`

रसुवा र तातोपानी नाका सञ्चालन गर्न चेम्बरको आग्रह

Nepal One HD १० भदौ २०८२ १६:३०
समाचार

काठमाडौं । गत असारमा आएको भारी वर्षा र बाढीका कारण अवरुद्ध भएका रसुवा र तातोपानी नाका यथाशीघ्र सञ्चालनमा ल्याउन नेपाल चेम्बर अफ कमर्सले सरकारको ध्यानाकर्षण गराएको छ।

यी दुई नाका नजिकिँदो चाडपर्वका बेला बन्द भएपछि व्यापार, व्यवसाय र वस्तु आयात निर्यात प्रणालीमा गम्भीर समस्या देखिएकाले तत्काल पुनर्निर्माण गर्न चेम्बरले सरकारसमक्ष आग्रह गरेको हो ।

यसले मूल्यवृद्धिमा समेत असर गर्ने भएकाले सरोकारवाला परराष्ट्र मन्त्रालय, अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ध्यानाकर्षण गराइएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । लत्ताकपडाका साथै दैनिक उपभोग्य वस्तु बजारमा अभाव सृजना हुने जोखिम बढेको चेम्बरले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “दशैँ, तिहार र छठजस्ता ठूला पर्व नजिकिँदै छन् । अवरुद्ध तातोपानी र रसुवा नाका समयमा पुनर्निर्माण सम्पन्न नहुँदा आयात प्रत्यक्ष प्रभावित भएको र यसले उपभोक्तामाथि अतिरिक्त आर्थिक बोझ पर्न सक्ने देखिन्छ ।”

चीनसँग जोडिएको महत्त्वपूर्ण नाकाहरू लामो समय बन्द हुँदा वैदेशिक व्यापारमात्र नभइ साना उद्योग र व्यावसायिक प्रतिष्ठान पनि सङ्कटमा परेको चेम्बरका भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *