`

लगानी बोर्डको सङ्गठन संरचना खाका स्वीकृत

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार भएको लगानी बोर्डको ६१औँ बैठकले बोर्डको रणनीति तथा व्यावसायिक योजना कार्यान्वयनका लागि आवश्यक पर्ने सङ्गठन संरचनाको खाकालाई स्वीकृत गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकले विभिन्न निर्देशनालयसहितको सङ्गठन संरचनाको खाकालाई स्वीकृत गरेको हो। पाँचवर्षे उक्त रणनीतिले ४२ परियोजनाको सम्झौता गर्दै अधिकतम १४ परियोजना निर्माण, ११ परियोजना सन्चालन तथा ९२ निजी लगानीका परियोजनाहरु लगानी स्वीकृत गर्ने लगायतका लक्ष्य लिएको बोर्डका सहसचिव एवम् प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए।

बैठकमा बोर्डका अध्यक्ष ओलीका साथै उपाध्यक्ष उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए।

सानोपाइला सहकारी ठगीमा पाँच करोड विगो माग गर्दै रविविरुद्ध मुद्दा दर्ता गर्ने तयारी

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ४१ जनामाथि मुद्दा चलाउने पर्ने रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

पर्साको सानोपाइला सहकारी ठगी प्रकरणमा लामिछानेसहित ४१ जनाविरुद्ध ठगी तथा संगठित अपराध मुद्दा चलाउनु पर्ने रायसहितको प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको हो । प्रतिवेदन शुक्रबार नै बुझाइएको पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए ।

 सभापति लामिछानेको हकमा ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ बिगो मागदाबी गर्न प्रहरीले राय दिएको छ ।

हाल रवि लामिछने रुपन्देही कारागारमा छन् । सानोपाइलाबाहेक उनीविरुद्ध पोखराको सूर्यदर्शन, चितवनको सहारालगायत पाँचवटा सहकारी ठगीको मुद्दा अदालतमा विचाराधीन छ ।

बाढीसम्बन्धी पूर्वसूचना दिन मनाङको तालगाउँमा साइरन जडान

मनाङ । मनाङको नासोँ गाउँपालिका–१ तालगाउँमा मस्र्याङ्दी नदी तटीय क्षेत्रका बासिन्दालाई प्राकृतिक विपद्बाट बचाउन मानव विकास तथा सामुदायिक सेवा केन्द्र (एचडिसिएस) ले बाढीसम्बन्धी सूचना दिने साइरन जडान गरेको छ ।

गाउँपालिका र एचडिसिएसको सहकार्यमा २६ लाख रुपैयाँको लागतमा तालगाउँमा साइरन जडान गरेपछि स्थानीय विपद्बाट बच्ने भन्दै खुसी भएका छन् ।

विसं २०७८ असार १ मा मनाङमा भीषण वर्षा भयो । वर्षासँगै आएको बाढीले मस्र्याङ्दी नदी किनारका कैयौँ स्थानीयलाई घरबारविहीन बनायो । बाढीले क्षतिग्रस्त भएपछि लामो समयसम्म गाउँले पालमुनि बस्न बाध्य भएका थिए ।

बाढीले सबैभन्दा बढी नासोँ गाउँपालिका–१ ताल गाउँमा क्षति पुर्याएको थियो । नासोँ–१ का वडाध्यक्ष मीनरासी गुरुङका अनुसार तालगाउँमा ६३ परिवार छन् । मस्र्याङ्दी नदी किनारसँगैको बस्ती भएकाले यहाँका अधिकांश घरमा बाढी पसेको थियो । पटकपटक बाढी आउँदा लाखौँको धनमाल गुमाएका तालगाउँवासीले अब विपद् आउनु पूर्व सूचना पाउने भएपछि खुसी भएका हुन् ।

वडाध्यक्ष मीनरासी गुरुङले साइरन जडानपछि वर्षाको समयमा गाउँले ढुक्कसँग निदाउन पाउने भएको भन्दै खुसी व्यक्त गरे । लमजुङसँग सीमा जोडिएको तालगाउँलाई विपद्बाट जोगाउन पूर्व सूचना दिने साइरन जडान गरिएको एचडिसीएसका मनोसामाजिक परामर्शदाता शोभा ठकुरीले जानकारी दिए ।

उनका अनुसार नासोँ–८ को धारापानीमा राखिएको एक यन्त्रले मस्र्याङ्दी नदीमा पानीको सतह मापन गर्नेछ ।

स्वचालित उक्त यन्त्रले मस्र्याङ्दी नदीमा खतराको सतह पार गरेको सङ्केत गर्नासाथ साइरन बज्न थाल्ने ठकुरीले बताए । साइरन तालगाउँभरि सुनिने गरी राखिएको छ । साइरनसँगै खतराको सङ्केतको सूचना मोबाइल एसएमएसबाट पनि जाने प्रबन्ध गरिएको उनले उल्लेख गरे ।

यदि विद्युत् आपूर्ति बन्द भएमा, इन्टरनेट बन्द भएमा पनि कटुवालमार्फत खतरासम्बन्धी सूचना गाउँलेले थाहा पाउने छन् । स्थानीय सुरक्षित स्थानतर्फ जान सक्ने प्रबन्ध गरिएको ठकुरीले जानकारी जानकारी दिए ।

सुरक्षित स्थानका लागि स्थानीय फुटबल खेल मैदानलाई प्रयोग गर्नेगरी स्थानीय गाउँमा रहेको मस्र्याङ्दी युवा क्लबसँग समन्वय गरिएको छ । यसअघिको डुबानका बेलामा पनि उक्त ठाउँमा पानी सतह पुग्न सकेको थिएन ।

साइरन जडानपछि स्थानीय जनप्रतिनिधि, आमा समूह, युवा क्लबका पदाधिकारी, प्रहरी र स्वास्थ्य चौकी तथा स्थानीय बासिन्दालाई एक दिने प्राथमिक मनोसामाजिक सहयोगसम्बन्धी तालिम पनि दिइएको थियो ।

सांसद राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति

काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राईलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले आइतबार राईलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

स्वर्णलक्ष्मी सहकारी ठगी तथा संगठित अपराध मुद्दामा मुछिएकी उनलाई शनिबार राति प्रहरीले कपनस्थित निवासबाटै पक्राउ गरेको थियो ।

यसैबीच सांसद राईलाई पक्राउ गरिएकोबारे प्रतिनिधिसभालाई जानकारी गराइएको छ । आइतबार प्रतिनिधिसभाको बैठकमा उपसभामुख इन्दिरा रानाले राई पक्राउ परेको जानकारी गराएकी हुन् ।

एमालेलाई राष्ट्रिय शक्ति बनाउने आकांक्षा ०८४को चुनावबाट पुरा हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई देशको राष्ट्रिय शक्ति बनाउनुपर्ने आवश्यता रहेको बताएका छन् ।

आइतबार मदन भण्डारी फाउन्डेसनको चौथो राष्ट्रिय सम्मेलनलाई काठमाडौँमा सम्बोधन गर्दैै प्रधानमन्त्रीले एमालेलाई राष्ट्रिय शक्ति बनाउने आकांक्षा ०८४ चुनावबाट पुरा गर्ने बताएका हुन् ।

उनले भने, ‘ एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा विकास गर्नुछ । लामो पर्खिने काम छैन। मिसन २०८४ बाटै पुरा गर्छौं।’

उनले सरकार ढल्यो ढल्यो भन्नेहरूलाई शेरबहादुर देउवा बैंककबाट फर्केपछि चिसो पानी खन्याइदिएकाले उनीहरू छक्क परेको बताए ।

उनले भने, ‘एउटा कम्युनिस्ट आन्दोलन ध्वस्त पार्न हाम्रा विरुद्ध विभिन्न प्रकारका लाल्छना र आरोप लगाउने, अर्को ढल्यो ढल्यो ढल्यो सरकार ढल्यो भन्ने । अहिले ढल्यो भरे ढल्यो । शेरबहादुरजी फर्कने वित्तिकै ढल्यो । शेरबहादुरजीले चिसो पानी टाउकाबाट खन्याएपछि फेरि छक्क परेका छन् ।’

उनले आफूले पैसा कमाउनका लागि नभई इमानका लािग राजनीति गर्ने बताए ।

सांसद माया राई पक्राउ परेको सदनलाई जानकारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद माया राईलाई पक्राउ गरिएकोबारे प्रतिनिधिसभालाई जानकारी गराइएको छ ।

आइतबार प्रतिनिधिसभाको बैठकमा उपसभामुख इन्दिरा रानाले राई पक्राउ परेको जानकारी गराएकी हुन् । राईलाई स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको अनुसन्धानको लागि प्रहरीले शनिबार राति कपनस्थित घरबाटै पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंलेसंघीय संसद सचिवालयमा पत्र पठाएर राईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी गराएको थियो ।

यो सरकार तत्काल ढल्नु हुँदैनः सांसद झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले वर्तमान सरकार ढल्न नहुने बताएका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा सांसद झाले गठबन्धन सरकार लामो जानुपर्ने बताएका हुन् ।

उनले सरकारले जनताका पक्षमा कुनै काम नगरेकाले पनि यो सरकार लामो समयसम्म रहनुपर्ने बताए । उनले भने, ‘प्रधानमन्त्रीज्यूबाट यो सरकार ढल्दैन ढल्दैन भनेको अभिव्यक्ति सुनिरहेका छौँ । प्रतिपक्षको बेन्चबाट भन्न चाहन्छौँ– यो सरकार ढल्नु हुँदैन । यो सरकार नढलोस्, यो सरकार, गठबन्धन अझै लामो जाओस् भनेर शुभकामना दिन चाहन्छु ।’

साथै उनले सरकारको आयुभन्दा उपलब्धिको चर्चा धेरै गर्न सुझाव दिए । उनले गठनबन्धन कतिसम्म गिर्दो रहेछ भनेर देखिन पनि सरकार ढल्न नहुने उनको भनाइ थियो । उनले नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको सातबुँदे सहमति सत्तासाझेदार दलले नै बिर्सिएका बताए ।

चालुतर्फ पाँच करोड ३४ लाख र पुँजीगततर्फ पाँच अर्ब तीन करोड बराबरको बजेट फिर्ता

काठमाडौँ । चालु आर्थिक वर्षका लागि छुट्याइएको बजेट खर्च नहुने जनाउँदै विभिन्न निकायबाट पाँच अर्बभन्दा बढी बजेट फिर्ता भएको छ ।

  अर्थ मन्त्रालयका अनुसार चालुभन्दा पुँजीगत शीर्षकको बजेट फिर्ता बढी छ । निकायगत रुपमा विष्लेषण गर्दा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) को बजेट फिर्ता सबैभन्दा बढी रहेको छ ।

अर्थ मन्त्रालयका सूचना अधिकारी अम्बिकाप्रसाद खनालका अनुसार चालुतर्फ पाँच करोड ३४ लाख र पुँजीगततर्फ पाँच अर्ब तीन करोड ८१ लाख बराबर बजेट फिर्ता भएको छ ।

  चालुतर्फ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले रु ९५ लाख, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रु ३९ लाख, निर्वाचन आयोगले रु दुई करोड ४२ लाख र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले रु एक करोड ५८ लाख बजेट फिर्ता गरेको हो ।

 पुँजीगततर्फ सबैभन्दा धेरै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रु दुई अर्ब ३५ करोड ३४ लाख फिर्ता गरेको छ । एमसिए–नेपालले रु दुई अर्ब बराबर बजेट फिर्ता गरेको खनालले जानकारी जानकारी दिए ।

पुँजीगततर्फ बजेट फिर्ता गर्ने अन्य निकायमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले रु ३६ करोड ७८ लाख, परराष्ट्र मन्त्रालयले रु ३० करोड र महालेखा परीक्षकको कार्यालयले रु एक करोड ६१ लाख फिर्ता गरेका छन् ।

  आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र नियमावलीको व्यवस्थाअनुसार कुनै योजना तथा कार्यक्रममा विनियोजित बजेट फागुन मसान्तभित्र खर्च हुन नसकेमा र आर्थिक वर्षको बाँकी अवधिमा पनि खर्च गर्न नसक्ने अवस्था भएमा चैत १५ गतेभित्र अर्थ मन्त्रालयमा फिर्ता गरिसक्नुपर्ने प्रावधान छ ।       

गत वर्ष ७० प्रतिशत बजेट फिर्ता गरेको एमसिए–नेपालले यस वर्ष करिब ५८ प्रतिशत बजेट फिर्ता गरेको छ । अमेरिकी सरकारको अनुदान सहयोगमा सञ्चालित यो परियोजनामा अमेरिकी सहयोग निरन्तर हुन्छ वा हुँदैन भन्ने अन्योल छ भने यो परियोजनाका निम्ति सरकारले छुट्याएको बजेट खर्च नहुने स्थिति छ ।

चालु आर्थिक वर्षका लागि एमसिए–नेपालले रु १३ अर्ब ३६ करोड बजेट पाएको थियो । उक्त रकममध्ये रु नौ अर्ब ९० करोड मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) बाट अनुदान लिइने र बाँकी रु तीन अर्ब ४५ करोड १८ लाख आन्तरिक स्रोतबाट व्यहोर्ने अनुमान गरिएको थियो ।

तर एमसिए–नेपालले बजेट खर्च  नगरेपछि आन्तरिक स्रोतबाट व्यहोर्ने भनिएको रकममा पनि करिब ५८ प्रतिशत बजेट अर्थ मन्त्रालयलाई फिर्ता गरिएको छ ।

चालु आर्थिक वर्षमात्र नभई गत आर्थिक वर्षमा पनि एमसिए नेपालको खर्च निकै कमजोर थियो । एमसिए–नेपालले गत आर्थिक वर्षका लागि पाएको कूल बजेटको करिब ३० प्रतिशत मात्रै खर्च गरेपछि बाँकी ७० प्रतिशत बजेट फिर्ता गरेको थियो ।

एमसिए नेपालअन्तर्गतका परियोजनामा खर्च गर्नेगरी गत आर्थिक वर्षका लागि सरकारले रु १० अर्ब ८४ करोड १७ लाख बजेट विनियोजन गरेकामा रु सात अर्ब ६० करोड ७० लाख फिर्ता गरिएको थियो । विद्युत् प्रसारणलाइन निर्माणका लागि आवश्यक पर्ने जग्गाको मुआब्जा वितरण र अधिग्रहणको काम सुस्त भएपछि लक्ष्यअनुसार बजेट खर्च हुन नसकेको हो ।

इरानको बन्दरगाहमा विस्फोटमा परी कम्तिमा १८ जनाको मृत्यु

तेहरान । इरानको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाहमा भएको विशाल विस्फोटपछि कम्तीमा १८ जनाको मृत्यु र अन्य आठ सय जना घाइते भएको एक दिनपछि आइतबार आगो अझै लागिरहेको सरकारी सञ्चार माध्यमले जनाएको छ ।

विश्वको तेल उत्पादनको पाँचौँ भाग हुने होर्मुज जलडमरुमध्य नजिकै दक्षिणी इरानको शहीद रजाई बन्दरगाहमा शनिबार विस्फोट भएको थियो ।

बन्दरगाहको भन्सार कार्यालयले राज्य टेलिभिजनद्वारा प्रसारित विज्ञप्तिमा विस्फोट सम्भवतः खतरनाक र रासायनिक सामग्री भण्डारण डिपोमा लागेको आगोबाट भएको बताएको छ ।

सुरक्षा मामिलामा छलफल गर्न नाम नछाप्ने सर्तमा न्युयोर्क टाइम्सले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्ससँग सम्बन्ध राख्ने एक व्यक्तिलाई उदृत गर्दै मिसाइलका लागि ठोस इन्धनको एक प्रमुख सामग्री सोडियम पक्र्लोरेटका कारण विस्फोट भएको बताएको छ ।

इरानी राज्य टेलिभिजनले आइतबार १८ जना मारिएको र आठ सय घाइते भएको अद्यावधिक तथ्याङ्क दिएको छ । घटनास्थलबाट लाइभ फुटेजमा अझै पनि बाक्लो कालो धुवाँ देखिन्छ ।

चीनको सरकारी प्रसारक सिसिटिभीले बन्दर अब्बास वाणिज्य दूतावासलाई उद्धृत गर्दै तीन चिनियाँ नागरिक ‘हल्का घाइते’ भएको बताएको छ ।

फार्स न्युज एजेन्सीका अनुसार विस्फोट यति शक्तिशाली थियो कि यो लगभग ५० किलोमिटर (३० माइल) टाढाबाट महसुस र सुनिएको थियो ।

इरनाका तस्बिरहरूले तेहरानबाट एक हजार किलोमिटर दक्षिणमा रहेको शाहिद रजाईमा भएको विस्फोटपछि भग्नावशेषले ढाकिएको फराकिलो मार्गमा हिँडिरहेका उद्धारकर्ताहरू र बाँचेका व्यक्तिहरू देखाइएको छ ।

ज्वालाले एउटा ट्रक ट्रेलरलाई घेरेको थियो र रगतले कुच्चिएको कारको छेउमा दाग लागेको थियो भने एउटा हेलिकप्टरले थुप्रिएका शिपिङ कन्टेनरहरूको पछाडिबाट बाक्लो कालो धुवाँका बादलहरूमा पानी खसालिरहेको थियो ।

स्थानीय आपत्कालीन सेवाहरूलाई उदृत गर्दै सरकारी टेलिभिजनले ‘सयौँलाई नजिकका मेडिकल सेन्टरहरूमा स्थानान्तरण गरिएको’ बताएको छ भने प्रान्तीय रक्त प्रतिस्थापन केन्द्रले दानका लागि आह्वान गरेको छ ।

इरानी राष्ट्रपति मसुद पेजेस्कियनले घातक विस्फोटका पीडितहरूप्रति सहानुभूति व्यक्त गर्दै ‘स्थिति र कारणहरूको अनुसन्धान गर्न आदेश जारी गरेको’ बताए ।

घटनास्थलमा पछि गृहमन्त्री इस्कन्दर मोमेनीले राज्य टिभीलाई भने, “अन्य सहर र तेहरानबाट सबै स्रोतहरू पठाइएको छ ।”

भ्यानकुभर महोत्सवमा भीडमा चालकले गाडी हुइँक्याउँदा धेरैको मृत्यु

मन्ट्रियल । शनिबार क्यानाडाको भ्यानकुभर सहरमा एक सडक महोत्सवमा एक चालकले भीडमा गाडी हुइँक्याउँदा धेरै मानिस मारिएका प्रहरीले जनाएको छ ।

अधिकारीहरूका अनुसार यो घटना शनिबार साँझ ८ बजे (आइतबार ०३०० जिएमटी) तिर भ्यानकुभरको सनसेट अन फ्रेजर छिमेकमा भएको थियो । त्यहाँ फिलिपिनो समुदायका सदस्यहरू लापु लापु दिवस मनाउन भेला भएका थिए ।

सोह्रौं शताब्दीका फिलिपिनो उपनिवेश विरोधी नेताको सम्झनामा मनाइने यो पर्व यस वर्ष क्यानाडाको निर्वाचनअघिको सप्ताहन्तमा परेको छ ।

प्रधानमन्त्री मार्क कार्नीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्टमा उहाँ ‘भयानक घटनाहरू’ बाट ‘निराश’ भएको बताए ।

“म मारिएका र घाइतेहरूका प्रियजनहरू, फिलिपिनो क्यानाडाली समुदाय र भ्यानकुभरका सबैलाई गहिरो समवेदना प्रकट गर्दछु”, उनले भने, “हामी सबै तपाईंसँग शोकमा छौँ ।”

भ्यानकुभर प्रहरीका अनुसार धेरै मानिस मारिएका छन् र अन्य धेरै घाइते छन् । “चालक हिरासतमा छ”, प्रहरीले एक्समा भन्यो ।

क्यानाडाली प्रसारक सिबिसीद्वारा प्रकाशित तस्बिरहरूले घटनास्थलमा आपत्कालीन कर्मचारीहरूका साथै शनिबार सुरुमा ब्लक पार्टीमा ठूलो भीड देखाएको छ ।

महोत्सवका सुरक्षा गार्ड जेन इडाबा–कास्टानेटोले स्थानीय समाचार साइट भ्यानकुभर इज अवसमलाई ‘जताततै शवहरू’ देखेको बताए । “यहाँ वा त्यहाँ कसलाई सहयोग गर्ने भन्ने तपाईँलाई थाहा छैन । यो निकै चकित पार्ने कुरा हो”, उनले भने ।

भारत र पाकिस्तानी सेनाबीच काश्मीरमा गोली हानाहान

श्रीनगर । आणविक शक्ति सम्पन्न प्रतिद्वन्द्वीहरूबीचको सम्बन्ध वर्षौंदेखिको सबैभन्दा निम्न स्तरमा झरेको बेला पाकिस्तान र भारतका सेनाहरूले विवादित काश्मीरमा लगातार तेस्रो रातसम्म गोली हानाहान गरेको अधिकारीहरूले आइतबार बताएका छन् ।

भारतले पाकिस्तानमाथि विवादित मुस्लिम बहुल काश्मीरमा एक चौथाइ शताब्दीदेखि नागरिकहरूमाथि भएको सबैभन्दा खराब आक्रमण गर्ने बन्दुकधारीहरूलाई ‘सीमापार आतङ्कवाद’ समर्थन गरेको आरोप लगाएको छ ।

इस्लामावादले कुनै पनि संलग्नतालाई अस्वीकार गरेको छ र पाकिस्तानलाई आक्रमणसँग जोड्ने प्रयासहरूलाई ‘तुच्छ’ भन्दै कुनै पनि भारतीय कारबाहीको जवाफ दिने प्रतिज्ञा गरेको छ ।

भारतीय सुरक्षा बलहरूले अप्रिल २२ मा पहलगाममा पर्यटकीय स्थलमा २६ पुरुषको हत्या गर्नेहरूको ठूलो खोजी अभियान सुरु गरेका छन् र प्रहरीले फरार बन्दुकधारीहरूमध्ये दुई पाकिस्तानी नागरिकको नाम दिएको छ ।

भारतीय सेनाले आइतबार दुई देशलाई विभाजन गर्ने नियन्त्रण रेखा (एलओसी) मा ‘पाकिस्तानद्वारा सुरू गरिएको’ साना हतियारहरूको ‘अनावश्यक’ गोली हानाहान भएको जनाएको छ । ‘(हाम्रा) आफ्नै सैनिकहरूले उपयुक्त साना हतियारहरूको गोलीबारीसहित प्रभावकारी ढङ्गले जवाफ दिए’, भारतीय सेनाले भनेको छ ।

पाकिस्तानले अहिलेसम्म पछिल्लो गोलीबारीको पुष्टि गरेको छैन । आक्रमणपछि नयाँदिल्लीले पानी बाँडफाँट सन्धि स्थगित गरेको छ, पाकिस्तानसँगको मुख्य भूमि सीमा क्रसिङ बन्द गर्ने घोषणा गरेको छ, कूटनीतिक सम्बन्ध कम गरेको छ र पाकिस्तानीहरूका लागि भिसा फिर्ता लिएको छ ।

जवाफमा इस्लामाबादले भारतीय कूटनीतिज्ञ र सैन्य सल्लाहकारहरूलाई निष्कासन गर्न आदेश दिएको छ, सिख तीर्थयात्रीहरू बाहेक भारतीय नागरिकहरूका लागि भिसा रद्द गरेको छ र आफ्नो तर्फबाट मुख्य सीमा क्रसिङ बन्द गरेको छ ।

संयुक्त राष्ट्रसंघले कट्टर प्रतिद्वन्द्वी भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ देखाउन आग्रह गरेको छ ताकि मुद्दाहरू ‘अर्थपूर्ण आपसी संलग्नताको माध्यमबाट शान्तिपूर्ण रूपमा समाधान गर्न सकियोस् ।’

पोखरा विमानस्थल निर्माणमा अनियमितता गर्नेमाथि कारबाही गर्न सरकारसँग रास्वपाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद गणेश पराजुलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको तथ्य बाहिर आएको भन्दै त्यसमा संलग्नलाई कारबाही गर्न माग गरेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद पराजुलीले विमानस्थल निर्माणका क्रममा १० अर्बभन्दाबढी भ्रष्टाचार भएको तथ्य बाहिर आएको भन्दै कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।

उनले भने, ‘२२ अर्ब ऋण सम्झौता लागतमा निर्माण भएको विमानस्थलमा १० अर्बभन्दा बढी भ्रष्टाचार भएको विषय संसद्को लेखा समितिको उपसमितिले उजागर गरेको तथ्य बाहिर आएको छ । हिम्मत छ प्रधानमन्त्रीज्यू, त्यसमा संलग्नलाई कारबाही गर्न ?’

सांसद पराजुलीले विमानस्थल निर्माणमा भ्रष्टाचार भएको विषयले नेपाल अन्तर्राष्ट्रिय जगतमै दुर्गन्धित भएको बताए । उनले प्रधानमन्त्रीले भ्रष्टाचार गर्न नदिने वाचा गर्दै आएको भएपनि यो प्रकरणले उल्टो देखाएको बताए ।

उनले भने, ‘अब नाकैमुनि भएको भ्रष्टाचारको गन्धले संसार दुर्गन्धित हुँदा पनि भ्रष्टाचार आफू पनि गर्दिन र गर्न पनि दिन्न भन्दै कार्यकर्ताको आँखामा छारो हालिरहने कि ?’

हृदयन्द्रलाई श्री ५ बनाउने राप्रपाले पशुपतिशम्सेरलाई पनि न्याय दिनुपर्छः सांसद रिजाल

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीले राजा फर्काउन भए पशुपतिशम्सेर राणालाई श्री ३ बनाएर फर्काउन प्रस्ताव गरेको छ ।

आइतबारको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले यस्तो प्रस्ताव राखेका हुन् । उनले पूर्वराजालाई फर्काउने भए पशुपतिशम्सेर पनि न्याय दिनुपर्ने बताए ।

उनले भने, ’ज्ञानेन्द्रको नाती हृदयन्द्रलाई श्री ५ बनाएर फर्काउने भए मोहनशमशेरको नाती पशुपतिशमशेर जंगबहादुर राणालाई श्री ३ फर्काउँ । राप्रपाले उहाँलाई पनि न्याय गर्नुपर्यो ।’

उनले अहिले आएर जनताको प्रतिनिधिले बिदा गरेको श्री ५ फर्किन्छ भने सम्झौताका आधारमा विदा गरेको श्री ३ किन फर्किँदैन? भन्ने प्रश्न गरे ।

उनले त्रिभुवन, नेहरु र मोहनशमशेरको बीचमा सम्झौताबाट नेपालबाट श्री ३ बिदा भएको र २०६५ साल जेठ १५ गते जनताको निर्विचत संविधान सभामार्फत नेपालबाट श्री ५ समाप्त भएको बताए ।

शिक्षक आन्दोलनप्रति सरकार अनुदार देखियोः सांसद केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले शिक्षक आन्दोलनप्रति सरकार अनुदार देखिएको बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद केसीले लाखौं विद्यार्थीको भविष्य अन्यौलमा पर्दासमेत सरकार र शिक्षकहरुले आफ्नो दायित्व नबुझेको बताएका हुन् ।

उनले सरकारको निर्णयबाट पूरा हुने माग तत्काल पूरा गर्ने र निश्चित समयसीमामा ऐन जारी गर्ने गरी सहमतिमार्फत निकास निकाल्न आग्रह गरे ।

उनले भने, ‘चैत २० देखि देशभरका शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा छन् । लाखौँ विद्यार्थीको भविष्य र अभिभावकको पीडामाथि सरकार सुतुरमुर्गजस्तो टाउको लुकाएर बस्नु दुखःद हो । शिक्षकले पनि आफ्नो दायित्व बुझ्न जरुरी छ ।’

उनले यस विषयमा नभए गम्भीर परिणामको जिम्मेवार सरकार नै बन्नुपर्ने चेतावनी दिए ।

पूर्वराजाको संवाद सचिवालयले संविधान विपरीत समवेदना सन्देश निकालेको भन्दै कारबाही गर्न एमालेको माग

काठमाडौँ । नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहको संवाद सचिवालयले श्री ५ महाराजाधिराज भनि विज्ञप्ति जारी गरेको भन्दै आपत्ति जनाएको छ ।

आइतबारको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सांसद ठाकुर गैरेले पूर्वराजाको संवाद सचिवालयले श्री ५ महाराजधिराज भनि पूर्वराजालाई सम्बोधन गरी विज्ञप्ति जारको भन्दै आपत्ति जनाएका हुन् ।

उनले कानुनी राज्य र संविधानको उपहास गर्ने संवाद सचिव डा.पाठक र पूर्वराजा शाहलाई कानुन अनुसार तत्काल कारबाही गर्न माग गरेका छन् । गैरेले भने, ‘नेपालको संविधानमा श्री ५ महाराजाधिराज भन्ने शब्द कहाँ छ ? कानुनी राज्यको उपहास गर्न पाइन्छ कि पाइँदैन । नपाइने भए संवाद सचिव डा.पाठक र पूर्वराजा ज्ञानेन्द्र शाहलाई तत्काल कारबाही गरियोस् ।’

पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको जम्मु कश्मीरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणप्रति गहिरो दुःख व्यक्त गरेको विज्ञप्तिमा श्री ५ महाराजधिराज उल्लेख गरिएको छ ।

कुन सहमहामन्त्रीको छोराले रक्सी चोरेको हो, प्रमाणित गर्न लिङ्देनलाई कांग्रेसको चुनौती

काठमाडौं । नेपाली कांग्रेसले भाटभटेनी सुपरमार्केटबाट कांग्रेस सहमहामन्त्रीका छोराले रक्सी चोरेको प्रमाण पेश गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग माग गरेको छ ।

आइतबारको प्रतिनिधिसभा बैठकमा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले आफ्नो अभिव्यक्तिको प्रमाण पेश गर्न राप्रपा अध्यक्ष लिङ्देनलाई आग्रह गरेका हुन् । बैठकमा घिमिरेले आफ्नो पार्टीका आठ जना सहमहामन्त्री रहेका र कसको छोराले चोरेको हो, त्यसको प्रमाण पेश गर्न आग्रह गरे ।

उनले भने, उनले भने, ‘कुन सहमहामन्त्रीको कुन चाहिँ छोरोले रक्सिको बोत्तल बोकेर हिँड्नुभएको हो त्यो प्रमाण पेस गर्नुपर्छ । होइन भन्ने उहाँको भनाइ रेकर्डबाट हटाउनुपर्छ ।’

लिङ्देनले शुक्रबारको प्रतिनिधिसभा बैठकमा भाटभटेनीमा रक्सी चोर्नेमा कांग्रेस सहमहामन्त्रीका छोरा पनि रहेको प्रमाण आफूहरूसँग रहेको बताएका थिए ।

राप्रपा अध्यक्ष लिङ्देनले भाटभटेनी सुपरमार्केटबाट कांग्रेस सहमहामन्त्रीका छोराले रक्सी चोरेको र प्रहरीले पक्राउ गरी पछि छाडेको बताएका थिए । अध्यक्ष लिङ्देनले त्यसको प्रमाण आफूसँग भएको समेत बताएका थिए ।

सुनको मूल्य तोलाको एक लाख ८९ हजार ७ सय रुपैयाँ

काठमाडौँ । आइतबार बजारमा सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ७०० कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोही परिमाणको चाँदी एक हजार ९९० मा खरिदबिक्री भइरहेको छ ।

गत शुक्रबार एक तोला सुन एक लाख ८९ हजार ६०० मा कारोबार भएको थियो भने त्यति नै परिमाणको चाँदी दुई हजारमा किनबेच भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔंस सुन तीन हजार ३१८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

लालपुर्जा पाएपछि धार्चेका भूमिहीन दलित परिवार खुसी

गोरखा। धार्चे गाउँपालिकाले भूमिहीन दलित परिवारलाई शनिबार जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरेको छ ।

गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले भूमि समस्या समाधान आयोग जिल्ला समिति मार्फत भूमिहीन दलित परिवारलाई लालपुर्जा उपलब्ध गराइएको जानकारी दिए । मङ्गले बिक, राजु विक ,आइतसिंह कामी र रामबहादुर कामीलाई जग्गाको पुर्जा प्रदान गरिएको हो ।

विसं २०८० चैतमा नै गाउँपालिकाले आयोगसँग समन्वय गरी भूमिहीन दलितलाई पुर्जा वितरणको अन्तिम तयारी गरेको भए पनि सरकारले तत्कालीन आयोग खारेज गरेपछि पुर्जा वितरणको काम झन्डै डेढ वर्षदेखि रोकिँदै आएको थियो ।

गाउँपालिकामा भूमिहीन सुकुम्बासीको भने कुनै निवेदन नपरेको गाउँपालिकाका अध्यक्ष गुरुङको भनाइ छ । धार्चेमा अव्यवस्थित बसोबासी भने दुई सय ५० भन्दा बढीको निवेदन परेको र उनीहरूलाई जग्गाधनी पुर्जा उपलब्ध गराउनका निम्ति आवश्यक प्रक्रिया अघि बढाएको जनाइएको छ ।

गण्डकी प्रदेशसभाका सदस्य नन्दप्रसाद न्यौपानेले दलित पविारलाई पुर्जा हस्तान्तरण गरेका हुन् । विसं २०७९ असारमा आयोगसँग गोरखाका ११ स्थानीय तहले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन प्रक्रिया अगाडि बढाउने सहमति गरेका थिए ।

वर्षौँपछि आफूले खेतीपाती गर्दै आएको जग्गाको पुर्जा पाएपछि धार्चेका भूमिहीन दलित परिवार खुसी भएका छन् ।

‘आफ्नो नाममा जग्गाको पुर्जा नपाई मरिन्छ कि भन्ने लागेको थियो,’ भूमिहीन दलितमध्येका एक आइतसिंहले भने, ‘गाउँपालिकाले पहल गरेर पुर्जा आफ्नै नाममा दिनुभयो, धेरै खुसी लागेको छ ।’

जुम्लामा मह उत्पादनको तथ्याङ्क राखिने

जुम्ला। जुम्लाको कनकासुन्दरी गाउँपालिका-१का मौरीपालक किसानलाई सीपमूलक तालिमसहित आवश्यक सामग्री वितरण गरिएको छ ।

दस जना मौरीपालक किसानलाई पाँचदिने तालिम सहित आवश्यक सामग्री वितरण गरिएको कनकासुन्दरी –१ का वडाध्यक्ष भीमबहादुर भण्डारीले जानकारी दिए ।

उनले भने, ‘वडाको रु एक लाख बजेटबाट मौरीपालनबाट जीविकोपार्जन गर्ने किसानलाई उक्त तालिम दिएको हो । यी गाउँहरू मह उत्पादनमा यहाँका स्थानीय तहका गाउँभन्दा अगाडि रहेको छ ।’

वडालाई मौरी पकेट क्षेत्र घोषणा गरिने छ । वडाभर अहिले पाँच सय चार मौरीघार रहेको वडाध्यक्ष भण्डारीको भनाइ छ ।

कर्णाली मौरीपालन सहकारी संस्था लिमिटेडका जिल्ला सचिव नारायण चौलागाईँले गुणस्तरीय मह उत्पादनका अवसर, चुनौती, प्रशोधन, लेबलिङ र प्याकेजिङमा मौरीपालक किसानको भूमिकाबारे तालिमका सहभागीलाई सिकाएको जानकारी दिए । आत्मनिर्भर बन्न व्यावसायिक सीपमूलक तालिमको अतिआवश्यक रहेको कनकासुन्दरी गाउँपालिका–१ मौरीपालक किसान चन्द्रबहादुर भण्डारीले जानकारी दिए ।

जिल्लामा ‘सेराना’ जातको मौरी पालिन्छ । यहाँका आठवटै स्थानीय तहका किसानले पछिल्लो समय मौरीपालनमा आकर्षित हुन थालेका छन् । कर्णाली मौरीपालन सहकारीका अनुसार जिल्लामा आठ हजार बढी मौरीघार छन् । जिल्लामा मह उत्पादनको तथ्यांक राख्न सकिएको छैन । अब आउने आर्थिक वर्षमा यहाँका सबै स्थानीय तहबाट उत्पादन हुने महको सही तथ्यांक संकलन गरिने कर्णाली मौरीपालन सहकारी संस्थाले जनाएको छ । यहाँको चन्दननाथ नगरपालिका–२ खोलीकोटका रामकृष्ण बुढ्थापा २०५२ सालदेखि अहिलेसम्म मौरीपालनमा सक्रिय छन् । दुई घारबाट व्यवसाय सुरु गरेका बुढ्थापाले अहिले एक सय ५० मौरी घार छन् ।

पछिल्ला वर्षहरूमा रोग, कीरा र जङ्गली जनावरबाट मौरी बचाउन नसकेको बताए । जिल्लामा हिउँदमा प्रायः चिसोले मौरी मर्ने गरेका छन् । पछिल्लो वर्षमा परागसेचन गर्ने (मौरीले मह बनाउने याम) जेठदेखि साउनमा मर्न थालेपछी मौरीका घार घट्दै गएका छन् ।

कम लगानीमा बढी आम्दानी लिन सकिने भए पनि समयानुकूल घार नहुनु, उपकरण प्राप्त नहुनु, सीप प्रविधिको कमी, विषादीको प्रयोग, चरन क्षेत्रको अभाव, वनजङ्गल नासिँदै जानु, जलवायु परिवर्तनजस्ता कारणले मोरीपालक किसानले चुनौती भोग्नुपरेको मौरीपालन किसान बुढ्थापाको भनाइ छ ।

शिक्षकहरुलाई राजीनामा दिन ‘नधम्क्याउन’ स्थानीय तहहरूलाई महासंघको आग्रह

काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर आन्दोलनरत शिक्षकहरूलाई नधम्क्याउन स्थानीय तहहरुलाई आग्रह गरेको छ ।

आइतबार महासंघले विज्ञप्ति जारी गरी काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी भएका शिक्षकहरुलाई धम्क्याउने, सरुवा गर्ने र राजीनामा दिन दबाब दिनेजस्ता कार्य कतिपय स्थानीय तहबाट भएको सूचना आइरहेको भन्दै त्यसो नगर्न आग्रह गरेको हो ।

महासंघको विज्ञप्तिमा भनिएको छ, संविधान प्रदत्त सामूहिक सौदावाजीको अधिकार उपयोगप्रति सम्मान गरी यस्ता कार्य नगर्न÷नगराउन सबै स्थानीय तहहरूलाई आग्रह गर्दे यो परिस्थितिबाट विचलित नहुन सबै शिक्षक–कर्मचारी साथीहरूमा अनुरोध गर्दछौँ।’

बार्सिलोनालाई कोपा डेल रे कपको उपाधि

काठमाडौं । बार्सिलोनाले कोपा डेल रे कपको उपाधि जितेको छ। आइतबार बिहान भएको फाइनलमा बार्सिलोनाले रियल म्याड्रिडलाई अतिरिक्त समयमा ३–२ को अन्तरले हराएको हो ।

९० मिनेटको खेल २–२ को बराबरीमा सकिएपछि खेल पेनाल्टीतर्फ जाने देखिएको थियो, तर बार्सिलोनाका डिफेन्डर जुल्स कुन्डेले २२ यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै टोलीलाई उपाधि जिताएका हुन् ।

२८ औँ मिनेटमा पेड्रीको सानदार गोलमा बार्सिलोना अघि बढेको थियो । खेलमा केलिएन एम्बाप्पेले फ्रिकिकमा गोल गर्दै रियललाई खेलमा फर्काएका थिए। त्यसको सात मिनेटपछि नै एसियल थाउचेमेनीले रियलका लागि गोल गरेका थिए ।

मेरा लागि जन्मभूमि नै आमाको प्रतिरुप बन्योः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना लागि जन्मभूमि नै आमाको प्रतिरुप बनेको बताएका छन् । मातातीर्थ औंसीका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले आफ्नो स्मृतिमा आमाको अनुहार त्यति स्पष्ट नभएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीले भनेका छन्, ‘मेरो स्मृतिमा आमाको अनुहार त्यति स्पष्ट छैन, किनभने चार वर्षको नहुँदै मैले आमाको न्यानो काख गुमाएँ। मेरो लागि जन्मभूमि नै आमाको प्रतिरूप बन्यो । आज मातातीर्थ औंसी, आमाको मुख हेर्ने दिन। आमाको मुहार धमिलो सम्झनामा आइरहेछ । यस पावन दिनमा सम्पूर्ण आमाप्रति हार्दिक श्रद्धा र सम्मान व्यक्त गर्दछु । आमा पृथ्वीको प्रत्यक्ष स्वरूप हुनुहुन्छ। सबैमा आमाप्रतिको समर्पण र कृतज्ञताको भावना अझ प्रगाढ बनोस्।’

आमाको मुख हेर्ने दिन मातातीर्थमा मेला(फोटोफिचर)

काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ ।

शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा आमाबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ ।

छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।

सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा आज मेला लागेको छ ।

तस्बिरः हरिराम भेटुवाल/रासस

सरकारसँगको छलफल निष्कर्ष उन्मुख छैनः शिक्षक महासंघ

काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारसँग चलिरहेको वार्ता निष्कर्ष उन्मुख नभएको बताएको छ । महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आइतबार बिहान सामाजिक संजालमार्फत सरकारसँग अनौपचारक वार्ता चलिरहे पनि अझै निष्कर्ष उन्मुख नरहेको बताएका हुन् ।

उनले भनेका छन्, ‘राज्य पक्षसँग अनौपचारिक छलफल चलिरहेका छन् तर अझै ती निष्कर्ष उन्मुख हुन सकेका छैनन् । त्यसैले अन्तिम धक्का दिन सडक प्रदर्शन अझै बलियो हुन आवश्यक छ ।’

उनले आन्दोलन लम्बिदै जाँदा बाधा अड्चन बढेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘आन्दोलन लम्बिदै जाँदा बाधा र अड्चन बढेका छन् । त्यससँग लड्दै आन्दोलनमा डटिरहन सबै साथीहरुमा अनुरोध छ । पेसाकर्मीसँग भएको हतियार नै सामूहिक र सङ्गठित लडाई हो ।’

उनले आन्दोलनमा आफ्नो सक्रिय सहभागितााका लागि काठमाडौं आउन शिक्षकहरुलाई अनुरोध गरेका छन् । शिक्षामन्त्री र महासंघका पदाधिकारीबीच शनिबार बिहान मन्त्रालयका वार्ता भएको थियो ।

वार्तामा महासंघका पदाधिकारीले आफूहरु मागबाट टसमस गर्ने अवस्थामा रहेको जानकारी गराएका थिए । चैत २० देखि काठमाडौं केन्द्रित आन्दोलनमा रहेका शिक्षकहरुको माग सम्बोधन नहुँदा सामुदायिक विद्यालयको पठनपाठन अन्यौल भएको छ ।

डोल्पामा एकाविहानै भूकम्प

काठमाडौं । डोल्पामा भूकम्प गएको छ । आज बिहान ३ बजेर ६ मिनेट जाँदा ४ म्याग्निच्युडको भूकम्प गएको हो । डोल्पाको कान्जिरोवा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

पछिल्लो सयम विभिन्न जिल्लामा निरन्तर भूकम्प गइरहेको छ । वैशाख १२ मा सिन्धुपाल्चोक केन्द्र भएर भूकम्प गएको थियो ।

पूर्वराजाद्वारा पहलगाममा हिन्दूमाथिको आक्रमणको निन्दा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको जम्मु कश्मीरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

शाहले शनिबार विज्ञप्ति जारी गरी उक्त आक्रमणमा धेरै हिन्दू यात्रीहरूको ज्यान गएको घटनाले आफू अत्यन्त दुःखी भएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘हालै हाम्रो छिमेकी मित्रराष्ट्र भारतको जम्मु कश्मीर पहलगाममा भएको आतंककारी आक्रमणका कारण धेरै हिन्दूवादी यात्रीहरूको दुःखद् निधन भएकोमा हामीलाई अत्यन्त दुःख लागेको छ । यो घटनामा परी ज्यान गुमाएका एक नेपाली सहित सबै दिवंगत आत्माप्रति हाम्रो भावपूर्ण श्रद्धाञ्जली । साथै मृतकजनका सबै शोकसन्तप्त परिवारमा हाम्रो आत्मीय समवेदना ।’

‘वसुधैव कुटुम्बकम्’ को आदर्श विपरीत यस्ता अपराध हुनु पाप कर्म रहेको शाहले बताएका छन् । यस्तो घटनाको विश्वव्यापी भत्र्सना र निन्दा हुनुपर्ने आफ्नो धारणा रहेको पूर्वराजाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

सहकारी ठगी प्रकरण : फरार कांग्रेस सांसद राई पक्राउ

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छिन् । प्रहरीले शनिबार साँझ राईलाई कपनस्थित आफ्नै घरबाट पक्राउ गरेको हो ।

सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी हुँदा पनि राई लामो समयदेखि फरार थिइन् ।

कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन उनीमाथि सिफारिस गरिएको थियो ।

बौद्धिक सम्पत्ति सुरक्षाका लागि नीतिगत सुधार गर्नुपर्छः मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बौद्धिक सम्पत्ति सुरक्षाको लागि नीतिगत सुधार गर्नुपर्ने बताएका छन् ।

विश्व बौद्धिक सम्पत्ति दिवसका अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभाग तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, प्रतिलिपि अधिकार राजिष्टारको कार्यालयले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले बौद्धिक सम्पत्ति र मौलिक कला संस्कृतिहरूको संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले प्रतिलिपि अधिकारको सुरक्षामा सरकारले भूमिका निर्वाह गर्ने बताए ।
बौद्धिक सम्पत्ति संरक्षणका विषयमा जनचेतना अभिवृद्धि गर्नुपर्ने बताउँदै उनले नेपालका मौलिक तथा सांस्कृतिक परम्पराहरूको संरक्षण गर्नुपर्नेमा जोड दिए । देशको गहनाका रूपमा चिनिने नेपाली सर्जकहरूले गरेका सृजनाको चोरी गरी आफ्ना नामबाट प्रकाशन÷प्रसारण गर्नेलाई सरकारले कारबाही गर्ने बताए । उनले नेपालका पुराना लोक कला संस्कृति, मौलिक ज्ञान, सङ्गीत कला र सिर्जनाको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्द बहादुर कार्कीले बौद्धिक सम्पत्ति दुरुपयोगका विषयमा सम्बन्धित व्यक्तिहरू नै अनविज्ञ रहेको हुनु नै समस्याको विषय भएको बताए । उनले यस सम्बन्धीका पुराना कानुनहरू संशोधन गर्नुपर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले औद्योगिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्ने गरी राज्यको भूमिका बढाउनु हुनु पर्ने बताए ।

बौद्धिक सम्पत्ति सङ्गठनबारे पर्याप्त ज्ञानको अभावले पनि यसको संरक्षणमा चुनौती थपिने गरेको उल्लेख गर्दै अध्यक्ष ढकालले कतिपय ट्रेडमार्कका विषयमा विवादहरू आउने गरेकोले यसको समाधानमा जोड दिनु पर्ने बताए । उनले ट्रेडमार्क तथा पेटेन्टका विषयमा पर्ने उजुरी र यसको सुनुवाइको प्रक्रियालाई सरल सहज र छिटो गर्नु पर्ने बताए ।

“नेपालको कानुनले पनि बौद्धिक सम्पत्तिलाई कानुनमा सुरक्षित गरिएको छ । जसले पेटेन्ट, प्रतिलिपि अधिकार र ट्रेडमार्कहरूलाई सुरक्षित राख्न सहयोग गरेको छ । यस्ता कार्यक्रमले बौद्धिक सम्पत्तिका विषयमा जनचेतना अभिवृद्धिमा ठुलो सहयोग पुग्ने छ । ”उनले भने ।

उनले गीत सङ्गीत क्षेत्र मनोरञ्जन उद्योगका रूपमा विकास हुँदै आएको अवस्थामा सर्जकहरूले सिर्जनाको संरक्षण आवश्यक रहेको बताए ।

उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले अर्थतन्त्रको उन्नति र आर्थिक समृद्धिका लागि औद्योगिक सम्पत्ति महत्त्वपूर्ण भए तापनि यो विषय छायामा परेको बताए । उनले पुरानो कानुन र सरोकारवालको चेतना न्यून रहेको बताए ।

Trademark प्रशासन अप्ठ्यारो र जटिल हुँदा पनि जनशक्तिको स्थिरता, विज्ञता र अनुभव कायम गर्नु चुनौतीपूर्ण रहेको उनको भनाई छ । विभागले पछिल्लो समयमा एकीकृत दर्ता गर्ने व्यवस्थालाई कार्यान्वयनमा ल्याएको र उजुरी फछ्र्यौटमा तीव्रता दिएको महानिर्देशक ज्ञवालीले बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले कलात्मक कार्य र सिर्जनाको संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । उनले बौद्धिक सम्पत्ति साँझा चासोका विषय भएको बताउँदै यसको विषयमा सबैको चासो र सरोकार रहनुपर्ने बताए । हाम्रा परम्परागत संस्कृति, मौलिक ज्ञान, सङ्गीत कला र सिर्जनाको संरक्षण प्रवद्र्धन मार्फत आर्थिक विकास गर्न सकिनेमा जोड दिए ।
विश्व बौद्धिक सम्पत्ति सङ्गठनले पहिलो विश्व आइपि दिवस २००१ मा मनाउन थालिएको थियो । विश्व बौद्धिक सम्पदा सङ्गठनले हरेक वर्ष विभिन्न फरक फरक नारा तय गरेर यो दिवस मनाउँदै आइरहेको सन्दर्भमा यो वर्ष IP and music feel the beat of IP नारा तय गरेको छ ।

मुलुकमा केही भएन भन्ने भाष्य चिर्नुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकारिता क्षेत्रले मुलुकमा केही भएन भन्ने भाष्यलाई चिर्दै केही भइरहेको छ भन्ने बाटोमा डोर्याउनुपर्ने बताएका छन् ।

नेपाल रिपब्लिक मिडियाले शनिबार काठमाडौमा आयोजना गरेको १६ औं नागरिक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘पत्रकारिता क्षेत्रको काम भनेको केही भएन मात्र भन्ने होइन, केही भइरहेको छ भन्ने देखाइदिने पनि हो । यसरी काम गर्न सकिन्छ भनेर उदाहरण दिने पनि हो । यो कार्यक्रम त्यसैतर्फ केन्द्रित रहेकोमा मलाई खुसी लागेको छ ।’

उनले वर्तमान समयमा लोकप्रियतावाद हावी भएको भन्दै प्रशंसा मात्र खोज्ने प्रवृत्ति बढ्यो भने सत्य थाहा नहुने बताए । उनले भने, ‘वर्तमान समयमा लोकप्रियतावाद हावी भएको छ । प्रशंसा मात्र खोज्ने प्रवृत्ति बढ्यो भने सत्य थाहा हुँदैन । त्यसैले सजग प्रेसले सदैव सही सत्य सूचना प्रवाह गर्छ र त्यसले लोकतन्त्रका नागरिकको आलोचनात्मक चेतलाई विस्तारित गर्न सक्छ ।’

राष्ट्रपति पौडेलले बिपी कोइरालाले आफू प्रधानमन्त्री भएका बेला त्यसबेलाका पत्रकारहरूलाई बोलाएर पत्रिका निकाल्न र सरकारकोनिरन्तर खबरदारी गर्न गरेको आग्रह स्मरण गर्दै लोकतन्त्रसँंग स्वतन्त्र प्रेसको यही अन्योन्याश्रित सम्बन्धका कारण बिपीले यस्तो आग्रह गरेको बताए ।

उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा पत्रकारिता क्षेत्रको योगदानलाई कसैले कम आँक्न नसक्ने भन्दै लोकतन्त्रका निम्ति नेपाली पत्रकारहरूले आफ्नो जीवन र जीविकाको समेत पर्वाह नगरी काम गरेको उल्लेख गरे ।

जसरी लोकतन्त्र विना स्वतन्त्र, निश्पक्ष र तटस्थ पत्रकारिता सम्भव छैन त्यसरी नै स्वतन्त्र प्रेस विना लोकतन्त्रको परिकल्पना पनि गर्न नसकिने राष्ट्रपति पौडेलको भनाई थियो ।

उनले सञ्चारमाध्यम र सूचना सम्प्रेषणमा उल्लेखनीय परिवर्तन आएको उल्लेख गर्दै प्रविधिको विकाससँगै सामाजिक सञ्जाल र प्रसारणका अनेक माध्यम भित्रिएका कारण नागरिक पत्रकारिताको पक्ष पनि उत्तिकै सबल बनेको बताए ।

उनले प्रविधिको दुरुपयोग गरेर भ्रम, मिथ्या एवम् संशयपूर्ण सूचना सम्प्रेषणबाट जनतालाई दिग्भ्रमित पार्न सक्ने खतराबाट जोगाउनु जिम्मेवार आमसञ्चार माध्यमको दायित्व भएको बताए । कार्यक्रममा नन्दादेवी कुँवर, धनश्याम पाठक, पूजा महत्तोलाई नागरिक सम्ममन प्रदान गरिएको थियो ।

नेपाल सदैव आतङ्कवादको विपक्षमा छः परराष्ट्रमन्त्री राणा

काठमाडौं  । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सदैव आतङ्कवादको विपक्षमा रहेको बताएकी छन् । उनले जुनसुकै प्रकार र प्रकृतिको आतङ्कवादको कडा शब्दमा निन्दा गर्ने बताइन् ।

भारतको कश्मीरको पहलगाममा भएको आतङ्ककारी हमलामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपालस्थित भारतीय दूतावासद्वारा शनिबार आयोजित सभामा उनले नेपाल सधैँ आतङ्कवादको विरुद्धमा रहेको बताइन् । उनले नेपाल शान्तिको पक्षमा रहेको स्पष्ट पारिन् ।

‘नेपालले आतङ्कवादको सबै स्वरुप र अभिव्यक्तिहरूको कडा निन्दा गर्दछ । नेपाल जहाँ, जहिले र जुनसुकै उद्देश्यका लागि गरिने आतङ्कवादी क्रियाकलापको सदैव विपक्षमा उभिन्छ ।’

मन्त्री डा राणाले आतङ्कवादका विषयमा व्यवहार गर्दा कहिल्यै दोहोरो मापदण्ड अपनाउन नहुने बताइन् ।

नेपाल आतङ्कवाद विरुद्धको लडाइँमा भारतसँग काँधमा काँध मिलाएर उभिएको पराराष्ट्रमन्त्रीको भनाइ थियो । नेपाल र भारतबीच गहिरो सम्बन्ध रहेको स्मरण गर्दै उनले यो सम्बन्ध केवल कूटनीतिको विषय मात्र नभएर सदियौँदेखिको साझा इतिहास, संस्कृति र सहकार्य समेत रहेको बताइन् ।

‘हाम्रा खुला सिमानाहरू एकापसका विश्वासका प्रतीक हुन् र हाम्रा पारिवारिक सम्बन्धहरूले आपसमा नाता पनि गाँस्दछन् । हामी सधैँ खुशी या सङ्कटको समयमा एकसाथ उभिएका छौँ ।’ परराष्ट्रमन्त्री राणले भनिन्, ‘भूकम्पले नेपाललाई तहसनहस पार्दा सबैभन्दा पहिला सहयोगको हात अगाडि बढाएको भारतले नै हो ।’

मन्त्री डा. राणाले पहलगाम त्रासदीको शिकार भएका नेपाली युवा सुदीप न्यौपानेको शव र अन्य प्रभावितलाई नेपाल ल्याउन सहयोग गरेकोमा भारत सरकारलाई धन्यवाद दिइन् ।

मन्त्री डा. राणाले आतङ्कवादी हमलामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहेका परिवारजनमा समवेदना प्रकट गरेकी थिइन् ।

पूर्वप्रधानमन्त्री डा. भट्टराई भारत प्रस्थान

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन् ।

उनी प्रगतिशील नेपाली समाज, भारतको अधिवेशनमा अथितिका रूपमा सहभागी हुन शनिबार त्यहाँ गएको पार्टी उपाध्यक्ष मानुषी यमीले जानकारी दिइन् । आइतबारदेखि भारतको फरिदावादमा समाजको अधिवेशन सुरु हुँदैछ ।

डा भट्टराईका साथ उपाध्यक्ष एवं विदेश विभाग प्रमुख मानुषी र सचिव एवं प्रवास प्रदेशअन्तरगत भारतका ईन्चार्ज सन्देश कार्की छन् ।

बेइजिङमा नेपालको पर्यटन प्रवद्र्धन

काठमाडौँ । चीनको राजधानी बेइजिङ्मा नेपालको पर्यटन प्रवद्र्धन गरिएको छ । नेपाल पर्यटन बोर्डले बेइजिङमा आयोजित १८औँ ‘चाइना आउटबाउन्ड ट्राभल एन्ड टुरिजम मार्केट (कोटम–२०२५)’ मार्फत नेपालका पर्यटकीय गन्तव्यहरु प्रस्तुत गर्दै चिनियाँ पर्यटकलाई नेपाल भ्रमणका लागि आग्रह गरेको हो ।

यही अप्रिल २४ देखि २६ सम्म नेसनल एग्रिकल्चरल एक्जिबिसन हलमा आयोजना भएको तीनदिने प्रदर्शनीमा करिब ५० देशका पर्यटन प्रतिनिधिहरू सहभागी थिए ।

नेपालले हिमशृङ्खला, सांस्कृतिक सम्पदा र साहसिक पर्यटनका अवसरहरूलाई सङ्गठित ढङ्गले चिनियाँ बजारमा प्रस्तुत गरेको बोर्डले जनाएको छ ।

बोर्डले चिनियाँ पर्यटकहरूका लागि नेपाललाई थप आकर्षक गन्तव्यका रूपमा उजागर गर्ने उद्देश्यले नेपालका गन्तव्य प्रदर्शन गरिएको उल्लेख गरेको छ ।

कार्यक्रममा नेपालका लागि चीनस्थित नेपाली राजदूत डा कृष्णप्रसाद ओली, प्रथम सचिव मनहरी दङ्गाल र छेन्दुस्थित उप–महावाणिज्यदूत चिनामन सिंह बुढाथोकीले नेपालको स्टल अवलोकन गरेका थिए ।

उनीहरुले चिनियाँ पर्यटन व्यवसायीसँग भेटघाट गर्दै पर्यटन प्रवद्र्धन तथा आपसी सहकार्य विस्तारका विषयमा छलफल समेत गरेको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ ।

नेपालको स्टलमा परम्परागत वास्तुकला, सांस्कृतिक सम्पदा, जैविक विविधता र हिमाली दृश्यहरूलाई सुसज्जित गरी प्रदर्शन गरिएको थियो ।

साहसिक पर्यटन, प्राकृतिक भ्रमण र सांस्कृतिक अनुभवहरूका सम्भावनाहरूलाई विशेष रूपमा उजागर गरिएको थियो । यसका साथै नेपाली र चिनियाँ पर्यटन व्यवसायीहरूबीच अन्तरक्रिया हुँदै भविष्यमा सहकार्यका नयाँ सम्भावनाहरूका विषयमा छलफल गरिएको थियो ।

बोर्डको रणनीतिक उपस्थितिले चिनियाँ बजारमा नेपालको पर्यटन छवि बलियो बनाउने अपेक्षा गरिएको छ । यस सहभागिताबाट चिनियाँ पर्यटक आगमन वृद्धि, पर्यटन व्यवसायीहरूबीच दीर्घकालीन सहकार्य विकास र नेपालको पर्यटन बजारमा नयाँ अवसर सिर्जना हुने विश्वास लिइएको छ ।

चाइना आउटबाउन्ड ट्राभल एन्ड टुरिजम मार्केट (कोटम) चीनको प्रमुख बीटूबी पर्यटन प्रदर्शनी हो, जसले सन् २००५ देखि विश्वका विविध गन्तव्य र चीनका पर्यटन व्यवसायीहरूबीच सहकार्यको महत्वपूर्ण मञ्च प्रदान गर्दै आएको छ ।

बौद्धिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्नुपर्छः अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बौद्धिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्ने गरी राज्यको भूमिका बढाउनुपर्ने बताएका छन्।

विश्व बौद्धिक सम्पत्ति दिवसका अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, उद्योग विभाग, प्रतिलिपि अधिकार राजिष्ट्रारको कार्यालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले बौद्धिक सम्पत्ति (आइपी)बारे पर्याप्त ज्ञानको अभावले पनि यसको संरक्षणमा चुनौती थपिएको धारणा राखे।

अध्यक्ष ढकालले कतिपय अवस्थामा ट्रेडमार्ककका विषयमा विवादहरु आउने गरेकाले यसको समाधानमा हुनुपर्नेमा जोड दिए।

यस्तै उनले ट्रेडमार्क तथा पेटेन्टका विषयमा पर्ने उजुरी र यसको सुनुवाइको प्रक्रियालाई सरल रहज र छिटो गर्नुपर्ने बताए।

“नेपालको कानुनले पनि बौद्धिक सम्पत्तिलाई कानुनमा सुरक्षित गरेको छ। जसले पेटेन्ट, प्रतिलिपि अधिकार र ट्रेडमार्कलाई सुरक्षित राख्न सहयोग पुगेको छ, यसप्रकारका कार्यक्रमले बौद्धिक सम्पत्तिका विषयमा जनचेतना अभिवृद्धिमा ठूलो सहयोग पुग्ने विश्वास छ”, उनले भने।

उनले गीतसङ्गीत क्षेत्र मनोरञ्जन उद्योगका रुपमा विकास हुँदै आएको अवस्थामा सर्जकहरुले सिर्जनाको संरक्षण आवश्यक रहेको बताए।

विश्व बौद्धिक सम्पदा सङ्गठन (वाइपो)ले पहिलो विश्व आइपी दिवस २००१ मा मनाएको थियो। सङ्गठनले हरेक वर्ष फरक–फरक नारा तय गरी यो दिवस मनाउँदै आइरहेको छ। संङ्गठनले यस वर्ष ‘आइपी एण्ड म्युजिक फिल द बिट अफ आइपी’ नारा तय गरेको छ।

शेरबहादुरजीले सरकार ढल्दैन भनेपछि सकियोः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरु अहिले फत्रक्क गलेका टिप्पणी गरेका छन् ।

नेकपा एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्रीले त्यस्ता भ्रमको पछाडि नलागेर आफ्नो काम र ‘मिसन’मा केन्द्रित दलका सांसदहरुलाई निर्देशन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

‘सरकार बाङ्गिसक्यो । शेरबहादुरजी थाइल्याण्डबाट आइपुग्नेबित्तिकै ढल्छ भनेर भनेका थिए । मैले त भ्रम फिँजाउनेहरुका पछाडि नलाग्नुस् । आफ्नो मिसनमा लाग्नुस् भनेकै थिएँ । शेरबहादुरजीले सरकार ढल्दैन भनेपछि भ्रम फैलाउनेहरु फत्र्याक्क भएका छन्, सरकार ढल्दैन भनेपछि सकियो । त्यसकारण एउटै कुराको जवाफ धेरै पटक खोज्नतिर हामी लाग्नुहुँदैन’, प्रधानमन्त्री ओलीले भने, ‘मुलुकमा राजनीतिक स्थायित्व, विकास, सुशासन र समृद्धिका लागि दुई ठूला दलको सहकार्यमा बनेको सरकारले आगामी आर्थिक वर्षका लागि सन्तुलित बजेट निर्माण गरिरहेको छ । हामी सबैको ध्यान त्यसमा केन्द्रित छ । हल्लाको पछाडि कोही लाग्नुपर्दैन ।’

प्रतिगमनकारीहरुले आन्दोलनका नाममा हिंसात्मक तथा संविधान विरोधी गतिविधि गरेकाले त्यसको सशक्त प्रतिकार गर्नुपर्नेमा जोड दिँदै ओलीले अवाञ्छाति गतिविधि गर्नेलाई कानुनको दायरामा ल्याउन सरकार पछि नपर्ने बताए ।

अमेरिकी सरकारसँग भएको सम्झौता र दुवै देशका संसद्बाट पारित मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) अमेरिकी पक्षबाट बन्द गरिएको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अब नेपालले आफ्नो विकास अरुको आशमा नभई आफैले गर्नतिर लाग्नुपर्ने बताए ।

‘एमाले मिसन २०८४’ मार्फत बलियो राष्ट्रिय शक्तिका रुपमा रुपान्तरण हुन लागेकाले आन्तरिक एकता र पारस्परिक सहकार्यमा लाग्नुपर्नेमा उनले जोड दिए ।

उनले पार्टी दस्तवेजहरुको अध्ययन गर्न र परिस्थितिलाई बुझेर जनताका समस्या कसरी उठाउने र समाधान गर्ने भन्नेतर्फ केन्द्रित भई मर्यादित, सुसंस्कृत एवं तथ्यमा आधारित भएर सदनमा प्रस्तुत हुन निर्देशन दिए ।

पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा भेला

भ्याटिकन सिटी । क्याथोलिक चर्चका प्रथम ल्याटिन अमेरिकी नागरिक तथा गरिब पक्षधर क्रिश्चियन धर्मगुरू पोप फ्रान्सिसको अन्त्येष्टिका लागि शनिबार ‘सेन्ट पिटर्स स्क्वायर’मा दशौँ हजार शोकसन्तप्त मानिस भेला भएका छन् ।

भेला हुनेमा भारतीय राष्ट्रपति द्रौपदी मुुर्मु, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीलगायत विश्वका क्रिश्चियन तथा हजारौँको सङ्ख्यामा अन्य धर्मावलम्बीहरू रहेका छन् ।

सोमबार ८८ वर्षको उमेरमा निधन भएका अर्जेन्टिनाका धर्मगुरुले आफ्नो १२ वर्षे शासनकालमा सदियौं पुरानो चर्चलाई अझ समावेशी दिशामा डोर्याउने प्रयास गरेका थिए ।

सेन्ट पिटर्स बेसिलिकामा तीन दिनसम्म राखिएको उनको शवदाहगृहमा करिब दुई लाख ५० हजार मानिसहरूले श्रद्धाञ्जलि अर्पण गरेका छन् र उनको अन्तिम बिदाइमा भाग लिन शुक्रबार बिहानैदेखि भ्याटिकन सिटीमा ठूलो सङ्ख्यामा मानिसहरू भेला हुन थालेका थिए ।

लस एन्जलसबाट शनिबारको प्रार्थनासभामा भाग लिन आएकी ३९ वर्षीया एन्ड्रिया उगाल्डेले भने, “उहाँ पोप मात्र हुनुहुन्न, उहाँ मानव हुनुको परिभाषा हो ।”

स्थानीय समयअनुसार बिहान १० ः०० बजे सुरु हुने उक्त समारोहमा करिब दुई लाख मानिस सहभागी हुने अपेक्षा गरिएको छ ।

करिब ५० राष्ट्रप्रमुखहरू अतिथिको सूचीमा रहेको शोक समारोहलाई व्यवस्थित गर्न इटालियाली र भ्याटिकन अधिकारीहरूले ठूलो सुरक्षा अभियान चलाएका छन् ।

उक्त क्षेत्रलाई नो फ्लाई जोन राखिएको छ, लडाकु विमानहरूलाई तयारी अवस्थामा राखिएको छ भने सुरक्षाकर्मीहरूलाई भ्याटिकन सिटीका भवनहरूका छतछतमा तैनाथ गरिएको छ ।

श्रद्धाञ्जलीका लागि भ्याटिकन सिटी पुगेकी पेरुकी ४१ वर्षीया ग्याब्रिएला लाजोले भनिन्, “हामीले बच्चाहरूसँग कारमा पूरै रात बितायौँ।’
उनले भने,“हाम्रो हृदयलाई दक्षिण अमेरिकी मूलका पोपको मृत्युले छियाछिया बनाएको छ ।”

सन् २०१३ मा पोप बेनेडिक्ट सोह्रौंले राजीनामा दिएपछि पदभार ग्रहण गरेका फ्रान्सिसको मृत्युभएको भ्याटिकनको आधिकारिक शोकको नौ दिनमध्ये पहिलो दिन उहाँको अन्त्येष्टि गरिनेछ ।

शोकपछि कार्डिनलहरू सम्मेलनका लागि भेला हुनेछन् र विश्वभरिका क्याथोलिक धर्मालम्बीहरूको नेतृत्व गर्न नयाँ पोप चयन गर्नेछन् ।

फ्रान्सिसका धेरै सुधारहरूले परम्परावादी क्रिश्चियन नेतृत्वलाई चिढाएको भएपनि उनको क्रिश्चियन इतर पक्षधरबाट पनि प्रशैसा हुने गरेको छ ।

आप्रवासीहरूमाथिको न्यायिक व्यवहारदेखि विश्व तापमान वृद्धिका बिषयमा उहाँले दिएका प्रतिक्रिया कतिपय राजनीतिक नेतृत्वका लागि आलोचनाको बिषय बनेका थिए तैपनि ब्यूनस आयर्सका पूर्व आर्कबिशपको करुणा र करिश्माले उहाँलाई विश्वव्यापी स्नेह र सम्मान दिलाएको छ ।

अन्त्येष्टिमा भारतीय राष्ट्रपति द्रोपदी मुर्मु ,अर्जेन्टिनाका राष्ट्रपति जाभियर माइली, ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा, फ्रान्सका इमानुएल म्याक्रोँ र लेबनानका जोसेफ औन पनि सहभागी भएका छन् ।
समारोहमा बेलायतका राजकुमार विलियमसहित एक दर्जनभन्दा बढी राजपरिवारको पनि उपस्थिति रहने छ ।

फ्रान्सिसले गाजामा इजरायली कदमको विरोध गरेका कारण आक्रोशित इजरायलले आफ्ना राजदूतलाई मात्र पठाउने भएको छ ।

पाँच हप्तासम्म निमोनियासँग जुधेपछि सुधार भई निवास फर्केका फ्रान्सिसको अस्पताल छोडेको एक महिना नबित्दै मस्तिष्कघातसँगै हृदयाघातका कारण निधन भएको थियो ।

उनको अन्तिम सार्वजनिक कार्य, उनको मृत्युको अघिल्लो दिन, सम्पूर्ण विश्वको ईस्टर सन्डे आशीर्वाद थियो जसमा उनले ‘कमजोर, सीमान्तकृत र आप्रवासीहरू’ को रक्षा गर्न अपील गर्दै आफ्नो पोपको पदवीबाट विश्रामको घोषणा गरेका थिए ।

जेसुइटले असीसीका सेन्ट फ्रान्सिसको नामबाट आफ्नो नामकरण गर्न रोजेका उनले ‘गरिबहरूको लागि एक चर्च’ स्थापना गर्न चाहन्थे भने उनमा महङ्गो लुगा र पोप महलको लालसा थिएन ।

चर्चका २६६ औँ पोप भ्याटिकन गेस्टहाउसमा बस्नुहुन्थ्यो आफ्नो मनपर्ने रोम चर्च, सान्टा मारिया म्यागियोरमा भएका वेथितिविरूद्ध हस्तक्षेप गर्न चाहन्थे । उनी एक शताब्दीभन्दा बढी समयपछि भ्याटिकनको पर्खालबाहिर गाडिने पहिलो पादरी हुन् ।

उनको अन्तिम बिदाइ समारोहमा २२४ जना कार्डिनल, ७५० जना बिशप र पादरीका साथै विश्वका विशिष्ट व्यक्तिहरू सहभागी हुनेछन् ।

विश्वभरिका क्याथोलिकहरूले ब्यूनस आयर्सलगायत अन्य स्थानहरूमा पनि यस कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिरहेका छन्।

अन्त्येष्टिपछि कफिनलाई रोमको प्राचीन मन्दिर रहेको फोरी इम्पेरियली र कोलोसियम हुँदै सान्टा मारिया म्यागियोर बेसिलिकामा लगिनेछ ।

भ्याटिकनले भनेको छ, “‘गरिब र सामान्य जनजीवनका बाँच्ने आवश्यकताका लागि सङ्घर्षशील’ मानिसहरूको एक समूहले शववाहन चिहानमा आइपुग्दा स्वागत गर्नेछ ।

फ्रान्सिसका प्रशंसकहरूले उनलाई चर्चको धारणा परिवर्तन गर्न र दशकौंको लिपिकीय यौन दुव्र्यवहार काण्डपछि विश्वासलाई पुनर्जीवित गर्न मद्दत पुर्याएको श्रेय दिन्छन्।

सम्बन्धविच्छेद भएका विश्वासीहरूलाई सान्त्वना प्राप्त गर्न अनुमति दिने, तेस्रोलिङ्गी विश्वासीहरूको बप्तिस्मालाई अनुमोदन गर्ने र समलिङ्गी दम्पतीहरूका लागि आशिष दिने र समलिङ्गी क्याथोलिकहरूको न्याय गर्न इन्कार गर्ने कतिपयले उहाँलाई कट्टरपन्थी ठानेका थिए।

फ्रान्सिसको १२ वर्षे पोपको पहिलो यात्रा इटालियन टापु लाम्पेडुसामा भएको थियो जुन प्रायः भूमध्यसागर पार गर्ने आप्रवासीहरूको लागि कलको पहिलो बन्दरगाह हो । उनले ग्रीसको लेस्बोस टापुको भ्रमण गरेका थिए भने अलपत्र शरणार्थीहरूलाई घरसम्म पुग्ने वातावरण बनाउन पहल गरेका थिए । तीमध्ये केही शरणार्थीहरू उनको अन्त्येष्टिमा उपस्थित हुने बताइएको छ ।

इरान र अमेरिकाबीच नयाँ चरणको आणविक वार्ता सुरु

ओमान । संयुक्त राज्य अमेरिका र इरानबीच ओमानमा शनिबारदेखि नयाँ चरणको आणविक वार्ता सुरू भएको छ ।सम्भावित आणविक सम्झौताको विस्तृत विवरणलाई लिएर शनिबारदेखि अमेरिका र इरानबचि विवादका बिषयलाई सम्बोधन गर्ने प्रयासस्वरूप छलफल हुने अपेक्षा गरिएको छ ।

नयाँ वार्तामा पनि अमेरिकी विशेष दूत स्टिभ विटकोफ र इरानी विदेशमन्त्री अब्बास अराघचीले नै छलफलको नेतृत्व गरिरहेका छन् भने यस पटक दुवै पक्षका विज्ञहरूबीच प्राविधिक स्तरको बैठक पनि समावेश छ ।

वार्ताको उद्देश्य इरानलाई कडा प्रतिबन्धहरूबाट राहतको बदलामा आणविक हतियार विकास गर्नबाट रोक्ने नयाँ सम्झौता गर्नु हो । यो उद्देश्य तेहरानले अस्वीकार गरेको छ ।

अमेरिकालगायत विश्व शक्ति राष्ट्रले इरानसँग सन् २०१५ मा गरेको बहुपक्षीय सम्झौताबाट अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो पहिलो कार्यकालमा सन् २०१८ मा एकपक्षीयरूपमा हात झिकेपछि इरान पनि सम्झौताबाट क्रमशः फर्किएको थियो ।

अराघचीले यस प्रक्रियाबारे ‘सतर्क हुँदै आशा’ व्यक्त गर्दै यसै हप्ता भनेका थिए, , “यदि अमेरिकाको एकमात्र माग इरानसँग आणविक हतियार नहोस् भन्ने हो भने, यो वार्ता अघि बढ्न सक्छ ।”

उनले भने, “यदि वासिङ्टनले ‘अव्यवहारिक वा अतार्किक मागहरू ल्याउँछ भने हामी स्वाभाविक रूपमा समस्याहरूको सामना गर्नेछौँ।”

अमेरिकी विदेश मन्त्रालयका नीति योजना प्रमुख माइकल एन्टोनले वासिङ्टनको विज्ञस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् भने उपविदेशमन्त्री काजेम गारिबाबादी र माजिद तख्त–रावन्चीले तेहरानको नेतृत्व गर्नेछन् ।

इरानी सरकारी टेलिभिजनका अनुसार ओमानी समयअनुसार मध्याह्न वार्ता सुरु भएको हो ।
इरानी समाचार संस्था इरनाले भनेको छ, “एक दिनको मात्र वार्ता तय भएको छ, तर वार्ता प्राविधिक र विज्ञस्तरीय छलफल र विवरणको परीक्षणमा प्रवेश गरेको छ। आवश्यक भएमा यसलाई विस्तार गर्न सकिन्छ ।”

अमेरिकामा यस वर्ष दादुराका ८०० भन्दा बढी बिरामी भएको पुष्टि

लस एन्जलस । अमेरिकामा यस वर्षको पहिलो तीन महिनामा दादुराका ८८४ बिरामी भेटिएको पुष्टि भएको छ । गत वर्षको तुलनामा यो उल्लेखनीय वृद्धि हो ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले शुक्रबार सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार सन् २०२५ मा अहिलेसम्म देशभर ११ वटा दादुराका प्रकोप देखिएका छन् ।

सीडीसीले प्रकोपलाई तीन वा तीनभन्दा बढी सम्बन्धित सङ्क्रमणको रूपमा परिभाषित गरेको छ । अमेरिकाका ३० क्षेत्रका ९४ जना अस्पताल भर्ना भएका छन् भने तीन जनाको मृत्यु भएको छ ।

सन् २०२४ मा दादुराका कुल २८५ जनामा दादुरा देखिएको थियो भने सन् २०२४ को तुलनामा यस वर्ष दादुराका बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । सीडीसीले दादुराबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको खोप नै हो भन्ने कुरामा जोड दिएको छ ।

दादुरा, मम्प्स, रुबेलाजस्ता रोगबाट बच्न सम्बन्धित खोपको दुई मात्रा निकै प्रभावकारी हुन्छ ।

हुम्लामा सीमा क्षेत्रका स्थानीयलाई चीन प्रवेशका लागि पास प्रदान

हुम्ला । व्यापार व्यवसायका निम्ति चीनको स्वशासित क्षेत्र तिब्बताको ताक्लाकोट जान चाहनेहरुलाई अस्थायी प्रवेश पास उत्तरी नाम्खा गाउँपालिकाको सीमावर्ती क्षेत्रमा पुगेर जिल्ला प्रशासन कार्यालयले वितरण गरेको छ ।

पुराङ काउन्टीको ताक्लाकोटबाट तिब्बतका विभिन्न स्थानमा आवतजावत गर्न तुम्कोट, याल्वाङ, हिल्सा, यारीलगायत क्षेत्रमा पुगेर ३७४ जनालाई नयाँ अस्थायी प्रवेश पास र पुरानो नवीकरण गरिएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए। हालसम्म जिल्ला प्रशासन कार्यालयबाट सात हजार ५४५ जनाले ताक्लाकोट आवतजावत गर्न प्रवेश पास लिएकाे उनले जानकारी दिए ।

हिउँदयामको हिउँले यारी नाकाको ठाडो ढुङ्गा क्षेत्रको सडक नखुलेका कारण दुई घण्टाको ओरालो पैदल हिँडेर हिल्सा पुगेको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए ।

गाडी यारीसम्म मात्रै जाने भएकाले हिल्सा पुग्न ओरालो दुई घण्टा र हिल्साबाट उकालो यारी पुग्न चार घण्टाको पैदलमा भएर नागरिकको सेवा गरेको उनले बताए। सीमावर्ती पास वितरणका क्रममा चीनको ताक्लाकोटबाट नवीकरणका लागि बाटोमा आफूलाई पछ्याउँदै आएका दुई जनालाई वितरण गरेको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए ।

पहलगाममा भएको आतंककारी हमलाको विरोधमा पाकिस्तानी दूतावास अगाडि प्रदर्शन

काठमाडौं । भारतको कश्मीरस्थित पहलगाममा आतंककारी हमलामा नेपाली युवक सुदीप न्यौपानेको हत्याको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ ।

शनिबार काठमाडौंस्थित पाकिस्तानी दूतावासअगाडि प्रदर्शन गरिएको हो । आतंकवादी हमलामा परी बुटवलका सुदीप न्यौपानेसहित २६ जनाको मृत्यु भएको थियो । प्रदर्शनमा उत्रिएकाहरुले आतंकवादी हमालको विरोधमा नाराबाजी गरेका थिए ।

शिक्षकहरूको माग सम्बोधन गर्न सरकार गम्भीर देखिएनः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार सुशासनका विरुद्ध खडा गरिएको बिचौलियाहरुको सरकार भएको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा प्रेस सेन्टरको पाँचौ राष्ट्रिय महाधिवेशन शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा अध्यक्ष प्रचण्डले यो सरकारले भ्रष्टाचारीहरुको रक्षा गर्ने काम मात्र गरेको आरोप लगाए ।

उनले अलिकति पनि राजनीति विवेक र ज्ञान राख्ने मान्छे सरकार विचौलियाले चलाएको स्वीकार गर्न थालेका बताए ।

उनले भने, ‘अब त अलिकति पनि राजनीति विवेक र ज्ञान राख्ने मान्छे सबैले पनि स्वीकार गर्न थालेका छन् कि सरकार दलाल पुँजीपति बिचौलिया र नोकरसाहहरुको हित गर्ने, भ्रष्टाचारीहरुको रक्षा गर्ने राम्रो काम गर्नेहरुलाई प्रताडित गर्ने सरकार हो ।’

प्रचण्डले राजावादीहरु कति हिंस्रक छन् भन्ने कुरा एकै दिनको कार्यक्रममा देखाएको भन्दै राजावादीहरुको रणनीति पूर्ण रुपमा असफल भइसकेको बताए ।

अहिले निर्वाचन भन्ने वित्तिकै सम्पूर्ण रुपले अराजकतावादको अभ्यास गर्ने एउटा विकृत संस्कार भन्ने भाष्य पनि नेपाली समाजमा स्थापना भएको उनको भनाइ छ ।

प्रचण्डले शिक्षकहरूको माग सम्बोधन गर्नका लागि सरकार तयार नभएको बताए । उनले भने, ‘लाज पचाएर शिक्षकहरूलाई अपमानित गर्नेतिर लागेको छ । शिक्षकसँग भएका सहमति अनुसार ऐन दिनैपर्छ । त्यसका लागि छोटो बाटोबाट लानुपर्छ ।’