`

किएभमा आक्रमण भएको बेला रुबियो र रुसका लाभरोभबीच मलेसियामा भेट हुने

क्वालालम्पुर । मस्कोले युक्रेनमा लगातार दुई दिनमा दोस्रो ठूलो आक्रमण गरेपछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बिहीबार मलेसियामा आफ्ना रुसी समकक्षीसँग भेट गर्ने भएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० भन्दा बढी देशलाई दण्डात्मक भन्सार शुल्क लगाउने धम्की दिँदै आफ्नो व्यापार युद्धलाई बढाएको बेला विदेशमन्त्रीका रूपमा रुबियोको पहिलो एसिया भ्रमण आएको छ ।

रुबियोले क्वालालम्पुरमा दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) का विदेशमन्त्रीहरूको बैठकको साइडलाइनमा रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग भेट गर्ने विदेश मन्त्रालयलका एक वरिष्ठ अधिकारीले बताए ।

पहिले आउने मिसाइलहरूको चेतावनी र करिब एक दर्जन घाइते भएको रिपोर्ट गरेपछि किएभमा रुसी आक्रमणबाट कम्तीमा दुई जनाको ज्यान गएको सहरको सैन्य प्रशासनले बिहीबार बताएको छ ।

किएभमा एएफपीका पत्रकारहरूले रातभरि सहरमा चर्को आवाजमा विस्फोट भएको सुनेका थिए र हवाई रक्षा प्रणालीबाट आकाश उज्यालो भएको देखेका थिए ।

एएफपीका एक रिपोर्टरका अनुसार राजधानीका दर्जनौँ बासिन्दाले केन्द्रीय मेट्रो स्टेसनमा शरण लिएका थिए । तीन वर्षभन्दा लामो युद्धमा युक्रेनमा रुसले गरेको सबैभन्दा ठूलो मिसाइल र ड्रोन आक्रमणको एक दिनपछि र ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि अपमानजनक आक्रमण गरेपछि यो आक्रमण भएको हो ।

अमेरिकाले आफ्नो रक्षाका लागि किएभलाई थप हतियार पठाउने भन्दै ट्रम्पले पुटिनमाथि युक्रेनका बारेमा ‘मूर्खतापूर्ण’ कुरा गरेको आरोप लगाए ।

रुबियो र लाभरोभले पछिल्लो पटक फेब्रुअरीमा साउदी अरबमा ट्रम्प र पुटिनबीचको मेलमिलापपछि व्यक्तिगत रूपमा भेट गरेका छन् । दुई कूटनीतिज्ञले फोनमा पनि धेरै पटक कुरा गरेका छन् ।

मलेसियापछि लाभरोभले यस सप्ताहन्तमा उत्तर कोरियाको भ्रमण गर्नेछन् । । यो दुई देशले सैन्य सम्बन्ध गहिरो पार्दै मस्कोका शीर्ष अधिकारीहरूको उच्च–स्तरीय भ्रमणको शृङ्खलामा पछिल्लो भ्रमण हो ।

किएभको सेनालाई हटाउन र रूसी सेनालाई तोपखाना र मिसाइलहरू प्रदान गर्न रूसको कुस्र्क क्षेत्रमा हजारौँ सेना पठाउँदै प्योङयाङ आफ्नो युक्रेन आक्रमणको समयमा क्रेमलिनको मुख्य सहयोगीहरू मध्ये एकका रूपमा देखा परेको छ ।

कृषिमा पकेट क्षेत्र तोकिएसँगै तिलोत्तमाका कृषक लाभान्वित

तिलोत्तमा (रुपन्देही) । रुपन्देहीको तिलोत्तमा–१४ का कृषक नरिश्वर सापकोटा पहिले करिब पाँच बिघामा व्यावसायिक तरकारीखेती गर्थे। पछिल्लो समय उनले खेती विस्तार गरी ३० बिघा पुर्‍याएका छन्। उनी समूहमा आबद्ध भएर तरकारीखेती गर्दै आएका हुन्। उनीसँगै समूहमा ६१ जना कृषक आबद्ध छन्।

‘नव सूर्य किरण तरकारी उत्पादन कृषक समूह’को अध्यक्षसमेत रहनुभएका सापकोटाले समूहले रूपमा वार्षिक एक करोडभन्दा बढीको तरकारी उत्पादन गरिरहेको जानकारी दिए। उनले भने, ‘हामीले उत्पादन गर्ने तरकारीमा विषादी प्रयोग नहुने भएकाले उपभोक्ताको रोजाइमा परेको छ। व्यवसायी तरकारी लिन बारीमै आइपुग्ने र बुटवल, मणिग्राम, भैरहवालगायत ठाउँमा बिक्रीका लागि लैजाने गरेका छन्।’

तिलोत्तमा नगरपालिका–१४ लाई २०७५ सालमा तरकारी पकेट क्षेत्रका रूपमा तोकेपछि यहाँका किसान लाभान्वित भएका हुन्। तिलोत्तमा–१४ का मुनीलाल लोधले दुर्गानगरमा तरकारीखेती गर्न थालेको धेरै वर्ष भइसकेको छ। वडा नं १४ लाई पकेट क्षेत्र तोकिनुअघि परम्परागत रूपमा खेती गर्दै आएका उनले अहिले करिब डेढ बिघामा व्यावसायिक तरकारीखेती विस्तार गरेका छन्।

नव सूर्य किरण तरकारी उत्पादन कृषक समूहमा आबद्ध लोधले नगरपालिकाले पकेट क्षेत्र तोकेर उत्पादनका लागि आवश्यक मल, बीउ, उपकरण उपलब्ध गराएपछि सहज भएको बताए। यहाँ उत्पादित तरकारी रुपन्देहीको ठुटीपिल, भलबारी, ड्राइभरटोल, बुटवललगायत क्षेत्रमा पुग्ने गरेको उनले जानकारी दिए।

तिलोत्तमा–१२ लाई बाख्राको पकेट क्षेत्र तोकिएको छ। यहाँका किसान नगरपालिकाले दिएको अनुदानमार्फत सहज रूपमा बाख्रापालनमार्फ जीविकोपार्जन गरिरहेका छन्। पहिले थोरै सङ्ख्यामा बाख्रापालन गरेका किसान पकेट क्षेत्र तोकेपछि सङ्ख्यात्मक रूपमा बढेका कृषक विष्णु यादवले उल्लेख गरे।

वि.सं. २०७५ मा तिलोत्तमा–१२ लाई मकै पकेट क्षेत्र घोषणा गरिएको थियो। गत आर्थिक वर्षदेखि यो वडा बाख्राको पकेट क्षेत्रका रूपमा घोषणा गरिएसँगै किसान बाख्रापालनमा आकर्षित हुन थालेका कृषि शाखाले जनाएको छ। यस वडामा मकै खेतीभन्दा बाख्रापालनतर्फ कृषक आकर्षित भएका कृषि शाखा प्रमुख दोमलाल भुसालले जानकारी दिए।

नगरपालिकाले पकेट क्षेत्र भनेर तोके पनि यस्ता योजना कृषकको चाहनामा आधारित रहने भएकाले अलिे बाख्रा पकेट क्षेत्र ताकिएको उनले बताए। उनले भने, ‘हरेक आर्थिक वर्षमा कृषकहरूको निवेदन र योजनाको आधारमा पकेट क्षेत्र तेकिन्छ। कृषकको योजना र निवेदन परेन भने निवेदनका आधारमा अन्य क्षेत्रमा पनि जान सकिन्छ।’ कृषकका लागि वितरण गरिएका कृषि औजारको सही सदुपयोग नहुँदा पकेट क्षेत्र परिवर्तन गर्न बाध्य हुनुपरेको भुसालको अनुभव छ।

नगरले ‘एक वडा एक पकेट क्षेत्र’को योजना अघि सारेको नगरप्रमुख रामकृष्ण खाँणले जानकारी दिए। ‘पछिल्लो समय नगरभित्र खेतीयोग्य जमिनको क्षेत्रफल क्रमशः घट्दै गएको छ। रूपन्देहीबाट र रूपन्देही बाहिबाट बसाइँसराइ गरेर आउनेको सङ्ख्या बढ्दै जाँदा तिलोत्तमाको खेतीयोग्य जमिन घडेरीका रूपमा बिक्री हुन थालेपछि क्षेत्रफल घट्दै गएको हो’, उनले भने।

सोही कारणले सबै वडा पकेट क्षेत्रमा समेटन नसकिएको खाँणले बताए । उनका अनुसार तिलोत्तमा–१, २, ३, ४ बाहेक अन्य सबै वडा कुनै न कुनै पकेट क्षेत्रका रूपमा तोकिएका छन्। यी वडाहरूमा कृषिभन्दा आवसीय क्षेत्र बढी छन्।

यीबाहेक अन्य १३ वटा वडा फरकफरक पकेट क्षेत्रका रूपमा तमेकिएको प्रमुख खाँणले जानकारी दिए। उनका अनुसार वडा नं ६ दूध, वडा नं ८ तेल्हन, वडा नं १० मकै, वडा नं ११ च्याउ, वडा नं १३ माछा पकेट क्षेत्रका रूपमा छन्। वडा नं १४ तरकारी, वडा नं १७ खाद्यान्नमा पकेट क्षेत्रका रूपमा तोकिएका हुन्।

नीति तथा कार्यक्रममा तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षमा कृषिलाई प्राथमिकता दिएको छ। कृषितर्फ ‘वैज्ञानिक कृषि प्रणालीको सम्मान दिगो कृषि तिलोत्तमाको अभियान’अन्तर्गत परम्परागत खेती प्रणालीलाई निरुत्साहित गर्दै आधुनिक एवं वैज्ञानिक खेती प्रणाली अवलम्बन गर्न कृषकलाई प्रोत्साहित गर्ने विषय समावेश छ।

युवा पुस्तालाई कृषि क्षेत्रमा आकर्षित गर्न कृषि उत्पादन र कृषि उद्यम गर्ने उत्कृष्ट कृषक एवं उद्यमीलाई पुरस्कृत गर्ने, विगतमा घोषणा गरिएका अन्नबाली, तरकारी, धान, मकै, गहुँ, तेलहन, च्याउ, बाख्रा, दुग्ध उत्पादन क्षेत्र तथा मत्स्य उत्पादन पकेट क्षेत्रलाई थप व्यवस्थित गर्ने गरी कार्यक्रमलाई निरन्तरता दिन कार्यक्रममा समेटिएको नगरप्रमुख खाँणले बताए।

उहाँका अनुसार पशुको नश्ल सुधारका लागि कृत्रिम गर्भाधान, बाँझोपनको उपचार, विभिन्न रोगहरु विरुद्धका भ्याक्सिन दिने कार्यक्रम थप व्यवस्थित गरी प्रभावकारी बनाइने, ‘एक खेतीः बहुआय नीति’ अन्तर्गत पुष्पखेती गर्नेलाई मौरीपालन गर्न मौरीको घार तथा धान खेतीमा हाँसपालन गर्न हाँसका चल्ला अनुदानमा उपलब्ध गराउने, ‘गरौँ चक्लाबन्दी खेती’ अभियानअन्तर्गत १० बिघा वा सोभन्दा बढी क्षेत्रफलको जग्गा चक्लाबन्दी गरी खेती गर्ने र २० बिघा क्षेत्रफलभन्दा बढी जग्गामा समूह बनाइ सामूहिक खेती गर्नेलाई प्रोत्साहन गर्नेलगायत कार्यक्रम समेटिएका छन्।

त्रिविको वार्षिक साधारणसभाबाट ६३औँ ग्रेस लिष्ट पारित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारणसभा बैठकले विभिन्न संकाय र तहमा उत्तिर्ण भएका ८९ हजार एक सय ९१ विद्यार्थीहरुसहितको ६३ औँ ग्रेसलिष्ट पारित गरेको छ ।

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार बसेको बैठकले रजिष्ट्रार प्राडा केदारप्रसाद रिजालद्वारा प्रस्तुत ग्रेस लिष्ट पारित गरेको हो ।

बैठकमा आर्थिक वर्ष २०८२ /८३ का लागि बजेट तथा कार्यक्रम प्रस्तुत भएको छ । कुलपति ओलीले विश्वविद्यालयलाई २१औँ शताब्दीको समय सुहाउँदो प्रतिस्पर्धी र सक्षम विश्वविद्यालयका रुपमा स्थापित गर्न आग्रह गरे ।

शिक्षा, सहकुलपति एवं विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्प पूरा गर्न शिक्षा क्षेत्रको महत्वपूर्ण भूमिका हुने भएकाले विश्वविद्यालयले त्यस अनुसार काम गर्नुपर्नेमा जोड दिए ।

नवनियुक्त उपकुलपति प्राडा दीपक अर्यालले विश्वविद्यालयमा कुल विद्यार्थीको कम्तीमा एक प्रतिशत (करिव चार हजार) विदेशी विद्यार्थी हुने गरी लाग्नुपर्ने बताए ।

मनसुनजन्य विपद्बाट तनहुँमा ६६ हजार नागरिक प्रभावित हुने अनुमान

दमौली। मनसुनजन्य विपद्बाट यस वर्ष तनहुँमा ६६ हजारभन्दा बढी नागरिक प्रभावित हुने अनुमान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले तयार गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८२ बमोजिम जिल्लामा ६६ हजार तीन सय ५० जना प्रभावित हुने अनुमान गरिएको हो ।

यस वर्षको मनसुनबाट प्रभावित हुने जनसङ्ख्या मुलुकभर १२ लाख ५० हजार अनुमान गरिएकामध्ये गण्डकी प्रदेशमा ६५ हजार छ सय ९९ परिवारका दुई लाख ८७ हजार एक सय प्रभावित हुने आँकलन गरिएको विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए।

मनसुनजन्य जोखिमको हिसाबले गण्डकी प्रदेशमा तनहुँलाई पहिलो जोखिमयुक्त जिल्लाका रूपमा राखिएको उनको भनाइ छ । मनसुनजन्य विपद्बाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न जिल्लाको प्रतिकार्य क्षमताको वृद्धि गरी प्रभावितहरूको आपतकालीन आवश्यकतालाई समयमा प्रभावकारी र समन्वयात्मक ढङ्गबाट पूरा गर्न प्रतिकार्य योजना बनाइएको अधिकारीले उल्लेख गरे ।

प्रतिकार्य योजनामा जिल्लाभित्रमा विगतमा घटेका मनसुनजन्य विपद्का घटना तथा सोबाट भएका क्षति विश्लेषण गरी प्राथमिकता निर्धारण गरिएको छ । विपद्मा खोज तथा उद्धारका लागि तत्काल परिचालित हुनु र प्रतिकार्यमा हुने ढिलाइ तथा अन्योलता हटाउन जिम्मेवार तथा सहयोगी निकायको स्पष्ट जिम्मेवारी तोकी प्रभावकारी समन्वय तथा सञ्चार कायम गरिएको प्रजिअ अधिकारीले बताए।

उनका अनुसार जोखिमको प्राथमिकताका आधारमा व्यास नगरपालिकामा पहिरो पहिलो र बाढी दोस्रो, भानु नगरपालिकामा बाढी पहिलो र पहिरो दोस्रो, भिमाद नगरपालिकामा पहिरो पहिलो र बाढी दोस्रो, शुक्लागण्डकी नगरपालिकामा पहिरो पहिलो र बाढी दोस्रो निर्धारण गरिएको छ ।

देवघाट गाउँपालिकामा बाढी पहिलो र पहिरो दोस्रो, बन्दीपुर गाउँपालिकामा पहिरो पहिलो र आगलागी दोस्रो, घिरिङ गाउँपालिकामा पहिरो पहिलो र बाढी दोस्रो, ऋषिङ गाउँपालिकामा पहिरो पहिलो र बाढी दोस्रो, आँबुखैरेनी गाउँपालिकामा पहिरो पहिलो र बाढी दोस्रो र म्याग्दे गाउँपालिकामा पहिरो पहिलो र बाढी दोस्रो निर्धारण गरिएको छ ।

चालु आर्थिक वर्षमा मनसुनजन्य विपद्का घटनाहरूका आधारमा जिल्लामा जोखिमको प्राथमिकतामा पहिरो, बाढी, आगलागी, महामारी, चट्याङ, हावाहुरी र सुक्खा खडेरी रहेका प्रजिअ अधिकारीले जानकारी दिए ।

उनका अनुसार मनसुनजन्य विपद्का घटनामा उद्धार तथा राहतमा प्रयोग गर्न खुला स्थान र आश्रयस्थल तयारी अवस्थामा छन् ।

एउटा आम नागरिकको नाताले रविमाथि राज्यबाट अन्याय भएको छः मनिषा कोइराला

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय स्वतन्त्रत पार्टीका सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेकी छन् । बिहीबार रास्वपाको केन्द्रीय कार्यालय पुगेर कोइरालाले हस्ताक्षर गरेकी हुन् ।

हस्ताक्षर गरेपछि कोइरालाले रविमाथि राज्यबाट अन्याय र दुर्व्यवहार भइरहेको बताइन् । उनले राज्यबाट भइरहेको अन्याय र दुव्र्यवहारविरुद्ध आवाज उठाएको बताइन् ।

उनले भनिन्, ‘म कुनै पनि पार्टीमा आबद्ध छैन । एउटा आम नागरिकको नाताले राज्यबाट अन्याय र दुर्व्यवहार  भइरहेको छ त्यसकोविरुद्ध आवाज उठाउन आएकी हुँ । जसले पनि समाचार हेरिरहेको छ, जसले पनि बुझिरहेको छ, पक्कै पनि रविमाथि दुर्व्यवहार  भइरहेको छ ।’

बाँझिएका बारीहरुमा उखुखेती लगाउँदा…

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका –४ दिगामका कृषकले व्यावसायिक उखुखेती गरेर राम्रो आम्दानी लिइरहेका छन् । सिंचाइका अभावमा बाँझिएका बारीहरुमा यतिबेला उखुखेतीले ढपक्कै बनेका छन् ।

छत्रकोट –४, दिगामका कृषक रामकृष्ण न्यौपानेलाई यतिबेला त्यही उखुबाट निस्किएको रसबाट गुड र खुदो उत्पादन गरेर बिक्री गर्न भ्याइनभ्याई छ । बिहान उज्यालो हुनासाथ बेलुकी अबेरसम्म पनि उनको परिवार गुड र खुदो उत्पादन गर्नमा ब्यस्त देखिन्छन् ।

गुड र खुदो बिक्री गरेर पाँच महिनाका अवधिमा न्यौपानेले झण्डै एक करोड रुपैयाँको कारोबार गरिसकेका छन्। गाउँबाट धेरै युवाहरु रोजगारीको खोजीमा भौतारी रहेको अबस्थामा छत्रकोट –४, दिगामका युवाहरु रामकृष्ण न्यौपाने, किरण न्यौपाने, जगदीश पाण्डे यतिबेला गाउँमै उखु खेतीमा रमाइरहेका हुन् ।

उनीहरु तीनै जनाले संयुक्त रुपमा एक करोडको योजना बनाएर आफ्नै लगानीमा गाउँमै तीन वर्षदेखि व्यावसायिक तरिकाबाट उखु उत्पादन गरेर उद्योग स्थापना गरेका छन् । त्यही उद्योगबाट यतिबेला गुड र खुदो उत्पादन गर्दै आएका छन् ।

उखुको रसबाट बनेको गुड र खुदो बिक्री गरेर तीन जना युवाहरु आर्थिक संमृद्धिको खोजीमा जुटन थालेका हुन् । उनीहरुले तीन सय रोपनी जग्गा भाडमा लिएर उखुखेती गर्न शुरु गरेका हुन् । गाउँमै उखु उद्योग स्थापना गरेर उनीहरुले उखुको रसलाई विविधिकरण गर्दै आएका छन् ।

आधुनिक मेशिनबाट पेलीएको उखुको रसलाई प्रशोधन गरि गुड र खुदोको ब्रान्डिङ् गरिएको छ । उनीहरुले कम्पनी मार्फत गाउँका एक सय २५ भन्दा बढी किसानहरुको उखु खरिद गरेर खुदो र गुड उत्पादन गर्दै आएका छन् ।

कृषि ज्ञान केन्द्र गुल्मीले न्यौपालेलाई उखु प्रशोधनका लागि आधुनिक मेशिन र भट्टी निर्माणका लागि ६ लाख ४५ हजार अनुदान रकम उपलब्ध गराएको छ । उक्त अनुदान रकममा थप गरेर उनीहरुले १२ लाख भन्दा बढी लगानिमा उखु प्रशोधनका लागि मेशिन जडान गरेका छन् ।

उक्त मेशिनबाट प्रति घण्टा २५ क्वीण्टल उखु पेल्न सक्ने क्षमता रहेको उद्योगका सञ्चालक रामकृष्ण न्यौपानेले बताए । कम्पनीमा उखुको रस प्रशोधन गरेर दैनिक खुदो र गुड बनाउने काम भेरहेकोे छ । यसरी बनाएको गुड प्रतिकिलो तीन सय रुपैयाँ र खुदो प्रतिलिटर एक सय ८० रुपैयाँ मुल्य पर्दछ ।

गाउँले ग्रुपको उद्योगमा हाल १५ जना व्यक्तिहरु प्रत्यक्ष रुपमा रोजगारीमा जोडिएका छन । गाउँमै उखुबाट समृद्धि खोज्न थालेका न्यौपानेले कम्पनी मार्फत पाँच महिनाको अबधिमा एक करोड मुल्य भन्दा बढीको गुड र खुदो बिक्री भैसकेको बताए ।

उनले भने, “बजारमा दिगामको गुड र खुदोको माग धेरै आउने गरेको छ, राम्रो गुणस्तरको भएरहोला उपभोक्ताहरुले पनि खोजी खोजी लैजाने गर्नुहुन्छ, कहिलेकाहीँ काग धेरै भएको समयमा हामीलाई मागल पुराउन पनि धौधौ पर्दछ छ ।”

कृषि ज्ञानकेन्द्र गुल्मीका बरिष्ट बालि संरक्षण अधिकृत प्रकाश मरासिनीले अनुसार यस वर्ष जिल्लामा पाँच करोड ७० लाख बराबरको गुडखुदो बिक्री भैसकेको बताए । जसअनुसार जिल्ला भित्र दुई करोड बराबरको खपत भएको छ भने तीन करोड ७० लाखको गुडखुदो बाहिर निर्यात भएको बताइएको छ ।

जिल्लाको छत्रकोट र रुरुक्षेत्रमा एक सय ९६ हेक्टर क्षेत्रफलमा कृषकहरुले उखु खेती गर्दै आएका छन् । जिल्लामा यस वर्ष पाँच सय ९४ मेट्रिकटन भन्दा धेरै गुड र खुदो उत्पादन भएको छ । रुरुक्षेत्र र छत्रकोटमा कुल छ सय २५ घरधुरीका कृषकहरु व्यावसायिक रुपमा उखु खेतीमा जोडिएक छन् ।

विद्युत् उत्पादन र प्रसारणको व्यवस्था मिलाउन इप्पानको आग्रह

काठमाडौं  । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले गत मङ्गलबार बिहान चीनको तिब्बतदेखि नेपाल प्रवेश गर्ने ल्हेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीले क्षतिग्रस्त संरचनाको पुनःनिर्माण गरी विद्युत् उत्पादन र प्रसारणको व्यवस्था मिलाउन आग्रह गरेको छ ।

इप्पानले बिहीबार विज्ञप्ति जारी गर्दै क्षतिग्रस्त संरचनाको पुनःनिर्माणमा आवश्यक नीतिगत र प्रक्रियागत सहजीकरण गरी विद्युत् उत्पादन र प्रसारण हुने व्यवस्था मिलाउन तथा थप जनधनको क्षति हुन नदिन आवश्यक कार्य अघि बढाउन सरकारसँग आग्रह गरेको हो ।

बाढीले रसुवा र नुवाकोटमा निर्माणाधीन तथा सम्पन्न भइसकेका नेपालतर्फका १० भन्दा बढी जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ । इप्पानका अनुसार उक्त बाढीबाट सञ्चालनमा रहेका करिब २५० मेगावाट हाराहारीका जलविद्युत् आयोजनाको उत्पादन बन्द हुनुका साथै ३५० मेगावाटभन्दा बढी क्षमताका आयोजनाको निर्माण कार्य रोकिएका छन् ।

इप्पानका अध्यक्ष गणेश कार्कीले १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत्, ६० मेगावाटको त्रिशूली–३ ए जलविद्युत्, २५ मेगावाटको त्रिशूली जलविद्युत् केन्द्र, २२ मेगावाटको चिलिमे जलविद्युत्, १४ मेगावाटको माथिल्लो मैलुङ, १४ मेगावाटकै देवीघाट जलविद्युत परियोजना र पाँच मेगावाटको मैलुङ खोला जलविद्युत्को उत्पादन बन्द भएको बताए ।

“यीमध्ये मैलुङ, माथिल्लो मैलुङ, देवीघाट र त्रिशूली जलविद्युत् केन्द्रको विद्युत् प्रवाह हुने त्रिशूली ३ बी हव सवस्टेशनमा क्षति भएका कारण उत्पादन बन्द भएको हो,” उनले भने, “देवीघाट, त्रिशूली र त्रिशूली–३ ए बाहेक अन्य सबै जलविद्युत् आयोजना निजी क्षेत्रसमेतको सहभागितामा निर्माण भएका आयोजना हुन् ।”

उनका अनुसार निर्माणाधीन आयोजनामा २१६ मेगावाटको माथिल्लो त्रिशूली–१, १०० मेगावाटको सुपर त्रिशूली, ३७ मेगावाटको त्रिशूली–३ बी जलविद्युत् आयोजनामा पनि बाढीले क्षति पुर्‍याउँदा यी आयोजनाको निर्माण कार्य रोकिएको छ ।

त्रिशूली–३ बी सवस्टेशन र प्रसारणलाइनमा क्षति पुगेका कारण यहाँबाट उत्पादन हुने विद्युत् आगामी केही दिनसम्म उत्पादन र प्रसारण नहुँदा हरेक दिन करोडौँ रुपैयाँको उत्पादन घाटा व्यहोर्नुपर्ने कार्कीले जानकारी दिए ।

बन्दीपुरमा ‘आफ्नो गाउँः रमाइलो बनाउँ’ कार्यक्रम

तनहुँ । तनहुँ जिल्लाको पर्यटकीय नगरी बन्दीपुरले ‘आफ्नो गाउँः रमाइलो बनाउँ’ अभियानमार्फत हरेक बस्तीलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने भएको छ ।

गाउँपालिकाले पर्यटनलाई उच्च प्राथमिकतामा राख्दै हरेक बस्तीलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न साझेदारी गरी ग्रामीण सौन्दर्यीकरण तथा उज्यालो बन्दीपुर र ढुङ्गा छपनीको कार्यक्रमलाई अगाडि बढाउन लागेको हो ।

गाउँपालिकाले एसियाको ठूलो दाबी गरिएको सिद्धगुफा, पातलद्वार गुफा, शङ्खे गुफालगायत गुफाको संरक्षण र प्रवर्द्धन गरी पर्यटकीय गतिविधि सञ्चालन गर्ने नीति लिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए । उनले भने, “बन्दीपुर स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्यस्थल हो । पर्यटकीय क्षेत्र भएकाले हामीले पर्यटनलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाएका छौँ ।”

थापाले पर्यटनबाट बन्दीपुरको राजस्वलाई वृद्धि गर्न विभिन्न पर्यटकीय पार्क तथा पर्यटनमैत्री खेलमा सहभागी गराइ दस्तुर सङ्कलनलाई विस्तार गरिने बताए । बन्दीपुरभित्र बाइसेचौबिसे राज्यको पालाका चर्चित गढी हुस्लाङकोट, चन्द्रकोटको र अन्य गढीहरूको इतिहास अध्ययन गरी यसको संरक्षण गरिने उनले उल्लेख गरे ।

बन्दीपुरको शिरका रूपमा रहेको थानीमाइ मन्दिर र मुकुन्देश्वरी दरबार संरक्षण गरी मन्दिरको निर्माण गर्ने बताउँदै थापाले पर्यटनमैत्री पूर्वाधार निर्माणलाई मणिमुकुन्दसेन पदमार्ग, ‘रकगार्डेन’ र रकम ‘क्लाइम्बिङ’ निर्माणलाई निरन्तरता दिने जानकारी दिए ।

उनले भने, “पदमार्ग पर्खालले यहाँ आउने पर्यटकको ध्यान खिचेको छ । यसको काम अन्तिम चरणमा पुगिसकेको छ । मिनी ग्रेटवालका रूपमा परिचित यसलाई आगामी वर्षभित्रै निर्माण सम्पन्न गर्नेछौँ ।”

बन्दीपुरको धार्मिक पर्यटन प्रवर्द्धन गर्नका लागि यहाँ परापूर्व कालदेखि मान्दै आइएका मठमन्दिर मुकुन्देश्वरी, थानीमाइ, खड्कमाय, भुत्याइ बराह, सन्तानेश्वर महादेव, मुलपानीका महादेव मन्दिर, तीनधारा महादेव, पहाडपानीको महादेव मन्दिर संरक्षण र सम्वर्द्धन गरी यसलाई पर्यटनसँग जोड्ने लक्ष्य लिइएको थापाले बताए ।

उनले भने, “यहाँको दिगो पर्यटन विकास र पर्यटकको बसाइँ अवधि लामो बनाउनका लागि छिमेकी पालिकाहरूसँगको समन्वयमा विभिन्न पर्यटकीय स्थानको प्रवर्द्धन र विकास गरिनेछ ।”

सहासिक पर्यटनको प्रचुर सम्भावना रहेको ‘रकक्लाइम्बिङ’, ‘प्याराग्लाइडिङ’, ‘साइक्लिङ’, ‘क्यानोनिङ’, जलविहारलगायत खेलको प्रवर्द्धन गर्दै कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिए । उनका अनुसार यहाँ जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्वीटजरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस, अर्जेन्टिनालगायत देशका पर्यटक आउने गरेका छन् ।

खड्गदेवी मन्दिर, थानीमाइ मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणिमुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यका रूपमा सूचीकृत गरेको छ ।

भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थल यहाँ आउने पर्यटकहरूको आकर्षक केन्द्रबिन्दु बन्ने गरेका छन् ।

इयु प्रमुख भोन डेर लेयनले अविश्वासको मतको सामना गर्दै

स्ट्रासबर्ग (फ्रान्स) । युरोपेली सङ्घ (इयु) प्रमुख उर्सुला भोन डेर लेयनले बिहीबार अविश्वास मतको सामना गर्दै छिन् । अविश्वासको मतदान सफल हुने सम्भावना थोरै छ तर उनका समर्थकहरू र उनको नेतृत्व शैलीका बारेमा गुनासोहरू बीचको घर्षण उजागर भएको छ ।

युरोपेली सांसदहरूले स्ट्रासबर्गमा दिउँसो (१०:०० जिएमटी) मा युरोपेली आयोगका अध्यक्ष विरुद्ध अति–दक्षिणपन्थी गुटले चालेको दुर्लभ चुनौतीमा मतदान गर्नेछन् ।

यस हप्ता संसदलाई सम्बोधन गर्दै भोन डेर लेयनले अविश्वास प्रस्तावलाई युरोपलाई विभाजन गर्ने षड्यन्त्र सिद्धान्तले भरिएको प्रयासको रूपमा खारेज गरिन् । उनले यसका समर्थकहरूलाई ‘भ्याक्सर्स विरोधी’ र रूसी राष्ट्रपति भ्लादिमिर ‘पुटिन समर्थकहरू’ भनेर खारेज गरिन् ।

उनले अमेरिकी व्यापार वार्तादेखि युक्रेनमा रुसको युद्धसम्मका चुनौतीहरूको सामना गर्न युरोपले एकता देखाउनु महत्त्वपूर्ण रहेको तर्क गर्दै आफ्नो आयोगमा विश्वास नवीकरण गर्न सांसदहरूलाई आग्रह गरिन् । अविश्वासको प्रस्ताव रोमानियाली अति दक्षिणपन्थी सांसद घेओर्घे पिपेरियाले सुरु गरेका थिए ।

उनले भोन डेर लेयनमाथि कोभिड खोपका लागि वार्ता गर्दा फाइजर फर्मास्युटिकल जायन्टका प्रमुखलाई पठाएको पाठ सन्देशहरूमा पारदर्शिताको कमी भएको आरोप लगाए ।

बहुविध अदालती मुद्दाहरूको केन्द्रविन्दु–सन्देशहरू जारी गर्न आयोगको असफलताले यसका मालिकलाई केन्द्रीकृत र अपारदर्शी निर्णय लिने आरोप लगाउने आलोचकहरूलाई बल दिएको छ ।

यो आयोग प्रमुखका बामपन्थी र केन्द्रमा रहेका परम्परागत सहयोगीहरूबाट बढ्दो अवहेलना पनि हो, जसले आफ्नो गुनासो व्यक्त गर्न मत प्रयोग गरेका छन् ।

– मुख्यधाराको समर्थन –

भोन डेर लेयनको केन्द्र–दक्षिणपन्थी शिविरले आफ्नो एजेन्डालाई अगाडि बढाउन विशेष गरी वातावरणीय नियमहरू फिर्ता लिन अति–दक्षिणपन्थीसँग बढ्दो रूपमा सहकार्य गरेको छ भन्ने प्रमुख गुनासो छ ।

‘कुनै पनि कुरालाई सहज रूपमा लिन सकिँदैन’ भनेर चेतावनी दिनुअघि मध्यमार्गी नेता भ्यालेरी हेयरले यस हप्ता संसदलाई भोन डेर लेयनको आयोग ‘धेरै केन्द्रीकृत र कठोर’ थियो भने ।

‘फाइजरगेट’ बाहेक रोमानियाका पिपेरियाले युरोपेली आयोगले उनको देशको हालैको राष्ट्रपति चुनावमा हस्तक्षेप गरेको आरोप पनि लगाएका छन् । निर्वाचनमा इयुका आलोचक र राष्ट्रवादी जर्ज सिमिओन युरोपेली समर्थक निकुसोर डानसँग पराजित भएका थिए ।

रोमानियाको संवैधानिक अदालतले रुसी हस्तक्षेप र कट्टर दक्षिणपन्थी उम्मेदवारलाई फेरि खडा हुनबाट प्रतिबन्ध लगाइएको आरोप लगाउँदै प्रारम्भिक मतपत्र खारेज गरेपछि मतदान भएको थियो । पिपेरियाको चुनौती सफल हुने सम्भावना कम छ ।

पिपेरियाको चुनौतीलाई फ्रान्सको नेसनल र्याली र हङ्गेरीका राष्ट्रवादी प्रधानमन्त्री भिक्टर ओर्बानको पार्टी दुवै समावेश भएको प्याट्रियट्स फर युरोप समूहसहित अति–दक्षिणपन्थीको समर्थन छ । “जाने समय भयो”, ओर्बानले बुधबार भोन डर लेयनको फोटोसँगै ट्विट गरे ।

तर पिपेरियाको आफ्नै समूह, इसिआर, विभाजित छ । यसको सबैभन्दा ठूलो गुट, इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीको पार्टीले इयु प्रमुखलाई समर्थन गर्ने बताएको छ ।

संसद्मा दुई ठूला समूहहरू, केन्द्र–दक्षिणपन्थी इपिपी र केन्द्र–वाम समाजवादी र डेमोक्रेटहरूले पनि चुनौतीलाई स्पष्ट रूपमा अस्वीकार गरेका छन् । अविश्वासको मत पारित गर्न सबै सांसदहरूको बहुमतको प्रतिनिधित्व गर्ने दुई तिहाई मत चाहिन्छ ।

कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका १० रिठ्ठाबोटमा रहेको चण्डीका आधारभूत विद्यालयलाई घेराबारा गरिएपछि पठनपाठनमा सहजता भएको छ । एकान्तमा रहेको विद्यालयमा पशुचौपाया तथा मानिसहरुले उपद्रो गर्दा विद्यालयमा क्षति पुग्दै आएको अवस्थामा घेराबारा गरिएपछि सहजता भएको हो ।

विद्यालय क्षेत्रमा पशुचौपाया चराउन ल्याउदा पठनपाठनमा असहजता भइरहेको अवस्थामा घेराबाराले सहजता भएको विद्यालयका प्रधानाध्यापक प्रशुराम काफ्लेले बताए । मुलबाटो छेउको विद्यालय भएकाले घेराबारा भएपछि विद्यालय सञ्चालनमा सहजता भएको उनको भनाइ छ ।

नजिककै हाटबजार लाग्ने भएकाले मादक पदार्थ खाएर मानिसहरु प्रबेश गरिदिँदा धेरै समस्या रहेकोमा अहिले सहजता भएको उनको भनाइ छ ।

‘विद्यालयको घेराबारा नहुँदा धेरै समस्या थियो’ उनले भने,’विद्यालयको चौरमा गाइबस्तु पसिदिँदा विद्यार्थीलाई अभ्यासमूलक शिक्षणमा समस्या हुन्थ्यो । विद्यालयमा अनावश्यक मानिसहरुको प्रवेश हुँदा शिक्षण सिकाईमा असर पुगेको अवस्था थियो । घेराबारा भएपछि विद्यालयको भौतिक सम्पतिको सुरक्षासँगै पठनपाठनमा सहजता छ ।’

घेराबारा नहुँदा विद्यालय सञ्चालनमा समस्या भएपछि वडाले दुई लाख बजेट विनियोजन गरेर घेराबारा लगाएको वडाध्यक्ष पेमदोर्ची शेर्पाले बताए । विद्यालयसँगै विद्यार्थीको सुरक्षाको लागि अन्य कामलाई थाती राखेर विद्यालयको घेराबारा गरिएको उनले भनाइ छ ।

‘वडामा सीमित बजेट हुन्छ’वडाध्यक्ष शेर्पाले भने,’स्थानीयको माग धेरै छ । घेराबारा नुहँदा विद्यालय सञ्चालनमा समस्या भएपछि अन्य कामलाई थाती राखेर यो काम गरेका हौँ । घेराबारा गरिएपछि विद्यालय सञ्चालनमा सहजता छ ।’

वडाले स्थानीयको माग र आवश्यकताको आधारमा विकासका कामलाई अघि बढाएको उनको भनाइ छ । वडाको काममा पारदर्शिता ल्याउन वर्षभरी सञ्चालन भएका काम र भावी दिनमा हुन लागेका योजना लाई स्थानीय भेला गरेर सार्वजनिक सुनुवाईमार्फत जानकारी दिँदै आएको उनको भनाइ छ ।

मजदुरको न्यूनतम पारिश्रमिक कायम हुनुपर्नेमा जोड

मोरङ । कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले मजुदरको जीवनयापनका लागि पुग्ने न्यूनतनम पारिश्रमिक वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रमार्फत ‘न्यूनतम पारिश्रमिक वृद्धि र श्रम कानुन कार्यान्वयन’सम्बन्धमा जिफन्टका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठले बिहीबार बुझाएको चार बुँदे ज्ञापनपत्र बुझ्दै उनले मजदुरको सहज जीवनयापनका लागि पुग्ने पारिश्रमिक निर्धारण गर्न/गराउन प्रदेश सरकारले रोजगारदातासँग छलफल गरी कार्यान्वयन गराउने बताए ।

मन्त्री राईले मजदुरहरूले मुलुकमा प्रजातन्त्र, लोकतन्त्रसहित सङ्घीयता स्थापनामा महत्त्वपूर्ण योगदान पुर्याएको चर्चा गर्दै श्रमिकको परिवारको पालनपोषणका लागि न्यूनतम पारिश्रमिक उपलब्ध गराउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले मुलुकमा औद्योगिक उत्पादन वृद्धि गरी समृद्धि कायम गर्न मजदुरको महत्त्वपूर्ण भूमिका रहेको बताए ।
जिफन्टका केन्द्रीय अध्यक्ष श्रेष्ठले मजदुरको न्यूनतम पारिश्रमिक ३० हजार ४४३ हुनुपर्ने आफ्नो माग रहेको बताए ।

जिफन्टका प्रदेश अध्यक्ष किशोर धमला, ट्रेड युनियन कांग्रेसका प्रदेश अध्यक्ष नारायणबाबु कार्कीलगायतले मजदुरको न्यूनीयन पारिश्रमिक वृद्धि गरी सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षाको व्यवस्था गराउनुपर्नेमा जोड दिए ।

यसअघि समन्वय केन्द्रले संसारीमाईस्थानमा निकालेको जुलुसले नगरको मुख्यमुख्य भागको परिक्रमा गरी महेन्द्र चोकमा पुगेर कोणसभामा परिणतमा परिणत भएको थियो ।

खोटाङमा नेपाली सेनाले आयोजना गरेको स्वास्थ्य शिविरमा १५८ जना लाभान्वित

खोटाङ । नेपाली सेनाले हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले बजारमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १५८ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन् । रणभीम गण मुडे ब्यारेक खोटाङले आयोजना गरेको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा ८४ जना महिला र ७४ जना पुरुष गरी एक सय ५८ जना नागरिक लाभान्वित भएका हुन् ।

मुडे ब्यारेकका गणपति प्रमुख सेनानी केदारप्रसाद लामिछानेको नेतृत्वमा खटिएको नेपाली सेनाको टोलीले निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै औषधिसमेत वितरण गरेको थियो ।

उक्त शिविर सञ्चालनका क्रममा जिल्ला अस्पताल खोटाङले विशेषज्ञ चिकित्सकसहित औषधि र उपकरण, हलेसी तुवाचुङ नगरपालिकाले समन्वय तथा नेपाली सेनाले समग्र व्यवस्थापनको जिम्मा लिएको थियो ।

नागरिक र नेपाली सेनाबीचको सम्बन्ध थप प्रगाढ बनाउँदै ग्रामीण क्षेत्रका जनतालाई गाउँमै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अर्खौलेमा एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको प्रमुख सेनानी लामिछानेले जानकारी दिए ।

आयोजक पक्षका अनुासार स्वस्थ्य शिविरमा आएकामध्ये जटिल रोगबाट पीडित ६० जना बिरामीलाई जिल्ला अस्पताल खोटाङ तथा माथिल्लो निकायमा ‘रिफर’ गरिएको छ ।

यसरी पहिलोपटक आफ्नै गाउँमा निःशुल्क स्वास्थ्य सेवा लिन पाउँदा आफूहरु हर्षित भएको सेवाग्राहीहरुले बताएका छन् ।

अर्खौले बजारस्थित स्वास्थ्य चौकी प्राङ्गणमा बुधबार आयोजना गरिएको शिविरमा हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख रमेशकुमार राउत, जिल्ला अस्पताल खोटाङका प्रमुख डा रुपेश सङ्ग्रौला, स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनकुमार चौलागाईँ, वडाध्यक्ष अर्जुन पुरी लगायतको उपस्थिति रहेको थियो ।

रणभीम गण मुडे ब्यारेक खोटाङले करिब पाँच महिनाअघि माघमा केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो ।

नेपाली सेनाले आफ्ना भूतपूर्व सैनिक तथा परिवारका सदस्यलाई लक्षित गरीे बाक्सिलामा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमार्फत एक सय ४५ जना स्थानीय लाभान्वित भएको थिए ।

हिमताल विस्फोटबाटै रसुवामा बाढी आएको निष्कर्ष

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोटबाटै गत मङ्गलबार बिहान रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

विभागले ‘सेन्टिनेल’ उपग्रहबाट गरेको अध्ययनले हिमताल फुटेर बाढी सिर्जना भएको जनाएको छ । विभागका बाढीविद् विनोद पराजुलीले ‘सुप्राग्लेशियल’ ताल फुट्दा बाढी आएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए ।

‘रसुवागढीस्थित नेपाल–चीन सीमाबाट करीब ३६ किलोमिटरमाथि (अक्षांशः २८.४०४३, देशान्तरः ८५.६४६९, समुद्री सतहदेखि करिब ५१५० मिटर उचाइ) ल्हेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा पर्दछ । हिम नदीको करिब बीच भूभागमा विकास भएको सुप्राग्लेशियल ताल (हिमताल) करिब ०.७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको देखिन्छ’, उनले भने, ‘उक्त हिमतालको क्षेत्रफल करिब ०.६० वर्ग किलोमिटर मात्र देखिएको छ । बाढीको घटना हुनुपूर्व र घटना भइसकेपछिकोे तालको क्षेत्रफलमा परिवर्तन भएको देखाएको छ । अध्ययनले उक्त समयावधिमा तालबाट पानी निकास भएको र त्यसको प्रभाव तालको तलको क्षेत्रमा परेको देखिएको छ ।’

पराजुलीका अनुसार यस सम्बन्धमा मित्रराष्ट्र चीनबाट थप स्थलगत प्रतिवेदन प्राप्त हुने अपेक्षा गरिएको छ । साथै आगामी दिनमा भू–उपग्रहमार्फत प्राप्त हुन सक्ने अन्य तस्बिरहरुले थप पुष्ट्याइँ दिन सक्नेछ । जल तथा मौसम विज्ञान विभागले निरन्तर अध्ययन जारी राख्ने उनको भनाई छ ।

‘बाढी पूर्व र बाढीपछिको अवस्थाबीच उल्लेखनीय अन्तर देखिएको र विशेष गरी तालको क्षेत्रफल उल्लेख्य रूपमा घटेको देखिएको छ, जसअनुसार उक्त हिम तालबाट पानी निकास भएको देखिन्छ’, उनले भने । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का वैज्ञानिकहरुले चीन–नेपाल सीमाको ल्हेन्दे खोलामा बनेको सुप्राग्लेशियल ताल फुटेर रसुवाको भोटेकोशीमा बाढी आएको पुष्टि गरेका छन् ।

चिमखोला–राहुघाट प्रशारण लाइनको परीक्षण सुरु

म्याग्दी । म्याग्दीको राहुघाट वेशिनका जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन निर्माण भएको दुई सय २० केभी क्षमताको चिमखोला–राहुघाट प्रशारण लाइनको परीक्षण थालिएको छ ।

३५ मेगावाट क्षमताको चिमखोला–मंगले राहुघाट, ४८.५ मेगावाट क्षमताको माथिल्लो राहुघाट, २१.३ मेगावाटको ठूलोखोला र २३.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत आयोजनाको विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन चिमखोला देखि गलेश्वर स्थित राहुघाट जलविद्युत आयोजनाको स्विचयार्ड सम्म १३ किलोमिटर लामो प्रशारण लाइन निर्माण भएको हो ।

नेपाल विद्युत प्राधिकरण मार्फत रघुगङ्गा –३ अम्बाङमा निर्माणाधिन सवस्टेशन सम्पन्न नहुँदा सम्मको लागि अस्थायी रुपमा राहुघाटको स्विचयार्डबाट २२० केभी क्षमताको दाना–खुर्कोट प्रशारण लाइन मार्फत केन्द्रीय प्रणालीमा विद्युत पठाउन लागिएको चिमखोला–मंगले राहुघाट र माथिल्लो राहुघाटको प्रर्वद्धक तुँदि पावरका प्रतिनिधि उपेन्द्र गौतमले बताए ।

चिमखोला–मंगले राहुघाट र ठूलोखोला जलविद्युत आयोजनाको बाँध, सुरुङ, पेनस्टक पाइप लगायत भौतिक संरचना र विद्युतगृहका उपकरणको परिक्षण भइसकेको छ । माथिल्लो राहुघाट र माथिल्लो ठूलोखोला निर्माणको अन्तिम चरणमा छन् ।

चिमखोला देखि गलेश्वर स्थित राहुघाटको स्विचयार्ड जोड्ने प्रशारण लाइनमा विद्युत आपुर्ति गराएर परिक्षण गराउन थालिएको तुँदिका प्रतिनिधि गौतमले बताए ।। परिक्षण लगत्तै केन्द्रिय प्रणालीमा विद्युत जोडिने उहाँले बताउनुभयो । चिमखोला देखि राहुघाटसम्म ३९ टावर छन् ।

चार आयोजनाले सहकार्य गरेर एउटै प्रशारण लाइन मार्फत विद्युत आपूर्ति गर्ने संरचना बनाएका छन् । एक देखि अर्को आयोजनाको स्विचयार्ड सम्म सम्बन्धीत आयोजना र त्यसपछि सवस्टेशनतर्फ सहकार्य गरेर प्रशारण लाइन बनाएका हुन् ।

परीक्षण शुरु भएको प्रशारण लाइनको टावर र तार नछुन तथा राहुघाट नदी किनारमा जाँदा सतर्कता अपनाउन तुँदि पावरले बिहीबार एक सार्वजनिक सूचना जारी गरेर प्रभावित क्षेत्रका बासिन्दाहरुलाई आग्रह गरेको छ । रघुगङ्गा गाउँपालिकाको ३, ४ र ७ नम्बर वडामा प्रशारण लाइन र टावर निर्माण भएको छ ।

विद्युतगृहमा पानी हाल्न थालेपछि नदीको सतह घटबढ हुने हुँदा माछा मार्ने, पौडि खेल्ने, नुहाउने, दाउरा छोप्न नदी किनारमा नजान तथा गाईबस्तु र पशुचौपाया नलैजान आयोजनाले अनुरोध गरेको हो ।

नेताहरुमाथिको कारबाही विधानसम्मत नभएको कोइराला समूहको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले पार्टीका नेताहरुमाथि गरिएको कारबाही विधानसम्मत नभएको निष्कर्ष निकालेको छ । बिहीबार बसेको कोइराला समूहको बैठकले अनुशासन उल्लंघनको नाममा गरिएको कारबाही विधानसम्मत नभएको निष्कर्ष निकालेको नेता राजेन्द्र बजगाईंले जानकारी दिए ।

उनले पार्टी विधानले उजुरी परेको ६ महिनाभित्र कारबाही गरिसक्नुपर्नेमा त्यस्तो नभएको बताए । बैठकमा पछिल्लो समय नेकपा एमाले र कांग्रेसमा कारबाहीको शृङ्खला उस्तै रहेकोले कांग्रेसले पनि एमालेबाट अनुसरण गरेको भन्ने विषयमा छलफल भएको बताए ।

उनले भने,‘नेकपा एमाले र नेपाली कांग्रेसको पार्टीभित्रको द्वन्द्व समानरुपमा हेर्न लायक छ । उनीहरुकोमा पनि कारबाहीको श्रृंखला छ र हामीले त्यसलाई अनुशरण गर्यौं भन्नेमा छलफल भयो । यी कारबाहीहरू २०८४ सालको र त्यसअघि हुने उपनिर्वाचनमा हुनसक्ने गठबन्धन र त्यसका उम्मेदवारलाई जिताउनेगरी गरिएको हुनसक्ने विषयमा छलफल भयो ।’

उनले बैठकले अनुशासन समितिले अनुशासन उल्लंघन गरेको निष्कर्ष निकालेको छ । नेता बजगाईंले कारबाहीमा परेका साथीहरुले पुनरावलोकनका लागि आवेदन दिने र बृहत भेला आयोजना गर्ने बताए ।

गत २०७९ को निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै कांग्रेसले प्रदेशका पूर्वमन्त्री, प्रदेश महामन्त्री, जिल्लाका वर्तमान र पूर्व सभापति, महासमिति सदस्य लगायत १८ जना नेचालाई कारबाही गरेको छ ।

कीभमा रूसी ड्रोन आक्रमण, दुईजनाको मृत्यु

बीबीसी । यूक्रेनको राजधानी कीभमा रातभर चलेको रूसी ड्रोन आक्रमणमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। आक्रमणपछि सहरका विभिन्न क्षेत्रमा आगलागी भएका दृश्य देखिएका छन् ।

कीभका अधिकारीहरूका अनुसार शेभचेनकिभ्स्की जिल्लास्थित एक आवासीय भवनको छतमा ड्रोनको भग्नावशेष खसेको छ। राजधानीका कम्तीमा ६ वटा जिल्लामा ड्रोन आक्रमण भएको पुष्टि गरिएको छ ।

कीभको सैन्य प्रशासनका प्रमुखले आवासीय भवन, सवारीसाधन, गोदाम, कार्यालय तथा अन्य संरचनाहरूमा आगलागी भएको जानकारी दिए । यूक्रेनी सेनाले बलिस्टिक क्षेप्यास्त्र आक्रमणको सम्भावनाबारे पनि चेतावनी दिएको छ ।

यसअघि मंगलबार राति यूक्रेनले अहिलेसम्मकै ठूलो हवाई आक्रमणको सामना गरेको जनाएको थियो, जब रूसी सेनाले ७२८ ड्रोन र १३ वटा क्रूज तथा बलिस्टिक मिसाइल प्रयोग गरी सहरहरूमा व्यापक हमला गरेको थियो ।

राप्ती नदीमा फसेका तीन जनाको सकुशल उद्वार

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–५ गोरधुई स्थित राप्ती नदीमा फसेका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ । गाईवस्तु चराउन गएका उनीहरु राप्ती नदीमा एक्कासी आएको बाढीका कारण नदीको बीच टापुमा फसेका थिए ।

त्यसबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ शंम्शेरगंज बाँकेबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले उनीहरुको सकुशल उद्वार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

उद्वार गरिएकाहरुमा सोही गाउँपालिका–५ बस्ने ५२ वर्षीय मानसिंह धामी, ६९ वर्षीय लीलबहादुर खत्री र ५० वर्षी ससु वली छन् । उनीहरुको अवस्था भने सामान्य रहेको छ ।

ट्रम्पले नोबेल शान्ति पुरस्कार पाऊन् भन्ने नेतन्याहूको चाहना

बीबीसी । इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि आफूले मनोनीत गरेको बताएका छन् ।

पुरस्कार समितिलाई आफूले पठाएको पत्र ट्रम्पलाई दिँदै नेतन्याहूले भने, ‘यतिखेर उनी शान्ति स्थापनामा लागिपरेका छन्, एकपछि अर्को देश अनि एकपछि अर्को क्षेत्रमा ।’

यस्तो विश्लेषण गर्ने नेतन्याहू मात्र एक्ला सायद होइनन् । जुन महिनामा पाकिस्तानले उक्त पुरस्कारका लागि ट्रम्पलाई मनोनयन गर्ने बताइसकेको छ । मे महिनामा भारत र पाकिस्तानबीच युद्धविराम गराउन उनले खेलेको भूमिका भन्दै पाकिस्तानले मनोनयन गर्ने भनेको थियो ।

तर भोलिपल्टै अमेरिकाले पाकिस्तानको छिमेकी देश इरानमा परमाणु केन्द्रहरूमा बमबारी गरेपछि सामाजिक सञ्जालमा उक्त प्रस्तावको तीखो आलोचना भयो ।

संसारकै सबैभन्दा प्रतिष्ठित पुरस्कार मानिने नोबेल शान्ति पुरस्कार स्वीडिश वैज्ञानिक, व्यापारी तथा परोपकारी अल्फ्रेड नोबेलका नाममा स्थापित छ मध्ये एक विधाको पुरस्कार हो ।

नर्वेली संसद्ले चयन गरेको पाँच जना सदस्य भएको समितिले विजेताको चयन गर्छ । यदि ट्रम्पले सो पुरस्कार जिते भने उनलाई कतिपयले विवादास्पद विजेता मान्ने छन्। तर राजनीतिक प्रकृतिको भएकाले शान्ति पुरस्कार अन्य पाँच विधाका नोबेल पुरस्कारभन्दा धेरै विवादित हुने गर्छ ।

चोभार सुख्खा बन्दरगाह

काठमाडौँको कीर्तिपुर नगरपालिका, चोभारस्थित चोभार सुख्खा बन्दरगाह र आसपासको क्षेत्र ।

तस्बिरः हरिराम भेटुवाल / रासस

रुकुम पूर्वको रङ्गीचङ्गी चौँरीखर्क(फोटोफिचर)

रुकुम पूर्व, भूमे गाउँपालिका–१ स्थित समुद्र सतहबाट करिब चार हजार मिटरको उचाइमा रहेको रमणीयस्थल चौँरीखर्कमा रङ्गीचङ्गी बनफूलहरूले ढकमक्क ढाकिएको हरियाली डाँडा । मध्यपहाडी लोकमार्गको रुकुम पूर्व र बागलुङको सिमाना पाथीहाल्नेबाट करिब ३ घण्टाको पैदल दूरीमा पुग्न सकिने चौँरीखर्क आन्तरिक पर्यटकहरूको रोजाइको गन्तव्य बन्दै गएको छ।

तस्बिर : कुलदीप न्यौपाने / रासस

गण्डकीको यातायात मन्त्रालयका लेखा अधिकृतविरुद्ध ६ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा मुद्दा दायर भएको छ ।

अख्तियारले शर्माले ६ करोडभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारका अनुसार विस २०५४ माघ ८ गते सेवा प्रवेश गरेका शर्माले ०८० कात्तिक १० गतेको अवधिमा आर्जन गरेको सम्पत्तिमाथि अनुसन्धान गरिएको थियो ।

अनुसन्धानबाट ६ करोड २६ लाख ९३ हजार एक सय २९ रुपैयाँ सम्पत्तिको स्रोत पुष्टि नभएको अख्तियारले जनाएको छ ।

कांग्रेसले गर्यो पार्टीका २३ नेतालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही

काठमाडौं । नेपाली कांग्रेसले २०७९ सालको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने २३ जनालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

कांग्रेसको केन्द्रीय अनुशासन समितिले उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । ५ जनालाई एक वर्ष, १७ जनालाई ६ महिना र एक जनालाई ३ महिना साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको कांग्रेसका अनुशासन समिति संयोजक आनन्दप्रसाद ढुङ्गानाले जानकारी दिएका छन् ।

पार्टीका खोटाङ जिल्लाका सभापति विष्णुकुमार राईलाई पनि एक वर्ष साधारण सदस्यतासमेत नरहने गरी निलम्बित गरिएको छ । पूर्वमन्त्री तथा कास्कीका पार्टी महाधिवेशन प्रतिनिधि कुमार खड्कालाई पनि एक वर्ष साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको छ ।

कुलपतिसमक्ष त्रिविका नवनियुक्त उपकुलपतिको सपथ

काठमाडौँ । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको नवनियुक्त उपकुलपति प्रा डा दीपक अर्यालले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार कुुलपति ओलीसमक्ष उपकुलपति डा अर्यालले सपथ लिएका हुन् । कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलगायत सहभागी थिए ।

कुलपति ओलीले उपकुलपतिमा सिफारिस समितिबाट सिफारिस भएका मध्येबाट डा अर्याललाई आज नियुक्त गरेका थिए ।

प्रतिनिधिसभामा बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक प्रस्तुत

काठमाडौँ । प्रतिनिधिसभामा ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत भएको छ । सभाको आजको बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले विधेयक प्रस्तुत गरे ।

त्यसक्रममा मन्त्री सुडीले बाललिकाका लागि संविधान प्रदत्त मौलिक हकको कार्यान्वयन गर्नका लागि सो सम्बन्धी ऐनलाई समसामयिक परिमार्जन गर्न आवश्यक भएको बताए ।

‘बाल न्याय प्रणालीलाई सहज, सरल र बालमैत्री बनाउन तथा बाल संरक्षण प्रणालीलाई संस्थागत र सुदृढ गर्दै बालअधिकारको सबै पक्षलाई सन्तुलन कायम गर्न आवश्यक परेकाले उक्त विधेयक संशोधन गर्न लागिएको हो’ मन्त्री सुडीले भने ।

त्यसअघि मन्त्री सुडीले सो विधेयक प्रस्तुत गर्न अनुमति माग्नेसम्बन्धी प्रस्ताव राखेका थिए । बैठकको अध्यक्षता गरेकी उपसभामुख इन्दिरा रानाले उक्त प्रस्तावमाथि कुनै पनि सांसदको विरोधको सूचना प्राप्त नभएकाले सो विधेयक प्रस्तुत गर्न मन्त्री सुडीलाई अनुमति दिइन् ।

बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले समितिको वार्षिक प्रतिवेदन (आव २०८०/८१) पेस गरे ।

रूसमाथि नयाँ प्रतिबन्ध लगाउने तयारीमा अमेरिका

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धलाई लिएर मस्कोविरुद्ध थप प्रतिबन्ध लगाउने विचार गरिरहेको बताएका छन् ।

ह्वाइट हाउसमा भएको मन्त्रिपरिषद्को बैठकमा बोल्दै ट्रम्पले द्वन्द्वको प्रतिक्रियामा रूसमाथि थप प्रतिबन्ध लगाउने सिनेटको विधेयकलाई समर्थन गर्ने कि नगर्ने भनेर विचार गरिरहेको बताए ।

विधेयकमा रुसबाट ऊर्जा आयात गर्ने देशहरूमा भारी शुल्क लगाउने प्रावधान साथै रूसी ऊर्जा उत्पादनलाई समर्थन गर्ने विदेशी कम्पनीहरूमा पनि प्रतिबन्ध लगाउने समावेश रहेको जनाइएको छ ।

अमेरिकी रक्षा विभागले हतियार तयारीको समीक्षा गरेपछि युक्रेनका लागि अस्थायी रूपमा स्थगित गरिएको रक्षात्मक हतियार ढुवानी पुनः सुरु गर्न स्वीकृति दिएको पनि ट्रम्पले मङ्गलबार घोषणा गरेका थिए ।

पोखरा विश्वविद्यालयको बजेट र नीति तथा कार्यक्रम पारित

काठमाडौ । पोखरा विश्वविद्यालयको २५ औँ साधारणसभाको बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ५४ करोडको बजेटसहित नीति तथा कार्यक्रम पारित गरेको छ ।

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले विश्वविद्यालयको शिक्षक कर्मचारीसम्बन्धी नियमावली, २०५५ र आर्थिक नियमावली, २०५५ सेवा आयोग र पुनरावेदन समितिसम्बन्धी नियमावली, २०५७सहित विभिन्न नियमावलीमा संशोधन प्रस्ताव पारित गरेको छ ।

बैठकमा कुलपति ओलीले विश्वविद्यालयलाई अनुसन्धानमूूलक र प्रतिस्पर्धीरुपमा सञ्चालन गर्न आग्रह गर्दै स्वदेशमै उत्कृष्ट उच्चशिक्षा सम्भव छ भन्ने भावनालाई सार्थक तुल्याउनुुपर्ने बताए ।

सिनेट बैठकमा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले २१ औँ शताब्दीका लागि आवश्यक पर्ने जनशक्ति उत्पादनमा लाग्न आग्रह गरे ।

उपकुलपति प्रा.डा. वेदराज केसीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपलब्ध स्रोत साधनको उपयोग गरी विश्व बजारको माग अनुसारको शिक्षा दिन विश्वविद्यालयले भरमग्दुर प्रयास गर्ने बताए ।

सो विश्वविद्यालयमा चार सङ्कायअन्तर्गत चार आङ्गिक महाविद्यालय, तीन संयुक्त आङ्गिक महाविद्यालय र ५८ वटा सम्बन्धनप्राप्त महाविद्यालयमार्फत ६८ शैक्षिक कार्यक्रममा ३४,६७९ विद्यार्थीहरू अध्ययनरत छन् ।

अर्मेनिया र अजरबैजानबीच बिहीबार युएईमा शान्ति वार्ता हुने

बाकु । अमेरिकाले छिटो सम्झौता हुने आशा व्यक्त गरेको दुई दिनपछि अर्मेनिया र अजरबैजानका नेताबीच बिहीबार संयुक्त अरब इमिरेट्स (युएई) मा शान्ति वार्ताका लागि भेटवार्ता हुने भएको छ।

बाकु र येरेभानले विवादित काराबाख क्षेत्रमा दुई युद्ध लडेका थिए, जसलाई अजरबैजानले सन् २०२३ मा अर्मेनियाली सेनाबाट पुनः कब्जा गरेको थियो।

दुई कट्टर दुश्मनले मार्चमा एक बृहत् शान्ति सम्झौताको लागि तयार प्रस्तावमा उनीहरूले सहमति जनाएका थिए तर बाकुले दस्तावेजमा हस्ताक्षर गर्नुअघि काराबाखको आफ्नो क्षेत्रीय दावीहरू रद्द गर्नुपर्ने र यसका लागि अर्मेनियाको संविधानमा संशोधनसहित धेरै मांगहरूको रूपरेखा प्रस्तुत गरेको थियो।

अर्मेनियाली सरकारले बुधबार प्रधानमन्त्री निकोल पाशिन्यान र अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभबीच संयुक्त अरब इमिरेट्स (युएई) को राजधानी अबुधाबीमा भेटवार्ता हुने बताएको छ।

अजरबैजानका राष्ट्रपतिले पनि यस्तै वक्तव्य जारी गरेका छन्। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ककासस क्षेत्रका दुई छिमेकीबीच छिटो शान्ति सम्झौता हुने आशा व्यक्त गरेको एक दिनपछि यो घोषणा आएको हो।

अलियेभ र पाशिन्यानबीच पछिल्लो पटक गत मे महिनामा अल्बानियामा भएको युरोपेली राजनीतिक समुदायको शिखर सम्मेलनका क्रममा भेट भएको थियो।

त्यतिबेला फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ र युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले अर्मेनिया र अजरबैजानबीच भएको शान्ति सम्झौतामा तत्काल हस्ताक्षर गर्न आग्रह गरेका थिए।

युद्धका कारण बन्द इरानमा बन्द रहेको रुसी राजदूतावासबाट पुनः सेवा सञ्चालन

मस्को । रुसले तेहरानस्थित आफ्नो राजदूतावास सर्वसाधारणका लागि पुनः खोलिएको जनाएको छ । इजरायलसँगको दुई सातालामो द्वन्द्वका क्रममा सुरक्षास्थितिलाई मध्यनजर गर्दै रूसले तेहरानस्थित दूतावासबाट सेवा बन्द गरेको थियो । गत जुन १५ मा इजरायलले इरानको आणविक केन्द्र, सैन्य संरचनाका साथै आवासीय क्षेत्रमा अकस्मात् हवाई आक्रमण चलाएपछि उक्त मिसनले कन्सुलर सेवा बन्द गरेको थियो ।

उक्त आक्रमणमा वरिष्ठ सैन्य कमाण्डर र आणविक वैज्ञानिकसहित एक हजारभन्दा बढी इरानीको मृत्यु भएको थियो ।

रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले नियमित पत्रकार सम्मेलनमा स्थिति ‘केही स्थिर’ भएको बताउँदै तेहरानस्थित रुसी दूतावासको कन्सुलर सेवा सामान्य अवस्थामा सञ्चालन गरिएको बताए।

यद्यपि, उनले रुसी नागरिकलाई इरानको भ्रमण गर्दा सावधानी अपनाउन र सतर्क रहन पनि आग्रह गरेका छन् । मस्कोले तेहरानलाई महत्वपूर्ण सहयोग प्रदान गर्दछ तर संयुक्त राज्य अमेरिका इजरायलको बमबारी अभियानमा सामेल भएपछि आफ्नो साझेदार इरानको द्वन्द्वमा कुनै संलग्नता भने देखाएन

विशेष अदालत बन्यो आइएसआको प्रमाणपत्र पाउने पहिलो अदालत

काठमाडौं । विशेष अदालतले अन्तर्राष्ट्रिय मापदण्ड सङ्गठन (आइएसओ) को प्रमाणपत्र प्राप्त गरेको छ । न्यायिक प्रणालीे जवाफदेहीता, दिगोपना र प्रशासनिक सुधारमा चुस्त देखिएको भनी उक्त प्रमाणपत्र दिइएको हो ।

अदालतका अध्यक्ष टेकनारायण कुँवरले प्रमाणपत्र (यानएस/आइएसओ ९००१ः२०१५) को बुधबार विशेष अदालतमा आयोजित कार्यक्रममा सार्वजनिक गरे । उनले न्यायिक तथा प्रशासनिक प्रक्रियामा उच्चतम इमान्दारीता, जवाफदेहिता र सार्वजनिक विश्वास कायम राख्न प्रयत्न गरिरहेकाले आइएसओको प्रमाणपत्र प्राप्त गर्न सफल भएको जानकारी दिए ।

अध्यक्ष कुँवरले कानुनबमोजिम निष्पक्ष न्याय सम्पादन, खुला, पारदर्शी र अभिलिखित न्यायिक प्रक्रिया कायम गर्न न्यायिक निकायलाई परीक्षण, तालिम र प्रविधिका माध्यमबाट नियमित रूपमा सुधार गर्न प्रयत्न गरिरहेको बताए ।

“विशेष अदालत आइएसआको प्रमाणपत्र पाउने पहिलो अदालत बनेको छ । यो पहलले अदालतको दैनिक कामकाज र प्रक्रियाको दस्तावेजीकरण समावेश गर्नुपर्ने, हरेक वर्ष लेखापरीक्षण (अडिट) गर्नुपर्ने र प्रत्येक तीन वर्षमा पुनःप्रमाणित गर्नुपर्ने हुन्छ”, उनले भने ।

अध्यक्ष कुँवरले अदालतको अभिलेख प्रणालीलाई आधुनिकीकरणको मार्गमा अगाडि बढाएर कागजविहीन बनाउने, ‘डिजिटल रेकर्डिङ’ प्रणाली र भर्चुअल सुनुवाइमार्फत न्यायमा सहज पहुँचमा ध्यान दिइरहेको बताए ।

उनका अनुसार आर्थिक वर्ष २०८१/८२ को असार २५ गतेसम्मको तथ्याङ्कका आधारमा अदालतले कूल २०६ मध्ये १२३ थान मुद्दा फछ्र्यौट गरेको छ भने ८३ बाँकी छन् । विशेष अदालतको विगत पाँच वर्षको मुद्दाको तथ्याङ्कलाई अध्ययन गर्दा सबैभन्दा बढी आव २०८०/८१ मा मुद्दा फछ्र्यौट भएको छ । उक्त आवमा ५७५ मध्ये ५०६ मुद्दा फछ्र्यौट भएको थियो ।

त्यसअघि, आव २०७७/७८ मा सबैभन्दा कम १५ दशमलव सात प्रतिशत, आव २०७८/७९ मा ४२ दशमलव ८० प्रतिशत, आव २०७९/८० मा ४५ दशमलव ७६ प्रतिशत मात्रै मुद्दा फछ्र्यौट भएको थियो । आव २०७६/७७ मा ७७ दशमलव शून्य पाँच प्रतिशत मुद्दा फछ्र्यौट भएको थियो । विसं २०८२ असार २२ गतेसम्म २०५ मध्ये १२३ मुद्दा फछ्र्यौट भएका छन् ।

विशेष अदालतले आव २०८०/८१ मा सबैभन्दा बढी मुद्दा फछ्र्यौट गरी न्याय सम्पादनलाई चुस्तदुरुस्त राख्न सफल भई आइएसओ प्रमाणपत्र प्राप्त गरेको अध्यक्ष कुँवरले बताए । जेनेभामा मुख्य कार्यालय रहेको यस सङ्गठनको प्रमाणपत्र प्रक्रिया पूरा गरी नेपाल नापतौल तथा गुणस्तर विभागमार्फत विशेष अदालताई प्रदान गरिएको हो ।

विशेष अदालतका अध्यक्ष कुँवरले अदालतको व्यवस्थापनलाई नमुना बनाउने, सेवाग्राहीमैत्री वातावरणको सिर्जना, मुद्दाको अङ्ग पुर्याइ छ महिनाभित्र फैसला गर्ने योजनासहित काम गरिरहेको बताउँदै फैसला कार्यान्वयनलाई तीव्रता दिने काममा लागिरहेको जानकारी दिए । उनका अनुसार अदालतले नेपालका साथै विश्वको जुनसुकै स्थानबाट पनि भर्चुअल सुनुवाइ गरिरहेको छ ।

९५ हजार टन मल मौज्दात : कृषिमन्त्री अधिकारी

काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सरकारले ‘अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका, २०७७’ को व्यवस्थाका आधारमा कृषकलाई अनुदानमा मलखाद उपलब्ध गराउँदै आएको बताएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरुले आकस्मिक, शून्य र विशेष समयमा उठाएको जिज्ञासाको जवाफ दिँदै हाल युरिया मलको खरिद मूल्य प्रतिकिलो ८२ रुपैयाँ र भन्सार बिन्दुको बिक्री मूल्य प्रतिकिलो रु १४ रुपैयाँ रहेको बताए।

उनले भने, ‘डिएपीको खरिद मूल्य प्रतिकिलो रु १२१ र भन्सार बिन्दुको बिक्री मूल्य प्रतिकिलो ४३ र पोटासको खरिद मूल्य प्रतिकिलो ६४ र भन्सार बिन्दुको बिक्री मूल्य प्रतिकिलो ३१ रहेको छ, यसरी वर्तमानमा युरिया, डिएपी र पोटास मलमा प्रतिकिलो अनुदान क्रमशः ५८, ७८ र ३३ रुपैयाँ रहेको छ । यसबमोजिम औसतमा मलमा करिब ६६ प्रतिशत अनुदान रहेको अवस्था छ ।’

मन्त्री अधिकारीले अनुदानमा उपलब्ध गराइने मलबाहेक पनि अनुदान नभएका अन्य मलखाद पनि कृषकले खुला बजारबाट खरिद गरी प्रयोग गर्ने गरेको उल्लेख गर्दै सीमावर्ती क्षेत्रका कतिपय कृषकले अनौपचारिक रुपमा सानो परिमाणमा सीमापारी भारतीय बजारबाट मल ल्याई प्रयोग गर्ने गरेको जानकारी गराए। कतिपय अवस्थामा सिफारिसअनुसार पूरैमात्रामा अनुदानको मल उपलब्ध नभए पनि खुला बजार र अन्य माध्यमबाट किनेर पनि कृषकले मल प्रयोग गर्ने गरेको उनको भनाइ छ ।

‘उपलब्ध बजेटको सीमाभित्र रही अन्तर्राष्ट्रिय बजारबाट रासायनिक मलको आयात गरी कृषकलाई अनुदानमा मल उपलब्ध गराउन मन्त्रालय क्रियाशील रहेको छ, चालु आर्थिक वर्षको लागि मन्त्रालयलाई प्राप्त भएको बजेट २७ अर्ब ३६ करोडबाट हालसम्म तीन लाख ८१ हजार टन मल आयात गरिसकिएको र चार लाख २४ हजार टन बिक्री गरिसकिएको छ’, उनले भने।

त्यसको अलावा ५२ हजार टन युरिया र ३० हजार टन डिएपी कलकत्ता बन्दरगाह आइसकेको वा आउने क्रममा रहेको र धान हाम्रो मुख्य खाद्यान्नबाली रहेको र धानबालीमा मलको माग र खपत सबैभन्दा बढी भएकाले जारी धान रोपाइँ सिजनका लागि मलको अभाव नहोस् भनेर मन्त्रालयले आवश्यक व्यवस्था गरेको मन्त्री अधिकारीको भनाइ छ ।

उनले भने , ‘यस क्रममा नेपाल भित्रिने क्रममा रहेको मालबाहेक हाल कृषि सामग्री कम्पनी लिमिटेड र साल्टट्रेडिङ कर्पोरेसनको देशभर रहेका डिपोमा करिब ९५ हजार टन मल मौज्दात रहेको छ भने देशभरका करिब ११ हजार मल बिक्रेता सहकारी संस्थाले सम्बन्धित स्थानीय तहको सिफारिसका आधारमा उल्लेखित डिपोबाट दैनिक करिब २० हजार क्विन्टल (४० हजार बोरा)मल सहकारीले बुझी लगिरहेका छन् ।’

खेती गरिएको बाली र मलको सिफारिस मात्राका आधारमा वार्षिक मलको आवश्यकता करिब १३ मेट्रिकटन रहे तापनि मध्य तथा उच्च पहाडमा सिफारिसअनुसार मलखाद प्रयोग कमै हुने कारण मलको प्रभावकारी माग करिब सातदेखि आठ लाख टन रहेको पाइएको मन्त्री अधिकारीले संसद्लाई जानकारी गराए।

पछिल्ला वर्षमा हाइब्रिड मकै र धानको खेती बढेसँगै मलको मागमा उच्च दरमा वृद्धि हुँदै आएको उल्लेख गर्दै उनले पछिल्ला केही वर्षयता वार्षिक करिब चार लाख ५० हजारदेखि पाँच लाख मेट्रिकटन अनुदानमा उपलब्ध गराउने गरिएको पनि बताए।

आगामी आर्थिक वर्षको मौद्रिक नीतिको अन्तिम तयारी गर्दै राष्ट्र बैंक

काठमाडौं ।  नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अन्तिम तयारीमा छ । सरकारले वित्त नीतिमार्फत् लिएको छ प्रतिशतको आर्थिक वृद्धि र साढे पाँच प्रतिशतको वाञ्छित सीमाभित्रको मुद्रास्फीतिलाई सघाउनेगरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याउनेछ ।

कर्जा विस्तार गर्ने, खराब कर्जा घटाउने, ब्याजदर सन्तुलन, बाह्य क्षेत्र व्यवस्थापनलगायत विषय पनि मौद्रिक नीतिको प्राथमिकता रहेका छन् । आगामी आर्थिक वर्षको मौद्रिक नीतिबाट निजी क्षेत्रले राखेका अपेक्षाअनुसार यस क्षेत्रका दुई छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घले राष्ट्र बैंकलाई सुझाव दिइसकेका छन् ।

महासङ्घले अर्थतन्त्रमा देखिएको शिथिलता, वित्तीय क्षेत्रको जोखिम र अनौपचारिक क्षेत्रको ठूलो हिस्सालाई केन्द्रविन्दुमा राख्दै सुधारोन्मुख अर्थतन्त्रलाई गति दिन, निजी क्षेत्रको मनोबल बढाउन र सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिमलाई सम्बोधन गर्नेगरी नीतिगत सुधारमा जोड दिएको छ ।

त्यस्तै, परिसङ्घले न्यून बजार मागलाई उकासेर आर्थिक गतिविधि बढाउने, मौद्रिक नीतिगत अभ्यासमा सुधार गर्ने र राष्ट्र बैंकको संरचनागत सुधार गर्नुपर्ने सुझाव दिएको छ । आगामी मौद्रिक नीतिले निजीक्षेत्रलाई लगानीका लागि प्रोत्साहित गर्ने, बजारको आत्मविश्वास उकास्ने र यसबाट नयाँ रोजगारी सिर्जना तथा बजार माग वृद्धिमार्फत अर्थतन्त्रको पुनरुत्थानमा सहयोग पुग्ने अपेक्षा परिसङ्घको छ ।

कर्जा पुनर्तालिकीकरण र पुनःसंरचनाका लागि आगामी आर्थिक वर्षको बजेटमा राखिएको व्यवस्थालाई कार्यान्वयन गर्न मौद्रिक नीतिमा ठोस कार्यक्रम समावेश गर्न राष्ट्र बैंकलाई सुझाव दिइएको छ । यो सुविधा सबै उद्योग–व्यवसायका लागि उपलब्ध गराउनुपर्ने, थप कार्यशील पुँजी प्रवाह र ब्याज जरिवानामा सहुलियतको व्यवस्थालाई स्पष्ट पारी प्रभावकारी रूपमा लागू गर्नुपर्ने सुझाव दिइएको छ ।

उत्पादनमूलक, पर्यटन, निर्माण उद्योग र आवास विकास कम्पनीका लागि सरल तथा सुलभ तरिकाले कार्यशील पुँजी कर्जा उपलब्ध गराउन सहजीकरण गर्नुपर्ने, व्यवसायको प्रकृतिअनुसार चालु पुँजी कर्जाको निर्णय गर्ने अधिकार सम्बन्धित बैंक र ऋणीहरूलाई दिनुपर्नेलगायत सुझाव महासङ्घले राष्ट्र बैंकलाई दिएको छ ।

नेपाल सन् २०२६ भित्रमा अतिकम विकसित मुलुकबाट स्तरोन्नति भइसक्नुपर्ने सन्दर्भमा लघु, घरेलु, साना र महिलाद्वारा सञ्चालित निर्यातजन्य उद्योगको प्रतिस्पर्धी क्षमता कायम राख्न यस्ता क्षेत्रलाई सहुलियत कर्जा उपलब्ध गराउने नीतिगत व्यवस्थाका लागि पनि महासङ्घले माग गरेको छ ।

महिला उद्यमशीलता कर्जालाई उत्पादनसँग जोडेर ब्याज अनुदानको व्यवस्थालाई व्यवस्थित गर्नुपर्ने र रू पाँच करोडसम्मको कर्जामा अधिकतम दुई प्रतिशत प्रिमियम दरमा कर्जा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने सुझाव महासङ्घले दिएको छ ।

युवा उद्यमशीलता प्रवर्द्धनका लागि जेन–जी पुस्तालाई व्यवसायमा आकर्षित गर्न नागरिक एपमार्फत व्यवसाय दर्ता र रू एक करोडसम्मको परियोजना कर्जा उपलब्ध गराउन पनि महासङ्घले माग गरेको छ ।

औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउने व्यक्तिको नेपालस्थित आश्रित परिवारलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्ने, हालको लक्षित कर्जा नीतिलाई परिमार्जन गरी उत्पादनमूलक उद्योग, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेर निर्देशित नीति बनाउनुपर्ने, बैंक तथा वित्तीय संस्थाको गैरव्यावसायिक सम्पत्ति बढ्दै गएको सन्दर्भमा सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना र सञ्चालन गर्नुपर्ने सुझाव पनि महासङ्घले दिएको छ ।

त्यस्तै, आवासीय घर कर्जाको सीमा रू दुई करोडबाट बढाएर रू तीन करोड पुर्याउन पनि महासङ्घले राष्ट्र बैंकलाई आग्रह गरेको छ । ‘प्राइभेट इक्विटी’ र ‘भेञ्चर क्यापिटल’मा बैंकको लगानीमा अतिरिक्त पुँजी शुल्क नलाग्ने व्यवस्था गर्नुपर्ने तथा यस्ता कोषमा गरिएको लगानीलाई निर्देशित क्षेत्रमा कर्जा प्रवाह गरेसरहको मान्यता दिनुपर्ने महासङ्घले राष्ट्र बैंकलाई दिएको सुझावमा उल्लेख छ ।

नेपाल उद्योग परिसङ्घले ब्याजदरलाई राष्ट्र बैंकको उद्देश्यअनुरुप अनुशासित गर्नसक्ने गरी नीतिगत दरलाई प्रभावकारी बनाउने, हाल कायम रहेको वैधानिक तरलता अनुपात (एसएलआर) घटाउने, बैंक ब्याजदर निर्धारणका लागि आधार दरको विकल्प खोजिनुपर्ने, आधार दर (बेसरेट) भन्दा कममा बैंकहरूले कर्जा दिन नपाउने व्यवस्था खारेज गर्नुपर्नेलगायत सुझाव राष्ट्र बैंकलाई दिएको छ ।

त्यस्तै, मुद्दती र बचत निक्षेपमा विद्यमान न्यूनतम तथा अधिकतम ब्याजदर अन्तर पाँच प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था हटाउनुपर्ने, ब्याजदरमा पुनरावलोकन गर्दा अघिल्लो महिनाको ब्याजदरभन्दा १० प्रतिशतभन्दा बढीले र एकपटकभन्दा बढी घटाउन वा बढाउन नपाउने व्यवस्थालाई खारेज गरिनुपर्ने सुझाव पनि परिसङ्घले राष्ट्र बैंकलाई दिएको छ ।

हाल कार्यान्वयनमा रहेको शून्य दशमलव ५ प्रतिशतको काउन्टर साइक्लिकल क्यापिटल बफर (सिसिबी)लाई स्थगन गर्नुपर्ने र प्राथमिकताप्राप्त क्षेत्रमा लगाइएको निर्देशित कर्जा (डिरेक्टेड ल्याण्डिङ) को सीमा घटाउने सुझाव पनि परिसङ्घबाट आएको छ ।

राष्ट्र बैंकको सञ्चालक समितिको संरचनामा सुधार गर्नुपर्ने सुझाव पनि परिसङ्घको छ । “राष्ट्र बैंकको सञ्चालक समितिमा सञ्चालकका रूपमा नियुक्त गरिने सदस्यहरु पहुँचका आधारमा नभएर विज्ञताका आधारमा नियुक्त गर्न आवश्यक छ । यसले केन्द्रिय बैंकको साख र भूमिकालाई थप प्रभावकारी बनाउनेछ”, परिसङ्घले राष्ट्र बैंकमा बुझाएको सुझावमा भनिएको छ ।

त्यस्तै, मौद्रिक नीति बनाउन राष्ट्र बैंकभित्र छुट्टै समिति गठन गरिनुपर्ने, ऋणीको नियमन तथा अनुगमनको निर्णयाधिकार बैंकहरुलाई दिनुपर्ने, निष्क्रय कर्जाको वर्गीकरण तथा त्यसअन्तर्गत समूहको कर्जाका सम्बन्धमा गरिएका सम्पूर्ण नयाँ प्रावधानहरू खारेज गरिनुपर्नेलगायत सुझाव परिसङ्घले दिएको छ । चालु पुँजी कर्जाको प्रावधान तत्काललाई स्थगन गरिनुपर्ने माग पनि परिसङ्घको छ ।

बजार माग बढाउन र बजेटका उद्देश्य पूरा गर्न मौद्रिक नीति समन्वयात्मक ढङ्गले आउनुपर्नेमा परिसङ्घले जोड दिएको छ । ऋणीलाई कालोसूचीमा राख्ने अवधिमा पुनरावलोकनका लागि पनि परिसङ्घले राष्ट्र बैंकलाई सुझाव दिएको छ ।

उच्च हिमाली क्षेत्रमा अझै बादल रहेकाले ल्हेन्दे खोलामा बाढीको कारण पत्ता लगाउन समस्या

काठमाडौँ । चीन तथा नेपालको उच्च हिमाली क्षेत्रमा अझै पनि बादल रहिरहेका कारणले रसुवामा आएको भोटेकोसी बाढीका कारण पत्ता लगाउन समस्या देखिएको छ । जल तथा मौसम विज्ञान विभागले बादलका कारण भू–उपग्रहको सहायताबाट तस्बिर लिन खोज्दा स्पष्ट नभएकाले बाढीका कारण पत्ता लगाउन नसकिएको बताएको छ ।

विभागका अनुसार नेपाल र चीनको भू–भागमा भारी वर्षा नभए पनि रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको हो । सोमबारदेखि मङ्गलबार २४ घण्टाको अवधिमा नेपाल–चीन सीमाबाट नजिकमा रहेको रसुवास्थित क्याञ्जिङ मौसमी केन्द्र र रसुवास्थित धुञ्चे मौसमी केन्द्रमा फाट्टफुट्ट मात्र वर्षा मापन भएको विभागले जानकारी दिएको छ ।

विभागका बाढीविद् विनोद पराजुलीले चीन तथा नेपालको भू–भागमा रहेको कुनै पनि हिमताल फुटेको हुनसक्ने वा हिउँको ढिक्का खोलामा बसेर थुनिएको र पछि फुटेको हुनसक्ने आशङ्का रहेको बताए ।

‘भारी वर्षाका कारण बाढी गएको होइन भन्ने पत्ता लाग्यो । अब चाहिँ के कारण गएको भनेर हामीले अध्ययन गरिरहेका छौँ’, उनले भने, ‘कार्यस्थलमा नै तत्काल गएर अध्ययन गर्न सम्भव नभए पनि भू–उपग्रहको सहायताबाट कारण थाहा पाउन सकिन्थ्यो । तर बादलका कारण अझै समस्या देखिएको छ ।’

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले पनि बादलका कारण उपग्रह विश्लेषणमा अवरोध पुगेको जनाएको छ ।

पहिरोले थुनिएको म्याग्दी नदी बग्न शुरु

म्याग्दी । म्याग्दीको धवालागिरी गाउँपालिका–४ स्थित बाँसबोटको भिरबाट खसेको पहिरोले थुनिएको म्याग्दी नदी ओभर फलो भएर बग्न शुरु गरको छ । स्थानीय प्रशासनले तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सजग रहन अपील गरेको छ ।

धवालागिरी गाउँपालिकाले सूचना जारी गर्दै म्याग्दी खोला थुनिएको र खोलामा पानीको बहाव बढेकोले सतर्क रहन आग्रह गरेको छ । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बाँसबोटको भीरबाट खसेको पहिरो थुप्रिदा बुधबार दिउँसो करिब एक घण्टा आंशिक रुपमा म्याग्दी नदी थुनिएको थियो ।

नेप्सेमा ७ अर्ब ४५ करोडको कारोबार

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार नेप्से दोहोरो अङ्कले बढेको छ । बुधबार नेप्से २२ दशमलव ०४ अङ्कले बढेर २ हजार ७ सय ५ दशमलव ९० विन्दुमा पुगेको छ ।

आज फाइनान्स र म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा बैकिङ समूहको शेयर १ दशमलव ६८ प्रतिशतले उकालो लागेको छ । आज वरुण हाइड्रोपावर कम्पनीको शेयर ६ दशमलव २१ प्रतिशतले बढेको छ ।

समग्रमा बजार बढेको दिन ग्रीन विकास बैंकको शेयर भने ४ दशमलव ४१ प्रतिशतले घटेको छ । आज ३१६ वटा कम्पनीको १ करोड ५८ लाख कित्ता शेयर ७ अर्ब ४५ करोड रुपैयाँमा किनबेच भएको छ ।

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल पार्टीबाट निस्कासित

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनीका महामन्त्री विक्रम खनाल पार्टीबाट निस्कासित भएका छन् । असार १७ गते बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले नवलपरासीका खनाललाई प्रदेशसभा र प्रतिनिधिसभामा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै कारबाही गरिएको हो ।

समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले खनाललाई कारबाही गरिएको जानकारी पार्टी सभापति शेरबहादुर देउवालाई दिएका छन् ।

उजुरीपछि खनाललाई स्पष्टीकरण सोधिएको तर जवाफ चित्तबुझ्दो नदेखिएकोले प्राप्त प्रमाणको आधारमा कांग्रेसको विधान २०२७ (संशोधनसहित) धारा ३४ को उपधारा १ क ख र घ तथा उपधारा ङ बमोजिम १ वर्षका लागि पार्टी सदस्यबाटै निष्काशन गर्ने निर्णय गरिएको ढुंगानाले जानकारी दिएका छन्।

नैतिकताको पाठ नसिकाउन रास्वपालाई गृहमन्त्रीको चेतावनी

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसासम्बन्धी विषयमा सार्वजनिक रुपमा अनेक अड्कलबाजी गरिएको भन्दै प्रतिनिधिसभामा स्पष्ट जानकारी दिन आग्रह गरेका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लेखकले पछिल्लो समय स्पेन भ्रमणसँग जोडेर आएका टिप्पणीप्रति आपत्ति जनाएका हुन् । उनले भिजिट भिसाका बारेमा केही समयदेखि संसदमा निरन्तर कुराहरु उठ्दै आइरहेको र त्यो विषयमा अख्तियारले छानबिन गरिरहेको बताए ।

उनले स्पेन भ्रमणमा प्रधानमन्त्रीसँगै गएकामध्ये को फर्किए, को उतै बसे भन्ने विषयमा तथ्यमा आधारित भएर बोल्न सांसदहरुलाई आग्रह गरे । उनले भने, ‘प्रधानमन्त्रीको प्रतिनिधिमण्डल मन्त्रिपरिषद्को निर्णयपछि मात्रै जान्छ र त्यसपछि सार्वजनिक हुन्छ । त्यसैले म माननीय सदस्य साथीहरुलाई आग्रह गर्न चाहन्छु, को को जानुभयो ? को फर्किनुभयो ? स्पष्ट जानकारी दिए सरकारलाई सजिलो हुन्थ्यो ।’

गृहमन्त्रीले संसदमा जिम्मेवार ढंगले कुरा उठाउन आग्रह गर्दै अड्कलबाजीमा आधारित सूचना सार्वजनिक नगर्न आग्रह गरे । उनले कल्पनामा, अनुमानमा, असत्य पुलिन्दा बाँधेर कहीँ नपुगिने बताए ।

गृहमन्त्री लेखकले रास्वपा सभापति रवि लामिछाने अमेरिका जाँदा भिजिट भिसामा गएको हो वा होइन भन्ने विषय स्पष्ट पार्न रास्वपालाई आग्रह गरे ।

उनले भने, ‘माननीय रवि लामिछानेजी जो सम्मानित सदनको सदस्य पनि हुनुहुन्थ्यो । उहाँ कुनै समय संयुक्त राज्य अमेरिकामा भिजिटरको रूपमा जानुभएको थियो अरे भन्ने सुनेको थिएँ । उहाँ भिजिटरको रूपमा अमेरिका जानुभएको हो कि होइन ? भिजिट भिसा वा भिजिटर अथवा निश्चित केही समय अर्को देश बसेर फर्केर आएको भिसामा जानुभएको । होइन भने के भिसामा जानुभएको हो त्यो जानकारी गराउनुहुन आग्रह गर्दछु ।’

गृहममन्त्रीले भिजिट भिसामै गएर त्यसै देशको नागरिकता लिएर बस्न पाइन्छ कि पाइँदैन भन्दै प्रश्न गरे । उनले भिजिट भिसाको दुरुपयोग गर्ने पार्टीको नेताका कार्यकर्ताले अर्कोलाई ज्यादा नैतिकताको प्रश्न पढाउन आवश्यक नरहेको बताए ।

म्याग्दीमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, एक बेपत्ता

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–३ लुप्सीपारमा बुधबार दिउँसो पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

लुप्सीपारका ३५ वर्षीय जगेन्द्र विकको पहिरोमा पुरिएर मृत्यु भएको हो भने निजका छोरा अन्दाजी १३ वर्षका सरोज विक बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए ।

उनका अनुसार घर नजिकैको बारीको पाखामा घाँस काट्ने क्रममा अचानक माथिबाट पहिरो खसेर दुवैलाई पुरेको हो । बेपत्ताको खोजीका लागि जनप्रतिनिधि, स्थानीयवासी र इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक सोमढास ढकालको नेतृत्वमा सुरक्षाकर्मीको टोली घटनास्थलमा खटिएको छ ।

राम्रोसँग कान खोलेर सुन्नुहोस् भन्दै सोविता गौतमले दिइन् प्रधानमन्त्रीको सचिवालयलाई यस्तो जवाफ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले मंगलबारको प्रतिनिधिसभा बैठकको आफ्नो अभिव्यक्ति विवादमा परेपछि त्यसलाई स्पष्ट पारेकी छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद गौतमले आफनो अभिव्यक्तिलाई विवादित पार्न खोजिएको भन्दै आपत्ति जनाइन् । सांसद गौतमले आफूले मंगलबारको प्रतिनिधिसभामा बोलेको धारणा नेपाली भाषा बुझाइमा समस्या भएकाहरूले मात्रै नबुझेको बताइन् ।

गौतमले स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका मानिसहरू फर्किएनन् भनेर नभनेको बताइन् । उनले प्रधानमन्त्री सहभागी कार्यक्रममा गएर कोही फर्किएनन् भन्नु र प्रधानमन्त्रीसँग गएर फर्किएनन् भन्नुमा निकै अन्तर रहेको बताइन् ।

उनले भनिन्, ‘प्रधानमन्त्रीज्यूको आधिकारिक प्रतिनिधिमण्डल सबै कार्यक्रम सकेर नेपाल फर्किनुभयो । तर यो पनि सत्य हो कि प्रधानमन्त्री जानुभएको कार्यक्रममा सयौं नेपाली कार्यक्रममा बहानामा गएर फर्किएका छैनन् र उतै बसेका छन् । प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रम निकै ठूलो कार्यक्रम हो । १०औं हजार मानिसहरु सहभागी हुने कार्यक्रम हो । नेपालबाट सयौं मानिसहरु सहभागी हुन गएको पनि साँचो हो । केही नफर्किएको पनि साँचो हो । फेक डकुमेन्ट बनाएर भिसा लगाएको पनि साँचो हो । सांसद महोदयहरूलाई नेपाली भाषा बुझ्न समस्या भएका कारण मेरा भनाइहरू हटाउनुपर्छ भन्ने त भएन नि ।’

उनले संसदमा उठाएको विषय हटाउन माग आएकोप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीको सचिवालयबाट चुनौति आएको भन्दै जवाफसमेत दिइन् ।

उनले भनिन्, ‘रास्वपा जिम्मेवार पार्टी हो। म पनि जिम्मेवार सांसद हुँ । राम्रोसँग कान खोलेर सुन्नुहोस्, मैले भनेको वाक्य पुनः दोहोर्याउँछु– स्वयं सम्माननीय प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रममा समेत केही मानिसहरू कार्यक्रमको बहानामा गएका र नफर्किएको भन्ने समाचारहरू आइरहेका छन् ।’

सांसद गौतमले आफ्नो भनाइलाई गलत रूपमा अथ्र्याइएको भन्दै आक्रोश व्यक्त गरिन् । उनले आफूले भनेको विषयप्रति कुनै भ्रम छैन भन्दै चुनौती दिनेहरूप्रति संकेत गर्दै थपिन्, ‘जसलाई समस्या छ, उसैको उपचार गरियोस्। मैले भनेको कुरा स्पष्ट छ र त्यसमा म अडिग छु ।’

राप्रपा र रास्वपाद्वारा संसद बैठक बहिष्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपा र राप्रपाले संसद अवरोध गर्दै आएका छन् ।

भिजिट भिसा प्रकरणमा सरकारले पूर्वमुख्यसचिव शंकरदास बैरागी नेतृत्वको छानबिन समिति बनाएको छ । तर उनीहरुले त्यसलाई स्वीकार गरेका छैनन् ।

बारामा यसवर्ष ९१ हजार ८०० मेट्रिक टन चैते धान उत्पादन

बारा। बाराका किसानले यसवर्ष ९१ हजार ८०० मेट्रिक टन चैते धान उत्पादन गरेका छन् । कृषि ज्ञानकेन्द्र बाराका प्रमुख राजनारायणप्रसाद साहले सो जानकारी दिएका हुन्।

किसानले उत्पादित धानको कलैया बजारमा प्रतिक्विन्टल दुई हजार २०० मा बिक्री गरिरहेका छन् । गत वर्ष प्रतिक्विन्टल तीन हजारको दरले बिक्री वितरण भएको थियो ।

उनका अनुसार कृषकले विभिन्न जातको चैते धान १८ हजार हेक्टर क्षेत्रफलमा खेती गरेको बताए।  गत कृषकहरू १६ हजार हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरेका कृषि ज्ञानकेन्द्रका अर्थ विज्ञ गणेश महराले बताए।