`

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक

दोधारा चाँदनी । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा–चाँदनीमा बन्ने सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुने बताएका छन्।

आइतबार सुक्खा बन्दरगाह निर्माणस्थलको अवलोकन गर्दै उनले बन्दरगाह निर्माणका लागि ठेक्का स्वीकृत भइसकेकाले अब छिट्टै काम सुरु हुने बताएका हुन्। गृहमन्त्री लेखकले भने, ‘बन्दरगाहमा आवश्यक संरचना निर्माणका लागि ठेक्का स्वीकृत भइसकेको छ। अब चाँडै शिलान्यास गर्ने गरी तयारी भइरहेको छ। निर्माण सुरु भएपछि तीन वर्षभित्र बन्दरगाह बनाइसक्ने योजना छ।’

बन्दरगाह निमार्णका लागि दोधारा–चाँदनी नगरपालिका–१ स्थित मायापुरी सामुदायिक वनको ४१ हेक्टर जग्गामा एक हजार ५९३ रुख कटान भइसकेका छन्।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने बन्दरगाहका लागि नेपाल सरकार र भारत सरकारबीच १ जुन २०२३ मा समझदारीपत्रमा हस्ताक्षर भएको थियो। सोही सम्झौताअनुसार दुवै तर्फबाट निर्माणको तयारी भइरहेको हो। भारतीय पक्षले बन्दरगाह निर्माणका लागि दुई अर्ब ५४ करोड ३१ लाख ९९ हजार भारतीय रुपैयाँको लागतमा टेन्डर आह्वान गरेर निर्माण कम्पनी छनोट गरिसकेको छ।

बन्दरगाह निर्माणका लागि प्रयोग हुने जग्गामा दुई वटा गोदाम, भन्सार जाँच तथा क्वारेन्टाइन भवन, इमिग्रेसन तथा सुरक्षा भवनललगायत पूर्वाधार निर्माण हुने इन्टरमोडल यातायात विकास समितिले जनाएको छ।

नेपालले सुक्खा बन्दरगाहसम्मको छ लेनको पहुँच मार्ग र महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण गरिसकेको छ। भारतले आफ्नो क्षेत्रतर्फ बन्दरगाहसम्मको पहुँचमार्ग निर्माण गरिरहेको छ। सुक्खा बन्दरगाह निर्माणसँगै पश्चिमी नाका सञ्चालनमा आए सुदूरपश्चिम विकासको सम्भावनाको ढोका खुल्ने अपेक्षा गरिएको छ।

सुशासन, समृद्धि र समानताका आधारभूत विषय आर्थिक विकास होः सभामुख घिमिरे

काठमाडौँ । संसदीय समितिले बढ्दो बेरुजुले मुलुकको आर्थिक सुशासनमा ठूलो प्रश्न चिन्ह खडा गरेको जनाउँदै देशको समग्र विकास र समृद्धिका लागि सार्वजनिक वित्तको कुशल व्यवस्थापन अपरिहार्य भएको निष्कर्ष निकालेको छ ।

प्रतिनिधिसभा, सार्वजनिक लेखासमितिले आइतबार आयोजना गरेको बेरुजुसम्बन्धी राष्ट्रिय कार्यशालामा कानुनविपरीतको खर्च नियन्त्रण एक महत्वपूर्ण पाटो भएकाले बेरुजु बढ्नु भनेको राज्यकोषको सही सदुपयोग नहुनुमात्र नभई सार्वजनिक संस्थाप्रति नागरिकको विश्वास घटाउँदै लैजाने निचोड निकालिएको छ ।

महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ सम्म सात खर्ब ३३ अर्ब १९ करोड बेरुजु कायम भएको समितिले जनाएको छ । अद्यावधिक बेरुजु गत वर्षभन्दा ९ दशमलव ४५ प्रतिशतले बढ्नुलाई समितिको अपेक्षाविपरीतको विषय भएको जनाइएको छ । सोह्रौँ योजनाले आव २०८५र८६ सम्म कूल गार्हस्थ उत्पादनको अनुपातमा बेरुजुको मात्रा पाँच प्रतिशत पुर्‍ याउने लक्ष्य राखेको छ ।

कूल गार्हस्थ उत्पादनको अनुपातमा बेरुजुको आकार करिब १२ प्रतिशतको हाराहारीमा रहेकाले आर्थिक सुशासनको दृष्टिले सोचनीय विषय भएको सभापति ऋषिकेश पोखरेलले बताए । उनले भने, “बेरुजु न्यूनीकरण गर्न प्रदेश र स्थानीय तहका लेखासमिति पनि थप क्रियाशील हुनुपर्ने देखिन्छ, महालेखापरीक्षक कार्यालयले पनि वित्तीय लेखापरीक्षण र कार्यमूलक लेखापरीक्षणलाई पनि अभियानकै रूपमा अगाडि बढाउनु पर्दछ ।”

बेरुजुलाई केबल एक प्राविधिक विषयमात्र नभई सुशासन र आर्थिक अनुशासनसँग जोडिएको गम्भीर मुद्दा भएको जनाउँदै सभापति पोखरेलले यसलाई सम्बोधन गर्न नीतिगत सुधार, कानुनी प्रावधानको कडाइका साथ कार्यान्वयन, सूचना प्रविधिको प्रयोग र सरोकारवाला निकायबीचको समन्वय अपरिहार्य रहेको बताए ।

सभामुख देवराज घिमिरेले उत्पादनका माध्यमबाट अर्थतन्त्र सुदृढ तुल्याउँदै वैज्ञानिक ढङ्गबाट खर्च गर्ने, खर्चको वैज्ञानिक लेखाप्रणाली राख्ने, पारदर्शी बनाउने कुरा महत्वपूर्ण विषय हुन् भने । राज्य सञ्चालनका क्रममा आम्दानी र खर्चको लेखाप्रणालीको विषय निकै महत्वपूर्ण रहने बताउँदै सभामुख घिमिरेले भने, “त्यसकारण सार्वजनिक क्षेत्रको लेखाप्रणाली कस्तो छ, कसरी व्यवस्थित गर्ने ? त्यसमा समस्याहरु के हुन् ?” उनले कसरी समाधान गर्ने भन्ने विषयमा यस्ता कार्यक्रमले केही प्रतिफल दिनसक्ने बताए ।

सभामुख घिमिरेले भने, “तीन तहका जनप्रतिनिधिबीच हामीले अहिले नचाहँदानचाहँदै पनि हार्दिकता छैन, दोषारोपण छ, यस्ता छलफलले सङ्घीय प्रणालीको सम्बन्धलाई पनि घनिभूत गर्न सक्छ, त्यसमाथि लेखाप्रणालीसँग सम्बन्धित आम्दानी र खर्च, फछ्र्यौट, पारदर्शिता देखाउन विशेष महत्व राख्छ ।”

मुलुकमा देखिएको बेरुजुलाई समयमा टुङ्गो लगाउन तीनवटै तहका सरकारले सम्बन्धित निकायको जिम्मेवारीअनुसार त्यसलाई कसरी प्रभावकारी बनाउने भन्नेमा छलफल आवश्यक रहेको उनको भनाइ थियो ।

महालेखका परीक्षकले अघिल्लो प्रतिवेदनमा देखाएअनुसार प्रदेश र स्थानीय तहमा बेरुजु बढ्दो क्रममा रहेको जनाउँदै सभामुख घिमिरेले आर्थिक सुशासनका दृष्टिले बेरुजुको अङ्क बढ्नु सोचनीय विषय भएको विचार व्यक्त गरे ।

उपसभामुख इन्दिरा रानाले बेरुजु अर्थ सुशासनसँग जोडिएको विषय भएकाले सरकारी ढुकुटी परिचालन गर्न इमान्दार हुन आवश्यक रहेको बताइन् । बेरुजु परीक्षण गर्न जाने सरकारी निकायलाई सरकारी आवासमा राख्ने व्यवस्था मिलाउन र आर्थिक अनुशासनको पाटोलाई ध्यान पुर्‍ याउने पक्षमा हेक्का राख्न निर्देशनको खाँचो औँल्याइन् ।

महालेखा परीक्षक तोयम रायले सामान्य रुपमा आर्थिक अनुशासन भएन भने बेरुजु देखिने भए पनि सबै बेरुजु आउनामा कानुनविपरीत कार्य भन्न नमिल्ने धारणा राखे ।

गत आर्थिक वर्षमा पाँच हजार ७०० कार्यालयको महालेखा परीक्षकको कार्यालयले अडिट गरेकामा असुलउपर गर्नुपर्ने, नियमित गर्नुपर्ने, प्रमाण नपुगेको, वस्तु खरिद भएको, जिम्मेवारी नसारिएको, शोध भर्ना गर्नुपर्ने तथा पेस्कीका नाममा विभिन्न शीर्षकमा रु सात खर्ब ३३ अर्ब बेरुजु रहेको पाइएको उनले जानकारी दिए ।

कार्यालयबाट लेखापरीक्षण गर्न खटिजाने कर्मचारीलाई आर्थिक अनुशासनमा रहन तथा भरसक सरकारी आवास प्रयोग गर्न निर्देशन दिइएको जनाउँदै बेरुजु देखिनासाथ अनियमिता र भ्रष्टाचार भयो भन्ने बुझाई पूर्ण रुपमा सही नरहेको उनले स्पष्ट पारे ।

नेपालको संविधानको धारा २९४ ९१० मा महालेखापरीक्षकले सङ्घीय लेखापरीक्षणको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्ने तथा उक्त प्रतिवेदन प्रधानमन्त्रीमार्फत संसद्मा प्रस्तुत हुने र संसद्को सार्वजनिक लेखासमितिमा छलफल भई कारबाही तथा निर्देशनका लागि सरकारका निकायलाई पठाउने व्यवस्था छ ।

त्यस्तै, प्रत्येक प्रदेशको हकमा अलगअलग प्रतिवेदन तयार गरी महालेखापरीक्षकले नेपालको संविधानको धारा २९४ (३) बमोजिम प्रदेशस्थित सरकारी कार्यालयको वार्षिक लेखापरीक्षण प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस गर्ने र मुख्यमन्त्रीमार्फत प्रदेशसभामा पेस भई प्रदेशसभाको लेखासमितिमा छलफल हुने व्यवस्था छ ।

स्थानीय तहको हकमा लेखापरीक्षण ऐनअनुसार महालेखापरीक्षकले प्रत्येक स्थानीय तहको अलगअलग अन्तिम लेखापरीक्षण प्रतिवेदन तयार गरी पालिका प्रमुखलाई उपलब्ध गराउने र पालिकाको सभामा प्रस्तुत भई छलफल हुने व्यवस्था छ ।

समिति सचिव एकराम गिरीले समितिले सार्वजनिक खर्चको जवाफदेहिता र पारदर्शिता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको तथा महालेखा परीक्षकको वार्षिक प्रतिवेदनउपर छलफल गरी सरकारलाई आवश्यक निर्देशन दिने र अनुगमन गर्ने सार्वजनिक लेखासमितिको मुख्य जिम्मेवारी रहेको बताए ।

बेरुजुका कारण, यसको प्रकृति र यसको नियन्त्रणका लागि चालिनुपर्ने कदमबारे बृहत् छलफल गर्ने हेतुले आयोजित कार्यशालाले आगामी दिनमा बेरुजु आउनै नदिने र आएमा शीघ्र फछ्र्यौट गर्ने कामलाई प्रभावकारी तथा नतिजामूलक बनाउन प्रभावकारी रणनीति निर्माण गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

रौटहट । सशस्त्र प्रहरी बल नेपालले लागुऔषधको कारोबारमा संलग्न दुई युवालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एवं गणपति सन्तोषकुमार बस्नेतले बारा जिल्ला निजगढ नगरपालिका–८ का नवबहादुर वाइबा र दावा योञ्जनलाई लागुऔषधसहित पक्राउ गरेको जानकारी दिए । उनका अनुसार ट्रमोल ३०० थान, निट्राजेपाम ट्याब्लेट १४० थान र नेटजेटकेयर पाँच थान लागुऔषधसहित उनीहरूलाई रौतहटको गजुरामुखीबाट पक्राउ गरिएको हो ।

लागुऔषधसहित उनीहरूलाई इलाका प्रहरी कार्यालय लक्ष्मीनियाँ, विजयपुरमा बुझाएको गणपति बस्नेतले जानकारी दिए ।

सीमासुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलले रौतहट जिल्लाको सिमाना पारी रहेका भारतीय बजारबाट लुकिछिपी हुने लागुपदार्थसहित सबै किसिमका अवैधधन्धाको न्यूनीकरण तथा नियन्त्रणका लागि सक्रियताका साथ योजनाबद्ध ढङ्बाट काम गरिहेको बताए ।

राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालय र नेपाली सेनाको सैनिक सङ्ग्रहालयको आइतबार अवलोकन गरेका छन्। राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित छाउनी सङ्ग्रहालय अवलोकन गर्न गएका हुन्।

उनलाई पुरातत्त्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, सङ्ग्रहालयका प्रमुख अरूणा नकर्मी र राष्ट्रिय मुद्रा सङ्ग्रहालयका प्रमुख मायादेवी अर्याललगायत पदाधिकारीले स्वागत गरेका थिए। राष्ट्रिय सङ्ग्रहलयमा प्रमुख नकर्मीले सङ्ग्रहालयबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए।

नेपाली सेनाको सैनिक सङ्ग्रहालयमा पुग्दा उनलाई नेपाली सेनाका बलाधिकृत निर्मलकुमार थापाले स्वागत गरेका थिए। सैनिक सङ्ग्रहालयमा सङ्ग्रहालय प्रमुख सेनानी गेलान लामाले सङ्ग्रहालयका बारेमा जानकारी गराएका थिए।

शिक्षा विधेयकमा सरकारले फेरि समय मागेपछि सांसदहरु असन्तुष्ट

काठमाडौँ । सरकारका कारण विद्यालय शिक्षा विधेयक पारित गर्न ढिलाइ हुने भएको छ । आइतबारको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शिक्षमन्त्री रघुजी पन्त्रले विद्यालय शिक्षा विधेयकमा सहमतिका लागि अझै केही समय मागेका हुन् ।

शिक्षामन्त्री पन्तले अझै सरोकारवालाहरुसँग केही विषयमा सहमति जुटाउन बाँकी रहेकोले समय आवश्यक रहेको बताए । मन्त्री पन्तले अझै केही समय मागेपछि सांसदहरुले सरकारले विभिन्न बहाना बनाएर विधेयकमा जुटेको सहमति समेत परिवर्तन हुने आशंका बढेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

बैठकमा माओवादी केन्द्रकी सांसद ज्ञानु बस्नेत सुवेदीले बैठक रोकेर समय माग्नुमा गम्भीर षड्यन्त्रको गन्ध आएको आरोप लगाइन् । उनले भनिन्, ‘कहिले स्थगित र समयको माग हुनुको कारण बुझ्न सकिएन । यो बैठक रोकेर अरु नै धन्दा र षड्यन्त्र भइरहेको मलाई अनुभूति भइरहेको छ ।’

यसअघि गत सोमबारनै विधेयक पारित गर्ने तयारी गरिएको भएपनि अन्तिम समयमा शिक्षामन्त्री विधेयकमा केही विषयमा सहमति हुन बाँकी रहेकाले बैठक स्थगित गर्न आग्रह गरेका थिए ।

मन्त्रीको आग्रहपछि बैठक स्थगित गरिएको थियो । सरकारले आन्दोलनरत शिक्षकहरुसँग असार १५ गतेसम्म विधेयक पारित गर्ने सहमति गरेको भएपनि सो समयमा समितिमै यो विधेयक टुंगोमा पुग्न सकेको छैन ।

नेप्सेमा ९ अर्ब ५० करोडको कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से सामान्य बढेको छ । आइतबार नेप्से २ दशमलव ४० अङ्कले बढेर २ हजार ७ सय ६ दशमलव ३६ विन्दुमा पुगेको छ ।

आज विकास बैंक, होटल, जलविद्युत्, बीमा र माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर बढेकोमा अन्य समूहको शेयर ३ प्रतिशतभन्दा धेरै र फाइनान्स समूहको शेयर झन्डै साढे २ प्रतिशतले उकालो लागेको छ ।

आज नेपाल फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । नेप्से सामान्य बढेको दिन गुडविल फाइनान्स कम्पनीको डिबेन्चर र ग्रीन विकास बैंकको शेयर भने साढे ८ प्रतिशतभन्दा धेरैले घटेको छ । आज ३१८ वटा कम्पनीको २ करोड ७१ लाख कित्ता शेयर ९ अर्ब ५० करोड रुपैयाँमा किनबेच भएको छ ।

दक्षिण एसियाली करातेमा नेपाल उपविजेता

काठमाडौँ । नेपाल नवौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा उपविजेता बनेको छ । नेपाल २१ स्वर्ण, नौ रजत र २० कास्यसहित टिम उपविजेता भएको नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामाले जानकारी दिए ।

महिला ६८ केजीमाथि कराते महासङ्घबाट हिमालयन वारियर्स उपनाम पाएकी एरिका गुरुङ, ५० केजीमा पुष्पका लामा, ५५ केजीमुनि सविना श्रेष्ठले व्यक्तिगत र टिम कुमुतेमा नेपाललाई दोहोरो स्वर्ण दिलाए ।

प्रदीप बैजाली मगरले यु–२१ र सिनियरको व्यक्तिगत कुमुतेमा समान एक–एक स्वर्ण तथा टिम कुमुतेमा रजत जिते । नेपालमा भएको सातौँ संस्करण र भुटानमा भएको आठौँ संस्करणमा भने नेपाल टिम च्याम्पियन बनेको थियो ।

श्रीलङ्काको कोलम्बोमा भएको प्रतियोगतामा भारत टिम च्याम्पियन बनेको छ । भारतले २३ स्वर्ण, २४ रजत र १२ कास्य जित्यो ।

तेस्रो स्थानको श्रीलङ्काले १६ स्वर्ण, २० रजत र २३ कास्य हात पार्यो भने तीन स्वर्ण, सात रजत र १४ कास्य जितेको बङ्गलादेश चौथो भयो । छ राष्ट्र सहभागी प्रतियोगितामा पाकिस्तान एक रजत, सात कास्यका साथ पाँचौँ र एक रजत, एक कास्यका साथ भुटान छैटौँ भएको हो ।

म्याग्दीमा टिकोटमा बन्दाखेतीबाट वार्षिक एक करोड भित्रियो

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान टिकोटका कृषकले बेमौसमी बन्दाखेती गरेर वार्षिक रु एक करोडबढी रकम गाउँमा भित्र्याउने गरेका छन् ।

अनुकूल भूगोल र हावापानी, राम्रो बजारभाउ पाउने र आयआर्जन गर्न सकिने भएपछि पाउद्धारका बासिन्दाले बर्खामा कोदो, मकै रोप्ने बारीमा बन्दाखेती गर्न थालेका हुन् ।

अन्नपूर्ण–७ का वडासदस्यसमेत रहनुभएका कृषक बुद्धिवीर पुनले टिकोटका एक सय परिवारमध्ये अधिकांशले बन्दाखेती गरेका बताए । ‘गतवर्ष रु एक करोड बराबरको बन्दा बिक्री भएको थियो’, उनले भने, ‘यसपाली कृषक र क्षेत्रफलसँगै बन्दाको उत्पादन तथा आम्दानी बढ्ने अपेक्षा गरेका छौँ।’

उनका अनुसार एक जना कृषकले रु एक लाखदेखि रु सातलाखसम्मको बन्दा बिक्री गरिरहेका छन् । तीन–चार वर्षअघिसम्म पुनसहित टिका पाइजालगायत पाँच जनाले टिकोटमा बन्दा खेती सुरु गरेका थिए । दुई हजार २५० मिटर उचाइमा उच्च पहाडी भूगोलमा अवस्थित टिकोटको बेमौसमी बन्दाले बजार पाएपछि पछिल्लो तीन वर्षयता कृषकहरू यसतर्फ आकर्षित भएका हुन् ।

खाद्यबालीको तुलनामा छिटो र नगद आम्दानी हुने भएकाले बन्दाखेती सुरु गरेको टिकोटका कृषक मनराज गर्बुजाले बताए । गतवर्ष रु एक लाखको बन्दा बेचेको जनाउँदै उनले यसवर्ष १४ रोपनी जग्गामा कोदो र मकैको विकल्पमा बन्दाखेती गरिरहेको उल्लेख गरे।

जेठमा लगाएको बन्दा असारको अन्तिम सातादेखि बजार पठाउने हुन्छ । भदौ महिनासम्म बिक्री गर्न मिल्ने गरी यहाँका कृषकले फरकफरक समयमा बेर्ना सारेका मनराजले जानकारी दिए । उनका अनुसार गत वर्ष प्रतिकिलो रु ५० का दरले बन्दा बिक्री भएको थियो ।

टिकोटका कृषकहरूद्वारा उत्पादित तरकारी बेनी, जोमसोम, पोखरा, बागलुङलगायत विभिन्न स्थानमा बिक्री हुने कृषक टिका पाइजा पुनले बताए । रासायनिक मल र विषादीको प्रयोगबिना तरकारीखेती भइरहेको बताउँदै उनले विषादीको विकल्पमा गाईभैँसीको गहुँत र गोबर प्रयोग गर्ने गरिएको जानकारी दिए ।

‘रासायनिक मलको विकल्पमा स्याउला, पातपतिङ्गर र गाईवस्तुको गोबर कुहाएर मल बनाउँछौँ’, उनले भने, ‘प्राङ्गारिक प्रविधिबाट उत्पादन भएका बेमौसमी बन्दाले बजार र उचित मूल्य पाएकाले कृषक उत्साहित छौँ।’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत अन्नपूर्ण गाउँपालिकाले टिकोमा ‘तरकारी पकेट कार्यक्रम’ सञ्चालन गरेको छ । पकेट कार्यक्रममार्फत कृषकलाई अनुदानमा बीउ, कृषि औजार र प्रविमिा सहयोग गरिरहेको गाउँपालिकाका कृषि अधिकृत श्यामशरण कुर्मीले बताए ।

उनका अनुसार चालु आर्थिक वर्षमा रु १२ लाख बजेट विनियोजन गरेको उल्लेख गर्दै टिकोट तरकारी पकेट कार्यक्रमका लागि आगामी आवका लागि थप रु छ लाख रकम विनियोजन भएको जानकारी दिए ।

एमालेका अधिकांश कमिटीका अधिवेशन सम्पन्न

एमालेका अधिकांश कमिटीका अधिवेशन सम्पन्नकाठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रदेश र सबै जिल्लाका अधिवेशन सम्पन्न गरेको छ ।

स्थानीय तह कमिटीका ९८ प्रतिशत, वडा कमिटीका ९० प्रतिशत र टोल कमिटीका ५० प्रतिशत अधिवेशन सकिएको एमाले निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिए । उनले पार्टीले निर्धारण गरेको समयमा नै कमिटीका अधिवेशन सम्पन्न गरिएको बताए ।

उनकाअनुसार स्थानीय तहका १० वटा कमिटीको अधिवेशन गर्न बाँकी रहेको छ । यसैगरी एमालेका करिब छ हजार वडाका अधिवेशन सकिएका छन् । आयोगका अध्यक्ष डा सुब्बाले अधिवेशन गर्न बाँकी ९८ कमिटीको विधान महाधिवेशनभन्दा पहिला नै सक्नेगरी काम अघि बढाएको जानकारी दिए ।

एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म तोकिएको छ । पार्टीका २३ जनसङ्गठनमध्ये १६ वटाको महाधिवेशन सम्पन्न भइसकेको छन् ।

ऋणमा सबैको पहुँच हुनुपर्छः गभर्नर पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले कृषि र साना तथा मझौला उद्यमजस्ता प्राथमिकता प्राप्त क्षेत्रमा खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्या देखिएको बताएका छन् ।

ठूला उद्यमी तथा व्यवसायीलाई हेरेर मात्र मौद्रिक व्यवस्था ल्याइँदा यो समस्या समाधान नहुने उनको भनाइ छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आइतबार आयोजना गरेको पूर्व–मौद्रिक नीति छलफल कार्यक्रममा गभर्नर पौडेलले कृषि र साना तथा मझौला उद्योगको समस्यालाई केन्द्रमा राखेर अरु सबै क्षेत्रलाई सँगसँगै लैजाने गरि आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति ल्याउने तयारी भइरहेको बताए ।

‘हामीले बढी कर्जा प्रवाह होस् भन्ने चाहना राखेका कृषि र साना तथा मझौला उद्यम क्षेत्रको खराब कर्जा बढेको छ, यो समस्यालाई कसरी समाधान गर्ने भन्नेमा हामी बढी केन्द्रित हुनुपर्ने छ’, गभर्नर पौडेलले भने, ‘अस्थिरताका बेला सबै क्षेत्र प्रभावित हुन्छन्, त्यसकारण सबैलाई सकेसम्म माथि लिएर जाने हो, धनीहरुको एउटा समूह र कृषक तथा साना उद्यमीको अर्को समूह सिर्जना गर्न हुँदैन भन्नेमा हामी चनाखो हुनुपर्ने छ, ऋणमा सबैको हक लाग्नुपर्छ, सबैको पहुँच हुनुपर्छ ।’

त्यस्तै मुलुकको समग्र अर्थतन्त्र र वित्तीय क्षेत्रमा देखिएको समस्या समाधान गर्ने विषय राष्ट्र बैंकको हातमा मात्र नरहेको उनको भनाइ छ । अहिलेको समस्या समाधानका लागि वित्त नीतिले नेतृत्व गरेर ऊर्जा, सडक, पुलजस्ता ठूला पूर्वाधार क्षेत्रमा लगानी विस्तार गर्न अतिआवश्यक भइसकेकामा उनको जोड थियो ।

वित्त नीति र मौद्रिक नीतिबीच समन्वय चाहिन्छ भन्नेमा आफू स्पष्ट रहेको उल्लेख गर्दै गभर्नर पौडेलले पछिल्लो समय मौद्रिक नीति बैंक तथा वित्तीय संस्थाका वासलातमाभन्दा पनि सूक्ष्म सूचक व्यवस्थापनमा केन्द्रित हुनुपर्ने अवस्था रहेको बताए ।

बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) का वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले ब्याजदर कम हुँदा पनि कर्जा बढ्न नसक्नुको प्रमुख कारण बचतयोग्य आम्दानी घट्नु रहेको बताए । ‘हाम्रो खर्च बढेको छ, तर आम्दानी बढ्न सकेको छैन, युवा पलायनले उपभोक्ता बजारमा उपभोग घटेको छ’, उपाध्यायले भने ।

चालुपुँजी कर्जा मार्गदर्शन आवश्यक रहे पनि सही समयमा नआएको उनको तर्क छ । त्यस्तै ऋण असुलीसम्बन्धी कानुनका व्यवस्था कडा रहेको र यसलाई केही खुकुलो बनाउन सक्नुपर्ने उनले बताए । खराब कर्जा बढ्नु बैंकको मात्र समस्या नभई सामाजिक समस्याका रुपमा देखिएको धारणा उपाध्यायले राखे ।

‘खराब कर्जाको सामाजिक पाटो पनि हेरेर यससम्बन्धी कानुनी व्यवस्थालाई खुकुलो बनाइनुपर्छ, सरकारले निर्माण व्यवसायीलाई गर्नुपर्ने भुक्तानी समयमा गर्न नसक्नु र सहकारी क्षेत्रमा देखिएको समस्याले पनि खराब कर्जाको आकार बढेको देखिन्छ’, उनले भने ।

खराब कर्जाको समस्या समाधानका लागि सम्पत्ति व्यवस्थापन कम्पनीले केही भूमिका खेल्नसक्ने उपाध्यायको भनाइ छ । अधिक तरलताको विद्यमान अवस्थामा आगामी आर्थिक वर्षको मौद्रिक नीतिले तरलताको व्यवस्थापन कसरी गर्ने भनेर केन्द्रमा राख्नुपर्ने सुझाव उनको थियो ।

कार्यक्रममा अर्थशास्त्री डा मेनुका कार्कीले वित्त नीतिमा समन्वय हुनेगरी मौद्रिक नीतिका व्यवस्था आउन नसकेको र अर्थतन्त्र सुधारका लागि मौद्रिक नीतिमा बढी निर्भर हुनुपर्ने अवस्था सिर्जना भएको बताइन् ।

‘विस्तारकारी मौद्रिक नीति आउँदा वित्त नीति पनि विस्तारकारी रुपमा आउन सक्नुपर्नुपर्ने हो, तर वित्त नीति सङ्कुचनकारी नै देखिन्छ’, कार्कीले भनिन् ।

निजी क्षेत्रको कर्जा विस्तारलाई वित्त नीतिबाट नभई मौद्रिक नीतिमार्फत हेरिनुपर्ने धारणा उनको थियो । त्यस्तै, घरजग्गा धितोमा आधारित कर्जा विस्तार गर्नेभन्दा भने व्यवसायमा आधारित धितोमा कर्जा प्रवाहलाई बढावा दिनुपर्ने उनको सुझाव थियो ।

जग्गाको कित्ताकाँट रोकिँदा घरजग्गा क्षेत्रमा समस्या देखिएको र यसले पनि कर्जा विस्तार बढ्न नसकेको कार्कीको भनाइ छ ।

भन्सार शुल्कमा ट्रम्पसँग ‘सजिलै सम्झौता’ नगर्ने जापानी प्रधानमन्त्रीको भनाइ

टोकियो । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले आइतबार टोकियोले राष्ट्रपति डोनाल्ड ट्रम्पको जापानी सामानहरूमा ३५ प्रतिशतसम्म भन्सार शुल्क लगाउने धम्कीलाई टार्न खोजिरहेको छ भन्दै वासिङ्टनसँग वार्तामा ‘सजिलै सम्झौता’ नगर्ने बताएका छन् ।

‘हामी सजिलै सम्झौता गर्नेछैनौँ । त्यसैले समय लागिरहेको छ र त्यसैले यो कठिन छ’, इशिबाले एक टेलिभिजन टक शोमा भने ।
व्यापार सम्झौताका लागि बुधबारको समयसीमा अघि जापानले ट्रम्प प्रशासनसँग वार्ता गर्न हतार गर्दा उनको यस्तो टिप्पणी आएको हो ।

ट्रम्पले अप्रिलमा धेरैजसो व्यापारिक साझेदारहरूबाट आयातमा व्यापक १० प्रतिशत भन्सार शुल्क लगाए पनि उनले जापान लगायत दर्जनौँ अर्थतन्त्रहरूमा उच्च दरहरू घोषणा गरे ।

यो रोकावट जुलाई ९ मा समाप्त हुनेछ । यसको अर्थ यदि देशहरूले तिनीहरूलाई टार्न वासिङ्टनसँग सम्झौता गर्न असफल भएमा उच्च दरहरू लागू हुनेछन् ।

ट्रम्पले जापानलाई ‘३० प्रतिशत, ३५ प्रतिशत वा हामीले निर्धारण गरेको सङ्ख्या तिर्न’ भन्दै पत्र लेख्न जाँदै गरेको र द्विपक्षीय व्यापार सम्बन्धलाई ‘अनुचित’ भनेका छन् ।

उनले विशेषगरी जापानलाई थप अमेरिकी अटोमोबाइल र चामल स्वीकार गर्न दबाब दिएका छन् । टोकियोका व्यापार दूत रियोसेइ अकाजावाले बिहीबार र शनिबार अमेरिकी वाणिज्यमन्त्री हावर्ड लुटनिकसँग टेलिफोनमा कुरा गरेका थिए ।

सन्डे टेलिभिजन कार्यक्रममा इशिबाले अमेरिकी अर्थतन्त्रमा सबैभन्दा ठूलो लगानीकर्ता राष्ट्रका रूपमा जापानलाई अन्य देशभन्दा फरक व्यवहार गर्नुपर्ने कुरा दोहोर्याए ।

‘के अन्याय हो ? यो कसरी अनुचित छ ? हामीले अमेरिकी दावीहरू मध्ये प्रत्येकको जाँच गर्न आवश्यक छ’, उनले भने, ‘हामी सहयोगी हौँ, तर हामीले भन्नैपर्ने कुरा भन्नुपर्छ । हामी विश्वको सबैभन्दा ठूलो लगानीकर्ता राष्ट्र र सबैभन्दा ठूलो रोजगारी सिर्जनाकर्ता (अमेरिकामा) हौँ । हामी फरक छौँ ।’

अर्को सन्डे टेलिभिजन कार्यक्रममा इशिबाले ट्रम्पको पत्रलाई कसरी सामना गर्ने योजना छ भनेर सोध्दा जापानले ‘सबै प्रकारका परिस्थितिहरूको सामना गर्न तयारी गरिरहेको’ बताए ।

धर्मनिरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता कायम गरौँः कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता राख्न सुझाव दिएका छन् । आइतबार केन्द्रीय समिति बैठकमा कोइरालाले संविधान संशोधन गर्दा धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता राख्न सुझाव दिएका हुन् ।

‘सात बुँदेमा संविधान संशोधन गर्ने भनिएको छ । संविधान संशोधनमा धर्मनिरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता कायम गरौँ।’

कोइरालाले निर्वाचन प्रणाली फेरेर प्रतिनिधिसभा सबै प्रत्यक्ष  र राष्ट्रियसभा पूर्ण समानुपातिक गर्नुपर्ने बताए । कोइरालाले वर्तमान सत्ता गठबन्धनको समझदारी नै संविधान संशोधन भए पनि काम सुरु भएको भन्दै ध्यानाकर्षण गराए ।

रुपन्देही–३ मा हुने उपनिर्वाचनमा गठबन्धन नगर्न चन्द्र भण्डारीको सुझाव

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले कांग्रेसले जनताका काम नगरेकाले अहिले गाउँ गाउँमा कांग्रेसप्रति जनविश्वास घट्दै गएको बताएका छन् ।

केन्द्रीय समितिको आइतबारको बैठकमा भण्डारीले सही समयमा सही व्यक्तिलाई सही ठाउँमा जिम्मेवारी दिन नसक्दा समस्या भएको बताएका हुन् ।

उनले भने, ‘काम गर्दिएको भए पो अगाडि बढ्न सक्थ्यो । पद लिने, काम नगर्ने, त्यो सबै जिम्मेवारी सभापतिले लिनुपर्ने हो ख्याल गर्नुपर्दैन ?’

उनले पार्टी सभापति शेरबहादुर देउवाप्रति व्यंग्य गर्दै देउवाले हँसिया धेरै बनाएकाले घाँस नकाटेको बताए । उनले भने, ‘सभापतिजीले यति धेरै हँसिया बनाउनुभयो । ए बाबु, यो यतिको हँसिया किन बनाउनुभएको भन्दाखेरी हँसियाले घाँस काट्न सकेनन् ।त्यसकारण गाई, भैँसीहरू भोका भए यही हो अहिलेको समस्या ।’

उनले आगामी कात्तिक १७ गते रुपन्देही–३ मा हुने उपनिर्वाचनमा गठबन्धन नगर्न सुझाव दिए ।

नेपाल–चीनबीच मित्रताको नमुनाः नीलकण्ठ माविको पुनःसंरचना

त्रिशूली । नेपाल र जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्ष पुगेको उपलक्ष्यमा हिमाली जिल्ला रसुवाको पुरानो एक विद्यालयले सुविधासम्पन्न भवन पाउने भएको छ ।

छिमेकी मित्रराष्ट्र चीन सरकारले कालिका गाउँपालिका–५ जिबजिबेस्थित नीलकण्ठ नमुना माध्यमिक विद्यालयलाई अत्यधुनिक एवं सुविधासम्पन्न भवन निर्माण गरी हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरी अहिले भवन निर्माणको कामलाई तीव्र बनाएको छ ।

द्रूततर गतिमा काम भइरहेको सो भवनको निर्माण कार्य करिब ५० प्रतिशत पूरा भएको चाइना जिआङ्सु इन्टरनेशनल इकोनोमिक एण्ड टेक्निकल को–अपरेसन ग्रुपले जनाएको छ । भवन निर्माणमा संलग्न अधिकारीहरूका अनुसार सबै रकम चीन सरकारले व्यहोर्ने गरी निर्माण भएको सो भवनको लागत मूल्य ८४ करोड रहेको छ ।

चाइना जिआङ्सुका देशीय निर्देशक ‘मा युहाङ’ले निर्माण प्रक्रियाअन्तर्गत स्थानीय सरकार र जनताबाट आवश्यक सहयोग प्राप्त भएकाले तोकिएको समयसीमा दुई वर्षभित्र विद्यालय भवन हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘निर्माणका क्रममा गुणस्तर सुनिश्चित होस् भनी सिमेन्ट, फलामका रडलगायत सामग्री चिनियाँ उत्पादनलाई प्राथमिकता दिइएको छ । ससाना प्रकृतिका निर्माण सामग्री भने यहीँको प्रयोग गरिएको छ’, कम्पनीका देशीय निर्देशक युहाङले भने, ‘भवन निर्माणका लागि १८ जना चिनियाँ प्राविधिक खटिएका छन् । एक सय भन्दाबढी नेपाली कामदारले दैनिक आठ घण्टाका दरले तीन सिफ्टमा चौबिसै घण्टा काम गरिरहेका छन् ।’

उनले भवन निर्माणका लागि दुई वर्षको समयसीमा भएको जानकारी दिँदै काम सुरु भएको छ महिनामै चारतले भवनको संरचना उठाउने काम पूरा भइसकेकाले छिट्टै काम सम्पन्न भइ भवन हस्तान्तरण गर्ने बताए ।

कालिका गाउँपालिकाका प्रवक्ता एवं वडा नं ५ का अध्यक्ष सन्दीप पौडेलका अनुसार रसुवाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद मोहन आचार्यले शिलान्यास गर्नुभएको सो भवन दुई वर्षभित्र निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने समझदारी भएको छ ।

‘चीन सरकारले सीमा जोडिएका जिल्लामा १० वटा नमुना विद्यालय निर्माण गर्न १२ वर्षअघि प्रतिबद्धता व्यक्त गरेको थियो । तर विविध कारणले गर्दा शिलान्यासको काम नै ढिलो हुन गयो । अहिले भइरहेको काममा कुनै समस्या नहोस् भनेर चनाखो भएका छौँ’, विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका पौडेलले भने, ‘भवन निर्माणमा संलग्न चिनियाँ पक्षलाई बासस्थान, सडकको पहुँचमार्ग, पानी, विद्युत्, निर्माण सामग्री गोदाम घरलगायत आवश्यकता स्थानीय सरकारले पूरा गरिदिएको छ ।’

चीन सरकारको प्राविधिक तथा आर्थिक सहयोगमा अत्याधुनिक एवं सुविधायुक्त भवन निर्माणले रसुवाका विद्यार्थीको शैक्षिक भविष्य उज्ज्वल मात्र होइन नेपाल र चीनबीच मित्रताको प्रतीक बन्ने नीलकण्ठ माविका प्रधानाध्यापक नारायणप्रसाद देवकोटाले बताए ।

चीनसँग सीमा जोडिएका जिल्लामा १० वटा नमुना विद्यालय बन्ने क्रममा रसुवाको नीलकण्ठ मावि पनि समावेश भएसँगै स्थानीयवासीमा खुसीको सीमा नरहेको उल्लेख गर्दै अहिलेकै गतिमा काम भए दुई वर्षअघि नै भवन हस्तान्तरण हुने स्थिति रहेको उनी बताउँछन् ।

‘विद्यालयको यसअघिको संरचनालाई ‘गोरखा भूकम्प’ले क्षति पुर्यायो । छिमेकी विद्यालयलगत्तै ठडिए । लामो समयदेखि टहरामा कष्टसाथ पढाउनुपरेको पीडा सम्झनामा सीमित गराउनुछ’, उनले भने, ‘सुविधायुक्त र आधुनिक संरचनासहितको भवन प्राप्ति भएपछि विद्यार्थीलाई सुरक्षित, व्यवस्थित र बालमैत्री वातावरणमा शिक्षण सिकाइमा जोड्न सकिन्छ । भवनले शैक्षिक पूर्वाधारको सुधार मात्र होइन, टहरामा बिताएका कठिन दिनको अन्त्य पनि गराउने छ ।’

अत्यधुनिक र सुविधायुक्त चारतले दुई वटा भवनमा सफा कक्षाकोठा, चिनियाँ ढाँचाका फर्निचर, आवश्यकताअनुसारका प्रयोगशाला, पुस्तकालय, शौचालयलगायत आधारभूत पूर्वाधारले शिक्षाको गुणस्तरमा धेरै सुधार ल्याउने स्थानीय अभिभावको अपेक्षा छ ।

रसुवा जिल्लाको कालिका र नौकुण्ड गाउँपालिकाका करिब ४०० विद्यार्थी हाल सो विद्यालयमा अध्ययनरत छन् । एकसय ५० जना विद्यार्थी क्षमताको आवासीय भवनसहितको संरचना विद्यालयले पाएसँगै जिल्ला बाहिरका विद्यार्थीलाई आकर्षित गर्ने योजना बनाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पौडेलले बताए ।

‘प्राविधिक शिक्षा र अङ्ग्रेजी माध्यमको पढाइ सञ्चालनमा ल्याइसकेका छौँ । चीन सरकारसँगको सहकार्यमा चिनियाँ भाषा अध्ययन, सीप विकास र प्रविधिसँग अनुकूल शिक्षण प्रणालीमार्फत उत्कृष्ट शिक्षा प्रदान गर्ने लक्ष्य लिएका छौँ’, उनले भने ।

विद्यालयले विशेषगरी विपन्न, गरिब र दुर्गम क्षेत्रका विद्यार्थीलाई निःशुल्क आवासीय सुविधा दिने नीति लिएको छ । यही कारण टाढाटाढाबाट विद्यार्थी भित्र्याउने खाका अहिले नै तयार विद्यालयले तय गरेको स्पष्ट गरेको छ ।

अध्यक्ष पौडेल अबको १८ महिनाभित्र निर्माण सम्पन्न भई हस्तान्तरण हुने सो भवन नेपाल र चीनबीचको सम्बन्ध सुधारको प्रतीकका रुपमा चीरकालसम्म रहिरहने र दुई देशबीच जनस्तरसम्मको सम्बन्ध विस्तारमा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्छन् ।

निर्माण पक्षबाट प्राप्त प्राविधिक प्रतिवेदनअनुसार ११ हजार अभिभावकका सन्ततिले अध्ययन गर्न पुग्ने कक्षाकोठा, १५० क्षमताको छात्राबास, शिक्षक–कर्मचारी कोठा, सभाकक्ष, पुस्तकालय कोठा, कम्युटर र विज्ञान प्रयोगशाला, बास्केटबल मैदानलगायत संरचना हुनेछ ।

प्रधानाध्यापक देवकोटाका अनुसार रसुवा जिल्लामा अहिले करिब १४ हजार घरधुरी रहेको तथ्याङ्कसहित नयाँ बन्ने विद्यालयको क्षमतालाई विश्लेषण गर्दा विद्यालय हस्तान्तरण भएपछि गुणस्तरीय शिक्षाका लागि कुनै पनि अभिभावकले आफ्ना सन्ततिलाई जिल्ला बाहिर पठाउन पर्दैन ।

विसं २०२१ मा स्थापना भएको नीलकण्ठ नमुना माविको नयाँ भवन चिनियाँ वास्तुकलामा आधारित सुविधासम्पन्न, फूलैफूलले सजिएको बगैँचासहित आकर्षक र विद्यालय शिक्षामैत्री हुने निर्माण कम्पनीले जनाएको छ । काठमाडौँबाट ८० किलोमिटर दूरीमा रहेको नमुना मावि चीनको केरुङबाट ७२ किलोमिटरको दूरीमा पर्दछ ।

पोखरामा डेङ्गी रोकथामका लागि यस्तो छ तयारी

गण्डकी । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म ७३ जिल्लामा डेङ्गी रोगको सङ्क्रमण फैलिइसकेको छ । महाशाखाले यस वर्ष ६० हजारभन्दा बढीमा डेङ्गी सङ्क्रण हुने चेतावनीसहित सतर्कताका लागि अनुरोध गरिरहेको छ । साउनदेखि कात्तिकसम्म डेङ्गी सङ्क्रमणको जोखिम उच्च रहने भएकाले त्यसपूर्व नै सङ्क्रमण रोकथाम तथा व्यवस्थापनका लागि तीनै तहका सरकारले तयारी सुरु गरिसकेका छन् ।

गत वर्ष डेङ्गी सङ्क्रमणको ‘हटस्पट’ बनेको गण्डकी प्रदेश राजधानी पोखरामा पनि समुदायस्तरमा सचेतना र अभिमुखीकरण कार्यक्रम सञ्चालन भइरहेका छन् । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले महानगरको लेखनाथ क्षेत्रमा फाट्टफुट्ट डेङ्गीको सङ्क्रमण देखिन सुरु भएको बताए ।

‘डेङ्गी सङ्क्रमणको उच्च जोखिम रहने समय नजिक आइरहेकाले रोकथामका उपायबारे समुदायमा अभिमुखीकरणको काम गरिएको छ’, उनले भने,’हाल कक्षा ७ देखि १० सम्मका विद्यार्थी, महिला स्वास्थ्य स्वयम्सेवीकालगायतलाई डेङ्गी सङ्क्रमण रोकथामका विषयमा सचेतना प्रदान गरिएको छ ।’

जनस्वास्थ्य निरीक्षक रेग्मीले डेङ्गी परीक्षणका लागि ‘किट’ व्यवस्थापन र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका काममा पनि महानगरको स्वास्थ्य महाशाखा लागिरहेको बताए ।

गत वर्ष पोखरा महानगरपालिकामा मात्र आठ हजार ६०० जनाभन्दा बढीमा डेङ्गी सङ्क्रमण भएको थियो । डेङ्गी सङ्क्रमणबाट पोखरामा तीन जनाको मृत्यु भएको थियो । त्यसबेला प्रदेश स्वास्थ्य मन्त्रालयले पोखरा डेङ्गी सङ्क्रमणको ‘हटस्पट’ बनेको उल्लेख गरेको थियो । गत वर्ष भदौ पहिलो हप्तादेखि असोज पहिलो हप्तासम्ममा यहाँ छ गुणाले डेङ्गी सङ्क्रण बढेको थियो ।

महानगरपालिकाले लामखट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान वडा तहदेखि नै सुरु गर्दै आए पनि डेङ्गी रोकथाम चुनौतीपूर्ण बन्दै गएको जनस्वास्थ्य निरीक्षक रेग्मीले बताए । ‘हरेक व्यक्ति, परिवार र समुदाय सचेत नभएसम्म डेङ्गी रोकथाम र नियन्त्रण गर्न कठिन छ । त्यसैले यस वर्ष सबैलाई सचेत रहन आग्रह गरिरहेका छौँ’, उनले भने ।

डेङ्गी फैलाउने लामखुट्टको टोकाइबाट जोगिन घर, कार्यालय र सार्वजनिकस्थलमा पानी जम्ने खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडा आदिमा पानी जम्मा हुन नदिने र त्यस्ता स्थल भेटिएमा नष्ट गर्न पनि आग्रह गरिएको छ ।

डेङ्गी रोग सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको बासस्थान सबैभन्दा बढी पुराना टायरभित्र जमेको सफा पानीमा रहने गरेको जानकारहरूको भनाइ छ ।

सफा र जमेको पानीमा उक्त लामखुट्टेले फुल पार्ने र लार्भा हुर्काउने गर्दछ । लामखुट्टको सोही जीवनचक्र खल्बल्याउन बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गर्ने गरिएको हो । लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गी नियन्त्रणको उत्तम उपाय भएको धवलागिरि प्रादेशिक अस्पतालका प्रमुख डा किरण तिवारीले बताए ।

उनका अनुसार गत वैशाखयता दुई जना डेङ्गी सङ्क्रमित उक्त अस्पताल आएका छन् । सङ्क्रमितले तुरुन्त परीक्षण गरी आवश्यकताअनुसार उपचार सुरु गर्नुपर्ने डा तिवारीको भनाइ छ । डेङ्गीको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखापर्ने उनले बताए । सङ्क्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुनसक्ने भएकाले डेङ्गीलाई सामान्य रूपमा नलिन अस्पताल प्रमुख डा तिवारीको आग्रह छ ।

‘डेङ्गी सङ्क्रमण हुँदैमा आत्तिहाल्नु पर्दैन र अधिकांश डेङ्गी सङ्क्रमित सामान्य उपचारपछि निको हुने गरेका छन् । सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकानजस्ता लक्षण देखिएमा भने चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने हुनसक्छ’, प्रमुख डा तिवारीले भने,’डेङ्गी भएमा आराम गर्ने, झोलिलो पदार्थ प्रशस्त पिउने र जथाभावी औषधि सेवन गर्न हुँदैन । अधिकांश डेङ्गी सङ्क्रमित सामान्य उपचारपछि निको हुने गरेका छन्। प्रमुख चिकित्सक तिवारीले बताउनुभयो ।’

गर्भवती र बालबालिकामा डेङ्गीको सङ्क्रमण भएमा स्वास्थ्यमा जटिलता निम्तनसक्ने खतरा हुने हुँदा उच्च सावधानी अपाउन उनको आग्रह छ ।

गत वर्ष कास्की, तनहुँलगायत जिल्ला डेङ्गी सङ्क्रमणबाट बढी प्रभावित बनेका थिए । असारदेखि कात्तिकसम्म डेङ्गीको सङ्क्रमण बढी फैलने गर्छ । समयमा जोखिम न्यूनीकरण र नियन्त्रण गर्न नसके डेङ्गीले महामारीको रूप लिनसक्ने जनस्वास्थ्य निरीक्षक रेग्मीले बताए । जनघनत्व बढी भएका ठाउँमा डेङ्गी छिटो फैलने हुँदा सहरी क्षेत्रमा विशेष सावधानी अपनाउनुपर्ने उनको भनाइ छ ।

त्रिभुवन विमानस्थललाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेका छौँः पर्यटनमन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टिआइए)लाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेको बताएका छन् ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा आइतबार भएको बैठकमा मन्त्री पाण्डेले विमानस्थलको सेवा सुधारका लागि कार्ययोजनाका साथ अघि बढेको विश्वास व्यक्त गरे ।

उनले भने, ‘टिआइएलाई व्यवस्थित बनाउन धेरै प्रयास गरिरहेका छौँ, विमानस्थलको साजसज्जा तथा सेवालाई चुस्त र प्रभावकारी बनाउन योजनाबद्ध कार्यक्रम अगाडि सारिएको छ, विमानस्थलमा अध्यागमन, भन्सार, सुरक्षा निकाय, एयरलाइन्स आदि अन्तरसरोकारवाला निकाय रहेकाले सबैको प्रतिनिधित्व हुनेगरी विमानस्थलका महाप्रबन्धकको नेतृत्वमा सुधार कार्ययोजनाका लागि समिति बनाइएको छ, समितिको कार्ययोजनासहितको प्रतिवेदन चाँडो ल्याएर सेवा सुधारका लागि मन्त्रालयले थप ताकेता गर्नेछ ।’

पर्यटनमन्त्री पाण्डेले टिआइए क्षेत्रको सीमितताका कारण साँघुरो भएकाले यात्रु व्यवस्थापनलगायत काममा कठिनाइ भइरहेको स्पष्ट पारे ।

‘अरु देशको तुलनामा टिआइए साँघुरो छ, टर्मिनललगायत भौतिक पूर्वाधार पर्याप्त छैनन्, ‘स्पेस’को सीमितताले विमानस्थल, टर्मिनल भवन नजिक नजिक रहेकाले यात्रुहरु छिट्टै टर्मिनल भवनमा आइपुग्ने र लगेज ल्याउन धेरै समय लागेको जस्तो देखिने गरेको छ, अरु देशका यात्रु विमानबाट ओर्लिएर टर्मिनल आइपुग्न निकै समय लाग्छ, यसले गर्दा धेरै समय कुर्नुपरे जस्तो देखिन्छ’, उनले भने ।

पर्यटनमन्त्री पाण्डेले टिआइएको क्षमता ४५ लाख यात्रुलाई ओहोरदोहोर गराउने भए पनि यस वर्ष ९५ लाख यात्रुहरू ओहोरदोहोर गराइसकेको जानकारी दिँदै झण्डै दोब्बर क्षमताको यात्रुलाई व्यवस्थापन गर्नुपर्ने बाध्यताका बीच पनि विमानस्थलको सेवालाई सहज र प्रभावकारी बनाउन लागिपरेको बताए ।

मन्त्री पाण्डेले मानसरोवर जाने पर्यटकका लागि भिसा प्रक्रिया सहजीकरणका लागि परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ दूतावाससँग पहल गरिने विश्वास व्यक्त गरे ।

समितिले आजको बैठकमा हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तासँग छलफल गरेको हो । विधेयकउपर संशोधनकर्ताले मुलुकको हवाई सुरक्षालाई व्यवस्थित, सुरक्षित र भरपर्दो तुल्याउन कानुन बलियो बनाइनुपर्नेमा जोड दिए ।

सांसदहरु भानुभक्त जोशी, शेरबहादुर कुँवर र प्रकाश ज्वालाले विधेयकलाई समृद्ध बनाएर हवाई सेवालाई सुरक्षित बनाइनुपर्ने खाँचो औँल्याए । सांसद रोशन कार्कीले विधेयक अत्यन्त आवश्यक र समय सान्दर्भिक रहेकाले चाँडो टुङ्ग्याइनुपर्नेमा जोड दिइन् ।

सांसद प्रेम सुवालले नेपाल वायुसेवा निगमको व्यवस्थापकीय सुधार गर्न र सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सरोकारवालाको ध्यानाकर्षण गराए ।

सांसद एकनाथ ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित, सुलभ, सुरक्षित र सेवाग्राहीमैत्री बनाउन पर्यटन मन्त्रालयको ध्यानाकर्षण गराए ।

सांसद शिशिर खनालले मानसरोवर जाने पर्यटकको प्रवेशाज्ञा (भिसा) प्रक्रिया विलम्ब हुँदा सयौँको सङ्ख्यामा विदेशी नागरिक होटलमा कुरिरहेको भन्दै भिसा प्रक्रिया सहजीकरणका लागि पर्यटनमन्त्रीसमक्ष माग गरे ।

सांसद प्रभु साह, डा अमरेशकुमार सिंहलगायतले विधेयकमा समेट्नुपर्ने विषयबारे समितिलाई ध्यानाकर्षण गराए ।

कफुचे-कोरी पदमार्गको स्तरोन्नति गरिँदै

गण्डकी । कास्कीको मादी गाउँपालिका-१ स्थित कफुचे-कोरी पदमार्गअन्तर्गत नौलाबाट नौटा हुँदै कोरी जाने पदमार्गको स्तरोन्नति अघि बढाइएको छ ।

मादमे खोला जलविद्युत् आयोजनाको ३० लाखको सहयोग एवं मादी गाउँपालिका-१ र स्थानीय सरोकार भएका समितिको सहकार्यमा पदमार्गको स्तरोन्नति अघि बढाइएको हो ।

पदमार्गअन्तर्गत नौलाबाट नौटा हुँदै कोरीसम्मको पदमार्ग स्तरोन्नति भइरहेको मादी-१ का वडाध्यक्ष एवं सरोकार भएका समितिका संयोजक देवीजङ्ग गुरुङले जानकारी दिए । उनका अनुसार आयोजनाबाट १० लाख प्राप्त भई काम भइसकेको छ भने २० लाख लागतको काम भइरहेको छ ।

पछिल्ला समयमा यस पदमार्गमा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढिरहेको बताउँदै उनले यस क्षेत्रलाई पदयात्रा पर्यटनमार्फत विकास गर्ने लक्ष्यका साथ आफूहरू लागिरहेको उल्लेख गरे ।

कफुचे–कोरी पदमार्ग आफैँमा विशिष्ट प्रकृतिको छ । कफुचे हिमतालदेखि कोरीलाई जोड्ने यस पदमार्ग हिमतालको अवलोकनसँगै समयसमयमा खस्ने हिमपहिरोको अवलोकनका लागि पनि पर्यटकको रोजाइमा पर्ने गरेको कफुचे पर्यटन व्यवसायी उपसमितिका सचिव कृष्ण गुरुङले जानकारी दिए ।

अन्नपूर्ण दोस्रो र चौथो हिमालको बीचबाट कुनै समयमा हिमपहिरो बनेको अनुमान गरिने यस ताल समुद्री सतहबाट दुई हजार ४२१ मिटर उचाइमा रहेको छ । कूल १० हजार ४४० वर्गमिटर क्षेत्रफलमा फैलिएको कफुचेलाई विश्वको कम उचाइमा अवस्थित हिमतालका रूपमा दाबी गरिएको वडाध्यक्ष गुरुङले उल्लेख गरे ।

आँखै अगाडि हिमाल, हिमापहिरोका साथै हरियो र निलो मिश्रित रङको तालको पानीमा घामका किरणहरू पर्दाको मनोरम दृश्य यहाँको प्रमुख आकर्षण हो । कपुचे हिमताललाई स्थानीय गुरुङ भाषामा ‘क्हफुचे’ भनिने बताउँदै वडाध्यक्ष गुरुङले क्हको अर्थ हिउँ, फुको अर्थ डल्लो र चेको अर्थ समथर भू–भाग भन्ने बुझिने जानकारी दिए ।

क्हफुचेबाट अपभ्रंश हुँदै यस ताललाई कपुचे, कफुचे रूपमा लिने गरिएको स्थानीयवासी बताउँछन् । बजारबाट नजिकको हिमताल कफुचेको शान्त वातावरणसँगै वर्षात्का समयमा यहाँ फूल्ने विभिन्न प्रजातिका रङ्गीविरङ्गी फूलहरूले फूलेर वनपाखा मनमोहक देखिन्छन् ।

यस पदमार्गअन्तर्गतको अर्को गन्तव्य कोरी जहाँबाट आँखै अगाडि लमजुङ माछापुच्छ्रे«, अन्नपूर्ण दोस्रो र चौथो, थ्री सिस्टर आदि हिमाललाई नजिकबाट नियाल्न सकिन्छ ।

पर्यटकीय गाउँ सिक्लेसबाट हुगु हुँदै नौलाखर्क, नौटा हुँदै करिब नौ घण्टा उकालो यात्रा गरेपछि समुद्री सतहबाट तीन हजार आठ ५० मिटर उचाइमा रहेको कोरीडाँडा पुगिन्छ ।

यो पदयात्राका क्रममा पर्यटकले अन्नपूर्ण र लमजुङ हिमालबाट समयसमयमा खस्ने हिउँपहिरो अवलोकन गर्दै जङ्गल, परम्परागत गोठ हुँदै उकालो चढ्ने होटल आइसफलका सञ्चालकसमेत रहनुभएका पर्यटन व्यवसायी कृष्ण गुरुङले जानकारी दिए ।

यस जाने मार्गमा रहेको पाखामा गुरासैगुराँसको जङ्गल छ । वसन्तयाममा यहाँ रङ्गिएर मनमोहक बन्छ भने जेठतिर खर्कहरूमा फुल्ने मनमोहक फूलले जोकोहीलाई लोभ्याउँछ ।

प्राचीनकालमा कोरी सिक्लेस हुँदै मनाङ र लमजुङ जाने परम्परागत मार्ग प्रचलनमा रहँदा बटुवाहरू बास बस्ने थलो र गोठालाको खर्क थियो । नुन लिन जाने मार्गका रूपमा पनि यसले चासो र चर्चा कमाएको थियो । हाल चार वटा होटल रहेको कोरीमा पछिल्लो समय हाइकिङ र बिदामा घुमघामका लागि आन्तरिक पर्यटक आउनेक्रम बढिरहेको उनले बताए ।

हिमाललाई जरोबाट टुप्पैसम्म एकसाथ अवलोकन गर्न पाउने कोरीमा पुग्न ठाडो उकालोका कारण थकित बनेका पदयात्री यहाँ आइसकेपछि देखिने दृश्यले सबै थकान बिर्सने पथप्रदर्शकहरू बताउँछन् ।

पदमार्गमा असारको समयमा बढी झाडी हुने तथा ठाउँठाउँमा पहिरो खस्ने जोखिमीका कारण एक महिना पदयात्रा रोकिएको जानकारी दिँदै गुरुङले साउन लागेसँगै पुनःसञ्चालनमा ल्याउने तयारी गरिएको बताए । भइरहेको स्तरोन्नतिसँगै यो पदमार्ग यहाँ आउने पर्यटकका लागि अझै सहज हुने उनको भनाइ छ ।

त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु

काठमाडौं । कीर्तिपुरस्थित क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य सुरु भएको छ । रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरमा बनाउन र रातमा खेल सञ्चालन गराउन गत फागुनदेखि काम सुरु भएको हो । यसको पहिलो चरणमा १० हजार दर्शक अट्ने गरी प्यारापिट निर्माण र आठ वटा फ्लडलाइट जडान गरिँदैछ ।

निर्माणको जिम्मा पाएको बिजी कन्स्ट्रक्सनका इञ्जिनियर सुनील शाहका अनुसार प्यारापिटमा पहेलो सेतो खैरो हरियो नीलो र सुन्तला गरी पाँच रङका कुर्सी जडान हुने छन् ।

प्यारापिटलाई रङ्गशालाको पश्चिमतर्फ छ र पूर्वतर्फ दुईगरी आठ खण्डमा विभाजन गरिएको छ । प्रत्येक खण्डमा ६५२ कुर्सी राखिनेछन् ।

ब्रिक्स राष्ट्रहरूद्वारा ट्रम्पको करमाथि ‘गम्भीर चिन्ता’ व्यक्त

रियो डि जेनेरियो । रियो डि जेनेरियोमा हुने ब्रिक्स नेताहरूको बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अन्धाधुन्ध’ व्यापार शुल्कलाई अवैध र विश्वव्यापी अर्थतन्त्रलाई नोक्सान पुर्याउने जोखिम रहेको भन्दै निन्दा गर्ने अपेक्षा गरिएको छ ।

एएफपीले प्राप्त गरेको शिखर सम्मेलनको मस्यौदा वक्तव्य अनुसार विश्वको लगभग आधा जनसङ्ख्या र विश्वव्यापी आर्थिक उत्पादनको ४० प्रतिशत प्रतिनिधित्व गर्ने उदीयमान राष्ट्रहरू अमेरिकी आयात शुल्कका बारेमा ‘गम्भीर चिन्ता’ मा एकजुट भएका छन् ।

जनवरीमा कार्यभार सम्हालेपछि ट्रम्पले सहयोगी र प्रतिद्वन्द्वीहरूलाई समान रूपमा दण्डात्मक कर्तव्यहरूको धम्की दिएका छन् ।

उनको पछिल्लो आक्रमण व्यापारिक साझेदारहरूलाई नयाँ भन्सार शुल्क दरहरूबारे जानकारी दिने पत्रहरूको रूपमा आएका छन् जुन चाँडै लागु हुनेछन् ।

शिखर सम्मेलन घोषणाको मस्यौदामा संयुक्त राज्य अमेरिका वा यसका राष्ट्रपतिको नाम उल्लेख गरिएको छैन र आइतबार र सोमबार वार्ताका लागि भेला भएका नेताहरूद्वारा अझै संशोधन गर्न सकिन्छ ।

तर यो ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकासहित ११ उदीयमान राष्ट्रबाट वासिङ्टनमा निर्देशित एक स्पष्ट राजनीतिक प्रहार हो ।

“हामी एकपक्षीय भन्सार शुल्क र गैर–भन्सार शुल्क उपायहरूको वृद्धिको बारेमा गम्भीर चिन्ता व्यक्त गर्दछौँ जसले व्यापारलाई विकृत गर्दछ र डब्लुटिओ (विश्व व्यापार सङ्गठन) नियमहरूसँग असङ्गत छ”, मस्यौदा पाठले भनेको छ ।

मस्यौदा पाठले त्यस्ता उपायहरूले ‘विश्वव्यापी व्यापारलाई थप घटाउने धम्की दिन्छ’ र ‘विश्वव्यापी आर्थिक विकासका सम्भावनाहरूलाई प्रभावित गर्छ’ भनी चेतावनी दिएको छ ।

दुई दशकअघि द्रुत रूपमा बढ्दो अर्थतन्त्रहरूको मञ्चको रूपमा गर्भधारण गरिएको ब्रिक्सलाई पश्चिमी शक्तिको चिनियाँ–सञ्चालित प्रतिसन्तुलनका रूपमा हेरिन्छ ।

तर चीनका राष्ट्रपति सी जिनपिङको अनुपस्थितिले शिखर सम्मेलनको राजनीतिक प्रभाव घट्नेछ । सीले राष्ट्रपतिका रूपमा आफ्ना १२ वर्षमा पहिलो पटक वार्षिक बैठक छोड्दैछन् ।

त्यो अनुपस्थितिले केही क्षेत्रमा अनुमानहरू जगाएको छ । “सबैभन्दा सरल व्याख्या सबैभन्दा व्याख्यात्मक शक्ति हुनसक्छ । सीले हालै बेइजिङमा लुलालाई आतिथ्य दिनुभएको थियो”, अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का पूर्व चिनियाँ निर्देशक र्यान ह्यासले भने । उनी अहिले ब्रुकिङ्स इन्स्टिच्युसन थिङ्क ट्याङ्कमा छन् ।

सोटो नेपालमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । नेपालका ट्राभल तथा टुर अपरेटरहरूको साझा संस्था सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स (सोटो) नेपालको नयाँ नेतृत्व चयन गरिएको छ । फारवेस्ट ट्राभल एण्ड टुर्स प्रालिका सञ्चालक तथा सुदूरपश्चिमका पर्यटन व्यवसायी मानबहादुर शाहीको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरिएको हो ।

‘समृद्ध पर्यटनका लागि सामूहिक आवाज’ मूल नारासहित शनिबार काठमाडौँमा आयोजित साधारणसभाबाट शाही नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

नवनिर्वाचित कार्यसमितिमा प्रथम उपाध्यक्ष दिनेश बस्नेत, दोस्रो उपाध्यक्ष माधव कँडेल, महासचिव कुमार पराजुली, सचिव कमलबहादुर मगर, कोषाध्यक्ष मधुसुदन नेपाल, सहकोषाध्यक्ष आनन्दकुमार क्षेत्री रहेका छन् । कार्यसमिति सदस्यहरूमा बिन्दु प्रधान, ओम जोशी, दासुराम गौतम, अनिशा ज्ञवाली, सुवोध धिताल, प्रेमकुमार दनुवार र सुजीत यादव चयन भएका छन् ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष शाहीले सोटो नेपालको नेतृत्व गर्न पाउनु गौरवको विषय भएको बताए । उनले भने, “सोटो नेपालको अध्यक्षको जिम्मेवारी पाउनु मेरा लागि सुदूरपश्चिम क्षेत्रको प्रतिनिधित्व गर्ने अवसरमात्र होइन, समग्र नेपाली पर्यटनको हितमा काम गर्ने ठूलो जिम्मेवारी हो ।”

अध्यक्ष शाहीले पर्यटन क्षेत्रको समग्र विकासका लागि सामूहिक प्रयास, पारदर्शी सदस्य छनोट प्रक्रिया, सरकार र सरोकार भएकाहसँगको सहकार्य र उत्तरदायी नेतृत्वको आवश्यकता औँल्याउँदै आफू गन्तव्य प्रवर्द्धनमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, सोटो नेपालका पूर्वअध्यक्ष तथा पर्यटन क्षेत्रमा योगदान पुर्याउँदै आएका विशिष्ट व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

पर्साको ठोरी साक्षर गाउँपालिका घोषणा

वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकालाई जिल्लाकै पहिलो साक्षर पालिका घोषणा गरिएको छ । ‘हाम्रो अथक मेहेनत र प्रयासकै कारणले जिल्लाकै पहिलो साक्षर पालिका हुन पाएका छौँ’, ठोरीका गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले भने, ‘यो गौरवको विषय हो । अन्य रचनात्मक काममा पनि आगामी दिनमा पनि ठोरीले राम्रो कामको सुरुआत गर्दै अघि बढ्नेछ ।’

पालिकामा रहेका तीन हजार ८०९ घरपरिवारका १५ देखि ६० वर्ष उमेर समूहका सरकारले तोकेको १२ सूचकमध्ये आठ वटासम्म सूचक बताउन सक्ने १५ हजार ६७८ जनामध्ये १५ हजार ३२१ जना अर्थात् ९८ दशमलव ८६ प्रतिशत महिला र पुरुष साक्षर रहेकाले पालिकालाई साक्षर पालिका घोषणा गरिएको हो ।

आसमान नेपालको समन्वयमा ठोरी गाउँपालिकाको पाँचवटै वडावासीको घरघरमा पुगेर साक्षरताको सर्भे गरेको थियो । ठोरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख भुपाल जोशीले वडाको सम्पूर्ण घरमा बसोबास गर्नेसँग सरकारको तोकेको १२ सूचकमध्ये आठवटा सूचक पूरा गरेपछि साक्षर पालिका घोषणा गर्न सम्भव भएको बताए ।

जिल्लाको १४ पालिकामध्ये ठोरी साक्षर हुने पहिलो र समग्रमा मधेस प्रदेशका स्थानीय तहमध्ये सातौँ साक्षर पालिका हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले ठोरीबाट सुरुआत भएको साक्षर पालिका घोषणा कार्यक्रम अन्य पालिकाले पनि अनुशरण गर्दै जानुपर्ने बताए । जिल्ला समन्वय समितिका प्रमुख निरञ्जनप्रसाद साह सोनारले ठोरीले साक्षर घोषणा गरेर अन्य पालिकालाई पनि साक्षर घोषणा गर्नका लागि सकारात्मक दबाब दिएको बताए ।

पार्टी अध्यक्ष र पूर्वराष्ट्रपतिबीच अन्तरविरोध बढ्यो भन्ने कुरामा सत्यता छैनः एमाले सचिव महासेठ

जनकपुरधाम । नेकपा एमालेका सचिव रघुवीर महासेठले पार्टीका केही नेताहरुले अन्तरविरोध बढाएर पूर्वराष्ट्रपति विद्या भण्डारीलाई विवादमा ल्याएको बताएका छन् ।

आइतबार जनकपुरधाममा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा महासेठले पूर्वराष्ट्रपतिलाई विवादमा ल्याउने काम राम्रो नभएको बताएका हुन् ।

उनले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउने कुराले पार्टीमा कुनै प्रकारको अन्तरविरोध नभएको दाबी गरे । उनले उहाँ सक्रिय राजनीतिमा आए पार्टी अध्यक्ष केपी शर्मा ओलीकै सहमति र प्रस्तावमा आउने बताए ।

उनले भने, ‘पार्टी अध्यक्ष र पूर्वराष्ट्रपति भण्डारीकाबीचमा अन्तरविरोध बढिरहेको छ र कार्यकर्ताहरु कित्ताकाट गरिरहेका छन् भन्ने कुरामा कुनै पनि सत्यता छैन । हाम्रा पार्टीका केही, एक–दुई जना साथीहरुले जुन अन्तरविरोध बढाउने काम गरिरहनु भएको छ, त्यो राम्रो होइन ।’

उनले संविधान र एमालेको विधानले पूर्वराष्ट्रपतिहरुलाई सक्रिय राजनीतिमा आउन बन्देज नगरेकाले विद्या भण्डारी पनि राजनीतिमा फर्किन सक्ने बताए ।

टेक्सास बाढीमा मृत्यु हुनेको संख्या ४३ पुग्यो

बीबीसी । अमेरिकाको टेक्सासमा आएको भीषण बाढीमा परी कम्तीमा ४३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये १५ जना बालबालिका छन् ।

उद्धार टोलीहरूले हराइरहेका व्यक्तिहरूको खोजी कार्य जारी राखेका छन् । क्यार काउन्टीका शेरिफ ल्यारी लिथाले भने, ‘खोजी कार्य जारी छ, र सबैलाई भेटिएपछि मात्र अन्त्य हुनेछ।’

दुई रातदेखि जारी खोजी अभियानमा सयौं उद्धारकर्मी खटिएका छन् । ग्वाडालुपे नदी किनारमा रहेको एक क्रिश्चियन यूथ क्याम्पबाट २७ बालबालिका अझै हराइरहेका छन् । केही अभिभावकहरूले सामाजिक सञ्जालमार्फत आफ्ना बालबालिकाको मृत्यु पुष्टि गरेका छन् ।

हालसम्म करिब ८५० जनाको सकुशल उद्धार गरिएको अधिकारीहरूले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय सरकार स्थानीय प्रशासनसँग मिलेर उद्धार तथा राहत कार्यमा सक्रिय रहेको बताएका छन् ।

एलन मस्कले खोले नयाँ दल

बीबीसी । विश्वकै धनी व्यक्ति एलन मस्कले नयाँ दल खोलेका छन् । सामाजिक सञ्जाल ‘एक्स’मार्फत उनले आफ्नो पार्टीको नाम ‘द अमेरिका पार्टी’ राखिएको जानकारी दिएका छन् । रा

ष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्बन्ध बिग्रेपछि मस्कले आफ्नै राजनीतिक दल घोषणा गरेका हुन् । मस्कले पार्टीको उद्देश्य अमेरिकी दुईदलीय व्यवस्थालाई चुनौती दिनु रहेको स्पष्ट पारेका छन् । मस्कले लेखेका छन्, ‘आज, अमेरिका पार्टी गठन गरिएको छ — तपाईंलाई तपाईंको स्वतन्त्रता फिर्ता दिन।’

मस्क हालैसम्म राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी थिए। उनले २०२४ को राष्ट्रपति निर्वाचनमा ट्रम्पको पक्षमा करिब २५० मिलियन डलर बराबरको सहयोग गरेका थिए।

निर्वाचनपछि ट्रम्प प्रशासनले उनलाई संघीय बजेट र जनशक्ति कटौती गर्न जिम्मेवारी दिँदै सरकारी कार्यक्षमता विभाग (डज) को नेतृत्वमा नियुक्त गरेको थियो ।

तर राष्ट्रपति ट्रम्पको विशाल खर्च योजनालाई लिएर दुवैबीच मनमुटाव सुरु भयो। मस्कले योजनाले अमेरिकाको ऋण वृद्धि हुने चेतावनी दिएका थिए र विधेयकमा मतदान गर्ने सांसदहरूलाई पराजित गर्न ‘जस्तोसुकै प्रयास गर्ने’ घोषणा गरेका थिए ।

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

भोजपुर । भोजपुरमा एकै परिवारका चार जनाको हत्या भएको छ । भोजपुरको रामप्रसाद राई गाँउपालिकामा गएराति चार जनाको सामूहिक हत्या भएको हो ।

घटनामा एकजना गम्भीर घाइते भएका छन् । रामप्रसाद राई गाउँपालिका वडा नम्बर–२ को धोद्लेखानी बोन्थिताङमा चार जनाको सामूहिक हत्या भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी काार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठका अनुसार भोजपुर नगरपालिका–२ हेलाउछ बस्ने ३० वर्षीय राजेन्द्र राईले ससुरालीमा गएर परिवारका चार जनालाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन् ।

राजेन्द्रले श्रीमती, सासु ४५ वर्षीया मञ्जु गिरी, ससुरा ६८ वर्षीय बेलबहादुर गिरी र सालोको हत्या गरेका हुन् । घटनापछि आफैँले हतियार प्रयोग गर्दा राजेन्द्र राई पनि गम्भीर घाइते भएका छन्। उनलाई तत्काल उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल भोजपुर लगिएको प्रहरीले जनाएको छ।

गायिका एलिनाले ल्याइन् तीज गीत ‘पृथ्वी छोडेर

काठमाडौं । गायिका एलिना चौहानले तीज गीत ल्याएकी छन् । एलिनाले ‘पृथ्वी छोडेर’ बोलको गीत ल्याएकी हुन् । गीतमा एलिनासँगै गायिकाहरू समीक्षा अधिकारी र मेलिना मैनालीको स्वर छ ।

गीतले छोरी–बुहारी, छोरा–छोरीमा गरिने विभेद विरूद्धको आवाज बोल्छ । गीतमा शब्द डीपी खनालको छ भने संगीत दीपक शर्माको हो ।

एचबिएन किस्मतले संगीत संयोजनको काम गरेका छन् । भिडियोमा एलिना, समीक्षा र मेलिना स्वयंमका साथमा स्मारिका ढकाल, रूबिना अधिकारी र टिका जैसीले नृत्य गरेका छन् । भिडियोको निर्देशन तथा कोरियोग्राफी शंकर बिसीले गरेका हुन् ।

गणतन्त्र स्थापनाको श्रेय गिरिजाप्रसादलाई जान्छः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र स्थापनाको श्रेय पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालालाई जाने बताएका छन् ।

जय नेपाल फाउन्डेसनले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा सभापति देउवाले कोइरालकै कारण नेपालमा गणतन्त्र आएको बताएका हुन् । उनले गणतन्त्रबारे सोच्नसमेत नसकिने समयमा कोइरालाले राजतन्त्र ढाल्ने हिम्मत गरेको बताए ।

उनले भने, ‘गिरिजाबाबु हिम्मत भएको व्यक्ति हो । त्यो बेला मान्छेहरूले गणतन्त्र ल्याउनुपर्छ भनेर सोच्न पनि सक्दैन थिए । उहाँले हिम्मत गर्नुभएकै हो ।’

त्यसक्रममा सभापति देउवाले गिरिजाप्रसाद कोइरालासँग आफ्नो झगडा भएको प्रसंग पनि सुनाए । उनले भने, ‘गिरिजाबाबु र मेरोबीचमा झगडा भएको सबैलाई थाहा छ क्यारे । उहाँले मलाई पार्टीबाट निकालिदिनुभयो । मैले अर्को पार्टी खोलेँ ।’

त्यसपछि आफूले गिरिजाप्रसाद र ज्ञानेन्द्र शाह एउटै भएको अभिव्यक्ति दिएको बताए । उनले भने, ’एउटाले पार्टीबाट निकाल्यो अर्कोले प्रधानमन्त्रीबाट निकाल्यो । त्यसपछि मैले त्यसो भनेको हुँ ।’ उनले पछि गिरिजाबाबुले फेरि मिल्नुपर्छ भनेपछि पार्टीमा एक भएर काम गरेको बताए ।

कुलिङ पिरियड छानबिनका लागि संसदीय समिति गठन हुने

काठमाडौँ । प्रमुख राजनीतिक दलबीच सङ्घीय निजामती विधेयकमा ‘कुलिङ पिरियड’का सम्बन्धमा उठेका प्रश्न र विवादित विषयमा छानबिन गर्न संसदीय विशेष समिति गठन गर्ने सहमति भएको छ ।

सभामुख देवराज घिमिरे निवासमा शनिबार प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतक र सचेतकबीच भएको छलफलबाट सात सदस्यीय छानबिन समिति गठन गर्ने सहमति भएको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
समितिमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई/दुई तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट एक/एक जना सांसद रहनेछन् । समितिलाई गठन भएको २१ दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यदेश हुनेछ ।

यही असार २३ गते कार्यव्यवस्था परामर्श समितिबाट समितिमा रहने सांसदको नाम टुङ्ग्याएर प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्ने निर्णय भएको उनले जानकारी दिए ।

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिबाट निजामती विधेयकमा दुई वर्षका लागि कुलिङ पिरियड राख्ने सहमति भएकामा सभाबाट पारित भइसकेपछि सोसम्बन्धी व्यवस्था विधेयकमा फरक ढङ्गले प्रस्तुत भएको भन्ने विषयमा छानबिनका लागि समिति गठन गर्न लागिएको हो ।

रुसी आक्रमणपछि ट्रम्पले गरे नयाँ प्रतिबन्धको संकेत

किएभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमाथि रूसद्वारा हालै गरिएको सबैभन्दा ठूलो ड्रोन र क्षेप्यास्त्र आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको टेलिफोन वार्तामा प्रतिबन्धबारे गम्भीर छलफल भएको जानकारी दिए । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले ट्रम्पसँग वार्ता गरी सुरक्षा सुदृढ गर्न सहमति भएको बताए।

रुसी आक्रमणपछि युक्रेनभर हवाई सायरन बजेको थियो र राजधानी किएभसहितका धेरै स्थानमा विस्फोट सुनिएको थियो । युक्रेनी सुरक्षाकर्मीले ५३९ ड्रोन र ११ मिसाइल मध्ये धेरैलाई नष्ट गरेका थिए । कीएभमा कम्तीमा २६ जना नागरिक घाइते भएका छन् ।

पोल्यान्डको किएभस्थित दूतावासमा समेत क्षति पुगेको छ, यद्यपि कर्मचारीहरू सुरक्षित छन् । रुसले आफ्नो उद्देश्यहरू शान्तिपूर्ण तरिकाबाट हासिल गर्न चाहेको बताएको छ । यद्यपि, आवश्यक परे ‘विशेष सैनिक अभियान’ जारी राख्ने जनाएको छ ।

त्यसैदिन, युक्रेन र रूसबीच बन्दी साटासाट पनि गरिएको छ, जुन अघिल्लो वार्ताको निरन्तरता हो ।

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी, एकजना पक्राउ

काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी लक्जेम्बर्ग पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा नवलपरासी पश्चिम सरावल गाउँपालिका–२ का ४० वर्षीय भूपनारायण चौधरीलाई पक्राउ गरिएको छ ।

अभियुक्त चौधरीले लक्जेम्बर्ग पठाइदिन्छु भन्दै दुई जना पीडितबाट रु १२ लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा निजलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहीबार ललितपुर महानगरपालिका–४ बाट पक्राउ गरेको हो ।

यसैबीच, बैङ्किङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादी पनि पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सिन्धुली दुधौली नगरपालिका–८ घरका ३० वर्षीय प्रलाद खड्का र हेटौँडा उपमहानगरपालिका–४ घर भएका ३६ वर्षीय सुनिल लामालाई पक्राउ गरिएको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रलादलाई काठमाडौँ महानगरपालिका–७ चावहिल गङ्गाहिटीबाट बिहीबार र सुनिललाई चन्द्रागिरि नगरपालिका–५ गुर्जुधाराबाट शुक्रबार पक्राउ गरेको हो ।

पक्राउमध्ये प्रलादलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ र सुनिललाई इलाका प्रहरी कार्यालय सिमरा बारा पठाइएको छ ।

सोलुखुम्बुको सल्लेरीमा ‘स्केट पार्क’ सञ्चालनमा

काठमाडौँ । सोलुखुम्बुको सल्लेरीमा ‘सोलुखुम्बु स्केट पार्क’ सञ्चालनमा आएको छ । युवा तथा समाजसेवी नाम्गेल शेर्पा र सुजता तामाङको संयुक्त पहलमा ‘स्केट पार्क’ सञ्चालनमा ल्याइएको हो ।

नाम्गेल शेर्पाका अनुसार स्केट पार्कमा  ६५ लाख लगानी भएको छ । “बालबालिका तथा युवालाई खेलकुदमा जोड्ने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पार्क सञ्चालनमा ल्याइएको हो”, उनले भने, ‘पार्कमा अहिले युवा तथा बालबालिकाको आकर्षण बढ्दो छ ।’

असार पहिलो साताबाट सञ्चालनमा आएको पार्कमार्फत यहाँको आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने विश्वास लिइएको स्थानीय साङ्गे शेर्पाले बताए ।

‘कोरोना महामारीपछि लगानीको वातावरण नबनेको अवस्थामा ठूलो लगानीमा सोलुखुम्बुमा पार्क निर्माण हुनुले यहाँको आर्थिक विकासमा सहयोग पुग्ने विश्वास छ, यसले यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ’, उनले भने । पार्क सञ्चालनमा आएपछि मोबाइलमा ‘गेम’ खेल्ने बालबालिकाहरु पार्कमा आउन थालेको उनको भनाइ छ ।

देश खतरामा छ भन्ने भ्रममा नपर्न गगन थापाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देश बर्बाद भयो र देश खतरामा छ भन्ने भ्रमबाट मुक्त हुन आग्रह गरेका छन् ।

शनिबार एसइई परीक्षामा तारकेश्वर नगरपालिकाभित्रका विद्यालयहरुबाट उत्तीर्ण हुने विद्यार्थीहरुलाई सम्मान कार्यक्रममा महामन्त्री थापाले देश खतरामा छ भन्ने भ्रमबाट मुक्त हुनुपर्ने बताए । उनले भने, कसैले देशमा खतरा छ, देश बर्बाद भयो, झुर भयो भनेर भन्यो भने नपत्याउनुस् ।’

देशमा केही राम्रो भए पनि भने जति गर्न नसकिएको भन्दै महामन्त्री थापाले कुनैपनि विषय वा मुद्दाका सवालमा अध्ययन, विश्लेषण र समीक्षाका आधारमा मात्र समर्थन वा विरोध गर्न सुझाव दिए । उनले मुलुकै अडिएर बस्न, नयाँ कुरा सिक्न, प्रश्न र आलोचना गर्नपनि सुझाव दिए ।

राजर्षी जनक विश्वविद्यालयको भवन निर्माणमा एमालेले अवरोध गरेको निधिको आरोप

जनकपुरधाम । नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले राजर्षी जनक विश्वविद्यालयको भवन निर्माणमा एमालेका प्रतिनिधिहरुले अवरोध गरिरहेको आरोप लगाएका छन् ।

शनिबार जनकपुरधामस्थित जिल्ला पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेता निधिले धनुषा क्षेत्र नम्बर ३ र ४ बाट निर्वाचित एमालेका प्रतिनिधि तथा नेताहरुले विश्वविद्यालयको भवन निर्माणमा अवरोध खडा गरिरहेको बताए ।

उनले स्थापनाको समयमा धनुषाका एमालेका प्रतिनिधिहरुले सहयोग गरेका तर अब उल्टै एमालेका क्षेत्र नं.३ र ४ का प्रतिनिधिहरुलेनै अवरोध उत्पन्न गरेर विश्वविद्यालयको भवन निर्माण कार्यलाई रोक्ने प्रयास गरिरहेको बताए ।

सत्ता गठबन्धनमा एमाले र कांग्रेस सँगै भएपनि गठबन्धनको धनुषा क्षेत्र नं.३ बाट प्रतिनिधित्व गर्ने एमालेका नेताले न्यूनतम शिष्टाचार पालना नगरेको नेता निधिको आरोप छ । सार्वजनिक विकासको विषयमा अवरोध गर्नु दुःखद भएको उनले बताए ।

गाजामा भएको इजरायली आक्रमणमा १९ जनाको मृत्यु

गाजा । गाजामा इजरायली सेनाले शनिबार विभिन्न क्षेत्रमा गरेको हवाई आक्रमणमा कम्तीमा १९ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

प्यालेस्टिनी समाचार एजेन्सी ‘वफा’ का अनुसार गाजा सहरको अल–जर्का क्षेत्रमा गरिएको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् । यसैगरी, गाजाको अस्कौला क्षेत्रमा रहेको एक विद्यालयमा गरिएको बम आक्रमणमा पाँच जनाको ज्यान गएको र आवासीय भवनहरू क्षतिग्रस्त भएको जनाइएको छ ।

मध्य गाजामा रहेको अल–बुरेज शरणार्थी शिविरमा इजरायली ड्रोनले निशाना बनाउँदा दुई जनाको मृत्यु भएको छ । अल–माघाजी शिविरमा पनि आक्रमणपछि दुई जनाको शव अस्पतालमा ल्याइएको छ ।

त्यस्तै, दक्षिण गाजाको खान युनूसस्थित अल–मवासी क्षेत्रमा विस्थापितहरू बसोबास गरिरहेको शिविरमा इजरायली आक्रमण हुँदा सात जना शहीद भएका छन् भने १० भन्दा बढी घाइते भएका छन् । आक्रमणमा एकजना बुबा र उनका छोराको पनि ज्यान गएको जनाइएको छ ।

लक्ष्यभन्दा बढी राजस्व उठाउँदै भन्सार कार्यालय माडर

सिरहा । सिरहाको प्रमुख भन्सार कार्यालय माडरले चालु आर्थिक वर्ष २०८१/०८२ को ११ महिनामा राजस्व असुलीको लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको छ ।

कार्यालयका अनुसार असार महिनाबाहेक नै १३ करोड ७५ लाख ८१ हजार राजस्व सङ्कलन भइसकेको छ, जुन चालु आवको कूल लक्ष्य  १२ करोड १२ लाख ९२ हजारभन्दा एक करोड ६२ लाख ८९ हजार बढी हो ।

भन्सार प्रमुख तोयानाथ सापकोटाका अनुसार मङ्सिरबाहेक सबै महिनामा राजस्व लक्ष्यभन्दा बढी उठाइएको हो । उनले भने, ‘मङ्सिरमा मात्र ९४ प्रतिशत राजस्व सङ्कलन भएको थियो, बाँकी सबै महिनामा लक्ष्यभन्दा बढी सङ्कलन भएको छ ।’ उनका अनुसार, अहिलेसम्मको समग्र राजस्व सङ्कलन लक्ष्यको ११३ प्रतिशत पुगेको छ ।

सापकोटाले चालु आवको अन्तिम महिना असारमा लक्ष्यभन्दा बढी राजस्व उठ्ने प्रक्षेपण गर्दै आव सकिँदासम्म १५ प्रतिशत बढी राजस्व सङ्कलन हुने विश्वास व्यक्त गरे। राजस्व सङ्कलनमा सफलता हासिल गर्दा पनि माडर भन्सारमा लामो समयदेखि छलफलमा रहेको ‘प्लान्ट क्वारेन्टाइन’ सेवा स्थापनामा भने अझै ठोस कार्यान्वयनको चरणमा पुगेको छैन ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय र सम्बन्धित विभागले सेवा स्थापनाको आवश्यकता बारम्बार औँल्याउँदै आएका छन्, तर प्रक्रियागत ढिलाइका कारण योजना अलपत्र छ । सापकोटाका अनुसार माडरमा प्लान्ट क्वारेन्टाइन सेवा स्थापना गरिएमा माडर, ठाडी र राजविराज गरी तीन वटा भन्सार कार्यालयलाई सेवा दिइनेछ ।

यी सबै नाका हुलाकी राजमार्गमार्फत माडरसँग सिधा जोडिएका छन्, जसले समन्वय र ढुवानी प्रक्रियालाई सहज बनाउनेछ । उहाँले अझै स्पष्ट पार्दै भने, ‘यदि माडरमा प्लान्ट क्वारेन्टाइन सेवा उपलब्ध गराइयो भने राजस्व असुली पनि दोब्बरले वृद्धि हुने निश्चित छ ।’

हाल कृषिजन्य वस्तु आयात–निर्यात गर्ने व्यवसायीलाई क्वारेन्टाइन प्रमाणीकरणका लागि पूर्वमा विराटनगर वा पश्चिममा जलेश्वरसम्म पुग्नुपर्ने बाध्यता छ । यसले ढुवानी खर्चमात्र होइन, उपभोक्ता मूल्यमा अप्रत्याशित वृद्धि गराएको व्यवसायीले गुनासो गरेका छन् ।

मौरिस हर्गोज पदमार्गमा पर्यटकीय पूर्वाधार विस्तार

म्याग्दी । अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने म्याग्दीको मौरिस हर्जोग पदमार्गमा पूर्वाधार विस्तार भएको छ ।
अन्नपूर्ण गाउँपालिकाले आश्रयस्थल, सार्वजनिक शौचालय, खानेपानी निर्माण, पदमार्ग मर्मत र समुन्द्री सतहदेखि चार हजार १०० मिटर उचाइमा रहेको आधार शिविरमा खुला सङ्ग्रहालय स्थापना गरेको हो ।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ । अन्नपूर्ण गाउँपालिकाको ६० लाख बजेटबाट उक्त पूर्वाधार निर्माण गरिएको वडा सदस्य श्याम पुर्जाले जानकारी दिए ।

फुटफुटे झरनामा चिया, खाजा पसल सञ्चालनका लागि आश्रयस्थल भवन, शौचालय निर्माण र खानेपानी व्यवस्थापन भएको छ । हुमखोलामा खानेपानी र शौचालय निर्माण भएको छ । गुफाफाँट र आधार शिविरमा एक÷एक वटा शौचालय निर्माण भएका छन् ।
हुमखोलादेखि साधीखर्कसम्मको पदमार्गमा ढुङ्गा बिछ्याउने, अप्ठ्यारो ठाउँको पदमार्गको डिलमा रेलिङ राखिएको वडा सस्दय पुर्जाले जानकारी दिए । आधार शिविरमा हालसम्म अन्नपूर्ण हिमाल आरोहण गरेका तीन सय जनाभन्दा आरोहीहरुको नाम उल्लेख गरेको ताम्रपत्र राखेर खुला सङ्ग्रहालय बनाइएको छ ।

सङ्ग्रहालयसँगै अन्नपूर्णका प्रथम आरोही फ्रान्सका नेपाली मौरिज हर्जोग, लुई लचेनल र नेपालका सोनाम वालुङ शेर्पाको सालिक राखिएको छ । पूर्वाधार विस्तार र मर्मतसँगै अन्नपूर्ण आधार शिविर घुम्न जाने पर्यटकलाई सहज भएको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले बताए ।

मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै अन्नपूर्ण आधार शिविरमा पुग्न सकिन्छ । नारच्याङदेखि दुई घण्टा गाडीमा यात्रा गरेपछि पुगिने हुमखोलादेखि दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ ।

छोटो यात्रामा पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर पर्यटकको रोजाइमा परेको छ । सत्तरी वर्षअघि फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण हिमाल आरोहणका लागि प्रयोग गरेको बाटो पछ्याउँदै विसं २०६७ मा नारच्याङका तेज गुरुङको अगुवाइमा पहिचान भएको यो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले २०७७ सालमा मौरिस हर्गोज नामारण र पदमार्ग सञ्चालन गरेको थियो ।

शान्त र एकान्त वातावरण, वन्यजन्तु, पक्षी, जङ्गल, अग्ला पहाडको खोच, फुटफुटे झरना, अन्नपूर्ण हिमालको फेदीमा रहेको निलो रङ्गको पञ्चकुण्ड ताल आधार शिविरको आकर्षण हो ।

काभ्रेबाट ‘मिरमिरे’को छायाँकन सुरु

काठमाडौं । चलचित्र ‘मिरमिरे’को छायाँकन सुरु भएको छ । शनिबारदेखि चलचित्रको छायाँकन सुरु भएको हो । निर्माण पक्षले पनौती नगरपालिका ११ बल्थलीस्थित लड्केश्वर आधारभूत विद्यालय पसिरमा क्यामेरा पूजा गर्दै छायाँकनको थालनी गरेको हो ।

छायाँकन करिब ३५ दिनमा पूरा गर्ने योजना रहेको निर्देशक यम शेर्पाले जानकारी दिए । उनका अनुसार चलचित्रको अधिकांश छायाँकन काभ्रेका विभिन्न स्थानमा हुनेछ ।

चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु छन् । अन्य कलाकारमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा रहेका छन् । चलचित्रको बाल–कलाकारमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् ।

एएफसी महिला एसियन कप छनोट : जितका लागि नेपाली टोलीलाई प्रधानमन्त्रीको शुभकामना

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एएफसी महिला एसियन कप छनोट’ का खेलाडीहरुलाई जितको शुभकामना दिएका छन् ।

श्रीलङ्काको टोलीलाई जितेर आज उज्वेकिस्तानसँग फाइनल प्रतिस्पर्धाका लागि तयारीमा रहेको नेपाली टोलीलाई प्रधानमन्त्री ओलीले आज प्रधानमन्त्री निवास, बालुवाटारबाट भर्चुअल संवादका माध्यमबाट सफलताको शुभकामना दिएका हुन् ।

उज्वेकिस्तानको तासकेन्दस्थित मिली रङ्गशालामा बुधबार भएको खेलमा नेपालले प्रतिस्पर्धी श्रीलङ्कालाई हराएर उत्कृष्ट प्रदर्शन गरेको थियो ।

देउवा र मुख्यमन्त्री शाहबीच नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछिको परिस्थितिबारे छलफल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहीबीच भेटवार्ता भएको छ ।

शनिबार बुढानिलकण्ठस्थित देउवा निवासमा दुई नेताबीच भेटवार्ता भएको छ । भेटमा नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको विषयमा छलफल भएको थियो ।

नागरिक उन्मुक्ति पार्टीकातर्फबाट उद्योग पर्यटन वन तथा वातावरण मन्त्री भएका रामेश्वर चौधरीलाई बर्खास्त गरेका थिए । त्यसपछि नागरिक उन्मुक्तिले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

सभापति देउवाले मुख्यमन्त्री शाहलाई देखिएका समस्याहरू वार्ताबाट समस्या समाधान गर्न र रिक्त रहेको मन्त्रालयमा नागरिक उन्मुक्तिबाटै मन्त्री बनाउनेगरि अघि बढ्न मुख्यमन्त्री शाहलाई सभापति देउवाले सुझाव दिएको शाहका प्रेस संयोजक डम्मर बमले जानकारी दिए ।

कर्णाली ‘करिडोर’मा दिगो वन व्यवस्थापनसम्बन्धी सचेतना कार्यक्रम

घोडाघोडी। कैलालीको कर्णाली ‘करिडोर’मा दिगो वन व्यवस्थापनसम्बन्धी उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयको एकीकृत भू–परिधि व्यवस्थापन आयोजनाअन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरिएको छ ।

एकीकृत भू–परिधि व्यवस्थापन आयोजना लेडिभिजन वन कार्यालय, पहलमानपुरमार्फत कर्णाली करिडोरमा संरक्षणका विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । सोही कार्यक्रमअन्तर्गत कर्णाली करिडोरका सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीलाई दिगो वन व्यवस्थापनसम्बन्धी सचेतनामूलक तालिम सञ्चालन गरिएका छन् ।

कैलाली जिल्ला नेपालकै सबैभन्दा बढी उत्पानशील वनक्षेत्र रहेको जिल्लाका रूपमा रहेको छ । विगतमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सञ्चालनमा आएकाले हाल नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले तयार पारेको दिगो वनको राष्ट्रिय मापदण्ड, २०८१ का प्रावधान र दिगो वन व्यवस्थापनको तरिकाका बारेमा अभिमुखीकरण गर्ने उद्देश्यका कर्णाली करिडोरमा रहेका सामुदायिक वन उपभोक्ता समूहमा तालिम आयोजना गरिएको डिभिजन वन कार्यालय पहलमानपुर कैलालीका डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले बताए।

नेपाल सरकार, विश्व वातावरण कोष र विश्व वन्यजन्तु कोष नेपालको सहकार्यमा सञ्चालित एकीकृत भू–परिधी व्यवस्थापन आयोजनाले तराई भूपरिधि क्षेत्रका प्रमुख जिल्लामा संरक्षण र विकासलाई सँगसँगै अगाडि बढाउने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सामुदायिक वन उपभोक्ता समूहको क्षमता अभिवृद्धि गर्दै दिगो वन व्यवस्थापनलाई प्राथमिकतामा राखेको यो आयोजनाले वन्यजन्तुको बासस्थान तथा जैविक मार्ग सुधार, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि तारबार र पूर्वसूचना प्रणाली तथा स्थानीय समुदायको जीविकोपार्जनका लागि पर्या–पर्यटन र वैकल्पिक आयआर्जनका अवसर सिर्जनाका काम गरिरहेको छ ।

डिभिजनल वन अधिकृत कँडेलका अनुसार दिगो वन व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धिका लागि डिभिजन वन कार्यालयको कर्णाली जैविक मार्गमा पर्ने जिल्लाका लम्कीचुहा नगरपालिका, टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीलाई तालिम दिइएको हो ।

यसअघि, मन्त्रिपरिषद्को निर्णयले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमबाट चुरे, तराई र संवेदनशील क्षेत्रमा वन विनाश र वातावरणीय जोखिम बढ्नका साथै कार्यक्रम कार्यान्वयनमा व्यापक अनियमितता र वन अधिकृत तथा उपभोक्ता समूह पदाधिकारीको मिलेमतोमा भ्रष्टाचार भएको ठहर गर्दै २०७७ जेठ १५ गतेदेखि वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेज गर्दै उक्त कार्यक्रम रोक्ने निर्णय गरेको थियो ।

वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेजीपछि देशभर रहेका ७०० भन्दाबढी सामुदायिक र साझेदारी वनको दिगो वन व्यवस्थापनको कार्यक्रम प्रभावित भएका थिए । वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१ खारेज भएपछि प्रभावित भएको वन व्यवस्थापन कार्यक्रमलाई ‘दिगो वन व्यवस्थापनका लागि राष्ट्रिय मापदण्ड २०८१ ले बृहत् र समावेशी ढङ्गले सम्बोधन गरेको कार्यक्रमका प्रशिक्षक वरिष्ठ वन अधिकृत विश्वराज पण्डितले बताए।

पुरानो कार्यविधि वन पैदावारको उत्पादन, रूख कटान, पुनःउत्पादन स्थापना र वनको प्राविधिक पक्षमा केन्द्रित रहेको भन्दै आलोचित थियो, तर नयाँ मापदण्डले वनको प्राविधिक पक्षका सुशान, सामाजिक तथा आर्थिक पक्षलगायत जैविक विवधता संरक्षण, पर्या–पर्यटन र जलवायु परिवर्तन न्यूनीकरणजस्ता बहुआयामिक पक्षलाई समेटेको उनले बताए ।

हाल विभिन्न प्रदेशमा दिगो वन व्यवस्थापन मापदण्डको कार्यान्वयनका लागि अभिमुखीकरण तथा क्षमता विकासका कार्यक्रम सुरु भएका छन् । लुम्बिनी, बागमती र कोशी प्रदेशमा राष्ट्रिय मापदण्डको मर्मअनुसार वन सम्वद्र्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्यविधि तयार भई लागू भएको पण्डितले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पनि वन सम्वद्र्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्यविधि, २०८१ (मस्यौदा) तयार गरी स्वीकृतिको चरणमा रहेकाले आगामी आर्थिक वर्षदेखि सुदूरपश्चिम प्रदेशमा दिगो वन व्यवस्थापनका कार्यक्रम सञ्चालन हुने अपेक्षा गरिएको डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले बताए।