`

मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण सरोकारवाला र मतदातामा अनुरोध गरेको छ । त्यस कार्यक्रमका लागि अनलाइनमार्फत निवेदन पेस गर्न वा सम्बन्धित निर्वाचन कार्यालयमा सम्पर्क गर्न पनि आयोगले भनेको छ ।

निर्वाचन आयोगबाट स्वीकृत मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ बमोजिम अद्यावधिक कार्यक्रम सञ्चालन हुन लागेको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।

उक्त कार्यक्रम बमोजिम गत चैत मसान्तसम्म १८ वर्ष उमेर पूरा भएका नागरिकको विवरणलाई वैशाख १ गतेबाट अद्यावधिकको प्रक्रिया प्रारम्भ भैसकेको छ ।

मतदाताहरूको प्रारम्भिक नामावली आयोगको वेवसाइट www.election.gov.np मा प्रकाशन समेत भएकामा अद्यावधिक कार्य सम्पन्न भएपछि वैशाख मसान्तमा अन्तिम मतदाता नामावली प्रकाशन हुने उनले जानकारी दिइन् ।

आयोगका अनुसार, मतदाता नामावली अद्यावधिक प्रयोजनका लागि प्रकाशित प्रारम्भिक नामावलीमा त्रुटि भए सच्याउन, कुनै व्यक्तिको विरोधमा उजुरी दिनु पर्ने भए दिन सकिने छ ।

त्यसैगरी एकभन्दा बढी स्थानमा नाम समावेश भएमा हटाउन तथा मृत्यु भएका एवम् नागरिकता त्याग गरेकाको नाम मतदाता नामावलीबाट हटाउन यही वैशाख ७ देखि १४ गतेसम्म सम्बन्धित निर्वाचन कार्यालय वा अनलाइनमार्फत् निवेदन दिन सकिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

यस अवधिमा पनि नयाँ नाम दर्ता तथा अद्यावधिक कार्य निरन्तर भइरहने पनि आयोगले स्पष्ट पारेको छ ।

रविलाई गैरकानुनीरुपमा थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तर्फबाट गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा आइतबार बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ ।

निवेदनमा लामिछानेलाई प्रचलित कानुनविपरीत थुनामा राखिएको जिकिर गरिएको छ । यसअघि थुनामा पठाउने उच्च अदालतको आदेश बेरितको भएको भन्दै अर्को निवेदन पनि सर्वोच्च अदालतमा दर्ता गरेका थिए । त्यो निवेदनमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन मगाउने आदेश गरिसकेको छ ।

याक संरक्षणका लागि सङ्गठित प्रयास आवश्यकः मन्त्री अधिकारी

काठमाडौं। नेपालमा याक चौँरीको सङ्ख्या घट्दो क्रममा रहेकाले याक चौँरी पालनका लागि सङ्गठित प्रयास आवश्यक रहेको कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले बताएका छन् ।

भौगोलिक चुनौती, बसाइँसराइ, चरन क्षेत्रको अभाव, प्रजननसम्बन्धी समस्या, जङ्गली जनावरको आक्रमण, जलवायु परिवर्तन जस्ता कारणले याकको सङ्ख्या घट्दै गएको मन्त्री अधिकारीले बताए । मन्त्री अधिकारीले हिमाली जनजीवनको अविभाज्य अङ्ग बनेका याक चौँरीलाई संरक्षण, सुधार र व्यावसायिक रूपान्तरणमार्फत नव जीवन दिनु हाम्रो साझा उत्तरदायित्व भएको बताए ।

याकपालनले हिमाली समुदायको आयआर्जन, खाद्य र पोषण सुरक्षा, प्राङ्गारिक खेती तथा वातावरणीय सन्तुलनमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको बताए ।

प्रथम राष्ट्रिय याक दिवसका अवसरमा मन्त्रालयले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले याक चौँरीको संरक्षण र दिगो उपयोगमार्फत हिमाली क्षेत्रको खाद्य सुरक्षा, जलवायु अनुकूलन, जैविक विविधताको संरक्षण र ग्रामीण जीवनशैलीको सशक्तीकरण नै अबकोे साझा लक्ष्य रहेको मन्त्री अधिकारीले उल्लेख गरे ।

मन्त्रालयको अग्रसरतामा सरकारले याक र चौँरीको महत्वलाई आत्मसात गर्दै प्रत्येक वैशाख ७ गते राष्ट्रिय याक दिवसका रुपमा मनाउने निर्णय गरेको उल्लेख गर्दे मन्त्री अधिकारीले याकको संरक्षण एवं प्रवर्द्धनका लागि सोलुखुम्बुको स्याङ्बोचेमा याक आनुवांशिक स्रोत केन्द्र सञ्चालन ल्याइएको बताए ।

केन्द्रले याकको शुद्ध नस्ल संरक्षण, आनुवंशिक सुधार, प्रविधि विस्तार र प्रसारमा महत्वपूर्ण कामको सुरुवात गरेको बताए । उनले आगामी दिनमा याक चौँरीको दिगो विकास सुनिश्चित गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए ।

‘याक चौँरी प्रवर्द्धनः हिमाली जीवन, संस्कृति र पर्यावरण संरक्षण’ भन्ने मूल नाराका साथ पहिलो पटक याक दिवस मनाइएको हो । राष्ट्रिय याक दिवसका अवसरमा याकपालक कृषकलाई पनि सम्मान गरिएको छ । याकलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ । नेपालमा मात्र उत्पादन हुने विश्व प्रसिद्ध याक चिज ‘ओमेगा–३ फ्याटी एसिड’ को स्रोत रहेको छ ।

याकको दूधबाट बनेको छुर्पी हिमाली क्षेत्रका किसानको आम्दानीको प्रमुख स्रोतका रुपमा रहेको छ । हिमाली क्षेत्रको सभ्यताका रुपमा समेत याक रहेको संरक्षणकर्मीको भनाइ छ । याकको छाला र पुच्छरबाट बन्ने वस्तु निर्यातको प्रचुर सम्भावना बोकेका उत्पादन हुन् ।

प्रधानमन्त्रीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृंखला– २ का प्रतियोगीको भेट

काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृंखला– २ का प्रतियोगीहरूले आइतबार भेटघाट गरेका छन् ।

विश्वका विभिन्न मुलुकमा बसोबास गर्दै आएका नेपाली मूलका कलाकारमध्येबाट छानिएका २३ देशका कलाकारसँग प्रधानमन्त्री ओलीले भेटेर उनीहरूको प्रतिभाको सराहना गरे ।

इन्ट्रा फाउन्डेसनद्वारा सञ्चालित र नेपाल टेलिभिजनबाट प्रसारित उक्त शृंखलाका आयोजक र कलाकारहरूलाई प्रधानमन्त्री ओलीले नेपाली कला, साहित्य, संस्कृति, नृत्य, हाउभाउ आदिलाई जीवन्त बनाउन प्रतियोगीहरूको भूमिका रहने बताए । विश्वका जुनसुकै मुलुकमा रहे पनि नेपालीहरूमा रहने ‘जेनेटिक मेमोरी’ले नेपाली कला, संस्कृतिलाई जीवन्त बनाउने उनले बताए ।

कार्यक्रममा नेपाल, भुटान, भारत, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, जापान, म्यान्मा, पोर्चुगल, मलेसिया, थाइल्यान्डलगायत मुलुकमा बसोबास गर्दै आएका नेपाली मूलका प्रतियोगीहरूको सहभागिता रहेको इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले जानकारी दिए । 

दिगो विकासका लक्ष्य कार्यान्वयन गर्न  २११ खर्ब ६५ अर्ब लगानी आवश्यक पर्ने

काठमाडौँ । दिगो विकास लक्ष्य कार्यान्वयनका लागि २११ खर्ब ६५ अर्ब लगानी आवश्यक भएको राष्ट्रिय योजना आयोगले जनाएको छ ।

आयोगले आइतबार ‘दिगो विकास लक्ष्यः आवश्यकता पहिचान, लागत अनुमान तथा वित्तीय रणनीति, २०८१’ प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२४ देखि २०३० सम्ममा वार्षिक औसत ३० खर्ब २३ अर्ब लगानी आवश्यक पर्ने जनाएको हो । 

दिगो विकास लक्ष्यमध्ये कुल लगानी आवश्यकताको सबैभन्दा ठूलो हिस्सा लक्ष्य–९ को कार्यान्वयनका लागि आवश्यक पर्ने आयोगले जनाएको छ । दिगो विकास लक्ष्य–९ उद्योग, नवीन खोज र पूर्वाधार क्षेत्रसँग सम्बन्धित छ । यस क्षेत्रमा कुल लगानीको २४ प्रतिशत लगानी आवश्यक पर्ने जनाइएको छ ।

त्यसैगरी, लक्ष्य–७ अर्थात स्वच्छ ऊर्जाका क्षेत्रमा कूल लगानीको १२ प्रतिशत र लक्ष्य–१ अर्थात गरिबी अन्त्यका लागि ११ प्रतिशत लगानी चाहिने आयोगको अनुमान छ ।

दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि २०२४ देखि २०३० सम्म औसतमा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४५ दशमलव चार प्रतिशत लगानी आवश्यक हुने अनुमान गरिएको छ ।

दिगो विकास लक्ष्य कार्यान्वयनका लागि लगानी आवश्यकता पूर्ती गर्न सार्वजनिक, निजी, सहकारी र घरपरिवारस्तरबाट वित्तीय स्रोत उपलब्ध हुने गरी रणनीति तयार पारिएको आयोगले जनाएको छ ।

सार्वजनिक क्षेत्रबाट दिगो विकास लक्ष्यको कुल लागत आवश्यकता मध्ये ५७ दशमलव पाँच प्रतिशत लगानी परिचालन हुने अनुमान गरिएको छ । जसमा सङ्घ सरकारको ७०, प्रदेशको नौ र स्थानीय सरकारहरूको तर्फबाट २१ प्रतिशत लगानी आवश्यक पर्ने ठानिएको छ ।

त्यस्तै, निजी क्षेत्रबाट ३४.३५ प्रतिशत, सहकारी तथा गैर सरकारी क्षेत्रबाट चार दशमलव १८ प्रतिशत र घरपरिवार स्तरबाट तीन दशमलव ९५ प्रतिशत लगानी परिचालन हुने अनुमान गरिएको छ ।

प्रतिवेदन सार्वजनिक गर्दै योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि आवश्यक लगानी कति हो ? र त्यसका लागि स्रोत कहाँ खोज्ने भनेर अनुमान गरी यो दस्तावेज तयार पारिएको बताए ।

“लक्ष्य प्राप्तिका लागि हाम्रो आवश्यकता र त्यसलाई पूर्ति गर्नका लागि आवश्यक स्रोतको पहिचान गर्न खोजिएको छ । यो प्रतिवेदनमा हामीले पहिलेको भन्दा केही नयाँ स्रोत पनि पहिचान गरेका छौँ”, उनले भने, “लक्ष्य प्राप्तिका लागि तीनवटै तहका सरकार र निजी तथा सहकारी क्षेत्रको भूमिकालाई पनि पुनःपरिभाषित गरेका छौँ ।” दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि विद्यमान स्रोतबाहेक समिश्रित वित्त (ब्लेन्डेड फाइनान्स), जलवायु वित्त, जस्ता नवीनतम स्रोतको पहिचान आवश्यक रहेको उपाध्यक्ष अधिकारीले बताए ।

दिगो विकास लक्ष्य कार्यान्वयनका लागि दीर्घकालीन वित्तीय अन्तर कति हो भन्ने कुरा पनि यो प्रतिवेदनले समेटेको छ । सन् २०३० सम्ममा दिगो विकास लक्ष्यमा अपेक्षित प्रगति हासिल गर्नका लागि चाहिने आर्थिक, नीतिगत तथा कानुनी पुनरावलोकनका क्षेत्रको सुझाव पनि प्रतिवेदनले दिएको छ । 

त्यस्तै,  क्षेत्रगत नीति सुधार, दिगो विकास लक्ष्यको प्राथमिकीकरणका साथै स्रोत परिचालन सुधार, वैदेशिक सहायताको परिचालन, सार्वजनिक खर्चको लागत प्रभावकारिता अभिवृद्धि, प्रविधिमा सजिलो पहुँचलगायत रणनीतिक हस्तक्षेप आवश्यक देखिएको प्रतिवेदनमा उल्लेख छ ।

कोभिड–१९ महामारी, जनसाङ्ख्यिक परिवर्तन, बसाइँसराइ र सहरीकरण, बढ्दो असमानता, जलवायु परिवर्तनसम्बन्धी मुद्दाहरु, द्वन्द्वका प्रभावसहित प्रादेशिक सन्दर्भले समग्रमा मुलुकको दिगो विकास लक्ष्य कार्यान्वयनका लागि नीति तथा रणनीतिमा पुनरावलोकन र अद्यावधिक आवश्यक रहेको भन्दै आयोगले यो प्रतिवेदन तयार पारेको हो ।

आयोगले आजै ‘प्रमुख आर्थिक सूचकहरुको प्रयोग विधि’ नाम पुस्तक पनि सार्वजनिक गरेको छ । बारम्बार प्रयोगमा आइरहने आर्थिक सूचकहरुको सही प्रयोग अभिवृद्धि गर्न यो पुस्तक प्रकाशन गरिएको आयोगले जनाएको छ ।

नासाका सबैभन्दा वृद्ध अन्तरिक्ष यात्री ७०औँ जन्मदिनमा पृथ्वीमा अवतरण

वासिङ्टन । केक, उपहारहरू र परिवारसँग सामान्य उत्सव धेरै वृद्ध नागरिकहरूले आफ्नो ७०औँ जन्मदिन मनाउने तरिका हुनसक्छ ।

तर नासाका सबैभन्दा ज्येष्ठ कार्यरत अन्तरिक्ष यात्री डन पेटिटले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस) मा सात महिनाको मिसन पूरा गर्न एक अन्तरिक्ष यानमा पृथ्वीतर्फ हुइँकिँदा ७० वर्ष पूरा गरे ।

अमेरिकी र दुई रुसी अन्तरिक्ष यात्रीहरू बोकेको सोयुज क्याप्सुल आइतबार पेटिटको महत्त्वपूर्ण जन्मदिनमा कजाकिस्तानमा अवतरण गर्यो ।

अन्तरिक्षमा दुई सय २० दिन बिताउँदै पेटिट र उनका चालक दलका सदस्यहरू अलेक्सेई ओभचिनिन र इभान भ्यागनरले पृथ्वीको तीन हजार पाँच सय २० पटक परिक्रमा गरे र उनीहरूले मिसनको अवधिमा नौ करोड ३३ माइलको यात्रा पूरा गरे ।

यो पेटिटको चौथो अन्तरिक्ष उडान थियो । उनले आफ्नो २९ वर्षको करियरमा कक्षमा १८ महिनाभन्दा बढी समय बिताएका छन् ।

तीनै जना अन्तरिक्ष स्टेसनबाट छुटेको केही घण्टापछि आइतबार बिहान ६ः२० बजे (०१२० जिएमटी) कजाकिस्तानको जेज्काजगानको दक्षिणपूर्व भागको दुर्गम क्षेत्रमा अवतरण गरे ।

अवतरणको नासाका तस्बिरहरूले सूर्योदयलाई पृष्ठभूमिको रूपमा राखेर सानो क्याप्सुल प्यारासुटबाट पृथ्वीमा झर्दै गरेको देखायो ।

उद्धारकर्ताहरूले उनीहरूलाई अन्तरिक्ष यानबाट फुलाउन सकिने मेडिकल टेन्टमा लगेपछि अन्तरिक्ष यात्रीहरूले थम्स–अप इशाराहरू दिए ।

पेटिटलाई जहाजबाट बाहिर निकालिँदा केही थकित देखिए पनि नासाले एक विज्ञप्तिमा उनी ‘राम्रो अवस्थामा भएको र पृथ्वीमा फर्केपछि उनका लागि अपेक्षा गरिएको दायरामा रहेको’ भनेको छ ।

त्यसपछि उनी टेक्सासको एजेन्सीको जोन्सन स्पेस सेन्टरका लागि नासाको विमानमा चढ्नुअघि कजाख सहर कारागन्डाका लागि उडान गर्न तयार थिए ।

अन्तरिक्ष यात्रीहरूले आफ्नो समय आइएसएसमा पानी स्वच्छता प्रविधि, विभिन्न अवस्थाहरूमा बोटबिरुवाको वृद्धि र माइक्रोग्राभिटीमा आगोको व्यवहार जस्ता क्षेत्रहरूको अनुसन्धानमा बिताएको नासाले बताएको छ ।

तीनै जनाको सात महिनाको यात्रा नासाका अन्तरिक्ष यात्रीहरू बुच विलमोर र सुनी विलियम्सले अनपेक्षित रूपमा कक्षीय प्रयोगशालामा बिताएको नौ महिनाभन्दा केही कम थियो । विलमोर र विलियम्सले परीक्षण गरिरहेको अन्तरिक्षयानमा प्राविधिक समस्याहरू आए र उनीहरूलाई पृथ्वीमा फर्काउन अयोग्य ठहर गरिएको थियो ।

आर्थिक, व्यापार र भू–राजनीतिक सम्बन्धबारे द्विपक्षीय वार्ताका लागि भारत भ्रमण गर्दै अमेरिकी उपराष्ट्रपति भान्स

नयाँदिल्ली । अमेरिका र भारतले आर्थिक अवसरहरू खोल्न र द्विपक्षीय व्यापार सम्झौताका लागि वार्ता गर्न खोजिरहेका बेला अमेरिकी उपराष्ट्रपति जेडी भान्स सोमबार भारतको चार दिने भ्रमणमा आउँदैछन् ।

भान्सले नयाँदिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग अर्थव्यवस्था, व्यापार र भूराजनीतिक सम्बन्धबारे छलफलका लागि भेट गर्नेछन् ।

भान्सको भ्रमणलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले एक महत्त्वपूर्ण कूटनीतिक मिसनको रूपमा हेरेको छ र यो वासिङ्टन र बेइजिङबीच द्रुत गतिमा बढेको व्यापार युद्धसँग मेल खान्छ । बेइजिङ यस क्षेत्रमा नयाँदिल्लीको मुख्य प्रतिद्वन्द्वी हो ।

भारत र अमेरिकाबीच व्यापार सम्झौताले दुई देशबीचको आर्थिक सम्बन्धलाई उल्लेखनीय रूपमा बढाउन सक्छ र सम्भावित रूपमा कूटनीतिक सम्बन्धलाई बलियो बनाउन सक्छ ।

हालै एक खर्ब ९० अर्ब डलरको द्विपक्षीय व्यापारका साथ अमेरिका भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार पनि हो ।

भारतको विदेश मन्त्रालयले यो भ्रमणले ‘दुवै पक्षलाई द्विपक्षीय सम्बन्धमा भएको प्रगतिको समीक्षा गर्ने अवसर प्रदान गर्नेछ’ र दुई नेताले ‘आपसी हितको क्षेत्रीय र विश्वव्यापी घटनाक्रममा विचार आदानप्रदान गर्ने’ भनेको छ ।

राष्ट्रिय गुप्तचरकी निर्देशक तुलसी गबार्ड भू–राजनीतिक सम्मेलनका लागि भारत आएको केही हप्तापछि र मोदीले वासिङ्टनमा ट्रम्पलाई भेटेको दुई महिनापछि भान्सको भारत आगमन हुने भएको हो ।

ह्वाइट हाउसमा फर्केपछि ट्रम्पसँग वार्ता गर्न र भेट गर्न अमेरिका जाने मोदी पहिलो नेताहरूमध्ये एक थिए । आफ्नो भ्रमणका क्रममा मोदीले अमेरिकासँग ‘मेगा साझेदारी’ को प्रशंसा गरे र अमेरिकी वस्तुहरूको विस्तृत शृङ्खलामा पहिले नै भन्सार दर कटौती गरिसकेपछि ट्रम्पको भन्सार दरको सम्भावित प्रभावलाई कम गर्न वार्ता प्रक्रिया सुरु गरे ।

यद्यपि ट्रम्पले आफ्नो अहिले रोकिएको भन्सार दर कार्यक्रमको हिस्साको रूपमा भारतलाई २६ प्रतिशत लेभीको लक्ष्य बनाए । यसले भारतीय निर्यातकर्ताहरूलाई अस्थायी राहत प्रदान गरेको छ ।

शेयर बजारमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आइतबार परिसूचक १६ दशमलव ६८ अङ्कले घटेर दुई हजार ७०६ दशमलव ०४ को विन्दुमा कायम भएको हो ।

आज तीन सय २८ कम्पनीको दुई करोड १३ लाख २३ हजार नौ सय ६७ कित्ता शेयर ७४ हजार ४५ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ४३ करोड ३५ लाख ८९ हजार सात सय ८५ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ५२ र व्यापार समूह एक दशमलव ०२ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ७०, विकास बैंक शून्य दशमलव ७९, वित्त एक दशमलव २७, होटल तथा पर्यटन एक दशमलव ३६, जलविद्युत् एक दशमलव २२ र लगानी समूह शून्य दशमलव ०६ प्रतिशतले घटेको छ ।

त्यस्तै, जीवन बिमा शून्य दशमलव ८७, लघुवित्त शून्य दशमलव ५४, म्युचुअल फन्ड शून्य दशमलव २३, निर्जीवन बिमा शून्य दशमलव २२ र अन्य समूह एक दशमलव ०३ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा सबैभन्दा धेरै नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरे घट्नेमा हिमालयन पावर पार्टनर लिमिटेडको शेयर मूल्य सात दशमलव ३३ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै राधी विद्युत् कम्पनी लिमिटेडको रू ६८ करोड ७६ लाख ९७ हजार तीन सय ६८ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने बलेफी हाइड्रोपावर लिमिटेडको सबैभन्दा धेरै २४ लाख ८३ हजार सात सय ६३ कित्ता शेयर किनबेच भएको छ ।

राप्रपाका नेताहरुलाई तत्काल रिहा गर्न संयुक्त जनआन्दोलन परिचालन समितिको आग्रह

काठमाडौं । राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले पक्राउ परेका राप्रपाका नेताहरुलाई तत्काल रिहा गर्न माग गरेको छ ।

समितिका प्रवक्ता स्वागत नेपालले विज्ञप्ति जारी गरी आइतबार पक्राउ परेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई तत्काल रिहा गर्न माग गरेका हुन् । उनले नेताहरुलाई सरकारले पक्राउ गरेकोमा भत्र्सना गरेका छन् ।

पञ्चायती प्रजातन्त्रमा समेत जनताका प्रतिनिधिहरुले जनताका तर्फबाट सिंहदरबारस्थित राष्ट्रिय पञ्चायतभित्र समेत पूर्ण वाक स्वतन्त्रतासहित व्यवस्थाविरुद्ध माग राख्ने गरेकोमा हाल आस्थामाथि प्रतिबन्ध लगाउँदै व्यवस्थाविरुद्धको प्रदर्शन तथा अभिव्यक्ति स्वतन्त्रतामा रोक लगाइएकोमा उनले आपत्ति जनाएका छन् ।

उनले अन्यथा जनताको विद्रोहबाट हुन सक्ने सम्पूर्ण क्षतिको जिम्मा सरकार पक्ष स्वयम्ले लिनु पर्ने पनि चेतावनी दिएका छन् । आइतबार निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न लागेपछि प्रहरीले राप्रपाका नेताहरुलाई पक्राउ गरेको थियो ।

सरकार जनताबाट टाढा हुँदै गएकाले निषेधित क्षेत्रमा प्रदर्शनः अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताका कुरा सुनाउने उद्देश्यले निषेधित क्षेत्र तोडेको बताएका छन् ।

आइतबार पक्राउ पर्नुअघि सिंहरबारमा गरेको प्रदर्शनका क्रममा अध्यक्ष लिङ्देनले सरकारले नागरिकका अधिकारलाई खुम्च्याउँदै लगेकाले निषेधित क्षेत्रमा प्रदर्शन गर्नुपरेको बताएका हुन् ।

उनले भने, ‘सरकार जनताबाट टाढा हुँदै जाने अवस्था सृजना भएकाले सरकारको नजिकै गएर प्रदर्शन गरेर सुनाउन भनेर निषेधित क्षेत्रमा कार्यक्रम गरेको हौं । सरकारले सुन्नुपर्छ । प्रदर्शनमार्फत देश दुनियाँले सुन्छ, नागरिकअधिकारवादी संघ संस्थाहरुले सुन्छ।’

उनले लोकतन्त्र र गणतन्त्रको नाममा निरङ्कुशता बढेकोसमेत बताए । उनले तिनकुने घटनाको छानबिनका लागि न्यायिक आयोग गठन र पक्राउ परेका आफ्ना नेता कार्यकर्तालाई रिहा गर्न मागसमेत गरेका छन् । सिंहदरबारमा प्रदर्शनपछि प्रहरीले अध्यक्ष लिङ्देन र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई पक्राउ गरेको थियो ।

तनहुँको कालीमाटीमा माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

दमौली (तनहुँ) । डुम्रे–बेँसीसहर खण्डअन्तर्गतको भानु नगरपालिका–१० कालीमाटीमा आज माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

डुम्रेबाट लमजुङतर्फ जाँदै गरेको बा२ख ४०२२ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको ग२६प ४०५८ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा माइक्रोमा सवार एक र स्कुटरमा सवार एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । मृतकको सनाखत हुन बाँकी छ ।

माइक्रोबसमा सवार पुरुषको लमजुङमा र स्कुटरमा सवार महिलाको दमौली अस्पतालमा मृत्यु भएको बताए । उनका अनुसार गम्भीर घाइते भएका स्कुटर चालकलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ । माइक्रोबस चालक सिन्धुपाल्चोकका मानबहादुर घलेलाई नियन्त्रणमा लिइएको छ । 

राप्रपा अध्यक्ष लिङ्देन पक्राउ (भिडियो)

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले सिंहदरबारभित्रैबाट पक्राउ गरेको छ ।

अध्यक्ष लिङ्देनसहितका सांसदहरुले सिंहदबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

त्यसअघि प्रहरीले संसदीय दलको कार्यालयमा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलागतयका नेताहरुलाई बाहिर निस्कन रोकेको थियो ।

ज्ञानेन्द्र शाहीलगायतका राप्रका नेताहरुलाई प्रहरीले रोक्यो सिंहदरबारभित्रै

काठमाडौं । प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाही लगायतका नेताहरुलाई सिंहदरबाभित्रै रोकेको छ । पार्टी संसदीय दलको कार्यालय सिंहदरवारमा रहेका नेताहरुलाई प्रहरीले बाहिर निस्कन रोक लगाएको हो ।

नेताहरुलाई रोकेपछि अध्यक्ष राजेन्द्र लिङदेन सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेका छन् । संसदीय कार्यालय अगाडि प्रहरी तैनाथ गरिएको छ । आफूहरूलाई बाहिर निस्किन नदिएर बन्धक बनाइएको राप्रपाका प्रमुख सचेतक शाहीले बताएका छन् ।

अस्ट्रेलियाको तटमा ठूलो छालमा परी ६ जनाको मृत्यु

सिड्नी । आइतबार सिड्नी नजिकै चट्टानबाट खसेपछि एक मछुवाको मृत्यु भएको छ । योसँगै इस्टर सप्ताहन्तमा अस्ट्रेलियाको पूर्वी तटमा विशाल छालहरूले प्रहार गर्दा डुबेर मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ ।

आपत्कालीन सेवाहरूले वाट्टामोला समुद्री तटमा दुई जनालाई छालबाट उद्धार गरेका थिए । तर उनीहरूमध्ये एकलाई बचाउन नसकिएको न्यु साउथ वेल्स प्रहरीले एक विज्ञप्तिमा बताएको छ ।

दक्षिणी सिड्नीको बाहिरी भागमा चट्टानबाट खसेको बेला यो जोडी माछा मार्दै थियो । दोस्रो व्यक्ति १४ वर्षीय किशोर अस्पतालमा स्थिर अवस्थामा रहेका छन् ।

यसले छुट्टीको सप्ताहन्तमा मृत्युको शृङ्खला जारी राखेको छ । शुक्रबारदेखि समुद्रमा बेपत्ता भएका अन्य दुई व्यक्ति – एक सिड्नीबाट र एक मेलबर्नबाट – को खोजी जारी छ ।

सर्फ लाइफ सेभिङ अस्ट्रेलिया (एसएलएसए) ले बलियो छालहरूले न्यु साउथ वेल्स र भिक्टोरियाको तटहरूमा खतरनाक समुद्री अवस्थाहरू सिर्जना गर्नेछन् भन्दै बिहीबार एक चेतावनी जारी गरेको थियो ।

न्यु साउथ वेल्समा शुक्रबार तीन जनाको डुबेर मृत्यु भएको थियो भने मेलबर्न नजिकै समुद्रमा खसेपछि एक महिलाको मृत्यु भएको थियो भने एक जना पुरुष बेपत्ता भएका थिए ।

शनिबार केही ठाउँमा छालहरू तीन दशमलव पाँच मिटर (११ दशमलव पाँच फिट) जति अग्ला हुँदा दक्षिणी न्यु साउथ वेल्समा एक मछुवाको चट्टानबाट बगेर मृत्यु भएको थियो ।

एसएलएसएले सप्ताहन्तअघि जारी गरेको तथ्याङ्कमा पछिल्लो १० वर्षमा सक्रिय जीवन बचाउने सेवा नभएका समुद्री किनारहरूमा छ सय ३० जनाको मृत्यु भएको देखाएको थियो ।

प्रमुख कार्यकारी अधिकृत एडम वेयरले गस्ती गरिएका समुद्र तटहरूलाई सुरक्षाका लागि प्राथमिकता दिनुपर्ने सल्लाह दिए ।

“हामीलाई थाहा छ कि अस्ट्रेलियाली र हाम्रो देशका आगन्तुकहरू क्याम्पिङ, माछा मार्ने र अन्य तटीय गतिविधिहरूको आनन्द लिन सामान्य बाटोबाट बाहिर जान मन पराउँछन्”, वेयरले एक विज्ञप्तिमा भने, “तर यी तटीय स्थानहरूले खतराहरू प्रस्तुत गर्न सक्छन्, केही तपाईंले देख्न सक्नुहुन्छ र केही तपाईंले देख्न सक्नुहुन्न, त्यसैले हामीसँग केही सरल सल्लाह छन् : रोक्नुहोस्, हेर्नुहोस्, जीवित रहनुहोस् ।” 

निषेधित क्षेत्र तोड्न नयाँबानेश्वर क्षेत्रमा राप्रपाको प्रदर्शन

काठमाडौं । निषेधित क्षेत्र तोड्ने कार्यक्रमअन्तर्गत राप्रपाका नेता कार्यकर्ताले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेका छन् ।

माइतीघरबाट बानेश्वरतफए अघि बढिरहेका राप्रपा नेता कार्यकर्ताको जुलुसलाई प्रहरीले बानेश्वरमा रोकेको छ ।

निषेधित क्षेत्र तोडेर सामूहित गिरफ्तारी दिने रणनीतिका साथ राप्रपा प्रदर्शनमा उत्रेको हो । सरकारले भने जबरजस्ती गरे कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १२ जना पक्राउ

काठमाडौँ । देशका विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित १२ जना पक्राउ परेका छन्। मकवानपुर, चितवन, मोरङ, कैलाली, कञ्चनपुर, सुर्खेत, सङ्खुवासभालगायत जिल्लाबाट लागुऔषधसहित १२ जना पक्राउ परेका हुन्।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१५ पिपलबोटबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित हेटौँडा-४ हुप्राचौर बस्ने १९ वर्षीय विशाल सार्की र मोरङको विराटनगर महानगरपालिका-१५ बैंक रोडबाट सुन्दरहरैँचा नगरपालिका-२ बस्ने ३१ वर्षीय सरन डाँगी पक्राउ परेका लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरले जनाएको छ ।

चितवनको भरतपुर महानगरपालिका-२६ सिसुवारबाट नियन्त्रित लागुऔषध ट्रामाडोल र गाँजा जस्तो देखिने पदार्थसहित भरतपुर-२६ बस्ने ६१ वर्षीया शान्तिकुमारी महतो र २५ वर्षीय विशाल सुनार पक्राउ परेका इलाका प्रहरी कार्यालय चनौलीले जनाएको छ ।

त्यस्तै, कैलालीको कैलारी गाउँपालिका-१ सडकपुरबाट कैलारी-८ दुधिया बस्ने २५ वर्षीय सञ्जुकुमार चौधरी, कञ्चनपुरको बेलौरी नगरपालिका-१ हनुमानथानबाट डडेल्धुरा गन्यापधुरा गाउँपालिका-३ सकायल बस्ने ३९ वर्षीय करनबहादुर देउवा र ३५ वर्षीय रोहित शाही, भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट शुक्लाफाँटा नगरपालिका-११ बस्ने २५ वर्षीय रामबहादुर विष्ट पक्राउ परेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

स्थायी प्रहरी पोष्ट गोठीकाँडाका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१४ कटुकाबाट ब्राउनसुगर जस्तो देखिने पदार्थसहित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१४ बस्ने २१ वर्षीय अनिश नेपाली पक्राउ परेका हुन् ।

सङ्खुवासभाको धर्मदेवी नगरपालिका-४ तिरतिरे बस्ने २८ वर्षीय रामबहादुर अधिकारी, २६ वर्षीय केशव घिमिरे र मादी नगरपालिका-६ पुलुङ बस्ने ३८ वर्षीय देवेन्द्र थापालाई अवैध लागुऔषध अफिम जस्तो देखिने पदार्थसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

माइतीघरदेखि नयाँबानेश्वरसम्म दैनिक हुने प्रदर्शनका कारण सर्वसाधारणलाई सास्ती

काठमाडौँ । नेपाल शिक्षक महासङ्घ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनका कारण काठमाडौँ उपत्यकामा सहज ढङ्गले सवारीसाधन सञ्चालन नहुँदा सर्वसाधारणलाई सास्ती भएको छ ।

विशेषगरी कार्यालय समयमा भएको प्रदर्शनले कार्यालय जानपर्ने कर्मचारीलाई मर्का परेको छ । माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शनका कारण ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई कठिन भएको छ ।

प्रहरीले आवश्यकताअनुसार ‘रुट’ परिवर्तन गरी सवारीसाधनलाई वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरीले जानकारी दिए । कार्यालय समयमा सवारीसाधन लामो समयसम्म जाममा पर्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको थियो ।

राप्रपाले निषेधित क्षेत्र बिजुलीबजार पुल आसपासमा भेला हुने जनाएपछि माइतीघर, बबरमहल र नयाँबानेश्वर क्षेत्रमा सवारी आवगमनमा रोक लगाइएको छ । उक्त क्षेत्रमा तारबार गरेर अवाञ्छित गतिविधि रोक्ने प्रयत्न भएको छ भने धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ ।

विगत १९ दिनदेखि देशभरका शिक्षक आन्दोलनमा छन् । उनीहरुको आन्दोलनसँगै आज राप्रपाले पनि विरोध प्रदर्शन गरेपछि सवारी व्यवस्थापन जटिल बनेको हो ।

यसैबीच, गृहमन्त्रालयले राप्रपाका नामबाट निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउदै गृहमन्त्रालयले कानुन उल्लङ्घन गर्न प्रोत्साहन गर्ने, समाजमा अराजकता फैलाउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

सुनचाँदीको मूल्य स्थिर

काठमाडौँ । नेपाली बजारमा शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य स्थिर छ । आइतबार पनि शुक्रबार जस्तै सुन प्रतितोला एक लाख ९० हजार ८०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदी एक हजार ९६० कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ३१५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

राष्ट्रपति डेनियल हत्याको कथित षड्यन्त्रमा इक्वेडर ‘अधिकतम सतर्कता’ मा

क्विटो । हालै पुनः निर्वाचित राष्ट्रपति डेनियल नोबोआ विरुद्धको कथित हत्याको षड्यन्त्रलाई लिएर इक्वेडर अधिकतम सतर्क रहेको सरकारले जनाएको छ ।

नोबोआले अप्रिल १३ को दोस्रो चरणको मतदानमा जित हासिल गरेका थिए तर उनका मुख्य प्रतिद्वन्द्वी लुइसा गोन्जालेजले उनीमाथि ‘विकृत निर्वाचन धाँधली’ गरेको आरोप लगाएका छन् ।

मेक्सिको र अन्य देशहरूबाट इक्वेडरमा प्रवेश गर्ने हत्याराहरूले नोबोआविरुद्ध ‘आतङ्कवादी आक्रमण’ गर्ने योजना बनाएको सैन्य गुप्तचर प्रतिवेदन यस हप्ता सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

“हामी गणतन्त्रका राष्ट्रपति, राज्य अधिकारीहरू वा सार्वजनिक अधिकारीहरूको जीवन विरुद्धको कुनै पनि अभिप्रायको कडा निन्दा र विरोध गर्दछौँ”, इक्वेडरको सरकारी मन्त्रालयले शनिबार बिहान एक विज्ञप्तिमा भन्यो, “राज्य अधिकतम सतर्कतामा छ ।”

सरकारले कुनै विशेष नाम प्रस्ताव नगरेको भए पनि ‘चुनावमा पराजित राजनीतिक क्षेत्रसँगको संलग्नतामा आपराधिक संरचनाहरू’ लाई षड्यन्त्र रचेको आरोप लगाएको छ ।

इक्वेडरको निर्वाचन परिषद् र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले दोस्रो चरणको मतदानमा धोखाधडीको दावीलाई अस्वीकार गरेका छन्, तर मेक्सिको र कोलम्बियाले नोबोआको जितलाई आधिकारिक रूपमा मान्यता दिएका छैनन् ।

प्रतिवेदनको सार्वजनिकीकरणले इक्वेडर र मेक्सिकोबीचको दरारलाई फराकिलो बनाएको छ ।

सुरक्षा बलले क्विटोमा रहेको दूतावासमा आक्रमण गरी शरण दिइएका पूर्व उपराष्ट्रपतिलाई पक्राउ गरेपछि मेक्सिकोले एक वर्षअघि यस दक्षिण अमेरिकी राष्ट्रसँग सम्बन्ध तोडेको थियो ।

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबामले वामपन्थी गोन्जालेजका लागि समर्थन व्यक्त गरेका छन् । गोन्जालेजले पुनः मतगणनाको माग गर्ने बताएका छन् ।

नोबोआ विरुद्धको कथित षड्यन्त्रको रिपोर्ट बाहिर आएपछि मेक्सिकोको विदेश मन्त्रालयले इक्वेडरमा मेक्सिको ‘कथित आपराधिक कार्य वा आन्तरिक अवस्थाको स्रोत’ भएको कुनै पनि सुझावलाई अस्वीकार गर्दै विज्ञप्ति जारी गरेको छ ।

“हाम्रो देश गैर–हस्तक्षेपको सिद्धान्तद्वारा निर्देशित छ र सधैँ रहनेछ”, विज्ञप्तिमा भनिएको छ ।
मे २४ मा शपथ लिने अपेक्षा गरिएका नोबोआले आफ्नो हिंसाग्रस्त राष्ट्रलाई एकजुट गर्ने विशाल कार्य सामना गर्नुपरेको छ । कार्टेलहरू लागूपदार्थ तस्करी मार्गहरूमा नियन्त्रणका लागि प्रतिस्पर्धा गरिरहेकाले यहाँ वर्षको सुरुमा औसतमा हरेक घण्टा एक हत्या हुन्थ्यो ।

गणतन्त्र खतरामा छैनः प्रचण्ड

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई राजनीतिमा आउन नरोकिने बताएका छन् ।

आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले राजनीतिमा आउने इच्छालाई कसैले रोक्न नसक्ने बताएका हुन् । उनले पूर्वउपराष्ट्रपति पुनलाई संवैधानिक, कानुनी र अन्तर्राष्ट्रिय परम्पराले राजनीतिमा फर्किन नरोक्ने बताए ।

अध्यक्ष प्रचण्डले गणतन्त्र खतरामा नभएको पनि बताए । उनले दलहरु एक हुनुपर्ने तर गणतन्त्र खतरामा छ भन्ने भाष्य नै ठीक नभएको बताए ।

अमेरिकामा राष्ट्रपति ट्रम्पविरुद्ध प्रदर्शन

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिकोविरुद्धमा हजारौँ नागरिकले प्रदर्शन गरेका छन् । ट्रम्पको भन्सार शुल्क वृद्धि सम्बन्धी नीति र सरकारी जागिरबाट गरिएको कटौतीको विरोध उनीहरुले ५० वटै राज्यमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूले राष्ट्रपति निवास ह्वाइट हाउसलाई समेत घेरेका थिए । उनीहरूले ट्रम्पमाथि नागरिक अधिकार र कानुनी शासनमाथि हमला गरेको आरोप लगाएका छन् ।

यस आन्दोलनलाई ‘५०५०१’ नाम दिइएको छ, जसको अर्थ होः ५० विरोध प्रदर्शन, ५० राज्य, १ आन्दोलन । यसअघि ५ अप्रिलमा पनि ट्रम्पविरोधी प्रदर्शन भएको थियो ।

प्रदर्शनकारीहरूले ट्रम्पमाथि नागरिक अधिकारको कटौती, नागरिक स्वतन्त्रता कटौती तथा कानुनी शासन कमजोर बनाएको आरोप लगाएका छन् ।

यसका साथै सरकारले प्रक्रिया पूरा नगरी निर्वासित गर्न थालेको भन्दै विरोध भएको छ । ट्रम्पको भन्सार शुल्क युद्धका कारण अमेरिकामा अन्य देशहरूबाट आउने वस्तुहरूको मूल्य बढेको छ। यसको सिधा असर आम नागरिकको खर्चमा परेको छ।

७७ वटै जिल्लामा जनआन्दोलन समिति निर्माण गर्ने घोषणा

काठमाडौँ । संवैधानिक राजसंस्था र सनातन हिन्दू अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनस्र्थापनाका लागि भन्दै गठित संयुक्त जनआन्दोलन समितिले ७७ वटै जिल्लामा समिति निर्माण गर्ने भएको छ ।

संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा जगमान गुरुङले विज्ञप्ति जारी गरी ७७ जिल्लामा समितिहरू निर्माण गर्ने तयारी सुरु भएको जानकारी दिएका हुन् ।

उनले निश्चित लक्ष्य र अवधिका लागि निर्माण गरिने जिल्लास्तरीय समितिहरूमा आम देशभक्त, राष्ट्रवादी नागरिकलाई सक्रिय सहभागिता र सहयोगका आह्वान पनि गरेका छन् ।

पर्यटकका पर्खाइमा बयली

म्याग्दी । अन्नपूर्ण गाउँपालिका-५ मा रहेको बयली ओझेलमा परेको छ । समुद्री सतहबाट तीन हजार ४५० मिटर उचाइमा रहेको बयली पूर्वाधार र प्रचारप्रसारको पर्खाइमा छ । बयलीस्थित सामुदायिक लजका सञ्चालक लोकबहादुर पाइजाले हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोल अवलोकनका साथै एकान्त वातावरणमा रमाउन सकिने यो ठाउँमा न्यून मात्रामा पर्यटक आउने गरेका बताए ।

“यहाँसम्म आउने व्यवस्थित पदमार्ग निर्माण र आकर्षणको प्रचारप्रसार नहुँदा पर्याप्त पर्यटक आगमन हुन सकेको छैन”, उनले भने, “बयलीलाई व्यवस्थित गर्न सक्ने हो भने अन्नपूर्ण चक्रीय पदमार्गको भ्रमणमा आउने पर्यटकको बसाइ लम्ब्याउन सकिन्छ ।”

अन्नपूर्ण गाउँपालिका–५ शिख, पाउद्धार, स्वाँत बासिन्दाहरूको अगुवाइमा पर्यटकको सुविधा, गाउँका विद्यालय र स्वास्थ्य संस्था सञ्चालनका लागि स्थानीय स्रोत जुटाउन १५ वर्षदेखि बयली, ढाडखर्क र खोपारामा सामुदायिक लज सञ्चालन भएको छ ।

बयलीको तलतिर गुराँस र सल्लाको जंगल छ । माथिल्लो क्षेत्रको पाखोमा घरपालुवा जनावरको बर्खायामको चरन क्षेत्र (बुकी) छ । यहाँ चौरीपालन गरिएको छ । बर्खायाममा भेडा बाख्रा र गाई भैँसीको गोठ पनि बयलीमा राख्ने गरिन्छ । पश्चिम फर्किएको पाखोमा अवस्थित बयलीको पृष्ठभूमिमा धवलागिरि ‘रेञ्ज’का हिमाल, सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ । म्याग्दीका पहाड र ग्रामीण बस्ती पनि देखिन्छ । बस्तीबाट टाढा रहेको बयलीको वातावरण शान्त र रमणीय छ । चौरीगोठ बयलीको थप आकर्षण हो ।

म्याग्दीको घोडेपानीबाट एक दिन र कास्कीको घान्द्रुकबाट दुई दिनको पदयात्रा गरेर बयली पुग्न सकिन्छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को सहयोगमा घोडे पानी र घान्द्रुकबाट बयली जाने आधारभूत स्तरको पदमार्ग छ । बयलीको सामुदायिक लजमा एक दिनमा १८ जना बास बस्न सक्ने क्षमता छ । बयलीबाट ढाडखर्क हुँदै स्वाँत-शिख र खोपारा-खयर-पाउद्धार जान पनि सकिन्छ । बयलीबाट ढाँडखर्कसम्मको जङ्गल र भिरमा पदमार्ग नहुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने हुन्छ ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले सडक विस्तारसँगै छोटिएको अन्नपूर्ण चक्रीय पदमार्गमा पर्यटकको बसाइ लम्ब्याउन बयलीलगायत सम्भावना भएका गन्तव्यको पहिचान र ती ठाउँमा पूर्वाधार निर्माणका लागि प्रयास गरिएको बताए। “बयलीलाई पनि नयाँ गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना छ”, उनले भने, “यस क्षेत्रको निरीक्षण गरेर आवश्यकता पहिचान र पूर्वाधार निर्माणमा पहल गर्छौँ ।”

विदेशबाट फर्किएका युवा बाख्रापालन व्यवसायमा सलग्न

दाङ । वैदेशिक रोजगारबाट फर्किएका यहाँका युवा पशुपालन पेशामा आबद्ध हुँदै गएका छन् । जिल्लाका युवाहरू भैँसी, कुखुरा, बाख्रालगायत पेसा, व्यवसायमा सम्लग्न भएका हुन् । बाहिरी देशमा भनेजस्तो तलब र काम नपाइने जनाउँ युवाहरू पछिल्लो समय पशुपालन व्यवसायबाट मनग्य आम्दानी गरिरहेका छन् ।

दाङमा मामा भान्जा मिलेर विगत ३ वर्षदेखि व्यावसायिक रूपमा बाख्रापालन व्यवसाय गर्दै आएका छन् । घोराही उपमहानगरपालिका–१२ रमनामा बुद्ध बाख्रा फार्ममार्फत व्यवसायमा जोडिभएका ३४ वर्षीय भान्जा जनक बुढा र उनका मामा ५४ वर्षीय मनबहादुर बुढा बाख्रापालन व्यवसायबाट सन्तृष्ट भएका छन् । जनक ५ वर्ष र मनबहादुर २५ वर्ष रोजगारका लागि साउदीमा जीवन व्यतित गरेका थिए ।

किसान जनक विदेशबाट आएर बाख्रापालन व्यवसाय सुुरु गरेको बताउछन् । उनले भने, ‘वार्षिक रूपमा बाख्राको बिक्रीबाट १ वर्षमा १० लाख आम्दानी हुन्छ ।’ तर बाख्राको दानापानी, औषधिलगायतमा खर्च हुने हुँदा त्यति धेरै बचत गर्न सकिएको छैन । ‘अरुको देशमा बसेर सोचेजस्तो कमाई गर्न नसकिएको हुँदा अहिले आफ्नै देशमा बाख्रापालन व्यवसायबाट सन्तृष्ट छौँ, भोलिका दिनमा व्यवसायलाई बढाउँदै लैजाने उनको सोच छ ।

फार्ममा हाल ७५ वटा बोयर, खरी र लोकल जातका बाख्रा छन् । २ बिघा जग्गा भाडामा लिएर बाख्रापालन गर्दै आएका अर्का किसान मनबहादुर बुढा बताउछन् । बाबुबाजेले गरेको पेसा पशुपालन भएकाले यही नै उत्तम व्यवसाय लागेको उनको भनाइ छ ।

घाँसका लागि आफैँ छर्ने गरेको हुँदा घाँसको समस्या नहुने उनी बताउछन् । गत वर्ष मात्रै ५४ वटा बाख्रा रोग लागेर मरेका कारण २ लाख ५० बढी घाटा भएको उनले सुनाए । यसैलाई निरन्तरता दिँदै जाँदा सफल हुँदै जानेमा उनीहरू आशावादी छन् ।

उनीहरूले एउटा खसीलाई ५४ हजारसम्म बिक्री गर्ने गरेका छन् । फार्ममा धेरै काम भएका बेला घरपरिवारले पनि सहयोग गर्ने भएको हुँदा अन्य कामदारको आवश्यक नपर्ने गरेको मनबहादुर बताउछन् । सुरुमा ८ वटा बाख्राबाट सुरु गरेको व्यवसाय हाल भने बढ्दै गएको छ ।

पछिल्लो समय जिल्लामा व्यावसायिक रूपमा नै बाख्रापालन गर्ने युवाको संख्या बढ्दो छ । बाख्राको बजार मूल्य राम्रो भएपछि किसान व्यवसायमा आकर्षित भएका हुन् । किसानले घरघरमा थोरै भए पनि बाख्रा पालेर सामान्य घर खर्च चलाउने गरेका छन् ।

विशेषगरी गाउँघरमा किसानले घरमा २/४ वटा माउबाख्रा पालेर कमाएको रकम छोराछोरीको पढाइ खर्च, घर खर्च र केही रकम बचत गर्न थालेका छन् । जसले गर्दा २/४ रुपैयाँको समस्या बाख्रापालन व्यवसायले टर्ने गरेको किसान बताउँछन् । बाख्रापालन व्यवसायमा बजारीकरणको समस्या नहुने भएकाले यसबाट राम्रो आम्दानी गर्न सकिने किसानको भनाइ छ ।

कानुन विषय अध्ययन गर्दै थारू समुदायका छात्रा

तुलसीपुर । दाङ तुलसीपुर उपमहानगरपालिका–१३ निवासी रामकुमारी चौधरीको कानुन पढ्ने इच्छा थियो । घरको अवस्था निकै कमजोर थियो । घरबाट उनको पढाइ खर्च जुटाउन हम्मेहम्मे पर्छ । तर, पनि ‘कानुन’ पढ्ने इच्छा जाहेर गरेपछि उनलाई घरपरिवारको पूर्ण समर्थन छ । अहिले उनले ‘कानुन’ विषय पढिरहेकी छन् । “मेरो घरको आर्थिक अवस्था निकै कमजोर छ, घरबाट पढाउन सक्ने अवस्था छैन”, उनले भनिन्, “तर, मैले इच्छा राखेपछि घरबाट जसरी पनि पढाउने बचन दिएपछि अहिले मैले कानुन विषय पढिरहेकी छु ।”

तुलसीपुर उपमहानगरपालिका–१२ स्थित एक निजी कलेजमा कानुन विषयमा स्नातक (बिएएलएलबी) पढाइ सुरु भएपछि अहिले उनी त्यही पढिरहेका छन् । उनको एउटै इच्छा छ अधिवक्ता (लयर) बन्ने । “सकेसम्म न्यायाधीश बन्ने इच्छा हो, त्यो सकिएन भने पनि अधिवक्ता बन्ने ठूलो धोको हो”, उनले भनिन् ।

तुलसीपुर–११ निवासी सरु चौधरीको पनि अवस्था उस्तै नै हो । उहाँलाई घरबाट पढाइ खर्च पुर्याउन हम्मेहम्मे पर्छ । तर, उनको इच्छा कानुन विषय पढ्नै रह्यो र घरपरिवारले पनि समर्थन गरेपछि अहिले उनले कानुन विषय पढिरहेकी छन् । उनीहरू दुवै जनाले अहिले आठौँ सेमेस्टरको अध्ययन गरिहेका छन् ।
दाङ थारू समुदायको बाहुल्यता भएको जिल्ला हो । तर, दाङमै कानुन विषय पढेका महिला विरलै छन् । यसले पनि उनीहरूलाई कानुन विषय पढ्ने कुराले झक्झक्यायो । “कानुन पढेका थारू समुदायका महिला त थुप्रै हुनुहुन्छ, तर, महिलाहरु विरलै भएकाले पनि हामीले कानुन विषय पढ्ने इच्छा राखेका हौँ”, उनले भनिन् । कानुन विषय पढ्न चार लाखको हाराहारी खर्च लाग्छ ।

उनीहरूलाई हौसला दिने काम गरेकी छन्, तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले । उनले आर्थिक तथा अन्य सहयोग गर्दै आएकी छन् । जिल्लामा कानुन विषय पढेका महिलाको सङ्ख्या विरलै छ । त्यसैले महिलाले पनि कानुन पढ्नुपर्छ भनेर मैले सुरुदेखि नै सहयोग गर्दै आएकी छु”, उनले भनिन्, “मेरै पहलमा उनीहरूलाई कानुन पढ्न लगाएको र पढाइका लागि नियमित सहयोग गरिरहेको छु ।”

कानुन पढ्नेलाई मात्र होइन, अन्य विद्यार्थीलाई पनि सहयोग गरेको उनले बताइन् । तुलसीपुर–१० निवासी निरा चौधरी, आशा चौधरी, प्रमिला चौधरी, सन्ध्या पौडेललाई पनि पढ्नका लागि आर्थिक सहयोग गर्दै आएका छन् । विगत लामो समयदेखि उनले आर्थिकसहित शैक्षिक सामग्रीलगायत सहयोग गर्दै आएका छन् । उनले यस्ता आर्थिक अभाव भएका विद्यार्थीलाई सहायता दिँदै आएको बताइन् ।

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते

इटहरी । धरान–इटहरीबीच चारकोसे जङ्गलमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

गएराति धरानबाट इटहरीतर्फ आउँदै गरेको बागमती प्रदेश०१–०३०च ४६१८ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।

उनकाअनुसार कारमा चालकसहित चार जना सवार थिए । दुर्घटनामा गम्भीर घाइते इटहरी–१ का ४० वर्षीय विष्णु राउतको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार चालक सुनसरीको रामधुनी नगरपालिका–७ का ३० वर्षीय विवेक लामा, इटहरी–४ का ४३ वर्षीय गङ्गा बस्नेत र इटहरी–१ का ३१ वर्षीय कल्याण कटुवाल घाइते भएका छन् ।

चालक र बस्नेतको अवस्थामा सामान्य रहेको छभने कल्याण कटुवाललाई थप उपचारका लागि विराटनगरस्थित विराट मेडिकल कलेजमा रेफर गरिएको छ ।

त्यसैगरी, सुर्खेतमा फोर्स गाडीको ठक्करबाट आज विहान एक पैदलयात्रीको मृत्यु भएको छ ।
कर्णाली प्रदेश ०१–००१ ख ०९१५ नम्बरको फोर्स गाडीको ठक्करबाट जुम्लाको हिमा गाउँपालिका–४ का अन्दाजी ५५ वर्षीय कालीबहादुर बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार गाडीको ठक्करबाट टाउकोमा चोट लागी गम्भीर घाइते भएका बुढाको उपचारका क्रममा मृत्यु भएको हो ।

हामी जे गर्छौं भनेरै गर्छौंः अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीले निर्णय गरेअनुसार नै प्रदर्शन गर्ने बताएका छन् ।

आइतबार सामाजिक संजालमार्फत लिङ्देनले आफूहरु जे गर्ने हो, त्यो भनेरै गर्ने बताएका हुन् । राप्रपाले आज काठमाडौंमा निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने निर्णय यसअघि नै गरेको छ ।

उनले भनेका छन्, ‘भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल यो यो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआउ भनेर सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो । जहाँ हामी सीमित नेताहरू मात्रै सहभागी हुनेछौँ । वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्ष पार्टी हो, हामी जे गर्छौं भनेरै गर्छौं। सरकारले नडराए हुन्छ।’

राप्रपाले यस्तो चुनौती दिएसँगै सरकारले बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारेको छ । राप्रपाले निषेधित क्षेत्र तोड्ने बताएसँगै गृह मन्त्रालयले यसबारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

गृह मन्त्रालयले संविधान र कानुनको ठाडो उल्लंघन गरी समाजमा अशान्ति फैलाउने उद्देश्यले गरिने कुनै पनि गतिविधि सह्य नहुने चेतावनी दिएको हो ।

राप्रपाले आज निषेधित क्षेत्र तोडेर काठमाडौंमा प्रदर्शन गर्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा प्रदर्शन गर्दै छ । राप्रपाले निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न लागेको हो । राप्रपाले यस्तो चुनौती दिएसँगै सरकारले बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारेको छ ।

त्यस्तै प्रदर्शनका कारण हुन सक्ने सवारी जामलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले डाइभर्सनको पनि तयारी गरेको छ । राप्रपाले निषेधित क्षेत्र तोड्ने बताएसँगै गृह मन्त्रालयले यसबारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

गृह मन्त्रालयले संविधान र कानुनको ठाडो उल्लंघन गरी समाजमा अशान्ति फैलाउने उद्देश्यले गरिने कुनै पनि गतिविधि सह्य नहुने चेतावनी दिएको हो ।

ललितपुर एनएसएलको फाइनलमा

काठमाडौं । ललितपुर सिटी एफसी नेपाल सुपर लिगको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको पहिलो क्वालिफायरमा धनगढी एफसीविरुद्ध २–१ को जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो । ललितपुरले अब दोस्रो क्वालिफायरको विजेतासँग उपाधिका लागि खेल्नेछ ।

धनगढीले भने फाइनमा फर्किन इलिमिनेटरको विजेतासँग खेल्नेछ । इलिमिनेटरमा पोखरा थन्डर्स र एफसी चितवन भिड्नेछन् । १० खेलाडीमा सीमित ललितपुरको जितमा केर्भेन्स बेलफोर्ट र इबु केबेले गोल गरे । धनगढीका जर्जप्रिन्स कार्कीको गोल सान्त्वना रह्यो।

राप्रपाले निषेधित क्षेत्रमा प्रदर्शन गर्न लागेको विषयमा गृह मन्त्रालयको ध्यानाकर्षण

काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार निषेधित क्षेत्रमा प्रदर्शन गर्न लागेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरी संविधान र कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने चेतावनी दिएको हो । यस्तो गतिविधिमा संलग्न हुने जोसुकैलाई कानून बमोजिम कारवाही हुने मन्त्रालयले चेतावनी दिएको छ ।

मन्त्रालयले समाजमा हिंसा फैलाउने कुनैपनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन समेत मन्त्रालयले सबैमा अनुरोध गरेको छ । राप्रपाले आइतबार राजधानीमा निषेधित क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेको छ ।

वर्षासँगै सूर्यविनायक साँगा सडक एकतर्फी सञ्चालन

भक्तपुर ।अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक जगाती हुँदै काभ्रेपलाञ्चोक जाने सडक एकतर्फी सञ्चालन गरिएको छ ।

वर्षा भएपछि आज सडक एकतर्फी सञ्चालन गरिएको हो । काभ्रेको साँगा र भक्तपुरतर्फ आउने भक्तपुर खण्ड वर्षा भएसँगै सडक एकतर्फी सञ्चालन गर्नुपरेको भक्तपुर ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रदीप खत्रीले जानकारी दिए ।

वर्षापछि सडकमा हिलोका कारण सवारिसाधन चिप्लिएर जोखिम बढेपछि काभ्रेबाट भक्तपुरतर्फ आउनेलाई मात्रै साँगाबाट आउन दिएको उनले बताए। भक्तपुर हुँदै काभ्रे जाने दुईपाङ्ग्रेलगायत हल्का चारपाङ्ग्रे सवारीसाधनहरू जगातीबाट च्याम्हसिंह हुँदै ताथली नाला सडकबाट बनेपा निस्कने गरी व्यवस्था मिलाइएको छ ।

भक्तपुरबाट काभ्रे जाने ठूला मालवाहक सवारीसाधनलाई भने जगातीमै रोकिएको छ । सूर्यविनायक धुलिखेल सडकखण्ड निर्माणाधीन अवस्थामा रहेका कारण साँगाखण्डमा हल्का वर्षाले पनि सडक हिलाम्मे हुने र सवारिसाधन चिप्लिने समस्या हुने गरेको छ ।

नेपाल बारमा नयाँलाई पदभार हस्तान्तरण

काठमाडौं । नेपाल बार एसोसिएसनमा प्रा डा विजयकान्त मिश्रको नेतृत्वको नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण गरिएको छ ।

बार एसोसिएसनद्वारा शनिबार आयोजित वार्षिक साधारणसभा तथा पदभार हस्तान्तरण कार्यक्रममा यसअघिका अध्यक्ष गोपालकृष्ण घिमिरेको कार्यसमितिले नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण गरेको हो ।

बारको अध्यक्षसहित २७औँ केन्द्रीय कार्यसमिति चयनका लागि गत चैत २३ गते निर्वाचन भएको थियो । निर्वाचनमा बृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठबीच प्रतिस्पर्धा भएको थियो ।  निर्वाचनले बारमा २५ जना नयाँ कार्यसमिति चयन गरेको हो ।

पदभार हस्तान्तरण कार्यक्रममा नवनिर्वाचित अध्यक्ष मिश्रले नेपाल बारलाई राजनीतिबाट मुक्त तुल्याउने, वकिलहरूको पेसागत हकहितका लागि आवाज उठाउने साझा र बलियो संस्थाका रूपमा अघि बढाउने अभियानमा साथ सहयोगको अपेक्षा गरे ।

उनले भने, ‘निर्वाचनका बेला जारी गरिएको घोषणपत्र कार्यान्वयन, संस्थालाई राजनीतिबाट मुक्त, गतिविधिलाई पारदर्शी र नतिजा मूलक बनाउन नयाँ कार्यसमितिले ध्यान पुर्याउने छ ।’

अध्यक्षका प्रत्यासी श्रेष्ठले निर्वाचनमा राजनीतिक दल र सरकारको प्रत्यक्ष असर पर्न नहुने बताए । उनले बारका निर्णय तथा गतिविधिमा राजनीतिक दल र सरकारको प्रभाव परेमा वा त्यस प्रकारका गतिविधि भएमा स्वीकार्य नहुने बताए ।

श्रेष्ठले भने, ‘बारले वकिलको हकहित र कतिपय सन्दर्भमा न्यायलयबारे उठ्दै आएको प्रश्नलाई स्वतन्त्रपूर्वक निष्कर्षमा पुर्याउन कोसिस गर्नुपर्छ ।’

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा मन्तव्य राख्ने अन्य वक्ताले पूर्खाले आर्जेको प्रतिष्ठा र एकताको भावसहित निष्पक्ष वातारणमा काम गर्न नयाँ कार्यसमितिलाई सुझाव दिएका थिए ।

प्रमुख तीन दलका शीर्ष नेता बालुवाटारमा छलफलमा

काठमाडौं । संक्रमणकालीन न्यायलगायत विषयमा छलफल गर्न प्रधानमन्त्रीसहित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रमेश लेखकर र एमाले नेता अग्नि खरेल सहभागी छन् ।

गाजामा इजरायली हमलामा ४८ घण्टामा ९० जनाभन्दा बढीको मृत्यु

गाजापट्टी । गाजामा इजरायली आक्रमणमा पछिल्लो ४८ घण्टामा ९० भन्दा बढीको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार बताएको छ ।इजरायली सेनाले हमासलाई आफ्ना बन्धकहरूलाई रिहा गर्न र निःशस्त्र बनाउन दबाब दिन आक्रमणहरू बढाएको छ ।

मृतकमा महिला र बालबालिकासहित रातभर मारिएका १५ जना छन् । अस्पताल कर्मचारीहरूका अनुसार तीमध्ये केही तोकिएको मानवीय क्षेत्रमा आश्रय लिइरहेका थिए ।

दक्षिणी सहर खान युनिसमा कम्तीमा ११ जनाको मृत्यु भएको छ । तीमध्ये धेरैले मवासी क्षेत्रको एउटा टेन्टमा आश्रय लिएका थिए । त्यहाँ सयौँ हजार विस्थापित मानिस बसिरहेको अस्पताल कर्मचारीले बताएका छन् । इजरायलले यसलाई मानवीय क्षेत्रको रूपमा तोकेको छ ।

शवहरू ल्याइएको युरोपेली अस्पतालका अनुसार रफाह सहरमा छुट्टै आक्रमणमा एक आमा र उनकी छोरीसहित अन्य चार जनाको मृत्यु भएको छ ।

सन् २०२३ अक्टोबर ७ मा हमास नेतृत्वको लडाकूहरूले दक्षिणी इजरायलमा आक्रमण गर्दा अधिकांश सर्वसाधारणसहित लगभग एक हजार दुई सय मानिस मारिएका थिए । साथै लडाकूहरूले दुई सय ५१ जनालाई अपहरण गरेका थिए । त्यसपछि युद्ध सुरु भयो । अधिकांश बन्धकलाई युद्धविराम सम्झौता वा अन्य सम्झौतामा रिहा गरिएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा अधिकांश महिला तथा बालबालिकासहित ५१ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन् । मन्त्रालयले नागरिक र लडाकूहरू बीच भिन्नता देखाउँदैन ।

युद्धले गाजाको विशाल भाग र यसको अधिकांश खाद्य उत्पादन क्षमताहरू नष्ट गरेको छ । युद्धले करिब ९० प्रतिशत जनसङ्ख्यालाई विस्थापित गरेको छ । लाखौँ मानिस टेन्ट शिविर र बम विस्फोट भएका भवनहरूमा बसिरहेका छन् ।

सहायता समूहहरूले इजरायलले गाजामा नाकाबन्दी गरेकोमा चेतावनी दिएका छन् । गाजामा इजरायलले छ हप्ताभन्दा बढीका लागि सबै खाना र अन्य सामानहरूको प्रवेश प्रतिबन्ध लगाएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार हजारौँ बालबालिका कुपोषित भएका छन् र मौज्दात घट्दै जाँदा अधिकांश मानिसले दिनमा एक पटक मात्र खाना खाइरहेका छन् ।

कङ्गोमा डुङ्गामा आगलागी हुँदा १४३ जनाको मृत्यु

किन्शासा । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोमा इन्धन बोकेको डुङ्गामा आगलागी हुँदा कम्तीमा १४३ जनाले ज्यान गुमाएका छन् भने धेरैजना अझै बेपत्ता रहेका छन्।

यो दु:खद दुर्घटना इक्वेटोर प्रान्तको राजधानी म्बान्डाका नजिकै, विश्वकै सबैभन्दा गहिरो र विशाल कङ्गो नदीको सङ्गमस्थलमा भएको हो।

स्थानीय नागरिक समाजका नेता जोसेफ लोकोन्डोका अनुसार, केही व्यक्तिको मृत्यु आगोमा जलेर र केहीको डुबेर भएको पुष्टि भएको छ। उहाँले मृतक संख्या १४५ पुगेको अनुमान गरेका छन्।

डुङ्गामा खाना पकाउने क्रममा लागेको आगो इन्धनमा फैलिँदा ठूलो विस्फोट भई आगलागी भएको बताइएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा डुङ्गाबाट आगो सल्किरहेको र धुवाँ निस्किरहेको देखिन्छ। डुङ्गा किनाराबाट टाढा फसेको अवस्थामा देखिएको छ।

घाइतेहरूलाई उद्धार गरी अस्पतालमा उपचारको लागि पठाइएको जनाइएको छ। धेरै परिवारहरू आफ्ना प्रियजनहरूको अवस्थाबारे अझै अनविज्ञ रहेको पनि लोकोन्डोले बताए।

प्रभावित परिवारहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दै, स्थानीय अधिकारीहरूले आवश्यक उद्धार तथा राहत कार्य तीव्र रुपमा अगाडि बढाइरहेका छन्।

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छः सभामुख घिमिरे

काठमाडौँ। सभामुख देवराज घिमिरेले राजनीतिक अस्थिरताका कारण मुलुकमा सुशासन कायम हुन नसकेको बताएका छन्।

असल शासन संरक्षण मञ्चले शनिबार आयोजना गरेको ‘राष्ट्रिय सुशासन शिखर सम्मेलन–२०२५’मा उनले राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन प्रत्याभूत गर्ने प्रतिबद्धता आवश्यक भएको बताए।

“राजनीतिक नेतृत्व र निर्वाचित जनप्रतिनिधिले सुशासन कायम गर्ने, राष्ट्र र जनताप्रति उत्तरदायी भएर काम गर्न आवश्यक छ,” राजनीतिक नेतृत्वमा इमान्दारी र सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक भएकामा जोड दिँदै सभामुख घिमिरेले भने । राजनीतिक नेतृत्वमा सुशासनप्रतिको दृढता नहुँदासम्म शासकीय र निर्वाचन प्रणाली परिवर्तन गरे पनि सुशासन सार्थक नहुने उनको अभिमत थियो ।

राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सुशासन कायमगरी राज्यप्रति जनताको विश्वास जित्न नेतृत्व वर्ग आत्मकेन्द्रित नभइ मुलुक केन्द्रित हुनुपर्नेमा उनले जोड दिए। उनले भने, “जनअसन्तुष्टि चिर्न नेतृत्वतह गम्भीर बन्नुपर्छ, नीतिको ठाउँमा नाता, नभए दाता, त्यो पनि नभए ‘भ्राता’को नियुक्ति भएपछि सुशासन कायम हुन सक्दैन ।”

पूर्वप्रमुख निर्वाचनआयुक्त भोजराज पोखरेलले सत्तासञ्चालनमा जिम्मेवार राजनीतिक दल सुशासनका पक्षमा खरो नउत्रेसम्म यो नारामै सीमित हुने बताए । “सरकार सुशासन प्रवद्र्धन, भ्रष्टाचार नियन्त्रणका लागि खरो उत्रनुपर्छ, सुशासनको खम्बाका रुपमा रहेका संसद्, न्यायालयलगायत संरचना जति बलिया हुन्छन् ती त्यति नै प्रभावकारी हुन्छन्”, उनले भने।

सम्मेलनमा ‘नागरिक सहभागिता अभिवृद्धि र समावेशी सुशासन’, ‘सार्वजनिक सेवा प्रवाहमा रुपान्तरण’ र ‘दिगो विकास र नीतिगत सुधार’काबारेमा राजनीतिज्ञ, नीतिनिर्माता, विषयसँग छलफल हुनेछ ।

मुसिकोटमा मन्दिरको गेट निर्माणका क्रममा एक जनाको मृत्यु

रुकुम-पश्चिम । रुकुम-पश्चिमको मुसिकोट नगरपालिका-४ मुसीडाँडामा गेट निर्माणका क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ ।

मुसिकोट नगरपालिका-४ का ५८ वर्षीय खीमबहादुर गिरीको गेटले च्यापिएर मृत्यु भएको हो । आज दिउँसो मुसीडाँडास्थित मन्दिरको गेट निर्माणका क्रममा पुरानो गेट भत्किदा गिरीको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम-पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए ।

उनका अनुसार घटना भएको खबर पाए लगत्तै प्रहरी निरीक्षक पाठकको नेतृत्वमा आठ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनास्थलमा पुगेर घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

भृकुटीमण्डपमा रैथाने खाना प्रवर्द्धन

बुनु थारु, काठमाडौँ । भृकुटीमण्डपको उद्यानमा भइरहेको ‘खाना महोत्सव’मा इङ्वा सुब्बा कागुनो, याङ्बेन र मकैको खीर पकाउनमा व्यस्त छन् । छेवैमा पाक्दैछ तात्तातो सेल अनि लहरै राखिएका छन् थप परिकार । सिस्नुको सुप र च्याउ साँधेको परिकारले खानाका पारखीहरुको ध्यान गइरहेको देखिन्छ । खाना पारखीहरु स्वाद  मानी मानी खाइरहेको देखिन्छन् ।


नेपालको पहिलो फुड रियालिटी शो ‘सेफ नेपाल’ बाट चिनिएएकी सुब्बाले आफूले शोमा बनाएको खीर सबैले रुचाएकोले महोत्सवमा यसको स्वाद चखाउन आएको बताइन् । रियालिटी शोमा आफ्नो समुदायको खानालाई पस्केर सबैको मन जितेकी उनी नेपाल रैथाने परिकारको धनी भएकाले यसलाई प्रवद्र्धन र संरक्षण गर्न सबैले लाग्नुपर्ने बताउँछिन् । सुब्बा भन्छिन्, “हिमाल, पहाड र तराई सबै ठाउँको आआफ्नो खानाको विशेषता छ । हामीले सबै परिकारलाई थोरै मात्र परिस्कृत गरेर पस्किन सक्यौँ भने यसले अन्तरराष्ट्रिय बजारमा फैलिने मौका पाउन सक्छ ।”


उनको छेवैको स्टलमा नेवारी परिकारहरु बारा, योमरी, छोयला राखिएका छन् । खोकनाको तोरीको तेल, बेसार आदि पनि स्टलमा बेच्न राखिएको छ  । भिलेज क्याफेकी पुनमाया डङ्गोलले नेवारी परिकारहरुलाई प्रवद्र्धन र यसको स्वाद सबैमाझ पुर्याउन महोत्सवमा सहभागी भएको बताउँछिन् । उनी भन्छिन्, “क्याफेमा त थुप्रै परिकारहरु पाइन्छन् । आज भने हामीले यति मात्र ल्याएका छौँ । नेवारी परिकारहरु धेरैको जिब्रोमा झुण्डिएको छ । धेरैले रुचाइ दिनुभएको छ ।”


विगत डेढ वर्षदेखि टोखामा ‘आरोग्य कर्णाली अर्गानिक प्रालि’ सञ्चालन गर्दे आएकी सीता आचार्य मौरी संरक्षणकर्मी हुन् । उनीसँग १५० वटा मौरीका घार छन् । उनले मौरीपालनका साथै कर्णालीमा पाइने विभिन्न रैथाने अन्नबालीहरुको ब्रान्डिङ गरेर बेच्दै आएकी छन् । उनको स्टलमा मह, कागुनो, चिनो, मार्सी, फापरको पिठो, कोदो, मकैको च्याख्ला, सातु, गुन्दु्रकलगायत २० प्रकारका सामग्रीहरु छन् । आचार्यका अनुसार चिनो, कागुनो, कोदो र फापरको माग बढी रहेको छ । “यी अन्नहरु मधेमेह, उच्च रक्तचापका बिरामीलाई खान मिल्छ । कतिलाई थाहा छैन । थाहा हुनेले खोजेर खानुहन्छ”, उनी भन्छिन् ।


परम्परागत र मौलिक खानाको सङ्गम रहेको खाना महोत्सवमा  मोही पनि बिक्रीका लागि राखिएको छ । ओखलढुंगे डेरी एण्ड एग्रीफुड प्रालिले दुग्धजन्य पदार्थहरुलगायत मिठाइ, आइसक्रिम, भुजिया, निम्किी, पनिर तथा चिज मःम बेच्दै आएको छ । डेरीका सञ्चालक गोपाल तिमिल्सनाले बजारमा पाइने विभिन्न पेयपदार्थभन्दा कैयौँ गुणा मोही स्वस्थ्यकर भएकाले यसको ब्राण्डिङमा लागेको सुनाए । उनी भन्छन्, “स्थानीय उत्पादन मोहीलाई प्रवद्र्धन गर्ने उद्धेश्यले प्याकिङ गरेर बेच्दा स्वास्थ्यलाई राम्रो हुने र आफ्नो स्थानीय उत्पादनको खपत हुने उद्देश्यले हामीले सुरु गरेका हौँ । गुलियो चिसो पेयपदार्थभन्दा गर्मीमा मोहीले शितल गराउँछ ।”


अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी नेपालका महासचिव गिरीराज भट्टले यो महोत्सव परिकारहरुको प्रदर्शनी मात्र नभइ नेपाली सेफहरुको पहिचान, प्रतिभा, मिहिनेत र सिर्जनशीलताको सजिव दस्तावेज रहेको बताए ।
भट्टले नेपाली पाककलामा स्वाद, विविधता, मौलिकता अद्वितीय भए पनि अन्तरराष्ट्रियस्तरमा स्थापित गर्नु चुनौतीपूर्ण भएको  बताए । उनी भन्छन्, “विश्वसामू चिनाउने हाम्रो सपना हो । यसका लागि सबैको समर्पण र सहकार्य आवश्यकता छ ।”


खाना महोत्सवले परम्परागत, रैथाने स्वादसँग आधुनिक परिकारको प्रर्दशनी र नेपालभित्रको पाककलाको सम्भावनाको उज्यालो चित्र प्रस्तुत गर्ने प्रयास गरेको छ ।  


महोत्सवमा ५० वटा स्टल, (४० वटा खानाका ५ वटा रैथाने बाली नालीको प्रदर्शन, पाँच वटा पर्यटन जानकारी) रहेको छ । खानाका स्टलमा विभिन्न जात जातिको खाना (नेवारी, थारु, राई लिम्बु, थकाली, आदि)को परिकारहरु राखिएको छ ।

हस्तक्षेपकारी बजेटका पक्षमा अर्थमन्त्री

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणको काम धमाधम चलिरहेको छ । स्रोतको चाप, शिथिल अर्थतन्त्र, खस्कँदो निजी क्षेत्रको मनोबल तथा लगानी, नतिजामुखी बन्न नसकेको कर्मचारी प्रशासन, न्यून विकास खर्चलगायत समस्या मुलुकले खेपिरहेको वर्तमान अवस्थामा कस्तो बजेट सरकारले ल्याउँदैछ भन्ने चासो स्वाभाविक हो ।

बजेट सँगसँगै नीति तथा कार्यक्रम निर्माणको काम पनि चलिरहेको छ । तर औसत नीति, स्वाभाविक गति र अहिलकै जस्तो कार्यशैलीले अर्थतन्त्र सुधार्न तथा नागरिकका विकासका आकाङ्क्षा पूरा गर्न सकिँदैन भन्नेमा सरकार केही हदसम्म विश्वस्त हुन थालेको बुझिन्छ । सांसदहरुको थेग्नै नसकिने दबाब र मन्त्रालयहरुको चाहनाविरुद्ध जानुपर्ने अवस्था आए पनि हस्तक्षेपकारी र यथार्थपरक बजेट ल्याउने उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले औपचारिक बैठकमा बताउँदै आएका छन् । बजेटका बारेमा मन्त्रालयगत छलफलमा त्यसको छनक अर्थमन्त्रीले दिइसकेका छन् ।

अघिल्ला आर्थिक वर्षमा बजेट पाएर पनि काम गर्न नसकेका, टुक्रे आयोजना, लगानीका आधारमा लाभ दिन नसक्ने, स्रोत सुनिश्चितता नभएका, प्रजेक्ट बैंकमा नपरेकालगायत आयोजनामा यसपटक निर्मम भएर कैँची चलाइने अर्थमन्त्री पौडेलले बताउँदै आएका छन् ।

आर्थिक वर्षका बीचमा बजेट संशोधन गर्नुपर्ने तथा रकमान्तर, स्रोतान्तर गर्नुपर्ने स्थिति नआउने गरी बजेट ल्याइनुपर्नेमा उनको जोड छ । उहाँले सङ्घीय महत्वका आयोजना मात्रै आगामी आर्थिक वर्षको सङ्घीय सरकारको बजेटमा पर्ने भएकाले सोहीअनुसार तयारी गर्न निर्देशन दिएका थिए । अर्थमन्त्री पौडेलले लोकरिझ्याई र राजनीतिक पहुँच तथा शक्तिका आधारमा बजेट ल्याइने प्रवृतिको अन्त्य हुने बताएका छन् ।

वितरणमुखी र लोकप्रिय बजेटभन्दा पनि यथार्थपरक र कार्यान्वयनयोग्य बजेटको तयारी गर्न उनको निर्देशन छ । सामाजिक सुरक्षाका कार्यक्रमलाई गम्भीर रुपमा समीक्षा गरिनुपर्नेमा पनि उनको जोड छ ।

गत फागुनमा अर्थ मन्त्रालयले सबै मन्त्रालयहरुलाई बजेट तर्जुमा मार्गदर्शन पठाउँदै भनिसकेको छ, “स्रोतमा चाप छ, पूर्वतयारी नभएका र प्रतिफल नदिने योजनाका लागि बजेट नमाग्नू ।” बजेट तर्जुमा मार्गदर्शन र अर्थमन्त्री पौडेलले विषयगत मन्त्रालयहरुसँग छलफलका क्रममा दिएका अभिव्यक्तिअनुसार नै जाने हो भने यसपटकको बजेट सुधारमुखी र हस्तक्षेपकारी हुनेछ ।

अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार यथार्थपरक र कार्यान्वयन योग्य बजेट निर्माणका लागि अर्थमन्त्रीको स्पष्ट निर्देशन छ– “जेजस्तो जोखिम लिन पनि म तयार छु । तर, यथार्थपरक अनुशासित र अर्थतन्त्रलाई चलायमान गर्नेगरी बजेट ल्याउनुपर्छ भनेर अर्थमन्त्रीबाट निर्देशन भएको छ । त्यसका लागि गृहकार्य पनि राम्रो ढङ्गले चलिरहेको छ”, प्रवक्ता भण्डारीले भने ।

आगामी आवको बजेटबारे अर्थमन्त्री पौडेलले सबै मन्त्रालयसँग एक चरणको छलफल गरिसकेका छन् । बजेट महाशाखा र बजेट लेखन समितिमा हरेक योजना तथा कार्यक्रममाथि छलफल चलिरहेको छ । सम्बन्धित मन्त्रालयले प्रस्ताव गरेका योजना तथा कार्यक्रमका शीर्षकमाथि बजेट महाशाखाले छलफल चलाइरहेको प्रवक्ता भण्डारीले बताए ।

राजस्व परामर्श समितिअन्तर्गत गठन भएका विभिन्न सात वटा विषयगत उपसमितिहरुले आफ्नो प्रतिवेदन बुझाइसकेका छन् । बजेट निर्माणलाई समावेशी, यथार्थपरक र परिणाममुखी बनाउने उद्देश्यले अर्थ मन्त्रालयले सबै मन्त्रालयहरूसँग चरणबद्ध परामर्श गर्नुका साथै पूर्वअर्थमन्त्री, नीतिनिर्माता तथा विषयविज्ञसँग पनि छलफल गरिसकेको छ । छलफलमा उठेका विषय, दिइएका सुझाव र अर्थमन्त्रीको प्रतिबद्धता विश्लेषण गर्दा आगामी वर्षको बजेटबाट सरकारले सकारात्मक नीतिगत हस्तक्षेप गरेर सुधारको बाटो अवलम्बन गर्ने देखिन्छ । यद्यपि स्रोतको चाप, मन्त्रालयको माग र राजनीतिक दबावलाई अर्थमन्त्री पौडेलले कसरी सम्बोधन गर्नुहुनेछ भन्ने हेर्न बाँकी छ ।

अधिकांश मन्त्रालयले चालु आर्थिक वर्षकोभन्दा कम बजेट पाउने सम्भावना

सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानी, सामाजिक सुरक्षामा खर्च हुने रकमजस्ता अनिवार्य दायित्व निरन्तर बढ्ने तर सरकारको राजस्व लक्ष्यअनुसार सङ्कलन नहुने अवस्था अहिले देखिएपछि अधिकांश मन्त्रालयहरुले चालु आवकोभन्दा आगामी आवका लागि कम बजेट पाउने सम्भावना छ । बजेट कटौती हुने भएपछि अधिकांश मन्त्रालय असन्तुष्ट भएका छन् ।

राष्ट्रिय स्रोत अनुमान समितिले आगामी २०८२/८३ का लागि १९ खर्ब ६५ करोडको बजेट सिलिङ निर्धारण गरेको छ । चालु आवको १८ खर्ब ६० अर्ब ३० करोडको वास्तविक विनियोजनभन्दा आगामी आवको बजेट सिलिङ केही बढी देखिए पनि अनिवार्य दायित्वमा खर्च बढ्ने भएपछि विकास खर्च बढी हुने मन्त्रालयले नै न्यून बजेट पाउने अवस्था आएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, कृषि तथा पशुपन्छी विकासलगायत पुँजीगत खर्च बढी हुने मन्त्रालयको बजेट नै कटौतीमा पर्ने सम्भावना छ ।

आगामी आवका लागि १९ खर्ब ६५ करोडको बजेट सिलिङ निर्धारण गर्दा आन्तरिक राजस्वबाट १२ खर्ब ६३ अर्ब १० करोड प्राप्त हुने अनुमान गरिएको छ । स्रोत अनुमान समितिले दिएको सिलिङअनुसार बजेट ल्याउने हो भने रू छ खर्ब ३७ अर्ब ५५ करोड स्रोत अपुग हुनेछ ।

स्रोतको आकलन गर्दा चालु आवको आन्तरिक राजस्वको लक्ष्य र आगामी आवको अनुमानमा खासै अन्तर हुँदैन । मध्यावधि समीक्षामार्फत कायम गरिएको राजस्व लक्ष्यका तुलनामा भने करिब १० प्रतिशतले बढ्ने सरकारको अनुमान छ ।

सार्वजनिक ऋणको साँवाब्याज तिर्न यस वर्ष सरकारले रू चार खर्ब दुई अर्ब ८५ करोड विनियोजन गरेको थियो । तर आगामी आवमा सरकारी ऋण तिर्न रू चार खर्ब १० अर्बभन्दा बढी रकम चाहिने स्रोत अनुमान समितिले जनाएको छ ।

कुन क्षेत्रमा के प्राथमिकता ? विषयगत मन्त्रालयमा के छलफल भयो ?

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट कसरी तयार पार्ने र के–कस्ता विषयलाई प्राथमिकतामा राख्ने भनेर पूर्वअर्थमन्त्री तथा पूर्वअर्थसचिवहरुसँग बेग्लाबेग्लै छलफल गरेको थियो । त्यस क्रममा पूर्वअर्थमन्त्रीहरुले अर्थतन्त्रलाई पुनरुत्थान गराउने दीर्घकालीन दृष्टिकोणसहितको बजेट ल्याइनुपर्ने, राजस्व वृद्धिको यथार्थपरक योजना बनाइनुपर्ने, बजेटले निजी क्षेत्रलाई उत्साहित गर्नसक्नुपर्ने, सामाजिक सुरक्षाको दायरा सघन बनाउने र अनुत्पादक खर्च घटाउने, अघिल्ला बजेटमा घोषणा गरिएका तर कार्यान्वयन नभएका योजनाको समीक्षा गर्नुपर्ने सुझाव दिएका छन् ।

पूर्वअर्थसचिवहरुले अर्थतन्त्र सुधारका लागि सरकारले बजेटमार्फत हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने सुझाव उनीहरुको थियो । ठूला आयोजना निर्माणमा बजेट केन्द्रित हुनुपर्ने, नयाँ आयोजना थप्नेभन्दा पनि पुरानै आयोजनालाई निरन्तरता दिने, प्रतिफल नदिने आयोजनालाई बजेटबाट हटाउनुपर्ने, वित्तीय सङ्घीयता कार्यान्वयनलाई प्रभावकारी बनाउने, पुँजीगत खर्च बढाउनुपर्नेलगायत सुझाव प्राप्त भएको थियो ।

अनौपचारिक अर्थतन्त्रको आकार घटाउनुपर्ने, सामाजिक सुरक्षाका कार्यक्रमलाई समीक्षा गरी एकीकृत रुपमा कार्यान्वयन गर्नुपर्नेमा, बैंक तथा वित्तीय संस्था र सहकारी क्षेत्रका समस्या समाधानका लागि पहल गर्नुपर्नेलगायत सुझाव पूर्वअर्थमन्त्रीहरुको थियो । स्रोतमा चाप देखिएको वर्तमान अवस्थामा राजस्वका लक्ष्य महात्वाकाङ्क्षीभन्दा पनि यथार्थपरक बनाइनुपर्ने, अनावश्यक कर छुट सुविधा नदिने, वैकल्पिक वित्त परिचालनका लागि संयन्त्र निर्माण गर्नेलगायत सुझाव प्राप्त भएको थियो ।

मन्त्रालयगत छलफलमा पूर्वाधार विकासलाई परिणाममुखी बनाउन आगामी आर्थिक वर्षको बजेट केन्द्रित हुनुपर्ने, परियोजना छनोटमा पारदर्शिता, ठेक्का प्रणाली सुधार तथा लागत–लाभ विश्लेषणका आधारमा पूर्वाधार क्षेत्रमा लगानी गर्नेगरी आगामी आर्थिक वर्षको बजेट आउनुपर्नेमा जोड दिइएको छ । भूकम्प र बाढीपहिरोजस्ता प्राकृतिक विपद्पछिको पुनर्निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव छ ।

ऊर्जा सुरक्षा, विद्युत् व्यापार विस्तार, जलविद्युत् निर्यात, तथा राष्ट्रिय प्रसारण लाइन विस्तारलगायत विषय आगामी आर्थिक वर्षको बजेट केन्द्रित हुनुपर्नेमा उहाँको जोड थियो । जलस्रोतको अधिकतम उपयोग र सिँचाइ पूर्वाधार विस्तारसमेत बजेटको प्राथमिक एजेन्डा बन्नुपर्नेमा जोड दिइएको थियो ।
स्वास्थ्य बिमा कार्यक्रम, स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापन, आधारभूत स्वास्थ्य सेवाको पहुँचलगायत विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ ।

औद्योगिक प्रवद्र्धन तथा लगानीका क्षेत्रमा निजी क्षेत्रको आकर्षण, वैदेशिक लगानीको प्रवाह, आयात प्रतिस्थापनका उपाय खोजिनुपर्ने, साना तथा मझौला उद्योगलाई सहुलियत कर्जाबाट प्रवद्र्धन गर्ने नीति तथा योजना आगामी आर्थिक वर्षको बजेटले अवलम्बन गरिनुपर्नेमा उद्योग मन्त्रालयका अधिकारीहरुको जोड छ ।

सङ्घीयता कार्यान्वयनका सन्दर्भमा तीन तहका सरकारबीचको आपसी समन्वय तथा सहकार्य, वित्तीय हस्तान्तरणको प्रभावकारिता र संस्थागत संरचनाको पुनर्संरचनाजस्ता विषय उठान भएका छन् भने निजामती कर्मचारीको कार्यक्षमता बढाउन बजेट केन्द्रित हुनुपर्नेमा जोड दिइएको छ । रुपान्तरणकारी र राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनालाई केन्द्रमा राखेर बजेट निर्माण हुनुपर्ने खानेपानी मन्त्रालयको माग छ भने सङ्घीय सरकारले तीन करोडभन्दा कम लागतका आयोजनाका लागि बजेट छुट्याउन नहुनेमा पनि अधिकारीहरुले जोड दिएका थिए ।

सरकारले कृषि क्षेत्रमा उपलब्ध गराउने अनुदान र सहुलियतलाई व्यवस्थित गर्नेगरी आगामी आर्थिक वर्षको बजेटको तयारी गरिरहेको छ । कृषिलाई व्यावसायिक बनाउने, जलवायु अनुकूलन प्रविधि विस्तार गर्ने, मल र बीउको आपूर्ति सहज बनाउने विषयबारे पनि गहन छलफल भएको छ ।

जमिनको खण्डीकरण रोक्ने, बाँझो जमिन प्रयोग गर्ने, अस्थायी बसोबास व्यवस्थापन, सार्वजनिक जग्गाको संरक्षण, भूमि बैंकलगायत विषयहरुलाई केन्द्रमा राखेर बजेट बनाउनुपर्ने कृषि तथा पशुपन्छी मन्त्रालयको अनुरोध छ ।

के कुरामा सुधार र कडाई हुँदैछ ?

आगामी आवको बजेट तर्जुमासम्बन्धी मार्गदर्शन पठाउँदा अर्थ मन्त्रालयले बजेटको स्रोत व्यवस्थापन अत्यन्त चुनौतीपूर्ण र दबाबमा रहेको उल्लेख गर्दै सार्वजनिक खर्चको प्रभावकारिता बढाउने गरी आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न भनेको थियो । मितव्ययी खर्च, प्राथमिकताका आयोजना छनोट, दोहोरोपन हटाउने र कार्यान्वयनयोग्य योजना मात्र बजेटमा राख्न अर्थ मन्त्रालयले स्पष्ट निर्देशन थियो । त्यस्तै, नयाँ योजनाहरू प्रस्ताव गर्दा पर्याप्त तयारी र लागत–लाभ विश्लेषण गर्नुपर्ने र हाल सञ्चालनमा रहेका योजनाहरू सम्पन्न गर्न पर्याप्त बजेट सुनिश्चित गर्नुपर्ने मार्गदर्शनमा उल्लेख थियो ।

राष्ट्रिय गौरव तथा उच्च प्राथमिकताका परियोजनाहरू पर्याप्त बजेट छुट्याउनुपर्ने र ससाना आयोजनामा स्रोत छर्ने प्रवृत्ति निरुत्साहित गर्ने नीति अवलम्बन गर्न अर्थ मन्त्रालयले विषयगत मन्त्रालयलाई सचेत गराएको थियो ।

त्यस्तै योजना तथा कार्यक्रम कार्यान्वयनका क्रममा रकमान्तर र कार्यक्रम संशोधन गर्न नपर्नेगरी यथार्थपरक बजेट प्रस्ताव गर्नुपर्ने पनि बजेट तर्जुमा मार्गदर्शनमा उल्लेख छ । “विनियोजन दक्षता कायम गर्न आयोजनाको उद्देश्यसँग प्रत्यक्ष सम्बन्धित क्रियाकलापमा मात्र बजेट प्रस्ताव गर्नुपर्ने छ । आयोजना तथा कार्यक्रममा दीर्घकालीन दायित्व सिर्जना गर्ने प्रकृतिका क्रियाकलाप समावेश गर्नुहुने छैन”, विषयगत मन्त्रालयलाई अर्थले भनेको थियो, “चालु खर्चमा मितव्ययिता कायम गर्ने गरी अत्यावश्यक बजेट मात्र प्रस्ताव गर्ने र अनिवार्य दायित्वका खर्च शीर्षकमा पछि थप निकासा माग गर्न नपर्नेगरी पर्याप्त बजेट प्रस्ताव गर्नुपर्नेछ ।”

‘बजेट क्यालेण्डर’अनुसार काम जारी’

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा कार्यतालिका (बजेट क्यालेन्डर) तयार पारी सोहीअनुसार नै काम भइरहेको अर्थमन्त्रालयका प्रवक्ता भण्डारीको दाबी छ । “हामी अहिले बजेट तयारीको मध्य चरणमा छौँ । हामीले तर्जुमा गरेको बजेट क्यालेन्डरअनुसार नै काम गरेका छौँ । कतिपय काम तोकिएको तालिकाभन्दाअघि नै पनि सकिएका छन्”, उनले भने ।

बजेट तर्जुमा कार्यतालिकाअनुसार सबै मन्त्रालयहरुले बजेटमा समावेश गर्नुपर्ने नीति, कार्यक्रम र अपेक्षित उपलब्धिसहितका सूचकहरुको विवरण अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगलाई उपलब्ध गराइसकेका छन् । आगामी आर्थिक वर्षका लागि कार्यान्वयन हुने योजना तथा कार्यक्रमका लागि बजेट प्रस्ताव पनि भइसकेको छ । अहिले ती प्रस्तावहरु माथि छलफल चलिरहेको छ भने सँगसँगै बजेटमा समावेश गर्नुपर्ने विषयमा सार्वजनिक सूचना जारी गरी विभिन्न क्षेत्रबाट सुझाव सङ्कलन गर्ने काम चलिरहेको छ ।

अन्तरसरकारी वित्त परिषद्को बैठक बसिसकेको छ भने बजेटका उद्देश्य, प्राथमिकता एवम् मुख्य कार्यक्रमबारे सांसदहरुसँग प्रदेशगत रुपमा छलफल चलिरहेको छ । सङ्घीय सशर्त अनुदानका विषयमा प्रदेश आर्थिक मामिला तथा योजनामन्त्रालयहरुसँग छलफलका लागि आगामी चैत २४ देखि वैशाख १५ गतेसम्मको समयावधि तोकिएको छ ।

यही वैशाख १० गतेभित्र विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताको मस्यौदा तयार पार्ने र वैशाख १५ गतेभित्र सङ्घीय सदनका दुवै सदनमा पेश गर्नेगरी बजेट तर्जुमा कार्यतालिका बनेको थियो । सरकारले वैशाख १२ गते संसदको बजेट अधिवेशन आह्वान गरिसकेको छ ।

बजेट क्यालेन्डरअनुसार आगामी जेठ १ गतेभित्र राजस्व परामर्श समितिले आफ्नो प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेस गर्नेछ र त्यो बेलासम्ममा बजेट वक्तव्यको पहिलो मस्यौदा तयार भइसक्नेछ ।

त्यस्तै, अर्थमन्त्रीले जेठ १५ गते राष्ट्रपतिसमक्ष बजेट ‘बिफ्रिङ’ गर्ने कार्यतालिका रहेको छ । बजेट वक्तव्यलाई जेठ १३ गतेभित्र अन्तिम रुप दिई जेठ १४ गते मन्त्रिपरिषद् र राष्ट्रिय योजना आयोगमा ब्रिफ्रिङका लागि लगिनेछ । आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक जेठ १४ गते छपाइका लागि पठाइनेछ ।

आर्थिक सर्वेक्षण, संस्थानको प्रगति विवरण र मन्त्रालयहरुको प्रगति विवरण आगामी जेठ १४ गते सङ्घीय संसद्का दुवै सदनमा प्रस्तुत हुनेछ । त्यस्तै, जेठ १५ गते संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पेस हुनेछ ।

बजेट केबल आर्थिक दस्तावेज मात्र होइन, यो सरकारको राजनीतिक दृष्टिकोण, विकासको प्राथमिकता र आमजनताप्रतिको उत्तरदायित्वको प्रतिविम्ब हो ।यस्ता छलफलहरूले नीतिगत स्पष्टता, कार्यान्वयन क्षमताको मूल्याङ्कन, र आर्थिक प्राथमिकता निर्धारणमा भूमिका खेल्दछन् । तर उही किसिमका योजना फरकफरक मन्त्रालयले दोहोर्याउने, प्राथमिकता निर्धारणमा स्पष्ट मापदण्डको अभाव, तथा स्रोतको सीमितताबीच पनि अनावश्यक योजना थोपर्ने प्रवृत्तिले बजेटको कार्यान्वयन पक्षमै समस्या सिर्जना गर्ने सम्भावना रहन्छ ।

व्यवस्थामाथि चुनौती सरकारका क्रियाकलापका कारण आएको होः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका गलत क्रियाकलापका कारण प्रतिगामी शक्तिले टाउको उठाएको बताएका छन् ।

शनिबार नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सरकारका गलत कामका कारण प्रतिगामी शक्तिले धमिलो पानीमा माछा मार्ने दुस्साहस गरेको बताएका हुन् । उनले प्रतिगामी शक्तिको दुस्साहस माओवादीले पूरा हुन नदिने बताए ।

उनले भने, ‘अहिले प्रतिगामी षड्यन्त्र जो देखापर्न खोजेको छ त्यो अहिलेको सरकारका गलत काम क्रियाकलापका कारणले धमिलो पानीमा माछा मार्ने दुस्साहस गरेका छन् । त्यो सफल हुने छैन । सरकारका गलत क्रियाकलापका विरुद्ध खबरदारी पनि हो । र प्रतिगामी षडयन्त्रका विरुद्ध चुनौती पनि हो । यसलाई सफल हुन दिइने छैन ।’

अध्यक्ष प्रचण्डले विगतमा माओवादी विभिन्न दलसँग मिल्दा जनतामा नराम्रो सन्देश गएको भन्दै अब त्यसो नगर्ने बताए ।

उनले भने, ‘हामी कहिले कसैसँग कहिले कसैसँग सहमति गर्दा त्यसको परिणाम जनातालाई राम्रो भएन । अब त्यस्तो हुँदैन ।’ उनले नेवाः समुदायको पहिचान पूरै स्थापित नभएसम्म माओवादी केन्द्रले साथ नछाड्ने बताए ।