`

डब्ल्यूएचओका सदस्य राष्ट्रहरूद्वारा भविष्यका महामारीको सुंयक्त सामना गर्ने सम्झौता

जेनेभा  । कोभिड–१९ सङ्कटको समयमा गरिएका गल्तीहरू नदोहोर्‍याई भविष्यका महामारीहरूलाई सम्बोधन गर्ने उद्देश्यले एतिहासिक सम्झौतामा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) सदस्य मुलुकहरू सहमत भएका छन् ।

सङ्गठनको मुख्यालयमा तीन वर्षदेखि चलिरहेको वार्ता प्रतिनिधिहरूले बुधवार सम्झौता प्रमाणित गरेसँगै समाप्त भएको छ ।

“यो ‘सुरक्षित संसारतर्फको साझा यात्रा’को महत्वपूर्ण कोसेढुङ्गा हो, डब्लुएचओका प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले बताए ।

कोभिड–१९ ले लाखौँं मानिसहरूको ज्यान लिनुका साथै अर्थतन्त्रलाई ध्वस्त पारेको पाँच वर्षपछि, एच–५एन–१, बर्ड फ्लूदेखि एमपोक्स र इबोलासम्मका नयाँ स्वास्थ्य खतरा लगाएतका विषयहरू वार्तामा समावेश थिए ।

सम्झौताको मूल उद्देश्य औषधि कम्पनीहरूसँग रोगको द्रुत साझेदारीलाई अनुमति दिने महामारीसँग लड्न सक्षम पार्नु हो ।

सम्झौताको मस्यौदामा विश्वका देशहरूले भविष्यको महामारीको खतरा रोक्न र सुरक्षा गर्न आफ्नो साझा प्रतिबद्धता गरेका छन् ।

चिनियाँ राष्ट्रपति सी र मलेसियाली नेताबीच भेटवार्ता

क्वालालम्पुर। चिनियाँ राष्ट्रपति सी चिनफिङले मलेसियाका राजासँग बुधबार भेटवार्ता गरेका छन्। सी को उद्देश्य बेइजिङलाई ‘आधिपत्य होइन, भरपर्दो साझेदार’का रुपमा स्थापित गर्नु रहेको विश्लेषकहरूले बताएका छन्।

सी यसै साता दक्षिणपूर्वी एसियाको भ्रमणका लागि प्रस्थान गरेका थिए उनले यसअघि भियतनामको भ्रमण गरिसकेका छन्। भने मलेसियापछि राष्ट्रपति सीले कम्बोडियाको पनि भ्रमण पनि सामेल हुनेछ।

बेइजिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दण्डात्मक कर प्रणालीको स्थिर विकल्पको रूपमा आफूलाई स्थापित गर्ने प्रयास गरिरहेको छ।

सीलाई मलेसियाका राजा सुल्तान इब्राहिमले बुधबार सुनौलो गुम्बज भएको इस्ताना दरबारमा रङ्गीचङ्गी समारोहबीच स्वागत गरेका थिए।

राजासँगको वार्तापछि सीले प्रधानमन्त्री अनवर इब्राहिमलाई भेट्ने कार्यक्रम छ। प्रधानमन्त्री इब्राहिमले बुधबार नै क्वालालम्पुरबाहिर रहेको प्रशासनिक राजधानीका रूपमा चिनिने पुत्रजयामा राष्ट्रपति सीका लागि रात्रिभोजको आयोजना गर्नेछन्।

मलेसियाली विदेश मन्त्रालयका अनुसार दुवै नेताले विभिन्न द्विपक्षीय सम्झौतामा हस्ताक्षर गर्नेछन्। मलाया विश्वविद्यालयको अन्तर्राष्ट्रिय तथा रणनीतिक अध्ययन विभागका एसोसिएट प्रोफेसर खु यिङ हुइले भने, ‘यो मित्रताको मात्र कुरा होइन, यो बेइजिङप्रतिको गुरुत्वाकर्षणको क्षेत्रीय केन्द्रलाई पुनः व्यवस्थित गर्ने विषय हो।’

उनले एएफपीसँगको कुराकानीमा अमेरिकी व्यापार उपायहरूले विश्व बजारलाई अस्तव्यस्त बनाइरहेको बेला क्षेत्रीय ऐक्यबद्धताका लागि साहसको परीक्षण गर्न यो भ्रमण योजनाबद्ध कदम भएको बताए।

दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) क्षेत्रीय समूहका सदस्यहरू अमेरिकी करबाट सबैभन्दा बढी प्रभावित भएका छन्, यसले वासिङ्टनका मित्र र सहयोगीलाई समेत अलग गर्ने खतरा छ।

ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा एकजनाको मृत्यु, एक गम्भीर

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ याङसिला चोक नजिकै बोलेरो दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने सहचालक गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा परी घाइते भएका चालक पाँचथर फिदिम नगरपालिका–३ निवासी २५ वर्षीय सरोज श्रेष्ठलाई तापेथोकस्थित आधारभूत स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको र स्वास्थ्यकर्मीले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

आज लेलेपबाट तापेथोकतर्फ आउँदै गरेको मे १ च ५१९३ नम्बरको बोलेरो अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो ।

दुर्घटनामा सहचालक फिदिम नगरपालिका–३ कै सौजन श्रेष्ठको ढाडमा गम्भीर चोट लागेको छ । सामान्य उपचारपछि थप उपचारका लागि उनलाई जिल्ला अस्पताल ताप्लेजुङ पठाइएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए ।

दुर्घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी तापेथोकबाट प्रहरीको टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार घटनास्थल तापेथोक प्रहरी चौकीबाट करिब ३ किलोमिटर उत्तरतर्फ पर्छ ।

नगरकोट भ्रमण वर्षमा दुई दिनमा एक लाख पर्यटकको आगमन

भक्तपुर । यही वैशाख १ गतेदेखि सुरु भएको ‘नगरकोट भ्रमण वर्ष २०८२’ मा दुई दिनमा एक लाख पर्यटकको आगमन भएको छ ।

पर्यटकीय क्षेत्र नगरकोटमा एक वर्षमा एक लाख बाह्य र १० लाख आन्तरिक पर्यटक भित्राने लक्ष्य राखिएको यस अभियानअन्तर्गत दुई दिनमा एक लाख पर्यटकको आगमन भएको हो ।

पर्यटन प्रवद्र्धन, स्थानीयको आयस्रोत वृद्धि, रोजगारीका अवसर सृजना, विश्व पर्यटन बजारमा नगरकोटको पहिचानलाई स्थापितलगायत उद्देश्यसहित ‘नगरकोट भ्रमण वर्ष २०८२’ आयोजना गरिएको हो ।

नयाँ वर्षका दिन राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेको भ्रमण वर्षका अवसरमा पहिलो दिन ५० हजारभन्दा बढी पर्यटकको आगमन भएको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जानकारी दिए । उनका अनुसार आज बिहानसम्म नगरकोटमा एक लाखभन्दा बढी पर्यटकको आगमन भएको छ ।

उनले भने, “नगरकोट भ्रमण वर्षको सुरुमा पर्यटकको आगमनले पर्यटन व्यवसायी उत्साहित हुनुभएको छ । गत चैत अन्तिम दिन कुनै पनि होटलका कोठा खाली थिएनन्, होमस्टेसमेत भरिएका थिए । वैशाख १ गते एकैदिन ५० हजारभन्दा बढी पर्यटकको आगमन भएको थियो । आजसम्ममा एक लाख पर्यटकको आगमनले हामी उत्साहित भएका छौँ ।”

भ्रमण वर्ष उद्घाटनस्थल बतासे डाँडामा ६० वटा स्टलमा स्थानीय खानाका परिकार, घरेलु उत्पादनलगायत सामग्री बिक्री भइरहेको छभने वैशाख २ गते सोही स्थानमा इन्द्रेणी सांस्कृतिक समूहले भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । 

आज तेस्रो तथा उद्घाटन कार्यक्रमको समापनका दिन गायक प्रकाश सपुत र स्थानीय सांस्कृतिक समूहको प्रस्तुति रहेको छ । सांस्कृतिक कार्यक्रममा २५ हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकको आगमन भएको नगरकोट नाल्दुम पर्यटक विकास समितिका उपाध्यक्ष एवं चाँगुनारायण–६ का वडाध्यक्ष धनबहादुर लामाले जानकारी दिए ।

नगरकोटमा सुरु भएको भ्रमण वर्ष १२ महिना अर्थात् आगामी चैत मसान्तसम्म सञ्चालन हुने जानकारी दिँदै नगरप्रमुख खत्रीले चाँगुनारायण, मण्डनदेउपुर, बनेपा र शङ्खरापुर नगरपालिकाले संयुक्त रूपमा आयोजना गरेको भ्रमण वर्षको सुरुवात पूर्ण रूपमा सफल भएको बताए । 

नगरकोट आएका हजारौँ पर्यटकले यहाँको हिमाली दृश्य, सूर्योदय, सूर्यास्त, यहाँका विभिन्न स्टलको अवलोकन गर्नुका साथै यहाँका प्राकृतिक सौन्दर्यताको समेत अवलोकन गरेका उनको भनाइ छ । 

नगरकोटमा उद्घाटनका तीन दिनमा एक लाख स्वदेशी तथा विदेशी पर्यटकलाई भित्र्याउने उद्देश्य रहेकामा उक्त उद्देश्य पूरा भएको भन्दै एक वर्षमा ११ लाख पर्यटकलाई नगरकोट ल्याउने र पर्यटनको विश्वबजारमा नगरकोटलाई चिनाउने नगरप्रमुख खत्रीले बताए । 

भ्रमण वर्षका क्रममा वर्षभरि चारवटै पालिकाले प्रत्येक महिनामा कम्तीमा एउटा संयुक्त रूपमा नगरकोट केन्द्रित पर्यटक लक्षित कार्यक्रम सञ्चालन गर्ने र सबै पालिकाले आफ्ना नगरहरूमा पनि पर्यटकीय गन्तव्य बनाउने गरी थप कार्यक्रम वडास्तरबाट सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिए । 

भ्रमण वर्षले चारवटै पालिकाको ऐतिहासिक सम्पदा, कला, संस्कृति, प्राकृतिक सौन्दर्यता, विभिन्न जातीय चाडपर्व, यहाँका उत्पादनलगायत सम्पूर्ण क्षेत्रका बारेमा स्वदेशी तथा विदेशी पर्यटकलाई जानकारी दिने र लुकेर रहेका पर्यटकीय क्षेत्रलाई उजागर गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यलाई पूरा गर्ने विश्वास लिइएको नगरप्रमुख खत्रीले बताए ।

नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले नगरकोटबाट देखिने सूर्योदय, सूर्यास्त र हिमाली दृश्य मात्र नभई यहाँका वडा नं १ देखि ९ सम्मका सम्पदाका बारेमा पर्यटकलाई जानकारी गराउँदै प्रचारप्रसार गर्ने, यहाँका सबै पर्यटकीय गन्तव्यलाई देश र विदेशमा प्रचार गर्नेगरी भ्रमण वर्ष सफल पार्ने बताए ।

उनले नगरकोटसँगै चाँगुनारायण नगरपालिकाका नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्ने, त्यसलाई संरक्षण गर्ने, विकास गर्ने र नगरकोट आउने पर्यटक चाँगुनारायणका वडावडामा नयाँ गन्तव्यको रूपमा विकास भएका पर्यटकीय क्षेत्रमा पुर्याउने, नगरकोटसँग सिमाना जोडिएका पालिकाका पर्यटकीय क्षेत्रमा पर्यटकलाई पुर्याउने, यहाँका पर्यटकीय क्षेत्रको विकासमा फड्को मार्ने, दीर्घकालीन योजना तयार गर्ने, पर्यटकको बसाइ लम्ब्याउनेगरी भ्रमण वर्ष शुभारम्भ भएको जानकारी दिए । 

नगरकोट पुग्ने सबै सडक स्तरोन्नति गरेको, चारवटै पालिकाबाट सहजै नगरकोट पग्ने व्यवस्था गरेको, काठमाडौँ नगरकोट सिँधा बस सञ्चालन गरेको, नगरकोटलाई सिङ्गारिएर झकिझकाउ बनाएको बताउँदै भ्रमण वर्षले पर्यटन व्यवसायीलाई समेत उत्साहित बनाएको उपप्रमुख बुढाथोकीले उल्लेख गरे । 

नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष एवं होटल व्यवसायी नवीन लामाले नगरकोट आउने पर्यटकलाई एक वर्षसम्म खान र बस्न १० देखि १५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको जानकारी दिए ।

सरकारका कामको शैली परिवर्तन अपरिहार्यः महामन्त्री थापा

कलैया । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारका कामको शैली परिवर्तन अपरिहार्य रहेको बताएका छन् । बुधबार बारा क्षेत्र नम्बर ३ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले सरकारले काम नगरेका कारण नै असन्तुष्टि बढेको बताए ।

उनले अहिले नेपालमा बनेका प्रत्येक गठबन्धनका प्रधानमन्त्रीहरूले दिनमा एक पटक सरकार टिक्छ भन्नुपर्ने अवस्था रहेको बताए । महामन्त्री थापाले आठ दश वर्षको बीचमा बनेका सरकारका प्रधानमन्त्रीको हालत त्यस्तै भएको र यो क्रम जारी रहेको बताए ।

उनले भने, ‘हिजो बेलुकीसम्म नटिक्लाजस्तो थियो, आज बिहानदेखि टिक्ने भयो भनेर भन्नुपर्ने अवस्था छ । प्रत्येक गठबन्धनको हालत यस्तै हो ।’

उनले संविधान संशोधन नगर्दासम्म कुनै दलको बहुमत नआउने भएकाले त्यसको अन्त्यका लागि संविधान संशोधन अपरिहार्य रहेको बताए । उनले आफ्नो पार्टीमा फरक मत र आलोचना गर्न पाइने बताए ।

महामन्त्री थापाले आलोचना गर्दैमा कांग्रेसको कोही पनि भीम रावल बन्नु नपर्ने बताए । उनले भने, ‘ यो कांग्रेस हो । यो हाम्रो पार्टी हो, बा को पार्टी होइन । कांग्रेस पार्टीमा प्रश्न गर्न पाइन्छ ।’

प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेद्वारा सुझाव पेस

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले विषयगत सुझाव बुझाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार एमालेका महासचिव शंकर पोखरेलसहितका नेताहरूले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई  सुझाव पत्र हस्तान्तरण गरेका हुन् ।

एमालेले प्रधानमन्त्रीमा ओली नियुक्त भएपछि यस प्रकारको सुझाव दिए पनि त्यसबेला अघिल्लो सरकाबाट नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भइसकेकाले ती सुझाव समावेश हुन नसकेको सन्दर्भमा ताजगीकरणसहित पुनः सुझाव पत्र दिइएको महासचिव पोखरेलले अवगत गराए ।

उनले एमालेले मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित संकल्प यात्राका आधारमा अघिल्लो सरकारलाई दिएका सुझाव पनि कार्यान्वयनका आउन बाँकी रहेकाले सोको कार्यान्वयनका लागि प्रधानमन्त्रीसँग आग्रह गरे ।

प्रधानमन्त्री ओलीले विकासका लागि ‘भिजनरी’ सोच भएको एमालेजस्तो पार्टीले केन्द्रीय विभागहरूको रायका आधारमा दिइएका सुझाव सरकारको नीति तथा कार्यक्रम र बजेट तर्जुमाका लागि उपयोगी हुने विश्वास व्यक्त गरे ।

मधेस प्रदेशका पूर्वप्रमुख अहिराजमाथि यौन दुव्र्यवहारको आरोप

काठमाडौं । यौन दुव्र्यवहार मुद्दामा मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराजविरूद्ध प्रहरीले अनुसन्धान थालेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले यौन दुव्र्यवहारको विषयमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् । उनीविरुद्ध यौन दुव्र्यवहारको उजुरी परेको छ ।

मेडिकल कलेजको सिट र शुल्क पुनरावलोकन गर्न कार्यदल गठन

काठमाडौँ । प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार भएको चिकित्सा शिक्षा आयोगको १८औँ बैठकले निजी मेडिकल कलेजमा एमबिबीएस र बिडिएसको सिट सङ्ख्या तथा शुल्क संरचना पुनरावलोकनका लागि ११ सदस्यीय कार्यदल गठन गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको  बैठकबाट १० दिनभित्र राय सुझाव पेस गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा दीपक काफ्लेको संयोजकत्वमा कार्यदल गठन गरिएको हो ।
कार्यदलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विकास देवकोटा, त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शिक्षा शास्त्र सङ्कायका डीन डा मोहन शर्मा, काठमाडौँ विश्वविद्यालयअन्तर्गत चिकित्सा शास्त्र सङ्कायका डीन डा मनोज हुमागाईँ, विज्ञहरू डा भगवान कोइराला, डा रमेशकान्त अधिकारी, डा दिव्यासिंह शाह, डा मङ्गल रावल, नेपाल मेडिकल कलेजका अध्यक्ष डा अनिल कार्की र एसोसिएसन अफ प्राइभेट मेडिकल तथा डेन्टल कलेजका अध्यक्ष डा ज्ञानेन्द्र कार्की सदस्य छन् ।

एसोसिएसन अफ प्राइभेट मेडिकल तथा डेन्टल कलेजले आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता उपलब्ध गराउन कठिनाइ हुने विषयमा सरकारको ध्यानाकर्षण गराएको थियो । विद्यार्थीहरूले उक्त भत्ता नपाए पुनः आन्दोलन गर्ने चेतावनी दिएपछि प्रधानमन्त्री ओलीले आज आयोगको बैठक आह्वान गरेका हुन् ।

यसअघि गत माघ २५ गतेको आयोगको १६औँ बैठकले आवासीय चिकित्सकहरूको आन्दोलनको माग सम्बोधन गर्दै निजी मेडिकल कलेजले सरकारीसरह (आठौँ तह)को मासिक ४८ हजार ५०० निर्वाह भत्ता कायम गर्नुपर्ने निर्णय गरेको थियो । 

सिट सङ्ख्या र शुल्क वृद्धिका विषयमा कार्यदलले अध्ययन गरी सुझाव पेस गरेपछि निजी मेडिकल कलेजले सोही अनुसार आयोगबाट तोकिएको निर्वाह भत्ता दिनुपर्ने र विद्यार्थी भर्नासम्बन्धी ‘म्याचिङ’ सुरु हुनेछ । आयोगको अर्काे बैठक यही वैशाख १५ गते बस्ने छ ।

नेप्से सात अङ्कले बढ्यो

काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सात दशमलव शून्य एक अङ्कले बढेर दुई हजार छ सय ९६ दशमलव २३ को विन्दुमा कायम भएको छ । 

आज तीन सय २९ कम्पनीको एक करोड ६६ लाख ११ हजार पाँच सय ३२ कित्ता सेयर ६४ हजार तीन सय ६० पटक खरिदबिक्री हुँदा रू सात अर्ब २६ करोड ५१ लाख २२ हजार दुई सय ४१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

वित्त समूहको उपसूचक शून्य दशमलव ६७, होटल तथा पर्यटन समूह शून्य दशमलव १६, लगानी शून्य दशमलव ३५, उत्पादन तथा प्रशोधन शून्य दशमलव १६, लघुवित्त शून्य दशमलव शून्य छ र अन्य समूहको उपसूचक एक दशमलव शून्य सात प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ । 

सबैभन्दा बढी जलविद्युत् समूह एक दशमलव ६३ र विकास बैंक समूह एक दशमलव ११ प्रतिशतले बढेको छ । बैंकिङ शून्य दशमलव ३९, जीवन बिमा शून्य दशमलव शून्य पाँच, म्युचुअल फण्ड शून्य दशमलव ३६, निर्जीवन बिमा शून्य दशमलव ५५ र व्यापार समूह शून्य दशमलव ११ प्रतिशतले बढेको छ ।
  
आजको कारोबारमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड र बलेफी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी छ दशमलव ८१ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको रू ५९ करोड ४१ लाख ५३ हजार नौ सय ६० बराबरको १९ लाख ५० हजार आठ सय छ कित्ता सेयर किनबेच भएको छ ।

‘विद्यालय शिक्षा विधेयकका शिक्षक माग सम्बोधन हुनेगरी ल्याइने’

काठमाडौँ । ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ यथाशीघ्र जारी गर्नुपर्ने माग राख्दै १३ दिनदेखि मुलुकका विभिन्न स्थनका शिक्षकहरूले काठमाडौँमा प्रदर्शन गरिरहेका छन् । 
नेपाल शिक्षक महासङ्घको नेतृत्वमा शिक्षकहरूले गत चैत २० गतेदेखि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म माइतीघरबाट नयाँ बानेश्वरसम्म प्रदर्शन गरिरहेका छन् । 

यसैबीच, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयकलाई यथाशीघ्र ल्याउन छलफलसहित आवश्यक तयारी भइरहेको समितिकी सदस्य दीपा शर्माले जानकारी दिइन् । उनका अनुसार विधेयकमा शिक्षकका मागलाई सम्बोधन हुनेगरी सहमतिको विषयलाई छिटो टुङ्ग्याउन उपसमिति गठन भएर काम भइरहेको छ । 

“शिक्षकका मागलाई सम्बोधन हुनेगरी उपसमितिले काम गरिरहेको छ”, शर्माले भनिन्, “संसद्को आगामी अधिवेशनमा विधेयकलाई पेस गर्ने तयारी समितिले गरिरहेको छ ।” उनका अनुसार समितिका सदस्य छविलाल विश्वकर्माको संयोजकत्वमा गठित उपसमितिले शिक्षकसँग यसअघि गरिएका सम्झौताअनुसार विधेयकको मस्यौदालाई अन्तिम रूप दिने काम गरिरहेको छ ।

विधेयकले शिक्षकको दरबन्दी स्थानीय तहलाई हस्तान्तरणको प्रस्ताव गरेको छ । तर शिक्षकहरूले भने शिक्षक छनोट सङ्घीय सरकार मातहत रहेको शिक्षक सेवा आयोगले गर्ने भएकेले शिक्षक नियुक्ति पनि सङ्घीय सरकारले नै गर्नुपर्ने माग राखेर प्रदर्शन गरिरहेका छन् ।

यस्तै विधेयकमा शिक्षकको सरुवा एक स्थानीय तहबाट अर्को स्थानीय तहले गर्ने उल्लेख गरिएकामा शिक्षकले शिक्षकलाई सङ्घअन्तर्गत राख्नुपर्ने बताउँदै आएका छन् । विधेयकमा विद्यालयको स्थापना र सञ्चालनको अनुमति राष्ट्रिय मापदण्डको आधारमा स्थानीय तहबाट हुने, विद्यालयमा आधारभूत र माध्यमिक तह रहने, राष्ट्रिय पाठ्यक्रम प्रारूपका आधारमा पठनपाठन र परीक्षा सञ्चालन गर्नेलगायत व्यवस्था गरिएको छ ।

यस्तै, नियुक्ति, सरुवा र अवकाशका विषय स्थानीय तहले हेर्ने, शिक्षक तथा कर्मचारीले कार्यरत रहँदा र अवकाशपछि पाउने सुविधा सुनिश्चित गर्ने, हाल कार्यरत राहत शिक्षक अनुदान कोटा, विशेष शिक्षक अनुदान कोटा तथा प्राविधिक धारका शिक्षक तथा प्रशिक्षक अनुदान कोटा दरबन्दीमा परिणत हुने, विद्यालय तथा शिक्षकको अभिलेख राष्ट्रिय किताबखानामा रहने व्यवस्था गरिएको छ ।
 
विधेयकमा विद्यालयका माध्यामिक र आधारभूत तहका साधारण तथा विषयगततर्फका शिक्षकलाई प्रथम, द्धितिय र तृतीय श्रेणीमा विभाजन गरिने तथा यो ऐन प्रारम्भ हुँदाका बखत कायम रहेका तह र श्रेणीका शिक्षक यसै ऐन बमोजिम समान तह र श्रेणी कायम हुने व्यवस्था गरिएको छ । 

यस्तै शिक्षकले राजनीतिक दल वा दलसँग आवद्ध सङ्गठनको सदस्यता लिन राजनीतिक गतिविधिमा भाग लिन, राजनीतिक पदका लागि हुने निर्वाचनमा भाग लिन वा कसैको निमित्त मत वा चन्दा माग्न वा कुनै प्रकारको राजनीतिक क्रियाकलाप संलग्न नहुने व्यवस्था विधेयकमा गरिएको छ । साथै सार्वजनिक विद्यालयका शिक्षकका लागि विद्यालय शिक्षक सेवाको गठन गरिने उल्लेख छ ।

समितिका सदस्य महिन्द्र राय यादवले शिक्षकसँग विगतमा गरिएका सम्झौताअनुसार उपसमितिले विधेयकको काम गरिरहेको बताए । “शिक्षकको माग करिबकरिब सम्बोधन हुनेगरी हामीले विधेयक बनाइरहेका छौँ”, उनले भने, “उपसमितिले बनाएको विधेयकलाई समितिमा छलफल गरी पास गरेर संसद्मा पेस गर्न तयार गर्दछाँै ।”

समिति सदस्य यादवले शिक्षकलाई सङ्घअन्तर्गत राख्ने विषयमा भने केही समस्या रहेको बताए । “संविधानले नै आधारभूत र माध्यामिक शिक्षालाई स्थानीय तहको अधिकारमा राखेको छ”, उनले भने, “तर शिक्षकको माग आधारभूत र माध्यामिक तहको शिक्षालाई सङ्घअन्तर्गत राख्नुपर्ने माग छ । त्यो माग तत्काल पूरा गर्न सक्ने सम्भव छैन । त्यसका लागि संविधान नै संशोधन गर्नुपर्दछ ।”

नेपालको संविधान २०७२ को अनुसूचि ८ मा स्थानीय तहको अधिकार अन्तर्गत आधारभूत र माध्यामिक तहको शिक्षालाई राखिएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले हाल विद्यार्थी भर्नाको समय, एसइईको उत्तरपुुस्तिका परीक्षणर कक्षा १२ को राष्ट्रिय परीषाको समय भइरहेकाले प्रदर्शनका कार्यक्रम स्थगन गरी कार्यथलोमा फर्कन सम्पूर्ण शिक्षकलाई आग्रह गरेको हो । 

सङ्घीय संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक यथाशीघ्र पारित गर्ने प्रयोजनका लागि सरकारले संसद्को अधिवेशन यही वैशाख १२ गते आह्वान गरिसकेको छ ।

कवाड संकलकलाई लछारपछार गर्ने नगरप्रहरी बर्खास्त

काठमाडौं । कवाडी संकलकलाई लछारपछारमा संलग्न नगर प्रहरीलाई काठमाडौं महानगरपालिकाले बर्खास्त गरेको छ ।

बुधबार बिहान साइकल लिएर हिँडिरहेका एकजना कवाडी संकलकलाई नगर प्रहरीले लछारपछार गरेको दृष्य सामाजिक संजालमा देखिएको थियो । नगर प्रहरीको व्यवहार देखेर सर्वत्र आलोचना भएको थियो ।

त्यसपछि महानगरले घटनामा संलग्न नगर प्रहरीलाई बर्खास्त गरिएको जनाएको छ । काठमाडौं महानगरपालिका–४ बालुवाटार क्षेत्रमा प्रहरीले अमर्यादित तथा गैरव्यवसायिक ढंगले सम्पादन गरेको भन्दै जिम्मेवारीबाट मुक्त गरिएको महानगर नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिएका छन् ।

जमुनाह नाकामा कडाइ

 राँझा । सीमावर्ती भारतीय बजार रुपैडिहामा किनमेल गर्न जाने नेपाली उपभोक्तालाई निरुत्साहित गर्न नेपालगन्जस्थित जमुनाह नाकामा कडाइ गरिएको छ ।

दैनिक उपभोग्यलगायत सबैजसो खाद्यवस्तु भारतीय बजारबाट नेपाल भित्रिँदा भन्सार राजस्व र नेपालगञ्‍जको व्यवसायमा असर पुगेपछि मुख्य भन्सार नाका जमुनाहमा कडाइ गरिएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले बताए ।

‘एक सयभन्दा बढी मूल्यको वस्तु नेपाल ल्याउँदा भन्सार राजस्व तिर्नुपर्ने कानुनी व्यवस्था भए पनि व्यावहारिकताका आधारमा दैनिक उपभोग्य वस्तु आयातमा केही सहुलियत दिँदा भन्सार राजस्व असुली र नेपालगन्जको व्यापार व्यवसायमा नकरात्मक असर परेकाले कडाइ गरिएको हो’, उनले भने, ‘राजस्व चुहावट नियन्त्रण गर्दै नेपालगन्ज भन्सार कार्यालयको राजस्व असुली लक्ष्य हासिल गर्न राजस्व परामर्श समितिको निर्णयानुसार जमुनाहनाकामा कडाइ गरिएको छ। ‘

ग्रामीण नाकामा पनि सुरक्षा गस्ती टोलीले नियमित कार्यलाई थप सक्रियताका साथ अगाडि बढाएको उनको भनाइ छ । नेपालगञ्जका व्यवसायीहरूले बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी र नेपालगन्ज भन्सार कार्यालय प्रमुख पौडेललाई जमुनाहनाकामा भन्सार कडाई गर्न पटकपटक आग्रह गर्दै आएका थिए ।

“भन्सार कडाइ गर्दा सुरुआतमा कतिलाई अप्रिय पनि लाग्ला, ससाना कुरामा पनि किन टाइट गरेको हो भनेर गुनासो पनि आउन थालेको छ । एक बोरा चिनी, एक बोरा चामलमा पनि राष्ट्रिय कर छ”, बाँकेका प्रमुख जिल्ला अधिकारी जोशीले भने, ‘नेपालकै खान्छु बरु कम खान्छु भनेर यतैको किन्न थाल्यौँ भने यहीको व्यापार फस्टाउँछ, त्यसैले हामीले भन्सारलाई अलिकति टाइट गर्न खोजेका छौँ।’

नेपालगन्ज भन्सार कार्यालयले विगतका आर्थिक वर्षमा लगातार निर्धारित लक्ष्य हासिल गर्न सकेको छैन । गत आवमा लक्ष्य हासिल नभएपछि नेपालगन्ज भन्सार कार्यालयको लक्ष्य चालु आर्थिक वर्ष २०८१/८२ का लागि गत आवको तुलनामा रु एक अर्ब घटाइएको थियो ।

गत आव २०८०/८१ का लागि रु २८ अर्ब ६६ करोड २५ लाख ३५ हजार लक्ष्य निर्धारण भएकामा घटाएर चालु आवमा भन्सार असुली लक्ष्य रु २७ अर्ब १८ करोड ३५ लाख ८९ हजारमा झारिएको थियो ।

यद्यपि गत आवमा रु १८ अर्ब १५ करोड ७२ लाख ३९ हजार भन्सार राजस्व असुली भएको अवस्थामा लक्ष्य भने चालु आवका लागि रु २७ अर्ब बढी तोकिएकाले चालु आवमा पनि भन्सार लक्ष्य हासिल गर्न चुनौती देखिएको छ ।

नेपालगन्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ साउनदेखि फागुनसम्म रु १२ अर्ब ६५ करोड ९६ लाख राजस्व सङ्कलन गरेको छ । यो आवमा रु २७ अर्ब १८ करोड ३५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको नेपालगन्ज भन्सार कार्यालयले प्रतिशत हिसाबले आठ महिनामा ४६ दशमलव पाँच प्रतिशतमात्र राजस्व सङ्कलन गरेको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख पौडेलले जानकारी दिए ।

राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख १२ गतेबाट सुरु हुने गरी अधिवेशन आह्वान गरेका हुन् ।

बैठक वैशाख १२ गते दिउँसो १ बजे बस्ने तय भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका निम्ति राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

कांग्रेस र कम्युनिष्टहरु भनेको लोकतन्त्रको दुई हाँगाः भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले आफू कांग्रेस र कम्युनिष्ट गुणले नयाँ मान्छे भएको बताएका छन् ।

बुधबार कांग्रेस नेता स्व.चन्द्रप्रसाद न्यौपानेको पहिलो स्मृति ग्रन्थको लोकार्पण कार्यक्रममा भट्टराईले राजनीतिक जीवनको सुरुवातमा कांग्रेस निकट रहेको हुनाले आफू कांग्रेस र कम्युनिष्ट दुवै भएको बताएका हुन् ।

उनले राजतन्त्र विरोधी चेतना बोकेर लागेको मान्छे आफू ३३ सालसम्म कांगे्रस निकट रहेको बताए । उनले भने, ‘शेरबहादुर देउवालगायत साथीहरुलाई सुनाउन चाहन्छु म त सामान्तवाद निरङ्कुशता राजतन्त्र विरोधी चेतना बोकेर लागेको मान्छे त्यसैले ३३ सालसम्म म कांग्रेस निकट रहें । त्यसैले अलिकति कांग्रेस, अलिकति कम्युनिष्ट हो त्यसैले म दुईवटै गुण भएको अलिकति अगाडि बढेको नयाँ मान्छे हो ।’

कांग्रेस र कम्युनिष्टहरु भनेको लोकतन्त्रको दुई हाँगा भएको भन्दै भट्टराईले कांग्रेस र कम्युनिष्टहरुले लिएको विचार अपुरो भएको बताए ।

यू–१९ विश्वकप एसिया छनोटमा नेपालद्वारा हङकङमाथि ९ विकेटको जित

काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा नेपालले हङकङमाथि ९ विकेटको जित निकालेको छ । बुधबार हङकङले दिएको ११६ रनको लक्ष्य नेपालले १२. ३ ओभरमा १ विकेटको क्षतिमा भेट्टाएको हो ।

नेपालका लागि ओपनर साहिल पट्टेल ४२ र कप्तान नरेन भट्ट ३९ रनमा अविजित रहे । यस्तै, ओपनर निरजकुमार यादवले २३ रनको योगदान दिए । हङकङका लागि सायन पुरीले १ विकेट लिए ।

त्यसअघि तल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा अलआउट हुँदै ११५ रनको योगफल तयार पारेको थियो ।

आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा नेपालको यो लगातार तेस्रो जित हो । नेपालले यसअघि यूएईलाई ५ रन र ओमानलाई ८ विकेटले पराजित गरेको थियो ।

कर वृद्धिबारे निर्णय अब चीनको हातमाः ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङले बोइङ सम्झौताबाट पछि हटेको आरोप लगाउँदै ह्वाइट हाउसले व्यापारका विषयमा वार्ताको टेबुलमा आउने वा नआउने निर्णयका लागि बल अब चीनको हातमा रहेको बताएका छन् ।

“बल चीनको कोर्टमा छ । चीनले हामीसँग सम्झौता गर्नुपर्छ । हामीले उनीहरूसँग सम्झौता गर्नु पर्दैन,” ट्रम्पकाले प्रेस सचिव कारोलिन लेभिटले पढेर सुनाएको वक्तव्यमा भनिएको छ।

“चीन र अन्य कुनै पनि देशबीच कुनै भिन्नता छैन, फरक यत्ति हा भूगोलका हिसाबले कुनै ठूलो छ र कुनै सानो छ,” उनले भने ।

ट्रम्पले अमेरिकी उड्डयन कम्पनी बोइङसँगको ठूलो सम्झौताबाट चीनपछि हटेको बताएपछि लिभिटको यो टिप्पणी आएको हो ।

ब्लुमबर्गको एक समाचार रिपोर्टपछि बेइजिङले एयरलाइन्सहरूलाई बोइङ कम्पनीका जेटहरूको थप डेलिभरी नलिन आदेश दिएको थियो ।

अमेरिकासँग कर विवाद बढेपछि चीनद्वारा नयाँ व्यापार दूत नियुक्त

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयातमा लगाएको करवृद्धिको विरोधमा चीनले प्रतिशोधात्मक उपाय अवलम्बन गरेपछि बढेको तनाव व्यवस्थापनमा पहल गर्न भन्दै विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले बुधबार नयाँ व्यापार दूत नियुक्त गरेको जनाएको छ।

बेइजिङको मानव संशाधन मन्त्रालयले आफ्नो वेबसाइटमा जारी गरेको विज्ञप्तिमा ली चेङगाङले अन्तर्राष्ट्रिय व्यापार वार्ताका लागि प्रतिनिधि र वाणिज्य उपमन्त्रीको भूमिका निर्वाह गर्नेछन् । 

यसअघि विश्व व्यापार संगठनका लागि बेइजिङका राजदूत र स्विट्जरल्याण्डको जेनेभामा संयुक्त राष्ट्रसंघका लागि उपस्थायी प्रतिनिधिका रुपमा काम गरिसकेका ५८ वर्षीय लीलाई कुशल कुटनीतिज्ञका रूपमा हेर्ने गरिएको छ।

उनले चीनको पेकिङ विश्वविद्यालय र जर्मनीको युनिभर्सिटी अफ ह्याम्बर्गबाट कानूनमा डिग्री हासिल गरेका छन्।

उनलाई वाङ शौवेनको उत्तराधिकारीका रूपमा जिम्मेवारी तोकिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। वाङले सन् २०२० मा चीन र अमेरिकाबीच व्यापार सम्झौता गर्ने वार्तामा भाग लिएका थिए।

ट्रम्पले विशेष गरी चिनियाँ आयातलाई लक्षित गरी विश्वव्यापी कर आक्रमण सुरु गरेदेखि नै बेइजिङ र वासिङ्टनबीच करबारे चर्काचर्कीको खेल सुरु भएको छ।

प्रतिशोधका कारण चीनमाथि लगाइएको अमेरिकी कर १४५ प्रतिशत पुगेको छ भने अमेरिकी सामानमा बेइजिङको कर १२५ प्रतिशत पुगेको छ।

चीनले आफ्नो अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.४ प्रतिशतले वृद्धि भएको बुधबार बताएको छ, जुन अपेक्षाभन्दा माथि भएको बताइएको छ।

उपमेयर डंगोल विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, स्वीजरल्याण्डको जेनेभाबाट विश्व आर्थिक मञ्च २०२५ का लागि विश्वव्यापी युवा नेताहरूको मञ्चमा चयन भएकी छन् ।

दक्षिण एशियाली मुलुकबाट ११ जना प्रतिनिधि छानिएका छन् । त्यसमध्ये नेपालबाट छानिनेमा उनी मात्र हुन् । डंगोल, यसअघि विश्व आर्थिक मञ्चको ग्लोबल सेपर्स काठमाडौँ हवको सदस्य थिइन् ।

विभिन्न ५० देशबाट प्रतिनिधित्व रहेको यस समूहमा ७ क्षेत्रमध्ये सरकारको प्रतिनिधित्व गर्दै उपप्रमुख डंगोल चयन भएकी हुन् । यस समूहमा ४० वर्षभन्दा कम उमेर भएका विश्वका ११६ जना युवा नेतृत्व छन् ।

फोरमले उपप्रमुखको संक्षिप्त परिचय उल्लेख गर्दै आफ्नो वेभसाइटमा लेखेको छ, ‘उहाँ युवाहरुलाई प्रेरणा प्रदान गर्ने र सांस्कृतिक पहिचानलाई आधुनिकतासँग जोड्ने राजनीतिज्ञ हुनुहुन्छ ।’

‘विश्व स्तरीय मञ्चमा प्रतिनिधित्व गर्न पाउनुले थप जिम्मेवारी महसुस भएको छ । राजनीतिक क्षेत्रबाट विशिष्ट पद ग्रहण गरिसक्नुभएका व्यक्तित्वहरुसँगको सहकार्यबाट युवाहरुलाई नेतृत्वका लागि प्रोत्साहित हुने काम गरिनेछन् ।’ चयन भएपछिको संक्षिप्त प्रतिक्रियामा उपप्रमुख डंगोलले धारणा व्यक्ति गरिन् ।

फोरमको युवा नेतृत्व समूहमा शैक्षिक क्षेत्रबाट १० जना, आर्ट, कल्चर एण्ड स्पोर्टस्बाट ८ जना, व्यापारिक क्षेत्रबाट ४९ जना, नागरिक समाजबाट ११ जना, मिडियाबाट ५ जना, सरकारबाट १९ जना, सामाजिक उद्यमशीलता क्षेत्रबाट १३ जना चयन भएका छन् ।

सरकार, व्यवसाय, नागरिक समाज, शिक्षा, मिडिया र कला क्षेत्रका नेतृत्वलाई एकै ठाउँमा ल्याएर आफूले नेतृत्व गरेको क्षेत्रसँगै समुदाय र बाहिरका क्षेत्रहरुको दिगो र सकारात्मक प्रभाव सिर्जना गर्नु नेतृत्व चयनको उद्देश्य हो ।

विश्वव्यापी समस्याको सुधार र व्यवहारिक समाधान गर्न प्रतिबद्ध युवा नेताको सहभागिता यसको शक्ति हो । यसले विश्वव्यापी सञ्जाल निर्माण, सामुहिक कार्य र नविनताका लागि कृतिम वौद्धिकता (एआई) सहितका प्रविधिको प्रयोग गरेर नयाँ दृष्टिकोण सिर्जना गर्नेछ । यसबाट परिवर्तनको अपेक्षा गरिएको छ ।

युवा नेताहरुले परिवर्तन अंगाल्न सक्नेछन् । प्रगतिलाई तीब्र बनाउन काम गर्नेछन् । अरुलाई प्रेरित गर्नेछन् । नेतृत्व चयनका विषयमा फोरम अफ योङ् ग्लोबल लिडर्स फाउन्डेसनका अध्यक्ष निकोल स्वाबको भनाइ छ ।

सन् २००४ मा स्थापना भएदेखि, युवा ग्लोबल लिडर्स फोरममा १२० भन्दा बढी देशका १ हजार ४ सय भन्दा बढी सदस्यहरु हुन् ।

सरकारको कार्यशैलीमा विश्वप्रकाशका सात असहमति

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको आलोचना गदै कार्यशैली परिवर्तन गर्न सुझाव दिएका छन् । बुधबार सामाजिक संजालमार्फत महामन्त्री शर्माले सात बुँदामा असहमति प्रकट गरेका हुन् ।

उनले नगर्नुपर्ने निर्णयमा हतारो गर्ने र गर्नुपर्ने निर्णयमा बिलम्ब गर्ने गरिएको भन्दै यस्ता कामलाई समर्थन गर्न नसकिने उल्लेख गरेका छन् ।

यस्ता छन् महामन्त्री शर्माका सात बुँदे असहमति

सरकार चल्नुपर्छ, तर कार्यशैली बदल्नुपर्छ !

१) सामाजिक संजाल विधेयक नियमनका नाममा नियन्त्रणको नियत साथ ल्याइयो । अध्यादेशको प्रत्येक अक्षरमा संवाद गरिएको संयन्त्रमा यो विधेयक ल्याउनुपुर्व कुनै संवाद भएन ।

२) कुलमान प्रकरण मा हटाउनुहुन्न भन्ने काँग्रेस भित्रको फरक मत र आम जनमतको हेक्का राखिएन । असन्तुष्टिको आगोमा चरु हाल्नुहुन्न भन्ने सजगता सरकारमा देखिएन ।

३) शिक्षक आन्दोलनको माग सम्बोधन गर्न ढिलाइ हुँदै गएको छ । सरकारले निर्णय गर्न मिल्ने बुँदाहरुमा महासंघलाई विश्वासमा लिएर अविलम्ब निर्णयमा पुग्नुपर्छ, विधेयकमार्फत टुंगोमा पुग्ने बुँदाहरुप्रति साझा प्रतिबद्धता गर्न सकिन्छ, गरिनुपर्छ ।

४) अख्तियार सम्बन्धि विधेयक राज्यव्यवस्था समितिले उपसमितिमार्फत करिब टुंगोमा पुर्याएको थियो, यसलाई निर्देशित रूपमा ‘होल्ड’ गराउने कार्य आलोच्य भएको छ र यो अनुचित छ ।

५) त्रिविका उपकुलपतिले पदत्याग गर्नुपर्ने अवस्था आउनु र फेरिपनि त्रिविमा बेथितिले प्रश्रय पाउनु जुनकुनै कोणबाट पनि गलत भएको छ ।

६) राष्ट्रबैंकको गभर्नर नियुक्तिको बिषयसँग गाँसिएर अनेकथरी प्रश्न उठिसक्दा नियुक्तिमा अझै अलमल जारी रहनु दुःखद छ । मौद्रिक नीतिको नेतृत्व गर्ने, समग्र बैंकिङ क्षेत्रको नियामक संस्थाको नेतृत्व चयनमा संवेदनशील अग्रसरता नदेखिनु सरकारको सक्षमता माथिकै प्रश्न हो ।

७) नेपाल प्रहरीको एआइजी पदमा ६ वटा दरबन्दी रिक्त भएको महिनादिन पुग्न लाग्दा समेत नियुक्तिमा अलमल छ, सरकारले यस्तो विलम्बबाट प्रशंसा हासिल गर्न सक्दैन ।

सिरहाकी आनन्दीदेवीको मृत्यु प्रकरणः छानबिन गर्न गृहमन्त्रीको निर्देशन

सिरहा । गृहमन्त्री रमेश लेखकले सिरहाको नवराजपुर गाउँपालिका–३ स्थित जगतपुरकी २४ वर्षीया आनन्दीदेवी सदायको मृत्यु प्रकरणबारे सत्यतथ्य छानबिन गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् ।

करिब चार महिनाअघि यौन दुव्र्यवहारमा परेकी सदाय मङ्गलबार आफ्नै घरमा मृत फेला परेकी थिइन् ।
गृहमन्त्री लेखकले यस घटनाका सम्बन्धमा गम्भीर चासो व्यक्त गर्दै प्रहरी महानिरीक्षक दीपक थापालाई फोन गरी घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गर्न निर्देशन दिएको गृह मन्त्रालयको सचिवालयले जनाएको छ ।

मृतक आनन्दीदेवी गत पुस ९ गते सिरहा बरियारपट्टी गाउँपालिका–१ मा बस्ने दिदीलाई भेट्न हिँडेको बखत स्थानीय २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवबाट यौन दुव्र्यवहारमा परेकी जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एवं प्रहरी उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।

उनका अनुसार निजहरू उपर जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएकामा उनीहरू पक्राउ पर्न सकेका छैनन् ।

प्रहरी उपरीक्षक शर्माले आफू जिल्लामा आउनुअघिको घटना भएकाले यस सम्बन्धमा सुरुदेखि सुक्ष्म ढङ्गले अनुसन्धान गरिरहेको जानकारी दिए ।

“गत फागुन २५ गते निजहरूविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको थियो । घटनालगत्तै पीडकहरू फरार छन् । उनीहरू नेपाल छाडी भारतमा लुकेका हुनाले खोजतलास गर्न चुनौती भए पनि प्रहरी प्रशासन निरन्तर लागिरहेको छ”, उनले भने, “पीडितमाथि यौन दुव्र्यवहारलगत्तै प्रहरीले मेडिकल जाँच, जिल्ला अदालतबाट पीडकविरुद्ध पक्राउ पुर्जी जारी गर्ने काम गरेको छ ।”

प्रहरी उपरीक्षक शर्माले आज मात्र घटनास्थल पुगी पीडितपरिवालाई भेटेको जानकारी दिए । “मृतक आनन्ददेवीको दुई वर्षकी छोरी छिन् । आनन्दीदेवी एकदवर्षदेखि माइतीमा बस्दै आएकी थिइन् । यौन दुव्र्यवहारमा परेकी आनन्दीदेवी माइतमा कोही नभएको बेला झुन्डिएको अवस्थामा हिजो मृत फेला परेकी हुन्”, उनले भने ।

मृतकको शव परीक्षणका लागि लहानस्थित प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । घटनाका विषयमा विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अर्थतन्त्र चलायमान बनाउन पूर्वाधार निर्माणमा जोड दिनुपर्छः उपप्रधानमन्त्री सिंह

विराटनगर । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अर्थतन्त्र चलायमान बनाउनका लागि पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताएका छन् । बुधबार मोरङको जहदा र कटहरी जोड्ने पुलको उनले यस्तो बताएका हुन् ।

सो स्थानमा पक्की पुल बनेपछि स्थानीयहरूलाई आवतजावतमा सहजता थपिएको छ । ‘मोरङको जहदा गाउँपालिका र कटहरी गाउँपालिका जोड्ने लोहन्द्रा पुलको आज उद्घाटन भयो । यो पक्की पुलको निर्माणसँगै यहाँका नागरिकहरूको दैनिकीमा सहजता थपिने र यहाँको आर्थिक गतिविधि बढ्ने विश्वास लिएको छु’, उनले भने ।

उनले आफूहरू राजनीतिमा जनतालाई अधिकार दिलाउँदै त्यसको संरक्षण गर्न र त्यसैका आधारमा विकास निर्माणमार्फत नागरिकको जीवन तथा जिविकोपार्जन सहज बनाउन अघि बढिरहेको पनि बताए ।

जहाजमा हायड्रोलिक समस्या देखिएपछि सीता एयरको जहाज आकस्मिक अवतरण

काठमाडौं । रामेछापबाट सोलुखुम्बुको लुक्लाका लागि उडेको सीता एयरको जहाजमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ ।

जहाजमा हायड्रोलिक समस्या देखिएपछि बुधबार बिहान १० बजेर ६ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गराइएको हो । त्यसक्रममा केहीबेर विमानस्थल बन्द गराइएको थियो ।

विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाले जहाज अवतरण भइसकेको र केहीबेर बन्द गराइएको विमानस्थल पुनः संचालनमा आएको जानकारी दिए । उनले अहिले जहाजको प्राविधिक जाँच भइरहेको जानकारी दिए ।

सगरमाथा क्षेत्रमा पर्यटक आगमन वृद्धिः चैतमा भित्रिए १२ हजार

सोलुखुम्बु। वरिपरि हिउँका पर्खाल, शेर्पा संस्कृतिको सुगन्ध, अनि हिमाली सौन्दर्यको चित्ताकर्षक दृश्यले सगरमाथा क्षेत्रमा हजारौं पर्यटकको ध्यान खिच्ने गरेको छ।

वसन्त ऋतु प्रारम्भ भएसँगै सगरमाथा क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ। सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार गत महिना १२ हजार तीन जना पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन्।

राष्ट्रिय निकुञ्जका रेन्जर विवेक श्रेष्ठका अनुसार यो याम हिमाल आरोहण, ट्रेकिङ तथा हिमाली दृश्यावलोकनको दृष्टिले उपयुक्त भएकाले पर्यटकको आगमन बढेको हो। “हिमाल आरोहण तथा दृष्यावलोकनका लागि यो समय उत्तम हुने भएकाले विदेशी तथा स्वदेशी पर्यटक आउने क्रम जारी छ, सगरमाथासहितका हिमाल सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने भएकाले यहाँ पर्यटक बढेसँगै हाम्रो व्यस्तता पनि बढेको छ।” रेन्जर श्रेष्ठले भने। पर्यटकको आवागमन बढेसँगै खुम्बु क्षेत्रमा व्यावसायिक गतिविधि, होटल लजहरूको व्यस्तता पनि बढेको छ।

हाल नाम्चे बजारदेखि लुक्लासम्मका होटल पर्यटकले भरिभराउ छन्। अनुकूल मौसम हुँदा काठमाडौं तथा रामेछापको मन्थली विमानस्थलबाट दैनिक सयौं पर्यटक लुक्ला हुँदै निकुञ्ज प्रवेश गरिरहेका छन्। यद्यपि, मौसम प्रतिकूल हुँदा सोही पर्यटकहरू वैकल्पिक मार्ग रोज्दै काठमाडौंबाट जिप चढेर सल्लेरी हुँदै सुर्केसम्मको यात्रा गरिरहेको यातयात व्यवसायीहरू बताउँछन्।

हवाइ र सडक मार्ग सगरमाथा क्षेत्र पुग्ने माध्यम

पहिले-पहिले सगरमाथा पुग्ने एकमात्र प्रमुख विकल्प लुक्लाको हवाई यात्रा थियो। तर हालैका वर्षहरूमा लुक्लासम्म सडक विस्तार हुँदै जाँदा अब गाडी चढेर पनि हिमालको काखमा पुग्न सकिने सम्भावना बढेको छ। मौसम प्रतिकूल हुँदा हवाइजहाज उड्न नसक्दा वैकल्पिक बाटोको खोजीमा निस्केका पर्यटकहरू जिपमार्फत खुर्कोट, घुर्मी, ओखलढुंगा हुँदै सोलुखुम्बु सदरमुकाम सल्लेरी पुग्छन्।

यहाँबाट बोलेरोबाट लुक्ला नजिकैको स्थान सुर्केसम्म यात्रा गर्छन्। निकुञ्ज क्षेत्रमा कार्यरत सवारी चालकदेखि होटल व्यवसायीसम्मले पछिल्लो समयको सडक विकासलाई स्वागत गरेका छन्। अब मौसम खराब भयो भनेर लुक्ला नपुगी फर्कनुपर्ने बाध्यता हटेको पर्यटन व्यवसायी बताउँछन्। लुक्ला-मन्थली तथा काठमाडौं-लुक्ला हवाइ सेवा प्रभावित हुनसाथ सल्लेरी हुँदै लुक्लाभन्दा केही तलसम्मको स्थान सुर्के जाने विदेशी पर्यटकको सङ्ख्या उच्च हुने गरेको यातायात व्यवसायी रामबहादुर बराइलीले बताए।

मौसम बिग्रियो भने काठमाडौंबाट सुमो जिपमार्फत आएका विदेशीहरूले सल्लेरी र फाप्लुको होटल लजहरू भरिभराउ हुन्छ।” काठमाडौंबाट जिपमार्फत खुर्कोट, घुर्मी हुँदै सोलुखुम्बु जिल्ला सदरमुकाम सल्लेरी आइपुगेका पर्यटक सल्लेरीबाट बोलेरोमार्फत सुर्केसम्म पुग्ने गरेका छन्। सल्लेरीभन्दा माथिको बाटो कच्ची भएकाले सुमो जिप नजाने भएकाले बोलेरो प्रयोग गर्ने गरेको सवारी चालक सन्तोष तामाङले बताए।

लुक्ला नजिकै कच्ची सडक पुगेकाले पर्यटकलाई जहाजको विकल्प भएको ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले बताए। “लुक्लामा मौसम बिग्रिरहने भएकाले बारम्बार जहाज उडान अवरुद्ध हुन्छ तर अब लुक्ला नजिकै रोड पुगेकाले गाडीबाट पनि जान सकिने भएको छ, यो खुसीको कुरा हो।” उपाध्यक्ष शेर्पाले भने। यद्यपि खुम्बु आउन चहाने केही पर्यटक भने मौसमका कारण अन्यन्त्र डाइभर्ट हुने गरेको व्यवसायीहरूको भनाइ छ।

व्यवसायी तेम्बाछिरिङ शेर्पाले भने, “खुम्बु जाने सहज माध्यम भनेको हवाइजहाज हो, तर लुक्लामा मौसम खराब हुँदा खुम्बु जाने कतिपय विदेशीहरू अन्य स्थानतर्फ लागे । उनीहरू निश्चित समयको ‘भिषा’ लिएर आउने भएकाले मौसम प्रतिकूल हनासाथ अन्य स्थानतर्फ जाने सम्भावना बढ्छ।”

निकुञ्ज क्षेत्रमा पर्यटकको आगमन उत्साहवद्र्धक 

विसं २०३२ मा सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपािलका क्षेत्रमा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार एक सय ४८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । पूर्वी नेपालको सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयु, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुलगायत हिमचुचुरा पर्दछन्। कुञ्जभित्रको गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको थियो।

सन् १९७९ देखि यस निकुञ्जलाई विश्वसम्पदा सूचीमा समावेश गरिएको हो। यो निकुञ्ज एक हजार आठ सय मिटरदेखि आठ हजार आठ सय ४८ मिटरसम्मको उचाइमा छ । उच्च पर्वतीय वातावरण रहेको यस राष्ट्रिय निकुञ्जमा गोव्रे सल्ला, ठिङ्ग्रे सल्ला, हेमलक, धुपी, भोजपत्र, गुराँस जातका रुख पाइन्छन् । वसन्त ऋतुमा लालीगुराँसका फूलले निकुञ्जभित्रको जङ्गललाई अति मनोरम र सुन्दर बनाउँछन्।

कस्तुरी मृग, हिमाली भालु, हिउँ चितुवा, थार, घोरल, झारलजस्ता वन्यजन्तुका साथै डाँफे, चिलिमे, कालिज, हिम कुखुरा, लालचुच्चे काग (टुङ्गा) र पहेँलो चुच्चे काग (टेमुलगायत १९३ प्रजातिका चरा यस राष्ट्रिय निकुञ्जमा पाइन्छन्। सगरमाथा राष्ट्रिय निकुञ्ज सांस्कृतिक महत्वको क्षेत्र पनि हो। यहाँका तेङ्वोचे, तथा थामे गुम्बाहरूमा बौद्ध शिक्षा दिइन्छ।

मुख्यतः सगरमाथा हिमाल र यस क्षेत्रको मनोरम दृश्य हेर्न, पर्वतारोहण गर्न, शेर्पा संस्कृति तथा वन्यजन्तु अवलोकन गर्न बर्सेनि हजारौँ पयर्टक यहाँ आउने गर्दछन्। हिमाल आरोहण, ट्रेकिङ मात्र नभई सांस्कृतिक भ्रमणले वार्षिक हजारौँ पर्यटकलाई आकर्षित गर्दै आएको छ। सगरमाथा क्षेत्रमा पर्यटक आगमनको मुख्य याम फागुनदेखि जेठ र असोजदेखि मङ्सिरसम्म हो।

नौ महिनामा ४३ हजार पर्यटकद्वारा निकुञ्ज भ्रमण

चालु आर्थिक वर्षको नौ महिनामा ४३ हजारभन्दा धेरै पर्यटकले सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रको भ्रमण गरेका छन्। निकुञ्जका अनुसार गत साउन महिनादेखि चैतसम्ममा ४४ हजार छ सय आठ जना पर्यटक सगरमाथा क्षेत्र पुगेका हुन्।

गत साउनमा १२५ जना, भदौमा एक हजार ३९४ जना, असोजमा आठ हजार दुई, मङ्सिरमा चार हजार ३९४, पुसमा एक हजार ७११, माघमा ९४३, फागुनमा दुई हजार ४८७ र चैतमा १२ हजार तीन जना निकुञ्जको चेकपोष्ट जोरसल्लेबाट प्रवेश गरेका रेन्जर विवेक श्रेष्ठले जानकारी दिए।

पर्यटकबाट सगरमाथा राष्ट्रिय निकुञ्जले रु ११ करोड ३२ लाख नौ हजार १०० राजस्व सङ्कलन गरेको छ। भ्रमणकर्तामध्ये विदेशी ३७ हजार ७९६ जना र नेपाली पाँच हजार ८९७ जना रहेका छन्। तीन हजार ९९६ जना सार्क राष्ट्रका र ३३ हजार ८०० अन्य देशका पर्यटकले निकुञ्जको भमण गरेका हुन्।

हाल दैनिक ४०० जनाभन्दा धेरै विदेशी तथा स्वदेशी पर्यटक विभिन्न माध्यमबाट सगरमाथा क्षेत्र पुगिरहेका जनाइएको छ। पर्यटकको लगातार बढ्दो आगमनले सगरमाथा क्षेत्रलाई आर्थिक रुपमा फाइदा पु¥याइरहेको छ तर आम्दानीसँगै पर्यावरणीय समस्या पनि थपिएका छन्।

पर्यटन क्षेत्रका जानकार आङछिरिङ शेर्पा भन्छन्, “अबको प्राथमिकता भनेको प्राकृतिक स्रोतको संरक्षण, पर्यटनको दिगो विकास हुनुपर्छ। सगरमाथा नेपाल र नेपालीको गौरव हो, सयो देशको अद्वितीय सौन्दर्यको रासास्वादन जीवनमा एकपटक गर्नैपर्ने सन्देश दिनुपर्छ।”

सुनको मूल्य तोलाको एक लाख ८७ हजार रुपैयाँ

काठमाडौँ । सुनको मूल्य तोलाको एक लाख ८७ हजार पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । मङ्गलबार प्रतितोला एक लाख ८४ हजार तीन सयमा कारोबार भएको सुन बुधबार तोलामा दुई हजार सात सय बढेर एक लाख ८७ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलाको एक हजार नौ सय ५५ कायम भएको छ । अघिल्लो दिन कारोबारको तुलनामा आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस तीन हजार दुई सय ८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

निर्णायक मोडमा आइपुगेका छौं, आन्दोलन अघि बढाउनुको विकल्प छैनः शिक्षक महासंघ

काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्नो आन्दोलनलाई अझ सशक्त बनाउने भएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आफूहरु निर्णायक मोडमा आइपुगेको र आन्दोलन अघि बढाउनुको विकल्प नभएको बताएका छन् ।

उनले षड्यन्त्र र भ्रामक समाचारप्रति सचेत रहन समेत आग्रह गरेका छन् । मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले शिक्षकका माग सम्बोधन गर्न वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्ने, संसदमा विचाराधीन विद्यालय शिक्षा विधेयक चाँडो पारित गर्ने, शिक्षकहरूसँग वार्ता जारी राख्ने र शिक्षकलाई सडक छाडेर विद्यालय फर्कन आह्वान गर्ने निर्णय गरेको थियो ।

तर महासंघले सरकारले विश्वसनीय आधार नबनाएकाले आन्दोलन जारी राख्ने निर्णय गरेको हो । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघ चैत २० देखि काठमाडौं केन्द्रित आन्दोलनमा छ ।

बजेट अधिवेशन वैशाख १२ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले वैशाख १२ गते बस्ने गरी बजेटको अधिवेशन आह्वान गर्न निर्णय गरेको छ । मंगलबार राति बसेको मन्त्रिपरिषद बैठकले वैशाख १२ गते बस्ने गरी संसदको बजेट अधिवेशनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले शिक्षकहरुसँग वार्ता र संवाद जारी राख्ने निर्णय गर्दै एसईईको उत्तरपुस्तिका परीक्षण, नयाँ भर्ना अभियान र कक्षा १२ को परीक्षालाई ध्यान दिएर शिक्षकहरुलाई आन्दोलन अन्त्य गरी विद्यालय फर्कन आह्वान गरेको छ ।

शिक्षामन्त्री विद्या भट्टराईले सरकार शिक्षकहरुको मागप्रति गम्भीर रहेको बताउँदै विद्यालय फर्किन आह्वान गरिएको बताइन् ।

मन्त्री भट्टराईले भनिन्, ‘नेपाल शिक्षक महासंघले उठाएका मागहरुको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेको छ । यथोचित मागको सम्बोधन गर्न सरकार तयार छ । नेपाल शिक्षक महासंघको आह्वानमा भइरहेको प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । हाल विद्यार्थी भर्नाको समय एसइईको उत्तरपुुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षा समेतको समय भएको अवस्था रहेकोले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी अभिभावक एवं विद्यार्थीको हितलाई मध्यनजर गरी सम्पूर्ण शिक्षकहरुलाई आआफ्नो कार्यथलोमा फर्किन अनुुरोध गर्ने बैठकले निर्णय गरेको छ ।’

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरु चैत २० देखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम संचालक समितिको मंगलबार बसेको बैठकले मंगलबार मध्यरातिदेखि लागूहुने गरी पेट्रोलको प्रतिलिटर तीन रूपैयाँ तथा डिजेल/मट्टीतेलको मूल्य प्रतिलिटर तीन रूपैयाँले घटाएको हो ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ मूल्य तोकेको हो ।

२५ करोड विदेशी मुद्रा बरामद प्रकरणमा दुई जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । काठमाडौंको टोखाबाट गत चैत ४ गते बरामद भएको २५ करोड रुपैयाँ प्रकरणमा राजस्व अनुसन्धान विभागले दुईजनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

विभागले ट्रक चालक कुसाङ लामा र फरार नारायण पौडेलविरुद्ध विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अनुसार विदेशी मुद्रा अपचलन सम्बन्धी कसूरमा मंगलबार मुद्दा दायर गरेको हो ।

कुसाङ रकम बरामद भएको ट्रकका चालक हुन् भने पौडेल उक्त रकमका मालिक भएको बताइएको छ । पौडेल भने फरार नै छन् । चैत ४ गते टोखा–झोर सडकखण्डमा ना.७ ख १६५२ नम्बरको कन्टेनर (ट्रक) रोकेर खानतलासी गर्दा ट्रकको क्याबिनमा फल्स बटम बनाई लुकाइएको अवस्थामा युरो १३ लाख ७५ हजार १ सय ५० (५००, २००, १०० र ५० दरका नोट) र अमेरिकी डलर ३ लाख २० हजार ८ सय ५० (१०० र ५० दरका नोट) बरामद भएको थियो ।

विभागले आरोपी कुसाङ लामाले पाँच वर्षअघि सुन चोरी पैठारी प्रकरणमा सजाय भुक्तान गरिसकेकाले उनले पुनः त्यही प्रकृतिको कसुर गरेको ठहर गर्दै मुलुकी अपराध संहिता, २०७४ को दफा ४४(२) अनुसार थप सजाय माग गरेको छ ।

त्यस्तै विभागले विदेशी विनिमय ऐनको दफा १७ अनुसार बरामद सम्पूर्ण विदेशी मुद्रा जफत गर्न र घटनामा प्रयोग भएको कन्टेनर ट्रक पनि जफत गर्न मागदाबी गरेको छ । फरार पौडेलको हकमा भने अदालतमार्फत कानूनबमोजिमको म्याद जारी गर्न माग गरिएको छ।

नीतिगत सुधार गर्दै निर्यात प्रवद्र्धन गरिनेमा जोड

काठमाडौं । नेपाली तयारी पोसाक उद्योगहरूले पछिल्लो दुई दशक यता भोग्दै आएका चुनौतीहरू समाधानका लागि नीतिगत सुधारको माग गरेको छ । मङ्गलवार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा नेपाली तयारी पोसाक उद्योग सङ्घले नीतिगत सुधारको माग गरेको हो ।

सङ्घले सन् २००१/०२ मा करिब ४० करोड अमेरिकी डलर बराबरको तयारी पोसाक निर्यात गरेकोमा अहिले आएर १० अर्ब रुपैयाँमा सीमित भएको जनाएको छ ।Multi Fiber Agreement  को समाप्तिसँगै अमेरिकी बजारमा कोटा प्रणाली अन्त्य भएपछि उद्योगमा भारी गिरावट आएको सङ्घले जनाएको छ ।
सङ्घका अनुसार सन् २००५ पश्चात् उद्योगको लगानी डुब्नुका साथै लाखौँ श्रमिक बेरोजगार बन्न पुगेका छन् । उद्योगहरू अहिले पुनः उठ्ने प्रयासमा रहेको तर संरचनागत र नीतिगत समस्याले यो प्रयासमा अवरोध आएको सङ्घको दाबी छ ।

अहिले करिब १०० तयारी पोसाक उद्योग मात्र सञ्चालनमा रहेको सङ्घले जनाएको छ । हाल तयारी पोसाक उद्योगले करिब ५० हजार जनालाई प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी दिइरहेका छन् । यसअघि १२८० उद्योगहरूमा करिब १० लाख श्रमिक कार्यरत थिए । प्रतिस्पर्धात्मक क्षमता गुमाउने मुख्य कारणहरूमा उच्च पारवहन लागत, कमजोर पूर्वाधार, श्रमिकको न्यून उत्पादकत्व, र कच्चा पदार्थमा आयातमा निर्भरता रहेको सङ्घको भनाई छ ।

अहिले आफूहरूलाई उद्योग प्रवर्धनमा समस्या रहेको सङ्घका अध्यक्ष पशुपति देव पाण्डेले बताए । उनले उच्च उत्पादन लागत, लजिस्टिक्स तथा यातायात पूर्वाधारको कमजोरी, दक्ष जनशक्तिको अभाव र श्रम कानुनको समस्या, अन्तर्राष्ट्रिय बजारमा पहुँच अभाव, बैंकिंग प्रणाली तथा कर्जामा पहुँचको कठिनाइ लगायत रहेको बताए ।

सङ्घले उद्योगलाई पुनः सशक्त बनाउन सरकार समक्ष सुझावहरू पेस गरेको छ । सङ्घको प्रस्तावमा तयारी पोसाकलाई पनि ५% सहुलियतपूर्ण कर्जा सुविधा उपलब्ध गराउनुपर्ने, कुल वार्षिक निर्यातको १% रकम सीप विकास, प्रविधि, बजारीकरण, अनुसन्धान आदिमा खर्च गर्न दिनुपर्ने, भुक्तानी प्रणाली सुधार गर्न ब्ष्च ऋबचनय लागू गर्नुपर्ने, सिमरामा रहेको विशेष आर्थिक क्षेत्रलाई गार्मेन्ट प्रशोधन केन्द्र बनाउनुपर्ने, Payment Gateway सेवा Cost to Cost  आधारमा सस्तो भाडामा उपलब्ध गराउने, त्यसै गरी, सङ्घले Export Credit Insurance  लागू गर्नुपर्ने, Textile and Clothing Development Council स्थापना गर्नुपर्ने, अन्तर्राष्ट्रिय व्यापार मेलामा सहज रूपले सहभागिता हुनुपर्ने, कानुनी झन्झटबाट मुक्त हुने एकद्वार प्रणाली लागु गर्ने लगायतका सुझावहरू पनि दिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विभिन्न सुझावहरु अध्ययन गर्दै आवश्यक रणनीति तय गर्ने बताए । देशको अर्थतन्त्र सुधारका लागि उद्योगमैत्री निति निर्माण गरी निर्यातजन्य सबै बस्तुहरुलाई भारत, चिन, युरोप, अमेरिका लगायतका देशहरुमा निर्यात गर्न नीतिगत सुधार मार्फत सहजीकरण गर्ने उनको प्रतिबद्धता छ ।

प्रधानमन्त्री केपी ओलीका आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडाले निर्यात कमजोर हुनुले आर्थिक विकास रोकिएको बताए । आयात प्रतिस्थापन तथा निर्यात प्रवर्धनमा नीतिगत समस्या हटाउन अझै अर्थ मन्त्रालय तथा राष्ट्र बैंकसंग छलफल गरि निचोडमा पुग्नुपर्ने सुझाव व्यक्त गरे ।

राष्ट्रिय योजना आयोगका सदस्य प्रकाश श्रेष्ठले आर्थिक सुधारका लागि उच्च स्तरीय छलफल मार्फत आयोगले कामहरु अघि बढाएको बताए । तयारी पोसाक संघका अध्यक्ष पाण्डेले पहिलो पटक सरकारका प्रमुख निकायहरुसंग महत्वपूर्ण बैठक गरी नयाँ बर्षको सुरुवात गरेकोमा मन्त्री भण्डारीलाई धन्यवाद व्यक्त गरे ।

नेपालले सन् २०२६ मा विकासशील राष्ट्रको दर्जा पाउने तयारी गरिरहेकाले त्यसपछिको अन्तर्राष्ट्रिय बजारमा थप चुनौती आउन सक्ने भन्दै संघले दीर्घकालीन रणनीति र नीतिगत तयारी गर्न सरकारलाई आग्रह गरेको छ ।

जनतामा रहेको भ्रम र असन्तुष्टि चिर्न अभियान सफल बन्दै गएको छः प्रचण्ड

मध्यविन्दु । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तराई–मधेस जागरण अभियान जनताको बीचमा आत्मसमीक्षासहित देशको स्थिति बुझाउन सफल भइरहेको बताएका छन् ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) बाट पुनः सुरू गरेको अभियानका क्रममा मंगलबार कावासोती पुगेपछि उनले जनतामा रहेको भ्रम र असन्तुष्टि चिर्न अभियान सफल बन्दै गएको बताएका हुन् ।

‘विगतमा हामीले सरकार र काठमाडौँ केन्द्रित कुरामा अलि बढी ध्यान दियौँ भन्ने कमजोरी स्वीकारेपछि देशव्यापी अभियान सुरु भएको छ । यसक्रममा आफ्नो विचार, मुद्दा, आफ्नो वर्ग समुदाय र जनतासँगको सम्बन्धलाई जोड्नुपर्छ भनेर हामी अभियानमा जुटेका हौँ’, अध्यक्ष दाहालले भने, ‘यो अभियानले जनतामा ठूलो उत्साह थपिरहेको छ । सबै वर्गका जनतामा सकारात्मक उभार आएको छ ।’

पछिल्लो परिवर्तन र गणतन्त्रको रक्षा गर्ने प्रमुख जिम्मेवारी माओवादीको भएकाले त्यो जिम्मेवारी पूरा गर्न जनताको घरदैलोमा हिँडेको र देशमा देखिएको असन्तुष्टि अन्त्यका लागि माओवादीले पहल गरिरहेको उनको भनाइ छ ।

काठमाडौँमा भइरहेको शिक्षकहरूको आन्दोलनबारे धारणा राख्दै प्रचण्डले आफू प्रधानमन्त्री हुँदा शिक्षकहरूसँग गरेको सम्झौताअनुसार काम अगाडि बढेको दाबी गरे ।

वर्तमान सरकारले शिक्षकको जायज मागहरू पूरा गर्नुपर्ने र त्यसका लागि यसअघि भएका सहमतिलाई आधार मान्नुपर्ने उनको धारणा थियो । अभियानका क्रममा नेताहरूले यहाँका बेपत्ता तथा सहिद परिवारसँग भेटघाटसमेत गरेका थिए ।

अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता बिहीबारदेखि

काठमाडौँ । नेपाल खेलकुद महासङ्घ (नेकोस) तथा राष्ट्रिय जुडो सङ्घ नेपालको संयुक्त आयोजनामा सातौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता हुने भएको छ ।

बिहीबारदेखि हुने प्रतियोगितामा नेपालका विभिन्न जिल्ला/क्लब, भुटान र थाइल्यान्डका दुई सय ५० खेलाडीको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सङ्घका अध्यक्ष धर्मकुमार श्रेष्ठकाअनुसार पुरुषमा १२ र महिलामा ११ स्पर्धामा २१ वर्षमुनिका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । वैशाख ४ गते ११ तथा वैशाख ५ गते १२ स्पर्धाको फाइनल हुनेछ ।

सोही प्रतियोगिताअन्तर्गत नेकोस र जुडो सङ्घसहित नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो सङ्घको संयुक्त आयोजनामा प्रथम पारा जुडो प्रतियोगिता पनि हुनेछ । पुरुषमा ६० किलोग्राम (केजी) मुनि तथा महिलामा ५२ केजीमुनि तौल समूहमा खेल खेलाइने छ ।
यसै प्रतियोगिताबाट जापानमा नोभेम्बरमा हुने डेफ ओलम्पिकमा सहभागी हुने खेलाडीको छनोट गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । दुईदिने प्रतियोगिताका खेलहरू खुसीबुँस्थित बहुउद्देश्यीय मार्सल आट्र्स केन्द्रमा हुनेछन् । 

पत्रकार सम्मेलनमा सन् २००८ को बेइजिङदेखि २०२० को टोकियासम्म लगातार चार ओलम्पिक खेलेकी तथा विश्व जुडो च्याम्पियनसिपमा दुई कास्य जितेकी अस्ट्रियाकी सब्रिना फिल्मोसरको पनि उपस्थिति रहेको थियो ।

बोइङ जेटको डेलिभरी स्थगित गर्न एयरलाइन्सलाई चीनको आदेश

बेइजिङ । चीन र संयुक्त राज्य अमेरिकाबीचको व्यापार युद्ध गहिरो हुँदै जाँदा बेइजिङले आफ्ना एयरलाइन्सलाई अमेरिकी उड्डयन जायन्ट बोइङबाट जेटहरू डेलिभरी गर्न रोक्न भनेको  छ।

जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेदेखि विश्वका दुई ठूला अर्थतन्त्र प्रतिक्रियात्मक भन्सार युद्धमा फसेका छन्। अमेरिकाले अब चीनबाट आयातमा १४५ प्रतिशतसम्म कर लगाएको छ।

बेइजिङले वासिङ्टनको गैरकानूनी ‘धम्की’ भनेको कुरामा क्रोधित प्रतिक्रिया दिएको छ र थप वृद्धिलाई अर्थहीन भन्दै अमेरिकी आयातमा १२५ प्रतिशतको प्रतिशोधात्मक भन्सार शुल्क लगाएको छ।

चीनले यस मामिलासँग परिचित व्यक्तिहरूलाई उद्धृत गर्दै बोइङ विमानहरूको डेलिभरी रोक्न एयरलाइन्सलाई आदेश दिएको ब्लुमबर्ग न्युजले मङ्गलबार रिपोर्ट गरेको छ।

बेइजिङले आफ्ना वाहकहरूलाई अमेरिकी कम्पनीहरूबाट विमानसम्बन्धी उपकरण र पुर्जाहरू खरिद गर्न निलम्बन गर्न पनि भनेको वित्तीय समाचार आउटलेटले मानिसहरूलाई रिपोर्ट गरेको छ।

एएफपीले टिप्पणीका लागि बोइङ र चीनको विदेश मन्त्रालयलाई सम्पर्क गरेको छ। अमेरिकी आयातमा बेइजिङको प्रतिशोधात्मक भन्सार शुल्कले सम्भवतः विमान र घटकहरू ल्याउने लागतमा उल्लेखनीय वृद्धि गर्नेछ।

ब्लुमबर्गले चिनियाँ सरकारले बोइङ जेट भाडामा लिने र उच्च लागतको सामना गर्ने क्यारियरहरूलाई सहयोग गर्ने विचार गरिरहेको बताएको छ।

ट्रम्पको भन्सार शुल्कको आक्रमणले विश्व बजारहरूलाई हल्लाउनुका साथै मित्रराष्ट्र र विरोधीहरूसँगको कूटनीतिलाई उलटपुलट पारेको छ।

आगामी निर्वाचनअघि सिङ्गापुरको संसद् विघटन

सिङ्गापुर । प्रधानमन्त्री लरेन्स वोङका लागि निर्णायक परीक्षा मानिएको आगामी राष्ट्रिय चुनावअघि सिङ्गापुरको संसद् मङ्गलबार विघटन गरिएको छ।

गत वर्ष वोङले सिङ्गापुरका संस्थापक प्रधानमन्त्री ली कुआन यूका छोरा ली सिएन लुङको स्थान लिएका थिए। उनले प्रभावशाली ली परिवारको दशकौँको नेतृत्वपछि नयाँ युगको सुरुआत गरेका थिए।

‘राष्ट्रपति थर्मन शनमुगरत्नमले प्रधानमन्त्री लरेन्स वोङको सल्लाहमा मंगलबार संसद् विघटन गर्नुभएको छ,’ एक सरकारी विज्ञप्तिमा भनिएको छ।

अप्रिल २३ का लागि मनोनयनको दिन तय गरिएको छ र निर्वाचन विभागले मंगलबारपछि मतदानको मिति घोषणा गर्नेछ।

यस चुनावमा अघिल्लो संसद्‌भन्दा चार सिट बढी कुल ९७ सिट रहेका छन्। अधिकांश सिट ब्लक मतदान प्रणालीबाट आएका छन्, जुन विपक्षीले सन् १९५९ देखि सत्तामा रहेको पिपुल्स एक्सन पार्टी (पिएपी) को पक्षमा रहेको बताएको छ।

सन् २०२० को चुनावमा प्रतिस्पर्धा गरिएका ९३ सिटमध्ये १० सिट जितेर राष्ट्रलाई चकित पारेको मुख्य विपक्षी वर्कर्स पार्टीले त्यस गतिलाई अगाडि बढाउने र थप प्रगति गर्ने अपेक्षा गरिएको छ।

अन्य साना विपक्षी दलहरूले पनि चुनावमा लड्ने अपेक्षा गरिएको छ। यो चुनाव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्धले सिङ्गापुरको द्रुत आर्थिक समृद्धिका लागि महत्त्वपूर्ण विश्व व्यवस्थालाई खतरा पैदा गरेको बेला आएको छ।

६५ वर्ष माथिकालाई गभर्नर नियुक्त गर्न बनाइएको मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले गभर्नर नियुक्तिमा उमेर नचाहिने गरी मापदण्डमा गरेको फागुन २७ को संसोधन कार्यान्वयन नगर्न सरकारका नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।

मंगलबार सर्वोच्च न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ता विशाल थापा प्रतिभा उप्रेतीले गत आइतबार उमेर हदसम्बन्धी व्यवस्थालाई लिएर सर्वोच्चमा रिट दायर गरेका थिए ।

इजलासले त्यस्तै कारण देखाउ आदेश र अन्तरिम आदेश जारी गर्नुपर्ने/नपर्ने विषयमा छलफलका लागि दुबै पक्षलाई वैशाख ७ गते बोलाएको छ । अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायको पदाधिकारी तथा सदस्य नियुक्ति तथा मनोनयन सम्बन्धी मापदण्ड, २०७३ लाई दोस्रो संशोधन गरेको थियो । संसदीय व्यवस्थाले नियुक्तिको उमेर हद हटाएको थियो।

संशोधन अघिको व्यवस्थामा गभर्नरलगायत सम्बद्ध पदाधिकारीको न्यूनतम उमेर ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपथ्र्यो। तर अहिलेको संशोधनले उक्त व्यवस्था हटाएपछि सर्वोच्चमा रिट परेको हो ।

गत चैत २४ गते महाप्रसाद अधिकारीले अवकाश पाएपछि सरकारले डा. निलम ढुंगानालाई कामु गभर्नर तोकेको छ । गभर्नर छनोटका लागि मन्त्रिपरिषद्ले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेपनि त्यसको बैठक बस्न सकेको छैन ।

आयोगले सरकारलाई भन्योः वार्ताबाट शिक्षकका माग तत्काल सम्बोधन गर्नु

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शिक्षकको माग वार्ताबाट समाधान गर्न आग्रह गरेको छ । आयोगले मंगलबार विज्ञप्ति जारी गरी आन्दोलनरत शिक्षकहरुसँग वार्ताबाट समाधान खोज्न आग्रह गरेको हो ।

‘आन्दोलन लम्बिँदै गएमा एसईई परीक्षाको नतिजा, कक्षा १२ को परीक्षा र बालवालिकाको भर्ना अभियान समेत प्रभावित हुने देखिएको भन्दै आयोगले त्यसतर्फ ध्यान दिन आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘विद्यालयका शिक्षकशिक्षिकाहरूले आफ्नो वृत्तिविकासका साथै संस्थागत हकहितका लागि माग राख्नु, विचार व्यक्त गर्नु, शान्तिपूर्ण प्रदर्शन गर्नु मानव अधिकारको मूल्य मान्यता अनुकुल नै हुन्छ । तर आफ्ना मागहरु सम्बोधन गराउन आन्दोलन नै गर्नुपर्ने वातावरणको सिर्जना हुनु चिन्ताको विषय हो । विद्यालयहरू बन्द हुँदा बालबालिकाको शिक्षाको अधिकारको सुनिश्चितामा बाधा उत्पन्न हुने देखिएको छ ।’

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै चैत २० गतेदेखि शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा छन् । तर सरकारले उनीहरुका मागका सम्बन्धनमा ठोस निर्णय गरेको छैन । आन्दोलनका कारण उपत्यकाको सवारी आवागमनसमेत प्रभावित भएको छ ।

उदयपुरको लिम्चुङबुङका कर्मचारीले हप्तामा दुई दिन जातीय वेशभूषा लगाउनुपर्ने

गाईघाट । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका कर्मचारीले अब हप्तामा अनिवार्य दुई दिन कार्यालय समयमा जातीय वेशभूषा लगाउनुपर्ने भएको छ ।

गत चैत १ गते सो पालिकाका अध्यक्ष राईको अध्यक्षतामा सम्पन्न कार्यपालिकाको बैठकले सो निर्णय गरेको र यही वैशाख १ देखि लागू गरिएको पालिकाका उपाध्यक्ष पुष्पकुमार राईले जानकारी दिए ।

गत सोमबार प्रशासकीय अधिकृत ताराकिरण राईले अबदेखि अनिवार्य आइतबार र सोमबार जातीय वेशभूषामा कार्यालय समयमा कर्मचारीहरू उपस्थित हुनुपर्ने सूचना जारी गरेका छन् ।

“पालिकाभित्र बसोबास गर्ने जातजातिहरूको संस्कृति संस्कारको संरक्षण गर्न र पालिकालाई पर्यटन प्रवद्र्धन गर्न यस्तो निर्णय गरिएको हो,” अध्यक्ष राईले भने ।

गाउँपालिकाभित्रका जाति, वेशभूषा, भाषा, संस्कृतिको संरक्षण गर्ने कार्यपालिकाको दायित्व भएकाले यस्तो नीति लागू गरिएको उनको भनाइ छ । सो गाउँपालिकामा एक हजार ८७८ जनसङ्ख्या रहेको छ ।

ललितपुरमा बहिनीको हत्या आरोपमा दाजु पक्राउ

काठमाडौं । ललितपुरमा ११ वर्षीया बहिनीको हत्या आरोपमा आजु पक्राउ परेका छन् । लतिलपुरको मंगलबजारमा ११ वर्षीया बालिकाको हत्या गरेको आरोपमा उनका १५ वर्षीय दाजुलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकाअनुसार, मंगलबजार बस्ने भगवती बोहराले आफ्नी छोरी दुर्गा बोहरा ४ चैत रातिदेखि हराएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।

खोजतलासका क्रममा २९ चैतमा ललितपुर महानगरपालिका ९, खपिन्छेँस्थित बाबुराजा अवालेको पुरानो घरको भुईं तलाको पानी ट्यांकीमा दुर्गाको सडेगलेको अवस्थामा शव फेला परेको थियो ।

प्रहरीले अनुसन्धान गर्दा उक्त हत्या दुर्गाका १५ वर्षीय दाजुले गरेको खुलेको प्रहरीले जनाएको छ । उनलाई सोमबार मंगलबजार क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आरोपित दाजुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको कार्यालयले जनाएको छ ।

सहकारीको समस्याबारे राष्ट्रपतिको चासो

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी क्षेत्रमा देखिएको समस्याका बारेमा चासो व्यक्त गरेका छन् ।

मंगलबार राष्ट्रपति भवन शीतल निवासमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र सचिव अर्जुनप्रसाद पोखरेलसँगको भेटमा सहकारी समस्या बारेमा चासो व्यक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले सहकारीका समस्याका कारण मारमा परेका नागरिकलाई छिटो न्याय दिन र यस क्षेत्रको समस्यालाई छिटो टुंगो लगाउन निर्देशन दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

राष्ट्रपति पौडेलले सहकारीका साना बचतकर्ताको रकम फिर्ताका सम्बन्धमा सरकार गम्भीर भएर लाग्न निर्देशन दिएका थिए ।

सो अवसरमा मन्त्री अधिकारीले केन्द्रीयस्तरमा दर्ता भएका ४७ मध्ये २३ वटा सहकारीलाई संकटग्रस्त घोषणा गरी तदारुकताका साथ काम भइरहेको र ३ वटा सहकारीको समस्या समाधान गरिसकेको तथा बाँकी सहकारीको समस्या समाधानका लागि सरकारले काम गरिरहेको जानकारी गराएका थिए । लामो समयदेखि सहकारी पीडितहरूले आन्दोलन गरिरहेका छन् ।

भक्तपुरको बोडेमा यसरी मनाइयो जिब्रो छेड्ने जात्रा(फोटोफिचर)

भक्तपुर । बिस्काः जात्राअन्तर्गत मङ्गलबार भक्तपुरको बोडेमा जिब्रो छेड्ने जात्रा मनाइएको छ । यसवर्ष पनि सुजन बाग श्रेष्ठले तेस्रो पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका हुन् ।

बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा सुजनले गतवर्ष पनि जिब्रो छेडाएका थिए । प्रत्येक वर्ष वैशाख २ गते भक्तपुरमा जिब्रो छेड्ने जात्रा मनाइन्छ ।

जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिदेखि केही नखाई व्रत बस्नुपर्ने नियम छ । त्यसो गरेमा जिब्रो छेड्दा दुख्ने, रगत आउने र बिघ्नबाधा नआउने जनविश्वास छ ।

मध्यपुर ठिमी – २ मा रहेको गणेश मन्दिरअगाडिको पाटीमा नकर्मी नाइकेले एक फिट लामो फलामको सुइरोले जिब्रो छेडिदिने गर्छन् । त्यसपछि जिब्रो छेड्ने व्यक्तिले अर्धचन्द्राकारको महादीप बोकेर बोडेको महालक्ष्मी लगायत विभिन्न शक्तिपीठ परिक्रमा गर्दछन् ।

तस्बिरः रत्न श्रेष्ठ/रासस

सर्वोच्चले माग्यो छविलाल जोशीलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन

काठमाडौं । सर्वोच्च अदालतले पूर्वडीआइजी छविलाल जोशीलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ ।

मंगलबार सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले संगठित तथा सहकारी ठगी कसुरमा जोशीलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेशको प्रतिवेदन माग गरेको हो । उच्च अदालत तुलसीपुर बुटवलले चैत २२ गते जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

त्यसपछि जोशीले चैत ३१ गते बेरितको आदेश बदर गरी पाउँ भन्दै सर्वोच्चमा निवेदन दिएका थिए । यसअघि चैत ३१ गते नै सर्वोच्चका न्यायधीश टेकप्रसाद ढुंगानाले रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउनुको आधार कारण माग गरेको थियो ।