`

वसन्तपुर डवलीमा चर्या नृत्य

काठमाडौँ । वसन्तपुर शिवपार्वती डवलीमा तान्त्रिक बौद्ध नृत्यमा आधारित चर्या नृत्य प्रदर्शन गरिएको छ । काठमाडौँ महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले विश्व सम्पदा दिवसको अवसर पारेर ध्यान, अनुष्ठान र उत्सवका अवसरमा प्रदर्शन गरिने नृत्य प्रस्तुत गरेको हो ।

यस प्रकारका नृत्यहरु बज्राचार्यहरुले गुप्त रुपमा गर्ने गरेका छन् । महानगरपालिकको सांस्कृतिक महानगर स्वर्णिम योजनाका फोकल पर्सन धर्म मुनिकारका अनुसार अमूर्त सम्पदाको प्रवर्धन र पुस्तान्तरणका लागि कार्यक्रम आयोजना गरिएको हो ।

देवीदेवताको भावमा देव कलाकारहरुले प्रस्तुत गरेको नृत्यमा स्वयम्भूराज शाक्य र सुमन कपालीले गायन प्रस्तुत गरेका थिए । उनीहरुको गायनमा षोडष लास्य, अन्नपूर्ण देवी, महामञ्जुश्री, आर्यतारा देवी, बज्रयोगिनी देवी, रक्त गणेश, अबलोकितेश्वर, वज्रपाणी बोधिसत्व र पञ्चवुद्ध स्तोत्र नृत्य प्रदर्शन गरिएको गरियो ।

षोडष लास्य नृत्य पञ्च बीजाक्षर (मन्त्रको पहिलो अक्षर)बाट उत्पत्ति हुनुभएका १६ देवीहरुको भाव नृत्यको हो । देवीहरु मण्डलाकारमा बसेर बाद्यबादनको धुनसँगै मुख्य देवताको पञ्चोपचार पूजा यस नृत्यको कथा हो ।
नृत्यमा समेटिएको अन्नपूर्ण देवीको मन्दिर काठमाडौँको असनमा छ ।

८ वटा हातमा शक्ति लिएकी ३ वटा नेत्रले दृष्टि प्रदान गर्ने देवीको महिमा समृद्धि प्रदान गर्ने शक्तिका रुपमा प्रख्यात छ । उनले आफूसँग भएको शक्तिलाई प्राणीहरुको अहित गर्नेहरुको नाश गर्न प्रयोग गर्छिन् भन्ने विश्वाश गरिन्छ । अन्नले भरिएको कलश अन्नपूर्णको बिम्ब हो ।

उपत्यकामा भएको पानीको ठूलो दहलाई चन्द्रहास आकारको खड्गले काटेर उपत्यकालाई बस्ती योग्य बनाउने महामञ्जुश्रीलाई नेपाल मण्डलको स्थापनासँग जोडेर हेर्ने गरिन्छ । पहेँलो वर्ण भएका, चारवटा हातमध्ये दायाँ हातमा चन्द्रहास खड्ग र धनुष, वायाँ हातमा प्रज्ञा पुस्तक र वाण लिएका महामञ्जुश्रीलाई वुद्ध ज्ञान प्रदान गर्ने शक्तिका रुपमा हेर्ने गरिन्छ ।

आर्यतारा देवीले आँखाबाट जगतलाई डरमुक्त गराउने, शान्त, स्वच्छ र निर्मल भएर प्राणीहरुलाई अकाल मृत्यबाट बचाउने नारी शक्तिका रुपमा पूजा गरिन्छ । हरियो वर्णकी देवी ललित आसनमा हुन्छिन् । देवीले श्रद्धालुहरुलाई बुद्ध ज्ञानबाट पारङ्गत गराउँछिन् भन्ने विश्वास पाइन्छ ।

दुःख पाएकाहरुलाई करुणा राख्ने, दया गर्ने देवी वज्रयोगिनी नृत्य आकर्षक थियो । प्रत्यालिंधा आसनमा बसेर ताण्डव नृत्य गर्ने देवीले राग, द्वेष र मोह त्यागेर मोक्षको बाटो देखाउने विश्वास गरिन्छ ।

रक्त गणेशलाई जगतको पालनाकर्ता र रक्षकका रुपमा अर्चना गरिन्छ । दशवटा पाखुरामा उनको शक्ति हुन्छ । रक्त गणेशलाई सुखदाताका रुपमा पनि पूजा गरिन्छ ।

अवलोकितेश्वर चर्या, जगत पालनासँग सम्बन्धित देवनृत्य हो । दायाँ हातमा अभय वरदान, वायाँ हातमा निर्मल, निलो रङको कमलको फूल लिएका अवलोकितेश्वर प्राणी रक्षार्थ ३ लोकमा विराजमान भएको विश्वास गरिन्छ ।

बुद्ध शासनको रक्षाका लागि प्रकट भएका बज्रपाणी बोधिसत्व चर्या नृत्य प्रस्तुतिले उपत्यकाबासीको धार्मिक आस्थालाई विम्बका रुपमा प्रकट गरेको थियो । दायाँ हातमा बज्र र वायाँ हातमा घण्ट लिएका बोधिसत्वको रङ निलो हो ।

वैरोचन, अक्षोभ्य, रत्नसम्भव, अभिताव र अमोघसिद्धि पञ्चवुद्ध हुन् । प्रत्येक वुद्धका अन्तरनिहित विशेषता छन् । हरेका आफ्नै रङ्ग, मुद्रा, दिशा र अन्तरदृष्टि छन् । बौद्ध धर्माबलम्बीहरुका लागि पञ्चवुद्धको स्थान उच्च छ । बिध्नबाधा नाश गरेर बुद्ध ज्ञानबाट निर्वाणको बाटो देखाउने बज्रयानी र महायानी परम्परा छ ।

ताप्लेजुङ घटनाप्रति योगेशको प्रतिक्रियाः जसले जति जानेको छ, त्यही गर्ने हो

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले कञ्चनजङ्घा महोत्सवबाट शुक्रबार फर्किने क्रममा आफूविरुद्ध नाराबाजी लगाएकोमा आफूलाई कुनै अपात्ति नभएको बताएका छन् ।

शनिबार सामाजिक संजालमार्फत भट्टराईले आफूविरुद्धको नाराबाजी लोकतान्त्रिक अधिकारको प्रयोग भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘कार्यक्रम सकेर फर्कनेक्रममा २/४ जनाले मेराबिरुद्ध नारा लगाएछन् । नेपाली जनताको लामो संघर्षबाट प्राप्त लोकतांत्रिक अधिकारको प्रयोग गरेछन् । मलाई कुनै दुःख छैन । सवाल बिरोध वा समर्थन सभ्यताको सीमाभित्र हुनु पर्दछ । जसले जति जानेको छ वा जे गर्न लगाईएको छ त्यति नै गर्ने हो । मेरो आग्रह विवेकले काम गरौं । प्रायोजकहरूको हतियार नबनौं । सामाजिक एकता र सदभाव नबिगारौं ।’

कञ्चनजंघा हिमालमा मानव पाइला परेको हिरक महोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन सचिव भट्टराई शुक्रबार ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेप पुगेका थिए ।

कार्यक्रम सम्पन्न भएर फर्कनै लाग्दा भट्टराईविरूद्ध ’नो केबलकार समूह’ले नाराबाजी गरेका थिए । भट्टराई नजिकै रहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदको शौचालय गएका बेला नो केवलकार समूहले शौचालय घेरेर भट्टराईविरूद्ध नाराबाजी गरेका थिए । त्यसपछि प्रहरीले भट्टराईलाई सुरक्षा प्रदान गरेको थियो ।

ईस्टर पर्वको पूर्वसन्ध्यामा श्रीलङ्काको चर्चमा गोली प्रहार

कोलम्बो । श्रीलङ्काको एक चर्चमा शुक्रबार बेलुकी गोली प्रहार भएको छ। प्रहरीले जानकारी दिएको अनुसार घटनास्थल राजधानी कोलम्बोबाट करिब १६० किलोमिटर टाढा रहेको मानाम्पिटिया भन्ने ठाउँमा पर्छ।

गोली लागेर चर्चको झ्यालहरूमा केही क्षति पुगे पनि कसैलाई चोटपटक भने लागेको छैन। घटनामा संलग्न भएको आशंकामा एक जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा ती व्यक्तिले चर्चका पादरीसँगको व्यक्तिगत रिसइवीका कारण गोली चलाएको देखिएको छ।

सन् २०१९ मा इस्टर आइतबारका दिन भएका बम आक्रमणको सम्झनामा सुरक्षालाई ध्यानमा राख्दै अहिले देशभरका चर्चहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

छ वर्षअघि भएका ती आक्रमणमा तीन वटा चर्च र तीन वटा होटलमा विस्फोट हुँदा २७९ जनाको ज्यान गएको थियो भने ५०० भन्दा बढी घाइते भएका थिए। घटनाको दोष एक स्वदेशी अतिवादी समूहलाई दिइएको थियो।

क्याथोलिक चर्चले यस वर्षको इस्टर सोमबार ती पीडितहरूलाई ‘विश्वासका नायकहरू’ घोषणा गर्दै श्रद्धाञ्जली दिने तयारी गरेको छ।

घटनापछि पीडित परिवार र क्याथोलिक समुदायले न्यायको माग गर्दै आएका छन् र केही अनुसन्धानहरूले आक्रमणकारीहरू र सुरक्षा निकायहरूबीच सम्बन्ध रहेको पनि देखाएका छन्।

ईरान र अमेरिकाबीच आणविक विषयमा दोस्रो चरणको उच्चस्तरीय वार्ता रोममा सुरु हुँदै

रोम । इरान र संयुक्त राज्य अमेरिका बीच तेहरानको आणविक कार्यक्रमसम्बन्धी दोस्रो चरणको उच्चस्तरीय वार्ता शनिबार इटालीको राजधानी रोममा सुरु हुँदैछ। एक साताअघि मस्कटमा सम्पन्न पहिलो चरणको संवादलाई दुवै पक्षले सकारात्मक र रचनात्मक भएको बताएका थिए।

इरानी परराष्ट्रमन्त्री माननीय अब्बास अराघ्ची शनिबार बिहान रोम पुगेका छन्। उनी अमेरिकी मध्यपूर्वका विशेष दूत श्री स्टीव विटकोफसँग वार्तामा सहभागी भएका हुन्। वार्ता ओमानको मध्यस्थतामा सञ्चालन भइरहेको छ।

सन् २०१८ मा अमेरिका आणविक सम्झौताबाट बाहिरिएपछि यो पहिलोपटक यति उच्चस्तरमा संवाद भइरहेको हो। सम्झौता अनुसार इरानले आणविक कार्यक्रममा केही सीमाहरू स्वीकृत गरेको थियो, जसको सट्टामा उसमाथि लागेका अन्तर्राष्ट्रिय प्रतिबन्धहरू हटाइएका थिए।

इरानले बारम्बार आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण र नागरिक प्रयोजनका लागि मात्र भएको स्पष्ट पार्दै आएको छ। अमेरिकासहित केही पश्चिमी राष्ट्रहरूले इरान आणविक हतियार बनाउन सक्ने आशंका व्यक्त गर्दै आएका छन्।

अराघ्चीले पहिलो चरणको वार्तामा अमेरिकी पक्षबाट केही गम्भीरता देखिएको बताए। यद्यपि उनले अमेरिकाको उद्देश्यप्रति अझै केही आशंका रहेको उल्लेख गरे।

संयुक्त राष्ट्रसङ्घीय आणविक निरीक्षण संस्था (आएइए) का महानिर्देशक श्री राफाएल ग्रोसीले हालैको एक अन्तर्वार्तामा अमेरिका र ईरान ‘एक अत्यन्तै संवेदनशील मोड’ मा पुगेको बताए।

इरानले स्पष्ट रूपमा वार्ता केवल आणविक कार्यक्रम र प्रतिबन्ध हटाउने विषयमा सीमित हुनुपर्ने बताएका छन्। इरानी अधिकारीहरूले युरेनियम प्रशोधनको अधिकारलाई ‘असम्झौतायोग्य’ भनेका छन् र मिसाइल कार्यक्रम वा अन्य सुरक्षा मामिलामा कुनै पनि छलफल नगर्ने अडान दोहोर्याएका छन्।

दुवै पक्षबीचको यो वार्ता क्षेत्रीय शान्ति, स्थायित्व र अन्तर्राष्ट्रिय विश्वास निर्माणका दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिएको छ।

वर्षाका कारण नेपाल र अफगानिस्तानबीचको खेल रद्द, विश्वकप खेल्ने नेपालको सपना अधुरै

काठमाडौं । आइसिसी यू–१९ विश्वकप एसिया छनोटमा नेपाल र अफगानिस्तानबीचको खेल रद्द हुँदा नेपाल विश्वकपमा पुग्न असफल भएको छ । शनिबार वर्षाका कारण मैदान भिजेका कारण खेल रद्द भएको हो ।

पानी रोकिए पनि मैदान नसुकेपछि खेल रद्द गरिएको थियो । नेपाल र अफागानिस्तानबीच शनिबार बिहान ९ बजेबाट खेल हुने कार्यतालिका रहेको भए पनि वर्षा कारण रद्द हुन पुगेको हो ।

खेल रद्द भएसँगै नेपाल यू–१९ विश्वकपमा पुग्न असफल भएको छ । नेपाल र अफगानिस्तानले छनोट प्रतियोगितामा तीन–तीन खेल जिते पनि रन रेटका आधारमा शीर्षस्थानमा रहँदै अफगानिस्तान विश्वकपका लागि छनोट भएको छ ।

सत्तासाझेदारीमा कुनै समस्या नरहेको गृहमन्त्रीको स्पष्टोक्ति

गण्डकी ।  गृहमन्त्री रमेश लेखकले सत्तासाझेदार दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमाले बीचको सम्बन्धमा कुनै समस्या नरहेको बताएका छन् ।

नेपाल प्रेस युनियन कास्कीद्वारा शनिबार पोखरामा आयोजित पत्रकार भेटमा उहाँले सत्तासाझेदारीमा दुवै दलबीच सौहार्दपूर्ण सम्बन्ध रहेको स्पष्ट पारे ।

सरकार आपसी सहमतिका साथ क्रियाशील रहेको उल्लेख गर्दै उनले भने, ‘साथीहरुले सरकार ढल्छ–ढल्छ भनिदिनुहुन्छ अनि ढल्दैन है भनेर हामीले भनिरहनुपरेको छ ।’ उनले संविधान विरोधी एवं लोकतन्त्र विरोधी गतिविधि जनताले नरुचाएका बताए ।

लोकतन्त्रमा स्वतन्त्र प्रेस तथा सञ्चारमाध्यम रहने उल्लेख गर्दै गृहमन्त्री लेखकले लोकतन्त्र विरोधीहरूको पहिलो प्रहार नै सञ्चारमाध्यम हुने गरेका दृष्टान्त प्रस्तुत गरे ।

मुलुकमा सात दशकको अन्तरालमा सात वटा संविधान बन्नुले अस्थिरतालाई देखाउने बताउँदै उहाँले वर्तमान संविधानलाई पनि निष्क्रिय हुन नदिइने प्रतिबद्धता व्यक्त गरे ।

आमाका नामबाट नागरिकता प्रमाणपत्र जारी गर्नेसम्बन्धी विधेयक सदनमा प्रस्तुत गर्ने तयारी भइसकेको बताउँदै उनले यो समस्या चाँडै नै समाधान हुने विश्वास व्यक्त गरे।

फरक प्रसङ्गमा उनले गभर्नर नियुक्तिमा कुनै समस्या नरहेको स्पष्ट गर्दै उपयुक्त व्यक्तिलाई उपयुक्त स्थानमा नियुक्त गरिने बताए । शिक्षकका माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

आवासीय चिकित्सकका माग पूरा नभए कार्यदलको काम कारबाहीमा सहभागी नहुने चिकित्सक संघको निर्णय

काठमाडौं । नेपाल चिकित्सक संघले आवासीय चिकित्सकका मागहरू पूरा नभएसम्मका लागि कार्यदलको काम कारबाहीमा सहभागी नहुने निर्णय गरेको छ ।

आवासीय चिकित्सकलाई नेपाल सरकारको आठौं तह सरहको निर्वाह भत्ता दिने निर्णय तरुन्तै लागू गर्न र आन्दोलनरत चिकित्सकहरूलाई निसर्त र सुरक्षित रुपमा काममा फर्कने वातावरण तय गर्न चिकित्सक संघले माग गरेको हो ।

संघले चिकित्सा शिक्षा आयोगको १६ औं बैठकले गरेको निर्णयमा आवासीय चिकित्सकहरुलाई नेपाल सरकारको आठौँ तहसरहको ४८ हजार सात सय ३७ रुपैँया निर्वाह भत्ता दिने निर्णय तुरुन्त लागू गर्न र आन्दोलनरत आवासीय चिकित्सकहरुलाई निसर्त र सुरक्षित रुपमा काममा फर्कने वातावरणको सुनिश्चितता नभएसम्म यो कार्यदलको काम कारबाहीमा सहभागी नहुने जनाएको छ ।

सरकारले निजी मेडिकल कलेजमा चिकित्सा शिक्षा स्नातकोत्तर तह (पीजी) अध्ययन गर्ने आवासीय चिकित्सक निर्वाह भत्ताको विषयमा गत ३ वैशाखमा पुनः कार्यदल बनाएको थियो । शिक्षा सचिव डा. दीपक काफ्ले संयोजत्वमा ११ सदस्यीय कार्यदल बनेको थियो । आवासीय चिकित्सक सरकारले निर्णय गरिएको निर्वाह भत्ता लागू नभएको भन्दै सडक आन्दोलनमा छन् ।

बागलुङका चार पालिकामा क्षयरोग मुक्त अभियान

गलकोट । बागलुङका चार वटा पालिकामा क्षयरोग मुक्त अभियान सञ्चालन गरिएको छ । क्षयरोग पत्ता लगाउने, सर्ने दर न्यूनीकरण गर्ने र पत्ता लागेका क्षयरोगीलाई उपचार गरेर क्षयरोग मुक्त पालिका निर्माणका लागि जिल्लाका १० पालिकामध्ये बागलुङ नगरपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिका र काठेखोला गाउँपालिकामा क्षयरोग मुक्त अभियान थालिएको छ ।

गत वर्ष बडिगाड र गलकोटमा थालिएको अभियान यस वर्ष थप गरेर बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकामा पुर्याइएको हो ।

नेपाल सरकारले क्षयरोग मुक्त पालिका घोषणा कार्यविधिअनुसार चार पालिकामा क्षयरोग मुक्त अभियानअन्र्तगतका विभिन्न कार्यक्रम सञ्चालन भइरहेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका क्षयरोग निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए ।

“क्षयरोग सरुवा रोग भएकाले सर्ने दर घटाउन सक्नु नै मुख्य अभियान हो जसका लागि क्षयरोगी पत्ता लगाउँदै उपचार गर्दै जानुपर्दछ, क्षयरोगसम्बन्धी सचेतना मुख्य कुरा हो, अभियानले क्षयरोगी पत्ता लगाउने दर बढेको छ, क्षयरोगी पत्ता लगाउँदै उपचार गर्दै गएपछि क्षयरोगी दिगा रुपमा कम हुँदै जान्छन्”, घिमिरेले भने, “चालु आर्थिक वर्षमा नै जिल्लामा २०३ क्षयरोगी पत्ता लगेका छन्, उनीहरुले औषधी सेवन गर्नाले क्षयरोग अरुमा सर्दैन र निर्मूलनमा सहयोग पुग्दछ ।”

क्षयरोग मुक्त अभियान सञ्चालन भएको बडिगाड गाउँपालिकामा गत वर्ष एक ३३ जनामा क्षयरोग पत्ता लागेको थियो । बडिगाडमा अहिले क्षयरोगीको सङ्ख्या घटेर ४३ जनामा आइपुगेको छ भने क्षयरोगीको सर्वेक्षण गर्नेक्रम जारी छ । यस्तै गलकोट नगरपालिकामा ३१ सक्रिय क्षयरोगी, बागलुङ नगरपालिकामा ३० सक्रिय क्षयरोगी रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

चार पालिकामा अहिले एआई प्रविधिबाट क्षयरोग पत्ता लगाउने कार्यलाई तीव्रता दिइएको छ भने पालिकामा क्षयरोग संयोजक तोकिएको छ । पालिका प्रमुखकको अध्यक्षतामा क्षयरोग मुक्त समन्वय समिति, वडास्तरीय समिति गठन गर्ने कार्य भइरहेको छ ।

ढोरपाटन नगरपालिकामा क्षयरोग मुक्त अभियान नचले पनि क्षयरोग पत्ता लगाउनका लागि एक्सरेमार्फत परीक्षण भने भइरहेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । क्षयरोग मुक्त अभियानका लागि स्वास्थ्य शाखामा एकाइ गठन गर्ने, पालिकास्तरीय क्षयरोग मुक्त अभियान समन्वय समति गठन गर्ने र वडामा वडास्तरी समिति गठन गरिने छ ।

क्षयरोग पत्ता लगाउने, उपचार गर्ने, सर्ने दर घटाउने, रोकथाम गर्ने र मृत्युदर कम गरेर शून्यमा क्षयरोगी झार्नका लागि अभियान सक्रिय भएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए ।

नगरपालिकाका १४ वडामध्ये १२ वटा वडामा सुक्ष्म योजना निर्माण कार्य सम्पन्न भइसकेको खनालले जानकारी दिए । सन् २०३५ भित्र क्षयरोग निवारण गर्ने लक्ष्य राखेको नेपाल सरकारले खोजी अभियानलाई तीव्रता दिइएको छ ।

लिबियामा बारुदी सुरुङ हटाउने कार्यमा थप अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता

त्रिपोली । लिबियामा बारुदी सुरुङ हटाउने कामलाई निरन्तरता दिनु र जनतालाई सुरक्षासम्बन्धी चेतना दिनु अहिले पनि धेरै आवश्यक रहेको राष्ट्रसंघका एक उच्च अधिकारीले बताएका छन् ।

राष्ट्रसंघका महासचिवका उप–विशेष प्रतिनिधि तथा लिबियाका लागि मानवीय समन्वयकर्ता ऐनियास चुमाले त्रिपोलीमा आयोजित एक कार्यक्रममा यस्तो कुरा बताएका हुन् । यो कार्यक्रम ’बारुदी सुरुङ सचेतना अन्तर्राष्ट्रिय दिवस’ को अवसरमा गरिएको थियो।

लिबियाली बारुदी सुरुङ केन्द्रको जानकारी अनुसार लिबियाको धेरै क्षेत्रहरू अहिले पनि जोखिमयुक्त अवस्थामा छन् र अझ नयाँ क्षेत्रहरू पनि पहिचान भइरहेका छन्।

त्यहाँका बारुदी सुरुङ केन्द्रका प्रमुख खलील एल–शिब्लीले लिबियाली टोलीहरूले गरिरहेका प्रयासमा अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताए ।

राष्ट्रसंघ अन्तर्गत बारुदी सुरुङ विभाग प्रमुख फात्मा जौरीगले सुरक्षाका लागि सबै निकायहरूबीच सहकार्य आवश्यक भएको बताउँदै कानुन, योजना र सहयोगलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

सन् २०११ मा गद्दाफीको शासन अन्त्य भएपछि लिबियामा लामो समयदेखि हिंसात्मक द्वन्द्व चलिरहेको छ। त्यसकै कारण धेरै ठाउँहरू बारुदी सुरुङ र अन्य विस्फोटक वस्तुले प्रदूषित भएका छन्, जसले जनताको जीवनमा अझै खतरा निम्त्याइरहेको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको प्रशस्त सम्भावना भएको उल्लेख गर्दै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लगानीका लागि आह्वान गरेका छन् ।

शुक्रबार साँझ कतारको राजधानी दोहामा बागलुङ सेवा समाज कतारको संरक्षकत्वमा बुहउद्देश्यीय अक्षयकोष स्थापनाका लागि आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा केही पनि छैन, केही भएन भन्ने जस्ता गलत भाष्य निर्माण गरिएको समेत बताउनुभएको महासंघले जनाएको छ ।

उनले भने , ‘नेपालमा सम्भावना नै छैन भन्ने गलत र नकारात्मक भाष्य बनाउन खोजिएको छ, विदेशमा बसेर यहाँको विकास र प्रविधिसँग तुलना गर्दै नेपालको विरोध पनि गरिएको पाइन्छ, नेपालमा पनि विदेशमा जस्तै मेहनत गर्ने हो भने धेरै काम गर्न सकिन्छ ।’

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लगानीको अवसर प्रदान गर्ने गरी रु १० अर्ब पुँजीको नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरिएको जानकारी गराउँदै ढकालले त्यस कम्पनीमार्फत लगानी गर्न वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आग्रह गरे ।

कम्पनीले मुलुकभित्र तथा बाहिर रहेका नेपालीहरुको छरिएर रहेको पुँजी संकलन गरी जलविद्युत्, पर्यटन, उद्योग तथा विभिन्न सम्भावना भएका क्षेत्रहरुमा लगानी गर्न गइरहेको उनले बताए । उनले उक्त कम्पनीमा सहभागी भइ लगानी गर्न अनुरोध गरे ।

अध्यक्ष ढकालले बागलुङबाट कतारमा आएका बागलुङवासीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काम गर्न अक्षयकोष स्थापना गरेकोमा विशेष धन्यवाद व्यक्त गर्दै उनले त्यस कोषमा रु १५ लाख सहयोग गर्ने घोषणा गरेका थिए । सो कार्यक्रममा बागलुङवासीसमेत भएकाले अध्यक्ष ढकाललाई सम्मान प्रदान गरिएको थियो ।

चीनको अन्तरिक्ष मिसनमा अर्को सफलता : ‘शेइयान–२७’ उपग्रह प्रक्षेपण

चीन । चीनले शनिबार बिहान उत्तर चीनको शान्सी प्रान्तको ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रबाट ६ वटा नयाँ परीक्षण उपग्रहहरू सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ ।

‘शेइयान–२७’ नाम दिइएका ती उपग्रहहरू बिहान ठीक ६ बजेर ५१ मिनेटमा प्रक्षेपण गरिएका हुन् । ती उपग्रहहरू आफ्ना निर्धारित कक्षमा पुग्न सफल भएका छन् ।

शेइयान–२७ सिरिजका उपग्रहहरू मुख्य रूपमा अन्तरिक्ष वातावरणको अध्ययन तथा प्रविधि परीक्षणका लागि प्रयोग गरिनेछन् ।

यी उपग्रहहरूद्वारा पृथ्वीको आसपासको अन्तरिक्ष क्षेत्रमा हुने भौतिक तथा वातावरणीय परिवर्तनहरूको निगरानी, डाटा सङ्कलन र विश्लेषण गरिनेछ, जसले भविष्यमा गरिने अन्तरिक्ष मिसनहरूको तयारी र नयाँ प्रविधिहरूको परीक्षणमा महत्वपूर्ण सहयोग पुर्याउनेछ । साथै, यस्ता परीक्षण उपग्रहहरूले चीनको स्वदेशी प्रविधि विकास र अन्तरिक्ष अनुसन्धान क्षमतामा थप प्रगति ल्याउने अपेक्षा गरिएको छ ।

चिनियाँ अधिकारीहरूका अनुसार, यी उपग्रहहरू मुख्यतया अन्तरिक्ष वातावरणको अध्ययन तथा सम्बन्धित प्रविधिहरूको परीक्षणका लागि प्रयोग गरिनेछन् । यसको उद्देश्य भावी अन्तरिक्ष योजनाहरूका लागि आवश्यक ज्ञान र प्रविधि विकास गर्नु हो ।

प्रक्षेपणमा प्रयोग भएको लङ्ग मार्च–६ नामक रकेट चीनको प्रख्यात रकेट श्रृंखला ‘लङ्ग मार्च’ अन्तर्गत पर्छ । आजको प्रक्षेपण यो श्रृंखलाको पाँच सय सत्तरीऔँ उडान रहेको छ ।

यस सफलताले चीनको अन्तरिक्ष विज्ञान तथा प्रविधि क्षेत्रमा प्रगति र क्षमताको पुष्टि गर्दछ ।

नौ महिनामा सरकारले बुझायो ऋणको साढे दुई खर्बभन्दा बढी साँवा–ब्याज

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म साढे तीन खर्बभन्दा बढी ऋण उठाएको छ भने साढे दुई खर्बभन्दा बढी साँवा–ब्याज तिरेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको २०८१ चैत मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको सुरुमा कूल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नौ करोड थियो भने पछिल्लो नौ महिनामा दुई खर्ब ३३ अर्ब १७ करोड ऋण थपिएको छ । यसरी चैत मसान्तसम्ममा नेपालले तिर्न बाँकी कुल सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब २६ करोड पुगेको कार्यालयले जनाएको छ ।

“चैत मसान्तसम्ममा सार्वजनिक ऋण कूल ग्राहस्थ्य उत्पादन (जिडिपी) को अनुपातमा ४६ दशमलव ७५ प्रतिशत हुन आउँछ । कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५१ दशमलव १९ र आन्तरिक ऋणको हिस्सा ४८ दशमलव ८१ प्रतिशत छ”, प्रतिवेदनमा भनिएको छ । मुलुकको हालसम्मको कूल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण रू १३ खर्ब एक अर्ब ९४ करोड र बाह्य ऋण दायित्व रू १३ खर्ब ६५ अर्ब ३२ करोड बराबर छ ।

सरकारले यस आर्थिक वर्षका लागि करिब साढे पाँच खर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य राखेकामा गत चैत मसातसम्म ६७ प्रतिशत हाराहारी उठिसकेको छ । “चालु आर्थिक वर्षमा जम्मा रू पाँच खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकामा चैत मसान्तसम्ममा रू तीन खर्ब ६६ अर्ब नौ करोड ऋण प्राप्ति भएको छ । वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक प्राप्ति ६६ दशमलव ९३ प्रतिशत रहेको छ”, प्रतिवेदनमा भनिएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सरकारले रू दुई खर्ब ९१ अर्ब १४ करोड आन्तरिक ऋण उठाएको हो भने रू ७४ अर्ब ९५ करोड बाह्य ऋण उठाएको हो । वार्षिक लक्ष्यको तुलनामा हालसम्मको आन्तरिक ऋणको प्राप्ति ८८ दशमलव २२ प्रतिशत र बाह्य ऋणको प्राप्ति ३४ दशमलव ५४ प्रतिशत बराबर हो । यस आर्थिक वर्षका लागि सरकारले रू तीन खर्ब ३० अर्ब आन्तरिक ऋण र रू दुई खर्ब १७ अर्ब बाह्य ऋण उठाउने लक्ष्य राखेको छ ।

सार्वजनिक ऋण निरन्तर बढ्दै गएसँगै त्यसको साँवा–ब्याज भुक्तानीका लागि हुने खर्च पनि बढ्दै गएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा मात्रै करिब साढे दुई खर्बभन्दा बढी रकम साँवा ब्याज भुक्तानीमा खर्च भएको छ । “चालु आर्थिक वर्षमा ऋण सेवा खर्चमा रू चार खर्ब दुई अर्ब ८५ करोड बजेट विनियोजन भएकोमा चैत मसान्तसम्म रू दुई खर्ब ५२ अर्ब ४८ करोड भुक्तानी भएको छ”, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले भनेको छ, “यो वार्षिक विनियोजनको आधारमा ६२ दशमलव ६७ प्रतिशत हो । जिडिपीको आधारमा चैत मसान्तसम्ममा कूल ऋण सेवा खर्च चार दशमलव ४३ प्रतिशत रहेको छ ।”

पछिल्लो नौ महिनामा आन्तरिक ऋणको साँवाव्याज भुक्तानीका लागि मात्रै रू दुई खर्ब १२ अर्ब ९३ करोड खर्च भएको छ । आन्तरिक ऋणको साँवा तिर्नका लागि रू एक खर्ब ७० अर्ब नौ करोड र ब्याज तिर्नका लागि रू ४२ अर्ब ८४ करोड बराबर खर्च भएको हो । त्यस्तै, बाह्य ऋणको साँवा ब्याज तिर्नका लागि रू ३९ अर्ब ४३ करोड बराबर खर्च भएको छ । जसमध्ये बाह्य ऋणको साँवा तिर्नका लागि रू ३२ अर्ब ९३ करोड र ब्याज तिर्नका लागि रू छ अर्ब ६१ करोड खर्च भएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा विदेशी मुद्राको विनिमय दरमा भएको परिवर्तनले मात्रै रू ७० अर्ब नौ करोड बराबर सार्वजनिक ऋणको दायित्व थपिएको कार्यालयले जनाएको छ । नेपालले वैदेशिक ऋण ‘स्पेशल ड्रइङ राइट’ (एसडिआर) अन्तर्गतका पाँचवटा विदेशी मुद्रामा लिन्छ । जसमा अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङ, चिनियाँ युआन र जापानी येन पर्दछन् । चालु आर्थिक वर्षमा एसडिआरको विनिमय दरमा आएको वृद्धिले वैदेशिक ऋण दायित्वमा थप प्रभाव परेको कार्यालयले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

धुलिखेल नगरद्वारा तालिमपछि आठ सय रोजगार

काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिकाले सीपमूलक तालिमपछि रोजगारको अवसर प्रदान गर्न थालेपछि युवाको आकर्षण बढ्न थालेको छ । नगरले वैदेशिक रोजगारयोग्य सीपमूलक तालिम एवं स्वरोजगारसहित उद्यमी बनाउन थालेपछि स्थानीयको आकर्षण बढ्न थालेको हो ।

नगरले युवालगायत परिषद्मार्फत नियमित रूपमा विभिन्न तालिम प्रदान गर्दै आएको छ । हालसम्म एक हजार ८४० लाई सीपमूलक तालिम, ८०० लाई स्वरोजगार उपलब्ध गराउनुका साथै १३० लाई उद्यमी बनाइसकेको छ । नगर रोजगार संयोजक सम्झना नेपालका अनुसार २४० युवालाई वैदेशिक रोजगारयुक्त सीपमूलक तालिम प्रदान गरिएको छ ।

नगरप्रमुख अशोक ब्याञ्जूले युवालगायतका परिषद् गठन गरी नगरले बेरोजगारीलाई रोजगार, सीप, उद्यमशीलता तथा क्षमता अभिवृद्धि तालिममा संलग्न गराई रोजगार उपलब्ध गराउने उद्देश्यले नियमित तालिम आयोजना गरिएको बताए ।

उनका अनुसार तालिम लिएकालाई पनि घर छाडेर अन्यत्र रोजगारी चाहेमा उपत्यकाका विभिन्न होटल तथा सङ्घसंस्थामा अवसर उपलब्ध गराइने तथा नगरभित्र रोजगार चाहनेलाई पर्यटकीयस्थल काभ्रेपलाञ्चोकको धुलिखेलका स्थानीय सेवाप्रदायक संस्थासँग समन्वय गर्ने कार्य भइरहेको छ ।

यस्तै दिगो विकास लक्ष्यका सूचकहरू पूरा गर्दै गएको उल्लेख गर्दै उनले गरिबी शून्य भएको सहर बनाउन काम गरिएको बताए । “धुलिखेलका ठूला होटललाई रोजगारीको ३० प्रतिशत धुलिखेलवासीलाई दिन अनुरोध गर्दै त्यसो गरिए करमा १० प्रतिशत छुट दिने यसअघि गरिएको घोषणा कार्यान्वयनमा जानेछौँ”, उनले भने । सशक्तीकरण, उद्यमशीलता र सीपमूलक क्षेत्रमा उक्त सङ्ख्याका नागरिकलाई तालिम प्रदान गरेको नगरले जनाएको छ । यसमध्ये युवालाई बेकरी, मोबाइल मर्मत तथा ड्राइभिङसम्बन्धी तालिम प्रदान गरिएको हो ।

नगरवासीलाई आधुनिक तरिकाले सीप सिकाएर आर्थिकरूपले सशक्त बनाई आत्मनिर्भर बन्न प्रेरित गर्ने उद्देश्यले विभिन्न सीपमूलक तालिम प्रदान गरिएको जनाइएको हो । विभिन्न क्षेत्रमा उत्पादनमूलक एवं रोजगारमूलक तालिम दिई दक्ष जनशक्ति निर्माणका लागि तालिम प्रदान गरिएको ब्याञ्जूले बताए। उनका अनुसार नगर बेरोजगारी न्यूनीकरण गरी रोजगारी दिलाउन तथा आफैँ उत्पादनमूलक क्षेत्रमा लागि रोजगार सिर्जना गर्न विभिन्न आयमूलक र सीपमूलक तालिम उपलब्ध गराउने अभियानमा छ ।

धुलिखेल रोजगार केन्द्रका अनुसार नगरको समन्वयमा वेटर तथा हाउसकिपिङ तालिम सकेका ४८ लाई भक्तपुर र काठमाडौँका विभिन्न होटल तथा संस्थामा रोजगार दिइएको छ । केन्द्रद्वारा वेटर/वेट्रेस तथा हाउसकिपिङसम्बन्धी १६० घण्टाको सीप तथा क्षमता विकास तालिम प्रदानपश्चात् उक्त सङ्ख्यामा भक्तपुरको सुमेरु र काठमाडौँको हायात होटल तथा अन्य संस्थामा प्रशिक्षार्थी कामदारका रूपमा पारिश्रमिकसहित रोजगार प्रदान गरिएको जनाइएको छ ।

चालु आर्थिक वर्षमा १६ वटा आयोजनाका लागि २४१ जना छनोट भएमध्ये महिला १८३ जना र पुरुष ५८ जना रहेका छन् । उनीहरूले विभिन्न तालिम लिइरहेको र काम गरिरहेको केन्द्रले जनाएको छ ।

यस्तै बेरोजगारीमा सूचीकृत परिवारका सदस्यलाई उक्त तालिममा सहभागी गराउँदै आएको छ । नगरले हरेक नागरिकलाई आफ्नो रुचिको क्षेत्र छनोट गरी सीप सिकेर उद्यमी तथा रोजगार बन्न अनुरोध गर्दै आएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नमूना केन्द्रका रूपमा लिइएकाले धुलिखेलमा आइडिएमार्फत रु ५३ लाख ६२ हजार र नेपाल सरकारमार्फत रु १३ लाख रकम पुँजीगत र चालु शीर्षकमा गरी रु ६६ लाख ६२ हजार रकम उक्त कार्यमा विनियोजन भएको हो । सडक मर्मत तथा सम्भार, कृषि तथा सिँचाइ, ग्रामीण खानेपानी, स्वास्थ्य पूर्वाधार, शिक्षा, वन तथा जलाधार क्षेत्रमा छनोट भएका योजनामा सूचीकृत बेरोजगारले श्रम गर्नेछन् ।

बुटवलमा एक युवतीमाथि गोली प्रहार

बुटवल । बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार शनिबार बिहान बुटवलको बुद्ध नगरमा बस्ने टीका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो ।

उनको कम्मर माथि गोली लागेको छ । रैनादेवि छहरा घर भई बुटवल ११ बुद्ध नगर बस्ने विष्ट माथि गोली प्रहार भएको र उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिए ।

रानाले केही दिनअघि एकजना भारतीय एक युवकसँग विवाद भएकोले उनले गोली हानेको हुन सक्ने स्थानीयले आशंका गरेको बताए । गोली प्रहारमा संलग्नको खोजी भैरहेको प्रहरीले बताएको छ।

के शिक्षा ऐन सडकबाट पास हुने हो र ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले शिक्षकहरुलाई आन्दोलन छाडेर विद्यालय फर्किन आग्रह गरेकी छन् ।

सामाजिक संजालमार्फत झाँक्रीले विद्यार्थी भर्नाको बेला विद्यालय बन्द गरेर लाखौं विद्यार्थीको भविष्य अन्योल बनाइएको भन्दै शिक्षक आन्दोलनप्रति आपत्ति प्रकट गरेकी छन् । उनले अब चाहिँ शिक्षकहरूको रमिता बढी भएको टिप्पणी गरेकी छन् ।

उनले मध्यस्तकर्ता जस्तो भए पनि केही न केही काम गरौं भन्ने लागेर शिक्षक, सरकार र संसद्को बीचमा समन्वय र संवाद गराउनु पर्यो भनेर धेरै कोणबाट प्रयास गरे पनि शिक्षकहरू संवाद गर्न तयार नरहेको टिप्पणी गरेकी छन् ।

यस्तो छ झाँक्रीको भनाई

अब चाहिँ शिक्षकहरूको रमिता बढी भयो । मैले पनि यो सडकलाई नजिकबाट हेरिरहेकी छु। यतिका दिन बित्यो आउने नाच्ने, गाउने जाने भएको छ । के शिक्षकलाई कसैले पनि सुनेन त भनेर चासो राखें । मध्यस्तकर्ता जस्तो भए पनि केही न केही काम गरौं भन्ने लाग्यो । शिक्षक, सरकार र संसदको बीचमा समन्वय र संवाद गराउनु पर्यो भनेर धेरै कोणबाट उहाँहरूसँग कुरा पुर्याउने, संवाद गर्ने प्रयास पनि गरें । तर उहाँहरू त संवाद नै नगर्ने रे ? शिक्षा ऐन अहिले पास हुनुपर्छ अन्यथा हामी विद्यालय फर्कदैनौ भन्नुहुन्छ । के ऐन सडकबाट पास हुने हो र ?

विधेयक पास गर्ने संसद र सरकारको आफ्नो कानूनले निर्धारण गरेको प्रक्रिया हुँदैन ? के सडकको रमितामा पुगेका सांसद, पूर्वमन्त्री, पूर्वधानमन्त्री र नेताहरुले सडकबाटै ऐन पास गर्दिनुहुने रहेछ ? समितिमा दफावार छलफलमा रहेको विधेयक पास नभई फर्कन्नौं भन्न मिल्छ ? राज्यको तलव खाएका शिक्षक कर्मचारीले ? भर्नाको बेला विद्यालय बन्द गरेर लाखौ विद्यार्थीको भविष्य अन्यौल बनाउन मिल्छ ? निजी स्कूलले धमाधम भर्ना गरेर कक्षा चलाउन लागिसकेका छन् । यहाँहरूले पढाएका कयौ विधालयको BLE को रिजल्ट सून्य छ । के यो विषयमा चिन्चित हुनहुन्छ ? आगामी दिनमा सुधार्न के गर्नुपर्छ भनेर कतै छलफलमा रूचि देखाउनु भएको छ ? ऐन आउँछ भनेर सरकारले प्रतिबद्धता जनाएको छ । सरोकारवाला सबैको चासो पनि छ ।

शिक्षकहरूले यतिसम्म ध्यानाकर्षण गराउनु ठिकै हो । किन भने ऐन पहिले नै आउनुपर्ने थियो, आउन सकेन । अब आउँछ । विधेयक समितीमा दफावार छलफलमा छ। विधेयक संशोधन सहित पास हुने भएकोले पनि छलफलले समय लिएको हो । अब भने विधेयक समितिबाट पास हुने प्रक्रिया छ । समिति ले पास गरेपछि हाउसमा जान्छ। सरकारको प्रतिबद्धता छ, यो अधिवेशनमा ऐन आउँछ। सर/मेडमहरू अब विद्यालयमा फर्कनुस् । आफ्नो जिम्मेवारी बहन गर्नुस् । सरकार र संसदलाई विश्वास गर्नुस् । जिम्मेवार नेता साथीहरू ! ऐक्यवद्धताको रमिता तपाईंहरू पनि नगर्नुस् बल र कोर्ट दुबै तपाईंकै खुट्टामा छ ।

विशेष अदालतको फैसला विरुद्ध अख्तियार सर्वोच्चमा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। विशेष अदालतले विभिन्न मितिमा गरेको फैसला विरुद्ध आयोगले सर्वोच्चमा पुनरावेदन गरेको हो।

आयोगले सुनसरीका तत्कालीन जिल्ला समन्वय प्रमुख गोपाल राजभण्डारी विरुद्ध ८० लाख ५२ हजार बराबरको भ्रष्टाचार गरेको अभियोगमा कैद सजाय र जरिवानाको माग दावी गर्दै मुद्दा दायर गरेको थियो। सो मुद्दामा विशेषले २०८१ वैशाख २४ गते फैसला गरेको थियो। सो फैसला विरुद्ध आयोगले सर्वोच्चमा पुनरावेदन गरेको हो।

यस्तै, कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेलसमेतका प्रतिवादी विरुद्ध आयोगले २८ लाख ३७ हजार दुई सय १७ बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरेको थियो। सो मुद्दामाविशेषले २०८१ जेठ २० गते फैसला गरेको थियो।

आयोगले ३८ लाख ७६ हजार दुइृ सय ७० बराबरको भ्रष्टाचार गरेको अभियोगमा महावै गाउँपालिका कालिकोटका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह समेतका प्रतिवादी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। सो मुद्दामा आयोगले २०८१ भदौ एक गते फैसला गरेको थियो।

त्यस्तै, आयोगले शैल्यशखिर गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्ट समेतका प्रतिवादी २६ लाख दुई हजार पाँच सय ५६ बराबरको भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको थियो। सो मुद्दामा आयोगले २०८० फागुन २२ गते फैसला गरेको थियो।

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका वरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी विरुद्ध १९ लाख दुई हजार दुई सय ३७ बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो।

सो मुद्दामा आयोगले २०८१ असोज ६ गते फैसला गरेको थियो। विशेषले गरेको फैसला विरुद्ध आयोगले छुट्टाछुट्टै शुक्रबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

शिक्षकहरुले आन्दोलन जारी राख्ने, प्रधानमन्त्रीसँगको वार्तामा भएन सहमति

काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्नो आन्दोलनलाई आज पनि जारी राख्ने भएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शुक्रबार राति प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता भएको उल्लेख गर्दै समग्र परिस्थितिको मूल्याङ्कन गर्दा अझै आन्दोलनको मोर्चामा डटिरहनु पर्ने अवस्था रहेको उल्लेख गरेका छन् ।

उनले प्रधानमन्त्रीसँगको भेटमा शिक्षकका मागका विषयमा दृढता र शिष्टतापूर्वक आफ्ना कुरा राखे पनि परिस्थिति सकारात्मक बन्न नसकेको जनाएका छन् । अध्यक्ष सुवेदीले आफूहरू एकदुई सानातिना मागहरूको लेनदेन गरी फर्किने आन्दोलनमा नआएको स्पष्ट पार्दै विगतका सहमती सम्बोधन हुने ऐन नै मूल्य लक्ष्य रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘हामी एक दुई सानातिना मागहरुको लेनदेन गरी फर्किन आन्दोलनमा आएका होइनौं । विगतका सहमती सम्बोधन हुने अग्रगामी ऐन नै हाम्रो लक्ष्य हो । आजको विरोध सभामा हिजो भएको भेटबारे सबै कुरा साथीहरुबीच राखिने नै छ । परिस्थितिको समग्र मूल्याङ्कनकालागि तहगत छलफलहरु गरिनेछ । हामीले हिजोका दिनमा जे जे पाएका हौं आन्दोलनको बलमा नै पाएका हौं । अब पनि जे पाउने छौं, त्यो आन्दोलनकै बलमा पाउनै छौं । यो सत्यलाई हृदयंगम गरौं । सबै साथीलाई मर्यादित, संयमित र अनुशासति भएर आन्दोलनको मोर्चामा डटिहरन हामी आग्रह गर्दछौ ।’

भेटमा प्रधानमन्त्रीले सरकारले सम्बोधन गर्न सक्ने कुराबारे सल्लाह गरेर निर्णय लिने तथा ऐन जारी गर्न तदारुकता दिने कुरा गरेको बताए । यस्तै शुक्रबार राति नै महासंघको टोलीले सभामुख देवराज घिमिरेसँग पनि छलफल गरेको थियो । छलफलमा विद्यालय शिक्षा विधेयक छिटो जारी गर्ने विधि र उपायबारे छलफल भएको सुवेदीले जानकारी दिएका छन् ।

प्रधानमन्त्री र सभामुखसँगको भेटमा महासंघका अध्यक्ष सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहासचिव मदनराज जोशी सहभागी थिए । महासंघ चैत २० देखि काठमाडौं केन्द्रित आन्दोलनमा छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाको कार्यकाल पूरा

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको कार्यकाल समाप्त भएको छ । ६ वर्षे कार्यकाल पूरा गरेका थपलियालाई शुक्रबार आयोगमा एक कार्यक्रम आयोजना गरी बिदाइ गरेका छन् । थपलियाले ०७६ सालदेखि निर्वाचन आयोगको नेतृत्व सम्हालेका थिए ।

उनको नेतृत्वमा ०७९ सालमा तीनवटै निर्वाचन सम्पन्न भएका थिए । थपलियाको कार्यकालमा निर्वाचन आयोगले दल विभाजनसम्बन्धी विवादहरुको सामना गर्नुपरेको थियो ।

देश विकास हामी सबै मिलेर गर्ने हो: प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको पूर्व पश्चिम राजमार्गको पुल्चोक–गोन्द्राङ– ६ लेन सडकको आज उद्घाटन गरेका छन्।

नेपाल सरकारको आफ्नै लगानी निर्मित भैरहवा, वीरगञ्ज, पोखरा र काठमाडौँको मध्यभागमा पर्ने उक्त सडक एसियाली मापदण्डअनुसार बनाइएको छ ।

उनले भने, ‘अहिले चुनाव लाग्या पनि छैन र चुनाव प्रचार गर्नु पर्‍या पनि छैन । त्यतापट्टि गइहाल्नुपर्ने आवश्यकता पनि छैन । म आग्रह गर्न चाहान्छु, सबैलाई सधैँ राजनीति मात्रै, सधैँ चुनाव मात्रै होइन । विकासमा ध्यान दिउँ । हामीले एक भएर देश बनाउनुपर्नेछ । मतभेदमा होइन एकतामा जोड दिउँ । विचारमा विविधता हुनसक्छ तर देशको विकास गर्ने कुरामा मतभेद राख्न आवश्यक छैन । देशको विकास हामी सबै मिलेर गर्ने हो । कोही आएर हाम्रो देश बनाउँदैन । आफ्नो बलमा लोकतन्त्रलाई बलियो बनाउँदै राष्ट्रिय एकताका साथ एकजुट भएर अघि बढेर विकास गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले चितवन जिल्ला त्रेतायुगदेखि नै राम जन्मेदेखिको ऐतिहासिक महत्व बोकेको जिल्ला भएको उल्लेख गर्दै यो एउटा सभ्यताको सुरुआत भएको भूभाग भएको बताए।

उक्त सडक खण्डको २०७७ माघ १७ गते प्रधानमन्त्री ओलीले नै शिलान्यास गरेका थिए । सडक रु एक अर्ब १३ करोड ३५ लाख ३४ हजारमा निर्माण सम्पन्न भएको हो ।

गुणाकर भट्टलाई गभर्नरमा रोक्न सर्वोच्चमा रिट दर्ता

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउन खोजिएको भन्दै सर्वोच्चमा रिट परेको छ ।

शुक्रबार अधिवक्ताहरु प्रतिभा उप्रेती र विशाल थापाले गभर्नरमा भट्टको योग्यता नपुग्ने दाबी गर्दै रिट दायर गरेका हुन् । रिटको पेसी आइतबारलाई तोकिएको छ ।

रिटमा राष्ट्र बैंक ऐनविरुद्ध गएर भट्टलाई गभर्नर बनाउन नहुने भन्दै नेताहरुको सहमतिको आधारलाई शिरानी हाली विपक्षी सिफारिस समितिलाई अयोग्य व्यक्तिहरु सिफारिस गर्नेलगायत अन्य कुनै पनि काम नगर्न नगराउन आदेशको माग गरिएको छ।

त्यसैगरी निवेदकहरुले ऐनविपरीत अयोग्य व्यक्तिहरुको नाम मन्त्रिपरिषद्मा सिफारिस भई आएमा ऐनले तोकेका योग्य व्यक्तिको नियुक्ति वञ्चित हुने भएकाले त्यस्तो कार्य नगर्न नगराउन आदेशको माग गरिएको छ ।

नेपाली कांग्रेसका सभापति देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भट्टलाई गभर्नर बनाउने सहमति भएको थियो । त्योसँगै भट्टले शुक्रबार कार्यकारी निर्देशकबाट राजीनामा समेत बुझाएका छन्।

न्युयोर्कमा मिथिला ‘हेरिटेज कार्यशाला’

न्युयोर्क (अमेरिका) । न्युयोर्क सिटी मेयरद्वारा घोषणा गरिएको मिथिला संस्कृति तथा फेस्टिभल दिवसका अवसरमा यहाँ ‘आर्ट फर एसडिजिजः मिथिला हेरिटेज कार्यशाला, प्रदर्शनी र पुरस्कार २०२५’ कार्यक्रम आयोजना गरेको छ ।

मिथिला सेन्टर युएसएले अपन फाउन्डेसनको सहकार्यमा न्युयोर्क तिब्बती सेवा केन्द्रमा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा विभिन्न समुदायका ४० भन्दाबढी बालबालिकाको सहभागिता थियो ।

बालबालिकाले संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य १५ मा आधारित रहेर ‘जीवन र प्रकृति’ विषयमा आयोजित सिर्जनात्मक कला कार्यशालामा उत्साहपूर्वक भाग लिएका थिए । प्रसिद्ध मिथिला कलाकार एससी सुमनले बालबालिकालाई कलामार्फत वातावरणीय सन्देशहरू व्यक्त गर्न सहजीकरण गरेका थिए ।

कार्यक्रममा सहभागी सबै बालबालिकालाई न्युयोर्क राज्यसभा सदस्य स्टीवन रागाकोतर्फबाट प्रमाणपत्रसमेत प्रदान गरिएको आयोजकले जनाएको छ । यस्तै, लोककलामार्फत मिथिला सम्पदाको प्रवद्र्धन गरेको भन्दै कलाकार सुमनलाई र मिथिला सम्पदाको सौन्दर्यलाई जीवन्त तस्बिरमा उतार्ने फोटोग्राफर राज काफ्लेलाई पनि विशेष सम्मान गरिएको थियो ।

सहभागी बालबालिकाले कोरेका तीन कलाकृतिका लागि रश्मी गिरी, तेञ्जिन ल्हाजे किङ्गा र अष्टिन शाहलाई उत्कृष्ट छनोट गरिएको थियो । तीनै जनालाई ट्रफी, प्रमाणपत्र र उपहार प्रदान गरिएको मिथिला सेन्टर युएसएका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक अमितप्रताप शाहले जानकारी दिए ।

उनले यस्तो कार्यक्रमले मिथिला सांस्कृतिक सम्पदाको संरक्षणका साथै नयाँ पुस्तालाई विश्वव्यापी विकास लक्ष्यहरूमा संलग्न गराई महत्वपूर्ण सन्देश प्रवाह भएको बताए ।

कार्यक्रममा न्युयोर्क सिटी मेयर कार्यालयका दक्षिण एशियाली समुदाय समन्वयकर्ता सुकरानी धनपुतले मेयरद्वारा जारी गरिएको मिथिला संस्कृति दिवसको आधिकारिक घोषणापत्र प्रस्तुत गर्दै आयोजक टोलीको कामको उच्च प्रशंसा गरे । त्यस्तै, न्युयोर्क राज्यसभा सदस्य स्टीवन रागाको कार्यालयका समुदाय निर्देशक दोल्मा लामाले कार्यक्रमप्रति समर्थन जनाउँदै सम्मानपत्र प्रदान गरे ।

न्युयोर्क तिब्बती सेवा केन्द्रका कार्यक्रम निर्देशक तेञ्जिङ छिरिङले यस्तो अन्तरसंस्कृति कार्यक्रम आफ्नै केन्द्रमा आयोजना हुन पाउँदा गौरव महसुस भएको बताए ।

कार्यक्रममा प्रमुख कलाकार सुमनले प्रवासी बालबालिकासँग आफ्नो ज्ञान बाँड्न र संस्कृतिप्रति जागरुक गराउन महत्वपूर्ण अवसर प्रदान गरिएको भन्दै आयोजकलाई धन्यवाद दिए । कार्यक्रम संयाजक प्रज्ञा पन्थीले बालबालिकाले कार्यशालाबाट कला र दिगो विकास लक्ष्यको ज्ञान प्राप्त गरेको बताए ।

कार्यक्रममा कलाकारहरू एससी सुमन, प्रतीक रायमाझी, शिवाङ्गी सिंह, सुभाद्री सुभा र राखी कर्णका जैविक विविधता, प्रकृति र वातावरणीय चेतनाबारेका मिथिला चित्रकलाको प्रदर्शनीसमेत गरिएको थियो । 

विपदजन्य घटनामा परी ४१ जनाको मृत्यु, २७५ घाइते

काठमाडौं । प्रि–मनसुनमै विपदजन्य घटनामा परी ४१ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार विज्ञप्ति जारी गरी प्रि–मनसुनमै विपदमा परी ४१ जनाको मृत्यु र २७५ जना घाइते भएका जानकारी दिएको हो ।

प्राधिकरणले विपद्को जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन पनि अनुरोध गरेको छ । साधारणतया मध्य फागुनदेखि मध्य जेठसम्म अर्थात् अंग्रेजी महिनाको मार्चदेखि मेसम्मको समयलाई प्रि–मनसुन भनिन्छ ।

गुराँससँग रमाउन रायराँयकोटमा पर्यटक

बागलुङ । बागलुङको चर्चित धार्मिक पर्यटकीय क्षेत्र पञ्चकोटसँग जोडिएको रायराँयकोटमा गुराँस फुल्न थालेपछि आन्तरिक पर्यटकको आगमन बढेको छ । बागलुङ नगरपालिका–७ बौलुङमाथिको डाँडामा रहेको धार्मिकस्थल रायराँयकोट क्षेत्रमा यतिबेला गुराँसले राताम्ये भएको छ ।

प्राकृतिक दृश्वाअवलोकनका लागि उपयुक्त गन्तव्य बनेको रायराँयकोटमा गुराँस फुलेपछि पर्यटकको आगमन बढेको स्थानीय बताउँछन् । रायराँयकोटमा वैशाख र जेठमा स्थानीय समुदायले वर्षादेवका रूपमासमेत पूजाआजा गर्दै आएका छन् ।

उक्त स्थानमा पुग्नेको संख्या अहिले दिनप्रतिदिन बढ्दै गएको स्थानीय तेजप्रसाद न्यूरेले बताए । ‘पूर्वाधार निर्माण र प्रचारप्रसारका कारण रायराँयकोट पछिल्लो समय चर्चामा छ । गुराँस फुलेसँगै रायराँयकोट मनमोहक देखिएको छ । धार्मिक तथा प्राकृतिक हिसाबले अत्यन्तै महत्त्वपूर्ण मानिएकाले पछिल्लो समय यहाँ पुग्ने आन्तरिक पर्यटकको संख्यामा वृद्धि हुँदै गएको हो,’ उनले भने ।

न्यूरेका अनुसार धार्मिक पर्यटकीय क्षेत्रका रूपमा चर्चित पञ्चकोटमध्येको एक रायराँयकोटमा पछिल्लो दैनिक ३०० बढी आन्तरिक तथा बाह्य पर्यटक यहाँ पुग्ने गरेका छन् । ‘पहिले पूजाआजा गर्न मात्र आन्तरिक पर्यटक यहाँ आउने गरेकामा पछिल्लो समय अवलोकनसँगै बास बस्ने गरी पनि पर्यटक आउन थालेका छन्,’ उनले भने, ‘पदमार्ग, खानेपानी, शौचालय, सत्तललगायत धार्मिक पूर्वाधार निर्माण भएपछि अहिले गुराँससँग फोटो खिच्ने, टिकटक बनाउने र हिमशृङ्खला हेर्न दैनिक ३०० बढी पर्यटक यहाँ पुग्ने गरेका छन् ।’

सडक मार्ग हुँदै बागलुङ बजारबाट २ घण्टामा पुग्न सकिने उच्च पहाडमा रहेको रायराँयकोटले आन्तरिक पर्यटक तान्दै आएको छ । सवारीसाधनका माध्यमबाट यहाँ पुगेकी रेणु केसीले बागलुङ बजारको कोलाहल छल्ने नजिकको स्थानका रूपमा रायराँयकोट बनेको बताए ।

उनका अनुसार उच्च पहाड संसारकोटसम्म फैलिएको पाँचकोटले धार्मिक मार्गको रूपमासमेत विकास गरेको थियो । यहाँ गैरागाउँ, तितौरे, बाटुले, तग्राम, मूल्पानी, तित्याङ र मालिकालगायत विभिन्न स्थानबाट वर्षादेवका रूपमा पूजाआजा गर्ने प्रचलन रहेको उनले जानकारी दिए ।

गण्डकी प्रदेश सरकारको पर्यटन मन्त्रालयका अनुसार रायराँयकोटमा अहिलेसम्म २० लाखको पूर्वाधार निर्माण भइसकेको छ । मन्दिरको छाना छाउने, पुरानो घण्टी संरक्षण, सत्तल निर्माण, पर्खाल निर्माण र मैदान बनाइएको छ । रायराँयकोटमा पुग्नेस्तरीय सडक बनाउन आवश्यक छ ।

पञ्चकोटबाट संसारकोट पुग्ने पदमार्ग निर्माणका लागि ५० लाख बजेट संघीय सरकारको पर्यटन मन्त्रालयबाट विनियोजन गरिएको छ । साथै करिकोटबाट माझकोटसम्म पदमार्ग निर्माण भइरहेको छ । रायराँयकोटमा लिफ्टमार्फत स्थानीयलाई खानेपानी पु‍र्याइएको छ । ठूलो ढुंगाको छेउमा परापूर्वकालदेखि पूजा गरिने यस स्थानमा वि.सं १९२६ मा चन्द्रप्रसाद गौचनले चढाएको घण्टी संरक्षित रहेको स्थानीय बताउँछन् ।

पाँचकोटअन्तर्गत तारजालकोट, कारिकोट, माझकोट, रायराँयकोट र संसारकोटलाई पञ्चकोटका रूपमा प्रचार गरी अहिले पञ्चकोट धार्मिक गन्तव्य बनाइएको नगर कार्यालयले जनाएको छ ।

भक्तपुरमा बिस्केट जात्राको अन्तिम दिन ढालियो हात नभएको लिङ्गो

भक्तपुर । भक्तपुरमा आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राको शुक्रबार अन्तिम दिन भक्तपुरको पोटरीस्क्वायरस्थित तालाक्वो ज्याठा गणेश मन्दिर अगाडि उठाइएको हात नभएको लिङ्गो ढालिएको छ ।

प्रत्येक वर्ष चैत मसान्तका दिन स्थानीयले भक्तपुरको कुमालेटोलस्थित तालाक्वोमा हात नभएको लिङ्गो उठाएर जात्रा गर्दै अन्तिम दिन आज विधिपूर्वक पूजागरी ढालेपछि भैरवको रथ तान्ने प्रक्रिया सुरु हुने गर्दछ ।

गुठी संस्थान कार्यालय भक्तपुरकी प्रमुख खिमा वलीले तालाक्वोमा चैत मसान्तमा उठाएको हात नभएको लिङ्गो शुक्रबार दिउँसो ढालिएको जानकारी दिँदै आजै अपराह्नदेखि पूजा सम्पन्न गरी भैरवको रथ तान्न सुरु हुने र आजैदेखि जात्रा सम्पन्न हुने परम्परा रहेको जानकारी दिइन् ।

उनका अनुसार बिस्केट जात्राका अवसरमा हरेक वर्ष चैत मसान्तको दिन उठाइएको हात नभएको लिङ्गो जात्राको अन्तिम दिन वैशाख ५ गते बिहान ढाल्ने परम्परा रहेको छ । तालाक्वोमा लिङ्गो ढालिएपछि आजै भैरव र भद्रकालीको पूजा गरी रथलाई गहिटीबाट तान्ने गरिन्छ ।

यसअघि भेलुखेलस्थित ल्यासिंखेलमा चैत मसान्तमा उठाउने लिङ्गो वैशाख २ गते ढाल्ने परम्परा रहे पनि यस वर्ष चैत मसान्तको मध्यरातिसम्म पनि लिङ्गो नउठेपछि स्थानीयले वैशाख १ गते नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी तथा स्थानीयको संयुक्त प्रयासमा लिङ्गो उठाएर साँझ ढालिएको थियो ।

तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्री राणाको निर्देशन

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले सिन्धुपाल्चोकस्थित तातोपानी नाकालाई थप व्यवस्थित गर्न निर्देशन दिएकी छन् ।

शुक्रबार नाकाको निरीक्षण गर्न पुगेकी परराष्ट्रमन्त्री राणाले वार्षिक २० अर्बभन्दा बढी राजस्व उठ्ने नेपाल–चीन व्यापारिक नाकाका रुपमा रहेको यस नाकालाई थप व्यवस्थित गर्न निर्देशन दिएकी हुन् । उनले नेपाल सरकारले यसका लागि आवश्यक पहल गर्ने पनि बताइन् ।

पर्यटन प्रवद्र्धनका हिसाबले पनि यो नाका महत्त्वपूर्ण रहेको र यहाँबाट चीनको धार्मिक पर्यटकीय स्थल मानसरोबारका लागि सहज हुने भएकाले यस नाकालाई थप व्यवस्थित गर्नुपर्ने उनको जोड थियो ।

मन्त्री राणाले अन्तर्राष्ट्रिय व्यापारिक मार्ग काठमाडौं–कोदारी राजमार्गका साथै तातोपानी नाकासँग जोडिएका अन्य सडकहरूको पनि स्तरोन्नति गर्न सरकारले आवश्यक पहल गर्ने बताइन् ।

यस विषयमा उनले सिन्धुपाल्चोकका सांसद, स्थानीय जनप्रतिनिधि र अन्य सरोकारवालाहरूसँग जानकारी लिई स्तरोन्नतिका लागि आवश्यक परामर्श पनि गरेकी थिइन् ।

निजामती कर्मचारीको ‘कुलिङ पिरियड’ दुई वर्षको राख्न कांग्रेसको सुझाव, एमाले एक वर्ष

काठमाडौं । नेपाली कांग्रेसले निजामती कर्मचारीको कुलिङ पिरियड दुई वर्षको राख्न सुझाव दिएको छ ।

शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा निजामती विधेयकबारे उपसमितिको प्रतिवेदनमाथिको छलफलका क्रममा कांग्रेस सांसद हृदयराम थानीले कुलिङ पिरियड कम्तीमा दुई वर्ष राख्नुपर्ने सुझाव दिएका हुन् ।

सांसद थानीले कुलिङ पिरियड कम्तीमा २ वर्ष राख्नुपर्ने बताए । उनले भने, ‘राजनीतिक साँठगाँठ रोक्न पनि कुलिङ पिरियड चाहिन्छ । परराष्ट्र र न्याय सेवामा किन राखिएन ? सबैलाई एउटै मापदण्ड तयार गरौँ । कतै एक वर्ष, कतै दुई वर्ष राख्ने काम नगरौं ।’ सांसद थानीले अतिरिक्त सचिव आवश्यक नभएको बताए ।

नेकपा एमालेका सांसद रघुजी पन्तले ‘कुलिङ पिरियड’सम्बन्धी व्यवस्था गरिँदा ६० वर्षे उमेरहदका कारण अवकाश भएकाले भने पूरा अवधि नियुक्ति खान नपाउने बताए ।

उनले कुलिङ पिरियड राखे पनि एक वर्षको अवधिमा राख्न सकिने बताए । उनले भने, ‘कुलिङ पिरियडकोबारेमा हामी स्पष्ट हुनुपर्छ । ६० वर्षमा रिटायर्डमा हुने मान्छेले दुई वर्ष राख्यौँ भने त यसमा उसले संवैधानिक निकायमा आफ्नो काम गर्न सक्दैन । सबै कुरालाई ध्यानमा राख्दाखेरि काम गर्नको लागि सरकारले हात बाँध्ने होइन ।’

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले कुलिङ पिरियड कम्तीमा पनि २ वर्ष हुनुपर्ने बताए । उनले कुटनीतिक कर्मचारीहरूको लागि नराख्ने र अन्य कर्मचारीको लागि राख्ने विभेदकारी व्यवस्था गर्न नहुने बताए ।

नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले सबै निजामती कर्मचारीको लागि कुलिङ पिरियड एउटै मापदण्डअनुसार हुनुपर्ने बताइन् । उनले सबै कर्मचारीको हकमा दुई वर्षको कुलिङ पिरियड राख्नुपर्ने बताइन् ।

उनले भनिन्,‘सबै कर्मचारीको लागि कुलिङ पिरियड एकै नासको हुनुपर्छ । २ वर्ष बनाउँदा ठिक हुन्छ । सबैका लागि एउटै ऐन बनाउनुपर्छ । विशेष मातृत्वमा बिदाको सुविधा दिनुपर्छ ।’

गोरखा सैनिकको मुद्धालाई छिटै निस्कर्षमा पुर्याउनुपर्ने छः राजदूत घिमिरे(अन्तरवार्ता)

लण्डन । नेपाल र संयुक्त अधिराज्यबीच सदिऔँदेखि मैत्री सम्बन्ध रहँदै आएको छ । संयुक्त अधिराज्यका लागि नेपाली आवासीय राजदूत र सहप्रमाणीकृत भएको आयरल्याण्डका लागि केही महिनाअघि नियुक्त भएका राजदूत चन्द्रकुमार घिमिरे राष्ट्रको हितलाई सर्वोपरी राखी संयुक्त अधिराज्यसँगको हाम्रो ऐतिहासिक सु–सम्बन्ध, यस राष्ट्रको समुन्नत आर्थिक, राजनीतिक, सामाजिक, शैक्षिक, सांस्कृतिक र सुदृढ शासकीय क्षमता र ती क्षमतासँग नेपाल र नेपालीको समुन्नतिका लागि अद्वितीय सम्भावनाहरु रहेको देख्छन् ।

नेपाली, गैरआवासीय नेपाली र विदेशीलाई कन्सुलर सेवा संयुक्त अधिराज्यमा भूपू गोर्खाका परिवारलगायत विभिन्न कामका लागि आएका नेपालीको सङ्ख्या करिब दुई लाख रहेको अनुमान छ । विगतमा तीन दशकभन्दा बढी अवधि सार्वजनिक पदमा रहँदा युरोपमा सार्वजनिक नीति र सुधार विषयमा एमफिल अध्ययन गर्दा होस् वा हार्वर्ड विश्वविद्यालयदेखि अनगिन्ती विश्वस्तरीय शैक्षिक प्रतिष्ठानहरुमा प्र्रशिक्षित भएका उनले चेभेनिङ्ग फेलो भएर विद्यार्थीका रुपमा संयुक्त अधिराज्यको योर्क विश्वविद्यालयमा प्रशिक्षित भइरहँदा त्यस भूमिमा बस्ने नेपालीहरुले भोगेका समस्या र नेपालको सुमुन्नतिको सम्भावनालाई जनस्तर सँगसँगै प्राज्ञिक कोणबाट अवलोकन गरेका छन् ।

हाल कायम सम्बन्धलाई सम्वद्र्धन गर्दै नेपालको परराष्ट्र नीतिअनुरुप नेपाल र नेपालीको हितमा अधिकतम लाभ हासिल गर्नु नै आफ्नो जिम्मेवारी ठान्ने राजदूत घिमिरेसँग राष्ट्रिय समाचार समिति(रासस)का आलेख प्रमुख कृष्ण अधिकारीले लण्डनस्थित नेपाली दूतावासमा गरेको कुराकानी यसप्रकार छः

नेपाल–संयुक्त अधिराज्यबीचको सदिऔँदेखिको सम्बन्धका आयामहरुलाई कसरी हेर्नुहुन्छ ?

संयुक्त अधिराज्य आर्थिक रूपमा विश्वकै शक्तिशाली र विकसित राष्ट्रहरूको सङ्गठन जि–७ को प्रमुख सदस्य हो । त्यस्तै जी–२० समूहको पनि यो सकृय सदस्य राष्ट्र हो । अन्तरराष्ट्रिय शान्तिसुरक्षामा अग्रणी भूमिका खेल्ने संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को स्थायी सदस्य राष्ट्रका रूपमा रहनुका साथै संयुक्त राष्ट्रसङ्घका अन्तरराष्ट्रिय सङ्घसंस्थामा सबैभन्दा बढी आर्थिक योगदान गर्ने प्रमुख राष्ट्रहरूमध्ये पर्दछ ।

त्यसैगरी भारत, अस्ट्रेलिया, क्यानडालगायतका विश्वका ५६ राष्ट्र र करिब २ दशमलव ७ अर्ब जनसङ्ख्या भएका कमनवेल्थ संस्थाको नेतृत्व पनि संयुक्त अधिराज्यले गर्दै आएको छ । ३१ जनवरी २०२० देखि युरोपेली समुदायको सदस्यता परित्याग गरेपछि संयुक्त अधिराज्यले अन्तरराष्ट्रिय क्षेत्रमा अझ बढी सक्रियता देखाउँदै सबै क्षेत्रमा आफ्नो भूमिका अभिवृद्धि गरिरहेको छ । विश्व रङ्गमञ्चमा राजनीतिक, आर्थिक, व्यापारिक, सामाजिक, सुरक्षा, जलवायु परिवर्तनजस्ता एजेण्डाहरुमा नेतृत्वदायी भूमिका खेलिरहेको संयुक्त अधिराज्यसँगको सम्बन्ध नेपालको लागि द्विपक्षीय तथा बहुपक्षीय दृष्टिले धेरै नै महत्वपूर्ण छ ।

संयुक्त अधिराज्यसँगको नेपालको सम्बन्ध ऐतिहासिक रहेको छ । दुई देशबीचको सम्बन्धका विविध आयामलाई राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत विभिन्न सम्बन्धका कोणबाट हेर्न सकिन्छ । सन् १८१६ मा नेपाल र संयुक्त अधिराज्यबीच सुगौलीको सन्धि भएपछि सुरु भएको औपचारिक सम्बन्धमा सन् १९२३ मा द ग्रेट ब्रिटेन र नेपालबीच भएको मैत्रीसन्धिले दुई देशबीचको कूटनीतिक सम्बन्धलाई थप औपचारिकता दिएको थियो । नेपाललाई स्वतन्त्र र सार्वभौम मुलुकका रूपमा राष्ट्रिय एवं अन्तरराष्ट्रियस्तरमा सुदृढीकरण गर्न त्यो सन्धि कोशेढुङ्गा बन्यो । नेपालमा कूटनीतिक नियोग स्थापना गर्ने संयुक्त अधिराज्य नै विश्वको पहिलो मुलुक हो ।

त्यसैगरी नेपालले वैदेशिक भूमिमा खोलेको पहिलो कूटनीतिक नियोग संयुक्त अधिराज्यमा नै थियो, जुन सन् १९३४ मा खुल्यो र त्यसलाई सन् १९४७ मा राजदूतावासमा स्तरोन्नति गरियो । द्धिपक्षीय सम्बन्धलाई नयाँ उचाइमा लैजान विगतदेखि नेपालबाट र संयुक्त अधिराज्यबाट उच्चतहमा विभिन्न भ्रमणहरू भएका र त्यस्ता भ्रमणले सम्बन्धलाई अरु सौहार्द बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् । पहिलोपल्ट राजा जर्ज पञ्चमले सन् १९११ डिसेम्बरमा गरेको नेपाल भ्रमण ब्रिटिस राष्ट्र प्रमुखबाट भएको पहिलो भ्रमण थियो, जसले नेपाललाई एक स्वाधीन राष्ट्रको हैसियत सन् १९२३ मा दिलाउने गरी द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा लैजान महत्वपूर्ण भूमिका खेलेको विश्वास गरिन्छ । यसैगरी, सन् १९६१ मार्चमा र सन् १९८६ फेब्रुअरीमा तात्कालिन महारानी एलिजावेथ द्वितीयबाट नेपाल भ्रमण भएको थियो । पछि डिसेम्बर १९८० र फेब्रुअरी १९९८ मा वर्तमान राजा तथा तात्कालिन राजकुमार चाल्र्सले नेपाल भ्रमण गर्नुभएको थियो । यसबीच संयुक्त अधिराज्यका तर्फबाट  अनेकौँ भ्रमणहरु उच्चस्तरमा भएका छन् ।

नेपालको तर्फबाट सन् १८५०–५१ मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणा बेलायतको भ्रमण गर्ने पहिलो नेपाली प्रधानमन्त्री बने । त्यस्तै सन् १९०८ मा तत्कालीन चन्द्रशम्शेर जबराले बेलायत भ्रमण गरे । तात्कालिन राजा महेन्द्रबाट अक्टोबर १९६० मा र तत्कालीन राजा वीरेन्द्रबाट सन् १९८० र मई १९९५ मा संयुक्त अधिराज्यको भ्रमण भएको थियो । नोभेम्बर १९९६ मा र मई २००२ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले, अक्टोबर १९९९ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले, जुन २०१९ मा प्रधानमन्त्री केपी शर्मा ओलीले र कोप–२६ का दौरान अक्टोबर/नोभेम्बर २०२१ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्यको भ्रमण गर्नु भएको थियो । नेपाल पक्षबाट थुप्रैपटक भएका यी र अन्य उच्चस्तरीय भ्रमणहरुले सम्बन्धलाई थप सम्वद्र्धन गरेका छन् ।

संयुक्त अधिराज्यले नेपालको आर्थिक विकासमा कस्तो सहयोग पुर्याउँदै आएको छ ?

संयुक्त अधिराज्य, नेपालका लागि विकास सहयोग प्रदान गर्ने पुरानो मित्रराष्ट्र हो । सन् १९६० देखि नेपाललाई विकास सहयोग प्राप्त हुँदै आएको छ । नेपालको प्राथमिकतामा विकास सहयोग परिचालन गर्न विकास साझेदार फ्रेमवर्क सम्झौतामा दुई देशबीच डिसेम्बर २०१३ मा सहमति भएको छ । कोभिड–१९ पछि देशको आर्थिक अवस्था केही कमजोर भएपछि संयुक्त अधिराज्यको सरकारले दिने ओडिए कूल जिडिपीको शून्य दशमलव ७ प्रतिशतबाट घटाएर शून्य दशमलव ५ प्रतिशत बनाएको र आर्थिक अवस्थामा सुधार आएपछि पुनःशून्य दशमलव ७ प्रतिशत बनाउने नीति लिने बताएको छ । दशकौँदेखि बेलायतले आफ्नो वैदेशिक सहायतामा स्वास्थ्य सुधार, सहस्राब्दी तथा दिगो विकास लक्ष्य र मानवीय तथा सङ्कट सहायता जस्तैः २०१५ भूकम्प र कोभिड–१९ मा सहयोग गर्दै आएको छ । कोभिड–१९ को महामारीका समयमा नेपाललाई कोभ्याक्सअन्तर्गत भ्याक्सिन एवं अन्य स्वास्थ्य सामग्री प्राप्त भएको थियो ।

त्यस्तै २०७२ सालको विनाशकारी भूकम्पको समयमा उल्लेख्य सहयोग पुर्याएको थियो । यसबाहेक, सार्वजनिक वित्तीय व्यवस्थापन सुधार, लगानी संस्था निर्माण र सुधार, प्रमुख सार्वजनिक वित्तीय व्यवस्थापन सुधारजस्ता आर्थिक स्थायित्वको क्षेत्रमा नेपाललाई सहयोग गरेको छ ।

आर्थिक कूटनीतमा राम्रो दख्खल राख्नुहुने तपाईं आगामी दिनमा दुई देशबीचको द्विपक्षीय व्यापारिक सम्बन्धलाई कसरी बढाउनसक्ने सम्भावना देख्नुहुन्छ ? 

उच्च प्रतिव्यक्ति आय र विश्वकै ठूलो अर्थतन्त्र भएको कारण संयुक्त अधिराज्य एक ठूलो उपभोक्ता बजार पनि हो । नेपालको छविका कारण नेपालको निर्यातका लागि सो बजार निकै महत्वपूर्ण हुनसक्छ । यस दिशामा बेलायत सरकारले जुन २०२३ मा जारी गरेको विकाशोन्मुख मुलुकहरुको व्यापार योजनामा नेपाललाई योग्य राष्ट्रहरुको  सूचीमा राखेको छ, जसले अतिकम विकसित रहँदा नेपालले पाएको सौविध्य प्रणालीलाई विस्थापन गरेको छ । साथै, नेपालका वस्तुहरुलाई हातहतियारबाहेक सबै सामग्रीका लागि बजार पहुँच दिने सम्झौताअनुरुप करिब ९९ दशमलव ८ प्रतिशत वस्तुलाई शून्य भन्सार दरको सुविधा दिने प्रावधान छ । तर यी दुवै योजनाहरुको हालसम्म कम उपयोग भएको पाइन्छ । त्यसो त नेपाल र संयुक्त अधिराज्यले १९६५ मा अति सौविध्य मुलुकको सूचीमा समावेश गरेको भए पनि कार्यान्वयनमा आउन सकेको थिएन । नेपालले सन् २००४ मा विश्व व्यापार संगठनमा गरेको प्रवेशसँगै त्यो असान्दर्भिक भइसकेको छ । यसबीच वस्तुगततर्पm धेरैजसो तयारी पोसाक, कार्पेट, पस्मिना, चाँदीका गरगहना, नेपाली कागजजस्ता हस्तकलाका सामानहरु नेपालबाट निर्यात भएका छन् भने धेरैजसो मेसिनरी सामान, पेयपदार्थ, हवाइजहाजका पार्टपुर्जा, शृङ्गारका सामान एवं स्वास्थ्य सामग्रीहरु नेपाल आयात भएका छन् । सेवाजन्य व्यापारतर्पm पछिल्ला केही वर्षहरुमा नेपालबाट सेवा व्यापारको निर्यात बढदै गइरहेको छ । बेलायतको युके एक्पोर्ट फाइनान्सले नेपालको हरित ऊर्जा तथा अन्य क्षेत्रमा उल्लेखनीय लगानी गर्न तयार रहेको देखिन्छ ।

बेलायती व्यापार तथा वाणिज्य विभागको २०२४ को तथ्यांकअनुसार कूल द्विपक्षीय व्यापार ३०० मिलियन पाउण्ड अर्थात रु ५१ अर्ब बराबर रहेको छ । त्यसमध्ये नेपालबाट निर्यात रु ३४ अर्ब र नेपालमा आयात रु १७ अर्ब भएको देखिन्छ । नेपालबाट संयुक्त अधिराज्यतर्फ भएको कूल निर्यातको ९० प्रतिशत योगदान सेवा निर्यातको रहेको छ । आगामी दिनमा यसलाई अझ बढाउन सकिने सम्भावना छ । नेपालको विश्वमा भएको कूल निर्यातमा संयुक्त अधिराज्यतर्फको हिस्सा ३ प्रतिशतभन्दा बढी छैन र यो प्रवृत्ति पछिल्लो समयमा अझ घटदो क्रममा छ । त्यस्तै अवस्था नेपालमा भएको आयातको पनि देखिन्छ जुन विश्वबाट नेपालमा भएको कूल आयातको १ प्रतिशतभन्दा कम चलिरहेको छ ।

नेपालमा संंयुक्त अधिराज्यबाट प्रत्यक्ष वैदेशिक लगानी बढाउन के गर्नुपर्ने देख्नुहुन्छ ?

संंयुक्त अधिराज्यबाट हुने लगानीलाई लक्षितगरी सन १९९३ मार्च २ मा  प्रवद्र्धन र लगानीको संरक्षणसम्बन्धी सम्झौता भएको छ । तथापी पूर्ण आकारको द्विपक्षीय लगानी सम्झौता भने लामो समयदेखि प्रक्रियामा रहेपनि टुङ्गिएको छैन । हालसम्म बैंक, पर्यटन, शिक्षा र प्रविधिका क्षेत्रमा लगानी प्राप्त भएको छ भने होटेल, चिया प्रशोधन, कलेज, ट्राभल र ट्रेकिङ व्यवसायहरुमा संयुक्त लगानी भएका छन् । तथापि दक्षिण एसिया र दक्षिण पूर्वएसियाका नेपालजस्ता राष्ट्रको तुलनामा नेपालमा आएको वैदेशिक लगानी एकदम न्यून छ ।

गत केही वर्षयता बेलायतका लगानीको अवधारणामा समाजको लागि जिम्मेवार लगानी गर्ने ब्रिटिस अन्तरराष्ट्रिय लगानीजस्ता संस्थाहरुले समेत नेपालको बैंकिङ्ग, आइटीलगायतका क्षेत्रमा सय मिलियन डलरभन्दा बढी लगानी गरेको तथ्यांक छ । नेपालमा विश्वबाट हुने लगानी प्रतिवद्धताको उच्चतम बिन्दु करीब ४.५ प्रतिशत सन २००४ मा पुगेकोमा सन २०२० मा ११ प्रतिशत कटेको थियो । तर त्यसपछि भने यसमा क्रमशः गिरावट आउँदै १ प्रतिशतभन्दा कम हुन पुगेको छ । रकमको दृष्टिले सबैभन्दा उच्चतम बिन्दु सन् २०१६ मा रु २०८० मिलियन र सन २०२० मा रु १९२६ मिलियन पुगेको थियो । त्यसपछि भने पुनः घट्दो क्रममा छ ।

नेपालको पर्यटक आगमनमा संयुक्त अधिराज्यको उल्लेख्य संख्या रहेको छ । आगामी दिनमा पर्यटन प्रवद्र्धनमा के गर्न सकिएला ?

केही वर्षयता संयुक्त अधिराज्यबाट नेपाल आउने पर्यटकको सङ्खया क्रमशः वृद्धि हुँदै गएको छ । कोरोना महामारीअघि संयुक्त अधिराज्यबाट आउने पर्यटकको सङ्ख्या करिब ६० हजारबाट वृद्धि हुँदै गएको र सन् २०२३ मा ५२ हजार ८६६ पर्यटकले भ्रमण गरेका थिए । नेपालमा सबैभन्दा बढी पर्यटक पठाउने मुलुकहरूमा भारत, संयुक्तराज्य अमेरिका, चीनपछि संयुक्त अधिराज्य चौथो स्थानमा छ । सन् २०१५ मा भूकम्प र नाकाबन्दीका कारण भने पर्यटक संख्या घटेको थियो । सन् २०१७ देखि २०१९ सम्म संयुक्त अधिराज्यबाट आउने पर्यटकको संख्या बढदै गएकामा सन् २०२० र २०२१ संयुक्त अधिराज्यबाट आउने पर्यटकको मामिलामा निराशाजनक रह्यो । सन् २०१८ मा सबैभन्दा धेरै ६३ हजार ४६६ बेलायती पर्यटकले नेपाल भ्रमण गरेका थिए भने २०२३ मा ५२ हजार ८६५ पुग्नाले निकै उत्साहजनक बनेको छ । यो उपलब्धिलाई अझ बढाउँदै लैजानुपर्नेछ र यो सम्भव पनि छ ।

नेपाल र बेलायतबीच नेपाली एयरलाइन्सको हवाई सम्पर्क पुनःस्थापना गर्नुपर्नेछ ।  नेपालको छवि बेलायती जेष्ठ पुस्ताहरुमा सम्मानजनक ब्राण्डको रुपमा स्थापित भएपनि अहिलेको युवा पुस्तामा भने नेपाल विस्तारै ओझेल पर्दै गएको देखिन्छ । पुरानो परिचयले नपुग्ने भएकाले अब नेपालले युवा पुस्तामाँझ आफ्नो ब्राण्ड छवि नयाँ तरिकाले पस्किनु पर्ने अवस्था छ । लन्डनमा हरेक वर्ष आयोजना हुने वर्ड ट्राभल मार्टलगायत अन्य सम्मेलनमा नेपालको प्रस्तुति सशक्त बनाउने, ट्राभल र टुर अप्रेटरहरुसँग भेटघाट तथा छलफल गर्ने, नेपालका पर्यटन व्यवसायीलाई बेलायतका पर्यटन व्यवसायीहरुसँग बि टु बि बैठक गराई नेपालमा बढीभन्दा बढी पर्यटक पठाउने काममा मैले समन्वय गर्नेछु ।

वर्षौंदेखि अड्किरहेको ब्रिटिस गोर्खा सैनिकको अधिकारको मुद्दा यहाँकै कार्यकालमा समाधान होला त ?

ब्रिटिस गोर्खा फौज नेपाल र संयुक्त अधिराज्यबीचको सम्बन्धको विशेष कडी हो । सन् १८१५ अप्रिल २४ बाट ब्रिटिश आर्मीमा थालिएको गोर्खा फौजको लामो इतिहास छ । ब्रिटिशका लागि प्रथम तथा दोस्रो विश्व युद्धलगायत विश्वका विभिन्न भूभागमा अनगिन्ती युद्धहरु लडेको गोर्खा फौजले वीरता र बलिदानको गौरवपूर्ण इतिहास विश्वसामु बनाएको छ । भारत स्वतन्त्र भएपछि सन् १९४७ मा नेपाल, भारत र संयुक्त अधिराज्यबीच भएको त्रिपक्षीय सन्धिअनुसार चार गोर्खा रेजिमेण्ट ब्रिटिस सेनासँग रहेसँगै गोर्खाहरुले ब्रिटिश सेनामा सेवा गर्दै आएका छन् । यसबीच सन् १९९७ पछि ब्रिटिस सेनामा कार्यरत र सेवानिवृत्त गोर्खाहरूले ब्रिटिस समकक्षी सरह तलब र पेन्सन पाएका छन् । तथापि त्यसअघि निवृत्त भएकाहरूले ब्रिटिस समकक्षीहरू सरह पेन्सन स्वास्थ्य तथा अन्य सुविधा नपाएको विषयमा ब्रिटिस गोर्खाहरुले आवाज उठाउँदै आएका छन् । भूतपूर्व ब्रिटिस गोर्खाको पेन्सन र अन्य सुविधाका विषयमा न्यायोचित रूपमा यो विषयको सम्बोधन हुन नेपाल सरकारले पहल गरिरहेको छ ।

सन् २०१८ मा दुई देशको संयुक्त प्राविधिक समितिले बुझाएको प्रतिवेदनअनुसार दुई सरकारबीच वार्ताको माग गर्दै भूपू गोर्खाहरुले सन् २०२१ अगष्टमा आमरण अनशन गरेपछि ब्रिटिश सरकार वार्ता गर्न तयार भएको थियो । सोही अनुसार नेपालतर्फबाट बेलायतका लागि नेपाली राजदूतले नेतृत्व गर्ने गरी एक वार्ता समिति गठन भई उक्त द्विपक्षीय संयन्त्रको पहिलो बैठक ३ नोभेम्बर २०२२ मा भएको र पछिल्लो बैठक २७ मार्च २०२४ मा भएको थियो । भूपू गोर्खाहरुको मागलाई विस्तृतमा छलफल गर्नको लागि नेपाली राजदूतावास, लण्डन तथा बेलायती रक्षा मन्त्रालयका अधिकारीहरु सम्मिलित सो प्राविधिक समितिको छ पटक बैठक बसिसकेको छ । ती छलफलहरुबाट कल्याणकारी सुविधाहरुलगायत केही विषयमा प्रगति भएतापनि मुख्य माग समान पेन्सनका विषयमा बेलायत सरकारको फरक मतको कारण ’ब्रेक–थ्रु’ भएको छैन । बेलायतमा जुलाई २०२४ मा भएको आमनिर्वाचनमा लेबर पार्टीका कीर स्टार्मरको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । नयाँ सरकारसँग बेलायती सेनामा भूपू गोर्खाहरुको अभूतपूर्व योगदान तथा नेपाल–बेलायत ऐतिहासिक द्विपक्षीय सम्बन्धलाई जोड दिंदै वार्तालाई निरन्तरता दिनु पर्ने र प्राथमिकताका साथ ती मुद्दाहरुको शीघ्रताशिघ्र टुङ्गो लगाउनुपर्ने अवस्था छ । मैले जिम्मेवारी लिइसकेपछि विदेशमन्त्रीलगायत उच्च सरकारीस्तरमा कुराकानी गरेको छु, चाँडै नै वार्ता भई समाधान निस्कनेछ भन्ने विश्वास छ ।

पछिल्लो समय नेपाली विद्यार्थीका लागि प्रमुख शैक्षिक गन्तव्य बनेको संयुक्त अधिराज्यमा विद्यार्थीहरुले विभिन्न समस्या झेल्नुपरेको सुनिन्छ, यसलाई कसरी व्यवस्थित बनाउनुपर्ने देख्नुहुन्छ ? 

शैक्षिक क्षेत्र नेपाल र संयुक्त अधिराज्यबीच सम्बन्धको अर्को महत्वपूर्ण आयाम हो । हरेक वर्ष हजारौँको सङ्खयामा उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीहरू बेलायतका कलेज र विश्वविद्यालयहरुमा आउने गरेका छन् । त्यस्तै संयुक्त अधिराज्य सरकारले केही विषयमा उच्च शिक्षा छात्रवृत्ति पनि निरन्तर उपलब्ध गराउँदै आएको छ । बेलायतमा जान नेपाल सरकारबाट नो अब्जेक्सन लेटर लिने नेपाली विद्यार्थीहरुको सङ्ख्या आव २०७७/७८ देखि निरन्तर बढदो छ । पछिल्लो वर्ष २०८०/८१ मा यो संख्या अघिल्लो वर्षको एक लाख दुई हजार ६१० भन्दा बढेर एक लाख १२ हजार ५९३ पुगेको छ । विश्वभरका लागि जारी भएको यो संख्यामा बेलायतको अंश करीब १२ प्रतिशत रहेबाट नेपाली विद्यार्थीको आकर्षण निकै रहेको देखिन्छ । नेपालबाट आउने कतिपय विद्यार्थीहरुले कलेजलाई तिर्नुपर्ने शुल्क, यहाँको काम तथा बस्ने व्यवस्था लगायतका विषयमा राम्रोसँग नबुझी आउँदा समस्यामा पर्ने गरेको छ ।

बेलायतलाई नेपालबाट चाहिने दक्ष वा अर्धदक्ष जनशक्तिका लागि थप श्रम सम्झौता गर्ने सम्भावना छ । हाल सम्झौता भइसकेको नेपालबाट बेलायत नर्स पठाउनेसम्बन्धी श्रमसम्झौताको कार्यान्वयनमा सहजीकरण गर्दै यहाँका विश्वविद्यालयहरूसँग समन्वय गरीसम्बन्धन, प्राज्ञिक आदानप्रदान, अनुसन्धान सहकार्यलाई प्रोत्साहित गर्न सम्भावना खोजिनेछ । छात्रवृत्तिमा आउने नेपाली विद्यार्थीको सङ्खया अभिवृद्धि गराउने र त्यस्तो छात्रवृत्तिमा अध्ययन सम्पन्न गरेपछि नेपालमा आई सम्बन्धित क्षेत्रमा सेवा गर्न उत्प्रेरित गराउने वातावरण बनाउनुपर्ने देखिन्छ ।

दुई देशबीचको सम्बन्धलाई अझ फराकिलो बनाउने तपाइँसँग कस्तो योजना रहेको छ त ?

नेपालको विकास प्राथमिकताका क्षेत्रमा विशेषगरी आर्थिक पुर्नसंरचना, भौतिक, आर्थिक तथा सामाजिक पूर्वाधार विकास गर्नसक्ने क्षेत्रहरुमा संयुक्त अधिराज्यको विकास सहायता थप गर्न मेरो प्रयत्न हुनेछ । कम विकसित, भूपरिवेष्टित र जलवायु परिवर्तनबाट अत्यन्त प्रभावित राष्ट्रका हैसियतले संयुक्त अधिराज्यबाट दिइने आर्थिक सहयोगको सूचीमा प्राथमिकता प्राप्त राष्ट्रको रुपमा रहन र त्यस्तो सहयोग अभिवृद्धि गर्न प्रयत्न गर्नेछु । नेपाल सन २०२६ मा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने सन्दर्भमा नेपालको निर्धारित प्राथमिकताअनुरुप विकास सहायता परिचालन हुने वातावरण निर्माणमा लाग्नुपर्नेछ । बेलायत समेत सदस्य रहेका बहुपक्षीय विकास साझेदारहरूबाट सहायता परिचालनमा बेलायतको सदभाव र समर्थन थप जुटाउन र बढाउन मेरो क्षमता र पहुँचको अधिकतम उपयोग हनेछ ।

दुवै देशबाट राष्ट्राध्यक्ष, प्रधानमन्त्री र उच्चस्तरमा हुने भ्रमणहरुलाई उच्च प्राथमिकतामा राखेको छु । संयुक्त अधिराज्यसँगको राजनैतिक सम्बन्धलाई नयाँ उचाईमा राख्दै नेपालका राष्ट्रिय आकाङक्षा, नीति, प्राथमिकता एवं अवस्थाबारे जानकारी गराउने र तिनमा संयुक्त अधिराज्यको सहयोग जुटाउने प्रयास रहनेछ । सन् १९९७ पूर्वब्रिटिश गोर्खा फौजबाट सेवानिवृत्त भएका गोर्खाहरुको समस्या सदाका लागि समाधान गर्न हाल जारी वार्तालाई गोर्खा सैनिकहरुको हित हुनेगरी सकेसम्म चाँडो ठोस निष्कर्षमा पुर्याउनुको साथै ब्रिटिश सेनामा भर्ती प्रणालीलाई थप पारदर्शी तथा निष्पक्ष बनाउन संयुक्त अधिराज्यको सरकारको सम्बन्धित निकायसँग समन्वय गर्नेछु । संयुक्त अधिराज्यमा रहेका नेपालीहरूका महत्वपूर्ण संस्थाहरु तथा गैरआवासीय नेपाली संघसँग सम्बन्ध र समन्वय अझ प्रगाढ बनाउँदै नेपाल र नेपालीका हितमा तिनलाई अधिकतम क्रियाशील तुल्याउने मेरो पहल रहनेछ ।

व्यापार अभिवृद्धिका लागि द्विपक्षीय संयन्त्रको निर्माण गरी नेपाली वस्तु संयुक्त अधिराज्य प्रवेश गर्दा कुनै गैरभन्सार खासगरी गुणस्तर अवरोध हुन नदिन गुणस्तर प्रमाणीकरण, ल्याव परीक्षणजस्ता विषयमा बेलायतसँग सहकार्य खोजिनेछ । बेलायतमा हरेक वर्ष आयोजना हुने मुख्य प्रदर्शनीहरुमा बेलायती आयातकर्ताहरुसँग एकै स्थलमा भेटेर नेटवर्किङ्ग गर्न सकिने भएकोले नेपाली निर्यातकर्ताहरूको त्यहाँ सहभागिता बढाउन नेपाल सरकार, दातृ निकायहरु तथा निजी क्षेत्रसँग पहल गर्नेछु । नेपालको वाणिज्य र पारवहनका क्षेत्रमा होस् वा उद्योग, लगानी प्रवद्र्धनसम्बन्धी द्विपक्षीय, क्षेत्रिय र बहुपक्षीय सन्धिसम्झौता र वार्ताहरुमा नेपालको प्रतिनिधित्व गर्दा कसरी नेपालको हित अधिकतम प्रर्वद्धन गर्न सकिन्छ भन्नेमा नै मेरो ध्यान जानेछ ।

दुई देशबीचको सम्बन्ध विस्तारमा के कस्ता चुनौतीहरु रहेका छन् त ?

संयुक्त अधिराज्य अवसरको मुलुक हो । सदिऔँदेखिको मैत्री सम्बन्धका कारण नेपालप्रति यहाँको सरकार र वासिन्दा सकारात्मक भएकाले यहाँबाट हामीले धेरैभन्दा धेरै लाभ लिन सक्नुपर्छ । अहिलेसम्म बेलायतका प्रधानमन्त्रीको नेपाल भ्रमण नभएको अवस्थामा त्यस्तो उच्चस्तरको भ्रमण गराउने र नेपालबाट पनि उच्चस्तरीय भ्रमणहरुलाई निरन्तरता दिन सकिएमा सहयोगका नयाँ सम्भावनाहरु खेज्न सकिनेछ । पछिल्लो समय यहाँको अथैतन्त्र केही कमजोर हुँदा नेपालजस्ता विकाशोन्मुख देशलाई दिने सहयोगमा कटौती भएको छ । यस अवस्थामा सहयोग कम नगर्न मैले आफ्नो ठाउँबाट यहाँका उच्च अधिकारीहरुसँग कुरा त गरेको छु, सँगसँगै सरकारी उच्च तहबाट पनि पहल हुन आवश्यक छ । गोरखा सैनिकको मुद्धालाई पनि छिटै निस्कर्षमा पुर्याउनुपर्ने छ । बंगलादेश, भारतका डायस्फोराले जस्तै नेपाली डायस्फोराले पनि यहाँको लगानीलाई नेपाल लैजाने बलियो आधार बनाउनुपर्ने देखिन्छ । नेपाली उत्पादन र सेवालाई संयुक्त अधिराज्यमा बढाउन सरकारीर निजी क्षेत्रको सक्रिय भूमिकाको खाँचो छ ।

त्यस्तै लगानीको वातावरण निर्माण एक परिवर्तनशील प्रक्रिया हो अर्थात विदेशी लगानीकर्ताको चाहना अनुरुप कैयन नीतिगत, संस्थागत र प्रक्रियागत सुधार नेपालभित्र आवश्यक पर्छ । मुलुकभित्र बढीभन्दा बढी वैदेशिक लगानी भित्र्याउन सकिएमा मात्रै समृद्ध नेपाल र सुखीको अभियान पूरा गर्न सकिने भएकाले यसतर्फ सबैको सामूहिक प्रयास हुनुपर्छ । नेपाल र संयुक्त अधिराज्यबीचको स्थापित बहुआयामिक, दीर्घकालीन एवं बहुपक्षीय सुमधुर सम्बन्धलाई नेपालको बृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि गर्नेगरी अझ सुदृढ एवं थप विस्तृत बनाउने मेरो प्रयास रहनेछ ।

पाँचथरमा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने

पाँचथर ।  खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने, आर्थिक गतिविधिमा टेवा पुर्‍याउने उद्देश्यले पाँचथरको फिदिममा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा यही वैशाख ८ गतेदेखि १० गतेसम्म फिदिमस्थित जिल्ला समन्वय समितिको ब्याडमिन्टनहलमा प्रतियोगिता आयोजना गर्न लागिएको खेलकुद विकास समितिका अध्यक्ष सन्तोष मोक्तानले जानकारी दिए।

आयोजक जिल्ला खेलकुद विकास समितिले आज फिदिममा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यस प्रतियोगितातर्फ मेन्स सिंगल, वुमेन्स सिंगल, मेन्स डबल्स र मिक्स डबल्स गरी चार विधाका लागि ५८ खेलाडी सहभागी हुने समितिका सचिव दुश्यन्त बस्नेतले जानकारी दिए ।

भेट्रान्स प्रतियोगिताको हरेक विधाका विजेता, उपविजेता र तृतीय स्थान हासिल गर्ने खेलाडीले नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् ।

प्रदेश खेलकुद विकास बोर्डको संयोजन र फिदिम नगरपालिका तथा जिल्लाका अन्य स्थानीय तहहरूको समन्वयमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिता सफल पार्न १८ लाख खर्च हुने आयोजकले जनाएको छ ।

सरकार परिवर्तनको हल्लाको पछि नलाग्न प्रधानमन्त्रीको आग्रह

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले ठुला दलको साझेदारीमा निर्मित अहिलेको सरकार परिवर्तनको हल्लामा कुनै सत्यता नभएकाले ढुक्कका साथ विकास र सुशासनका काममा केन्द्रित हुन आग्रह गरेका छन् ।

चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशमा स्थिरता, विकास र सुशासन दिनका लागि इतिहास बोकेका दलहरु एकसाथ मिलेर यो सरकार बनेकाले सरकार आफ्नो लक्ष्य र गन्तव्यमा स्पष्ट रहेको बताए ।
‘देशलाई सुशासनयुक्त बनाउन, नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउन हामी पूर्णरुपमा लागेका छौँ । तपार्ईँहरु पनि ढुक्का साथ यस अभियानमा लाग्नुुस् । सबै मिलेर देश बनाऔँ ।’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले गाउँगाउँमा सिंहदरबार बनाउने सोचका साथ संविधान निर्माणका समयमा स्थानीय सरकारको व्यवस्था गरेका हौँ । तपाईँहरुले अधिकार र कर्तव्यलाई मनन् गरी हामीले प्राप्त गरेको राजनीतिक व्यवस्थाको रक्षा र संविधानको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

प्रधानमन्त्री ओलीले चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउने पनि बताए । प्रधानमन्त्री ओलीले नयाँ भवनबाट गाउँपालिकाको सुशासन र सेवा प्रवाहका काममा सहजता आउने विश्वास पनि व्यक्त गरे ।

गभर्नर बन्ने पक्का भएपछि राष्ट्र बैंकबाट भट्टको राजीनामा

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले शुक्रबार पदबाट राजीनामा दिएका छन् ।

भट्टले कामुगभर्नर निलम ढुंगानालाई राजीनामा बुझाएका हुन् । गभर्नर हुने पक्का भएपछि उनले राजीनामा दिएका हुन् । उनलाई गभर्नर बनाउन प्रधानमन्त्र केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहमत भइसकेको बताइएको छ ।

गभर्नरका लागि यसअघि नबिल बैंकबाट राजीनामा दिएका ज्ञानेन्द्र प्रसाद ढुंगाना, राष्ट्र बैंककै कायममुकायम गभर्नर निलम ढुंगाना र राजेन्द्रकिशोर क्षेत्रीसहित दौडमा थिए ।

शुक्रबार सिफारिस समितिबाट तीनजनाको नाम पठाएपछि आगामी मन्त्रिपरिषद्को बैठकले नयाँ गभर्नरको नियुक्तिको विषयलाई टुंगो लगाउनेछ । सरकारले तीन साताअघि नै गभर्नर नियुक्त गर्नका लागि सिफारिस समिति बनाएको थियो ।

हमास गाजा युद्ध अन्त्य गर्ने कैदी आदान–प्रदान सम्झौताका लागि तयार

गाजा । हमासले गाजा युद्ध रोक्नको लागि इजरायली बन्धकलाई प्यालेस्टिनी कैदीहरूसँग साटासाट गर्ने सम्झौतामा वार्ता गर्न तयार रहेको बताएको छ ।

हमासले तत्काल प्याकेजमा वार्ता सुरु गर्न तयार रहेको जनाउदै प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको गाजाका लागि हमासका प्रमुख खलील अल–हयाले एक भिडियोमार्फत जनाएका छन् ।

यो प्रक्रिया युद्धको समाप्ति, गाजाबाट इजरायली सेना फिर्ता तथा पुनर्निर्माणको सुरुवात र इजरायली घेराबन्दीको अन्त्यको लागि भएको अल–हय्याले बताए ।

उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र इजरायली सरकारलाई नेतन्याहुको ‘युद्ध जारी राख्ने राजनीतिक एजेन्डाको सम्झौतालाई प्रयोग गरेको आरोप लगाउदै हमास यो नीति कार्यान्वयनको हिस्सा नबन्ने’ बताए ।

इजिप्ट र कतारी वार्ताकारहरूले हमासलाई प्रस्ताव गरेको सम्झौतामा करिब १० जना बन्धकहरूको रिहाइ र अस्थायी युद्धविराम समावेश छ । हमासले विज्ञप्तिमार्फत प्रस्तावको समीक्षा गर्दै आन्तरिक परामर्श पूरा गरेपछि आफ्नो प्रतिक्रिया पेस गर्ने जनाएको छ ।

गत मङ्गलबार भएको इजरायली हमलापछि बुधबार नेतान्याहुको कार्यालयले गाजामा अझै पनि बन्धकहरूको रिहाइका लागि ‘कदम जारी राख्न’ इजरायली वार्ताकारहरूलाई निर्देशन दिएको बताएको छ ।

इजरायलले हमाससँगको दुई महिने युद्धविरामपछि मार्च १८ मा गाजामा आक्रमण पुनः सुरु गरे देखि एक हजार ६९१ जनाको मृत्यु हुनुका साथै चार हजार ४६४ घाइते भएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

युक्रेन र अमेरिकाद्वारा सयुक्त समझदारी पत्रमा हस्ताक्षर

यूक्रेन । युक्रेन र संयुक्त राज्य अमेरिकाले बिहीबार किएभको प्राकृतिक स्रोत तथा खनिजमा अमेरिकाको पहुँच रहने सम्झौतासहितको समझदारी पत्रमा हस्ताक्षर गरेको किएभ स्रोतले जनाएको छ ।

युक्रेनको पुनर्निर्माणका लागि आर्थिक साझेदारी सम्झौता र लगानी कोषको स्थापनाका अमेरिकी समझदारी पत्रमा हस्ताक्षर भएको घोषणा गर्न पाउँदा खुसी भएको युक्रेनकी प्रथम उपप्रधानमन्त्री युलिया स्विरिडेन्कोले सामाजिक सञ्जाल एक्समार्फत बताएका छन् ।

किएभ र वासिङ्टनले केही हप्ताअघि युक्रेनको खनिज उत्खनन् गर्ने सम्झौतामा हस्ताक्षर गर्ने योजना बनाएकोमा गत फेब्रुअरीमा राष्ट्रपति डोनाल्ड ट्रम्प र भोलोदिमिर जेलेन्स्कीबिच उत्पन्न असमझदारीले सम्झौता प्रक्रियामा अवरोध पुर्याएको थियो ।

ट्रम्पल भने पुर्व अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनलाई दिएको सहायताको क्षतिपूर्तिको रूपमा युक्रेनी स्रोत साधनको उत्खननबाट हुने नाफामा अमेरिकी रोयल्टी भुक्तानी चाहेको बताइएको छ ।

युलिया स्विरिडेन्कोले समझदारी पत्रको विवरण प्रकाशित नगरी अन्तिम सम्झौता कायम र सुरक्षित गर्न निरन्तर काम जारी रहेको बताएका छन् ।

“युक्रेनको पुनर्निर्माण, पूर्वाधार विकास व्यापार सहयोग र आर्थिक अवसरका लागि लगानी आकर्षित गर्न यो कोष प्रभावकारी माध्याम बन्ने आशा छ” उनले भने ।

अमेरिकी अधिकारीहरूले युक्रेनमा अमेरिकी व्यापारलाई बढावा दिनाले युद्धविराम कायम गरी रुसलाई भविष्यको आक्रमणबाट रोक्न मद्दत गर्ने बताएका छन् ।

किएभले भने निरन्तर रुपमा चलिरहेको युद्ध रोक्नका लागि सम्झौता तथा सैन्य सुरक्षा ग्यारेन्टीको लागि दबाब दिइरहेको छ । 

चालकले सात डलर चोर्दा ८४ हजार डलरको पेन्सन गुम्यो

टोकियो । जापानमा २९ वर्ष सेवा गरेका एक बस चालकले यात्रुको भाडाबाट सात हजार डलर चोरेको आरोपमा बर्खास्त भएपछि ८४ हजार अमेरिकी डलर बराबरको अवकाश प्याकेज गुमाएका छन् ।

क्योटो सिटीले सन् २०२२ मा एक हजार येन (सात अमेरिकी डलर) ठगी (चोरी) गरेको बसको सुरक्षा क्यामेरामा देखिएको रेकर्डको आधारमा नाम नखुलाइएका ती व्यक्तिलाई बर्खास्त गरेको थियो ।

चोरीको अभियोगमा एक करोड २० लाख येन (८४ हजार अमेरिकी डलर) भन्दा बढीको अवकाश रकम दिन चालक कार्यरत कार्यालयले अस्वीकार गरेपछि चालकले स्थानीय अदालतमा मुद्दा दायर गरेका थिए जसमा अदालतले सजाय अत्यधिक भएको फैसला सुनाएको थियो।

स्थानीय अदालतको फैसला उनको पक्षमा आएपनि यस मुद्दामाथि भएको पुनरावेदनपछि सर्वोच्च अदालतले यसलाई उल्टाएको छ । चालकले मुद्दा हारेका छन् ।

नगर कार्यालयको पक्षमा सर्वोच्च अदालतले अन्तिम फैसला सुनाएपछि नगर कार्यालयको सजाय पुनः कायम भएको छ ।

उक्त व्यक्तिको आचरणले प्रणाली र बस सेवाको प्रभावकारी सञ्चालनप्रतिको जनविश्वासलाई कमजोर पार्न सक्ने फैसला सर्वोच्च अदालतले सुनाएको हो ।

घटनामा पाँच जना यात्रुको एक समूह बसमा पसेर उनलाई एक हजार १५० येन तिरेको फैसलामा उल्लेख छ ।

चालकले समूहलाई १५० येन मूल्यको भाडा सङ्कलनका लागि सिक्का बाकसमा खसाल्न निर्देशन दिएको र एक हजार येनको बिल हातमा लिएका थिए ।

क्यामेरामा कैद भए तापनि उनले आफ्नो वरिष्ठ अधिकारीले गरेको सोधपुधका क्रममा उनीमाथि लागेको सात डलर चोरीको आरोप अस्वीकार गर्ने प्रयास गरे अर्थात् घटनालाई सही तरिकाले रिपोर्ट गर्न नसकेको देखिन्छ । क्योटो सिटीले यो निर्णयको स्वागत गरेको छ ।

“प्रत्येक बस चालकले एक्लै काम गर्छन् र जनताको पैसा चलाउँछन्। क्योटोको सार्वजनिक यातायात ब्यूरोका एक अधिकारी शिनिची हिराईले एएफपीसँग भने, “हाम्रो कामको यस क्षेत्रसँग सम्बन्धित अनियमितता भएको थियो, हामीले यसलाई गम्भीरतापूर्वक लिएका छौँ।”

उनले भने, “यदि हाम्रो कडा कदमलाई स्वीकार गरिएन भने हाम्रो सङ्गठनमा लापरवाही हुनसक्छ र यसले जनताको विश्वासलाई कम गर्न सक्छ। 

निजामती कर्मचारीहरुले राज्य व्यवस्था समितिका सभापतिलाई बुझाए ११ बुँदे ज्ञापनपत्र

काठमाडौँ । निजामती कर्मचारीहरू ११ बुँदे माग राखेर संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा पुगेका छन् ।

नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेसी निजामती कर्मचारी मञ्च, स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठनका पदाधिकारी ११ बुँदे माग राखे समितिमा पुगेका हुन् ।

नेपाल निजामती कर्मचारी संगठनकी अध्यक्ष भवानी न्यौपाने दाहालसहितको टोलीले समितिका सभापति रामहरि खतिवडालाई भेटेर ११ बुँदे ज्ञापनपत्र हस्तान्तरण गरेको छ ।

ज्ञापनपत्रमा समितिले गठन गरेको उपसमितिले संयुक्त ट्रेड युनियनवाट पटक–पटक उठान गरिएका विषयवस्तु समावेश नगरी समितिमा प्रतिवेदन पेस गरेकाले गम्भीर आशंका भएको उल्लेख छ ।

साथै ट्रेड युनियनको व्यवस्था, कुनै पनि पदमा ५ वर्ष सेवाअवधि भएको कर्मचारीलाई एक तह वृद्धि, अस्थायी करारमा काम गरेक कर्मचारीलाई एकपटक उमेरको हद नलाग्ने गरी सीमित प्रतियोगिताबाट स्थायी गर्नेलगायतका माग उनीहरुले राखेका छन् ।

संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री लेखक

गण्डकी । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन्। गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको शुक्रबार पोखरामा उद्घाटन गर्दै उनले पूर्वराजावादी या अरु कुनै पनि नाममा हुने संविधानविरोधी गतिविधि तथा अस्थिरता निम्त्याउने काम कुनै पनि हालतमा क्षम्य नहुने बताए।

बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त वर्तमान संविधानको रक्षाका लागि सबै तयार हुनुपर्ने बताए। नेपालमा सात दशकको अन्तरालमा सात वटा संविधान बनेको उल्लेख गर्दै उनले वर्तमान संविधान संसारकै उन्नत लोकतान्त्रिक संविधान भएकाले यसैमार्फत हरेक समस्याको समाधान सम्भव भएको धारणा राखे।

‘संविधानभित्र रही आलोचना, समालोचना तथा विभिन्न गतिविधि गर्न पाइन्छ। संविधानविरोधी गतिविधिका माध्यमबाट हत्याहिंसालाई प्रश्रय दिने, संविधान फाल्छु भन्नेजस्ता अराजक गतिविधि गर्न पाइँदैन। गरिएमा कानुनअनुसार कारबाही हुन्छ’, मन्त्री लेखकको भनाइ थियो,’संविधानको रक्षा आजको आवश्यकता हो। वर्तमान संविधान निर्माणको १० वर्षे हुँदैछ। यस अवधिको आवश्यक समीक्षासहित सम्बद्ध सबैसँग सहमति कायम गरेर आवश्यकताका आधारमा संशोधन गर्दै थप सुधारको प्रयास गरिने छ।’

पछिल्ला वर्षमा लागूऔषधको बढ्दो प्रयोग, आत्महत्या, सवारी दुर्घटना, साइबर अपराध, प्राकृतिक विपद् आदि चुनौतीका रूपमा देखापरेकाले यी सबै चुनौतीको समाधान गर्नेतर्फ सरकार निरन्तर क्रियाशील उनले बताए। साथै, सेवा प्रवाहलाई प्रभावकारी बनाउनु अपरिहार्य भएको उल्लेख गर्दै मन्त्री लेखकले जनतालाई सेवा दिने कुरामा कुनै कसर बाँकी नराख्न आग्रह गरे।

उनले जिल्लामा प्रमुख जिल्ला अधिकारीलगायतको रूपमा सङ्घी सरकारका प्रतिनिधि रहेकाले यस कार्यालयले सङ्घ, प्रदेश र स्थानीय तहबीच आपसी समन्वय गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउन क्रियाशील हुनुपर्ने आवश्यकता औँल्याए। सेवालाई नागरिकमैत्री तथा प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने पनि उनको भनाइ थियो।

सरकारले धवलशमशेरको उपचार हुन नदिने षड्यन्त्र गरेको समितिको आरोप


काठमाडौं । राजसंस्था पुनस्र्थापनाका लागि भन्दै गठित ’संयुक्त जनआन्दोनल परिचालन समिति’ ले राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाको उपचार हुन नदिने षड्यन्त्रमा सरकार लागेको आरोप लगाएको छ ।

समितिका प्रवक्ता स्वागत नेपालले शुक्रबार विज्ञप्ति जारी गरी संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक तथा राप्रपा महामन्त्री डा. धवलशमशेर राणा लामो समयदेखि तीनकुने गोलीकाण्डका सन्दर्भमा झुठो मुद्दामा फसाइएर क्यान्सरजस्तो गम्भीर रोगको उपचार नपाई पीडादायी अवस्थामा रहेकाले उपचारको व्यवस्था गर्न माग गरेका हुन् ।

उनले राणा यसअघि नै नियमित रूपमा आवधिक परीक्षणको लागि चिकित्सकले दिएको समयमा भारतको मुम्बईमा उपचारका लागि जानुपर्नेमा सरकारले जान नदिएको आरोप लगाएका छन् । उनले राणालाई उपचारका लागि पठाउन माग गरेका छन् ।

सुनको मूल्य तोलामा आठ सयले घट्यो

काठमाडौँ । सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार हालसम्मकै उच्च मूल्यमा पुगेर प्रतितोला एक लाख ९० हजार छ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार तोलामा आठ सय रुपैयाँले घटेको छ ।

आज सुन प्रतितोला एक लाख ८९ हजार छ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदी रू एक हजार नौ सय ६० मा किनबेच हुनेछ । यो मूल्य आज पनि स्थिर रह्यो ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार तीन सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

ताप्लेजुङको तापेथोकमा कञ्चनजङ्घा पार्क निर्माण हुने

ताप्लेजुङ।  कञ्चनजङ्घा संरक्षण क्षेत्रको प्रवेशद्वार मानिने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोकमा ‘कञ्चनजङ्घा पार्क सेन्टर’ निर्माण हुने भएको छ ।

पर्यटन प्रवद्र्धनलाई लक्ष्यित गरी निर्माण हुन लागेको उक्त पार्कको शुक्रबार एक विशेष समारोहका बीच हिमालयन ट्रष्ट युकेका अध्यक्ष ग्राम रिग्ली र डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि घनश्याम गुरुङले संयुक्त रूपमा शिलान्यास गरे।

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बुका अनुसार पार्क सेन्टरभित्र आधुनिक सुविधासम्पन्न पर्यटन सूचना केन्द्र, तालिम केन्द्र, सभाहल तथा आगन्तुकको विवरण सङ्कलन गर्ने कार्यालय स्थापना हुनेछन् ।

‘अब निर्माण हुने संरचनाले कञ्चनजङ्घा संरक्षण क्षेत्रको व्यवस्थापन प्रभावकारी हुनका साथै स्वदेशी तथा विदेशी पर्यटकका लागि आवश्यक सेवा र जानकारी उपलब्ध गराउ सहज हुनेछ’, उनले पार्क निर्माणका लागि आर्थिक स्रोत व्यवस्थापनका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग सहकार्य गरिने जानकारी दिँदै अध्यक्ष फेम्बुले भने।

झापामा नौ महिनाको पुँजीगत खर्च ३७.५ प्रतिशत

झापा । झापा  जिल्लाको चालु आर्थिक वर्ष को नौ महिनामा पुँजीगत खर्च ३७.५ प्रतिशत भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीका अनुसार झापाका लागि पुँजीगततर्फ १० अर्ब ७० करोड विनियोजन भएकामा चैत मसान्तसम्म चार अर्ब एक करोड ५२ लाख खर्च भएको छ । “चालुतर्फ विनियोजित १६ अर्ब १४ करोड ६८ लाखमध्य ११ अर्ब १९ करोड ७२ लाख खर्च भएको छ”, उनले भने ।

समग्रमा जिल्लाको १५ अर्ब २१ करोड २५ लाख १८ हजार खर्च भएको छ । चालु आवको चैत महिनासम्म १५ अर्ब २२ करोड ७३ लाख ६० हजार ९११ राजस्व सङ्कलन भएको छ । 

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्षलाई लक्षित गरी गोली प्रहार

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीलाई लक्षित गरी गोली प्रहार भएको छ । बिहीबार मध्यरातमा मायादेवी गाउँपालिका– १ पकडीस्थित निवासमा नै गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

राति बिजुली गएका बेला शौचालय गएर फर्कने क्रममा आफूमाथि गोली प्रहार भएको चौधरीले बताएका छन् । गोली प्रहरबाट छलिएकाले आफूलाई कुनै चोटपटक नलागेको उनले बताएका छन् ।

घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।