तीज गीतमा कृषिका कुरा


गण्डकी । तीज गीत भन्नासाथ पहिले महिलाका दुःख, पीरवेदना र चोट सार्वजनिक गर्ने माध्यमका रुपमा बुझिन्थ्यो । तीज गीतमार्फत महिला अधिकार र मुक्तिको आवाज मुखरित गरिन्थ्यो । पछिल्लो समय महिलाका मुद्दामा मात्र तीज गीत सीमित छैन । तीजका नाममा भड्किला गीत गाउने प्रवृत्ति पनि देखिन्छ । तर पोखरामा केही वर्षयता तीज गीतलाई कृषिसँग जोडेर प्रतियोगिता आयोजना हुँदै आएको छ ।
तीजको छेको पारेर आठौँ संस्करणको ‘कृषि तीज गीत प्रतियोगिता’ बिहीबार आयोजना हुन लागेको हो । गण्डकी प्रदेशस्तरीय उक्त प्रतियोगितामा मनाङ र मुस्ताङबाहेक नौ जिल्लाका कृषक समूहले भाग लिने प्रतियोगिताका संयोजक घनश्याम पाण्डेले जानकारी दिएका छन् । जिल्लास्थित कृषि ज्ञान केन्द्रले छनोट गरेर पठाएका समूहबीच प्रतिस्पर्धा हुने उनको भनाइ छ ।
प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको समन्वय र पब्लिक फोरके टेलिभिजनद्वारा आयोजित उक्त प्रतियोगिता पोखरा उद्योग वाणिज्य सघंको सभाकक्षमा सञ्चालन हुनेछ । प्रतियोगिताका विजेता समूहले रु ५५ हजार ५५५, दोस्रो हुने समूहले रु ३३ हजार ३३३, तेस्रोले रु २२ हजार २२२ र सान्त्वना हुने समूहले रु ११ हजार १११ पुरस्कार र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
उत्कृष्ट नृत्य र वेषभूषातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिताका संयोजक पाण्डेले बताए। प्रतियोगितामा कलाकार राजु परियार, प्रजापति पराजुली, सशीला गौतम, राजन कार्की, सरला पाण्डेलगायको साङ्गीतिक प्रस्तुति रहने जनाइएको छ । दर्शकका लागि प्रवेश निःशुल्क गरिएको छ । गत वर्षको प्रतियोगितामा बागलुङको जिल्ला कृषि सहकारी सघं विजेता बनेको थियो ।
कृषि पेसाको सम्मानसहित किसानलाई व्यावसायिक कृषिमा प्रेरित गर्ने उद्देश्यले कृषि तीज गीत प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका संयोजक पाण्डेले बताएका छन्। किसानले भोग्दै आएका समस्या, गुनासा, सफलताका कथा आदि विषयवस्तुलाई तीज गीतमार्फत उठाउने गरिएको उनको भनाइ छ । तीज पर्वको अवसर पारेर पोखराका अन्य सघंसंस्थाले पनि विभिन्न मेला र उत्सवको आयोजना गरेका छन् ।