`

ट्रम्प र नेतन्याहूबीच भेटवार्ता हुँदै, इजरायल–हमास सम्झौता ‘यसै हप्ता’ हुने आशा

Nepal One HD २३ असार २०८२ १३:१९
विश्व

वासिङ्टन । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने भएका छन् । राष्ट्रपति ट्रम्पले इजरायल र हमासबीच यसै हप्ता ‘सम्झौता’ हुने आशा व्यक्त गरेका छन् ।

इजरायल र हमासबीच आइतबार साँझ दोहामा अप्रत्यक्ष वार्ता सुरु भएको छ । यसको उद्देश्य युद्धविरामको मध्यस्थता गर्नु र प्यालेस्टिनी कैदीहरूको बदलामा बन्धकहरूको रिहाईको लागि सम्झौतामा पुग्नु रहनेछ ।

आइतबार ट्रम्पलेसम्झौतामा पुग्ने ‘प्रवल सम्भावना’ रहेको बताएका थिए । “हामीले धेरै बन्धकहरूलाई रिहा गरेका छौँ, बाँकी बन्धकहरूको सन्दर्भमा भन्नुपर्दा तिनीहरूमध्ये धेरै बाहिर आउनेछन्,” उनले पत्रकारहरूसँग भने ।

नेतन्याहूले आइतबार विमानमा वासिङ्टनतर्फ प्रस्थान गर्नुअघि बोल्दै ट्रम्पसँगको भेटले यो सम्झौतालाई अगाडि बढाउन निश्चित रुपमा सहयोग पुग्ने बताएका थिए ।

झण्डै दुई वर्षको युद्धपछि मानवीय सङ्कटमा फसेको गाजा पट्टीमा अमेरिकी राष्ट्रपति ट्रम्पले युद्धविरामका लागि दबाब दिइरहेका छन् ।

नेतन्याहूले भने, “हामी सहमत भएका शर्तमा सम्झौतामा पुग्नका लागि ‘स्पष्ट निर्देशन’ सहित टोलीलाई दोहा पठाएको छु ।”

यसअघि उनले अमेरिका समर्थित युद्धविराम प्रस्तावको मस्यौदामा कतार र इजिप्टका मध्यस्थकर्तामार्फत हमासले दिएको प्रतिक्रियामा ‘अस्वीकार्य’ माग रहेको बताएका थिए ।

– ‘महत्वपूर्ण अभियान’ –

वार्तामा संलग्न दुई प्यालेस्टिनी स्रोतले एएफपीलाई बताएअनुसार उक्त प्रस्तावमा ६० दिनको युद्धविराम, हमासले इजरायलद्वारा हिरासतमा लिएका प्यालेस्टिनीहरूको बदलामा १० जीवित बन्धकहरू र मतक बन्धकका शवहरू रिहा गर्ने लगायतका बिषय छन् ।

समूहले गाजाबाट इजरायलको फिर्तासहित केही शर्तहरू राखेको छ । वार्ताको क्रममा लडाईं पुनः सुरु नगर्न ग्यारेन्टी र संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा सहायता वितरण प्रणालीलाई पुनः सुरु गनमाग पनि गरिरहेको छ ।

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले आइतबार नेतन्याहूसँगको भेटपछि भने, “नेतन्याहूको वासिङ्टनमा एउटा ‘महत्वपूर्ण अभियान’ छ, जसले हाम्रा सबै बन्धकहरूलाई घर फर्काउने सम्झौतालाई अगाडि बढाइरहेको छ ।

ह्वाइट हाउसका अनुसार ट्रम्पले इजरायली प्रधानमन्त्रीसँग सोमबार साँझ ६ः३० बजेसम्म भेटवार्ता गर्ने कार्यक्रम तय भएको छैन ।

सन् २०२३ मा भएको आक्रमणका क्रममा प्यालेस्टिनी लडाकूले बन्धक बनाएका २५१ मध्ये ४९ जना अझै गाजामा रहेका छन्, जसमध्ये २७ जनाको मृत्यु भइसकेको इजरायली सेनाले पुष्टि गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *