स्पेन भ्रमणबारे प्रधानमन्त्रीले गराए सदनलाई जानकारी


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे संसदलाई जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर स्पेनको औपचारिक भ्रमणबाट फर्किएपछि सोमबार प्रतिनिधिसभामा आफ्नो भ्रमणबारे जानकारी गराएका हुन् ।
असार १४ गते स्पेनको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री ओली भ्रमण सकेर यही असार २० गते स्वदेश फर्किएका हुन्। । प्रधानमन्त्रीले विदेश भ्रमण पूर्व र स्वदेश फर्किएपछि सदनलाई जानकारी दिने संसदीय अभ्यास छ ।
सम्मेलनमा आफ्नो सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि अभिवृद्धि हुनुको साथै नेपालको वैदेशिक सम्बन्ध र संयुक्त राष्ट्रसंघको सहकार्य अझ बलियो हुने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्रीले भने, ‘मुलुकका झण्डै ५० देशका सरकार तथा राष्ट्र प्रमुख तथा संयुक्त राष्ट्रसंघका प्रमुख लगायतको सहभागिता रहेको सम्मेलनमा प्रधानमन्त्रीको नेतृत्वमा नेपालको सक्रिय उपस्थितिले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि अविवृद्धि भएको छ ।’
प्रधानमन्त्रीले सम्मेलनमा नेपालको हित र आवाज मुखरित गरेको समेत गरेको बताए । प्रधानमन्त्री ओलीले भने, ‘वास्तवमा यस पटकको भ्रमणले नेपालको हित, नेपालको पहिचान र नेपालको आवाज। त्यो मात्रै होइन, हामीले आफू जस्ता भूपरिवेष्ठित, अल्पविकसित राष्ट्रहरुको समेत आवाजलाई त्यहाँ मुखरित गर्ने काम गरेका छौँ।’
त्यस्तै नेपाल अन्तर्राष्ट्रिय समुदायमा एक जिम्मेवार र सक्षम मुलुक सावित भएको समेत उनको भनाइ छ । उनले भने, ‘विकास वित्तसम्बन्धी अपेक्षा, औपचारिक र अनौपचारिक विकास सहयोगका साथै जलवायु वित्तमा पनि सहयोगका लागि आव्हान गरिएको छ । विकास साझेदारीका प्राथमिकताहरु मुखरितका प्रयास गरिएको छ। नेपाल अन्तर्राष्ट्रिय समुदायमा एक जिम्मेवार र सक्षम मुलुक सावित भएको छ। आर्थिक कूटनीतिलाई अगाडि बढाउने र वैदेशिक लगानीवृद्धि हुने अपेक्षा गरिएको छ।’
सम्मेलनका अवसरमा अति कम विकसित राष्ट्रहरुको समूहको बैठकलाई अध्यक्षतासहित सम्बोधन, विभिन्न साइलाइन वार्ता र गोलमेच सम्मेलनमा आफ्नो नेतृत्व, वकालत प्रतिबद्धताबारे सदनलाई प्रधानमन्त्री ओलीले जानकारी गराए।