नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका रास्वपा नेता कँडेल निलम्बित


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले बागमती प्रदेशका प्रशिक्षण विभागमा रहेका हरि प्रसाद कडेललाई निलम्बन गरेको छ । शुक्रबार केन्द्रीय अनुशासन आयोगले कडेललाई निलम्बन गरेको हो ।
कानुन विपरीतका कार्यहरू नक्कली शैक्षिक प्रमाणपत्र छपाइमा संलग्न भनी रूपन्देही जिल्ला प्रहरी कार्यालयबाट पक्राउ गरिएको सूचनापछि रास्वपाको केन्द्रीय अनुशासन आयोगले कँडेललाई कुनै पनि जिम्मेवारीमा नरहने गरी निलम्बन गरेको हो ।
आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले कँडेललाई पठाएको पत्रमा लेखिएको छ, ‘हाल आएका सूचनाहरूको आधारमा नेपाल सरकारको अद्यावधिक कानून विपरीतका कार्यहरु नक्कली शैक्षिक प्रमाण पत्र छपाईमा संलग्न भनी रूपन्देही जिल्ला प्रहरी कार्यलयबाट प्रकाउ गरिएको सूचना प्राप्त भएको हुँदा सो विषयमा प्रहरीको आवश्यक छानबिन र अनुसन्धानका क्रममा सहजता पुर्याउने उद्देश्यका साथै प्रमाणित भएमा अन्य थप कारबाही समेत हुन सक्ने गरी हाल तपाईँलाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी निलम्बन गरिएको जानकारी गराउँदछौं ।’
साथै प्रमाणित भएमा अन्य थप कारबाही समेत हुनसक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
रुपन्देही प्रहरीले गत साउन ३० गते बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथ परिसरबाट ठूलो मात्रामा विभिन्न विश्वविद्यालयका नक्कली शैक्षिक प्रमाणपत्रसहित भारतको कानपुर नौबस्तीका २५ वर्षीय अभिषेक यादवलाई पक्राउ गरेको थियो ।
