलिट भलिबल एकेडेमी सञ्चालन गरेका छन् । उनीहरूले महिला खेलाडीलाई नियमित प्रशिक्षण गराउँदै आएका छन् ।

शिक्षकहरूको माग सम्बोधन नगरी संसद अन्त्य गर्नु निरंकुशताको पराकाष्ठाः महासचिव गुरुङ

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले आन्दोलनरत शिक्षकहरुसँग वार्ता गरी समाधान खोज्न सरकारलाई आग्रह गरेका छन् ।

आइतबार सामाजिक संजालमार्फत महासचिव गुरुङले शिक्षकहरुले आफ्ना मागकाबारेमा अग्रिम जानकारी गराएपनि हतारहतार संसद अधिवेशन अन्त्य गरेर सरकारले अपमान गरेको बताएका हुन् ।

उनले भनेका छन्, ‘शिक्षकहरु प्रति सदनबाट शिक्षा विधेयक शिघ्रतर रुपमा पारित गरियोस् भनि शिक्षकहरुले गत चैत्र २० गतेदेखि सडक आन्दोलनमा उत्रेको देखिन्छ । उक्त विधेयक शिघ्रतर रुपमा पास नभएमा चैत्र २० गतेबाट सडक आन्दोलन उत्रने भनि सरकारलाई अग्रिम जानकारी पनि शिक्षकहरुले गरेको देखिन्छ । तर सरकारले चैत्र १९ गते मध्यरातबाट हिउदे विद्येयक अधिवेशन समापन गरेको छ । शिक्षा विधेयक शिक्षा समितिको उपसमितिमा दफा छलफलमा रहेको देखिन्छ। समितिबाट पारित गरियो नै भने पनि सदन नचलेको स्थितिमा फुल हाउसबाट पारित हुन सक्ने भएन । यस्तो स्थितिमा विधेयक र सदनको स्थितिबारे शिक्षकहरुसँग वार्ता–संवाद केही नगरी सदनको समापना गर्नु सरकारको शिक्षकहरुप्रतिको उपेक्षा, अपहेना र सरकारको निरंकुश चरित्रको पराकाष्टता हो।’

उनले आन्दोलनरत शिक्षकसँग वार्ता गरी विधेयक पारित गर्ने प्रतिवद्धता जनाउन समेत आग्रह गरेका छन्।

उनले भनेका छन्, ‘सरकारको यस प्रकारको गैरजिम्मेवार व्यवहारले गर्दा देशभरका विद्यालयहरुको पठनपाठन ठप्प छ। अतः सरकारले आन्दोलनरत शिक्षकहरुसँग अविलम्व वार्ता गरी सदनमा विचाराधीन विद्येयकबारे कहिलेसम्म सदन बोलाएर पारित गर्ने भनि एउटा प्रतिवद्वता जाहेर गर्नैपर्छ।’

सरकारलाई दवाव दिन नेपाल शिक्षक महासंघले सोमबारदेखि देशव्यापी शैक्षिक हड्ताल घोषणा गरिसकेको छ ।

शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले सोमबारदेखि देशव्यापी शैक्षिक हड्ताल घोषणा गरेको छ । आइतबार विज्ञप्ति जारी गरी महासंघले देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको हो ।

विज्ञप्तिमा नतिजा प्रकाशन लगायतका सबै काम ठप्प पारेर शैक्षिक हड्तालाई सफल बनाउन देशभरका शिक्षक, कर्मचारीलाई आग्रह गरिएको छ ।

सरकारसँग विभिन्न मागहरु गर्दै गएको माघ २० गतेबाट आन्दोलनमा रहेको महासंघ यही चैत २० गतेदेखि राजधानी काठमाडौँ केन्द्रित सडक आन्दोलनमा छ।

न्यायालयको फैसलाविरूद्ध रूवाबासी नगर्न रास्वपालाई सांसद थापाको सुझाव

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले न्यायालयको फैसलाविरुद्ध रुवाबासी नगर्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई सुझाव दिएका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत थापाले रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी मुद्दामा पक्राउ परेको सन्दर्भप्रति लक्षित गर्दै हरेक व्यक्तिले आफ्नो पौरखका दशा र दुर्दशा भोग्नुपर्ने बताएका हुन् । उनले यो तपार्टी खोल्नुअघिको बचत हिनामिना, ठगी र अपचलन भएको बताएका छन् ।

उनले भनेका छन्, ‘सहकारी ठगी – संसदीय छानविन गर्ने आफ्नै घोषणा ! समितिद्वारा कारबाहीको सिफारिस – क्लिन चिट पाएँ ! पाँच सहकारीमा अनुसन्धान/अभियोजन– प्रतिशोध साँधियो ! २ करोड ७५ लाख धरौट– न्याय जीवितै छ,धरौट बढी भयो ! धरौट खारेजीको माग– स्वयं उच्च अदालतमा निवेदन दर्ता ! पुर्पक्षमा थुनामा पठाउने आदेश– बेडरूममा पुगेर अन्तिम इच्छा सोध्ने ? अति भयो ! नयाँपार्टीमाथि ज्यादती भयो ! यो त पार्टी खोल्नुअघिको बचत हिनामिना, ठगी र अपचलन हो, बचतकर्तामाथिको घात÷ विश्वासघात हो। न्यायालयको फैसलाविरूद्ध सिंगो पार्टीको रूवाबासी र ल्याङल्याङ किन ? हरेक व्यक्तिलेआफ्नो पौरखका दशा/दुर्दशा त भोग्नुपर्छ ।’

जिप दुर्घटनामा परी अर्घाखाँचीमा दुई जनाको मृत्यु

बुटवल । अर्घाखाँचीको मालारानीमा आइतबार विहानै भएको दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार सन्धिखर्कबाट गुल्मीको तम्घासतर्फ गइरहेको जिप मालारानी गाउँपालिका वडा नम्बर ३ ढुंङ्गाडेमा दुर्घटना भएको हो ।

विहान पौने ४ बजेतिर भएको उक्त दुर्घटनामा परि जिप चालक मालारानी ४ का २२ वर्षीय दिलीप खनाल र जिपमा सवार बालकृष्ण रिजालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मालारानी गाउँपालिका वडा नं. ४ लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको जिप अनियन्त्रित भई सडकबाट दुईसय ५० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा विहान ६ बजेतिर मृत्यु भएको थियो । दुर्घटनामा परि जिपमा सवार मालारानी ४ कै १७ वर्षीय भुवन पोखरेल र बसन्त पोखरेल घाइते भएका छन्।

सेतो मछिन्द्रनाथको रथयात्रा शुरु

काठमाडौं । सेतो मछिन्द्रनाथको रथयात्रा शुरु भएको छ । शनिबारदेखि मत्स्येन्द्र बहालदेखि शुरु भएको रथयात्रा तीनधारा पाठशाला, जमल, रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म पुगेको छ ।

सेतो मछिन्द्रनाथको रथयात्रा वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मूर्तिको रथयात्रा गरी मनाइने जात्रा हो ।

काठमाडौं उपत्यकाका बासिन्दालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन छ । अन्तिम दिन लगनटोलस्थित मत्स्येन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराउने प्रचलन छ ।

त्यसपछि रथयात्रा सम्पन्न हुन्छ । सेतो मछिन्द्रनाथको रथ मच्छिन्द्र बहालदेखि तीनधारा पाठशाला, जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोका, चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगनसम्म लगिन्छ ।

रवि लामिछानेको यो देशको युवा पलायन रोकेर रोजगारी सिर्जना गर्ने अन्तिम इच्छा छः सांसद ढकाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले रवि लामिछानेको इच्छाबारे बताएका छन् ।

चितवनमा शनिबार पार्टीको ‘जनयात्रा’ कार्यक्रलाई सम्बोधन गर्दै ढकालले भ्रष्टहरुलाई पाता कसेर जेलमा हालेर जेलैभित्र दशदान र बैतर्नी गर्न मन भएको बताएका हुन् ।

उनले सभापति लामिछानेलाई गुन्डागर्दी शैलीमा प्रहरी परिचालन गरि पक्राउ गरिएको बताए । उनले भने, ‘जुन शैलीसँग अन्तिम इच्चा के छ भनेर सोधियो, म चितवनबाट भन्न चाहन्छु अन्तिम इच्छा के छ । यो देशमा किसानको मुहारमा हाँसो ल्याउने अन्तिम इच्छा छ । यो देशको युवा पलायन रोकेर रोजगारी सिर्जना गर्ने अन्तिम इच्छा छ । यो देशमा दलीयकरण र भ्रष्टाचारविरुद्ध सशक्त आवाज बोकेर विधिको शासन स्थापना गर्ने अन्तिम इच्छा छ ।’

शुक्रबार रवि लामिछानेलाई पक्राउ गर्न मध्यराति बेडरुममा घुसेका प्रहरीले अन्तिम इच्छा सोधेको भन्दै चर्को विरोध भइहरेको छ । सोही सन्दर्भमा सांसद ढकालले यस्तो इच्छा भएको बताएका हुन् ।

रविले चितवनमा बोल्छ भनेर सरकार डरायोः स्वर्णिम वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले सभापति रवि लामिछानेमाथि गरिएको व्यवहार निन्दनीय भएको बताएका छन् ।

चितवनमा शनिबार पार्टीको ‘जनयात्रा’ कार्यक्रलाई सम्बोधन गर्दैै वाग्लेले सभापति लामिछानेलाई दुनियाँकै सबैभन्दा ठूलो अपराधीलाई जस्तो व्यवहार गरिएको बताएका हुन् ।

उनले भने, ‘७ बजेतिर फैसला आउने, दुनियाँकै ठूलो अपराधीलाई जस्तो गरी, आकाशै खस्ला जस्तो गरेर धरपकड गरियो, त्यो निन्दनीय छ।’

उनले चितवनमा बोल्छ भनेपछि त्यो रोक्नकै लागि यति गरिएको आरोप लगाए । उनले आज रवि लामिछानेसँग कुरा भएको उल्लेख गर्दै भने, ‘हिजो केके न होला जस्तो भनेर ल्याएका थिए, यहाँ दालभात खुवाएर राखेका छन्, आज पनि बिदा, भोलि पनि बिदा त्यसैले चितवनमा बोल्न नदिन नै सिंगो राज्य लागेको भन्ने प्रमाणित भएको छ ।’

आज रास्वपा सभापति लामिछानेले चितवनमा सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो । तर शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा पठाउने आदेश दिएको थियो । आदेश आएको केही घण्टामा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

https://www.facebook.com/plugins/video.php?height=476&href=https%3A%2F%2Fwww.facebook.com%2FRastriyaswatantraparty%2Fvideos%2F651227874298761%2F&show_text=false&width=267&t=0

पोखरामा खेलकुदसम्बन्धी ठूला पूर्वाधार निर्माण जरुरीः सञ्चारमन्त्री गुरुङ

कास्की । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले पर्यटन राजधानी पोखरामा खेलकुदको विकासका लागि पोखरामा ठूला पूर्वाधार निर्माण जरुरी रहेको बताएका छन् ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा पोखरामा शनिबारदेखि सुरु भएको केपी ओली कप’ राष्ट्रिय खुला टी–२० पुरुष क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै आज उनले पोखरा खेलकुदको केन्द्र बन्ने प्रशस्त सम्भावना रहेकाले पूर्वाधार निर्माणमा सरकारले प्राथमिकता दिने बताए ।

उनले पोखरा रंगशालाभित्रको क्रिकेट मैदानमा आवश्यक पूर्वाधार निर्माणका लागि आगामी आर्थिक वर्ष सरकारकोतर्फबाट बजेट व्यवस्था गर्नेसमेत प्रतिबद्धता जनाए । ‘यस वर्ष क्रिकेट मैदानका लागि सक्दो बजेट विनियोजन हुन्छ, खेलकुद मन्त्रालयबाट प्रस्ताव आउला, त्यसमा मेरो जोड रहनेछ,’ सञ्चारमन्त्री गुरुङले भने ।

पोखरामा क्रिकेट, फुटबल जस्ता खेलका लागि ठूला पूर्वाधार निर्माण आवश्यक रहेको उनको भनाइ थियो । उनले भने, ‘पोखरा जस्तो सुन्दर ठाउँमा अन्तरराष्ट्रियस्तरका रंगशाला बनाउनु पर्दछ । कूटनीतिक कारणले खेल पूर्वाधार महत्वपूर्ण छ । केही देशका लागि पोखरा सन्तुलित स्थान समेत बन्न सक्छ ।’

उनले प्रतियोगितामा भाग लिन आउने खेलाडी, क्लब, प्रशिक्षक, रेफ्रीलाई शुभकामना व्यक्त गर्दै प्रतियोगिताबाट उम्दा र क्षमतावान् खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरे ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सुरु भएको प्रतियोगितामा कूल १६ टोलीको सहभागिता रहेको एकेडेमीका अध्यक्ष धुव्र आचार्यले जानकारी दिए ।

प्रतियोगिता आगामी वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीले ३० हजार, उत्कृष्ट बलर तथा उत्कृष्ट ब्याटरले जनही १० हजार र ‘प्लेयर अफ द म्याच’ले पाँच हजार रुपैयाँ प्राप्त गर्ने एकेडेमीले जनाएको छ । एकेडेमीका संरक्षकसमेत रहेका प्रधानमन्त्री एवं नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीका नाममा प्रतियोगिता हो ।

जाजरकोट भूकम्पमा आठजना घाइते

काठमाडौं। जाजरकोटको कुसे गाउँपालिका–९ पैङ्कमा केन्द्रविन्दु बनाएर गएराति गएको ५.२ म्याग्निच्युड र ५.५ म्याग्निच्युडका दुई वटा भूकम्पमा परी आठ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अहिलेसम्म सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रबाट प्राप्त विवरणअनुसार भूकम्पमा परी रुकुम पश्चिममा दुई र जाजरकोटमा ६ जना घाइते भएको जनाएको छ ।

प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जाजरकोट, रुकुमपश्चिम र कालीकोट जिल्लाका केही निजी आवास तथा सरकारी भवनहरुमा सामान्य चिरा परेको एवं भवनहरु चर्किएको विवरण आएको जानकारी दिए ।

अधिकांश व्यक्तिहरु बसिरहेका भवन संरचना भत्किएरभन्दा पनि भूकम्प आएको बेला आत्तिएर घरको छत वा अग्लो भागबाट हामफाल्दा, असावधानीपूर्वक घरबाहिर अत्तालिएर भाग्न खोज्दा घाइते भएका पनि प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले आज जारी गरेको सूचनामा भनिएको छ, “भूकम्प गएको बेला वरपरको स्थिति समेत विचार गर्दै सावधानीपूर्वक सुरक्षित स्थानमा जान, अब उप्रान्त भवन संरचना निर्माण गर्दा भूकम्प प्रतिरोधी हुने गरी बनाउन एवं भूकम्पीय सुरक्षाको दृष्टिकोणबाट पालना गर्नुपर्ने नियमहरुको अनुशासनपूर्वक पालना गर्न सबैमा प्राधिकरण विशेष अनुरोध गर्दछ ।”

सम्भावनाहरु धेरै राम्रा छन्, थाइल्याण्ड भ्रमणबाट ती ढोकाहरु खुलेका छन्ः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको पहिलो औपचारिक भ्रमणबाट नेपालमा लगानी र सहकार्यवृद्धिका सम्भावनाका ढोकाहरु खुलेको बताएका छन् ।

बाह्रखरी अनलाइनले शनिबार गोकर्णमा आयोजना गरेको ‘एनसेल–बाह्रखरी गल्फ तथा आर्थिक सङ्गोष्ठी’ मा प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा नेपाली र थाइल्याण्डका व्यासायिक समुदायबीचको अनुभव आदानप्रदान र विभिन्न सम्झौता हुनु अन्त्यन्त फलदायी कार्य भएको बताए ।

थाइल्याण्डको पहिलो औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलनमा सहभागी भई स्वदेश फर्किएलगत्तै गोकर्णमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ४० प्रतिशतको हाराहारीमा युवा जनसङ्ख्या रहेको स्थितिमा भएका स्रोत साधनको प्रयोग गरे दक्ष जनशक्ति तयार गर्दै विकासको गति तीव्र बनाउनुपर्ने बताए ।

‘देशमा काम गर्न नदिने र छेक्ने मनोदशा भएमा विकासको गति रोकिन्छ । तीव्र रुपमा काम हुनका लागि सबैमा देशभक्ति हुनुपर्छ । हामीले राम्रा कानुन बनाइ ती कानुनको सही रुपमा कार्यान्वयन हुनुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘जनताको सरकारसँग भेट हुनेबित्तिकै बैरभाव हुने स्थिति अन्त्य गर्नुपर्छ । हामीले सुशासन र सेवा प्रवाहका क्षेत्रमा प्रयास गरिरहेका छौँ । सम्भावनाहरु धेरै राम्रा छन् । थाइल्याण्डको भ्रमणबाट पनि त्यो ढोकाहरु खुलेको छ ।’

प्रधानमन्त्री ओलीले आफूले डिजिटल नेपालको फ्रेमवर्क कार्यान्वयनमा ल्याएको स्मरण गर्दै यस क्षेत्रमा दक्ष र रोजगारमूलक जनशक्तिको सङ्ख्या वृद्धि गरेर सूचना प्रविधिको प्रयोगबाट आर्थिक लाभ लिनसक्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सूचना प्रविधिको उपयोगबाट उत्पादन र उत्पादकत्व बढाउन संसद्बाट हालै पारित भएको विधेयकबाट आधार तय भएको उल्लेख गर्दै सूचना प्रविधिको व्यापकताबाट आर्थिक समृद्धिमा लाग्नुपर्नेमा जोड दिए ।

महानगरका सामुदायिक विद्यालयमा ५० हजार घण्टा क्षमता भएको स्मार्ट बोर्ड जडान सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका कक्षाकोठामा ५० हजार घण्टा क्षमता भएको स्मार्ट बोर्ड जडान सुरु गरेको छ ।

महानगरले रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड जडान गरी उक्त कार्यको थालनी गरेको योजना कामपा सहरी आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिए ।

शिक्षण क्रियाकलाप र सिकाइमा लगानी बढाएर नतिजा सुधार गर्न कार्यक्रमअन्तर्गत कामपाको  शिक्षा विभागले ३१३ वटा बोर्ड जडान गरेको झाले बताए ।

“प्रमाणमा आधारित विद्यालयको पूर्वाधार विकास, प्रविधि र उपकरण, मानव पुँजी विकासअन्तर्गत शिक्षक तालिम, सुशासन, व्यवस्थापन तथा दिगोपना’का लागि कामपाले लगानी बढाएको छ”, सदस्य झाले भने “विद्यालयमा स्मार्ट बोर्ड उपयोग गर्ने स्थान, शिक्षकको तत्परता र क्षमताका आधारमा बोर्ड जडान गर्दै जानेछौँ ।” 

उनका अनुसार बोर्ड प्रयोगका लागि शिक्षकहरुलाई तालिम पनि दिइएको छ । कामपाको गौरव योजनाअन्तर्गत ‘गरी खाने शिक्षा, महानगरको इच्छा’ कार्यक्रमअन्तर्गत सूचना प्रविधिमैत्री विद्यालय, डिजिटल शिक्षण सिकाइ कार्यक्रमका लागि चालु र क्रमागत गरेर करिब २० करोड विनियोजित रहेको निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीले जानकारी दिए । 

कक्षाकोठामा जडान भएका बोर्डहरुको डिस्प्ले क्षमता ५० हजार घण्टा रहेको छ । सामान्य ठक्करबाट स्क्रिन चिर्किने वा फुट्ने हुँदैन । महानगरले हरेक शुक्रबार पुस्तकरहित कार्यक्रमलाई थप प्रभावकारी बनाउन शिक्षक तालिम, क्रियाकलापसम्बन्धी पाठ्यक्रम तर्जुमा, सिकाइ सामग्रीमा लगानी समेत गरेको छ । 

शिक्षण सिकाइलाई परियोजनामा आधारित, समूहगत कार्यमा आधारित, सहपाठीसँगको सिकाइ र पुनरावलोकन कक्षामा जोड दिएको छ । यस्ता क्रियाकलापले विद्यार्थीहरुमा नयाँ दृष्टिकोणबाट सिक्ने वातावरण प्रदान सिर्जना हुने सहरी योजना आयोगका सहायकविज्ञ सस्मित पोखरेलले बताउनुभयो । पुस्तकरहित शुक्रबारमा २५ वटा विषय राखिएका छन् । यी हरेक विषयलाई एउटा उपसमूह मान्ने गरिएको छ ।

सूर्यविनायक–धुलिखेल सडक विस्तारको काम आठ महिनामा पूरा नहुने

काभ्रे । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तारको काम समयमै नसकिने भएको छ। सडक विभागअन्तर्गत सूर्यविनायक–धुलिखेल सडक आयोजनाले बाँकी करिब आठ महिनाको अवधिमा विस्तारको काम नसकिने जनाएको हो।

विसं २०७९ पुस २४ बाट सुरु गरिएको १६ किलोमिटर लम्बाइको सो सडक ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। उक्त सडकखण्ड सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा विभाजन गरी सोही अनुसार ठेक्का सम्झौता भई विस्तार भइरहेको छ।

हाल दुई खण्डको विस्तारको काम ४० प्रतिशतको हाराहारीमा भएको आयोजनाले जनाएको छ। “निर्धारित समयभित्र विस्तारको काम सकिँदैन, केही महिना समय थप्नुपर्ने हुन्छ,” आयोजनाका सिनियर डिभिजनल इन्जिनियर एवं सूचना अधिकारी सजना अधिकारीले भने। उनले विविध कारण आयोजनाको समय लम्बिने बताएका हुन्।

अधिकारीका अनुसार मापदण्डभित्रका घर–टहरा भत्काउन, रूख, बिजुलीका खम्बा तथा अप्टिकल फाइबरको केबल प्रतिस्थापन गर्दा समयमा काम सुरु हुन सकको थिएन। यस्तै साँगा–धुलिखेल खण्डमा बनेपाको सहरी क्षेत्रमा पुललगायत व्यक्तिगत घरको विवाद तथा मापदण्डभित्रका घर भत्काउन नसक्दा ढिलाइ भएको अधिकारीको भनाइ छ।

“आइपरेका विवाद मिलाउँदै जाँदा काम नै ढिला सुरु हुन पुग्यो, अबको केही महिना लगातार काम भए पनि बर्सात र चाडबाडका कारण समयमै विस्तारको काम नसकिने भएको हो,” उनले भने। उनका अनुसार बनेपा क्षेत्रको विवाद भने टुङ्गिएको छभने अझै घर भत्काउने र रूख काट्ने काम बाँकी नै छ।

आयोजनाका अनुसार हालसम्म सूर्यविनायक–साँगा खण्डमा ३५ प्रतिशत र साँगा–धुलिखेल खण्डमा ४५ प्रतिशत काम भएको छ। समयसीमासम्म करिब ६५ प्रतिशत भौतिक निर्माणको काम हुने जनाइएको छ। अधिकारीका अनुसार साँगा क्षेत्रमा ठूलो घुम्ती तथा सडक तल र माथि भिर भएका कारण निर्माणकार्य जोखिमपूर्ण अवस्थामा रहेकाले पनि केही समय ढिलाइ हुन गएको तथा कामले तीव्रता नपाएको हो।

साँगामा समस्या रहेको डेढदेखि दुई किलोमिटर सडकमा जाने–आउने लेन तल–माथि हुने भए पनि ‘सर्भिस लेन’ भने निर्माण गर्न नसकिने देखिएको विस्तृत अध्ययन प्रतिवेदन ९डिपिआर०ले समेत देखाएको थियो। उक्त दूरीमा सडक विस्तार गर्न भौगोलिक बनावट कमजोर भएकाले साँगामा सुरुङ निर्माण योजनालाई रोकेर यो योजना अघि बढाइने जनाइएको हो।

यस्तै प्रतिवेदनले यो सडक विस्तारका लागि आवश्यक पर्ने १७ रोपनी जग्गाका लागि करिब रु एक अर्ब मुआब्जा दिनुपर्ने देखाएको थियो। हाल उक्त सडकको दायाँबायाँ टेवा पर्खाल लगाउने, नाली निर्माण गर्ने र ‘कलभर्ट’ निर्माणकार्य अन्तिम चरणमा पुगेको छ। साँगा धुलिखेल खण्डअन्तर्गत धुलिखेलका बीचमा सडक पक्की गर्ने कामको सुरआत गरिएको छ।

उक्त आयोजनाअन्तर्गत पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडकखण्ड विस्तार कार्यका लागि रु चार अर्ब पाँच करोड ६४ लाखका तथा दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडकखण्ड रु तीन अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भएको थियो।

यो सडकमा पुल थप निर्माण गर्न आवश्यक पर्ने भएकाले पुलका लागि रु एक अर्ब लाग्ने आयोजनाले अनुमान गरेको छ। अध्ययन प्रतिवेदनअनुसार यस आयोजनामा २०/२० मिटरको तीन पुल, जगाती र महादेवखोला पेट्रोल पम्प नजिक निर्माण गरिने भएको हो। यसका लागि प्रतिमिटर रु १५ लाख लाग्ने अनुमान गरिएको जनाइएको छ।

विसं २०१७ मा राजमार्ग बन्दा सडक दायाँबायाँ २५–२५ गज अर्थात् २२ दशमलव ८६ मिटर कायम गरिएको थियो। यस्तै, विसं २०२१ मा सरकारले कानुन बनाएर यो राजमार्गमा त्यही नियमलाई यथावत् कायम गरेको थियो र सोही कानुनका आधारमा सडकका दायाँबायाँमा घर बनेका थिए।

साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि विस्तार थालिएको हो। चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी नाका खुल्ला भएपछि यस राजमार्गमा सवारी चाप बढिरहेको छ। हाल कोटेश्वरबाट यही राजमार्गमा मध्यपहाडी क्षेत्र तथा पूर्वी तराईका लामो दूरीका सवारी साधन मात्र दैनिक एक हजारभन्दा बढी छुट्ने गरेका छन्।

संविधानमाथि चुनौती दिन केही शक्ति सक्रियः महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले संविधान र व्यवस्थामाथि चुनौती दिने गरी केही शक्ति सक्रिय भएको बताएका छन् ।

पेसागत महासङ्घ नेपाल राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकलाई शनिबार सम्बोधन गर्दै उनले संविधानबाहिर केही पनि जान नसक्ने बताए । उनले पूर्वराजाका गतिविधिले संविधान कार्यान्वयनमा केही चुनौती थपेको बताए ।

महासचिव पोखरेलले संविधान कार्यान्वयन गर्ने सम्बन्धमा छिटोभन्दा छिटो कानुन बनाउनुपर्छ भन्नेमा वर्तमान सरकार तथा एमाले र नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताए । उनले पञ्चायतसँग गणतन्त्रलाई तुलना गरेर अस्थिरता मच्चाउने अपराधी भएको बताए ।

‘पञ्चायत र राजतन्त्रसँग जोडेर नेपाली समाजमा जुन प्रचार गरिँदै छ, त्यो अपराध हो, हामी परिवर्तनकारी हौँ, हामी लोकतन्त्रवादी हौँ, यसका आधारमा हामीले आफ्ना दृष्टिकोण समाजमा राख्नसक्नु पर्दछ,’ उनले भने ।

महासचिव पोखरेलले नेपालमा सुशासन र सेवाप्रवाहको कारणले जनतालाई प्रश्न उठेको भन्दै सुशासन कायम गर्ने र सेवाप्रवाहलाई छिटोछरिता बनाउन पेसागत महासङ्घलाई आग्रह गरे ।

भारतीय अभिनेत्री नोरा फतेही नेपाल आउँदै

काठमाडौँ । भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही नेपाल आउने भएक छन् । शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युुमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना हुने च्यारिटी कार्यक्रमका लागि अभिनेत्री फतेही नेपाल आउन लागेको आयोजक वल्र्डवाइड फिल्मस् नेटवर्क प्रालिका अध्यक्ष देव मगरले जानकारी दिए ।

उनले भने, ‘मनोरञ्जनमार्फत सामाजिक कार्यलाई सहयोग गर्ने उद्देश्यले हामीले यो कार्यक्रम गर्न लागेका हौँ, नेपालमा अभिनेत्री फतेहीको माग देखेर हामीले कार्यक्रमका लागि गरेको अनुरोधमा उहाँ सहमत हुनुभएको हो ।’

उनले आगामी वर्ष विसं २०८२ को ३ जेठमा बौद्धस्थित हायातको चौरमा ‘नोरा फतेही लाइभ इन नेपाल’ शीर्षकमा कार्यक्रम आयोजना हुने बताए ।

नेपाल आउन र नेपालीलाई भेट्न आफू उत्साहित रहेको अभिनेत्री फतेहीले बताइन् । उनले एक श्रव्यदृश्य सन्देशमार्फत आफू पहिलो पटक नेपाल आउने र यहाँबाट अहिलेसम्म प्राप्त गरिरहेको मायाका लागि धन्यवाद व्यक्त गर्दै आफ्नो प्रस्तुति दिने बताएकी छन् ।

‘म काठमाडौँ आउन उत्साहित छु, यो मेरो पहिलो भ्रमण हुनेछ, सामाजिक कार्यका यो कार्यक्रमलाई सफल बनाउन सबैलाई आग्रह गर्दछु’, अभिनेत्री फतेहीले श्रव्यदृश्यमा भनेकी छन् । इभेन्टको व्यवस्थापन मनु मिडिया प्रालिले गर्नेछ । कार्यक्रमका लागि भारतको मुम्बईबाट अभिनेत्री फतेहीसहित २० बढी नृत्याङ्गना प्रस्तुति दिन नेपाल आउने आयोजकले जनाइएको छ ।

अभिनेत्री फतेहीको ‘दिलबर दिलबर’, ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’, ‘स्नेक डान्स’ लगायतका गीत भारतसँगै नेपालमा पनि लोकप्रिय छन् ।

अन्नपूर्णको हिमपहिरोमा हराएका चिनियाँ पर्यटकको शव फेला

कास्की । पदयात्राका क्रममा कास्कीको अन्नपूर्ण गाउँपालिका–११ देउरालीस्थित चुमरुङमा हिमपहिरोमा परी बेपत्ता भएका २८ वर्षीय चिनियाँ नागरिक ई–चेङ युआनको १३ दिनपछि शनिबार शव फेला परेको छ ।

सशस्त्र प्रहरी बल कालिका गण पोखराको विशेष विपद् उद्धार टोलीले शनिबार बिहान देउराली चुमरुङस्थित मोदी नदी किनारबाट २० मिटर उत्तरतर्फ उनको शव फेला पारेको कालिका गणका गणपति प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

अन्नपूर्ण आधार शिविर(एविसी) को पदयात्रा सकेर घान्द्रुकतर्फ फर्कने क्रममा पर्यटक बेपत्ता भएपछि उनको खोजीमा प्रहरी टोली खटिएको थियो । प्रहरी उपरीक्षक तिमिल्सिनाका अनुसार उनको शव पोखरा ल्याउने तयारी भइरहेको छ ।

यही चैत ११ गते दिउँसो साढे १२ बजे कास्कीको अन्नपूर्ण गाउँपालिका–११ देउरालीस्थित चुमरुङमा हिमपहिरो गएको थियो । बेसक्याम्पबाट फर्केका भारतीय पर्यटकले देउरालीमा गएको हिमपहिरामा एक जना पुरिएको सूचना प्रहरीलाई दिएका थिए ।

पर्यटक हराएपछि स्थानीय बासिन्दा र नेपाल प्रहरीको टोलीले खोजी गर्दा फेला नपारेपछि कालिका गणबाट सशस्त्र प्रहरी निरीक्षक विश्वराज त्रिपाठीको कमाण्डमा यही चैत १६ गतदेखि प्रहरी टोली खटिएको थियो ।

इजरायली आक्रमणमा गाजामा हमासका प्रमुख मुद्रा विनिमयकर्ताको मृत्यु

गाजा । इजरायल रक्षा बल (आइडिएफ) ले गाजा सिटीमा हमासको प्रमुख मुद्रा विनिमयकता मानिएका सइद अहमद अबेद खुदारीलाई मारेको बताएको छ ।

आइडिएफका अनुसार बिहीबार मारिएका खुदारी ‘हमास भित्रका प्रमुख आतङ्कवादी वित्तीय सहजकर्ता’ थिए ।

मुद्रा विनिमयकर्ताका रूपमा आफ्नो भूमिकामा खुदारी अल वेफाक कम्पनी कोषका प्रमुख थिए भन्दै आइडिएफले अल वेफाक कम्पनीलाई इजरायली सरकारद्वारा ‘आतङ्कवादी संस्थाहरूमा रकम पुर्याउने कार्यमा संलग्न भएका कारण’ आतङ्कवादी सङ्गठन घोषित गरिएको थियो ।

आइडिएफले खुदारी वर्षौंदेखि विशेष गरी सन् २०२३ अक्टोबर ७ पछि ‘हमासको सैन्य पक्षमा धेरै वित्तीय हस्तान्तरणहरूमा संलग्न’ पनि भनेको छ ।

उनको संलग्नता सन् २०१९ मा उनका भाइ हामेद खुदारीको हत्या पछि बढेको थियो । आइडिएफका अनुसार हामेद हमासको सैन्य कार्यका लागि एक प्रमुख वित्तीय माध्यम पनि थिए ।

भूकम्पमा परी म्यान्मामा मृतकको सङ्ख्या तीन हजार नाघ्यो

म्यान्मा । म्यान्मामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार तीन सयभन्दा माथि पुगेको छ । संयुक्त राष्ट्रसङ्घका सहायता प्रमुखले विश्वसामु विपद्ग्रस्त राष्ट्रलाई सहयोग गर्न नयाँ आह्वान गरेका छन् ।

मार्च २८ को भूकम्पले देशभरका भवन र पूर्वाधारहरू ध्वस्त पारेको छ । यसको परिणामस्वरूप तीन हजार तीन सय ५४ जनाको मृत्यु र चार हजार पाँच सय आठ जना घाइते भएको तथा दुई सय २० जना बेपत्ता भएको सरकारी मिडियाले प्रकाशित गरेको नयाँ तथ्याङ्कले जनाएको छ ।

विपद् भएको एक हप्ताभन्दा बढी समयपछि पनि देशका धेरै मानिस अझै आश्रयविहीन छन्, या त तिनीहरूको घरहरू नष्ट भएका कारण या थप भत्किने डरले बाहिर सुत्न बाध्य छन् ।

संयुक्त राष्ट्रसङ्घको एक अनुमानअनुसार ७.७ म्याग्निच्युडको भूकम्पले ३० लाखभन्दा बढी मानिस प्रभावित भएको हुन सक्छ । यसले चार वर्षको गृहयुद्धले निम्त्याएको अघिल्लो चुनौतीहरूलाई थप जटिल बनाएको छ ।

संयुक्त राष्ट्रसङ्घका शीर्ष सहायता अधिकारीले शनिबार मध्य म्यान्माको मण्डाले सहरमा पीडितहरूसँग भेट गरे । मण्डाले भूकम्पको केन्द्र नजिकै अवस्थित छ र अहिले सहरभरि गम्भीर क्षति बेहोरेको छ ।
“विनाश आश्चर्यजनक छ”, टम फ्लेचरले एक्समा एक पोस्टमा लेखेका छन्, “विश्व म्यान्माका जनताको साथमा उभिनु पर्छ ।”

देशको सैन्य जुन्ता प्रमुख मिन आङ ह्लाइङ शुक्रबार बैंककमा क्षेत्रीय शिखर सम्मेलनमा एक दुर्लभ विदेश यात्राबाट फर्केपछि नयाँ मृत्यु सङ्ख्या घोषणा गरिएको थियो । बैंककमा जुन्ता प्रमुखले थाइल्यान्ड र भारतका प्रधानमन्त्रीहरू लगायत नेताहरूसँग भेट गरेका थिए ।

जनरलको शिखर सम्मेलनमा उपस्थितिले विवाद निम्त्याएको थियो । स्थलमा प्रदर्शनकारीहरूले उनलाई ‘हत्यारा’ भनेर ब्यानर प्रदर्शन गरेका थिए र जुन्ता विरोधी समूहहरूले उनको सहभागिताको निन्दा गरेका थिए ।

रक्षा र ऊर्जा सम्झौताका लागि श्रीलङ्कामा भारतीय प्रधानमन्त्री मोदी

कोलम्बो । कोलम्बोले छिमेकी भारत र यसको सबैभन्दा ठूलो ऋणदाता चीनसँगको सम्बन्धलाई सन्तुलनमा राख्दै गर्दा श्रीलङ्काका राष्ट्रपतिले शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीलाई भव्य स्वागत गरेको छ ।

राष्ट्रपति अनुरा कुमार दिसानायकेले मोदीलाई १९ तोपको सलामीसहित स्वागत गरे । वामपन्थी राष्ट्रपति दिसानायकेले गत वर्षको चुनाव जितेपछि कोलम्बो भ्रमण गर्ने मोदी पहिलो विदेशी गन्यमान्य व्यक्ति हुन् ।

दिसानायके र मोदीले ऊर्जा, रक्षा र स्वास्थ्यसम्बन्धी सम्झौताहरूमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ तर भ्रमणको मुख्य आकर्षण भारत समर्थित एक सय २० मेगावाटको सौर्य ऊर्जा परियोजनाको सुरुआत हुनेछ ।

मुलुकको उत्तरपूर्वी त्रिङ्कोमाली जिल्लामा रहेको सौर्य विद्युत् परियोजना वर्षौंदेखि रोकिएको थियो तर नयाँदिल्लीको समर्थनमा संयुक्त परियोजनाका रूपमा पुनर्जीवित भएको छ ।

शुक्रबार साँझ कोलम्बो आइपुगेपछि श्रीलङ्कामा आफ्नो ‘शानदार स्वागत’ को प्रशंसा गर्दै मोदीलाई राजधानीको इन्डिपेन्डेन्स स्क्वायरमा सम्मान गारद अर्पण गरिएको थियो ।

कोलम्बोले नयाँदिल्ली र बेइजिङको प्रतिस्पर्धात्मक चासोसँग जुधिरहेको बेला मोदीको भ्रमण भएको हो । नयाँदिल्ली श्रीलङ्कामा चीनको बढ्दो प्रभावको बारेमा चिन्तित छ । यसलाई भारतले आफ्नो भूराजनीतिक प्रभावको क्षेत्रभित्र रहेको ठान्छ ।

क्षेत्रीय सहयोगीहरू

दिसानायकेको पहिलो विदेश भ्रमण डिसेम्बरमा नयाँदिल्ली थियो । तर त्यसपछि उनले जनवरीमा बेइजिङको भ्रमण गरे । यसले श्रीलङ्काको नाजुक सन्तुलन कायम राख्ने प्रयासलाई उजागर गर्दछ ।

सन् २०२२ मा श्रीलङ्काले आफ्नो सार्वभौम ऋणमा डिफल्ट गर्दा १४ अर्ब डलरको द्विपक्षीय ऋणको आधाभन्दा बढी हिस्सा ओगटेको चीन श्रीलङ्काको सबैभन्दा ठूलो एकल द्विपक्षीय ऋणदाताका रूपमा देखा परेको छ ।

चीन श्रीलङ्कालाई आफ्नो ऋणको पुनर्गठन गर्ने पहिलो देश पनि थियो । यस कदमले यस टापु मुलुकुलाई त्यस वर्षको सबैभन्दा खराब आर्थिक मन्दीबाट उम्कन बाटो खुलाएको थियो ।

कोलम्बोले जनवरीमा चिनियाँ सरकारको स्वामित्वमा रहेको कम्पनीसँग टापुको दक्षिणमा रहेको तेल प्रशोधन केन्द्रमा तीन अर्ब ७० करोड डलर लगानी गर्ने सम्झौतामा पनि हस्ताक्षर गरेको थियो ।

यो श्रीलङ्काको सबैभन्दा ठूलो एकल विदेशी लगानी हुनेछ र टापुको अर्थतन्त्रका लागि महत्त्वपूर्ण मानिएको छ । नयाँदिल्लीले श्रीलङ्कामा चीनको बढ्दो प्रभावप्रति चिन्ता व्यक्त गरेको छ ।

मोदीको श्रीलङ्का भ्रमण थाइल्यान्डमा भएको शिखर सम्मेलन र क्षेत्रीय राष्ट्रका नेताहरूसँगको बैठकपछि भएको हो । थाइल्यान्डमा उनले छिमेकीहरूसँग भारतको सम्बन्धलाई सुदृढ पार्न खोजेको थियो ।

बैंककमा बङ्गालको खाडीमा सात राष्ट्रको समूह बिमस्टेक बैठकको अवसरमा मोदीले म्यानमाका जुन्ता प्रमुख मिन आङ ह्लाइङसँग दुर्लभ आमने–सामने बैठक गरेको थियो ।

मोदीले शुक्रबार छिमेकी बङ्गलादेशका अन्तरिम नेता मुहम्मद युनुससँग पनि कुराकानी गरेको थियो । यो ढाकामा क्रान्तिले नयाँदिल्लीका दीर्घकालीन मित्र शेख हसिनालाई हटाएर सम्बन्धहरू बिगारेपछि पहिलो यस्तो बैठक थियो ।

भारत हसिनाको सरकारको सबैभन्दा ठूलो हितैषी थियो र उनको पतनपछि सीमापारी सम्बन्धहरू बिग्रिको थियो । यसको परिणामस्वरूप युनुसले गत महिना चीनमा आफ्नो पहिलो राजकीय भ्रमण गर्ने निर्णय गरे ।

आन्दोलनरत शिक्षकले उठाएका विषयलाई सरकारले सम्बोधन गर्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलेआन्दोलनरत शिक्षकले उठाएका विषयलाई सरकारले सकारात्मक रुपमा ग्रहण गरी सम्बोधन गर्ने बताएका छन् ।

थाइल्याण्डको औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) छैटौं  शिखर सम्मेलनमा सहभागी भई शनिबार स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले भने, ‘सरकारले सुन्छ भन्ने उहाँहरुलाई विश्वास छ, त्यसकारण आउनुभएको हो, हामी कुराकानी पनि गर्छौं, सरकारले उहाँहरुको कुरा पनि सुन्छ ।’

उनले शिक्षकले राखेका मागका सम्बन्धमा के–कति गर्न सकिन्छ के कस्तो गर्नुपर्छ भन्ने कुरा परस्परमा बसेर छलफल गरेर टुङ्गिने विश्वास दिलाए ।

‘धेरै यसमा उहाँहरुले पनि दुःख नपाए हुन्छ, सरकारले कुनै नकारात्मक दृष्टिकोण राख्दै राख्दैन, किन राख्नु परेको छ र ?’, उनले भने, ‘शिक्षकका समस्या टुङ्गिन्छ ।’

बुद्ध दर्शनको प्रचारप्रसार र लुम्बिनीको पर्यटन प्रवद्र्धनमा थाई सरकारको योगदान

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा थाई सरकार र थाई समुदायले बुद्धधर्म र दर्शनको प्रचारप्रसार तथा लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि विभिन्न गतिविधिमार्फत योगदान पुर्याउँदै आएको छ ।

बुद्ध जन्मस्थल लुम्बिनीमा थाई सरकारका तर्फबाट धार्मिक, सामाजिक, सांस्कृतिक र पर्यटकीय प्रवद्र्धनमा महत्वपूर्ण योगदान हुँदै  आएको छ । यसले नेपाल र थाइल्याण्डबीचको बौद्ध धर्म एवं दर्शनले जोडेको हजारौं  वर्षदेखिको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने काम गरेको छ ।

थाई सरकारका तर्फबाट लुम्बिनीस्थित थाई विहारमार्फत लुम्बिनीको सांस्कृतिक, धार्मिक र पर्यटन प्रवद्र्धनसँगै शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।

यसअन्तर्गत भूकम्पले क्षति पुर्याएका विद्यालयका भवन निर्माण, भूकम्पपीडितका लागि सहयोग, विद्यालयमा शैक्षिक सामग्री वितरण, छात्रवृत्ति वितरण, स्वास्थ्य शिविर सञ्चालनजस्ता गतिविधि सञ्चालन गर्दै आएको थाई बौद्ध विहारको वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।

बुद्ध धर्मको प्रचारप्रसारका लागि थाई सरकारको सहयोगमा लुम्बिनीमा रोयल थाई मन्दिर(विहार) निर्माण गरिएको छ । जुन थाई वास्तुकलाको उत्कृष्ट नमुना हो । यस मन्दिरको उद्घाटन सन् २०१७ मा थाई राजकुमारी महा चक्री सिरिन्धोर्नद्वारा गरिएको थियो । यससँगै बुद्ध जन्मस्थल लुम्बिनीको विकासमा औपचारिक रुपमा थाई सरकारको सहभागिता प्रारम्भ भएको मानिन्छ ।

लुम्बिनी थाई बौद्ध विहार एउटा सुन्दर र शान्त बौद्ध विहार विशेषगरी थाई शैलीको वास्तुकलामा बनेको छ । लुम्बिनीमा रहेका सबै अन्तरराष्ट्रिय विहारमध्ये सबैभन्दा आकर्षक र कलात्मक शैलीको मन्दिरमध्ये एक हो ।

लुम्बिनीमा निर्माण गरिएको कलात्मक यो गुम्बा निर्माणसँगै यहाँ हरेक वर्ष थाई बौद्ध भिक्षुहरू र तीर्थयात्री पर्यटकको आगमन हुने गरेको छ । थाई नागरिकका लागि बुद्ध जन्मस्थल धार्मिक आस्थाको प्रमुख केन्द्र बनेको छ ।

यसैले लुम्बिनी थाई पर्यटक र तीर्थयात्री दुवैका लागि महत्वपूर्ण गन्तव्य मानिन्छ । यहाँ हरेक वर्ष थाई सहयोगमा तीनमहिने वर्षावास कार्यक्रम, प्रवज्या गर्ने कार्यका लागि र मायादेवी मन्दिर परिसरमा त्रिपिटक वाचनका कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

सन् २०२४ सेप्टेम्बरमा, थाइल्याण्डका १७ भिक्षुहरूले लुम्बिनीमा तीनमहिने वर्षावास (वर्षा यामको व्रत) बस्दै ध्यान र प्रवचनमा समय बिताएका थिए ।

लुम्बिनीको धार्मिक, सांस्कृतिक, पर्यटकीय प्रवद्र्धनमा थाई सरकारका तर्फबाट महत्वपूर्ण योगदान हुँदै आएको सदस्य सचिव सानुराजा शाक्य बताउँछन् । यसले नेपाल र थाइल्याण्डबीचको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाएको छ । थाई सरकारको आर्थिक र प्राविधिक सहयोगमा शिक्षा, स्वास्थ्य तथा सम्पर्क सुधारका परियोजनाहरू समावेश छन् ।

यसैअन्तर्गत थाई सरकारका तर्फबाट गत वर्ष सन् २०२३ जुलाइमा, थाई चिकित्सा टोलीले लुम्बिनीमा स्थानीयका लागि निःशुल्क घुँडा शल्यक्रिया कार्यक्रम सञ्चालन गरी ३२ बिरामीलाई सेवा प्रदान गरेको थियो । यससँगै काठमाडौँस्थित तिलगङ्गा आँखा अस्पतालको सहयोगमा लुम्बिनीमा आँखा शिविर सञ्चालन गर्दै आएको छ ।

थाई समुदायले लुम्बिनीस्थित मेट्टा गुरुकूल स्कुलको भवन निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको छ । त्यसले स्थानीय बालबालिकालाई गुणस्तरीय शिक्षा प्राप्त गर्न मद्दत पुर्याएको छ । यससँगै लुम्बिनी क्षेत्रका विभिन्न विद्यालयमा थाई बौद्ध विहारले विभिन्न किसिमले सहयोग प्रदान गर्दै आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा तीन दिनअघि भएका विभिन्न सम्झौतामध्ये कृषि र पर्यटन क्षेत्रका सम्झौता लुम्बिनी क्षेत्रलाई समावेश गरिएको छ ।

लुम्बिनी विकास कोषका सदस्य सचिव शाक्य थाइल्याण्ड सरकारका तर्फबाट पहिलेदेखि नै लुम्बिनी क्षेत्रमा कृषिमा लगानी गर्ने प्रस्ताव आएको र अहिले प्रधानमन्त्रीको भ्रमणका क्रममा भएका सम्झौताले अब उनीहरुको कार्यक्रम आउने सम्भावना रहेको बताउँछन् ।

यससँगै बौद्ध पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने समझदारीअनुरुप लुम्बिनी पर्यटन प्रवद्र्धनमा थाई सरकारको लगानी बढाउने अपेक्षा गरिएको सदस्य सचिव शाक्यले बताए ।

सन् २०२५ को फेबु्रअरी महिनामा चार हजार ६२० थाई पर्यटक बुद्ध जन्मस्थल लुम्बिनी आएका छन् । गत महिना लुम्बिनी आएका तेस्रो मुलुकका पर्यटकमध्ये सबैभन्दा बढी थाई पर्यटक हुन् ।

गत महिना लुम्बिनीमा विभिन्न धार्मिक गतिविधि भएकाले पनि विभिन्न बुद्धिष्ट मुलुकबाट आउने पर्यटकको सङ्ख्या बढेको हो । धार्मिक कार्यक्रमका कारण पनि थाइल्याण्डबाट आएका भिक्षुहरुको चहलपहल बढेको हो ।

लुम्बिनी विकास कोषका सूचना अधिकारी राजन बस्नेतले गत फागुन १६ गतेदेखि एक हजार २०० नेपालीलाई प्रवज्या गर्ने कार्यका लागि र मायादवी मन्दिर परिसरमा त्रिपिटक वाचन कार्यक्रमका लागि थाइल्याण्डबाट बुद्ध धर्मावलम्बी आएका हुन् । एक महिनासम्म चलेको यी धार्मिक कार्यका लागि आर्थिक सहयोग थाइल्याण्डबाटै भएको थियो ।

लुम्बिनी भ्रमणमा आएका तेस्रो मुलुकका पर्यटकमध्ये थाइल्याण्डबाट आउने पर्यटकको सङ्ख्या दोस्रो स्थानमा रहेको छ । सन् २०२४ को फेब्रुअरीमा तीन हजार ९८१ थाई पर्यटक लुम्बिनी आएका थिए । सन् २०२३ को फेब्रुअरीमा तीन हजार ३६७ र कोभिडअघि सन् २०१९ मा छ हजार २०८ थाई पर्यटक लुम्बिनी आएका थिए ।