प्रतिनिधिसभामा बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक प्रस्तुत


काठमाडौँ । प्रतिनिधिसभामा ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत भएको छ । सभाको आजको बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले विधेयक प्रस्तुत गरे ।
त्यसक्रममा मन्त्री सुडीले बाललिकाका लागि संविधान प्रदत्त मौलिक हकको कार्यान्वयन गर्नका लागि सो सम्बन्धी ऐनलाई समसामयिक परिमार्जन गर्न आवश्यक भएको बताए ।
‘बाल न्याय प्रणालीलाई सहज, सरल र बालमैत्री बनाउन तथा बाल संरक्षण प्रणालीलाई संस्थागत र सुदृढ गर्दै बालअधिकारको सबै पक्षलाई सन्तुलन कायम गर्न आवश्यक परेकाले उक्त विधेयक संशोधन गर्न लागिएको हो’ मन्त्री सुडीले भने ।
त्यसअघि मन्त्री सुडीले सो विधेयक प्रस्तुत गर्न अनुमति माग्नेसम्बन्धी प्रस्ताव राखेका थिए । बैठकको अध्यक्षता गरेकी उपसभामुख इन्दिरा रानाले उक्त प्रस्तावमाथि कुनै पनि सांसदको विरोधको सूचना प्राप्त नभएकाले सो विधेयक प्रस्तुत गर्न मन्त्री सुडीलाई अनुमति दिइन् ।
बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले समितिको वार्षिक प्रतिवेदन (आव २०८०/८१) पेस गरे ।