`

संविधानमाथि चुनौती दिन केही शक्ति सक्रियः महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले संविधान र व्यवस्थामाथि चुनौती दिने गरी केही शक्ति सक्रिय भएको बताएका छन् ।

पेसागत महासङ्घ नेपाल राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकलाई शनिबार सम्बोधन गर्दै उनले संविधानबाहिर केही पनि जान नसक्ने बताए । उनले पूर्वराजाका गतिविधिले संविधान कार्यान्वयनमा केही चुनौती थपेको बताए ।

महासचिव पोखरेलले संविधान कार्यान्वयन गर्ने सम्बन्धमा छिटोभन्दा छिटो कानुन बनाउनुपर्छ भन्नेमा वर्तमान सरकार तथा एमाले र नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताए । उनले पञ्चायतसँग गणतन्त्रलाई तुलना गरेर अस्थिरता मच्चाउने अपराधी भएको बताए ।

‘पञ्चायत र राजतन्त्रसँग जोडेर नेपाली समाजमा जुन प्रचार गरिँदै छ, त्यो अपराध हो, हामी परिवर्तनकारी हौँ, हामी लोकतन्त्रवादी हौँ, यसका आधारमा हामीले आफ्ना दृष्टिकोण समाजमा राख्नसक्नु पर्दछ,’ उनले भने ।

महासचिव पोखरेलले नेपालमा सुशासन र सेवाप्रवाहको कारणले जनतालाई प्रश्न उठेको भन्दै सुशासन कायम गर्ने र सेवाप्रवाहलाई छिटोछरिता बनाउन पेसागत महासङ्घलाई आग्रह गरे ।

भारतीय अभिनेत्री नोरा फतेही नेपाल आउँदै

काठमाडौँ । भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही नेपाल आउने भएक छन् । शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युुमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना हुने च्यारिटी कार्यक्रमका लागि अभिनेत्री फतेही नेपाल आउन लागेको आयोजक वल्र्डवाइड फिल्मस् नेटवर्क प्रालिका अध्यक्ष देव मगरले जानकारी दिए ।

उनले भने, ‘मनोरञ्जनमार्फत सामाजिक कार्यलाई सहयोग गर्ने उद्देश्यले हामीले यो कार्यक्रम गर्न लागेका हौँ, नेपालमा अभिनेत्री फतेहीको माग देखेर हामीले कार्यक्रमका लागि गरेको अनुरोधमा उहाँ सहमत हुनुभएको हो ।’

उनले आगामी वर्ष विसं २०८२ को ३ जेठमा बौद्धस्थित हायातको चौरमा ‘नोरा फतेही लाइभ इन नेपाल’ शीर्षकमा कार्यक्रम आयोजना हुने बताए ।

नेपाल आउन र नेपालीलाई भेट्न आफू उत्साहित रहेको अभिनेत्री फतेहीले बताइन् । उनले एक श्रव्यदृश्य सन्देशमार्फत आफू पहिलो पटक नेपाल आउने र यहाँबाट अहिलेसम्म प्राप्त गरिरहेको मायाका लागि धन्यवाद व्यक्त गर्दै आफ्नो प्रस्तुति दिने बताएकी छन् ।

‘म काठमाडौँ आउन उत्साहित छु, यो मेरो पहिलो भ्रमण हुनेछ, सामाजिक कार्यका यो कार्यक्रमलाई सफल बनाउन सबैलाई आग्रह गर्दछु’, अभिनेत्री फतेहीले श्रव्यदृश्यमा भनेकी छन् । इभेन्टको व्यवस्थापन मनु मिडिया प्रालिले गर्नेछ । कार्यक्रमका लागि भारतको मुम्बईबाट अभिनेत्री फतेहीसहित २० बढी नृत्याङ्गना प्रस्तुति दिन नेपाल आउने आयोजकले जनाइएको छ ।

अभिनेत्री फतेहीको ‘दिलबर दिलबर’, ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’, ‘स्नेक डान्स’ लगायतका गीत भारतसँगै नेपालमा पनि लोकप्रिय छन् ।

अन्नपूर्णको हिमपहिरोमा हराएका चिनियाँ पर्यटकको शव फेला

कास्की । पदयात्राका क्रममा कास्कीको अन्नपूर्ण गाउँपालिका–११ देउरालीस्थित चुमरुङमा हिमपहिरोमा परी बेपत्ता भएका २८ वर्षीय चिनियाँ नागरिक ई–चेङ युआनको १३ दिनपछि शनिबार शव फेला परेको छ ।

सशस्त्र प्रहरी बल कालिका गण पोखराको विशेष विपद् उद्धार टोलीले शनिबार बिहान देउराली चुमरुङस्थित मोदी नदी किनारबाट २० मिटर उत्तरतर्फ उनको शव फेला पारेको कालिका गणका गणपति प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

अन्नपूर्ण आधार शिविर(एविसी) को पदयात्रा सकेर घान्द्रुकतर्फ फर्कने क्रममा पर्यटक बेपत्ता भएपछि उनको खोजीमा प्रहरी टोली खटिएको थियो । प्रहरी उपरीक्षक तिमिल्सिनाका अनुसार उनको शव पोखरा ल्याउने तयारी भइरहेको छ ।

यही चैत ११ गते दिउँसो साढे १२ बजे कास्कीको अन्नपूर्ण गाउँपालिका–११ देउरालीस्थित चुमरुङमा हिमपहिरो गएको थियो । बेसक्याम्पबाट फर्केका भारतीय पर्यटकले देउरालीमा गएको हिमपहिरामा एक जना पुरिएको सूचना प्रहरीलाई दिएका थिए ।

पर्यटक हराएपछि स्थानीय बासिन्दा र नेपाल प्रहरीको टोलीले खोजी गर्दा फेला नपारेपछि कालिका गणबाट सशस्त्र प्रहरी निरीक्षक विश्वराज त्रिपाठीको कमाण्डमा यही चैत १६ गतदेखि प्रहरी टोली खटिएको थियो ।

इजरायली आक्रमणमा गाजामा हमासका प्रमुख मुद्रा विनिमयकर्ताको मृत्यु

गाजा । इजरायल रक्षा बल (आइडिएफ) ले गाजा सिटीमा हमासको प्रमुख मुद्रा विनिमयकता मानिएका सइद अहमद अबेद खुदारीलाई मारेको बताएको छ ।

आइडिएफका अनुसार बिहीबार मारिएका खुदारी ‘हमास भित्रका प्रमुख आतङ्कवादी वित्तीय सहजकर्ता’ थिए ।

मुद्रा विनिमयकर्ताका रूपमा आफ्नो भूमिकामा खुदारी अल वेफाक कम्पनी कोषका प्रमुख थिए भन्दै आइडिएफले अल वेफाक कम्पनीलाई इजरायली सरकारद्वारा ‘आतङ्कवादी संस्थाहरूमा रकम पुर्याउने कार्यमा संलग्न भएका कारण’ आतङ्कवादी सङ्गठन घोषित गरिएको थियो ।

आइडिएफले खुदारी वर्षौंदेखि विशेष गरी सन् २०२३ अक्टोबर ७ पछि ‘हमासको सैन्य पक्षमा धेरै वित्तीय हस्तान्तरणहरूमा संलग्न’ पनि भनेको छ ।

उनको संलग्नता सन् २०१९ मा उनका भाइ हामेद खुदारीको हत्या पछि बढेको थियो । आइडिएफका अनुसार हामेद हमासको सैन्य कार्यका लागि एक प्रमुख वित्तीय माध्यम पनि थिए ।

भूकम्पमा परी म्यान्मामा मृतकको सङ्ख्या तीन हजार नाघ्यो

म्यान्मा । म्यान्मामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार तीन सयभन्दा माथि पुगेको छ । संयुक्त राष्ट्रसङ्घका सहायता प्रमुखले विश्वसामु विपद्ग्रस्त राष्ट्रलाई सहयोग गर्न नयाँ आह्वान गरेका छन् ।

मार्च २८ को भूकम्पले देशभरका भवन र पूर्वाधारहरू ध्वस्त पारेको छ । यसको परिणामस्वरूप तीन हजार तीन सय ५४ जनाको मृत्यु र चार हजार पाँच सय आठ जना घाइते भएको तथा दुई सय २० जना बेपत्ता भएको सरकारी मिडियाले प्रकाशित गरेको नयाँ तथ्याङ्कले जनाएको छ ।

विपद् भएको एक हप्ताभन्दा बढी समयपछि पनि देशका धेरै मानिस अझै आश्रयविहीन छन्, या त तिनीहरूको घरहरू नष्ट भएका कारण या थप भत्किने डरले बाहिर सुत्न बाध्य छन् ।

संयुक्त राष्ट्रसङ्घको एक अनुमानअनुसार ७.७ म्याग्निच्युडको भूकम्पले ३० लाखभन्दा बढी मानिस प्रभावित भएको हुन सक्छ । यसले चार वर्षको गृहयुद्धले निम्त्याएको अघिल्लो चुनौतीहरूलाई थप जटिल बनाएको छ ।

संयुक्त राष्ट्रसङ्घका शीर्ष सहायता अधिकारीले शनिबार मध्य म्यान्माको मण्डाले सहरमा पीडितहरूसँग भेट गरे । मण्डाले भूकम्पको केन्द्र नजिकै अवस्थित छ र अहिले सहरभरि गम्भीर क्षति बेहोरेको छ ।
“विनाश आश्चर्यजनक छ”, टम फ्लेचरले एक्समा एक पोस्टमा लेखेका छन्, “विश्व म्यान्माका जनताको साथमा उभिनु पर्छ ।”

देशको सैन्य जुन्ता प्रमुख मिन आङ ह्लाइङ शुक्रबार बैंककमा क्षेत्रीय शिखर सम्मेलनमा एक दुर्लभ विदेश यात्राबाट फर्केपछि नयाँ मृत्यु सङ्ख्या घोषणा गरिएको थियो । बैंककमा जुन्ता प्रमुखले थाइल्यान्ड र भारतका प्रधानमन्त्रीहरू लगायत नेताहरूसँग भेट गरेका थिए ।

जनरलको शिखर सम्मेलनमा उपस्थितिले विवाद निम्त्याएको थियो । स्थलमा प्रदर्शनकारीहरूले उनलाई ‘हत्यारा’ भनेर ब्यानर प्रदर्शन गरेका थिए र जुन्ता विरोधी समूहहरूले उनको सहभागिताको निन्दा गरेका थिए ।

रक्षा र ऊर्जा सम्झौताका लागि श्रीलङ्कामा भारतीय प्रधानमन्त्री मोदी

कोलम्बो । कोलम्बोले छिमेकी भारत र यसको सबैभन्दा ठूलो ऋणदाता चीनसँगको सम्बन्धलाई सन्तुलनमा राख्दै गर्दा श्रीलङ्काका राष्ट्रपतिले शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीलाई भव्य स्वागत गरेको छ ।

राष्ट्रपति अनुरा कुमार दिसानायकेले मोदीलाई १९ तोपको सलामीसहित स्वागत गरे । वामपन्थी राष्ट्रपति दिसानायकेले गत वर्षको चुनाव जितेपछि कोलम्बो भ्रमण गर्ने मोदी पहिलो विदेशी गन्यमान्य व्यक्ति हुन् ।

दिसानायके र मोदीले ऊर्जा, रक्षा र स्वास्थ्यसम्बन्धी सम्झौताहरूमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ तर भ्रमणको मुख्य आकर्षण भारत समर्थित एक सय २० मेगावाटको सौर्य ऊर्जा परियोजनाको सुरुआत हुनेछ ।

मुलुकको उत्तरपूर्वी त्रिङ्कोमाली जिल्लामा रहेको सौर्य विद्युत् परियोजना वर्षौंदेखि रोकिएको थियो तर नयाँदिल्लीको समर्थनमा संयुक्त परियोजनाका रूपमा पुनर्जीवित भएको छ ।

शुक्रबार साँझ कोलम्बो आइपुगेपछि श्रीलङ्कामा आफ्नो ‘शानदार स्वागत’ को प्रशंसा गर्दै मोदीलाई राजधानीको इन्डिपेन्डेन्स स्क्वायरमा सम्मान गारद अर्पण गरिएको थियो ।

कोलम्बोले नयाँदिल्ली र बेइजिङको प्रतिस्पर्धात्मक चासोसँग जुधिरहेको बेला मोदीको भ्रमण भएको हो । नयाँदिल्ली श्रीलङ्कामा चीनको बढ्दो प्रभावको बारेमा चिन्तित छ । यसलाई भारतले आफ्नो भूराजनीतिक प्रभावको क्षेत्रभित्र रहेको ठान्छ ।

क्षेत्रीय सहयोगीहरू

दिसानायकेको पहिलो विदेश भ्रमण डिसेम्बरमा नयाँदिल्ली थियो । तर त्यसपछि उनले जनवरीमा बेइजिङको भ्रमण गरे । यसले श्रीलङ्काको नाजुक सन्तुलन कायम राख्ने प्रयासलाई उजागर गर्दछ ।

सन् २०२२ मा श्रीलङ्काले आफ्नो सार्वभौम ऋणमा डिफल्ट गर्दा १४ अर्ब डलरको द्विपक्षीय ऋणको आधाभन्दा बढी हिस्सा ओगटेको चीन श्रीलङ्काको सबैभन्दा ठूलो एकल द्विपक्षीय ऋणदाताका रूपमा देखा परेको छ ।

चीन श्रीलङ्कालाई आफ्नो ऋणको पुनर्गठन गर्ने पहिलो देश पनि थियो । यस कदमले यस टापु मुलुकुलाई त्यस वर्षको सबैभन्दा खराब आर्थिक मन्दीबाट उम्कन बाटो खुलाएको थियो ।

कोलम्बोले जनवरीमा चिनियाँ सरकारको स्वामित्वमा रहेको कम्पनीसँग टापुको दक्षिणमा रहेको तेल प्रशोधन केन्द्रमा तीन अर्ब ७० करोड डलर लगानी गर्ने सम्झौतामा पनि हस्ताक्षर गरेको थियो ।

यो श्रीलङ्काको सबैभन्दा ठूलो एकल विदेशी लगानी हुनेछ र टापुको अर्थतन्त्रका लागि महत्त्वपूर्ण मानिएको छ । नयाँदिल्लीले श्रीलङ्कामा चीनको बढ्दो प्रभावप्रति चिन्ता व्यक्त गरेको छ ।

मोदीको श्रीलङ्का भ्रमण थाइल्यान्डमा भएको शिखर सम्मेलन र क्षेत्रीय राष्ट्रका नेताहरूसँगको बैठकपछि भएको हो । थाइल्यान्डमा उनले छिमेकीहरूसँग भारतको सम्बन्धलाई सुदृढ पार्न खोजेको थियो ।

बैंककमा बङ्गालको खाडीमा सात राष्ट्रको समूह बिमस्टेक बैठकको अवसरमा मोदीले म्यानमाका जुन्ता प्रमुख मिन आङ ह्लाइङसँग दुर्लभ आमने–सामने बैठक गरेको थियो ।

मोदीले शुक्रबार छिमेकी बङ्गलादेशका अन्तरिम नेता मुहम्मद युनुससँग पनि कुराकानी गरेको थियो । यो ढाकामा क्रान्तिले नयाँदिल्लीका दीर्घकालीन मित्र शेख हसिनालाई हटाएर सम्बन्धहरू बिगारेपछि पहिलो यस्तो बैठक थियो ।

भारत हसिनाको सरकारको सबैभन्दा ठूलो हितैषी थियो र उनको पतनपछि सीमापारी सम्बन्धहरू बिग्रिको थियो । यसको परिणामस्वरूप युनुसले गत महिना चीनमा आफ्नो पहिलो राजकीय भ्रमण गर्ने निर्णय गरे ।

आन्दोलनरत शिक्षकले उठाएका विषयलाई सरकारले सम्बोधन गर्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलेआन्दोलनरत शिक्षकले उठाएका विषयलाई सरकारले सकारात्मक रुपमा ग्रहण गरी सम्बोधन गर्ने बताएका छन् ।

थाइल्याण्डको औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) छैटौं  शिखर सम्मेलनमा सहभागी भई शनिबार स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले भने, ‘सरकारले सुन्छ भन्ने उहाँहरुलाई विश्वास छ, त्यसकारण आउनुभएको हो, हामी कुराकानी पनि गर्छौं, सरकारले उहाँहरुको कुरा पनि सुन्छ ।’

उनले शिक्षकले राखेका मागका सम्बन्धमा के–कति गर्न सकिन्छ के कस्तो गर्नुपर्छ भन्ने कुरा परस्परमा बसेर छलफल गरेर टुङ्गिने विश्वास दिलाए ।

‘धेरै यसमा उहाँहरुले पनि दुःख नपाए हुन्छ, सरकारले कुनै नकारात्मक दृष्टिकोण राख्दै राख्दैन, किन राख्नु परेको छ र ?’, उनले भने, ‘शिक्षकका समस्या टुङ्गिन्छ ।’

बुद्ध दर्शनको प्रचारप्रसार र लुम्बिनीको पर्यटन प्रवद्र्धनमा थाई सरकारको योगदान

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा थाई सरकार र थाई समुदायले बुद्धधर्म र दर्शनको प्रचारप्रसार तथा लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि विभिन्न गतिविधिमार्फत योगदान पुर्याउँदै आएको छ ।

बुद्ध जन्मस्थल लुम्बिनीमा थाई सरकारका तर्फबाट धार्मिक, सामाजिक, सांस्कृतिक र पर्यटकीय प्रवद्र्धनमा महत्वपूर्ण योगदान हुँदै  आएको छ । यसले नेपाल र थाइल्याण्डबीचको बौद्ध धर्म एवं दर्शनले जोडेको हजारौं  वर्षदेखिको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने काम गरेको छ ।

थाई सरकारका तर्फबाट लुम्बिनीस्थित थाई विहारमार्फत लुम्बिनीको सांस्कृतिक, धार्मिक र पर्यटन प्रवद्र्धनसँगै शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।

यसअन्तर्गत भूकम्पले क्षति पुर्याएका विद्यालयका भवन निर्माण, भूकम्पपीडितका लागि सहयोग, विद्यालयमा शैक्षिक सामग्री वितरण, छात्रवृत्ति वितरण, स्वास्थ्य शिविर सञ्चालनजस्ता गतिविधि सञ्चालन गर्दै आएको थाई बौद्ध विहारको वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।

बुद्ध धर्मको प्रचारप्रसारका लागि थाई सरकारको सहयोगमा लुम्बिनीमा रोयल थाई मन्दिर(विहार) निर्माण गरिएको छ । जुन थाई वास्तुकलाको उत्कृष्ट नमुना हो । यस मन्दिरको उद्घाटन सन् २०१७ मा थाई राजकुमारी महा चक्री सिरिन्धोर्नद्वारा गरिएको थियो । यससँगै बुद्ध जन्मस्थल लुम्बिनीको विकासमा औपचारिक रुपमा थाई सरकारको सहभागिता प्रारम्भ भएको मानिन्छ ।

लुम्बिनी थाई बौद्ध विहार एउटा सुन्दर र शान्त बौद्ध विहार विशेषगरी थाई शैलीको वास्तुकलामा बनेको छ । लुम्बिनीमा रहेका सबै अन्तरराष्ट्रिय विहारमध्ये सबैभन्दा आकर्षक र कलात्मक शैलीको मन्दिरमध्ये एक हो ।

लुम्बिनीमा निर्माण गरिएको कलात्मक यो गुम्बा निर्माणसँगै यहाँ हरेक वर्ष थाई बौद्ध भिक्षुहरू र तीर्थयात्री पर्यटकको आगमन हुने गरेको छ । थाई नागरिकका लागि बुद्ध जन्मस्थल धार्मिक आस्थाको प्रमुख केन्द्र बनेको छ ।

यसैले लुम्बिनी थाई पर्यटक र तीर्थयात्री दुवैका लागि महत्वपूर्ण गन्तव्य मानिन्छ । यहाँ हरेक वर्ष थाई सहयोगमा तीनमहिने वर्षावास कार्यक्रम, प्रवज्या गर्ने कार्यका लागि र मायादेवी मन्दिर परिसरमा त्रिपिटक वाचनका कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

सन् २०२४ सेप्टेम्बरमा, थाइल्याण्डका १७ भिक्षुहरूले लुम्बिनीमा तीनमहिने वर्षावास (वर्षा यामको व्रत) बस्दै ध्यान र प्रवचनमा समय बिताएका थिए ।

लुम्बिनीको धार्मिक, सांस्कृतिक, पर्यटकीय प्रवद्र्धनमा थाई सरकारका तर्फबाट महत्वपूर्ण योगदान हुँदै आएको सदस्य सचिव सानुराजा शाक्य बताउँछन् । यसले नेपाल र थाइल्याण्डबीचको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाएको छ । थाई सरकारको आर्थिक र प्राविधिक सहयोगमा शिक्षा, स्वास्थ्य तथा सम्पर्क सुधारका परियोजनाहरू समावेश छन् ।

यसैअन्तर्गत थाई सरकारका तर्फबाट गत वर्ष सन् २०२३ जुलाइमा, थाई चिकित्सा टोलीले लुम्बिनीमा स्थानीयका लागि निःशुल्क घुँडा शल्यक्रिया कार्यक्रम सञ्चालन गरी ३२ बिरामीलाई सेवा प्रदान गरेको थियो । यससँगै काठमाडौँस्थित तिलगङ्गा आँखा अस्पतालको सहयोगमा लुम्बिनीमा आँखा शिविर सञ्चालन गर्दै आएको छ ।

थाई समुदायले लुम्बिनीस्थित मेट्टा गुरुकूल स्कुलको भवन निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको छ । त्यसले स्थानीय बालबालिकालाई गुणस्तरीय शिक्षा प्राप्त गर्न मद्दत पुर्याएको छ । यससँगै लुम्बिनी क्षेत्रका विभिन्न विद्यालयमा थाई बौद्ध विहारले विभिन्न किसिमले सहयोग प्रदान गर्दै आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा तीन दिनअघि भएका विभिन्न सम्झौतामध्ये कृषि र पर्यटन क्षेत्रका सम्झौता लुम्बिनी क्षेत्रलाई समावेश गरिएको छ ।

लुम्बिनी विकास कोषका सदस्य सचिव शाक्य थाइल्याण्ड सरकारका तर्फबाट पहिलेदेखि नै लुम्बिनी क्षेत्रमा कृषिमा लगानी गर्ने प्रस्ताव आएको र अहिले प्रधानमन्त्रीको भ्रमणका क्रममा भएका सम्झौताले अब उनीहरुको कार्यक्रम आउने सम्भावना रहेको बताउँछन् ।

यससँगै बौद्ध पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने समझदारीअनुरुप लुम्बिनी पर्यटन प्रवद्र्धनमा थाई सरकारको लगानी बढाउने अपेक्षा गरिएको सदस्य सचिव शाक्यले बताए ।

सन् २०२५ को फेबु्रअरी महिनामा चार हजार ६२० थाई पर्यटक बुद्ध जन्मस्थल लुम्बिनी आएका छन् । गत महिना लुम्बिनी आएका तेस्रो मुलुकका पर्यटकमध्ये सबैभन्दा बढी थाई पर्यटक हुन् ।

गत महिना लुम्बिनीमा विभिन्न धार्मिक गतिविधि भएकाले पनि विभिन्न बुद्धिष्ट मुलुकबाट आउने पर्यटकको सङ्ख्या बढेको हो । धार्मिक कार्यक्रमका कारण पनि थाइल्याण्डबाट आएका भिक्षुहरुको चहलपहल बढेको हो ।

लुम्बिनी विकास कोषका सूचना अधिकारी राजन बस्नेतले गत फागुन १६ गतेदेखि एक हजार २०० नेपालीलाई प्रवज्या गर्ने कार्यका लागि र मायादवी मन्दिर परिसरमा त्रिपिटक वाचन कार्यक्रमका लागि थाइल्याण्डबाट बुद्ध धर्मावलम्बी आएका हुन् । एक महिनासम्म चलेको यी धार्मिक कार्यका लागि आर्थिक सहयोग थाइल्याण्डबाटै भएको थियो ।

लुम्बिनी भ्रमणमा आएका तेस्रो मुलुकका पर्यटकमध्ये थाइल्याण्डबाट आउने पर्यटकको सङ्ख्या दोस्रो स्थानमा रहेको छ । सन् २०२४ को फेब्रुअरीमा तीन हजार ९८१ थाई पर्यटक लुम्बिनी आएका थिए । सन् २०२३ को फेब्रुअरीमा तीन हजार ३६७ र कोभिडअघि सन् २०१९ मा छ हजार २०८ थाई पर्यटक लुम्बिनी आएका थिए ।

प्रधानमन्त्रीको प्रश्नः भारत भ्रमण असम्भव कुरा हो र ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गर्न काँडेतार नलगाएको बताएका छन् ।

थाइल्याण्डको बैंककमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौं शिखर सम्मेलनमा सहभागी भएर शनिबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले भारत भ्रमण असम्भव नरहेको बताए ।

उनले भने, ‘भारत भ्रमण असम्भव कुरा हो र ? असम्भव कुरा थियो र ? त्यो त कतिपय कारणले नभ्याइराखेको स्थिति हो । यो बाहिर जस्तो छ अवरुद्ध भो भारत भ्रमण, काँडेतार लगाएको छ र कसैले ?’ प्रधानमन्त्रीले भ्याउँदा जुनसुकै बेला भारत भ्रमण हुनसक्ने बताए । उनले भने, ‘हामी अहिले सगरमाथा संवाद गर्दैछौं । तर, भ्याए त्योभन्दा अघि पनि हुनसक्छ।’

उनले मोदीसँगको भेटमा कुनै सानातिना छिमेकमा समस्या देखिए तत्काल एकआपसमा संवाद गरिहाल्ने र समस्याहरुलाई टुंग्याई हाल्ने अठोट गरेको समेत बताए ।

प्रधानमन्त्रीले भने, ‘दुई प्रधानमन्त्रीका बीचमा पारस्पारिक सहयोगका विभिन्न सहयोगहरुको सम्बन्धमा, लगानी, व्यापारका क्षेत्रहरुका सन्दर्भमा र पञ्चेश्वर लगायतका विषयहरु दोधारा चाँदनीमा महाकाली सिँचाई योजना गर्नेलगायतका विषयहरुमा कुरा भयो । दुई पक्षीय पारस्परिक हितका विषयमा कुराकानीहरु भए । हामीले एउटा अठोट गरेका छौं । नेपाल–भारत सम्बन्धलाई अझ व्यापक, विस्तृत, सुदृढ गर्दै लाने र कुनै सानातिना छिमेकमा समस्या देखिए भनेपनि एकआपसमा संवाद गरिहाल्ने र समस्याहरुलाई टुंग्याईहाल्ने जस्ता कुराहरुका बारेमा गहिरो समझदारी गरेका छौं । भेटघाट फलदायी भएको छ ।’

चीनसँगको व्यापार घाटा घटाउनुपर्नेमा मन्त्री भण्डारीको जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चीनसँगको व्यापारमा नेपालको ठूलो व्यापार घाटा रहेकाले घटाउनुपर्नेमा जोड दिएका छन् ।

नेपाल हिमालय सीमापार वाणिज्य सङ्घको २५औँ वार्षिक साधारणसभा तथा रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले यसलाई कम गर्न नेपाली उत्पादनको निर्यात बढाउनु अत्यावश्यक रहेको र जडीबुटी, हस्तकला, कृषि उत्पादन, तयारी पोसाक जस्ता क्षेत्रमा विशेष जोड दिनुपर्ने बताए ।

‘नेपाली उत्पादनहरूको प्रवद्र्धनमा सङ्घले अग्रणी भूमिका खेल्न सक्छ, नेपाली वस्तु तथा सेवाको विविधीकरण, गुणस्तर सुधार र ‘ब्रान्डिङ’मा जोड दिनुपर्छ, चिनियाँ बजारमा नेपाली उत्पादनको पहुँच बढाउन सरकारका तर्फबाट विभिन्न व्यापार मेला तथा प्रदर्शनीमा सहभागितालाई प्रोत्साहन गरिँदैछ, चीनसँगको व्यापारमा नेपाली व्यवसायीलाई सहजीकरण गर्न विदेशी विनिमय नीतिमा केही लचकता ल्याइएको छ, चिनियाँ भाषा, व्यापारिक संस्कृति र प्रक्रियाबारे जानकारी दिन विभिन्न तालिम कार्यक्रम सञ्चालन गरिएका छन्’, उनले भने ।

मन्त्री भण्डारीले नेपाल सरकारले नेपाल–चीन व्यापारलाई सहज बनाउन तातोपानी र रसुवागढी नाकाको स्तरोन्नति तथा पूर्वाधार विकासका लागि बजेट विनियोजन गरेको, चीनसँगको व्यापारलाई सहज बनाउन ‘नेपाल–चीन व्यापार सहजीकरण समिति’ गठन गरेको, सीमापार व्यापारलाई सहज बनाउन विद्युतीय भुक्तानी प्रणालीलाई प्रोत्साहन गरेको, रसुवागढी–केरुङ नाकामा सुक्खा बन्दरगाह निर्माणको कार्य अघि बढाएको, ‘एक स्टेसन, एक उत्पादन’ कार्यक्रममार्फत स्थानीय उत्पादनलाई प्रोत्साहन गरेको र नेपाली उत्पादनहरूको गुणस्तर सुधारका लागि प्राविधिक सहयोग प्रदान गरेको जानकारी दिए ।

यस्तै उनले कोरला, हिल्सा, किमाथाङ्का, ओलाङचुङगोला जस्ता नाकाको विकासका लागि पनि सरकारले कार्ययोजना तयार पारेको बताए ।

उनले भने, ‘सरकार सधैँ निजी क्षेत्रको साथमा छ र हामी मिलेर नेपालको व्यापार क्षेत्रलाई नयाँ उचाइमा पु¥याउन सक्छौँ भन्ने विश्वास राख्दछु, चीनसँगको व्यापारलाई सन्तुलित, दिगो र पारस्परिक लाभदायक बनाउन सरकारी र निजी क्षेत्रको सहकार्य अपरिहार्य छ ।’

मन्त्री भण्डारीले सङ्घले स्थापनाकालदेखि वर्तमानसम्मको यात्रा तय गरेर यहाँसम्म आइपुग्दा नेपाल–चीन द्विपक्षीय व्यापार अभिवृद्धि, जनसमुदायबीचको सम्बन्ध सुदृढीकरण तथा औद्योगिक सम्बन्ध प्रवद्र्धनमा अतुलनीय योगदान प्रदान गर्दै आएको बताए ।

सरकारी निकायसँगको समन्वयमा वाणिज्य कूटनीतिलाई बढावा दिन सङ्घले महत्वपूर्ण भूमिका खेल्न सक्ने मन्त्री भण्डारीको भनाइ थियो । चीनका विभिन्न प्रान्त र सहरमा नेपाली उत्पादनको पहुँच बढाउन व्यापारिक ‘मिसन’, प्रदर्शनी र सांस्कृतिक आदानप्रदानका कार्यक्रम आयोजना गर्न सकिने उनले बताए ।

मन्त्री भण्डारीले सरकारलाई व्यापारसम्बन्धी नीति निर्माणमा व्यावहारिक सुझाव दिन सङ्घले निरन्तर रूपमा अध्ययन, अनुसन्धान र छलफल गर्नुपर्नेमा जोड दिए ।

मन्त्री भण्डारीले भने, ‘चिनियाँ व्यापारिक सङ्घसंस्थासँग समन्वय र सहकार्य बढाउनुपर्छ, चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आकर्षित गर्न पनि सङ्घले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।’

टी–२० सिरिजका लागि रोहित पौडेलको कप्तानीमा टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान) ले हङकङसँग हुने टी–२० सिरिजका लागि रोहित पौडेलको कप्तानीमा टोली घोषणा गरेको छ ।

क्यानले शनिबार टोली घोषणा गरेको हो । टोलीमा लोकेश बम, बसिर अहमद, नन्दन यादव र शाहव आलम पनि समेटिएका छन् ।

यस्तै आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, ललित राजवंशी, सोमपाल कामी, करण केसी, रिज ढकाल र गुल्शन झा टिममा परेका छन् । टी–२० सिरिज अप्रिल ९ देखि १३ सम्म हङकङमा हुनेछ।

मोदी सगरमाथा संवादमा नआउने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदी सगरमाथा संवादमा नेपाल नआउने जानकारी गराएका छन् ।

शनिबार थाइल्यान्ड भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मोदी सगरमाथा संवादमा नआउने जानकारी दिएका हुन् ।

प्रधानमन्त्री ओलीले सगरमाथा संवादकै बेला मोदीको युरोपको कार्यक्रम तय भइसकेकाले संवादमा नआउने बताए ।

उनले भने, ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग मेरो भेटघाट अत्यन्त सुमधुर वातावरण र हार्दिकताका साथ भयो । यस पटक सगरमाथा संवादमा मोदीजी आउन भ्याउनुहुन्न । किनभने सगरमाथा संवादकै बेला युरोपको कार्यक्रम तय भइसकेको रहेछ । युरोपमा कार्यक्रमहरु तय भइसकेकाले बदल्न सक्ने अवस्था छैन । तर भारतबाट सगरमाथा संवादका लागि राम्रै प्रतिनिधित्व हुने जानकारी मोदीले गराउनुभएको छ ।’

उनले मोदीसँगको भेटमा कुनै सानातिना छिमेकमा समस्या देखिए तत्काल एकआपसमा संवाद गरिहाल्ने र समस्याहरुलाई टुंग्याई हाल्ने अठोट गरेको समेत बताए ।

प्रधानमन्त्रीले भने, ‘दुई प्रधानमन्त्रीका बीचमा पारस्पारिक सहयोगका विभिन्न सहयोगहरुको सम्बन्धमा, लगानी, व्यापारका क्षेत्रहरुका सन्दर्भमा र पञ्चेश्वर लगायतका विषयहरु दोधारा चाँदनीमा महाकाली सिँचाई योजना गर्नेलगायतका विषयहरुमा कुरा भयो । दुई पक्षीय पारस्परिक हितका विषयमा कुराकानीहरु भए । हामीले एउटा अठोट गरेका छौं । नेपाल–भारत सम्बन्धलाई अझ व्यापक, विस्तृत, सुदृढ गर्दै लाने र कुनै सानातिना छिमेकमा समस्या देखिए भनेपनि एकआपसमा संवाद गरिहाल्ने र समस्याहरुलाई टुंग्याईहाल्ने जस्ता कुराहरुका बारेमा गहिरो समझदारी गरेका छौं । भेटघाट फलदायी भएको छ ।’

बबरमहलमा पाँच महिला कलाकारको संयुक्त कला प्रदर्शनी

काठमाडौँ । बबरमहलस्थित नेपाल कला परिषदमा पाँच महिला कलाकारले संयुक्त कला प्रदर्शनी सुरु गरेका छन् । ‘टुगेदरनेस’ शीर्षकमा सुरु भएको प्रदर्शनीमा अवलोकनकर्ताले कलाकृतिबारे खुलेर प्रसंशा गरेका छन् ।

प्रदर्शनीमा कृति शाह चन्द, कीपा राणा, पूजा अग्रवाल, सन्ध्यासिंह महर्जन र सगुन शाह सिंहका सृजना राखिएको छ । प्रदर्शनी यही चैत २५ गते सञ्चालन हुनेछ ।

कलाकार कृति शाह चन्दले आफूले आरोह अवरोह शीर्षकको अमूर्त कलामा मानवीय जीवनका उतारचढावलाई क्यानभासमा उतारेको बताइन् ।

उनले भनिन्, “मान्छेको जीवनमा सुख, दुःखसहितका उतारचढाव आइरहन्छ, त्यसलाई आत्मसात् गर्दै अघि बढ्नुपर्छ भन्ने सन्देश कलामार्फत प्रस्तुत गर्ने प्रयास गरेकी हुँ ।”

उनले आफूले जीवनमा भोगेका विभिन्न परिस्थितिलाई कुचीमार्फत क्यानभासमा उतारेको सुनाइन् । उनका पारसमणि, अटुमन लभ, शान्तिको प्रतिक स्वयम्भूनाथलगातका कला प्रदर्शनीमा राखिएको छ ।

कलाकार कीपा राणाले दैविशक्तिको सशक्त धारलाई क्यानभासमा उतारेकी छन् । उनले भनिन्, “म शिवजीको भक्त हुँ, उहाँका सबै स्वरुपहरु चित्ताकर्षक लाग्छन्, त्यही समर्पण भावलाई कलामा समेट्ने प्रयास गरेकी हुँ ।”

पौभा कलालाई मूलधारमा समेट्दै अघि बढेकी कलाकार सन्ध्यासिंह महर्जनका कलाले पनि धेरैको मन तानेको छ । नेपाली कलाको धरोहर मानिने लोककला विधाको पौभामा उनका कृति उत्कृष्ट देखिएका छन् ।

उनले भनिन्, “सहस्रभुजा लोकेश्वरको पौभा बनाउन साढे दुई वर्ष लाग्यो, महाकालको पौभा कला बनाउन दुई वर्ष लाग्यो ।” उनको ‘न्यूड आर्ट’मा पनि धेरै अवलोकनकर्ताले रुचिपूर्वक हेरेका थिए ।

कलाकार पूजा अग्रवालले आफूले यथार्थ र भ्रमको परिकल्पनाका आधारमा कला सिर्जना गरेको बताइन् । उनले भनिन्, “वास्तविक जीवनमा हामीले भगवान्को स्वरुप देखेका छैनौँ र सानो छँदा आमाले सही र गलतबीचको फरक फूलको बिरुवाको उदारहण दिँदै बताउनुभएको थियो, त्यसैलाई कल्पना गर्दै क्यानभासमा उतारेकी हुँ ।”

कलाकार सगुन शाह सिंहको कलामा भगावन् गणेशका अनेक भावहरु समेटिएका छन् । मनमोहक गणेश, सौम्य गणेश, रङ्गीन स्वभावका गणेशका चित्र र चरित्रहरु क्यानभासमा उतारिएको उनले बताइन् ।

उनले भनिन्, “सानैदेखि म गणेश भगवान्को व्रत बस्थे, गणेश भगवानप्रतिको लगाव नै चित्रहरुमा कुँदिएका छन् ।”

ललितकला गुठीको आयोजनामा सुरु भएको प्रदर्शनीले महिला कलाकारको सामूहिकता र कलाको निखारता दुवैलाई एकसाथ समेटेको गुठीका संस्थापक उत्तम डङ्गोलले बताए ।

वरिष्ठ कलाकार शशिविक्रम शाहले नारी शक्ति पुरुष शक्तिभन्दा सशक्त रहेको टिप्पणी गरे । महिलाको संयुक्त प्रयासले समाजमा कलामार्फत गहन प्रभाव पारेको उनको भनाइ थियो ।

वरिष्ठ साहित्यकार पद्मावती सिंहले सबै महिला कलाकारको संयुक्त प्रयासले कला पारखीको मन छुन सफल भएको बताइन् । प्रदर्शनीका क्युरेटर स्मृति कर्माचार्यले महिलालाई कला क्षेत्रमा अघि बढाउनका लागि यसले सहयोग गरेको बताइन् ।

थाइल्यान्डको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र छैटौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनमा भाग लिइ शनिबार स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, सरकारका उच्चपदस्थ अधिकृत तथा सुरक्षा अङ्गका प्रमुखले स्वागत गरेका थिए ।

प्रधानमन्त्रीको स्वागतमा नेपालस्थित कूटनीतिक समुदायका डीन, नेपालका लागि इजिप्टका राजदूत र नेपालका लागि थाइल्याण्डका कार्यवाहक राजदुत स्वागतका लागि विमानस्थल पुगेका थिए । त्यसअघि नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्रीलाई सम्मान गारत अर्पण गरेको थियो ।

थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही चैत १९ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

थाइल्याण्डमा रहँदा प्रधानमन्त्री ओलीले छिमेकी भारतका प्रधानन्त्री नरेन्द्र मोदीलगायत विभिन्न मुलुकका समकक्षीसँग आपसीहित र चासोका विविधि विषयमा छलफल गरेका थिए ।

प्रधानमन्त्री ओली यही चैत २२ गते बिम्स्टेक शिखर सम्मेलनमा सम्बोधन समेत गरेका थिए । त्यसअघि प्रधानमन्त्री ओेली चैत २१ गते बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुने सदस्य राष्ट्रका सरकार वा राष्ट्रप्रमुखको नेताहरूको सम्मानमा आयोजना हुने रात्रिभोजमा सरिक भएका थिए ।

शिखर सम्मेलनका क्रममा सदस्य मुलुकका समकक्षी एवं राष्ट्रप्रमुखहरूसँग भेटवार्ता समेत गरेका थिए ।

ललितपुर प्रहरीद्वारा एम्बुलेन्सबाट लागुऔषध बरामद

ललितपुर । बागमती गाउँपालिका–३ छपेलीबाट प्रहरीले भारतीय नम्बर प्लेटको एम्बुलेन्ससहित लागुऔषध बरामद गरेको छ ।

मकवानपुरबाट कान्तिलोकपथ हुँदै काठमाडौँ आउँदै गरेको बिआर ०५ प ०४२१ नम्बरको एम्बुलेन्समा लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए ।

रेग्मीका अनुसार भट्टेडाँडामा नियमित जाँचका क्रममा एम्बुलेन्समा ९४ हजार ८० वटा ट्याब्लेट ट्रामाडोल बरामद गरिएको हो । लागुऔषध कारोबारमा संलग्न केही व्यक्तिहरूलाई पनि पक्राउ गरिएको उनले जानकारी गराए ।

‘बिरामीलाई उपयोग गरेर लागुऔषध ओसारपसार भएको छ, आठ वर्षको बच्चा, १६ वर्षको युवा र बिरामी महिलालाई उपयोग गरेर कारोबारीहरुले आफ्नो योजना बनाएको देखिन्छ, एम्बुलेन्स चालकसहित एक जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएका छौँ, उनीहरुको साथबाट तीन थान मोबाइल सेटसमेत बरामद भएको छ’, उनले भने ।

फिल्म झिल्कोको ‘नाच पुतली’

काठमाडौं । नेपाली फिल्म ‘झिल्को’को गीत ‘नाच पुतली’ सार्वजनिक भएको छ । गीत मार्मिक भावनासँग जोडिएको छ, जसमा दुःखी बालिकालाई फकाउँदै उसलाई खुसी बनाउने प्रयास गरिएको देखिन्छ । गीतमा आनन्द अधिकारीको शब्द, दीपक शर्माको सङ्गीत र सहिमा श्रेष्ठको स्वर रहेको छ ।

भिडियोमा आश्मा विश्वकर्मा र चाहना पुनको नृत्य छ । आगामी वैशाख १९ गते देशभर प्रदर्शनमा आउने यो फिल्म अहिलेको पुस्तामा बढ्दो डिजिटल निर्भरता र त्यसले पार्ने मनोवैज्ञानिक, सामाजिक तथा पारिवारिक असरलाई उजागर गरी बनेको निर्देशक यादवकुमार भट्टराईले बताए ।

यसमा मोबाइलको अत्यधिक प्रयोगका कारण सम्बन्धमा आउने दरार, व्यक्तिहरूबिचको दूरी, र वास्तविक जीवनभन्दा डिजिटल संसारमै गुम्सिँदै गएका पात्रहरूको कथा देखाइएको उनले जानकारी दिए ।

‘झिल्को’मा आयुषी ढकाल, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जेनीश श्रेष्ठ, र जेभीश श्रेष्ठको अभिनय रहेको छ । फिल्मको छायाङ्कन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, कलर तथा साउन्ड मिक्सिङ श्याम कुँवर, र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन् ।

फिल्मको कथा तथा पटकथा निर्देशक भट्टराईले अरुणदेव जोशी र देव व्रतसँग मिलेर तयार पारेका हुन् । फिल्म मिडिया फर कल्चर प्रालिको प्रस्तुति र जनता टिभीको निर्माण सहकार्यमा तयार भएको हो ।

https://www.youtube.com/watch?v=u3h_p2jWFAE

युक्रेनी राष्ट्रपतिको गृहनगरमा भएको रुसी हमलामा १८ जनाको मृत्यु

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको गृहनगर क्रिभी रिगमा रुसी ब्यालिस्टिक क्षेप्यास्त्र हमलामा नौ बालबालिका सहित १८ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

शनिबार रातभरि आपत्कालीन कार्य सम्पन्न भएपछि दिनप्रोपेट्रोभ्स्कका क्षेत्रीय गभर्नर सर्गिय लिसाकले ६१ जना घाइते भएको बताए ।

क्रिभी रिगको सैन्य प्रशासनका प्रमुख ओलेक्सान्द्र भिल्कुलका अनुसार शुक्रबार बालबालिकाको खेल मैदान नजिकै आवासीय क्षेत्रमा मिसाइल आक्रमण भएको थियो ।

सामाजिक सञ्जालमा अप्रमाणित भिडियोहरूमा सडकमा शवहरू रहेको देखाइएको छ भने अर्को भिडियोमा साँझको आकाशमा धुवाँको मुस्लो उठेको देखाइएको छ ।

घटनास्थलको सामाजिक सञ्जालको भिडियोमा एउटा कार जलिरहेको देखाइएको छ भने मानिसहरू चिच्याइरहेको सुन्न सकिन्छ ।

“१८… त्यति नै मानिसहरू रूसीहरूले क्रिभी रिगमा मिसाइल प्रहार गर्दा मारिए । तिनीहरू मध्ये नौ जना बालबालिका थिए”, लिसाकले टेलिग्राममा भने ।उनका अनुसार शुक्रबारको आक्रमणमा १२ बालबालिका घाइते भएका छन् ।

“यो यस्तो प्रकारको पीडा हो जुन तपाईँले आफ्नो सबैभन्दा खराब शत्रुमा पनि चाहनुहुन्न”, लिसाकले भने ।
रूसको रक्षा मन्त्रालयले सहरमा ‘एउटा रेस्टुरेन्टमा उच्च विस्फोटक मिसाइलले सटीक आक्रमण गरेको थियो’ भन्दै त्यहाँ ‘तालिमका कमान्डरहरू र पश्चिमी प्रशिक्षकहरूको बैठक हुँदै थियो’ भनेको छ ।

शनिबार रुसी एयर डिफेन्स युनिटले रातिभर ४९ वटा युक्रेनी ड्रोनलाई रोकेको र नष्ट गरेको बताएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेपछि तीन वर्षभन्दा बढी समयदेखि चलिरहेको युद्धको चाँडो अन्त्यका लागि दबाब दिँदै आएका छन् तर दुवै पक्षसँग वार्ता गरे पनि उहाँको प्रशासनले युद्धविराम गराउन सकेको छैन ।

जेलेन्स्कीले सहरमा भएको मिसाइल आक्रमणले रूसलाई सन् २०२२ फेब्रुअरीमा सुरु गरिएको पूर्ण स्तरको आक्रमण रोक्ने कुनै चासो नभएको देखाएको बताए ।

“यो जारी रहनुको एउटै कारण छ – रूस युद्धविराम चाहँदैन र हामी देख्छौँ । सारा संसारले देख्छ”, उनले भने ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मार्चमा बिना शर्त र पूर्ण युद्धविरामका लागि संयुक्त राज्य अमेरिकी–युक्रेनी प्रस्तावलाई अस्वीकार गर्नुभयो । क्रेमलिनले कृष्ण सागरमा अमेरिकाले प्रस्ताव गरेको युद्धविराम गरेको छ जुन पश्चिमले केही प्रतिबन्धहरू हटाउनेमा निर्भर छ ।

पपुवा न्यु गिनी तटमा ६.९ म्याग्निच्युडको भूकम्प

सिड्नी । पपुवा न्यु गिनीको न्यु ब्रिटेन टापुको तटमा शनिबार बिहान ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएको छ ।

दश किलोमिटर गहिराइमा आएको भूकम्पले सुनामी चेतावनी निम्त्याएको थियो तर त्यसलाई पछि अमेरिकी प्रशान्त सुनामी चेतावनी केन्द्रद्वारा घटाइएको थियो ।

“सबै उपलब्ध आँकडाका आधारमा यस भूकम्पबाट सुनामीको खतरा अहिले बितिसकेको छ”, नजिकको निगरानी स्थलमा ‘कुनै सुनामी अवलोकन गरिएको छैन’ भन्दै केन्द्रले भन्यो ।

भूकम्प स्थानीय समयानुसार बिहान ६ः०४ बजे आएको थियो र नजिकैको प्रमुख सहर किम्बेबाट लगभग एक सय ९४ किलोमिटर दक्षिणपूर्वमा केन्द्रित थियो ।

किम्बेको लिआमो रिफ रिसोर्टकी रिसेप्सनिस्ट मारोलिन सिम्बिकेनले अहिलेसम्म उहाँले कुनै क्षति नदेखेको बताए ।

“हामीले यहाँ भूकम्प महसुस गर्यौँ”, उनले भने, “तर ठूलो क्षति छैन । यहाँ केही क्षति भएन र कुनै खाली गर्ने आदेश थिएन ।”

वालिन्दी प्लान्टेसन रिसोर्टकी कर्मचारी बारबरा आइबिलोले ‘हल्का कम्पन’ को महसुस गरेको बताइन् ।
युएसजिएसका अनुसार त्यसपछि समुद्रको उही क्षेत्र नजिकै ४.९ देखि ५.३ सम्मको प्रारम्भिक म्याग्निच्युड भएका केही साना भूकम्पहरू गएका थिए ।

पपुआ न्यु गिनीमा भूकम्पहरू सामान्य छन् । यो मुलुक भूकम्पीय ‘रिङ अफ फायर’ (दक्षिणपूर्व एसिया र प्रशान्त बेसिन भर फैलिएको तीव्र टेक्टोनिक गतिविधिको एक अर्क) माथि अवस्थित छ ।

तिनीहरूले कम जनसङ्ख्या भएका क्षेत्रहरूमा व्यापक क्षति नपुर्याउने भए पनि विनाशकारी पहिरोहरू निम्त्याउन सक्छन् ।

लुम्बिनी मेडिकल कलेजका चिकित्सकले स्वास्थ्यमन्त्रीलाई बुझाए ज्ञापनपत्र

पाल्पा । लुम्बिनी मेडिकल कलेज पाल्पामा अध्ययनरत आवासीय (रेसिडेन्ट) चिकित्सकले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई तीन बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका छन् । आठौँ तहसरह मासिक पारिश्रमिक पाउनुपर्ने मागसहित उनीहरुले मन्त्री पौडेललाई ज्ञापनपत्र बुझाएका हुन् ।

चिकित्सकहरुले निजी मेडिकल कलेजका एमडी, एमएस, एमडिएस आवासीय चिकित्सकको मासिक पारिश्रमिक (सरकारी आठौँ तहसरह) भुलानी गरिनुपर्ने, एमडी, एमएस, एमडिएसको म्याचिङ प्रक्रिया सच्याउन माग गरेका छन् ।

उनीहरुले आयोगद्वारा प्रवेश परीक्षा अगाडि प्रकाशित निजी मेडिकल कलेजका सिटसमेत समावेश गरी अघि बढाइनुपर्ने, त्यस्तो निर्णय नमान्ने निजी मेडिकल कलेजलाई एमबिबिएस, बिडिएस, एमडिएस, एमएस, एमडिएस, डिएम, एमसिएच कार्यक्रमको सम्बन्धन खारेज, बिमालगायत सरकारी अनुदानका सम्पूर्ण कार्यक्रम रद्द गर्नेलगायतका माग गरेका छन् ।

यस्तै चिकित्सकहरुले स्नातकोत्तर कार्यक्रमलाई पूर्ण वैज्ञानिक बनाउन स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिसँग प्रतिबद्धता जनाइएबमोजिम छुट्टै नियामक अङ्गको व्यवस्थासहित कार्य समय, बिदा, पारिश्रमिक, परीक्षाको पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्ने व्यवस्था, विश्वविद्यालय र मेडिकल कलेज प्रशासनको आचरण र व्यवहार, अध्यापक जनशक्तिहरुको आचरण र व्यवहारलगायत विषय समेटी स्नातकोत्तर कार्यक्रम सञ्चालन कार्यविधि निर्माण गर्ने ड्राफ्टिङ कमिटी बनाइनुपर्ने माग मन्त्रीसमक्ष राखेका छन् ।

आफ्ना मागहरु पूरा नहुँदासम्म काममा नजाने निर्णय गरिएको एलएमसीका डा. दीपक कँडेलले बताए । उनले भने, ‘हाम्रा माग सम्बोधन नहुञ्जेलसम्म आफूले प्रदान गर्दै आएका सेवाहरु बहिष्कार गर्नेछौँ ।’ चिकित्सकले काम बहिष्कार गर्दा सेवा प्रभावित भएको अस्पतालले जनाएको छ ।

ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले आवासीय चिकित्सकका धेरै माग सम्बोधन भइसकेको र केही मागहरु तत्काल सम्बोधन गरिने विश्वास दिलाए । उनले सरकारले गरेका निर्णय कार्यान्वयन गर्न सम्बन्धित निजी मेडिकललाई आग्रह गरिसकेको बताए ।

फ्रान्सेली विदेशी भूभागमा अमेरिकाद्वारा कर कटौती

वासिङ्टन । वासिङ्टनले यस हप्ताको सुरुमा सूचीबद्ध गरिएका दुई फ्रान्सेली विदेशी क्षेत्रमा योजनाबद्ध कर घटाएको छ ।

बुधबार प्रकाशित देश र क्षेत्रहरूको सूचीमा ट्रम्पको ह्वाइट हाउसले हिन्द महासागरको क्षेत्र ला रियुनियनबाट आयातमा ३७ प्रतिशत र उत्तरी अटलान्टिकमा रहेको सानो सेन्ट–पिएरे–एट–मिक्वेलनबाट आउने वस्तुहरूमा ५० प्रतिशत शुल्क लगाउने जनाएको थियो ।

शुक्रबार उपलब्ध गराइएको सूचीको संस्करण अनुसार युरोपेली सङ्घ (इयु) को साझा भन्सार क्षेत्रको हिस्सा तर कर उद्देश्यका लागि छुट्टै क्षेत्र मानिने ला रियुनियनले त्यसको साटो १० प्रतिशत करको सामना गर्नेछ ।
प्राविधिक रूपमा युरोपेली सङ्घ (इयु) को हिस्सा नभएको सेन्ट–पिएरे–एट–मिक्वेलन पनि त्यही शुल्कको प्रभावमा पर्नेछ ।

यसले ती दुई क्षेत्रलाई अन्य फ्रान्सेली विदेशी भू–भागहरू ग्वाडेलुप, मार्टिनिक, फ्रेन्च गुयाना र मायोटेसँग समान स्थितिमा ल्याउनेछ ।

ला रियुनियनका क्षेत्रीय अध्यक्ष ह्युगेट बेल्लोले बुधबार प्रारम्भिक कर दरबारे थाहा पाएपछि ट्रम्पलाई ‘अज्ञानी’ भन्दै आलोचना गरेका थिए भने सेन्ट–पिएरे–एट–मिक्वेलनका सांसद स्टेफन लेनोर्मनले ‘अमेरिकी प्रशासनमा अक्षमता’ भनेर आक्रमण गरेका थिए ।

सूचीको शुक्रबारको संस्करणले न्युजिल्यान्ड र फ्रान्सेली प्रशान्त क्षेत्र न्यु क्यालेडोनियाको बीचमा रहेको अस्ट्रेलियाको नोरफोक टापुमा योजनाबद्ध भन्सार शुल्कहरू पनि तीव्र रूपमा घटाइएको देखिन्छ ।

दुई हजार जनसङ्ख्या भएको यो द्वीपमा प्रारम्भमा २९ प्रतिशत आयात शुल्क लाग्ने अनुमान गरिएको थियो । यो अहिले घटेर १० प्रतिशत भएको छ ।

शनिबारदेखि क्यानाडा र मेक्सिकोबाहेक सबै अमेरिकी आयातमा १० प्रतिशत भन्सार शुल्क लागू हुनेछ ।
आगामी बुधबारदेखि दर्जनौँ अमेरिकी व्यापार साझेदारका लागि दरहरू बढाइनेछ । यसमा युरोपेली सङ्घका आयातकर्ताहरूले २० प्रतिशत र चीनले ३४ प्रतिशत तिर्नुपर्नेछ ।

एक लाख लिटर पानी भण्डारण क्षमताको जुद्ध वारुणयन्त्रको शुभारम्भ

काठमाडौं । काठमाडौँ महानगरपालिकाले बालाजु औद्योगिक क्षेत्र प्रवेश मूलद्वारसँगै एक लाख लिटर पानी भण्डारण क्षमताको जुद्ध वारुणयन्त्र शाखा कार्यालय भवन सञ्चालनमा ल्याइएको छ ।

उक्त भवनको भूइँतलामा ८० हजार लिटर र छतमा २० हजार लिटर गरी एक लाख लिटर पानी भण्डारण क्षमताको भवन यही चैतदेखि सञ्चालनमा रहेको कामपा विपद् व्यवस्थापन विभागका प्रमुख जगदीश अर्यालले जानकारी दिए ।

प्रमुख अर्यालका अनुसार २०८० पुस १८ गते शिलान्यास भवन निर्माणको अवधि २०८१ फागुन मसान्तसम्म थियो । विसं २०७९ मङ्सिर २६ गते २८औँ महानगर दिवसको अवसर पारेर यस ठाउँबाट दमकल सेवा शुभारम्भ गरिएको थियो ।

क्षेत्रगत विपद्मध्येको आगलागी काठमाडौँका लागि प्रमुख समस्या बनेको छ । सहरी विकास अनियन्त्रित हुँदा सहरका सबै ठाउँमा अग्नि नियन्त्रणका लागि दमकल लैजान सक्ने अवस्था नरहेको पनि महानगरको भनाइ छ । दमकल पुग्ने ठाउँका लागि तीन वटा दमकल खरिद गर्ने तयारी गरिएको पनि महानगरको भनाइ छ ।

जुन ठाउँमा ठूला दमकल जान सक्दैनन् त्यस्ता ठाउँका लागि साना दमकल खरिद गर्ने योजनामा कामपा रहेको छ । पछिल्लो समय कामपाले साना–साना गल्लीमा हुने आगोलागी नियन्त्रणको लागि फायर ड्राइराइजर जडानको काम तीव्र रुपमा अघि बढाइरहेको छ ।

कामपामा आगलागी हुँदा दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा ‘ड्राइ राइजर’ जडान गर्न सुरू गरेको कामपाको भनाइ छ । महानगरको विपद् व्यवस्थापन विभागले यस कार्यलाई तीव्ररूपमा अगाडि बढाएको छ, भने केन्द्रीय योजनामा नभएका ठाउँमा वडाहरूले पनि वडाकै बजेटबाट यो प्रणाली जडान गरिरहेको छ ।

अहिले महानगरको ६, ७, ९, १३, १७, १८, २१, २५ र २७ मा ‘ड्राइ राइजर’ जडान भइसकेको छ,भने अन्य वडामा पनि आवश्यकताअनुसार उक्त प्रविधि जडानको काम भइरहेको नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिए । उनका अनुसार महानगरका कतिपय भित्री गल्ली दमकल र एम्बुलेन्स छिर्न नसक्ने किसिमका छन् । साँघुरा गल्लीमा आगलागी वा अन्य विपत्जन्य घटना हुँदा नियन्त्रण कठिन हुने हुँदा उक्त प्रविधि जडान गरिएको हो ।

रवि पक्राउपछि रास्वपाले गर्यो चार निर्णय, कार्यवाहक सभापतिमा डीपी अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले चार निर्णय गरेको छ ।

शुक्रबार राति लामिछाने घरबाटै पक्राउ परेपछि भर्चुअल माध्यमबाट बसेको केन्द्रीय सचिवालयको आकस्मिक बैठकले अदालतको आदेशको सम्मान गर्न र अर्को तह र ढोकामा न्यायका लागि अघि बढ्ने निर्णय गरेको छ ।

त्यस्तै पक्राउ पुर्जी नै नलिइ प्रहरीहरू सभापतिको घर पुगेको र ‘बेडरूमभित्र बसेर’ पक्राउ पुर्जी लेखेको भन्दै त्यसको विरोध जनाउने निर्णय गरेको छ ।

रास्वपाले आज चितनवमा जनयात्रा गर्ने कार्यक्रम यसअघि नै तय भएको थियो। सो जनयात्रा कार्यक्रमलाई सभापति लामिछानेकै निर्देशनअनुसार कार्यक्रम सफल पार्ने निर्णय पनि गरेको छ।

यस्ता छन् सचिवालय बैठकका चार निर्णय

१. उच्च अदालत तुलसीपुर बुटवल इजलासले पार्टी सभापति रवि लामिछानेज्यूको सम्बन्धमा जुन निर्णय गरेको छ, त्यो निर्णयलाई कानुनको एक तहको निर्णयको रूपमा बुझ्दै, पार्टी सभापति रवि लामिछानेज्यूले आफ्नो भिडियो सन्देशमा भन्नुभएझैं, अदालत र अदालतको निर्णयको सदैव सम्मान गर्ने। साथै, अदालत, संविधान र कानुनमा आधारित रही अर्को तह र ढोकामा न्यायको लागि अघि बढ्ने।

२. पक्राउ पुर्जी नलिएरै पक्राउ गर्न आउने कुरा मात्र होइन, सभापतिज्यूको घरमा — त्यो पनि बेडरुमभित्र बसेर — जुन किसिमले पूर्जी लेख्ने अनौठो अभ्यास प्रहरीले गर्‍यो, विधिको शासनमा त्यो क्षम्य हुन सक्दैन। नागरिकको घरभित्र छिरेर कानुनी कागजात बनाउने गैर-संवेदनशील र गैरकानुनी कुराको भत्सर्ना गर्ने।

३. आज चैत्र २३ गते शनिबार २ बजे भरतपुर, चितवनमा आयोजना हुन लागेको जनयात्रा शुभारम्भ सभालाई भव्य रूपमा सफल पार्ने। राज्यले विवेक गुमाएको बेला हामीले विवेक गुमाउनु हुँदैन र हामीले गर्ने सभा शान्त र सौम्य हुनुपर्छ भन्ने सभापतिको निर्देशनबमोजिम सभालाई शान्तिपूर्ण बनाउन तथा हुन सक्ने सम्भावित घुसपैठ, चलखेल तथा बिथोल्ने प्रयासहरू रोक्नका लागि सबै सदस्यहरूलाई सचेत, संयमित र गम्भीर रहन निर्देशन दिने।

४. पार्टी सभापति रवि लामिछानेले पार्टीको नेतृत्व जिम्मेवारीको लागि कार्यवाहक सभापतिमा उपसभापति डिपी अर्यालज्यूलाई तोकेकोमा त्यसलाई अनुमोदन गर्ने।

रवि लामिछाने बुढानीलकण्ठस्थित निवासबाट पक्राउ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामिछानेलाई शुक्रबार राति बुढानीलकण्ठस्थित निवासबाट पक्राउ गरेको हो ।

शुक्रवार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले पुर्पक्षका लागी थुनामा पठाउन आदेश दिएको थियो ।

धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश उल्ट्याउँदै थुनामा पठाउने उच्च अदालतको आदेशपछि सामाजिक संजालमार्फत लामिछानेले आफूमाथि ठूलो अन्याय भएको बताएका छन् । उनले भनेका छन्, ‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफैं आजै अहिले नै गिरफ्तारी दिँदैछु । साथै न्यायालयका अन्य ढोकाहरु मेरा लागि खुल्ला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु । म माथि ठूलो अन्याय भएको छ । चितवनको सभा नरोक्नुस् ।’

सुप्रिम सहकारी ठगीको अभियोगमा जिल्ला अदालत रुपन्देहीबाट धरौटीमा छुटेका लामिछानेलाई उच्च अदालत तुलसीपुरले थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्लाको आदेश बदर गरेको हो । शुक्रबार जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै उच्चले रविलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

सुप्रिम सहकारी ठगीका अर्का अभियुक्त छविलाल जोशीलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि रवि भने एक करोड धरौटीमा छुटेका थिए । रवि केही दिनअघि मात्रै पार्टी राजनीतिमा फर्किएर सभापतिको हैसियतमा बैठकसमेत राखेका थिए ।

म माथि ठूलो अन्याय भएको छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि ठूलो अन्याय भएको बताएका छन् । धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश उल्ट्याउँदै थुनामा पठाउने उच्च अदालतको आदेशपछि सामाजिक संजालमार्फत लामिछानेले आफूमाथि ठूलो अन्याय भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफैं आजै अहिले नै गिरफ्तारी दिँदैछु । साथै न्यायालयका अन्य ढोकाहरु मेरा लागि खुल्ला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु । म माथि ठूलो अन्याय भएको छ । चितवनको सभा नरोक्नुस् ।’

सुप्रिम सहकारी ठगीको अभियोगमा जिल्ला अदालत रुपन्देहीबाट धरौटीमा छुटेका रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरले थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्लाको आदेश बदर गरेको हो ।

शुक्रबार जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै उच्चले रविलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । सुप्रिम सहकारी ठगीका अर्का अभियुक्त छविलाल जोशीलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि रवि भने एक करोड धरौटीमा छुटेका थिए ।

एनपिएलमा भएको अनियमितताबारे छानबिन गर्न समिति गठन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदले नेपाल प्रिमियर लिगमा भएको अनियमितताबारे छानबिन गर्न समिति गठन गरेको छ । एनपिएलमा अवैध रूपमा विदेशी कम्पनीलाई नेपाल ल्याउनेदेखि अपारदर्शी कारोबारसम्मको अध्ययनका लागि परिषद्ले परिषद सदस्य अञ्जन धमलाको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।

समितिमा सारङ्गी निरौला र कमल दाहाल सदस्य रहेका छन् । समितिलाई छानबिनका लागि १५ दिनको समय दिएको छ । नेपालको कानुन विपरीत विदेशी कम्पनीलाई एनपिएलको व्यवस्थापनमा प्रयोग गरेको, एनपिएलको मैदानमा अनलाइन जुवा प्रवद्र्धनमा दुरुपयोग गर्दै सरोगेट ब्रान्डको प्रचार गराएको, नेपालको कानुन विपरीत प्रतियोगितामा अन्तर्राष्ट्रिय विज्ञापनहरू प्रसारण गरेकोमा एनपिएल आयोजक समिति विवादमा तानिएको थियो ।

समितिको प्रमुख सचिव पारस खड्का हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २०८१ मंसिर ८ मा एनपिएलको आयोजनाको क्रममा आयोजकले प्रचलित सार्वजनिक खरिद ऐन विपरीत हुने गरी भ्रामक सूचना जारी गर्दै नेपाली मिडिया तथा विज्ञापन उद्योगको श्रोत र क्षमताको अवमूल्यन गरेको, प्रचलित अन्य कानुनहरूको अलावा विज्ञापन नियमन गर्ने ऐन उलङ्घन गरेको थियो ।

अख्तियारले उजुरी सम्बन्धमा छानबिनका लागि युवा तथा खेलकुद मन्त्रालयमा पठाएपछि मन्त्रालयले परिषद्मा पत्राचार गरेको थियो । सोही अनुसार छानबिनका लागि समिति गठन गरिएको बताइएको छ । पारस खड्काले एनपिएलमा वुल्भत्रिपलसेभेन नामक अनलाइन जुवा खेलाउने कम्पनीको विज्ञापन राखेर अनलाइन जुवा प्रवद्र्धन गरेका थिए ।

जाजरकोट केन्द्र भएर भूकम्पको धक्का

काठमाडौं । जाजरकोट केन्द्र भएर शुक्रबार राति दुई पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार राति आठ बजेर सात मिनेटमा ५ दशमलव २ र आठ बजेर १० मिनेटमा ५ दशमलव ५ म्याग्निच्यूडको भूकम्प गएको छ ।

रविलाई थुनामा पठाउन उच्च अदालतको आदेश

बुटवल । सुप्रिम सहकारी ठगीको अभियोगमा जिल्ला अदालत रुपन्देहीबाट धरौटीमा छुटेका रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरले थुनामा पठाउने आदेश दिएको छ ।

शुक्रवार जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै उच्चले रविलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

सुप्रिम सहकारी ठगीका अर्का अभियुक्त छविलाल जोशीलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि रवि भने एक करोड धरौटीमा छुटेका थिए । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्लाको आदेश बदर गरेको हो ।

मन्त्रीहरु योजना खरिदबिक्रीमा संलग्न घटना छानबिन गर्न संसदीय समिति गठन हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारका मन्त्रीहरू योजना खरिदबिक्रीमा संलग्न भएको आरोपका सम्बन्धमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको छ ।

प्रतिपक्षी दलहरूले छानबिनको माग गर्दै प्रदेशसभा बैठक लगातार अवरुद्ध गर्दै आएकाले बैठकको गतिरोध हटाउन शुक्रबार बसेको सर्वदलीय बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।

सदनको गतिरोध हटाउँदै नियमित बैठक सञ्चालनका लागि मन्त्रीहरूमाथि लागेको आरोपका सम्बन्धमा संसदीय समिति छानबिन गठन गर्न तीन बुँदे सहमति भएको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए । उनका अनुसार समितिको गठन प्रक्रिया यही चैत २६ गते मङ्गलबार बस्ने प्रदेशसभा बैठकपछि अघि बढाइनेछ ।

बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाउँदै सभामुख मण्डलले चैत २७ गते बुधबार मन्त्रीहरूले उठाएका प्रश्नको जवाफ दिएपछि छानबिन समिति गठन गर्ने सहमति भएको बताए ।

नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले प्रधानमन्त्रीको सम्बोधन र मन्त्रीहरूबाट जवाफ आएपछि संसदीय छानबिन समिति गठन गर्ने निर्णय भएको जाकारी दिए । यसअघि सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटाउन भएका दुई सर्वदलीय बैठक निष्कर्षविहीन बनेका थिए ।

यही चैत १० गतेको प्रदेशसभा बैठकमा विपक्षी दल जनता समाजवादी पार्टी (जसपा), नेपाल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले प्रदेश सरकारका मन्त्रीहरू योजनाको खरिदबिक्रीमा संलग्न भएको, मुख्यमन्त्री सतिशकुमार सिंहले कूटनीतिक मर्यादाविपरीत भारत भ्रमण गरेको तथा सशर्त अनुदानको विषयमा छानबिन गर्नुपर्ने माग राखी सदन अवरुद्ध गरेका थिए ।

प्रदेशसभा सचिवालयमा सभामुख मण्डलको उपस्थितिमा आज बसेको तेस्रो पटकको सर्वदलीय बैठकले छानबिन समिति गठन गर्ने सहमति जुटाएको जसपाका संसदीय दलका नेता सरोजकुमार यादवले जानकारी दिए ।

भारतीय अभिनेता मनोज कुमारको ८७ वर्षको उमेरमा निधन

मुम्बई । देशभक्तिपूर्ण विषयवस्तुमा आधारित हिन्दी भाषाका चलचित्रमा अभिनय गरेका भारतीय अभिनेता मनोज कुमारको ८७ वर्षको उमेरमा शुक्रबार निधन भएको छ।

‘भारत’ कुमारको नामले प्रसिद्ध अभिनेता मृत्युप्रति सामाजिक सञ्जालमा देश विदेशबाट श्रद्धाञ्जलि व्यक्त गरिएको छ। उनले हिन्दी सिनेमाका लागि अभिनेता, फिल्म निर्देशक, पटकथा तथा गीत लेखनका साथै सम्पादकका रूपमा योगदान गरेका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुढ हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) का सदस्य समेत रहेका कुमारको मुटुसम्बन्धी समस्याका कारण मुम्बईमा निधन भएको थियो।

भारतका प्रधानमन्त्री मोदीले कुमारलाई भारतीय सिनेमाको ‘प्रतीक’ को संज्ञा दिँदै भने, “उनको कामले राष्ट्रिय गौरवको भावनालाई प्रज्वलित गरेको छ र पुस्तौँ पुस्तालाई प्रेरणा दिइरहनेछ।”

आफ्नो व्यवसायिक पेशामा कुमारको अभिनयको लागि भारतीयहरूले उनलाई उच्च आदर दिने गरेका छन्। उनलाई हिन्दी फिल्म निर्देशनमार्फत् एकता र राष्ट्रिय गौरवमा ध्यान केन्द्रित गर्ने सिने कलाकारका रूपमा चिनिन्थ्यो।

हरिकृष्ण गोस्वामीको रूपमा जन्मिएका उनले बलिउड परम्परामा आफ्नो नाम मनोज कुमार राखेका थिए।

उनले सिनेमाको लागि भारतको सर्वोच्च सम्मान दादासाहेब फाल्के पुरस्कारसहित धेरै राष्ट्रिय पुरस्कारहरू प्राप्त गरेका थिए।

कुमारले सन् १९५० को दशकको अन्त्यतिर भारतीय सिनेमामा डेब्यु गरेका थिए।

उनले ‘उपकार’ (१९६७), ‘पूरब और पछिम’ (१९७०) र ‘क्रान्ति’ (१९८१) लगायत देशभक्तिपूर्ण विषयवस्तुका थुप्रै चलचित्रमा अभिनय गरेका थिए।

इजरायली ड्रोन आक्रमणमा दुई छोरासहित हमासका वरिष्ठ नेताको मृत्यु

बेरुत । लेबनानको सिडोनस्थित एक अपार्टमेन्टमा शुक्रबार भएको इजरायली ड्रोन आक्रमणमा हमासका वरिष्ठ अधिकारी हसन फरहत र उनका दुई छोराको मृत्यु भएको लेबनानी सेना र अल जदीद टिभी च्यानलले जनाएको छ ।

इजरायली ड्रोनले मध्य सिडोनको अल–जहरास्थित हमास नेता हसन फरहत बस्ने अपार्टमेन्टमा क्षेप्यास्त्र प्रहार गरेको लेबनानको सुरक्षा स्रोतले जनाएको छ । क्षेप्यास्त्र प्रहारबाट अपार्टमेन्टमा आगलागी हुदाँ फरहत र उनका दुई छोराको मृत्यु भएको स्रोतले जनाएको छ ।

अपार्टमेन्टमा फैलिएको आगो अग्नि नियन्त्रक तथा नागरिक सुरक्षाका कर्मचारीहरूले निभाएको तथा लेबनानी रेड क्रसका एम्बुलेन्सले शवहरू अस्पताल पुर्याएको रिपोर्ट गरिएको छ ।

सन् २०२४ नोभेम्बर–२७ मा सुरु भएको हमला हेजबुल्लाह र इजरायलबिचको युद्धविरामको बावजुद इजरायली सेनाले लेबनानको सिमानाका पाँच प्रमुख बिन्दुहरूमा सैन्य उपस्थिति कायम राखी आक्रमण गरिरहेको छ । 

ट्रम्पद्वारा ५० लाख डलरको ‘गोल्ड कार्ड’ भिसा सार्वजनिक

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एयर फोर्स वानमा ५० लाख अमेरिकी डलरमा बिक्री भएको पहिलो ‘गोल्ड कार्ड’ अनावरण गरेका छन् ।

आफ्नो अनुहार अंकित प्रोटोटाइप र ‘द ट्रम्प कार्ड’ लेखिएको फोटो बोकेका रिपब्लिकन राष्ट्रपतिले पत्रकारसँग भने, “विशेष भिसा सम्भवतः दुई हप्ताभन्दा कम समयमा उपलब्ध हुनेछ।”

“बहुत रोमाञ्चक कुरा म पहिलो खरीदकर्ता भएको छु,” उनले भने । ट्रम्पले यसअघि परम्परागत ग्रिनकार्डको उच्च मूल्यको संस्करण नयाँ भिसाको बिक्रीले रोजगारी सिर्जना गर्ने र अमेरिकी राष्ट्रिय घाटा कम गर्न प्रयोग गर्न सकिने बताएका थिए ।

आफ्नो दोस्रो कार्यकालका लागि लाखौँ कागजातविहीन आप्रवासीलाई देश निकालालाई प्राथमिकता दिएका अर्बपति पूर्व ‘रियल इस्टेट’ व्यवसायीले नयाँ कार्डअत्यधिक मूल्यवान् अमेरिकी नागरिकताको मार्ग हुने बताए ।

फेब्रुअरीमा उनले आफ्नो प्रशासनले ‘शायद १० लाख’ कार्डहरू बेच्ने आशा गरेको बताएका थिए र उनले यसको खरिद्का लागि रूसी कुलीन वर्गहरू योग्य हुन सक्छन् भन्ने कुरालाई समेत इन्कार गरेका थिएनन् ।

नेपालमा मानव संसाधन विकासका लागि ‘एओटिएस’ जापानको योगदान महत्वपूर्णः श्रममन्त्री भण्डारी

पाटन (ललितपुर)। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपालमा मानव संसाधन विकासका लागि एसोसिएसन फर ओभरसिज टेक्निकल कोअपरेसन एन्ड सस्टेनेबल पार्टनरसिप (एओटिएस) जापानको योगदान महत्वपूर्ण रहेको बताएका छन्।

एओटिएस जापान नेपाल एलुम्नाई सोसाइटीको आयोजनामा बिहीबार भएको साउथ एसियन फेडरेसन अफ एओटिएस एलुम्नाई सोसाइटी फेडेरेसनको १४औँ अधिवेशन उद्घाटन सत्रमा उनले नेपालमा मानव संसाधन विकासका साथै जनशक्तिको गुणस्तर, व्यवस्थापन, प्रविधि तथा औद्योगिक विकासका क्षेत्रमा एओटिएस जापानले विगत ३४ वर्षदेखि स्वयंसेवी रूपमा योगदान दिँदै आएको भन्दै प्रशंसा गरे।

‘नेपालको मानव संसाधन विकासलाई जापान तथा दक्षिण एसियाली मुलुकहरूसँग द्विपक्षीय तथा क्षेत्रीय सहयोगमार्फत प्रवर्द्धन गर्ने एओटिएस तथा यसका एलुम्नाईहरूको समर्पण, सामूहिक भावना तथा दृढ इच्छाशक्ति अत्यन्त प्रशंसनीय रहेको छ, यस सम्मेलनमा महत्वपूर्ण विषयमा गरिने छलफलहरू उपलब्धिमूलक हुनेछन्’, उनले भने।

मन्त्री भण्डारीले नेपालमा एओटिएसको निरन्तर सक्रियता तथा यसको योगदानले यहाँको औद्योगिक विकास, व्यवस्थापन तथा प्रविधिगत नवप्रवर्तनमा दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गरे। उनले सम्मेलनका माध्यमबाट दक्षिण एसियाली मुलुकहरूबीच आपसी समझदारी, प्रविधि आदानप्रदान तथा व्यावसायिक अवसरहरू सृजना गर्नेसमेत बताए ।

नेपाल एओटिएस एल्मुनाई सोसाइटीका अध्यक्ष किशोरभक्त माथेमाले यस सम्मेलनले नेपाललाई अन्तरराष्ट्रिय मञ्चमा मानव संसाधन विकासका क्षेत्रमा अग्रसर राष्ट्रका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको बताए। शनिबार सम्म सञ्चालन हुने अधिवेशनमा बंगलादेश, भारत, जापान, नेपाल र श्रीलंकाकाका अल्मुनाई सोसाइटीका ५० भन्दा बढी प्रतिनिधि तथा सहभागीहरूको उपस्थिति रहेको उनले जानकारी दिए।

केपी ओलीसँगको भेट फलदायीः नरेन्द्र मोदी

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मासँगको भेट फलदायी भएको बताएका छन् ।

थाइल्याण्डको बैङ्ककस्थित होटल माडारिन ओरियन्टलमा भएको भेटमा प्रधानमन्त्री ओलीसँग ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रहरूका विषयमा छलफल भएको मोदीले जानकारी दिए ।

भेटपछि मोदीले सामाजिक संजालमा लेखेका छन्, ‘बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग फलदायी भेटघाट भयो । भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिन्छ । हामीले भारत–नेपाल मित्रताका विभिन्न पक्षहरूमा छलफल गर्यौं, विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रहरूमा । हामीले यस वर्षको बिम्स्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणामहरू, विशेष गरी विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रहरूमा पनि कुरा गर्यौं।’

दुई नेताबीच ४५ मिनेट कुराकानी भएको थियो । प्रधानमन्त्री ओलीले पनि मोदीसँगको भेट सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।

भारतीय प्रधानमन्त्रीसँग राम्रो कुराकानी भयोः प्रधानमन्त्री ओली

बैङ्कक । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा सकारात्मक र राम्रो कुराकानी भएको बताएका छन् ।

भेटवार्ता कक्षबाट बाहिरिने क्रममा सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले भने, ‘म र भारतीय प्रधानमन्त्री मोदीजीबीच राम्रो र सकारात्मक संवाद भएको छ । अहिलेलाई यति ।’

थाइल्याण्डको बैङ्ककस्थित होटल माडारिन ओरियन्टलमा प्रधानमन्त्री ओलीको भारतीय प्रधानमन्त्री मोदीसँग करिब ४५ मिनेट एक्लाएक्लै भेटवार्ता भएको थियो ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि उनीहरुबीच पूर्वनिर्धारित तालिकाअनुसार भेटवार्ता भएको हो ।

यसअघि उनीहहरुबीच संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा गत असोज ७ गते भेटवार्ता भएको थियो ।

तिनकुने घटनाको अनुसन्धानमा सहयोग गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले गत शुक्रबार काठमाडौंको तिनकुनेमा भएको घटनाको अनुसन्धानका लागि सहयोग गर्न आग्रह गरेको छ ।

शुक्रबार विज्ञप्ति जारी गरी आयोगले चैत १५ मा भएको तिनकुने घटनाका सम्बन्धमा छानबिन/अनुसन्धान कार्य जारी रहेको भन्दै आवश्यक सहयोग पुर्याउनसम्बद्ध सबैलाई आग्रह गरेको हो ।

आयोगले घटनाको अनुसन्धानका क्रममा आवश्यकताअनुसार विशेषज्ञको समेत सहयोग लिने जनाएको छ । त्यसैगरी आयोगले ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदीलाई पुर्जी बिनै घरमा प्रहरी निगरानीमा राखेको पाइएको जनाएको छ ।

त्यसैगरी प्रहरी हिरासतमा रहेका विभिन्न व्यक्तिको अवस्था र घटनामा परी घाइते भएकाहरूको उपचारको अवस्थाबारे पनि टोलीले विभिन्न अस्पतालमा पुगी जानकारी लिएको आयोगले जनाएको छ ।

तिनकुनेमा राज्यले दमन गरेको भन्दै छानबिन गर्न राप्रपाद्वारा आयोगसँग माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले गत शुक्रबार काठमाडौंको तिनकुनेमा प्रदर्शनका क्रममा सरकारले दमन गरेको भन्दै छानबिनका लागि राष्ट्रिय मानवअधिकार आयोगसँग माग गरेको छ ।

राजावादी समूहको प्रदर्शनका क्रममा सरकारको तर्फबाट भएको दमन, घुसपैठ र झुटा मुद्दामा नेताहरूलाई पक्राउ गरिएको भन्दै छानबिनका लागि राप्रपाले आयोगसँग माग गरेको हो । शुक्रबार राप्रपाको प्रतिनिधिमण्डल आयोग पुगेर आयोगका अध्यक्ष तपबहादुर मगरसँग छलफल गरेको छ ।

प्रहरीले तिनकुने घटनामा हिंसाका लागि उकासेको भन्दै राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरासहितलाई पक्राउ गरेको छ ।

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक)को छैटौं सम्मेलन सकिएपछि शुक्रबार बैंककमा उनीहरूबीच ’साइडलाइन’ भेटवार्ता भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

भेटमा द्विपक्षीय हित, सहकार्य र आपसी सम्बन्धका विषयमा छलफल भएको छ। भेटमा प्रधानमन्त्री ओलीले मोदीलाई आगामी जेठ २, ३ र ४ गते काठमाडौंमा आयोजना हुने ‘सगरमाथा संवाद’ कार्यक्रममा आउन पुन : आग्रह गरेका छन्

। यस अगाडि पनि परराष्ट्रमन्त्री आरजु राणा राइसिना डायलगमा सहभागी हुन गत चैतमा नयाँ दिल्ली गएका बेला विदेशमन्त्री एस जयशंकरमार्फत प्रधानमन्त्री मोदीलाई प्रमुख अतिथिको निमन्त्रणा दिएर आएकी थिइन् ।

भेटमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल र परराष्ट्र सचिव अमृत राई सहभागी थिए । मंगलबार बैंकक प्रस्थान गरेका प्रधानमन्त्री ओलीले बुधबार थाइल्याण्डकी समकक्षी पे थोङ थान् शिनावातसँग औपचारिक भेटवार्ता गरेका थिए।

दीर्घकालीन खानेपानी व्यवस्थापनका लागि ऊर्जा र खानेपानी मन्त्रालयबीच सम्झौता

काठमाडौँ । दीर्घकालीन खानेपानी व्यवस्थापनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र खानेपानी मन्त्रालयबीच सम्झौता भएको छ ।

ऊर्जामन्त्री दीपक खड्का र खानेपानीमन्त्री प्रदीप यादवको उपस्थितिमा शुक्रबार ऊर्जा मन्त्रालयमा दिगो खानेपानी व्यवस्थापनका लागि जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडी र खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी बज्राचार्यले सम्झौता गरेका हुन् ।

सम्झौतामा खानेपानी, सरसफाइ तथा स्वच्छताका लागि सबैलाई सर्वसुलभ रुपमा पर्याप्त, सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता सेवामा समन्यायिक पहुँचको विकास अध्ययन तथा अनुसन्धान र प्रविधि विकाससम्बन्धी काम खानेपानी मन्त्रालय र जलस्रोतको दीर्घकालीन योजना, दिगो विकास, संरक्षण, उपयोग, नियमन र पानीको बाँडफाँट तथा जलस्रोतसम्बन्धी अध्ययन, अनुसन्धान र प्रविधिसम्बन्धी काम ऊर्जा मन्त्रालयले गर्ने उल्लेख छ ।

सम्झौताले नेपालको संविधान, दिगो विकासका लक्ष्य, खानेपानी सरसफाइ तथा स्वच्छता नीति, २०८०, खानेपानी तथा सरसफाइ ऐन–२०७९ ले खानेपानी तथा सरसफाइलाई मौलिक हकका रुपमा परिभाषित गरेअनुसार सबैलाई सधँैका लागि सुरक्षित खानेपानी पहुँच पुर्याउन लक्ष्य प्राप्तिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सम्झौतामा खानेपानी मन्त्रालयले भविष्यमा कार्यान्वयन गर्न लागेका राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामध्ये जलस्रोतको बहुउपयोगको साझेदारी गर्नुपर्ने आयोजना यकिन गरी त्यस्ता आयोजनाका लागि आवश्यक खानेपानीको स्रोत, जल स्थानान्तरण स्थान, जलस्रोतको परिमाणको जानकारी सिँचाइ मन्त्रालयलाई गर्ने उल्लेख छ ।

यस्तै, सिँचाइ मन्त्रालयबाट भविष्यमा निर्माण गरिने आयोजना, निर्माणाधीन तथा सञ्चालमा रहेका सिँचाइ आयोजनाबाट खानेपानी मन्त्रालयले कार्यान्वयन गर्ने सुनकोशी थोक खानेपानी वितरण प्रणाली, बबई कोहलपुर थोक खानेपानी वितरण प्रणालीलगायत अन्य खानेपानी आयोजनाका लागि सिँचाइ मन्त्रालयको कार्यक्षेत्र तथा संस्थागत उद्देश्य प्राप्तिमा कुनै असर नपर्ने गरी खानेपानी मन्त्रालयको अनुरोधअनुसार आवश्यक परिमाणमा पानी उपलब्ध गराउने उल्लेख छ ।

दुवै मन्त्रालयबीच आवश्यक समन्वय तथा छानबिन गर्नका लागि सम्पर्क व्यक्ति तोकिने छ । खानेपानी मन्त्रालयले पानीको अभावले सञ्चालनमा नआएका प्रणालीहरु र आवश्यक पानीको परिमाणको भू–सूचना प्रणालीसहितको तथ्याङ्क सङ्कलन गरी सिँचाइ मन्त्रालयलाई उपलब्ध गराउने तथा निर्माणाधीन तथा सञ्चालनमा रहेका सिँचाइ तथा बहुउद्देश्यीय आयोजना सम्बद्ध खानेपानी मन्त्रालयबाट माग भएका तथ्याङ्क, उपलब्धता  आवश्यकताअनुसार खानेपानी मन्त्रालयलाई उपलब्ध गराउन सिँचाइ मन्त्रालय लाग्ने उल्लेख छ ।

दश वर्षका लागि गरिएको उक्त सम्झौता संशोधन, विस्तार तथा परिवर्तन गर्नुपरेमा दुवै मन्त्रालयको लिखित सहमति आवश्यक पर्नेछ । त्यस अवसरमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जीव बराल र खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

आफूले बैंक तथा वित्तीय संस्थालाई कर्जा प्रवाहमा सहजता प्रदान गर्न लचिलो नीति अवलम्बन गरेको गभर्नर अधिकारीको दाबी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल समाप्त हुँदैछ । यसै अवसरमा शुक्रबार बैंकको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै गभर्नर अधिकारीले कोभिड महामारी, रुस–युक्रेन युद्ध तथा आपूर्ति सङ्कटका कारण उत्पन्न आर्थिक चुनौतीहरूको सामना गर्दै मौद्रिक नीतिमा सुधार गरी देशको आर्थिक स्थायित्व कायम गर्न सफल भएको बताए ।

गभर्नर अधिकारीले आफ्नो कार्यकालमा बाह्य क्षेत्रको दबाबलाई कम गर्न आवश्यक नीतिगत सुधार गरेकाले मुलुकको वित्तीय स्थायित्वलाई सबल बनाउन मद्दत पुगेको उल्लेख गरे । अहिले १४ दशमलव ४ महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिति रहेको जानकारी दिँदै मौद्रिक नीतिहरूलाई समयसापेक्ष रूपमा परिमार्जन गर्दै मुद्रास्फीति लक्ष्यभित्रै सीमित राख्न सफल भएको उल्लेख गरे ।

“कोभिड महामारीको प्रभावलाई न्यून गर्न राष्ट्र बैंकले विभिन्न सहुलियतपूर्ण वित्तीय तथा मौद्रिक नीतिहरू लागू गरेको थियो”, उनले भने, “जटिल परिस्थितिमा बैंक तथा वित्तीय संस्थालाई कर्जा प्रवाहमा सहजता प्रदान गर्न लचिलो नीति अवलम्बन गरिएको थियो ।”

लचिलो नीतिले व्यवसाय सञ्चालन तथा लगानी प्रवद्र्धनमा सकारात्मक असर पार्नुका साथै आर्थिक पुनरुत्थानमा टेवा पुर्याएको उनको भनाइ थियो । वित्तीय स्थायित्व सुनिश्चित गर्न बैंक तथा वित्तीय संस्थाको नियमन र सुपरिवेक्षण सुदृढ बनाइएको र जोखिम न्यूनीकरणका उपायहरू प्रभावकारी रूपमा लागू गरिएको गभर्नर अधिकारीले बताए।

पछिल्लो पाँच वर्षमा डिजिटल भुक्तानी प्रणालीमा उल्लेखनीय वृद्धि भएको, मोबाइल बैंकिङ, क्युआर कोड भुक्तानी, इन्टरनेट बैंकिङ तथा डिजिटल वालेटको प्रयोग उल्लेखनीय रूपमा बढेको उनको भनाइ थियो । “आर्थिक वर्ष २०७७/७८ को तुलनामा २०८०/८१ मा विद्युतीय भुक्तानी कारोबारमा दोब्बर वृद्धि भएको छ, जसले डिजिटल वित्तीय समावेशितालाई प्रवद्र्धन गर्न मद्दत गरेको छ”, उनले भने ।

गभर्नर अधिकारीले डिजिटल कारोबारको वृद्धिसँगै केन्द्रीय बैंकले साइबर सुरक्षालाई पनि प्राथमिकतामा राख्दै आवश्यक नीतिगत तथा प्रविधिगत सुधारहरू अवलम्बन गरेको बताए ।

त्यस्तै संस्थागत सुधारका र कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन ११६ नीतिगत व्यवस्था तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको उनको भनाइ छ । वित्तीय प्रणालीलाई सुदृढ बनाउन अन्तरराष्ट्रिय अभ्यासअनुसारका नियमन तथा सुपरिवेक्षण विधि लागू गरिएको र बैंकिङ प्रणालीलाई डिजिटलाइजेसनतर्फ उन्मुख गराउने नीति अवलम्बन गर्दै वित्तीय संस्थाको साइबर सुरक्षामा विशेष ध्यान दिएको उनले उल्लेख गरे ।

उनले राष्ट्र बैंकको सुधार यात्रा निरन्तर रहने उल्लेख गर्दै  आगामी दिनमा पनि बैंकले प्रभावकारी नीति अवलम्बन गर्दै देशको आर्थिक स्थायित्व तथा समृद्धिमा योगदान पुर्याउने विश्वास व्यक्त गरे । कार्यक्रममा गभर्नर अधिकारीले राष्ट्र बैंकद्धारा विगत पाँच वर्षमा सम्पादित प्रमुख कार्य तथा उपलब्धि समेटेर तयार परिएको पुस्तकसमेत सार्वजनिक गरेका थिए ।

बैङ्कक सोचपत्र २०३० जारी गर्दै बिम्स्टेक शिखर सम्मेलन सम्पन्न

बैङ्कक । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन बैङ्कक सोचपत्रपत्र, २०३० जारी गर्दै सम्पन्न भएको छ ।

यस क्षेत्रको व्यापार विस्तार, सम्पर्क सञ्जाल र मानवीय सुरक्षालाई केन्द्रमा राखेर सम्मेलनले समृद्धि, लचिलोपन र खुलापनको नाराअन्तर्गत बिम्स्टेक बैङ्कक भिजनसहित छबुँदे प्रस्ताव पारित गरेको हो । पारित प्रस्तावबारे जानकारी दिन आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पेथोङ्थान शिनावात्राले  पत्रकार सम्मेलन गरेकी  थिइन्। 

प्रस्तावमा बिम्स्टेकलाई प्रभावकारी बनाउन कार्यमुखी संयन्त्र गठन, यसको भविष्य निर्धारणका लागि प्रबुद्ध व्यक्तिहरूको समूह (इपिजी) गठन, म्यारिटाइम ट्रान्सपोर्ट सम्झौता, भूकम्पबाट प्रभावित म्यान्मार र  थाइल्याण्डलाई सहयोग गर्ने विषयसहितको संयुक्त वक्तव्य, पर्यटन र संस्कृतिलाई प्राथमिकता दिँदै जनता–जनताको सम्पर्क विस्तारका विषयहरू रहेका छन् । 

थाई प्रधानमन्त्री शिनावात्राले शिखर सम्मेलनको सम्मुखमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो औपचारिक थाइल्याण्डको भ्रमण गरेर दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिएको बताइन् । नेपालका प्रधानमन्त्री ओलीको औपचारिक भ्रमणको एक दिनपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट पनि औपचारिक थाइल्याण्ड भ्रमण भएको थियो ।

शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सदस्य मुलुकका सरकार प्रमुखले सम्बोधन गरेका थिए ।