`

युक्रेनको स्वतन्त्रता दिवसमा रुसमाथि ड्रोन आक्रमण

Nepal One HD ८ भदौ २०८२ १७:२५
विश्व

युक्रेनले आइतबार रुसमाथि ड्रोन आक्रमणको लहर सुरु गरेको छ । ड्रोन आक्रमणबाट युक्रेनी स्वतन्त्रता दिवसको अवसरमा आणविक ऊर्जा संयन्त्रमा आगलागी गराएको छ भने हालैका शान्ति प्रयासहरूको आशा मेटाएको छ ।

रुसी र युक्रेनी राष्ट्रपतिहरू बीच शिखर बैठकका लागि मध्यस्थता गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबलाई लिएर भ्लादिमिर पुटिन र भोलोदिमर जेलेन्स्कीबीच तत्काल कुनै बैठक नहुने घोषणा रुसले गरेपछि शुक्रबार शान्ति सम्भावना कमजोर भएको थियो ।

साढे तीन वर्षदेखि जारी युद्धले दशौँ हजार मानिसको ज्यान लिइसकेको छ । सङ्घर्ष अब गतिरोधमा पुगेको देखिए पनि रुसले पूर्वी डोनेट्स्क क्षेत्रमा दुई गाउँ नियन्त्रणमा लिएको दाबी गरेको छ ।

युक्रेनले आइतबारको नयाँ आक्रमणमा रूसी भूभागमा ड्रोन आक्रमण गर्दा पश्चिमी रुसको कुस्र्क आणविक ऊर्जा संयन्त्रलाई लक्ष्य बनाएको थियो । आक्रमणपछि विस्फोट र आगलागी भयो । तर संयन्त्रका अधिकारीहरूले आगो निभाइसकेको र कुनै हताहत वा विकिरण स्तर बढेको नदेखिएको जानकारी दिएका छन् ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी ९आइएइए० ले सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमा पूर्ण आक्रमण सुरु गरेदेखि नै आणविक संयन्त्र नजिकका लडाइँहरू गम्भीर जोखिम भएको चेतावनी दिँदै आएको छ ।

रूसी अधिकारीहरूले युक्रेनी ड्रोनहरू उत्तरपश्चिममा सेन्ट पिटर्सबर्गजस्ता टाढा क्षेत्रसम्म खसालिएको बताएका छन् । फिनल्यान्डको खाडीस्थित उस्ट–लुगा बन्दरगाहमा १० ड्रोन आक्रमणपछि रूसी ऊर्जा समूह नोभाटेकको स्वामित्वमा रहेको इन्धन टर्मिनलमा आगलागी भएको गभर्नर अलेक्जान्डर ड्रोज्डेन्कोले टेलिग्राममार्फत बताए ।

विशेषगरी रुसको तेल पूर्वाधारलाई निशाना बनाएर मस्कोको युद्धका लागि आवश्यक आम्दानीमा प्रहार गर्ने उद्देश्यले युक्रेनको सानो तर लडाइँमा प्रतिबद्ध सेना ड्रोनमाथि ठूलो भर परिरहेको छ । युद्ध सुरु भएदेखि रुसमा इन्धनको मूल्य बढेको छ ।

यसैबीच युक्रेनले रुसले रातभर ब्यालेस्टिक मिसाइल र ७२ इरानी निर्मित ‘साहेद’ ड्रोन आक्रमण गरेको दाबी गरेको छ । ती आक्रमणमा युक्रेनी हवाई सेनाले ४८ वटा खसालेको बताइएको छ । रूसी ड्रोन आक्रमणमा पूर्वी ड्निप्रोपेट्रोभस्क क्षेत्रमा ४७ वर्षीया महिलाको मृत्यु भएको गभर्नरले जनाएका छन् ।

– युक्रेन लडाकू हो –

सन् १९९१ मा सोभियत सङ्घको विघटनसँगै स्वतन्त्र बनेको युक्रेनले यसपटक स्वतन्त्रता दिवस युद्धबीच मनाएको छ ।

“युक्रेनले शान्तिको आह्वान गर्दा पनि यस्तो आक्रमण भइरहेका छन्”, राष्ट्रपति जेलेन्स्कीले आफ्नो सम्बोधनमा भने्, “आज अमेरिका र युरोप दुवै सहमत छन् ः युक्रेन अझै पूर्ण विजय हासिल गर्न सकेको छैन, तर पराजित पनि भएको छैन । युक्रेनले आफ्नो स्वतन्त्रता सुरक्षित गरेको छ । युक्रेन पीडित होइन यो लडाकू राष्ट्र हो ।”

क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले पनि किएभमा पुगेर ‘युक्रेनका लागि न्यायपूर्ण र स्थायी शान्ति’ को माग गर्दै ऐक्यबद्धता जनाएका छन् ।

जेलेन्स्कीले ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ, बेलायती राजा चाल्र्स र पोपलगायत अन्य विश्व नेताहरूले पठाएका सन्देशप्रति आभार व्यक्त गरेका छन्।

रुसले हाल क्रिमियन प्रायद्वीपसहित युक्रेनको करिब पाँचौँ भाग नियन्त्रणमा लिएको छ । क्रिमियन प्रायद्वीप रुसले सन् २०१४ मै कब्जा गरेको थियो । युद्धले लाखौँ मानिसलाई घरबारविहीन बनाएको छ र पूर्वी तथा दक्षिणी युक्रेनका सहर तथा गाउँहरू ध्वस्त पारेको छ ।

पुटिनले युक्रेन र पश्चिमतर्फबाट आएका तत्काल र बिना शर्त युद्धविरामका आह्वानलाई बारम्बार अस्वीकार गर्दै आएका हुन् ।

शुक्रबार रूसी विदेशमन्त्री सर्गेई लाभरोभले ‘पुटिन र जेलेन्स्कीबीच कुनै बैठकको योजना नरहेको’ बताएका थिए। उनले ट्रम्पको मध्यस्थता प्रयास अवरुद्ध भएको देखिएको बताएका छन्।

यसैबीच, जेलेन्स्कीले रुसमाथि आक्रमणलाई लम्ब्याउने आरोप लगाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *