नागरिक उन्मुक्तिद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता


सुदूरपश्चिम । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार बसेको पार्टी संसदीय दलको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिएका छन् ।
मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार नागरिक उन्मुक्ति पार्टीबाट सरकारमा सहभागी उद्योग मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका थिए। मन्त्रीलाई बर्खास्त गरेपछि नागरिक उन्मुक्तिले समर्थन फिर्ता लिएको हो ।
शुक्रबार बिहान पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रतिपक्षमा बस्ने बताएकी थिइन् । उनले आफूहरुसँगको सल्लाह विना सुदूरपश्चिम प्रदेशका मन्त्री चौधरीलाई बर्खास्त गरेकाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रतिपक्षमा बस्ने बताएकी थिइन् ।
उनले सामाजिक संजालमार्फत पार्टी संरक्षक रेशम चौधरीको दृढ मार्गदर्शन अनुसार, नागरिक उन्मुक्ति पार्टी अब प्रतिपक्षको भूमिकामा बस्ने निर्णयमा पुगेको बताएकी थिइन् ।