`

जापानद्वारा  ‘जेडियस’ परियोजनाका लागि नेपाललाई ५७२ मिलियन जापानी येन अनुदान प्रदान

 

काठमाडौँ । जापान सरकारले मानव संशाधन विकास छात्रवृत्ति (जेडिएस) परियोजनाअन्तर्गत नेपाल सरकारलाई नेपाली रुपैयाँ करिब ५३७ मिलियन बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ ।

अर्थ मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा जापान सरकार र नेपाल सरकारबीच विनिमय पत्र र अनुदान सम्झौतपत्रमा हस्ताक्षर भएको हो । जापान सरकारबाट सन् २०२५ का लागि झण्डै ५७२ मिलियन जापानी येन अनुदान प्राप्त भएको हो ।

सो अवसरमा अर्थ सचिव घनश्याम उपाध्याय र जापान सरकारतर्फ नेपालका लागि जापानी राजदूत तोरु मोडाले विनिमय पत्रमा हस्ताक्षर गरे ।

अन्तर्राष्ट्रिय आर्थिक सहयोेग समन्वय महाशाखाका प्रमुख तथा अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मा र जापान अन्तरराष्ट्रिय सहयोग निकाय (जाइका) नेपालका प्रमुख मिजुकी मात्सुजाकीले अनुदान सम्झौतामा हस्ताक्षर गरे ।

सम्झौताअनुसार प्राप्त अनुदान रकम २० जना स्नातकोत्तर तहका विद्यार्थी र दुई जना विद्यावारिधि (पिएचडी) तहका विद्यार्थीका लागि विश्वविद्यालय शुल्क, जीविकोपार्जन खर्च, यात्रा भत्ता, बिमा तथा शैक्षिक सामग्रीमा खर्च गरिने बताइएको छ ।

जापानी मानव संशाधन विकास छात्रवृत्ति कार्यक्रम जापान सरकारको सहयोगमा सन् २०१५ देखि सञ्चालनमा रहेको शैक्षिक पहल हो र यो कार्यक्रम विभिन्न चरणहरुमा कार्यान्वयन हुँदै आएको छ ।

अहिलेसम्म १४२ जना नेपाली निजामती सेवाका कर्मचारी १४० जना स्नातकोत्तर र दुई जना विद्यावारिधि यस छात्रवृत्तिको माध्यमबाट जापानका प्रतिष्ठित शैक्षिक संस्थाबाट अध्ययन पूरा गरिसकेको जापान सरकारले जनाएको छ ।

उक्त हस्ताक्षर सम्झौतामा क्रममा सचिव उपाध्यायले छात्रवृत्ति कार्यक्रमले नेपालका निजामती सेवाका कर्मचारीको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको र भविष्यमा पनि पुर्याउने विश्वास व्यक्त गरे ।

उनले जापानमा अध्ययनको क्रममा प्राप्त ज्ञान र सीपले नेपालमा सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन र समग्र सामाजिक आर्थिक विकासमा टेवा पुग्ने बताए ।

राजदूत तोरु मोडाले जिडीएस कार्यक्रमअन्तर्गत अध्ययन पूरा गरेका कर्मचारीले नेपालको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने र दुई देशबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे  ।

त्रिविको उपकुलपतिमा अर्याल नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा दीपक अर्याल नियुक्त भएका छन् । त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार अर्याललाई उपकुलपति नियुक्त गरेका हुन् ।

शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतमा गठित सिफारिस समितिले दीपक अर्याल, खड्ग केसी र प्रा.डा. विनिल अर्यालको नाम सिफारिस गरेको थियो । तीन जनामध्येबाट कुलपति ओलीले अर्याललाई नियुक्त गरेका हुन् ।

अर्याल जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख हुन् । गत चैतमा प्रा.डा. केशरजंग बरालले राजीनामा दिएपछि त्रिविमा उपकुलपति पद रिक्त भएको थियो ।

धनुषामा ससुराको हत्या गरी फरार भएका ज्वाइँ पक्राउ

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा ससुराको हत्या गरी फरार भएका ज्वाइँ पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ कुर्थाका ५५ वर्षीय बेचन महासेठ रहेका छन् ।

महासेठ आफ्नै ससुरा वासुदेव साहमाथि चक्कु प्रहार गरी फरार भएका थिए । महासेठलाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले जनकनन्दनी गाउँपालिकास्थित खजुरी रेल्वे स्टेशनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक नरहरी रेग्मीले जानकारी दिए ।

प्रहरीका अनुसार महासेठले असार १८ गते पारिवारिक विवादका कारण रिसइबीमा आफ्नै ससुराको पेटमा चक्कु प्रहार गरी हत्या गरेका थिए ।

प्रहरी अनुसन्धानका क्रममा घटनास्थलमा प्रयोग गरिएको स्टिलको चक्कु र अभियुक्तले प्रयोग गरेको मधेश प्रदेश ०२–००७ प. ९९३२ नम्बरको रातो–कालो रंगको होन्डा स्कुटर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मृतक बासुदेव जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहका काका हुन् । महासेठमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

पाँच अफ्रिकी मुलुकका राष्ट्रपतिले अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेटवार्ता गर्ने

सिनेगल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसमा आयोजना हुने दिवाभोजमा पाँच अफ्रिकी नेतालाई स्वागत गर्ने भएका छन् ।

एटलान्टिक किनारामा अवस्थित अफ्रिकाका सेनेगल, लाइबेरिया, गिनी–बिसाउ, मौरिटानिया र ग्याबोनका राष्ट्रपतिले ट्रम्पको आग्रहमा बैठक गर्न लागेका हुन् ।

अधिकारीहरूले एएफपीलाई बताएअनुसार अमेरिकी राष्ट्रपति भवनमा हसने भेटमा उनीहरूबीच व्यापार, लगानी र सुरक्षालगायत अन्य विषयमा वार्ता हुने अपेक्षा गरिएको छ । भेटका लागि ह्वाइट हाउसको रूचीबारे केही ठोस विवरण बाहिर आएका छैनन् ।

ट्रम्प प्रशासनले कर र व्यापार सम्झौतामा ध्यान केन्द्रित गरिरहेको र महत्वपूर्ण खनिजहरूको स्थिर आपूर्ति सुनिश्चित गर्न खोजिरहेको बेला यो बैठक हुन लागेको हो ।

यद्यपि, यी पाँच राष्ट्रमा प्रजातान्त्रिक गणतन्त्र कङ्गोजस्ता अन्य अफ्रिकी मुलुकहरूमा जस्तो अत्यधिक खनिज सम्पदा भने छैन ।
ट्रम्प प्रशासनले अमेरिकी वैदेशिक सहायता एजेन्सी युएसएआईडीको औपचारिक बन्दको औपचारिक थालनी भएको केही दिनपछि यो भेला हुने भएको हो ।

एएफपीसँग कुरा गर्ने पाँच देशका अधिकारीहरू ह्वाइट हाउसको रूचीबारे जानकारजस्तो देखिन्थे । लाइबेरियाका राष्ट्रपति जोसेफ बोकाईका प्रेस सचिव कुला फोफानाका अनुसार लाइबेरियाका राष्ट्रपति जोसेफ बोकाईले निमन्त्रणा स्वीकार गरेको र यस्ता भेट राष्ट्रको हितमा लगानी गर्न चाहने जोकोहीसँग पनि गर्न सकिने बताए ।

उनले भने, ‘हाम्रो चासो लगानी गर्ने व्यापार र संलग्नता साझेदारहरूलाई महत्व दिने हो ।’ भेटबारे गाबोनी राष्ट्रपतिका प्रवक्ता थियोफेन बियोगेले भने, ‘यो बैठकले ‘हाम्रो अर्थतन्त्रको औद्योगीकरणमा केन्द्रित’ सहकार्यको अवसर प्रदान गर्नेछ ।’

टेक्सास बाढीमा १६० जनाभन्दा बढी बेपत्ता

हन्ट । टेक्सासमा विनाशकारी बाढीपछि एक सय ६० भन्दा बढी मानिस बेपत्ता भएको राज्यका गभर्नरले बताएका छन् । अहिलेसम्म एक सय नौ जनाको ज्यान लिएको यो त्रासदीबाट बेपत्ता हुनेहरूको सङ्ख्यामा नाटकीय वृद्धि भएको छ ।

टेक्सासका केही काउन्टीमा अचानक बाढी आएको चार दिनपछि बाँचेका व्यक्तिहरू भेट्ने आशा मिसिएको थियो र गभर्नर ग्रेग एबटले बेपत्ताहरूको सूची अझै बढ्न सक्ने चेतावनी दिएका छन् ।

‘केर काउन्टी क्षेत्रमा मात्रै एक सय ६१ जना बेपत्ता भएको थाहा छ’, उनले गम्भीर खोजी जारी रहँदा पत्रकारहरूलाई भने, ‘त्यो सूचीमा अझ धेरै थप्न सकिने सम्भावना छ ।’

उनले यो आँकडा साथीहरू, आफन्तहरू र छिमेकीहरूले बेपत्ताका रूपमा रिपोर्ट गरेका व्यक्तिहरूमा आधारित रहेको बताए ।

मध्य टेक्सास क्षेत्रको ‘फ्ल्यास फ्लड एली’ भनेर चिनिने केर काउन्टीमा सबैभन्दा धेरै क्षति भएको छ । यहाँ कम्तीमा ९४ जनाको मृत्यु भएको छ ।

यसमा कम्तीमा २७ केटी र सल्लाहकारहरू समावेश छन् । शुक्रबार बिहान सबेरै जुलाई चौथो बिदाको सुरुआत हुँदा नदीमा बाढी आउँदा उनीहरू गुआडालुपे नदीमा युवा समर क्याम्पमा बसिरहेका थिए ।

सयौँ मानिस सुतिरहेका बेला क्याबिनहरूलाई बगाएको थियो र पानीको धाराले क्याम्पलाई बगाएको थियो । एबटका अनुसार मङ्गलबार साँझसम्म पाँच जना क्याम्पर र एक सल्लाहकार अझै बेपत्ता छन् । साथै क्याम्पसँग सम्बन्धित नभएको अर्को बच्चा पनि बेपत्ता भएका छन् ।

‘हाम्रो हृदय र दिमागमा यस समुदायका मानिसहरू, विशेष गरी अझै हराएका मानिसहरूभन्दा महत्त्वपूर्ण अरू केही छैन’, एबटले भने ।

राज्यका अन्य ठाउँमा अहिलेसम्म कम्तीमा १५ जनाको मृत्यु भएको रेकर्ड गरिएको छ । टेक्सास गेम वार्डन्सका बेन बेकरले पानी र माटोका कारण हेलिकप्टर, ड्रोन र कुकुरहरू सम्मिलित खोजी र उद्धार प्रयासहरू अत्यन्त कठिन भएको बताए ।

‘जब हामी यी उद्धार गर्ने प्रयास गरिरहेका हुन्छौँ, यी ठूला थुप्रोहरू धेरै अवरोधकारी हुन सक्छन्, र यी थुप्रोहरूमा गहिरो प्रवेश गर्न, यो धेरै खतरनाक हुन्छ’, बेकरले भने, ‘यो अत्यन्त विश्वासघाती, समय खपत गर्ने हो । यो फोहोर काम हो, पानी अझै छ ।’

अमेरिकी राष्ट्रिय मौसम सेवा (एनडब्लुएस) ले छिमेकी राज्य न्यु मेक्सिकोको अल्बुकर्कबाट एक सय ८४ माइल (दुई सय ९६ किलोमिटर) दक्षिणमा रहेको सानो सहर रुइडोसोमा आकस्मिक बाढी आपतकाल घोषणा गरेको छ ।

अधिकारीहरूले रिपोर्ट गरे कि धेरै व्यक्ति अचानक आएको बाढीले फसेका छन्, धेरै घरमा क्षति भएको छ । एनडब्लुएसले रियो रुइडोसो २० फिट (छ मिटर) भन्दा बढी उचाइमा पुगेको हुनसक्ने बताएको छ ।

बागमती प्रदेशका विभिन्न अस्पतालमा १६ वटा डायलासिस मेसिन जडान

भक्तपुर । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले भक्तपुर अस्पतालसहित प्रदेशका विभिन्न अस्पतालमा १६ वटा डायलासिस मेसिन (उपकरण) जडान गरेको छ ।

मिर्गौलाका बिरामीलाई डायलासिस सेवा लिन सरकारी अस्पतालमा चाप बढेसँगै एक पटकको रु दुई हजार ५०० तिरेर निजी अस्पतालमा जानुपर्ने बाध्यतालाई कम गर्न मन्त्रालयले मातहतका प्रादेशिक अस्पतालमा डायलासिस मेसिन जडान गरेको प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले जानकारी दिए।

उनका अनुसार मन्त्रालयले भक्तपुर अस्पतालमा पाँच वटा मेसिन ल्याएर जडान गरेको छ । मन्त्रालयले धादिङ अस्पतालमा दुई, सिन्धुली अस्पतालमा दुई, त्रिशूली अस्पतालमा दुई, बकुलहर रत्ननगर अस्पतालमा दुई र हेटौँडा अस्पतालमा तीन वटा डायलासिस मेसिन जडान गरेको मन्त्री थापाले जानकारी दिए।

डायलासिस मेसिन जडानसँगै अस्पतालले मिर्गौलाका बिरामीलाई सहज रूपमा सेवा प्रवाह गर्ने बताउँदै उनले बिरामीले नजिकको अस्पतालबाट सेवा प्राप्त गर्नसक्ने उल्लेख गरे। मन्त्री थापाले प्रादेशिक अस्पतालमा आगामी दिनमा उपकरण थप गर्दै लैजाने जानकारी दिए।

भक्तपुर अस्पतालका कार्यकारी निर्देशन डा सुरेन्द्र भट्टले उपकरण प्राप्त भएसँगै अस्पतालले तत्काल पाँच शय्याको डायलासिस सेवा सुरु गर्ने जानकारी दिए।

प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई पुरस्कार वितरण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुलाई सम्मान र पुरस्कार प्रदान गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा युवा तथा खेककुद मन्त्रालयद्वारा बुधबार आयोजित कार्यक्रममा गत कात्तिक ७ देखि १२ गतेसम्म जापन उसु ताइजी महासङ्घको आयोजनामा जापानमा भएको तेस्रो थाउलो वल्ड कपमा कास्य पदक विजेता विजय सिँजालीलाई नगद ६५ लाख पुरस्कार–प्रमाणपत्र प्रदान गरियो ।

यस्तै गत फागुन २० देखि २५ गतेसम्म इरानमा भएको छैटौँ एसियन कबड्डी च्याम्पियन (महिला) मा कास्य पदक विजेता खेलाडी मनमति विष्टसहितलाई एक लाख ५० हजारका दरले पुरस्कार दिइएको छ ।

यस्तैगत असोज २० देखि २६ गतेसम्म श्रीलङ्का भलिबल सङ्घको आयोजनामा श्रीलङ्कमा भएको काभा यु-२० पुरुष भलिबल च्याम्पियनसिपमा रजत पदक विजेता अर्जुन नेपालीसहितलाई तीन लाखका दरले पुरस्कार दिइएको छ ।

उनीहरुलाई राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को व्ववस्थाबमोजिम यही असार ९ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णयबाट सम्मान तथा नगद पुरस्कार दिइएको हो ।

साथै यही असार ८ देखि २१ गतेसम्म मलेसियामा भएको एसिसी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा सिङ्गापुरलाई हराएर उपाधि जित्न सफल विपिनप्रसाद शर्मासहितको टोलीलाई प्रधानमन्त्री ओलीले बधाई तथा स्वागत गरे ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूहरुले खेल क्षेत्रको विकासका लागि प्राथमिकताका साथ काम गरिरहेको बताउँदै एकै पटक सबैले दक्षता, सीप र सफलता हासिल नगरी क्रमशः सफलता हासिल हुँदै जाने विश्वास व्यक्त गरे ।

‘हामीले सङ्गठितरुपले खेल क्षेत्रलाई अगाडि बढाएको धेरै भएको छैन । अहिले सरकारले खेलको विकासका लागि उच्च ध्यान दिएको छ भने अब खेलाडीहरु व्यवसायिकरुपमा अगाडि बढेका छन् ।’, प्रधानमन्त्री ओलीले भने, ‘म देशको परिचय र प्रतिष्ठालाई माथि उठाउन योगदान दिने खेलाडी, प्रशिक्षकलगायरुलाई धेरै धेरै धन्यवाद र बधाई दिन्छु ।’

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले आगामी आर्थिक वर्षका लागि यस वर्षको भन्दा करिव दोब्बर बजेट विनियोजन गरेको र कीर्तिपुर क्रिकेट मैदान निर्माण सम्पन्न हुन लागेकाले खेल क्षेत्र उत्साहित भएको बताए ।

  

तेह्रथुमका किसान व्यावसायिक रूपमा सिस्नुखेती गर्दै

तेह्रथुम । सङ्घीय राजधानी काठमाडौँका साथै देशका विभिन्न भागमा सञ्चालित तारे होटलमा सिस्नुको माग बढ्न थालेपछि यहाँका किसानले व्यावसायिक रूपमा सिस्नोखेती थालेका छन् ।

लालीगुराँस नगरपालिका-१ स्थित चैते सामुदायिक वनमा सिस्नोको व्यावसायिक खेती थालिएको हो । वन वरपरका निजी जग्गामा पनि सिस्नु रोपिएको छ ।

सामुदायिक वनको तीन सय ६५ हेक्टरमध्ये एक हेक्टरमा सिस्नुका बिरुवा लगाउने योजना समितिको रहेको उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर खड्काले बताए ।

डिभिजन वन कार्यालयमार्फत प्रदेश सरकारको जडीबुटी विकास तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा रु १० लाख मूल्य बराबरको सिस्नु प्रशोधन गर्ने मेसिन अनुदानमा चैते सामुदायिक वनले प्राप्त गरेको छ । आगामी साउनदेखि उक्त मेसिन सञ्चालन गरी सिस्नुको धुलो बजारमा ल्याउने योजना रहेको अध्यक्ष खड्काले बताए ।

“हाल निजी जग्गाको सिस्नु स्थानीय होटल र बजारमा बिक्री भइरहेका छन्, सिस्नु प्रशोधन गर्ने मेसिन ल्याएर धुलो बजारमा पठाउँदा निजी जग्गाको सिस्नुले मात्र माग नधान्ने भएकाले वन क्षेत्रका खाली जग्गामा पनि सिस्नु रोपेका हौँ”, उनले भने । साउनदेखि सिस्नु प्रशोधन गर्ने मेसिन जडान गरी लोकल, पात्ले र अल्लो जातका सिस्नुको धुलो अन्तरराष्ट्रिय बजारमा पुर्याउने योजना उनले सुनाए ।

गुराँसको राजधानी तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रको तीनजुरे लालीगुराँस नगरपालिकामा पर्छ । लालीगुराँस नगरपालिकाको वसन्तपुरमा पर्यटकको चहलपहल भइरहन्छ । होटलमा आउने पर्यटकको रोजाइमा सिस्नु पर्ने गरेको वसन्तपुरस्थित टुटे देउराली हिमगङ्गा गेष्टहाउसका सञ्चालक यशोदा कार्कीले बताए । उनका अनुसार वसन्तपुर बजारका हरेक होटलमा सिस्नुका परिकार पाक्छ ।

स्थानीयले बजारका होटलसम्म सिस्नु पुर्याउँछन् । वसन्तपुर बजार भएर यात्रा गर्ने यात्री र पर्यटकले प्रायः सिस्नु किन्ने गरेका रुपा स्टोरका सञ्चालक रुपा रायले बताए । “वसन्तपुरबाट हरेक दिन कम्तीमा पनि एक गाडी तराईका जिल्लामा पहाडको निगुरो, च्याउ र सिस्नु पठाउने गरेको छु”, उनले भने ।

अस्थायी रुपमा तेह्रथुमा बसोबास गर्दै आएका सङ्खुवासभाको धर्मदेवी गाउँपालिका–१ का ६० वर्षीय रमेश गुरुङ र उहाँकी श्रीमती हर्कमाया दिन बिराएर वसन्तपुरका होटलमा सिस्नु बेच्न ल्याउँछिन् । प्रतिमुठा रु २५ देखि ३० मा सिस्नु बेचेर रु एक हजार ५०० सम्म आम्दानी गरी घर फर्कने गरेको गुरुङ दम्पतीले बताए । निजी जग्गा र जङ्गलमा उम्रिएका सिस्नु टिपेर ल्याउने गरेको उनीहरूले सुनाए ।

लेकको पात्ले सिस्नु स्वादिष्ट हुने भएकाले यसको माग बढेको हो। लालीगुराँस नगरपालिका क्षेत्रमा प्रशस्त सिस्नु उत्पादन हुने भएकाले सामुदायिक वनलाई सिस्नु प्रशोधन मेसिन उपलब्ध गराउन पहल गरेको जिल्ला समन्वय समितिका उपप्रमुख श्री कार्कीले बताए ।

सिस्नुको व्यावसायिक खेती गर्न तथा यसको धुलोको ‘लेबलिङ र प्याकेजिङ’मा ध्यान दिई गुणस्तरीय उत्पादन गरेर अन्तरराष्ट्रिय बजारमा पुर्याउने प्रयास भइरहेको लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुनबाबु माबुहाङले बताए ।

पूर्वप्रधानमन्त्री हसिनाले आन्दोलनमाथि घातक दमनको आदेश दिएको अडियो सार्वजनिक

बीबीसी । बङ्गलादेशमा गतवर्ष विद्यार्थी नेतृत्वको आन्दोलनमाथि भएको प्राणघातक दमन तत्कालीन प्रधानमन्त्री शेख हसिनाको स्वीकृतिमा भएको खुलासा भएको छ।

बीबीसी आइले फेला पारेको एउटा अडियोमा हसिनाले सुरक्षाकर्मीहरूलाई प्रदर्शनकारीहरूमाथि गोली चलाउन निर्देशन दिएको स्पष्ट रूपमा सुनिन्छ ।

गत मार्चमा सार्वजनिक भएको अडियोमा हसिनाले ‘घातक हतियार प्रयोग गर्न’ आदेश दिएको र ‘उनीहरू जहाँ भेटिए पनि गोली चलाउने’ निर्देशन दिएको सुनिन्छ। अहिले सो अडियो बङ्गलादेशमा मानवअधिकारविरुद्धको मुद्दामा हसिनाविरुद्धको प्रमुख प्रमाणका रूपमा प्रयोग हुने भएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार गत वर्षको आन्दोलनमा करिब १,४०० जनाको ज्यान गएको थियो। हसिनाले भारततर्फ पलायन गरेकी छिन् भने उनी र उनको पार्टी अवामी लिगले सबै आरोप अस्वीकार गरेका छन् ।

अवामी लिगका प्रवक्ताले उक्त अडियोले कुनै ‘गैरकानुनी उद्देश्य’ वा ‘अत्यधिक बल प्रयोग’ देखाउँदैन भन्दै आरोपको खण्डन गरेका छन्।

बाढीले बगायो कालुङ्खोला विद्युत् आयोजनाको पावर हाउस र बाँध

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–९ पैयुथन्थापस्थित कालुङ्खोले उपल्लो कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र पावरहाउस बगाएको छ ।

बुधबार बिहानको बाढीले आयोजनाको बाँधसँगै पावरहाउस बगाएको स्थानीय गङ्गा आचार्यले जानकारी दिए । गत वर्ष ३५ लाख खर्चेर निर्माण गरिएको स्टिल पुल पनि बगेको आचार्यले बताए ।

बाढीले केन्द्रीय विद्युत् प्रसारण लाइनको ट्रान्सफर्मरमा पनि क्षति भएको छ । ट्रान्सफर्मरमा क्षति भएपछि स्थानीय विद्युत् पैञ्युथन्थापका एक सय ३० घरमा बिजुली आपूर्ति बन्द भएको छ ।

पैञ्युथन्थापको खरेयाबोटका दुई परिवार बाढीबाट विस्थापित भएका छन् । सात परिवार बाढीपहिरोको जोखिममा रहेका स्थानीय आचार्यले बताए । बाढीबाट खोला किनारमा लगाइएको धानबाली क्षति भएको छ ।

 

अब स्वास्थ्य बीमामार्फत बिरामीले २ लाख बराबरको सुविधा पाउने

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा आबद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले साउन १ गतेबाट ८ प्रकारका बिरामीले पूर्वप्रतिबद्धता अनुसार स्वास्थ्य बीमा कार्यक्रममार्फत २ लाखको उपचार प्राप्त गर्ने व्यवस्था गरेको जानकारी दिएका हुन् ।

उनले भनेका छन्, ‘कडा रोग लागेर स्वास्थ्य उपचारका लागि खर्च जुटाउन नसकेर समस्या भोगिरहेका नागरिकको पीडामा राहत दिने सोचका साथ साउन १ गतेबाट ८ प्रकारका बिरामीले हाम्रो पूर्वप्रतिबद्धता अनुसार स्वास्थ्य बीमा कार्यक्रममार्फत २ लाखको उपचार प्राप्त गर्ने व्यवस्था गरेका छौं । अब क्यान्सर, मुटु,मृगौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले यो सुविधा प्राप्त गर्न सक्नुहुनेछ । स्वास्थ्य बीमालाई थप परिस्कृत गर्दै आम नागरिकको पहुँच अभिवृद्धि गराउन हामी निरन्तर प्रयत्नशील छौँ । तपाईंको रचनात्मक सल्लाह, सुझाव र प्रतिक्रिया सदैव स्वागत गर्दछौं ।’

भूमिसम्बन्धी विधेयकमा पूर्वसहमति खोज्न महामन्त्री शर्माको माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भूमिसम्बन्धी विधेयकलाई आजको संसदको कार्यसूचीबाट हटाउन माग गरेका छन् ।

सामाजिक संजालमार्फत महामन्त्री शर्माले पर्याप्त गृहकार्य नगरी सोझै पारित गर्ने तयारी गरिएको भन्दै आपत्ति जनाएका हुन् । उनले भनेका छन्, ‘भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक स्वयंमा संशोधन गरेर सहमति जुटाउन जरुरी छ । पर्याप्त गृहकार्य नगरी ’सोझै पारित गर्नेगरि’ संसदमा प्रस्तुत हुन लागेकोमा खुला विमती छ ! ’लटरपटरझ नगरौं, पूर्वसहमति खोजौं कि समितिमा पठाउँ । अन्यथा आजलाई कार्यसूचीबाट हटाइयोस्– ‘भूमि विधेयक’ !’

आजको प्रतिनिधिसभा बैठकमा भूमिसम्बन्धी विधेयक प्रस्तुत गरी पारित गर्ने कार्यसूची रहेको छ ।

 

रसुवा बाढी अपडेट : नौ जनाको शव फेला, १९ अझै बेपत्ता

काठमाडौँ । रसुवामा गएको बाढीमा परेकामध्ये नौ जनाको शव फेला परेको छ । आज राति एकजनाको शव चितवनमा भेटिएसँगै मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ ।

प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार अझै १९ जना बेपत्ता रहेका छन् । बाढीमा परेर रसुवाबाट हराइरहेका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव चितवनको १५ किलोस्थित त्रिशूली नदी किनारमा फेला परेको हो ।
कूल २० जना बेपत्ता रहेकामा उनको शव फेला परेपछि अब १९ जना बेपत्ता रहेका प्रहरीको केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

उनका अनुसार दुई प्रहरी, छ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण बेपत्ता छन् । यस्तै ५७ जनाको उद्धार भएको प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

बाढीमा परेकाको उद्धारका लागि ३८३ जना प्रहरी टोली परिचालन गरिएको थियो । उक्त बाढीले नेपाल चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको, २४ वटा कन्टेनर, छ वटा ट्रक र ३५ वटा इभी गाडी बगाएको छ । धुञ्चेदेखि टिमुरे जाने सडकसमेत अवरुद्ध भएको छ । रसुवागढी हाइड्रोको ड्याम, भन्सार कार्यालय रसुवाको यार्डमा समेत क्षति भएको छ ।

सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित

काठमाडौँ । सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति भएको छ । मंगलबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको वार्तामा नेपाल चिकित्सक संघ तथा विभिन्न संघसंस्था एवम् सरोकारवालाहरुका मागहरुको सम्बोधन गर्न कानुनी एवम् नीतिगत व्यवस्थामा आवश्यक संशोधनलगायतका विषयमा ७ दिनभित्र सुझाव सहितको प्रतिवेदन पेस गर्ने गरी तीन सदस्यीय कार्यदल गठन भएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखाका प्रमुख संयोजक रहने गरी गठित कार्यदलको सदस्यमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य मन्त्रालयबाट १/ १ जना सहसचिवस्तरका प्रतिनिधि रहने छन् ।

उपभोक्ता संरक्षण ऐन २०७५ लगायतका विद्यमान कानुनी तथा नीतिगत व्यवस्थाको आवश्यक संशोधनका लागि ७ दिन भित्रमा मन्त्रिपरिषद्बाट सम्बन्धित मन्त्रालयले सैद्धान्तिक सहमति लिने र फास्ट ट्रयाकबाट कानुन संशोधनको लागि यथाशीघ्र प्रक्रिया अगाडि बढाउने सहमति छ ।

यस सहमतिअनुसार चिकित्सक संघ लगायतका सरोकारवाला संघसंस्थाहरुले सबै किसिमका आन्दोलनहरु स्थगन गरी नियमित सेवा सञ्चालन गर्ने समेत सहमति भएको छ ।

उपभोक्ता अदालतले उपचारमा ‘चिकित्सकीय लापरबाही’ भएको ठहर गर्दै अस्पताल र उपचारमा संलग्न चिकित्सकले क्षतिपूर्ति तिर्न पर्ने आदेश दिएपछि चिकित्सक अस्पतालका सेवा बन्द गरी आन्दोलनमा उत्रिएका थिए ।

प्रधानमन्त्री ओलीबाट रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी फर्किएको छ ।

बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्री ओलीले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयबासीसँग छलफल गरेका थिए ।

 

प्रधानमन्त्री ओलीले क्षतिग्रस्त क्षेत्रबाट बेपत्ता भएकाहरुको स्थिति, नेपाल–चीन सीमानाको रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाह, बगाइएका मालबाहक कन्टेनर बगाउँदा भएको क्षतिको विवरणबारे चिन्ता र चासो व्यक्त गरेका थिए ।

प्रधानमन्त्री ओली नेतृत्वको टोलीमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, प्रधानमन्त्री मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ,प्रधानसेनापतिसहित चारै सुरक्षा निकायका प्रमुखलगायत थिए ।

कर फर्स्योटसम्बन्धी विशेष अदालतको फैसला सर्वोच्चद्वारा बदर

काठमाडौँ । सर्वोच्च अदालतले कर फछ्र्यौट आयोगका पदाधिकारीहरूविरुद्धको मुद्दामा विशेष अदालतले गरेको फैसला बदर गरेको छ ।

मंगलबार सर्वोच्चका न्यायाधीशद्वय शारङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिवको हैसियतमा काम गरेका आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मालाई विशेष अदालतको फैसला बदर गरेको हो ।

फैसला बदर गर्दै उक्त मुद्दा पुनः विशेष अदालतमै पठाउने सर्वोच्चले फैसला गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७१ सालमा गठन भएको कर फछ्र्यौट आयोगका पदाधिकारीहरूले १ अर्ब ३३ लाख रुपैयाँ राजस्व चुहावट गरी राज्य कोषमा हानीनोक्सानी गरेको भन्दै मुद्दा दायर गरेको थियो ।

उक्त मुद्दामा विशेष अदालतले उनीहरू हरेकलाई २ अर्ब ५ करोड २३ लाख बिगो अनि थप ४ अर्ब १० करोड रुपैयाँ तिराउनुपर्ने फैसला गरेको थियो भने आयोगका पदाधिकारीलाई ९ वर्ष कैद सजाय हुने फैसला भएको थियो ।

फैसला चित्त नबुझाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्चमा गएको थियो । अदालतले सुरुको फैसला बदर गर्ने फैसला गरेको हो ।

गभर्नर नियुक्तिविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेलको नियुक्ति बदरका लागि दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

मंगलबार सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले पौडेलको गभर्नर पद बदर गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

इजलासले रिटलाई सर्वोच्चले अग्राधिकार भने प्रदान गरेको छ । अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले गत जेठ १३ गते पौडेलको नियुक्ति बदरको माग गर्दै रिट दर्ता गरेका थिए ।

गत जेठ १४ गते न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले अधिवक्ता थापासहितको रिटमा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको थियो ।

प्राधिकरणले अगाडि बढायो सौर्य ऊर्जा परियोजना

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले ऊर्जा मिश्रण अवधारणाअन्तर्गत नौ सय ६० मेगावाट क्षमता बराबरको सौर्य परियोजनाको आवश्यक प्रक्रिया अगाडि बढाएको छ । त्यसमध्ये आठ कम्पनीको एक सय ७० मेगावाट बराबरको सौर्य आयोजनाको विद्युत् खरिद सम्झौता सम्पन्न भएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए ।

यस्तै, चार हजार नौ सय ६६ मेगावाट क्षमताका जलविद्युत् आयोजनाको ग्रीड कनेक्सन एग्रिमेन्टको प्रावधानअनुसार विद्युत् खरिद सम्झौताको प्रक्रिया अगाडि बढाइएको छ । प्राधिकरणले एक सय दुई मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन प्रक्रिया आरम्भ गर्न लागिएको उनले जानकारी दिए  ।

सो आयोजनाको मुख्य सुरुङमा पानी चुहिने समस्या देखिएको थियो । सो समस्यासमेत समाधान भइसकेको जानकारी दिँदै कार्यकारी निर्देशक शाक्यले गत वर्षको बाढीपहिरोका कारण समस्याग्रस्त भएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालाई मर्मत गरी पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको उल्लेख गरे ।

प्राधिकरणमा हाल सिर्जित दायित्व तथा प्राधिकरणमा देखिएको तरलता व्यवस्थापनका लागि १० अर्ब बराबरको अल्पकालीन ऋण लिन अर्थ मन्त्रालयबाट सैद्धान्तिक सहमति प्राप्त भएको उनको भनाइ छ । उत्पादन प्रसारण र वितरण प्रणालीको विस्तार, विद्यमान संरचनाको स्तरोन्नतीलगायत कार्य प्रभावकारी रूपमा सञ्चालन गर्न २० अर्ब बराबरको ऋणपत्र जारी गर्न पनि अर्थले प्राधिकरणलाई स्वीकृति दिएको छ ।

प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्त भएको १०० दिन पुगेको अवसरमा विवरण सार्वजनिक गर्दै उनले डिजिटल एनइए निर्माणलाई प्रभावकारी रूपमा अगाडि बढाइएको बताए ।

‘माग्ने राजा’को पहिलो गीत

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को पहिलो गीत सार्वजनिक गरिएको छ । मंगलबार फिल्मको गीत ‘त्यो मिठो जोवन’ सार्वजनिक गरिएको हो ।

दीपक शर्माको शब्द तथा संगीत अनि रचना रिमाल र सविन सुवेदीको स्वर सुन्न सकिन्छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार केदार घिमिरे (माग्ने बुढा) र वर्षा सिवाकोटी फिचर्ड छन् ।

कविराज गहतराजको कोरियोग्राफी केदार र वर्षा छमछमी नाचेका छन् ।

रसुवा बाढीमा बेपत्ता हुनेको संख्या २० पुग्यो

काठमाडौैँ । रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा आएको बाढीमा परी नेपाली र चिनियाँ नागरिकसहित २० जना बेपत्ता भएका छन् ।

रसुवागढी नाकामा रहेको भन्सार यार्डमा काम गर्नेमध्ये ११ नेपाली, इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत तीन प्रहरी र ६ चिनियाँ गरी २० जना सम्पर्कविहीन भएका सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसमेत बगाएको छ । बाढीमा परी इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत रामेछापको लिखु तामाकोसी गापा–४ का ४२ वर्षीय प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, बाराको फेटा गापा–१ का २४ वर्षीय प्रहरी जवान मुन्ना ठाकुर र बझाङको बुङ्गल नपा–९ का २३ वर्षीय प्रहरी जवान लोकेन्द्र बोहोरा बेपत्ता भएका छन् ।

बाढीमा परी ६ जना चिनियाँ नागरिक पनि बेपत्ता भएका छन् । उनीहरु सबै पुरुष हुन् । चिनियाँ नागरिकको विस्तृत पहिचान खुल्न बाँकी छ । बाढीमै परी बर्दियाका ३६ वर्षीय जिपन चौधरी, ३५ वर्षीय सन्तोष दइत, २५ वर्षीय बुद्धिराम थारू, २४ वर्षीय लक्ष्मीनारायण थारू र ३० वर्षीय सुरेश थारू तथा बागलुङका नरेन्द्र विक, सिन्धुपाल्चोकका कन्टेनर चालक फुर्वा लामा, हाइलक्स जिप चालक गोविन्द मोक्तान, लोकमान तामाङ, गोरखा पालुङटारका डिलबहादुर तामाङ र गोरखाकै धनबहादुर तामाङ बेपत्ता भएका छन् ।

अहिलेसम्म ५१ जना पुरुष र ४ जना महिला गरी ५५ जनाको संयुक्त रुपमा उद्वार गरिएको थापाले जानकारी दिए । उनकाअनुसार १०० भन्दा बढी गाडी बाढीले बगाएको छ ।

‘कुलिङ अफ पिरियड’ प्रकरण छानबिन गर्न गठित विशेष समितिको पहिलो बैठक(फोटोफिचर)

काठमाडौँ । निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’को व्यवस्था हेरफेर गरिएको विषयमा छानबिन गर्न गठित सात सदस्यीय विशेष समितिको पहिलो बैठक मंगलबार बसेको छ ।

सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको कार्यकक्षमा बैठक बसेको हो । समितिको संयोजकमा नेपाली कांग्रेसका सांसद जीवन परियार रहेका छन् ।

समिति सदस्यमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशील थिङ, एमालेबाट नारायण प्रसाद आचार्य र ईश्वरी घर्ती, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की रहेका छन् । समितिलाई छानबिनका लागि २१ दिनको समय दिइएको छ ।

अस्ट्रेलियन टप एन्ड टी–२० सिरिजको खेल तालिका सार्वजनिक

काठमाडौँ । अस्ट्रेलियामा आयोजना हुने अस्ट्रेलियन टप एन्ड टी–२० सिरिजको खेल तालिका सार्वजनिक भएको छ ।

अस्ट्रेलियाको उत्तरी क्रिकेट सङ्घ (एनटी)ले मंगलबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो उद्घाटन खेल आगामी अगस्त १५ तारिखमा अस्ट्रेलियाको स्थानीय टिम नर्दन टेरिटोरी स्ट्राइकसँग खेल्ने भएको हो ।

यस सिरिजमा विभिन्न ११ टोलीको सहभागिता रहेको छ । सिरिजमा सहभागी रहने अन्तरराष्ट्रिय टोलीमा नेपालको राष्ट्रिय टोली, पाकिस्तान ‘ए’, बङ्गलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान छन् ।

त्यसैगरी, सिरिजमा अस्ट्रेलियाका बिगबास लिग (बिबिएल) को हर्बट हरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेट स्ट्राइकर, मेलवर्न स्टार तथा मेलवर्न रेनेगड्सका टोलीका एकेडेमी टोलीलगायतको सहभागिता रहनेछ ।

नेपालले समूह चरणमा ६ खेल खेल्नेछ । लिग चरणको शीर्ष चार रहने टोलीका बीचमा सेमिफाइनल भिडन्त हुनेछ । त्यसैगरी, नेपालले आफ्नो दोस्रो खेल अगस्त १६ मा बङ्गलादेशको ‘ए’ टोली विरुद्ध खेल्नेछ । नेपालले तेस्रो खेल अगस्त १८ तारिखमा मेलबर्न स्टार्सविरुद्ध खेल्ने छभने चौथो खेल अगस्त १९ तारिखमा होबार्ट हुरिकेन्सविरुद्ध खेल्नेछ ।

त्यसैगरी, पाँचौँ खेल अगस्त २० तारिखमा मेलबर्न रेनेगेड्सविरुद्ध खेल्ने छभने अन्तिम लिग खेल अगस्त २२ तारिखमा पाकिस्तान शाहिन्सविरुद्ध खेल्नेछ । नेपालले यो प्रतियोगिता आउँदो अक्टोबरमा हुने आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीस्वरुप खेल्न लागेको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

उद्योग मन्त्री भण्डारीसँग खाद्य तथा कृषि संगठनका प्रतिनिधि शिमिजुको भेट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग खाद्य तथा कृषि संगठनका नेपाल तथा भूटानका प्रतिनिधि केन शिमिजुले शिष्टाचार भेट गरेका छन् ।

भेटका क्रममा मन्त्री भण्डारीले नेपाल र संगठन सन् १९५१ देखि नजिक र फलदायी साझेदारीमा रहेका र FAO को प्राविधिक तथा नीतिगत सहयोगले नेपालको कृषि विकास र खाद्य सुरक्षाका लक्ष्यहरूलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको बताए । यहाँको सिँचाइ प्रणालीलाई आधुनिक बनाउने, बाली उत्पादनमा सुधार गर्ने, प्राकृतिक स्रोतहरू दिगो तरिकाले व्यवस्थापन गर्ने र २०१५ को भूकम्प तथा कोभिड–१९ महामारीजस्ता विपद्हरूमा प्रभावकारी रूपमा प्रतिक्रिया जनाउनेमा FAO  को सहयोगको लागि धन्यवाद दिए ।

साथै, भविष्यमा नेपाल र संगठनबीचको साझेदारी अझ बलियो र गहिरो हुने विश्वास गर्दै खाद्य सुरक्षा सुदृढ पार्न, ग्रामीण जीविकोपार्जनमा सुधार ल्याउन, विपद् जोखिम न्यूनीकरणका लागि क्षमता निर्माणमा निरन्तर सहयोगको लागि अपेक्षा राखे ।

यसैबीच मन्त्री भण्डारीले नेपालको खाद्य निर्यात, यसमा भोगिरहेको कठिनाई र औद्योगिक वौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी समस्याको कानुनी रुपमा समाधान गर्न यस मन्त्रालयबाट औद्योगिक सम्पत्ति विधयेक, २०८२ संघीय संसदमा दर्ता भई विचाराधीन अवस्थामा रहेको समेत जानकारी गराए ।

छलफलको क्रममा संगठनका लागि नेपालका प्रतिनिधि केन शिमिजुले नेपालका कृषि तथा खाद्य प्रणालीमा संगठनको भूमिका र नेपाल सरकारसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

उनले नेपालका स्थानीय कृषि उत्पादनहरूलाई अन्तर्राष्ट्रिय बजारमा पहुँच पुर्याउन निर्यात प्रवद्र्धनमा संगठनको चासो रहेको कुरा व्यक्त गरे ।

त्यसका लागि औद्योगिक सम्पत्ति संरक्षण अन्तर्गत भौगोलिक संकेत (Geographical Indication) को माध्यमबाट खाद्य उत्पादनहरूको मूल्य अभिवृद्धि गर्दै क्षेत्रीय र विश्वव्यापी बजारमा पुर्याउन सकिने सम्भावना र क्षमता अभिवृद्धि सम्बन्धी सहयोग आदान प्रदान गर्न सकिने बारे छलफल गरे ।

सोविताको अभिव्यक्ति रेकर्डबाट हटाउन एमालेको माग

काठमाडौं । नेकपा एमालेले प्रतिपक्षी दलका सांसदहरूको प्रधानमन्त्रीको भ्रमण टोलीका सदस्य स्पेनमै रहेको भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीलाई जोडेर संसदमा भ्रम फैलाउने काम भएको भन्दै यस विषयमा सभामुखको ध्यानाकर्षण गराउँदै रेकर्डबाट हटाउन मागसमेत गरे ।

उनले भने, ’प्रधानमन्त्रीज्यू स्पेन भ्रमण सकाएर फर्किसक्नुभएको छ। उहाँ गरिमामय संसदमै पनि यस विषयमा जानकारी गराइसक्नुभएको छ। तर, त्यसका बावजुद केही माननीयहरूले भ्रमणमा गएकाहरू स्पेनमै बसेको वा भिजिट भिसामा स्पेन गएर बसेको कपोलकल्पित र भ्रामक विषय प्रस्तुत गर्नुभएको छ । माननीयज्यूहरूबाट तथ्यहीन विषयमा सभामुखले नोटिसमा लिनुपर्छ। यस्ता भ्रामक विषय रेकर्डबाट हटाइनुपर्छ ।’

एमालेका मुख्य सचेतक बर्तौलाले बोलेपछि प्रमुख प्रतिपक्षी दल माओवादीका सांसदहरूले उठेर विरोध गरेका थिए । सरकारका विषयमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री वा मन्त्रीलाई दिन माओवादीले सभामुखको ध्यानाकर्षण गराए ।

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘ यस विषयमा मन्त्रीले वा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ । माननीयले जवाफ दिने होइन ।माननीयबाट जवाफ आइरहेका छन्। यसले हाम्रो संसदले हेपिएको भान भएको छ ।’

त्यसपछि सभामुख देवराज घिमिरेले आफ्ना ध्यानाकर्षण भएको र उत्तरदायी भएर बोल्न सांसदहरूलाई निर्देशन दिए ।

बैठकको सुरुमै रास्वपाकी सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको साथमा स्पेन गएका केही व्यक्ति नफर्किएका दाबी गरेकी थिइन् ।

उनले प्रधानमन्त्री गएको स्पेनको कार्यक्रममा समेत केही मानिस गएर नफर्किएको दाबी गरेकी हुन् । उनले भनेकी थिइन्, ‘सम्माननीय प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रममा समेत केही मानिसहरू कार्यक्रममा सहभागी हुने बहाना गरेर नफर्किएको भन्नेलगायतका समाचारहरू पनि आइरहेका छन्। व्यक्ति विशेष कसैप्रति पनि हाम्रो आरोप छैन तर यो विषय गम्भीर हो।’

विदेशका जेलमा रहेका नेपालीको यकीन गर्न सरकारले थाल्यो कूटनीतिक पहल 

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले विदेशका जेलमा रहेका नेपालीको सङ्ख्या यकिन गर्न कूटनीतिक पहल थालिएको बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सदनमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री भण्डारीले कुन देशका जेलमा कति सङ्ख्यामा नेपाली छन् भनेर खोजीनीति भइरहेको बताए ।

‘नेपालीहरु विभिन्न देशका जेलमा रहेको सत्य हो । तर ठ्याक्कै कति भन्ने तथ्याङ्क छैन । मन्त्रालयले खोजेर सदनलाई जानकारी गराउनेछ’, उनले भने, ‘कानुनी सहयोग पाउन नसक्दा उनीहरु थप समस्यामा परेकाले सम्बन्धित देशका कानुन व्यवसायीको सहयोग र विभिन्न नियोगलाई यसबारे बुझ्न लगाइएको छ ।’

श्रममन्त्री भण्डारीले हालसम्म विदेशमा ज्यान गुमाएका १४ हजार भन्दाबढी नेपालीको शव ल्याइएको बताए । वैदेशिक रोजगारीमा जाने कामदारहरुको स्वास्थ्य परीक्षणलाई पूर्ण अनलाइन प्रणालीमा लैजाने तयारी भइरहेको उनको भनाइ छ ।

भारतमा काम गर्नका लागि श्रम स्वीकृत अनिवार्य नरहेकाले त्यहाँ काम गर्ने नेपाली श्रमिकको तथ्याङ्क नरहेको उनले स्वीकारे ।

वैदेशिक रोजगार ऐन, २०६४ संशोधन र परिमार्जन गरी समयसापेक्ष बनाउन मन्त्रालयले प्रक्रिया अघि बढाएको उनले सदनलाई जानकारी गराए ।

अहिले वैदेशिक रोजगारीमा जानेहरु ठगीमा परेको भनेर ३६ हजार बढी मुद्दा वैदेशिक रोजगार विभागमा दर्ता भएको उल्लेख गर्दै मन्त्री भण्डारीले विभागले अनुसन्धानदेखि मुद्दा दर्तासम्मको काम गर्न त्यहाँको संरचना अपर्याप्त रहेको उल्लेख गरे ।

वैदेशिक रोजगारीमा ठगीमा परेकाहरुको अनुसन्धान र मुद्दा चलाउने काम जिल्ला तहमा पठाउने कानुन संशोधनको तयारी गरिरहेको भण्डारीको भनाइ छ ।

आन्तरिक रोजगारी प्रवद्र्धनका लागि नेपाल सरकारले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ बाट आगामी दशकलाई आन्तरिक रोजगार प्रवद्र्धन दशक (२०८२/८३–२०९१/९२) का रुपमा मनाउने घोषणा गरेको उनले बताए ।

आन्तरिक रोजगार प्रवद्र्धनका लागि सरकारले विभिन्न कार्यक्रममार्फत काम गरिहरेको उनले उल्लेख गरे । न्यूनतम रोजगारमा संलग्न हुन चाहने व्यक्तिले हरेक वर्ष फागुन सम्ममा नाम दर्ता गरिसक्नुपर्ने व्यवस्था रहेकामा चालु आर्थिक वर्षका लागि सात लाख ९७ हजार ७२५ र आर्थिक वर्ष २०८२/८३ का लागि सात लाख ४५ हजार ४३५ जनाले नाम दर्ता गराएको जानकारी दिए ।

सूचीकृत बेरोजगारहरुलाई न्यूनतम रोजगारी सिर्जना गर्ने उद्देश्यले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत न्यूनतम रोजगार दिन चालु आवमा ६० हजारलाई रोजगार दिनेगरी बजेट विनियोजन भएको उनको भनाइ छ ।

शेयर बजारमा गिरावट

 

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको छ । मंगलबार नेप्से परिसूचक शून्य दशमलव १४ अङ्कले घटेर दुई हजार ६८३ दशमलव ८६ को विन्दुमा कायम भएको हो ।

आज ३०४ कम्पनीको एक करोड ५० लाख २७ हजार ३७२ कित्ता शेयर ५६ हजार २७६ पटक खरिदबिक्री हुँदा रु छ अर्ब ५७ करोड ४१ लाख ६६ हजार ८१४ बराबरको कारोबार भएको छ ।

आज विकास बैङ्क समूह शून्य दशमलव ४१, वित्त एक दशमलव २५, जलविद्युत् शून्य दशमलव ५९, लगानी शून्य दशमलव ०८, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३७, लघुवित्त शून्य दशमलव ०७ र व्यापार शून्य दशमलव ३८ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ ।

बैङ्किङ शून्य दशमलव ३७, होटल तथा पर्यटन शून्य दशमलव ०१, म्युचुअल फन्ड शून्य दशमलव ०९, निर्जीवन बिमा शून्य दशमलव ३७ र अन्य समूह शून्य दशमलव ७७ प्रतिशतले घटेको छ ।

बुटवल पावर कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै आठ दशमलव २१ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य पाँच दशमलव ०८ प्रतिशतले घटेको छ ।

सक्षम र योग्य व्यक्तिलाई खेलाडी प्रशिक्षकमा नियुक्त गर्छौंः मन्त्री चौधरी

काठमाडौँ । युवा तथा खेलकूदमन्त्री तेजुलाल चौधरीले खेलाडी, प्रशिक्षक र कर्मचारी छनोट निश्चित मापदण्डका आधारमा गरिने भएकाले आशङ्का नगर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद प्रेम सुवालले राखेको जिज्ञासाको जवाफमा मन्त्री चौधरीले निश्चित मापदण्डका आधारमा सक्षम र योग्य व्यक्तिलाई खेलाडी प्रशिक्षकमा नियुक्त गरिने गरिएको बताए ।

कर्णाली प्रदेशमा पूर्वाधार निर्माण सम्पन्न नभएकाले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समयमा सम्पन्न गर्न नसकिएको दोहोर्याए ।

भौतिक पूर्वाधार निर्माणलाई गति दिएर आगामी आर्थिक वर्षमा प्रतियोगिता सम्पन्न गरिने र त्यसका लागि आवश्यक बजेटको प्रबन्ध गरिएको उनले उल्लेख गरे । सरकारले ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकुद’ नाराका साथ खेलकुद गतिविधि अगाडि बढाइरहेको उनको कथन छ ।

राष्ट्रिय खेलकुद परिषद्का अनुसार हाल ६६० जना विभिन्न खेलका प्रशिक्षकको दरबन्दी भए पनि ५० प्रतिशत मात्रै कार्यरत रहेको उनले बताए ।

विद्यालयमा उपयुक्त खेलमैदान स्थापना गरेर खेलजन्य गतिविधि अगाडि बढाउन सरकारले आवश्यक काम गरिरहेको मन्त्री चौधरीको भनाइ छ ।

विपद प्रभावितलाई  तत्काल उद्धार र राहत सामग्री दिन सांसदहरुको माग

 

काठमाडौँ । सांसदहरुले रसुवा, नुवाकोटलगायतका जिल्लामा प्राकृतिक विपदका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल उद्धार र राहतको प्रबन्ध गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले विपदको पूर्वतयारीलाई तिव्रता दिन, मौसमजन्य सूचना प्रणालीलाई थप व्यवस्थित गर्न र जनधनको क्षति न्यून गराउने अधिकतम उपायको खोजी गर्न आग्रह गरे ।

सांसद वर्षमान पुनले मनसुनजन्य विपदको तयारीमा गम्भीर भएर लाग्न सरकारको ध्यानाकर्षण गराए । उनले त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक रोकिएको विषयमा जिज्ञासा राखे  ।

सांसद  डिकबहादुर लिम्बुले वार्षतको समयमा किसानले रासायनिक मलको अभावमा खेतीपाती गर्न समस्या भएको भएपनि राज्यले उचित प्रबन्ध गर्न नसकेको बताए ।

सांसद दीपा शर्माले देशभर प्राकृतिक विपदका कारण जनधनको क्षति भएको विवरण पेश गर्दै राहत तथा उद्धारको उचित प्रबन्ध गर्न माग गरिन् ।

सांसद प्रेम सुवालले बाढी र पहिरोका कारण रसुवागढीमा भएको जनधनको बारेमा यर्थाथ जानकारी गराउन गृहमन्त्रीको ध्यानाकर्षण गराए ।

सांसद तारा लामा तामाङले रसुवामा आज आएको बाढी पहिरोमा परी भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरे ।
सांसद दामोदर पौडेलले सरकारले सुन चाँदी व्यवसायीले विलासिता कर हटाउन राखेको मागको उचित सम्बोधन गर्न आग्रह गरे ।

सांसद दीपक गिरीले कोभिड १९ को कहरपछि मुलुक आर्थिक संकटमा फसेको, विकास बजेटको प्रभावकारी खर्च हुन नसकेको उल्लेख गर्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिलाई व्यवसायीमैत्री बनाउन आग्रह गरे ।

सांसदहरु दुर्गा राई, नागिना यादव, नारायणप्रसाद आचार्य, नारायण शर्मा, निर्मला कोइराला, पूर्णबहादुर घर्ती, प्रकाश ज्वाला, प्रतिमा गौतम, प्रेमबहादुर आले, वासुदेव घिमिरेले मनसुनजन्य घटना बृद्धि भएकाले जनधनको क्षति हुन नदिन आपतकालीन उद्धार, राहतको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराए ।

नयाँ भन्सार शुल्क समयसीमा ‘१०० प्रतिशत दृढ छैन’ : राष्ट्रपति ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार एक दर्जनभन्दा बढी देशलाई उच्च भन्सार शुल्क लगाउने धम्की दिएर आफ्नो व्यापार युद्धलाई पुनःस्थापित गरेका छन् । यद्यपि त्यसपछि उनले सम्झौतामा पुग्नका लागि आफ्नो नयाँ अगस्टको समयसीमा लचिलो हुनसक्ने बताएका छन् ।

अमेरिकाका प्रमुख सहयोगीहरू जापान र दक्षिण कोरियासहितका व्यापारिक साझेदारहरूलाई पत्र पठाउँदै ट्रम्पले अप्रिलमा निलम्बन गरेको भन्सार शुल्क तीन हप्तामा अझ तीव्र रूपमा फिर्ता हुने घोषणा गरेका थिए ।

टोकियो र सियोललाई उनीहरूका सामानमा २५ प्रतिशत कर लगाउने उनले लेखेका छन् । इन्डोनेसिया, बङ्गलादेश, थाइल्यान्ड, दक्षिण अफ्रिका र मलेसियालगायतका देशहरूलाई २५ प्रतिशत देखि ४० प्रतिशत सम्मका भन्सार शुल्क लगाइएको छ ।

तर आफ्नो करहरूद्वारा पहिले नै अस्थिर वैश्विक अर्थतन्त्रमा नयाँ अनिश्चितता निम्त्याउने कदममा ७९ वर्षीय ट्रम्पले एक पटक फेरि देशहरूलाई सम्झौता गर्न ठाउँ छाडेका छन्।

“म दृढ भन्छु, तर सतप्रतिशत दृढ होइन”, अगस्ट १ को समयसीमा दृढ छ कि छैन भनेर सोध्दा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको रात्रिभोजमा ट्रम्पले पत्रकारहरूलाई भने ।

पत्रहरू उनको अन्तिम प्रस्ताव हो कि होइन भनेर सोधिएको प्रश्नमा ट्रम्पले जवाफ दिए, “म अन्तिम भन्छु–तर यदि तिनीहरूले फरक प्रस्तावका साथ फोन गरे र मलाई यो मनपर्‍यो भने, हामी यो गर्नेछौँ ।”

अमेरिकी राष्ट्रपतिले अप्रिल २ मा ‘मुक्ति दिवस’ भन्दै सबै देशमा आधारभूत १० प्रतिशत भन्सार शुल्कसहित आयातमा व्यापक भन्सार शुल्क घोषणा गरेका थिए ।

तर बजारमा उथलपुथल भएपछि उ नलेतुरुन्तै १० प्रतिशतभन्दा माथिका सबै भन्सार शुल्क ९० दिनका लागि निलम्बन गरे । ती पत्र बुधबार पुनः लागु हुने तय थियो र ट्रम्पले त्यो समयसीमाअघि नै पत्रहरू पठाए ।

जापानी र दक्षिण कोरियाली नेताहरूलाई ट्रम्पको लगभग समान शब्दको पत्रले वासिङ्टनसँगको उनीहरूको व्यापारिक सम्बन्ध ‘दुर्भाग्यवश, पारस्परिकबाट टाढा’ भएकाले उनले २५ प्रतिशत भन्सार शुल्क लगाउने बताएका थिए ।

उनले भन्सार शुल्कहरूको विरुद्धमा प्रतिशोध भएमा थप वृद्धिको चेतावनी दिए। तर सोमबार ट्रम्पले बुधबारको समयसीमा अगस्ट १ सम्मका लागि औपचारिक रूपमा विस्तार गर्ने  आदेशमा हस्ताक्षर पनि गरे ।

– राष्ट्रपतिको विशेषाधिकार –

नयाँ अगस्ट मितिले प्रभावकारी रूपमा थप ढिलाइलाई अङ्कित गर्दछ र ट्रम्पको पछिल्लो टिप्पणीहरूले समयसीमा वास्तवमा कहिले हुन्छ भन्ने अनिश्चिततालाई अझ बढाउने खतरा छ ।

ट्रम्पको ट्रुथ सोसल प्लेटफर्ममा पोस्ट गरिएका पत्रअनुसार इन्डोनेसियाका उत्पादनहरूमा ३२ प्रतिशत, बङ्गलादेशमा ३५ प्रतिशत र थाइल्यान्डमा ३६ प्रतिशत भन्सार शुल्क लाग्नेछ ।

अहिलेसम्म पत्रहरू प्राप्त गर्ने अधिकांश देशमा अप्रिलमा खतरामा परेका भन्सार शुल्कहरू जस्तै वा अपरिवर्तित भन्सार शुल्कहरू थिए । यद्यपि लाओस र कम्बोडिया जस्ता केही देशले उल्लेखनीय रूपमा कम स्तरहरू देखे । ट्रम्प प्रशासन ‘९० दिनमा ९० सम्झौता’ गर्ने वाचा गरेपछि परिणाम देखाउने दबाबमा छ ।

अहिलेसम्म बेलायत र भियतनामसँग दुईवटा मात्र दृढ सम्झौता भएका छन् । साथै चीनसँग सुपर–हाई टिट–फर–ट्याट भन्सार शुल्क फिर्ता गर्ने सम्झौता भएको छ । जापानका प्रधानमन्त्री शिगेरू इशिबाले सोमबार मन्त्रिपरिषद् बैठकमा २५ प्रतिशत भन्सार महसुलको घोषणा ‘साँच्चै खेदजनक’ भएको बताए ।

यसैबीच दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार वाइ सुङ–ल्याकले वासिङ्टनमा आफ्ना अमेरिकी समकक्षी मार्को रुबियोसँग भेट गरी ‘मुख्य विचाराधीन मुद्दाहरूमा पारस्परिक रूपमा फाइदाजनक परिणामहरू’ प्राप्त गर्न द्विपक्षीय शिखर सम्मेलन चाँडै हुनसक्ने आशा व्यक्त गरे ।

ट्रम्पले जापान र दक्षिण कोरियासँग सुरु गर्न किन रोज्नुभयो भनेर सोधिएको प्रश्नमा ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले भने, “यो राष्ट्रपतिको विशेषाधिकार हो, र ती देशहरू उहाँले रोज्नुभएको छ ।”

एसिया सोसाइटी पोलिसी इन्स्टिच्युटका उपाध्यक्ष वेन्डी कटलरले टोकियो र सियोललाई ट्रम्पले लेखेको प्रारम्भिक पत्रलाई उद्धृत गर्दै यो घोषणाले ‘अरूलाई डरलाग्दो सन्देश पठाउने’ बताए ।

“दुवै आर्थिक सुरक्षा मामिलामा घनिष्ठ साझेदार रहिआएका छन्”, जापान र दक्षिण कोरियाका कम्पनीहरूले ‘हालैका वर्षहरूमा अमेरिकामा महत्त्वपूर्ण निर्माण लगानी’ गरेको उल्लेख गर्दै उनले भने ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार थप सम्झौताहरू आउने उल्लेख गर्दै भने, “हामीले अर्को ४८ घण्टामा धेरै घोषणाहरू गर्नेछौँ ।”

ट्रम्पको ताजा धम्कीका कारण प्रमुख अमेरिकी स्टक सूचकाङ्कहरू सोमबार रेकर्डबाट तल झरेका छन् । नास्डाक शून्य दशमलव नौ प्रतिशत र एसएन्डपी ५०० शून्य दशमलव आठ प्रतिशतले घटेको छ ।

ट्रम्पले उदीयमान ब्रिक्स राष्ट्रहरूसँग आफूलाई मिलाउने देशहरूमा थप १० प्रतिशत कर लगाउने धम्की दिएका छन् । उनीहरूले शिखर सम्मेलनमा ट्रम्पको कर्तव्यको आलोचना गरेपछि उनले ‘अमेरिकी विरोधी नीतिहरू’ को आरोप लगाएका छन् ।

तर साझेदारहरू अझै पनि ट्रम्पको भन्सार शुल्कलाई पूर्ण रूपमा रोक्न हतारिरहेका छन् । युरोपेली सङ्घ (इयु) प्रमुख उर्सुला भोन डेर लेयेनले आइतबार कुरा गर्दा व्यापारमा ट्रम्पसँग ‘राम्रो आदानप्रदान’ भएको युरोपेली आयोगले बताएको छ । रासस

अमेरिकाले युक्रेनमा थप हतियार पठाउने

किएभ । रुसले आफ्नो छिमेकी विरुद्धको युद्धमा नयाँ लाभ हासिल गरेको दाबी गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अमेरिकाले युक्रेनमा थप हतियार पठाउने बताएका छन् ।

ट्रम्पको घोषणा वासिङ्टनले गत हप्ता किएभलाई केही हतियार ढुवानी रोकेको बताएपछि आएको हो । हतियार ढुवानीको रोकले युक्रेनी अधिकारीहरूलाई अचम्ममा पारेको थियो र स्पष्टताका लागि सङ्घर्ष गर्न बाध्य बनाएको थियो ।

तीन वर्षभन्दा बढी समयको युद्धमा रुसको सबैभन्दा ठूलो क्षेप्यास्त्र र ड्रोन आक्रमणको सामना गरिरहेको किएभका लागि यो रोकावटले सम्भावित गम्भीर चुनौती खडा गरेको छ ।

‘हामीले थप हतियारहरू पठाउनु पर्नेछ-मुख्यतया रक्षात्मक हतियारहरू’, ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूलाई युक्रेनका बारेमा भने, ‘उनीहरूलाई धेरै, धेरै कडा चोट लागेको छ ।’ साथै उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ‘खुसी नभएको’ बताए ।

पुटिनले सन् २०२२ मा युक्रेनमा पूर्ण आक्रमण सुरु गरेका थिए र ट्रम्पको दबाबका बावजुद द्वन्द्व अन्त्य गर्न थोरै इच्छा देखाएका छन् ।

मस्कोले सोमबार आफ्ना बलहरूले महिनौँसम्म अगाडि बढेपछि युक्रेनको मध्य डनिप्रोपेत्रोभस्क क्षेत्रमा पहिलो गाउँ कब्जा गरेको बताएपछि अमेरिकी राष्ट्रपतिले युक्रेनलाई थप हतियारहरू पठाउने प्रतिज्ञा गरेका हुन् ।

घोषणा हुनुअघि रुसले युक्रेनको सैन्य भर्ती केन्द्रहरूसहित नयाँ ठूलो मात्रामा ड्रोन र मिसाइल आक्रमण सुरु गरेको थियो ।

किएभले पनि मस्को क्षेत्रमा रहेको रूसी गोलाबारुद कारखानामा ड्रोन आक्रमण गरेको बताएको छ ।

‘कठिन’ अवस्था

रुसले आफ्ना बलहरूले डनिप्रोपेत्रोभस्क क्षेत्रको डाच्ने गाउँ कब्जा गरेको बताएको छ । उक्त गाउँ एक महत्त्वपूर्ण औद्योगिक खानी क्षेत्र हो र यसले बढ्दो रुसी हवाई आक्रमणको सामना गरिरहेको छ ।

गत महिना, मस्कोले आफ्ना बलहरूले आफ्नो अभियानमा पहिलो पटक डनिप्रोपेत्रोभस्क क्षेत्रको सिमाना पार गरेको बताएको थियो ।

रुसी बलहरूले हालैका महिनाहरूमा क्षेत्रीय सिमाना पार गर्नुलाई मुख्य रणनीतिक उद्देश्य बनाएको देखिन्छ र त्यहाँ गहिरो अग्रगतिले युक्रेनका लागि रसद र आर्थिक समस्याहरू खडा गर्नसक्छ ।

किएभले अहिलेसम्म डनिप्रोपेत्रोभस्कमा कुनै पनि रुसी उपस्थितिलाई अस्वीकार गरेको छ ।

युक्रेनको सेनाले सोमबारको सुरुमा आफ्नो सेनाले डाच्नेको ‘वरपर’ सहित डनिप्रोपेत्रोभस्कमा भएका आक्रमणहरूलाई ‘प्रतिरोध’ बताएको थियो ।

डनिप्रोपेत्रोभस्क पाँच युक्रेनी क्षेत्रहरू डोनेत्स्क, खेर्सन, लुगान्स्क, जापोरिज्जिया र क्रिमियामध्ये एक होइन । यी पाँच क्षेत्रलाई मस्कोले सार्वजनिक रूपमा रुसी क्षेत्र भनेको छ ।

डनिप्रोपेत्रोभस्कको अवस्थालाई किएभका बलहरूका लागि ‘कठिन’ भनेर वर्णन गर्दै युक्रेनी सैन्य विशेषज्ञ अलेक्सी कोपित्कोले रुसले यस क्षेत्रमा कुनै प्रकारको बफर जोन बनाउन चाहेको बताए । ‘हाम्रा सेनाहरूले आफ्नो स्थिति निकै स्थिर रूपमा राखिरहेका छन्, उनले भने ।

साझेदारहरूमा भरोसा

ह्वाइट हाउसले गत हप्ता कुन हतियार कार्यक्रमहरू प्रभावित भएका थिए भन्ने विवरण नदिई ट्रम्पका पूर्ववर्ती जो बाइडेनले प्रतिज्ञा गरेका केही मुख्य हतियार ढुवानी युक्रेनलाई रोकेको बताएको थियो ।

अमेरिकी रक्षा आवश्यकता र विदेशलाई सैन्य सहयोगको समीक्षा गरेपछि यो निर्णय गरिएको वासिङ्टनले बताएको थियो ।

बाइडेनले पठाउनुभएको अर्बौं डलरको समर्थन र हतियारको आलोचना गर्दै जनवरीमा ट्रम्प ह्वाइट हाउस फर्केपछि किएभलाई लामो समयदेखि अमेरिकी सहायता रोकिने त्रास छ ।

बाइडेन प्रशासनअन्तर्गत वासिङ्टनले युक्रेनलाई ६५ अर्ब डलरभन्दा बढी सैन्य सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो ।

ट्रम्पले दोस्रो पटक पदभार सम्हालेदेखि किएभका लागि कुनै नयाँ सैन्य सहायता प्याकेजको घोषणा गर्नुभएको छैन ।

यसको सट्टा रिपब्लिकन राष्ट्रपतिले पुटिनसँगको फोन वार्तासहित दुवै पक्षलाई शान्ति वार्तामा धकेलेका छन् । रुसी राष्ट्रपति पुटिनले युद्धविरामका लागि निवेदन अस्वीकार गर्नुभएको छ र युक्रेनले युद्धको अन्त्य गर्न चाहेको खण्डमा थप क्षेत्र हस्तान्तरण गर्न माग गरेका छन् ।

सोमबार ट्रम्पको टिप्पणीअघि युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले हवाई रक्षा ‘जीवन रक्षा गर्न शीर्ष प्राथमिकता’ रहेको र उनको देशले ‘हामीले सहमति गरेका कुराहरू पूर्ण रूपमा पुरा गर्न’ साझेदारहरूमा भर परेको बताए ।

दक्षिणी युक्रेनी सहर माइकोलाइभमा रातिदेखि मङ्गलबारसम्म विस्फोटको आवाज सुनिएको थियो । मेयर ओलेक्सान्डर सेन्केभिचले टेलिग्राममा ‘ड्रोनको खतरा’ जारी रहेको लेखेका छन् ।

माइकोलाइभका क्षेत्रीय गभर्नर भिटाली किमले सहरको बाहिरी भागमा गोलाबारीका कारण आगलागी भएको र ५१ वर्षीय व्यक्ति घाइते भएको बताए ।

हिमताल फुटेर ल्हेन्दे खोलामा बाढी आएको आशंका

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले नेपाल र चीनको भू–भागमा भारी वर्षा नभए पनि रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको जानकारी दिएको छ । विभागले ठूलो वर्षा दुवै देशको आसपासमा नभए पनि बाढी आउनुको कारणबारे भने अध्ययन भइरहेको जनाएको छ ।

विभागका मौसमविद् सञ्जीव अधिकारीले पछिल्लो २४ घण्टाको अवधिमा नेपाल–चीन सीमाबाट नजिकमा रहेको रसुवास्थित क्यान्जिङ मौसमी केन्द्र र रसुवास्थित धुन्चे मौसमी केन्द्रमा फाटफुट मात्र वर्षा मापन भएको जानकारी दिए ।

‘त्यति ठूलो बाढी नै जाने गरी दुवैैतर्फ ठूलो वर्षा भएकै छैन । न्यून चापीय रेखा पनि सरदर आसपासमा नै रहेको छ,’ उनले भने, ‘के कारणले बाढी गएको भन्ने विषयमा थप अनुसन्धान गरेर मात्रै हामी सूचना सार्वजनिक गर्ने छौँ ।’

विश्व मौसम सङ्गठनको बाढीको सम्भावना पहिचान गर्न र समयमै चेतावनी दिन विकास गरिएको एक प्राविधिक प्रणाली (फ्ल्यास फ्लड गाइडेन्स प्रणाली) को स्याटेलाइट–आधारित वर्षा अनुमानअनुसार पनि भोटेकोसी जलाधार क्षेत्रमा गत २४ घण्टामा वर्षा भएको देखिँदैन ।

हिमताल फुटेको आशङ्का

विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाका बाढीविद् विनोद पराजुलीले चीन या नेपालको क्षेत्रमा पर्ने कुनै पनि हिमताल एक्कासि फुटेर बाढी गएको हुन सक्ने आशङ्का गरेका छन् । ‘ठूलो वर्षा नहुँदा पनि बाढी जानु भनेको हिमताल कतै फुटेको पनि हुन सक्छ,’ उनले भने, “अहिल्यै नै कारण यकिन गर्न त सक्दैनौँ तर कारण खोजिरहेका छौं । थप अध्ययन गरेर हामी दुइ–तीन दिनभित्रै सत्यतथ्य वितरण सार्वजनिक गर्नेछौँ ।’

प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक

विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाका अनुसार आज भोटेकोसी बाढीसम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज  बिहान ३ बजे आसपास भोटेकोसी नदीमा तिब्बत क्षेत्रबाट एक्कासि ठूलो बाढी प्रवेश गरेको देखिन्छ ।

‘रसुवागढी नाकाबाट केही तल रसुवा–टिमुरेस्थित जलविद्युत् आयोजनाबाट प्राप्त स्वचालित जलमापन केन्द्रको तथ्याङ्कअनुसार बिहान ३ः१० बजे उक्त स्थानमा जलसतह एक्कासि करिब ३.५ मिटर बढेको देखिन्छ,’ महाशाखाका बाढीविद् पराजुलीले भने, ‘रसुवागढी नाकाबाट करिब १३ किलोमिटर तल विभागको रसुवास्थित स्याफ्रुबेंसी स्वचालित जलमापन केन्द्रमा बिहान ३ः३० बजे एक्कासि बहाव बढेको देखिन्छ । उक्त केन्द्रमा बिहान ३ः३० बजे ३.६५ मिटर रहेको जलसतह एक्कासि ३ः४० बजे ५.३७ मिटर पुगेको र तत्कालै केन्द्रबाट तथ्याङ्क सम्प्रेषण बन्द भएको देखिन्छ । उक्त केन्द्रका गेजरिडरसँग बिहान ६ बजे आसपास सम्पर्क कायम भएको र निजका अनुसार केन्द्र बगाएको जानकारी प्राप्त भएको छ ।’

रसुवागढी नाकाबाट करिब ४१ किलोमिटर तल यस विभागको नुवाकोटस्थित त्रिशूली वेत्रावती स्वचालित जलमापन केन्द्रमा आज बिहान ५ः०० बजे उक्त बहाव पुगेको प्रतिवेदनमा उल्लेख छ ।

‘उक्त केन्द्रमा बिहान ५ः०० बजे १.६० मिटर (बहाव करिब २२० घनमिटर प्रतिसेकेन्ड) रहेको जलसतह एक्कासि बिहान ५ः१० बजे ३.६३ मिटर पुगेको र उच्चतम जलसतह बिहान ५ः५० बजे ४.१८ मिटर (बहाव करिब एक हजार ६०० घनमिटर प्रतिसेकेन्ड) पुगेको देखिन्छ,’प्रतिवेदनमा उल्लेख छ, ‘प्रारम्भिक रुपमा बाढीको ठूलो प्रभाव भोटेकोसी तथा त्रिशूली नदीको रसुवा जिल्लाको क्षेत्रमा परेको र मध्यम प्रभाव नुवाकोट जिल्लाको त्रिशूली नदी तटीय क्षेत्रमा परेको तथा सामान्य प्रभाव धादिङ जिल्लाको बूढीगण्डकी दोभान (बेनिघाट) आसपाससम्म पर्ने देखिएकाले तीनवटै जिल्लाका नदी तटीय क्षेत्रमा आज दिउँसोसम्मै सतर्कता जरुरी देखिएकाले बिहान ६ः३० बजे सरोकारवाला तथा नदी तटीय क्षेत्रका आम सर्वसाधारणलाई एसएमएसमार्फत सूचना जारी गरिएको थियो ।’

बाढीविद् पराजुलीले नुवाकोट जिल्लास्थित त्रिशूली नदी बेत्रावती जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास र बढ्दो क्रममा रहेकाले त्रिशूली नदीको तल्लो तटीय आसपासका क्षेत्रमा बस्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउनसमेत अनुरोध गरेका छन् ।

विभागले भोटेकोसी नदी जलाधारको तिब्बतको क्षेत्रमा थुप्रै हिमताल अवस्थित रहेकाले बाढीको सम्भावित कारण पत्ता लगाउन तथा नदी तटीय क्षेत्रमा बाढीको असर आकलनका लागि आज बिहान ७ बजे एसिया–प्यासिफिक क्षेत्रका लागि विकसित गरिएको एक अन्तरिक्ष–आधारित आपत्कालीन प्रतिक्रिया (सेन्टिनल एसिया) प्लेटफर्ममा तत्कालको भू–उपग्रह तस्बिर प्राप्त गर्न  आपत्कालीन अवलोकन अनुरोध जारी गरेको छ ।

जोखिम अझै कायमै

बाढीविद् पराजुलीले विभागले निरन्तर अनुगमन गरिरहेको र हाल बहाव घट्दो क्रममा रहे पनि जोखिम कायम रहेको भन्दै भोटेकोसी तथा त्रिशूली नदी तटीय क्षेत्रका आम सर्वसाधारण तथा सरोकारवालालाई विशेष सतर्कता अपनाउन अनुरोध गरेका छन् ।

‘रसुवा जिल्लास्थित भोटेकोसी नदीमा अवलोकन भएको बाढी तिब्बतको क्षेत्रबाट उत्पन्न भएको र हाल घट्दो क्रममा रहेको भए पनि सम्भावित जोखिमलाई ध्यानमा राखी त्रिशूली नदीको रसुवागढीदेखि धादिङ जिल्लाको बेनिघाटसम्म त्रिशूली नदी तटीय क्षेत्रमा अर्को सूचना जारी नहुँदासम्म सतर्कता अपनाइराख्न अनुरोध गर्दछौँ,’ उनले भने, ‘यस सम्बन्धमा विभागबाट थप अध्ययन भइरहेकाले निरन्तर अपडेट जारी हुँदै जानेछ ।’

आगामी तीन दिन बाढीको जोखिम छैनः विज्ञ

आगामी तीन दिनसम्म बाढीको कुनै जोखिम नरहेको विभागका बाढीविज्ञ र मौसमविज्ञहरुले जानकारी दिनुभएको छ । मौसमविद् अधिकारीले आगामी तीन दिनसम्म मुलुुकको अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको स्म्भावना रहे पनि भारीदेखि अति भारी वर्षाको सम्भावना नरहेको जानकारी दिए । बाढीविद् पराजुलीले तीन दिनसम्म देशभर बाढीको जोखिम नरहेको बताए ।

अझै १८ जाना  बेपत्ता

रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा आज बिहान आएको बाढीमा परी नेपाली र चिनियाँ नागरिकसहित १८ जना बेपत्ता भएका छन् । सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले रसुवागढी नाकामा रहेको भन्सार यार्डमा काम गर्नेमध्ये नौ नेपाली, इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत तीन प्रहरी र छ चिनियाँ गरी १८ जना सम्पर्कविहीन भएका जानकारी दिए ।

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसमेत बगाएको छ । बाढीमा परी इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत रामेछापको लिखु तामाकोसी गाउँपालिका–४ का ४२ वर्षीय प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, बाराको फेटा गाउँपालिका–१ का २४ वर्षीय प्रहरी जवान मुन्ना ठाकुर र बझाङको बुङ्गल नगरपालिका–९ का २३ वर्षीय प्रहरी जवान लोकेन्द्र बोहोरा बेपत्ता भएका छन् ।

बाढीमा परी ६ चिनियाँ नागरिक पनि बेपत्ता भएका छन् । उनीहरु सबै पुरुष हुन् । चिनियाँ नागरिकको विस्तृत पहिचान खुल्न बाँकी छ । बाढीमै परी बर्दियाका ३६ वर्षीय जिपन चौधरी, ३५ वर्षीय सन्तोष दइत, २५ वर्षीय बुद्धिराम थारू, २४ वर्षीय लक्ष्मीनारायण थारू र ३० वर्षीय सुरेश थारू तथा बागलुङका नरेन्द्र विक, सिन्धुपाल्चोकका कन्टेनर चालक फुर्वा लामा, हाइलक्स जिप चालक गोविन्द मोक्तान र लोकमान तामाङ बेपत्ता भएका छन् ।

बाढीले उत्तरगया गाउँपालिका–१ मैलुङस्थित गल्छी बेत्रावती–स्याफ्रुबेँसी सडकखण्डअन्तर्गत त्रिशूली नदीमा रहेको ‘बेलीब्रिज’ बगाएको छ । सो स्थान नजिकै भर्खर निर्माण भएको पक्की पुलमा बाढीसहित लेदो माटो जम्मा भएको छ । त्रिशूली थ्रिए जलविद्युत् आयोजनाको बाँधमा पनि क्षति पुगेको छ ।

१ करोड ४४ लाख रकमसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको बौद्धबाट  १ करोड ४४ लाख रकमसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट गएको टोलीले सोमबार राति बौद्ध नयाँ बस्तीस्थित एक घरबाट चिनियाँ नागरिक वाङ जिनलाई १ करोड ४४ लाख रकमसहित पक्राउ गरेको हो ।

बौद्ध नयाँ बस्ती स्थित एक घरमा कोठा भाडामा लिइ बस्ने व्यक्तिको कोठामा श्रोत नखुलेको नेपाली रकमको आर्थिक कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी टोली त्यहाँ गएको थियो । यसकाबारेमा थप अनसन्धान भइरहेको परिसरका प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।

विदेशी मुद्रा सञ्चिती २५ खर्ब ६९ अर्ब

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्ममा चालु खाता तीन खर्ब सात अर्ब ३१ करोडले बचतमा देखिएको छ ।

नेपाल राष्ट्र बैङ्कले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनासम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार यो अवधिमा ११ अर्ब ९ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी आठ अर्ब २४ करोड रहेको थियो ।

त्यस्तै गत जेठ मसान्तसम्ममा शोधनान्तर स्थिति चार खर्ब ९१ अर्ब ४४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति चार खर्ब २५ अर्ब ६७ करोडले बचतमा रहेको थियो ।

कुल विदेशी विनिमय सञ्चितिमा पनि उल्लेख्य सुधार देखिएको छ । चालु आर्थिक वर्ष सुरु हुँदै गर्दा अर्थात् २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति पछिल्लो ११ महिनामा २५ दशमलव ९ प्रतिशतले वृद्धि भई २५ खर्ब ६९ अर्ब ३८ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २२ खर्ब ७४ अर्ब ४७ करोड र बैंक तथा वित्तीय संस्थासँग रहेको सञ्चिती दुई खर्ब ९४ अर्ब ९२ करोड रहेको छ । गत जेठ मसान्तसम्मको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २० दमलव पाँच प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षको ११ महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १७ दशमलव छ महिनाको वस्तु आयात र १४ दशमलव ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैङ्कले जनाएको छ ।

रास्वपा र राप्रपाद्वारा संसद बैठक बहिष्कार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार पनि सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् । बैठक सुरु हुनेबित्तिकै दुवै पार्टीका सांसदहरुले उठेर विरोध जनाएका थिए ।

रास्वापकी सांसद सोबिता गौतमले ‘भिजिट भिसा’ प्रकरणमा कैयौँ दिनदेखि आवाज उठाउँदै आए पनि सरकार गम्भीर नभएको बताइन् । उनले उच्चस्तरीय छानबिन समितिको माग गर्दै विरोधस्वरुप आज पनि संसद् बहिष्कार गरेको बताइन् ।

‘रास्वपा केही समयदेखि भिजिट भिसाको दुरुपयोग गरी मानव तस्करी गर्ने कार्यविरुद्ध संसदीय छानबिन समिति वा उच्चस्तरीय जाँचबुझ आयोगको मागसहित सदनमा विरोधमा उभिएको छ,’ उनले भनिन् ।

सांसद गौतमले अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि जोडिएको गम्भीर विषयमा पनि उच्चस्तरीय छानबिन समिति नबनाएर स्वार्थ बाझिने अनुपयुक्त पात्रको नेतृत्वमा एउटा सामान्य प्रशासनिक समिति बनाएको विषयमा खेद र आपत्ति रहेको बताइन् ।

यसैगरी, राप्रपाका सांसद ज्ञानबहादुर शाहीले लामो समयदेखि संसदा भिजिट भिसा प्रकरणसम्बन्धी आवाज उठाइरहे पनि सरकारले सुन्न नखोजिरहेको बताए ।

उनले भने, ‘हामीले सरकारविरुद्ध गर्न खोजेको गतिविधि होइन । यो मानव बेचबिखन विरुद्धको अभियान हो । छानबिन समिति बनोस् । यहाँ सङ्ख्याका आधारमा होइन अपराधका आधारमा छानबिन समिति बनोस् ।’

नेपालको व्यापार घाटा झण्डै १४ खर्ब

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको अवधिमा मुलुकको कूल व्यापार घाटा झण्डै १४ खर्ब बराबर पुगेको हो ।

नेपाल राष्ट्र बैङ्कले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार, कुल वस्तु व्यापार घाटा ६.३ प्रतिशतले वृद्धि भई १३ खर्ब ९७ अर्ब २३ करोड बराबर पुगेको छ । कुल वस्तु आयात १३ दशमलव एक प्रतिशतले वृद्धि भई १६ खर्ब ४४ अर्ब ८० करोड पुगेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो आयातमा एक दशमलव आठ प्रतिशतले कमी आएको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः सात दशमलव ६ प्रतिशत, १५ दशमलव तीन प्रतिशत र २९ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा भटमासको कच्चा तेल, चामल/धान यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, खाने तेल, स्पन्ज आइरनलगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, सुन, विद्युत्तीय उपकरण, रासायनिक मल, कोइला लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ भैरहवा, विराटनगर, वीरगञ्ज, सुख्खा बन्दरगाह, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा र त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । जलेश्वर र त्रिभुवन अन्तरराष्ट्रिय भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु एक खर्ब ६७ अर्ब ३० करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात एक खर्ब ३७ अर्ब १३ करोड बराबरको भएको थियो ।

आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा कुल वस्तु निर्यात ७७ दशमलव आठ प्रतिशतले वृद्धि भई  दुई खर्ब ४७ अर्ब ५७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा तीन प्रतिशतले कमी आएको थियो ।

गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ११२ प्रतिशत, तीन प्रतिशत र चार दशमलव चार प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो, जुटका सामान, चिया, खोटो लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिङ्क सिट, जुस, तयारी पोसाक, अलैंचीलगायतका वस्तुको निर्यात घटेको छ ।

११ महिनामा भित्रियो १५ खर्ब रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ जेठसम्ममा भित्रिएको यस्तो रेमिट्यान्स गत वर्षको सोही अवधिको तुलनामा १५.५ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको थियो । जेठ महिनामा मात्रै रेमिट्यान्स १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँको भित्रिएको छ । अघिल्लो वर्षको जेठमा यस्तो रेमिट्यान्स आप्रवाह १ खर्ब २८ अर्ब ९१ करोड रुपैयाँको भित्रिएको थियो । जेठसमम्ममा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले वृद्धि भएर ११ अर्ब २५ करोड पुगेको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १६ खर्ब ६८ अर्ब ३० करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.१४४३ अर्ब १० करोड रहेको थियो । जेठसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४ लाख ५२ हजार ३२४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ०८ हजार ०६७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४ लाख २१ हजार ३५६ र २ लाख ६१ लाख २१० रहेको थियो ।

न्यायापालिकाप्रति जनविश्वास दिलाउने काम गरिरहेका छौंः प्रधानन्यायाधीश राउत

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेको बताएका छन् ।

सर्वोच्च अदालतमा मंगलबार आयोजित गोला प्रक्रियाबारे पत्रकारलाई जानकारी गराउँदै प्रधानन्यायाधीश राउतले भने, ‘संविधानले प्रधानन्यायाधीशसहित २१ न्यायाधीशको व्यवस्था गरेको भए पनि पूर्ण रुपमा न्यायाधीश हुन सकेको छैन, आज तीन जना आएपछि २० जना भयौँ, छिटोछरितो न्याय दिने दायित्व निर्वाह गरिरहेका छौँ, कसरी राम्रो गर्न सकिन्छ भनेर दैनिक निर्मम समीक्षा गर्ने गरेका छौँ ।’

ऊर्जावान् तीन न्यायाधीश भित्राउने अवसर मिलेको र यो सङ्ख्या थप भएसँगै न्यायापालिकाप्रतिका जनताको विश्वास र चाँडो न्याय सम्पादनका लागि काममा ध्यान दिन सबैलाई आग्रहसमेत गरे ।

सर्वोच्च अदालतको आजसम्म जम्मा मुद्दा २४ हजार ८४६ रहेका छन् । त्यसमध्ये पाँच वर्ष नाघेका मुद्दाको सङ्ख्या एक हजार ४११ रहेका छन् । दुई वर्ष नाघेका मुद्दाको सङ्ख्या नौ हजार २७२ रहेको छ । आठ वर्ष नाघेका एउटा मुद्दा थियो । त्यो आज निर्णय सुनाउने भएर टुङ्गिँदैछ ।

सर्वोच्चका नवनियुक्त तीन न्यायाधीशले लिए शपथ

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सर्वोच्च अदालतका लागि नवनियुक्त तीन न्यायाधीशलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् ।

सर्वोच्च अदालतमा मंगलबार आयोजित समारोहमा प्रधानन्यायाधीश राउतले नवनियुक्ति न्यायाधीशहरु मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई शपथग्रहण गराएका हुन् ।

न्याय परिषदको सिफारिसमा संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार उनीहरुलाई सर्वोच्चको न्यायाधीश नियुक्त गरेका थिए । शपथग्रहणपश्चात आजैदेखि तीन न्यायाधीशले कार्यभार सम्हालेका छन् ।

यसैबीच, प्रधानन्यायाधीश राउतले नवनियुक्त न्याय परिषद् सदस्य महेशकुमार नेपाललाई पद तथा गोपनीयताको शपथग्रहण गराए । परिषद्को अध्यक्षको हैसियतले प्रधानन्यायाधीशले न्याय परिषद्का सदस्य नेपाललाई शपथ ग्रहण गराएका हुन् ।

सत्ता साझेदार दुई दलका शीर्ष नेताहरुबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार प्रमुख दुुई दलका शीर्ष नेताहरुबीच आज छलफल भएको छ ।

प्रधानमन्त्री निवास, बालुुवाटारमा जारी बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, नेकपा (एमाले) महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णुुप्रसाद रिमालसहभागी छन् । उनीहरुबीच समसामयिक परिस्थिति, बाढी पहिरो र डुुबानको क्षति तथा उद्धारलगायत विषयमा छलफल भइरहेको बताइएको छ ।

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता(सूचीसहित)

रसुवा । नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढीमा परेर १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तीन प्रहरी र ६ चिनियाँ नागरिक समेत रहेका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।

ल्हेन्दे खोलामा आएको बाढीमा फसेका नौ जनाको सकुशल उद्धार गरिएको र ११ जनाको उद्धार गर्न बाँकी रहेको जानकारी दिँदै प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले उनीहरुको उद्धारको प्रयास जारी रहेको बताए ।

यसैबीच नेपाली सेनाको हेलिकोप्टर टिमुरेस्थित बाढीग्रस्त क्षेत्रमा पुगेर अहिले बाढीमा फसेकाहरुको उद्धार कार्यमा सक्रिय रहेको प्रजिअ पौडेलले बताए ।

ल्हेन्दे खोलामा आएको बाढीले नेपाल–चीन सिमामा रहेको मितेरी पुल बगाएको छ । बाढीका कारण स्याँफ्रुबेँसी–रसुवागढी सडक ठाउँ ठाउँमा क्षति पुग्दा यातायात सेवा अवरुद्ध भएको छ । बाढीले एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको बाँधमा क्षति पुगेको छ भने टिमुरेस्थित भन्सार याड र त्यसभित्र रहेका मालवाहक ट्रकमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका तीन कर्मचारी छन् । सम्पर्कविहीन हुनेमा टिमुरे रसुवामा कार्यरत जिल्ला रामेछाप लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ४ बस्ने का ४२ वर्षका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान टिमुरे रसुवामा कार्यरत जिल्ला बारा फेटा गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष २४ का मुन्ना ठाकुर  र लाङटाङ रसुवा दरबन्दी भइ इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत जिल्ला बझाङ बुंगल नगरपालिका वडा नम्बर ९ का २३ का प्रहरी जवान लोकेन्द्र बोहोरा छन् ।

त्यस्तै, ६ जना चिनियाँ नागरिक रहेका छन् । त्यस्तै, बर्दियाका वर्ष ३६ का जिपन चौधरी, वर्ष ३५ का सन्तोष दहीत, वर्ष २५ का बुद्धिराम थारु, वर्ष २४ का लक्ष्मीनारायण थारु, वर्ष ३० का सुरेश थारु, बाग्लुङका नरेन्द्र बिक, सिन्धुपाल्चोकका कन्टेनर डिब्बा चालक वर्ष नखुलेको फुर्वा लामा, मिक्चर चालक गोविन्द मोक्तान र हाइलक्स चालक लोकमान तामाङ छन् । उनीहरुको खोजी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।