`

शिक्षक महासंघले भन्यो-धैर्य गरौं, आन्दोलनको विजय सुनिश्चित छ

काठमाडौं । नेपाल शिक्षक महासंघले आफूहरुको आन्दोलनको विजय सुनिश्चित रहेको बताएका छन् ।

शुक्रबार सामाजिक संजालमार्फत महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अरू केही दिन धैर्य र मर्यादित भएर लाग्न आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘अरू केही दिन धैर्य र मर्यादित भएर लागौँ। हाम्रो विजय सुनिश्चित छ।’ उनले आन्दोलनरत शिक्षकहरूलाई अनुशासित, संयमित र मर्यादित हुन आह्वान गरेका छन् ।

अध्यक्ष सुवेदीले आज पनि मध्यान्ह माइतीघर मण्डलामा पुग्न आग्रह गर्दै शिक्षकहरूलाई अरू केही दिन धैर्य गर्न अपील गरेका छन् ।

उनले भनेका छन्, ‘साथीहरू, हामी विजयोन्मुख छौँ। यो घडीमा हामीले झन् अनुशाासित, मर्यादित र संयमित हुन जरुरी छ। आन्दोलन उग्रतामा परिणत भयो भने त्यसले सबभन्दा पहिले आन्दोलनलाई नै खान्छ। हाम्रो आन्दोलन डिरेल्ड (विपथगामी) होस् र तार्किक निष्कर्षमा नपुगोस्, उपलब्धि हात नपरोस् भनेर षडयन्त्र गर्नेहरू पनि थुप्रै छन्। त्यस्ता मान्छे कुन आवरणमा आउँछन्, कुनै ठेगान हुँदैन। त्यसैले हामीले उग्रता र भड्काउबाट आफूलाइ बचाउनुपर्छ। मर्यादा, अनुशासन र शान्तिपूर्ण प्रदर्शन कायम राख्नुपर्छ।’

अध्यक्ष सुवेदीले आन्दोलनस्थलको सरसफाइ र सुरक्षामा अझ बढी सचेत बन्न पनि अनुरोध गरेका छन् । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरु चैत २० देखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।

पृथ्वीबाट खर्बौँ माइल टाढा रहेको ग्रहमा जीवन भएको सङ्केत

बीबीसी । वैज्ञानिकहरूले पृथ्वीभन्दा धेरै टाढा एउटा तारालाई परिक्रमा गरिरहेको ग्रहमा जीवन रहेको हुन सक्ने नयाँ सङ्केत फेला परेको बताएका छन् । K2-18b (केटू–१८बी) ग्रहको वायुमण्डलको अध्ययन गरिरहेको केम्ब्रिज विश्वविद्यालयको एउटा टोलीले पृथ्वीमा जीवहरूले मात्रै उत्पादन गर्ने अणुहरू उक्त ग्रहको वायुमण्डलमा पनि फेला परेको जनाएको छ ।

नासाको जेम्स वेब टेलिस्कोपले अर्को गृहको वायुमण्डलमा जीवनसँग सम्बन्धित अझ भरपर्दो रासायनिक पदार्थ पहिचान गरेको यो दोस्रो पटक हो । तर अध्ययन टोली र स्वतन्त्र खगोलविद्हरूले यी निष्कर्षहरू पुष्टि गर्न थप तथ्याङ्क आवश्यक पर्ने बताएका छन् ।

प्रमुख अनुसन्धाता प्राध्यापक निक्कु मधुसूदनले थप प्रमाणहरू पनि छिट्टै फेला पार्ने आशा आफूले लिएको बताएका छन् ।

उनले भने, ‘त्यहाँ जीवन रहेको हुन सक्ने सम्भावना देखिएको यो अहिलेसम्मको सबैभन्दा बलियो प्रमाण हो। हामी एकदेखि दुई वर्ष भित्रमा यी सङ्केतहरूलाई पुष्टि गर्न सफल हुने छौँ ।’

केटू–१८बी पृथ्वीभन्दा साढे दुईगुना ठूलो छ र पृथ्वीबाट ७०० खर्ब माइल टाढा छ । निकै शक्तिशाली रहेको जेम्स वेब टेलिस्कोपले कुनै ग्रहको वायुमण्डलको रासायनिक संरचनाको पनि विश्लेषण गर्न सक्छ। ग्रहको माउ ताराको प्रकाशको सहयोग लिएर उक्त टेलिस्कोपले वायुमण्डलको विश्लेषण गर्न सक्छ ।

केम्ब्रिजको टोलीका अनुसार जीवनसँग सम्बन्धित दुई अणुमध्ये कम्तीमा एउटा अणुको रासायनिक उपस्थिति त्यहाँको वायुमण्डलमा देखिएको छ। त्यहाँ डाइमिथाइल सल्फाइड (डीएमएस) र डाइमिथाइल डाइसल्फाइड (डीएमडीएस) फेला परेका छन्। पृथ्वीमा यी ग्यासहरू समुद्री फाइटोप्लाङ्क्टन र ब्याक्टेरियाले निष्कासन गर्छन् ।

प्राध्यापक मधुसूदन अवलोकनको एउटै चरणमा देखिएको ग्यासको मात्राबाट आफू छक्क परेको बताएका छन् । ‘त्यहाँको वायुमण्डलमा यो ग्यासको मात्रा पृथ्वीमा भन्दा हजारौँ गुना बढी छ,’ उनी भन्छन् । ‘यदि त्यसको सम्बन्ध साँच्चै जीवहरूसँग छ भने उक्त ग्रहमा धेरै जीवहरू छन्।’

प्राध्यापक मधुसूदनका अनुसार केटू–१८बीमा जीवहरू रहेको पुष्टि भएमा ‘त्यसले आकाशगङ्गामा जीवको अस्तित्व निकै सामान्य हो’ भन्ने प्रमाणित गर्छ ।

यद्यपि त्यो कुरा ठोकुवा गरेर भन्न नसकिने मधुसूदनको टोलीले बताएको छ । खोजले आवश्यक मापदण्ड पूरा गरेको छैन। अनुसन्धाताहरू आफ्नो खोजबारे ९९.९९९९९ प्रतिशत निश्चित हुनुपर्छ ।

तर यो परिणाम ९९.७ प्रतिशत मात्रै छ। धेरै भए पनि त्यति प्रतिशतका आधारमा वैज्ञानिक समुदाय विश्वस्त हुन सक्दैन। तर १८ महिनाअघि यही टोलीले प्राप्त गरेको ६८ प्रतिशत नतिजाभन्दा यो धेरै हो ।

तर एडिन्बरा विश्वविद्यालयकी प्राध्यापक क्याथरीन हेमन्स र स्कटल्यान्डको स्वतन्त्र अनुसन्धान समूह एस्ट्रोनोमर रोयलका अनुसार केम्ब्रिजले ९९.९९९९ प्रतिशत नतिजा हात पारे पनि त्यो भरपर्दो नहुन सक्छ।

डोटीमा सिकार खेल्न गएका एक युवकको गोली लागेर मृत्यु, दश जना पक्राउ

दिपायल । सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ । डोटीको बडीकेदार गाउँपालिका–२ बर्छैनका २४ वर्षीय नरेश सार्कीको मृत्यु भएको हो ।

खड्यौलीस्थित प्रहरीचौकीका प्रमुख विरादत्त पन्तका अनुसार बिहीबार दिउँसो बडीकेदार गाउँपालिका–१ बेडुपाटा खोलाकिनारमा सिकार खेल्न गएका बडीकेदार गाउँपालिका–१ रजेडका कमलसिंह खड्काले बोकेको भरुवा बन्दुक पड्किँदा सार्कीको दायाँ छातीमा गोली लागेको थियो । निजको घटनास्थलमै मृत्यु भएको हो ।

अनुसन्धानको सिलसिलामा बन्दुक बोक्ने खड्का, रजेडका खेम खड्का, तारासिंह खड्का, सोही गाउँपालिका– २ तेजेन्द्र भाट, अम्मर शाह, चक्र भाट, सुनिल बम, गणेश घर्तीमगर, मानबहादुर शाह र गर्भुजाका जुलेश नामजाली मगरलाई पक्राउ गरिएको छ ।

वीरगञ्जको निषेधाज्ञा शुक्रबारदेखि हटाइने

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले शुक्रबार बिहानदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाइएको निषेधाज्ञा हटाउने निर्णय गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगञ्जको शान्ति सुरक्षाको अवस्था सामान्य बनेको भन्दै शुक्रबार बिहान ७ बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।

प्रजिअ अर्यालले जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था सामान्य रहेकाले गत वैशाख १ गतेदेखि लगाइएको निषेधाज्ञा हटाउने निर्णय भएको जानकारी दिए ।

पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले बुधबार दिउँसोदेखि वीरगञ्ज महानगर क्षेत्रको अवस्था सामान्यतर्फ उन्मुख हुँदै गएको जानकारी दिए ।

सर्‍यो रास्वपाको महाधिवेशन, आगामी फागुन पहिलो साता हुने

काठमाडौं । पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा गएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशनको मिति पनि सरेको छ ।

बिहीबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले आगामी फागुन ७, ८ र ९ गते चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले २०८२ असोजसम्म वडा अधिवेशन, कात्तिकसम्म पालिका अधिवेशन, मङ्सिरसम्म जिल्ला अधिवेशन, माघ १५ सम्म प्रदेश अधिवेशन सम्पन्न गरिसक्नुपर्ने निर्णय गरेको छ ।

यसअघि रास्वपाले यही वैशाख २५, २६ र २७ गते पहिलो महाधिवेशन गर्ने निर्णय गरेको थियो । बैठकले प्रदेशका इन्चार्जहरू पनि तोकेको छ ।

कोशी प्रदेशमा सन्तोष परियार, मधेश प्रदेशमा मनिष झा, बागमतीमा लिमा अधिकारी, गण्डकी शिशिर खनाल, लुम्बिनीमा विपिन आचार्य, कर्णालीमा गणेश पराजुली र सदूरपश्चिम हरि ढकाललाई बैठकले इन्चार्ज तोकेको छ ।

‘म्युजिक भिडियो’ मा स्थापित निर्देशकका चलचित्रले पाएनन् अपेक्षित सफलता

काठमाडौँ । नेपालमा साङ्गीतिक श्रव्यदृश्य (म्युजिक भिडियो) निर्देशनबाट ठूलो पर्दासम्म पुग्ने निर्देशकहरूको सङ्ख्या उल्लेख्य छ । सानो पर्दामा दर्शकको मन जितेका यी निर्देशकहरूलाई चलचित्र निर्देशनमा सहज हुने विश्वासले प्रेरित गरेको देखिन्छ । सानो पर्दामा राम्रो छवि बनाएका निर्देशकहरू ठूलो पर्दामा अपेक्षा गरिएअनुसार सफल भएका देखिँदैनन् ।

‘म्युजिक भिडियो’मा चम्किएका धेरैजसो निर्देशकहरूले चलचित्रमा आफ्नो कामले प्रभाव छाड्न नसकेको स्वयम् निर्देशकहरू नै स्वीकार्छन् ।

नेपाली टेलिभिजनमा गहिरो छाप छोडेका भूषण दाहालले ‘डिजिटल’ प्रविधिमा बनेको पहिलो नेपाली चलचित्र ‘कागबेनी’ मार्फत ठूलो पर्दामा प्रवेश गरे । परम्परागत कथ्य शैलीभन्दा फरक यो चलचित्रले समीक्षकको ध्यान तान्यो, तर व्यावसायिक रूपमा असफल भयो । निर्देशक दाहालले त्यसयता दोस्रो चलचित्र निर्देशन गरेका छैनन् ।

त्यस्तै निर्देशक आलोक नेम्वाङले चलचित्र ‘सानो संसार’ लिएर ठूलो पर्दामा प्रवेश गरे । चलचित्र प्रदर्शनअघि उनको कामको चर्चा भए पनि त्यसले दर्शकलाई चलचित्र भवनसम्म तान्न सकेन । न समीक्षकले यसलाई उत्कृष्ट भने, न राम्रो व्यापार भयो ।

यसैगरी, प्रशन्न पौडेलले निर्देशन गरेको ‘स्वर’, निकेश खड्काले निर्देशन गरेको ‘जिन्दगी रक्स’, सङ्गीता श्रेष्ठले निर्देशन गरेको ‘कथा काठमाडौँ’, विशाल भण्डारीले निर्देशन गरेको ‘कोहलपुर एक्सप्रेस’, प्रवीन श्रेष्ठले निर्देशन गरेको ‘मोक्ष’, सुव्रत आचार्यले निर्देशन गरेको ‘अधकट्टी’ पनि व्यावसायिक रुपमा सफल हुनसकेन । प्रदर्शनअगाडि भएको चर्चाले दर्शकलाई चलचित्र भवनसम्म आकर्षित गर्न सकेन ।

गत वर्ष निकै आश गरिएको गायक प्रकाश सपुतले निर्देशन तथा अभिनय गर्नुभएको चलचित्र ‘वसन्त’ पनि व्यावसायिक रूपमा असफल भएको छ । प्रदर्शनको एघारौँ दिनसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको ‘सेन्ट्रल म्यानेज्मेन्ट टिकट सिस्टम’ (बक्स अफिस)मा यस चलचित्रले एक करोड ८६ लाख (ग्रस) व्यापार गरेको तथ्याङ्क छ ।

चलचित्रले अपेक्षित सफलता पाउन नसकेको निर्देशक सपुतले पनि स्वीकार गरिसकेका छन् । सामाजिक सञ्जालमा सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले कमीकमजोरीलाई आउँदो चलचित्रमा सुधार्ने उल्लेख गरेका छन् ।
‘म्युजिक भिडियो’ निर्देशकहरू ठूलो पर्दामा किन असफल हुन्छन् ? यो प्रश्न उठ्नुमा प्रदर्शनरत चलचित्र ‘वसन्त’ कारण बनेको छ । किनकि गीतसङ्गीतमा स्थापित नाम ‘प्रकाश सपुत’ चलचित्रमा असफल भए ।

निर्देशक निकेश खड्काले प्राविधिक रुपमा ज्ञान लिएर चलचित्र निर्देशन गर्नुपर्ने आफैँले मनन गरेका छन् ।
“साङ्गीतिक श्रव्यदृश्य बनाउँदा हामीले गर्ने काम र चलचित्रमा गर्ने काममा निकै फरक छ । मैले पनि यसको भिन्नतालाई पहिलो चलचित्र निर्देशन गरेपछि महसुस गर्न पाएँ । चलचित्रमा निर्देशक बन्नुअघि कुनै न कुनै रुपमा चलचित्रको सुरुआतदेखि अन्त्यसम्म निर्माण प्रक्रियामा सहभागी भएको राम्रो । यसले हामीलाई काम गर्न शैलीसँग अभ्यस्त गराउँछ”, निर्देशक खड्काले भने ।

उनले प्राविधिक पक्षसँगै कथा, पटकथा र प्रस्तुति शैलीमा ध्यान दिनुपर्नेमा जोड दिए । ‘म्युजिक भिडियो’ बाट चलचित्र निर्देशन गरेर व्यावसायिक रुपमा सफलता पाउने निर्देशक मिलन चाम्स हुन् । उनले निर्देशन गरेको पछिल्लो चलचित्र ‘अञ्जिला’ ले घरेलु बजारमा राम्रो कमाई गरिरहेको छ ।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित यो चलचित्रको सफलतापछि उनले आफ्नो कार्यशैलीमा समेत परिवर्तन ल्याएको बताए । “साङ्गीतिक श्रव्यदृश्य तयार गर्दा हाम्रो आधा काम गीतसङ्गीतले नै पूरा गर्दिन्छ । त्यसकारण सहज लाग्छ, तर चलचित्रमा लेखिएका शब्दलाई काल्पनिक संसार बनाएर पर्दामा उतार्न सक्नुपर्छ । चलचित्र निर्देशन गर्दा कथा–पटकथा लेखन, छायाङ्कन, सम्पादन, पाश्र्वसङ्गीतलगायतका ज्ञान निर्देशकमा हुनु जरुरी छ । मुख्य कुरा त लेखिएको पटकथालाई पर्दामा उतार्नु नै हो”, निर्देशक चाम्सले भने ।

अब यही वैशाखमा नै दर्शकमाझ परीक्षा दिन निर्देशक नवीन चौहान आउँदैछन् । उनले तयार गरेको गीतसङ्गीत र श्रव्यदृश्यमार्फत गायक सपुत झैँ दर्शकको प्रिय बनिसकेका छन् । निर्देशक चौहानको निर्देशनमा तयार भएको ‘ऊनको स्वीटर’ को व्यावसायिक नतिजाले पनि ‘म्युजिक भिडियो’ निर्देशकहरुलाई काम गर्ने तरिकामा समीक्षा गर्न सघाउनेछ ।

६ डीआईजी एआईजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका ६ जना डीआईजी एआईजीमा बढुवा सिफारिस भएका छन् । बिहीबार बसेको बढुवा समितिको बैठकले ६ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा मनोजकुमार केसी बढुवाका लागि सिफारिसमा परेका हुन् ।

पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको निष्कर्ष

काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे अध्ययन गर्न सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ ।

उपसमितिका संयोजक एवं राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पोखरा विमानस्थलमा ठेक्का प्रक्रियाको प्रारम्भदेखि नै अनियमितता र भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै थप अध्ययन र दोषीलाई काराबाही गर्न अख्तियारलाई सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए ।

उनले पोखरा विमानस्थल निर्माणमा ठूलो अंकको भ्रष्टाचार भएको र भ्रष्टाचार गर्नकै लागि विभिन्न नीतिगत निर्णय गरेको समेत पाइएको बताए । १४ अर्बको लागत अनुमान रहेको परियोजनामा मोलमोलाइबाट २२ अर्ब पुर्याइएको उनले बताए ।

अध्ययनका क्रममा कर छुट दिएर आर्थिक अनियमितता गर्ने काम भएको, निर्माण कार्यक्रममा कमसल सामाग्री प्रयोग गरिएको लगायतका भ्रष्टाचारका काम देखिएको लिङ्देनले बताए । उपसमितिले विमानस्थललाई पूर्णरुपमा निर्माण गरेर व्यवसायिक सञ्चालनका लागि नेपाल सरकारले पहल गर्नुपर्ने सुझाव दिएको छ ।

https://drive.google.com/file/d/1O72yzNPyQ3lFbNj-jGbSVCi-Z6-2YcOe/preview

भुटानी शरणार्थीलाई तत्काल देश निकाला नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले अमेरिकाबाट डिपोर्ट भई भुटान हुँदै नेपाल छिरेका भुटानी शरणार्थीलाई तत्काल देश निकाला नगर्न अन्तरिम आदेश दिएको छ ।

बिहीबार सर्वोच्चका हरिप्रसाद फुयाँलको इजलासले थुनामा रहेका भुटानी शरणार्थीलाई देश निकाला नगर्न अन्तरिम आदेश दिएको हो । इजलासले हाल झापामा थुनामा रहेका अशोक गुरुङ, सन्तोष दर्जी, रोशन तामाङ र आशिष सुवेदीलाई वैशाख ११ गते सर्वोच्चमा पेस गर्न आदेश गरेको छ ।

थुनामा रहेका भुटानी शरणार्थीलाई थुनामुक्त गर्न माग गर्दै नारायणकुमार सुवेदीले बन्दी प्रत्यक्षीकरणको रिट दिएका थिए । उनीहरूलाई अमेरिकाले गत चैत ११ डिपोर्ट गरेको थियो ।

डिपोर्ट भएपछि भारत हुँदै भुटान पुगेकोमा उनीहरुलाई भुटानले देश निकाला गरेको थियो । त्यसपछि नेपाल आइपुगेका उनीहरूलाई अध्यागमन कार्यालयले देशबाट निष्काशन गर्ने निर्णय गर्दै नियन्त्रणमा लिएको थियो ।

नेप्सेमा २६ अङ्कको वृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ दशमलव ४९ अङ्कले बढेर दुई हजार ७२२ दशमलव ७३ को विन्दुमा कायम भएको छ । 

बिहीबार तीन सय ११ कम्पनीको दुई करोड ३७ लाख ७३ हजार ७३१ कित्ता सेयर ९० हजार ५५५ पटक खरिदबिक्री हुँदा १० अर्ब ७९ करोड ७३ लाख ६३ हजार २८२ दशमलव ३२ को कारोबार भएको नेप्सेले जनाएको छ ।

साताको अन्तिम कारोबार दिन आज बजारसँगै कारोबार रकम पनि बढेको हो । आज एक सय ८७ कम्पनीको सेयर मूल्य बढ्दा ५९ कम्पनीको मूल्य घटेको छ । अघिल्लो दिन रू सात अर्ब २६ करोड ५१ लाख २२ हजार दुई सय ४१ बराबरको कारोबार भएको थियो । आज व्यापार शून्य दशमलव १५ प्रतिशतले घटेको छ भने अन्य सबै समूहका परिसूचक बढेका छन् ।

आजको कारोबारमा नेपाल माइक्रो इन्सोरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज एनआएसी एसिया डिवेन्चरको सेयर मूल्य सबैभन्दा बढी चार दशमलव ७९ प्रतिशतले घटेको छ ।

रामबहादुर बम्जनले पाए उच्च अदालतबाट सफाइ

काठमाडौं । उच्च अदालत जनकपुरले बाल यौन दुरुपयोगको जिल्ला अदालतबाट दोषी ठहर भएका आफूलाई लिटिल बुद्ध बताउने रामबहादुर बम्जनलाई सफाइ दिएको छ ।

जिल्ला अदालत सर्लाहीको फैसला उल्ट्याउँदै उच्च अदालतका न्यायाधीशद्वय खेमराज भट्ट र नरिश्वर भण्डारीको इजलासले बम्जनलाई सफाइ दिएको हो । गत चैत ६ गते इजलासले बम्जनसँगै बाल यौन दुराचारको आरोप खेपेका ज्ञानबहादुर बम्जन र डिगबहादुर बम्जनलाई पनि सफाइ दिएको अदालतका उप–रजिष्ट्रार सुशील यादवले जानकारी दिए ।

जिल्ला अदालत सर्लाहीले गत असारमा बम्जनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो । उच्च अदालतले फैसला गरेको बेला बम्जन जिल्ला कारागार सिन्धुपाल्चोक थिए ।

अदालतको आदेशसँगै बम्जन रिहा भइसकेका छन् । बम्जनविरूद्ध २०८१ फागुनमा जिल्ला अदालत सर्लाहीमा ८ करोड २७ लाख रुपैयाँ गैरकानुनी तरिकाले आर्जन गरेको सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएको थियो । बमजनविरूद्धको सम्पत्ति शुद्धीकरण मुद्दा किनारा लागिसकेको छैन ।

राप्रपाले वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पक्राउ परेका आफ्ना नेताको रिहाइका लागि सशक्त आन्दोलन गर्ने भएको छ ।

बिहीबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणालगायतको रिहाइका लागि सशक्त आन्दोलन गर्ने निर्णय गरेको हो ।

अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदर्शनको क्रममा पक्राउ परेकाहरुको तत्काल रिहाई गर्न सरकारसँग माग गर्ने र रिहाइका लागि कानूनी एवम राजनीतिक दुवै लडाईंलाई सशक्त रुपमा अगाडि लैजाने निर्णय गरेको जानकारी दिए ।

यस्तै, उनले आन्दोलन र पार्टी संगठनलाई सँगसँगै लाने भन्दै पूर्वघोषित वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय पनि गरेको बताए । राप्रपाका सबै आन्दोलनसँग सम्बन्धित कार्यक्रमहरुलाई व्यवस्थित गर्न एउटा विशेष कमिटी समेत बनाउने निर्णय भएको उनले जानकारी दिए ।

कवाडी सङ्कलन केन्द्रमा महानगरले लगायो डोजर

काठमाडौँ । यसअघि पटक पटक दिएको आग्रह नमानेपछि कामठमाडौँ महानगरपालिकाले कवाडी सङ्कलन केन्द्रमा डोजर चलाएर हटाएको छ ।

कामपा–३२ मा पर्ने उक्त कवाडी सङ्कलन केन्द्र हटानको लागि ६ वटा टोल सुधार समिति र स्थानीयले कामपामा उजुरी गरेपछि उक्त केन्द्रमा बिहीबार डोजर लगाइएको कामपा नगर प्रहरी उपरीक्षक दिनेशकुमार अर्यालले जानकारी दिए ।

उपरीक्षक अर्यालका अनुसार कामपा नगर प्रहरीले च्यासल पुलदेखि बालकुमारी पुल क्षेत्रसम्म रहेको तीनवटा कवाडी सङ्कलन केन्द्र हटाएर हो ।

“आवास क्षेत्रमा पर्ने उक्त केन्द्र हटाउनका लागि कामपाले पटक पटक सूचना दिँदा पनि अटेर गरेपछि आज डोजर चलाइएको हो”, उपरीक्षक अर्यालले भने ।

उक्त स्थानमा डोजर लगाएर भत्काएको विरोधमा कवाडी सङ्कलन केन्द्रका दुई मजदुरहरुले डोजरलाई ढुङ्गामुढा गरेका थिए ।

ढुङ्गामुढा गर्नेलाई नियन्त्रणमा लिएको पनि उनले जानकारी दिए । स्थानीयले बालबालिको पठनपाठन बिग्रिएको, सामाजिक असुरक्षा भएको भन्दै उक्त केन्द्र हटाउन आग्रह गर्दै आएका थिए ।

म्याक्रोँंले रुबियो र विटकोफसँग पेरिसमा युक्रेन युद्धबारे छलफल गर्ने

पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले युक्रेनमा युद्धविराम गर्ने विषयमा अमेरिकी उच्च कूटनीतिज्ञसँग बिहीबार पेरिसमा भेटवार्ता गर्ने भएका छन् ।

युक्रेनीसेना प्रमुखले बिहीबार युक्रेनका उच्च अधिकारीहरू पनि युरोपेली सङ्घ र अमेरिकी प्रतिनिधिमण्डललाई भेट्न फ्रान्सको राजधानी पेरिसमा रहेको बताएका थिए ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियो र अमेरिकी राजदूत स्टिभ विटकोफले युद्ध चाँडै अन्त्य गर्ने प्रतिबद्धता जनाए पनि युद्धविरामकोको प्रयासले सफलता नपाएपछि अमेरिकी अधिकारीहरू फ्रान्सको राजधानी पेरिसमा आइपुगेका हुन् ।

युक्रेनको सुमी र क्रिभी रिग सहरमा हालै भएको रुसको हवाई आक्रमणमा थुप्रै बालबालिकासहित दर्जनौँ व्यक्तिको मृत्यु भएको छ र यसले कूटनीतिक प्रयासको शृङ्खलाका बावजुद युद्धले कसरी ठूलो क्षति व्यहोरिरहेको छ भन्ने देखाउँछ ।

युक्रेनको डेनिप्रो शहरमा बुधबार राति भएको रुसी ड्रोन आक्रमणमा एक बालिकासहित तीन जनाको मृत्यु भएको थियो ।

ट्रम्पले रुससँग प्रत्यक्ष वार्ताका लागि देखाएको तत्परताका कारण यस पहिले अमेरिकाका निकट सहयोगीका रूपमा रहेका कतिपय पश्चिमा राष्ट्रहरू चकित भएका थिए । म्याक्रोँले युक्रेनको रक्षाका लागि समन्वित युरोपेली प्रतिक्रिया सिर्जना गर्न नेतृत्व लिएका छन् ।

युक्रेनका सेना प्रमुख एन्ड्री येर्माकले आफू विदेशमन्त्री एन्ड्री सिबिगा र रक्षामन्त्री रुस्तम उमरोभ फ्रान्स, जर्मनी, बेलायत र संयुक्त राज्य अमेरिकालाई भेट्न पेरिस पुगेको बताएका छन् ।

फ्रान्सका एक कूटनीतिक स्रोतका अनुसार यसअघि रुबियो र फ्रान्सका विदेशमन्त्री जाँ नोएल बारोटबीच युक्रेनको युद्ध, मध्यपूर्वको अवस्था र इरानी आणविक फाइलबारे छलफल हुने बताइएको थियो । पदभार ग्रहण गरेयता रुबियोको यो तेस्रो युरोप भ्रमण हो ।

पुटिनसँगको तेस्रो भेटको केही दिनपछि सोमबार विटकोफले शान्ति सम्झौता ‘उदीयमान’ भएको देखेको बताएका थिए । तेहरानको आणविक कार्यक्रमबारे अमेरिका र इरानबीच शनिबार ओमानमा भएको छलफलपछि पेरिस वार्ता भएको हो ।

अष्ट्रेलियामा बेरोजगारी दर वृद्धि

क्यानबेरा । मार्चमा अस्ट्रेलियाको बेरोजगारी दर बढेको अष्ट्रलियाको बिहीबार प्रकाशित सरकारी तथ्याङ्कमा दावी गरिएको छ।

रोजगारीमा मौसमी उतारचढावलाई सहज बनाउने जनाउदै बेरोजगारी दर लगातार पाँच महिना ४.० प्रतिशतमा रहेको एबीएसले जनाएको छ।

पछिल्लो १२ महिनामा रोजगारमा रहेका अस्ट्रेलियालीको सङ्ख्या तीन लाख आठ अथवा (२.२ प्रतिशत) ले बढेको छ, जुन महामारीपूर्वको २० वर्षको औसत २.० प्रतिशतभन्दा बढी हो।

रोजगारमा रहेका अस्ट्रेलियालीहरूको सङ्ख्या फेब्रुअरी र मार्चको बिचमा ३२ हजार २०० ले वृद्धि भएको एबीएसले जनाएको छ भने सोही अवधिमा बेरोजगार व्यक्तिहरूको सङ्ख्या तीन हजारले बढेको छ।

एबीएसका श्रम तथ्याङ्क प्रमुख सीन क्रिकले रोजगार–जनसङ्ख्या अनुपात (काम गर्ने उमेरको जनसङ्ख्या) मार्चमा ६४.१ प्रतिशत रहेको छ।

रोजगारीमा वृद्धिको बावजुद, क्रिकले अष्ट्रेलियालीहरूले काम गर्ने समय मार्चमा ०.३ प्रतिशतले घटेको बताउदै यसको कारण चक्रवात लगायत प्रमुख मौसमी घटनाहरू भएको बताए।

कोरलामा बढ्यो व्यापारिक चहलपहल

मुस्ताङ। नेपाल-चीन उत्तरी कोरलानाकास्थित दशगजा क्षेत्रको नेपाली भूमिमा करिब एक दर्जन स्थानीय व्यापारीले नेपाली तथा चिनियाँ सामानको पसल सञ्चालन गरिरहेका छन् । सीमावर्ती गाउँपालिका लोमान्थाङ-२ र १ वडाकासाना व्यापारीले समुन्द्री सतहको चार हजार ६१० मिटरको अग्लो उचाइ कोरलापासमा बसेर नेपाली तथा चिनियाँ सामानको बिक्री गर्न पसल सञ्चालन गरेका हुन् ।

विसं २०८० को कात्तिक २७ गतेदेखि नेपाल-चीन कोरलानाका खुलेपछि सीमावर्ती क्षेत्र छोसेरका स्थानीय तथा साना व्यापारीहरू कोरलानाकामा पसल र रेष्टुरेन्ट चलाएर बस्न थालेका लोमान्थाङ-२ छोसेरका युवा पासाङ वाङ्दीले बताए ।

कोरलानाका अवलोकनका लागि यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई स्थानीयस्तरमा उत्पादित सामाग्रीका साथै चिनियाँ सामान बिक्री गरेर आम्दानी गरिरहेको उनको भनाइ छ ।

‘कतिपयले नाकामा पुगेका पर्यटकलाई खाजानास्ता र चियाकफी समेत बनाएर खुवाउँछन् । नाकामा एक दर्जन व्यापारीले त्रिपाल टाँगेर व्यापार गर्दै आइरहेका छन् । कोरला नाका अग्लो सुक्खा पठार भूमि दशगजा क्षेत्रमा त्रिपालमुनि बसेर ब्यापार गरिरहेका छौँ । बिहान उठ्ने बित्तिकै रेष्टुरेन्ट व्यवसायसँगै चिनियाँ पसलमा व्यापार सुरु हुन्छ । साँझ बिक्री गर्न राखिएका सबै सामान त्रिपालमुनि लगेर थन्क्याउँछौँ । यसरी हाम्रो दैनिकी चलेको छ’, वाङ्दीले भने।

उनले आफू पनि यहाँ व्यापार गर्न स्टल थापेर बसेको बताए। दुई महिनादेखि कोरला पासमा व्यापार गर्न बसेका पासाङले चिनियाँ व्यापार सन्तोषजनक रहेको उल्लेख गरे ।

दैनिक बिहान ९ बजे कोरलानाकाको तिब्बती भूमि लिग्चेमा पुगेर चिनियाँ सामान किनेर दिउँसो २ बजे फर्किने गरेका लोमान्थाङ-१ छोसेरकी लाक्पाछेसुङ गुरुङले उल्लेख गरे । चीनले बिहान ९ बजे चीनतर्फको नाका छिरेर दिउँसो २ बजेपछि मात्रै फर्किने नियम रहेको उनले जानकारी दिए । दजगजा क्षेत्रबाट चीनको भूमि लिग्चेसम्मको करिब ३०० मिटर दूरी रहेको भन्दै त्यहाँबाट आफैँले बोकेर सामान ल्याउनुपर्ने उहाँले सुनाए।

गुरुङले चीनको नाका प्रवेश गरेर जान सरकारले वितरण गरेको सीमापार पास देखाएर मात्रै जान पाइने उल्लेख गरे। ‘गाउँका धेरैजसो युवा विदेश गइसके, म भने यही नाकामा पसल चलाएर बसेकी छु’, उनले भने, ‘दैनिक ? छ-सात हजारको व्यापार हुन्छ, फाइदा दुई-तीन हजार हुन्छ ।’

गुरुङले कोरला नाकामा नेपाली पर्यटक आउने क्रम बढ्दै जान थालेको बताए। नाका खुलेपछि बर्खायामभरि नाकामा त्रिपालमुनि बसेर दिउँसो चिनियाँ सामग्रीको पसल चलाएको बताउँदै उनले भने, ‘हिउँदयाममा चिसो हुन्छ, पर्यटक पनि आउँदैनन्, यसैले जाडो महिनामा पोखरा झरेर व्यापार गर्ने गरेकी छु । घरायसी प्रयोजनबाहेक यहाँको सामान तल लैजान पाइँदैन, भन्सारले रोकिदिन्छ, यसैले पनि दुईचार पैसा आम्दानी होला कि भनेर यहाँ बसेकी हुँ ।’

कोरलानाकामा बसेर व्यापार गर्न उत्तिकै चुनौतीपूर्ण छ । पठार सुक्खा अग्लो स्थानमा लामो समय बसेर व्यापार गर्दा लेक लाग्ने समस्या हुने गुरुङले बताए। नाका अवलोकनका लागि पुगेका कतिपय पर्यटकलाई लेक लागेर बिरामी हुने गरेका बताउँदै सरकारले कोरला नाका खुलाए पनि आवश्यक वातावरणमैत्री भौतिक पूर्वाधार निर्माण नहुँदा यहाँ बसेका व्यापारी तथा पर्यटकलाई स्वास्थ्यमा समस्या हुने गरेको उनले उल्लेख गरे।

नाकामा खानेपानी र भरपर्दो शौचालय नहुँदा व्यापारी तथा पर्यटकले सास्ती भोग्नु परेको व्यापारीहरू बताउँछन् । नाकामा व्यापार गर्न बसेका व्यापारीलाई चीन सरकारले खानेपानीको सुविधा उपलब्ध गराएको गुरुङले जानकारी दिए ।

कोरलानाकामा कमजोर संरचनाको अस्थायी शौचालय निर्माण गरिए पनि त्यो भरपर्दो नभएको व्यापारीहरू सुनाउँछन् । नाकामा चीनको सामान ल्याएर बिक्री गर्ने स्थान रहे पनि खुल्ला पठारमा स्टल राख्दा हावा, धुवाँ र धुलोको समस्याले स्वास्थ्य समस्या हुने गरेको उहाँहरूको भनाइ छ । पर्यटकले जथाभावी फोहोर फाल्ने तथा व्यापारी फोहोर व्यवस्थापन गर्न नसक्दा सीमानाका दुर्गन्धित तथा प्रदूषित बन्ने गरेको छ ।

नेपाल—चीन उत्तरी कोरलानाका उपल्लो मुस्ताङका दुई पालिकाका लागि खुलेपनि हालसम्म तीन हजार बढीले चीन प्रस्थान गर्ने सीमापार पास पाइसकेका छन् । उपल्लो मुस्ताङका नागरिकका लागि घरायसी सामान किनमेल गर्न खुलेको यो नाकाबाट व्यापारी प्रयोजनका लागि नेपाली तथा चिनियाँ सामान आयात, निर्यात गर्न पाँच महिनादेखि पूर्ण रूपमा प्रतिबन्ध लगाइएको लोमान्थाङ–२ छोसेरका वडाध्यक्ष कर्मानाम्ग्याल गुरुङले जानकारी दिए ।

नाकाबाट भन्सारले सामान ल्याएर बिक्रीवितरण गर्न नदिएपछि कतिपयको रोजीरोटी खोसिएको उनले बताए। वडाध्यक्ष गुरुङले नाका खुल्ला भयो भनेर मात्रै नहुने भन्दै त्यसका लागि सरकारले भन्सार सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गरेर आयात, निर्यातलाई सहज बनाइदिनुपर्नेमा जोड दिए ।

नेपाल–चीन कोरलानाकास्थित न्हेचुङ भन्सारले स्थानीय व्यापारीलाई व्यापारिक प्रयोजनका लागि सामान ल्याउन नदिएपछि आफूहरू अप्ठ्यारोमा परेको लोमान्थाङ–३ ठिङ्गरका साना व्यापारी कर्माम्टुक गुरुङले दुःखेसो पोखे । कोभिड सङ्क्रमणकालमा लगातार चार वर्षसम्म बन्द रहेको कोरलानाका खुले पनि उपल्लो मुस्ताङका नागरिकलाई खासै सुविधा प्राप्त नभएको यस क्षेत्रका नागरिकको गुनासो छ ।

नाका खुलेको डेढ वर्ष पुग्दा गत पुसदेखि न्हेचुङ भन्सार कार्यालयले राजस्व संकलन गर्न छाडेको छ । केही महिनाअघि उपल्लो मुस्ताङका एक व्यक्तिले अवैध रूपमा ठूलो परिमाणमा विद्युतीय चुरोट ‘भेप’ आयात गरेपछि मुस्ताङ प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको थियो । त्यसपछि भन्सार कार्यालयले चीनबाट सामान ल्याएर बिक्रीवितरण गर्ने कार्यलाई प्रतिबन्ध गरेको वडाध्यक्ष गुरुङले जानकारी दिए।

लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले कोरलानाकाबाट सामान ल्याएर बिक्री गर्ने कार्यमा परेको कानुनी जटिलता र अप्ठ्याराहरूको समाधान खोज्न सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाए।

लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलको तयारी पूरा

नेपालगञ्ज । नेपालगञ्जमा हुन लागेको लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

नेपालगञ्ज रङ्गशालामा यही वैशाख ५ देखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितालाई भव्य बनाउन रङ्गशाला सरसफाइ, रङ्गरोगन, खेलाडी आवास, यातायातको व्यवस्थालगायत सबै तयारी पूरा भएको प्रतियोगिता आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिए ।

उनले पार्किङ व्यवस्थापन, खेलाडीका लागि आवास व्यवस्थापन र खेलाडी बसोबास भएको स्थानबाट रङ्गशालासम्म यातायताको व्यवस्थापनसमेत गरिएको बताए ।

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको टोली नेपालगञ्ज आइसकेका प्रतियोगिताको सञ्चारमाध्यम संयोजक निरज गौतमले जानकारी दिए ।

नेपालका सात र भारतका एक टोली गरेर आठ टोलीको सहभागिता रहने प्रतियोगितामा प्रतिस्पर्धा गर्ने टोलीमध्ये सुदूरपश्चिम एफसी आज बेलुका नेपालगञ्ज पुग्ने उनको भनाइ छ । गौतमले भारतबाट आउने खेलाडीहरू भोलि नेपालगञ्ज आउने जानकारी दिए ।

प्रतियोगितामा घरेलु टोली बाँके–११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदूर पश्चिम एफसी, सिलगुडी फुटबल क्लब र रौतहट जिल्ला फुटबल सङ्घ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

बाँके जिल्ला फुटबल सङ्घको सहकार्यमा हुन लागेको प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख पाँच हजार ५५५ र उपविजेता टोलीले रु दुई लाख ५० हजार ट्रफी, मेडलसहित पुरस्कार प्राप्त गर्नेछन् ।

लुम्बिनी कपमा घोषणा गरिएको पुरस्कार राशि अहिलेसम्मकै उत्कृष्ट भएको आयोजकको दाबी छ । प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा सहयोग गर्ने विश्वास गरिएको छ ।

तत्काल सरकारमा जाने मनस्थितिमा छैनौंः अध्यक्ष नेपाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अहिले आफूहरू सरकारमा जाने मनस्थितिमा नरहेको बताएका छन् ।

चितवनमा बिहीबार पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले आफूहरू जनतामा जाने, जनताको समस्या बुझ्नेतर्फ केन्द्रित गरेको उल्लेख गरे ।

उनले भने, “तत्काल सरकारमा जाने मनस्थिति छैन । जनतामा जाने, जनताका समस्या बुझ्ने र उहाँहरूका समस्या समाधानमा ध्यान केन्द्रित छ ।” उनले अहिले पार्टीका कमीकमजोरीलाई सुधार गरेर अघि बढ्ने समय रहेको बताए ।

फेरि राजतन्त्र फर्कन सक्ला ? भन्ने पत्रकारहरूको प्रश्नमा अध्यक्ष नेपालले इतिहासको पाङ्ग्रा पछाडि नफर्कने बताए ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गरी उनले राजतन्त्र ल्याएर फाइदा नभएको भन्दै व्यक्तिविशेषमा राम्रो भावना, योजना भए प्रभावकारी काम गर्न सकिने बताए ।

नेपालीहरु हाम्रो देश चलाउन, अघि बढाउन, देशको सम्मान, स्वाभिमानको रक्षा गर्न र स्वतन्त्रताको रक्षा गर्न आफैँ सक्ने अवस्थामा रहेका अध्यक्ष नेपालको भनाइ छ । शिक्षकहरूको मागका बारेमा सरकार सकारात्मक बनेर समस्या समाधान गर्नुपर्नेमा उनले जोड दिए ।

वर्षौंदेखि भएका सहमति कार्यान्वयन गर्न सरकारलाई नेपालले आग्रहसमेत गरे । उनले भने, “विद्यार्थीको भविष्यसँग जोडिएको विषय छ । यसलाई सरकारले समाधान गर्न तदारुकता देखाउनु पर्छ ।”

अराजकता स्वीकार्य हुँदैनः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा पुर्याउँदा द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने स्पष्ट गरेका छन् ।

नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको छैटौँ राष्ट्रिय महाधिवेशनको बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगबाट पीडितलाई न्याय दिने गरी कार्यसम्पादन हुने बताए ।

उनले ती आयोग गठन प्रक्रियामा अब ढिलाइ नहुने भन्दै अधिनायकवाद परास्त भई लोकतान्त्रिक प्रणालीमा मुलुक गइसकेकाले अब कुनै बहकाउमा लागेर कुनै पनि खालका हत्या, हिंसा, धार्मिक सद्भाव खलबलाउने गतिविधि, अराजकतालगायत कार्य स्वीकार्य नहुने स्पष्ट गरे ।

‘अहिले हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छौँ । यहाँ जनताका बीचमा गएर प्रतिस्पर्धा गर्न पाइन्छ । चुनाव जितेर एमालेले एकल सरकार बनाएर विकास र समृद्धिका लागि अभूतपूर्व कामको थालनी गरेका बेला त्यसबाट त्रसित भएर प्रतिक्रियावादीको उक्साहटमा हामीलाई विस्थापित गरियो । अहिले संयुक्त सरकारका रूपमा हामीले काम गरिरहेका छौँ’, प्रधानमन्त्री ओलीले भने, ‘हामीसँग राष्ट्र निर्माण र एकताका इतिहास छन् । हामी समृद्ध र सिङ्गो नेपाल नयाँ पुस्तालाई हस्तान्तरण गर्नेछौँ । हामी सिमाना खुम्चन र राष्ट्रिय स्वाभिमानमा आँच आउन दिनेछैनौँ । हाम्रो सभ्य र सुसंस्कृत समाजलाई कायम राखेर अघि बढ्छौँ ।’

प्रधानमन्त्री ओलीले विविधतायुक्त मुलकमा सामाजिक सद्भावसहितको राष्ट्रिय एकता आवश्यक भएको बताउँदै एमालेले त्यसको अगुवाइ गरिरहेकाले भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनले देश र पार्टीप्रति गरेको विश्वासलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिए ।

अध्यक्ष ओलीले यही वैशाख ११ गते लोकतन्त्र दिवसका दिन एमालेले युवाहरूको सम्मेलन आयोजना गरी जनताको अधिकार र विकासका पक्षमा उत्सव मनाउन आह्वान पनि गरे ।

गाजामा इजरायली हमलामा २५ जनाको मृत्यु

गाजा । इजरायलले बिहीबार विस्थापित प्यालेस्टिनीहरूका शिविर लक्षित गरी गरेको आक्रमणमा परी कम्तिमा २५ जनाको ज्यान गएको छ ।

गाजाको नागरिक सुरक्षा एजेन्सीले एजेन्सीका प्रवक्ता महमुद बासलले दक्षिणी सहर खान युनूसको अल–मवासी क्षेत्रका शिविरहरुलाई लक्षित गरी गरिएको आक्रमणमा १६ जनाको मृत्यु भएको जानकारी दिए ।

खान युनूसको अल–मवासी क्षेत्रमा विस्थापित परिवारहरू बस्ने शिविरहरुमा इजरायली मिसाइल प्रहार हुँदा अधिकांश महिला र बालबालिका सहित कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै अन्य २३ जना घाइते भएको प्रवक्ता बासलले बताए ।

उनका अनुसार विस्थापित मानिसहरूको अन्य शिविरहरूमा भएको आक्रमणमा परी आठ जनाको ज्यान गएको र अन्य घाइते भएका छन् ।

उत्तरी सहर बेत लाहिया स्थित शिविरमा भएको आक्रमणमा सात जनाको मृत्यु भएको तथा अल–मवासी क्षेत्र नजिकै भएको आक्रमणमा उक्त शिविरमा बस्दै आएका बुबा र बच्चाको मृत्यु भएको बासलले बताए ।

प्रतिपक्षी दलले सरकार ढलोस् भन्नु स्वाभाविक नै हो, तर ढल्दैनः प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारका विपक्षमा नबोल्न नेताहरुलाई निर्देशन दिएका छन् ।

बिहीबार आफ्नै निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा सभापति देउवाले असन्तुष्टि भए पार्टीमा राख्न तर बाहिर सरकारको विपक्षमा नबोल्न नेताहरूलाई निर्देशन दिएका हुन् ।

बैठकमा सभापति देउवाले सरकारका कामकारबाहीबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी भइरहेको र सात बुँदे सहमतिप्रति प्रतिवद्ध रहेको बताएको एक नेताले जानकारी दिए ।

बैठकमा सरकारको कामकारबाहीका विषयमा पनि छलफल भएको थियो । बैठकले सरकारले गति बढाउनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

उनले सत्तारुढ दलबीच समन्वय हुनुपर्ने र डेलिभरी दिनसक्नुपर्ने विषयमा समेत छलफल भएको बताए ।

उनले भने, ‘सत्ता गठबन्धन दलहरुबीच समन्वयको आवश्यकता छ। सबैको कुरा समेट्नुपर्ने छ। नियुक्तिमा पनि सन्तुलन मिलाउनुपर्छ । गठबन्धन सरकार भन्ने बित्तिकै एउटै दलले चाहेजस्तो हुँदैन ।’

प्रवक्ता महतले प्रचण्डले भनेकै आधारमा सरकार बन्ने र ढल्ने नहुने बताए । उनले भने, ‘प्रतिपक्षी दलले सरकार ढलोस् भन्नु स्वाभाविक नै हो । तर उहाँले भनेका आधारमा सरकार बन्ने र ढल्ने हुँदैन ।’

आयोडिनयुक्त नुन उत्पादन तथा बिक्रीसम्बन्धी ऐन २६ वर्षपछि कार्यान्वयनमा

काठमाडौँ । सरकारले आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरणसम्बन्धी ऐन लागू गरेको छ । विसं २०५५ मा बनेको उक्त ऐन २६ वर्षपछि कार्यान्वयनमा आएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलद्वारा पेस गरिएको प्रस्ताव यही वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकबाट पारित भएपछि ऐन कार्यान्वयनमा आएको हो ।

ऐन कार्यान्वयनमा आएसँगै स्वास्थ्य मन्त्रालयले यसअघिको अनुसन्धानमा बालबालिकामा अधिक रुपमा पाइएको आयोडिन र त्यसबाट सिर्जित स्वास्थ्य समस्या समाधानमा काम अघि बढाउन कानुनी बाटो खुला गरेको छ ।

ऐन जारी भएको सूचना २०५५ माघ १ को राजपत्रमा प्रकाशन भएर राजपत्रमा सूचना प्रकाशन गरी तोकिएको मितिबाट प्रारम्भ हुने उल्लेख थियो । त्यसयताका सरकारहरूले कार्यान्वयनका लागि राजपत्रमा सूचना प्रकाशन नगर्दा उक्त ऐन कानुनी रूपमा लागू भएको थिएन ।

जसका कारण ऐनको कार्यान्वयन तथा नियमनका लागि नियमावली तथा निर्देशिका बनाउन सकिएको थिएन । अब साढे दुई दशकपछि मन्त्रालयलाई यससम्बन्धी काम अघि बढाउन कानुनी बाटो खुला भएको छ ।

मङ्गलबारको मन्त्रिपरिषद् बैठकले आगामी साउन १ गतेदेखि लागू हुने गरी राजपत्रमा सूचना प्रकाशन गर्ने निर्णय गरेको हो । योसँगै ऐन बनेको २६ वर्षपछि बल्ल कार्यान्वयनमा आउने भएको हो ।

नेपालमा विगतमा बनेको मापदण्डका कारण बालबालिकामा आवश्यकताभन्दा बढी आयोडिन उपलब्ध हुँदा गम्भीर स्वास्थ्य समस्या आएको मन्त्रालयद्वारा एक दशकअघि गरिएको अनुसन्धानले देखाएको स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभागअन्तर्गतको पोषण शाखा प्रमुख लिलाविक्रम थापाले बताए ।

सन् २०१६ मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको सूक्ष्म पोषक तत्व विश्लेषण सर्वेक्षणमा ६ देखि ९ वर्षका बालबालिकाको पिसाबमा तीन सय माइक्रोग्राम प्रतिलिटर आयोडिन हुनुपर्नेमा तीन सय १४ भेटिएको थियो । जसका कारण उच्च रक्तचाप, थाइरोइडलगायत समस्या देखिने गरेको चिकित्सक बताउँछन् ।

व्यावहारिक रूपमा अभ्यासमा आए पनि राजपत्रमा ऐनको सुरुआत तथा क्षेत्रसहितको विवरण प्रकाशनको सूचना नआएकाले यसले नियमावली तथा निर्देशिका बनाएर स्वास्थ्य समस्या समाधान गर्न अड्चन आएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए ।

‘अब स्वास्थ्य, कृषि तथा समृद्ध मन्त्रालय मिलेर मापदण्ड परिमार्जन वा अरू आवश्यक काम गर्न सहज हुनेछ’, उनले भने ।

चिनियाँ राष्ट्रपति सी कम्बोडिया भ्रमणमा

नोमपेन । चिनियाँ राष्ट्रपति सी जिनपिङ बिहीबार कम्बोडियाको भ्रमणका लागि राजधानी नोम पेन्ह पुगेको चीनको ग्लोबल टेलिभिजन (सीजीटीएन)ले जनाएको छ ।

चीनको क्षेत्रीय व्यापार सम्बन्धलाई बलियो बनाई अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पले लगाएको चर्को करको प्रभावलाई कम गर्ने प्रयास स्वरुप राष्ट्रपति सी भियतनाम र मलेसियाको भ्रमण पछि कम्कोडिया पुगेका हुन् ।

बिहीबार नोम पेन्हको विमानस्थलमा उहाँलाई सैन्य स्वागतसहित राजा नोरोडोम सिहामोनीले स्वागत गरेका थिए ।

राष्ट्रपति सी ले पूर्व नेता हुन सेन र उनका छोरा प्रधानमन्त्री हुन मानेटसँग बैठक गर्नुअघि बिहीबार दिउँसो दरबारमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको जनाइएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार कम्बोडियाको सबैभन्दा ठुलो व्यापारिक साझेदार र लगानीको स्रोत चीन हो ।

नोम पेन्ह एसियामा चिनका भरपर्दो समर्थक हुन मानेटले सी को भ्रमणलाई अर्थपुर्ण र मित्रताको प्रतिकको रुपमा वर्णन गरेका छन् ।

उनले दुई देश वीच सार्वभौमिकता, समानता र आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तमा आधारित सम्बन्ध रहेको बताएका छन् ।

यसै क्रममा उनले कम्बोडियाको सामाजिक आर्थिक विकासमा चीनले “महत्वपूर्ण भूमिका खेलेको पनि बताएका छन् । उनका अनुसार यस वर्ष चीन र कम्बोडियाले कूटनीतिक सम्बन्धको ६७ वर्षसमेत मनाउँदैछन् ।

चालु महिनाको सुरुमा ट्रम्पले गरेको चर्को कर घोषणा पछि विश्व व्यापी रुपमा यस विषयमा बहस र चर्चा भइरहेको छ ।

कम्बोडियाली वाणिज्य मन्त्रालयका अनुसार हुन मानेटले वासिङ्टनलाई आपसी समझदारी र वार्ताका लागि कम्बोडियाको विश्वास व्यक्त गर्दै अमेरिकी सामानहरूमा आफ्नो कर घटाउने प्रतिवद्धता सहित पत्र लेखेका छन् ।

हुम्लामा बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

हुम्ला । हुम्लामा आज बिहान अत्यधिक वर्षा हुँदा अदानचुली गाउँपालिका–३ स्थित गोठभित्र पुरिएर २६ बाख्रा मरेका छन् । अदानचुली–३ का आइते बुढाको गोठभित्र रहेका ७० बाख्रामध्ये २६ वटा बाढीपहिरो आउँदा पुरिएर मरेका हुन् ।

भेडिगोठभित्र पहिरो पस्नुका साथै गोठ भत्किँदा २६ बाख्रा मरेका पीडित किसान बुढाले बताए। गोठभित्र रहेकामध्ये २९ वटा बाख्रा गाउँलेको सहयोगमा जीवित निकालिएको उनले जानकारी दिए । उनका अनुसार बाँकी बाख्रा हराइरहेकाले खोजीकार्य भइरहेको छ ।एक्कासि आएको वर्षाले लाई ठूलो क्षति गरेको बताउँदै बुढाले दुःखकष्ट र मेहनतका साथ पालिएका बाख्राको गोठभित्र पहिरो खसेको उल्लेख गरे ।

आज बिहान आएको वर्षाले अदानचुली गाउँपालिकाका विभिन्न स्थानमा क्षति पुर्‍याएको छ । बिहान परेको मुसलधारे वर्षाले श्रीनगर बजारमा व्यवसाय गर्दै आएका व्यवसायीका अस्थायी टहरासहित पसलमा राखिएका सामानमा क्षति पुर्‍याएको स्थानीयले बताएका छन् ।

अविरल वर्षापछिको बाढीले अदानचुलीमा ११ पसल, एक घर र एक भेडिगोठमा क्षति पुर्‍याएको जनाउँदै ११ वटा पसल बगाएको सञ्चारकर्मी मोहनसिंह बुढाले बताए। वर्षासँगै आएको लेदोसहितको बाढीले अदानचुली–२ अमृत बुढा, अदानचुली–१ का बुद्धि महतारालगायत व्यवसायीका पसलमा क्षति पुर्‍याएको उनीहरुले जानकारी दिए। यहाँका अधिकांशका घर तथा टहरामा पानी पसेर स्थानीय प्रभावित बनेका छन् ।

२५ करोड बराबरको विदेशी मुद्रासहित पक्राउ परेका ट्रक चालक जेल चलान

काठमाडौं । काठमाडौंको टोखामा २५ करोड बराबरको विदेशी मुद्रासहित पक्राउ परेका ट्रक चालक जेल चलान भएका छन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले ट्रक चालक कुसाङ लामालाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएका हुन् ।

लामा र नारायण पौडेललाई प्रतिवादी बनाएर विदेशी विनिमय (नियमन गर्ने) ऐन २०१९ को दफा ३, ४, ५ र ९ अनुसारको कसुरमा मुद्दा दर्ता गरिएको थियो ।

गत चैत ४ गते ना ७ ख १६५२ नम्बरको ट्रकमा लुकाएर चीनतर्फ लाँदै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोकका ४३ वर्षीय चालक लामालाई पक्राउ गरेको थियो ।

भौतिक विकासका सबै सुखसुविधाहरु आफ्नै हुनुपर्छ भन्ने सोच गलत : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले भौतिक विकासका सबै सुख सुविधाहरु आफ्नै हुनुपर्छ भन्ने सोच गलत भएको बताएका छन् ।

बिहीबार खप्तडबाबा ज्योति पुरस्कार वितरण तथा सम्मान समारोहमा बोल्दै मन्त्री पाण्डेले भौतिक विकास गलत नभएको तरहेर्ने दृष्टिकोण आत्म केन्द्रित वा स्वार्थ केन्द्रित हुनु गलत भएको बताए ।

उनले भने, ‘भौतिक विकासका सबै सुखसुविधाहरु मेरै हुनुपर्छ भन्ने सोच गलत हो । भौतिक विकास गलत होइन तर भौतिक विकासलाई हेर्ने दृष्टिकोण आत्म केन्द्रित र स्वार्थ केन्द्रित भयो भने त्यो गलत हो । हामी नाङ्गै आएको नाङ्गै जाने वास्तविकता र सत्य त्यही नै हो ।’

साथै उनले स्वार्थहरुको पत्रले छोपिँदा छोपिँदा मान्छेले आफ्नो स्वभावविकता गुमाउँदै गइरहेको बताए । उनले स्वभावविकता गुमाउँदा नै मान्छेले द्वन्द्व निम्त्याउने गरेको बताए ।

उनले भने, ‘कसैले स्वार्थहरुको पत्रले छोपिँदा छोपिँदा मान्छेले आफ्नो स्वभावविकता गुमाएको हुन्छ । त्यो स्वभावविकता गुमाउँदा नै मान्छेले द्वन्द्व निम्त्याउँछ । मान्छेले दोराचार निम्त्याउँछ । मान्छेले सौदाचारको बाटो छोड्छ, साम, दाम, दण्ड र भेदको बाटो अबलम्वन गर्छ ।’

सुनको मूल्य तोलाको १ लाख ९० हजार ६०० रुपैयाँ

काठमाडौँ । बिहीबार सुनको मूल्य तोलामा ३ हजार ६ सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलाको १ लाख ९० हजार ६०० रुपैयाँमा पुगेको छ ।

अघिल्लो दिन तोलामा १ लाख ८७ हजार रुपैयाँ कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य बढेर तोलामा १, ९६० रुपैयाँ पुगेको छ।

२२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ । आगामी शनिबार र आइतबार देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ ।

‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी शनिबार र आइतबार भिटामिन ‘ए’ खुवाउँदै छ । स्वास्थ्य सेवा विभागका अनुसार ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई खुवाइने छ ।

सोही दिन एक वर्षदेखि पाँच वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने छ । बालबालिकालाई बालभिटा खुवाइने छ ।

सोही दिन बालबालिकामा कुपोषणको परीक्षण पनि गरिने छ । ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ मा करिब ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिने छ ।

सरकारले भिटामिन ‘ए’ कमीको रोकथाम तथा उपचारको लागि २०५० सालमा आठ जिल्लाबाट सुरु भएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २०५९ देखि देशभरि नै लागू गरिएको हो ।

जुका नियन्त्रण तथा रोकथामको लागि २०५६ सालदेखि १३ जिल्लाबाट सुरु गरिएको जुकाको औषधि खुवाउने कार्यक्रम २०६७ देखि सबै जिल्लामा लागू गरिएको छ । यस्तै २०६४ सालदेखि बालभिटा खुवाइने गरेको छ ।

प्रत्येक वर्ष कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने व्यवस्था सरकारले गर्दै आएको छ ।

यो सरकारको जन्म नै संविधान कुल्चेर भएको होः प्रचण्ड

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र एमालेका कैयौँ नेतासँग भएका संवादका आधारमा यो सरकार लामो जाने स्थिति नरहेको बताएका छन् ।

प्रेस सेन्टर रुपन्देहीले बिहीबार भैरहवामा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले आफूले हचुवाका भरमा सरकारकोबारेमा टिप्पणी नगरेको बताएका हुन् ।

उनले माओवादी केन्द्रलाई यो सरकार ढालेर अहिले सरकारमा आउने कुनै रुचि नभएको र आफूले कुण्ठापनि नपोखेको बताए । प्रचण्डले केही दिनअघि सरकार लामो नजाने बताएका थिए । प्रचण्डको भनाई नेकपा एमालेले सत्ताबाट हट्नुपर्दाको कुण्ठा भएको बताएको थियो ।

प्रचण्डले वर्तमान सरकार दुई तिहाइको नभई षड्यन्त्रको र अपारदर्शी सरकार भएको आरोप लगाए । उनले भने, ‘यो सरकारको जन्म नै संविधान कुल्चेर अप्राकृतिक ढंगले बनेको हो । यो सरकार भ्रष्टाचारी, बिचौलिया र दलाललाई बचाउन बनेको हो ।’

सुमना श्रेष्ठले दिइन् पार्टीको सहमहामन्त्री पदबाट राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री सुमना श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएकी छन् । स्रोतका अनुसार उनले दुई साताअघि नै राजीनामा दिएको जानकारी प्राप्त भएको छ।

पार्टी भित्रको आन्तरिक समीकरण र असन्तुष्टि पछि श्रेष्ठले सहमहामन्त्रीको जिम्मेवारीबाट अलग हुने निर्णय लिएको बताइएको छ। पार्टीले भने औपचारिक प्रतिक्रिया दिएको छैन।

चितवन मिल्कद्वारा एक वर्षमा एक करोड १५ लाख लिटर दूध प्रशोधन

भरतपुर । चितवन मिल्कले एक वर्षमा एक करोड १५ लाख लिटर दूध प्रशोधन गरेर पाउडर बनाएको छ । किसानबाट सङ्कलन भएको दूधबाट गत सालको चैत मसान्तसम्म सो परिमाणमा पाउडर दूध उत्पादन गरेको हो ।

भरतपुर महानगरपालिका-१ ठिमुरामा रहेको उद्योगले फागुन महिनासम्म दैनिक ४५ हजार लिटर दूध प्रशोधन गरेको प्रबन्धक दुर्गाप्रसाद पराजुलीले जानकारी दिए । गर्मी बढ्न थालेपछि दूध सङ्कलन घटेको छ ।

गत चैतमा दैनिक २५ हजार लिटरसम्म दूध सङ्कलन भएको उनले बताए । “गर्मी बढ्न थालेपछि दहीको खपत बढी हुन्छ”, उनले भने, “पाउडर र बटर उत्पादनका लागि सङ्कलन हुने दूध पनि घट्छ ।”

पाउडर र बटर बनाउनका लागि मेचीदेखि महाकालीसम्मका डेरीबाट दूध सङ्कलन हुने गरेको छ । “जसले दूध ल्याउँछ उनीहरूले नै उत्पादन भएको पाउडर र बटर लैजाने गरेका छन्”, उनले भने, “दश दिनसम्म यही ‘कोल्डस्टोर’मा राखिदिने गरेका छौँ ।” पाउडर दूधे आइसक्रिम र बिस्कुट उद्योगमा खपत हुने गरेको छ ।

विसं २०७२ को भूकम्पपछि तीन वर्ष बन्द उद्योग पुनःसञ्चालन भएपछि उत्पादन भएको दूध बिक्री नहुने अवस्थाको अन्त्य भएको छ ।

जिल्ला दूध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले दूध प्रशोधन गरेर पाउडर दूध र बटर बनाउँदा किसान लाभान्वित भएका बताए ।

निर्धारित समयमा काम नगर्ने चार निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । चार निर्माण कम्पनी र आपूर्तिकर्ता कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमनको कार्यालयले सूचना जारी गरी विभिन्न निकायहरूको सिफारिसको आधारमा चारवटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको जानकारी दिएको हो ।

कार्यालयले बिल्ड ब्रदर्स कन्स्ट्रक्सन प्रालि र त्यसका मुख्य व्यक्ति छिरिङ लामा डोङ र पम्बर लामालाई एक वर्षका लागि कालोसूचीमा राखेको छ । त्यसतै, मकवानपुरको हटिया–१ ठेगाना रहेको एस.एम कन्स्ट्रक्सन र त्यसका मुख्य व्यक्ति सहदेव गौतमलाई १ वर्ष ६ महिना कालोसूचीमा राखिएको छ ।

लमजुङको मध्यनेपाल नगरपालिका–४ स्थित राना फर्निचर सःमिल उद्योग र त्यसका मुख्य व्यक्ति सुकु राना मगरलाई १ वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको छ ।

त्यस्तै सल्यानको शारदा नगरपालिका–८ ठेगाना रहेको गौरीगोमा निर्माण सेवा र त्यसका मुख्य व्यक्ति तुफान सिंह बुढाथोकीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

कार्यालयले कालोसूचीमा राखिएको अबधीभर ती निर्माण कम्पनी र आपूर्तिकर्ता कुनै पनि खरिद कारबाहीका भाग लिन नसक्ने जनाएको छ।

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्दैछ । बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ ।

कार्यवाहक सभापति डीपी अर्यालको अध्यक्षतामा बस्ने बैठकमा मुलुकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रम, पार्टीका आगामी गतिविधि, अघिल्लो बैठकको निर्णय, ब्लुप्रिन्ट कार्यदल, सदस्यहरूको संक्षिप्त रिपोर्टिङबारे छलफल हुने बताइएको छ ।

यस्तै, बैठकले पार्टीको जनयात्राबारे पनि ठोस निर्णय गर्ने बताइएको छ । रास्वपाले गत चैत २३ गते चितवनबाट जनयात्रा सुरु गरेको थियो ।

तर, पार्टी सभापति रवि लामिछानेविरुद्ध रूपन्देही जिल्ला अदालतको धरौटीमा रिहा गर्ने निर्णय उल्ट्याउँदै चैत २२ उच्च अदालत तुलसीपुरले थुनामा पठाउने आदेशसँगै अन्योल भएको छ ।

सरकारको कार्यशैली ठिक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रको निष्कर्ष

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले सरकारको कार्यशैली ठिक रहेको निष्कर्ष निकालेको छ ।

बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संयन्त्रको बैठकले आलोचनाबाट सरकार आत्तिनु पर्ने र सरकार सही बाटोमा रहेको निष्कर्ष निकालेको हो ।

बैठकपछि गृहमन्त्री लेखकले बाहिर नेताहरुले आलोचना गरेपछि सरकारमा कुनै समस्या नरहेको बैठकको निष्कर्ष रहेको जानकारी दिए । उनले भने, ‘सरकारमा कुनै समस्या छैन । आलोचनाबाट अत्तिनुपर्ने अवस्था छैन।’

गृहमन्त्री लेखकले भाषणले नभई तथ्य र तथ्यांक हेर्नुपर्ने बताए । उनले भने, ‘परिणामले देखाएको छ राष्ट्र बैंकको सूचक हेर्नुभयो भने सरकार कति ठिक ढंगले अघि बढेको छ देखिन्छ । तथ्य र तथ्यांक हेरौं भाषणमा मात्र टिप्पणी गरेर होइन ।’

उनले गभर्नर नियुक्तिमा दुई दलबीच कुनै समस्या नरहेको र सिफारिस समितिले नियमित प्रक्रियाबाटै यसलाई टुंग्याउने बताए ।

मंगलबार सत्ता गठबन्धन दलका दुई शीर्ष नेता प्रधानमन्त्री ओली र नेपाली कांग्रेस सभापति देउवाबीच भेटवार्ता भएपछि आजका लागि बैठक बोलाइएको थियो । सरकारको कामबारे सत्तारुढ कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा अन्य नेताहरुले आलोचना गर्न थालेपछि संयन्त्रको बैठक बोलाइएको हो ।

तर बैठकमा महामन्त्री थापा सहभागी भएका थिएनन् । सरकार सञ्चालन गर्न सहजीकरण गर्न भन्दै कांग्रेस र एमालेले उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएका थिए ।

४ हजारभन्दा बढी ग्राहकको रकम ट्रान्सफर गरी ठगेको आरोपमा एक युवक पक्राउ

काठमाडौं । विभिन्न व्यक्तिलाई एसएमएमार्फत ‘फिसिङ लिंक’ पठाएर इ–सेवाको एक करोड दुई लाख रकम ट्रान्सफर गरी चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं अनामनगर बस्ने कञ्चनपुर कृष्णपुर नगरपालिका–१ घर भएका २२ वर्षीय राहुल बुढालाई मंगलबार कालीमाटीबाट पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले पक्राउ गरेको हो ।

उनले विभिन्न व्यक्तिलाई एसएमएसमार्फत् फिसिङ लिंक पठाई खाता ‘सस्पेन्ड’ हुन लागेको भनी चेतावनी दिएका थिए। उनले भेरिफाइको लागि लिंक खोल्न लगाई इ–सेवामा अनधिकृत पहुँच पुर्याई ४ हजारभन्दा बढी व्यक्तिको इ–सेवामा रहेको रकम पशुपति ग्लोबल इनोभेसन प्रालिको खाताहरूमा ट्रान्सफर गरेको देखिएको प्रहरीले जनाएको छ।उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसिरहेको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल सहभागी छन् ।

त्यस्तै नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सहभागी छन् । मंगलबार सत्ता गठबन्धन दलका दुई शीर्ष नेता प्रधानमन्त्री ओली र नेपाली कांग्रेस सभापति देउवाबीच भेटवार्ता भएपछि आजका लागि बैठक बोलाइएको थियो ।

सरकारको कामबारे सत्तारुढ कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा अन्य नेताहरुले सरकारको आलोचना गर्न थालेपछि संयन्त्रको बैठक बोलाइएको हो ।

तर बैठकमा महामन्त्री थापा नै सहभागी भएका छैनन् । सरकार सञ्चालन गर्न सहजीकरण गर्न भन्दै कांग्रेस र एमालेले उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएका थिए ।

सुनचाँदीको अवैध कारोबार गर्ने भारतीय गिरोह पक्राउ

काठमाडौं । प्रहरीले अवैध सुन र चाँदी जस्तो देखिने धातु र नगदसहित नौ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । काठमाडौँका विभिन्न स्थानहरुमा सुन तथा चाँदीको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौँ र प्रहरी वृत्त बौद्वबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको महारष्ट्रका वर्ष ३० को नबनाथ बाकु कसीद, वर्ष २० को सन्दीप पोपट हजारे, वर्ष २२ को अन्सार दिलावर सिकल्गार, वर्ष १८ को सुरज राजेश मदने, वर्ष २१ को अरमान हनिफ ईनामदाय,वर्ष २२ को मनोज सुभाष सकट, वर्ष ३८ को अमोल कुमार गोस्ले, वर्ष २० को सुनिल मिटकरी र वर्ष २० को सुरज नन्दीवाली रहेका छन् ।

सुन रिफाइनिङ एण्ड टंच सेन्टरहरूमा खानतलासी गर्दा एक किलो ७६.५१८ ग्राम सुन र १ किलो ८४५.४२९ ग्राम चाँदी बरामद भएको प्रहरीले जनाएको छ ।

सुनको मूल्य एक करोड ७० लाख १० हजार ६० रुपैयाँ तथा चाँदीको मूल्य ३० लाख ९ हजार ९१ रुपैयाँ रहेको छ। यस्तै उनीहरूको साथबाट नेपाली रुपैयाँ ८ लाख २७ हजार ५ सय र भारु ११ हजार ७ सय रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ।

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । बुधबार पत्रकार सम्मेलन गरी सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले निर्णय सार्वजनिक गरेका छन् ।

बैठकले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ । त्यस्तै विश्व बैंकको वित्तीय सहयोगमा सञ्चालन हुन लागेको रानीजमरा कुलरिया सिंचाई आयोजना तेस्रो चरणको लागि १३७मिलियन अमेरिकीडलर सहुलियतपूर्ण ऋण लिनको लागि सैद्धान्तिक सहमतिदिने निर्णय गरेको छ ।

बैठकले सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउनेसम्बन्धी तथा गरीबी निवारण (पहिलो संशोधन) कार्यनीति, २०८१ स्वीकृत गर्ने, हवाई सेवा व्यवस्थापन नियमावली, २०८१ स्वीकृत गर्ने, पूर्वसचिव रामेश्वरप्रसाद खनालको संयोजकत्वमा गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन– २०८१ कार्यान्वयनको लागि ७ दिन भित्र कार्यान्वयन कार्ययोजना बनाई पेश गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव (शासकीय मामिला क्षेत्र) को संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव (राजस्व) र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (उद्योग) रहेको समिति गठन गर्ने निर्णय गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय:

१. २०८२ वैशाख ९ गतेदेखि १५ गतेसम्म चीनको कुनमिङ्गमा आयोजना हुने 56th ICIMOD Board of Governors Meetingमा राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।

२. विश्व बैंकको वित्तीय सहयोगमा सञ्चालन हुन लागेको रानी जमरा कुलरिया सिंचाई आयोजना तेस्रो चरणको लागि १३७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण लिनको लागि सैद्धान्तिक सहमति दिने । उल्लिखित ऋणसम्बन्धी वित्तीय सम्झौता र आयोजना दस्तावेजलाई अन्तिम रूप दिन नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने ।

३. साना सिँचाइ कार्यक्रमका लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने थप अनुदान सहायता १८.८ लाख स्वीस फ्रयाङ्क प्राप्त गर्ने ।

४. २०८२ वैशाख ५ गतेदेखि ११ गतेसम्म कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव (कृषि विकास) डा. गोविन्द प्रसाद शर्मालाई भारत भ्रमणको लागि स्वीकृति प्रदान गर्ने ।

५. सशस्त्र प्रहरी बल, नेपालअन्तर्गतका बोर्डर आउटपोष्ट, गुल्म तथा विपद् व्यवस्थापन वेशसमेतका १३ कार्यालयहरूको लागि जग्गा प्राप्त गर्न स्वीकृति प्रदान गर्ने।

६. नेपाली सेनातर्फ दुई जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गर्ने र तीन जना सहायक रथीहरूको सरुवा गर्ने ।

७. २०८२ जेठ १२ गतेदेखि १५ गतेसम्म बेलायतको British Gorkhas . Welfare Trust (GWT) द्वारा सञ्चालित कल्याणकारी कार्यक्रमहरूको अवलोकन भ्रमण तथा बेलायतका उच्च पदाधिकारीहरूसँग हुने । शिष्टाचार भेटमा सहभागी हुन रक्षा मन्त्रालयका सचिव श्री रामेश्वर दंगाललाई स्वीकृति दिने ।

८. दैलेख जिल्ला दुल्लूस्थित नेपाली सेनाको कालीदत्त गुल्मले साविकदेखि प्रयोग गर्दै आएको जग्गा प्राप्ति गर्न स्वीकृति दिने ।

९. २०८२ जेठ ८ मा चीनको बेइजिङमा आयोजना हुने The !#th Session .of the INBAR Council कार्यक्रममा सहभागी हुन वन तथा वातावरण मन्त्री माननीय ऐन बहादुर शाही ठकुरीलाई स्वीकृति प्रदान गर्ने ।

१०. २०८२ वैशाख ९ र १० गते हङकङमा आयोजना हुने Asia Cultural . Co–operation Forum (ACCF) २०२५ मा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्री प्रसाद पाण्डेलाई स्वीकृति प्रदान गर्ने ।

११. नेपाल सरकार, शहरी विकास मन्त्रालय र गणतन्त्र भारतकोMinistry of Housing and Urban Affairs बिच हस्ताक्षर हुने दिगो शहरी विकासका लागि सहकार्य विषयक समझदारीपत्र स्वीकृत गर्ने ।

१२. आयोडिनयुक्त नून (उत्पादन तथा बिक्री वितरण) ऐन, २०५५ मिति २०८२ साउन १ गतेदेखि नेपाल राज्यभर प्रारम्भ गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने

१३. अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति (चौथो संशोधन) आदेश, २०८१ स्वीकृत गर्ने ।

१४. अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गर्ने सम्बन्धमा व्यवस्था गर्न नागरिक उड्डयन मन्त्रालय बनेको विधेयक संघीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने ।

१५. सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउनेसम्बन्धी तथा गरीबी निवारण (पहिलो संशोधन) कार्यनीति, २०८१ स्वीकृत गर्ने ।

१६. हवाई सेवा व्यवस्थापन नियमावली, २०८१ स्वीकृत गर्ने ।

१७. चलचित्रसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने ।

१८. पूर्वसचिव श्री रामेश्वरप्रसाद खनालको संयोजकत्वमा गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन– २०८१ कार्यान्वयनको लागि ७ दिन भित्र कार्यान्वयन कार्ययोजना बनाई पेश गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव (शासकीय मामिला क्षेत्र) को संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव (राजस्व) र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (उद्योग) रहेको समिति गठन गर्ने ।

१९. संवत् २०८२ साल बैशाख १२ गते शुक्रबारका दिन १३ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान हुन सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।

२०. विभिन्न मागहरू राखी नेपाल शिक्षक महासंघको आह्वानमा हाल भइरहेको प्रदर्शनप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल शिक्षक महासंघले उठाएका मागहरूप्रति नेपाल सरकार संवेदनशील रहेको र मागहरूको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवादलाई निरन्तरता दिने । संघीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक पारित गर्ने समेतको प्रयोजनका लागि संघीय संसदको अधिवेशन आह्वान गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय आजको मन्त्रिपरिषद् बैठकले गरेको । उक्त विधेयक छिटो पारित गर्न नेपाल सरकारको तर्फबाट आवश्यक समन्वय र सहजीकरण गर्ने । हाल विद्यालयहरूमा नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना गर्ने समय रहेको र माध्यमिक शिक्षा परीक्षा कक्षा दशको उत्तरपुस्तिका परीक्षण गर्ने एवं कक्षा बाह्रको परीक्षा सञ्चालन गर्ने जस्ता महत्त्वपूर्ण कार्यहरू गर्नुपर्ने भएको हुँदा प्रदर्शनका कार्यक्रम रोकी विद्यार्थी र अभिभावकको हितलाई मध्यनजर गरी शिक्षकहरूलाई आ–आफ्नो काममा फर्किन आह्वान गर्ने र सोको लागि आवश्यक वातावरण बनाउन नेपाल शिक्षक महासंघलाई अनुरोध गर्ने ।

संवैधानिक निकायमा ५२ पदाधिकारी नियुक्ति विवादको सुनुवाइ हेर्दाहेर्दैमा

काठमाडौं । ५२ संवैधानिक पदाधिकारी नियुक्ति विवादको सुनुवाइ बुधबार पनि हेर्दाहेर्दैमा राखिएको छ ।

चार वर्षअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा दुईपटक गरी ५२ जनालाई संवैधानिक आयोगमा नियुक्ति गरिएको थियो । सो विरुद्ध सर्वोच्चमा रिट परेको थियो ।

२०७७ पुस १ गते अधिवक्ता ओमप्रकाश अर्यालले यी ५२ जनाकै नियुक्ति गैरकानुनी भन्दै बदर गर्न माग गरेर रिट दायर गरेका थिए । गत ३० माघबाट यस रिटमा सुनुवाइ चलिरहेको छ । बुधबार पनि संवैधानिक इजलासले हेर्दाहेर्दैमा राखेर यही वैशाख ७ गते आइतबारको पेसी तोकेको छ ।

इजरायलले गाजामा कुनै मानवीय सहायता प्रवेश गर्न नदिने

जेरुसेलम। इजरायलका रक्षामन्त्री इजरायल काट्जले देशले युद्धग्रस्त गाजा पट्टीमा प्रवेश गर्नबाट मानवीय सहायता रोक्ने बताएका छन् । गाजा पट्टीमा तीव्र हवाई र भूमि आक्रमणहरू पुनः सुरु भएका छन् ।

“इजरायलको नीति स्पष्ट छ : कुनै पनि मानवीय सहायता गाजामा प्रवेश गर्दैन र यो सहायता रोक्नु हमासलाई जनताको माध्यमका रूपमा प्रयोग गर्नबाट रोक्ने मुख्य दबाब तत्वहरू मध्ये एक हो”, मार्च २ देखि सहायताको प्रवेश रोक्ने इजरायलको निर्णयपछि ठूलो मानवीय सङ्कटका बीच काट्जले एक विज्ञप्तिमा भने, “हाल गाजामा कुनै पनि मानवीय सहायतालाई अनुमति दिने कसैको योजना छैन र त्यस्तो सहायता सक्षम पार्ने कुनै तयारी छैन ।”

संयुक्त राष्ट्रसङ्घले सोमबार गाजाले सन् २०२३ अक्टोबरमा युद्ध सुरु भएपछिको सबैभन्दा गम्भीर मानवीय सङ्कटको सामना गरिरहेको चेतावनी दिएको छ ।

“मानवीय स्थिति अहिले सम्भवतः शत्रुता सुरु भएको १८ महिनामा सबैभन्दा खराब छ”, संयुक्त राष्ट्रसङ्घको मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) ले भनेको छ ।

एक विज्ञप्तिमा ओसिएचएले डेढ महिनादेखि गाजामा कुनै आपूर्ति नपुगेको र चिकित्सा आपूर्ति, इन्धन, पानी र अन्य आवश्यक वस्तुहरूको अभाव रहेको बताएको छ ।

“गाजाभित्र प्रतिबन्धहरूका साथसाथै क्रसिङहरूको बन्दका कारण घट्दो आपूर्तिले उनीहरूलाई (सहायता कार्यकर्ताहरू) बाँकी भण्डारको सबैभन्दा बढी उपयोग गर्न रासन र वितरण घटाउन बाध्य गरेको छ”, ओसिएचएले भन्यो ।

इजरायलले जनवरी १९ मा लागू भएको युद्धविराम सम्झौता दुई महिनापछि यसको अर्को चरणका बारेमा मतभेदका कारण टुट्न पुगेपछि प्यालेस्टिनी क्षेत्रमा आफ्नो तीव्र सैन्य आक्रमण पुनः सुरु गरेको छ ।

त्यसयता हजारौँ मानिस विस्थापित भएका छन् ।

इजरायलले गाजा पट्टीमा २४ लाख प्यालेस्टिनीका लागि महत्त्वपूर्ण अन्तर्राष्ट्रिय सहायताको प्रवेशलाई कडाइका साथ नियन्त्रण गरेको छ ।