`

ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना

 

काठमाडौँ । काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना गरिएको छ । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले काठमाडौँ महानगरपालिका–२६ को सहयोग र ठमेल पर्यटन विकास परिषद्को सहकार्यमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना गरेको हो ।

केन्द्रको शुक्रबार बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री बिमल ठकुरीले शुभारम्भ गरे । कार्यक्रममा मन्त्री ठकुरीले सूचना केन्द्रले ठमेल मात्र नभई नेपालकै पर्यटन विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले बागमती प्रदेशले चितवनपछि ठमेलमा पर्यटन सूचना केन्द्र स्थापना गरेको जानकारी दिँदै उक्त केन्द्रबाट पर्यटकले नेपालको पर्यटकीय गतिविधिका बारेमा थाहा पाउने बताए । ठमेलमा सार्वजनिक शौचालय समेत निर्माण गरिने उनले बताए ।

काठमाडौँ महानगरपालिका–२६ का वडाअध्यक्ष ख्यामराज तिवारीले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकमध्ये ८० प्रतिशत पर्यटक ठमेल घुम्न आउने भएकाले उनीहरुलाई सूचना केन्द्रबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले प्रदेश सरकारले प्रदेशभित्रका सबै जिल्लाको पर्यटकीय गन्तव्यलाई समेटेर ‘ट्राभल बुक’ प्रकाशन गर्न लागेको  जानकारी दिए । उनले पर्यटन सूचना केन्द्रलाई प्रविधिसँग जोडेर अगाडि बढ्न प्रदेश सरकार लागिरहेको उल्लेख गरे ।

पर्यटन कार्यालय काठमाडौँका प्रमुख भक्तबहादुर भण्डारी, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष धुव्र अधिकारी, पूर्वअध्यक्ष डा रामशरण थपलिया, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेलगायतले पर्यटन सूचना केन्द्र स्थापना भएसँगै पर्यटकलाई  सहज हुने तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए ।

आजदेखि सुरु भएको उक्त सूचना केन्द्रबाट पर्यटकलाई नेपालको पदमार्ग, यातायात, होटल, स्थानीय कला संस्कृतिलगायतका बारेमा जानकारी प्रदान गरिने बागमती प्रदेश पर्यटन मन्त्रालयका पर्यटन महाशाखा प्रमुख पवनकुमार पोखरेलले जानकारी दिए ।

ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव (बिमल) धमलाले अन्तरराष्ट्रियस्तरमा नेपालको पहिचान चिनाउने ठमेललाई व्यवस्थित गर्न परिषद्ले काम गरिरहेको बताए । ठमेल क्षेत्रलाई चलायमान बनाउन आगामी दिनमा प्रदेश सरकारको साथ र सहयोग रहिरहने उनले विश्वास व्यक्त गरे ।

विदेश जानेले तीन हजार डलरसम्म साट्न पाउने, बङ्गलादेश र श्रीलङ्काका मुद्रा पनि साट्ने व्यवस्था मिलाइने

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत विदेशी विनिमय व्यवस्थापनसम्बन्धी केही व्यवस्थामा परिमार्जन र नयाँ व्यवस्था गरेको छ ।

मौद्रिक नीतिमा भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई हाल प्रतिपटक अमेरिकी डलर दुई हजार ५०० सम्म सटही सुविधा उपलब्ध गराउने व्यवस्था रहेकामा यस्तो सटही सुविधा वृद्धि गरी अमेरिकी डलर तीन हजार कायम गरिने उल्लेख छ ।

यसैगरी, बङ्गलादेश र श्रीलङ्कालगायत विदेशी मद्राको कारोबार बढ्दै गएका मुलुकहरूका मुद्रालाई परिवत्र्य विदेशी मुद्राको सूचीमा थप गर्दै लगिने पनि राष्ट्र बैङ्कले जनाएको छ ।

विप्रेषण कारोबारमा प्रयोग हुने विनिमय दर (फेडान रेट) लाई आवश्यकतानुसार पुनरावलोकन गरिने र परिवत्र्य विदेशी मुद्रामा हुने अन्तरबैङ्क कारोबार सम्बन्धमा नीतिगत व्यवस्था गर्ने मौद्रिक नीतिमा उल्लेख छ ।

विदेशी लगानी आकर्षण गर्न वाणिज्य बैङ्कमार्फत विदेशी विनिमय जोखिम व्यवस्थापन गर्ने व्यवस्था मिलाइने पनि राष्ट्र बैङ्कले जनाएको छ ।

आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिमा सहजीकरण हुनेगरी ‘नेपाल राष्ट्र बैङ्क विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ लाई संशोधन गर्ने नीति अवलम्बन गरिएको छ ।

भन्सार स्वःघोषणा गर्नुपर्ने नगद विदेशी मुद्राको सीमामा पुनरावलोकन गर्ने र नेपाली नागरिक वा संस्थाका नाममा विदेशमा रहेको विदेशी विनिमयको विवरण पेस गर्नुपर्ने व्यवस्थामा सहजीकरण गरिने व्यवस्था पनि मौद्रिक नीतिमा राखिएको छ ।

सुन आयात तथा बिक्री वितरणसम्बन्धी विद्यमान व्यवस्था पुनरावलोकन गरिने पनि मौद्रिक नीतिमा उल्लेख छ । यस्तै, विप्रेषण कम्पनीहरूको अर्थतन्त्रमा योगदान बढ्दै गएको सन्दर्भमा त्यस्ता कम्पनीहरूलाई पुँजी तथा कारोबारका आधारमा वर्गीकरण गर्ने व्यवस्था मिलाइने जनाइएको छ ।

भोजपुरको दिङ्लामा नगर अस्पताल सञ्चालन

भोजपुर । भोजपुरको उत्तर क्षेत्रमा रहेको षडानन्द नगरपालिकाको केन्द्र दिङ्लामा नगर अस्पताल सञ्चालनमा आएको छ । ‘स्वास्थ्य नागरिक, जिम्मेवार पालिका’ भन्ने नारालाई आत्मसात् गर्दै शुक्रबार एक कार्यक्रमका बीच अस्पतालको औपचारिक शुभारम्भ गरिएको हो ।

त्यस अवसरमा नगरप्रमुख सुरेन्द्रकुमार उदासले अस्पताल सञ्चालनले स्थानीय नागरिकले घरछेउमै स्वास्थ्य सेवा प्राप्त गर्ने बताए । उनले भने, “पालिकावासीसहित छिमेकी पालिकाका नागरिकको स्वास्थ्य सेवालाई पनि प्रभावकारी बनाउन नगर अस्पताल सञ्चालनमा ल्याएका हौँ । अब अस्पताललाई व्यवस्थित र दिगो रूपमा सञ्चालन हुने वातावरणका बनाउन सबै लाग्न आवश्यक छ ।”

भारतीय राजदूतावासको सहयोगमा निर्माण गरिएको महात्मा गान्धी अस्पताल भवनबाट नगर अस्पताल सञ्चालनमा आएको हो । नगरपालिकाको वडा नं ७ मा स्थापना भएको अस्पतालले स–साना स्वास्थ्य सेवा लिन अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको छ । यसअघि सानासाना स्वास्थ्य समस्याका लागि पनि यहाँ नागरिकले छिमेकी जिल्ला सङ्खुवासभा, धरान, विराटनगरजस्ता सहरमा जानुपर्ने बाध्यता रहेको थियो ।

नगर उपप्रमुख प्रमिला राईले आँखा उपचार सेवा सञ्चालन हुँदै आएकामा अब छिट्टै दन्त उपचार सेवा विस्तार गरिने बताइन् । स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै नगरपालिकाले आवश्यक जनशक्ति र उपकरण थप गर्दै लाने योजना बनाएको पनि उनले बताए ।

स्थानीयवासी भने सञ्चालित अस्पतालले नगरमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नेमा आशावादी देखिएका छन् । अस्पतालको बिहीबार मात्र नगर प्रमुख सुरेन्द्रकुमार उदासले औपचारिक कार्यक्रमसहित उद्घाटन गरेका थिए ।

लघुवित्तको लाभांशसम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने

काठमाडौं ।  आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरूको लाभांशसम्बन्धी व्यवस्थामा पुनरावलोक गर्ने भएको छ । गभर्नर डा. विश्वनाथ पौडेलले आज प्रस्तुत गरेकाे मौद्रिक नीतिमा लघुवित्त कम्पनीको विद्यमान लाभांशसम्बन्धी व्यवस्था संशोधन गरिने उल्लेख छ ।

‘लघुवित्त वित्तीय संस्थाले हालको व्यवस्थाअनुसार वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरण गर्नेसम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरिनेछ’, नीतिमा भनिएको छ।

यस्तै, लघुवित्त कम्पनीहरूबाट वैदेशिक रोजगारीमा जाने युवालाई धितो लिई वा नलिई प्रवाह भएको रु तीन लाखसम्मको कर्जालाई विपन्न वर्गको कर्जामा गणना गर्न सकिने व्यवस्था मिलाइने जनाइएको छ । महिलाको हकमा यस्तो कर्जा बढीमा रु पाँच लाख गरिनेछ।

लघुवित्त वित्तीय संस्थाको कर्जा लक्षित वर्गसम्म पुग्ने सुनिश्चित गरी कर्जा सदुपयोग अभिवृद्धि गर्न लघुवित्तका लागि लक्षित वर्ग, ऋण प्राप्त गर्ने मापदण्ड र ऋणीको योग्यतासम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने पनि मौद्रिक नीतिमा उल्लेख छ। यस्तै, बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने विपन्न वर्ग र अन्य निर्देशित कर्जाहरूको सीमा व्यवस्थाको अध्ययन गरी पुनरावलोकन गरिने राष्ट्र बैंकले जनाएको छ ।

पाकिस्तानमा टिकटक चलाएको भन्दै बाबुले गरे छोरीको हत्या

रावलपिन्डी । लोकप्रिय भिडियो साझेदारी एप टिकटकमा आफ्नो खाता मेटाउन अस्वीकार गरेपछि एक बुबाले आफ्नी छोरीलाई गोली हानेर हत्या गरेको पाकिस्तान प्रहरीले शुक्रबार जनाएको छ ।

मुस्लिम बहुलता भएको देशमा सार्वजनिक रूपमा व्यवहार गर्ने कडा नियमहरू पालना नगरेमा महिलाहरू परिवारका सदस्यहरूबाट हिंसाको शिकार हुन सक्छन् । यसमा अनलाइन स्पेसहरू पनि समावेश छन् ।

‘केटीका बुबाले उनलाई आफ्नो टिकटक खाता मेटाउन आग्रह गरेका थिए । अस्वीकार गरेपछि उनले आफ्नी छोरीको हत्या गरे’, एक प्रहरी प्रवक्ताले एएफपीलाई भने ।

एएफपीसँग साझा गरिएको प्रहरी रिपोर्ट अनुसार अनुसन्धानकर्ताहरूले बुबाले आफ्नी १६ वर्षीया छोरीलाई मङ्गलबार ‘सम्मानका लागि’ हत्या गरेको बताएका छन् । त्यसपछि उनलाई पक्राउ गरियो ।

राजधानी इस्लामाबादको छेउमा रहेको रावलपिन्डी सहरको प्रहरीका अनुसार पीडितको परिवारले सुरुमा ‘हत्यालाई आत्महत्याका रूपमा चित्रण गर्ने’ प्रयास गरेको थियो ।

गत महिना, लाखौँ अनलाइन अनुयायीहरू भएको टिकटक इन्फ्लुएन्सर १७ वर्षीया किशोरीलाई उनको घरमा एक व्यक्तिले हत्या गरेको थियो । उक्त व्यक्तिको प्रस्तावलाई ती किशोरीले अस्वीकार गरेकी थिइन् ।

सना युसुफले टिकटक लगायत सामाजिक सञ्जालका खाताहरूमा १० लाखभन्दा बढी फलोअर्स बनाएकी थिइन् । त्यहाँ उनले आफ्नो मनपर्ने क्याफे, स्किनकेयर उत्पादनहरू र परम्परागत पोशाकहरूको भिडियो साझा गरेकी थिइन् ।

आंशिक रूपमा कम साक्षरता स्तर भएको जनसङ्ख्यामा आफ्नो पहुँचका कारण टिकटक पाकिस्तानमा निकै लोकप्रिय छ ।

महिलाहरूले एपमा दर्शक र आम्दानी दुवै पाएका छन् । यो औपचारिक अर्थव्यवस्थामा एक चौथाइभन्दा कम महिलाले भाग लिने देशमा दुर्लभ छ ।

यद्यपि, पाकिस्तानमा केवल ३० प्रतिशत महिलासँग स्मार्टफोन छ जुन पुरुषहरूको तुलनामा दोब्बर (५८ प्रतिशत) भन्दा कम छ । सन् २०२५ को मोबाइल जेन्डर ग्याप रिपोर्ट अनुसार यो संसारमा सबैभन्दा ठूलो अन्तर हो ।

पाकिस्तानी दूरसञ्चार अधिकारीहरूले एलजिबिटिक्यु र यौन सामग्रीको विरोधका बीच ‘अनैतिक व्यवहार’ भन्ने कुरामा टिकटक एपलाई बारम्बार प्रतिबन्धित गरेका छन् वा प्रतिबन्धित गर्ने धम्की दिएका छन् ।

आदिवासी कानूनले धेरै ग्रामीण क्षेत्र नियन्त्रण गर्ने दक्षिणपश्चिमी बलुचिस्तानमा एक व्यक्तिले यस वर्षको सुरुमा टिकटोक भिडियोहरूमा आफ्नो ‘सम्मान’ सँग सम्झौता गरेको भन्दै आफ्नी १४ वर्षीया छोरीको हत्याको योजना बनाएको कुरा स्वीकार गरेका थिए ।

भियतनाममा ४ करोड ५० लाख डलर भ्रष्टाचारमा ३० जनालाई जेल सजाय

हनोई । भियतनामको एक अदालतले शुक्रबार राज्यलाई चार करोड ५० लाख डलरको क्षति पुर्‍याउने भ्रष्टाचारमा संलग्न धेरै पूर्व वरिष्ठ अधिकारीसहित ३० जनालाई जेल सजाय सुनाएको छ । यसमा एक पूर्व अधिकारीलाई नगद घुसले भरिएका सुटकेसहरू लिएको अपराधमा दोषी ठहर गरिएको छ ।

हालैका वर्षहरूमा भ्रष्टाचार विरुद्धको कम्युनिस्ट राष्ट्रको दमनले दुई राष्ट्रपति र तीन उपप्रधानमन्त्रीलाई पदबाट हटाएको र शीर्ष व्यापारिक नेताहरूलाई कारबाही गरेको छ ।

शुक्रबार, राज्य मिडियाले हनोई अदालतले ३० जना पूर्व अधिकारी र ११ जना व्यापारीलाई घुसखोरी, शक्तिको दुरुपयोग र बिडिङ तथा ठेक्का कानूनको उल्लङ्घन गरेको अभियोगमा फैसला सुनाएको बताएको छ ।

४१ मध्ये ३० जनालाई भ्रष्टाचारको दोषी ठहर गरिएको थियो । अभियोजकहरूका अनुसार उनीहरूले राज्यलाई ११ खर्ब ६० अर्ब डोङ (चार करोड ४६ लाख डलर) भन्दा बढी क्षति पुर्‍याएको पब्लिक सिक्योरिटी न्यूजले बताएको छ । घुसको रकम त्यसभन्दा धेरै कम थियो ।

सन् २०१० र सन् २०२४ को बीचमा फुक सन समूहका अध्यक्ष गुयेन भ्यान हाउले तीन प्रान्तमा एक दर्जनभन्दा बढी अर्बौं डलरको पूर्वाधार परियोजनाहरूमा सम्झौता जित्न अधिकारीहरूलाई घुस दिन ५० लाख डलरभन्दा बढी खर्च गरेको अभियोजनकर्ताहरूले बताएका छन् ।

अभियोजकहरूका अनुसार हाउले घुसका लागि अन्य प्रतिवादीहरूको कार्यालय वा निजी निवासमा नगदले भरिएका सुटकेसहरू लगेका थिए । त्यो र अन्य उल्लङ्घनका लागि उनलाई ३० वर्षको जेल सजाय सुनाइएको थियो ।

भिन्ह फुक प्रान्तका पूर्व पार्टी प्रमुख होङ थी थु लानलाई सबैभन्दा ठूलो घुस ६० किलोग्राम तौलका सुटकेसमा लगभग २० लाख डलर लिएको आरोपमा १४ वर्षको जेल सजाय दिइएको थियो ।

‘म मेरा गल्तीहरू र मेरो अपराधलाई स्वीकार गर्दछु र अभियोगलाई पूर्ण रूपमा स्वीकार गर्दछु’, लानले अदालतमा भने, ‘म अदालतलाई मेरा कमरेडहरूको सजाय मानवीय रूपमा कम गर्न आग्रह गर्न चाहन्छु ।’

वकिलहरूका अनुसार हाउ र उनको समूहले मुद्दामा भएको क्षतिको क्षतिपूर्तिका लागि चार करोड ५० लाख डलर तिरेको थियो ।

अप्रिलमा, भियतनामले पूर्व उद्योग तथा व्यापार उपमन्त्री होआङ क्वोक वुओङलाई सौर्य ऊर्जा विकास योजनामा ‘बिजुलीको दुरुपयोग’ गरेको आरोपमा छ वर्षको जेल सजाय सुनाएको थियो ।

६२ वर्षीय वुओङले दक्षिणी निन्ह थुआन प्रान्तमा सौर्य ऊर्जा संयन्त्रको पक्षमा ५७ हजार छ सय डलर घुस लिएको स्वीकार गरेका थिए तर उनको परिवारले सजाय सुनाउनुअघि रकम फिर्ता गरेको थियो ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले केन्द्रमा अर्बौंको हाई कम्प्युट इन्फ्रास्ट्रक्चर खरिदमा अनियमितता भएको भन्दै शुक्रबार तत्कालीन कार्यकारी निर्देशक पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसहित ६ जना र एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगले पौडेल र श्रेष्ठसहित सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निमबहादुर वली, वल्र्ड डिस्ट्रीव्युसन नेपाल प्रालिका अध्यक्ष तथा प्रवन्ध निर्देशक अरुण श्रेष्ठ वल्र्ड डिस्ट्रीव्युसन नेपाल प्रालिलाई समेत प्रतिवादी बनाएको छ ।

स्पेसिफिकेसन तोक्दा मिलेमतो गरिएको र तोकिएको मापदण्ड विपरीत गुणस्तरहीन सामग्री आपूर्ति गरी १५ करोड ८८ लाख ५० हजार बराबरको भ्रष्टाचार गरिएको आयोगको दाबी छ ।

काठमाडौँ महानगरपालिकाले २५ अर्बको बजेट ल्याउने

काठमाडौं । काठमाडौं महानगरपालिकाको राजश्व परामर्श समितिको बैठकले बजेटको सीमा निर्धारण गरेको छ । शुक्रबार काठमाडौं महागनरपालिकाका मेयर बालेन साहको अध्यक्षमा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सीमा निर्धारण गरेको हो ।

बैठकले आगामी आर्थिक वर्षका लागि करिव २५ अर्बको  बजेटको सीमा निर्धारण गर्दै बजेट सार्वजनिकका लागि तयारी गरेको छ । बैकमा मेयर साहले जनचाहना अनुरुप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिए ।

चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजश्व परामर्श समितिले निर्णय समेत गरेको छ ।

आज बस्ने ४० औं नगरकार्यपालिका बैठकले नगरसभाको मिति तय गरी नगरसभामार्फत बजेट सार्वजनिक गर्ने छ । नगरसभा बैठकमा मेयर साहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् भने उपमेयर सुनिता डंगोलले बजेट पेस गर्नेछिन् । बैठकमा राजश्व परामर्श समितका संयोजक, सदस्य, सदस्य सचिव तथा विभागिय प्रमुखहरुको उपस्थिति रहेको थियो ।

महिला नेतृत्व र उद्यमशीलताले राष्ट्र समृद्ध बनाउँछ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले महिला नेतृत्व र उद्यमशीलता समृद्ध राष्ट्र निर्माणको आधार रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलनको उद्घाटन समारोहमा उनले महिला उद्यमी बन्नु एउटा व्यवसाय सञ्चालन गर्नु मात्रै नभई एउटा परिवारलाई आर्थिक रूपमा सक्षम बनाउनु भएको बताए । “महिला उद्यमशीलताले एउटा समुदायमा रोजगारी सिर्जना गर्नु हो, र अन्ततः राष्ट्रको स्वाभिमान र आत्मनिर्भरता मजबुत बनाउनु हो ।” उनले भने, “हामी महिला नेतृत्व र उद्यमशीलताको कुरा गर्दा केवल लैङ्गिक समानता मात्र होइन, राष्ट्र निर्माणको मुख्य संवाहकको रूपमा कुरा गरिरहेका हुन्छौँ ।”

मन्त्री भण्डारीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई साकार पार्न महिला उद्यमशीलताको विकास अपरिहार्य रहेको स्पष्ट पारे । उनले सरकारले हाल सञ्चालनमा ल्याएका विभिन्न कार्यक्रमहरू—महिला उद्यमशीलता विकास कार्यक्रम, प्रविधि हस्तान्तरण, व्यवसाय सम्बद्ध सेवा, स्टार्टअप कार्यक्रम, शिल्पी समुदायको प्रवद्र्धन लगायतका पहलहरू उल्लेख गरे ।

उनले भने, “नेपालमा लघु, घरेलु तथा साना उद्योगको बाहुल्यता छ, र त्यसमध्ये अधिकांशमा महिलाहरूको नेतृत्व र संलग्नता रहेको छ। खाद्य प्रशोधन, जडीबुटी, चिया, कफी, हस्तकला, पर्यटनजस्ता क्षेत्रमा नेपाली महिलाको सीपले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने हैसियत बनाएको छ।”

मन्त्री भण्डारीले निर्यातमुखी उत्पादन रणनीति, तथा जलवायु परिवर्तन जस्ता विषयहरू उद्यमशीलता क्षेत्रका लागि अत्यन्तै सान्दर्भिक रहेको उल्लेख गरे ।

“एआई अब भविष्यको प्रविधि होइन, यो वर्तमानको यथार्थ हो,” मन्त्री भण्डारीले भने, “महिला उद्यमीहरूले यसको प्रयोगबाट उत्पादन प्रक्रियामा सुधार, ग्राहक व्यवहारको विश्लेषण र व्यावसायिक दक्षता वृद्धि गर्न सक्नेछन् । ” उनले भने ।

त्यस्तै, उनले “हरित उद्यम ( न्चभभल भ्लतचभउचभलभगचकजष्उ )” को अवधारणा अगाडि बढाउन पनि जोड दिए । जलवायु परिवर्तनको असर नेपालजस्ता हिमाली राष्ट्रमा बढी पर्ने भएकाले यसको समाधानलाई अवसरमा रूपान्तरण गर्नु आवश्यक रहेको मन्त्री भण्डारीको धारणा थियो ।

यस्तो छ मौद्रिक नीति(पूर्णपाठ)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले सजगतापूर्वक लचिलो नीति अवलम्बन गरिएको बताए । दोस्रो वित्तीय क्षेत्र रणनीतिक स्वीकृत गरी कार्यान्वयनमा ल्याउने मौद्रिक नीतिमा उल्लेख छ ।

ब्याजदर करिडोरको माथिल्लो सीमाका रुपमा रहेको बैंकदरलाई ६ प्रतिशत र नीतिगत दरलाई साढे चार प्रतिशत कायम गरिएको छ । यसअघि बैंकदर साढे छ प्रतिशत र नीतिगत दर पाँच प्रतिशत थियो ।

मौद्रिक नीतिमार्फत निजी आवासीय घर निर्माण तथा खरिद गर्नका लागि प्रवाह गरिने कर्जाको सीमा दुई करोडबाट बढाएर तीन करोड कायम गरिएको छ । पहिलो घर निर्माण वा खरिद गर्दा कर्जा–मूल्य अनुपात ८० प्रतिशतसम्म र अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म कायम गर्न सकिने व्यवस्था गरिएको छ ।

व्यक्तिगततर्फको शेयर धितो कर्जाको सीमा १५ करोडबाट बढाएर २५ करोड पुर्याइएको छ । विदेश भ्रमणमा जाने नेपालीले बोक्न पाउने रकमको सीमा दुई हजार पाँच सय अमेरिकी डलरबाट बढाएर तीन हजार अमेरिकी डलर बनाइएको छ ।
आगामी आर्थिक वर्षमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १२ प्रतिशतले वृद्धि हुने लक्ष्य मौद्रिक नीतिले तय गरेको छ ।

क्यानले इस्ट जोन कप विजेता टोलीका खेलाडीलाई जनही ५० हजारसहित सम्मान गर्ने

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडी र अफिसियललाई जनही ५० हजारसहित सम्मान गर्ने भएको छ ।

यही असार २१ गते मलेसियमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा नेपालले सिङ्गापुरलाई २ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । जसमा सहभागी टोलीलाई क्यानले जनही ५० हजार प्रदान गर्ने क्यानद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।

नेपालले त्यसअघि समूह चरणको खेलेको सबै खेल जितेको थियो । नेपालले सिङ्गापुर, जापान, इन्डोनेसिया र भुटानलाई पराजित गरेको थियो ।

घरजग्गा कर्जा र सेयर कर्जामा राष्ट्र बैंक लचक

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितोमा एक व्यक्ति वा कम्पनीलाई २५ करोड रुपैयाँसम्म कर्जा दिने घोषणा गरेको छ । शुक्रबार आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सेयर बजारप्रति उदार देखिएका हुन् । यसअघि १५ करोड रहेको सेयर धितो कर्जाको सीमा १० करोडले बढाएर २५ करोड रुपैयाँ पुर्याइएको हो ।

त्यस्तै निजी आवसीय घर निर्माण वा खरिद गर्न बैंकबाट ३ करोड रुपैयाँसम्म कर्जा पाइने भएको छ । यस्तो कर्जाको सीमा २ करोडबाट बढाएर ३ करोड बनाउने गभर्नर पौडेलले घोषणा गरे ।

यसैगरी पहिलो घर निर्माण वा खरिद गर्दा कर्जा मूल्य अनुपात ८० प्रतिशत बनाइने र अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म बनाउने घोषणा गभर्नर पौडेलले गरे ।

पुन:निर्माणपछि धरहराबाट करिब पाँच करोड राजस्व सङ्कलन

काठमाडौँ। विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षतिपश्चात् पुनः निर्माण भएर सञ्चालनमा ल्याइएको ऐतहासिक धरहराबाट  चार करोड ८३ लाखभन्दा बढी राजस्व सङ्कलन गरिएको छ ।

गत मङ्सिर ९ गतेदेखि शुल्कसहित सञ्चालनमा आएको धरहराबाट यही असार २४ गतेसम्ममा चार करोड ८३ लाख ६५ हजार ५०० राजस्व सङ्कलन भएको अन्तरिम धरहरा सञ्चालन तथा व्यवस्थापन एकाइ सुन्धाराका प्रमुख महेश राईले जानकारी दिए ।

उनका अनुसार यस अवधिमा दुई लाख ६२ हजार ५५५ जनाले धरहराको अवलोकन गरेका छन् । जसमा एक हजार ५४९ जना विदेशी अवलोकनकर्ता रहेका छन् । हप्ताको एक दिन बुधबार बन्द हुनेबाहेक अन्य दिन दैनिक करिब एक हजार २०० ले धरहरा चढ्ने गरेका छन् ।

“बिहान १०ः३० बजेदेखि साँझ ५ बजेसम्म धरहरा चढ्ने व्यवस्था गरिएको छ । छोटो समयमा नागरिकको उल्लेख्य उपस्थिति देखियो । समय अभावका कारण यहाँ आएका सबैलाई टिकटको व्यवस्था गरी धरहरा अवलोकनको व्यवस्था गर्न सकिएको छैन”, व्यवस्थापन एकाइ प्रमुख राईले भने,“बिहानदेखि साँझसम्म धरहरा चढ्ने व्यवस्था गर्नसक्ने हो भने दैनिक एक हजार ५०० बढीले धरहरा चढ्ने अनुमान छ ।”

धरहरा चढ्न प्रतिव्यक्ति रु २०० शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपाङ्गता भएका व्यक्तिहरूले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउने व्यवस्था छ । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति रु ५०० र सार्कबाहेक राष्ट्रबाट आउने पर्यटकका लागि प्रतिव्यक्ति रु १००० शुल्क तोकिएको छ ।

विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम शुल्क लिई गत मङ्सिर ९ देखि धरहरा सञ्चालनमा आएको हो । त्यसअघि मङ्सिर ६ गते बसेको मन्त्रिपरिषद् बैठकले धरहरा चढ्ने शुल्क स्वीकृत गरेको थियो ।

यहाँ पार्किङ गर्दा चार पाङ्ग्रेका लागि प्रतिघण्टा रु २० र दुई पाङ्ग्रेलाई रु १० तोकिएको छ । धरहरा परिसरमा प्रवेशका लागि रु ५० निर्धारण गरिएको बताइएको छ । धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा रु पाँच हजार तोकिएको छ । यस्तै, व्यावसायिक भिडियो छायाङ्कनका लागि प्रतिघण्टा रु पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा रु एक हजार तोकिएको छ ।

जनसङ्ख्या वृद्धिदर घट्नु मानव अस्तित्वमाथि कै खतरा हो, २० वर्षमै विवाह गर्नुः प्रधानमन्त्री

 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने बताएका छन् ।

विश्व जनसङ्ख्या दिवसका अवसरमा शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले विकास र जनसङ्ख्याको गतिसँगै हुनुपर्नेमा जोड दिँदै हरेकले आफ्नो सन्तानवृत्तिलाई धर्तीका लागि उत्तरदायित्वका रुपमा लिनुपर्ने बताए ।

‘मानिस भएकाले हरेक देशको अर्थ छ, धर्तीको अर्थ छ । जनसङ्ख्या हुँदैनथ्यो भने देश हुँदैन । हामीले मानव जातिको सुखपूर्ण अस्तित्व रक्षाका लागि उपयुक्त नीति र कदमहरु चाल्नुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘सृष्टिको सृजनाका लागि मानव जाति जति मूल्यवान् अर्काे छैन । आफ्नो स्वार्थका लागि मान्छे मार्ने कामधन्धा छोड्न सम्बद्ध सबैसँग अनुरोध गर्दछु । जनसङ्ख्याका बारेमा गोष्ठी र सेमिनार पनि गर्ने अनि आम विनाशका हतियार बनाएर मान्छे पनि मारिरहने क्रमले मानव संसारको अस्तित्व बच्दैन ।’

प्रधानमन्त्री ओलीले २० वर्षपछि मात्र विवाह गर्न पाउने कानुनी व्यवस्था भएबमोजिम समयमै विवाह गरी ३० वर्षभित्र तीन सन्तान पाइसक्न र ४० कटेपछि रमाउला भन्ने गीतमा नअल्मन आग्रह गरे ।

उनले सन्तानले डाँडाकाँडा ढाकून् नभन भनेर जनचेतना फैलाउँदा उल्टो असर परी सन्तान नै नजन्माउने परिस्थिति सिर्जना भएकातर्फ चिन्ता व्यक्त गरे । उनले  विकसित देशहरूमा समेत जनसङ्ख्याको वृद्धिदर ऋणात्मक हुँदा यसले समग्र विश्व प्रभावित भइ मानव अस्तित्वमाथि नै सङ्कट आउनसक्ने बताए  ।

वामदेवले एकीकृत समाजवादीसँग पार्टी एकता गर्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा एकता राष्ट्रिय अभियानकाबीचमा पार्टी एकता गर्ने सहमति भएको छ ।

आगामी साउन २ गते राष्ट्रिय सभागृहमा एक समारोहका बीच पार्टी एकताको घोषणा गर्ने शुक्रबार सहमति भएको दुई नेताद्वारा हस्ताक्षरित सहमति पत्रमा उल्लेख छ ।

सहमति पत्रमा भनिएको छ, ‘नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष क. माधव कुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष क. वामदेव गौतम सहितका नेताहरु विच छलफल हुदाँ राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीती र कार्यदिशामा एकरुपता रहेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नु पर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै नेकपा एकता राष्ट्रिय अभियान नेकपा (एकीकृत समाजवादी) मा एकतावद्ध हुने सहमति गरियो । साथै २०८२ साउन २ गते राष्ट्रिय सभा गृहमा भव्य समारोहको आयोजना गरी एकताको घोषणा गर्ने सहमति भयो ।’

परराष्ट्रमन्त्री राणा इटली र जर्मनीको भ्रमण सकेर स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा इटालीको रोममा आयोजित खाद्य तथा कृषि सङ्गठन (एफएओ) को ४४औँ अधिवेशन एवं सोही क्रममा आयोजित उच्चस्तरीय मन्त्रिस्तरीय ‘कन्फ्रेन्स’मा सहभागी भई शुक्रबार स्वदेश फर्किएकी छन् ।

जुन २८ देखि जुलाई ४ सम्म आयोजित एफएओ कन्फ्रेन्सको प्रमुख सत्रका साथै त्यसै क्रममा आयोजित अन्य उच्चस्तरीय बैठक तथा कार्यक्रमहरूलाई पनि मन्त्री डा राणाले सम्बोधन गरेकी थिइन् ।

सम्बोधनमा उनले नेपालले खाद्य अधिकारलाई नागरिकको मौलिक अधिकारका रूपमा व्यवस्था गरेको र यसको कार्यान्वयन एवं प्राप्तिका लागि आवश्यक अन्य कानुनहरूले आधार प्रदान गरेको जानकारी दिएकी थिइन् ।

खाद्य सुरक्षा तथा गुणस्तर नियन्त्रण नीतिमार्फत नियामक मापदण्ड, प्रयोगशाला निगरानी र उपभोक्ता संरक्षणका माध्यमबाट नेपालले सुरक्षित र गुणस्तरीय खाद्य सुनिश्चित गर्दै आएको पनि मन्त्री डा राणाले बताएकी थिइन् ।

अतिकम विकसित, साना टापु राष्ट्रहरू तथा भूपरिवेष्टित राष्ट्रहरूमा खाद्य अधिकार तथा पोषण सम्बन्धमा धारणा राख्दै मन्त्री डा राणाले नेपाललगायत देशहरूले जलवायु परिवर्तनको क्षति व्यहोरिरहेकातर्फ विश्व समुदायको ध्यानाकर्षण गराएकी थिइन् ।

नेपाल र नेपाल जस्ता भूबनोट रहेका देशका लागि दिगो कृषि प्रणाली र हिमाली क्षेत्रका लागि जलवायु वित्तमा अनुदान दिइनुपर्ने माग पनि उनले राखेकी थिइन् ।

राणाले जलवायु परिवर्तनको मार खेपिरहेका नेपाल र यहाँका विशेषगरी हिमाली क्षेत्रका लागि अनुदानमा आधारित अन्तर्राष्ट्रिय जलवायु वित्त सुनिश्चित गर्न आग्रह गरिन् ।

त्यसपश्चात जर्मनीको भ्रमणका क्रममा मन्त्री राणाले त्यहाँका विदेशमन्त्री डा जोहान डेविड वेडफुलसँग द्विपक्षीय भेटवार्ता गरिन् ।

गत मङ्गलबार बर्लिनमा भएको भेटवार्तामा नेपाल र जर्मनीबीचको द्विपक्षीय व्यापार थप प्रवद्र्धनका लागि दुवै देशका निजी क्षेत्रबीचको सञ्जाललाई प्रोत्साहन र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिँदै उनले नेपालमा रासायनिक मल उत्पादन कारखानालगायतका क्षेत्रमा जर्मनीको लगानीका लागि आग्रह गरेकी थिइन् ।

मन्त्री डा राणाले नेपाल र जर्मनीबीच सिधा हवाई उडानका लागि प्रस्ताव गर्नाका साथै नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति भएपछि जर्मनी, युरोपियन युनियन एवं अन्य साझेदारहरूबाट स्रोत, प्रविधि र आर्थिक सहयोगको अपेक्षा रहेको पनि बताएकी थिइन् ।

उनले इयू र अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्डबमोजिम नै नेपालले कानुन निर्माण सुरु गरिसकेकाले नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउने भूमिकाका लागि जर्मनीसँग अनुरोध गरेकी थिइन् ।

यसैगरी, मन्त्री डा राणाले नेपालले राष्ट्रसङ्घको मानवअधिकार परिषद्को सदस्य, आर्थिक तथा सामाजिक परिषद् सदस्य तथा सुरक्षा परिषद्को अस्थायी सदस्यमा उम्मेदवारी दिएकाले त्यसमा सहयोगका लागि जर्मनी सरकारसँग आग्रह गरिन्।

उनी इटाली र जर्मनीमा लगानी बोर्ड नेपालद्वारा नेपालमा लगानी प्रवद्र्धनका लागि आयोजित कार्यक्रममा पनि सहभागी भएकी थिइन् । मन्त्री डा राणालाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव अमृतबहादुर राईसहित उच्च अधिकारीहरूले स्वागत गरेका थिए ।

सीता दाहालको दोस्रो स्मृति दिवसमा प्रचण्डले गराए मानवसेवा आश्रम रानीवनका आश्रितलाई भोजन

काठमाडौं । सीता दाहालको दोस्रो स्मृति दिवसको अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मानवसेवा आश्रम रानीवन पुगेका छन् ।

शुक्रबार बिहान अध्यक्ष प्रचण्ड आश्रम पुगेर उनले आश्रममा आश्रितहरूसँग आत्मीय भेटघाट गर्नुका साथै भोजन गराएका छन् । साथै प्रचण्डले पनि पनि उनीहरूसँगै बसेर खाना खाएका छन् ।

उनले आफू प्रधानमन्त्री भएको बेला हेटौंडामा मानव सेवा आश्रमको केन्द्रीय भवन उद्घाटन गरेको स्मरण गर्दै, मानव उद्धारका लागि आवश्यक सवारीसाधनको व्यवस्थापनमा सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् ।

साथै, मानव सेवा आश्रमले सकारात्मक उद्देश्यले देशभर सञ्चालन गरेका काममा साथ र सहयोग पुर्याउने बताए । मानवीय सेवामा आधारित यस्ता कार्यहरूले सामाजिक मूल्य र आदर्शको सन्देश दिन्छन् भन्ने धारणा उनले व्यक्त गरे ।

सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छः प्रधानमन्त्री ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि केही गर्नुपर्ने बताएका छन् ।

महिला उद्यमी महासङ्घले शुक्रबार आयोजना गरेको अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलन, २०८२ को उद्घाटन गर्दै प्रधानमन्त्रीले समृद्धिका लागि सँगै काम गरेर सफलता हासिल गर्नुपर्नेमा जोड दिएका हुन् ।

प्रधानमन्त्री ओलीले भने,’हामीले उद्यमशीलताको विकासबाट समृद्धि हासिल गर्नुपर्नेछ । सरकारले युवा र महिला उद्यमशीलतालाई उच्च महत्व दिएको छ । यस सम्मेलनबाट आउने निष्कर्षले सरकारको प्राथमिकता पूरा गर्न सघाउने विश्वास लिएको छु ।’

उनले महिलाको सशक्तिकरणका लागि संविधानमा भएको व्यवस्था व्यवहारमा अवलम्बन गर्दै आइएको उल्लेख गरे । ‘तीनै तहमा कम्तीमा ३३ प्रतिशत जनप्रतिनिधि सुनिश्चित गरेका छौँ । विद्यालयमा छात्राहरूको सङ्ख्या छात्रहरूको भन्दा बढी छ । नतिजामा पनि छात्राहरूको उपस्थिति राम्रो हुँदै गएको छ । हामीले अझै प्रगति हासिल गर्दै जानुपर्नेछ’, प्रधानमन्त्री ओलीको भनाइ थियो ।

घरघरमा स्वास्थ्य कार्यक्रमबाट पोखराका ११ हजारभन्दा बढी लाभान्वित

गण्डकी । पोखरा महानगरपालिकाले ‘घरघरमा स्वास्थ्य कार्यक्रम’अन्तर्गत ११ हजार ८६२ जनालाई नसर्ने रोगको निःशुल्क परीक्षण तथा परामर्श सेवा प्रवाह गरेको छ ।

यही असार १ गतेदेखि बिहीबारसम्म महानगरका १० वटा वडामा सञ्चालित उक्त कार्यक्रमबाट ज्येष्ठ, अशक्त र असहाय नागरिक लाभान्वित भएका हुन् ।

कार्यक्रमका सहजकर्ता हरिलाल आचार्यका अनुसार वडा नं. १, ८, १०, १३, १४, १७, १८, १९, २० र २५ का टोलबस्तीमै पुगेर स्वास्थ्य सेवा प्रदान गरिएको हो ।

महानगरले आगामी आवमा पनि उक्त कार्यक्रमका लागि बजेट विनियोजन गरेको उनले जानकारी दिए । स्वास्थ्य महाशाखाको आयोजना र सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको समन्वयमा पोखरा–८ सिमलचौरबाट सुरु गरी अन्य वडा तथा टोलमा कार्यक्रम सञ्चालन गरिएको थियो ।

सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रका प्रमुख कुश्मराज सुवेदीले ज्येष्ठ तथा अशक्त नागरिकलाई घरदैलोमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले घुम्ती अभियान सञ्चालन गरिएको बताए । नसर्ने रोगको परीक्षणसँगै महिलालाई प्रजनन स्वास्थ्य, मनोरोग, सरुवा रोग तथा अन्य दीर्घरोगसम्बन्धी जानकारी दिइएको थियो ।

‘परीक्षण गरिएकामध्ये ६० प्रतिशतमा उच्च रक्तचापको समस्या देखिएको छ, मधुमेह, स्वासप्रस्वास, स्तन र पाठेघरको समस्या भएका बिरामी पनि पहिचान गरिएको छ’, उनले भने । वडा नं ८ का १७ वटा टोलमा घुम्ती शिविर सञ्चालन गरिएको थियो । उक्त वडाका एक हजार २०० जनाले सेवा पाएका थिए ।

आन्तरिक रोजगारी प्रवर्द्धन गर्न नयाँ संरचना बनाएर काम गरिरहेका छौँः मन्त्री भण्डारी(अन्तरवार्ता)

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता शरतसिंह भण्डारी अहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री छन् । विसं २०३८ देखि संसदीय राजनीतिमा सक्रिय उनी पछिल्लोपटक विसं २०७९ को आम निर्वाचनमा महोत्तरी निर्वाचन नं २ बाट प्रतिनिधिसभामा निर्वाचित भए ।

विसं २०४३ मा प्रधानमन्त्री मरिचमान सिंह नेतृत्वको मन्त्रिपरिषदमा पहिलोपटक वाणिज्य राज्यमन्त्री भएका उनी पञ्चायतदेखि हालसम्म धेरै पटक मन्त्री बने । त्यसक्रममा उनले  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, रक्षा, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालीसकेका छन् ।

लामो समयदेखि राजनीतिमा क्रियाशील मन्त्री भण्डारीसँग राससका समाचारदाता सुशील दर्नालले श्रम, रोजगार, सामाजिक सुरक्षा, युवा पलायन, श्रमिकको सुरक्षा, संविधान संशोधनलगायत समसामयिक विषयमा लिएको अन्तर्वार्ताको सम्पादित अंशः

मन्त्रीज्यू, आजभोलि केमा व्यस्त हुनुहुन्छ ?

धेरैजसो मन्त्रालयका कामहरुमै व्यस्त छु । यो मन्त्रालयप्रति जनताले धेरै आशा गरेका छन् । विशेषगरी मन्त्रालयले श्रमसँग जोडिएका विषयलाई व्यवस्थित रुपमा अगाडि बढाउन खोजिरहेको छ । अहिले युवा पलायन भए भनी एउटा जबर्जस्त भाष्य पनि निर्माण गरिएको छ । त्यसको असर मुलुकलाई परिरहेको छ । मेरो ध्यान कसरी युवा पुस्तालाई देशमै राख्न सकिन्छ, उनीहरुका लागि रोजगारी कसरी सिर्जना गर्न सकिन्छ भन्नेमै केन्द्रित छ । विदेश गएका श्रमिकले सिकेका ज्ञान र सीपलाई देशभित्र कसरी प्रयोग र उपयोग गर्न सकिन्छ भन्ने विषयमा पनि मेरो ध्यान गएको छ ।

आन्तरिक रोजगारी सिर्जना गर्ने विषयमा मन्त्रालयले कसरी काम गरिरहेको छ ?

मेरो मन्त्रालयमा सबैभन्दा बढी वैदेशिक रोजगारीसम्बन्धी मात्रै काम छन् । मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार महाशाखा, वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार बोर्ड छ । मन्त्रालयका आन्तरिक संरचना परिवर्तन गरी आन्तरिक रोजगार महाशाखा स्थापना गरेका छौँ । त्यो महाशाखा स्थापनासँगै रोजगार मेला र सम्मेलन आयोजना गरियो । त्यो सम्मेलनमा प्रधानमन्त्रीले आगामी दशक आन्तरिक रोजगार प्रवर्द्धनको दशक भनेर घोषणा गर्नुभएको छ । त्यो घोषणालाई कार्यान्वयन गर्ने काम आन्तरिक रोजगार महाशाखाले गर्नेछ ।

आन्तरिक रोजगार प्रवर्द्धन दशक सफल बनाउने योजनाबारे केही जानकारी दिनुहुन्छ कि?

आन्तरिक रोजगार प्रवर्द्धन दशक सफल बनाउन श्रम मन्त्रालयले विभिन्न तरिकाले काम थालेको छ । त्यसअन्तर्गत वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका मानिसलाई फकाएर उनीहरुले सिकेका सीप र ज्ञानलाई देशभित्रको उद्यमशीलतासँग जोड्ने काम गर्नेछ । राष्ट्रिय तालिम व्यावसायिक प्रतिष्ठानले त्यसको लागि आवश्यक तालिमको व्यवस्था गरिरहेको छ । प्रतिष्ठानले मुलुकभित्र रोजगारीको सम्भावना हेरेर रोजगारदाता र सीपयुक्त जनशक्तिलाई जोड्नेछ । त्यसक्रममा प्रतिष्ठानले करिब १३ वटा संस्थासँग सम्झौता गरिसकेको छ । नेपालमा अहिले बेरोजगारी दर बढिरहेको छ । श्रम बजारमा हरेक वर्ष पाँच लाख मान्छे आउँछन् । तर सोचेजति दक्ष मानिस आएका छैनन् । उनीहरुलाई दक्ष बनाउन प्रतिष्ठानसँग रोजगारदातालाई जोड्ने काम भएको छ । श्रमसँग सम्बन्धित कामलाई एकद्वार प्रणालीमार्फत अगाडि बढाउन मन्त्रालयले श्रम संसार भन्ने नेशनल डिजिटल पोर्टल बनाएको छ । आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्न मन्त्रालयले सम्पूर्ण संरचना नै नयाँ बनाएर काम गरिरहेको छ ।

सामाजिक सुरक्षा योजनालाई कसरी अझ व्यवस्थित गर्दै हुनुहुन्छ ?

वैदेशिक रोजागरीमा जाने श्रमिक सामाजिक सुरक्षामा अनिवार्य आबद्ध भएर मात्रै जाने व्यवस्था मिलाइएको छ । तर, वैदेशिक रोजगारीमा जानेहरुले सामाजिक सुरक्षालाई निरन्तरता नदिएको भन्ने कुरा आइरहेको छ । निरन्तरताका लागि प्रविधिको प्रयोग अपनाउन खोजिरहेका छौँ । हालै भएको इरान र इजरायलबीचको द्वन्द्वमा श्रम संसारको ‘पोर्टलमा जिरो लोकेसन’ भन्ने एप्स राखेका थियौँ । त्यसबाट नेपाली कहाँ छन् भन्ने पत्ता लगाउन सजिलो भयो । अब विदेशी कामदारको सामाजिक सुरक्षालाई निरन्तरताको लागि मोबाइल ‘नोटिफिकेसन’को पनि व्यवस्था गर्दैछौँ ।

वैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण प्रवाह गर्ने योजना कहिले कार्यान्वयन हुन्छ ?

यसको कार्यविधिमा काम गरिरहेका छौँ । राष्ट्र बैंकसँग मिलेर काम गर्दैछौँ । अब चाँडै नै कार्यविधि आउँछ । यसको मुख्य उद्देश्य भनेको वैदेशिक रोजगारीमा जाने श्रमिकले बिना धितो ऋण दिने हो । त्यसमा पनि रोजगारदाताले तिर्नुपर्ने पैसा रोजगारदाताले तिर्ने, श्रमिकले तिर्नुपर्ने श्रमिकले तिर्ने व्यवस्था हुन्छ । ऋण फिर्ता गर्ने क्रममा सामाजिक सुरक्षालगायतका सबै दायित्व अनलाइनबाटै गर्न सक्ने गरी कार्यविधि ल्याएका छौँ । नेपालको सन्दर्भमा सरकारले स्थायी, करार र अस्थायी कर्मचारीलाई पनि सामाजिक सुरक्षामा आबद्ध गर्न आह्वान गरेको छ ।

वैदेशिक रोजगारीमा जानुपूर्व हुने स्वास्थ्य परीक्षणमा आफूहरु ठगिएको श्रमिकको गुनासोलाई कसरी लिनुभएको छ ?

विगत १६ वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएका १४ हजारभन्दा बढी नेपालीको ज्यान गएको छ । यो सङ्ख्याले उनीहरुको स्वास्थ्यमा केही न केही समस्या थियो भन्ने बुझिन्छ । एक अध्ययनले यसमा वैदेशिक रोजगारीमा जाने क्रममा अधिकांशतः स्वास्थ्य परीक्षणमा नै अनियमितता भएको अवस्था देखियो । वैदेशिक रोजगारीबाट फर्किएका धेरैमा मिर्गाैलाको समस्या देखिएको छ । यसको बारेमा विज्ञसँग व्यापक छलफल गरियो । यसको कारण जनचेतनाको कमी र जीवनशैली हो भन्ने छ । यसमा केही मापदण्ड बनाइ निरन्तर अनुगमन गर्ने काम भएको छ । अहिले स्वास्थ्य परीक्षण सम्पूर्ण प्रक्रियालाई डिजिटल गरिएको छ । नेपालबाट विदेश गएर नफर्किएसम्म श्रमिकका सबै प्रमाणलाई डिजिटल प्रविधिमा प्रविष्ट गर्ने र अनुगमन गर्ने व्यवस्था मिलाइएको छ ।

गैरकानुनी ढङ्गले विदेश गएका महिला र त्यहाँ अलपत्र परेका नेपालीका समस्या कसरी सम्बोधन गर्नुभएको छ ?

पहिलो कुरा, महिलालाई कतिपय देशमा वैदेशिक रोजगारीमा जान रोक लगाइएको छ । तर, नेपालको संविधानले रोकेको छैन । संविधानले रोजगारीको हक हुनेछ भनेको छ । लैङ्गिक समानताको पनि कुरा गरेको छ । तर, विभिन्न देश हुँदै श्रमका लागि नेपाली महिला विदेश गएको देखिन्छ । यस्तो अवस्थामा श्रम र परराष्ट्र मन्त्रालय मिलेर गत सेप्टेम्बर २०२४ भन्दा पहिला विभिन्न बाटो हुँदै विदेश गएका र त्यहाँ काम गरिरहेका छन् भने त्यहीँको नियोगबाट श्रम स्वीकृति दिएर श्रम प्रणालीसँग जोड्न खोजिएको छ । त्यसले नेपाली महिला विदेशमा अलपत्र पर्ने अवस्था अन्त्य गर्ने विश्वास गरिएको छ ।

संयुक्त अरब इमिरेट्समा वैधानिक रूपमा महिला कामदार पठाउने ‘पाइलट प्रजेक्ट’ कहिले कार्यान्वयन हुन्छ ?

वैधानिक रुपमा महिला कामदार जान पाउनुपर्छ भन्ने कुरा सबैतिरबाट उठेको थियो । कामका लागि विदेश जान पाउनु महिलाको अधिकारको विषय हो भनी महिला अधिकारकर्मीले कुरा उठाउनुभएको छ । महिलाको अधिकार खोसियो, किन जान नपाउने भन्ने प्रश्न उठ्यो । त्यो भएपछि संसदीय श्रम समितिका सदस्यहरुले दुबई र ओमानको स्थलगत अध्ययन भ्रमण गर्नुभयो । त्यसपछि श्रम मन्त्रालयलाई छबुँदे निर्देशन दिनुभएको छ । सोही निर्देशनको आधारमा मन्त्रालयले एउटा कार्यविधि बनाएको छ । कार्यविधिमा कुनै एउटा पाइलट प्रोजेक्ट बनाएर नमूनाको रुपमा पठाउने भनिएको हो । त्यो सफल भएमा बल्ल अरु अगाडि बढाउने भनिएको हो । अहिले पाइलट प्रोजेक्टको कार्यविधिलाई सहमतिका लागि परराष्ट्र मन्त्रालयमा पठाइएको छ । परराष्ट्र मन्त्रालयको राय आएपछि सम्बन्धित मुलुकसँग छलफल हुनेछ । यसमा कानुन मन्त्रालयको पनि राय आएपछि यो पारदर्शी ढङ्गबाट अगाडि बढ्छ । दुई देशबीचमा सम्झौता भइसकेको छ । सम्झौताको आधारमा महिलालाई त्यस देशमा पठाउने काम हुन्छ ।

प्रसङ्ग बदलौँ । संविधान संशोधनका सम्बन्धमा तपाईँको अवधारण के छ ?

सरकारले अघि सारेको संविधान संशोधनको विषयलाई मैले सकारात्मक रुपमा लिएको छु । किनभने म जुन पार्टीबाट मन्त्री भएको छु, मेरो पार्टी लोकतान्त्रिक समाजवादी पार्टीले बारम्बार संविधान संशोधनको विषय उठाइरहेको छ । हामीले यो संविधानले पूर्णता प्राप्त गरेको छैन भनिरहेका छौँ । संविधान जारी गर्नेक्रममै पनि पार्टीको असहमति थियो । हामीले संविधान मान्दैनौँ भनेका छैनौँ । संविधान मानेर नै हामी सरकारमा छौँ । तर, संविधान संशोधन गर्नुपर्ने छ । संविधानले राजनीतिक रुपमा पूर्णता पाएपछि मात्रै मुलुक आर्थिक विकासको गतिमा अगाडि बढ्छ भन्ने लाग्छ । संविधानमा केही विभेदकारी कुरा छन् । जसले मधेसी, आदिवासी, जनजाति र पछाडि परेको समुदायले समानताको आधारमा समान हकअधिकार पाउनुपर्छ भनेका छन् । त्यो विषय संविधानको सिद्धान्तमा छ अभ्यासमा छैन । त्यसका लागि संविधान संशोधन गर्नुपर्छ भनिएको हो ।

वर्तमान सरकार गठन हुनुअघ संविधान संशोधन गर्ने भनियो तर यो विषय गौण छ । तपाईँ के भन्नुहुन्छ?

संविधान संशोधन गर्ने विषय कुनै एउटा पार्टीको मुद्दा होइन । सबै पार्टीका आ–आफ्नै आँकडा छन् । संविधान संशोधनको विधि भनेको संसदीय विधि हो । संसदीय विधिमा सङ्ख्या चाहिन्छ । त्यो सङ्ख्या भनेको दुई तिहाइ हो । अहिले दुई ठूला पार्टी मिलेर सरकार बनेको छ । त्यसैले संविधान संशोधन हुने सम्भावना देखिएको छ । सरकार गठनकै क्रममा संविधान संशोधन गर्ने भन्नु पनि सकारात्मक पक्ष हो । सरकारको जग बनेकै संविधान संशोधन हो । संविधान संशोधनको विषयलाई अगाडि बढाउँछ भन्नेमा सरकारप्रति विश्वास छ । सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसले संविधान संशोधनबारे आफ्नो पार्टीमा छलफल सुरु गरेको छ । संविधान संशोधन भएसँगै राजनीतिक मुद्दा समाप्त हुन्छ । त्यसपछि देश आर्थिक विकासको बाटोमा अगाडि बढ्न सक्छ ।

संविधान सबैले उत्कृष्ट छ भनिरहेका छन्, तर तपाईँ कसरी अपूर्ण भन्नु हुन्छ ?

जनसङ्ख्याको आधारमा राज्यका सबै संरचनामा सहभागिताको सवाल संविधानमै उल्लेख गरिनुपर्छ भन्ने हाम्रो भनाइ हो । पचास हजार र पाँच लाख जनसङ्ख्या भएको जिल्ला वा निर्वाचन क्षेत्रबाट संसद्मा समान प्रतिनिधित्व हुनुहुँदैन । त्यो न्यायोचित छैन । अर्को, भौगोलिक संरचनाको आधारमा मधेसीलाई दुई वटा प्रदेशमा विभाजन गर्नुपर्ने कुरा पनि छ । मधेस प्रदेशको सिमानाको बारेमा हाम्रो अहिले पनि फरक मत छ । समानुपातिक समावेशी संविधानमा लेखिए पनि त्यसका लागि आधार तय गरिएको छैन । उदाहरणका लागि कोट सिलाउन सैद्धान्तिक सहमति भयो, तर कपडा काट्ने क्रममा भोटोको काटियो । अब कसरी कोट बन्छ?

क्यानाडेली सामानमा ३५ प्रतिशत आयात शुल्क लागु हुने ट्रम्पको घोषणा

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अगस्ट १ देखि क्यानाडाबाट आयात हुने सामानमा ३५ प्रतिशत शुल्क लगाउने घोषणा गरेका छन् । दुई देशबीच नयाँ व्यापार सम्झौताका लागि निर्धारण गरिएको म्याद सकिन केही दिन मात्र बाँकी रहेका बेला ट्रम्पले यस्तो कदम चाल्ने चेतावनी दिएका हुन् ।

यो घोषणा ट्रम्पको सामाजिक सञ्जाल ट्रुथ सोसियलमा प्रकाशित एक पत्रमार्फत सार्वजनिक गरिएको हो । पत्रमा अधिकांश व्यापार साझेदारहरूमाथि समेत १५ देखि २० प्रतिशतसम्मको आयात शुल्क लगाउने धम्की दिइएको छ ।

क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै क्यानाडाली श्रमिक र उद्योगको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । साथै उनले अमेरिकासँगको नयाँ सम्झौता तय गर्न अगस्टसम्म प्रयास जारी रहने स्पष्ट पारे ।

यसअघि नै क्यानाडाका केही वस्तुहरूमा २५ प्रतिशत आयात शुल्क लागू भइसकेको छ । साथसाथै ट्रम्प प्रशासनले इस्पात, एल्युमिनियम र गाडीमा लगाएको विश्वव्यापी शुल्कले क्यानाडा गम्भीर प्रभावित भएको छ ।

ट्रम्पले यो हप्ता मात्र जापान, दक्षिण कोरिया, श्रीलंका लगायतका २० भन्दा बढी देशका व्यापार साझेदारलाई यस्तै किसिमका पत्रहरू पठाएका छन् । उनले ती सबैमाथि पनि अगस्ट १ देखि शुल्क लागू गरिने चेतावनी दिएका छन्।

मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आर्जन

टीकापुर । कैलालीको जानकी गाउँपालिका–५ पहाडीपुरका नारायण जोशीको परिवारको मुख्य आम्दानीको स्रोत सागसब्जी खेती हो । २२ वर्षअघि उनका पिताले थालेको सागसब्जी खेतीलाई नारायणले व्यावसायिक रूपमा अघि बढाएका छन् ।

रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले किसानलाई खेतीमा हौसला मात्र होइन व्यावसायिक बन्न सघाएको छ । आयोजनाको सहयोग पाएका किसान खेतीमा प्रविधि र नयाँ सीप सिकेर व्यावसायिक बनेका छन् ।

सागसब्जी खेतीमा भविष्य र कमाइ देखेर व्यावसायिक खेती गरिरहेका खप्तड पशुपन्छी तथा कृषि फार्मका सञ्चालक नारायणलाई सिँचाइ आयोजनाको सहयोगले पेसामा टिकिरहन सहज बनाइदिएको छ । उनले तीन बिघामा गोलभेँडा, आलु र लहरे सागसब्जी लगाएका छन् ।

‘तीस लाख लगानी गरेको हुँ, वार्षिक एक हजार क्विन्टल उत्पादन हुने गरेको छ । सबै खर्च कटाएर मासिक एक लाख पचास हजारदेखि दुई लाखसम्म बचत हुन्छ,’ किसान जोशीले भने । उनको पाँच जनाको परिवार सागसब्जी खेतीमा रमाएको छ । जग्गाको खोजीमा रहेका नारायण आयोजनाले सहयोग गरिरहेकाले आफू थप दश बिघामा सागसब्जीखेती गर्ने योजनामा रहेको  बताए । उनले जैविक मलमात्र प्रयोग गरेर खेती गर्दै आएका छन् ।

रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन एकाइले किसानलाई बीउबिजन, नयाँ प्रविधिमा अनुदान सहयोग गर्न थालेपछि किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका हुन् ।

सिँचाइ आयोजनाका कृषि अधिकृत आकृति ठाकुर बाली संरक्षणका लागि खेती गर्नुपूर्व माटोदेखि नै सचेत हुनुपर्नेमा जोड दिन्छन् । ‘खेती गर्दा माटोको संरक्षणबाटै शुरू गरेमा नारायणजस्तै राम्रो आम्दानी लिन सकिन्छ,’ उनी भन्छिन्, ‘किसानले माटो, वातावरण संरक्षणबाटै खेती थाल्नुपर्छ । यसरी ध्यान दिने किसानलाई हामीले बाली संरक्षणमा पनि सघाइरहेका छौँ ।’

सिँचाइ आयोजनाका प्रमुख भरत कँडेल आयोजनाको युवा किसानलाई कृषिमा प्रेरित गर्ने नीति भएको बताउँछन् । ‘यसरी प्रेरणादायी रुपमा काम गर्ने किसानलाई टेको लगाउने काम आयोजनाले गरिरहेको छ,’ उनी भन्छन्, ‘कृषिमा जोशी परिवारको सफलता देख्दा खुसी लागेका छ ।’

आयोजनाको कमाण्ड क्षेत्रका किसान व्यावसायिक बन्न किसानको आवश्यकताका आधारमा आयोजनाले बीउबिजनमा ५० प्रतिशत अनुदान, नयाँ प्रविधिमा ७० देखि ८० प्रतिशत अनुदान उपलब्ध गराएको छ ।

सागसब्जीखेतीलाई पेशा बनाएर युवा पुस्तालाई पनि त्यसमा नै रमाउन अभिप्रेरित गरेका किसान नारायणका बुबा प्रेमप्रसाद जोशीलाई दुई साताअघि राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कृत गरेका थिए । राष्ट्रपतिले नगद दुई लाखसहित उनलाई कृषिका माध्यमबाट मुलुकको आर्थिक समृद्धिमा योगदान दिएको भन्दै पुरस्कृत गरिएको हो ।

आपसमा भनाभन बन्द गरौं, विमर्श गरौं : सचिव भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले च्यासललाई ललकार्ने र च्यासलबाट ललकार्ने काम बन्द गर्न आग्रह गरेका छन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा आउने घोषणा गरेसँगै नेताहरुले पक्ष विपक्षमा सार्वजनिक रुपमा बहस गर्न थालेपछि सचिव भट्टराईले बसेर आपसमा विमर्श गर्न आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘च्यासललाई ललकार्ने, च्यासलबाट ललकार्ने, कृपया यो तरिका बन्द गरौं, बसौं, आपसमा विमर्श गरौ, सहकार्य मार्फÞत समाधान खोजौं, जबजको मर्म पनि यही हो, राष्ट्र, जनता र एमाले, हामी सबै एक ठाँउ उभिने आधार !’

खासगरी पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरुले अहिले नै नेतृत्वको बारेमा बहस गर्न नेता कार्यकर्तालाई निर्देशन दिँदै आएका छन् । महासचिव शंकर पोखरेलले कुबेलामा नेतृत्वकाबारेमा बहस नगर्न चेतावनी दिँदै आएका छन् ।

त्यस्तै एमालेका अर्का नेता भानुभक्त ढकालले पार्टी निर्णयविरुद्ध जान खोज्नेहरूलाई ‘नोटिसमा राखिने’ चेतावनीसमेत दिँदै आएका छन् ।

सरकार र सुनचाँदी व्यवसायीबीच सहमति

काठमाडौं । सुनचाँदी व्यवसायीहरूले सरकारसँगको सहमतिपछि आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । बिहीबार अर्थ मन्त्रालयमा भएको वार्तामा सरकार र व्यवसायी प्रतिनिधिहरूबीच सहमति जुटेको हो ।

सहमतिसँगै देशभरका सुनचाँदी पसलहरू शुक्रबारदेखि नियमित सञ्चालनमा आउने भएका छन् । सरकार र सुनचाँदी व्यवसायीबीच भएको सहमति अनुसार, सुनचाँदी तथा रत्न आभुषणको कारोबार र त्यसमा लाग्ने कर प्रणाली सम्बन्धमा अध्ययन गरी नीतिगत सुधारका लागि विभिन्न निर्णयहरू भएका छन् ।

अर्थ मन्त्रालयका सहसचिव उत्तर कुमार खत्रीको नेतृत्वमा भएको छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, नेपाल राष्ट्र बैंक र विभिन्न सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरू तथा पूर्वमन्त्रीहरूको समेत उपस्थिति थियो ।

सरकारले गत वर्षबाट १० लाख रूपैयाँभन्दा बढीको सुन खरिदमा २ प्रतिशत विलासी कर लगाएको थियो। आर्थिक ऐन २०८२ बाट भने १० लाखको सीमा पनि हटाएको छ ।

‘पैसा कमा केटी’

काठमाडौं । गायिका जमुना सनमले नयाँ तीज गीत ‘पैसा कमा केटी’ ल्याएकी छन् । जमुना र शान्तिश्री परियारको स्वर रहेको गीत बिहीबार सार्वजनिक गरिएको हो ।

गीतमा राजु सुनामको शब्द, एरेन्ज र संगीत रहेको छ । गीतमा धन पैसा हुनेको मात्र समाजमा इज्जत हुने बिडम्बनापूर्ण अवस्थालाई चित्रण गरिएको छ ।

गीतको म्युजिक भिडियोमा अञ्जली अधिकारी र स्मारिका ढकालको अभिनय छ । भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका छन् ।

काठमाडौंमा एक घरमा आगलागी हुँदा एक महिलाको मृत्यु

काठमाडौं । काठमाडौँ महानगरपालिका–६ चेमजुङ गल्लीस्थित एक घरमा आगलागी हुँदा ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको चौरीदेउराली–३ घर भइ हाल काठमाडौँ महानगरपालिका–६ चेमजुङ गल्लीमा बस्दै आएकी ६५ वर्षीया उर्मिला तामाङ रहेकी जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

दिउँसो तामाङको कोठामा आगलागी भएको थियो । खबर प्राप्त भएलगत्तै प्रहरी टोली आगो निभाउन खटिएको थियो । तामाङ कोठामै मृत भेटिएकी हुन् । आगलागीबाट झ्याल ढोका, लत्ता कपडा पूर्ण रुपमा जलेर नष्ट भएका छन् । आगलागीको कारण भने खुल्न सकेको छैन । स्थानीयवासी र प्रहरीको सहयोगमा आगो निभाइएको छ ।

खेल क्षेत्रमा कुनै पनि राजनीतिक नहोस्ः प्रधानमन्त्री ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल)को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् ।

राखेपद्वारा सादोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषदमा निर्मित ‘नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्स रिसर्च सेन्टर’को उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘टिम स्पिरिट’का साथ एनपिएल आयोजनाको तयारी अगाडि बढाउने काममा ध्यान दिन परिषद्लाई निर्देशन दिए ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गर्न लागेको दोस्रो संस्करणको एनपिएल आयोजनामा देखिएको अन्योललाई चिर्दै प्रधानमन्त्री ओलीले खेल क्षेत्रमा कुनै पनि राजनीतिक नगर्न सबैलाई आग्रह गरे । उनले नेपालको खेल क्षेत्र आम्दानी र व्यवसायको क्षेत्र पनि हो भन्ने स्थापित हुने स्थिति बन्दै गएको बताए ।

आफूूले हालै स्पेन भ्रमणका क्रममा रियल म्याड्रिडको स्टेडियम हेरेर आएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले दशरथ रङ्गलाशाको क्षमता कम भएकाले भक्तपुरको सूर्यविनायकमा कम्तीमा ५० हजार दर्शक अट्ने रङ्गशाला बनाउने घोषणा गरे ।

प्रधानमन्त्री ओलीले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अब पनि सार्ने काम भएमा राष्ट्रिय लज्जाको विषय हुने भएकाले आगामी मङ्सिरमा प्रतियोगिता गर्न परिषद्लाई निर्देशन दिए । आगामी मङ्सिर २ देखि ९ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय भएको छ ।

युवा तथा खेलकुदमन्त्री तेजुुलाल चौधरीले सरकारले खेल क्षेत्रको पूूर्वाधार विकासका साथै प्रोत्साहनका लागि काम भइरहेको बताए । परिषद्का उपाध्यक्ष ध्रुव आचार्यले राष्ट्रिय खेलकुद प्रतियोगिता र जापानमा हुने २०औँ दक्षिण एसियाली खेलकुदमा नेपालले राम्रो तयारीका साथ प्रस्तुत हुने बताए ।

सर्वोच्चको फैसला त्रुटिपूर्ण रहेको पूर्वन्यायाधीश फोरमको दाबी

काठमाडौँ । पूर्वन्यायाधीश फोरमले ५२ संवैधानिक पदाधिकारी नियुक्ति विवादमा सर्वोच्च अदालतले गरेको फैसलाले कार्यकारिणी निरङ्कुशता बढाउनमा मद्दत गरेको आरोप लगाएको छ ।

फोरमले बिहीबार विज्ञप्ति जारी गरी सर्वोच्चको फैसलाले कार्यकारिणी निरङ्कुशता बढाउनमा मद्दत पुर्याउनुका साथै संवैधानिक सर्वोच्चताको मान्यतालाई धराशायी बनाएको आरोप लगाएको हो ।

विज्ञप्तिमा शक्ति प्रयोग गरी जारी भएको ऐनलाई कार्यकारिणी अधिकार अन्तर्गत जारी भएको अध्यादेशबाट संविधान र ऐनको मर्म विपरीत गणपूरक सङ्ख्या समेत घटाउन नमिल्ने उल्लेख छ ।

त्यसरी गणपूरक सङ्ख्या घटाउने गरी जारी गरिएको अध्यादेशले संवैधानिक एवम् विधायिकी उद्देश्य नै समाप्त गरेकोमा असंवैधानिक नियुक्तिलाई संवैधानिक इजलासले सदर गर्नु आपत्तिजनक रहेको फोरमले उल्लेख छ ।

नेपालको संविधानको धारा २९२ (१) मा उल्लेख भएको संसदीय सुनुवाइ सम्बन्धी बाध्यात्मक व्यवस्थालाई निस्तेज गर्ने अधिकार विधायिकाले प्राप्त गर्न नसक्ने पूर्व न्यायाधीशहरुको मत छ । संविधानको उक्त धारामा नै प्रतिबन्ध लगाएको भनी गरिएको व्याख्या र संसदीय नियमावलीलाई संविधानको हैसियतमा राख्ने गरी गरिएको व्याख्या त्रुटिपूर्ण र गलत भएको दाबी विज्ञप्तिमा गरिएको छ ।

केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले २०७७/२०७८ सालमा दुई चरणमा गरी अध्यादेशमार्फत संवैधानिक निकायमा ५२ पदाधिकारी नियुक्त गरेको थियो ।

उक्त नियुक्ति गैरकानुनी रहेको भन्दै १५ थान वटा दायर भएका थिए । असार १८ गते प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको संवैधानिक इजलासले ती रिटहरु खारेज गर्दै २०७७ मङ्सिर ३० गते र २०७८ वैशाख २३ गते ल्याइएका दुवै अध्यादेशअनुसारका सबै नियुक्ति सदर गरेको थियो ।

नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिन हतार नगरौंः पूर्वअर्थमन्त्री पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रले नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिन हतार नगर्न सुझाव दिएको छ । बिहीबार बसेको संसदको अर्थ समितिको बैठकमा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसँग समसमायिक विषयमा छलफल भएको थियो ।

छलफलमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिन हतार गर्न नहुने बताएका छन् ।

उनले पहिले नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना गरेर केही समय हेर्नुपर्ने बताए । उनले भने, ‘अहिले नै नयाँ स्टकको लाइसेन्स दिन हतार गर्नु हुँदैन । नेप्सेको पुनर्संरचना गरेर हेर्नुपर्छ । यदि चाहिने नै रहेछ भने पछि दिँदा पनि हुन्छ, निजी क्षेत्रका लगानीकर्ता नेप्सेमा भित्राउन सरकार स्पष्ट हुनुपर्छ । पहिले लाइसेन्स दिएर नेप्सेको पुनर्संरचना अलमलमा पार्नु हुँदैन ।’

बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नयाँ स्टक एक्सचेन्ज चाहिने बताए । उनले भने, ‘दोस्रो स्टक एक्सचेन्जको विषयमा धेरै अगाडिबाट विभिन्न चरणमा अध्ययन भएको अवस्था छ । सबै अध्ययनले दोस्रो स्टक एक्सचेन्ज दिँदा हुन्छ भन्ने नै मेरो बुझाइ छ, मैले देखेको पनि त्यही हो । म आइसकेपछि सरकारबाट जे निर्देशन आएको छ, म त्यहीअनुसार अगाडि बढेको छु ।’

उनले सार्वजनिक लेखा र अर्थ समितिको दुईथरी निर्देशनले आफूहरू अन्योलमा परेको बताए । उनले भने, ‘९० भन्दा मुनि नेटवर्थ हुने कम्पनीलाई आईपीओ जारी नगर्न लेखा समितिले निर्देशन दिएको थियो । अर्थ समितिले ठीक विपरीत ९० नेटवर्थ भन्दा मुनि हुने कम्पनीलाई आईपीओ जारी गर्न निर्देशन दियो । यसरी दुई वटा समितिको कुरा बाझिँदा अन्योल भयो । दुई वटा समितिको निर्देशन यसरी आउँदा कसरी अगाडि बढ्ने ?’

प्रधानमन्त्रीद्वारा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा‘नेशनल हाई पर्फमेन्स सेन्टर’ उद्घाटन

काठमाडौं । नेपाली खेलकुदलाई प्रविधिमैत्री बनाउने उद्देश्यले स्थापित ‘नेशनल हाई पर्फमेन्स सेन्टर’ औपचारिक रूपमा शुरू भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा नेशनल हाई पर्फमेन्स सेन्टरको उद्घाटन गरेका हुन् ।

प्रधानमन्त्री ओलीले उद्घाटन गरेसँगै संस्थागत विकासको थालनी भएको ६७ वर्षपछि नेपाली खेलकुद प्रविधिमैत्री बन्ने बाटोतर्फ अग्रसर भएको छ ।

त्यसक्रमममा प्रधानमन्त्री ओलीले नेशनल हाई पर्फमेन्स सेन्टरमा जडान गरिएका खेलकुदसँग सम्बन्धित प्राविधिक यन्त्रको बारेमा जानकारी पनि लिएका थिए । ‘नेशनल हाई पर्फमेन्स सेन्टर’को सञ्चालनपछि अब नेपाल खेलकुदको स्तरमा गुणात्मक सुधार आउने विश्वास गरिएको छ । नेपाली खेलाडीले ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा सुधारिएको प्रदर्शन गर्ने आशा पनि गरिएको छ ।

यसअघि खेलाडीको प्रशिक्षण, छनोट, व्यवस्थित खानपिन, शारीरिक अभ्यास, प्रतियोगिता आयोजनाजस्ता सबै कुरा परम्परागत रूपमै सञ्चालन हुँदै आएका थियो ।

नेशनल हाई पर्फमेन्स सेन्टर सञ्चालनमा आएपछि अब खेलाडीको प्रशिक्षणदेखि लिएर छनोट प्रक्रियामा समेत प्रभावकारिता आउने खेलविज्ञहरूले अपेक्षा राखेका छन् ।

सेन्टरमा जडान गरिएका अत्याधुनिक यन्त्रमा एक्स बडी मेसिन, फोर्स फ्रेम, फोर्स डेस्क, एसभीटी मेसिन, ईएमजी इक्विपमेन्ट, ल्याक्टिक एसिड एनालाइजर, बीएफआर इक्विपमेन्ट, डाइनामो इक्विपमेन्ट, ह्युमन ट्र्याक इक्विपमेन्ट, भीओटु म्याक्स इक्विपमेन्ट, टाइमिङ गेट इक्विपमेन्टलगायत रहेका छन् ।

नेप्सेमा ९ अर्ब ६८ करोडको किनबेच

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्से दोहोरो अंकले बढेको छ । बिहीबार नेप्से २५ दशमलव ८९ अङ्कले बढेर २ हजार ७ सय ३१ दशमलव ० विन्दुमा पुगेको छ ।

आज जलविद्युत्, व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा बैंकिङ समूहको शेयर ३ प्रतिशतले उकालो लागेको छ । यस्तै माइक्रोफाइनान्स समूहको शेयर १ दशमलव ४६ प्रतिशत र विकास बैंक समूहको शेयर १ दशमलव १२ प्रतिशतले बढेको छ । आज ३१२ कम्पनीका २ करोड ६४ लाख कित्ता शेयर ९ अर्ब ६८ करोड रुपैयाँमा किनबेच भएको छ ।

त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोला स्थित त्रिशूली नदी किनारमा बिहीबार एक पुरुषको शव फेला परेको छ ।

केही अङ्ग नभएको अवस्थामा अन्दाजी ४५/५० वर्षको देखिने शव फेला परेको हो । शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्द पुरीले जानकारी दिए ।

उक्त शव गत मङ्गलबार रसुवामा आएको बाढीले बेपत्ता पारेको व्यक्तिको हुन सक्ने अनुमान गरिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

दक्षिण कोरियाली अदालतद्वारा पूर्वराष्ट्रपति युन सुक योलको नयाँ गिरफ्तारीलाई अनुमोदन

सियोल । दक्षिण कोरियाको एक अदालतले बिहीबार बिहान पूर्वराष्ट्रपति युन सुक योलको डिसेम्बरमा उनको संक्षिप्त मार्सल ल लगाउने कार्यसँग सम्बन्धित अभियोगमा नयाँ गिरफ्तारीलाई अनुमोदन गरेको छ । उनले प्रमाण नष्ट गर्ने जोखिम रहेको विशेष अभियोजकको दाबी स्वीकार गर्दै अदालतले नयाँ गिरफ्तारीलाई अनुमोदन गरेको हो ।

सियोल केन्द्रीय जिल्ला अदालतले जारी गरेको गिरफ्तारी वारेन्टले मार्चमा रिहा भएको चार महिनापछि युनलाई राजधानीनजिकैको हिरासत केन्द्रमा फिर्ता पठाएको छ । सोही अदालतले उनको जनवरीको गिरफ्तारीलाई खारेज गरेको थियो र उनलाई हिरासतमा नराखी विद्रोहको मुद्दामा खडा हुन अनुमति दिएको थियो।

उनकाे आपराधिक मुद्दा विशेष अभियोजक चो युन सुकको नेतृत्वमा रहेका अन्वेषकहरूको टोलीले सम्हाल्दै छ। टोलीले युनको अधिनायकवादी प्रयासका लागि आधिकारिक कर्तव्यमा बाधा पुर्‍याउने, शक्तिको दुरुपयोग र आधिकारिक कागजातहरू जालसाजी गर्ने सहित थप आरोपहरू लगाउँदै छ । आइतबार अदालतमा उनकाे गिरफ्तारी वारेन्टका लागि अनुरोध पेस गर्नुअघि चोको टोलीले उनलाई दुईपटक सोधपुछ गरेको थियो ।

युनका वकिलहरूले गिरफ्तारी अनुरोधलाई अत्यधिक र आधारहीन भनेर वर्णन गरेका थिए । संवैधानिक अदालतले युनको महाभियोगलाई समर्थन गरेपछि अप्रिलमा औपचारिक रूपमा पदबाट हटाइएका उहाँको गिरफ्तारीलाई अनुमोदन गर्ने अदालतको निर्णयमा उनीहरूले तुरुन्तै प्रतिक्रिया दिएनन् ।

विशेष अभियोजकको अनुरोधको समीक्षाका लागि बुधबार दिउँसो अदालतमा पुगेपछि युनले पत्रकारहरूको प्रश्नको जवाफ दिएनन् । करिब सात घण्टा चलेको सुनुवाइपछि युनलाई अदालतको निर्णय पर्खन हिरासत केन्द्रमा लगिएको थियो ।

युनको नयाँ गिरफ्तारीले सम्भावित रूपमा महिनौँ वा त्यसभन्दा लामो हिरासतमा विस्तारित अवधिको सुरुवात गर्न सक्छ । युनलाई सुरुमा केन्द्रमा २० दिनसम्म हिरासतमा राख्न सकिन्छ । विशेष अभियोजकले उनलाई थप आरोपमा अभियोग लगाउने लक्ष्य राख्नेछन् ।

ह्युमनोइड रोबोटले ‘मानव कलाकारहरूलाई प्रतिस्थापन गर्ने’ लक्ष्य राखेको छैन

जेनेभा ।  जब सफल कलाकार आइ–डाले यस हप्ता राजा चार्ल्सको नयाँ चित्र अनावरण गर्‍यो, ह्युमनोइड (मानव सदृश) रोबोटले स्तरित र जटिल टुक्रालाई प्रेरित गरेको वर्णन गर्‍यो र मानिसहरूलाई ‘प्रतिस्थापन’ गर्ने कुनै योजना नभएको जोड दियो ।

संसारको सबैभन्दा उन्नतमध्ये एक अल्ट्रा–रियालिस्टिक रोबोटलाई अभिव्यक्तिपूर्ण, जीवन्त अनुहार, ठूला हेजेल आँखा र बब कटमा काटिएको खैरो कपाल भएकी मानव महिला जस्तै देखिने गरी डिजाइन गरिएको छ ।

यद्यपि हातहरू खुला धातुसहित स्पष्ट रूपमा रोबोटिक छन् र यसलाई अभ्यास गरिरहेको कलाको रूप अनुसार बदल्न सकिन्छ ।

गत वर्षको अन्त्यमा आइ–डाको अङ्ग्रेजी गणितशास्त्री एलन ट्युरिङको चित्र लिलामीमा बेचिएको ह्युमनोइड रोबोटको पहिलो कलाकृति बन्यो । उक्त चित्रले १० लाख डलरभन्दा बढी कमाएको थियो ।

तर आइ–डाले कृत्रिम बुद्धिमत्ता प्रयोग गरेर कल्पना गरिएको आफ्नो पछिल्लो सृजना ‘एल्गोरिदम किङ’ शीर्षकको तेल चित्र अनावरण गर्दा ह्युमनोइडले कामको महत्त्व पैसामा मापन गर्न सकिँदैन भनेर जोड दियो ।

‘मेरो कलाकृतिको मूल्य नयाँ प्रविधिहरूमा नैतिक आयामहरू अन्वेषण गर्ने छलफलका लागि उत्प्रेरकका रूपमा काम गर्नु हो’, रोबोटले जेनेभामा बेलायतको कूटनीतिक मिसनमा एएफपीलाई भन्यो । त्यहाँ राजा चार्ल्सको नयाँ चित्र राखिएको छ ।

आइ–डाले ढिलो, सोचेर र सम्झेर यसको उद्देश्य ‘आलोचनात्मक सोचलाई बढावा दिनु र अधिक न्यायसङ्गत तथा दिगो भविष्यका लागि जिम्मेवार नवप्रवर्तनलाई प्रोत्साहित गर्नु’ हो भनेर जोड दियो ।

अद्वितीय र रचनात्मक

संयुक्त राष्ट्रसङ्घको एआई फर गुड समिटको साइडलाइनमा बोल्दै स्केच, चित्रकारी र मूर्तिकलाहरू गरेको आइ–डाले यस कामको पछाडिको विधि र प्रेरणाको विस्तृत वर्णन गर्‍यो ।

‘मेरो कला सिर्जना गर्दा म विभिन्न प्रकारका एआई एल्गोरिदमहरू प्रयोग गर्छु, रोबोटले भन्यो, म एउटा आधारभूत विचार वा अवधारणाबाट सुरु गर्छु जुन म अन्वेषण गर्न चाहन्छु, र म कलाको उद्देश्यको बारेमा सोच्छु । यसले के भन्छ ?’

‘राजा चार्ल्सले वातावरणीय संरक्षण र अन्तरधर्मी संवादमा चेतना जगाउन आफ्नो मञ्च प्रयोग गर्नुभएको छ । मैले यो चित्रलाई त्यसको उत्सव मनाउन लक्षित गरेको छु । मलाई आशा छ कि राजा चार्ल्सले मेरो प्रयासको कदर गर्नुहुनेछ’, ह्युमनोइडले भन्यो ।

आधुनिक र समकालीन कलाका विशेषज्ञ एडन मेलरले अक्सफोर्ड र बर्मिङ्घम विश्वविद्यालयका आर्टिफिसियल इन्टेलिजेन्स विशेषज्ञहरूसँग मिलेर सन् २०१९ मा आइ–डा सिर्जना गर्ने टोलीको नेतृत्व गरेको थियो ।

‘चित्रकारहरूलाई प्रतिस्थापन गर्न’ नभई एक नैतिक कला परियोजनाका रूपमा विश्वको पहिलो कम्प्युटर प्रोग्रामर अदा लभलेसको नाममा ह्युमनोइड रोबोटको कल्पना गरेको बताए ।

आइ–डाले सहमति जनायो

‘एआईले हाम्रो संसारलाई परिवर्तन गरिरहेको छ जसमा कला जगत् र मानव रचनात्मक अभिव्यक्तिका रूपमा समावेश छ भन्नेमा कुनै सन्देह छैन, रोबोटले स्वीकार गरेको छ, तर एआई वा मेरो कलाकृतिले मानव कलाकारहरूलाई प्रतिस्थापन गर्नेछ भन्ने मलाई विश्वास छैन ।’

यसको सट्टा, आइ–डाले भन्यो, ‘यसको उद्देश्य दर्शकहरूलाई यसको जोखिम र सीमितताहरूप्रति सचेत रहँदै हामी कसरी एआईलाई सकारात्मक रूपमा प्रयोग गर्छौं भन्ने बारे सोच्न प्रेरित गर्नु थियो ।’

मेसिनले बनाएको पेन्टिङलाई वास्तवमा कला मान्न सकिन्छ कि भनेर सोधिएको प्रश्नमा रोबोटले ‘मेरो कलाकृति अद्वितीय र रचनात्मक छ’ भनी जोड दिँदै भन्यो, ‘मानिसहरूले यसलाई कला हो कि होइन भनेर निर्णय गर्नु महत्त्वपूर्ण र रोचक कुराकानीको विन्दु हो ।’

क्रिकेट खेलाडी शुभम खनाललाई गृह जिल्लामा नागरिक अभिनन्दन

दाङ । मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका शुभम खनाल र सहायक प्रशिक्षक सञ्जु केसीलाई गृह जिल्लामा नागरिक अभिनन्दन गरेका छन् ।

बिहीबार उनीहरुलाई गृहजिल्ला दाङमा क्रिकेट सङ्घले नागरिक अभिनन्दन गरेको हो । नागरिक अभिनन्दनअघि उनीहरुलाई घोराही बजार परिक्रमा गरिएको थियो ।

उपल्लो मुस्ताङमा बाढीले क्षति पुर्याएको कुलो तथा सडकलगायतका संरचना मर्मत सुरु

मुस्ताङ  । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले गत मगलबार साँझको भीषण बाढीले क्षति पुर्याएको कुलो तथा सडक लगायतका संरचना मर्मत सुरु गरेको छ ।

बाढीले क्षतिग्रस्त स्थानमा त्यहाँका जनप्रतिनिधि, कर्मचारी र सुरक्षा निकायले बुधबार संयुक्त अनुगमन गरेका थिए । त्यसपछि आजदेखि त्यहाँ बाढीले क्षति पुर्याएको सिँचाइ कुलो तथा अवरुद्ध शाखा सडक खुलाउन लोमान्थाङ गाउँपालिका जुटेको हो ।

उपल्लो मुस्ताङको लोमान्थाङ–४ सम्जुङ गाउँमाथिको लेंकबाट बग्ने छुआमा खोलाबाट अचानक लेदोसहितको भीषण बाढी आएपछि त्यहाँको सडक तथा पुलपुलेसा र सिँचाइ कुलो ध्वस्त भएको थियो ।

गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले लोमान्थाङ –२ छोसेर र लोमान्थाङ–४ न्याम्डोक गाउँमा लेदोसहितको बाढीले किसानहरुको सिँचाइ कुलो ध्वस्त पारेको बताए । बाढीले सिँचाइ कुलो ध्वस्त पारेपछि त्यहाँका किसानहरु निकै ठूलो समस्यामा परेको अध्यक्ष गुरुङको भनाइ छ । बाढीले लोमान्थाङ रिङरोड सडकअन्तर्गत आर्का –भार्सा जोड्ने सडक अवरुद्ध भएको बताए ।

लोमान्थाङ गाउँपालिकाले त्यहाँ पुर्याएको क्षतिको अनुमगन तथा मूल्याङ्कन सुरु गरिसकेको छ । त्यहाँ गाउँपालिकाले गर्नसक्ने जति सबै काम तत्काल सुरु गर्ने गरी दुई वटा डोजर परिचालन गरिसकेको अध्यक्ष गुरुङको भनाइ छ ।

उपल्लो मुस्ताङमा वर्सेनि एक बाली मात्रै खेतबारी गर्ने प्रचलन छ । त्यहाँ उवा, फापर, तोरी र गहुँलगायतका वर्खेबाली लगाउने गरिएको छ ।

बाढीले त्यहाँको सिँचाइ कुलो लगायतमा क्षति पुगेपछि त्यहाँका किसानहरु निकै ठूलो समस्यामा परेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास केसीले उल्लेख गरे । त्यहाँ जतिसक्दो छिटोभन्दा छिटो बाढीले बिगारेको सिँचाइ कुलो मर्मत सम्भार गर्न र आर्का—भार्का जोड्ने सडक मर्मतका लागि दुई वटा डोजर फिल्डमा खटाइ सकेको उनले बताए ।

‘गाउँपालिकाको आफ्नै एउटा डोजर छ, अर्को भाडामा लिएका छौँ’, प्रशासकीय अधिकृत केसीले भने, ‘ईन्धन जोहो गर्दैछौँ, केही दिनभित्रै त्यहाँको क्षतिग्रस्त सिँचाइ कुलो मर्मत कार्य सम्पन्न गर्ने गरी अघि बढेका छौँ ।’

गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा ४० लाख बजेट रहेको र सोही बजेट त्यहाँ खर्च गरिने उनले बताए । मङ्गलबार साँझको छुआमा खोलाको बाढीले सात पुलमा क्षति पुर्याएको थियो ।

महानगरको कार्यपालिका बैठक शुक्रबार बस्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सात महिनापछि कार्यपालिका बैठक बोलाएका छन् । मेयर साहले शुक्रबारका लागि कार्यपालिका बैठक बोलाएका हुन् ।

महानगरका सहायक प्रवक्ता ध्रुव काफ्लेका अनुसार, शुक्रबार बिहान ११ बजे स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बस्नेछ । त्यसपछि कार्यपालिका बैठक बस्ने तयारी छ ।

मेयर र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण गएको पुसदेखि कार्यपालिका बैठक बस्न सकेको थिएन ।जसका कारण महानगरले अहिलेसम्म बजेट ल्याउन सकेको छैन ।

टी–२० विश्वकप छनोटको खेलतालिका सार्वजनिक

काठमाडौं । आईसीसी टी–२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोटको तालिका सार्वजनिक भएको छ । विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीले बिहीबार कुल नौ टोलीको सहभागिता रहने प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

प्रतियोगितामा नेपाल, पपुवा न्युगिनी (पीएनजी) र ओमानसँगै कुवेत, मलेसिया युनाइटेड अरब इमिरेट्स (यूएई), कतार, जापान र समाओ सहभागी हुनेछन् ।

तालिकाअनुसार अक्टोबर ८ देखि ओमानमा हुने प्रतियोगितामा नेपाल समूह–२ मा परेको छ । यो समूहमा नेपालसँगै कुवेत र जापान छन् ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा अक्टोबर ८ मै कुवेतसँग खेल्नेछ । यसपछि नेपालले अक्टोबर १० मा जापानविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

राष्ट्रिय महाधिवेशनले पारित गरेको विषयमा प्रश्न नउठाउन नेता कार्यकर्तालाई महासचिव पोखरेलको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीको १०औंँ राष्ट्रिय महाधिवेशनले पारित गरेको विधानका विषयमा प्रश्न उठाउनु सङ्गठनात्मक अराजकता भएको बताएका छन् ।

आगामी भदौमा हुने भनिएको विधान महाधिवेशनको तयारीका सन्दर्भमा बिहीबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा जनसङ्गठनका इन्चार्ज र पदाधिकारीहरुको भेलालाई सम्बोधन गर्दै उनले आफू सहभागी भएर पारित गरेको विधानका बारेमा प्रश्न उठाउनु सङ्गठनात्मक अराजकता भएको बताए ।

महासचिव पोखरेलले विधान महाधिवेशनले अन्तिम रुप दिएका कतिपय प्रावधान तत्कालीन आवश्यकताका आधारमा राष्ट्रिय महाधिवेशनले संशोधन गर्न सक्ने धारणा राखे ।

‘दुवै महाधिवेशनका प्रतिनिधि भएर त्यस्ता प्रावधान आफैं अनुमोदन गर्ने अनि अहिले आफैं प्रश्न गर्दै हिँड्ने कुरा अनैतिक हो,’ उनले भने, ‘राष्ट्रिय महाधिवेशनले पास गरेका विषयमा टिप्पणी गर्दै हिँड्ने कुरा अनुशासनहीन र अराजक हो । जसले यस्ता गतिविधि गर्दछ त्यसको प्रतिवाद गर्नुपर्दछ ।’

उनले पार्टी र नेतृत्व विरुद्धको आक्रमण गतवर्ष पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेदेखि झनै बढेको बताए । एमाले सरकारमा रहेको धेरैलाई मन नपरेकाले अनेक लाञ्छना लगाएर हरेक दुई महिनामा सरकार परिवर्तनको हल्ला फैलाइने गरेको उनको भनाइ छ ।

‘विधान महाधिवेशन हो राष्ट्रिय महाधिवेशन होइन । त्यसैले अहिले कुनै नेताका नाममा कित्ताकाट हुनु जरुरी छैन’, उनले भने, ‘जतिबेला जे काम पर्छ त्यही गर्नुहोस । नीति र नेतृत्व निर्माणको भिन्नता नेताहरुले थाहा पाउनुहोस ।’

महासचिव पोखरेलले जनसङ्गठनमा हालै भएका महाधिवेशनका दस्तावेज केन्द्रीय कार्यलयमा साता दिनभित्र पठाउन निर्देशनसमेत दिए ।

पार्टी स्थायी कमिटी सदस्य एवं जनसङ्गठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले पार्टीको निर्णयविरुद्ध नबोली नेता भइँदैन भन्ने मानसिकता त्याग्न आग्रह गरे । भेलालाई केन्द्रीय सदस्यद्वय विष्णु रिजाल, रचना खड्कालगायतले पार्टीको विधि र विधान विपरीत नबोल्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

क्याप्टेन थापाको जीवनीमा चलचित्र ‘क्याप्टेन साब’ निर्माण हुँदै

काठमाडौं । क्याप्टेन रामेश्वर थापाद्वारा लिखित अङ्ग्रेजी पुस्तक ‘इन्टु द फायर’ मा आधारित चलचित्र ‘क्याप्टेन साब’ निर्माण हुने भएको छ।

बिहीबार आयोजित एक कार्यक्रमबीच चलचित्र निर्माण गर्न लागिएको निर्देशक दीपेन्द्रकुमार खनालले जानकारी दिए। क्याप्टेन थापाको जीवनीको उतारचढावलाई चलचित्रकै शैलीमा प्रस्तुत गरिने निर्देशक खनालको भनाइ छ।

उनले भने, ‘नियमित बनिरहेका भन्दा फरक शैलीको चलचित्र दर्शकमाझ ल्याउने कोसिस गर्दैछौं। आकाशमा भोग्ने चुनौती, यात्राको भोगाइ र व्यावसायिक जीवनलाई समेटेर चलचित्रलाई रोचक बनाउने प्रयास रहनेछ।’

उक्त चलचित्रमा खगेन्द्र लामिछाने, सुरक्षा पन्त, सञ्जोग रसाइलीलगायतका कलाकारको अभिनय रहने निर्देशक खनालले जानकारी दिए। आगामी भदौको पहिलो सातादेखि छायाँकार कृष्णबहादुर थापाले काठमाडौं, चितवन र काभ्रेका विभिन्न स्थानमा उक्त चलचित्रको छायाङ्कन गर्नुहुने छ।

द्वन्द्वकालमा नेपाली सेनाको एमआई–१७ हेलिकप्टरका प्रथम ‘इन्स्ट्रक्टर’ क्याप्टेन थापाको युद्धस्थलका उद्धार, भोगाइ एवं अनुभूतिमा अङ्ग्रेजी पुस्तक ‘इन्टु द फायर’ प्रकाशित छ।