एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी


काठमाडौं । एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनी विरुद्ध गालीबेइज्जती तथा चरीत्रहत्या सम्बन्धी मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको प्रहरी स्रोतले जनाएको छ । बझाङ निवासी रश्मिला धामीले उनीविरुद्ध साइबर व्यूरोमा उजुरी दिएकी थिइन् ।
उक्त उजुरीमा महिलाको चरित्र हत्या गर्ने प्रयास गरेको उल्लेख छ । प्रहरी स्रोतका अनुसार, उनलाई पक्राउका लागि खोजी तीव्र पारिएको छ ।
महर अनेरास्ववियुको विद्यार्थी राजनीति हुँदै केन्द्रीय सदस्य बनेका हुन् । स्थायी घर बझाङ भएका महर गएको निर्वाचनमा संघीय सांसदका उमेदवारसमेत बनेका थिए । तर, उनी नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता भानुभक्त जोशीसित पराजित भएका थिए ।
प्रहरीको साइबर ब्युरो सीआईबी मातहत छ । पछिल्लो समय महर विवादित बनेका छन् ।
फागुन २०८० मा महरलाई अनुशासन उल्लङ्घन गरिएको भन्दै पार्टीले बर्खास्त गरेको थियो । एक महिनापछि फेरि उनलाई एमालेले केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।