‘रिटायरमेन्ट’को कुरा मेरो हो, कसैले भनेर गर्ने होइनः सभापति देउवा


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिमा अवकासको कुरा आफ्नो निजी विषय भएको बताएका छन् ।
सोमबार केन्द्रीय समितिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले रिटायरमेन्टको कुरा उठाएपछि सभापति अवकासको विषय अरु कसैले निर्णय गर्ने विषय नभएको बताएका हुन् ।
महामन्त्री शर्माले देउवाले सभापति पदबाट अवकास लिन लागेको भन्दै धन्यवाद दिएका थिए । साथै महामन्त्री शर्माले २०८३ सालको असारमा प्रधानमन्त्रीमा पार्टीभित्रबाटै अरू कुनै व्यक्तिलाई अघि सारेर त्याग गर्न सुझाव दिएका थिए ।
शर्माले भने, ‘सभापतिज्यूले सबै कुरा गरिसक्नु भएको छ, ०८३ को असारमा जाँदै गर्दा अरू कुनै साथीलाई प्रस्ताव गरेर सभापतिज्यूको उचाइ सगरमाथाको उचाइभन्दा माथि उठ्नुपर्छ।’
त्यसपछि बोलेका सभापति देउवाले म के गर्छु भन्ने विषय निजी भएको बताए । उनले भने, ‘मलाई कसैले भनेर मैले गर्ने होइन । म अप्ठ्यारो मान्छे हो नि विचार गर्नुस् ।’
सभापति देउवाले पार्टी विधान र संविधान अनुसार पार्टीको १५ औं महाधिवेशन हुने बताए । सभापति देउवाले केही समयअघि चितवनमा पुगेर ’मेरो रिटार्यड हुने समय आयो भन्दै आफूलाई कांग्रेसलाई एक बनाउने इच्छा रहेको बताएका थिए ।