`

सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता

इटहरी । सप्तकोशी नदीमा नुहाउने क्रममा डुबेर दुई जना बेपत्ता भएका छन् । सोमबार बिहान बराहक्षेत्र मन्दिरमा पूजा गर्न गएका यहाँको इटहरी उपमहानगरपालिका–१६ बालग्रामका १६ वर्षीय जेनिस आचार्य र ४० वर्षीय नवराज बास्तोला नदीमा डुबेर बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले बराहक्षेत्र—१ क्षेत्रस्थित नदिमा दुवै जना डुबेर बेपत्ता भएका बताए ।

दुवै जना मामाभाञ्जा हुन् । भान्जा जेनिस नुहाउँदै गर्दा नदीमा डुबेपछि बचाउन जादा मामा पनि बेपत्ता भएको प्रहरीले जनाएको छ ।

दुवै जनाको गोताखोरसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले खोजी गरिरहेको प्रवक्ता खतिवडाले जानकारी दिए ।

तीन करोड भन्दाबढी अकुत सम्पत्ति आर्जनको अभियोगमा अमिनविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकजना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय काठमाडौंले सञ्चालन गरेको वाग्मती नगर जग्गा एकीकरण आयोजना गौरीघाटमा करारमा कार्यरत अमिन दिनेशप्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

यादवले तीन करोड २९ लाख ४५ हजार ७०२ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अनुसन्धानका क्रममा अख्तियारले २०६३ भदौ ८ गतेदेखि २०८१ असार ३० गतेसम्म यादवले गरेको आर्जन गरेको सम्पत्तिको छानबिन गरेको थियो । अनुसन्धानबाट उनको कुल वैध आय दुई करोड ४२ लाख २० हजार ३०१ रुपैयाँ देखिएको थियो ।

यस अवधिमा अमिन यादवको कुल व्यय पाँच करोड ७१ लाख ६६ हजार ३ रुपैयाँ रहेको अनुसन्धानले देखाएको छ । अनुसन्धानबाट यादवले तीन करोड २९ लाख ४५ हजार ७०२ रुपैयाँ अवैध रकम आय गरेको अख्तियारको दाबी छ ।

निजामती विधेयकमाथिको छलफल अन्तिम चरणमा

काठमाडौँ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा झण्डै नौ महिनादेखि छलफलमा रहेको सङ्घीय निजामती विधेयक अन्तिम चरणमा पुगेको छ ।

समिति सभापति रामहरि खतिवडाका अनुसार प्रस्तावित विधेयकमा कर्मचारीको उमेरहद, कुलिङ पिरियड, अतिरिक्त सचिव तथा प्रदेश र स्थानीय तहमा १० वर्षसम्म सङ्घले सचिव र कार्यकारी खटाउनेलगायतका विषय निष्कर्ष नजिक पुगेको छ ।

‘धेरै कुरा सम्बोधन भएका छन्, आउँदो अधिवशेनमा सदनमा निजमती विधेयक प्रस्तुत गर्ने तयारी छ’, उनले भने । नेपाली कांग्रेसका सांसद दीलेन्द्रप्रसाद बडुको संयोजकत्वमा उपसमिति बनाएरै विधेयकमाथि छलफल गरिएको थियो ।

बैठकमा नेपाली कांग्रेसकी सांसद सरिता प्रसाईंले दुई वर्षको कुलिङ पिरियड राख्नुपर्ने अडान राखेकी थिइन् । उनले भ्रष्टाचार गरेर पेन्सन पाउनुपर्ने कुरा गर्न पनि नहुने बताइन् । उनले भनिन्, ‘भ्रष्टाचार गरेर पेन्सन पाउनुपर्ने कुरा गर्नु हुँदैन । दुई वर्षको कुलिङ पिरियड राख्नै पर्छ।’

नेपाली कांग्रेसकै सांसद अम्बिका बस्नेतले कुलिङ पिरियडमा दुई वर्षको समय राख्नुपर्छ भन्ने आफ्नो स्पष्ट धारणा रहेको बताउँदै भ्रष्टाचारको कारबाहीमा परेकाहरूलाई पेन्सन दिनुहुँदैन भन्ने पक्षमा आफू रहेको जिकिर गरिन्।

समितिले विज्ञ, कर्मचारी, संवैधानिक आयोग, ट्रेड युनियन तथा सरोकारवाला पक्षसँग पटकपटक घनिभूत छलफल गर्दै आइरहेको छ । प्रशासनिक सङ्घीयता कार्यान्वयनका सन्दर्भमा महत्वपूर्ण माननिएको यो विधेयक समितिमा नौ महिनादेखि गहन छलफलमा थियो ।

समितिको सोमबारको बैठकमा सभापति खतिवडाले विधेयक अन्तिम चरणमा पुर्याउने कोसिस गरिरहेको बताए । ‘विमतिलाई सहमतिबाट टुङ्ग्याउने गरी प्रयास थालनी गरेका छौँ । विधेयकमा सकेसम्म सबैको सहमति खोजिनेछ’, बैठकमा उनले भने ।

बैठकमा उपसमिति सदस्य बडुले उपसमितिमा छलफल भएका विषयबारे जानकारी गराएका थिए ।

उदयपुरमा भालुको आक्रमणबाट महिला घाइते

गाइघाट । उदयपुरको कटारी नगरपालिका–८ ग्रासको एक सामुदायिक वनमा आज घाँस काट्दै गरेकी एक महिला भालुको आक्रमणमा परी घाइते भएकी छिन् ।

जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार भालुको आक्रमणबाट घाइते महिला कटारी–८ बस्ने वर्ष ४६ की पञ्चमाया तामाङ रहेकी छिन् । बिहान ९ बजेतिर स्थानीय नारायणी सामुदायिक वनमा घाँस काट्दै गरेकी तामाङलाई भालुले आक्रमण गरेको हो ।

भालुले तामाङमाथि आक्रमण गरेपछि उनी कराएका कारण अन्य वरपर घाँस काट्ने साथी आएपछि भालु भागेको थियो भने तामाङ घाइते भएकी थिइन् ।

भालुको आक्रमणबाट तामाङको टाउको, हात र शरीरका केही भागमा चोट लागेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।

घाइते तामाङको कटारी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी केदारमान दोङले जानकारी दिए ।

कटारी ग्रासका स्थानीय राजन बरालका अनुसार पछिल्लो समय नारायणी सामुदायिक वन क्षेत्र निकै घना जङ्गल हुँदै गएको छ।

रुपन्देहीको दानव नदीमा डुबेर तीन बालक बेपत्ता

भैरहवा । रूपन्देहीको दानव नदीमा डुबेर तीन बालक बेपत्ता भएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलास्थित दानव नदीमा पौडी खेल्ने क्रममा सोमबार दिउँसो डुबेर बालकहरु बेपत्ता भएका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

बेपत्ता हुनेमा लुम्बिनी सांस्कृतिक–२ का १३ वर्षीय उमेश यादव, १४ वर्षीय राजन यादव र १२ वर्षीय मन्नु हरिजन रहेका छन् । बेपत्ता बालकहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थाीयवासीले खोजी गरिरहेका प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

वैदेशिक व्यापारमा ११ खर्ब २१ अर्बको घाटा

काठमाडौँ । नेपालले निर्यात गर्ने वस्तुहरुमा सबैभन्दा ठूलो हिस्सा भटमास तेलको देखिएको छ । नेपालको आफ्नै उत्पादन नभई विदेशबाट अर्धप्रशोधित भटमास तेल (क्रुड सोयाबिन आयल) आयात गरेर प्रशोधित तेलका रुपमा निर्यात हुने गरेको हो ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्मको नौ महिनामा नेपालले कुल एक खर्ब ८८ अर्ब १९ करोड ५० लाख ७० हजार बराबरको सामान निर्यात गरेको छ ।

यो अवधिमा भटमासको तेल मात्रै  ६२ अर्ब ७८ करोड २३ लाख ३० हजार बराबरको निर्यात भएको छ । अर्थात् नेपालले गर्ने कुल निर्यात रकमको एक तिहाई भटमास तेलको निर्यातबाट आइरहेको छ । 

त्यस्तै, अहिले नेपालले बढी निर्यात गरेका वस्तुको दोस्रो स्थानमा सूर्यमुखी तेल छ । नौ महिनामा रू नौ अर्ब २३ करोड २७ लाख ६० हजार बराबरको सूर्यमुखी तेल निर्यात भएको छ । यसमा पनि अर्धप्रशोधित सुर्यमुखी तेल आयात गरेर त्यसलाई प्रशोधन गरी भारत निर्यात गर्छ ।

भन्सार विभागका निर्देशक नारायणप्रसाद रेग्मीका अनुसार दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) को सुविधाका रुपमा नेपालका व्यवसायीहरुले खानेतेलमा एक तहको प्रशोधन र मूल्य अभिवृद्धि गरी लाभ पाएका छन् ।

‘यसमा हाम्रा छिमेकी देशहरुले अरु मुलुकहरुबाट आयात गर्दा कति भन्सार महशूल लाग्छ भन्ने कुराले अर्थ राख्छ । साफ्टा सुविधाअन्तर्गत भारतले नेपाललाई भन्सार छुट सुविधा उपलब्ध गराइरहेकोमा त्यसलाई नेपाली व्यवसायीले अवसरको रुपमा लिए’, उनले भने । 

भारतले तेस्रो मुलुकबाट आयात गर्ने तेलमा बढी भन्सार लाग्ने तर नेपालले साफ्टा सुविधाअन्तर्गत भन्सार छुट पाउने भएका कारण सस्तो मूल्यमा तेल निर्यात गर्न सम्भव भएको हो । विगतमा पाम तेलको निर्यात सबैभन्दा बढी हुने गरेको थियो । तर २०७७ पुसमा नेपालबाट हुने पाम तेल निर्यातमा भारतले कडाइ गरेको थियो । त्यसयता भटमासको तेलको निर्यात बढ्दै गएको देखिन्छ ।

प्रशोधित तेलको निर्यात बढेसँगै नेपालको समग्र निर्यातको अङ्कसमेत बढेको देखिएको छ । गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा मात्र निर्यात ६५ दशमलव १६ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्मको कूल निर्यात रू एक खर्ब १३ अर्ब ९४ करोड बराबर थियो । जबकि चालु आर्थिक वर्षको सोहि अवधिमा रू एक खर्ब ८८ अर्ब १९ करोड ५० लाख बराबर पुगेको छ ।

नेपालले निर्यात बढी गरेको अन्य वस्तुहरुमा कार्पेट, धागो, चियालगायत छन् । यो अवधिमा कार्पेट रू आठ अर्ब नौ करोड ७५ लाख ३५ हजार बराबरको निर्यात भएको छ भने अलैँची रू छ अर्ब २६ करोड नौ लाख बराबरको निर्यात भएको छ ।

चालु आवको तेस्रो त्रैमाससम्ममा मुलुकले कुल रू १४ खर्ब ९७ अर्ब ७२ करोड ७९ लाखको वैदेशिक व्यापारमा रू ११ खर्ब २१ अर्ब ३३ करोड ७७ लाखको घाटा व्यहारेको छ । यो अवधिको कुल वस्तु निर्यात रू १३ खर्ब नौ अर्ब ५३ करोड २८ लाख बराबरको छ ।

नेपालले बढी आयात गर्ने वस्तुहरुमा पेट्रोलियम पदार्थ शीर्ष स्थानमा छ । पछिल्लो नौ महिनामा रू ९१ अर्ब २६ करोड तीन लाख बराबरको डिजेल रु ४७ अर्ब ७७ करोड ६४ लाख बराबरको पेट्रोल र रू ४६ अर्ब ५८ करोड ७० लाख बराबरको एलपी ग्यास आयात गरेको छ ।

त्यस्तै, नेपालले बढी आयात गर्ने वस्तुहरुमा पनि कच्चा (क्रुड) भटमास तेल र कच्चा सूर्यमुखी तेल पनि पर्दछन् । गत साउन देखि चैत मसान्तसम्ममा रू ६६ अर्ब पाँच करोड बराबरको अर्धप्रशोधित सोयाबिन तेल र रू २२ अर्ब ६४ करोड बराबरको अर्धप्रशोधित सनफ्लावर तेल आयात भएको छ ।

नेपालले बढी आयात गर्ने अन्य वस्तुहरुमा फलाम तथा फलामजन्य वस्तु, स्मार्टफोन, सुन, विद्युतीय सवारी साधनलगायत छन् । नौ महिनामा रू ३७ अर्ब ८९ करोड बराबरको फलाम तथा फलामजन्य वस्तु, रू २५ अर्ब ३८ करोड बराबरको स्मार्टफोन र रू १० अर्ब ९४ करोड ७९ लाख बराबरको विद्युतीय सवारीसाधन आयात भएको हो ।

शिक्षकहरुलाई प्रधानमन्त्रीको आग्रहः एसइईमा ५२ प्रतिशत विद्यार्थी फेल गराइएको भन्ने मेरो भनाइले चित्त नदुखाउनूस्

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ढुकुटीले धान्न सक्ने र सम्भव हुने मागलाई राज्यले सम्बोधन गर्ने भएकाले अविलम्ब वार्तामा बसेर विद्यालय फर्कन आन्दोलनरत शिक्षकहरूलाई आह्वान गरेका छन् ।

नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको ११ औँ राष्ट्रिय सम्मेलनको सोमबार कीर्तिपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकार दमनकारी नभई लोकतान्त्रिक भएकाले ट्रेड युनियनको अधिकारको रक्षासहित पेसागत क्षेत्रका जायज मागलाई सम्बोधन गरिने बताए ।

“विद्यालय शिक्षा विधेयक संसदीय समितिमा विचाराधीन छ । ऐन ल्याउन भनेर यत्रा शिक्षकहरू सकडमा आन्दोलनमा आउनु पर्दैन । भर्ना अभियान सुरू भइसकेको छ । कृपया जानूस्, विद्यालयमा गएर भर्ना गराउनूस् । एसइईको उत्तरपुस्तिका परीक्षण गर्नूस् । एसइईमा ५२ प्रतिशत विद्यार्थी फेल गराइएको भन्ने मेरो भनाइले चित्त नदुखाउनूस् । गुणस्तरीय शिक्षाका लागि लाग्नूस्”, प्रधानमन्त्री ओलीले भने, “शिक्षकहरूको आन्दोलनले विद्यार्थी र अभिभावकलाई घाटा छ, शिक्षकहरूलाई लाभ छैन । त्यसकारण अविलम्ब वार्तामा बसेर आन्दोलन अन्त्य गर्नूस् । प्रतिगामी तत्वहरू सल्बलाएका बेला तपाईंहरुले आन्दोलन गर्ने उपयुक्त समय पनि यो होइन ।”

समृद्धि र अग्रगतिका लागि बौद्धिक सक्रियता देखाउन प्राध्यापकहरूलाई आग्रह

प्रधानमन्त्री ओलीले प्रतिगामी, उग्रवामपन्थी, विकृति र विसङ्गतियुक्त प्रवृत्तिहरूविरुद्ध प्राध्यापकहरुले बौद्धिक रूपमा सक्रियता देखाउनुपर्ने बताए ।

मुलुकमा प्रकट भइरहेका प्रतिगामी, उग्रवामपन्थी, विकृति र विसङ्गतियुक्त प्रवृत्तिहरूप्रति सजग हुँदै आफ्नो बौद्धिक क्षेत्रबाट विद्यमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ विचार निर्माणमा लागि पर्न आह्वान गरे ।

“प्राध्यापकजस्तो सचेत वर्गले लोकतन्त्र र तानाशाहीका बीचको भेद छुट्याउन नसक्ने भन्ने कुरै हुँदैन । कोही पनि सचेत नागरिक आफ्नो समाज कस्तो बनाउने भन्ने सन्दर्भमा तटस्थ रहिरहन सक्दैन । लोकतन्त्रको प्रयोगबाट मुलुकको समृद्धिका लागि दक्ष जनशक्ति निर्माण गर्नुपर्ने छ”, प्रधानमन्त्री ओलीले भने, “हामीले मिसन २०८४ भनेको छौँ । त्यो मिसन भनेको अराजकतावादी, प्रतिगामी, असभ्यता र देशलाई अँध्यारो यात्रातर्फ फर्काउने प्रयासविरुद्धको मिसन हो । यसमा तपाईंहरूले लेखेर–बोलेर बौद्धिकताको प्रदर्शन गरी साथ दिनुपर्छ । विद्वत् समुदायका रूपमा समाजमा आफ्नो पहिचान दिनुपर्छ । देशको विकास तब हुन्छ, जब नागरिकहरू स्वस्थ्य, शिक्षित र दक्ष हुन्छन् । नागरिकहरू स्वस्थ्य, शिक्षित र दक्ष बनाउने हाम्रो प्राथमिकता हुनुपर्छ ।”

काँक्रा आफू खाने र बियाँ अर्काको निधारमा टाँस्न कति खप्पीस छन् भन्ने मैले राम्ररी बुझेको छुः सचिव भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले भैरहवा विमानस्थलकाबारेमा आफ्नो कुनै निर्णयले राज्यलाई हानी नोक्सानी गरेको भए सार्वजनिक गर्न चुनौती दिएका छन् ।

विमानस्थलमा निर्माणमा अनियमतिता भएको र त्यसमा भट्टराईको पनि संलग्नता रहेको भन्दै उनीविरुद्ध आरोप लगाएपछि त्यसको प्रतिवाद गरेका हुन् ।

उनले सत्ता र पदको दुरुपयोग गरेर भ्रष्टाचार र बेथितीको दलदलमा जाकिएकाहरुले काँक्रा आफू खाने र बियाँ अर्काको निधारमा टाँस्ने काम गरेको बताएका छन् ।

भट्टराईले लेखेका छन्, ‘म २०७६ साउन १५ गतेदेखि २०७७ पौष ५ गतेसम्म संस्कृति, पर्यटन तथा नगारिक मन्त्रीको जिम्मेवारीमा रहेको हो । उक्त समयमा पोखरा र भैरहवा विमानस्थल बारेमा मेरो हस्ताक्षरमा कुनै निर्णयले राज्यलाई कुनै नोक्सानी भएको भए प्रमाणसहित सार्वजनिक गर्न मेराविरुद्ध प्रायोजित समाचार उत्पादन गर्ने कारखानालाई चुनौती छ । सत्ता र पदको दुरुपयोग गरेर भ्रष्टाचार र बेथितीको दलदलमा जाकीएकाहरु काँक्रा आफू खाने र बियाँ अर्काको निधारमा टाँस्न कति खप्पीस छन् भन्ने मैले राम्ररी बुझेको छु । मीडिया ट्रायल गरेर उम्कन सकिंन्छ भनेर ढुक्क नभए हुन्छ ।’

शेयर बजारमा सात अंकको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । सोमबार नेप्से परिसूचक सात दशमलव ७५ अङ्कले घटेर दुई हजार छ सय ९८ दशमलव २८ को बिन्दुमा कायम भएको हो ।

आज विभिन्न तीन सय १९ कम्पनीका दुई करोड १२ लाख तीन हजार सात सय ६६ कित्ता शेयर ७८ हजार छ सय ७८ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ७७ करोड ५७ लाख २० हजार दुई सय ९३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा विकास बैंक समूह शून्य दशमलव ४३, होटल तथा पर्यटन शून्य दशमलव ०६, जलविद्युत् शून्य दशमलव ७७, लगानी शून्य दशमलव १७, उत्पादन तथा प्रशोधन शून्य दशमलव ०३ र म्युचुअल फन्ड शून्य दशमलव ४४ प्रतिशतले बढेको छ ।

अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ८५, वित्त एक दशमलव ०३, जीवन बीमा शून्य दशमलव १६, लघुवित्त शून्य दशमलव ११, निर्जीवन बीमा शून्य दशमलव १५, व्यापार एक दशमलव ५२ र अन्य समूह एक प्रतिशतले घटेको छ ।

नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेड र क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने एनएमबी हाइब्रिड फन्ड–२ को शेयर मूल्य सात दशमलव ९० प्रतिशत छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको रू ५३ करोड ९९ लाख १८ हजार एक सय ७४ बराबरको १५ लाख ९० हजार दुई सय पाँच कित्ता शेयर खरिदबिक्री भएको छ ।

गभर्नर नियुक्तिसम्बन्धी रिट हेर्न नभ्याइनेमा

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिसम्बन्धी रिट हेर्न नभ्याइनेमा परेको छ । डा. गुणाकर भट्टको योग्यता नपुगेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन सोमबार पनि हेर्न नभ्याइनेमा परेको हो ।

अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका भट्टको गभर्नरमा योग्यता नपुग्ने दाबीसहित शुक्रबार रिट दायर गरेका थिए ।

उक्त पुरक निवेदनलाई गत चैत ३० गते परेको मूल रिटमै राखेर सुनुवाइ गर्न पेशी तोकिएको थियो । तर पेशीमा चढे पनि न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा यो निवेदन हेर्न नमिल्नेमा परेको हो ।

ऊर्जामन्त्री खड्काको निमन्त्रणमा भारतका विद्युत्मन्त्री मंगलबार नेपाल आउँदै

काठमाडौं । भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मंगलबार नेपालको भ्रमणमा आउँदै छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा उनी यहाँ आउन लागेका हुन् ।

गत माघ ३० गते भारतको भ्रमणका क्रममा मन्त्री खड्काले भारतका विद्युत्मन्त्री खट्टरलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए । उनी दुई दिने भ्रमणका लागि नेपाल आउन लागेको मन्त्रालयका प्रवक्ता सन्दीपकुमार देवले जानकारी दिए।

मन्त्री खड्कासँगै भारतीय मन्त्री खट्टरले मङ्गलबार सङ्खुवासभाको तुम्लिङटारमा भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको कोशी करिडोर २२० केभी प्रसारण लाईनअन्तरगत ईनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार २०० केभी प्रसारण लाइन तथा २२०-१३३-३३ केभी तुम्लिङटार सवस्टेशन, २२०-३३ केभी बानेश्वर सवस्टेशन तथा २२०-१३३-३३ केभी बसन्तपुर सवस्टेशनको संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम छ ।

उनले सोही दिन भारतले निर्माण गरेको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृह र बाँध क्षेत्रको अवलोकन गर्ने प्रवक्ता देवले बताए ।

मंगलबार नै नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गर्न लागिएको प्रसारण लाइनको सम्झौतापत्रमा हस्ताक्षर गरेर निर्माणको प्रक्रिया अगाडि बढाइने छ । दुई देशले संयुक्त लगानीमा निर्माण गर्न लागेको प्रसारण लाइनको सम्झौतापत्रमा दुवै मन्त्रीले हस्ताक्षर गरेर निर्माणको प्रक्रिया अगाडि बढाइने मन्त्रालयले जनाएको छ ।

यही वैशाख १० गते भारतीय मन्त्री खट्टरले मुक्तिनाथको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ । उनले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय भएको प्रवक्ता देवले जानकारी दिए ।

शुक्लाफाँटामा ६ करोडको लागतमा खानेपानी आयोजना निर्माण

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–२ ढकनियाँमा छ करोड ८० हजारको लागतमा खानेपानी आयोजना निर्माण गरिएको छ । उक्त आयोजना निर्माण भएपछि सो वडाका पाँच सय १० परिवार लाभान्वित भएका छन् ।

सङ्घीय सरकार र नगरपालिकाको ५०-५० प्रतिशत लागतमा खानेपानी आयोजना निर्माण गरिएको हो । नगरपालिकाको पूर्वाधार विकास तथा व्यवस्थापन शाखाका प्रमुख दीपक धामीका अनुसार उक्त आयोजनाअन्तरगत बोरिङ ड्रिल, दुई सय २५ घन मिटरको ट्याङ्की, पाँच सय १० परिवारको घरमा धारा जडान, २२ किलोमिटर पाइपलाइन विच्छ्याउनेलगायत कार्य पूरा भएको छ ।

उक्त खानेपानी आयोजना निर्माण गर्न ‘उच्चकोटी ड्रिलिङ एण्ड कन्स्ट्रक्सन कम्पनी’सँग २०८० वैशाखमा सम्झौता भएको हो ।

सम्झौता अनुसार २०८१ फागुनसम्म सो आयोजना निर्माण सम्पन्न गर्ने तय गरिएको थियो । सो वडाका ढकनियाँ, रानीपुर, लक्ष्मीपुरलगायत गाउँका बासिन्दाको घर घरमा खानेपानीका धारा जडान गरिएका प्रमुख धामीले जानकारी दिए ।

अव्यवस्थित शहरीकरण विश्वमै समस्याः परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बढ्दो अव्यवस्थित शहरीकरणले विश्वमै समस्या ल्याएको र एसिया तथा प्रशान्त क्षेत्र पनि यसबाट प्रभावित हुनुपरेको बताएकी छन् ।

बैङ्ककमा सोमबारदेखि सुरु संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युएनस्केप) को ८१औँ सत्रको अध्यक्षतापछि दिएको मन्तव्यमा उनले यस क्षेत्रले कैयौँ गम्भीर चुनौतीहरूको सामना गरिरहेको र तीमध्ये अव्यवस्थति शहरीकरण पनि एक रहेको बताइन् ।

‘एसिया र प्रशान्त क्षेत्रमा सहनशील र दिगो शहरी विकास’ विषयक सत्रलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा राणाले भनिन्, “शहरी क्षेत्रहरू विकास, नवप्रवर्तन र अवसरका इञ्जिन पनि हुन् । तर योजनाविहीन शहरीकरणले धेरै समस्याहरु निम्त्याइरहेको छ । त्यसैले हामीले राम्रोसँग योजनाबद्ध शहरी विकास गर्नुपर्छ ।”

उनले वातावरणमैत्री र दिगो शहरी विकासमा जोड दिँदै यसका लागि समावेशी र हरित शहरहरूमा लगानी वृद्धि गर्नुपर्ने बताइन् । शहरहरुबीचको सञ्जाललाई मजबुत बनाउनुपर्ने, जनसाङ्ख्यिक रूपान्तरणका लागि सशक्त योजना बनाउनुपर्ने र विविध स्रोतबाट वित्तीय सहयोगका उपायहरू अपनाउनुपर्नेमा उनले जोड दिइन् ।

मन्त्री राणाले एसिया तथा प्रशान्त क्षेत्रमा वित्तीय जोखिम र सीमा, दिगो पूर्वाधारका क्षेत्रमा लगानीको अभाव, व्यापारको खण्डीकरण र संरक्षणवादी प्रवृत्ति, ‘डिजिटल डिभाइड’जस्ता समस्या देखिएका बताइन् ।

उनले डिजिटल डिभाइडका कारण शहरी र ग्रामीण समुदायबीचको सम्बन्धमा ठूलो खाडल पैदा भएकाले यसको सम्बोधन गर्नेतर्फ हामी सबैको ध्यान जानुपर्नेमा जोड दिइन् ।

परराष्ट्रमन्त्री राणाले एसिया र प्रशान्त क्षेत्रको सामाजिक सुरक्षा प्रणाली अझै अपूरो र कमजोर अवस्थामा रहेकाले यसमा विश्वका उत्कृष्ट अभ्यासहरूबाट सिकेर लगानी बढाउनुपर्ने धारणा व्यक्त गरिन् ।

उनले जलवायुजन्य विपद्को दृष्टिले यस क्षेत्र जोखिममा रहेको उल्लेख गर्दै हाम्रा शहर र समुदायहरू बाढी, खडेरी र चरम मौसमी दुर्घटनाजस्ता जोखिममा रहेका स्पष्ट गरिन् ।

परराष्ट्रमन्त्रीले भनिन्, “पानीको स्रोत मात्र नभएर जीविकोपार्जन र सभ्यताको आधारका रुपमा रहेका हाम्रा हिमालयहरू जलवायु परिवर्तनको प्रभावबाट अकल्पनीय रुपमा प्रभावित भइरहेका छन् । त्यसैले जलवायु सहनशीलता तथा पूर्वसूचना प्रणालीमा लगानी बढाउनुपर्ने अहिलेको आवश्यकतालाई मध्यनजर गरी सहयोग र सहकार्यका साथ समस्या समाधानतर्फ जुटौँ ।”

वर्तमान अवस्थाको समाधान, भोलिको पुस्ताको भविष्य एवं समग्र पृथ्वीकै सुरक्षालाई सुनिश्चित गर्न नेपालले पनि यस क्षेत्रमा कदम चालिरहेको उनले बताइन् । मन्त्री राणाले आगामी ‘मे’मा नेपालले आयोजना गर्न लागेको सगरमाथा संवादमार्फत जलवायु परिवर्तनको अवस्था र यसका चुनौतीको समाधानका लागि पहल गर्ने जानकारी दिइन् ।

उनले यी सबैखाले समस्याको समाधानका लागि क्षेत्रीय एकता र सामूहिक सहकार्य आवश्यक रहेकामा जोड दिइन् ।

उनले भनिन्, “अहिलेको युगमा कुनै पनि मुलुकले यस प्रकारका सबै चुनौतीहरू एक्लै समाधान गर्न सक्दैनन् । हाम्रा सामूहिक प्रयासहरुलाई सार्थक बनाउन क्षेत्रीय सहकार्य अपरिहार्य छ ।” नेपाल समावेशी विकास, क्षेत्रीय सहकार्य र संयुक्त राष्ट्रसङ्घका मूल्य मान्यताहरूप्रति सदैव प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

पोप फ्रान्सिसको निधन

बीबीसी । रोमन क्याथोलिक इसाईका धर्मगुरु पोप फ्रान्सिसको निधन भएको छ । भ्याटिकनस्थित होली सीले विज्ञप्ति जारी गरी पोपको ८८ वर्षको उमेरमा निधन भएको जानकारी दिएको हो ।

पोपको स्थानीय समयअनुसार सोमबार ७ बजेर ३५ मिनेटमा भ्याटिकनस्थित कासा सान्टा मार्थामा निधन भएको हो । उनी अमेरिका वा दक्षिणी गोलाद्र्धबाट आएका पहिलो पोप थिए।

सिरियाली मूलका ग्रेगोरी तृतीय सन् ७४१ मा निधन भएका यता युरोप बाहिरका बिशप अफ रोम पहिलो पटक भएका थिए । उनी सन्त पिटरको सिंहासनमा निर्वाचित हुने पहिलो जेसुइट पनि थिए । इतिहासमा जेसुइटहरूलाई रोमले शंकाको दृष्टिले हेर्ने गरेको थियो ।

फ्रान्सिसका पूर्ववर्ती बेनेडिक्ट सोह्रौं झण्डै ६ सय वर्षपछि स्वेच्छाले राजीनामा दिने पहिलो पोप थिए । उनी लामो समयदेखि निमोनिया र फोक्सोको समस्याबाट ग्रसित थिए । उनले लामो समय अस्पतालमा बिताएका थिए ।

गाजाको ६९ प्रतिशत भूभागमा इजरायलको निकासी आदेश

गाजा । प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) ले गाजा पट्टीको ६९ प्रतिशत भूभाग इजरायली निकासी आदेशअन्तर्गत रहेको बताएको छ ।

इजरायली सेनाले मार्च १८ र अप्रिल १४ को बीचमा कम्तीमा २० वटा निकासी आदेश जारी गरेको युएनआरडब्लुएले विज्ञप्तिमार्फत जनाएको छ । एजेन्सीका अनुसार हाल गाजामा स्थापित एक सय १५ आश्रय स्थलमा ९० हजारभन्दा बढी विस्थापित मानिस रहेका छन् ।

इजरायली गोलाबारी र सात हप्ता लामो सहायता नाकाबन्दीका कारण गाजामा पहिले नै गम्भीर मानवीय अवस्था बिग्रँदै गएको चेतावनी दिँदै मार्च १८ मा युद्धविराम भङ्ग भएपछि करिब चार लाख २० हजार मानिस पुनः विस्थापित भएको एजेन्सीले जनाएको छ ।

युएनआरडब्लुएले गाजामा चाँडै युद्धविराम, बन्धकहरूको रिहाइ र गाजामा मानवीय सहायता तथा व्यावसायिक आपूर्तिको निर्बाध प्रवाहको आवश्यकतामा जोड दिएको छ ।

इजरायलले मार्च २ देखि गाजामा सबै मानवीय सहायताको प्रवेश अवरुद्ध गरेको छ । त्यसपछि उसले हमाससँगको दुई महिनाको युद्धविराम समाप्त गरी गाजामा घातक हवाई र भूमि आक्रमण पुनः सुरु गरेको छ ।

युद्धविरामपछिको इजरायली आक्रमणमा एक हजार आठ सय २७ प्यालेस्टिनीको मृत्यु हुनुका साथै चार हजार आठ सय २८ घाइते भएको गाजाका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

आठ अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गरिने

काठमाडौँ । आठ सङ्घीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार गर्ने कार्यक्रम सार्वजनिक गरेका हुन् ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले सङ्घीय अस्पतालको सेवा सुधार तथा विस्तारको नीतिअन्तर्गत सङ्घीय अस्पतालहरूमा सेवा थप्ने र विस्तार गर्ने कार्यक्रम वैशाखमा थपिने र विस्तार गरिने सेवा सार्वजनिक गरिएको बताए ।

उनका अनुसार वैशाखमा वीर अस्पतालले सर्जिकल (सघन उपचार कक्ष) आइसीयुको सेवा विस्तार गर्नेछ साथै वीरको आइसीयूमा नौ शय्या थप गर्ने कार्यक्रम वैशाख दोस्रो साता राखिएको छ । भरतपुर अस्पतालले क्याथ ल्याब सेवा सुरू गर्दैछ ।

यसैगरी, अस्पतालमा जलन वार्ड, सिमुलेशन ल्याब, इनफर्टिलिटी क्लिनिक र ल्याक्टेसन म्यानेजमेन्ट युनिटसँगै भरतपुर अस्पतालले क्याडाभर ल्याब सेवा वैशाख अन्तिमसम्म थप गरिसक्ने विवरण मन्त्रालयमा पठाएको छ ।

भक्तपुर क्यान्सर अस्पतालले पिआइसीयु तथा पेडियाट्रिक वार्ड वैशाख दोस्रो साता आरम्भ गर्ने भएको छ, भने भेरी अस्पतालले मिर्गाैला प्रत्यारोपण सेवा वैशाख दोस्रो साताबाट सुरू गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

यसैगरी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले इमर्जेन्सी वार्डमा २० शय्या वैशाख अन्त्यसम्ममा थप गर्नेछ । यसैगरी नारायणी अस्पताल वीरगञ्जले वैशाख अन्त्यसम्ममा क्याथ ल्याब आरम्भ गर्नेछ भने जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्र तनहुँले हेमोडायलासिस सेवा वैशाख तेस्रो साताबाट सञ्चालनमा ल्याउनेछ ।

धनगढीको गेटा अस्पतालले वैशाख तेस्रो साताभित्र मोड्युलर ओटी, आकस्मिक वार्ड तथा अक्सिजन प्लान्ट एकै साथ थाल्नेछ । चैतमा १२ सङ्घीय अस्पतालले केही सेवा थप तथा विस्तार गर्ने कार्यक्रम रहेको थियो ।

मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले चालु आर्थिक वर्षभित्रै थप सङ्घीय अस्पतालमा सेवा विस्तारका कार्यक्रम कार्यान्वयन क्रममा रहेको जानकारी दिए ।

उनले, “केहीमा सेवा थपिएका छन्, केहीमा थपिने क्रममा छन् । स्वास्थ्य सेवा सुधार र विस्तार गर्ने मन्त्रीको नीतिअनुसार काम भइरहेको छ ।”

कर नबुझाउने एक सय २२ करदातामाथि कारबाही

बागमती । आन्तरिक राजस्व कार्यालय मकवानपुर हेटौँडाले लामो समयदेखि कर नबुझाउने १२२ जना करदातामाथि कारबाही अघि बढाएको छ ।

दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने करदाताको अभिलेख तयार गरेर बैङ्क खाता, आयात निर्यात र सम्पत्ति रोक्काका लागि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको प्रमुख कर अधिकृत युक्तप्रसाद सुवेदीले जानकारी दिए ।

कर नबुझाएका करदाताबाट करिब ६० करोडभन्दा बढी बक्यौता उठाउन बाँकी रहेको सो कार्यालयले जनाएको छ । “पटक–पटक कर बुझाउन मौखिक र पत्राचार गरिए पनि आलटाल गर्ने करदातामाथि कारबाही अघि बढाएका छौँ”, प्रमुख कर अधिकृत सुवेदीले भने, “त्यही भएर हामीले करदाताको बैङ्क खाता, कारोबार, घरजग्गा र आयात निर्यात रोक्काका लागि प्रक्रिया अघि बढाएका छौँ ।” कानुनी प्रक्रिया अघि बढाएपछि केही करदाता कर बुझाउनसमेत आउने गरेको उनको भनाइ थियो ।

यस्तै आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनाको अवधिमा रु चार अर्ब ८७ करोड ५९ लाख राजस्व सङ्कलन गरेको छ ।

यो लक्ष्यको ८२ दशमलव ३२ प्रतिशत सङ्कलन भएको हो । कार्यालय प्रमुख सुवेदीका अनुसार चालु आव २०८१/८२ को नौ महिनाको अवधिमा रु छ अर्ब चार करोड ५४ लाख ३६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा रु चार अर्ब ८७ करोड ५९ लाख छ हजार राजस्व सङ्कलन भएको छ ।

चालु आव २०८१/८२ मा रु आठ अर्ब ४४ करोड राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य रहेको प्रमुख सुवेदीले बताए । कार्यालयमा आयकरतर्फ ३४ हजार २२९, मूल्य अभिवृद्धि तर्फ पाँच हजार ९५३, अन्तशुल्कतर्फ एक हजार ६११, विथहोल्डतर्फ ७१३ र व्यक्तिगत तर्फका ८४ हजार ४२९ करदाता रहेका छन् ।

पछिल्लो समय मुलुकमा आर्थिक कारोबार बढ्नु, बैंक तथा वित्तीय संस्थाबाट ऋण प्रवाहमा सहजता हुनु, कर नीतिमा सुधार हुनु, नियमित बजार अनुगमन, करदाता शिक्षा सञ्चालन तथा बाँकी बक्यौता असुलीमा गरिएको कडाइजस्ता कारणले अघिल्लो आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आवको सो अवधिमा राजस्व सङ्कलनमा वृद्धि भएको प्रमुख सुवेदीको भनाइ छ ।

चितवन निकुञ्ज क्षेत्रमा साहसिकतामा रमाउँदै ‘नेचर गाइड’ महिला

-जमुना वर्षा शर्मा, पोखरा । “अब त यस्तो लाग्न थालिसक्यो, एक दिन जङ्गल नपस्दा र जङ्गली जनावर नदेख्दा केही कुरा बिर्सिएजस्तो, केही कुरा छुटेजस्तो अनि जनावरले आफूलाई पर्खेजस्तो ।” तीन वर्षदेखि चितवन राष्ट्रिय निकुञ्जमा ‘नेचर गाइड’का रूपमा कार्यरत एलिना चौधरीका लागि जङ्गल केवल कार्यक्षेत्र मात्र होइन, आत्मशान्ति र सन्तुष्टिको स्रोतसमेत बनेको छ । उनको दिनचर्या अब स्वदेशी–विदेशी पर्यटकलाई प्रकृति र वन्यजन्तुको अवलोकन गराउँदै बित्छ ।

“असहजता, चुनौती, कठिनाइ यी सबैसँग जुध्दै पर्यटकलाई हाम्रो प्रकृति र वन्यजन्तुको जानकारी दिनु अनि तिनीहरूको अनुहारमा खुसी देख्नुजस्तो आनन्द अरू केमा मिल्ला र ?” एलिना भन्छिन्, “प्रकृतिसँग बिताएको प्रत्येक क्षण अमूल्य हुन्छ, त्यसलाई महसुस गर्न जान्नु नै आनन्द रहेछ ।”

बाल्यकाल जङ्गल छेउमै बितेकाले एलिनाका लागि जङ्गली जनावरसँगको जम्काभेट सामान्य थियो । बिहान चराचुरुङ्गीको गुञ्जन, शीतल हावाको स्पर्श, हरियालीको आनन्द यिनै कुराले उनलाई प्रकृतिप्रति झन् नजिक बनायो । यही लगावले व्यावसायिक रूपमा नेचर गाइड बन्न प्रेरित गर्यो ।

नेचर गाइडको औपचारिक तालिमपछि उनले चितवनको मेघौलीस्थित बाराही जङ्गल लजबाट आफ्नो यात्रा सुरु गरेका थिए । अचेल उनको दैनिकी पर्यटकको तालिकाअनुसार कहिले बोट सफारी गाइड, कहिले जिप सफारी गाइड त कहिले ‘जङ्गल वाक’मा गाइडका रुपमा हुनेगर्छ ।

अलि बढी चुनौतीचाहिँ जङ्गल वाकमा हुन्छ । एलिना भन्छिन् “कतिबेला कुन जङ्गली जनावरसँग जम्काभेट हुने हो, थाहा हुँदैन, डर हुन्छ, तर त्यही डरभित्रको रोमाञ्चकता नै जङ्गल सफारीको सौन्दर्य हो,” उनी प्रकृतिका विविधताको ज्ञानसँगै जङ्गली जनावरसँग जोगिने विशेष कला नेचर गाइडमा हुनुपर्ने बताउँछन् ।

सन् २०१९ मा नेचर गाइडको प्रमाणपत्र प्राप्त गरेकी एलिनाले आत्मविश्वास, साहस, निडरता र ज्ञानलाई आफ्नो सबल पक्ष बनाउँदै आएकी छिन् । वन्यजन्तु संरक्षण, दिगो पर्यटन र महिलाको सशक्तिकरणमा योगदान पु¥याएबापत एलिना अन्तरराष्ट्रिय ‘टफ–टाइगर्स लज न्याचुरलिस्ट अफ दी इयर २०२४’ अवार्ड समेत जित्न सफल भएको थियो । यो उपाधि जित्ने उनी पहिलो नेपाली महिला पनि हुन् ।

एलिनासँग पर्यटकहरूसँग बिताएका कैयौँ सम्झनाहरू छन् । तीमध्ये एक घटना उनको स्मरणमा ताजै छ । “एक महिनाअघि एक नेपाली पर्यटक जङ्गल सफारी गर्न आउनुभएको थियो । यसअघि १२–१५ पटक जङ्गल सफारीमा उहाँले कहिल्यै बाघ देख्ने अवसर मिलेनछ । त्यो दिन संयोगवश, मैले गाइड गरिरहेको बेला उहाँले बाघ देख्नुभयो । उहाँ खुसीसँग एकदम भावुक भएर रुन पो थाल्नुभयो ।” एलिना भन्छिन्, “खै किन हो कुन्नि, मैले सोध्न पनि सकिनँ । सायद, बाघ देख्ने उहाँको वर्षौंको सपना पूरा भएर पो हो कि ।” थुप्रै अनुभवसँग एलिनाको दिनचर्या जङ्गल र नदी किनारमा प्रकृतिसँग साक्षात्कार गर्दै बितेको छ ।

त्यसो त चितवन राष्ट्रिय निकुञ्ज छेउमा घर भएकी २३ वर्षीया सुदीक्षा कुमालको दैनिकी पनि उस्तै छ । स्नातक तेस्रो वर्षमा अध्ययनरत कुमाल बाल्यकालदेखि नै प्रकृति र वन्यजन्तुप्रति रुचि राख्ने उनी आफ्नै दिदीबाट प्रेरणा लिएर नेचर गाइड बन्ने निर्णय गरेको सुनाउँछिन् । “मेरो दिदी पनि यो क्षेत्रमा हुनुहुन्छ । उहाँकै प्रेरणाले मैले पनि नेचर गाइडको तालिम लिएँ । वन्यजन्तु संरक्षण र प्रकृतिसँग नजिक रहेर काम गर्ने अवसर पाएँ ।”

दुई वर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय उनले नेपाली तथा विदेशी पर्यटकलाई चितवन राष्ट्रिय निकुञ्जको जैविक विविधता, वन्यजन्तु संरक्षण र वातावरणीय सन्तुलनका बारेमा जानकारी दिँदै आएका छन् । नेचर गाइडिङ सजिलो यात्रा थिएन । परम्परागत रूपमा पुरुषहरूको वर्चस्व रहेको क्षेत्रमा आफूलाई स्थापित गर्न सामाजिक सोच भत्काएर पर्यटकलाई विश्वस्त बनाउनु थियो ।

“सुरुमा कतिपयले महिलाले यो पेसा गर्न सक्छ भन्ने नै विश्वास गर्दैनथे । चितवन राष्ट्रिय निकुञ्जमा गैँडासहित बाघ, भालुजस्ता वन्यजन्तु पाइन्छन् । पर्यटकलाई जङ्गल सफारीमा लैजानु जोखिमपूर्ण पनि हुन सक्छ,” सुदीक्षा बताउँछिन् । मौसमको प्रतिकूलता, गर्मी वा वर्षामा बाटो हिलाम्य हुनु, कीराहरूको प्रकोपलगायत प्राकृतिक चुनौती पनि उस्तै हुन्छन् ।

वातावरण विज्ञान अध्ययन गरेकी पूर्वचितवनकी सकिना महतो आफू पढाइ अनुसारको पेसामा रमाइरहेको बताउँछिन् । “प्रकृतिप्रेमी र जनावर संरक्षणमा बढी चासो भएकै कारण मैले वातावरण विज्ञान पढेँ र यो क्षेत्रलाई पेसा बनाएर अघि बढेकी छु ।” उनले कठिनाइ भए पनि आत्मसन्तुष्टि मिलेको र नौ महिनादेखि यही पेसामा तल्लीन रहेको बताइन् ।

“सहज त पक्कै छैन यो अलि जोखिम साहसिकताभित्र पर्छ, कुनै समय यो क्षेत्रमा महिला कल्पना गरिँदैनथ्यो तर अहिले महिलाका निडरताका साथ आउन थालेका छन्,” पर्यटकको जङ्गल अनुभवलाई अविस्मरणीय बनाउन आफ्नो ज्ञान, सीप, कौशलतालाई प्रदर्शन गरिरहेको उनको भनाइ छ ।

चितवन योगी टोलकी बिबिएस अध्ययनरत २० वर्षीय प्रभा कुमाल एक वर्षदेखि यो क्षेत्रमा क्रियाशील छिन् । बाल्यकालदेखि नै वन्यजन्तुप्रति रुचिले उनलाई वन्यजन्तुमा आकर्षित ग¥यो । सानैबाट जङ्गल वरिपरि नै जन्मे–हुर्केका कारण वन्यजन्तुसँगको आत्मीयले नै यस क्षेत्रप्रति आकर्षित गरेको उनी बताउँछिन् । “जङ्गल र जङ्गली जनावरसँगको अनुभव त पहिले नै थियो तर व्यावसायिक कलाका लागि नेचर गाइडको विशेष कोर्ष पूरा गरी यो क्षेत्रमा प्रवेश गरेँ, यसले थप ज्ञान र आत्मविश्वास बढायो ।”

पुरुषहरूको वर्चस्व रहेको क्षेत्रमा वन्यजन्तु संरक्षण, साहसिक पर्यटन र महिला सशक्तिकरणको नमूनाका रुपमा महिला नेचर गाइडलाई लिन सकिने बताउँछन्, बाराहीजङ्गल लजका सञ्चालक बिप्लव पौडेल । “सुरुमा यो क्षेत्रमा महिलाहरूको सङ्ख्या निकै कम थियो । अहिले भने महिला नेचर गाइडहरूको सङ्ख्या बढ्दै गएको देख्दा खुसी लाग्छ, उनीहरूको आत्मविश्वास, दक्षता र मेहनत प्रशंसनीय छ ।”

नेचर गाइड महिलाहरुको उपस्थितिले स्थानीय समुदायमा महिला सशक्तीकरणको सन्देश प्रवाह गर्न सहयोगी बनेको पौडेल भन्छन्, “हामीले बाराही जङ्गल लजबाट महिला गाइडहरूलाई प्रवद्र्धन गर्दै आएका छौँ, महिला ज्ञान, सीप र क्षमताका आधारमा अवसर पनि दिँदै आएका छौँ ।” उनीहरूको सीप विकास, तालिम र अवसरको सुनिश्चिततामा सरोकारवालाले अझ ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ ।

फोटो, भिडियोमार्फत पर्यटन प्रवद्र्धनमा सक्रिय फोटो पत्रकार सङ्घ कास्कीका अध्यक्ष राम गुरुङले ‘फोटो वाक एट मेघौली यात्रा’ मा नेचर गाइड महिलाले पर्यटकलाई गाइडिङ गरिरहेका दृश्य निकै गर्विलो लागेको बताए ।

उक्त यात्राको अनुभव बाँड्दै गुरुङले भने, “केही वर्षअघि मात्रै जङ्गल सफारी, बोट सफारी जस्ता साहसिक गतिविधिमा पुरुष गाइड नै प्रमुख रुपमा देखिन्थे तर अहिले त्यो ठाउँमा महिला नेचर गाइड देखिनु निकै राम्रो र सकारात्मक पक्ष हो ।”

गुरुङले भने, “वन्यजन्तु, जैविक विविधता, स्थानीय संस्कृतिलगायतका ज्ञानसँगै यस क्षेत्रमा महिला सहभागिताले पर्यटन व्यवसायमा मात्र होइन, समाजमा पनि सकारात्मक सन्देश प्रवाह भएको छ । महिलालाई हेर्ने दृष्टिकोण पनि बदलिँदै गएको छ ।”

वन, वन्यजन्तु र वातावरण संरक्षणका क्षेत्रमा क्रियाशील राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको जैविक विविधता संरक्षण केन्द्रले नेचर गाइड तालिम सञ्चालन गर्दै आएको छ । जैविक विविधता संरक्षण केन्द्र, सौराहाका वरिष्ठ रेन्जर ऋषि सुवेदीले पर्याप्त ज्ञान, आत्मविश्वास र लगावका साथ नेचर गाइड महिला यस क्षेत्र प्रवेश गरेको बताए ।

“कुनै समय शून्य सहभागिता हुने नेचर गाइड तालिममा अहिले महिलाको गर्विलो सहभागिता हुँदै व्यावसायिकतमा दक्ष जनशक्तिका रुपमा देख्न पाएका छौँ । यो खुसीको कुरा हो, उनीहरुलाई अब आवश्यक तालिम दिएर थप चुनौतीको सामाना गर्न सक्ने बताउनुपर्छ ।”

उनका अनुसार, विक्रम संवत् २०४६/४७ देखि औपचारिक रूपमा सञ्चालनमा आएको नेचर गाइड तालिम सुरुमा विदेशी स्वयंसेवीहरूद्वारा प्रदान गरिन्थ्यो । जब निकुञ्ज नियमावलीमा ‘तालिम प्राप्त नेचर गाइडले मात्र पर्यटक घुमाउन पाउने’ व्यवस्था गरियो, त्यसपछि कोषले १५ दिने पाठ्यक्रम तयार गरी वातावरण मन्त्रालयबाट स्वीकृति लिएर तालिम दिन थाल्यो । तालिम प्राप्त नेचर गाइडबाट जङ्गल क्षेत्रभित्र हुने वन्यजन्तु चोरी–निकासीलगायतका अन्य कुराको पनि सूचना आउने भएकाले वन तथा वन्यजन्तु संरक्षणमा पनि नेचर गाइड भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ ।

तालिममा सहभागी हुन कम्तीमा एसइई उत्तीर्ण गर्नुपर्ने हुन्छ । स्थानीय तथा मध्यवर्ती क्षेत्रका व्यक्तिहरूलाई प्राथमिकता दिइन्छ । तालिमपछि लिखित तथा अन्तर्वार्ता परीक्षामा कम्तीमा ६० प्रतिशत अङ्क ल्याउनुपर्ने हुन्छ । उक्त मापदण्ड पूरा गरेपछि मात्र नेचर गाइडका लागि योग्य मानिन्छ । तालिम कोषले आफ्नै स्रोत र साधन प्रयोग गरेर सञ्चालन गर्दै आएको हो । विभिन्न सरोकारवाला संस्थाहरूले पनि समय–समयमा तालिमको माग गर्ने गरेका छन् ।

हालसम्म एक हजार ६०० देखि एक हजार ७०० जनाले तालिम लिइसकेका छन् । महिलाको सङ्ख्या १० देखि १५ प्रतिशतको हाराहारीमा छ । नेचर गाइडले मासिक ३० हजारदेखि ५० हजारसम्म आम्दानी गरिरहेका छन् । पर्यटकलाई पूर्ण दिनको गाइडिङ गरेबापत रु एक हजार ५०० देखि दुई हजारसम्म पारिश्रमिक प्राप्त हुन्छ भने आधा दिनको ८०० देखि एक हजारसम्म हुने गर्दछ । भारतलगायत अन्य देशमा समेत यहाँबाट तालिम लिएका गाइडले रोजगारी पाएका उदाहरणहरू रहेको सुवेदीले बताए ।

थ्री सिस्टर एड्भेन्चर ट्रेकिङ एन्ड महिला सशक्तिकरण नेपालकी संस्थापक लक्की कार्की परम्परागत रूपमा पुरुषहरूको वर्चस्वमा सीमित पेसामा महिलाले त्यो सीमालाई तोड्दै अगाडि बढ्नु महिला सशक्तिकरणको नमूना भएको बताउँछिन् ।

“महिला नेचर गाइडहरू आफ्नो पेसा मात्र निर्वाह गरिरहेका छैनन्, उनीहरूले स्थानीय समुदायमा सकारात्मक परिवर्तन ल्याउने प्रेरणादायी शक्ति बनेका छन् । फरक क्षेत्रमा पनि महिला अब्बल छन् भन्ने उदाहरण बनेका छन्,” कार्की भन्छिन्, “पहिले महिलालाई संरक्षणको विषय बनाइन्थ्यो, आज उनीहरू संरक्षणका संवाहक बनेका छन्, हिजो सीमित भूमिका दिइन्थ्यो, आज नेतृत्वदायी र चुनौतीपूर्ण भूमिकामा देखापरिरहेका छन् ।” कार्कीले महिला गाइडहरूको आत्मविश्वास, अनुभव, ज्ञान सीप, लगाव समझदारीले नेपालको पर्यटनलाई अझ सुरक्षित, समावेशी र आत्मीय बनाउन भूमिका खेलेको बताइन् । 

महाशिलाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

पर्वत । पर्वतको महाशिला गाउँपालिकाले पालिकाभित्रका सबै जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको छ।

आइतबार सम्पन्न कार्यपालिका बैठकले सरकारी कर्मचारी एवं जनप्रतिनिधिले अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेको हो।

जनताको मत लिएर निर्वाचन जितेका जनप्रतिनिधि, कर्मचारी र स्वयं शिक्षकले नै निजी विद्यालयमा बालबालिका पढाउँदा सामुदायिक विद्यालयको गुणस्तर सुधार हुन नसक्ने भएकाले यस्तो निर्णय गरिएको महाशिला गाउँपालिकाका अध्यक्ष इश्वरीप्रसाद भुसालले बताए।

गाउँपालिकाले पालिकाभित्रका सबै कर्मचारी, जनप्रतिनिधि र शिक्षकका बालबालिकाको तथ्याङ्कसमेत सङ्कलन गरिसकेको छ। सोही तथ्याङ्कको आधारमा यस्तो निर्णय गरिएको हो।

यदि सामुदायिक विद्यालयमा पढाउँदिन, निजी विद्यालयमै पढाउँछु भन्ने जनप्रतिनिधि, कर्मचारी र शिक्षकका लागि पालिकाले नयाँ सुविधासमेत दिएको छ। जनप्रतिनिधिलाई राजीनामा दिएर बस्न र कर्मचारी वा शिक्षकलाई सरूवा भएर अन्यत्र जाने सुविधा दिएको अध्यक्ष भुसालले बताए।

‘म निजी विद्यालयमै पढाउँछु, कुनै पनि अवस्थामा सामुदायिक विद्यालयमा पढाउँदिन भन्ने जनप्रतिनिधिले राजीनामा दिए हुन्छ’, उनले भने, ‘शिक्षक र कर्मचारी सरूवा भए हुन्छ।’ यसो गर्दा जनप्रतिनिधिले बुझ्ने तलब सुविधा राज्यलाई फाइदा हुने र शिक्षक कर्मचारी सरूवा भएमा अर्कोले अवसर पाउने भएकाले निर्णय कार्यान्वयन गर्न सहज हुने उनको भनाइ छ।

पछिल्लो समय नेपाल शिक्षक महासङ्घले पनि शिक्षक, कर्मचारी र राज्यको वेतनवाला सबैले सामुदायिक विद्यालयमै बालबच्चा पढाउनुपर्ने माग राखेको अवस्थामा महाशिलाको कार्यपालिकाले गरेको निर्णय कार्यान्वयमा थप सहजता हुने अध्यक्ष भुसालले बताए।

पर्वतको महाशिला गाउँपालिका निजी विद्यालय नै नभएको पालिकासमेत हो। यहाँका सामुदायिक विद्यालयको गुणस्तर सुधार हुँदै गएपछि गाउँपालिकामा रहेका निजी विद्यालय विस्थापित भएका हुन्। यहाँका कर्मचारी, शिक्षक र जनप्रतिनिधिले कुश्मा, पोखरा, स्याङ्जालगायत बजारमा लगेर बालबालिका पढाइरहेका छन्।

निजी विद्यालय नहुने जिल्लाका सात गाउँपालिकामध्ये एकमात्र महाशिला हो। अन्य छ वटा पालिकामा निजी विद्यालय सञ्चालनमा रहेका छन्। गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएसँगै सामुदायिक विद्यालयको गुणस्तरमा सुधार आएपछि गाउँपालिकाका विभिन्न वडामा सञ्चालित निजी विद्यालय बन्द भएका हुन्।

वर्षदेखिनै सामुदायिक विद्यालयमा पढाउने अभियान सञ्चालन गर्ने तयारी भए पनि तथ्याङ्क सङ्कलन नभएकाले यस वर्षदेखि लागू गरिएको हो। अहिले विद्यालय भर्ना हुने समय रहेकाले यही बेला कार्यपालिकाले निर्णय गरेको र तत्काल कार्यान्वयनमा समेत जाने अध्यक्ष भुसालको भनाइ छ। पालिकाभरिमा एक सयभन्दा बढी बालबालिका शिक्षक, कर्मचारी र जनप्रतिनिधिका बालबच्चा रहेका छन्। उनीहरू अहिले निजी विद्यालयमा पढिरहेको तथ्याङ्क पालिकासँग छ।

हुनेखानेका बालबालिका गुणस्तरीय शिक्षाको नाममा बजार जाने र गाउँमा रहेका विपन्न तथा मध्यम परिवारका बालबालिकासमेत लामो समय विद्यालयमा नटिक्ने समस्या भएपछि गाउँपालिकाले सामुदायिक विद्यालयबाटनै निजी विद्यालय सरहको शिक्षा दिन थालेको छ।

महाशिलाका सबै सामुदायिक विद्यालयमा कक्षा नर्सरीदेखि १० सम्मनै अङ्ग्रेजी माध्यममा पढाइ सञ्चालन भइरहेको छ। ‘बोर्डिङ स्कुलले दिने शिक्षा सामुदायिकबाट नै दिनसकेका छौँ’, भुसालले भने, ‘सहरबजारमा पढाएकाले पनि आफ्ना बालबालिकालाई अब गाउँमै बोलाउनुपर्छ। अन्यथा पालिकाको सेवा सुविधावाट बञ्चित गरिने उनको भनाइ छ।

मोबाइल लुटपाटमा संलग्न गिरोह पक्राउ

काठमाडौं । प्रहरीले ट्याक्सी चालकहरूको मोबाइल लुटपाटमा संलग्न गिरोहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गिरोहलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–१ घर भएका काठमाडौं जडीबुटी बस्ने १८ वर्षीय शिखरजङ थापा भनिने नवराज सुनुवार, धनुषाको तारापटी सिर्सिया गाउँपालिका–६ घर भई काठमाडौंको बूढानीलकण्ठ बस्ने १८ वर्षका राजनिष्ट यादव र रौतहटको गरुडा नगरपालिका–२ घर भई कपन बस्ने २७ वर्षीय सुरेश ठाकुर छन् ।

उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको परिसरले जनाएको छ । यो गिरोहले वैशाख ५ गते अपरान्ह ४ बजेरित बसुन्धारामा चितवन घर भएका प्रेम तामाङको बा २ ज ३४५८ नम्बरको ट्यास्की रोक्दै ठमेल जान भनेर सोधखोज गरेका थिए । त्यसपछि फोन गरौं भन्दै ट्यास्की चालकको मोबाइल लिएर फरार भएका प्रहरीले जनाएको छ ।

त्यसअघि यो गिरोहले चैत १७ गते राति ८ बजेतिर धुम्बराही पिपलबोटबाट बा २ ज ९६७१ नम्बरको ट्याक्सी चालक कुलबहादुर राउतको मोबाइल लुटेको खुलेको छ । त्यस्तै १९ चैतमा राति ८ बजेतिर धुम्बराही पिपलबोटबाटै बा २ ज ६४८० नम्बरको ट्याक्सीका चालक राजकुमार तामाङको मोबाइल लुटेर फरार भएका थिए ।

संवादबाट शिक्षकका मागको ‘प्याकेज’मै निकास खोजिँदै

प्रकाश सिलवाल, काठमाडौं । २१ दिनदेखि काठमाडौँकेन्द्रित सडक आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घका जायज र सम्भव हुने माग पूरा गर्न सरकार र संसद्ले पहल गरिरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सभामुुख देवराज घिमिरेले नेपाल शिक्षक महासङ्घका पदाधिकारीसँग यही वैशाख ५ गते बेग्लाबेग्लै भेट गरी शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा छलफल गरेका थिए ।

निकासकै सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेल, नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि आ–आफ्नोतर्फबाट पहल गरिरहेका छन् ।

उच्चस्तरीय राजनीतिक पहलसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र महासङ्घबीच अनौचारिक तहमा कुराकानी भइरहेको छ । ती कुुराकानीका आधामा मन्त्रालयले सरकारका तर्फबाट तत्काल सम्बोधन गर्न सकिने शिक्षकहरुको मर्यादाक्रम निर्धारण र सरकारी अस्पतालमा उपचारलगायत विषयमा मन्त्रिपरिषद्मा प्रस्ताव लगेर निर्णय गराउने तयारी गरेको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले विद्यालय शिक्षा विधेयक, २०८१ ले नसमेटेका व्यावहारिक र न्यायिक मागलाई पारस्परिक संवादका आधारमा प्याकेजमा सम्बोधन गर्नेगरी तयारी भइरहेको जानकारी दिए । उनले राजनीतिक र प्रशासनिक रुपमा एकैसाथ शिक्षकहरुका माग र मुद्दाका बारेमा सुनुुवाइसहित सम्बोधनमा गरिने बताए ।

विगतका सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित हुनुुपर्नेलगायत माग राखेर महासङ्घको आह्वानमा यही चैत २० गतेदेखि शिक्षकहरुले काठमाडौँकेन्द्रित आन्दोलन जारी राखेका छन् । प्रधानमन्त्री ओलीले आन्दोलनमा उठाइएका जायज मागका सम्बन्धमा गृहकार्य गरी वार्ता र संवादबाट समस्याको समाधान गर्न गत चैत २५ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र शिक्षा मन्त्रालका उच्चाधिकारीसहितलाई निर्देशन दिएका थिए ।

ती भेटवार्तापछिका हरेक दिन सडकमै आई नयाँ शिक्षा ऐन मागका पक्षमा आवाज उठाइरहेको महासङ्घले आन्दोलनका कार्यक्रम अवधिलाई छोट्याउँदै आएको छ । यसै सन्दर्भमा महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अनौपचारिक कुराकानी भए पनि ठोस उपलब्धि हासिल नभएकाले अझै केही दिन आन्दोलन गर्नुुपर्ने स्थिति रहेको बताए ।

उनले आन्दोलनका क्रममा शिष्ट र मर्यादित हुन शिक्षकहरुलाई आह्वान पनि गरेका छन् । नयाँ शैक्षिकसत्र आरम्भ भइसकेको अवस्थामा भर्ना प्रक्रियासहित पठनपाठन सञ्चालनका लागि स्थानीय तहहरुले सार्वजनिक आग्रह पनि गर्न थालेका छन् ।

लगातारको आन्दोलनका कारण शिक्षकहरु थकित हुन थालेका छन् भने बबरमहल र नयाँ बानेश्वर क्षेत्रका सवारी आवागमनमा असुविधा हुँदै आएको छ । मन्त्रिपरिषद्को यही वैशाख २ गतेको बैठकले सङ्घीय संसद्मा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्ने समेतका प्रयोजनका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गरेको छ ।

सरकारका तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने प्रतिबद्धतासहित सो प्रयोजनका लागि यही वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे सङ्घीय संसद् बैठकको आह्वान गर्ने निर्णय भएको छ । संसदीय समितिमा विचाराधीन रहेको विधेयकलाई यही वैशाखको तेस्रो सातासम्म संसद्को बैठकमा प्रस्तुत गर्न विधायकी पहल भइरहेको छ ।

मन्त्रिपरिषद्को सोही बैठकले महासङ्घले उठाएका मागहरुको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेकाले विद्यालय भर्ना अभियान, एसइईको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षालाई ध्यान दिएर आन्दोलन फिर्ता गरी विद्यालय फर्कन शिक्षकहरुलाई आह्वान गरेको थियो ।

सरकार र तत्कालीन आन्दोलनरत संयुक्त राहत शिक्षक संयुक्त आन्दोलन परिचालन समितिबीच २०८० असोज ५ र १२ गते विभिन्न सहमति भएको थियो । तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको उपस्थितिमा नेपाल शिक्षक महासङ्घका तत्कालीन अध्यक्ष कमला तुलाधर र राहत शिक्षक सङ्घर्ष समितिका अध्यक्ष खेमराज अधिकारीलगायतसँग भएको वार्तामा सो सहमति भएको थियो ।

सहमतिबमोजिम प्रतिनिधिसभामा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा कार्यरत राहत दरबन्दीमा रहेकाको हकमा शिक्षक स्थायी पदपूर्ति प्रक्रियामा उमेर हद नलाग्ने, शत्प्रतिशत आन्तरिक प्रतिस्पर्धा गर्न र सेवा अवधि पनि शत्प्रतिशत जोड्न संशोधन प्रस्ताव गर्ने उल्लेख थियो । यसैगरी साबिक उच्चमाविका शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा र बाल विकासका शिक्षकलाई दरबन्दी कायम गर्ने पनि सहमति भएको थियो ।

तर, यसबीचमा विशेषगरी शिक्षा सङ्कायअन्तर्गतका विभिन्न क्याम्पस तथा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी एवं भर्खरै अध्ययन पूरा गरेको युवा, अभिभावक सङ्घसंस्था, विद्यार्थी सङ्घसङ्गठन, नागरिक समाज, स्थानीय निकाय र मुलुकको आर्थिक स्रोतसाधनसहित नीतिगत एवं व्यावहारिक पक्ष पनि केही हदसम्म शिक्षकका माग पूरा गर्न बाधक बनेको देखिन्छ ।

विभिन्न बाधाअवरोधका बाबजुद पनि यसअघि भएका सहमति र सम्झौता कार्यान्वयन गरी ‘गुरु’हरूको माग सम्बोधन गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता सरकारका तर्फबाट व्यक्त गरी सोही अनुसार शिक्षक महासङ्घका प्रतिनिधिहरूसँग नियमित छलफल तथा भेटघाट भइरहेका सुखद समाचार पनि आइरहेका छन् ।

संसद्को अधिवेशन सुरु हुन लागेको, शिक्षकहरू मागका सन्दर्भमा सम्बद्ध विभिन्न मन्त्रालयहरूका बीच चरणबद्ध छलफल भइरहेको, शिक्षक महासङ्घका पदाधिकारीहरूसँगको भेटवार्ता सकारात्मक भएको अवस्थालाई समेत दृष्टिगत गर्दा अब छिट्टै माग सम्बोधन भई शिक्षाको दियो बाली गाउँ, समाज र देशलाई अग्रगतिमा लैजाने गुरुहरू नियमित कामकाजमा फर्कनुहुने विश्वास गर्न सकिन्छ ।

‘राजस्व बढ्ने आधार छैन, रुग्ण आयोजनाका बजेट व्यापक कटौती गर्नुपर्छ’

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि स्रोतको अभाव हुनसक्ने भएकाले रुग्ण र समस्याग्रस्त आयोजनामा व्यापक कटौती गर्नुपर्ने सुझावसहितको प्रतिवेदन राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई बुझाएको छ ।

आयोगले आइतबार आगामी आर्थिक वर्षको बजेट तर्जुमा सम्बन्धमा नीतिगत तथा कार्यक्रमगत छलफलसम्बन्धी प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाउँदै अनिवार्य दायित्वका क्षेत्रमै स्रोतको चाप देखिनसक्ने भएकाले रुग्ण आयोजनामा बजेट कटौतीका लागि सुझाव दिएको हो ।

“राजस्व परिचालनमा आगामी आर्थिक वर्षमा पनि उल्लेख्य सुधार हुने सम्भावना कम रहेको छ । वैदेशिक अनुदान प्राप्ति विगत केही वर्षदेखि न्यून हुँदै गएको र वैदेशिक ऋण प्राप्ति पनि प्रतिबद्धताअनुसार परिचालन हुन नसकेको स्थिति छ”, आयोगले बुझाएको प्रतिवेदनमा भनिएको छ, “यसरी समग्र स्रोतको सीमा न्यून हुन गएकाले सोको समुचित व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।”

राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्षका लागि रु १९ खर्ब ६५ करोडको स्रोत अनुमान गरेर सोही सीमाभित्र बजेट ल्याउन सरकारलाई सिफारिस गरिसकेको छ । बजेटमा चालुगत र अनिवार्य दायित्वको हिस्सा क्रमशः बढ्दो देखिन्छ । सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानी, कर्मचारीको तलबभत्ता, सामाजिक सुरक्षालगायत क्षेत्रमा हुने खर्चको भार चर्को हुँदै गएका कारण पनि विकास आयोजनामा खर्च कटौतीको स्थिति बनेको हो ।

“सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीको दायित्व वृद्धि हुँदै गएको छ । आगामी आर्थिक वर्षका लागि चार खर्बभन्दा अधिक रकम भुक्तानी गर्नुपर्ने दायित्व रहेको छ”, आयोगको प्रतिवेदनमा भनिएको छ, “अनिवार्य दायित्वअन्तर्गत कर्मचारी सुविधा, निवृत्तिभरण तथा उपदानलगायत शीर्षकमा खर्च परिमाण वृद्धि हुने भएकाले थप स्रोत आवश्यक पर्ने देखिएको छ ।”

त्यस्तै, जाजरकोट भूकम्प र गत असोज महिनामा गएको बाढी पछिको पुनर्निर्माण सामाजिक सुरक्षा, स्वास्थ्य बीमालगायत शीर्षकमा थप स्रोत परिचालन गर्नुपर्ने अवस्था रहेको छ ।

विषयगत मन्त्रालय र निकायहरूबाट विगतमा सिर्जित दायित्वको भुक्तानीलाई प्राथमिकता दिँदा अन्य क्षेत्रमा परिचालन गर्नुपर्ने स्रोतमा न्यूनता हुने आयोगको निष्कर्ष छ । जसकारण रुग्ण आयोजनाको खर्च कटौतीको विकल्प नरहेको आयोगको ठम्याइ छ ।

“न्यून पुँजीगत खर्च भएका अर्थात् अपेक्षित खर्च हुन नसकेका कार्यक्रमको बजेटको अंश उल्लेख्य मात्रामा कटौती गर्नुपर्ने अवस्था रहेको छ । रुग्ण तथा अधुरा आयोजनाहरूको विश्लेषणका आधारमा कार्यान्वयन गर्नैपर्ने अवस्थाका आयोजनालाई मात्र बजेट विनियोजन गर्नुपर्ने, केहीलाई स्थगन गर्नुपर्ने र केहीको खारेजी गर्नुपर्ने अवस्था रहेको छ”, आयोगको प्रतिवेदनमा भनिएको छ ।

राजस्व परिचालनको अनुपातमा प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणलाई पुनरावलोकन गर्नुपर्ने सुझाव पनि आयोगले दिएको छ । त्यस्तै, वैदेशिक सहायताबाट सञ्चालन हुने आयोजनाका लागि नेपाल सरकारका तर्फबाट व्यहोर्नुपर्ने अंश (काउन्टर पार्ट फन्ड) का लागि अनिवार्य व्यवस्था गरेर मात्र अन्य खर्च शीर्षकमा बजेट विनियोजन गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटले विभिन्न नीतिगत सुधार गर्नुपर्ने आवश्यकता पनि आयोगले औँल्याएको छ । “आगामी आर्थिक वर्षमा गर्नुपर्ने नीतिगत सुधार, नयाँ तथा नवप्रवर्तनकारी नीति तथा कार्यक्रम वा विद्यमान नीति तथा कार्यक्रममा पुनरावलोकन गर्नुपर्ने भएमा सो बमोजिम प्रस्ताव भए/नभएको विषयलाई महत्त्वका साथ हेरिनुपर्दछ”, आयोगले भनेको छ ।

त्यस्तै विभिन्न मन्त्रालय वा निकायबाट बजेटमा प्रस्ताव गरिएका आयोजना वा कार्यक्रमको दीर्घकालीन सोचका राष्ट्रिय लक्ष्य, आवधिक योजनाका उद्देश्य, रूपान्तरणकारी रणनीति, प्रमुख कार्यक्रम र नतिजा खाकासँगको तादात्म्यता मिलाउन सुझाव दिइएको छ ।

“सीमित वित्तीय स्रोत तथा जनशक्तिबाट मन्त्रालय र निकायगत रूपमा बढ्दो माग आवश्यकता पूरा गर्नु चुनौतीपूर्ण रहेको छ । खर्च आवश्यकताको सही अनुमान तथा आयोजनाहरूको प्राथमिकीकरण एवम् पुनः प्राथमिकीकरण गर्नु अत्यावश्यक रहेको र यसका लागि राजनीतिक तहको प्रतिबद्धता आवश्यक पर्ने देखिन्छ”, प्रतिवेदनमा भनिएको छ । आपसी समन्वयात्मक र सहयोगात्मक सम्बन्ध रहेका कार्यक्रम तथा आयोजनाबाट अतिरिक्त लाभ प्राप्त हुने र विरोधाभाष न्यून हुने गरी विनियोजनका लागि प्रस्ताव हुनुपर्ने आयोगको सुझाव छ ।

बजेट विनियोजनमा कुशलता नदेखिएको भनेर बारम्बार प्रश्न उठ्ने गरेका छन् । अधिकांश निकायको विनियोजित बजेट खर्च नहुने तर अनिवार्य दायित्व भुक्तानिका लागिसमेत बजेट प्रस्ताव नगर्दा मन्त्रालयहरूले आर्थिक वर्षको सुरूमै रकमान्तर तथा स्रोतान्तरका लागि माग गर्ने गरेका छन् । त्यस्तै, पूर्वतयारी नै नभएका आयोजनाका लागि बजेट माग हुने तर खर्च गर्न सक्ने क्षमता भएका आयोजनाका लागि ज्यादै न्यून बजेट माग हुने गरेको स्थितिसमेत अहिले छ ।

तीन तहका सरकारबीच विकास आयोजनाको स्वामित्वमा समस्या देखिएको पनि प्रतिवेदनमा औँल्याइएको छ । “प्रदेश तथा स्थानीय तहमा कतिपय आयोजना हस्तान्तरण भएसँगै बेवारिसे भएको एवम् प्रदेश तथा स्थानीय तहबाट सञ्चालन हुनुपर्ने स–साना आयोजनासमेत केन्द्रबाट सम्पादन गर्नुपर्दा उपलब्ध स्रोत साधनको विनियोजन कुशलता र उपलब्धिसमेत न्यून हुन सक्ने देखिएको छ”, प्रतिवेदनमा भनिएको छ ।

अमेरिकी उपराष्ट्रपति नयाँदिल्लीमा

नयाँदिल्ली । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स भारत भ्रमणको क्रममा नयाँ दिल्ली आइपुगेका छन् ।

इटालीको भ्रमण पुरा गरी उनी भारत भ्रमणमा आएका हुन् । उपराष्ट्रपतिले दुवै देशका नेताहरूसँग साझा आर्थिक र भूराजनीतिक प्राथमिकताहरूबारे छलफल गर्नेछन् ।

भारत भ्रमणका क्रममा उपराष्ट्रपति भान्सले सुरुमा नयाँ दिल्ली, जयपुर र आग्राको भ्रमण गर्नेछन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने छन् । त्यस्तै उपराष्ट्रपति र उनको परिवारले सांस्कृतिक स्थलहरूमा हुने कार्यक्रमहरूमा पनि भाग लिनेछन् ।

उपराष्ट्रपति भान्सकी श्रीमती उषाका आमाबाबु, कृष चिलुकुरी र लक्ष्मी चिलुकुरी, १९७० को दशकको अन्त्यतिर भारतबाट संयुक्त राज्य अमेरिका सरेका थिए ।

उषा पेशाले एक वकिल हुन् र उनले अमेरिकी सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन जी. रोबट्र्स र कोलम्बिया जिल्ला सर्किटका लागि अमेरिकी पुनरावेदन अदालतका न्यायाधीश ब्रेट काभानोको लागि पनि काम गरेकी छिन् ।

इस्टर युद्धविरामपछि रुसले पुनः हवाई आक्रमण सुरु गरेको युक्रेनको भनाई

किएभ । मस्को र किएभले एकअर्कामाथि इस्टर युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएपछि रुसले पूर्वी र दक्षिणी युक्रेनमा हवाई आक्रमण पुनः सुरु गरेको युक्रेनका क्षेत्रीय अधिकारीहरूले सोमबार बताएका छन् ।

“रुसी सेनाले यस क्षेत्रमा ड्रोन प्रक्षेपण गरेको छ”, ड्निप्रोपेट्रोभस्कका क्षेत्रीय गभर्नर सेर्गी लिसाकले टेलिग्राममा भने ।

उनले एक घर क्षतिग्रस्त भएको र खाद्य प्रतिष्ठानमा आगलागी भएको तर कोही घाइते भएको खबर नभएको जानकारी दिए ।

युक्रेनको दक्षिणी माइकोलाइभ क्षेत्रका गभर्नर भिटाली किमले त्यहाँ पनि रुसी हवाई आक्रमण पुनः सुरु भएको बताए ।

“अप्रिल २१ को बिहान स्थानीय समयानुसार लगभग ४ः५७ बजे दुश्मनले मिसाइलले सहरमा आक्रमण गर्यो, प्रकार निर्धारण भइरहेको छ । कुनै हताहत वा क्षति भएको छैन”, उनले लेखेका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आइतबार रुसमाथि इस्टर युद्धविरामको दुई हजारभन्दा बढी उल्लङ्घन गरेको आरोप लगाए । यद्यपि उनले युक्रेनभरि कुनै हवाई हमलाको चेतावनी नभएको र हवाई आक्रमणमा विरामलाई विस्तार गर्ने प्रस्ताव गरेको बताए ।

‘कम्तीमा ३० दिनको अवधिका लागि नागरिक पूर्वाधारमा लामो दूरीको ड्रोन र मिसाइल प्रयोग गरेर कुनै पनि आक्रमण रोक्न’ प्रस्ताव गर्दै उनले भने, “आज कुनै हवाई आक्रमण चेतावनी दिइएको छैन ।”

आउँदो मनसुन अनि सम्भावित महामारीको जोखिम

-डा. शेरबहादुर पुन

‘यो वर्ष कुन सङ्क्रमण प्रकोप/महामारीका रुपमा देखिएला ?’ यो प्रश्नको तत्काल सटिक उत्तर त नहोला तर विगतको अनुभव अनि कमजोरीबाट भने सम्भावित सङ्क्रमण महामारीको अनुमान गर्न भने सकिन्छ । नेपालले बर्सेनि विशेषतः मनसुनको समयमा कुनै न कुनै प्रकोपको सामना गर्दै आइरहेको इतिहास छ । यसमा बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपले थप समस्या दिएको देखिन्छ । एक दशकअगाडिसम्म पानीजन्य सङ्क्रमणको महामारी बढी देखिने गर्दथ्यो भने पछिल्ला केही वर्षयता तुलनात्मक रुपमा कीटजन्य रोगले तीव्र गति लिइरहेको देखिन्छ । यद्यपि पानीजन्य सङ्क्रमणको जोखिमपूर्ण रुपमा नियन्त्रणमा आइसकेको भन्न खोजिएको भने होइन । अब चाँडो नेपालमा मनसुनको प्रवेश हुँदै गर्दा मौसमी महामारीको जोखिम पनि बढ्दै गइरहेको छ । विगतका अनुभवहरुका आधारमा सम्भावित महामारीको विश्लेषण यहाँ गर्न खोजिएको हो ।  

डेङ्गु

केही दिनअगाडि समकक्षीहरुसँग बसिरहेको बेला लामखुट्टे अघिपछि गरिरहेको थियो । मनसुन भित्रिसकेको त छैन तर लामखुट्टे सक्रिय हुनु केही अस्वाभाविक तर बढी चिन्ताको विषय भने पक्कै मान्नु पर्दछ । स्मरण रहोस्, सन् २०१९ मा धरानमा डेङ्गु अचानक फैलँदा नेपालमा मनसुन प्रवेश गरिसकेको अवस्था थिएन । अर्थात् त्यो बेला बेमौसमी झरी पर्दा लामखुट्टेको अस्वाभाविक वृद्धि अनि एकपछि अर्काे जिल्ला हुँदै डेङ्गु अन्तत्वोगत्वा काठमाडौँसम्म आइपुग्दा काठमाडौँवासीले पहिलोपटक डेङ्गुको ठूलो चुनौतीको सामना गर्नु परेको थियो । आधिकारिक तथ्याङ्कलाई हेर्ने हो भने हाल केही वर्षयता लगभग १२ महिनाजसो डेङ्गु देखिन थालेको छ  । ठूलो र लामो महामारीको रुप लिने हो भने मनसुन सुरु भएदेखि नै डेङ्गु फैलन थाल्ने गरेको अनि कुनै निश्चित ठाउँमा प्रकोपको रुप लिँदा भने ‘पोष्ट मनसुन’ अर्थात् दसैँ–तिहार पछि डेङ्गु देखिने गरेको लेखकको अनुभव छ । सन् २०२२ मा डेङ्गुले काठमाडौँमा विनाशकारी महामारी निम्त्याएको थियो । यो सन् २०१९ पछि तीन वर्षको अन्तरालमा देखिएको सबैभन्दा ठूलो महामारी थियो । नेपालको तथ्याङ्कलाई हेर्ने हो भने दुईदेखि तीन वर्षको अन्तरालमा डेङ्गुले प्रकोप÷महामारीको स्वरुप लिने गरेको छ । प्रत्येक महामारीसँगै भाइरसको सङ्क्रामकता, आक्रमकता र जटिलता पनि बढ्दै गएको देखिन्छ । यसर्थ पनि अब काठमाडौँमा डेङ्गुले कुनै पनि समयमा नयाँ महामारीको लहर निम्त्याउन सक्ने प्रबल सम्भावनालाई नकार्न सकिँदैन । र, त्यो विगतको भन्दा अझ बृहत् नहोला भन्न सकिँदैन । तर, दुर्भाग्य नै भन्नुपर्छ कि हामीले अझ पनि डेङ्गु रोक्ने उपायहरुलाई गम्भीरताका साथ लिने वा नियन्त्रणका लागि पर्याप्त प्रयास गरेको भने देखिँदैन ।

स्क्रब टाइफस 

यो रोग ‘ओरिएनटा सुसुगामुसी’ नामक ब्याक्टेरियाका कारणले हुने गर्दछ । यो चिगर माइट नामक किर्नाको टोकाइका कारणबाट हुने कीटजन्य रोग हो । सन् २०१५ मा केही बालबालिकाको मृत्यु स्क्रब टाइफसले भएको प्रमाणित भएपछि यसले नेपालमा विशेष चर्चा पाएको हो । कतिपयले २०७२ सालको भूकम्पले गर्दा यो रोग फैलिएको/देखिएको भने तापनि यो ब्याक्टेरिया दुई दशकअगाडि नै नेपालमा देखिइसकेको अध्ययन–अनुसन्धानहरुले देखाएका छन् । तर, धरान घटनाअगाडिसम्म स्क्रब टाइफस नियमित परीक्षणमा समावेश नहुने हुँदा यसको अवस्थाका बारेमा सन् २०१५ अगाडि अनभिज्ञ नै देखिन्छ । नेपालमा बर्सेनि विशेष गरेर मनसुन ‘सिजन’मा स्क्रब टाइफसको सक्रियता बढी देखिने गरेको अस्पताल तथ्याङ्कहरुले देखाउँछन् । केहीको उपचारमा ढिलाइ हुँदा वा उपचारका क्रममा मृत्युसमेत हुने गरेको देखिन्छ । विशेषतः गाउँघरतिर अथवा वनजङ्गल जाँदा (घाँसदाउरा काट्न जाँदा) अथवा पछिल्लो समय शहरमा हाइकिङमा जाने बढ्दो प्रचलनले पनि स्क्रब टाइफसको जोखिम बढेको देखिन्छ । कुनै कारणले अग्ला वा ठूला झाडीमा वा घाँसेमैदानको सम्पर्कमा आउँदा मानिसमा चिगर माइट टाँसिने अनि त्यसले टोक्ने गर्दछ र स्क्रब टाइफस रोगको सम्भावना बढेर जाने गर्दछ । अहिले पनि धेरैले ज्वरोलाई बेवास्ता गर्दा स्क्रब टाइफसले जटिल अवस्था लिएको देखिन्छ । स्क्रब टाइफससम्बन्धी जानकारीलाई अझै प्रभावकारी रुपमा प्रचार गर्नुपर्ने खाँचो छ । 

हैजा 

दुई दशकअगाडि काठमाडौँमा हैजाका बिरामी नियमित जस्तो देखिन्थे । नियमित मात्र होइन मनसुन सुरु भएसँगै अस्पताल नै भरिभराउ हुने गर्दथ्यो । घण्टा बित्न नपाउँदै ४०/५० जना अस्पताल भर्ना हुन आउने गरेको लेखकको अनुभव छ । हाल त्यो भयावह अवस्था छैन तर हैजालाई नेपालमा इतिहासमा सीमित राख्न सकेको अवस्था पनि छैन । काठमाडौँमा अहिले पनि हैजा नियमित जस्तो देखिने गरेको पाइन्छ । केही वर्षपहिले हैजाका कारणले नवलपरासीमा केही बिरामीको मृत्यु भएको थियो । हैजा कडा भएको अवस्थामा पनि तुरुन्तै उपचार पाए मृत्युको सम्भावनालाई घटाउन सकिन्छ । तर, भौगोलिक रुपमा विकट एवं दुर्गम ठाउँहरुमा जटिल प्रकृतिको हैजा देखिए त्यसबाट व्यक्तिको मृत्यु पनि हुने सम्भावना रहन्छ । किनभने त्यस्ता ठाउँबाट बिरामीलाई सुविधासम्पन्न अस्पतालसम्म समयमा ल्याउन कठिन हुने गर्दछ । जस्तै, सन् २००९ को अप्रिल–जुलाई महिनामा जाजरकोटमा १११ जनाको हैजाका कारण ज्यान गयो । जाजरकोटमा धेरै पटक हैजा दोहोरिएको पनि देखिन्छ । अर्थात् हामीले यो घटनाबाट पाठ सिकेको वा गम्भीर भएको देखिँदैन । हाल हैजा फैलने तरिका वा स्रोतमा पनि केही फरक देखिन थालेको छ । हैजा मुख्यतया पानी अनि सङ्क्रमित खानेकुराबाट फैलने गर्दछ । पछिल्लो समय मानिसहरु पानी र खानेकुरामा केही हदसम्म सजक हुन थालेका देखिन्छन् । तर, बजारमा पाइने कतिपय जारका वा बोतलमा राखिएका पिउने पानीमा नियमितजसो कोलिफोर्म भेटिएका खबर आइरहेका छन् । अर्थात् यसलाई दिसा मिसिएको पानी घरघर पुग्ने गरेको सङ्केतका रुपमा लिन सकिन्छ । यस्ता पानी निर्मलीकरण गरेर नपिउने भएकाले हैजाको जोखिम बढेको हो । त्यस्तै केही दिनयता झिङ्गा पनि यत्रतत्र देखिन सुरु भएको छ । झिङ्गा पनि हैजा फैलाउने एक माध्यम हो । विगतमा झिङ्गाबाट रोग फैलिन्छ भनेर नियमित रुपमा जानकारीहरु प्रवाह भइरहन्थ्यो, तर आजभोलि यस्तो प्रचारमा कमी आएको छ । त्यस्तै व्यावसायिक पानीको नियमित तथा प्रभावकारी अनुगमन नहुँदा हैजाको जोखिम यथावत् देखिन्छ र यसबाट प्रकोप/महामारीको सम्भावनालाई बढाएको छ ।          

जापानिज इन्सिफलाइटिस  

लामो समयको अन्तरालपछि नेपालमा गत वर्ष जापानिज इन्सिफलाइटिस अस्वाभाविक रुपमा बढेको थियो जसका कारण कम्तीमा १४ जनाको ज्यान गएको थियो । यो अघिल्लो वर्षको भन्दा दोब्बर थियो । त्यस्तै यस भाइरसबाट ६० भन्दा बढी व्यक्ति सङ्क्रमित भएका थिए । यसबाट जापानिज इन्सिफलाइटिसले ‘स्टेप ल्याडर’ तरिकाले पुनः देखिने गर्दै गइरहेको देखिन्छ । त्यसो भए “के यो वर्ष पनि सङ्क्रमित र मृत्युदरको सम्भावना छ त ?” भन्ने प्रश्न गम्भीर रुपमा देखा परेको छ । यो प्रश्नको उत्तर केही हदसम्म बर्सेनि बढ्दो सङ्क्रमणको कारण र फैलन रोक्ने पूर्वतयारीको अवस्थाले तय पनि गर्नेछ । यो भाइरसविरुद्ध प्रयोग भएका खोपको प्रभावकारिताको अवधि वा खोपले निरन्तरता पाए÷नपाएको जानकारी पनि महत्वपूर्ण हुनेछ । जापानिज इन्सिफलाइटिस फैल्याउने लामखुट्टे मनसुनमा सक्रिय भइरहेको अवस्थाको सङ्केत गत वर्ष देखिएको जापानिज इन्सिफलाइटिस बिरामीको सङ्ख्याबाट पनि अनुमान गर्न सकिन्छ । यसर्थ यो वर्ष पनि विगतको वर्षभन्दा फरक हुने सम्भावना कमै छ ।

श्वासप्रश्वास सङ्क्रमण

बर्सेनि मनसुनको मध्यतिर श्वासप्रश्वास सङ्क्रमण विशेषत फ्लु भाइरसको लहर देखिने गर्दछ । विगतको अनुभवलाई आधार मान्ने हो भने फ्लु भाइरसले बेलाबेलामा महामारीको रुप समेत लिने गरेको देखिन्छ । कोभिड–१९ अगाडि ‘एचवानएनवान पिडिएम ०९’ नामक फ्लु भाइरस प्यानडेमिक घोषणा भएको थियो । सन् १९१८ मा पनि ‘स्पेनिस फ्लु’ को नामले चिनिने फ्लु भाइरसले अनुमानित पाँच करोड मानिसको ज्यान लिएको तथ्याङ्क छ । हुन त नेपालमा यसलाई ‘भाइरल’ वा सामान्य रुघाखोकीका रुपमा लिने चलन भए तापनि ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिकाको स्वास्थ्यलाई जटिल बनाउने गरेको देखिन्छ । फ्लुविरुद्ध उपलब्ध खोपले सङ्क्रमणलाई जटिल हुनबाट रोक्न धेरै हदसम्म सहयोगी हुने गर्दछ । फ्लु सक्रिय भएको अवधिभरि बाहिर वा सार्वजनिक स्थानमा जाँदा मास्क लगाउने तथा घरमा आएपछि राम्ररी साबुनपानीले हात धुने बानीले पनि सङ्क्रमण रोक्न धेरै हदसम्म सहयोगी हुनेछ । यस्ता जानकारीहरु विभिन्न सञ्चारका माध्यममार्फत निरन्तर जानकारी दिने अनि विद्यालयमा पनि विद्यार्थीलाई अनिवार्य सिकाउन सके अझ प्रभावकारी हुनेछ ।         

अज्ञात वा आयातित सङ्क्रामक रोग

नेपालमा हाल पनि औँलामा गन्न सक्ने सरुवा रोगलाई वा सङ्क्रमणलाई नियमित परीक्षणमा समावेश गर्ने गरिन्छ । यसर्थ पनि अधिकांश बिरामीमा ज्वरोका कारण पत्ता लाग्ने गरेको पाइन्न । नेपालीहरु हरेक हप्ता हजारौँको सङ्ख्यामा रोजगारीका लागि विदेश जाने गर्दछन् । त्यहाँबाट नेपालमा पहिला नदेखिएका सङ्क्रमणहरु भित्रिन सक्ने जोखिम उच्च हुने गर्दछ । कोभिड–१९, अफ्रिकी मलेरिया, चण्डीपुरा भाइरस जस्ता भाइरसहरु नेपालमा पछिल्लो समय भित्रिएका केही रोगहरुका नाम हुन् । जिका भाइरस, निपाह भाइरस, क्यासिनुर फोरेस्ट डिजिज (मङ्की ज्वरो), मर्स कोरोना भाइरसजस्ता सङ्क्रामक रोगहरु छिमेकी देश भारत वा मध्यपूर्वका देशहरुमा देखिँदै आइरहेका छन् जुन नेपालका लागि पनि जोखिम मान्नु पर्दछ । यी सङ्क्रमणहरु नियमित परीक्षणको सीमितताले गर्दा नेपाल भित्रिएका वा भित्रिनसकेका भनेर यकिन भने गर्न सकेको छैन । हाल नभित्रिएको रहेछ भने पनि आगामी दिनहरुमा भित्रिँदैन भन्ने कुनै आधार पनि देखिँदैन । यी उल्लिखित रोगहरु पनि हावाजन्य वा कीटजन्य सङ्क्रमणहरु नै भएकाले मनसुन सिजनमा फैलन सक्ने जोखिम रहन्छ । तसर्थ हाल उपलब्ध नियमित परीक्षणबाट पत्ता नलागेका सङ्क्रमणलाई थप परीक्षणको व्यवस्था गर्नु उचित हुनेछ । किनभने हाल यी पुष्टि हुन बाँकी रहेका सङ्क्रामक रोगले भोलि प्रकोप वा महामारीको रुप नलेला भन्न सकिँदैन । यसको बलियो उदाहरणका रुपमा सन् २००४ मा एकजनामा पुष्टि भएको डेङ्गु भाइरस हाल आएर नेपालका लागि सबैभन्दा ठूलो चुनौतीका रुपमा खडा हुनु नै हो ।              


अन्तमा, सङ्क्रमणले महामारीको स्वरुप लिइसकेपछि आत्तिने अनि सकिएपछि बिर्सने बानी हाल पनि यथावत् नै देखिन्छ । कोभिड–१९ र सन् २०२२ को डेङ्गु महामारी यसको ज्वलन्त उदाहरणका रुपमा लिन सकिन्छ । मनसुन अगाडि विगतका अनुभव तथा उपलब्ध स्रोतसाधनका आधारमा योजना बनाउने अनि मनसुन सुरु भएसँगै योजनाको कार्यान्वयन पक्षलाई लागू गर्नुपर्दछ । माथि उल्लिखित सङ्क्रामक रोगहरु आगामी दिनहरुमा (मनसुनमा) प्रकोप/महामारीका रुपमा देखिन सक्ने सम्भावनालाई नकार्न सकिँदैन ।

(सरुवा रोगविज्ञ डा शेरबहादुर पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटका संयोजक हुनुहुन्छ । )

‘कार्की साईंला’को शुभ मुहूर्त

काठमाडौं । नेपाली फिल्म ‘कार्की साईंला’को शुभ मुहूर्त गरिएको छ । सोमबार कोटेश्वरको महादेवस्थानमा स्क्रिप्ट पूजा गर्दै फिल्मका मुख्य कलाकार जितु नेपाल र वर्षा सिवाकोटीले फिल्मको मुहूर्त सट दिएर सुरु गरिएको हो ।

सुनको मूल्य तोलाको एक लाख ९१ हजार पुग्यो

काठमाडौँ । सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार पुगेको छ । नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य हो ।

आइतबार तोलामा एक लाख ८९ हजार आठ सयमा कारोबार भएको सुन सोमबार प्रतिलोला एक हजार दुई सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज स्थानीय बजारमा चाँदी प्रतितोला एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस तीन हजार तीन सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

खोटाङमा जलविद्युत् आयोजनाले पानी नछाडि दिँदा किसानलाई चैते धान रोप्न समस्या

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट छ दशमलव छ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिएको छ ।

प्रवद्र्धक कम्पनी थ्री–स्टार हाइड्रोपावर कम्पनीले उत्पादन गरेको साप्सुखोला जलविद्युत् आयोजनाको विद्युत् विसं २०७८ पुसमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

राजापानीको बेलडाँडास्थित पावर हाउस (विद्युतगृह)बाट उत्पादन गरिएको जलविद्युत् दुई दशमलव पाँच किलोमिटरमाथि राजापानीकै पर्ने पुरानो गाउँमा निर्माण गरिएको सव–स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।

करिब एक अर्ब ५० करोड लगानीमा साप्सुखोला जलविद्युत् आयोजनाको काम सम्पन्न भएको जनाइएको छ । चार किलोमिटर टाढा पर्ने साप्सुखोलाबाट बेलडाँडामा ल्याइएको पानीलाई ११० मिटर पेनस्टकमार्फत प्रतिसेकेन्ड सात हजार लिटर पानी खसाएर छ दशमलव छ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिएको हो ।

राजापानीकै बसुवास्थित साप्सुखोलामा बाँध बनाएर जलविद्युत् उत्पादन गरेको प्रवद्र्धक कम्पनीले खोलामा पानी नै सुकाएर जलविद्युत् उत्पादन गरेको पाइएको छ । जलविद्युत् उत्पादन गर्दा कम्तीमा दश प्रतिशत पानी खोलामा छाड्नुपर्ने प्रावधान भए पनि सबै पानी ड्यामतर्फ लगिएको थियो ।

साप्सुखोलामा जलविद्युत् प्रवद्र्धक कम्पनीले स्थापनाकालबाटै खोलामा पानी नछाडी जलविद्युत् उत्पादन गरेपछि समस्या भएको जनाइएको छ ।

जलविद्युत् आयोजनाले विद्युत् उत्पादन गर्नका लागि खोला नै सुकाएर पानी फर्काएपछि खेतीपाती गर्न समस्या भएको स्थानीय कुमार बुढाथोकीले गुनासो गरे ।

“साप्सुखोलामा सञ्चालित जलविद्युत् आयोजनाको बाँधभन्दा मुनिका भागमा पानी सुकेर समस्या भएको छ । यतिमात्रै होइन । यसअघि जिल्ला प्रहरी कार्यालयमा बसेर गरेको सम्झौतासमेत आयोजनाले कार्यान्वयन गरेको छैन”, उनले भने,“खोलै सुक्ने गरी पानी फर्काएर जलविद्युत् आयोजना सञ्चालन गरेपछि आफूलाई चाहिएको समयमा खेतबारीमा पानी लगाउन पाएका छैनौँ । यसले गर्दा यस वर्ष चैते धान रोप्नसमेत समस्या भयो ।”

प्रवद्र्धक कम्पनीले खोलाको पानी नै सुकाएर जलविद्युत् आयोजना सञ्चालन गरेको विषयमा आफूहरूले जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएको स्थानीयवासीले बताएका छन् । खोला सुक्ने गरी जलविद्युत् आयोजनाले पानी फर्काएको विषयमा आफूलाई अहिलेसम्म कुनै पनि निकायबाट जानकारी नआएको खोटाङका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले जानकारी दिए ।

साप्सुखोला असला माछा पाउने जिल्लाका खोलामध्ये सबैभन्दा बढी पाउने खोलामा पर्दछ । बाँधदेखि ड्यामसम्मको करिब चार हजार २०० मिटर क्षेत्रमा पानी सुकेपछि चराचुरुङ्गी तथा जङ्गली जनावरलाई समेत पानीको समस्या स्थानीयले बताएका छन् ।

खोलाको पानी नै सुकाएर साप्सुखोलाबाट जलविद्युत् उत्पादन गर्ने आयोजनाका स्थानीय प्रमुख प्रदीप दाहालले हिउँदको समयमा खोलामा पानीको बहाव घटेकाले कम भएको बताए ।

“खोला नै सुकाउने गरी ड्याममा पानी लगेका छैनौँ । तर, सुक्खा यामका कारण खोलामा पानी कम भएको छ”, उनले भने, “खोलामा भएको पानीको मात्राअनुसार कम्तिमा दश प्रतिशत हुने गरी पानी छाडेका छौँ । यसलाई सम्झौता उल्लङ्घन गरेको भन्न मिल्दैन ।”

दश स्थानीय तह रहेको जिल्लाबाट हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट उत्पादित साप्सुखोला जलविद्युत् आयोजनासँगै तीनवटा जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन् ।

साप्सुखोला जलविद्युत् आयोजनासँगै केपिलासगढी गाउँपालिकाक–६ दिप्सुङ र वडा नं ७ सुङ्देलको सिमानामा पर्ने रावाखोलाबाट उत्पादित तीन मेगावाट क्षमताको रावाखोला जलविद्युत् आयोजना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित मेवाखालाबाट उत्पादित एक मेगावाट क्षमताको साप्सुखोला जलविद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएको हो ।

रावाखोला जलविद्युत् आयोजनाले मापदण्डअनुसार खोलामा पानी नछाडेको स्थानीयले गुनासो गुनासो गरेका छन् । स्थानीयबाट गुनासो आएपछि रावाखोला जलविद्युत् आयोजना सञ्चालकलाई सम्पर्क गरेर मापदण्डअनुसार कम्तीमा दश प्रतिशत पानी छाड्न निर्देशन दिइएको प्रजिअ घिमिरेले जानकारी दिए ।

गण्डकीका १२ ‘स्याटेलाइट’ अस्पतालमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना विकास

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा र विश्व स्वास्थ्य सङ्गठन, ‘द प्याण्डामिक फण्ड’को आर्थिक प्राविधिक सहयोगमा पोखरामा सञ्चालित अस्पताल विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना विकाससम्बन्धी दुईदिने कार्यशाला सम्पन्न भएको छ।

कार्यशालाा गण्डकी प्रदेशअन्तर्गतका १२ स्याटेलाइट अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा प्रशासनिक कर्मचारीको सहभागिता रहेको थियो।

ती अस्पतालमा बुर्तिबाङ अस्पताल, बागलुङ, प्रादेशिक अस्पताल मुस्ताङ जोमसोम, दमौली अस्पताल, तनहुँ, प्रदेश अस्पताल पुतलीबजार, स्याङ्जा, लमजुङ जिल्ला अस्पताल, लमजुङ,प्रादेशिक अस्पताल बेनी, प्रादेशिक अस्पताल चामे मनाङ, प्रदेश अस्पताल कुस्मा, पर्वत,आमपिपल अस्पताल, गोरखा, मध्यविन्दु प्रादेशिक अस्पताल नवलपुर, मातृ शिशु मितेरी प्रादेशिक अस्पताल कास्की,प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल कास्की रहेका थिए।

सहभागीहरूले विज्ञ प्रशिक्षकको मार्गनिर्देशनमा ‘हस्पिटल सेफ्टी इनडेक्स प्लस एप’ प्रयोग गरेर आफ्ना अस्पतालको ‘एचडिपिआरपी’ विकास गरेका थिए।

सहभागीलाई जनस्वास्थ्य आपत्काल अवस्थाहरूको लागि समन्वय र सञ्चार, ‘एचइओसी’ सञ्जाल, हब तथा स्याटलाइट अस्पताल सञ्जाललगायतका विषयमा विस्तृत जानकारी गराइएको थियो। सहभागीले विकास गरिएका एचडिपिआरपि योजना परीक्षण गर्नका लागि ‘टेबलटप’ अभ्यास पनि गरेका थिए।

यी योजनाहरू अब प्रत्येक अस्पतालमा लागू गरिने र कर्मचारीहरूलाई अद्यावधिक गरेर प्रभावकारी कार्यान्वयनको लागि मद्दत पुर्याइने तथा यसले तयारीमा सुधार ल्याउने जनाइएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख डा प्रकाश बुढाथोकीको अध्यक्षता समापन कार्यक्रम सम्पन्न भएको थियो।

सो अवसरमा उनले स्वास्थ्य आपतकालीन अवस्थालाई सम्बोधन गर्न पूर्व तयारी गरिएको जानकारी दिनुभयो। प्रादेशिक स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्का, नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानका विज्ञ प्रशिक्षक डा विकल श्रेष्ठ र डा सुवाष न्यौपानेले प्रशिक्षण दिएका थिए ।

कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु

सुर्खेत । कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पलाँता गाउँपालिका–९ थिर्पुबाट पलाँता–४ छलतर्फ खाद्यान्न, खुद्रा सामान लिएर जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर पलाँता–२ बुडाडाँडा नजिक गएराति दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले कालीकोटले जनाएको छ ।

दुर्घटना मृत्युहुनेमा ट्याक्टर चालक मुगु, खत्याड गाउँपालिका–५ कवाका २५ वर्षीय चन्द्र प्रकाश रोकाय, कालीकोट, पलाँता गाउँपालिका–४ का २१ वर्षीय रवीन्द्र विक, सोही स्थानका ३२ वर्षीया सदु बुढा र पलाँता–५ सल्लीकोटकी २५/२६ वर्षीय अम्बा शाही छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको सो कार्यालयका प्रमुख टेकबहादुर रावतले जानकारी दिए।

उनका अनुसार दुर्घटनाग्रस्त ट्याक्टर सडकभन्दा तल अप्ठेरो भिरमा अड्किएको छ । शवहरु भने सडकभन्दा करिब २०० मिटर तल भेटिएको थियो ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय थिर्पुबाट प्रहरी सहायक निरीक्षक भीमबहादुर सुनारको कमान्डमा प्रहरी टोली राति नै घटनास्थल पुगेको थियो ।

पर्साका सरकारी कार्यालयको पुँजीगत खर्च न्यून

वीरगञ्ज । पर्साका सरकारी कार्यालयको विकास निर्माण लक्षित पुँजीगत खर्च न्यून देखिएको छ । चालु आर्थिक वर्षमा पर्साका सरकारी कार्यालयका लागि दुई अर्ब ७३ करोड पुँजीगत खर्च विनियोजन गरिएकोमध्ये चैत मसान्तसम्मको अवधिमा भने २७ दशमलव ९६ प्रतिशतअर्थात् रु ७६ करोड ६० लाख रकम मात्रै खर्च गरेका छन् ।

कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका प्रमुख कोष नियन्त्रक मनोजकुमार जोशीले पर्साका सरकारी कार्यालयले अपेक्षाकृत ढङ्गले पुँजीगत खर्च गर्न नसकेको जानकारी दिए ।

“चालु आव सकिन अब तीन महिनाभन्दा कम समय छ”, उनले भने, “सङ्घीय सरकारको हाराहारीमा पनि यहाँका कार्यालयले पुँजीगत खर्च गर्न सकिरहेका छैनन् ।” उनले पुँजीगत खर्च गरेर विकास निर्माणका कार्यलाई अघि बढाउनका लागि अनुरोध गरे ।

पर्साका सरकारी कार्यालयका लागि चालु आवमा चालु खर्चतर्फ रु १० अर्ब ६२ करोड विनियोजनमध्ये ६४ दशमलव ८९ प्रतिशतअर्थात् रु छ अर्ब ८९ करोड खर्च भएको छ ।

पर्साका सरकारी कार्यालयले चालु आवको चैत मसान्तसम्मको अवधिमा रु एक खर्ब ६१ राजस्व सङ्कलन गरेका छन् ।

यहाँका सरकारी कार्यालयले गत आवको सोही अवधिमा भने रु एक खर्ब ५१ करोड राजस्व सङ्कलन गरेका थिए । पर्सामा करिब ६० भन्दा धेरै सङ्घीय सरकार मातहतका कार्यालय रहेका छन् ।

ताप्लेजुङमा बुलेरो गाडीमा आगलागी, चार जनाको मृत्यु, दुई घाइते

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको बुलेरो गाडीमा आगलागी हुँदा चार यात्रुको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

जिल्ला प्रहरी ताप्लेजुङको अनुसार मे१च ३०११ नम्बरको बुलेरो गाडीमा फुङ्लिङ नगरपालिका–१० सेवारोचोकमा एक्कासि आगलागी भएको थियो । आगलागीमा जलेर मृत्यु भएकाको पहिचान खुल्न बाँकी रहेकोे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए ।

आज बिहान करिब ५ बजे विद्युतको पोलबाट चुँडिएको तार सडकमा झरेको र उक्त तारमा गाडी अल्झिँदा अचानक आगो लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

सूचना अधिकारी बस्नेतका अनुसार आगलागीको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक रवि रावलको कमाण्डमा १५ जनाको टोली तत्काल घटनास्थलमा पुगेको थियो ।

घाइतेलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल पठाइएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ भने आगो पूर्णरुपमा नियन्त्रणमा ल्याइएको छ ।

राप्रपाका महामन्त्री राणा हाजिरी जमानीमा रिहा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशम्सेर राणा रिहा भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले राणालाई आइतबार राति रिहा गरेको हो ।

चैत १५ गते काठमाडौंको तिनकुने घटनामा अवाछित गतिविधि गरेको आरोपमा राणालाई सोही दिन राति पक्राउ गरेको थियो । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले राणालाई हाजिरी जमानीमा रिहा गरिएको जानकारी दिए ।

उनले राणालाई रिहा गर्नु स्वागतयोग्य भन्दै राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलगायत आस्थाका सबै बन्दीलाई रिहा गर्न माग गरेका छन् ।

राणा केही समयअघि भारतमा मुखको क्यान्सरको उपचार गरेर फर्किएका थिए । फलोअपमा जानका लागि राणालाई रिहा गर्न माग गरिएको थियो ।

अरुले आएर देश बनाइदिन्न, हामी सबै मिलेर विकास गर्नुपर्छ

केपी शर्मा ओली ।

 गोन्द्राङ–पुुल्चोक खण्ड एसियाली मापदण्डको सडकको कार्यसम्पन्न भएर उद्घाटन भएको छ । कार्यसम्पन्न हुनुु खुसीको कुरा हो । कार्यसम्पन्न भएर यो उद्घाटित भएको छ । यस अवसरमा यो कार्यमा सहयोग र सहयोगी हात अगाडि बढाउने सबैलाई धन्यवाद भन्न चाहन्छु । यसमा योगदान गर्ने झन योगदानका पात्र हुँदै हुनुहुन्छ ।

वास्तवमा यो पूर्व–पश्चिम राजमार्गलाई एसियाली स्ट्याण्डरमा विकास गर्नु थियो र यसलाई यसै ठाउँबाट मैले सुरु गर्न किन चाहे भने बुटवल–भैरहवा पनि यहाँबाट नजिकै पर्छ, हेटौँडा–वीरगञ्ज पनि नजिकै पर्छ, काठमाडौँ जाँदा सेन्टर नै पर्छ, पोखरा जाँदा सेन्टर पर्छ । यो सबै ठाउँको सेन्टर छ । विकासको हिसाबले, पर्यटकीय हिसाबले, शिक्षा, स्वास्थ्यका हिसाबले र अनेक हिसाबले यो केन्द्रको रुपमा छ । यसलाई तदअनुसार नै भरतपुरलाई विकास गर्नुपर्छ, चितवनलाई विकास गर्नुपर्छ भन्ने मेरो धारणा हो । त्यसअन्तर्गत नै यस ठाउँबाट सुरु गर्नुपर्छ भनेर नै सडक विकासको काम एसियाली मापदण्डमा निर्माणको काम यहीँबाट थालिएको थियो । 

यहाँहरु सबैलाई थाहा छ, सोच कसैले बनाउनुुपर्छ । त्यस सोचलाई अगाडि बढाउन सबैको साथ चाहिन्छ । सबैको तत्परता चाहिन्छ, सबैको योगदान चाहिन्छ । जजसले जहाँबाट योगदान पुर्याउन सकिन्छ, सबैको योगदान चाहिन्छ । त्यसैकारण अघि मैले भनेको हुँ,  यसमा योगदान गर्ने सबै धन्यवादका पात्र हुनुहुन्छ । 

देश अनेक उचार चढावहरुबाट अगाडि बढ्दै आएको छ । यद्यपि २०४७ सालभन्दा पछि हामी यत्ति अल्झिनुु र अल्मलिनुु हुँदैनथ्यो होला । योभन्दा अलिक लोकतान्त्रिक मूल्य मान्यताअनुसार सुशासनको काम र देशलाई विकासको मार्गमा तीव्रताका साथ अगाडि बढाउने काममा हामी विना अलमल तीव्र गतिमा लाग्नुु पर्दथ्यो होला । आफ्नो ठाउँमा आआफ्नो भूमिकामा रहेर भूमिका पूरा गर्नु पर्दथ्यो । केही कमीहरु रहेका छन् । अलिक ढिला भएको छ तर विकासले गति लिएको छैन भन्ने कुरा होइन । हामीले सडकमा काफी उन्नति गरेका छौँ । 

यसभन्दा अघिल्लो मेरो प्रधानमन्त्रीत्वकालमा मैले  देश विकासमा पूर्वाधारमा जोड दिनुुपर्दछ, आधारभूत रुपमा पूर्वाधार तयार भएपछि अरु विकासलाई त्यस पूर्वाधारमा, त्यस जगमा टेकेर अगाडि बढ्न सकिन्छ भनेर कामहरु अगाडि बढाएको थिए । त्यसमा पनि कनेक्टिभिटी, विद्युुत् जस्ता कुराहरु आवश्यक छ । कनेक्टिभिटीमा बाटा, पुलहरु, हवाइ यातायात त पर्ने नै भयो, गर्मी ठाउँबाट चिसो ठाउँमा फुत्त गएर आराम गर्नुपर्यो भने केवलकार चाहियो, एकैछिनमा पुग्ने, प्रदूषणको पनि समस्या छैन । 

सञ्चारको राम्रो प्रबन्ध हुनुपर्यो, सञ्चारको विकास हुनुपर्यो । त्यसकारण ७७ वटै जिल्लामा अप्टिकल फाइबर ओछ्याएर इन्टरनेट पुर्याउने कार्यहरु तीव्रताका साथ गर्नुपर्छ भनेर मैले नै सुरु गरेको हुँ । त्यो पूरा भएको छ । आज इन्टरनेट सेवा केही दुुर्गम ठाउँहरुमा पुुग्दैन तर आमरुपमा भन्ने हो भने इन्टरनेट सेवा पुुगेको छ । जहाँ पुुग्दैन, जहाँ पुुगेको छैन र जहाँ अत्यावश्यक छ, जस्तै अस्पताल, विद्यालय त्यहाँ दूरसञ्चार कर्पोरेशनबाट हामी बन्दोवस्त गर्न सक्छौँ । त्यसै गरेर अरु विभिन्न पूर्वाधारका क्षेत्रहरुका साथै यस बीचमा विद्युत् उत्पादनमा असाधारण र उल्लेख्य प्रगति भएको छ ।

खेलकुदका क्षेत्रमा जम्मा एउटा दशरथ रङ्गशाला थियो । त्यो पनि २०७२ सालको भूकम्पले भत्काएपछि देश रङ्गशालाविहीन थियो । अहिले देशका विभिन्न ठाउँमा विभिन्न रङ्गशालाहरु निर्माण भइरहेका छन् । दशरथ रङ्गशाला निर्माण भएको छ, पोखरा रङ्गशाला निर्माण भएको छ, सुर्खेत रङ्गशाला निर्माण भएको छ । अरु पनि रङ्गशालाहरु निर्माण भएका छन् र काम अगाडि बढिरहेको छ । एकैचोटी हामीले यति धेरै कामहरु गरिरहेका छौँ । हामीले विकासको गतिलाई अगाडि बढाएका छौँ । 

खानेपानीको क्षेत्रमा भन्ने हो भने आश्चर्यचकित भइन्छ । अहिले विश्व बैंकले तथ्याङ्कहरु निकालेको छ । जो हामी आफैँ आश्चर्य लाग्ने खालका तथ्याङ्कहरु छन् । यस बीचमा अलिकति गति अवरुद्ध भएको थियो । त्यसका पछाडि केही राजनीतिक कारणहरु थिए । तर ती कुराहरुलाई पनि हामीले सल्टाएका छौँ र विकासको गतिलाई अब तीव्रता दिएका छौँ । 

विकासका लागि स्थिरता र स्थायित्व चाहिन्छ, अहिले देशका प्रमुख दुई पार्टीहरु मिलेर स्थायित्व र स्थिरता दिने संकल्प र अठोटका साथ अघि बढिएको छ । स्थिरताका साथ देश विकासको कामलाई तीव्रता दिइएको छ । अहिले सुशासन र देश विकासको कामलाई अगाडि बढाइएको छ । 

अहिले एउटा मान्यता स्थापित भएको छ, जोसुकै होस्, कानुन तोड्छ, देशमा विध्वंस मच्चाउन खोज्छ, देशमा संविधान विपरीतका क्रियाकलाप गर्छ वा खासगरी अपराधिक क्रियाकलाप गर्छ भने कोही पनि कानुनभन्दा माथि हुन सक्दैन । त्यस कुरालाई वर्तमान सरकारले कोही पनि कानुनभन्दा माथि छैन भन्ने कुरा बताइरहेको छ । शान्ति सुव्यवस्था, भ्रष्टाचार नियन्त्रणका यी कामहरु दृढताका साथ गरिने छन् । सुशासनको प्रत्याभूति गर्दै जनतालाई राम्ररी सेवा सुविधाहरु यथाशक्य क्षमताअनुसार उपलब्ध गराउँदै जाने, त्यसका निम्ति पूर्वाधार र अन्य मानव संशाधनको पक्षसमेत विकास गर्दै जाने, शिक्षा र स्वास्थ्यका क्षेत्रमा विकास गर्दै अगाडि बढ्ने नीतिका साथ हामी अगाडि गइरहेका छौँ । त्यसैको फलस्वरुप अघि भर्खर मैले कुरिनटारमा इच्छाकामना गाउँपालिका भवनको उद्घाटन गरेर आएँ । यहाँ बाटो शिलान्यास भएको होइन, निर्माण कार्य सम्पन्न भएको हो । शिलान्यास त भयो, बन्ला कि नबन्ला भन्ने कुरा होइन, बनिसकेपछिको यो उद्घाटन हो । त्यसकारण काम हुन्छ, हुँदैछ, काम भइरहेको छ र हुनेछ भन्ने कुराको एउटा दृष्टान्त हो । 

एक ठाउँमा मात्रै होइन, देशभरि पूर्व–पश्चिमका आठ खण्डमा यसलाई विभाजन गरेर यसको स्तरोन्नति हुँदैछ । मध्यपहाडी राजमार्ग निर्माण कार्य तीव्रताका साथ हुँदैछ । मदन भण्डारी राजमार्ग केही केही कारणहरु, जस्तै पहिलेकै बाटोसँग जोडेर लैजानुपर्ने अवस्था छ, केही वनका र निकुञ्ज, आरक्षजस्ता कारणले केही केही ठाउँमा अझै ती समस्याको समाधान गरेर निर्माण गर्नुपर्नेछ । नत्र भने काम लगभग सम्पन्न भएका छन् । हुलाकी राजमार्ग मैले भनिरहनुुपरेन । अलिकति आरक्षले गर्दा ठोरीदेखि यता रोकिएको छ । चितवनको खासगरी तीन नम्बर क्षेत्र माडी र पश्चिमको क्षेत्रलाई जोड्ने ठाउँमा बाटो छुुटेको छ । नारायणीमा थप पुलको विकास गर्नुपर्नेछ । नारायणीको तटबन्धलाई सम्पूर्ण रुपमा निकट भविष्यमा सुदृढ ढङ्गले सम्पन्न गर्नुपर्दछ । यी कुराहरुतर्फ सरकारको ध्यान गएको छ । 


यो जिल्ला बहुतै ऐतिहासिक जिल्ला छ । यहाँको इतिहास अहिलेको मात्रै होइन, यस ठाउँको इतिहास त्रेतायुुगदेखिको छ । रामजन्मदेखिको इतिहास छ । त्यहाँदेखिको लामो इतिहास छ । यो भूभाग हाम्रो वास्तवमा एउटा सभ्यताको सुरुवात भएको भूभाग हो । जनकपुरजस्ता, चतराजस्ता ठाउँहरु वा अरु विभिन्न ठाउँहरु, त्यसपछि द्वापरयुुगमा विभिन्न दार्शनिकहरुको यहाँ जन्म भएको थियो । तीन हजार वर्षभन्दा यताका मात्रै कुरा गर्ने हो भने स्वास्थ्य विज्ञान, त्यसको पुरानो इतिहास छ । त्यसलाई हामीले विकास गर्न सकिराखेका थिएनौँ । अहिले हामी ध्यान दिइरहेका छौँ । त्यस क्षेत्रमा पनि आयुर्वेद र परम्परागत उपचार पद्धति, हाम्रा जडिबुुटीहरुको विकास गरेर हामी लिएर जाँदैछौँ । यहाँ क्यान्सर अस्पताल, शिक्षण अस्पताल र अरु विभिन्न अस्पताल बनेका छन् । त्यसबाट विद्यार्थीहरु उत्पादन भइरहेका छन् । अब धेरै नयाँ नयाँ कुराहरु यहाँका अस्पतालहरुले गर्दै छन् भन्ने कुरा मैले थाहा पाएको छुु । तसर्थ, यस ठाउँलाई हामीले त्यसैगरी एउटा फराकिलो पन र फराकिलो मनका साथ यसलाई विकास गर्नुपर्छ । 

म धेरै कुरा देख्दै, भोग्दै र पचाउँदै आएको व्यक्ति हुँ । जे आउँछ मज्जाले पचाउँछ भनेको जस्तै म सबै कुरा डाइजेष्ट गरिहाल्छु । तर, अहिले चुनाव लागेको पनि छैन, चुनाव प्रचार गर्नु परेको पनि छैन । त्यतापट्टि गइहाल्नुुपर्ने आवश्यकता पनि छैन । म सबैलाई आग्रह गर्न चाहन्छु, सधैँ राजनीति मात्रै, सधैँ चुनाव मात्रै होइन, हामीले विकासमा ध्यान दिऊँ । हामीले एक भएर देश बनाउनुपर्नेछ । मदभेदमा होइन, एकतामा जोड दिउँ । विचारमा र अरु कुरामा विविधता हुनसक्छ तर देशको विकास गर्ने कुरामा मतभेद नराखौँ । देशको विकास गर्नुपर्छ, सबैले विकास गर्नुपर्छ । हामी सबै मिलेर विकास गर्ने हो । अरुले आएर हाम्रो देश बनाउँदैन, कसैले बनाइ दिँदैन । जे सहयोग व्यक्तिहरु वा देशहरुले गर्ने गरेका थिए, अहिले विभिन्न सहयोग धरापमा पर्ने गरेको हामीले देखेका छौँ । अरुको भर पर्दा के हुँदो रहेछ, कति वटा देशले अरुका बलमा लड्ने लडाइँ, अरुका बलमा गरिने विकास यी सबै कुरा पनि हामीले देखेका छौँ, काम लाग्दैन । आफ्नो बलमा, आफ्नो राष्ट्रिय एकताका साथ एकजुट भएर अगाडि बढेर हामीले विकास गर्नुपर्छ । त्यसरी मात्रै हामीले हाम्रो देशलाई सुदृढ गर्न सक्छौँ, एकताबद्ध गर्न सक्छौँ, हाम्रो  राष्ट्रियतालाई मजबुुत पार्न सक्छौँ, हाम्रो अर्थतन्त्रलाई बलियो बनाउन सक्छौँ, हाम्रो डेमोक्रेसीलाई मजबुत पार्न सक्छौँ । त्यसकारण डेमोक्रेसीलाई मजबुुत पार्ने, राष्ट्रियता बलियो बनाउने, सुशासन र विकासको गतिलाई अगाडि बढाउने कुरामा एकजुटताका साथ अगाडि बढ्न म सबैलाई आग्रह गर्न चाहन्छु । 

अहिले एसियन स्ट्याण्डरको भनेर हामीले झण्डै सात (६.०८)    किलोमिटर एसियन स्ट्याण्डरमा एउटा बाटो पहिलो बनाएका छौं । यो हाइवे पूर्वदेखि पश्चिमसम्म (काकडभिट्टादेखि गड्डाचौकीसम्म) यो स्ट्याण्डरको बाटो हुनुुपर्दछ । एउटा कुरा के भन्दा यत्तिकै फराकिलो, यत्तिकै सुविधा सम्पन्न ग्रामीण क्षेत्रमा पनि बनाउनुुपर्ने अथवा खाली क्षेत्रमा बनाउनुपर्ने वा जङ्गल क्षेत्रमा बनाउनुपर्ने भन्ने हुँदैन । यो सहरी क्षेत्रमा भएको हुनाले एउटा नमूना हो । यो भन्दा अलिक साँघुराले पनि एसियन स्ट्याण्डर हुन्छ । त्यसकारण हामीले सहरी क्षेत्रमा चौडा बाटाहरु बनाएका छौँ, हाइवेलाई र अरु बाटाहरुलाई पनि ताकी सहरका सवारीका चापहरुदेखि लिएर सबै कुरालाई ध्यानमा राखेर । जेहोस् यसलाई हामी चौडा गर्दैछौँ, अघि पनि मैले भनेँ आठ खण्डमा हामीले निर्माण कार्य अगाडि बढाएका छौँ, सबै ठाउँलाई एसियन स्ट्याण्डरमा बनाउने भनेर । यसमा आठ लेनभन्दा ठूलो छ, फुटपाथ पनि चौडा छ । यस्ता बाटाहरु सहरी क्षेत्रमा निर्माण गर्दै जानुपर्छ । 

मुख्यमन्त्रीजीले भन्नुभयो बनाउँदै फेरि भत्काउँदै, भत्काउँदै बनाउँदै, एउटा नाममा भत्काउने त्यसो नगरौँ । कुनै चिजको निर्माण सम्पूर्ण रुपमा एकैचोटी गरौँ । ढलको निर्माण, खानेपानी पाइपलाइनको विस्तार, बिजुली वा टेलिफोनको छ भने बाटो निर्माण हुनुभन्दा अगाडि गर्नुपर्छ । यति स्ट्याण्डरको बाटो बनाएपछि फेरि गैती लिएर बीचमा टङ्र्याङ टङ्र्याङ  खन्ने खालका कामहरु बीचमा गर्नुहुँदैन । त्यसका लागि पहिले नै समग्र डिजाइन गर्नुपर्छ । डिजाइनिङभित्र सर्भिस लेनहरु, अरु सबै कुराको हामीले प्रबन्धहरु गरेका छौँ । त्यसरी नै अगाडि बढाउनुपर्छ । यो स्ट्याण्डरमा सडक बनेको छ, म खुसी व्यक्त गर्न चाहन्छु । 

देश नै विकासको बाटोमा अगाडि बढ्दै छ । यहाँका जनताहरुलाई यो सुुविधा उपलब्ध भएको छ, म बधाई भन्न चाहन्छु । यहाँका सबै जनताले साथ र सहयोग दिनुभएको छ । म महानगरपालिका र अन्य पालिकाहरुलाई धन्यवाद दिन चाहन्छु । यहाँका नागरिकहरु कतिले आफू बसोबास गरिरहेको ठाउँ छोड्नुपरेको होला । विसं २०२२ मा यसको निर्माण गर्ने कार्यको सुरुवात भयो भनौँ अथवा लगभग परिकल्पनाको स्थितिबाट अगाडि बढ्न थाल्यो । त्यसबेलादेखि बसिरहेका ठाउँहरु हुनसक्छन् । ती छोड्नुपरेको होला । जेसुकै भए पनि आफ्नो घर भत्किँदा व्यक्तिलाई रमाइलो लाग्दैन तर देशको विकासका लागि त्यस्तो कामहरु गर्नुपर्ने हुन्छ । त्यसको वैकल्पिक व्यवस्था गर्नुपर्ने हुन्छ । वैकल्पिक व्यवस्था पहिला नगरिएको भए पनि आजको समयमा र जनताका पीरमर्काप्रति हामी अत्यन्त संवेदनशील छौँ । त्यसकारण जनतालाई परेका पीरमर्काहरुको वैकल्पिक व्यवस्था गरेर नै अगाडि बढेका छौँ र त्यसै गरी अगाडि बढ्छौँ । म यस सफलताका लागि खुसी व्यक्त गर्दै बधाइ र शुभकामना भन्न चाहन्छु । नयाँ वर्ष पनि भर्खरै प्रारम्भ भएको छ । नयाँ वर्ष अझै ३६० दिन चोखै बाँकी छन् । सबैका निम्ति सुखमय, सफलताका र सुस्वास्थ्यका दिनहरु रहुन् । धेरै धेरै शुभकामना छ । 


(प्रधानमन्त्री केपी शर्मा ओलीले २०८२ वैशाख ५ गते पूर्व–पश्चिम राजमार्गको पुल्चोक–गोन्द्राङ सडकको उद्घाटनसभालाई गर्नुभएको सम्बोधनका आधारमा उहाँको स्वकीय सचिवालयबाट तयार गरिएको) 

प्रहरी जवानको लिखित परीक्षामा सहभागी ६ जना नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं । प्रहरी जवान पदको लिखित परीक्षा सहभागी ६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । शनिबार रत्नराज्य मावि नयाँबानेश्वरमा प्रहरी जवान पदको लिखित परीक्षामा अन्य व्यक्तिको नाममा परीक्षा दिइरहेका ६ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दोलखाको जिरीका २३ वर्षीय मोहन सुनुवार, कालिकोटका गोपाल शाही, सुर्खेतका मनोज शर्मा, दैलेखका आकाश खड्का, सुुर्खेतका उमेश शर्मा र जुम्लाका मीन रावल छन् ।

उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट पाँचको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

राप्रपा अध्यक्ष लिङ्देनसहितका नेता रिहा

काठमाडौं । आइतबार दिउँसो प्रदर्शनका क्रममा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीको नेताहरुलाई प्रहरीले साँझ रिहा गरेको छ ।

प्रदर्शनका क्रममा पक्राउ परेका अध्यक्ष राजेन्द्र लिङ्देन, प्रमुख सचेतक ज्ञानेन्द्र शाही, उपाध्यक्ष बुद्धिमान तामाङ, अमर परियार, सरोज घिमिरे, किरण दुवाल र राप्रपाको युवा मोर्चाका अध्यक्ष कैलाश कटवाल पक्राउ परेका थिए ।

उनीहरुलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले जानकारी दिए ।

बाधा पुर्‍याउन खोजे प्रतिकार गरिन्छः राप्रपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन कार्यक्रमस्थलतर्फ जाँदैगर्दा गिरफ्तार भएका पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलगायत सबै नेताहरुको अविलम्ब रिहाइको माग गरेको छ ।

नेताहरु पक्राउपछि आइतबार अपरान्ह बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक नेताहको अविलम्ब रिहाइ गर्न माग गरेको हो । राप्रपाले नेताहरु पक्राउ गरेर सरकारले विपक्षी आवाजलाई निस्तेज पार्ने निरंकुश चरित्र देखाएको प्रष्ट भएके उल्लेख गरेको छ ।

बैठकले सरकारको रवैयाले स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने, राजनीतिक गतिविधि गर्न पाउने र अभिव्यक्ति स्वतन्त्रताको संविधान प्रदत्त अधिकार कुण्ठित भएको ठहर गरेको छ ।

संविधान प्रदत्त अधिकारको उपभोग गर्ने क्रममा बाधा अवरोध गरे राप्रपाले आगामी दिनमा थप सशक्त ढंगबाट विरोध र प्रतिवाद गर्ने चेतावनी दिएको छ ।

आइतबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयबाट पार्टीद्वारा पूर्व निर्धारित कार्यक्रमस्थल बिजुली बजारतर्फ जाने क्रममा प्रहरीले अध्यक्ष लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ्ग र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई सिंहदरबार परिसर भित्रैबाट गिरफ्तार गरेको थियो ।

जनमत पार्टीका कोषाध्यक्ष पक्राउ, ठगी र आपराधिक विश्वासघात गरेको आरोप

जनकपुरधाम । जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रनारायण यादव पक्राउ परेका छन् । प्रहरीले यादवलाई ठगी आरोपमा पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरको पत्रको आधारमा उनलाई सप्तरीको राजविराजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिएका छन् ।

ललितपुर प्रहरीमा उनीविरुद्ध ठगी र आपराधिक विश्वासघात विरुद्धको जाहेरी दर्ता भएको छ । उनलाई अनुसन्धानका लागि ललितपुर पठाइने डिएसपी बस्नेतले जानकारी दिए ।

सहायक सेनानी पदमा बढुवा भएका २९ जनालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं ।  नेपाली सेनामा साधारण सेवातर्फमा रिक्त रहेको सहायक सेनानी पदमा ३४ जना प्रमुख सुबेदार/सुबेदारहरू बढुवा भएका छन्।

बढुवा भएका अधिकृतहरूलाई प्रधान सेनापति अशोकराज सिग्देलले वैशाख ७ गते जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमका बीच दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

सैनिक सेवा नियमावली २०६९ बमोजिम नेपाली सेनामा साधारण सेवातर्फ रिक्त सहायक सेनानी पद मध्ये १० प्रतिशत बढुवाद्वारा पदपूर्ति गर्नुपर्ने व्यवस्था छ।

सो अनुरूप बढुवा भएका ३४ जना मध्ये विभिन्‍न संयुक्त राष्ट्रसंघीय मिसन (शान्ति सेना) मा खटिएका ५ जना बाहेक २९ जनालाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको नेपाली सेनाले जनाएको छ।

समारोहमा बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरूका साथै बढुवा भएका अधिकृतहरूका परिवारजनको उपस्थिति थियो।

खड्कालाई कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसले कार्यवाहक सभापतिमा पूर्णबहादुर खड्कालाई दिएको छ आइतबार सभापति शेरबहादुर देउवा थाइल्याण्ड प्रस्थान गरेसँगै कांग्रेसले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो ।

देउवा पत्नी एवं परराष्ट्रमन्त्री आरजु राणा देउवासँगै थाइल्याण्ड भ्रमणमा गएका हुन् । मन्त्री राणा सोमबारदेखि पाँचदिनसम्म बैंककमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युनाइटेड नेसन्स् इकोनोमिक एन्ड सोसियल कमिसन फर एसिया एण्ड द प्यासिफिक (युएनस्केप) को ८१ औं सत्रमा सहभागी हुन गएकी हुन्।