`

म्याग्दीको पात्लेखेत पहिरोको जोखिममा

Nepal One HD ११ भदौ २०८२ १४:०३
समाचार

म्याग्दी । जिल्लाको बेनी नगरपालिका १० पात्लेखेत गाउँ पहिरोको जोखिममा परेको छ । पात्लेखेतको फेदीबाट बग्ने राहुघाट नदीबाट सुरु भएको बान्द्रेखाल्टी र पाखाको पहिरो गाउँसम्म आइपुगेपछि जोखिम बढेको हो ।

पहिरोले ३० जना किसानको सात सय रोपनी खेतीयोग्य जमिन बगाएको बताउँदै करिब आठ हेक्टरभन्दा बढी वन नष्ट गरेको स्थानीय केदार सुवेदीले जानकारी दिए । उनका अनुसार हरि गर्बुजा, खम्बी गर्बुजा, यामबहादुर राम्जाली र लालबहादुर हमालको परिवार पहिरोका कारण विस्थापित भएका छन् ।

गोकुल शर्मा, केदार सुवेदी, नरबहादुर मल्ल, जागेश्वर रिजाल, धनबहादुर मल्ल, अर्जुन पराजुली, मनबहादुर रावत, टीका गिरी र कमल मल्लको घर पहिरोको उच्च जोखिममा परेका बेनी नगर कार्यपालिका सदस्य निर्मला मल्लले जानकारी दिए । उनका अनुसार पहिरोका कारण बान्द्रेखाल्टीका ३५ र पाखाका २८ परिवार जोखिममा परेका छन् ।

“भिरालो जमिन र कमजोर भूगोल भएको पाखो निरन्तर बगिरहेको छ । खेतबारी धाँजा फाटेर चिरा परेका छन् । घरका पर्खाल चर्किएका छन् । ग्यावियन पर्खाल निर्माण, पानी तर्काउने विधी अपनाइए पनि पहिरो रोकथामको प्रयास सफल भएको छैन्”, उनले भने ।

केही दिनअघि पहिरोको जोखिम भएको क्षेत्रको निरीक्षण गर्न पुग्नुभएका सङ्घीय सरकारका उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पात्लेखेत पहिरोको प्राविधिक अध्ययन गरी दीर्घकालीन समाधानको पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *