`

प्रधानमन्त्रीसँग भारतीय विद्युतमन्त्रीको भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका विद्युत, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल भट्टरले आज शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार भएको भेटमा दुई छिमेकी मुलुकबीचको मित्रवत र सांस्कृतिक सम्बन्ध, ऊर्जा क्षेत्रको विकास र सहकार्यका विविध पक्षमा कुराकानी भएको छ ।

पछिल्ला दिनमा दुई देशबीचको ऊर्जा क्षेत्रमा राम्रो सहकार्य विकास हुँदै गएको विषयमा उहाँहरुबीच छलफल भएको थियो ।

भारतीय मन्त्री भट्टरले अरुण–३ जलविद्युत आयोजना क्षेत्रमा स्थलगत भ्रमण गरी प्रगतिबारे जानकारी लिएको अवगत गराए ।

उक्त आयोजनालाई थप गति दिने भारतीय मन्त्री भट्टरले बताए । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपालका लागि भारतीय राजदूत नवीनकुमार श्रीवास्तव, परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए ।

शेयर बजारमा ३२ अंकको गिरावट

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार नेप्से घटेको छ । बुधबार नेप्से ३२ दशमलव ३८ अङ्कले घटेर २ हजार ६ सय ५५ दशमलव ९४ विन्दुमा झरेको छ ।

आज उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक समूह २ प्रतिशत तथा जलविद्युत्, लगानी, अन्य समूहको शेयर डेढ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । आज कर्पाेरेट विकास बैंकको शेयर सबैभन्दा धेरै ९ प्रतिशतले घटेको छ ।

नेप्से उच्च अङ्कले ओरालो लागेको दिन नेपाल माइक्रो इन्सुरेन्स र क्रेस्ट माइक्रो नेपाल इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । आज ३०८ वटा कम्पनीका १ करोड ८४ लाख कित्ता शेयर ७ अर्ब ५७ करोड रुपैयाँमा किनबेच भएको छ ।

जनतामा भएको असन्तुष्टिलाई घटाउँदै लैजानुपर्छः उपसभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकारले आफ्नो अभिव्यक्ति, निर्णय र काममार्फत जनतामा भएको असन्तुष्टिलाई घटाउँदै विश्वासको वातावरण निर्माण गर्नुपर्ने बताएका छन् ।

बुधबार नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बधोधन गर्दै खड्काले सरकारले कमजोरीहरु सच्याउँदै काङ्ग्रेस र एमालेबीच भएको सहमतिको आधारमा अगाडि बढ्नुपर्ने बताएका हुन् ।

उनले सरकारले शैली बदल्नुपर्ने बताए । उनले भने, ‘सरकारले काम गर्ने कुरामा कतै तलमाथि भएको छ भने त्यो शैली बदल्नु छ । यसको मतलब राम्रो कामलाई सुधार गर्दै लाने, सरकार सञ्जाललाई राम्रो बनाउँदै जाने हो । प्रधानमन्त्रीलाई पनि हामीले भनेका छौ, आमनागरिकको मानसिकतालाई बुझेर समस्या सम्बोधन हुने गरि हाम्रो अभिव्यक्ति, निर्णय र काममार्फत जनतामा भएको असन्तुष्टिलाई घटाउदै विश्वासको वातावरण निर्माण गर्नुपर्छ ।’

खड्काले काङ्ग्रेस र एमालेको बीचमा भएको समझदारीको काममा ढिला भएको भन्दै अब चाँडै एउटा कार्यदल बनाएर अगाडि बढ्ने बताए ।

प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन वार्ता, कश्मीर घटनाप्रति नेपालको ऐक्यवद्धता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेका छन् । जम्मू–कश्मीरमा आतंकवादी हमला भएको घटनाको विषयमा ओलीले भारतीय समकक्षी मोदीसँग बुधबार दिउँसो कुराकानी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

ओलीले मोदीसँग कश्मीरमा आतंकवादीले क्रुर घटना गराएको भन्दै यसविरुद्ध भारतप्रति नेपालको दृढ ऐक्यवद्धता भएको उल्लेख गरेका छन् । कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा ज्यान गुमाउनेहरूप्रति ओलीले गहिरो समवेदना व्यक्त गरेका छन् ।

जवाफमा मोदीले आभार प्रकट गरेका छन् । मंगलबार भएको आक्रमणमा एक नेपालीसहित २८ जना मारिएका थिए ।

सरकारले राजनीतिक रुपमा आफ्नो वैधानिकता गुमाइसक्योः प्रवक्ता सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार सम्पूर्णरुपमा फेल भइसकेको बताएको छ । बुधबार पत्रकार सम्मेलन गरी माओवादी प्रवक्ता अग्नि सापकोटाले वर्तमान सरकार प्राविधिकरुपमा अस्तित्वमा रहेपनि राजनीतिक रुपमा आफ्नो वैधानिकता गुमाइसकेको बताएका हुन् ।

उनले सत्ता गठबन्धन अप्राकृतिक, अपारदर्शी र संवैधानिक नैतिकता विपरित बनेको आरोप लगाए । उनले भने,‘जनता आक्रोशित छन्, आन्दोलित छन्, शिक्षक, निजामती कर्मचारी, चिकित्सक, सहकारी पीडितलगायत सबै आन्दोलित छन् । सरकारको कुशासनका कारण यस्तो अवस्था आयो । गभर्नर चयन गर्न सकेको छैन । सरकारको काम गराइबाट सत्तारुढ दलका नेता नै असन्तुष्ट छन् । यो हाम्रो निष्कर्ष होइन । कांग्रेसकै नेताहरुले भनिरहनु भएको छ प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलिया पुग्ने गरेका छन् भनेर । अनि यो सरकार फेल नभएर के भयो त ?’

उनले प्रचण्ड नेतृत्वको सरकारले गरेका भ्रष्टाचार विरोधी अभियानलाई उल्ट्याएको मात्र नभई सुशासन कायम गर्न लागेका अधिकारीहरुलाई छानीछानी दण्डित गर्ने, अपमानजनक तरिकाले पदबाट हटाउने, राजीनामा दिन बाध्य गराउने जस्ता काम गरिरहेको बताए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकका माग पूरा गर्न भन्दा उनीहरुलाई होच्याउने, अपमानित गर्ने काम गर्दा समस्या समाधान हुन नसकेको बताए ।

धुलिखेल–साँगा सडकः पुलबजार क्षेत्रमा रोकियो काम

 काभ्रे। स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्डको पुलबजार क्षेत्रमा स्थानीयको अवरोधका कारण काम ठप्प अवस्थामा छ । डेढ महिनादेखि उक्त क्षेत्रको करिब २०० मिटर क्षेत्रमा विस्तार रोकिएको सडक विभागको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ ।

निर्माणाधीन सडकखण्डको पुलबजार क्षेत्रमा ‘सेन्टर लाइन’को विषयलाई लिएर स्थानीयले अवरोध जनाएपछि डेढ महिनादेखि विस्तार रोकिएको हो । सेन्टर लाइनबाट दायाँबायाँ ७५/७५ फिट (१५० फिट)मध्ये पनि १४० फिटमा काम भइरहेकोमा स्थानीयले दुवैतर्फका घरमा बराबर छुट्याउनुपर्ने माग गर्दै निर्माण अवरुद्ध पारेको जनाइएको छ ।

“हामीले सडकको डिजाइनअनुसारनै सडकको बीचबाट बराबर छुट्याउने हो, स्थानीयले घरको दूरीमा बराबर गर्नुपर्छ भन्दै विवाद सिर्जना गरेपछि निर्माणकार्य रोकिएको हो”, आयोजनाका इञ्जिनियर विष्णु खनालले भने । उनका अनुसार यसअघि विभिन्न निकायको समन्वयमा अवरोध हटाउन प्रयास गरिए पनि मङ्गलबार बनेपा नगरपालिकाका जनप्रतिनिधि र स्थानीयबीचको छलफल पनि बिनानिष्कर्ष टुङ्गिएको छ ।

पुलबजार क्षेत्रमा अवरोधका कारण बनेपाको मुख्य सहर क्षेत्रमा समेत निर्माण रोकिएको हो । इञ्जिनियर खनालका अनुसार सहरको पूर्वीतर्फको चण्डेश्वरी खोलादेखि बनेपा चारदोबाटोसम्म करिब एक किमी सडकको डल निर्माण भइरहे पनि अन्य कार्य ठम्म नै रहेको छ ।

पुलबजार क्षेत्रको अवरोध तत्काल हटाएर विस्तार कार्यलाई अघि नबढाइए वर्षाअघि कामले निरन्तरता नपाउने खनालको भनाइ छ । अन्य स्थानमा भने काम तीव्र रुपमा नै भइरहेको उनले बताए । उनका अनुसार धुलिखेल क्षेत्रमा कामले गति लिइरहेकाले हाल एक किमी क्षेत्रमा वाल, ड्रेन, पेवमेन्टको काम सकेर केही दिनमै सडक कालोपत्रको तयारी भइरहेको छ ।

पुलबजार क्षेत्रमा भने स्थानीयको अवरोधसँगै मापदण्डभित्रका घरटहरा हटाउनुपर्ने, बिजुलीको पोल विस्तार, अप्टिकल फाइबर, हाइटेन्सनका पोलहटाउनुपर्ने काम रोकिएको जनाइएको छ । आयोजनाका अनुसार साँगा–धुलिखेल सडकखण्डअन्र्तगत नासिकास्थानमा दुई, भैँसीपाटीमा तीन, जनागालमा दुई, बुडोलमा एक र २८ किलोमा एक गरी नौ वटा घर–टहरा हटाउनुपर्नेछ ।

यस्तै बिजुलीको पोल सार्ने काम ७० प्रतिशत, तथा एक ठाउँमा हाइटेन्सनको पोल सार्नुपर्ने काम बाँकी रहेको छ । आयोजनाले पछिल्लोपटक गत चैत २७ गते एक सार्वजनिक सूचनामार्फत विस्तार भइरहेको सूर्यविनायक–धुलिखेल सडकखण्डको मापदण्डभित्र पर्ने घर–टहरा तथा अन्य संरचना भत्काइदिन अनुरोध गरेको छ । यसअघि २८ किलो, बुडोल, बनेपा र पुलबजार क्षेत्रमा भने स्थानीयको पटकपटकको अवरोधले घर–टहरा हटाउनुपर्नेलगायतका विविध समस्या देखिएको थियो ।

यसैबीच अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्मको सडक छ लेनमा विस्तारको काम समयमै नसकिने भएको छ । आयोजनाले बाँकी करिब आठ महिनाको अवधिमा विस्तारको काम नसकिने जनाएको हो ।

विसं २०७९ पुस २४ बाट सुरु गरिएको १६ किमी लम्बाइको यस सडक ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । उक्त सडकखण्ड सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा विभाजन गरी सोहीअनुसार ठेक्का सम्झौता भई विस्तार भइरहेको छ । हाल दुई खण्डको विस्तारको काम ४५ प्रतिशतको हाराहारीमा काम भएको आयोजनाले जनाएको हो ।

आयोजनाको सिनियर डिभिजनल इञ्जिनियर एवं सूचना अधिकारी सजना अधिकारी निर्धारित समयभित्र विस्तारको काम नसकिने भएकाले केही महिना समय थप्नुपर्ने बताउँछन् । उनका अनुसार मापदण्डभित्रका घर–टहरा भत्काउन, रुख, बिजुलीका पोल तथा अप्टिकल फाइबरको केबल प्रतिस्थापन गर्दा समयमा काम सुरु हुन सकको थिएन ।

यस्तै साँगा–धुलिखेल खण्डमा बनेपाको सहरी क्षेत्रमा पुललगायत व्यक्तिगत घरको विवाद तथा मापदण्डभित्रका घर भत्काउन नसक्दा ढिलाइ भएको अधिकारीको भनाइ छ । समयसीमासम्म करिब ६५ प्रतिशत भौतिक निर्माणको काम हुने जनाइएको छ ।

उक्त आयोजनाअन्तर्गत पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडकखण्ड विस्तार कार्यका लागि रु चार अर्ब पाँच करोड ६४ लाखका तथा दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडकखण्ड रु तीन अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भएको थियो ।

साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि विस्तार थालिएको हो । चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी नाका खुला भएपछि यस राजमार्गमा सवारी चाप दिनहुँ बढिरहेको छ।

हाल कोटेश्वरबाट यही राजमार्गमा मध्यपहाडी क्षेत्र तथा पूर्वी तराईका लामा दूरीका सवारी मात्र दैनिक एक हजार पाँच सयभन्दा बढी छुट्ने गरेका छन्।

शिक्षा विधेयकलाई प्राथमिकताका साथ पारित गर्नुपर्ने संसद्को दायित्व होः सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयकलाई प्राथमिकताका साथ पारित गर्नुपर्ने दायित्व संसद्को रहेको बताएका छन् ।

बुधबार विभिन्न राजनीतिक दलका प्रमुख सचेतकहरूसँग समसामयिक राजनीतिक विषयमा छलफल गर्न आयोजना गरिएको बैठकमा सभामुख घिमिरेले सामुदायिक विद्यालयका शिक्षकहरू शिक्षा ऐेन जारी गर्नुपर्ने माग राख्दै आन्दोलन गरिरहेको अवस्थामा संसद सञ्चालन भएसँगै शिक्षा विधेयकलाई प्राथमिकताका साथ पारित गर्नुपर्ने बताएका हुन् ।

;संसद्लाई सरकारको नीति तथा कार्यक्रम, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्थाबमोजिम बजेटमाथिको छलफलको चाप परेको छ’, सभामुख घिमिरेले भने, ‘विद्यालय शिक्षा विधेयकलाई पनि प्राथमिकताका साथ पारित गर्नुपर्ने दायित्व संसद्को हो । शिक्षकहरूले ऐन नलिई जान्न भन्नुभएको छ, उहाँले मलाई पनि भेटेर पहल गरिदिन भन्नुभएको छ ।’

बैठकमा सभामुख घिमिरेले पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदाका दिनबाहेक सबै दिन संसद सञ्चालन गर्ने प्रस्ताव गरे । बैठकले उक्त प्रस्ताव अनुमोदन गरेको छ ।

सोहीबमोजिमको तालिकाबारे यही वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेस हुनेछ । उपसमितिले यही वैशाख २३ सम्मको समयावधिभित्र प्रतिवेदन बुझाउने प्रतिबद्धता जनाएको अवस्थामा यसलाई प्राथमिकता दिनेगरी संसद्ले तयारी गरेको जनाउँदै सभामुख घिमिरेले जुनसुकै दिन विधेयक संसद्मा प्रस्तुत गर्नेगरी तालिका सुरक्षित गर्ने उल्लेख गरे ।

‘उपसमितिको प्रतिवेदन आएलगत्तै संसद्ले पारित गर्ने प्रक्रिया सुरु गर्छ । निजामती विधेयक पनि समितिबाट आउने अवस्थामा छ । नीति तथा कार्यक्रम र बजेटका प्राविधिक सीमालाई ध्यान दिँदै शिक्षा, निजामतीलगायत विधेयक यही अधिवेशनमा पारित गर्न तयारी अवस्थामा रहनुपर्दछ’, उनले भने ।

ब्राजिलका खेलाडी कार्लाेसलाई ‘माउन्टेन फ्ल्याइट’ र जङ्गल सफारी गर्ने योजनासहित नेपाल भ्रमणमा आउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टाे कार्लाेसबीच बुधबार सिंहदरबारमा भेट भएको छ ।

विश्वविजेता कार्लाेस नेपाल सुरपल लिग एनएसएल) को तेस्रो सिजनको खेल हेर्न काठमाडौँ आएका हुन् । सो अवसरमा प्रधानमन्त्री ओलीले खेलाडी कार्लाेसलाई स्वागत गर्दै उनको नेपाल आगमनले यहाँका खेलाडी र युवाहरुलाई उत्साह मिल्ने बताए ।

प्रधानमन्त्री ओलीले नेपाल र ब्राजिलबीच राम्रो कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै दुवै देशको खेल क्षेत्रले एकार्कामा सिकाइ आदानप्रदान गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले खेलाडी कार्लाेसलाई ‘माउन्टेन फ्ल्याइट’ र जङ्गल सफारी गर्ने योजनासहित पुनः नेपाल भ्रमणमा आउन आग्रह गरे ।

आफूलाई स्वागत गरिएकामा आभार व्यक्त गर्दै खेलाडी कार्लाेसले नेपालका प्रधानमन्त्री, युवा र खेलाडीसँग भेट्न पाउँदा खुसी लागेको बताए ।

युक्रेनमा बसमा ड्रोन आक्रमण, नौ जनाको मृत्यु

युक्रेन । युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा रुसी ड्रोन हमलामा कम्तीमा नौ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको गभर्नरले बुधबार बताएका छन् ।

“दक्षिणपूर्वी सहर मार्गानेट्समा ‘शत्रुको आक्रमणबाट नौ जनाको ज्यान गयो’”, गभर्नर सेर्गी लिसाकले टेलिग्राममा लेखेका छन्, “घाइतेको सङ्ख्या निरन्तर बढ्दै गइरहेको छ ।”

उनले हाल घाइतेको सङ्ख्या ३० पुगेको जानकारी दिए । युक्रेनी अधिकारीहरूले रुसी आक्रमणपछि धेरै क्षेत्रमा आगलागी भएको पनि रिपोर्ट गरेका छन् ।

किएभ, खार्किभ, पोल्टावा र ओडेसाका क्षेत्रहरूमा पनि आक्रमण भएको रिपोर्ट गरिएको छ । रुसमा बेलगोरोड क्षेत्रमा भएको गोलाबारीमा एक जना घाइते भएको बताइएको छ ।

तीन वर्षभन्दा लामो द्वन्द्व अन्त्य गर्ने उद्देश्यले संयुक्त राज्य अमेरिका, युक्रेन र युरोपेली देशका दूतहरूले बुधबार बेलायतमा नयाँ चरणको वार्ता गर्ने क्रममा आक्रमण भएको हो ।

काश्मीरमा २६ जनाको हत्या गर्ने बन्दुकधारीको खोजीमा भारत

भारत । सन् २००० पछि काश्मीरका सर्वसाधारणमाथि भएको सबैभन्दा घातक आक्रमणमा बन्दुकधारीहरूले पर्यटकहरूमाथि गोली चलाएर कम्तीमा २६ जनाको हत्या गरेको एक दिनपछि बुधबार काश्मीरमा भारतीय सुरक्षा बलले ठूलो खोजी अभियान सञ्चालन गरेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले ‘जघन्य कार्य’ को निन्दा गरे र आक्रमणकारीहरूलाई ‘न्यायको कठघरामा ल्याउने’ वाचा गरेका छन् ।

बुधबार बिहान भारत फर्कनका लागि साउदी अरबको राजकीय भ्रमण छोट्याएका मोदीले आफ्नो आगमनमा तुरुन्तै शीर्ष सुरक्षा अधिकारीहरूसँग भेट गर्नुभएको एक सरकारी अधिकारीले बताए ।

कुनै आधिकारिक सङ्ख्या जारी गरिएको छैन तर सुरक्षा स्रोतहरूले एएफपीलाई बताएअनुसार मङ्गलबार दिउँसो बन्दुकधारीहरूले लोकप्रिय पर्यटकीय स्थलमा जङ्गलबाट बाहिर निस्केर स्वचालित गोली हानेर आगन्तुकहरूको भिडलाई उत्तेजित गर्दा कम्तीमा २६ जनाको मृत्यु भएको थियो ।

जम्मू र कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले उक्त आक्रमण ‘हालैका वर्षहरूमा नागरिकहरूमाथि गरेको कुनै पनि आक्रमणभन्दा धेरै ठूलो’ भएको बताए ।

कुनै पनि समूहले जिम्मेवारी लिएको छैन तर मुस्लिम बहुल क्षेत्रमा विद्रोहीहरूले सन् १९८९ देखि विद्रोह गरेका छन् ।

उनीहरू स्वतन्त्रता वा पाकिस्तानसँग विलय चाहन्छन् । पाकिस्तानले काश्मीर क्षेत्रको सानो भाग नियन्त्रण गर्छ र भारत जस्तै यसलाई पूर्ण रूपमा आफ्नो दाबी गर्छ ।

“हाम्रा आगन्तुकहरूमाथि भएको यो आक्रमण घृणित छ”, आक्रमणपछि अब्दुल्लाहले विज्ञप्तिमा भनेका छन्, “यस आक्रमणका अपराधीहरू पशु हुन्, अमानवीय र तिरस्कार योग्य छन् ।”

श्रीनगरको प्रमुख सहरबाट करिब ९० किलोमिटर (५५ माइल) टाढा सडकमार्फत् गर्मीमा पर्यटकहरूका लागि लोकप्रिय स्थल पहलगाममा आक्रमण स्थल नजिकै एएफपी पत्रकारहरूले सुरक्षा बलको भारी तैनाथी भएको रिपोर्ट गरेका छन् ।

“आक्रमणकारीहरूलाई न्यायमा ल्याउने सबै प्रयासहरू केन्द्रित गर्दै खोजी अभियान हाल जारी छ”, भारतीय सेनाले विज्ञप्तिमा भनेको छ ।

एउटा छुट्टै घटनामा बारामुलामा सेनाले बुधबार बन्दुकधारीहरूसँग ‘भारी गोली हानाहान’ भएको रिपोर्ट गरेको छ । सेनाले बन्दुकधारीहरू पाकिस्तानबाट विवादित सीमा पार गर्ने ‘घुसपैठको प्रयास’ को हिस्सा भएको बताएको छ ।

“दुई आतङ्कवादी मारिएका छन्”, सेनाले भन्यो । पहलगाममा एकजना टुर गाइडले एएफपीलाई उनी गोलीको आवाज सुनेर घटनास्थलमा पुगेको र केही घाइतेलाई घोडामा चढाएर लगेको बताए ।

एउटा मात्र नाम बताउने वाहिदले धेरै पुरुष भुइँमा मृत अवस्थामा परेको देखेको बताए भने नाम नछाप्न अनुरोध गर्ने एकजना प्रत्यक्षदर्शीले आक्रमणकारीहरूले ‘स्पष्ट रूपमा महिलालाई छाडेको’ बताए ।

मोदीले नयाँदिल्लीमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सलाई भेटेको एक दिनपछि यो हत्याकाण्ड भएको हो ।
“उनीहरूको दुष्ट एजेन्डा कहिल्यै सफल हुनेछैन । आतङ्कवादविरुद्ध लड्ने हाम्रो सङ्कल्प अडिग छ र यो अझै बलियो हुनेछ”, मोदीले आक्रमण लगत्तै वक्तव्यमा भनेको छ ।

नागरिकहरूमाथि हालसम्मको सबैभन्दा घातक आक्रमण सन् २००० मार्चमा भएको थियो । उक्त आक्रमणमा ३६ भारतीय मारिएका थिए । त्यो आक्रमण अमेरिकी राष्ट्रपति बिल क्लिन्टनको भ्रमणको पूर्वसन्ध्यामा भएको थियो ।मङ्गलबारको हत्याकाण्डले विश्वव्यापी आक्रोश निम्त्याएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मोदीलाई ‘यस जघन्य आक्रमणका अपराधीहरूलाई न्यायको कठघरामा ल्याउन भारतलाई तत्काल पूर्ण समर्थन’ को प्रस्ताव राखेका छन् ।

आक्रमणको निन्दा गर्ने र समर्थन गर्ने विदेशी नेताहरूमध्ये युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयनले ‘युरोप तपाईँको साथमा उभिने’ वाचा गरिन् ।

भारतमा अनुमानित पाँच लाख सैनिक स्थायी रूपमा यस क्षेत्रमा तैनाथ छन् तर सन् २०१९ मा मोदीको सरकारले काश्मीरको सीमित स्वायत्तता खारेज गरेपछि लडाइँ कम भएको छ ।

हालका वर्षहरूमा अधिकारीहरूले जाडोमा स्किइङका लागि र भारतका अन्य ठाउँमा गर्मीको गर्मीबाट बच्नका लागि यस पहाडी क्षेत्रलाई छुट्टी गन्तव्यका रूपमा बढावा दिएका छन् ।

सन् २०२४ मा करिब ३५ लाख पर्यटकले काश्मीर भ्रमण गरेका थिए । तीमध्ये अधिकांश स्वदेशी पर्यटक थिए ।

डराएका पर्यटकहरू घर फर्कन चाहेकाले एयर इन्डियाले बुधबार श्रीनगरबाट दुई अतिरिक्त उडान थप्ने बताएको छ ।

हालका वर्षहरूमा भएको सबैभन्दा खराब आक्रमण सन् २०१९ फेब्रुअरीमा पुलवामामा भएको थियो । उक्त आक्रमणमा विद्रोहीहरूले विस्फोटकले भरिएको कार उडाएर प्रहरी काफिलामा ठोक्काउँदा ४० जनाको मृत्यु र कम्तीमा ३५ अन्य घाइते भएका थिए ।

विश्लेषक माइकल कुगेलमनले यस आक्रमणले ‘भारत र पाकिस्तानबीच नयाँ सङ्कटको धेरै गम्भीर जोखिम उत्पन्न गरेको र सम्भवतः सन् २०१९ मा भएको छोटो सैन्य सङ्घर्षपछि सङ्कटको सबैभन्दा गम्भीर जोखिम हो’ भनी तर्क गरेका छन् ।

भारतले नियमित रूपमा पाकिस्तानलाई विद्रोहको पछाडि रहेका बन्दुकधारीहरूलाई समर्थन गरेको आरोप लगाउने गरेको छ ।

इस्लामाबादले उक्त आरोपलाई अस्वीकार गर्दै काश्मीरको आत्मनिर्णयको सङ्घर्षलाई मात्र समर्थन गरेको दाबी गरेको छ । बाँचेका व्यक्तिहरूले बन्दुकधारीहरूले पुरुषहरूलाई लक्षित गरेको र केहीलाई नजिकैबाट गोली हानेको बताएका छन् ।

पर्यटकहरूले प्रकृतिको शान्तिको आनन्द लिइरहेको स्थानमा युनिफर्म लगाएका पुरुषहरू वरपरको जङ्गलबाट घाँसमा निस्किएको बाँचेकी एक महिलाले बताएको द इन्डियन एक्सप्रेस अखबारले जनाएको छ ।
बाँचेका व्यक्तिहरूले उनीहरू प्रहरी भनेर सोचेको बताए ।

“उनीहरू त्यहाँ कम्तीमा २० मिनेटसम्म थिए, निर्भय भएर, वरिपरि घुमिरहेका र गोली चलाइरहेका थिए”, पत्रिकाले बचेकालाई उदृतत गर्दै भन्यो, “यो अनन्तकाल जस्तो लाग्यो ।”

अनुभवी चिनियाँ अन्तरिक्षयात्रीले अन्तरिक्ष स्टेसनमा नयाँ दलको नेतृत्व गर्दै

जिउक्वान । एक अनुभवी अन्तरिक्षयात्रीले यस हप्ता देशको तियाङगोङ अन्तरिक्ष स्टेसनमा पहिलो उडानमा दुई चालक दलका सदस्यको नेतृत्व गर्ने चीनले बुधबार घोषणा गरेको छ ।

शेनझोउ–२० मिसन बिहीबार साँझ ५ः१७ बजे (०९१७ जिएमटी) उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट प्रक्षेपण हुने तय भएको चीन म्यान्ड स्पेस एजेन्सीका उप निर्देशक लिन सिकियाङले एक पत्रकार सम्मेलनमा घोषणा गरे ।

४६ वर्षीय पूर्व लडाकू पाइलट तथा अनुभवी अन्तरिक्ष अन्वेषक चेन डोङ सन् २०२२ मा दुई सय दिनभन्दा बढी कक्षामा बस्ने पहिलो चिनियाँ अन्तरिक्ष यात्री बनेका थिए ।

चेनसँगै अन्य दुई पुरुष अन्तरिक्षयात्री ४० वर्षीय पूर्व वायुसेना पाइलट चेन झोङरुई र ३५ वर्षीय पूर्व अन्तरिक्ष प्रविधि इन्जिनियर वाङ जिए रहनेछन् । दुवै जना आफ्नो पहिलो अन्तरिक्ष उडानमा निस्कने लिनले बताए ।

हाल तियाङगोङ अन्तरिक्ष स्टेसनमा रहेको चालक दल आगामी अन्तरिक्षयात्रीहरूसँग हस्तान्तरण प्रक्रिया पूरा गरेपछि अप्रिल २९ मा पृथ्वीमा फर्कने कार्यक्रम रहेको लिनले जानकारी दिए ।

मानवलाई कक्षामा राख्ने तेस्रो चीनको अन्तरिक्ष कार्यक्रमले मङ्गल र चन्द्रमामा रोबोटिक रोभरहरू पनि अवतरण गरेको छ ।

प्रत्येक छ महिनामा आदानप्रदान हुने तीन अन्तरिक्ष यात्रीको टोलीद्वारा सञ्चालित तियाङगोङ अन्तरिक्ष स्टेशन देशको अन्तरिक्ष कार्यक्रमको मुकुट रत्न हो ।

चीनले राष्ट्रपति सी जिनपिङको नेतृत्वमा आफ्नो ‘अन्तरिक्ष सपना’ हासिल गर्ने योजना बनाएको छ । बेइजिङले सन् २०३० सम्ममा चन्द्रमामा चालक दल पठाउने लक्ष्य राखेको छ । त्यहाँ यसले चन्द्रमाको सतहमा आधार निर्माण गर्ने योजना बनाएको छ ।

‘कुलिङ पिरियड’ को विषयलाई अल्पमत र बहुमतको आधारमा निर्णय नलिन सांसद पन्तको आग्रह

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्त निजामती कर्मचारीलाई ’कुलिङ पिरियड’ राख्नुपर्ने पार्टीको प्रस्तावविरुद्ध उभिएका छन् ।

बुधरबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद पन्तले अवकासपछिको नियुक्तिमा ‘कुलिङ पिरियड’ नै राख्न नुहने बताएका हुन् ।

कांग्रेसले दुई वर्ष र एमालेले एकवर्ष ‘कुलिङ पिरियड’ राख्नुपर्ने प्रस्ताव गरेकोमा पन्तले भने राख्नै नहुने बताएका छन् ।

पन्तले भने, ‘ नरहे बाँस, नबजे बाँसुरी भने जस्तो यसमा अल्झेर बस्नु हुँदैन । कुलिङ पिरियड नै नराखौं ।’

सांसद पन्तले यो विषयमा अल्पमत र बहुमतको आधारमा निर्णय लिन नहुने बताएका छन् ।

गर्मी सुरु भएसँगै लेकतर्फ लागे भेडाका बथान

लमजुङ। बेँसी आइपुगेर घुम्ती भेडीगोठमा रहेका भेडाका बथान यतिबेला चरणका लागि लेक तथा हिमाली भेगतर्फ जान थालेका छन् । चिसो मौसम सुरु भएसँगै चरणमा समस्या आउन थालेपछी बेँसी झरेका भेडाका बथान गर्मी सुरु भएसँगै लेक तथा हिमाली भेगतर्फ जान थालेका हुन् ।

जिल्लाका घुम्ती गोठका गोठालाहरूले आ-आफ्ना भेडाका बथान यतिबेला लेक तथा उच्च खर्कतिर लैजान थालेका यहाँस्थित पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. सुनिल न्यौपानेले बताए। जिल्लामा सानाठूला गरेर तीन सय भन्दा बढी घुम्ती भेडीगोठ रहेका जनाउँदै ती बेँसीबाट लेक जान थालेका उनले बताए।

कार्यालयका अनुसार भुजुङ, सिउरुङ, घलेगाउँ, पसगाउँ, सिङ्दी, घनपोखरा, इलमपोखरी, दूधपोखरी, पाचोक, बन्सार, फलेनी, ढोडेनी, ताघ्रिङ, भुलभुलेलगायत ग्रामीण क्षेत्रमा भेडीगोठ छन् । हिमाली भेगहरूबाट चिसो छल्न बेँसी झरेका भेडीगोठ पुनः लेकतिर पुग्न थालेका छन् । विशेष गरी गुरुङ समुदायको पुर्खौली चलन तथा पेसाका रूपमा भेडीगोठलाई हेरिन्छ ।

भेडी गोठाला कमल अधिकारीले भने, ‘चिसो मौसममा बेँसी झारिएका भेडी गोठ पुनः लेकतर्फ लैजान थालेका छौँ । केही समयमा हिमालको काखमा रहेको ठूले लेकमा पुग्ने छौँ ।’ उनले गर्मी यामको छ महिना लेक र चिसो यामको छ महिना बेँसीमा भेडीगोठ राख्ने गरिएको जानकारी दिए ।

लमजुङ दोर्दी गाउँपालिका–५ सिम्रुङका ५२ वर्षीय भेडी गोठाला दुरजङ गुरुङले चिसो छल्न बेँसी झारेका भेडीगोठ फागुन लागेसँगै लेकतर्फ लगेको भन्दै यतिबेला लमजुङ र गोरखाको सिमना चेपेखोलाको शिरमा पुगेका जानकारी दिए । बेँसीबाट भेडाबाख्रा चराउँदै श्रीमञ्जाङबाट ओखरी, साल्मे, सिम्रुङ हुँदै लेपेखर्कतर्फ लागेका छन् । उनका अनुसार भेडी गोठमा सानाठूला भेडा तथा बाख्रा गरेर आठ सयभन्दा बढी छन् ।

चिसो छल्न गाउँ आइपुगेका पसगाउँको भेडीगोठका बथान यतिबेला क्युबे–ल्हेदेतर्फ पुग्न थालेका स्थानीयको भनाइ छ । जिल्लाको उत्तरी ताघ्रिङका भेडीगोठ यतिबेला थुर्जुलेक खर्कतिर पुग्न थालेको छन् । लमजुङका भेडीगोठहरू लमजुङ, मनाङ र कास्कीको सिमाना दूधपोखरी नजिकै थुर्जु तथा लमजुङ हिमालको काखलगायत ठाउँसम्म पुग्ने गरेका भेडीगोठाला बताउँछन् ।

बेँसीमा रहेको बेलामा भेडीगोठबाट निस्किएको मल खेतबारीमा प्रयोग हुने बताउँदै पशु सेवा विज्ञ केन्द्रका निमित्त प्रमुख डा न्यौपानेले भेडाको ऊन निकालेर राडीपाखी, बख्खुलगायत सामग्री बनाइने जानकारी दिए। उनका अनुसार जिल्लाभर २३ हजार भेडाबाख्रा छन् ।

वार्षिक १० हजार किलो ऊन निस्कने र ऊन प्रतिकिलो रु तीन सयमा बिक्री हुने न्यौपानेले जानकारी दिए । वार्षिक एक सय ६० मेट्रिक टन भेडाको मासु उत्पादन हुन्छ । मासु बिक्रीबाट आठ करोड आम्दानी हुने गरेको केन्द्रले जनाएको छ ।

वार्षिक घुम्ती भेडीगोठमा रहेका बाख्राको मासु एक सय २० मेट्रिक टन तथा घुम्ती र घरमा पालिएका बाख्रा गरी वार्षिक एक हजार २०० मेट्रिक टन मासु उत्पादन हुँदा ६० करोड आम्दानी हुँदै आएको केन्द्रका निमित्त प्रमुख डा. न्यौपानेले जानकारी दिए।

जिल्लामा वार्षिक ६० करोड आम्दानी हुँदै आए पनि पछिल्लो पुस्ताले बेवास्ता गर्दा परम्परागत रूपमा रहेको भेडीगोठ लोप हुने अवस्थामा पुग्न थालेको स्थानीय ज्येष्ठ नागरिक बताउँछन् । जिल्लामा अधिकांश गुरुङ समुदायका बस्तीमा अझै पनि भेडाको ऊनबाट विभिन्न सामग्री बनाएर बिक्री गर्ने तथा प्रयोग गर्ने प्रचलन कायम छ ।

यो पेसा विशेष गरी अग्रज पुस्तामा मात्र सीमित हुँदा परम्परागत परम्परा लोप हुने अवस्थामा पुगे उनीहरूको गुनासो छ । यहाँ उत्पादित भेडाको ऊन र ऊनबाट बनाइएका विभिन्न सामग्रीको बजारमा उच्च माग रहेको छ।

बरियापट्टीको दलित समुदायमा ४८ वटा कलधारा निर्माण

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका-४ स्थित तेनवापट्टीको बस्तीमा ६० दलित परिवारको बसोबास छ । दक्षिणतर्फ पर्ने हुलाकी सडकबाट नजिकमा रहेको यो बस्तीमा झण्डै चार सय बढी जनसङ्ख्या बसोबास गर्दै आएका छन् ।

गाउँपालिका र दलित जनकल्याण युवा क्लब लहानको साझेदारीमा दुई महिनाअघि यहाँ कलधारा निर्माण गरिएपछि एउटा कुवामा निर्भर गाउँलेहरूलाई खानेपानीको समस्याबाट मुक्ति मिलेको छ । बरियारपट्टी गाउँपालिकाका विभिन्न दलित बस्तीमा हालसम्म ४८ वटा कलधारा उपलब्ध गराइएको हो ।

‘दुई महिना अघिसम्म यहाँका स्थानीय खानेपानीका लागि एउटा कुवामा निर्भर थिए । कुवाको पानी पिउने, हातमुख धुने, नुहाउने, भाँडा माझ्नेलगायत काममा प्रयोग हुन्थ्यो’, स्थानीय अधनियादेवी सदायले भनिन्। अहिले कलधारा निर्माण भएपछि पानीको समस्या समाधान भएको उनको भनाइ छ ।

‘हातमुख धुन, घरायसी प्रयोजनका लागि आवश्यक पर्ने पानी भर्न बिहानैदेखि लाइनमा बस्नुपथ्र्यो । पानीका लागि निकै दुःख र हैरानी बेहोर्नुपरेको थियो’, विगतलाई स्मरण गर्दै सदायले भनिन्, ‘अहिले बस्तीमा १० वटा कलधारा बनाइएको छ । खानेपानीको समस्या समाधान गरेकामा उहाँहरूलाई धन्यवाद ।’

यो कलधारा झण्डै दुई महिनाअघि संस्था र पालिकाले दिएको स्थानीय अमरिकाकुमारी सदायले बताइन्। उनले भनिन, “त्यसअघि बस्तीमा रहेको कुवाबाट फोहर पानी आउथ्यो । फोहर नै भएपनि पिउनुपर्ने बाध्यता थियो । अहिले जडान गरिएको ट्युबवेलमा भने सफा पानी आइरहेको छ ।” यसअघि एउटा मात्र कुवा हुँदा नुहाउन बढी समस्या हुने गरेको अनुभव उनले सुनाइन् ।

यस्तै समस्या थियो बरियारपट्टीको वडा नं २ स्थित खोक्सीको दलित बस्तीमा । चालीस परिवार रहेको उक्त बस्तीमा अहिले दुई वटा कलधारा जडान गरिएको बस्तीकी फूलकुमारी पासवानले जानकारी दिइन् । उनका अनुसार अन्य केही कलधारा निर्माणको क्रममा छन् ।

त्यसैगरी वडा नं १ स्थित नर्गीमा रहेको दलित बस्तीमा छ वटा कलधारा निर्माण गरिएको छ । गर्मीको समयमा पानीको प्रयोग गर्न सहज भएको स्थानीय बताउँछन् । यहाँका दलित बस्तीमा पानीको चरम अभाव देखेपछि एकीकृत जीविकोपार्जन सुधार परियोजनाअन्तर्गत कलधारा उपलब्ध गराइएको दलित जनकल्याण युवा क्लबका कार्यक्रम संयोजक लालुप्रसाद पोखरेलले बताए।

उनले भने, ‘यत्रो बस्तीका मानिसहरू एउटै कुवाको पानीमा निर्भर रहनुपरेको बाध्यता थाहा पाएपछि हामीले उहाँहरूलाई सहयोग गरेका हौँ । योसँगै हामीले उहाँहरूको जीविकोपार्जनका लागि अन्य सहयोगहरू पनि गरेका छौँ ।’

संयोजक पोखरेलका अनुसार बरियारपट्टी गाउँपालिकाका विभिन्न दलित बस्तीमा ४८ वटा कलधारा उपलब्ध गराइएको छ । उक्त कलधाराको ३० देखि ६० हजारसम्म लागत रहेको उनको भनाइ छ ।

संयोजक पोखरेलले परियोजनाअन्तर्गत दलित र सीमान्तकृत समुदायको जीविकोपार्जन, आम्दानी तथा उत्पादनमा वृद्धि, सरसफाइ, स्वच्छता र खाद्य व्यवहार सुधार तथा सामुदायिक समूहको सशक्तीकरणका लागि भूमिका निर्वाह गरिरहेको जानकारी दिए ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामजुलुम मण्डलले विभिन्न संस्थाहरूसँग सहकार्य र समन्वय गर्दै विपन्न दलित समुदायको जीवनस्तर उकास्न निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

ट्रयाक खुलेको १४ वर्षपछि पिपलबोट–पोक सडक स्तरोन्नति

म्याग्दी । ट्रयाक खुलेको १४ वर्षपछि म्याग्दीको मङ्गला गाउँपालिका–५ को पिपलबोट–पाखु सडक स्तरोन्नति गर्न थालिएको छ । मङ्गला गाउँपालिकाले पोक–पिपलबोट–पाखु–घारा–सिरकुम–टिकावाङ सडक अन्तर्गत यस वर्ष पिपलबोट–पोक खण्डमा स्तरोन्नति गर्न आयोजना सञ्चालन गरेको हो । मङ्गला–५ को वडा कार्यालय रहेको पोक जोड्ने सडक विसं २०६८ मा मार्ग खुलेको थियो ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा तीन करोड २७ लाख बजेट बिनियोजन गरेको यो सडक स्तरोन्नतिका लागि दुई करोड १७ लाखमा निर्माण कम्पनीले ठेक्का लिएको छ । ठेक्का मार्फत पिपलबोट र पाखु खण्डमा सडक फराकिलो पार्ने, घुम्ती तथा ग्रेड सुधार, नाली, पर्खाल निर्माण र ढलान गर्न लागिएको मङ्गला–५ का वडा अध्यक्ष भुपेन्द्र खत्रीले बताए ।

उनका अनुसार नौ सय ४५ घनमिटर पलम (पक्कि) पर्खाल, एक हजार पाच सय ९६ घनमिटर ग्यावियन पर्खाल, दुई सय मिटर नाली र दुई सय २० मिटर सडक ढलान गर्ने काम ७० प्रतिशत सकिएको छ । आगामी असार महिनाभित्र योजना सम्पन्न गर्ने लक्ष्य छ ।

सडक स्तरोन्नति भएपछि साविक अर्मन गाविसका बासिन्दालाई आवत जावत, वडा कार्यालय जान आउनका साथै कृषि उपज निकासी, निर्माण सामग्री र दैनिक उपभोग्य बस्ती आयातमा सहज हुने अपेक्षा गरिएको छ । हाल कच्चि, साघुरो र ग्रेड नमिलेको सडकमा जोखिमपूूर्ण यात्रा गर्नुपर्ने अवस्था छ । यसअघि गत वर्ष हाडेभिर–पिपलबोट खण्डमा सडक स्तरोन्नति गरिएको थियो । यो मङ्गला गाउँपालिकाको गौरवको आयोजना हो । 

शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह

काठमाडौं । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप परिवर्तन गर्न शिक्षक र विद्यालय कर्मचारीलाई आग्रह गरेको छ ।

गत चैत २० दिनदेखि काठमाडौँ केन्द्रित सडक आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घको आन्दोलनका कारण सामुदायिक विद्यालयमा भर्ना अभियान, एसइईको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा प्रभावित हुँदै आएको छ ।

‘तपाईंहरुका जायज माग हरु पूरा हुनुपर्छ । हामीले नि त्यही नै भनेको छौँ तर आन्दोलन निरन्तरता दिए पनि स्वरूप फेर्नुहोस् ।’, सिजपका महासचिव तिलोत्तम पौडेलले भने, ‘शिक्षाको आधारभूत प्रवेश भर्ना अभियान, बाँकी भएकाको नतिजा प्रकाशन र कक्षा १२ को परीक्षा नरोक्न आवश्यक विकल्प खोज्नुहोस् ।बालबालिकाको अधिकारप्रति थप सचेत हुनुहोस् ।’ नेपालको संविधानको धारा ३१ ले प्रत्येक नागरिकलाई आधारभूत तहको शिक्षा प्राप्तिको सुनिश्चितता गरेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार मुलुकम ३४ दशमलव ८४ प्रतिशत बालबालिका रहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले नेपाल शिक्षक महासङ्घका पदाधिकारीसँग यही वैशाख ५ गते बेग्लाबेग्लै भेट गरी जारी शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा छलफल गरेका थिए। निकासकै सन्दर्भमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल पूरा गर्न सकिने मागबारे मन्त्रिपरिषद्का प्रस्ताव पेस गर्ने तयारी गरेका बेला शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाले अन्योल उत्पन्न भएको छ ।

विगतमा भएको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित हुनुुपर्नेलगायत माग राखेर महासङ्घले आन्दोलन गर्दै आएको छ ।

मन्त्रिपरिषद्को यही वैशाख २ गतेको बैठकले सङ्घीय संसद्मा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने समेतका प्रयोजनका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गरी सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने र यसका लागि वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे सङ्घीय संसद् बैठकको आह्वान गर्ने निर्णय गरेको थियो । संसदीय समितिमा विचाराधीन रहेको विधेयकलाई यही वैशाखको तेस्रो सातासम्म संसद्को बैठकमा प्रस्तुत गर्न विधायकी पहल भइरहेको छ ।

मन्त्रिपरिषद्को सोही बैठकले महासङ्घले उठाएका मागहरुको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेकाले विद्यालय भर्ना अभियान, एसइईको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षालाई ध्यान दिई आन्दोलन फिर्ता गरी विद्यालय फर्कन शिक्षकहरुलाई आह्वान गरेको थियो ।

राज्य व्यवस्था समितिले माग सुनुवाई नगरी प्रतिवेदन तयार गरे सेवा प्रवाह रोक्ने कर्मचारीहरुको चेतावनी

काठमाडौं । राजपत्र अनंकित कर्मचारीहरूले आन्दोलन घोषणा गरेका छन् । निजामती सेवामा राजपत्र अनङ्कित कर्मचारी संरक्षण अभियानले बुधबार विज्ञप्ति जारी गरी आफूहरूले उठाएका माग पूरा नभए सेवा प्रवाह रोक्ने चेतावनीसहित आन्दोलनको घोषणा गरेका हुन् ।

अभियानले १८/२० वर्षसम्म बढुवा नहुँदा एउटै पदमा काम गर्नुपर्ने अवस्था, कमजोर सेवाको सुरक्षा, आन्तरिक प्रतिस्पर्धामा विभेद, समायोजनबाट सिर्जित समस्या, अन्तरप्रदेश सरूवाको अभाव÷अपारदर्शी सरूवा प्रणाली तथा न्यून सेवा सुविधा लगायतका कारण कर्मचारीहरूको मनोबल कमजोर भएको उल्लेख गरेको छ ।

अभियानले तीनै तहका कर्मचारीका विभिन्न माग राखेर आन्दोलन गर्दै आएको छ । अभियानले विचाराधीन संघीय निजामती सेवा विधेयकमा पाँच वर्ष सेवाअवधि पूरा गरेका कर्मचारीलाई एक तह र १० वर्ष सेवा गरेका कर्मचारीलाई एक श्रेणी वा दुई तह बढुवाको व्यवस्था गर्नुपर्ने, सबै तहमा आन्तरिक प्रतिस्पर्धाको व्यवस्था कायम गरी अन्य पदमा रहेको साविक नि.से. ऐन, २०४९ बमोजिमको पदपूर्तिको व्यवस्था कायम गर्दै रा.प. तृतीय श्रेणीको पदपूर्तिमा खुला प्रतियोगिताबाट ५० प्रतिशत, बढुवाबाट ४० प्रतिशत र आन्तरिक/अन्तरतह प्रतियोगिताबाट १० प्रतिशत कायम गर्नुपर्ने माग राखेको छ ।

आफ्ना माग पूरा नभएमा सेवा प्रवाह रोक्ने सम्मका विरोध तथा आन्दोलनका कार्यक्रम अगाडि बढाउन बाध्य हुने उनीहरुले बताएका छन् । आन्दोलनअन्तर्गत अभियानले वैशाख १२ गतेदेखि माग पत्र टाँसेर काम गर्ने, राज्य व्यवस्था तथा सुशासन समितिबाट माग सुनुवाई नभई प्रतिवेदन तयार भएमा सेवा प्रवाह रोक्नेसम्मका आन्दोलन गर्ने चेतावनी दिएको छ ।

सुनको मूल्य तोलामा सात हजार ५ सय घट्यो

काठमाडौँ । सुनको मूल्य तोलामा सात हजार ५०० रुपैयाँले घटेको छ । मङ्गलबार नेपाली बजारमा हालसम्मकै उच्च अर्थात् प्रतितोला एक लाख ९७ हजार ९०० रुपैयाँ पुगेको सुनको मूल्य बुधबार घटेर एक लाख ९० हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार ९६५ रुपैयाँमा कारोबार हुनेछ । अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ३ ४५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

भारतबाट फर्केर आएपछि आन्दोलनको मोर्चामा फर्किन्छुः महामन्त्री राणा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवल शमशेर राणाले भारतबाट उपचार गरी फर्केर आएपछि आन्दोलनको मोर्चामा फर्किने बताएका छन् ।

बुधबार भारतको मुम्बईमा आफ्नो उपचारको लागि जानुअघि राणाले मनपरितन्त्रको विरुद्धमा हुने आन्दोलन कुनै हालतमा नरोकिने भन्दै उच्च मनोबलसहित आन्दोलनको मोर्चामा कृयाशिल हुन आग्रह गरेका हुन् । उनले आफ्नो रिहाइका लागि पहल गर्नेप्रति धन्यवाद दिएका छन् ।

उनले भनेका छन्, ‘ २४ दिने प्रहरी हिरासतबाट केही दिनअघि बाहिर निस्किएको छु । यो बीचमा हाम्रो गिरफ्तारीको बिरोध गर्दै तत्काल रिहाइको माग राखी थप आन्दोलित भएका सम्पूर्ण आदरणीय व्यक्तित्व, नेता, कार्यकर्ता, मानव अधिकारकर्मी, नागरिक अगुवा, बुद्धिजीवी, शुभेच्छुकहरुमा आभार व्यक्त गर्दछु । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलगायत अरु सबै साथिहरु हिरासतमै हुनुहुन्छ, सबैलाई बिनाशर्त अबिलम्ब रिहाइको माग गर्दछु ।’

त्यस्तै राणाले जनता र एजेन्डालाई केन्द्रमा राखेर अघि बढ्नु ढिला नगर्न पनि आग्रह गरेका छन् । राणाले भनेका छन्, ‘राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण, सुशासन, धर्म, संस्कृति, पहिचानको रक्षा, आर्थिक समृद्धिको निमित्त अब सम्पूर्ण राष्ट्रवादी, हिन्दूवादी, राजावादी, प्रजातन्त्रवादी र परिवर्तन पक्षधरहरु एक ठाउँमा उभिनु पर्दछ । अहिले व्यक्ति गौण कुरा हो, एजेन्डा महत्वपूर्ण विषय हो । सानो चित्त, संकीर्णता, कुण्ठा, व्यक्तिगत महत्वाकांक्षालाई तिलान्जली दिएर देश, जनता र एजेन्डालाई केन्द्रमा राखेर अघि बढ्नु ढिला गर्नु हुँदैन । समान विचार भएकाहरु विभक्त भएर होइन, एकताबद्ध भएर जानुपर्छ । मनपरितन्त्रको विरुद्धमा हुने आन्दोलन कुनै हालतमा रोकिँदैन, सबै साथीहरु उच्च मनोबलसहित आन्दोलनको मोर्चामा कृयाशिल हुन आग्रह गर्दछु । भगवानको कृपा, तपाईंहरु सबैको शुभेच्छाले चाँडै ठिक भएर फर्किने छु । फर्किना साथ तपाईंहरु सँगसँगै मोर्चामा लामबद्ध हुनेछु ।’

नेपालगञ्जस्थित भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा शुरु

काठमाडौं । नेपालगञ्जस्थित भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा शुरु भएको छ । विशिष्टिकृत स्वास्थ्य उपचार सेवा संघीय राजधानी बाहिरका अस्पतालहरुमा समेत विस्तार गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको नीतिअन्तर्गत भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा शुरु भएको हो ।

शहीद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरको सहकार्यमा शुरु सेवाको पहिलो दिन दुई बिरामीको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएको छ ।

यो सेवा अब नियमित हुनेछ । क्रमैसँग अन्य प्रादेशिक अस्पतालहरुमा समेत यस सेवा विस्तार गर्ने मन्त्रालयको योजना रहेको छ ।

भारतीय विद्युतमन्त्रीद्वारा मुक्तिनाथमा पूजार्चना

मुस्ताङ । भारतका विद्युत् तथा आवासमन्त्री मनोहरलाल खट्टरले बुधबार बिहान मुक्तिनाथ मन्दिरमा पूजार्चना गरेका छन् । उनका साथ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पनि मुक्तिनाथको पूजार्चना गरे ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार दुवै देशका ऊर्जामन्त्रीका साथ नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र १६ सदस्यीय टोली मुस्ताङ आएको हो ।

टोलीलाई मुक्तिनाथका पुजारी कृष्णप्रसाद सुवेदीले टीका र प्रसाद प्रदान गरेका थिए । त्यसअघि उक्त टोलीलाई प्रमुख जिल्ला अधिकारी भुसालसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा जनप्रतिनिधिहरूले स्वागत गरेका थिए ।

जम्मु कश्मीरमा भएको आतंकवादी आक्रमणप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणको निन्दा गरेका छन् ।

बुधबार सामाजिक संजालमार्फत राष्ट्रपति पौडेलले भारतको पहलगाममा भएको आतङ्कवादी आक्रमणमा निर्दोष मानिसहरूको ज्यान गएकोप्रति दुःख व्यक्त गरेका हुन् ।

उनले भनेका छन्, ‘भारतको पहलगाहमा भएको आतङ्कवादी आक्रमणमा निर्दोष मानिसहरूको ज्यान गएकोप्रति व्यक्त दुःख व्यक्त गर्दछु। निर्दोषको ज्यान लक्षित गर्ने यस्ता हिंसात्मक कार्यहरू पूर्ण रूपमा निन्दनीय छन् । घाइतेहरूको चाँडो स्वास्थ्य लाभको लागि प्रार्थना गर्दछु।’

भारतीय सञ्चारमाध्यमहरूका अनुसार उक्त आक्रमणमा परी एक जना नेपालीसहित २६ जनाको ज्यान गएको छभने अन्य १० जना घाइते भएका छन् ।

घनश्यामलाई विष्णु रिमालको जवाफः खोजेजस्तै–सोचेजस्तै खत्रा पार्टी बनाएर देखादिए हुन्न ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाललाई आफ्नो पार्टीलाई ‘खत्रा’ बनाएर देखाउन चुनौती दिएका छन् ।

महासचिव भुसालले ‘आई लभ यू होइन, हिसाब देऊ केपी बा भन्नुपर्छ’ भनेर गरेको टिप्पणीप्रति रिमालले यस्तो जवाफ दिएका हुन् ।

रिमालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘… तिम्रो त्यो चाल देखेर आज फुरफुरी लाग्यो नि हौ … चल्तीका एक युवा गायकले के सन्देश दिन यो गीत बनाए, त्यो त उनैलाई थाहा होला । तर मलाईचाहिँ आजभोलि चम्कीचम्की, जुल्फी हल्लाई हल्लाई एमाले सहितका प्रमुख दलका नेताहरुप्रति टिप्पणी गर्ने ‘एस’ भनिने ‘त्यस’ पार्टीका महासचिवको ‘फुरफुरी’ले गीत याद आयो । महोदय, साँच्चिकै महासचिव भएको हो नि ?! हो भने– आफ्नै पार्टीलाई चाहेजस्तै– खोजेजस्तै–सोचेजस्तै खत्रा पार्टी बनाएर देखादिए हुन्न ? अब के को लागि यो ल्याङ, ल्याङ ? सन्देशः दोष लगाउन, मुख छोड्न, र, अर्ति उपदेश दिन सजिलो हुन्छ–– गर्न गारो हुन्छ । नोटः आफू चाहिँ खेती नगर्ने तर सँधियारको बाली हलक्क बढेको देख्दा छटपटी भई राती गोरु फुकाएर लगाइदिनेलाई तपाई सामन्ती प्रवृत्ति भन्नुहुन्छ हैन ?’

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महासचिव भुसालले भनेका थिए, ‘शासकमाथि देखिएको विरोधलाई प्रतिवाद गर्न प्रधानमन्त्रीले वैशाख ११ गते ठुलो मास जम्मा गर्दैछन् । दुर्भाग्य ! जुलुसमा आउनेहरूले पनि आइ लभ यु केपी बा भन्ने होलान् । उनीहरूले आइ लभ यु बा होइन । कमरेड केपी हाम्रो हिसाब देऊ ।’

मिनिट्रक दुर्घटना हुँदा डोटीमा तीन जनाको मृत्यु

डोटी । डोटीमा मिनिट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । भीमदत्त राजमार्गअन्तर्गत डोटीको जोरायलमा मिनिट्रक दुर्घटना हुँदा ट्रक चालकसहित तीन जनाको मृत्यु भएको हो ।

बुधबार  बिहान धनगढीबाट बझाङतर्फ जाँदै गरेको सु.प ०१–००१ ख ३४२८ नम्बरको खाद्यान्न र खुद्रा सामान बोकेको मिनिट्रक अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो ।

मृत्यु हुनेमा ट्रक चालक बझाङको बुङ्गल नगरपालिका–२, दहबगरका अर्जुन धामीसहित तीन जना रहेका छन् । दुई जनाको भने सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी बिनोद शर्माले जानकारी दिएका छन् ।

सङ्घीयतामा बल्झदैछ प्राकृतिक स्रोतमाथिको द्वन्द्व

काठमाडौँ । गत जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  ललितपुरको गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनसहित १४ जना विरुद्ध एक अर्ब चार करोड राजस्व हिनामिना गरेको आरोपमा मुद्दा दायर गर्यो ।उनीहरुमाथि नगरपालिकाभित्रको ढुङ्गाखानी र गिट्टी बालुवा निकासीमा कर लगाएर राजस्व हिनामिना गरेको आरोप थियो । तर मुद्दा दायर भएको तीन महिनापछि विशेष अदालतले प्रमुख महर्जन निर्दोष भएको फैसला गर्यो ।


गोदावरी नगरपालिकाले बागमती प्रदेशको आर्थिक ऐनको व्यवस्थासँग बाँझिने गरी आफ्नो आर्थिक ऐनमा प्रदेश सरकारले तोकेको करको दरभन्दा कम राजस्व तोकेर भ्रष्टाचार गरेको आरोप अख्तियार लगाएको थियो । प्रतिवादी बनाइएका स्थानीय सरकार प्रमुख महर्जन र उपप्रमुख मुना अधिकारीसहितका जनप्रतिनिधिलाई प्रतिवादीहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ (ख) अन्तर्गतको कसुर गरेको आधारमा सजायको माग दाबीसहित अख्तियारले आरोपपत्र दायर गरेको थियो ।


विशेष अदालतले गोदावरी नगरपालिकाले प्रत्येक आर्थिक वर्षमा आर्थिक ऐन पारित गरी प्राकृतिक स्रोततबाट प्राप्त हुने वस्तु निकासीसम्बन्धी करको दर तोकेकोमा विवाद नभएको  व्याख्या गर्यो । एकात्मक शासन प्रणाली अवलम्बन गरेको नेपालले २०७२ सालमा सङ्घीय संरचना अनुरुपको संविधान जारी भएपछि केन्द्र, प्रदेश र स्थानीय सरकारको व्यवस्था अपनाएको छ । 


तीन वटै तहले संविधानले निर्धारित गरेअनुसार तोकिएको कार्यक्षेत्रमा कर निर्धारणलगायतका अधिकारको अभ्यास गरिरहेका छन । त्यसयता प्राकृतिक स्रोतसाधनमाथिको आधिकारबारे विवादको शृङ्खला जारी नै छ । गोदावरी नगरपालिकाको कर विवाद देखिएको एउटा उदाहरण घटना मात्रै हो । 


गोदावरीमा देखिएको उक्त विवादले तीन तहका सरकारका बीचमा प्राकृतिक स्रोत साधनको सङ्कलन र उपयोगमा लगाइने करको विषयमा सुरु भएको विवाद चर्किरहेको देखाउँछ । नेपालको संविधान २०७२ को धारा २२१ ले स्थानीय तहलाई व्यवस्थापकीय अधिकार प्रदान गरेको छ । “धारा २२६ अनुसार निकासी कर जस्ता शुल्कसम्म लगाउन सक्ने तर सो सम्पत्तिको बिक्री गर्न नगरपालिकाले नपाउने हुँदा नगरपालिकाले कानुनद्वारा तोकिएको निकासी शुल्क लिनु भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ (ख) को कसूर हुने देखिँदैन”, विवादबारे विशेष अदालतले फैसलामा भनेको छ । 


फैसलामा अगाडि भनिएको छ, “उपर्युक्त तथ्य आधार, कारण र प्रमाणको रोहमा प्रतिवादीहरु उपर लगाइएको आरोप दाबी पुष्टि नभएको तर्क गरिएको छ । तर हुन आएन । जबकी स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६४ (च) मा ढुङ्गागिट्टी, स्लेट, बालुवा, चुनढुङ्गा, दरीढुङ्गा, अभ्रख र दहत्तर बहत्तरमा प्राकृतिक स्रोत करको दर र प्रक्रिया प्रदेशले निर्धारण गर्ने र गाउँपालिकाले वा नगरपालिकाले सङ्कलन गर्ने व्यवस्था गरिएको छ ।


अदालतको व्याख्याअनुसार स्थानीय सरकार सञ्चालन ऐन संविधानसँग बाँझिएकाले गोदावरी नगरपालिकाका प्रमुख, उपप्रमुख र कर्मचारी विरुद्ध प्राकृतिक साधनस्रोतको दुरुपयोगसम्बन्धी मुद्दामा कारबाही भएन । सङ्घीय शासन व्यवस्था अवलम्बन भएपछि बागमती प्रदेश र गोदावारी नगरपालिकाबीच करको विषयमा देखिएको यो विवादले प्राकृतिक स्रोत परिचालनमा देखिएको विवाद रहेको देखिन्छ । 
सबै स्थानीय तहले कर लगाएपछि कोभन्दा को कम भन्दै तीन तहका सरकारको बीचमा उत्पन्न बेलाबेलामा यसप्रकारका विवाद बल्झिरहेका छ । व्यापार, व्यवसाय र प्रशासनिक क्षेत्रजस्तै प्राकृतिक साधनस्रोतको करको विषयमा पनि विवाद भइरहेको छ । 


सामुदायिक वन उपाभोक्ता समूह महासङ्घ (फेकोफन) देशमा सङ्घीयता लागू भएपछि सामुदायिक वन क्षेत्रमा तेहोरो कर लगाइएको विरोधमा आन्दोलन गरिरहेको छ । करसम्बन्धी राज्यको स्पष्ट नीति नहुँदा सङ्घ, प्रदेश र स्थानीय तहलाई कर तिर्नुपरेको भन्दै सामुदायिक वन उपभोक्ता समूह मारमा परेको फकोफनको भनाइ छ । महासङ्घले तेहोरो कर हटाउन देशभरले विरोध सभा गरिरहेको छ । 


हालको सामुदायिक वन करसम्बन्धी व्यवस्थाअनुसार प्रदेश सरकारहरूले सामुदायिक वन उपभोक्ता समितिबाट सङ्कलित वन पैदावारमा कर लगाउने नीति अपनाएका छन् । सामुदायिक वनभित्रका वन पैदावार बाहिर बिक्री गर्दा मधेस प्रदेशमा १५ प्रतिशत, बागमती प्रदेशमा १० प्रतिशत, गण्डकी प्रदेशमा बाह्य बिक्रीमा ३० प्रतिशत, लुम्बिनी प्रदेशमा २५ प्रतिशत, कर्णाली प्रदेशमा १५ प्रतिशत, सुदुरपश्चिम प्रदेशमा २५ प्रतिशतसम्म कर निर्धारण गरिएको छ ।


कोशी प्रदेशमा भने अहिलेसम्म करकोे दर नतोकिएको कोशी प्र्रदेशअन्तर्गत पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले जानकारी दिए । “कोशी प्रदेश सरकारलाई अहिलेसम्म सामुदायिक वनले कर बुझाउनुपर्दैन । अब आर्थिक ऐन आउँँदैछ, त्यसमा केही व्यवस्था भने हुनसक्छ”, उनले भने ।
तीन तहकै सरकारले कर लगाएका कारण सामुदायिक वन उपभोक्ताहरूमा आर्थिक भार थपिएको भन्दै महासङ्घले आपत्ति जनाउँदै आएको थियो । सर्वोच्च अदालतले २०८० फागुनमा अन्तरिम आदेश जारी गर्दै प्रदेश सरकारलाई सामुदायिक वन पैदावारमा कर सङ्कलन नगर्न निर्देशन दिएको छ । 


त्यसपछि गण्डकी प्रदेश सरकारले वन पैदावरमा ३० प्रतिशत कर लगाएपछि त्यसको विरुद्धमा सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेश खारेजीको मागसहित सर्वोच्च अदालतमा पुगेको थियो । वन पैदावर सामग्रीमा लगाएको ३० प्रतिशत कर तत्काल लागू नगर्न गण्डकी प्रदेश सरकारलाई सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको थियो ।


प्रदेशहरुले आफू खुसी कर निर्धारण गरेपछि सामुदायिक वन उपभोक्ताहरु मारमा परेको भन्दै बढी कर उठाउने प्रावधानको विरुद्ध सङ्घर्ष अझै जारी रहेको फेकोफनका अध्यक्ष ठाकुर भण्डारीको भनाइ छ । 
तेहोरो करको विषयमा फेकोफनले निरन्तर आन्दोलन गरिरहने अध्यक्ष भण्डारीले बताए । फेकोफनले सामुदायिक वनलाई स्थानीय सरकार सञ्चालन ऐनले तोकेको न्यूनतम कर १० प्रतिशत मात्रै लगाउनुपर्नेमा जोड दिँदै आएको छ । “स्थानीय सरकारले १० प्रतिशत र प्रदेश सरकारकाले २० देखि ३५ प्रतिशतसम्म सामुदायिक वनबाट कर लिएको छ । अनि केन्द्रीय सरकारले सञ्चित कोषको २५ प्रतिशतसम्म कर लिन्छ”, उनले भने, “खासमा सामुदायिक वनले कर तिर्नुपदैन । किनकी सामुदायिक वन समूह गैरनाफामूलक सङ्गठन हो र यसले सामुदायिक हितमा काम गरिरहेको छ । तर हामी न्यूनतम कर (१० प्रतिशत) कर तिर्न तयार छौँ ।”


बागमती प्रदेश सांसद तथा सामुदायिक वन अभियन्ता भारती पाठकले सङ्घ, प्रदेश र स्थानीय तीन वटै सरकारबीच छलफल र समन्वय गरेर एकद्वार प्रणालीबाट कर सङ्कलन गर्दा पछिल्लो समय देखिएको करको विवाद समाधान हुनसक्ने सुझाव दिन्छिन् । “कर सङ्कलनको प्रक्रिया तथा प्राकृतिक स्रोतको बाँडफाँट न्यायोचित छैन । यस विषयमा गम्भीर छलफल जरुरी छ”, उनले भनिन्, “सङ्घीयतामा प्राकृतिक स्रोेत व्यवस्थापन तथा कर सङ्कलन र बाँझिएका ऐनको विषयमा अझै गम्भीर रुपमा छलफलबाट समाधान निकाल्नुपर्छ।”


खानी र वनको जस्तै प्राकृतिक स्रोतसाधनको रुपमा रहेको अर्को क्षेत्र खानेपानी हो । खानेपानीको स्रोत परिचालनमा तीन तहकै सरकार बीचमा द्वन्द्व देखिन्छ । खानेपानी परियोजना सञ्चालन भएको ठाउँमा स्थानीयले केन्द्र सरकारसँग रोयल्टी माग गरेपछि उनीहरु बीचको द्वन्द्व सतहमा देखिएको छ । 


उदाहरणका लागि मेलम्ची खानेपानी परियोजनाबाट भएको आम्दानीको हिस्सा स्थानीय तहलाई नदिए सेवा अवरुद्ध गर्ने स्थानीय सरकारको चेतावनी छ । मेलम्चीको खानेपानी आयोजनाको पानी काठमाडौँमा महसुल लिएर वितरण गरिने भएकाले प्रभावित क्षेत्रले रोयल्टी पाउनुपर्ने माग राख्दै सिन्धुपाल्चोकका जनप्रतिनिधिले सङ्घर्ष समिति गठन गरेका छन् । मेलम्ची खानेपानी परियोजनाको प्रभावित क्षेत्रको सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मोले मेलम्ची खानेपानी बिक्रीबाट आएको रकममध्ये २५ प्रतिशत स्थानीय तहलाई उपलब्ध गराउनुपर्ने माग राखेका छन् । 


अहिलेसम्म हेलम्बु गाउँपालिकाले उठाएको माग सुनुवाइ भएको छैन ।  “मेलम्चीको पानी काठमाडाँैसम्म जाँदा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड  (केयूकेयल)ले उपभोक्तालाई निःशुल्क वितरण गर्दैन । उसले पानी बेचेर कमाएको आम्दानीमध्ये हामीले २५ प्रतिशत रोयल्टी माग गर्दै आएका छौँ”, उनले भने, “यदि हाम्रो माग पूरा भएन भने त्यसपछि मेलम्ची खानेपानी उपत्यकामा पठाउने क्रममा अवरोध सिर्जना हुने छ । आगामी वर्षापछि मेलम्ची बन्द हुन्छ ।”


ह्योल्मोले स्थानीय तहको विकास, पानीको मुहान संरक्षण, विपद् व्यवस्थापन लगायतका कार्यक्रमलाई स्रोत व्यवस्थापनका लागि लाभको २५ प्रतिशत माग गरिएको स्पष्ट पारेका छन् ।


विसं २०७६ सालमा कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनाको विषयमा निस्किएको विवादले पनि चर्चा कमायो । कालीगण्डकी नदी किनार आसपासमा बसोबास गर्ने स्याङ्जा, पाल्पा र तनहुँका स्थानीय बासिन्दा र स्थानीय तहले आपत्ति जनाएका थिए । गण्डकी प्रदेशको सहमतिविना उक्त डाइभर्सन आयोजना अगाडि बढाइएको भन्दै प्रदेशका तात्कालिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नै विरोध जनाएका थिए । सङ्घीय सरकारले कालीगण्डकी नदीको पानी सुरुङमार्फत तिनाउ नदीमा झारेर प्रदेश–५ का रूपन्देही, कपिलवस्तु र नवलपरासीमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यसहित विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) बनाएपछि विरोध भएको थियो । 


सरकारले उक्त बहुउद्देश्यीय आयोजना घोषणा गरेपछि सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भयो । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले २०७८ असार २९ मा आयोजना कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि काम अघि बढ्न सकेको थिएन । तर गत २०८१ कात्तिक ११ मा सर्वोच्च अदालतले रिट निवेदन खारेज गरेको छ । सर्वोच्च अदालतले प्रारम्भिक चरणमै वातावरणीय क्षति आकलन गर्न हतार हुने भन्दै रिट निवेदनहरू खारेज गरेको हो । 


अदालतले वातावरणीय मूल्याङ्कन, नदीजन्य स्रोतको दीगो उपयोग र कालीगण्डकीमा फोहर बिसर्जन रोक्न, वातावरणीय दृष्टिले सचेत रहन, कालीगण्डकीमा न्यूनतम २० प्रतिशत पानी छाड्न, स्रोतसाधनको दीगो उपयोग गर्न र नदीमा फोहर बिसर्जन रोक्न निर्देशन दिएको छ ।


तीन वर्षअघि पनि लुम्बिनी प्रदेशमा वन क्षेत्रबीच प्रदेश र स्थानीय तहबीच भएको विवादलाई अधिकारको अर्को सङ्घर्षको उदाहरणको रुपमा लिन सकिन्छ । रुपन्देहीको देवदह नगरपालिकाले आफ्नो क्षेत्रभित्रका नदी र खोलामा नदीजन्य वस्तु उत्खननका लागि ठेक्का प्रक्रिया अगाडि बढाउँदा प्रदेश सरकारअन्तर्गत रहेको डिभिजन वन कार्यालय रुपन्देहीले वन क्षेत्रमा पर्ने खोलामा नगरपालिकाले ठेक्का लगाउन नपाउने भन्दै रोकेपछि विवाद उत्पन्न भएको थियो । नगरप्रमुख धुव्रप्रसाद खरेलले अहिले भने कुनै पनि किसिमको विवाद नरहेको बताए । 


मधेस प्रदेशमा पर्नेे सागरनाथ वन विकास परियोजना सञ्चालनको विवाद अदालतसम्म पुगेको छ । नेपाल सरकारको वनसम्बन्धी महत्वपूर्ण परियोजनाअन्तर्गत वन क्षेत्रको संरक्षण, पुनःस्थापना र व्यवस्थापन गर्दै वातावरणीय सन्तुलन कायम गर्नु तथा स्थानीय जनतालाई रोजगारी र स्रोत साधनको पहुँच उपलब्ध गराउने लक्ष्यले सञ्चालन भएको सागरनाथ वन परियोजना प्रदेश वा केन्द्रीय सरकारअन्तर्गत हुने विषयको विवाद अझै सुल्झिएको छैन । 


संविधानअनुसार अधिकार नदिएको भन्दै मधेस प्रदेश सरकारले सङ्घीय सरकारविरुद्ध अदालतमा २०७६ साउन २३ गते मुद्दा सर्वोच्व अदालतमा दर्ता गरेको थियो । मधेस प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले संविधानको अधिकार सङ्घीय सरकारले मिचेको मधेस सरकारको आरोप छ । प्रदेशको आर्थिक स्रोतको प्रमुख आधारमध्ये करिब १८ हजार हेक्टरमा रहेको सो वन विकास परियोजना सङ्घअन्तर्गतको टिम्बर कर्पोरेशन अफ नेपाल (टिसिटिसिएन) मा गाभेर प्रदेशलाई कमजोर बनाउन खोजिएको भन्दै मन्त्रालयले रिट दायर गरेको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासले २०७६ भदौमा सङ्घीय सरकारको निर्णय कानुनसम्मत नभएको भन्दै कार्यान्वयन नर्गन अन्तरिम आदेश जारी गरेको थियो । 
मधेस प्रदेश सरकारअन्तर्गत वन तथा वातावरण मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरेले उक्त विवादका कारण सागरनाथ वन परियोजना व्यवस्थापनको काममा असर परेको बताए । परियोजनाको काममा बाधा परेको त छ नै त्यहाँ कार्यरत कर्मचारीले आठ महिनादेखि तलब नपाएका कारण परियोजनाको भविष्य नै अनिश्चित भएको छ ।


यीमाथि उल्लेखित प्राकृतिक स्रोतका विषयमा देखिएका विवादले आगामी बाटो झन तनावयुक्त हुने सङ्केत देखिएको  छ । नेपालमा प्राकृतिक स्रोतहरूको दोहन र त्यसबाट उठ्ने रोयल्टीको बाँडफाँटको विषयमा बेलाबेलामा विवाद पेचिलो बनिरहेको छ । प्राकृतिक स्रोतको रुपमा सूचीकृत जलविद्युत् आयोजना, खानी तथा खनिज स्रोतहरू, ढुङ्गागिट्टी बालुवा, र वनजङ्गलको उपयोगबाट उठ्ने रोयल्टीको विषयमा समय समयमा स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारबीच रस्साकस्सीको चलेको छ ।


राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष जुद्धबहादुर गुरुङ कानुनी अस्पष्टता तथा अभाव र कानुनको पनि आफू अनुकुल व्याख्या, बुझाइको कमी, पारदर्शिताको अभाव र आर्थिक लाभमा असमान पहुँचका कारण प्राकृतिक स्रोतको परिचालनमा सरकारका तीन तहबीच बेला बेलामा विवाद देखिएको बताउँछन् ।


“प्राकृतिक स्रोतमध्ये पनि सबैभन्दा बढी विवाद पानीको स्रोत परिचालनमा देखिएको छ । एउटा स्थानीय तहमा पानीको स्रोत हुन्छ । उसले अर्को स्थानीय तहलाई नदिने भनेर विवाद सिर्जना पनि भइरहेको छ । तर स्वच्छ खानेपानीको हकलाई नेपालको संविधानले नै मौलिक हकको रुपमा राखेको हुनाले कुनै स्थानीय तहले अर्को स्थानीय तहलाई खानेपानी दिन्न भन्न पाउँदैन”, उनले भने, “यसरी सङ्घीय संरचनामा विभिन्न सरकारबीच प्राकृतिक स्रोत प्रयोगको अधिकार र राजस्व बाँडफाँटमा आएका विवादलाई आयोगले तथ्यमा आधारित सुझाव दिई विवाद समाधानमा भूमिका खेल्दै आइरहेको छ ।”


गुरुङले अध्ययनलाई प्रथामिकता तथा समन्वयमार्फत प्राकृतिक स्रोतमाथि देखिएका विवाद समाधान गर्न सकिने बताए । तर जनशक्ति तथा आवश्यक वित्त लगानीको अभावले विवाद समाधानका लागि आवश्यकता अनुसारको अध्ययन अनुसन्धान गर्न चुनौती देखिएको उनको भनाइ छ । 


“यस्ता किसिमको विवाद समाधानका लागि स्थानीय तहमा पनि स्पष्ट कानुन चाहिन्छ । बुझाइमा देखिएको मुख्य समस्या समाधानका लागि समन्वय र जनचेतना आवश्यक छ”, गरुङले भने, “विवादलाई समाधान गर्न अहिले समानीकरण अनुदान बाँडफाँटमा परिवर्तन भएको छ । प्रदेशले स्थानीय तहलाई अनुदान वितरण कार्य सम्पादनलाई पनि आधार मान्ने छ । यसअघि जनसङ्ख्यालाई मात्रै आधार मानेका थियौ । अहिले भूगोललाई आधार मानेका छौँ । ”

रोयल्टीमा विवाद

प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टीको असमान वितरणले बेलाबेलामा विवाद उत्पन्न गरेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी बाँडफाँटको विद्यमान संरचनाको पुनरावलोकनसम्बन्धी अध्ययन प्रतिवेदनले प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँटमा असमनता रहेको देखाएको छ । 


प्रतिवेदनअनुसार प्राकृतिक स्रोतको परिचालनको प्रकृति एवं आयामको आधारमा रोयल्टी सङ्कलन हुने र परियोजनापिच्छे बाँडफाँट हुने भएकाले रोयल्टी बाँडफाँटको प्रभावमा आधारित विद्यमान प्रणालीअनुसार प्रदेशहरुको प्राप्त गर्ने जम्मा मधेस र कर्णली प्रदेशको प्रति वर्ष हिस्सा बढीमा दुई प्रतिशत रहेको देखिन्छ भने सुदूरपश्चिमले पाँच प्रतिशत पुर्याउन सकेको छैन ।


राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सङ्कलन गरेका तथ्याङ्कअनुसार सबभन्दा बढी हिस्सा पाउने बागमती प्रदेशले पाँच वर्षमा प्रतिवर्ष औसत ३५ प्रतिशत रोयल्टी पाएको छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशले औसत क्रमशः १७, १९ र २२ प्रतिशत प्राप्त गरेका छन् । 


रोयल्टी आयमा धनी मुलुकहरुले अवलम्बन गरेको रोयल्टी बाँडफाँटको अभ्यासवाट सिक्दै नेपालले न्यून रोयल्टी आय हुने आफ्नो मुलुकको परिवेश अनुसारको मौलिक रोयल्टी बाँडफाँट प्रणालीको विकास गर्नु आवश्यक रहेको आयोगको सुझाव छ ।

संविधान जारी हुनु अघिदेखि नै नेपालमा खासगरी जलविद्युत्, वन र खानी तथा खनिजको रोयल्टी सङ्कलन र वितरणको अभ्यास सुरु भइसकेको थियो । तर त्यो संविधान र कानुनी हिसाबले त्यत्ति व्यवस्थित थिएन । हाल नेपालमा प्राकृतिक स्रोत (पर्वतारोहण, विद्युत्, वन, खानी तथा खनिज र पानी तथा अन्य) को रोयल्टीको बाँडफाँटको निम्ति संविधान, कानुन र संयन्त्रको व्यवस्था गरिएको छ भने विगत पाँच वर्षदेखि पर्वतारोहण, विद्युत्, वन, खानी तथा खनिजको रोयल्टी तीन तहका सरकारबीच बाँडफाँट हुँदै आएको छ ।

वित्तीय समानीकरण अनुदानमा विभेद नगर्न सुझाव

 गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष लक्ष्मीदेवी पाण्डे  खास गरी वित्त आयोगले प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा विभेद गर्न नहुने बताउँछिन् ।
 “चालु आर्थिक वर्षको पूर्वयोजना बनाएर यति अनुदान भनेर सिफरिस गरिन्छ । त्यसलाई चलाउन मिल्दैन । हामीले सशर्तका टुक्रे बजेट सिर्जना गरिरहेका छौँ । संविधानको हकमा भएको बजेट कटौती हुन्छ । स्थानीय तहको विकास निर्माणको बजेट नै त्यही हो,” उनले भनिन्, “राजस्व उठेको आधारमा बाँडफाँट गरिएको छ । आम्दानी हुने र नहुनेलाई  स्थानीय तहलाई बराबरी हेरिनुहुन्न । राजश्व नउठेकै कारण सरकारी सुविधाबाट बञ्चित हुँदा गाउँमा युवाहरु पलायन हुने अवस्था आएको छ ।”


स्थानीय तहहरु कसरी राजस्व वृद्धि गर्न भन्नेतर्फ लाग्नुपर्ने उनको भनाइ छ । “वन व्यवस्थापन राम्रो गर्नुपर्छ । नदीजन्य पदार्थ सही व्यवस्थापन भएका छैन । चोरी तस्करी भएको छ । प्राकृतिक स्रोत चलाउनुहुन्न भनिन्छ । सही रुपमा प्रयोग गर्न सक्नुपर्छ ।” 


राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष जुद्धबहादुर गुरुङले समानीकरण अनुदानमा देखिएको विवाद समाधानका लागि सरकारलाई सुझावसहित सिफारिस गरिएको जानकारी दिए। 
संविधानविद् डा भिमार्जुन आचार्य पछिल्लो समय रोयल्टी बाँडफाँट र यस विषयमा देखिएको समस्याले निम्ताएको विवाद समाधानका लागि संविधान नै संशोधन गरेर अगाडि बढ्नुपर्ने अबको आवश्यकता रहेको बताउँछन् । “तयारी र अनुसन्धान राम्रो नहुँदा प्राकृतिक स्रोत व्यवस्थापन तथा रोयल्टी बाँडफाँटमा विवाद देखिएको हो”,  उनले भने, “संविधानले त बाँडफाँटसम्बन्धी कानुनी व्यवस्था गर्यो । तर प्रावधान कठिन हुँदा संविधान कार्यान्वयनमा चुनौती देखियो । क्षमताको अभावले अmझै समस्या थपियो । अब संविधान नै संशोधन गरेर सुधार गर्न सकिन्छ ।” यीलगायत स्थानीय, प्रदेश, केन्द्रीय सरकारबीचको समन्वय बढाएर उनीहरुको क्षमता अभिवृद्धि गर्न आजको आवश्यकता रहेको आचार्यको भनाइ छ ।

संवैधानिक व्यवस्था

नेपालको संविधानको धारा ५१ (१) ले प्राकृतिक स्रोतसम्बन्धी राज्यको नीतिअन्तर्गत अन्तरपुस्ता समन्यायको मान्यतालाई आत्मसात गर्दै प्राकृतिक स्रोतको दिगो रुपमा उपयोग गर्ने र स्थानीय समुदायको अग्राधिकारसहित प्रतिफलको न्यायोचित वितरण गर्ने कुरा उल्लेख गरेको छ । संविधानको अनुसूची ५, ६, ७, ८ र ९ ले सम्बन्धित प्राकृतिक स्रोतसँग सम्बन्धित तहगत अधिकार र कर्तव्यबारे व्यवस्था गरेको छ भने अनुसूची–९ ले प्राकृतिक स्रोत र त्यसको उपयोगबाट प्राप्त रोयल्टीलाई तीनै तहको अधिकार क्षेत्रभित्र राखेको छ । सङ्घ, प्रदेश तथा स्थानीय तहको एकल तथा साझा अधिकार सूचीको बाँडफाँट र विस्तृतिकरणले यी विषयहरुलाई अझ स्पष्ट पारेको छ ।


संविधानको धारा ५९(४) ले सङ्घ, प्रदेश र स्थानीय तहमार्फत परियोजना प्रभावित क्षेत्र तथा स्थानीय समुदायमा रोयल्टीको समन्यायिक वितरणको व्यवस्था गरेको छ । धारा ६० (२) ले रोयल्टीको रुपमा सङ्कलित राजस्वको तीन तहका सरकारकाबीच न्यायोचित वितरणको प्रावधान गरेको छ भने र धारा ६० (३) ले प्रदेश र स्थानीय तहले प्राप्त गर्ने त्यस्तो वित्तीय हस्तान्तरण राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिश बमोजिम हुने व्यवस्था गरेको छ । 


संविधानको धारा २५१ ले सङ्घ, प्रदेश र स्थानीय तहवीच राजस्व बाँडफाँटको विस्तृत आधार तथा ढाँचा निर्धारण गर्न, पुनरावलोकन गर्न र नेपाल सरकार समक्ष सिफारिस गर्न राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई जिम्मा दिएको छ । उक्त धाराले प्राकृतिक स्रोत परिचालनमा तीन तहका सरकारको लगानी  प्रतिफलको हिस्सा निर्धारणको आधार तय गर्ने, प्राकृतिक स्रोतको बाँडफाँटमा तीन तहका सरकारबीच उठ्न सक्ने विवादको निरुपणको निम्ति सुझाव दिने र प्राकृतिक स्रोतको बाँडफाँटसँग सम्बन्धित वातावरणीय प्रभाव मूल्याङ्कनसम्बन्धी अध्ययन अनुसन्धान र सिफारिस गर्ने कार्यजिम्मेवारी तोकेको छ । 
नेपालमा रोयल्टी सङ्कलन र बाँडफाँटको सन्दर्भमा केही विषय क्षेत्रगत ऐनहरुमा व्यवस्था गरिएको भएता पनि रोयल्टी बाँडफाँटको विषयमा अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन २०७४ बढी भूमिकामा छन् । यी ऐनहरु बाहेक स्थानीय सरकार सञ्चालन ऐन २०७४, सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन २०७७ र प्रदेश सरकारको कार्य सञ्चालनसम्बन्धी ऐनहरु रोयल्टी बाँडफाँटको सन्दर्भमा केही मात्रामा आकर्षित हुन्छन् ।

विवादको अन्त्य

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष जुद्धबहादुर गुरुङ नेपालको संविधानअनुसार प्राकृतिक स्रोतहरूमाथि स्थानीय, प्रदेश, र सङ्घीय सरकारले आ–आफ्नो अधिकार प्रयोग गर्न सक्ने भए पनि  रोयल्टी सङ्कलन र बाँडफाँटका विषयमा स्पष्ट कानुनी प्रावधान तथा बुझाइको अभावले तीन तहबीच द्वन्द्व बढाइरहेको स्वीकार्छन् । सङ्घीय सरकारले ठूलो आयोजना तथा राष्ट्रिय स्रोतहरूबाट रोयल्टी सङ्कलन गर्ने व्यवस्था गरेको छ । स्थानीय तह र प्रदेश सरकार भने  उक्त प्राकृतिक स्रोत प्रयोग गरे वापत वातावरणीय प्रभाव पर्ने भन्दै त्यसको भुक्तानी दिनुपर्ने आवाज उठाइरहेका छन् ।


हालको संरचनामा सङ्घलाई ५० प्रतिशत, प्रदेश र स्थानीय सरकारलाई २५–२५ प्रतिशत र प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूले स्थानीय तहलाई कम्तीमा ५० प्रतिशत रोयल्टीको माग गरिरहेका छन् ।
वागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयका सचिव डा केदार बराल पनि जनताको नजिकको सरकारले बढी कर पाउनुपर्नेमा सहमत छन् । अहिलेको रोयल्टीको प्रावधानको आत्मसमीक्षा गर्न जरुरी रहेको बताउदै उनले भने, “राष्ट्रिय वन व्यवस्थापन गर्ने एकल अधिकार सूचीमा प्रदेश सरकारलाई राखिएको छ । तर राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले राजश्व बाँडफाँटको तरिकामा ५० प्रतिशत सङ्घलाई, २५ प्रतिशत प्रदेशलाई र २५ प्रतिशत स्थानीय तहलाई हुने व्यवस्था छ । यो न्यायोचित नै छैन ।” 


वन व्यवस्थापन गर्ने एकल अधिकारको सूची प्रदेशको छ भने राजस्वको ठूलो हिंसा प्रदेशले पाउनुपर्ने उनको तर्क छ । तर राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गत फागुनमा रोयल्टी बाँडफाँटको सीमा परिमार्जन गरेर प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी नेपाल सरकार (सङ्घ), सम्बन्धित प्रदेश र स्थानीय तहमा बाँडफाँट गरिने विद्यमान व्यवस्था परिमार्जनका लागि सरकारलाई सिफारिस गरेको छ ।


वातावरण कानुनका विज्ञ प्रकाशमणि शर्मा सङ्घीयतामा तीन तहको सरकारबीच प्राकृतिक स्रोतलाई आयआर्जनको रुपमा मात्रै लिएर द्वन्द्व बढेको र यसले वातावरणीय अपराध पनि बढाएको बताउँछन् । “प्राकृतिक सम्पदालाई अर्थापार्जन गर्ने स्रोतको रुपमा मात्रै हेरिएको छ । प्राकृतिक महत्व, पर्यावरण सुरक्षाको रुपमा हेरिएको छैन । खोलाका ढुङ्गा, गिट्टी र डाडाँहरुलाई आर्थिक स्रोतको रुपमा मात्रै हेरिन्छ र बजेटमा नै वैदेशिक घाटा घटाउन चुरेका ढुङ्गा गिटट्ी बेच्ने कुरा आउँछ” उनी भन्छन्, “ललितपुरको गोदावारीमा ढुङ्गा, गिट्टी निकाल्दा पहिरो जस्ता मानव सिर्जित प्राकृतिक विपद्को सामना गर्नुपर्यो । त्यसैले यस्ता वातावरणीय अपराध रोकेर पर्यावरणमैत्री विकासमा लाग्नुपर्छ ।”

विश्वका कूल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा

भीष्मराज ओझा, काठमाडौँ ।विश्वकै दुर्लभ अवस्थामा मानिएको हिउँचितुवाको नयाँ तथ्याङ्क सार्वजनिक गरिएको छ । अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) का अनुसार नेपालमा हिउँचितुवाको सङ्ख्या तीन सय ९७ भएको पाइएको छ ।

विश्वको कूल दुई प्रतिशत हिउँचितुवाको बासस्थान रहेको नेपालमा १० प्रतिशत हिउँचितुवा भेटिएका आइयूसिएनको भनाइ छ । नेपालका उच्च हिमाली क्षेत्रको ३० हजार पाँच सय वर्गकिमी क्षेत्रफलमा यसको बासस्थान रहेको छ ।

अमेरिकामा रहेको ‘स्नो लियोपार्ड ट्रष्ट’ का अनुसार हाल विश्वको २० लाख किलोमिटर क्षेत्रमा तीन हजार २० देखि पाँच हजार तीन सय ९० को सङ्ख्यामा हिउँचितुवा रहेको अनुमान छ । हिउँचितुवा बढी जसो नेपाल, चीन, अफगानिस्तान, भुटान, चीन, काजकिस्तान, कीर्गीस्तान, भारत, मङ्गोेलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानलगायतका १२ वटा मुलुकमा पाइन्छन् ।

पछिल्लो समयमा नेपालसँगै भारत, मङ्गोलिया र भुटानले प्रविधि, अनुसन्धान र तथ्याङ्क विश्लेषण गरी हिउँचितुवाको नयाँ र आधिकारिक तथ्याङ्क सार्वजनिक गर्दै आएका छन् ।

तथ्याङ्कअनुसार चीनमा कम्तीमा दुई हजारदेखि दुई हजार पाँच सय, मङ्गोलियामा नौ सय ५३, भारतमा सात सय १८, नेपालमा तीन सय ९७ र भुटानमा एक सय ३४ हिउँचितुवा रहेको विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालका पर्वतीय कार्यक्रम प्रबन्धक सरिन श्रेष्ठले जानकारी दिए ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भू–संरक्षण विभागको नेतृत्वमा कोषलगायत सङ्घसंस्थाको सहयोगमा विभिन्न तथ्याङ्क र अनुसन्धानको विश्लेषण र मूल्याङ्कन गरी सो तथ्याङ्क निकालिएको उनले बताए ।

यस मूल्याङ्कनमा २०१५ देखि २०२४ सम्म सरकार, संरक्षण संस्थाहरू र अनुसन्धानकर्ताद्वारा नेतृत्व गरिएका विभिन्न अध्ययनबाट तथ्याङ्क निकालिएको हिउँचितुवा विज्ञ शशाङ्क पौडेलले जानकारी दिए। यो तथ्याङ्क क्यामेरा ट्रयाप र दिशाको नमूनाहरूको आनुवंशिक विश्लेषणलगायत अत्याधुनिक प्रविधि प्रयोग गरी विभिन्न सात अध्ययन क्षेत्रहरूबाट हिउँचितुवाको वितरण र जनसङ्ख्या घनत्वको तथ्याङ्क प्रयोग गरिएको उनले बताए ।

यस मूल्याङ्कन उपलब्धिले हिउँचितुवा र तिनीहरूको संवेदनशील पर्वतीय पारिस्थितिक प्रणालीको सुरक्षा गर्न मुलुकको प्रतिबद्धतालाई जोड दिन्छ ।

यो मूल्याङ्कन निकुञ्ज विभागका वरिष्ठ पारिस्थितिकीय विद्को नेतृत्वमा रहेको प्राविधिक टोलीद्वारा ग्लोबल स्नो लियोपार्ड एण्ड इकोसिस्टम प्रोटेक्सन प्रोग्रामको ‘पपुलेसन एसेसमेन्ट अफ द वर्ल्डस् स्नो लियोपाड्र्स’ निर्देशिकाअनुसार सञ्चालन गरिएको थियो । जसमा कोषलगायत व्यक्तिगत अनुसन्धानकर्ताहरू र संरक्षण संस्थाहरू सहभागी थिए ।

बासस्थान अतिक्रमणको चुनौती

विश्वका १२ देशमा मात्र पाइने हिउँचितुवा स्वच्छ हिमाली पर्यावरणको सूचक मानिन्छ । हिउँचितुवाको बासस्थानमध्ये झण्डै ६० प्रतिशत क्षेत्र निकुञ्ज बाहिर रहेको र त्यस्तो बासस्थान खण्डिकरण हुँदै गएकाले यसमा चुनौती थपिएको छ । साथै द्वन्द्वका कारण बद्लावको भावनाले केही व्यक्तिले पासो थाप्ने, आहारमा विष मिसाउने, भौगोलिक कठिनाइ, उचित प्रविधि, जनशक्ति र बजेटको कमीका कारण प्रभावकारी अनुगमन गर्न नसक्नुलगायत चुनौती छन् ।

हिउँचितुवा सामान्यतया समुद्री सतहबाट पाँच सय ४० देखि पाँच हजार मिटर उचाइमा पाइन्छन् । हिउँचितुवालाई आइयुसिएनले ‘रेड लिस्ट’ विश्वव्यापी जोखिमको रूपमा सूचीबद्ध गरेको छ । बिरालो प्रजातिको हिउँचितुवाले आफ्नो लामो पुच्छरले शरीरलाई सन्तुलन गर्छ । तथ्याङ्कअनुसार नेपालको पूर्वको तुलनामा पश्चिममा बढी सङ्ख्यामा हिउँचितुवा छन् त्यसमध्ये डोल्पा क्षेत्रमा हिउँचितुवाको सङ्ख्या ९० रहेको छ ।

डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले हिउँचितुवाको पछिल्लो तथ्याङ्क नेपालको संरक्षण यात्रामा एक ऐतिहासिक कदम भएको उल्लेख गर्दै यस तथ्याङ्कले हिउँचितुवाको सङ्ख्याको स्पष्ट चित्र मात्र नभइ भविष्यका संरक्षण रणनीतिलाई सूचीत गर्ने बताए।

साथै उनले यो नतिजाले सहभागीमूलक संरक्षणका लागि आधारको रूपमा काम गर्ने बताउँदै मूल्याङ्कनका निष्कर्षहरूले हिउँचितुवा पाइने क्षेत्रहरूमा तिनको दीर्घकालीन अस्तित्व सुनिश्चित गर्न परिष्कृत सुरक्षा उपायहरूको आवश्यकता पर्ने संरक्षण प्राथमिकताको उजागर गरेको अवगत गराए।

संरक्षणका लागि छ वर्षे कार्ययोजना

वन मन्त्रालयले हिउँचितुवाको संरक्षणलाई प्राथमिकतामा राखेर ‘हिउँचितुवा संरक्षण र कार्ययोजना (२०२४–२०३०)’ तयार गरी कार्यान्वयनमा ल्याएको छ । कार्ययोजनाले संरक्षण प्रयासलाई मार्गदर्शन गर्न विभिन्न रणनीतिक लक्ष्य र उद्देश्य राखेको छ ।

कार्ययोजनामा हिउँचितुवाको संरक्षणका लागि बासस्थान र करिडोर सुधार गर्ने, समुदायको संलग्नतामार्फत मानव–हिउँचितुवा द्वन्द्व कम गर्ने, प्रभावकारी कानुन कार्यान्वयनमार्फत चोरी सिकारी नियन्त्रण गर्ने र सीमापार, क्षेत्रीय, अन्तरराष्ट्रिय सहयोग र समर्थनलाई बलियो बनाउने लक्ष्य राखिएका छन् ।

छ वर्षसम्म यो कार्ययोजना कार्यान्वयन गर्न रु एक अर्ब ७७ करोड ९७ लाख खर्च गर्ने अनुमान गरिएको छ । योजनामा मानव–हिउँचितुवा द्वन्द्वलाई कम गर्न समुदायको सहभागितामार्फत करिब ३५ प्रतिशत र वन्यजन्तु अपराध व्यवस्थापनका लागि करिब २६ प्रतिशत बजेट अनुमान गरेको छ । यद्यपि सबै रणनीतिमा, स्थानीय समुदाय र उनीहरूको नेतृत्वलाई साझेदारी, क्षमता निर्माण र संलग्न गर्न लगानी गरिने कार्ययोजनामा उल्लेख छ ।

हिउँचितुवा ठूला बिराला प्रजातिहरूमध्ये सबैभन्दा कम अध्ययन गरिएको क्षेत्रमध्ये पर्दछ । विश्व वन्यजन्तु कोषको सन् २०२१ को एक प्रकाशनअनुसार उक्त समयसम्म हिउँचितुवाको विश्वव्यापी क्षेत्रको लगभग २३ प्रतिशत मात्र व्यवस्थित रूपमा अध्ययन गरिएको छ । तीन प्रतिशतभन्दा कममा मात्र सङ्ख्यासम्बन्धी अनुभवजन्य तथ्याङ्क उपलब्ध छन् ।

यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ०१ पैसा र बिक्रीदर १३६ रूपैयाँ ६१ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५६ रूपैयाँ २३ पैसा र बिक्रीदर १५६ रूपैयाँ ९२ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रूपैयाँ ९१ पैसा र बिक्रीदर १८२ रूपैयाँ ७२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६७ रूपैयाँ ५८ पैसा र बिक्रीदर १६८ रूपैयाँ ३२ पैसा कायम गरिएको जनाएको छ ।

यस्तै,अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ०५ पैसा र बिक्रीदर ८७ रूपैयाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ३१ पैसा र बिक्रीदर ९८ रूपैयाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ र बिक्रीदर १०४ रूपैयाँ ४६ पैसा निर्धारण गरिएको छ ।

त्यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ ७० पैसा र बिक्रीदर नौ रूपैयाँ ७४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६० पैसा र बिक्रीदर १८ रूपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ २६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ३१ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४७ पैसा तोकिएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०९ पैसा र बिक्रीदर चार रूपैयाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ०३ पैसा र बिक्रीदर ३७ रूपैयाँ १९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ९७ पैसा र बिक्रीदर ३१ रूपैयाँ ११ पैसा निर्धारण भएको छ ।

यसैगरी, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ५४ पैसा र बिक्रीदर नौ रूपैयाँ ५९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ २८ पैसा र बिक्रीदर १४ रूपैयाँ ३५ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ९३ पैसा र बिक्रीदर २१ रूपैयाँ ०२ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ५३ पैसा र बिक्रीदर १७ रूपैयाँ ६१ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ ८६ पैसा र बिक्रीदर ४४६ रूपैयाँ ८२ पैसा, बहराइन दिनार एकको खरिददर ३६० रूपैयाँ ८९ पैसा र बिक्रीदर ३६२ रूपैयाँ ४८ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रूपैयाँ २३ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ७९ पैसा रहेको छ । यस्तै, केन्द्रीय बैंकले भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

जम्मु–कश्मीरको पाहलगाममा बन्दुकधारीको आक्रमणमा २४ पर्यटकको मृत्यु

श्रीनगर । भारतको जम्मु–कश्मीरस्थित पाहलगाममा मङ्गलबार पर्यटकमाथि बन्दुकधारीहरूले गरेको आक्रमणमा कम्तीमा २४ जनाको ज्यान गएको छ भन्ने जानकारी एक वरिष्ठ प्रहरी अधिकारीले एएफपीलाई दिएका छन् । यो आक्रमण विगत केही वर्षयताकै सबैभन्दा ठुलो नागरिकमाथिको आक्रमण भएको अधिकारीहरुले बताएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले यस ‘क्रूर घटनाको’ निन्दा गर्दै दोषीहरुलाई कडा कारवाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

एक स्थानीय टुर गाइड वाहिदले एएफपीलाई भने, “गोली चलिरहेको आवाज सुनेपछि म घटनास्थलतिर दौडिएँ र घाइतेहरुमध्ये केहीलाई घोडामा बोकेर अस्पताल पु¥याएँ। मैले त्यहाँ केही मानिसहरू भुइँमा लडिरहेका देखें, जस्ताको त्यस्तै मृत देखिन्थे ।”

पाहलगाम श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ, जुन पर्यटकहरूबीच लोकप्रिय गन्तव्यस्थल हो ।
प्रहरी स्रोत अनुसार अहिलेसम्म २४ जनाको मृत्यु पुष्टि भइसकेको छ, तर यो संख्या अझै बढ्न सक्ने बताइएको छ ।

हालसम्म कुनै समूहले आक्रमणको जिम्मा लिएको छैन । तर, कश्मीर क्षेत्रमा सन् १९८९ देखि चलिरहेको विद्रोहमा लडाकुहरू भारतबाट स्वतन्त्रता वा पाकिस्तानसँगको मिलनको पक्षमा छन् ।

प्रधानमन्त्री मोदीले केही दिनअघि अमेरिकाका उपराष्ट्रपति जे.डी. भान्ससँग भेट गरेका थिए, जुन सन्दर्भमा यो आक्रमण भएको हो । मुख्यमन्त्री उमर अब्दुल्लाहले यो आक्रमण विगत वर्षहरूमा नागरिकमाथि भएको सबैभन्दा ठुलो घटना भएको बताएका छन् ।

गृहमन्त्री अमित शाह घटनास्थलतर्फ गएका छन् । साथै, उनले दोषीलाई कडा सजाय दिने चेतावनी दिएका छन् ।

अनन्तनागस्थित अस्पतालमा केही घाइतेहरू पुर्याइएको छ, जसमा दुई जनालाई गोली लागेको र एक जनाको घाँटीमा गोली लागेको उल्लेख गरिएको छ ।

विपक्षी नेता राहुल गान्धीले यो घटनालाई ‘हृदयविदारक’ भन्दै संघीय सरकारले उत्तरदायित्व लिनुपर्ने माग गरेका छन् ।

सरकारले पछिल्ला वर्षहरूमा कश्मीरलाई पर्यटन केन्द्रको रूपमा प्रवद्र्धन गर्दै आएको छ । सन् २०२४ मा झन्डै ३५ लाख पर्यटकहरूले कश्मीर भ्रमण गरेका थिए ।

भारतले पाकिस्तानमाथि यस्ता आक्रमणमा सहयोग पुर्याएको आरोप लगाउने गरेको छ भने पाकिस्तानले कश्मीरको आत्मनिर्णयको अधिकारको समर्थन मात्र गर्ने बताउँदै आएको छ ।

यो भन्दा पहिले सन् २०१९ मा पुलवामामा भएको आक्रमणमा ४० सुरक्षाकर्मीको मृत्यु भएको थियो। सन् २००० मा भएको आक्रमणमा ३६ भारतीय नागरिकको ज्यान गएको थियो ।

कक्षा १२ को परीक्षा स्थगित, वैशाख २१ गतेदेखि सञ्चालन हुने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । बैशाख ११ देखि सुरु हुने परीक्षा शिक्षक आन्दोलनका कारण स्थगित भएको हो ।

मंगलबार बिहान बसेको बोर्डको बैठकले परीक्षा निर्धारित मितिमै गर्ने निर्णय गरेको थियो । तर साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले बोर्डका पदाधिकारीलाई बोलाएर परीक्षा सार्न निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको निर्देशनसँग बोर्डका अध्यक्ष महाश्रम शर्माले अर्को सूचना जारी नभएसम्मका लागि कक्षा १२ को परीक्षा स्थगित गरिएको जानकारी दिए । उनले अब कक्षा १२ को परीक्षा वैशाख २१ गतेबाट हुने जानकारी दिए ।

कक्षा १२ को परीक्षा केही दिन सार्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन् ।

मंगलबार साँझ बालुवाटारमा आफूलाई भेट्न आएका बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केहीदिन परीक्षा सार्न निर्देशन दिएका हुन् ।

यसअघि बिहान सबेको परीक्षा बोर्डको बैठकले वैशाख ११ गते नै परीक्षा गर्ने निर्णय गरेको थियो । बोर्डले निजामती कर्मचारीको साथ लिएर परीक्षा गर्ने बताएको थियो । तर शिक्षक महासंघले परीक्षाका कुनै प्रक्रियामा सहभागी नहुने निर्णय गरिसकेको छ ।

स्वर्ण पदक विजेता नेपाली सेनाको टोलीलाई सम्मान

काठमाडौँ । पाकिस्तानमा सम्पन्न ‘आठौँ अन्तर्राष्ट्रिय पाकिस्तान आर्मी टिम स्परिट’ मा नेपाली सेनाको स्वर्ण पदक विजेता टोलीलाई सम्मान गरिएको छ ।

प्रधानसेनापति महारथी अशोकराज सिग्देलले मंगलबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमबीच ‘प्रधानसेनापति प्रशंसा निशान’ द्वारा सुशोभित गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

अन्तर्राष्ट्रियस्तरको सैन्य अभ्यासमा उत्कृष्ट नतिजा ल्याई नेपाल र नेपाली सेनाको छवि एवं गौरव बढाउन पुर्याएको योगदानको उच्च मूल्याङ्कनस्वरूप प्रतियोगितामा सहभागी ११ जनालाई सम्मान गरिएको हो ।

उक्त सैन्य अभ्यास गत चैत २८ गतेदेखि यही वैशाख ५ गतेसम्म पाकिस्तानको पञ्जाब प्रान्तको खेरियान इलाकामा १६ राष्ट्रका २४ वटा अन्तर्राष्ट्रिय टोलीहरूको सहभागिता रहेको थियो ।

सैन्य अभ्यासमा सहभागी टोलीहरूबीच शारीरिक सहिष्णुता, मानसिक दृढता, पेसागत ज्ञान र रणकौशललगायत दक्षताहरूको परीक्षण गरिएको थियो ।

सन् २०१६ देखि वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रियस्तरको यस प्रतियोगितामा नेपाली सेनाले यस अघि सन् २०२२ मा समेत सहभागी भई स्वर्ण पदक प्राप्त गरेको थियो । सम्मान कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, अधिकृत, पदिक तथा अन्य दर्जाको उपस्थिति रहेको थियो ।

ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन

काठमाडौं ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरले अरुण तेस्रो जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गरेका छन्।

दुईदिने भ्रमणका क्रममा आज नेपाल आएका खट्टरले भारतीय लगानीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस र बाँध क्षेत्रको स्थलगत अवलोकन गरेका हुन्। सोही अवसरमा उनीहरूले आयोजनाको ‘युनिट-२’ को संयुक्त रूपमा उद्घाटन गर्नाका साथै वृक्षरोपण गरे।

अवलोकनका क्रममा मन्त्रीद्वयले हालसम्मको आयोजनाको प्रगति र आयोजना निर्माणका क्रममा देखिएका समस्याका बारेमा ठेकेदार कम्पनीसँग जानकारी लिएका थिए।

ऊर्जामन्त्री खड्काले नेपालको ऊर्जा क्षेत्रको विकासमा भारत सरकारले गरेको सहयोगप्रति धन्यवाद दिए। ‘अरुण तेस्रो देशकै महत्वपूर्ण जलविद्युत् आयोेजना भएकाले सरकारले यसलाई उच्च प्राथमिकता दिएको छ, सरकारले कुनै कमी हुन दिँदैन,’ मन्त्री खड्काले भने।

भारतका विद्युतमन्त्री खट्टरले नेपाल जलविद्युतको क्षेत्रमा अपार सम्भावना भएको मुलुक भएकाले ऊर्जा क्षेत्रबाटै समृद्धि हासिल गर्न सकिने बताए। उनले अरुण तेस्रो जलविद्युत् आयोजना चाँडो सम्पन्न गर्न सके दुवै देशलाई फाइदा हुने भएकाले समयमै सक्नुपर्नेमा जोड दिए। भारत सरकार नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न तयार रहेको उनको भनाइ थियो।

सङ्खुवासभाको मकालु र चिचिला गाउँपालिकाको सिमानामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजना ९०० मेगावाट क्षमताको छ। उक्त आयोजना विसं २०७५ वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा शिलान्यास गरेका थिए।

एक खर्ब चार अर्ब रूपैयाँ लागतमा निर्माण सम्पन्न हुने उक्त आयोजना निर्माणको ठेक्का भारतीय सतलज हाइड्रोपावर कम्पनीले लिएको छ। 

कक्षा १२ को परीक्षा बहिष्कार गर्ने शिक्षक महासंघको निर्णय

काठमाडौं । नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा बहिष्कार गर्ने निर्णय गरेको छ । महासंघले यही वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा कर्मचारी खटाएर भए पनि गराउने निर्णय सरकारले गरेपछि शिक्षक महासंघले बहिष्कारको निर्णय गरेको हो ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने सरकारले परीक्षा सञ्चालन गरे पनि शिक्षक–प्रधानाध्यापक सहभागी नहुने बताए । राष्ट्रिय परीक्षा बोर्डले भने कर्मचारी खटाएर भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय मंगलबार गरिसकेको छ ।

स्वास्थ्यमन्त्रीले स्वास्थ्य ठीक भएन भनेर राजीनामा दिनुभएको हो, यसमा अन्य प्रचारबाजी गर्नुको कुनै अर्थ छैनः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफूसँग असहमति नभई स्वास्थ्यका कारण राजीनामा दिएको स्पष्ट पारेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मन्त्री भट्टराईको राजीनामालाई प्रधानन्त्रीको असहयोग र उपेक्षाका कारण भनेर बाहिर चर्चा गरिएका असन्तुष्टिबारे उल्लेख गर्दै भने, ‘उहाँ मैले बनाएको मन्त्री हो । मैले काम लगाइरहेको छु । सहयोग गरिरहेको छु । सिकाइराखेको छु । ठूलो मन्त्रालय छ, अहिले स्वास्थ्य ठीक भएन भनेर राजीनामा दिनुभएको हो । यसमा अन्य प्रचारबाजी गर्नुको कुनै अर्थ छैन ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि बैङ्कक गएको सन्दर्भलाई पनि सरकार ढल्छ भन्ने खालका हल्लासँग जोड्न खोजिएको टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले एमाले र कांग्रेससँगको सहमतिबमोजिम १५ महिनापछि आफूले सभापति देउवालाई प्रधानमन्त्री हस्तान्तरण गर्ने बताए ।

गभर्नर सिफारिस समितिबाट भट्टराईले दिए राजीनामा

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिबाट पूर्वगभर्नर डा. विजयनाथ भट्टराईले राजीनामा दिएका छन् ।

उनले मंगलबार अर्थमन्त्री विष्णु पौडेलसमक्ष राजीनामा पेश गरेका हुन् । अर्थमन्त्री पौडेलले एकपटक पनि बैठक नबोलाएको भन्दै असन्तुष्टि जनाउँदै भट्टराईले राजीनामा दिएका हुन् ।

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति सिफारिसका लागि सरकारले चैत ११ गते तीन सदस्यीय समिति गठन गरेको थियो ।

अर्थमन्त्री पौडेलको संयोजकत्वमा अर्थविद् विश्व पौडेल र पूर्वगभर्नर विजयनाथ भट्टराई सदस्य रहेका थिए । समितिले नयाँ गभर्नरको नाम सरकारलाई सिफारिस गर्नुपर्ने व्यवस्था छ ।

समितिले एक जना डेपुटी गभर्नरलाई राखेर तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्ने र ती नाममध्येबाट सरकारले एक जनालाई गभर्नर नियुक्त गर्ने कानुनी व्यवस्था छ ।

सत्तारुढ दुई दल नेकपा एमाले र नेपाली कांग्रेसबीच गभर्नरका विषयमा सहमति जुटिसकेको भए पनि समितिले नाम सिफारिस गरेको छैन भने त्यसअघि नै सर्वोच्च अदालतमा मुद्दा परेको छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउन लागिएको भन्दै सर्वोच्च अदालतमा पुरक निवेदन परेपछि गभर्नर नियुक्ति विवादित बनेको छ ।

तरकारी खेतीबाट आत्मनिर्भर मीना

गोरखा  । गोरखाको गोरखा नगरपालिका-७ डण्डीडाँडाकी ४३ वर्षीया मीना कोइराला प्रायः खेतबारीमै भेटिन्छिन्। उनले कोइरालाटोलमा सात रोपनी जग्गा भाडामा लिएर विगत ११ वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएकी छिन्।

मौसमी तरकारीसँगै प्याजको बेर्ना बिक्री गरी वार्षिक एक लाख रूपैयाँभन्दा बढी आम्दानी लिने गरेको कोइराला बताउँछिन्। ‘११ वर्षअघि पाखो बारी भाडामा लिएर तरकारीखेती सुरु गरेकी हुँ। अहिले पनि वार्षिक १० हजार भाडा तिर्छु’, उनले भनिन्।

तरकारीखेतीमा सिँचाइ अभाव र बाँदरले सताउने गरे पनि आफ्नो कर्म नछाडेको उनी बताउँछिन्। मीनाको श्रीमान् दुबईमा वैदेशिक रोजगारीमा छन्। जेठी छोरी पनि दुबईमै नर्सिङ पेसामा छन्।

‘कान्छी छोरी काठमाडौं डेन्टल पढ्छे। छोरो यो वर्ष कक्षा ९ मा पुग्यो’, उनले भनिन्, ‘मेरो कमाइले छोरा छोरी पढाउन, घरखर्च चलाउन पुग्छ। जे होस् अहिलेसम्म अरूसँग हात फैलाउनु परेको छैन।’

यतिखेर उनको बारीमा अहिले ढकमक्क बन्दागोभी छ। काँक्रो, करेला र खुर्सानी गोड्ने बेला भएको छ। ‘बन्दापछि काँक्रो, करेलालगायत अन्य मौसमी तरकारीहरुको ‘सिजन’ सुरु हुन्छ। त्यसपछि प्याजको बीउ तयार गर्छु’, उनी भन्छिन्, ‘विषादी प्रयोग गर्दिनँ।’

उनका अनुसार ११ वर्षअघि गाउँमा व्यावसायिक तरकारीखेती गर्ने चलन थिएन। जब उनले तरकारी खेती गरेर आम्दानी लिन थालिन्, त्यसपछि अरुले उनकै सिको गरे। उनी महिलाहरुले पनि केही न केही पेसा वा व्यवसाय गरे श्रीमानको कमाइमा निर्भर हुनु नपर्ने बताउँछिन्।

उनले हालसम्म कुनै कृषि फार्म दर्ता गरी सरकारी अनुदान लिएकी छैनन्। उनी भन्छिन्, ‘म आफूले जे जति सक्छु गर्छु। अरूले अनुदान देलान्, साथ, सहयोग गर्लान् भनेर आशा लाग्दैन।’ उनको तरकारी बिक्री गर्ने मुख्य बजार गोरखा सदरमुकाम हो।

व्यापारीहरु तरकारी लिन मीनाको बारीमै पुग्छन्। पहिलेजस्तो बजारको समस्या नभएको उनको अनुभव छ। गोरखा नगरपालिका-७ का वडाअध्यक्ष विष्णुप्रसाद श्रेष्ठले कोइराला जस्ता परिश्रमी महिलालाई प्रोत्साहन गर्ने गरेको बताए।

शेयर बजारमा आठ अर्ब भन्दाबढीको कारोबार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार पनि शेयर बजार नेप्से घटेको छ । मंगलबार नेप्से ९ दशमलव ९६ अङ्कले घटेर २ हजार ६ सय ८८ दशमलव ३२ विन्दुमा झरेको छ ।

आज होटल, उत्पादन र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, लगानी र व्यापार समूहको शेयर डेढ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

आज कर्पाेरेट विकास बैंकको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन नेपाल माइक्रो इन्सुरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । आज ३ सय १९ वटा कम्पनीका २ करोड २५ लाख कित्ता शेयर ८ अर्ब ३२ करोड रुपैयाँमा किनबेच भएको छ ।

मधेश प्रेस काउन्सिलका अध्यक्ष उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । मधेश प्रदेशको प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त कमलकुमार उपाध्यायविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपाध्यायविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । मुद्दा दायर भएसँगै उपाध्याय मधेश प्रेस काउन्सिलको अध्यक्ष पदबाट स्वतः निलम्बन भएका छन् ।

उनले आइतबार नियुक्त भएका उनले सोमबार पद तथा गोपनियताको शपथ लिई कार्यभार ग्रहण गरेका थिए । अख्तियारले बाराको पचरौता नगरपालिकाले सार्वजनिक खरिद ऐनलाई छलेर विज्ञापन प्रकाशित नगरी आर्थिक अनियमिमता गरेकोसम्बन्धमा अनुसन्धान गर्दा उपाध्यायलगायत दोषी देखिएको अख्तियारले जनाएको छ ।

अख्तियारले पचरौता नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव र लेखापाल आसिम मियाँ अन्सारीविरुद्ध पनि मुद्दा दायर गरेको छ । यादव, अन्सारी र उपाध्यायले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कसूर गरेकोले बिगो रकम तीन लाख ५२ हजार ५६० रुप्रयाँ कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिमको जरिवाना सजाय गरी बिगो असुल उपर गर्न अख्तियारले विशेष अदालतसमक्ष माग दावी गरेको छ ।

नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने

काठमाडौँ । नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालबीच आँखा उपचारमा आपसी सहकार्य गर्ने समझदारी भएको छ । आज प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा ती संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रका अनुसार दुवै पक्षबीच जनशक्ति र विशेषज्ञताको आदानप्रदान तथा क्षमता अभिवृद्धि कार्यक्रमहरु अगाडि बढाउन र आँखा स्वास्थ्यका सम्बन्धमा जनचेतना अभिवृद्धि गरी रोकथामका उपायहरू अवलम्बन गर्ने कार्यमा सहकार्य हुनेछ ।

त्यसैगरी नेपाल प्रहरी अस्पताल (प्रादेशिक अस्पतालहरू समेत) बाट रिफर भई आएका बहालवाला प्रहरी कर्मचारीहरुको आँखासम्बन्धी उपचार तथा शल्यक्रियाहरू नेत्रज्योति सङ्घअन्तगर्तका आँखा अस्पतालहरुबाट निःशुल्क गरिनेछ ।

उक्त समझदारीपत्र हस्ताक्षर कार्यक्रममा सङ्घका महासचिव भरतबहादुर चन्दले नेपालबाट अन्धोपन निवारण गर्ने सङ्घको योजनामा दुई संस्थाबीचको सहकार्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । जनताको सेवामा खटिने प्रहरीसँग सहकार्य गर्न पाउँदा गौरवान्वित महसुस भएको बताउँदै उहाँले आगामी दिनमा सेवा विस्तारका लागि सङ्घ सदैव तयार रहेको बताए ।

प्रहरी महानिरीक्षक दिपक थापाले शान्ति सुव्यवस्था कायम गराउन अहोरात्र खटिने प्रहरी कर्मचारीहरूलाई यस समझदारीले थप हौसला मिल्ने उल्लेख गरे । आगामी दिनमा समेत नेपाल प्रहरी र नेपाल नेत्रज्योति सङ्घबिच थप सेवा विस्तारका लागि समन्वय तथा सहकार्य हुने विश्वास उनले व्यक्त गरे ।

समझदारीपत्रमा सङ्घका तर्फबाट महासचिव भरतबहादुर चन्द, कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्र तथा नेपाल प्रहरी अस्पतालका तर्फबाट मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा सुन्दरप्रसाद ह्योजु, आँखारोग विभाग प्रमुख प्राविधिक प्रहरी उपरीक्षक डा ज्योति बाँस्तोला पौडेलले हस्ताक्षर गरेका छन् ।

सन् १९७८ मा स्थापना भएको नेपाल नेत्रज्योति सङ्घले २८ आँखा अस्पताल, २२४ आँखा उपचार केन्द्र, र ४५ जिल्ला शाखामार्फत वार्षिक ३० लाखभन्दा बढी व्यक्तिलाई आँखासम्बन्धी सेवा दिँदै आएको छ । 

शिक्षकहरूलाई आन्दोलन नरोक्न प्रचण्डको आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकारले अब एक दिनपनि नेतृत्वमा बस्ने औचित्य गुमाएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस तथा १५६ औँ लेनिन जयन्तीको अवसरमा मंगलबार आयोजित कार्यक्रमा प्रचण्डले केपी ओली नेतृत्वको सरकारको जन्म नै भ्रष्टाचारीको रक्षा गर्न भएको बताएका हुन् ।

उनले भने, ‘अहिले देशमा राजनीतिक जस्तो स्थिति बनेको छ । त्यस्तै चूनौतिपूर्ण स्थिति बनेको छ । अहिलेको सरकार खासगरी केपी ओली नेतृत्वको जो सरकार छ यसको जन्म नै अप्राकृतिक छ । अलोकतान्त्रिक छ, अपारदर्शी छ । हजारौं शिक्षक सडकमा छन् । ती शिक्षकको समस्या समाधान गर्न गम्भीर हुनुको सट्टा सरकार र त्यसको नेतृत्व गर्ने प्रधानमन्त्री शिक्षकलाई अपमानित गर्ने, गाली गर्ने काम कामबाहेक केही गरेको छैन ।’

उनले सरकारले शिक्षकहरुलाई अपमानित गर्ने काम छोडेर गम्भीररुपमा संवाद गर्न समेत सरकारलाई सुझाव दिए ।

प्रचण्डले शिक्षा ऐन जारी नहुँदासम्म आन्दोलनलाई निरन्तरता दिन शिक्षकहरूलाई आग्रह गरे । उनले भने, ‘शिक्षक साथीहरूलाई धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन पनि अपिल गर्न चाहन्छु। तपाईंहरूले पटक पटक आन्दोलन गर्नुभएको, पटक–पटक सम्झौता गर्नुभएको छ र पटकपटक धोका भएको छ। यो पटक त्यो स्थिति हुन नदिने जिम्मेवारी हामी सबैको छ। शिक्षकहरूको अझै धेरै छ ।’