`

धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृत्यपश्चात आमाको पनि निधन

जनकपुरधाम । धनुषाको सहिद नगरपालिका–५ यदुकोहामा विष सेवनवाट गत सोमबार तीन बालबालिकाको मृत्युको घटनामा आमाको पनि चार दिनपछि निधन भएको छ । विष सेवनवाट गम्भीर भएकी आमा पवित्रा साहको जनकपुरधामस्थित रामजानकी अस्पतालमा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गत सोमबार गहुँमा राख्ने विषादी सेवनबाट आमा बिरामी र तीन छोराछोरीको मृत्यु भएको थियो । तीन छोराछोरी छ वर्षीय आदित्य साह, चार वर्षीया आकृती साह र दुई वर्षीया छोरी आरुती साहको घटनास्थलमै मृत्यु भएको थियो । यदुकोहाका सुशील साहका मृतक पवित्रा साह श्रीमती हुन् ।

विष सेवन गरेकी आमा पवित्रा साहको अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर अस्पतालमा उपचार भइरहेको थियो । गर्भवती पवित्राको शल्यक्रिया गरेर शिशु निकालिएको थियो । शिशुको अवस्था सामान्य रहेको अस्पतालका सञ्चालक मिथलेश साहले जानकारी दिए ।

पारिवारिक विवादका कारण घटना भएको प्रहरीको अनुमान रहेको छ । हाल अटनाको अनुसन्धान भइरहको छ ।

सरकारलाई कामको गति बदल्न कांग्रेसको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले अहिले देशमा अशान्ति मच्चाउने तत्वहरुले सरकारप्रति गलत किसिमको भाष्य निर्माण गरिरहेको बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा घिमिरेले दैनिक सरकार परिवर्तनको हल्ला चलाइरहेका र मुलुकमा अस्थिरता सिर्जना गर्ने प्रयत्न गरिरहेको बताएका हुन् ।

उनले भने, ‘अहिले देशमा अशान्ति मच्चाउने तत्वहरुले एक किसिमको भाष्य निर्माण गर्दैछ । दैनिक सरकार परिवर्तनको हल्ला चलाइरहेका छन् । मुलुकमा अस्थिरता सिर्जना गर्ने प्रयत्न हुँदैछ । विभिन्न वादीका नाममा देशमा अशान्ति मच्चाइ धमिलो पानीमा माछा मार्ने प्रयत्न पनि विभिन्न कोणबाट भइरहेको देखिन्छ । ’

उनले संसदको भूमिका परिवर्तन नआएको हुँदा सांसदप्रति जनताको धारणा केन्द्रित हुन नसकेको बताए ।
घिमिरेले सरकारले काम गर्ने शैली बदल्नुपर्ने बताए ।

उनले भने, ‘सरकारले गति बढाउनुपर्छ, सुशासनको मामिलामा आक्रामक ढंगले अघि बढ्नुपर्छ । नेपाली जनताले नेपाली कांग्रेस र एमालेजस्ता ठूला पार्टीको बलियो र शक्तिशाली सरकार हो भन्ने कुरा व्यवहारमा महसुस गर्न पाउनुपर्छ । यस हिसाबले अघि बढ्न नेपाली कांग्रेस संसदीय दल सरकारसँग आग्रह गर्दछ ।’

उनले कांग्रेस सरकारबाट नबाहिरिएसम्म सरकार ढल्दैन भन्ने सबैलाई थाहा भएको र एमालेसँग भएको सहमति अक्षरशः पालना गर्न कांग्रेस प्रतिबद्ध रहेको बताए । उनले सरकार गठनका लागि कुनै पनि दलले संविधानअनुसार गठबन्धन गर्नैपर्ने अवस्था रहेको बताए ।

उनले भने, ‘दैनिकरूपमा सरकार ढल्ने हल्लाको पछाडि नलागी आफ्नो काम तदारुकताका साथ देखाउनसमेत आग्रह गर्दछु । वर्तमान संविधान अनुसार एउटा दलको बहुमत आउने र एकलौटी सरकार बन्न नसक्ने अवस्था आजको दिनमा कम छ । यस्तो अवस्थामा हामीले गठबन्धनको संस्कृति निर्माण गर्नुपर्छ ।’

कफी क्लब च्यारिटी फुटसल शनिबार हुने

काठमाडौं । कफी क्लबको आयोजनामा तेस्रो पिल्मो फेमिली कफी क्लब च्यारिटी फुटसल प्रतियोगिता शनिबार हुने भएको छ ।

प्रतियोगितामा पुरुषतर्फ ३४ तथा महिलामा १० टिमले प्रतिस्पर्धा गर्ने आयोजक क्लबका अध्यक्ष शैलेश लिम्बूले जानकारी दिए । नकआउट आधारमा हुने प्रतियोगिताको प्रत्येक खेल १५ मिनेटको हुनेछ ।

पुरुष/महिला दुवैमा पहिलो हुनेले रु २५ हजार तथा दोस्रो हुने टोलीले रु १२ हजार नगदसहित पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार दिइने छ ।

प्रतियोगिताबाट सङ्कलित रकमबाट एक जना विपन्न परिवार वा जेहेन्दार विद्यार्थीलाई रु ५० हजार आर्थिक सहयोग प्रदान गरिने आयोजकले जनाएको छ । एकदिने प्रतियोगिताका खेल सुनाकोठीस्थित वाखत फुटसलमा खेलाइने छ ।

सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण

काठमाडौँ । नेपाल सरकारलाई भारतबाट प्राप्त सिकलसेल एनिमिया र थालसेमियाको उपचारमा प्रयोग हुने खोप हस्तान्तरण गरिएको छ । मन्त्रालयमा आज आयोजित एक समारोहबीच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई खोप हस्तान्तरण गरेका हुन् ।

भारत सरकारले पहिलो चरणमा १७ हजार ३० भाइल खोप प्रदान गरेको हो । इन्फ्लुएञ्जा, सालमोनेला, मेनिनगोकोकोस, हेमोफिलियस इन्फ्लुएञ्जा र स्टे«पटोकोकस गरी पाँच प्रकारका खोप प्रदान गरिएको हो । यी खोपले सिकलसेल एनिमिया र थालसेमिया सङ्क्रमणको जोखिमलाई घटाउन मद्दत गर्छन् ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालमा कूल जनसङ्ख्याको करिब १२ प्रतिशत मानिसमा यो समस्या छ । विशेषगरी थारु समुदायमा यो रोग देखिएकाले प्राप्त खोपबाट ती समुदाय लाभान्वित हुने उनले बताए ।

“हामीले टीकापुर र गेटा अस्पतालमा पनि सिकलसेलको उपचारका लागि तयारी गरेका छौँ । भारतले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्दछौँ । हाल प्राप्त यस सहयोगले लक्षित समुदाय लाभान्वित हुनेछन् । ”, मन्त्री पौडेलले भने ।

भारतीय राजदूत श्रीवास्तवले अर्को चरणमा करिब चार हप्तामा थप औषधि आउने बताए । उनले भने, “अप्ठ्यारो परेका बेला भारतले जहिल्यै सहयोग गर्दै आएको छ । मन्त्रीज्यूको अनुरोधमा यो सहयोग गरेको हौँ । यी औषधि र खोपले थारु समुदायलाई सहयोग हुने अपेक्षा गरेका छौँ । केही समय पहिला दुई सय डायलाइसिस मेसिन सहयोग गरेका थियौँ । क्यान्सरको औषधि पनि सहयोग गर्ने तयारीमा छौँ ।” 

नवनियुक्त शिक्षामन्त्री पन्तले शिक्षकहरूलाई बोलाए वार्तामा

काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा बोलाएका छन् । शुक्रबार विज्ञप्ति जारी गरी मन्त्री पन्तले शिक्षकहरुलाई वार्तामा बोलाएका हुन् ।

उनले विद्यालय शिक्षा विधेयकलाई यथाशीघ्र पारित गर्नुपर्ने मागप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ’शिक्षक प्रतिनिधिहरूसँगको परामर्श तथा छलफलकै आधारमा विधेयकको मस्यौदा तयार गरिएको हो । त्यसैले विधेयक छिट्टै पारित होस् भन्ने शिक्षक तथा कर्मचारीहरूको चासो स्वभाविक हो।’ शिक्षकहरु गत चैत २० गतेदेखि विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।

संसद्को यो अधिवेशन जनताका आकांक्षा सम्बोधनका विषयमा प्रभावकारी बन्ने सभामुखको अपेक्षा

काठमाडौँ । प्रतिनिधिसभाको छैठौँं अधिवेशनको पहिलो बैठक सुरु भएको छ । शुक्रबारको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका छन् ।

उनले संसद्को यो अधिवेशन कानुन निर्माण, जनताका आकांक्षा सम्बोधनलगायत विषयमा प्रभावकारी बन्ने अपेक्षा व्यक्त गरे ।

‘ अधिवेशनमा सरकारले नीति तथा कार्यक्रम, बजेटसँगै अन्य कानुन संसद्मा पेस गर्नेछ भन्ने अपेक्षा छ । संसद् जनताको आवाज उठाउने थलो सँगसँगै मुलुकका लागि आवश्यक कानुन निर्माण गर्ने स्थान पनि हो’, सभामुख घिमिरेले भने,’कानुन निर्माणमा ढिलाइ हुँदा नागरिकमा देखिएका असन्तुष्टिलाई यो अधिवेशनले चिर्न सक्ने विश्वास छ । पारदर्शीता, सामाजिक न्याय र जवाफदेहिताका लागि संसद्ले प्रभावकारी भूमिका खेल्ने छ ।’

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार र मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका छन् ।

यस्तै, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदहरूको मनोनयनसमेत गरेका छन् ।

जसमा सांसदहरू अमृतादेवी अग्रहरी, डा चन्दा कार्की भण्डारी, दुर्गा राई, बुद्धिमान तामाङ, मुक्ता यादव, राजेन्द्रकुमार केसी र हेमराई राई मनोनित भएका छन् ।

थाइल्याण्डबाट स्वदेश फर्केपछि देउवाले भने-सत्ता परिवर्तन हुँदैन

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता समीकरणमा फेरबदल नहुने बताएका छन् ।

थाइल्याण्ड भ्रमण सकेर शुक्रबार स्वदेश फर्केका सभापति देउवाले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले सत्ता परिवर्तनको कुनै संभावना नरहेको बताएका हुन् । उनले सत्ता गठबन्धनमा कुनै खटपट नरहेको पनि दाबी गरे ।

उनले भने, ‘सत्तासमीकरण परिवर्तन हुने कुरामा सत्यता छैन ।’ वैशाख ७ गते देउवा परिवार थाइल्याण्ड गएका थिए ।

सभापति देउवा थाइल्याण्ड गएका बेला नेपालमा सत्ता फेरबदलका समाचार सार्वजनिक भएका थिए । कांग्रेस महामन्त्री गगन थापाले यही तरिकाले सरकारले काम गरे कांग्रेसले सरकार छाड्ने बताएका थिए ।

त्यस्तै माओवादी अध्यक्ष प्रचण्डले पार्टी संसदीय दलको बैठकमा सत्ता फेरबदलको संकेत गरेका थिए । प्रचण्डले देउवा थाइल्याण्डबाट फर्केपछि यसबारेमा कुराकानी गर्ने बताएका थिए ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार आयोजित एक कार्यक्रममा पार्टीका नेता कार्यकर्तालाई सत्ताको चिन्ता नगर्न र ८४ को चुनावमा केन्द्रित हुन निर्देशन दिएका थिए । यसबाट पनि सत्तागठबन्धनमा खटपट आएको विश्लेषण नेपाली राजनीतिमा हुन थालेका छन् ।

लोकतन्त्रको ऐना हो संसद्

-डा. शोभाकर पराजुली

हिउँदे अधिवेशन समापन भएको २३ दिनपछि संसद्को वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । गत चैत १९ गते रातिदेखि हिउँदे अधिवेशन अन्त्य भएको थियो । संसदको वर्षे अधिवेशनलाई बजेट अधिवेशन पनि भनिन्छ । विसं २०७२ को नेपालको नयाँ संविधानमै हरेक वर्ष जेठ १५ गते देशको वार्षिक बजेट ल्याउने भनेर लेखिएको छ । त्यहीअनुसार बजेटका बारेमा तयारी तथा त्यसको कार्यान्वयनका लागि संसद्को वर्षे अधिवेशनको विशेष महत्व हुन्छ ।

तर बजेटबाहेक यसपालि संसद्का अरु पनि धेरै कार्यभारहरू थाँती छन् । सबैभन्दा पहिला त शिक्षक आन्दोलनलाई सम्बोधन गर्नका लागि नयाँ शिक्षा ऐनका बारेमा संसद् एउटा टुङ्गोमा पुग्नुपर्नेछ । २२औँ दिनदेखि काठमाडौँका सडकमा नाराबाजी गरिरहेका शिक्षकहरूलाई अनदेखा गर्न मिल्दैन । सरकारले शिक्षकहरूकै मागअनुसार शिक्षा ऐन पारित गर्ने भनेर वैशाख १२ गते संसद्को बैठक आह्वान गरेको भनेको त छ । तर संसद् खुलेकै दिन त्यसलाई पारित गर्न भने सम्भव छैन । किनकि त्यो ऐनका लागि आवश्यक कामहरू सकिएकै छैनन् । संसदीय समितिले रातदिन काम गरिरहेको भने पनि त्यसका दफावार छलफल सहमतिमा पुग्न सकेको छैन । यो सँगसँगै संसद्मा टेबल भएका, दर्ता भएका तथा अरु पनि छलफलका क्रममा रहेका थुप्रै विधेयकहरू छन् । त्यसको टुङ्गो पनि यही अधिवेशनबाट गर्नुपर्नेछ ।

यसपाली पनि संसद्का यतिधेरै कार्यभारहरू छन् कि अब सांसदहरूले रातदिन नभनेर संसद्मा काम गर्नुपर्नेछ । संसद् भनेको जनताको एउटा प्रतिनिधि थलो हो, जहाँबाट जनतालाई सुन्नै नखोज्ने सरकारलाई पनि त्यहाँबाट सुनाउन सकिन्छ । सरकारले संसद्लाई सुन्नैपर्छ । संसदीय प्रणाली भनेकै जनताको सार्वभौमिकतालाई सर्वोच्चता दिने प्रणाली हो र यही प्रणालीअन्तर्गत बनेका कुनै पनि सरकार संसद्प्रति नै उत्तरदायी हुनुपर्छ । त्यो सरकारको निर्भता नै संसद्मा रहन्छ । प्रजातान्त्रिक शासन व्यवस्थामा संसद् एउटा त्यस्तो निकाय हो, जसले राष्ट्रको कार्यकारी निकाय अर्थात् सरकारको वैधता निर्धारण गर्दछ । सरकार चल्न अनि टिक्नका लागि पनि संसद्को विश्वास जित्नुपर्छ । जुन दिन संसदको विश्वास रहँदैन, त्यो दिन सरकार पनि रहँदैन । खासमा यही शक्ति सन्तुलन अर्थात शक्तिपृथकीकरणको एउटा अङ्ग नै संसद् हो ।

जनताले निर्वाचनमार्फत चुनेका उनीहरूका आफ्नै प्रतिनिधिहरूले जनताका मुद्दाहरूबारे सरकारलाई खबरदारी गर्ने र जनहितमा ऐन, कानुनहरूको निर्माण गर्ने थलो नै संसद् हो । कामकाजी भाषामा भन्ने हो भने संसद् भनेको जनताको जीवनसँग गाँसिएको एउटा लोकतान्त्रिक थलो हो संसद् । लोकतन्त्रको एउटा उत्कृष्ट अभ्यास चुनाव हो र त्यसमार्फत जनताले आफ्ना प्रतिनिधि रोजेर पठाउँछन् । देशभरिबाट चुनिएर आएका तिनै जनताका प्रतिनिधिहरूलाई सांसद भनिन्छ र उनीहरूले मन्थन गर्ने थलो भनेको संसद् हो । नेपालले राजनीतिलाई संसदीय संरचना र संसदीय सर्वोच्चतालाई स्वीकार गरिएको शासकीय प्रणाली अपनाएको छ दशकभन्दा धेरै समय भइसकेको छ । र, पनि यहाँको राजनीतिक संस्कारले संसदीय सर्वोच्चतालाई साँचो हृदयले आत्मसात् गर्न नसक्दा त्यसको प्रभावकारिता आमनागरिकले महसुस गर्न सकेका छैनन् ।

नेपालको संसदीय यात्रामा अनेक आरोहअवरोधहरू देखापर्दै आएका छन् । कहिले विघटनको मार अनि कहिले निलम्वनको पासो । कहिले कुनै शासकीय परिवन्द त कहिले अवरोधका अनेकौँ बहानाहरू । नेपालमा पहिलोपटक २०१५ सालमा आमनिर्वाचन भयो । राणाशासनको अन्त्यपछि नेपाली कांग्रेसले नै एउटा सार्वभौम संसद्को माग अघि सारेको थियो । यद्यपि, त्यो बेला ‘क्रान्तिकारी’हरूले संविधानसभाकै गठन हुनुपर्ने भनेका थिए । तर राणासँगको सम्झौतापछि राणा–कांग्रेसको संयुक्त सरकार बन्यो । त्यो अन्तरिम सरकार पनि संविधानसभा बनाउने कि संसदीय निर्वाचन गर्ने भन्ने अलमलमै बित्यो । यो अलमलका आठ वर्षपछि अन्ततः २०१५ फागुन ७ मा पहिलोपटक संसदीय निर्वाचनको घोषणा भयो । नेपालको शासकीय राजनीतिक इतिहासमा यो पहिलो चुनाव ४५ दिनसम्म चलेको थियो । त्यसपछि २०१६ असार १६ गते मध्यरातमा मात्रै संसदको पहिलो बैठक बोलाइएको थियो । नेपालमा संसदीय राजनीतिको यो पहिलो कोशेढुङ्गा थियो । तथापि, यो सांसदले आफ्नै पूरै शैसवकाल पनि बाँच्न पाएन । संसदीय अभ्यास तङ्ग्रिन पनि नपाउँदै १८ महिनापछि राजा महेन्द्रले संसद् र संसद्बाटै निर्वाचित सरकारमाथि प्रतिबन्ध लगाए । जनताको प्रजातान्त्रिक थलो खोसियो । जननिर्वाचित प्रधानमन्त्री अनि देशका गन्यमान्य नेताहरूलाई पनि जेल हालियो । त्यसपछिका करिब ३० वर्ष राजाले ल्याएको त्यही पञ्चायती व्यवस्थासँगै लड्नमा बिते । त्योबेला पनि पञ्चायती भारद्वारहरूको पञ्चायती सभाहरू त हुन्थे तर ती अधिकार खोसिएका जनताका लागि कुनै कामका थिएनन् । ती त बरु दरबार रिझाउने र जनतामाथि शासन लाद्नेहरूको मात्रै पञ्चायत थिए ।

विसं २०४६ को जनआन्दोलनपछि फेरि संसद् पुनःस्थापित भयो । र, २०४८ सालमा संसदीय निर्वाचन भयो । त्यसपछिका संसद्हरू पनि धेरै खलबलिए । बहुदलीय शासन व्यवस्था भएका कारण न संसद स्थिर भयो न सरकार नै । पटकपटक फेरिने सरकारहरूले नै संसदलाई बिथोल्ने काम गरे । २०५२ सालपछि २०६२–६३ सम्म कुनै पनि संसद्ले आफ्नो पूरा कार्यकाल काम गर्न सकेनन् । यो वा त्यो बहानामा कहिले संसद् भङ्ग गरियो । माओवादी जनयुद्धका बेला २०५९ सालमा त फेरि राजा ज्ञानेन्द्रले ‘कु’ गरे । फेरि महेन्द्रकै शैलीमा जनताका अधिकार खोसिए र राजनीतिक दलहरूमाथि एकप्रकारको प्रतिबन्ध लाग्यो । फेरि अर्को जनआन्दोलन भयो । यो बेला पनि नेपाली कांग्रेसले संसद् पुनःस्थापनालाई आफ्नो ‘बटमलाइन’ बनाएको थियो । खासगरी तत्कालीन नेपाली कांग्रेसका सभापति तथा आन्दोलनका कमाण्डर स्व गिरिजाप्रसाद कोइरालाले संसद पुनःस्थापनाको अडान लिनुभएको थियो । त्यहीअनुसार सबै संसदीय दलहरू मिलेर जनआन्दोलनको नेतृत्व लिए र जेठ ११ गते राजा ज्ञानेन्द्रले संसद्सहित जनताका सारा अधिकारहरू फिर्ता गरे ।

एउटा बहुदलीय लोकतान्त्रिक राष्ट्रमा संसद्को शक्ति कति हुन्छ भन्ने कुरा नेपालका हरेक संसद्हरूले गतिला उदाहरणहरू पेस गरेका छन् । यो त्यही संसद थियो जसले राजतन्त्र अन्त्य भएको घोषणा गरेको थियो । राजा र राजसंस्थाको शताब्दियौँको विरासत यही संसद्ले अन्त्य गरिदिएको थियो । त्यतिमात्रै होइन, हतियार उठाएर सत्ता कब्जाको सपना बोकेर युद्धमा हिँडेको माओवादीलाई पनि यही संसदीय राजनीतिले नै राजनीतिको यो बाटोमा ल्याइदियो । त्यसपछि २०६४ साल र २०७० सालमा संविधानसभाको निर्वाचन भयो । यो संविधानसभाले २०७२ सालमा संविधान जारी ग¥यो र त्यसपछि २०७४ सालमा करिब २० वर्षपछि नेपालमा पनि फेरि संसदीय चुनाव भयो । यो बेला देशमा गणतन्त्र आइसकेको थियो । देशको शासकीय पद्धति पनि परिवर्तन भइसकेको थियो र सङ्घीयतामा गइसकेको थियो । स्थानीय तह र प्रदेशदेखि सङ्घसम्मको निर्वाचन निकै उत्साहप्रद रह्यो ।

लोकतन्त्रमा जनताले आफैँ प्रत्यक्ष नभए पनि आफ्ना प्रतिनिधिमार्फत नीतिगत तहमै आफ्नो प्रतिनिधित्व महसुस गरेका हुन्छन् । तर जनताबाट चुनिएर आएका प्रतिनिधिहरूले नै जनतालाई महसुस हुनेगरी काम नगर्दा नयाँ आम नागरिकमा अब संसद्प्रति नै भरोसा निकै कम भएको मान्न सकिन्छ । यसरी सरसर्ती सामान्य भाषामा बुझ्ने हो भने संसद् भनेको लोकतन्त्र निखार्ने एउटा प्रतिनिधि थलो पनि हो, जहाँ बसेर प्रतिनिधिहरूले सरकारलाई खबरदारी गर्न सक्छन् । जनताको जीवनसँग गाँसिने र उनीहरूलाई महसुस हुनेगरी ऐन, कानुनहरू बनाउन सक्छन् । एउटा दलले अर्को दलको विरोधमा वा सामान्य कुरामा पनि संसद्को बैठकहरू अवरुद्ध हुँदा त्यसले कति क्षति पु¥याउँछ भन्ने कुनै गणितीय हिसाब हुँदैन । तर त्यसको असर भने जनताको दीर्घजीवनमा निकै नकारात्मक तरिकाले परिरहेको हुन्छ । एकातिर संसदीय दल र संसदीय अभ्यासप्रति आमजनताको भरोसा टुट्दै जान्छ । जनताको जीवनलाई सम्बोधन गर्ने नीति, ऐन, कानुन निर्माण अवरुद्ध भइरहेका हुन्छन् । संसद् अवरुद्ध हुँदा वा त्यसको नियमितता बिथोलिँदा सरकारलाई खबर गर्ने थलो हुँदैन र सरकार एकाङ्की हुन जान्छ । संसद् भनेको शक्तिपृथकीकरणको एउटा अभिन्न अंग पनि हो । एक प्रकारले संसद बिथोलिँदा सारा जनताको आशा र भरोसा पनि बिथोलिइरहेको हुन्छ ।

जनतामा सरकार तथा राजनीतिप्रति उभरिएको आक्रोश र असन्तुष्टि विस्तारै व्यवस्थाविरुद्ध नै विष्फोट हुन थालेको छ । हरेक दिनजसो सरकार, राजनीतिक दल र नेताहरूमाथि बर्सिने गालीहरू भने सरकार वा शासक वर्गमाथि जनतामा टुट्दै गएको भरोसाको चिह्न हो । त्यसैले सरकारपछि जनताका आवाज सुन्ने र त्यसलाई प्रभावकारी मन्थन गर्ने थलोका रुपमा संसद चलाऔँ र त्यसलाई चल्न देऔँ । संसद् भनेको हाम्रो लोकतन्त्रको एउटा अर्को ऐना पनि हो । तस्बिर गतिलो देखिए आफूलाई बदलौँ, धुलो लागेको भए त्यसलाई सफा गरौँ । तर त्यसलाई फोड्ने र तोड्ने प्रयास कहिल्यै नगरौँ ।

(लेखक राजनीतिक विश्लेषक हुनुहुन्छ)

सिन्धुपाल्चोकको फुल्पिङ्कोट केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर ५७ मिनेट जाँदा फुल्पिङकोट आसपास केन्द्रबिन्दु भएर ४ दशमलव १ रिक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि हिजो साँझ ७ बजेर ३४ मिनेट जाँदा रुकुमको रन्मामैकोट केन्द्रबिन्दु भएर ४ दशमलव २ रिक्टर स्केलको भूकम्प गएको थियो ।

प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँ : गृहमन्त्री लेखक

पाटन । गृहमन्त्री रमेश लेखकले प्रकृतिलाई बिगारेर आफै जोखिम निम्त्याउन नहुने बताएका छन् ।

गोरखा भूकम्पको दश वर्ष पूरा भएको अवसरमा आज ललितपुर महानगरपालिकाद्वारा पाटन दरबार क्षेत्रमा आयोजित ‘ललितपुर मेट्रोपोलिटियन सिटी रेजिलियन्स फेयर’ कार्यक्रममा गृहमन्त्री लेखकले विगतमा भोगेको विपद् र त्यसले पुर्याएको जनधनको क्षतिको स्मरण गर्दै आगामी दिनमा भूकम्प लगायतका विपद्बाट हुने जोखिम न्यूनीकरण गर्न ध्यानपूर्वक काम गर्नुपर्नेमा जोड दिए ।

“हामीले निर्माण गरेका भौतिक संरचना बलिया हुन जरुरी छ, प्रकृतिलाई सुरक्षित राख्नुपर्छ । विपद्मा खोज उद्धार र राहत प्रतिकार्य गर्न आवश्यक छ, विगतका दुःख र पीडालाई सम्झेर भविष्यमा जोखिमबाट बच्च हरेक दिन तयारी गर्नुपर्छ”, उनले भने ।

गृहमन्त्री लेखकले विपद्पछिको पुनःनिर्माण, खोज, उद्धार र राहातका कार्यमा ललितपुर महानगरले अनुकरणीय काम गरेको छ भन्दै प्रशंसा गरे । “पुनःनिर्माणमा दातृ संस्थाबाट धेरै सहयोग प्राप्त गरेका छौँ, हामी जोखिमपूर्ण भू–भागमा छौँ, बाढीपहिरोको विषयमा पूर्वानुमान गर्न सकिन्छ, तर भूकम्पको पूर्वानुमान गर्न सकिँदैन, तसर्थ भूकम्प जतिसुकै बेला पनि आउन सक्छ भनेर तयारी गर्नुपर्छ ।” उनले भने । विपद्मा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको गृहमन्त्री लेखकको भनाइ थियो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद् व्यवस्थापन कार्यमा ललितपुर महानगर अब्बल रहेको दाबी गरे ।

“एउटै छानामुनी विपद्का सम्पूर्ण सामग्रीको व्यवस्थापन गरेका छौँ, विपद्मा चार मिनेट भित्रै महानगरबाट सेवा प्रदान गर्छौँं, काम गरिरहेका पनि छौँ”, उनले भने । विपद्बाट पाटन दरबार क्षेत्रमा धेरै मन्दिर तहसनहस भएका उल्लेख गर्दै उनले अधिकांश मन्दिर पुनःनिर्माण गरिएका बताए ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का वरिष्ठ उपाध्यक्ष हारा शोहेईले विपद्को समयमा तीव्र रुपमा काम गर्न सक्ने तयारी तथा बलियो एकता जरुरी रहेको बताए ।

उनले जापान सरकार तथा जाइकाले नेपाल र नेपालीलाई गर्दै आएको सहयोग निरन्तर जारी रहने बताए । नेपाल र जापानको उस्तै भौगोलिक परिस्थिति रहेको उल्लेख गर्दै उनले पुनःनिर्माण र पूर्वाधार निर्माणलाई भूकम्प प्रतिरोधात्मक बनाउन आवश्यक रहेको बताए ।

नेपालका लागि जापानका राजदूत मायदा तोरूले विपद्मा हामीले भोग्नुपरेको पीडा र विगतको कमजोरी सुधार गरेर विपद्मा सुरक्षित रहन सन्देशमूलक कार्यक्रम आयोजना गरिएकामा धन्यवाद दिँदै नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्धलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले विपद् फेरि नआओस् भन्नका निम्ति प्रकृतिको नियमलाई पालना गर्न प्रतिबद्धता जनाउन तथा सचेत रहनका लागि सन्देश दिन यो कार्यक्रम आयोजना गरिएको बताए । 

मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले वृद्धि

मुस्ताङ । मुस्ताङमा विदेशी पर्यटकको आगमन उत्साहजनक देखिएको छ । राष्ट्रिय प्रकृति सरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका कार्यालयका वि.सं २०८० को तुलनामा २०८१ सालमा यहाँ आउने विदेशी पर्यटक करिब ५० प्रतिशतले बढेका छन् ।

वि.सं २०८० मा कूल ९६ हजार ६४५ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएकामा २०८१ सालमा ४९.७६ प्रतिशतले बढेर १ लाख ४४ हजार ७४५ जना पुगेको एक्याप जोमसोम कार्यालयका प्रमुख राजेशप्रसाद गुप्तले जानकारी दिए । एक्यापका अनुसार अघिल्लो वर्षको तुलनामा गत वर्ष सार्क राष्ट्रका पर्यटकको आगमन ५३.७१ प्रतिशतले बढी छ ।

गत वर्ष सार्क राष्ट्रबाट १ लाख १७ हजार ६१४ जना र अन्य मुलुकका २७ हजार १३१ जना पर्यटकले मुस्ताङ भ्रमण गरेको कार्यालयको भनाइ छ । कार्यालयका अनुसार २०८१ वैशाखमा २० हजार ८०९, जेठमा २८ हजार ८५६, असारमा ८ हजार १८७, साउनमा ३ हजार ५५८, भदौमा ६ हजार ६७९, असोजमा १३ हजार २१६, कात्तिकमा १४ हजार ५७८ र मङ्सिरमा ७ हजार ५५३ जना विदेशी पर्यटक मुस्ताङ आएका छ्न । साथै पुसमा ६ हजार ९७५, माघमा ३ हजार ५१७, फागुनमा ९ हजार ३२६ र चैतमा २१ हजार ४९१ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । कार्यालयका अनुसार गत वर्ष कूल ७२ राष्ट्रका पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् ।

कार्यालय प्रमुख गुप्ताका अनुसार मुस्ताङ आउने सार्क राष्ट्रतर्फ ८० प्रतिशत भारतीय पर्यटक हुने गरेका छन् । उनीहरु विशेष गरी मुक्तिनाथ दर्शन गर्न आउँछन् ।

एक्याप जोमसोमका अनुसार वि.सं २०८० सालमा ९६ हजार ६४५ जना विदेशी पयटकले मुस्ताङको भ्रमण गर्दा सार्क राष्ट्रतर्फ ७६ हजार ५१६ जना र अन्य विदेशी पर्यटकतर्फ २० हजार १२९ थिए ।

केही वर्षयता राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) सडकमार्ग सहज भएसँगै मुस्ताङ आउने आन्तरिक र बाह्य पर्यटकको उल्लेख्य वृद्धि भइरहेको एक्यापको भनाइ छ । कार्यालयका अनुसार मुस्ताङ आउने एक चौथाई विदेशी पर्यटक अन्नपूर्ण चक्रिय पदमार्ग हुँदै आएका छन् । साथै लमजुङको बेसी सहरदेखि मनाङ हुँदै मुस्ताङ भित्रिने पर्यटकको संख्यामा समेत वृद्धि भइरहेको छ ।

मुस्ताङबाट दृष्यावलोकन गर्न सकिने निलगिरि र धौलागिरि हिमालको मनमोहक दृष्य एवं यहाँका प्राकृतिक तथा जैविक विविधता अवलोकन गर्न विदेशी पर्यटक आउने गरेका छन् । कालिगण्डकी नदीको तटीय क्षेत्र, यहाँका पृथक भूगोल तथा प्राकृतिक सौन्दर्यताका कारण पर्यटक आउने गरेका छन् । यहाँका गुम्बा, माने, छोर्तेन र स्तुप पर्यटकीय आर्कषण हुन् ।

उपल्लो मुस्ताङमा मुस्ताङी राजाको ऐतिहासिक राजदरबार, लोघेकर (घर) गुम्बा, छोसेर गुफा, चिउसी गुफा, लुरी गुम्बा, दामोदरकुण्ड धार्मिकस्थललगायतका पर्यटकीय सम्पदा विद्यमान छन् । यस्तै प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ, कागबेनीधाम, ढुम्बाताल, स्याउको राजधानी एवं सांस्कृतिक गाउँ मार्फा, गुरुसाङ्वो गुफा, टिटी ताल र सेकुङ ताल लगायतका पर्यटकीय गन्तव्य भएकै कारण मुस्ताङमा पर्यटक आगमनदर बढ्दो छ ।

अभ्यासका क्रममा जहाज दुर्घटना हुँदा थाइल्यान्डका पाँच प्रहरीको मृत्यु

बैंकक । थाइल्यान्डको रिसोर्ट सहर नजिकै शुक्रबार प्यारासुट प्रशिक्षण अभ्यासका क्रममा एउटा सानो विमान समुद्रमा दुर्घटनाग्रस्त हुँदा पाँच थाई प्रहरी अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बैंककको दक्षिणमा रहेको प्राचुआप खिरी खान प्रान्तको तटमा बिहान ८ः०० बजे (०१०० जिएमटी) दुर्घटना भएको हो ।

प्रहरी प्रवक्ता आर्केयोन क्रेथोङले जहाजमा रहेका छ जना अधिकारीमध्ये पाँच जनाको मृत्यु भएको र छैटौँ गम्भीर घाइते भएर अस्पतालमा रहेको बताए ।

अधिकारीहरूले दुर्घटनाको कारण पत्ता लगाउन विमानको ब्ल्याक बक्स डाटा रेकर्डरको जाँच गरिरहेका छन् ।

राजधानीबाट एक सय ३० किलोमिटर (८० माइल) दक्षिणपश्चिममा सप्ताहन्तमा लोकप्रिय यात्रा स्थल चा–आम जिल्लाको किनारबाट करिब एक सय मिटर तल विमान खसेको स्थानीय मिडियाले जनाएको छ ।

सामाजिक सञ्जालमा सेयर गरिएको फुटेजमा विमान समुद्रमा खस्नुअघि घुमाउरो हुँदै गएको र मानिसहरू घटनास्थलमा पुग्न छातीसम्मको पानीबाट हिँडिरहेको देखाइएको छ ।

प्रहरी प्रमुख कित्रात फानफेटले पूर्ण अनुसन्धान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  “रोयल थाई प्रहरीले आफ्नो ज्यान गुमाउने बहादुर अधिकारीहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।

केन्यामा बढ्दो महिला हत्याप्रति न्याय प्रणालीको चर्को आलोचना

नैरोबी । दुई वर्षअघि चर्चित केन्याली एथलेटिक्स खेलाडी एग्नेस टिरोपको निधनपछि दोषी ठहरिएका मुख्य संदिग्ध धरौटीमा रिहा भई फरार भएपछि मानव अधिकारकर्मीहरूले न्याय प्रणालीप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

‘द साइलेन्सिङ वुमन प्रोजेक्ट’ नामक गैरसरकारी संस्थाले दिएको जानकारीअनुसार, सन् २०२४ मा मात्र केन्याका १० वटा काउन्टीहरूमा १७० भन्दा बढी महिलामाथि हत्या (फेमिसाइड) का घटनाहरू भएको उल्लेख गरिएको छ, जुन हालसम्मकै सबैभन्दा उच्च दर हो ।

फेमिसाइड भन्नाले त्यस्ता हत्या जनाइन्छ, जुन प्रायः पार्टनर, पति वा पारिवारिक सदस्यबाट हुने गर्दछ र जसमा पीडितको लैङ्गिकता मुख्य कारण बन्न पुग्दछ ।

एग्नेस टिरोप, जसले दुईपटक विश्व एथलेटिक्स प्रतियोगितामा कांस्य पदक जितेकी थिइन्, उहाँको सन् २०२१ को अक्टोबरमा हत्या भएको थियो ।

प्रमुख आरोपी उनका श्रीमान् इब्राहिम रोतिच थिए । उनलाई हत्या भएको भोलिपल्ट मोम्बासा सहरबाट पक्राउ गरिएको थियो । तर सन् २०२३ नोभेम्बरमा चार लाख केन्यन शिलिङ (झन्डै २७०० अमेरिकी डलर) धरौटीमा रिहा गरिएपछि उनी फरार भएका हुन् ।

टिरोपका पिता भिन्सेन्ट टिरोपले न्याय प्रणालीप्रति निराशा व्यक्त गर्दै भने, “हामीले आशा गरेका थियौं कि छोरीको हत्यामा राज्य संयन्त्रले न्याय दिलाउनेछ, तर हालको अवस्था अत्यन्त दुःखद छ ।”

पीडित पक्षका कानुनी प्रतिनिधि रिचार्ड वारिगीले पनि रोतिचको धरौटीप्रति असहमति जनाउँदै उनलाई उच्च जोखिमयुक्त व्यक्तिको रूपमा चित्रण गरेका थिए ।

मानव अधिकार अभियन्ता राचेल म्विकालीका अनुसार, “एउटी अन्तर्राष्ट्रिय खेलाडीको हत्यामा यस्तो अवस्था देखिएको छ भने, अन्य नदेखिएका घटनाहरूमा अवस्था झनै चिन्ताजनक हुनसक्छ ।”

त्यस्तै, ‘साइलेन्सिङ वुमन प्रोजेक्ट’ की प्रतिनिधि जाहा इन्डिमुलीले प्रहरी प्रशासनको कार्यशैलीप्रति प्रश्न उठाउँदै अनुसन्धान र पीडितको सुरक्षामा गम्भीर त्रुटिहरू देखिएको बताए ।

यद्यपि, प्रहरी महानिरीक्षक जुडी लामेटले प्रहरीलाई लैङ्गिक हिंसासम्बन्धी आवश्यक तालिम दिइएको र पीडितहरूको सहयोगका लागि टोल–फ्री सेवा सञ्चालन गरिएको जानकारी दिए ।

एम्नेस्टी इन्टरनेशनलकी जैना  कोम्बोले न्याय सम्पादन प्रक्रियामा ढिलाइ भएको उल्लेख गर्दै अनुसन्धान प्रयोगशाला तथा सरकारी वकिलहरूको कार्यभार बढी रहेको कारणले समस्या बढेको बताइन् । साथै, उनले राजनीतिक इच्छाशक्तिको कमीले पनि न्याय प्रक्रियामा प्रभाव पारिरहेको धारणा राखिन् ।

राष्ट्रपति विलियम रुटोले यस समस्यालाई सम्बोधन गर्न लैङ्गिक हिंसासम्बन्धी कार्यदल गठनको प्रतिबद्धता जनाए तापनि, केही अधिकारकर्मीहरू उक्त प्रतिबद्धताको प्रभावकारिताप्रति आशंका व्यक्त गर्दै आएका छन् ।

युवा पुस्ताले यस्ता घटनाप्रति संवेदनशीलता देखाउन थालेका सङ्केतहरू पनि देखिएका छन् । केही समयअघि नैरोबी नजिकैको एक विश्वविद्यालयमा भएको शान्तिपूर्ण जागरण कार्यक्रममा केही पुरुष विद्यार्थीहरूको सहभागिता उत्साहजनक रहेको आयोजक डायना नेकेसाले बताए ।

उनका अनुसार, “सबै पुरुषहरू हाम्रो अभियानमा साथ थिए भन्ने त होइन, तर महत्वपूर्ण सङ्ख्यामा सकारात्मक सोच भएका विद्यार्थीहरू देखिए, जुन भविष्यका लागि आशाको संकेत हो ।”

प्रधानमन्त्रीले आज संसदलाई सम्बोधन नगर्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदलाई सम्बोधन नगर्ने भएका छन् । बैठकमा सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड अनुपस्थित हुने भएपछि प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

माओवादी अध्यक्ष प्रचण्ड गोरखाको बारपाकमा छन् भने कांग्रेस सभापति देउवा थाइल्याण्ड भ्रमणबाट आज स्वदेश फर्किँदैछन् । संसद्को बजेट अधिवेशन आज १ बजे सुरु हुँदैछ । बजेट अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी गरेका थिए ।

सुनको मूल्य घट्यो

काठमाडौँ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला एक लाख ९० हजार छ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार एक लाख ८९ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला दुई हजार रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार तीन सय २५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

चालु आर्थिक वर्षमा सप्तरीमा १३ वटा पुल निर्माण

सिरहा । चालु आर्थिक वर्षको नौ महिनामा सप्तरीमा ६ वटा पुल निर्माण भएका छन् भने निर्माणाधीन सात पुलको काम अन्तिम चरणमा पुगेको छ ।

लहानस्थित सडक डिभिजन कार्यालयका प्रमुख आशुतोष कर्णका अनुसार निर्माण सम्पन्न भएका पुलको ‘लोड टेस्ट’ हुन बाँकी छ । सप्तरीका सडक सञ्जाल विस्तार गर्न पुल निर्माण तीव्रगतिमा जारी छ ।

शम्भुनाथ नगरपालिका–११ देवधारमा ६ करोड ५७ लाख ८२ हजार, छिन्नमस्ता गाउँपालिका घोडदह नदीमा एक करोड ९१ लाख ९२ हजारको लागतमा पुल निर्माण भएका छन् ।

यसैगरी, कनकटा–९ र बेल्ही–५ जोडिने सडकमा पर्ने मुत्तनी खोलामा रु चार करोड चार लाख ५४ हजारको लागतमा पुल निर्माण गरिएको छ भने राजविराज–छिन्नमस्ता सडकबाट बेल्हा–६ र ५ भएर बग्ने सप्तरीको घोडदह खोलामा रु चार करोड ८५ लाख ६३ हजारको खर्चेर पुल बनाइएको छ ।

छिन्नमस्ता गाउँपालिका–५ राजविराज–छिन्नमस्ता सडकअन्तर्गत खिरखौका नदीमा पनि पुल निर्माण सम्पन्न भएको छ । यो रु पाँच करोड ४२ लाख २० हजारको लागतमा सम्पन्न भएको हो ।

राजविराज–कुनौली सडकमा पर्ने महुली घाडन खोलामा रु छ करोड १३ लाख ५४ हजारमा लागतमा पुल निर्माण भएको प्रमुख कर्णले बताए ।

सप्तरीमा निर्माणाधीन पुलमध्ये सातवटाको काम अन्तिम चरणमा पुगेको छ । छिन्नमस्ता गाउँपालिका–१ ललापट्टी–बुटनपोखरी भलवाही पुल रु तीन करोड ७३ लाख ८२ हजारको लागतमा ९७ प्रतिशत सम्पन्न भएको छ ।

यस्तै सोही निर्माण कम्पनीले रु तीन करोड ६२ लाख ७४ हजारको लागतमा विसहरिया–१ स्थित भलवाही खोलामाथि बनाइरहेको पुलको काम काम अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालयका इञ्जिनियर सुरेन्द्र दासले बताए ।

यस्तै रुपनी गाउँपालिका–६ दुधैला खोलामा नयाँ वस्ती नजिकै रु छ करोड ५३ लाख ७५ हजारका लागतमा निर्माणाधीन पुलको ८० प्रतिशत काम सम्पन्न भएको छ ।

फकहा–बरदहीको बीच मुत्तनी नदीमा पनि धमाधम पुल निर्माण भइरहेको छ । उक्त पुलको वित्तीय प्रगति ८३.५८ प्रतिशत छभने भौतिक प्रगति ८५ प्रतिशत रहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

त्यसैगरी, रुपनी गाउँपालिका–६ दुधैला खोला पुलको भौतिक प्रगति ९० प्रतिशत भएको छ । उक्त पुल रु नौ करोड ७५ लाख ९८ हजारको लागतमा निर्माण भइरहेको हो ।

शम्भुनाथ नगरपालिका–९ भएर बग्ने भवररा नदीमा रु चार करोड ७५ लाख ३१ हजारको लागतमा निर्माणाधीन पुलको भौतिक प्रगति ८२ प्रतिश भएको छ ।

जनप्रतिनिधिहरू जनउत्तरदायी सेवा प्रवाहमा केन्द्रित हुनुपर्छः प्रचण्ड

गोरखा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार गोरखा जिल्लाको बारपाकमा माओवादी केन्द्रबाट निर्वाचित स्थानीय तहका प्रमुख तथा उप–प्रमुखहरूसँग समुहिक छलफल गरेका छन् ।

उनले जनप्रतिनिधिहरूसँगको संवादमा माओवादी नेतृत्वमा रहेका पालिकाहरूले जनताले प्रत्यक्ष अनुभूति गर्न सक्ने खालका परिवर्तन ल्याउनु पर्नेमा जोड दिए । साथै, उनले जनप्रतिनिधिहरू उत्तरदायी र जनउत्तरदायी सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याए ।

छलफलमा सहभागी जनप्रतिनिधिहरूले आफ्नो पालिकाका अनुभव, समस्या र चुनौतीहरूबारे धारणा राख्दै पार्टी केन्द्रबाट सहयोगको अपेक्षा व्यक्त गरेका थिए ।

उनीहरूले भौतिक पूर्वाधारको अभाव, सेवा प्रवाहमा देखिएको कठिनाइ, तथा बजेटको सीमितताजस्ता विषयहरूमा ध्यानाकर्षण गराएका थिए । अध्यक्ष प्रचण्डले उठाइएका समस्याहरूलाई सम्बोधन गर्न पार्टी र नेतृत्वको तर्फबाट आवश्यक पहल गरिने विश्वास दिलाए ।

धनगढी–खुटिया सडकखण्डमा दुई वटा पक्की पुल निर्माण गरिँदै

गोदावरी (कैलाली) । धनगढी–खुटिया–बिपीनगर–दिपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउले खण्डमा दुईवटा पक्की पुलको निर्माण प्रारम्भ भएको छ ।

धनगढी–स्याउले सडक योजना कार्यालयका इञ्जिनियर दिनेश रैखोलाका अनुसार उक्त सडकअन्तर्गत गोदावरी नगरपालिका–८ भएर बग्ने जोनापुर खोला र धनगढी उपमहानगरपालिका–५ सुकुटी खोलामाथि पक्की पुल निर्माणको थालिएको हो ।

पुल निर्माणका लागि रु तीन करोड १५ लाखमा गत पुसमा निर्माण कम्पनीसँग सम्झौता भएको हो । जोनापुर खोलाको पुल ५० प्रतिशत बनेको छ भने सुकुटी खोलामा धमाधम पिलर उठाइँदै छ ।

आयोजना कार्यालयका अनुसार १३ किलोमिटर सडक कालोपत्र भएको छ । विसं २०६४ मा खुटिया–दिपायल द्रुतमार्गको ‘ट्रयाक’ खोलिएको हो । पहिलो चरणमा खुटियाबाट दिपायलसम्म ८२ किलोमिटर र स्याउले– धनगढी १० किलोमिटर सडकको सर्भे भएको थियो ।

धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ ‘फास्टट्रयाक’ छोटो दूरीलगायत अन्य दृष्टिकोणले महत्त्वपूर्ण मानिएको उक्त सडक निर्माणका लागि सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा निर्माणमा विलम्ब भएको छ ।

भुजी र दरमखोला पुल निर्माणमा लापरबाही

ढोरपाटन (बागलुङ) । निर्माण व्यवसायीको चरम लापरबाहीका कारण बागलुङमा दुईवटा मोटरेबल पुल नौ वर्षदेखि अलपत्र छन् ।

ढोरपाटन नगरपालिका–५ स्थित अस्तु–ओडारबोट जोड्ने भुजीखोला पुल र गलकोट नगरपालिका–७ को दरमखोला पुल निर्माणले गति नलिँदा स्थानीयले सास्ती खेप्नुपरेको छ ।

दुईवटै पुल निर्माणका लागि वाइटी रफिना जेभी कन्ट्रक्सनले जिम्मा पाएको थियो । भूजीखोला पुल २०७४ साल माघमा सक्नेगरी २०७३ साल असोज ४ गते सम्झौता गरेको थियो । उक्त पुलको हालसम्म ३५ प्रतिशतमात्र काम भएको सडक डिभिजिन कार्यालयले जनाएको छ ।

दरमखोला पसलका २०७४ साल माघ ४ गते सक्नेगरी २०७३ साल असोज ४ गते सम्झौता भएको थियो । निर्माण कम्पनीले समयमै काम नगरेपछि अन्तिमपटक २०७७ साल मङ्सिर १४ मा म्याद थप गरिएको थियो । यो पुलको काम ४० प्रतिशतमात्र भएको छ ।

सडक डिभिजन कार्यालयका प्रमुख हरिप्रसाद सुवेदीका अनुसार भुजीखोला पुल निर्माणका लागि रु दुई करोड १६ लाख र दरमखोलाको पुलका लागि रु तीन करोड ३२ लाखमा निर्माणमा सम्झौता छ । अहिलेसम्म निर्माण भएका संरचना जीर्ण छन् । तीनको अवस्था काम नलाग्ने रहेको प्राविधिकहरू बताउँछन् ।

पुनःनिर्माणपछिको बारपाक र लाप्राक

गोरखा । विसं २०७२ को भूकम्पछि पुनःनिर्माण भएको गोरखाको उत्तरी भेगमा पर्ने वारपाक गाउँ । भूकम्पको केन्द्रविन्दु रहेको वारपाक क्षेत्रका अधिकांश स्थानीयको घर पूर्णरूपमा भत्किएर करिब ७० जनाभन्दा बढी स्थानीयवासीको ज्यान गएको थियो । भूकम्प गएको आज १० वर्ष पूरा भएको छ ।

त्यस्तै लाप्राक क्षेत्रको धार्चे गाउँपालिका–४ स्थित गुप्सीपाखामा अवस्थित लाप्राक नमुना बस्ती । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पपछि गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) र नेपाल सरकारको सहयोगमा निर्माण गरिएको यो बस्तीमा जम्मा ६ सय ४ घरधुरी रहेको छ ।

तस्बिरः रत्न श्रेष्ठ/रासस

तीन दिनभित्र शिक्षकलाई विद्यालय फर्कन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकलाई तीन दिनभित्र विद्यालय फर्किन आदेश दिएको छ । अधिवक्ता श्रवणकुमार चौधरीले दायर गरेको रिटमा न्यायाधीश डा. नहकुल सुवेदीको इजलासले यस्तो आदेश गरेको हो ।

आदेशमा भनिएको छ, ‘आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नू ।’

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्नेलगायत माग राखी देशभरका शिक्षक चैत २० देखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।

वैशाख २० देखि हिमालयन जाभा बास्केटबल लिग हुने

काठमाडौं । नेपाल बास्केटबल संघ (नेबा) ले हिमालयन जाभासँगको सहकार्यमा हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) आयोजना गर्ने भएको छ ।

पहिलो पटक आयोजना हुन लागेको हिमालयन जाभा बास्केटबल लिग यही बैशाख २० गतेदेखि हुने नेपाल बास्केटबल संघले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

प्रतियोगितामा ६ टोलीको सहभागिता रहने नेबाका अध्यक्ष भिमसिंह गुरुङले जानकारी दिए । जसमा टाइम्स क्लब, हाउण्ड्स क्लब, गोल्डेनगेट इन्टरनेसनल क्लब, रोएल्स, कीर्तिपुर बास्केटबल क्लब र सामाखुशी क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

हिमालयन जाभा बास्केटबल लिग ६ साता चल्नेछ भने खेलहरु विकेण्डमा खेलाइनेछ । जस अन्गर्त हरेक शनिवार र आइतबार खेल हुनेछ । यस्तै मौसमको अवस्था हेरेर मंगलबार र बुधबार पनि खेल खेलाउने नेबा अध्यक्ष गुरुङले जानकारी दिए । प्रतियोगिताको खेलतालिका छिटै सार्वजनिक गर्ने आयोजकले जनाएको छ ।

लिग डबल राउण्ड रोविनको फम्र्याटमा हुनेछ । जसमा हरेक टिमले अर्को टिमसँग दुई–दुई पटक खेल्नेछ । लिगका खेलहरु राखेपस्थित आउटडोर भलिबल कोर्टमा हुने अध्यक्ष गुरुङले जानकारी दिए ।

‘होम एण्ड अवे फम्र्याटमा खेल्ने योजना भएपनि मौसमको अवस्थाले गर्दा सिंगल भेन्युमै खेलाउन लागेका हौँ । हामीले राखेपको कभर्डहल र कीर्तिपुरको कभर्डहललाई पनि विकल्पमा राखेका छौँ ।’ अध्यक्ष गुरुङले भने ।

प्रतियोगितामा डबल राउण्ड रोविनमा ३० खेल हुनेछ भने त्यसपछि फाइनल खेल हुनेछ । फाइनल खेलमा दुई प्लेअफ खेल हुनेछ ।

बास्केटबल लिग आयोजनाका लागि यसअघि नै नेपाल बास्केटबल संघ र हिमालयन जाभाबीच सम्झौता भइसकेको छ ।
नेपाली बास्केटबल खेल र खेलाडीको विकासका लागि यो लिग आयोजना गर्न लागेको नेबा अध्यक्ष गुरुङले बताए ।

‘हामीले पहिलो पटक परिक्षण स्वरुप विकेण्ड लिग आयोजना गर्न लागेका छौँ । यसलाई पहिलो पटक राम्रोसँग सफल पार्न सके आगामी वर्षहरुमा अझ बृहत रुपमा आयोजना गर्नेछौँ । यसले खेलाडी र बास्केटबल समर्थकहरुका लागि खेल हेर्न राम्रो अवसर सिर्जना गर्ने विश्वास लिएका छौँ ।’ नेबा अध्यक्ष गुरुङले भने ।

प्रतियोगिताको लागि १५ लाख अनुमानित बजेट रहेको र यो अझै बढ्न सक्ने आयोजकले जनाएको छ । निजी क्षेत्रबाट नभई संघले नै यो प्रतियोगिता गर्न लागेकोले बजेट थोरै देखिएको नेबा अध्यक्ष गुरुङले जानकारी दिए ।

मुख्य प्रायोजक हिमालयन जाभा बाहेक अन्य प्रायोजकहरुसँग पनि छलफल भइरहेको र लिगको पुरस्कार राशी पनि केही समयपछि सार्वजनिक गर्ने उनको भनाई थियो ।

सुन्धारामा सर्वसाधारणमाथि निर्घात कुटपिट गर्ने चार जना ट्राफिक प्रहरी कारबाहीमा तानिए

काठमाडौं । एक व्यक्तिमाथि कुटपिट गर्ने चार जना ट्राफिक प्रहरीमाथि अनुसन्धान सुरु गरेको छ । ट्राफिक प्रहरीले एक व्यक्तिलाई कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरीहरूलाई ट्राफिक प्रहरी वृत्त, जनसेवाको जिम्मेवारीबाट हटाई अनुसन्धान सुरु गरेको हो।

प्रहरीले उक्त घटना २०८१ मंसिर २३ गते सुन्धारा आकाशे पुल मुनि भएको जनाएको छ ।

आगामी निर्वाचनको चिन्ता गर्नुस्, सरकारको होइनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेता कार्यकर्तालाई सरकारका बारेमा चिन्ता नगर्न आग्रह गरेका छन् ।

लोकतन्त्र दिवसको अवसरमा काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘युथ सेलिब्रेसन’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको नभई ०८४ को निर्वाचनको चिन्ता गर्न आग्रह गरेका हुन् ।

यो सरकार स्थिरताका लागि बनेको भन्दै प्रधानमन्त्रीले सरकारका बारेमा धेरै चिन्ता नगर्न आग्रह गरे । उनले भने, ‘एमालेले सरकार हेर्ने होइन, ढुक्कले मिसन ८४ मा लाग्नुस् ।’

उनले राष्ट्रवादी अडानका कारण एमालेमाथि विभिन्न पक्ष खनिएको दाबी गरे । प्रधानमन्त्रीले जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रात्मक उपलब्धिको रक्षा गर्दै युवा अघि बढ्नुपर्ने र युवाले देश बनाउने सङ्कल्प गरी त्यसलाई साकार पार्नुपर्ने बताए ।

उनले भने, ‘देशमा अराजकता मच्चाउने र विभाजन गर्ने तत्वसँग सचेत हुनुपर्छ । ढुक्क हुनुुस्, यसको नेतृत्व एमालेले बाटो नबिराइ गर्नेछ ।’

युवा निराश हुन आवश्यक छैन, यो देशमा नेकपा एमाले छः महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेपाली जनतालाई खुसी बनाउने र राष्ट्र निर्माणको जिम्मेवारी युवाको काँधमा रहेको बताएका छन् ।

एमालेले लोकतन्त्र दिवसका अवसरमा बिहीबार भृकुटीमण्डपमा आयोजना गरेको ‘युथ सेलिब्रेसन’ कार्यक्रममा महासचिव पोखरेलले विदेश गएका युवालाई पनि काम सिकेर देश निर्माण गर्न स्वदेश नै फर्कन आह्वान गर्दै राष्ट्र निर्माणको जिम्मेवारी युवाको काँधमा भएको बताए ।

“तपाईंहरू निराशामा होइन, आशाको बाटोमा अग्रसर हुनुपर्दछ”, महासचिव पोखरेलले भने । देशमा राजनीतिक अस्थिरता हुँदा पनि मुलुक निर्माणले गति लिन नसकेको उल्लेख गर्दै उनले देशलाई अब राजनीतिक स्थायित्वको दिशामा अघि बढाउन बलिया राष्ट्रिय शक्ति एकजुट हुन आवश्यक रहेको बताए ।

“युवा निराश हुन आवश्यक छैन, यो देशमा नेकपा एमाले छ”, उनले भने, “युवाको भविष्य सुरक्षित गर्दछ ।”

आगामी आर्थिक वर्षको बजेट र सरकारको नीति तथा कार्यक्रम युवामैत्री हुने जानकारी दिँदै उनले वर्तमान प्रधानमन्त्रीको युवाप्रतिको अगाध स्नेह रहेको बताए ।

देश र विकासका पक्षमा उभिएका कारण एमालेमाथि आक्रमण भएको उल्लेख गर्दै उनले भने, “एमाले सरकारबाट हटेपछि रोकिएका विकासका काम एमाले सरकारमा आएपछि अहिले धमाधम अघि बढेका छन् ।”

सरकारबाट बाहिरिने गगन थापाको चेतावनी

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताको कुरा गर्दा वेवास्ता गरे कांग्रेस सरकारबाट बाहिरिने बताएका छन् ।

लोकतन्त्र दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा महामन्त्री थापाले सरकारले आधारभूत कुरा पूरा गर्न नसके सरकारबाट बाहिरिने बताएका हुन् ।

महामन्त्री थापाले भने, ‘यो वा त्यो सरकारबाट मात्रै होइन हाम्रा कुराहरू सम्बोधन नहुने, जनताको कुरा उठाउँदा वास्ता नगर्ने हो भने जुनसुकै सरकारबाट बाहिरिन्छौँ।’

उनले पुराना नेताका काण देशमा बेचैनी बढिरहेकोसमेत बताए । उनले भने, ‘असन्तुष्टि र बेचैनी के कारणले बढिरहेको छ भने– जसको कारणले बेचैनी भएको छ उसैलाई ड्राइभिङ सिटमा देखिरहेका छन् । अब यो गाडी तिम्ले चलाएर हुँदैन भनिरहेका छौँ। यसका लागि काम गरिरहेका छौँ।’

उनले पार्टीमा गुटभन्दा पनि गिरोह बनेको भन्दै आपत्ति जनाए । उनले भने, ‘पार्टीमा गुट होइन गिरोह बनेको छ। तल्लो तहसम्म बनेको छ। गुट भए आफू हुने, नभए नहुने भइसक्यो।’

तोडफोडमा संलग्न भएको आरोपमा थप एकजना पक्राउ

काठमाडौं । चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले तोडफोडमा संलग्न भएको आरोपमा काभ्रेको धुलिखेलका मिनोज थापालाई पक्राउ गरेको हो । उनलाई अदालतबाट तीन दिन म्याद थप गरी अनुसन्धान गरिरहेको परिसरले जनाएको छ ।

लोकतन्त्र सुदृढिकरणका लागि सबै एकजुट हुनु जरुरी छः शशांक कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले लोकतन्त्र सुदृढिकरणका लागि सबै एकजुट हुनु जरुरी रहेको बताएका छन् ।

लोकतन्त्र दिवस र नयाँ वर्ष २०८२ को अवसर पारेर आज आफ्नो निवास महाराजगञ्जमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले लोकतन्त्र सुदृढिकरणका लागि सबै राजनीतिक दल, सरोकार भएका निकाय, जनता एकजुट हुनुपर्नेमा जोड दिए ।

लोकतन्त्रलाई संरक्षण गर्दै प्रभावकारी कार्यान्वयनका लागि नेपाली कांग्रेस बलियो हुनुपर्ने बताउँदै उनले त्यसका लागि कांग्रेसमा गुटउपगुट नभई एक ढिक्का हुनुपर्ने आवश्यकता औँल्याए ।

नेता डा कोइरालाले लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने बताउँदै यसको रक्षार्थ सबै सजग र सचेत रहनुपर्नेमा जोड दिए ।

कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री दिपक खडका, नेताहरू कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ, एनपी साउद, प्रवक्ता डा प्रकाशशरण महत, महेश आचार्य, दिपक गिरी, पार्टीका केन्द्रीय सदस्यहरू, विभिन्न भ्रातृ र शुभेच्छुक संस्थाका नेता, कार्यकर्तालगायतको उपस्थिति थियो ।

स्टन्ट गरेर देश बन्दैन, देश बनाउने हो भने काम गर्नुपर्छः उपमेयर डंगोल

काठमाडौँ । युवाहरुमा एकता हुँदा सधैँ देश विकासमा टेवा पुग्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बिहीबार लोकतन्त्र दिवसका अवसरमा भृकुटीमण्डपमा आयोजना गरेको ‘यूथ सेलिब्रेसन’ कार्यक्रममा विभिन्न क्षेत्रका युवाहरुले आफ्ना प्रतिभा प्रस्तुत गर्दै विचार राखेका थिए ।

काठमाडौँ महानगरपािलकाकी उपप्रमुख सुनिता डङ्गोलले राम्रा कामका प्रचार गर्न एमालेले युवा शक्तिको सदुपयोग गर्ने बताइन् । उनले स्टन्ट गरेर देश नबन्ने र देश बन्नका लागि काम गर्नुपर्नेमा जोड दिइन् । “स्टन्ट गरेर देश बन्दैन देश बनाउने हो भने काम गर्नुपर्छ,” उनले भनिन् ।

डा आनन्द सिंहले फरक भूगोल, संस्कृति, भाषा, आचरण र संस्कार नेपालीलाई एकतामा बाँध्ने सुत्र भएका बताए ।

उनले मुलुक एकतामा बाँधेर राख्दा विचार, बौद्धिकता र समावेशिताका क्षेत्रमा सकारात्मक अभ्यास हुने धारणा राखे । “फरक भूगोल, संस्कृति, भाषा, आचरण र संस्कार भएका हामी नेपालीलाई एकताले एउटै डोरीमा बाँधेर राखेको छ”, उनले भने, “एकता सधैँ कायम भएमा देश बन्नुका साथै अन्तर्राष्ट्रिय जगतमा सकारात्मक सन्देश जान्छ । एकता भावनामा मात्र होइन विचार, बौद्धिकता र समावेशितामा पनि हुनुपर्छ ।”

शिक्षामन्त्री पन्तले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शपथ लिएका छन् । बिहीबार राष्ट्रपति निवास शीतलनिवासमा आयोजित समारोहमा मन्त्री पन्तले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले बुधबार पन्तलाई शिक्षा मन्त्री नियुक्त गरेका थिए । विद्या भट्टराईले शिक्षा मन्त्रीबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।

तेह्र बुँदे घोषणापत्र जारी गर्दै हिमाली संवाद सम्पन्न

काठमाडौं । संघीय सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म गर्ने सगरमाथा संवादको पूर्वतयारीका रूपमा आयोजना गरिएको हिमाली संवाद १३ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ।

यही वैशाख ९ र १० गते जुम्लाको खलङ्गामा सम्पन्न हिमाली संवादमा कर्णालीका बालबालिका र सीमान्तकृत समूहहरूको आवाज प्रस्फूटन गराउने विषयमा विभिन्न सुझाव दिइएको हो।

सगरमाथा संवादको सचिवालयसँगको समन्वयमा सेभ द चिल्ड्रेन, युथ एलाइन्स फर इन्भायरोन्मेन्ट (वाइएई), कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (क्रिडाक)लगायत विकास साझेदारसँगको सहयोग र सहकार्यमा संवाद सम्पन्न भएको सचिवालयले जनाएको छ।

सीमान्तीकरणबाट प्रभावित बालबालिका, युवा र हिमाली समुदायका अनुभव आदानप्रदान, बाल–संवेदनशील जलवायु समाधानका लागि वकालतलगायत विषय उजागर गरिएको वाइएईका अध्यक्ष सनोत अधिकारीले जानकारी दिए। घोषणापत्र तीन तहका सरकार, सगरमाथा संवाद सचिवालय र विश्व समुदायलाई हस्तान्तरण गर्दै ध्यानाकर्षण गरिने उनले बताए।

संवादमा कर्णाली प्रदेशका हिमाली समुदायका बालबालिका, आदिवासी र सीमान्तकृत समुदाय, महिला र किशोरी, हिमाली क्षेत्रमा कार्यरत नागरिक समाज, विभिन्न सङ्गठन, विकास साझेदार, संयुक्त राष्ट्रसंघीय निकाय, सरकारीतर्फका प्रतिनिधि, स्थानीय सरकारका प्रतिनिधि र नीति निर्माता, प्रदेश र संघीय सरकारका प्रतिनिधि गरी एक सय ५० जनाको सहभागिता थियो।

घोषणापत्रमा हिमाली क्षेत्रका बालबालिका, युवा र समुदायमा जलवायु संकटले पारेको असरलाई सम्बोधन गर्न सगरमाथा संवादमा यस विषयलाई प्राथमिकताका साथ छलफल गरी समाधानका उपायको खोजी गर्न माग गरिएको छ।

त्यस्तै सगरमाथा संवादमा बालबालिकाहरूका आफ्ना भोगाइ, अनुभव र आवाज उठाउन विशेष सत्रको व्यवस्था गर्न आग्रहसहित सुझाव आएको वाइएईका कार्यक्रम संयोजक अञ्जु पोखरेलले जानकारी दिइन्।

उनका अनुसार जलवायुसम्बन्धी शिक्षा र सचेतनालाई सबै समुदायमा सञ्चालन गर्न, जलवायु सङ्कटको समाधानका लागि सिमान्तकृत र सामाजिक रूपमा पछाडि पारिएका समुदायका जीवन्त भोगाइलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम लागू गर्न घोषणापत्रमा आग्रह गरिएको छ।

हिमाल बचाउन नेपालको प्रयास मात्र पर्याप्त नहुने भएकाले छिमेकी मुलुकदेखि समग्र विश्वसमुदायको सहकार्य र अन्तरराष्ट्रिय तहमा साझेदारी बढाउनका लागि पहल गर्न आग्रह गरिएको क्रिडाकका कार्यकारी निर्देशक गोविन्दबहादुर शाहीले जानकारी दिए।

समुदायले भोगेका हानिनोक्सानीको क्षतिपूर्ति प्रदान गर्न सगरमाथा संवादमा यो मुद्दालाई प्राथमिकतामा राख्दै हानिनोक्सानी कोषमा समुदायको पहुँच सुनिश्चित गर्न आग्रह गरिएको उनले उल्लेख गरे।

हिमाली संवादले जलवायु परिवर्तनले तल्लो तटीय क्षेत्रमा गम्भीर असर परेकाले उक्त क्षेत्रका समुदाय र बासिन्दामा पर्न गएको नकारात्मक असर सम्बोधन गर्नुपर्ने, पर्वतीय र सामुद्रिक अर्थतन्त्रलाई जोड्नुपर्ने, कर्णालीलगायत हिमाली क्षेत्रमा हुने परम्परागत रैथाने बालीको संरक्षण गर्न प्राङ्गारिक मलको प्रयोग बढाउनुपर्ने, हिमाली क्षेत्रमा सञ्चालित जलवायु परिवर्तनको असरलाई सम्बोधन गर्न एकीकृत बस्ती विकास र अनुकूलनका असल अभ्यास प्रवर्द्धनका लागि सञ्चालित कार्यक्रमहरूलाई निरन्तरता दिन सुझाव दिइएको छ। 

नेप्से  दुई अङ्कले बढ्यो

काठमाडौँ । अघिल्ला चार कारोबार दिन लगातार घटेको शेयर बजार बिहीबार दुई दशमलव शून्य आठ अङ्क बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दुई दशमलव शून्य आठ अङ्कले बढेर दुई हजार ६५८ दशमलव शून्य दुईको विन्दुमा कायम भएको हो ।

आज तीन सय आठ कम्पनीको एक करोड ९७ लाख ५४ हजार २४५ कित्ता शेयर ७० हजार ७०३ पटक खरिदबिक्री हुँदा रु सात अर्ब ८७ करोड ९३ लाख ८१ हजार २६८ दशमलव २८ को कारोबार भएको छ । कूल ८३ कम्पनीको शेयर मूल्य बढ्दा एक सय ६१ को घटेको छ भने एउटाको स्थिर रहेको नेप्सेले जनाएको छ । 

आज लगानी समूह सबैभन्दा बढी दुई दशमलव चार प्रतिशतले बढ्दा हाइड्रोपावर शून्य दशमलव २२, व्यापार शून्य दशमलव ३९ र बैंकिङ शून्य दशमलव शून्य तीन प्रतिशतले बढेका छन् । 

विकास बैंक शून्य दशमलव ७६, फाइनान्स शून्य दशमलव ८३, होटल तथा पर्यटन एक दशमलव १६, जीवन बिमा शून्य दशमलव ३२, उत्पादन शून्य दशमलव १७, माइक्रोफाइनान्स शून्य दशमलव ४६, निर्जीवन बिमा शून्य दशमलव २८ र अन्य समूह शून्य दशमलव १३ प्रतिशतले घटेका नेप्सेले जनाएको छ ।

काठमाडौं टावरमा अर्बौँको नीतिगत भ्रष्टाचार भएको बालेनको दाबी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले काठमाडौँ टावरको निर्माणको नक्सापासको विषयमा धेरै कुरा रहेको बताएका छन् ।

बिहीबार सामाजिक संजालमार्फत मेयर साहले कसरी महानगरलाई एक अर्ब भन्दाबढी ठूलो क्षति हुन्थ्यो भन्ने कुरा उल्लेख गरेका हुन् । उनले भवनको स्वीकृति दिँदा आर्थिक चलखेल भएको विषय अध्ययनको विषय भएको पनि बताएका छन् ।

यस्तो छ मेयर साहको भनाई

कसरी महानगरलाई १ अर्ब भन्दा ठूलो क्षति हुन्थ्यो यदि यो काम भयो भने ! कहिले यस्तो Partnership देख्नु भएको छ, जहाँ ठूलो लगानीकर्ताले ३ कमाउदा सानो लगानीकर्ताले १०० कमाउने ? काठमाडौँ टावरमा काठमाडौँ महानगर ठूलो लगानीकर्ता हो।

यसको पूर्ण जानकारी नपाउँदा तपाईंलाई लाग्न सक्छ, जाबो नक्सापासकै कुरा त हो, कति लम्ब्याएको ! तर यो त्यति सामान्य छैन। यो भवन र नक्सापासको पछाडि धेरै कुरा छन्। कुनै एक घोटलाका लागि कसरी नीतिगत भ्रष्टाचार हुन्छ, कसरी कर्मचारीहरू परिचालन हुन्छन् र कसरी जनप्रतिनिधिहरू पनि प्रभावित बन्छन् भन्ने यो एक नक्सापासको विगत, वर्तमान र उद्देष्यले देखाउन सक्छ।

२०७३ मा १२ तलासम्मको स्वीकृति दिँदा तत्कालिन महानगर नेतृत्वले बार्षिक चौथो वर्षसम्म रू. ९८,३३,३३३ का दरले र पाचौ बर्ष रू. १,४३,७०,८३३ हुदै ३०औ बर्ष रू. ३,९०,१४,६६३ महानगरले प्राप्त गर्ने गरि सम्झौता गरेको थियो। जुन २ तला पार्किङ्ग सहित १२ तलासम्मको थियो। काठमाडौँको मुटुमा रहेको व्यवसायीक कम्प्लेक्सबाट महानगरले प्राप्त गर्ने आर्थिक लाभ त्यति न्यून कसरी हुन पुग्यो, त्यसमा के कस्ता चलखेल भए भन्ने आफैमा अध्ययनको बिषय हो। सम्बन्धित निकायले अध्ययन गर्छ भने सम्पूर्ण सहयोग गर्न तयार छु।
त्यसमाथि १२ तलालाई १९ तला बनाउँदा थपिने ७ तलाको क्षेत्रफल करिब १ लाख २८ हजार वर्गफुट हो। प्रतिवर्गफुट रू. १५० मात्र मानेर हिसाब गर्ने हो भने पनि ७ तलाबाट मात्रै न्यूनतम रू. १ करोड ९२ लाख भाडा हुन आउँछ, जुन बार्षिक २३ करोड भन्दा बढि हो। सोच्नुहोस् त, अबको ३० बर्षपछिसम्म त्यसको भाडा कति हुन्छ होला ? २ बर्षमा १०% भाडा बढ्नु त सामान्य नै हो, त्यति मात्रले नि ३० वर्षमा प्रतिवर्ग फुट रू. ६७० भन्दा माथि हुन आउछ। यसबाट १ अर्ब भन्दा बढी त थपिएको ७ तल्लाको भाडाबाट मात्र आउनु पर्ने हो। यत्तिकै नक्सा पास भएमा महानगरले लिने भनेको त त्यो बेलाको सम्झौता बमोजिमकै रकम हो ३ करोड।

यसबाट महानगरलाई कति आर्थिक हानी हुन्छ र ठेकेदारलाई कति फाइदा पुग्छ भन्ने हिसाब गर्नुहोला। यो सबै नीतिगतरूपमा नै मिलाउनका लागि, त्यसबाट हुने अर्बौँको फाइदाका लागि ठेकेदारले कसैलाई ५ करोड दिनु उसका लागि आर्थिक नोक्सानी होइन। देखिने लगानीकर्ता केहि व्यक्ति भए पनि त्यसको पछि को को छन्, आफै बुझ्न सक्नुहुन्छ।

र रह्यो अर्को कुरा, ठेकेदारलाई आर्थिक क्षति गरिदिनकै लागि १९ तला बनाउँन आपत्ति प्रकट गरेको होइन। सो भवन निर्माणमा धेरै कुराहरूमा लापरवाही, जबरजस्ति र अवैधानिक कामहरू भएको छ जसले कानूनी प्रक्रियामात्र मिचिदैन, भवनबाट जोखिम पनि बढाएको छ।

जानकारीका लागि केही बुँदाहरू :

१.⁠ ⁠भवन निर्माणको मापदण्ड र नेपाल सरकारको निर्माण संहिताअनुसार सबै कुरा मिल्ने भए वैधानिकरूपमा १२ तलालाई बढाएर १९ तला बनाउन पनि सकिन्छ। त्यसका लागि सम्झौता पुनरावलोकन हुन पर्छ, आर्थिक विश्लेषण गरि सम्झौता रकम समायोजन गर्नु पर्छ। वातावरणीय प्रभाव, सामाजिक तथा आर्थिक प्रभाव मुल्यांकन हुनु पर्छ। यसको लागि आर्थिक, प्राविधिक तथा सामाजिक विश्लेषणको काम PPP मार्फत हुँदै थियो। ति सबैकुरालाई वेवास्ता गरेर अवैधानिक किसिमले नक्सापास गरिएको छ।

२.⁠ ⁠टावर निर्माण सुरु गर्नुभन्दा पहिला मिति २०७२।०३।२२ गते काठमाडौँ उपत्यका विकास प्राधिकरणले फार बढीमा २.४१ भन्दा माथि जान नमिल्ने अर्थात् १२ तल्ला भन्दा माथि जान नमिल्ने गरि योजनाको अनुमति (planning permit) दिएको थियो। तर तला थप प्रक्रियामा काठमाडौँ उपत्यका विकास प्राधिकरणबाट कुनै पनि राय अनुमति लिएको पाइएन। १२ तलालाई १९ तला बनाउदा पुन: planning permit लिनु नपर्ने हो ? तल्ला थप हुदै गर्दा वातावरणीय प्रभाव, सामाजिक तथा आर्थिक प्रभाव मुल्यांकन गर्नु नपर्ने हो ? हो भने नेपाल सरकारले नै बनाएको नियम मापदण्ड संसोधन कागजमा लेख्नमात्र बनाइएको हो, व्यवहारमा लागू गर्न होइन भनेर नेपाल सरकारले बोल्नु पर्यो।

३.⁠ ⁠म आफै Structural Engineer हुँ। Seismic Design Structural Analysis गर्दा NBC 105:2020 Standard मा १९ तला निर्माण गर्दा अध्ययनले भन्छ, ७०% भन्दा धेरै column fail हुन्छ। २०७८ साल पछि निर्माण हुने भवनका हकमा एनबीसी १०५:२०२० अनिवार्य गरिएको छ। यसैले नियमअनुसार structure design approve नहुँदा सम्म नक्सा पास प्रक्रिया अगाडि बढ्न सक्दैन। Structure analysis fail हुँदा हुँदै पनि नक्सा पास गर्नु गम्भीर त्रुटि हो।

४.⁠ ⁠प्लिन्थ लेबलसम्मको अनुमति लिई superstructure नै नलिई १२ तल्ला बनाइरहेको भन्ने आधार देखाई तत्कालिन प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले सोहि बमोजिम briefing समेत गरेको हुँदा अनुमति भन्दा हरेरफेर गरेकाले स्थानिय सरकार संचालन ऐन २०७४ बमोजिम रू. ५ लाख जरिवाना तोकेको हो। यो जरिवानाले नक्सापास गर्ने अनुमति दिएको भन्ने अर्थ कदापि लाग्न सक्दैन किनभने नक्सापासको अधिकार स्थानिय सरकार संचालन ऐन २०७४ ले मेयरलाइ हैन, प्रमुख प्रशासकीय अधिकृतलाई दिएको छ। बनिसकेको भवनलाई जरिवाना गरिसकेपछि १२ तलासम्मका लागि मात्रै नक्सा स्वीकृतिको प्रक्रिया अगाडी बढेको हो। १९ तलासम्म बढाउनका लागि के के प्रक्रिया गर्नु पर्थ्यो भन्ने कुरा माथिका बुँदाहरू १ र २ पुन: पढ्नु भए थप स्पष्ट हुन पुग्छ।

सो बिषयलाई विभागीय प्रमुखहरूको रायमा पनि लेखिएको छ, ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ३५ बमोजिम प्लिन्थ लेभल भन्दा माथि (Super Structure) को नक्सा स्वीकृत गर्न प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश भएकोमा नक्सा पास विना बनेको प्लिन्थ लेभल भन्दा माथि ( Super Structure) को भवनलाई जरिवाना गर्न ऐ. ऐनको दफा ३९ को उपदफा (५) को व्यवस्था बमोजिम प्रमुख प्रशासकीय अधिकृतले प्रमुख समक्ष पेश गरेकोमा मिति २०८०।९।३ मा श्रीमान् प्रमुखज्यूबाट ५ लाख रुपैया जरिवाना तोकिएको देखिन्छ।’ यसमा ध्यान दिएर पढ्ने हो भने बुझ्न सकिन्छ कि प्रमुख प्रशासकीय अधिकृत समक्ष नक्सापासका लागि फाइल पेश भयो तर त्यो मलाई पेश भएको कुरा नक्सापासका लागि थिएन, नक्सापास विना बनेको प्लिन्थ लेभल भन्दा माथि (Super Structure) को भवनलाई जरिवाना गर्न चै थियो। जुन मात्रै मेयरको अधिकारक्षेत्रभित्र पर्थ्यो। त्यही  बमोजिम हुनेसम्मको सबै भन्दा बढी कारबाही मैले गरेको हुँ।

शब्दहरू घुमाएका ‘सरकारी टिप्पणी’हरूले कतिपयलाई समाचार बनाउँन र धारणा बनाउँन गलत दिशामा डोहोर्याएको छ। यसबारेमा प्रस्ट भइ सही धारणा र समाचार बनाउन तथा यसअगाडि प्रसारण भएका मेयरले ५ लाख जरिवाना लिएर नक्सापास गराएको भन्ने समाचारहरू सच्याउन अनुरोध गर्दछु।

५.⁠ ⁠‘काठमाडौँ महानगरपालिकाको भवन निर्माण सम्बन्धी कार्यविधि २०८०’जुन मैले मात्रै बनाएको होइन, कार्यपालिकाले बनाएको हो। जसअनुसार नक्सा पास प्रक्रिया तथा स्वीकृति अनिवार्य रूपमा EBPS प्रणाली (अनलाइन) मार्फत गर्नुपर्नेछ भन्ने व्यवस्था रहेको छ। EBPS प्रणालीमा हेर्दा आज पनि उक्त नक्सापास भएको छैन। कि संघीय सरकारले रूचाएर पठाइएको सहसचिवले महानगरको कार्यविधि पछ्याउन पर्दैन ? त्यसको विपरित गरे पनि हुने हो ? यो प्रश्न गर्नु पर्नेमा काठमाडौँका जनप्रतिनिधिज्युहरू, तपाईहरू नै आफैले बनाएको कानुन पालना नगरी चलखेल गर्ने कर्मचारीकै पछाडी कुद्नु पर्ने कारण के हो ? यो ठूलो नीतिगत र आर्थिक घोटालाको अंश थिएन भने ढोका फोरी फोरी हाजिर गराउनु पर्ने वाध्यता के थियो ? यसको जवाफ आफै दिनुहोस्। तपाईहरूलाई माथिको आदेशको पालना गर्नु पर्ने होला तर महानगरको नियम पालना गराउनु र त्यसको जानकारी सर्वसाधारणसम्म पुर्याउनु मेरो कर्तव्य हो।

६.⁠ ⁠छानविन समितिले थप गरिएको समयभित्र प्रतिवेदन बुझाएन या बुझाउन दिइएन भन्ने पनि खोजीको बिषय बन्न पर्छ। त्यसको सट्टा सम्बधित विभागीय प्रमुख, पूर्वविभागीय प्रमुख तथा कानुन विभागका विभागीय प्रमुखहरूले अध्ययन गरि नक्सापास गर्न नसकिने राय दिए के त्यो पनि गलत थियो ? उहाँबाट आफ्नो अधिकारक्षेत्रमा पर्ने भुमिका अनुसार राय आयो। कसैलाई कारबाही नै गर्नु पर्छ भन्ने राय दिने अधिकार उहाँहरूमा थियो कि थिएन र उहाँहरूबाट आएको राय बमोजिम सुशासनका लागि, आर्थिक तथा नीतिगत भ्रष्टाचार निमिट्यान्न पार्नको लागि अगाडि बढ्न आँट गर्ने नैतिकता हामीसँग थियो कि थिएन भन्ने प्रश्न गम्भिर छ। त्यो समयमा हामी को कुन कित्तामा उभियौँ भन्ने कुरा जगजाहेर भइसकेको छ।

७.⁠ तत्कालिन प्रमुख प्रशासकीय अधिकृतले प्रक्रिया पुगेन नक्सा पास गर्न सकिदैन भनि २-२ पटक फिर्ता पठाएको नक्सा फाइल सरोज गुरागाई हाजिर भएको दोश्रो दिन मै आधिकारिक प्रणाली प्रयोग नगरी, सम्बन्धित विभागीय प्रमुखलाई समेत थाहा नदिई नक्सा पास गरिदिनु पर्ने के थियो कारण ? महानगरको अरु महत्वपूर्ण नगरी नहुने काम के कति गर्नुभयो आएको २ दिन मै ? केहि त पक्कै थियो होइन भने त लुकाएर गर्नु हुन्थेन होला। नगर प्रमुख र कार्यपालिका अनि PPP Bord सँग प्रत्यक्ष जोडिएको बिषयमा पनि ३ महिना पछि अरु कसैले उजुरी दिएर मात्र थाहा पाउनु पर्ने ? यति बिधि गोप्य तरिकाले काम गर्नु पर्ने के थियो कारण ?

८.⁠ ⁠नियमित काम गरिरहेका प्रमुख प्रशासकीय अधिकृतलाई सरकार फेरिने बित्तिकै हटाइयो। उहाँ आएको जम्मा ७ महिनामात्र हुँदै थियो। उनको ठाउँमा संघीय सरकारले रोजेर सरोज गुरागाईलाई पठायो। जो आए पनि कामै गर्ने हो भनेर हामीले सहकार्य गरिरहेका नै थियौँ, तर ३ महिनापछि कर्तुत थाहा भयो। उहाँले गलत गर्नु भयो, उहाँसँग अब विश्वास रहेन कि उहाँलाई महानगरको त्यति ठूलो जिम्मेवारी दिन सकियोस्, यसैले उहाँलाई फिर्ता गराएर अर्को पठाइदिनुस् भनेर सरकारलाई पटक पटक पत्राचार तथा संवाद गरियो तर नतिजा ! सबैले देख्नु भएकै छ। अघिल्लोलाई बिनासमय हटाइदिँन सक्ने तर सरोज गुरागाईँलाई नसक्ने किन थियो ? सरकारले उनलाई केहि विशेष mandate दिएर पठाएको छ ?

सबैको जानकारीका लागि, सरोज गुरागाईले कहाँ बसेर के कुरा गर्नु हुन्छ, कुन कागजमा हस्ताक्षर गर्ने अभ्यास गर्नु हुन्छ भन्ने हाम्रो चासोको बिषय होइन, हामीले जान्ने यति हो कि महानगरको आधिकारिक EBPS प्रणालीमा अहिले पनि नक्सापास भएको छैन। महानगरले आधिकारिक प्रक्रिया र प्रणालीबाट स्वीकृत नभएको कागजलाई नक्सापास मान्दैन । यस बाहेक अहिलेसम्म पनि हामीलाई थाहा नभएका कति गल्ति गर्नु भएको छ, त्यो पनि बिस्तारै खुल्दै जाला।

अन्त्यमा, सो भवनको नक्सापासको प्रक्रियामा धेरै गम्भीर त्रुटीहरू भेटिएका छन्। महानगरलाई आर्थिक क्षति पुर्याइ केहि सीमित व्यक्तिहरूको नाफाका लागि नीतिगत भ्रष्टाचार भएका छन्। विभिन्न प्रमाणहरू महानगरमा सुरक्षित छन्। चाहिएमा सूचनाको हक छ हरेक नागरिकलाई, प्रक्रिया पुर्याएर लिन सक्नुहुन्छ। अनि अर्को कुरा हिल्टनको नक्सापास पनि उहाँले नै उही दिन गर्नु भएको हो। यसमा पनि सचिवालयले अध्ययन गर्दै छ। यसबाहेक थाहा नभएका कति गल्ति गर्नु भएको छ, त्यो पनि बिस्तारै खुल्दै जाला। तपाईंहरु पनि कसैले महानगरमा यस्ता अनियमितता देख्नु भएको छ भने हामीलाई सुचना दिनुहोस्। तपाईंको परिचय हामी गोप्य राख्ने छौँ। गल्ति गर्ने कसैलाई पनि छुट छैन महानगरमा। अन्त्यमा, लोकतन्त्र दिवस भ्रष्टाचाररहित समाज भएर मनाउन पाइयोस्। सबैलाई यहि शुभकामना।

निजी मेडिकल कलेजलाई चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयन गर्न स्वाथ्यमन्त्रीको निर्देशन

काठमाडौं । सरकारले आवासीय चिकित्सकलाई सरकारी आठौँ तहको तलब सुविधा दिने चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयन गरिछाड्ने बताएको छ ।

बिहीबार नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकका प्रतिनिधिबीच स्वास्थ्य मन्त्रालयमा भएको वार्तामा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आयोगको निर्णय कार्यान्वयन गर्न निजी मेडिकल कलेजलाई निर्देशन दिएका हुन् ।

मन्त्री पौडेलले चिकित्सा शिक्षा आयोगले दिएको निर्देशन कार्यान्वयन नगरेसम्म निजी मेडिकल कलेजलाई सरकारले दिने कुनै पनि सुविधा उपलब्ध नगराउने चेतावनी दिए ।

उनले आन्दोलन फिर्ता लिएर मुलुकको उपचारात्मक प्रणालीमा सहयोग गर्न समेत चिकित्सकलाई आग्रह गरेका छन् ।

गत माघ २५ गते बसेको आयोगको बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह)को निर्वाह भत्ता मासिक ४८ हजार ७०० रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो । तर, निजी मेडिकल कलेजले आयोगको निर्णय कार्यान्वयन नगरेको भन्दै आवासीय चिकित्सक आन्दोलित भएका छन् ।

लोकतन्त्र दिवसमा एमालेको ‘युथ सेलिब्रेशन'(फोटोफिचर)

काठमाडौँ । लोकतन्त्र दिवसका अवसरमा बिहीबार नेकपा (एमाले)ले काठमाडौँको भृकुटीमण्डपमा युवा उत्सव (युथ सेलिब्रेशन)को आयोजना गरेको छ ।

जनआन्दोलनको बलमा निरङ्कुश राजतन्त्रको अन्त्य भई जनताले जितेको दिनको रूपमा एमालेले यो उत्सव मनाएको छ । स्वदेशमा रोजगारी र समृद्धिका लागि युवाहरुका लागि अवसर छ भन्ने सन्देश दिन यो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा सहभागी हुन देशभरका युवाहरू काठमाडौँमा भेला भएका छन् । एमालेनिकट युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेबेले कार्यक्रममा ४० वर्ष मुनीका करिब एक लाख युवा सहभागी हुने बताए ।

कार्यक्रम स्थलमा कन्सर्ट, विभिन्न नाचगानका साथै सांस्कृतिक झाँकी प्रदर्शन हुनेछन् । कार्यक्रम स्थलमा कफीसप, फुडसपहरु तथा युवाले उत्पादन गरेका सामानको स्टलसमेत राखिएको छ ।

क्रिकेटर लोहनीको उपचारका लागि क्यानले पाँच लाख रुपैयाँ दिने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सिद्धान्त लोहनीको उपचारका लागि पाँच लाख रुपैयाँ दिने भएको छ ।

२०२३ मा महेन्द्रनारायण निधि राष्ट्रिय क्रिकेट प्रतियोगिताका क्रममा लोहनी घाइते भएका थिए । त्यसयता लगातार अस्पतालमा रहेका लोहनीको उपचारमा क्यानले सहयोग नगरेको गुनासो उनले गरेका थिए ।

काभ्रेमा रगतको चरम अभाव, बिरामी समस्यामा

काभ्रे । बनेपास्थित नेपाल रेडक्रस सोसाइटी काभ्रेको रक्त सञ्चार सेवा केन्द्रमा रगत मौज्दात शून्य अवस्थामा रहेको छ । विरामीका लागि स्थानीय नागरिक तथा अस्पतालद्वारा रगत लिन आज केन्द्रमा पुग्दा केन्द्रले एक यूनिट रगतसमेत दिन नसकेको जनाइएको छ ।

केन्द्रमै केही दिनदेखि रगत अभाव भएको बताइएको छ । ‘केन्द्रमा एक यूनिट रगत पनि छैन, जिल्लाका अस्पताल र व्यक्तिबाट माग भइरहेको छ’, केन्द्रका ‘स्टोर इन्चार्ज’ गोकुल बानियाँले भने। उनका अनुसार रगतका लागि बिहीबार विहानैदेखि केन्द्रमा लगातार फोन आइरहेको छ ।

रगतको मुख्य बैंकका रुपमा रहेको नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालितको उक्त केन्द्रमा रगत नहुँदा निकै समस्या भइरहेको उनले बताए । रेडक्रसले सात सय यूनिट रगत भण्डारण क्षमताको केन्द्र सञ्चालन गर्दै आएको छ ।

जिल्लामा नियमित रूपमा रक्तदाता नहुँनुले पनि रगतको अभाव भइरहेको जनाइएको छ । केही दिनयता जिल्लामा रगत अभाव हुन थालेको हो । रगत दान गर्नेभन्दा रगत लिनेको सङ्ख्या बढ्नथालेपछि रगत अभाव हुनथालेको केन्द्रले जनाएको हो। रक्तदान कार्यक्रम कम भएका कारण पनि रगत अभाव देखिएको रेडक्रस काभ्रेले जनाएको छ ।

केन्द्र प्रमुख राधा थापाका अनुसार हाल केन्द्रमा रगतको अभाव पूर्ति गर्न कठिनाई भइरहेको छ । ‘कहिलेकाही सम्पर्कमा रहेका रक्तदातालाई अनुरोध गरेर बिरामीका आफन्तसँग समन्वय गराउँछौँ, अन्यथा निकै कठिन भइरहेको छ’, उनले भने। उनका अनुसार केन्द्रमा ‘ए–पोजेटिभ’, ‘बी–पोजेटिभी’, ‘एबी–पोजेटिभी’ र ‘ओ–पोजेटिभ’लगायत सबै प्रकारको रगतको माग भएको हो । रगत अभाव हुनथालेपछि बिरामीहरू समस्यामा परेका छन्।

काभ्रेपमा रगत अभाब भएपछि केही हप्तादेखि भक्तपुर र काठमाडौंबाट रगत पूर्ति गर्नुपर्ने बाध्यता रहेपनि पछिल्ला दिनदेखि ती दुई जिल्लामा रगत अभाव भएको खबर प्राप्त भएको ‘स्टोर इन्चार्ज’ बानियाँले बताए ।

जिल्लामा आधा दर्जन अस्पताल तथा एक दर्जन क्लिनिक सञ्चालनमा छन् । जिल्लाक सबै अस्पतालमा सामान्यदेखि बिशिष्ट खालका शल्यक्रियासमेत हुने गरेका छन् । शल्यक्रियाका क्रममा रगतको आवश्यकता पर्ने भएकाले बिरामीलाई आवश्यता पर्ने गु्रपको रगत नहुँदा अस्पतालका साथै बिरामीका आफन्तलाईसमेत समस्या हुने गरेको पाइएको छ ।

काभ्रेमा सञ्चालित अस्पतालमा छिमेकी जिल्ला सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, दोलखा तथा ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुरसँगै मधेस र भित्री मधेसका विभिन्न जिल्लाबाट बिरामी उपचार गर्न आउँछन् । अस्पतालमा बिरामीको चाप बढेसँगै रगत अभावको समस्या चुलिएको हो ।

राष्ट्रियसभालाई निकास दिने थलोका रूपमा विकास गरिनुपर्छःअध्यक्ष दाहाल(अन्तरवार्ता)

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा प्रबुद्ध वर्गको समूह भएकाले राजनीतिक, वैचारिक र सिद्धान्तको निकाससहित नयाँ सन्देश दिन सक्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
उनले सभा सञ्चालन वैचारिक र सैद्धान्तिकरूपले प्रक्रियागत र कामकाजी भएका कारण जनतामा अन्यौल र वितृष्णा देखिएको बताउँदै संसद् सञ्चालन विधि, प्रक्रिया, प्रणालीलाई अझ परिस्कृत, फरक र सक्रिय बनाउँदै लैजानुपर्नेमा जोड दिए ।

अध्यक्ष दाहालले भने, “मेरो हुटहुटी भनेको विगतका अभ्यास र अनुभवबाट पाठ सिक्दै, समस्या पहिचान गरी आगामी दिनमा राष्ट्रियसभालाई प्रभावकारी बनाएर लैजानुपर्छ भन्नेमै केन्द्रित छ ।”

अध्यक्ष दाहालले राष्ट्रियसभाको नेतृत्वको जिम्मेवारी समालेको चौध महिना भएको छ । भोलि वैशाख १२ गते शुक्रबारदेखि सङ्घीय संसद्को वर्षे अधिवेशन सुरु हुँदैछ ।

राष्ट्रियसभाको गतिविधि, अबको योजना, संविधान कार्यान्वयन र संशोधनलगायत सदनमा जनसरोकारका विषयको उठान तथा कार्यान्वयनको अवस्थालगायत समसायिक विषयमा अध्यक्ष दाहालसँग राससका प्रमुख समाचारदाता नारायणप्रसाद न्यौपाने र समाचारदाता सुशील दर्नालले लिएको अन्तर्वार्ताको सम्पादित अंशः


राष्ट्रियसभाका गतिविधि के विषयमा केन्द्रित छन् ? अहिले के, कस्ता विषयमा व्यस्त हुनुहुन्छ ?

यसबीचमा अलि नयाँ ढङ्गको योजना बनाइएको थियो । यही वैशाख १० गते सबै प्रदेशबाट प्रतिनिधित्व गर्ने ‘माननीय’ आ–आफ्नो निर्वाचन क्षेत्रको प्रदेशमा जाने र निर्वाचन मण्डलसँग भेटघाट गर्ने कार्यक्रम थियो । तर अघिल्लो पटक प्रतिस्थापन विधेयकमाथिको छलफल लम्बियो भने यो पटक अनुमान गरिएभन्दा केही दिन पहिले सदन आह्वान भयो । त्यसकारण प्रदेश, जिल्ला र स्थानीय तह जाने कार्यक्रम हुन सकेन । अर्काेतर्फ अहिले बजेट तयारीको चटारो छ । सासद्सहित हामी पदाधिकारी र प्रशासनिक कर्मचारी त्यसमै केन्द्रित भई छलफलमा व्यस्त छौँ । संसदीय गतिविधि र भैपरि आउने समस्याको समाधान तथा सम्भावनाको खोजीमा लागि परेको छु । मेरो हुटहुटी भनेको विगतका अभ्यास र अनुभवबाट पाठ सिक्दै, समस्या पहिचान गरी आगामी दिनमा राष्ट्रियसभालाई प्रभावकारी बनाएर लैजानुपर्छ भन्नेमा केन्द्रित भइ छलफलमा जुटिरहेको छु ।

सङ्घीय संसद्को अधिवेशन भोलि वैशाख १२ गतेदेखि सुरु हुँदैछ, यसलाई अलि भिन्न र विशेष बनाउने कार्यक्रम छ ?

हो, सभालाई अलि नयाँ ढङ्गले लैजानुपर्छ भनेर आन्तरिक तयारी गरिरहेका छौँ । यो राष्ट्रियसभाको १८औँ अधिवेशन हो । अधिवेशनमा ‘विजनेश’कारूपमा प्रस्तुत गर्नुपर्ने केही विधेयक समितिमा छलफलमा छन् भने कुनै दर्ता र टेबुल मात्रै भएका छन् । राष्ट्रियसभाबाट पास भई प्रतिनिधिसभाबाट सन्देशसहित आउनुपर्ने सात वटा विधेयक थाँती छन्, दुई वटा विधेयक विधायन समितिमा छलफलकै क्रममा छ । ती विधेयकलाई अब संसद् चल्नासाथ प्रक्रिया अगाडि बढाइनेछ । यो बाह्य पक्ष भयो । आन्तरिक भनेको अहिलेको सदनलाई व्यवस्थित कसरी गर्न सकिन्छ भन्ने नै हो । राष्ट्रियसभाप्रतिको बुझाइभन्दा अलि फरक गर्नुपर्नेछ । वैचारिक र सैद्धान्तिकरूपले अलि प्रक्रियागत र कामकाजी भएका कारण जनतामा अन्यौल र वितृष्णा देखिएको छ । संसद्ले अहिले सडकमा देखिएका विषयवस्तुलाई पनि सम्बोधन गर्नुपर्नेछ । हाम्रा त्रुटी कहाँनिर हो, कसरी पत्ता लगाउने भन्ने मूल प्रश्न छ । राष्ट्रियसभा बौद्धिक जमात भएकाले नयाँ सन्देश दिन सक्नुपर्छ । अहिलेसम्मको मूल्याङ्कनबाट वेतिथि भएर सभा चलेको छैन । विभिन्न दलको प्रतिनिधित्व हुने भएकाले यो सभा राष्ट्रिय राजनीतिबाट अछुत पनि रहन सक्दैन । सभालाई अलि नयाँ ढङ्गले लैजानुपर्छ भन्ने उद्देश्यले आन्तरिक तयारीमा सचिवालय जुटिरहेको छ ।

सभालाई थप प्रभावकारी कसरी बनाउँदै हुनुहुन्छ ?

विगतमा कहाँनिर त्रुटि भयो भनी खोज्ने काम भइरहेको छ । त्यसलाई सच्याउनतर्फ भरपुर कोशिस हुने छ । अहिलेसम्म आइपुग्दा प्रभावकारी ढङ्गले अगाडि बढेको छ भन्ने नै अनुभूति छ । सम्माननीय राष्ट्रपति र प्रधानमन्त्री तथा अरु बौद्धिक जमातसँगको कुराकानीबाट राष्ट्रियसभाले एउटा गति लिएको छ । तपार्इँलाई धन्यवाद र बधाई छ भनेकाले संसद् सञ्चालन विधि, प्रक्रिया, प्रणालीलाई अझै फरक र सक्रिय बनाउँदै लगिएको भन्ने पुष्टि भएको छ । विगतका अभ्यासमा केही परिवर्तन गरी विशेष समय र शून्य समय दैनिक चलाउने अभ्यास सुरु भएको छ । यसले एउटा खालको रौनक आएको अनुभूति भएको छ । अहिले ‘माननीय’ सदस्यहरूले बोल्न पाइएन भन्ने चिन्ता लिनुपर्ने अवस्था छैन । शून्य समयमा दिनदिनै एक मिनेटमा धेरै कुरा बोलिन्छ । विगतमा माननीयले बोल्न पाइएन भन्ने गुनासो अध्यक्षले धेरै नै सुन्नुपथ्र्याे । त्यो झन्झटबाट अहिले मुक्त भएको छु । शून्य समय एक मिनेटले पुग्दैन भने पनि कार्यव्यवस्थामा छलफल गरौँ समय बढाइदिन्छु पनि भनेको छु । अर्कोतर्फ आकस्मिक समयमा पनि सदस्यलाई बोल्न भनिएकै छ ।

राष्ट्रियसभाले प्रादेशिक समय निर्धारण गरी छलफल सुरु गरेको छ, त्यो कसरी अघि बढेको छ ?
राष्ट्रियसभामा आकस्मिक, शून्य, विशेष र प्रादेशिक समयको अभ्यास छ । यो अभ्यासबाट सबै सदस्यलाई बोल्ने समय प्राप्त हुन्छ । हामी कार्यव्यवस्था समितिको बैठकमा ‘माइन्युट’ कम तर, छलफल बढी गर्छौँ । सभा सदस्यहरुकै हो । मेरो सदन चलाउने जिम्मेवारी मात्र हो । त्यो भएर माननीयज्यूलाई नै समय दिन्छु । राष्ट्रियसभा सञ्चालनमा उहाँहरुबाट बधाई पाइरहेकै छु । नियमावलीमा भएको प्रावधानअनुरूप अध्यक्षको जिम्मेवारीमा आएपछि ‘प्रादेशिक समय’ सुरुवात भयो । त्यसलाई अलि नयाँ ढङ्गबाट अभ्यासमा लैजान सोच्दै छु । अघिल्लो अधिवेशनबाट ‘मन्त्री’सँगको प्रश्न–उत्तर सुरु भएको छ । अब प्रधानमन्त्रीसँग प्रश्न आयो भने त्यो व्यवस्था पनि गर्ने योजना छ । राष्ट्रियसभा अध्यक्ष भएर काम गर्दै गर्दा अहिले भएका अभ्यासबाट सन्तुष्ट छु ।

राष्ट्रियसभाको नेतृत्व सम्हालेपछिको संसदीय अनुभव र अभ्यास कस्तो रह्यो ?

राष्ट्रियसभा प्रतिनिधि सभाको छायाँ नहोस् भन्नेमा म सतर्क छु । राष्ट्रियसभाबारे संविधानले जे परिभाषा गरेको छ, जनताले जे अपेक्षा गरेका छन्, बाहिर जे आँकलन छ, यसलाई प्रभावकारी र नतिजामुखी तुल्याउन अझ धेरै मेहनत गर्नुपर्छ भन्नेमा छु । राष्ट्रियसभा भनेको जनताका दैनिकीसँग भन्दापनि सैद्धान्तिक रूपमा विकास र संसदीय निकासको निम्ति हुनुपर्छ भन्ने हो । अघिल्लो अधिवेशनमा प्रवेश पाएका अध्यादेश र प्रतिस्थापन विधेयक त्यो राष्ट्रियसभामा रोकियो । प्रधानमन्त्री, सभामुख र प्रतिपक्ष दलका नेतासँगको छलफलपछि पाँच वटै विधेयक सर्वसम्मतिले पारित पनि भयो । जे–जस्ता समस्या भएपनि राष्ट्रियसभाले राजनीतिक, सैद्धान्तिक र वैचारिक निकास दिन्छ । त्यही दिशातिर सोचिरहेको छु ।

कतिपय घटनाले राष्ट्रियसभा राजनीतिक आचरण र व्यवहारमा प्रतिनिधिसभा भन्दा भिन्न देखिएन भन्ने आरोप्रति यहाँको धारणा के छ ?

राष्ट्रियसभा समस्या निम्त्याउने होइन, समाधान दिने थलो हो । प्रतिनिधिसभामा सबै सांसद एकैचोटी उठेर बोल्न खोज्नुहुन्छ, तर यो सभामा भने एक जना बोलेपछि मात्रै अर्को माननीय बोल्ने चलन छ । प्रतिनिधिसभा र राष्ट्रियसभामा विरोध जनाउने शैली फरक छ । यहाँ विरोध जनाउन र आफ्ना विचार तथा विषयवस्तु राख्न पाइन्छ । सदन भएपछि विरोध र राजनीतिक कुरा हुन्छ नै । तर राष्ट्रियसभालाई निकास दिने थलोका रूपमा विकास गर्नुपर्छ । देशमा आएका राजनीतिक समस्याहरु, संविधानमा देखापरेका अस्पष्टताहरु, नेपाली जनताको भावनाहरुलाई राष्ट्रियसभाले निकास दिने हो । पछिल्लो समयमा राष्ट्रियसभामा आएका कुनैपनि विधेयक अड्किएको छैन । बरु राष्ट्रियसभाबाट पास भएर गएका सात वटा विधेयक प्रतिनिधि सभामा थन्किएका छन । तर, हामीले प्रतिनिधि सभाबाट आएका एउटा पनि विधेयक राखेका छैनौँ । अध्यादेशमार्फत् प्रतिस्थापन विधेयक अड्किने हो कि भन्ने डर थियो तर पास भयो । अहिले राष्ट्रियसभाका समितिमा पानी जहाज र विज्ञान प्रविधिसँग सम्वन्धित विधेयकमाथि घनिभूत छलफल भइरहेको छ । थप अरु दुई वटा विधेयक सचिवालयमा दर्ता भएका छन् । सामाजिक सञ्चालनसँग सम्वन्धीत विधेयक अगाडि बढाउँदै छौँ । यो विधेयकमा सबैको चासो छ । राष्ट्रियसभामा बामदेव गौतम, कृष्णप्रसाद सिटौला, डा वेदुराम भुषाल, नारायणकाजी श्रेष्ठ जस्ता लामो समय राजनीतिमा संलग्न अनुभवी नेता हुनुहुन्छ । त्यसैले पनि यो सभालाई संविधान अनुसार नै अलि फरक ढङ्गले लैजानुपर्छ भन्ने छ । अझै सयौँको सङ्ख्यामा कानून बन्न बाँकी नै छ । जनभावना अनुरूप यो सभालाई विचारमाथिको मन्थन शिष्ट, भद्र र निकास दिने गरी जानुपर्छ भन्नेमा म सचेत र सतर्क छु । जनताबाट कानुन बनाउन ढिला भयो भन्ने आरोपबाट बच्न जरुरी छ । प्रतितिनिधिसभाले निकास दिन नसकेर लामो समयदेखि अड्किएका विधेयक यो सभालाई प्राप्त भएमा त्यसलाई हल गरेर पठाउन सक्षम छौँ ।

सञ्चालन विधि, राजनीतिक विषयस्तु, कार्यसूची लगायत विषयमा प्रतिनिधि सभाभन्दा यो सभा भिन्न देखिएन, यसमा कहाँनिर सुधारको खाँचो देख्नुभएको छ ?

संसदीय अभ्यासमा सुधार गर्नुपर्ने धेरै विषय छन् । हालको सदन सञ्चालन गर्ने विधि र प्रक्रियाप्रति नै म सन्तुुष्ट छैन । पाँच मिनेट जनाउ घण्टी बजाउने, हुन्छ र हुन्न, हुन्छ भन्नेले हुन्छ भन्नुहोस, हुन्न भन्नेले हुन्न भन्नुहोस भन्ने प्रक्रियाप्रति म सन्तुष्ट छैन । यो विषय एकै पटकमा गर्न सकिन्छ । एउटै विधेयक पास गर्न कम्तिमा ५÷६ पटक सम्म हुन्छ कि हुन्न भन्नुपर्छ । यो विधि र प्रक्रिया छोट्याउनुपर्छ । परिवर्तन गर्नुपर्छ । त्यसको लागि जमर्काे पनि गरियो । अझै पनि कतिपय ‘माननीय’ अलमलमा परेर विगतको अभ्यास र परम्परा तोड्नु हुन्न भन्नुभयो । यस्ता विषय हटाउन सर्वसम्मत नभइ परिवर्तन गर्न सकिँदैन । अर्को सैद्धन्तिक छलफलमा सहभागि हुन नाम टिपाउने समयलाई घटाएर दुई मिनेटमा झारिएको छ । त्यसमा अझै सुधारको खाँचो छ । यस्ता श्राद्धमा विरालो बाँध्ने चलनलाई समयानुकूल बनाउँदै लैजानुपर्छ । पञ्चायतकालीन र उसबेलाका बेलायती सदनको अभ्यास र चलनलाई सुधार गरी अघि बढ्नुपर्छ । त्यस्ता प्रक्रिया संविधानसँग भने बाझिनु हुँदैन भन्ने पक्षलाई पनि त्यत्तिकै ख्याल गर्नुपर्छ ।

राष्ट्रियसभाले जनसरोकारका विषयलाई कसरी सम्बोधन गरिरहेको छ ?

राष्ट्रियसभा प्रदेश र पलिकाप्रति उत्तरदायी हुनुपर्छ । यो सभाले समग्र जनप्रतिनिधिको प्रतिनिधित्व गर्छ । त्यहाँका आफना् मतदातालाई भेटेर सङ्घीयता कार्यान्वयनको अवस्था, कानून निर्माण, सङ्घ, प्रदेश र स्थनीय तहबीचमा देखिएका कानूनी जटिलता, बजेट निर्माण प्रक्रियामा बुझ्ने योजना थियो । तर विविध कारणले यस पटक त्यसको अनुगमन गर्न अनुकूल भएन । त्यहाँ तर्जूमा गरेको बजेट, छनोट गरेका योजनाको कार्यान्वयनको अवस्थाको बारे पनि हामीले बुझ्नुपर्छ । प्रदेश र सङ्घबीचको मतभिन्नता लगायतका विषयमा छलफल गर्ने र सम्बोधन गर्न पहल गर्ने भनिएको थियो । कम्तीमा वर्षको दुई पटक आफ्ना मतदातासँग भेटेर समस्या सुन्ने र समाधान गर्नेतर्फ लाग्ने कार्ययोजना थियो । तर अहिले तत्काल गर्न नसकेपनि अब आउँदो आर्थिक वर्ष त्यो हुन्छ । यो हाम्रा लागि नयाँ र रचनात्मक काम हुनेछ ।

राज्यप्रतिको विश्वास घटेको, युवाको विदेश पलायनको सङ्ख्या बढेको तथा सुशासन लगायतका यावत् प्रश्न उठ्नुलाई यहाँले कसरी हेर्नुभएको छ ?

हाम्रो अनुभवमा नेपाल संविधान निर्माण गर्न र राम्राराम्रा नारा बनाउने मामिलामा सिपालु र धनी छ । प्रत्येक सरकारले जनहितका लागि भनी नयाँ र मिठा नारा दिन्छन् । तर कार्यान्वयन र जिम्मेवारी लिनेमा कमजोर छौँ । रोजगारी, विदेश पलायन, शिक्षा र स्वास्थ्यको सवालमा अहिलेसम्म बनेका सरकारले दिएका ‘गाउँगाउँ सहकारी, घरघरमा भकारी’, ‘समृद्ध नेपाल सुखी नेपाली’, ‘गाउँगाउँमा सिंहदरबार’ जस्ता राम्रा नारा र मिठा नारा कार्यान्वयन भएनन् । यी सुन्दा राम्रो लाग्छ, तर कार्यान्वयन हुँदैन । त्यसको कार्यान्वयन गर्न सरकार र राजनीतिक नेतृत्वमा दृढ इच्छाशक्ति चाहिन्छ ।

युवालाई विदेश पठाउने मामिलामा पनि नेपाल अगाडि नै छ, जुन गलत हो । संविधानले हामीलाई त्यो छुट दिँदैन । संविधानमा लेखिएका रोजगारी, शिक्षा, र स्वास्थ्यलगायत मौलिक हकका विषयमा राज्यले गम्भीर हुनुपर्छ । हामी जनताको सवालमा गम्भीर नहुँदा निरंकुश चरित्र भएका पक्षबाट धमिलो पानीमा माछा मार्ने काम भइरहेको छ । हामी जनताप्रति जिम्मेवार र उत्तरदायी भइदिएको भए अस्ताएका र सिद्धिएका शक्ति फेरि उठ्ने मौका पाउने थिएनन् । राजनीतिक दलहरुले गम्भीरता र एकताबद्ध भएर काम गर्नुपर्ने बेला आएको छ । ठूला दल र शक्तिशाली सरकार मात्र भएर हुँदो रहेनछ भन्ने कुरा विस २०७४ सालमा नेकपाको दुई तिहाइको सरकार गठन भएर के भयो त भन्ने उदाहरण दिन सकिन्छ । त्यसकारण राजनीतिक अस्थिरताका कारण समस्या सिर्जना भएको भनने विषय पनि गलत सावित भइसकेको छ । अहिले पनि झन्डै दुई तिहाईको सरकार छ, काम फटाफट हुन सकिरहेको छैन । स्थिरताका निम्ति राजनीतिक दलले जनतासामु गरेका प्रतिबद्धता पूरा गर्ने इच्छाशक्ति हुनुपर्यो  । त्यसतर्फ सबै राजनीतिक दलको ध्यान जान आवश्यक छ ।

पछिल्लो समय संविधान संशोधनको चर्चा छ, यस सन्दर्भमा उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउनुपर्छ भन्ने मत पनि अघि सारिएको छ नि ?

उपराष्ट्रपतिलाई नै राष्ट्रियसभाको अध्यक्ष बनाउने कुराले सिङ्गो राष्ट्रलाई फाइदा हुन्छ भने मेरो कुनै आपत्ति छैन । तर त्यसको लागि पनि संविधान नै संशोधन गर्नुपर्छ । यदि राजनीतिक खेतीका लागि मात्रै यो विषय उठाइएको हो भने त्यो आफ्नो ठाउँमा भयो । नेपालले अहिले गरिरहेको अभ्यास र उपराष्ट्रपतिलाई अध्यक्ष बनाउने दुवै विषय विश्वमा भएकै अभ्यास हुन् ।

कानुन निर्माणमा सरकारको सहयोग कस्तो छ, सभाले कतिको बिजनेस प्राप्त गरिरहेको छ ?

सरकारले सदनलाई पर्याप्त बिजनेस दिनुपर्छ । कानून बनाउने प्रक्रियाको सुरुआत सरकारले गर्ने हो । सदनले होइन । पहिला सरकारले कानूनको विधेयक ल्याउनुपर्यो  । त्यसलाई राष्ट्रियसभामा दर्ता गर्नुपर्यो  । त्यसको आधारमा प्रक्रियागतरूपमा छलफल अगाडी जाने हाम्रो विधि र पद्धति हो । मैले सरकारलाई जतिसक्छौँ त्यति विधेयक राष्ट्रियसभामा दर्ता गर्नुस् हामीले अगाडि बढाउँछौँ, रोक्दैनौ भनेको छु । कहिलेकाहीँ त बिजनेस नपाएर बैठक यत्तिकै स्थगन गर्नुपर्छ । कानून निर्माण गर्ने आवश्यकता खड्किएको छ । संविधान बनेको दश वर्ष भयो । संविधानमा उल्लेख भएका विषय व्यवहारमा कार्यान्वयनमा लैजान कानून बनाउनु पर्नमा आवश्यक प्रगति हुन सकेको छैन । समग्रमा २०–२२ वटा यतिकै ‘पेन्डिङ’ मा छन । कानूनको अभावमा जनताका अपेक्षा पूरा गर्न सकिएको छैन । अब कानून निर्माण प्रक्रियमा हामी अलि बढी गम्भीर बन्नुपर्छ ।

‘राष्ट्रियसभामा जनताका जल्दाबल्दा सवाल उठ्छ, तर कार्यान्वयनमा समस्या छ’ भन्नेहरूप्रति यहाँको धारणा के छ ?

राष्ट्रियसभाले जनताका जल्दाबल्दा समस्या उठाएर कार्यान्वयनका लागि सरकारलाई ध्यानाकर्षण गरिरहेको छ । गएको एक वर्षमा जरुरी सार्वजनिक महत्व र सङ्कल्प उठाइएका गम्भीर विषयमा नौ पटक ‘रुलिङ’ गरेको छु । सदनमा उठेका विषयवस्तुसँग सम्बन्धित मन्त्री, सम्वन्धित मन्न्त्रालय र सम्वन्धित विभागले तत्काल जवाफ दिनुपर्ने भनी रुलिङ भएको छ । सदनले गर्ने भनेको त्यही हो । मन्त्री उपस्थित नभएसम्म वैठक चल्दैन भन्ने मान्यता छ । सभामा सदस्यले उठाएका विषय सम्बन्धित मन्त्रीले सात दिन भित्रमा जवाफ दिनुपर्छ भन्ने नियमावलीमा व्यवस्था छ । जनताप्रति जिम्मेवारी बोधका साथ संसदमा कुरा उठाइएको छ । सदन र संसदीय समितिमार्फत् अनुगमन र मूल्याङ्कनसहित कार्यान्वयन गर्न प्रयत्नहरु भएका छन । त्यसमा चुकेका छौँ भन्ने लाग्दैन । तर पनि हामी सरकारले गरेन भनी चुप लागेर बस्दैनौं । नयाँ तरिकाले त्यसलाई बाध्यकारी बनाउने दिशातर्फ पनि लागेका छौँ । जनताको पक्षमा काम होस् भन्ने विषयमा हामी केहीँकतै चुकेका छैनौँ ।

मुलुकमा भ्रष्टाचार बढेको तथा सुशासन प्रवद्र्धन हुन नसकेको पक्षमा यहाँको दृष्टिकोण के हो ?

नेपाल लोकतान्त्रिक, गणतान्त्रिक मुलुक हो । जनतालाई अभिव्यक्ति स्वतन्त्रता छ । जनतालाई सूचना हक प्रयोग गर्ने अधिकार पनि छ । संविधानमा मौलिक हक भनी सुनिश्चित गरिएको छ । त्यो पूरा नभएको कारण जनतामा कुशासनले घर पर्यो  कि भन्ने आशङ्का छ । भ्रष्टाचारको विषय आइरहेकै छ । अहिले भ्रष्टाचारसँग सम्बन्धित थुप्रै विषय उठिरहेका छन् । यी विषयमा सरकार आफैँ गम्भीर हुनुपर्यो  । होइन भने प्रमाणसहित जनतालाई आश्वस्त पार्नुपर्यो  । यदि हो भने कारवाही गर्नुप¥यो । यो एउटा सांसद् वा राष्ट्रियसभाको मात्र विषय होइन । महिला हिंसा, छाउपडी, दलितमाथिको विभेद, बलात्कार, हत्याजस्ता जनताको अधिकारसँग जोडिएका अरु सबै विषयमा राष्ट्रियसभाले उठाइ रहेको छ । यो विषयमा सरकार जिम्मेवार बन्नुपर्यो  । जुनसुकै सरकार किन नहोस् जनताको आवाज सुनिरहने तर कार्यान्वयन नगर्ने हो भने व्यथिति र भ्रष्टाचार छैन भन्ने आधार हुँदैन । ७५ बर्षको ज्येष्ठ नागरिक चार हजार रुपैँया भत्ताको लागि दुई दिनको बाटो हिँडेर जानुपर्ने अवस्थाले सुशासनमाथि प्रश्न उठाइरहेको छ । त्यो सामाजिक सुरक्षा हो कि सजायँ भन्ने प्रश्न हो ।

प्रधानमन्त्रीले शुक्रबार संसदमा सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार संसदमा सम्बोधन गर्ने भएका छन् । शुक्रबारदेखि सुरु हुने बजेट अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्न लागेका हुन् ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले शुक्रबारको संसद बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको जानकारी दिए । प्रधानमन्त्रीले समसामयिक विषयमा सम्बोधन गर्ने उनले बताए ।

शुक्लाफाँटाका दुई हजार ५५२ किसान सूचिकृत

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका दुई हजार ५५२ घरधुरीका किसानलाई सूचिकरण गरिएको छ । कृषि पेशा व्यवसायमा संलग्न किसानलाई उपलव्ध हुने अनुदान र सहायता प्राप्त गर्नका लागि किसानलाई सूचिकरण गरिएको हो ।

किसान सूचिकरण संकेत नम्बर भएका किसानलाई मात्रै अनुदानलगायतका कार्यक्रममा समावेश गरिने भएकाले सूचिकरणको कार्य अगाडि बढाइएको नगरपालिकाको कृषि विकास शाखाका प्रमुख करन बुढाऐरले बताए।

उनका अनुसार नगरपालिकाको–१, ११ र १२ मा किसान सूचिकरण गरिएको छ । जसअनुसार वडा नं १ मा ४६८, वडा नं ११ मा एक हजार २१ र वडा नं १२ मा एक हजार ६३ गरी दुई हजार पाँच सय ५२ घरधुरीलाई सूचिकरण गरिएको छ ।

आगामी आबमा नगरपालिका–२, ३, ४, १० र ५ मा किसान सूचिकरण कार्य गरिने उनले बताए। कृषि विषय अध्ययन गर्ने अभ्यार्थीलाई परिचालन गरी सूचिकरण कार्य गरिएको उनको भनाइ रहेको छ ।

‘सूचिकरणले किसान परिचयपत्र दिन सजिलो हुने, किसानलाई खेतीका आधारमा ठुलो सानो गरी बर्गीकरण सकिने र त्यही आधारमा अनुदानका कार्यक्रम सञ्चालन गर्न मद्दत पुग्छ’ उनले भने, ‘सूचिकरणकै आधारमा आवश्यक बजेट विनियोजन गरी कार्यक्रम तर्जुमा गरी कार्यअगाडि बढाउन सकिन्छ ।’