राज्यव्यवस्था समितिको सभापतिमा न्यौपाने निर्विरोध


काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने सर्वसम्मत निर्वाचित भएकी छन्। आज मंगलबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको तालिका थियो।
उक्त समयभित्र उनीबाहेक अरु कसैको पनि मनोनयन नपरेपछि उनी सर्वसम्मत निर्वाचित भएकी हुन्। उनी निर्वाचित भएको औपचारिक घोषणा हुन भने बाँकी नै छ।
निर्धारित समयमा न्यौपानेको एकल उम्मेदवारी परेको प्रतिनिधि सभाका सचिव हर्कराज राईले जानकारी दिएका छन् । योसँगै न्यौपाने सभापतिमा सवर्मसम्मत भएकी हुन् ।
राज्य व्यवस्था समितिको बैठक भोलि दिउँसो ३ बजे बस्दैछ । जहाँ न्यौपाने सभापतिमा सर्वसम्मत भएको घोषणा हुनेछ ।
न्यौपाने यसअघि संसदीय सुनुवाइ समितिको सभापति थिइन् । कांग्रेसले न्यौपानेलाई राज्य व्यवस्था समितिको सभापति बनाउने भनेपछि न्यौपानेले सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिइन् । उनले आजै सभामुख समक्ष राजीनामा दिएकी हुन् ।