`

अमेरिकाले ३५ प्रतिशत कर लगाएपछि प्रमुख गार्मेन्ट उत्पादक बङ्गलादेश सम्झौताको खोजी गर्दै

ढाका । विश्वको दोस्रो ठूलो कपडा निर्माता बङ्ग्लादेशले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाउने भनेको ३५ प्रतिशत भन्सार महसुल घटाउने आशा राखेको देशका शीर्ष वाणिज्य अधिकारीले मङ्गलबार बताएका छन् ।

बङ्गलादेशको निर्यातमा कपडा र गार्मेन्ट उत्पादनको हिस्सा करिब ८० प्रतिशत छ र गत वर्ष सरकारलाई अपदस्थ गर्ने विद्यार्थी नेतृत्वको क्रान्तिले गर्दा यो उद्योगले पुनः निर्माण गरिरहेको छ ।

‘युएसटिआर (संयुक्त राज्य अमेरिका व्यापार प्रतिनिधिको कार्यालय) ले समीक्षाका लागि अर्को मस्यौदा कागजात पठाएपछि भन्सार शुल्कको दर कम हुने आशा छ’, वाणिज्य सचिव महबुबुर रहमानले भने ।

रहमानले दक्षिण एसियाली यस राष्ट्रको राष्ट्रिय सुरक्षा सल्लाहकार र वाणिज्य सल्लाहकारले संयुक्त राज्य अमेरिकामा ‘यस मुद्दामा काम गरिरहेको’ बताए ।

बङ्गलादेश बैंक र राष्ट्रिय राजस्व बोर्डका अनुसार सन् २०२४ मा बङ्गलादेशले अमेरिकामा आठ अर्ब ३६ करोड डलर मूल्यका सामान निर्यात गरेको थियो भने त्यहाँबाट दुई अर्ब २१ करोड डलरको आयात भएको थियो ।

बङ्गलादेशबाट उत्पादनहरू प्राप्त गर्ने अमेरिकी कपडा कम्पनीहरू फ्रुट अफ द लुमदेखि लेवी स्ट्रसदेखि भिएफ कर्पसम्म छन् । यिनीहरूका ब्रान्डहरूमा भ्यान, टिम्बरल्यान्ड र द नर्थ फेस समावेश छन् ।

ट्रम्पले अप्रिल २ मा गरेको घोषणामा बङ्गलादेशलाई ३७ प्रतिशत कर लगाएका थिए, तर मङ्गलबार जारी गरिएको पत्रमा उनले अब यो ३५ प्रतिशत हुने बताए । यो कपास उत्पादनहरूमा पहिले नै राखिएको १६ प्रतिशतभन्दा दोब्बरभन्दा बढी हो ।

व्यापार घाटा कम गर्न ढाकाले बोइङ विमानहरू खरिद गर्न र अमेरिकी गहुँ, कपास र तेलको आयात बढाउन प्रस्ताव गरेको छ । व्यापार घाटालाई ट्रम्पले पीडादायी कर लगाउनका लागि औचित्यका रूपमा प्रयोग गरेका छन् ।

बङ्गलादेश गार्मेन्ट म्यानुफ्याक्चरर्स एन्ड एक्सपोर्टर्स एसोसिएसन (बिजिएमइए) का अध्यक्ष महमुद हसन खानले यसलाई ‘गार्मेन्ट क्षेत्रका लागि ठूलो चुनौती’ भनेका छन् ।

‘हामीमाथि लगाइएको कर १० देखि २० प्रतिशतको बीचमा हुने हामीले अपेक्षा गरेका थियौँ’, उनले भने । उनले ढाकाका अन्तरिम नेता मुहम्मद युनुसले ‘संयुक्त राज्य अमेरिकासँग मुद्दा उठाउनुहुने’ अपेक्षा गरे ।

बिजिएमइएका पूर्व निर्देशक मोहिउद्दिन रुबेलले भन्सार शुल्कको अवस्था भयावह हुने चेतावनी दिए ।

‘नयाँ भन्सार शुल्कले बङ्गलादेशमा रोजगारी गुमाउने चिन्ता बढाएको छ किनभने अमेरिका यसको मुख्य निर्यात बजार हो”, उनले भने, ‘बङ्गलादेशले नीतिगत परिवर्तनका लागि दबाब दिन, उच्च–स्तरीय व्यापार वार्ता पुनः सुरु गर्न र आफ्ना उत्पादनहरूको महत्त्वलाई उजागर गर्न अमेरिकी आयातकर्ताहरूलाई संलग्न गरेर छिटो कार्य गर्न आवश्यक छ ।’

बाढीले बगाएर ल्याएको त्रिशूली नदीमा दुई शव फेला

मलेखु । त्रिशूली नदीको उपल्लो भूभाग नुवाकोट तर्फबाट आएको बाढीले त्रिशूली नदीमा बहाव बढेसँगै धादिङको छुट्टाछुट्टै स्थानमा दुई जनाको शव भेटिएको छ ।

गजुरी गाउँपालिका–६ बेल्खुमा र गल्छी गाउँपालिका–२ केउरेनीमा शव भेटिएका हुन् । दुवै शव पुरुषको रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

बिहानैदेखि त्रिशूली नदीमा पानीको बहाव अत्यधिक बढेको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित त्रिशूली किनारमा जलाउँदै गरेको एउटा शव पनि नदीले बगाएको छ । शवदाहको बेला अकस्मात आएको बाढीले चितासहित शव बगाएको स्थानीय कुमार बस्नेतले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय धादिङ, नुवाकोट र रसुवाले संयुक्त रूपमा जारी गरेको सूचनामा यही असार २३ गते राति भारी वर्षासँगै त्रिशूली नदीको शिर क्षेत्रमा पानीको बहाव उच्च हुँदै गएकाले नदी किनारका बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ । सम्भावित बाढी, पहिरो वा अन्य प्राकृतिक विपद्का घटनाबारे नजिकैको सुरक्षा निकायलाई तुरुन्तै जानकारी गराउन पनि अनुरोध गरिएको छ ।

बाढीले तीन जलविद्युत आयोजनामा क्षति हुँदा २०० मेगावाट विद्युत उत्पादन बन्द

काठमाडौं । सोमबार रातिदेखि रसुवास्थित नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा आएको बाढीका कारण तीन जलविद्युत आयोजनामा क्षति हुँदा करिब २०० मेगावाटभन्दा बढी विद्युत उत्पादन ठप्प भएको छ ।

१११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना, २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत आयोजना र ६० मेगावाटको त्रिशुली ३ ‘ए’ जलविद्युत आयोजनामा क्षति पुगेको नेपाल विद्यूत प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिएका छन् ।

उनका अनुसार सबैभन्दा बढी क्षति रसुवाढी जलविद्युत आयोजनामा भएको छ । पूरानो त्रिशुली जलविद्युत आयोजनालगायत अन्य निजी क्षेत्रका आयोजनाहरुमा पनि क्षति पुगेको छ भने ‘थ्रि बि हब सबस्टेसन सबैभन्दा बढी जोखिममा रहेको छ ।

बर्खास्त गरेकै दिन रुसका पूर्वमन्त्री मृत फेला

बीबीसी । रूसका पूर्वयातायात मन्त्री रोमान स्तारोभोइत सोमबार मृत फेला परेका छन् । अधिकारीहरुले उनको मृत्यु गोली लागेर भएको हो वा आत्महत्या गरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताएका छन् ।

स्तारोभोइतलाई सोमबार नै राष्ट्रपति भ्लादिमिर पुटिनले पदबाट हटाएका थिए। उनलाई बर्खास्त गरिएको केही घण्टामै उपमन्त्री आन्द्रेइ निकितिनलाई नयाँ यातायात मन्त्रीको रूपमा नियुक्त गरिएको थियो।

बर्खास्तीको कुनै कारण औपचारिक रूपमा सार्वजनिक गरिएको छैन । रूसको अनुसन्धान समितिले घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ।

२०२४ मेमा यातायात मन्त्री नियुक्त भएका स्तारोभोइत त्यसअघि करिब ६ वर्षसम्म कुस्र्क क्षेत्रका गभर्नर थिए । कुस्र्क क्षेत्रलाई २०२४ अगस्टमा युक्रेनी सेनाले आंशिक रूपमा नियन्त्रणमा लिएको थियो। मस्कोले हालै मात्र उक्त क्षेत्रबाट युक्रेनी फौजलाई हटाएको थियो।

तर, जून महिनाको अन्त्यसम्म पनि युक्रेनले रुसी भूभागको केही सानो क्षेत्र कब्जामा राखेको दाबी गरेको थियो । स्तारोभोइतको उत्तराधिकारी अलेक्सेइ स्मिरनोभ पनि विवादमा मुछिएका थिए।

उनलाई अप्रिलमा युक्रेनी सीमामा किल्ला निर्माणका लागि छुट्याइएको रकम दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको थियो । रुसी सञ्चारमाध्यम कोमेरसान्तका अनुसार स्तारोभोइतलाई पनि सोही भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाउने तयारी हुँदै थियो।

पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’

लमजुङ । फुटबल खेलाडी सावित्रा भण्डारी ‘साम्बा’को सम्मानमा नामकरण गरिएको साम्बा चोक यतिबेला पर्यटकको नयाँ गन्तव्य बन्न थालेको छ । मस्र्याङदी गाउँपालिका–९ खुदीपुल वारिको क्षेत्रलाई ‘साम्बा’ चोक नामकरण गरेसँगै यतिबेला पर्यटकको नयाँ र मुख्य गन्तव्य बन्न थालेको हो ।

मस्र्याङ्दी गाउँपालिकाले सावित्राको फोटोको होर्डिङबोर्ड बनाएर स्तम्भ स्थापना गर्दै सो क्षेत्रलाई साम्बा चोक नामकरण गरेसँगै यतिबेला पर्यटकको नयाँ गन्तव्य बन्न थालेको हो ।

मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार फुटबल क्षेत्रमा स्थापित उनलाई सम्मान गर्न साम्बा चोक नामकरण गरिएसँगै यतिबेला विभिन्न स्थानबाट पर्यटकको आगमन हुन थालेको छ ।

पालिकावासी, जिल्लावासी, पर्यटक तथा खेलकुदप्रेमीका लागि यस स्थानमा घुम्न उपयुक्त हुनेछ, यतिबेला यहाँ जिल्लाको विभिन्न स्थानदेखि छिमेकी जिल्ला मनाङ, गोरखा, तनहुँ, कास्की, काठमाडौँबाट समेत पर्यटक आउन थालेका छन् ।

स्थानीय प्रदिप गुरुङका अनुसार पर्यटक यहाँ साम्बाको चोक तथा साम्बाको तस्बिरसँग सेल्फी तथा फोटो खिच्ने, भिडियो बनाउने, टिकटक बनाउँदै रमाउने गरेका छन् ।

डुम्रे–बेंसीसहर–चामे सडकखण्डमा पस्ने साम्बा चोकमा बेँसीसहरबाट खुदी भुलुभुले, घनपोखरा, सिउरुङ, हिमाली जिल्ला मनाङ जाने र ती स्थानबाट बेँसीसहरतर्फ आउने यात्रीसमेत एकैछिन सवारीसाधन रोकेर यात्रीहरूले साम्बा चोकको अवलोकन गर्ने, फोटो, भिडियो बनाउने गर्छन् ।

यहाँ दैनिक पाँच सय जनाभन्दा बढी पर्यटक आउने गरेका र बिदाका समयमा दोब्बर आउने गरेको बताइएको छ । यहाँ आएका पर्यटक शङ्कर घिमिरेले भने, ‘महिला फुटबल खेलाडीको स्तम्भ तथा होर्डिङ बोर्ड राखेर नामकरण गरेर साम्बा चोक राखेको थाहा पाएपछि अवलोकन तथा घुम्न आएको हुँ ।’

यहाँ आइपुग्दा निकै खुसी लागेको र मनै आनन्द प्राप्त भएको उनको भनाई छ । त्यस्तै, अर्का पर्यटक मस्र्याङ्दी गाउँपालिका वडा नं. ३ ढगैँका पुर्ण गुरुङले भने, ‘पालिकाकै चेली सावित्राको नाममा बाट नामरण भएको साम्बा चोकमा आउँदा गर्व लागेको र यस चोकको अझै प्रचारप्रसार गर्न सके पर्यटक वृद्धि हुनेछ ।’ साम्बा चोक हेर्न, अवलोकन गर्न तथा विभिन्न तरिकाले रमाउन पर्यटक आगमन हुँदा यहाँ आसपासका होटल व्यवसायसमेत फस्टाउन थालेको होटल व्यवसायीहरूको भनाइ छ ।

अन्नपूर्ण पदमार्ग अन्नपूर्ण मनाङ जाने सडकमा अवस्थित मस्र्याङ्दीको चर्चित खुदीबजार पुलको चोकलाई साम्बा चोक नामकरण गरेर उनको जन्मस्थानको पहिचान र प्रचारमा थप टेवा पुगेसँगै यहाँ पर्यटक आगमन वृद्धि हुँदै गएको वडाध्यक्ष हरिशचन्द्र थापाले बताए ।

गाउँपालिकाका सूचना अधिकारी सुरेश गौतमका अनुसार साम्बाको होर्डिङ बोर्ड र स्तम्भ निर्माण गर्न करिब पौने दुई लाख खर्च भएको छ । यही जेठ ५ गते यहाँ साम्बा चोक नामकरण भएयता पर्यटक दैनिक वृद्धि हुँदै गएको र यसको अझै प्रचारप्रसार गर्दै पर्यटक वृद्धि गर्न लाग्नुपर्ने स्थानीयको भनाइ छ । साम्बा चोक पुग्न लमजुङ सदरमुकाम बेँसीसहरबाट करिब आठ किलोमिटर दूरी सवारी साधनमा २०–३० मिनेटमा पुग्न सकिन्छ ।

खेल जगतमार्फत नेपाललाई विश्वसामु थप चिनाउन अहम् भूमिका खेल्दै आउनुभएकी भण्डारी लमजुङ तत्कालीन सिम्पानी गाविस–७ हाल मस्र्याङ्दी गाउँपालिका–९ पामचोक गाउँमा हुर्किएको हो ।

थमन भण्डारी र मुना भण्डारीको कोखबाट २०५३ साल जेठ १५ गते माइली छोरीका रुपमा जन्मिएकी हुन् सावित्रा । सावित्रा भण्डारी नेपाली फुटबल क्षेत्रमा साम्बा उपनामले परिचित छिन् । सशस्त्र प्रहरी बल क्लबबाट व्यावसायिक फुटबल खेल्न सुरु गरेकी साम्बाले हाल नेपाली महिला फुटबल टोलीको सर्वाधिक उच्च गोलकर्ता हुन् ।

साबित्रा अन्तर्राष्ट्रिय प्रतियोगितामा सर्वाधिक गोल गर्ने नेपाली खेलाडी पनि हुन् । नेपाली महिला फुटबलको क्षेत्रमा उदयमान नक्षत्रका रूपमा परिचित हुनुअघि भण्डारीलाई लमजुङकै आफ्नै गाउँ नजिकै रहेको खुदीस्थित मनास्लु युवा क्लबमा सहभागी भएर फुटबल खेल्ने अवसर मिल्यो ।

उक्त क्लबमा आबद्ध भएर क्व्होलासोथर गाउँपालिका–३ स्थित दक्षिण एसियाकै नमूना घलेगाउँमा आयोजना गरिएको फुटबल प्रतियोगितामा सहभागी भएको थियो । त्यसबेला महिला फुटबल प्रतियोगितामा भण्डारी सहभागी भएको टिम मनास्लु युवा क्लब प्रथम भएको थियो । गोल गर्ने उत्कृष्ट कला, सेलिब्रेसन गर्ने शैली अनि हेयर स्टाइलले गर्दा पनि साम्बा नामले समेत परिचित भण्डारी अरू फुटबलरभन्दा फरक रुपमा स्थापित हुँदै आएकी छन् ।

जिल्लाको गाउँको खेतका गहराबाट दशरथ रङ्गशाखा हुँदै युरोपको रङ्गशालासम्म पुगेकी भण्डारी यतिबेला युरोपेली देश फ्रान्सेली महिला फुटबलको माथिल्लो डिभिजनमा खेल्ने अन आभान्टा ग्वेनगाम्पले डेढ वर्षका लागि अनुबन्ध गरेर भण्डारीले त्यहाँ फुटबल खेल्न थालेको छ । सोअघि इजरायलको हापोएल रानानाबाट खेलेसँगै युरोपमा व्यावसायिक फुटबल खेल्ने पहिलो नेपाली खेलाडी पनि भण्डारी नै हो ।

रसुवाका बाढी प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेसको अपील

काठमाडौं । नेपाली कांग्रेसले रसुवामा आएको बाढीले जनधनको क्षति गरेको भन्दै उद्धार र राहतमा युद्धस्तरमा लाग्न अपील गरेको छ । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार विज्ञप्ति जारी गरी बाढीले ठूलो जनधनको क्षति भएको भन्दै उद्धार र राहत लाग्न अपील गरेको हो ।

नेपाल–चीन जोड्ने मितेरी पुल एवं भन्सार क्षेत्रमा रहेका कन्टेनर र अन्य मोटर बगाउँदा करोडौंको क्षति भएको उल्लेख गर्दै कांग्रेसले ’यो विपत्तिको समयमा उद्धार कार्यलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

वर्षाको समयमा हरेक वर्ष बाढी पहिरोको प्रकोप सामना गर्नु परेको र बेमौसममै पनि गत वर्ष असोज १२ मा गम्भीर विपत्ति व्यहोर्नु परेको स्मरण गर्दै, स्मरण गराउँदै कांग्रेसले एक्यवद्ध ढंगले प्रकोप सामनामा व्यवस्थित योजना साथ तत्पर रहन तीनै तहको सरकारलाई आग्रह गरेको छ।

 

टेक्सास बाढीमा मृत्यु हुनेको संख्या १०० नाघ्यो, अझै दर्जनौँ बेपत्ता

बीबीसी । मध्य टेक्सासमा गत शुक्रबार आएको विनाशकारी बाढीबाट ज्यान गुमाउनेको संख्या १०० नाघेको छ भने दर्जनौ बेपत्ता भएका छन् । पीडितहरूको खोजी र उद्धार कार्य जारी रहेका बेला मौसममा फेरि खराबी आउने पूर्वानुमान गरिको छ ।

उद्धार टोलीहरू नदी किनारमा थुप्रिएको हिलो र भग्नावशेषमा खोजी गरिरहेका छन् । तर बाढी आएको चार दिन बितिसक्दा पनि जीवित भेटिने सम्भावना निकै कम देखिएको अधिकारीहरूले बताएका छन् ।

केर काउन्टीस्थित ग्वाडालुपे नदी किनारमा रहेको ख्रीष्टियन बालिका ग्रीष्मकालीन शिविर क्याम्प मिस्टिकका कम्तीमा २७ बालिका र कर्मचारीको ज्यान गएको पुष्टि गरिएको छ।

शिविरका १० बालिका र एक सल्लाहकार अझै बेपत्ता रहेको शिविर प्रशासनले जनाएको छ । सबैभन्दा बढी क्षति केर काउन्टीमा भएको छ, जहाँ ५६ जना वयस्क र २८ जना बालबालिकाको मृत्यु भएको पुष्टि भएको छ। प्रहरी कार्यालयका अनुसार अझै २२ वयस्क र १० बालबालिकाको पहिचान खुल्न बाँकी छ ।

डब्लूटीओ प्रतिनिधि र उद्योगमन्त्री भण्डारीबीच भेट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र विश्व व्यापार संगठन (डब्लूटीओ) का प्रतिनिधि मासिहिरो हायाफुजीबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा नेपालको तेस्रो व्यापार नीति समीक्षा सम्बन्धी छलफल भएको छ ।

उक्त भेटमा नेपालको हालको व्यापार नीतिको निरन्तर सुधार, निर्यात प्रवर्द्धन, लगानीमैत्री वातावरण निर्माण तथा डब्लूटीओसँगको सहकार्यका विषयमा छलफल भएको छ ।

विशेषगरी नेपालको व्यापारको प्रतिस्पर्धी क्षमता अभिवृद्धि गरी अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी उपस्थिति जनाउने उपायबारे छलफल भएको हो ।

भेटघाटमा नेपालको व्यापार नीति अझ प्रभावकारी बनाउने, विदेशी लगानी आकर्षित गर्ने, युवा उद्यमशीलता प्रवद्र्धन गर्ने तथा वस्तु र सेवालाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सघाउने अपेक्षा गरिएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ ।

यस्ता छन् कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय

काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनको खाका तयार पार्न कार्यदल बनाउने निर्णय गरेको छ । पार्टीको केन्द्रीय समिति बैठकले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

महामन्त्री विश्वप्रकाश शर्माले बैठकले संविधानका सवल पक्ष र दुर्वल पक्षको पहिचान गर्दै संविधानमा आवश्यक संशोधनलाई सार्थक निष्कर्षमा पुग्न आन्तरिक कार्यदल गठन गर्ने निर्णय गरेको जानकारी दिए ।

त्यस्तै कांग्रेसले यसका लागि संविधान निर्माणमा संलग्न दलहरूसँग सहकार्य गर्ने र सरोकारवालासँग परामर्श लिने निर्णय पनि गरेको छ।

 

 

 

‘रिटायरमेन्ट’को कुरा मेरो हो, कसैले भनेर गर्ने होइनः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिमा अवकासको कुरा आफ्नो निजी विषय भएको बताएका छन् ।

सोमबार केन्द्रीय समितिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले रिटायरमेन्टको कुरा उठाएपछि सभापति अवकासको विषय अरु कसैले निर्णय गर्ने विषय नभएको बताएका हुन् ।

महामन्त्री शर्माले देउवाले सभापति पदबाट अवकास लिन लागेको भन्दै धन्यवाद दिएका थिए । साथै महामन्त्री शर्माले २०८३ सालको असारमा प्रधानमन्त्रीमा पार्टीभित्रबाटै अरू कुनै व्यक्तिलाई अघि सारेर त्याग गर्न सुझाव दिएका थिए ।

शर्माले भने, ‘सभापतिज्यूले सबै कुरा गरिसक्नु भएको छ, ०८३ को असारमा जाँदै गर्दा अरू कुनै साथीलाई प्रस्ताव गरेर सभापतिज्यूको उचाइ सगरमाथाको उचाइभन्दा माथि उठ्नुपर्छ।’

त्यसपछि बोलेका सभापति देउवाले म के गर्छु भन्ने विषय निजी भएको बताए । उनले भने, ‘मलाई कसैले भनेर मैले गर्ने होइन । म अप्ठ्यारो मान्छे हो नि विचार गर्नुस् ।’

सभापति देउवाले पार्टी विधान र संविधान अनुसार पार्टीको १५ औं महाधिवेशन हुने बताए । सभापति देउवाले केही समयअघि चितवनमा पुगेर ’मेरो रिटार्यड हुने समय आयो भन्दै आफूलाई कांग्रेसलाई एक बनाउने इच्छा रहेको बताएका थिए ।

हंसपुर नगरपालिकाका पूर्वउपमेयरसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषाको हंसपुर नगरपालिकाका पूर्वउपमेयर रेणुदेवी झासहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

पिपिसी ढलान योजनाको रकम भुक्तानीमा भ्रष्टाचार गरेको आरोपमा पूर्वउपमेयर झासहित ९ जनाविरूद्ध अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । नगरको वडा–५ स्थित सुगा निकासदेखि कट्टीसम्म पिपिसी ढलान योजनामा टुक्रा टुक्रा पारी रकम भुक्तानी गर्ने क्रममा भ्रष्टाचार गरेको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

अख्तियारले पूर्वउपमेयर झा, प्रशासकीय अधिकृत केशवकुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मण्डल, इन्जिनियर दिनेशकुमार मण्डल, योजना शाखाका खरिदार शत्रुधन साह, लेखापाल नेत्र लुंगेली, सब इन्जिनियर विनोदकुमार मण्डल, खरिदार ज्ञानेन्द्रकुमार झा र देव कन्स्ट्रक्सन तथा उक्त कम्पनीका प्रोप्राइटर शुभचन्द्र मण्डलविरूद्ध मुद्दा दायर गरेको हो ।

२०७६/७७ को नगर सभाबाट स्वीकृत कार्यक्रमबाट सुगा निकास टोलदेखि कट्टी चोकसम्म पिपिसी ढलान गर्न १ करोड रूपैयाँ विनियोजन गरिएको अनुसन्धानबाट खुलेको छ । सोही योजना कार्यान्वयनको चरणमा काम नगरी गलत नापी किताब तयारी गराई आपसी मिलेमतोमा ५२ लाख ७२ हजार १६८ रूपैयाँ हिनामिना गरेको अख्तियारको दाबी छ ।

उज्वेकिस्तानविरुद्धको खेल नेपाली महिला फुटबल टोलीका लागि अविस्मरणीय

–राजु सिलवाल
नेपाली राष्ट्रिय महिला फुटबल टोलीले उज्वेकिस्तानको तासकान्दमा सम्पन्न एएफसी महिला एसिया कप छनोट प्रतियोगितालाई कहिले बिर्सन नसक्ने प्रतियोगिताका रुपमा लिएको छ ।

टोलीका सदस्यहरुलाई फुटबल खेलबाट सन्यास लिइसकेपछि पनि सो प्रतियोगिताको नतिजाले पिरोलिरहने नेपाली टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को भनाइ एकदमै मार्मिक छ । फुटबल मैदानमा सधैँ दृढ देखिने साम्बालगायतका खेलाडीले उज्वेकिस्तानविरुद्धको खेल समाप्त भएपछि मैदानमै आँसु खसालेको देखेपछि नेपाली फुटबल प्रेमीहरुले नरमाइलो मानेका थिए ।

आज स्वदेश फर्कदासमेत महिला फुटबल टोलीका सदस्यहरुको अनुहारमा खुसी थिएन । सो टोलीका प्रशिक्षकहरुले पनि यो दुःखद क्षणलाई आगामी दिनमा पनि पक्कै बिर्सने छैनन् । नेपाली महिला फुटबल टोलीका लागि यो जत्तिको ठूलो प्रतियोगिता केही थिएन । यो अवसरलाई नेपाली टोलीले सही तरिकाले उपयोग गरेको थियो । सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै आएको नेपाली महिला फुटबल टोलीले १००औँ प्रतियोगिताका सिलसिलामा सबैभन्दा आक्रमक खेल खेल्दै हालसम्मकै सर्वाधिक गोल गर्न सफल भएको थियो ।

नेपाली महिला फुटबल टोलीको फाइटिङ स्पिरिटको सकारात्मक सन्देश सबैतिर फैलिएको छ । अन्तिम खेलमा उज्वेकिस्तानलाई कडा चुनौति दिँदा नेपाली टोली पेनाल्टी सुटआउटमा चुकेको थियो । नेपाल सम्भावित विजेताको अवसरबाट वञ्चित हुन पुग्यो । यसले नेपालको महिला फुटबलको आगामी मार्ग समेत अवरोध हुन पुग्यो ।

क्षमायाचना

अखिल नेपाल फुटबल सङ्घले खेलको नतिजा चाहेको जस्तो नभएको जनाएको छ । सङ्घले सबैको सहयोगको कदर पनि गरेको छ ।

नेपाली टोलीकी स्ट्राइकर प्रिति राईले नेपालको पराजयपछि सामाजिक सञ्जालमार्फत सबैसँग माफी मागेकी छिन । धेरै प्रयास गर्दा समेत खेलमा विजयी हुन नसकेको भन्दै उनके नेपाल पराजित भएकामा माफी मागेक हुन् । नेपाली राष्ट्रिय फुटबल टोलीकी पहिलो कप्तान रमा सिंहको धारणा बेग्लै छ । उनले नेपाली महिला टोलीले खेल नहारेको धारणा व्यक्त गर्दै खेलको स्तर जितभन्दा माथि भएको बताइन् ।

प्रशिक्षकको भूमिका

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे विल्डेले आफ्नो नियुक्तिपछिको पहिलो जिम्मेवारीमै नेपाली महिला टोलीको खेलमा अत्यधिक सुधार गरेको स्पष्ट महसुस गराएका थिए । उनले खेलाडीहरुलाई किन सकिन्न र? भन्दै उत्पेरित गर्ने गरेका थिए । नेपाली खेलाडीहरुले तीनवटा खेलमा क्रमशः सुधार गर्दै लगेको देखिएको थियो । यसमा मुख्य प्रशिक्षकको भूमिका महत्वपूर्ण मानिएको छ । मुख्य प्रशिक्षकले मैदानमा होस वा ड्रेसिङ रुममा दिएको जिम्मेवारी र सिकाएको शैलीलाई खेलाडीहरुले पछ्याएका थिए ।

उज्वेकिस्तानसँग ३ गोलले पछि पर्दा पनि नेपालले गोल फर्काउन सक्नु सानो उपलब्धि होइन । तर पेनाल्टीमा चुक्नु नेपालका लागि दुर्भाग्य बन्न पुग्यो । गोल मेसिनका रुपमा सशक्त खेलाडी बनेर प्रशंशाको पात्र बनेकी कप्तान साम्बाले प्रहार गरेको पेनाल्टी बल दुर्भाग्यबस गोल पोष्टको पोलमा लागेर फर्कनु, आफ्नो टोलीमा प्रिति राई र रेखा पौडेलजस्ता स्कोरर हुँदा हुँदै प्रशिक्षकले गोलकिपर अन्जना रानामगरलाई पेनाल्टी प्रहार गर्ने अवसर दिनु जस्ता कारणले नेपालको आगामी अष्ट्रेलियाको यात्रा टुङ्गिन पुगेको कुरालाई नकार्न सकिन्न ।

गोलकिपरलाई दबाब

मुख्य प्रशिक्षकले अन्जना रानामगरलाई लगातार तीन खेलमा खेलाउदाँ उनलाई पक्कै दबाब परेको थियो । यस्तो अवस्थामा गोलकिपर नर्भस हुनु स्वाभाविक थियो । यस अघि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा एन्जिला तुम्बापो सुब्बाले गोलकिपरको रुपमा नेपालको प्रतिनिधित्व गर्नुका साथै गोल बचाउने सन्दर्भमा पनि नाम कमाएकी थिइन । खेलको ख्यातीकै कारण उनको जीवनीमा आधारित ‘अन्जिला’ नामक चलचित्र निर्माण गरी उनलाई अभिनेत्रीका रुपमा ख्यातीप्राप्त सिनेमा निर्देशक निर्मल चाम्सले डेब्यु गराएका थिए ।

तासकान्दको प्रतियोगितामा मुख्य प्रशिक्षकले एन्जिलालाई कप्तानबाट हटाउनुका साथै लगातार तीन खेलमा जगेडा गोलकिपरका रुपमा बेन्चमा राखेका थिए । शनिबारको महत्वपूर्ण खेलमा प्रशिक्षकले नेपाली गोलकिपरका बारेमा ध्यान दिएको भए नतिजा सकारात्मक आउने थियो भन्नेहरु पनि छन । रक्षात्मक पक्षका खेलाडीहरुले गोल पोष्ट जोगाउन नसक्नु, गोलकिपर अन्जना रानामगरले सम्भावित गोलको आंकलन गर्न नसक्नु, बल प्रहार हुँदा ढिलो ड्राइभ गर्नु जस्ता कारणले गोल भएका थिए । पेनाल्टी प्रदर्शन अतिनै महत्वपूर्ण थियो । यस्तो निर्णायक पेनाल्टी सुटआउटमा नेपालले ४ मध्ये २ मात्र पेनाल्टी गोल गर्न सक्नु दुर्भाग्य हुन पुग्यो ।

साम्बाको सफलता

साम्बालाई कप्तानको जिम्मेवारी दिँदा पहिले बिबाद पनि भएको थियो । कप्तानको जिम्मेवारी पाएपछि आफू तीनवटै खेल खेल्नुअघिको राति सुत्न नसकेको स्वयम साम्बाले स्विकारेकी छिन् । एघार वर्ष महिला फुटबलमा बिताएकी साम्बाले यति ठूलो दबाब कहिल्यै पनि बेहोरेकी थिइनन । उनी टोलीका सबै खेलाडी कप्तान भएको मान्दछिन । सबैको सहयोगमा उनको नेतृत्वमा टोलीले नतिजा हासिल गर्न सफलता प्राप्त गरेको थियो । नेपाली राष्ट्रिय महिला टोलीको पहिलो पटक नेतृत्व गर्ने जिम्मेवारी पाएकी साम्बाले नेपाललाई एशिया कपमा प्रवेश गराउन नसकेपनि नेपाली टोलीलाई सशक्त टोलीका रुपमा मैदानमा उतार्न सक्नु उनको सफलता मान्न सकिन्छ । तासकान्दमा खेलेका तीनवटै खेलमा नेपालले विपक्षी टोलीहरुलाई कडा चुनौति दिएको थियो ।

विश्व बरियताका क्रममा ५१औँ स्थानमा रहेको उज्वेकिस्तानलाई १००औँ स्थानमा रहेको नेपालले रक्षात्मक वा आक्रामक दुवै पङ्तीका तर्फबाट यथोचित प्रतिस्पर्धा गरेको थियो । कप्तान साम्बाले यसपाली तीनवटै खेलमा ह्याट्रिक गरेर कीर्तिमान कायम गरेकी थिइन् । उनले अन्तिम दिनको खेलमा २४औँ, ७१औँ र ७३औँ मिनेटमा लगातार तीन गोल गरेर प्रतियोगितामा तेस्रो ह्याट्रिक गरेर आफूलाई विश्वकै अब्बल दर्जाको खेलाडीका रुपमा परिचित गरेकी छिन् ।

मौसमीको चुनौति

नेपाली खेलाडीहरुका लागि उज्वेकिस्तानको मौसम पनि चुनौति बन्न पुगेको थियो । अत्यधिक गर्मीका कारण पहिलो खेलमा ज्यादै कठिन महसुस गरेका नेपाली खेलाडीहरु दोस्रो तथा तेस्रो खेलसम्म आइपुग्दा विस्तारै अभ्यस्त हुँदै गएका थिए । खेल अवधिमा रेफ्रीले खेल बीचैमा रोकेर कुलीङ ब्रेक दिने गरेका थिए । तापक्रम बढी भएको अवस्थामा खेल्नु पक्कै पनि सहज हुँदैन । यस्तो अवस्थामा रेफ्रीले खेल बीचैमा केही बेर रोकेर खेलाडीलाई पानी खाने समय दिन कुलिङ ब्रेक दिने नियम छ । यसले खेलाडीहरुको शरिरको तापक्रम नियन्त्रण गर्न सहयोग गर्दछ । तापक्रम बत्तीस डिग्री सेल्सियस पुगेपछि अत्यधिक तातो मानिन्छ । तापक्रम अत्यधिक बढेको अवस्थामा खेलाडीको सुरक्षाकाला गगि कुलिङ ब्रेक आवश्यक पर्दछ ।

उज्वेकिस्तानमा अहिले गर्मी मौसममा तापक्रम बढी भएकाले तातो र सुख्खा हुने गरेको छ । त्यो मुलुकमा सबैभन्दा बढी तापक्रम जुलाई महिनामा हुने गरेको छ । उज्वेकिस्तानका धेरै सहरमा यस महिनामा औसत दैनिक तापक्रम ३५ डिग्री सेल्सियस पुग्ने गरेको छ । तर जाडोयाममा भने अत्यधिक चिसो भइ तापक्रम माइनस एक डिग्री सेल्सियसदेखि माइनस ३ डिग्री सेल्सियसम्म झर्ने गर्दछ ।

एसियाली कपको छनोट चरणमा पराजित भएर प्रतियोगिताबाट बाहिरिए पनि नेपाली फुटबल टोलीले फुटबलप्रेमी दर्शकको मन जित्न सफल भएको छ । तर नेपालको एसिया कपमा सहभागिता अवरुद्ध हुनुका साथै आगामी फिफा महिला विश्वकप र ओलम्पिक जस्ता सम्भावित प्रतियोगितामा नेपालको सहभागिता पनि टुङ्गिएकोलाई दुःखद पक्ष मान्न सकिन्छ ।

उत्कृष्ठ लयमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले पनि रक्षात्मक हुन वा आक्रामक खेलको माध्यमबाट विपक्षीहरुलाई कडा चुनौति दिँदै बलियो उपस्थिति जनाएको थियो । लगातार तीनवटै खेलमा नेपालले आफूलाई बलियो टोलीका रुपमा मैदानमा उतार्नु मुलुककै फुटबल इतिहासमा गौरवको विषय हो । यस अघि नेपालले लाओसलाई ९–० गोलअन्तरले तथा श्रीलङ्कालाई ८–० गोलअन्तरले पराजित गर्दै आफ्नो टोली बलियो भएको प्रमाणित गरेको थियो ।

समग्रमा नेपालले आफूभन्दा माथिल्लो बरियताको टोलीसँग खेल्ने अवसर पाउँदा पक्कै पनि धेरै कुरा सिकेको छ । नयाँ खेलाडीहरु उत्पादन गर्ने, स्वदेश तथा विदेशका प्रतियोगिताहरुमा खेलाडीहरुलाई अत्यधिक प्रतियोगिताहरुमा सहभागी गराउने तथा खेलाडीहरुलाई खेलेर बाच्न सक्ने अवस्था सिर्जना गर्नका लागि आवश्यक उपायहरु अबलम्बन गर्नु जरुरी छ ।

नेपालले तासकान्दमा सिकेको पाठलाई आगामी दिनमा व्यवहारमा उतार्दै नेपाली महिला फुटबललाई प्राथिमकतामा राखेर उचित रणनीति तर्जुमा गर्न अखिल नेपाल फुटबल सङ्घले तदारुकता देखाउन ढिलो गर्न हुँदैन ।

सर्वोच्चमा तीन न्यायाधीश नियुक्त

काठमाडौं । सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसमा सोमबार तीन न्यायाधीश नियुक्त गरेका हुन् ।

राष्ट्रपतिले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई न्यायाधीश नियुक्त गरेका हुन् ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार, संविधानको धारा १२९ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले उनीहरूलाई सर्वोच्चको न्यायाधीश नियुक्त गरेका हुन् । उनीहरुलाई आजै संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो ।

नेप्से २२ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २२ दशमलव ३५ अङ्कले घटेर दुई हजार ६८४ दशमलव ०१ को बिन्दुमा कायम भएको हो ।

आज विभिन्न ३११ कम्पनीका एक करोड ९४ लाख १५ हजार ६८८ कित्ता शेयर ७१ हजार ३१३ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ३७ करोड ७३ लाख २७ हजार १४७ बराबरको कारोबार भएको छ । होटल तथा पर्यटन समूह शून्य दशमलव ६१ र म्युचुअल फण्ड शून्य दशमलव ०७ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ शून्य दशमलव ७९, विकास बैंक शून्य दशमलव ८१, वित्त तीन दशमलव ७६, जलविद्युत् एक दशमलव ०२ र लगानी समूह शून्य दशमलव ७६ प्रतिशतले घटेको छ । त्यस्तै, जीवन बिमा शून्य दशमलव ९३, उत्पादन तथा प्रशोधन एक दशमलव २४, लघुवित्त शून्य दशमलव ७०, निर्जीवन बिमा शून्य दशमलव ६६, व्यापार एक दशमलव २५ र अन्य समूह शून्य दशमलव १५ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा सबैभन्दा धेरै माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडको शेयर मूल्य छ दशमलव ५६ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रू ८० करोड ७० लाख ५६ हजार चार सय ५१ बराबरको शेयर खरिद बिक्री भएको छ । त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा प्रभु सेलेक्ट फण्डको सबैभन्दा धेरै २१ लाख १९ हजार ८१७ कित्ता शेयर किनबेच भएको छ ।

‘कुलिङ अफ पिरियड’ हेरफेर छानबिन गर्न ७ सदस्यीय विशेष समिति गठन

काठमाडौँ । निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’को व्यवस्था हेरफेर गरिएको विषयमा छानबिन गर्न सात सदस्यीय विशेष समिति गठन गरिएको छ ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको सोमबारको बैठकमा समितिको घोषणा गरेका हुन । समितिको संयोजकमा नेपाली कांग्रेसका सांसद जीवन परियार रहेका छन् । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिमा नेपाली कांग्रेस र एमालेबाट २/२ तथा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट १/१ जना सदस्य रहेका छन् ।

समिति सदस्यमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशील थिङ, एमालेबाट नारायण प्रसाद आचार्य र ईश्वरी घर्ती, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की रहेका छन् । सोमबार सभामुख देवराज घिमिरेसँगको छलफलपछि दलहरूले आ–आफ्नो पार्टीबाट सदस्यहरूको नामावली दिएका थिए । ती नामावली सभामुखको सचिवालयले सार्वजनिक गरेको हो ।

प्रतिनिधिसभा नियमावलीको नियम १८० बमोजिम छानबिन विशेष समिति बन्न लागेको हो । नियम १८० मा विशेष, संवेदनशील वा गम्भीर प्रकृतिका विधेयक वा अन्य कार्यका लागि प्रतिनिधिसभामा आवश्यकताअनुसार विशेष समिति गठन गर्न सकिने व्यवस्था छ ।समितिलाई छानबिनका लागि २१ दिनको समय दिइएको छ ।

सरकारमा रहँदा सुशासनको अभियानलाई गुणात्मक ढङ्गले अघि बढायौंः नेता श्रेष्ठ

काठमाडौँ । नेपाल कम्युनिष्ट पाार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पछिल्लो पटक अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले सुशासनको अभियानलाई गुणात्मक ढङ्गले अघि बढाएको बताएका छन् ।

संयुक्त राज्य अमेरिकाको लस एन्जेल्समा आयोजित नेपाली समुदायसँग भएको भेटमा पूर्वउपप्रधामन्त्री श्रेष्ठले तत्कालीन सरकारले थालेको सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानले आमजनतामा आशा जगाउन सकेको बताए।

पार्टीलाई सुदृढीकरण गर्दै जनतासँग जोड्नका लागि हुलाकीमार्ग र मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सफल भएको उल्लेख गर्दै उनले माओवादी जनताको सेवक भएको बताए । कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले नेपालको वर्तमान राजनीतिक परिस्थिति, समृद्धिको कार्यभार, चुनौती तथा सम्भावना, गैरआवासीय नेपाली नागरिकताको व्यवस्था तथा नेपाली डायस्पोराको भूमिकाबारे धारणा राखेका थिए ।

कार्यक्रममा विभिन्न नेपाली सङ्घसंस्थाका प्रतिनिधि, व्यवसायी, इन्जिनियर, चिकित्सक, प्राध्यापकलगायतको सहभागिता थियो ।

स्पेन भ्रमणबारे प्रधानमन्त्रीले गराए सदनलाई जानकारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे संसदलाई जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर स्पेनको औपचारिक भ्रमणबाट फर्किएपछि सोमबार प्रतिनिधिसभामा आफ्नो भ्रमणबारे जानकारी गराएका हुन् ।

असार १४ गते स्पेनको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री ओली भ्रमण सकेर यही असार २० गते स्वदेश फर्किएका हुन्। । प्रधानमन्त्रीले विदेश भ्रमण पूर्व र स्वदेश फर्किएपछि सदनलाई जानकारी दिने संसदीय अभ्यास छ ।

सम्मेलनमा आफ्नो सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि अभिवृद्धि हुनुको साथै नेपालको वैदेशिक सम्बन्ध र संयुक्त राष्ट्रसंघको सहकार्य अझ बलियो हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्रीले भने, ‘मुलुकका झण्डै ५० देशका सरकार तथा राष्ट्र प्रमुख तथा संयुक्त राष्ट्रसंघका प्रमुख लगायतको सहभागिता रहेको सम्मेलनमा प्रधानमन्त्रीको नेतृत्वमा नेपालको सक्रिय उपस्थितिले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि अविवृद्धि भएको छ ।’

प्रधानमन्त्रीले सम्मेलनमा नेपालको हित र आवाज मुखरित गरेको समेत गरेको बताए । प्रधानमन्त्री ओलीले भने, ‘वास्तवमा यस पटकको भ्रमणले नेपालको हित, नेपालको पहिचान र नेपालको आवाज। त्यो मात्रै होइन, हामीले आफू जस्ता भूपरिवेष्ठित, अल्पविकसित राष्ट्रहरुको समेत आवाजलाई त्यहाँ मुखरित गर्ने काम गरेका छौँ।’

त्यस्तै नेपाल अन्तर्राष्ट्रिय समुदायमा एक जिम्मेवार र सक्षम मुलुक सावित भएको समेत उनको भनाइ छ । उनले भने, ‘विकास वित्तसम्बन्धी अपेक्षा, औपचारिक र अनौपचारिक विकास सहयोगका साथै जलवायु वित्तमा पनि सहयोगका लागि आव्हान गरिएको छ । विकास साझेदारीका प्राथमिकताहरु मुखरितका प्रयास गरिएको छ। नेपाल अन्तर्राष्ट्रिय समुदायमा एक जिम्मेवार र सक्षम मुलुक सावित भएको छ। आर्थिक कूटनीतिलाई अगाडि बढाउने र वैदेशिक लगानीवृद्धि हुने अपेक्षा गरिएको छ।’

सम्मेलनका अवसरमा अति कम विकसित राष्ट्रहरुको समूहको बैठकलाई अध्यक्षतासहित सम्बोधन, विभिन्न साइलाइन वार्ता र गोलमेच सम्मेलनमा आफ्नो नेतृत्व, वकालत प्रतिबद्धताबारे सदनलाई प्रधानमन्त्री ओलीले जानकारी गराए।

मनसुनजन्य विपदबाट काभ्रेमा ६ हजारभन्दा बढी घरपरिवार उच्च जोखिममा

काभ्रे । मनसुनजन्य विपद्मा काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमा तीन सय ९५ बस्ती उच्च जोखिममा रहेको पाइएको छ ।

स्थानीयस्तरबाट जिल्लास्थित विपद् व्यवस्थापन समितिलाई प्राप्त प्रतिवेदनमा यस वर्षको मनसुनजन्य विपद्मा उक्त सङ्ख्याको बस्तीका छ हजार तीन सय ७५ घरपरिवार उच्च जोखिममा रहेको जनाइएको हो ।

समितिका अनुसार ती बस्तीको परिवारका २३ हजार ४५ नागरिक मनसुनजन्य विपद्बाट प्रभावित हुनसक्ने आकलन गरिएको हो । समितिले स्थानीय तहका विपद् व्यवस्थापन समिति तथा जनप्रतिनिधि र सुरक्षाकर्मीको तथ्याङ्कका आधारमा उक्त जनसङ्ख्या यस वर्षको मनसुनजन्य विपद्बाट प्रभावित हुनसक्ने प्रक्षेपण गरेको जनाइएको छ ।

“विशेषगरी यस वर्षको बाढी पहिराले जिल्लाका रोशी, सुनकोशी, इन्द्रावती, पुण्यमाता, झिकुखोला, दाप्चाखोलालगायत तटीय क्षेत्र आसपास बसोबास गर्ने नागरिक प्रभावित हुने अनुमान गरिएको छ, यसबाट सतर्कता अपनाउन आग्रह पनि गर्दै आएका छौँ”, समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेश ढकालले भने ।

ढकालका अनुसार काभ्रेपलाञ्चोकका १३ वटै स्थानीय तहमा बाढी पहिराको उच्च जोखिम देखिएको छ ।समितिलाई प्राप्त तथ्याङ्कअनुसार जिल्लामा सबैभन्दा बढी रोशी गाउँपालिकामा ५६ बस्ती र सबैभन्दा कम खानीखोला गाउँपालिकामा नौ बस्ती उच्च जोखिममा रहेको जनाइएको छ ।

रोशीमा एक हजार चार सय ३८ घरपरिवारका तीन हजार छ सय ६२ नागरिक उच्च जोखिममा रहेको पाइएको हो ।नमोबुद्ध नगरपालिकाकोमा एक हजार एक सय ४२ घरपरिवारका चार हजार चार सय ११ नागरिक प्रभावित हुने आकलन गरिएको छ ।

यस्तै पाँचखाल नगरका ४१ बस्तीमा आठ सय ६९ घरपरिवारका पाँच हजार छ सय ६८ नागरिक प्रभावित हुने देखिएको हो । मण्डदेउपुर नगरमा २४ बस्तीका दुई सय ४३ घरका नौ सय ४७ जना नागरिक प्रभावित हुने जनाइएको हो ।

सहरी क्षेत्रमा पर्ने बनेपामा २७ स्थान जोखिममा रहेकोमा आठ सय ११ घरपरिवारका दुई हजार दुइ सय ६१ नागरिक प्रभावित हुने आकलन गरिएको छ भने पनौतीमा १६ बस्तीका दुई सय ८६ घरका एक हजार तीन सय ९५ परिवार प्रभावित हुनसक्ने देखिएको समितिले जनाएको छ ।

समितिका अनुसार अर्को सहरी क्षेत्र अर्थात् सदरमुकाम धुलिखेलका २५ बस्ती उच्च जोखिममा रहेकोमा त्यस क्षेत्रका पाँच सय २१ घरपरिवारका एक हजार तीन सय ५१ नागरिक प्रभावित हुने प्रक्षेपण गरिएको छ ।

यसैगरि तेमालको ४६ बस्तीमा तीन सय आठ घरपरिवारका आठ सय ५०, बेचानचोकमा १३ बस्ती उच्च जोखिममा रहेकोमा त्यस क्षेत्रका ७७ घरका २ सय ८८ नागरिक सदस्य जोखिममा रहेका छन् ।

डाँडापारी क्षेत्रका महाभारतमा १३ जोखिमयुक्त बस्तीमा एक सय ३६ घरपरिवारका पाँच सय ६९, खानीखोलामा नौ उच्च जोखिम बस्तीमा ४७ परिवारका दुई सय ३३ नागरिक उच्च जोखिममा रहेको जनाइएको छ ।

कोशीपूर्व क्षेत्रस्थित चौँरी देउरालीको उच्च जोखिममा रहेको ३६ बस्तीका दुई सय ७६ घरपरिवारका छ सय १९, भुम्लुमा उच्च जोखिममा रहेको ३९ बस्तीमा दुई सय २१ घरका सात सय ९१ नागरिक प्रभावित हुने आकलन गरिएको छ ।

गतसाल असोज ११ र १२ गतेको अविरल वर्षामा बाढीपहिराेका कारण काभ्रेपलाञ्चोका ७८ को निधन भएको थियो भने छ जना बेपत्ता भएकाको अवस्थामा रहे । उक्त घटनामा ७५ जना घाइते भएका थिए ।

बाढी पहिरोमा मृत्यु हुनेमा सबैभन्दा बढी पनौती नगरका १७ जना रहेका थिए । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये पाँचखाल, खानीखोला र महाभारतमा भने मानवीय क्षति हुन पाएन ।

बाढी पहिरोबाट अन्य जिल्लाभन्दा काभ्रेपलाञ्चोकमा ठूलो सङ्ख्यामा मानवीय क्षति भएको हो । मृतकको सङ्ख्या देशभर मृत्यु भएकामध्ये ३१ दशमलव ५६ प्रतिशत रहेको थियो ।

काभ्रेपलाञ्चोकमा बाढीपहिराेमा परी ३३ महिला, २९ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको छ । यसमध्ये २१ विद्यार्थी थिए । समितिले मनसुनजन्य विपद् न्यूनीकरणका लागि स्थानीय तह, विभिन्न सुरक्षा निकाय, संस्थालगायतका सरोकारवालासँग उद्धार, राहत तथा सुरक्षित स्थानमा बसोबास गराउने प्रबन्ध तयारी अवस्थामा राख्न अनुरोध गरेको छ ।

यस्तै विपद्को समयमा तत्कालै प्रयोग गर्न मिल्ने गरी जिल्लाका एक सय ३५ वटा वडामा कम्तीमा प्रत्येक वडामा अथवा नजिकको वडालाई समेटेर हेलिप्याड तयार गरिएको, विभिन्न विद्यालय, क्लब, सामुदायिक भवन तथा खुला स्थानलाई प्रयोग गर्न मिल्ने गरी व्यवस्थापन गरिएको समितिले जनाएको छ ।

संसदमा राप्रपा र रास्वपाको विरोध कायमै

काठमाडौं । भिजिट भिसा प्रकरण छानबिनका लागि समिति गठनको माग गर्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदमा विरोध जारी राखेका छन् ।

सोमबारको संसद बैठकमा पनि दुबै दलले विरोध गरेका छन् । रास्वपा आजपनि वेल घेराउ गरिरहेको छ भने राप्रपाले बैठक बहिष्कार गरेको छ ।

अनिवार्य र निःशुःल्क शिक्षा सुनिश्चित गर्न अखिल क्रान्तिकारीको माग

काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनिययन (क्रान्तिकारी)ले आधारभूत शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक शिक्षा निःशुल्क गर्ने संवैधानिक व्यवस्थालाई विद्यालय शिक्षा विधेयकमा समेट्न प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको ध्यानाकर्षण गराएको छ ।

अखिल (क्रान्तिकारी) का अध्यक्ष विजयप्रकाश शर्मा सापकोटासहितको प्रतिधिमण्डलले आज समितिका सभापति अम्मरबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै विधेयकमा शिक्षकको आत्मसम्मानको कदर तथा सेवसुविधा समायानुकूल बनाउन आग्रह गरेको हो । सङ्गठनले शत्प्रतिशत खुल्ला प्रतिस्पर्धाबाट शिक्षक नियुक्तिको सुनिश्चितता गर्न पनि माग गरेको छ ।

क्रान्तिकारीले परम्परागत रुपमा चलिरहेका धार्मिक विद्यालय मदरसा, गुम्बालगायतका विद्यालयलाई समकक्षता र यस्ता विद्यालयलाई मूलधारमा ल्याउने बारेमा थप स्पष्टता गर्न सुझाव दिएको उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख मदन ढकालले जानकारी दिए । ज्ञापत्रपत्रमा राष्ट्रिय पाठ्यक्रम परिषद् र पाठ्यक्रम विकास केन्द्रलाई गाभेर एउटा निकाय कायम गर्न सुझाव दिइएको छ ।

ऐन प्रारम्भ भएपछि पाँच देखि १० वर्षभित्रमा निजी विद्यालय अनिवार्य रुपमा शैक्षिक गुठीमा रुपान्तरण गरी सञ्चालन गर्नु आवश्यक रहेको औँल्याउँदै क्रान्तिकारीले निजी गुठीका रुपमा सञ्चालित विद्यालय १० वर्षभित्र सार्वजनिक गुठीमा रुपान्तरण गरी सञ्चालन गर्नुपर्ने सुझाव दिएको छ ।

यो समय नेपाल र नेपालीको लागि प्राथना गर्ने समय होः पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको नेपालमा जन्मिएर मात्र नेपाली नहुने बताए । सोमबार ७९ औं जन्मदिनको अवसरमा निर्मल निवासमा आयोजित शुभकामना ग्रहण कार्यक्रममा पत्रकारहरुसगँ कुरा गर्दै पूर्वराजा शाहले नेपाल नै हामीभित्र भए मात्रै हामी सबै नेपाली हुने बताएका हुन् ।

उनले भने, ‘यो समय नेपाल र नेपालीको लागि प्राथना गर्ने समय हो । हामी नेपालमा मात्रै जन्मिएर नेपाली हुने होइन । नेपाल नै हामीभित्र हुनुपर्छ अनि मात्रै हामी नेपाली हुन्छौं ।’

उनले अहिलेको समय नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताए । उनले भने, ‘अहिलेको समय वर्षको समय हो । वर्षाको समयमा बाढी, पहिरो, डुबान जस्ता विपद्को सामना गर्नुपर्ने हुन्छ । पानीजन्य बिरामीहरु पनि हुन्छ । त्यसैले सबै दिदीबहिनी दाजुभाइहरुलाई सर्तक रहन र विचार गरेर बस्न मेरो आग्रह छ ।’

उनलाई शुभकामना दिनका लागि पुष्पगुच्छा बोकेर राजावादी र सर्वसाधारण निर्मल निवास पुगेका थिए ।

यसवर्षको छिन्नलता गीत पुरस्कार गीतकार राजेन्द्र रिजाललाई प्रदान

काठमाडौं । यसवर्षको छिन्नलता गीत पुरस्कार वरिष्ठ गीतकार राजेन्द्र रिजाललाई प्रदान गरिएको छ । गीत पुरस्कार गुठीद्वारा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले रिजाललाई सम्मानपत्र र एक लाखसहित उक्त पुरस्कार प्रदान गरेका छन् ।

यसैगरी एक लाख राशिको सङ्गीततर्फको छिन्नलता पुरस्कार आभास (अच्युतप्रसाद फुयाल) लाई र एक लाखकै गायनतर्फको पुरस्कार रामभक्त जोजिजु र इतु जोजिजुलाई संयुक्त रूपमा प्रदान गरियो । साथै ५० हजार राशिको युवा प्रतिभातर्फको छिन्नलता पुरस्कार गायक एसडि योगीलाई प्रदान गरिएको जनाइएको छ ।

त्यस अवसरमा सभामुख घिमिरेले राष्ट्रिय भाव उत्पन्न गर्ने सृजनाहरु छिन्नलताको विशेषता भएको बताउनुभयो । गीतकार राजेन्द्र रिजालले पुरस्कारबाट आफूलाई थप हौसला मिलेको बताए ।

दुई ठूला दल मिलेपछि स्थितिमा सुधार आउँदैछः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्विट्जरल्यान्डका सङ्घीय विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसले शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुुवाटारमा सोमबार भएको भेटमा दुई देशबीचको मित्रवत् सम्बन्धलाई अझ मजबुद बनाउँदै विकासका क्षेत्रमा सहकार्य जारी राख्ने विषयमा छलफल भएको थियो ।

मन्त्री क्यासिसले नेपालको विकास, सङ्घीयता सबलीकरण, सङ्क्रमणकालीन न्याय, जलवायु परिवर्तन, विपद् जोखिम व्यवस्थापनका क्षेत्रमा आफ्नो सहयोग निरन्तर रहने बताए ।

प्रधानमन्त्री ओलीले नेपालमा लामो समय हिंसात्मक र अस्थिर राजनीति रहे पनि अहिले दुुई ठूला दलको सहकार्यमा विकास, सुशासन र लोकतान्त्रिक प्रणालीको रक्षाको ध्येयसहित सरकार बनेकाले स्थितिमा क्रमिक सुधार आएको बताए । उनले नेपालको विकासमा स्विस सरकारको निरन्तर सहयोगका लागि धन्यवाद दिए ।

भेटका अवसरमा नेपालका लागि स्विट्जरल्यान्डका राजदूत डा डानियल मेउल्ली, परराष्ट्र मन्त्रालयका अधिकारीलगायतको उपस्थिति थियो ।

ट्रम्प र नेतन्याहूबीच भेटवार्ता हुँदै, इजरायल–हमास सम्झौता ‘यसै हप्ता’ हुने आशा

वासिङ्टन । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने भएका छन् । राष्ट्रपति ट्रम्पले इजरायल र हमासबीच यसै हप्ता ‘सम्झौता’ हुने आशा व्यक्त गरेका छन् ।

इजरायल र हमासबीच आइतबार साँझ दोहामा अप्रत्यक्ष वार्ता सुरु भएको छ । यसको उद्देश्य युद्धविरामको मध्यस्थता गर्नु र प्यालेस्टिनी कैदीहरूको बदलामा बन्धकहरूको रिहाईको लागि सम्झौतामा पुग्नु रहनेछ ।

आइतबार ट्रम्पलेसम्झौतामा पुग्ने ‘प्रवल सम्भावना’ रहेको बताएका थिए । “हामीले धेरै बन्धकहरूलाई रिहा गरेका छौँ, बाँकी बन्धकहरूको सन्दर्भमा भन्नुपर्दा तिनीहरूमध्ये धेरै बाहिर आउनेछन्,” उनले पत्रकारहरूसँग भने ।

नेतन्याहूले आइतबार विमानमा वासिङ्टनतर्फ प्रस्थान गर्नुअघि बोल्दै ट्रम्पसँगको भेटले यो सम्झौतालाई अगाडि बढाउन निश्चित रुपमा सहयोग पुग्ने बताएका थिए ।

झण्डै दुई वर्षको युद्धपछि मानवीय सङ्कटमा फसेको गाजा पट्टीमा अमेरिकी राष्ट्रपति ट्रम्पले युद्धविरामका लागि दबाब दिइरहेका छन् ।

नेतन्याहूले भने, “हामी सहमत भएका शर्तमा सम्झौतामा पुग्नका लागि ‘स्पष्ट निर्देशन’ सहित टोलीलाई दोहा पठाएको छु ।”

यसअघि उनले अमेरिका समर्थित युद्धविराम प्रस्तावको मस्यौदामा कतार र इजिप्टका मध्यस्थकर्तामार्फत हमासले दिएको प्रतिक्रियामा ‘अस्वीकार्य’ माग रहेको बताएका थिए ।

– ‘महत्वपूर्ण अभियान’ –

वार्तामा संलग्न दुई प्यालेस्टिनी स्रोतले एएफपीलाई बताएअनुसार उक्त प्रस्तावमा ६० दिनको युद्धविराम, हमासले इजरायलद्वारा हिरासतमा लिएका प्यालेस्टिनीहरूको बदलामा १० जीवित बन्धकहरू र मतक बन्धकका शवहरू रिहा गर्ने लगायतका बिषय छन् ।

समूहले गाजाबाट इजरायलको फिर्तासहित केही शर्तहरू राखेको छ । वार्ताको क्रममा लडाईं पुनः सुरु नगर्न ग्यारेन्टी र संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा सहायता वितरण प्रणालीलाई पुनः सुरु गनमाग पनि गरिरहेको छ ।

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले आइतबार नेतन्याहूसँगको भेटपछि भने, “नेतन्याहूको वासिङ्टनमा एउटा ‘महत्वपूर्ण अभियान’ छ, जसले हाम्रा सबै बन्धकहरूलाई घर फर्काउने सम्झौतालाई अगाडि बढाइरहेको छ ।

ह्वाइट हाउसका अनुसार ट्रम्पले इजरायली प्रधानमन्त्रीसँग सोमबार साँझ ६ः३० बजेसम्म भेटवार्ता गर्ने कार्यक्रम तय भएको छैन ।

सन् २०२३ मा भएको आक्रमणका क्रममा प्यालेस्टिनी लडाकूले बन्धक बनाएका २५१ मध्ये ४९ जना अझै गाजामा रहेका छन्, जसमध्ये २७ जनाको मृत्यु भइसकेको इजरायली सेनाले पुष्टि गरेको छ ।

ब्रिक्स राष्ट्रहरूद्वारा ट्रम्पका शुल्कहरूको आलोचना, इरानमाथिको आक्रमणको निन्दा

रियो डि जेनेरियो। आइतबार भएको शिखर सम्मेलनमा ब्रिक्स नेताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ‘अन्धाधुन्ध’ आयात शुल्कहरू र इरानमाथि हालैका इजरायली–अमेरिकी आक्रमणलाई लक्षित गरेका छन् ।

ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकालगायत ११ उदीयमान राष्ट्रले विश्वको लगभग आधा जनसङ्ख्या र विश्वव्यापी आर्थिक उत्पादनको ४० प्रतिशत हिस्सा ओगटेका छन् ।

यो समूह धेरै विषयमा विभाजित भए पनि अमेरिकी नेता र उनका स्टप–स्टार्ट सुरु हुने भन्सार शुल्क युद्धहरूको सन्दर्भमा साझा कारण भेट्टाएका छन् ।

शिखर सम्मेलनको संयुक्त विज्ञप्तिअनुसार ‘एकपक्षीय भन्सार शुल्क वृद्धिबारे गम्भीर चिन्ता’ व्यक्त गर्दै ब्रिक्स सदस्यहरूले भन्सार शुल्कले विश्वव्यापी अर्थतन्त्रलाई नोक्सान पुर्‍याउने जोखिम रहेको बताए । आइतबार राति सामाजिक सञ्जालमा ट्रम्पले यस समूहलाई प्रत्यक्ष जवाफ दिए ।

“ब्रिक्सको अमेरिकी विरोधी नीतिहरूसँग आफूलाई मिलाउने कुनै पनि देशलाई थप १० प्रतिशत भन्सार शुल्क लगाइनेछ । यस नीतिमा कुनै अपवाद हुनेछैन”, ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन् ।

यसअघि, ब्रिक्सले इजरायल र संयुक्त राज्य अमेरिकाले गरेको आणविक र अन्य लक्ष्यहरूमा शृङ्खलाबद्ध सैन्य आक्रमणको निन्दा गर्दै साथी सदस्य इरानलाई प्रतीकात्मक समर्थनको प्रस्ताव गरेको थियो ।

बजार बिक्रीको सामना गर्न एक महिना लामो विश्राम प्रस्ताव गर्नुअघि अप्रिलमा ट्रम्पले सहयोगीहरू र प्रतिद्वन्द्वीहरूलाई समान रूपमा दण्डात्मक कर्तव्यहरूको साथ धम्की दिएका थिए ।

ट्रम्पले अगस्ट १ सम्ममा ‘सम्झौता’ नभएसम्म साझेदारहरूमाथि एकपक्षीय भन्सार शुल्क लगाउने चेतावनी दिएका छन् ।

ब्राजिल, भारत र साउदी अरेबियाजस्ता अमेरिकी सहयोगीहरूलाई स्पष्ट छुट दिँदै शिखर सम्मेलन घोषणाले कुनै पनि विन्दुमा संयुक्त राज्य अमेरिका वा यसका राष्ट्रपतिको नाम लिएर आलोचना गरेन ।

दुई दशकअघि तीव्र गतिमा विकास भइरहेको अर्थतन्त्रका लागि मञ्चका रूपमा परिकल्पना गरिएको ब्रिक्सलाई अमेरिका र पश्चिमी युरोपेली शक्तिका लागि चीनद्वारा सञ्चालित प्रतिसन्तुलनका रूपमा हेरिएको छ ।

तर यो समूह इरान, साउदी अरब र अन्यलाई समेटेर विस्तार भएसँगै गाजा युद्धदेखि अमेरिकी विश्वव्यापी प्रभुत्वलाई चुनौती दिने विषयहरूमा अर्थपूर्ण सहमतिमा पुग्न सङ्घर्ष गरिरहेको छ ।

उदाहरणका लागि तेहरानको लामो समयदेखि इजरायललाई नष्ट गर्नुपर्ने स्थितिका बाबजुद ब्रिक्स राष्ट्रहरूले इजरायल–प्यालेस्टाइन द्वन्द्वको शान्तिपूर्ण दुई–राज्य समाधानका लागि सामूहिक रूपमा आह्वान गरे ।

एक इरानी कूटनीतिक स्रोतले उनको सरकारको ‘आपत्तिहरू’ ब्राजिलका आयोजकहरूलाई पठाइएको बताएको छ । तैपनि, इरानले उक्त कथनलाई स्पष्ट रूपमा अस्वीकार गर्न छोडेको छैन ।

ब्राजिली सरकारी स्रोतका अनुसार कूटनीतिक संवेदनशीलताको सम्भावित थप सङ्केतमा साउदी अरबका विदेशमन्त्रीले आइतबारको छलफल पूर्ण रूपमा छाडेका थिए ।

साउदी अरब उच्च–प्रविधि अमेरिकी सैन्य निर्यातको विश्वको प्रमुख लाभार्थीहरू मध्ये एक हो र लामो समयदेखि अमेरिकी साझेदार हो ।

चीनका सी जिनपिङले राष्ट्रपति भएको १२ वर्षमा पहिलो पटक बैठक छाड्नुभएपछि यस वर्षको शिखर सम्मेलनको राजनीतिक शक्ति घटेको छ ।

चिनियाँ नेता मात्र उल्लेखनीय अनुपस्थित व्यक्ति हुनुहुन्न । युक्रेनमा युद्ध अपराधको आरोप लागेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि टाढै बस्न रोज्नुभयो र भिडियो लिङ्क मार्फत भाग लिए । उनले आफ्ना समकक्षीहरूलाई ब्रिक्स विश्वव्यापी शासनमा प्रमुख खेलाडी बनेको बताए ।

शिखर सम्मेलनले आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बौद्धिकता–एआई) लाई नियन्त्रण गर्ने नियमनका लागि पनि आह्वान गरेको छ र यो प्रविधि धनी राष्ट्रहरूको मात्र संरक्षण हुन नसक्ने बताएको छ ।

व्यावसायिक एआई क्षेत्रमा हाल अमेरिकी टेक जायन्टहरूको प्रभुत्व छ । यद्यपि चीन र अन्य राष्ट्रहरूसँग द्रुत गतिमा क्षमता विकास भइरहेको छ ।

देशभित्रै खेलकुदका लागि आवश्यक पूर्वाधार बढाउनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज र पछिल्लो समय नेपाली खेलाडीहरूले पाएको सफलता प्रशंसनीय भएको बताएका छन् ।

एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको विजेता नेपाली टोलीलाई सोमबार शीतल निवासमा बधाई दिदैं उनले क्रिकेटमा नेपालीले हात पारेको सफलता खेलाडीहरूको खेलप्रतिको समर्पण, लगाव र मेहनतको प्रतिफल भएको उल्लेख गरे ।

उनले सिंगापुरसँग भएको फाइनल खेलमा एसीसी यू – १६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेर मुलुको प्रतिष्ठा उँचो बनाएको भन्दै यसले नेपाल र नेपालीको इज्जत, प्रतिष्ठा बढाएको स्पष्ट पारे ।

राष्ट्रपति पौडेलले हामीले हाम्रा परम्परागत खेललाई परिष्कृत, विकास र विस्तार गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा समावेश गराउन सकियो भने एकतर्फ देशको इज्जत र प्रतिष्ठा बढाउन सकिने उल्लेख गरे ।

उनले देशभित्रै खेलकुदका लागि आवश्यक पूर्वाधार बढाएर तथा प्रतियोगिता र प्रशिक्षण बढाएर देश विदेशमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष खेलाडी उत्पादनमा हामी सबैको ध्यान जान आवश्यक रहेको बताए ।

देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द, विरामी मारमा

 

काठमाडौँ ।उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति गम्भीर असहमति जनाउँदै नेपाल चिकित्सक सङ्घले आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरेका छन् ।

देशकै जेठो वीर अस्पतालमा अहिले ‘फलोअप’का बिरामीबाहेक अरूले सेवा पाउन सकेका छन् । आकस्मिक र अत्यावश्यक सेवाबाहेकको सेवा दिन नसकिएको अस्पतालका निर्देशक डा दिलीप शर्माले बताए ।

उनले भने, ‘सङ्घको आह्वानमा सेवा बन्द भएको हो । आंशिक सेवा मात्र दिन सकेका छौँ । आकस्मिक सेवा भने दिइरहेका छौँ । आशा छ छिट्टै निकास मिल्ला ।’

सङ्घले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई यही असार १७ गतेदेखि कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरेकामा आजदेखि आज आकस्मिकबाहेकका सेवा ठप्प पारेको हो ।

बिरामीको उपचारमा लापरबाही गरेको भन्दै उपभोक्ता अदालतले पछिल्लो समय केही ग्रान्डी अस्पताल र चिकित्सकमाथि ५७ लाख १९ हजार क्षतिपूर्तिसहित कारबाहीको फैसला गरेको थियो ।

यसैगरी, हिमाल अस्पताल र त्यहाँ कार्यरत चिकित्सकलाई  एक करोड ४५ लाख क्षतिपूर्ति तिराउने उपभोक्ता अदालतले फैसला गरेको थियो भने ओम अस्पताललाई ५० लाख ७० हजार तिर्नुपर्ने फैसाला गरेको थियो ।

चिकित्सक सङ्घका महासचिव डा सञ्जीव तिवारीले चिकित्सा पेसालाई अत्यन्त संवेदनशील, वैज्ञानिक र नैतिक सेवा भएको भन्दै यसलाई अन्य व्यवसायजस्तो मूल्याङ्कन गरी निर्णय गर्नु अस्वीकार्य हुने बताए ।

उनले भने, ‘नेपाल मेडिकल काउन्सिलजस्ता नियामक निकायलाई बेवास्ता गरी उपभोक्ता अदालतले गरेको कानुनी हस्तक्षेपले चिकित्सा क्षेत्रमा अन्योल सृजना गरेको र यस्ता विषयमा नेपाल मेडिकल काउन्सिलबाट मात्र मूल्याङ्कन हुनुपर्छ ।’

सङ्घले उपभोक्ता अदालतलाई उक्त निर्णय पुनरावलोकन गर्न र स्वास्थ्य मन्त्रालयलगायत सरोकारवाला निकायलाई तत्काल ध्यान दिन आग्रह गरेको छ । चिकित्सकहरूलाई सुरक्षित वातावरणमा काम गर्ने अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै सङ्घले यस्तो वातावरण नभएमा स्वास्थ्य सेवामा गम्भीर असर पर्न सक्ने बताएको छभने सङ्घले नेपाल सरकारले उचित कदम नचाले सशक्त आन्दोलनमा उत्रने चेतावनीसमेत दिएको छ ।

 

सर्वोच्चका प्रस्तावित न्यायाधीश र न्यायपरिषद् सदस्यको नाम अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीश र न्याय परिषद्को सदस्यको सुनुवाइ अनमोदन गरेको छ ।

समितिको सोमबारको बैठकले न्यायाधीशमा प्रस्तावित वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापाको नाम अनुमोदन गरेको समितिका सहसचिव निर्मलादेवी लामिछाने वस्तीले जानकारी दिए ।

समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित महेशकुमार नेपालको नाम पनि अनुमोदन गरेको छ । प्रस्तावित न्यायाधीश र सदस्यको अवधारणा र सोच तथा प्राप्त उजुरीमाथि छलफल गरी समितिले सर्वसम्मत रूपमा उनीहरूको नाम अनुमोदन गरेको हो ।

यसअघि समितिले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियासँग न्यायाधीश तथा संवैधानिक निकायमा हुने नियुक्तिलाई समावेशी तुल्याउने विषयमा ध्यान दिन सुझाव दिएको थियो । त्यस अवसरमा मन्त्री चौरसियाले न्यायालय र संवैधानिक निकायमा हुने नियुक्तिलाई समावेशी बनाउन संसद्ले लिएको सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पूर्वप्रधानमन्त्री खनाल विश्व सभ्यता संवादमा सहभागी हुन चीन प्रस्थान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल चीन प्रस्थान गरेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को निमन्त्रणामा बेइजिङमा आयोजित ‘विश्व सभ्यता संवाद’ मा सहभागी हुन खनाल आज त्यसतर्फ प्रस्थान गरेका हुन् । उनले बेइजिङको मुख्य कार्यक्रममा सहभागी हुनुअघि हेनान प्रान्तको तीनदिने भ्रमण गर्नुहुने नेता खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

पूर्वप्रधानमन्त्री खनालले त्यहाँका आधुनिक कृषि अनुसन्धान केन्द्र, ‘डिजिटल’ प्रविधि कम्पनी, नयाँ ऊर्जा प्रविधि कारखाना तथा ग्रामीण पुनरुत्थानका नमूना परियोजनाहरूको अवलोकन गर्नेछन् । उनले सिपिसी हेनान प्रान्तीय कमिटीद्वारा आयोजित एक विशेष अन्तरक्रियामा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नेछन् ।

हेनानको कार्यक्रम सकेर नेता खनाल यही असार २५ गते चीनको राजधानी बेइजिङ पुग्नेछन् । बेइजिङमा उनले जुलाई १० मा दुईवटा महत्वपूर्ण सत्रलाई सम्बोधन गर्नेछन् । पहिलो, उहाँले ‘मन्त्रिस्तरीय विश्व सभ्यता संवाद’ को पूर्ण सत्रको तेस्रो खण्ड, ‘मानवताका साझा मूल्यहरूको संयुक्त प्रवद्र्धन’ लाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नेछन् ।

सोही दिन उनले ‘सभ्यताहरूको आदानप्रदान, पारस्परिक सिकाइ र प्राज्ञिक संवाद’ शीर्षकको छैटौँ उप–मञ्चको उद्घाटन समारोहमा पनि प्रमुख वक्ताका रूपमा मन्तव्य राख्नेछन् ।

बेइजिङ बसाइका क्रममा नेता खनालले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओलगायत अन्य शीर्ष चिनियाँ नेताहरूसँग शिष्टाचार भेटवार्ता गर्नाका साथै, सम्मेलनमा सहभागी हुन विभिन्न मुलुकबाट आएका पूर्वप्रधानमन्त्री, मन्त्री, विज्ञ तथा प्रतिनिधिहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

नेता खनाल पाँच दिवसीय भ्रमण सम्पन्न गरी यही असार २७ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

पर्यटनमन्त्री पाण्डे फ्रान्स प्रस्थान

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे युनेस्कोको वल्र्ड हेरिटेज कमिटीको बैठकमा सहभागी हुन आज फ्रान्स प्रस्थान गरेका छन् ।

पेरिसमा आयोजना हुने उक्त बैठकमा मन्त्री पाण्डेले कपिलवस्तुको ऐतिहासिकस्थल तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको पर्यटन मन्त्रालयले जनाएको छ ।

पर्यटनमन्त्री पाण्डेलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा मन्त्रालयका सचिव हरिप्रसाद मैनालीसहित उच्च अधिकारीहरूले बिदाइ गरेका छन् । मन्त्रालयका अनुसार यो भ्रमण तिलौराकोटलाई अन्तरराष्ट्रियस्तरमा मान्यता दिलाउने दिशातर्फको कोसेढुङ्गा साबित हुनेछ ।

तिलौराकोटको ऐतिहासिक र पुरातात्विक महत्वका कारण स्थानीयस्तरमा लामो समयदेखि यसलाई विश्वसम्पदा सूचीमा राख्न माग हुँदै आएको छ । सोही अनुरूप मन्त्रालयले त्यसको स्वामित्व लिएर आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता प्रकट गर्दै आएको छ ।

हाल युनेस्कोको वल्र्ड हेरिटेज कमिटीमा २१ सदस्य राष्ट्र छन्, जसमा एसियाबाट भारत, कतार, जापान र कोरियाजस्ता देशहरू प्रतिनिधित्व गर्छन् । कमिटीमा बहुमतका आधारमा निर्णय हुने व्यवस्था रहेको छ ।

संयमित भई बजेट ल्याउने प्रक्रियामा सहभागी बनौँः उपमेयर डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले संविधान र कानुनले तोकेको परिधिभित्र रहेर, खुला छलफल गरी संयमित भई बजेट ल्याउने प्रक्रियामा सहभागी हुन सबै जनप्रतिनिधिलाई आग्रह गरेकी छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत उपमेयर डंगोलले प्रमुख प्रशासकीय अधिकृतलाई जनप्रतिनिधिका प्रश्नबाट भाग्न नदिएर बैठकमै सामना गर्न दिन पनि आग्रह गरेकी छन् ।

उनले भनेकी छन्, मैले पटक–पटक भन्दै आएको छु र यहाँ पनि स्मरण गराउँन चाहन्छु कि प्रमुख प्रशासकीय अधिकृतलाई मात्र दोष देखाएर बजेटलगायतका महत्वपूर्ण कार्यलाई अवरोध पुर्याउनु हुँदैन। यो बेला यो वा त्यो बहानामा बजेट नल्याउनु विल्कुलै उचित होइन। यदि प्रमुख प्रशासकीय अधिकृत दोषी ठहरिनुहुन्छ भने उहाँलाई कानूनबमोजिम तत्काल कारबाही हुनुपर्छ भन्नेमा म सधैँ अडिग छु। कानुनी शासन र आफ्नो क्षेत्राधिकार भित्र रही सुशासन कायम गर्ने सन्दर्भमा नेतृत्व गर्न सदैव तयार छु ।’

यस्तो छ उपमेयर डंगोलको भनाई

कानुनी व्यवस्थाअनुसार काठमाडौं महानगरपालिकाले असार १० गते नै बजेट प्रस्तुत गर्नुपर्ने र मसान्तभित्र पारित गरिसक्नुपर्ने बाध्यता छ। तर, आजसम्म पनि बजेट निर्माणका लागि आवश्यक पर्ने कार्यपालिका र नगरसभाका बैठक मात्रै होइन बजेट तर्जुमा तथा कार्यक्रम समिति र मेयरज्यूको नेतृत्वको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति जस्ता महत्वपूर्ण समितिका बैठकसमेत बस्न सकेका छैनन्। यो सबैलाई जानकारी भएकै विषय हो ।

उपप्रमुखको जिम्मेवारी सम्हालेदेखि नै मैले ‘सहमति,सहकार्य र सहअस्तित्व’ को सिद्धान्तलाई आत्मसात् गर्दै आएको छु र सोहीअनुसारको भूमिका पनि निभाउँदै आएकी छु। संविधान र कानूनले उपप्रमुखलाई निश्चित अधिकार दिएको छ। सोही परिधिभित्र रहेर मैले सधैँ व्यक्तिगत हितभन्दा महानगरवासीको बृहत्तर हितलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छु।
मैले आफ्नो क्षेत्राधिकारभित्र रहेर जनप्रतिनिधिहरूसँग काठमाडौं महानगरपालिकाको बजेट समयमै ल्याउनुपर्छ भनेर पटक–पटक अनौपचारिक छलफल गर्दै आएको जानकारी गराइरहनु पर्छ भन्ने लाग्दैन । कार्यपालिका र नगरसभाका साथै बजेट तर्जुमा तथा कार्यक्रम समितिमा समेत मैले यस विषयमा कुरा राखेकी छु। आइतबार मात्रै पनि मेयरज्यू, प्रवक्ता तथा केही कार्यपालिका सदस्यज्यूहरूसँगको अनौपचारिक भेटघाटमा बोर्ड बैठक र नगरसभा छिटो सम्पन्न गर्ने विषयमा विस्तृत छलफल गरेको छु । उहाँहरुबाट मैले सकारात्मक संकेत पनि पाएकी छु।

हामी जनताबाट निर्वाचित जनप्रतिनिधि हौँ। जनताले हामीलाई यहाँको विकास, समृद्धि र जनहितमा काम गर्न निर्वाचित गरेर पठाएका हुन्। हामीले हाम्रो जिम्मेवारी पूरा नगरेमा काठमाडौंबासीलाई धोका दिएको ठहरिनेछ। त्यसैले मैले मेरो पदीय जिम्मेवारी र मेरो क्षेत्राधिकारलाई ध्यानमा राखेर पटक–पटक ‘सहमति, सहकार्य र सहअस्तित्व’ को सिद्धान्तलाई आत्मसाथ गर्दै नगरबासीको हक, हितलाई ध्यानमा राखेर हातेमालो गर्दै अघि बढौँ भनेर भूमिका खेल्दै आएको छु ।

मैले पटक–पटक भन्दै आएको छु र यहाँ पनि स्मरण गराउँन चाहन्छु कि प्रमुख प्रशासकीय अधिकृतलाई मात्र दोष देखाएर बजेटलगायतका महत्वपूर्ण कार्यलाई अवरोध पु¥याउनु हुँदैन। यो बेला यो वा त्यो बहानामा बजेट नल्याउनु बिल्कुलै उचित होइन। यदि प्रमुख प्रशासकीय अधिकृत दोषी ठहरिनुहुन्छ भने उहाँलाई कानूनबमोजिम तत्काल कारबाही हुनुपर्छ भन्नेमा म सधैँ अडिग छु। कानुनी शासन र आफ्नो क्षेत्राधिकार भित्र रही सुशासन कायम गर्ने सन्दर्भमा नेतृत्व गर्न सदैव तयार छु । बरू यस मामिलामा जोसुकैबाट कैफियता वा अनियमितता भएको छ भने त्यसको पनि छानबिन तथा अनुसन्धान हुनु पर्दछ भन्ने मान्यता राख्दछु । तर, हाल प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिबिना नै कार्यपालिका र नगरसभाका बैठक राख्ने विषयले समस्या उत्पन्न गरेको भन्ने समाचारहरू आएका छन्।

कानुनी हिसाबले पनि यो उचित छैन भन्नेमा म अडिग छु। प्रमुख प्रशासकीय अधिकृतको सन्दर्भमा जनप्रतिनिधिले उहाँलाई बैठकमा नै राखेर खुल्ला रूपमा प्रश्न गर्न पाउनुपर्छ भन्ने मेरो मान्यता छ। प्रमुख प्रशासकीय अधिकृतलाई बैठकमा सहभागी नगराई जनप्रतिनिधिलाई नै प्रश्न गर्ने अवसरबाट वञ्चित गराउनु उचित होइन। यसरी उहाँलाई बैठकबाट बाहिर राख्दा जनप्रतिनिधिका प्रश्नबाट भाग्न खोजिएको हो कि भन्ने संशय जनतामा उठ्न सक्छ। त्यसैले प्रमुख प्रशासकीय अधिकृतलाई जनप्रतिनिधिका प्रश्नबाट भाग्न दिने होइन, बरु उहाँले बैठकमा नै सामना गर्नुपर्ने भएकाले उहाँको उपस्थिति अनिवार्य हुनुपर्छ भन्ने मेरो दृढ मान्यता छ।

तसर्थ, म सबै जनप्रतिनिधि साथीहरूलाई आग्रह गर्न चाहन्छु कि हामीले संविधान र कानूनले तोकेको परिधिभित्र रहेर, खुला छलफल गरी, वातावरण बिगार्ने होइन सम्हालेर, आवेग र उत्तेजनामा होइन संयमित भई बजेट ल्याउने प्रक्रियामा सहभागी बनौँ। डुंगा प्वाल पारेर अरुलाई खसाल्ने र आफू मात्रै बाच्ने दुर्भाग्यको बाटो रोज्ने, खोज्ने प्रयास नगरौँ । हामी सबै हातेमालो गरेर अघि बढौँ ।’
धन्यवाद ।

प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । आफ्नो विदेश भ्रमण लगायतका विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्ने नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

प्रधानमन्त्री ओली स्पेनको भ्रमण गरी शुक्रबार स्वदेश फर्किएका थिए।

प्रधानमन्त्रीद्वारा हुम्ला जोड्ने चुवाखोलाको बेलिब्रिज उद्घाटन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको खार्पु भएर बग्ने कर्णाली नदीको चुवाखोलामा निर्माण भएको बेलिब्रिजको उद्घाटन गरेका छन् । आइतबार प्रधानमन्त्री ओलीले बेलिब्रिजको उद्घाटन गरेसँगै नेपाली सेनाले ४० दिन लगाएर जडान गरेको बेलिब्रिज पुलले हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ ।

झन्डै तीन दशकको प्रयासपछि कर्णाली करिडोर यो पुल निर्माणपछि सिधा सञ्चालनमा आउनेछ । नेपाली सेनाले करिब साढे ६ करोडको लागतमा पुल निर्माण गरेको हो । पुलले सिमकोटलाई कर्णाली करिडोरसँग जोड्दै देशको उत्तर–दक्षिण यातायातको ढोका खोलेको छ ।

हुम्ला जिल्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने लक्ष्यसाथ कर्णाली करिडोर अन्तर्गत हिल्सा सिमकोट सडक आयोजना सुरु भएको थियो । सडकको हुम्ला खण्डको दूरीमध्ये कवाडीदेखि सलीसल्लासम्मको ३९ किलोमिटर सडक नेपाली सेनाले २०७३ सालबाट सुरु गरी २०७८ सालमा सम्पन्न गरेर सडक विभागलाई जिम्मा लगाएको थियो ।

न्यायपालिकाको काम कारबाहीबारे समीक्षा गरौंः सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण सटौलाले न्यायपालिकाको काम कारबाहीबारे समीक्षा गर्ने बेला आएको बताएका छन् । आइतबार पार्टीको जारी केन्द्रीय समिति बैठकमा नेता सिटौलाले केही दिनअघि आएको फैलाप्रति इंगित गर्दै न्यायपालिकाको कामकाबारेमा समीक्षा गर्नुपर्ने बताएका हुन् ।

केहिदिन अघि सर्वोच्च अदालतको संवैधानिक इजालसले संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्तिसम्बन्धी फैसला गरेको थियो । जुन फैसला बहुमतका आधारमा भएको थियो ।

सिटौलाले भने, ‘संवैधानिक निकायमा ५२ जनाको नियुक्तिबारे चार वर्षअघि मुद्दा दर्ता थियो । अहिले आएर यो मुद्दामा फैसला भएको छ । प्रधानन्यायाधीशसमेत अल्पमतमा पर्ने गरि आएको यो फैसलाको समीक्षा हुनुपर्छ । प्रधानन्यायाधीशकै नेतृत्वमा न्याय निरूपण हुने कुरा संविधानमा लेखिएको छ। तर यति गम्भीर मुद्दामा न्यायाधीशबीच नै बहुमत र अल्पमतका कुरा बाहिरिएका छन् ।’

उनले निजामती कर्मचारी विधेयकमा हाम्रो तर्फबाट लाइन/लाइन हेर्ने काम नहुनु ठूलो लापरबाही भएको बताए । उनले यसबाट कर्मचारीलाई विश्वास गर्ने आधार नभएको बताए ।

उनले भने, ‘कर्मचारीमाथि अत्यन्त ठूलो ट्रस्ट भएको छ । अब त्यति बिगारेपछि पनि त्यही प्रशासनलाई लिएर हामी परिवर्तनलाई टिकाउन खोज्छौँ भने उनीहरूमाथि विश्वास गर्ने आधारचाहिँ के त अब ?’

आन्तरिक विवादले कांग्रेसप्रति जनताको विश्वास घट्योः प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको जनाधार खस्किँदै गएकोप्रति गम्भीर हुन नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

पार्टीको केन्द्रीय समितिको आइतबारको बैठकमा महतले पार्टीको ऐतिहासिक परम्परा, धर्म, संस्कृति, सभ्यता र मूल विचारमा आधारित मतदाता वर्गलाई जोगाउन नसके आगामी ०८४ को निर्वाचनमा कांग्रेस कमजोर हुने बताएका छन् ।

उनले भने, ‘हाम्रो पार्टी पुरानो हो, तर पुराना पार्टीहरूप्रति जनता निराश हुँदैछन् । नयाँ नाममा नयाँ पार्टीहरू बनिरहेका छन् । यस्तो अवस्थामा हाम्रो परम्परागत जनाधार खस्किँदै गएकोप्रति पार्टी गम्भीर हुन जरुरी छ ।’

उनले पार्टीले आफ्ना मूल मूल्य–मान्यता, विशेषगरी धार्मिक र सांस्कृतिक पहिचानलाई स्पष्ट र मजबुत रुपमा प्रस्तुत नगरे गम्भीर क्षति हुने बताए ।

उनले भने, ‘हामी हिन्दू, बौद्ध, किराँत, प्राकृतिक पुजक धर्म संस्कृति मान्ने जनताको प्रतिनिधित्व गर्छौं । यही नै पार्टीको राइट टु द सेन्टर हो । कम्युनिस्टहरू धर्मलाई अस्वीकार गर्छन् । तर हामी आस्थावान छौं । यही हाम्रो पार्टीको आधार हो ।’ उनले सबै धर्ममा आस्था राख्नेलाई संरक्षण गर्नुपर्ने बताए ।

महतले हाल पार्टीभित्र सामाजिक सञ्जाल र सार्वजनिक बहसहरूमा नेताहरूबीच एकअर्कामाथि आक्रमण भइरहेको, कार्यकर्ताभित्र आत्मबल खस्कँदै गएको र आन्तरिक विवादले जनताको विश्वास घटेकोप्रति पनि चिन्ता व्यक्त गरे ।

शिक्षा विधेयकमा सहमति जुटाउन थप पाँच दिनको समय

काठमाडौं । संसदको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकले विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय दिएको छ ।

समिति सभापति अम्मरबहादुर थापाले शिक्षामन्त्री रघुजी पन्तलाई पाँच दिनभित्र सहमति गरेर आउन समय दिएका हुन् । समयभित्र सहमति जुटाएर अर्को एजेण्डा ल्याउनुभन्दा पनि यसैमा सहमति जुटाउन सरकारलाई अबको ६ दिनपछि बैठक बस्ने गरि पाँच दिनको समय दिएको बताए ।

उनले भने, ‘पाँच दिनभित्र सहमति जुटाएर पहिले मलाई दिनुपर्यो । आएर सिधैं पेपर पठाउनु भएन । अनि म प्रस्तावको रुपमा यहाँ पेस गर्छु । त्यसकारण मंैले पाँच दिनको समय छुट्याएको हुँ । सरकारलाई विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउने अवसर दिएका हौं ।’

आइतबारको बैठकको सुरुमै शिक्षामन्त्री पन्तले विधेयकमा सहमति जुटाउन थप समय दिन आग्रह गरेका थिए । तर, समितिका सदस्यहरूले आक्रोश पोखे । उनीहरूले सरकारलाई पटकपटक समय दिन नहुने बताएका थिए ।

सबै सदस्यले धारणा राखिसकेपछि समितिका सभापति थापाले मन्त्रीलाई अब पाँच दिनभित्र सहमति जुटाउन भनेका हुन् । मन्त्री पन्तले सीमा नतोक्न आग्रह गरेपनि सभापति थापाले मानेनन् ।

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनलाई पुनः पक्राउ गर्न खोजिँदै

सियोल । दक्षिण कोरियाली पूर्व राष्ट्रपति युन सुक योललाई दुई पटकसम्म सोधपुछ गरेपछि पुनः सोधपुछका लागि भन्दै पक्राउ पुर्जी जारी गर्न आइतबार अभियोजनकर्ताले अनुरोध गरेका छन् । गत वर्षको डिसेम्बर ३ मा संसद्मा सशस्त्र सैनिक तैनाथ गरिएको नागरिक शासनलाई उल्ट्याउने प्रयास गरेको भन्दै सांसदहरूले महाभियोग र निलम्बन गरेपछि युनलाई अप्रिलमा औपचारिक रूपमा पदबाट हटाइएको थियो ।

उनी राज्य विद्रोहको अभियोगमा अदालतमा उपस्थित हुनुभएको छ र सैनिक कानुन (मार्सल ल) घोषणाको अनुसन्धान गरिरहेका एक विशेष वकिलले उनलाई सोधपुछ गरेका छन् ।

‘आज विशेष वकिलले सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टमा पूर्व राष्ट्रपति युन सुक योेललाई शक्तिको दुरुपयोग र विशेष सरकारी कर्तव्यमा बाधा पुर्‍याएको अभियोगमा पक्राउ पुर्जी जारी गर्न अनुरोध गरेका छन्,’ विशेष वकिलमध्येका एक सदस्य (अभियोजक) पार्क जी–योङले सञ्चारकर्मीसँग भने ।

पार्कका अनुसार युनमाथि सैनिक शासनको घोषणालाई लिएर ‘आधिकारिक कागजातमा मिथ्याकरण गरेको’ आरोप पनि लगाइएको छ । पार्कले भने, ‘पक्राउ पुर्जीमा पूर्व राष्ट्रपति युनलाई किन हिरासतमा राख्नु आवश्यक छ भन्ने उल्लेख गरिएको छ, तर म यहाँ विस्तृत विवरण दिन सक्दिनँ ।’

अभिआयोजकहरूले गत जनवरीमा पक्राउ प्रयास असफल हुँदा युनले गरेको प्रतिरोधका साथै उनले सैन्य कानुन घोषणा गर्नुको औचित्यका रूपमा ड्रोनलाई प्योङयाङ उड्न अनुमति दिएको आरोपबारे शनिबार प्रश्न उठाएको थियो ।

युनको कानुनी टोलीले उक्त पक्राउ पूर्जी ‘अत्यधिक र अवाञ्छित’ भन्दै आलोचना गरेको छ । उनको कानुनी टोलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामीले आरोपको पूर्ण रूपमा खण्डन गरेका छौँ र कानुनको रूपमा कुनै पनि अपराध स्थापित गर्न सकिँदैन भन्ने प्रमाणित गरेका छौँ।’

‘विशेष वकिलले अनुसन्धानका क्रममा कुनै वस्तुगत प्रमाण प्रस्तुत गर्न सकेनन् र साक्षीको बयानका आधारमा पनि आरोप टिक्न सक्दैन,’ उनीहरूले भने ।

गतहप्ता अदालतले विशेष वकीलले ‘युनले सुरुमा सोधपुछको लागि उपस्थित हुन इन्कार गरेको तर उनले आवश्यक भएमा भविष्यमा उपस्थित हुने इच्छा व्यक्त गरेको भन्दै गिरफ्तारीका लागि अनुरोध गरेको पक्राउ पुर्जी खारेज गरिदिएको थियो ।

वर्षा नभएर धान रोप्न नपाएपछि महोत्तरीका किसान चिन्तित

महोत्तरी। समयमा वर्षा नभएपछि मुख्यबाली धान लगाउन नपाएको भन्दै यहाँका किसानले चिन्ता व्यक्त गरेका छन् । असार तेस्रो साता लागिसक्दा पनि पानी नपरेपछि आकाशे पानीको भरमा खेती गर्ने किसान चिन्तित बनेका हुन् ।

‘आव बुझाइय, धान रोप नई पायब, अखाड सेहो २२ भगेल, आव भरोसा टुइटगेल’ (अब धान रोप्न पाइन्न क्या र ! असार पनि २२ भइसक्यो, अब आश टुट्यो) आकाशतिर फर्कँदै भङ्गाहा–४ थारुटोलकी रामसुनरदेवी चौधरीले भनिन्, ‘इ कोन समय आयल, किछ नई बुझाइय'(यो कस्तो समय आयो, केही बुझ्न सकिएन ।)

धान लगाउन नपाएपछि यहाँका अधिकांशको एउटै चिन्ता छ, ‘अबको गुजारा कसरी चलाउने होला ?’ मुलुकका कतिपय भेगमा मध्य असारअघि रोपाइँ सकिएको खबर सुन्दा यहाँका किसान भने यो वर्ष रोपाइँ गर्न पाइन्छ वा पाइँदैन भन्नेमा चिन्तित छन् ।

‘सुनैछी कतेको जग रोपनी भगेल, मुदा अपन त एको गब नई लागल’ (सुन्छौँ, कैयन ठाउँमा रोपाइँ भइसक्यो, तर आफूले त एक गब पनि रोप्न पाइएको छैन) भङ्गाहा–४ टोकाहाका राजकुमार दासले भने, ‘बारिसको कोनो लक्षणकरम नई दिखाइय” (पानी पर्ने त कुनै लक्षण नै देखिँदैन ।)

लामो खडेरीले ब्याडको बीउ पनि पहेँलिएर सुक्दै गएपछि आफूहरूलाई अब पर्ने पानीले पनि राहत दिने अवस्था नरहेको किसान बताउँछन् । ‘अब पानी परिहाले पनि बीउ अपुग हुन्छ, पहेँलिएको बीउ बौरिन समय लाग्छ’, बर्दिबास–९ पशुपतिनगरका रामचन्द्र थापा मगरले भने, ‘यो खेतीपाती भनेकै दुख्याहा कर्म रहेछ ।’

धान रोप्न नपाएपछि किसानलाई असारमास चलिरहेको भन्न पनि मन छैन । ‘असार मासलाई घरमा मरेको मान्छेको शव छोपछाप गरेर रोपाइँमा निस्कने बेला भन्ने स्थापित भनाइ छ, तर हामी त आकाश ताकेर बसेका छौँ’, बर्दिबास–६ कृष्णपुरका बलराम कार्कीले भने, ‘खेतमा पानी भए न असार लाग्ने हो, न पानी छ, न असारको काम ।’ असार पनि घर्किनै लाग्दासम्म रोपाइँको कुनै छाँट नदेखिएपछि के गर्ने भन्ने सोच्न नसकिएको उनले बताए ।

पानी नपरेर समयमा खेती लगाउन नपाएको चिन्ताले अहिले यहाँका किसान दोधारमा छन् । असार २२ सम्म पानी नपर्दा यहाँका किसानले धानको गाबो सम्म लगाउन पाएका छैनन् । ‘पानी पर्न सकेन, धानको गाबो लाउन नि पाइएको छैन’, बर्दिबास–९ पशुपतिनगरका महेन्द्र महतोले भने, ‘यसपाली परिवारको जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ता छ ।’

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक

दोधारा चाँदनी । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा–चाँदनीमा बन्ने सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुने बताएका छन्।

आइतबार सुक्खा बन्दरगाह निर्माणस्थलको अवलोकन गर्दै उनले बन्दरगाह निर्माणका लागि ठेक्का स्वीकृत भइसकेकाले अब छिट्टै काम सुरु हुने बताएका हुन्। गृहमन्त्री लेखकले भने, ‘बन्दरगाहमा आवश्यक संरचना निर्माणका लागि ठेक्का स्वीकृत भइसकेको छ। अब चाँडै शिलान्यास गर्ने गरी तयारी भइरहेको छ। निर्माण सुरु भएपछि तीन वर्षभित्र बन्दरगाह बनाइसक्ने योजना छ।’

बन्दरगाह निमार्णका लागि दोधारा–चाँदनी नगरपालिका–१ स्थित मायापुरी सामुदायिक वनको ४१ हेक्टर जग्गामा एक हजार ५९३ रुख कटान भइसकेका छन्।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने बन्दरगाहका लागि नेपाल सरकार र भारत सरकारबीच १ जुन २०२३ मा समझदारीपत्रमा हस्ताक्षर भएको थियो। सोही सम्झौताअनुसार दुवै तर्फबाट निर्माणको तयारी भइरहेको हो। भारतीय पक्षले बन्दरगाह निर्माणका लागि दुई अर्ब ५४ करोड ३१ लाख ९९ हजार भारतीय रुपैयाँको लागतमा टेन्डर आह्वान गरेर निर्माण कम्पनी छनोट गरिसकेको छ।

बन्दरगाह निर्माणका लागि प्रयोग हुने जग्गामा दुई वटा गोदाम, भन्सार जाँच तथा क्वारेन्टाइन भवन, इमिग्रेसन तथा सुरक्षा भवनललगायत पूर्वाधार निर्माण हुने इन्टरमोडल यातायात विकास समितिले जनाएको छ।

नेपालले सुक्खा बन्दरगाहसम्मको छ लेनको पहुँच मार्ग र महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण गरिसकेको छ। भारतले आफ्नो क्षेत्रतर्फ बन्दरगाहसम्मको पहुँचमार्ग निर्माण गरिरहेको छ। सुक्खा बन्दरगाह निर्माणसँगै पश्चिमी नाका सञ्चालनमा आए सुदूरपश्चिम विकासको सम्भावनाको ढोका खुल्ने अपेक्षा गरिएको छ।