आर्थिक अभावमा अपाङ्ग बालआश्रम, सहयोग गर्न आग्रह


झापा । अर्जुनधारा नगरपालिका–६ कप्तानबाडीस्थित अपाङ्ग बालशिक्षा सरोकार केन्द्रमा आर्थिक अभाव भएको छ । अभिभावकविहीन बालबालिकाको भरणपोषण एवं शिक्षाका लागि दातामा निर्भर केन्द्रले सहायताका निम्ति याचना गरेको छ ।
केन्द्रमा आश्रित पाँच बालिकासहित १४ जना बालबालिकाका लागि मासिक रु ६५ हजारभन्दा बढी खँर्च हुने गरेको केन्द्रका अध्यक्ष कृष्ण दुलालले बताए । “दाताहरुले दयापूर्वक दिने सहयोग नै बालबालिकाहरुको बाँच्ने आधार हो”, अध्यक्ष दुलालले भनेका छन्, “अपुग साधन र स्रोत मागेर व्यवस्थापन गर्दै आएका छौँ ।” साथै उनले सहयोगका निम्ति अनुरोध गरेका छन् ।
केन्द्रका चार जना बालबालिका शौचालयसमेत जान नसक्ने अवस्थाका छन् भने कतिपय ह्विलचियर र वैशाखीको सहायतामा हिँडडुल गर्छन् । अर्जुनधारा नगरपालिकाले मासिक रु पाँच हजार सहयोग दिनेबाहेक संस्थाको अरु नियमित आय छैन । आश्रित बालबालिकामध्ये शारीरिक अपाङ्गता भएका चार जनाले सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन् ।