`

चीन–भारत सम्बन्ध पुनःस्थापनाको प्रयासमा राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री मोदीबीच भेट

Nepal One HD १५ भदौ २०८२ १२:४३
विश्व

चिनियाँ राष्ट्रपति सी जिनपिङले आइतबार तियानजिनमा आयोजित क्षेत्रीय शिखर सम्मेलनको उद्घाटनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका छन् ।

सन् २०२० मा चीन र भारतका सैनिकहरूबीच भएको घातक सीमा झडपपछि बिग्रिएको सम्बन्धपश्चात् मोदीको यो पहिलो चीन भ्रमण हो ।

मोदी चीनद्वारा स्थापित क्षेत्रीय राजनीतिक, आर्थिक र सुरक्षा समूह साङ्घाई सहयोग सङ्गठन ९एससिओ० को सदस्य राष्ट्रका हैसियतले सहभागी हुन चीन पुगेका हुन्।

मोदीको भ्रमणअघि, चिनियाँ शीर्ष कूटनीतिज्ञ वाङ यी अगस्टको सुरुआतमा नयाँदिल्ली पुगेका थिए । त्यस क्रममा दुवै पक्षले सम्बन्ध सुधार्ने घोषणा गर्दै सीमा वार्ता पुनः सुरु गर्ने, भिसा सुविधा र प्रत्यक्ष उडान पुनः सुरु गर्ने वाचा गरेका थिए ।

वाङको भ्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतद्वारा रूसी तेल खरिदमा ५० प्रतिशत भन्सार शुल्क लगाउने निर्णयसँग मिल्दोजुल्दो समयमा भएको थियो । तर चीनसँगको सम्बन्ध पुनर्निर्माण गर्ने प्रक्रियामा भारत महिनौँदेखि सक्रिय रहेको बताइन्छ ।

चीन र भारतले यस वर्ष उच्चस्तरीय आधिकारिक भ्रमणहरू बढाएका छन् । दुवै पक्षले व्यापारमा रहेका केही प्रतिबन्ध हटाउने र सीमापार आवागमनबारे छलफल गरेका छन् । साथै, जुन महिनामा बेइजिङले भारतका तीर्थयात्रीहरूलाई तिब्बतका पवित्र स्थलहरूमा जाने अनुमति दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *