`

‘ब्याक गियर’ त कहिलेकाहीँ घुम्तीमा मात्रै लगाउने हो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला र पुरुषको समान सहभागिताबाट समाजका सबै क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक भएको बताएका छन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसङ्घद्वारा आइतबार आयोजित महिला नेतृत्व सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाली परम्परा र संस्कृतिले महिलालाई देवीसरह मान्दै  परिवर्तनशील र गतिशील शक्तिका रुपमा चित्रण गरेकाले महिलाको समान सहभागिता आवश्यक भएकामा जोड दिए । 

“रथको एउटा पाङ्ग्रो मात्रै चलेर रथ गुड्न सक्दैन, त्यसकारण हामीले महिला र पुरुषससहितको समान सहभागिताबाट सिङ्गो समाजलाई अगाडि बढाउनुपर्छ । सामाजिक न्याय र समानता स्थापित गर्दै गरिबी हटाउने सवालमा निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्छ”, प्रधानमन्त्री ओलीले भने, “राष्ट्रपति, प्रधानन्यायाधीशलगायत विशिष्ट पदमा हामीले महिलालाई स्थापित गरिसकेका छौँ । राजनीतिमा महिलाको सहभागिता बढ्दो छ । यो खुसीको विषय हो तर हामी यसमा मात्रै सन्तुष्ट भएर बस्नु हुँदैन । हामीले शिक्षा, उद्यम र रोजगारीका क्षेत्रमा महिलालाई अगाडि बढाउनुपर्छ ।”

सरकार र निजी क्षेत्रको सहकार्य बढाउँदै उद्यम विकास तथा महिला सशक्तीकरणलाई प्रोत्साहन गरिएको भन्दै उनले अर्थतन्त्रको विकासका साथै सुशासन प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध रहेको बताए । प्रधानमन्त्री ओलीले भने, “हामी अघि बढ्नुपर्छ । पछाडि फर्कनु हुँदैन । ब्याक गियर त कहिलेकाहीँ घुम्तीमा मात्रै लगाउने हो । लोकमार्गमा ब्याक गियर लगाइँदैन । लोकतन्त्र हाम्रो राजमार्ग हो ।”

प्रधानमन्त्रीले कानुनहरु काम अल्झाउन नभई विकासमा सहयोगी हुन बनाइनुपर्ने उल्लेख गर्दै सम्मेलनबाट प्राप्त सुझाव अध्ययन गरी सरकारका नीति, व्यवहार र कानुनहरुलाई परिस्कृत गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रको सहकार्यमा औद्योगिकीकरणको प्रवद्र्धनलाई वर्तमान सरकारले प्राथमिकता दिएको बताए । उनले सरकारी निकायमा स्वदेशी वस्तुको उपयोगसम्बन्धी कार्यविधि जारीलगायत सुधारका माध्यमबाट आर्थिक क्षेत्रको विकासका लागि काम भइरहेको जानकारी दिए । 

त्यस अवसरमा प्रधानमन्त्री ओलीबाट राष्ट्रिय फुटबल खेलाडी प्रीति राई र सामाजिक अभियन्ता रुक्साना कपालीलाई सम्मान गरिएको थियो ।

पूर्वविशिष्टलाई आजीवन सुविधा दिने विषयमा सत्ता पक्षकै सांसदको विरोध

काठमाडौं । सरकारले पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सेवा सुविधा दिनेगरी कानून बनाउन लागेको भन्दै सत्तारुढ दलबाटै विरोध भएको छ ।

आइतबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेस सांसद रामकृष्ण यादवले पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सेवा सुविधा दिन नहुने भन्दै विरोध गरेका हुन् । जनता उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थामा सरकारको कदम उपयुक्त नभएको बताए । उनले भने, ‘पूर्वविशिष्टलाई आजीवन सुविधा दिन सरकारले कानून बनाउन लागेको भनेर संचारमाध्यमहरुमा कुरा आइरहेको छ । जनता उपचार नपाएर ज्यान गुमाउने, गणतन्त्रलाई असफल बनाउन प्रतिगामीहरूले नाराबाजी गरिरहेको समयमा पूर्वविष्टिलाइ सुविधा दिने कुरा स्वीकार्य छैन । सरकारले यसबारे जवाफ दिनुपर्छ ।’

त्यसैगरी नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले देश ग्रे लिस्टमा परेको समयमा पूर्वविष्टिलाई सेवा सुविधा दिने कुरा स्वीकार्य नहुने बताए । उनले भने, ‘यो कुरा यस्तो बेलामा आएको छ कि सरकार ग्रे लिष्टमा परेको छ, त्यसको साथसाथै ट्रान्सपरेन्सीले मुलुकलाई भ्रष्टाचारको सूचीमा राखेको छ । दुःख पीडामा रहेका जनतालाई राहत दिनुपर्ने बेलामा विशिष्टलाई सेवा सुविधा दिन लागेर सरकारले विवेक गुमाउँदै गएको देखिएको छ । सरकारले यस्तो कदम नचालोस् ।’

त्यस्तै नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले राज्यलाई भारपर्ने गरी पूर्वविशिष्टलाई सेवा सेवा सुविधा दिने कानुन नबनाउन आग्रह गरे । उनले भने, ‘पूर्वविशिष्टलाई सेवा सुविधा दिने काम सरकारले नगरोस् । भूकम्पपीडित र बाढीपीडितले राहत पाएका छैनन् । निर्माण व्यवसायीले कामको भुक्तानी पाएका छैनन् । कुनै व्यक्ति एक पटक कुनै पदमा पुगेपछि त्यसलाई पेन्सन जस्तो आजीवन सुविधा दिनु हुँदैन । बरु वर्तमान पदाधिकारीको सुविधा पनि कटौती गरौं । म त्यसका लागि तयार हो, अरु पनि तयार हुनुपर्छ ।’

त्यस्तै, स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पूर्वविशिष्टलाई कुनै सुविधा दिन नहुने बताए । उनले भने, ‘पदमा हुँदा पनि देश लुट्ने, एनसेल, बाइडबडी, ललिता निवास जस्ता ठूला काण्ड गर्ने । अनि पद छाडेपछि .सुविधा दिनु गलत हो । यो जनताको कर लुट्न पाइँदैन । पूर्वविशिष्ट पद हुँदैन, वर्तमान मात्र हुन्छ । २६ खर्ब ऋण भइसकेको छ ।’

पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री लगायतलाई आजीवन सुविधा दिनेगरी कानून बनाउन मन्त्रिपरिषद्ले गृहलाई स्वीकृति दिएको खबर बाहिरिएपछि यसको विरोध भएको हो ।

होली खेल्ने विषयमा विवाद हुँदा जनकपुरमा एक युवकको हत्या

जनकपुरधाम । होली खेल्ने विषयमा विवाद हुँदा यहाँ एक युवकको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२३ विन्धिमा होली खेल्ने विषयमा विवाद हुँदा सोही स्थानका धर्मेन्द्र महतोले गरेको चक्कु प्रहारबाट १८ वर्षीय आशु यादवको मृत्यु भएको हो ।

अभियुक्त महतोले यादवको छाती, पेट र डाढमा चक्कु प्रहार गरेका थिए । गम्भीर घाइते यादवको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरधाममा शनिबार राति मृत्यु भएको धनुषाका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए ।

आक्रमणमा प्रयोग गरिएको चक्कुसहित अभियुक्त महतोलाई हिरासतमा राखेर कारबाही अगाडि बढाइएको उनले बताए ।

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । अघिल्लो कारोबार दिन उच्च बिन्दुमा पुगेको सुनको मूल्यमा आइतबार सामान्य गिरावट आएको छ । चाँदीको मूल्य पनि सामान्य घटेको छ ।

गत शुक्रबार प्रतितोला सुन एक लाख ७४ हजार ५०० मा कारोबार भएकामा आइतबार प्रतितोला ४०० रुपैयाँले घटेर र एक लाख ७४ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदीको मूल्य प्रतितोला दुई हजार ४५ मा कायम भएको छ । शुक्रबार सोही परिणामको चाँदी रु दुई हजार ५० मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस रु दुई हजार नौ सय ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

हुथी विद्रोहीविरुद्ध अमेरिकी हवाई आक्रमणमा १९ जनाको मृत्यु

बीबीसी । अमेरिकी सेनाले यमनमा हुथी विद्रोहीविरुद्ध हवाई आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी तथा अन्य जहाज, विमान तथा ड्रोनविरुद्ध समुद्री डकैती, हिंसा तथा आतंकवादविरुद्ध यो अभियान चलाइएको बताएका छन् ।

बीबीसीकाअनुसार हुथी स्वास्थ्य मन्त्रालयले अमेरिकी आक्रमणमा परी कम्तिमा १९ जनाको मृत्यु भएको जनाएको छ । यसअघि हुथीहरूसँग जोडिएको अल मसिरा टीभीले यमनको सनामा आक्रमण भएको जानकारी दिइएको थियो ।

हुथी मिडियाको कार्यालयले अमेरिकाले सानाको उत्तरी क्षेत्र शौआबमा एक आवासीय क्षेत्रलाई निशाना बनाएको बताइएको छ ।

कञ्चनपुरमा एक कठ्ठा जग्गामै ‘बाह्र क्विन्टल’ आलु उत्पादन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ पिताम्बरका दलबहादुर चौधरीले एक कठ्ठा जग्गामा १२ क्विन्टल आलु फलाएका छन् । उन्नत जातको आलुखेती गरी चौधरी थोरै जग्गामा धेरै आलु फलाएका हुन् । पहिलो पटक उनले ‘कोमल कार्प’ नामक जातको आलुखेती गरेका छन्। थोरै क्षेत्रफलमा धेरै आलु फलेको देखेर चौधरी आफै दङ्ग छन् ।

“आलुसम्बन्धी तालिम लिँदा धेरै फल्ने आलुको नाम सुनेको थिएँ”, चौधरीले भने, “रोपेपछि कस्तो फल्छ भनेर परीक्षणका रूपमा काठमाडौँबाट बीउ ल्याएर रोपेँ, भने जस्तै फलेको छ ।” रू पाँचप्रति दानाका दरले आठ किलो आलु बारीमा रोपेकामा त्यसको उत्पादन १२ क्विन्टल भएको उनले बताए ।

पहिलो पुस्ताको आलुको बीउ भएकाले उत्पादन भएको आलु उनले बीउका रूपमा राखेर पुनः रोप्ने योजना छ । उत्पादित आलुका दाना आधा किलोदेखि दुई किलोसम्मका रहेका छन् । यो आलु थोरै क्षेत्रफलमा धेरै फल्ने, ठूलो फल लाग्ने, खानमा स्वादिलो रहेको उनले बताए । मङ्सिरको दोस्रो साता रोपेको आलु फागुनको पहिलो साता खनेको चौधरीको भनाइ छ ।

चौधरीले जिल्लाका शीतभण्डारगृह नहुँदा बाह्य क्षेत्रमा लगेर भण्डारण गर्ने तयारी गरेका छन्। “घरमै राख्दा कुहिएर बिग्रिन्छ”, उनले भने, “शीतभण्डारमा राख्नुपर्ने हुन्छ, जिल्लामा एक मात्रै निजी क्षेत्रबाट सञ्चालन हुँदै आएको शीतभण्डारगृह बन्द भएपछि भण्डारण गर्न समस्या भएकाले बाह्य क्षेत्रमा लैजानुपर्ने बाध्यता छ ।”

तीन दशकदेखि चौधरी व्यावसायिक आलु खेतीमा संलग्न रहँदै आएका छन् । सो अवधिमा एघार प्रजातीका आलु लगाएर हेरेको उल्लेख गर्दै उनले यति बढी फल्ने आलुको पहिलो पटक खेती गरेको बताए ।

अन्य जातका आलुको उत्पादन प्रतिकठ्ठा पाँचदेखि सात क्विन्टलसम्म हुने गरेको छ । चौधरीले प्रतिवर्ष १२ कठ्ठादेखि एक विगाहा जग्गामा आलुखेती गर्दै आएकाछन् । उनले प्रतिवर्ष दुई सयदेखि तीन सय बोरा आलु उत्पादन गर्दै आएका छन् । आलु खेती स्याहार्न चौधरीको पूरै परिवार खटिने गरेको छ । रासायनिक मल थोरै र गोबर मल अधिक राखेर आलुखेती गरे बढी उत्पादन लिन सकिने उनी बताउछन् ।

आलु उत्पादनको कार्यका लामो समयदेखि संलग्न रहँदै आए पनि बजारमा लगेपछि विचौलिया र व्यापारीले निर्धारण गरेको दररेटमा बिक्री गर्नुपर्दा कुनै बेला लागत नै नउठ्ने गरेको उनी बताउछन् । किसानलाई मर्का नपर्नेगरी सरकारले धान, गहुँलगायत जस्तै आलुको पनि दररेट निर्धारण गर्नुपर्ने उनको माग छ । चौधरी उत्कृष्ट आलु उत्पादन गर्ने किसानका रूपमा तीन पटक पुरस्कृत भइसकेका छन् ।

पूर्वनगर प्रमुख दीलबहादुर ऐर किसानले उत्पादन गरेको आलुलगायत तरकारी भण्डारण गर्नका लागि शीतभण्डारको व्यवस्थासँगै बजारमा सहज रूपमा बेच्ने व्यवस्था मिलाउने कार्य स्थानीय तहले गर्नुपर्ने बताए ।

घरपझोङ सडकमा कमसल कालोपत्र

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिकाका–५ वाटै वडा जोड्ने रिङ्रोड सडक कालोपत्रमा निर्माण व्यवसायीले बदमासी गरेको पाइएको छ । घरपझोङ रिङ्रोड सडकअन्तर्गत जोमसोम–ठिनी सडक कालोपत्र गर्दा सम्बन्धित निर्माण कम्पनीले बदमासी गरेको गुनासो बढेपछि घरपझोङ-५ को वडा कार्यालयले पूर्वाधार विकास कार्यालयलाई स्पष्टीकरण मागेको छ ।

गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय मुस्ताङले जोमसोम, ठिनी, ढुम्बाताल, सम्ले, छैरो र चिमाङलगायत आधा दर्जन गाउँ जोड्ने ‘एक निर्वाचन क्षेत्र, एक सडक’ योजनाअन्तर्गत घरपझोङ रिङ्रोड सडक २०७६ साल कात्तिक २१ गते बन्दना भगवती जेभिसँग रू २१ करोड ४३ लाखको लागतमा ठेक्का सम्झौता गरेको थियो ।

रिङ्रोड सडकअन्तर्गत १० किमी सडकमध्ये नयाँ ट्र्याक खोल्ने र जोमसोमदेखि ढुम्बासम्म ५ दशमलव ५ किमी दूरीमा कालोपत्र गर्ने योजना परेको थियो ।

सडकको नाली निर्माणसहित आठ मिटर चौडा सडकमा जोमसोम–ठिनी–ढुम्बासम्म पाँच किमी दूरीमा प्रिमिक्स कालोपत्र गरिने योजना थियो । सम्झौता अवधि २०७७ साल माघ महिनासम्म तोकिएको घरपझोङ रिङ्रोड सडकको पाँच पटकभन्दा धेरै म्याद थप भइसकेको छ ।

जीर्ण आयोजनाको सूचीमा परेको घरपझोङ रिङ्रोड सडकमा निर्माणमा निर्माण कम्पनीले चरम ढिलासुस्ती देखाएका कारण हालसम्म पनि रिङ्रोड सडक सम्पन्न विलम्ब भइरहेको छ । निर्माण कम्पनीलाई पूर्वाधार विकास कार्यालयको पटकरपटकको ताकेतापछि जसोतसो घरपझोङ रिङ्रोड सडकअन्तर्गत जोमसोम–ठिनी सडकको ३ किमी दूरीमा गत मङ्सिरमा कालोपत्र गरिएको थियो । अहिले जोमसोम–ठिनी जाने सडकको कालोपत्र कमसल र उप्किएको भन्दै त्यस क्षेत्रका स्थानीयले असन्तुष्टि जनाइरहेका छन् ।

स्थानीयले अख्तियारी प्राप्त निकायले प्राविधिक अनुमगन नगरेकाले कालोपत्र सडक कमसल हुँदा उप्किन पुगेको भन्दै स्थानीय सरोकारवालाले गुनासो गर्न थालेका हुन् ।

घरपझोङ रिङ्रोड सडकअन्तर्गत गत मङ्सिरमा तीन किमी दूरी कालोपत्र गरेर चिसो बढेको भन्दै निर्माण कम्पनीले सडक स्तरोन्नतिकार्य स्थगित गरेको थियो । निर्माण कम्पनीले काम स्थगित गरेको तीन महिना बितिसक्दा समेत अहिले पनि रिङरोड सडक निर्माणको काम सुरू हुनसकेको छैन ।

रिङ्रोड सडकअन्तर्गत जोमसोम–ठिनी सडकमा गरिएको कालोपत्र सम्बन्धिमा जनगुनासो बढेसँगै घरपझोङ–५ ठिनीको वडा कार्यालयले गत २१ मङ्सिरमा पूर्वाधार विकास कार्यालयसँग स्पष्टीकरण माग गरेको हो । त्यहाँका वडाध्यक्ष प्रदीप थकालीले हस्ताक्षर गर्नुभएको पत्रमा जोमसोम–ठिनी सडकको कालोपत्र गुणस्तरहिन र अत्यन्तै कमजोर भएको उल्लेख गरिएको छ ।

पत्रमा यस कालोपत्र सडकको गुणस्तरलाई लिएर स्थानीयवासी व्यापक असन्तुष्टि रहेकाले सो सडकको कालोपत्र गुणस्तरका सम्बन्धमा यतार्थ जानकारी गराउन र सडकलाई कसरी गुणस्तर कायम गर्न सकिन्छ ? भन्ने सम्बन्धमा स्पष्ट जवाफ पेस गर्न समेत वडा कार्यायले ध्यानार्कषण गराएको पत्रमा उल्लेख गरिएको छ ।

यता, पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी इञ्जिनीयर घनश्याम रोक्कामगरले जोमसोम–ठिनी कालोपत्र सडकमा समस्या भएको देखिएमा पुनःसमाधान गर्न सकिने बताए । इञ्जिनीयर रोक्कामगरले वडा कार्यालयको पत्र प्राप्त भएको र त्यसको जवाफ लेखेर पठाइएको जानकारी दिए । उनले उक्त सडक ५ सेमी मोटाइको प्रिमिक्स कालोपत्र भएको र त्यसमा कुनै त्रुटी भएको प्राविधिक अध्ययनमा देखिएमा करेक्सन गर्न सकिने बताउनुभयो । उनले भने, “ठेक्का सम्झौता र शर्तहरू निर्माण कम्पनीले कार्यान्वयन गरेको छछैन हामीले हेर्ने हो, शर्त पालना नभएको देखिएमा पुनस् त्यहाँ कालोपत्र गराउन लगाईनेछ ।”

सूचना अधिकारी इञ्जिनीयर रोक्कामगरले रिङ्रोड सडकमा ठेकेदारले अनुकूल समयमा कालोपत्र नगरेको उल्लेख गरे । “सायद तापक्रम नपुगेकाले पनि समस्या आएको हुनसक्छ, अनुकूल समयमा काम गरिनुपर्थ्यो”, उनले थपे, “काम गर्छु भनेर आएपछि नगर भन्न मिलेन, यसैले ठिनी गाउँसम्म कालोपत्र गर्न दियौँ ।”

मुस्ताङको घरपझोङ रिङ्रोड सडकको ६ वर्षमा भौतिक प्रगति ७६ प्रतिशत सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । रिङ्रोड सडकमा अझै सडक संरचना, नाली निर्माण, सडक फिनिसिङलगायता कार्य बाँकी रहेको छ । घरपझोङ रिङ्रोड बनेपछि मुख्य सडकबाट ओझेलमा परेका ठिनी, ढुम्बा, सम्ले, छैरो र चिमाङलगायत आधादर्जन गाउँका कृषि उपजको बजारीकणमा निकैनै सहज पुग्ने देखिन्छ ।

चन्दा सङ्कलन गरेर पदमार्गको नक्शा

म्याग्दी । समुदायस्तरबाट चन्दा सङ्कलन गरेर म्याग्दीको मौरिस हर्गोज र अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गको नक्शा तयार पारिएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधारशिविर जोड्ने मौरिस हर्गोज, पर्वतको जलजला र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका पर्यटकीय स्थलहरू समेटिएको अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गको नक्शा बनाइएकाे हाे ।

सरकारी निकायको आर्थिक सहयोगबिनै पर्यटनकर्मी चित्र तिलिजा पुन र लुकेश तिलिजा पुनले दुई वटै पदमार्गको पछिल्लो अवस्था समेटेर तयार पारेको नक्शा शनिबार बेनीमा सार्वजनिक गरिएको छ ।

संविधानसभा सदस्य गोविन्द पौडेल, प्रतिनिधिसभाका पूर्व सदस्य भूपेन्द्रबहादुर थापा, नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी, अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुन, नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका सभापति कृष्णप्रसाद बरूवाल, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) धान्द्रुकका प्रमुख भीम उपाध्याय र म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले नक्शा सार्वजनिक गरेका हुन् ।

‘पुरानो नक्शामा अहिले थपिएका पूर्वाधार र सुविधाको जानकारी नहुँदा नयाँ नक्शा बनाउनुपर्ने आवाज उठेपछि समुदायस्तरबाट उठाएको ६ लाख रुपैयाँ खर्चेर दुई वटा पदमार्गमा पर्ने सबै स्थानमा पुगेर नयाँ नक्शा तयार पारेका हौँ,’ चित्र तिलिजाले भने, ‘होटल सुविधा र गन्तव्यको विशेषता सहितका जानकारी समेटिएको नयाँ नक्शा बजारमा पठाइसकेका छौँ । पर्यटन व्यवसायी, पथप्रदर्शक र पर्यटकलाई सहज हुनेछ ।’

सरकारी निकायको झञ्जटिलो प्रक्रिया पूरा गर्नुभन्दा समुदायको सहयोग जुटाएर नक्शा बनाएर राज्यलाई सहयोग गरिएको नक्शा निर्माणकर्ता तिलिजाद्वयले बताए । नक्शा तयार पार्न यहाँका होटल व्यवसायी र विदेशमा रहेका म्याग्देलीले सहयोग गरेका छन् ।

यसअघि तयार पारिएको नक्शा पूर्ण नभएकाले यसपाली सबै समेटेर नक्शा बनाइएको मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरूङले बताए । ७५ वर्षअघि फ्रान्सेली आरोही मौरिस हर्जोगले अन्नपूर्ण प्रथम हिमाल चढ्ने क्रममा हिँडेको पदमार्गलाई मौरिस हर्जोग नामकरण गरिएको छ । नारच्याङदेखि अन्नपूर्ण हिमालको आधारशिविर जोड्ने यो पदमार्ग तीनदेखि पाँच दिनमा यात्रा गर्न सकिन्छ ।

पर्वतको जलजला गाउँपालिकाको मल्लाज, बाँसखर्क, डाँडाकटेरी, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नागी, मोहरेडाँडा, खोपारा र खयर बराह ताल समेटिएको अन्नपूर्ण–धौलागिरी सामुदायिक पदमार्ग एक हप्तादेखि १० दिनसम्म यात्रा गर्न सकिन्छ ।

आँधीमा परी दक्षिणी अमेरिकामा कम्तिमा ३१ जनाको मृत्यु

बीबीसी । दक्षिण अमेरिकामा आँधीमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ । मिसौरीमा मात्र १२ जनाको मृत्यु भएको छ ।

घातक आँधीले दक्षिण–पूर्वी राज्यहरूमा कारहरू पल्टाएको छ र घरहरू ध्वस्त पारेको छ । क्यान्ससमा, धुलो आँधीका कारण ५५ भन्दा बढी सवारी साधनहरू दुर्घटनामा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ ।

ट्रयाकर पावरआउटेजका अनुसार आँधीले शनिबार साँझ मिशिगन मिसौरी र इलिनोइस सहित पाँच राज्यहरूमा १ लाख ७० हजार घर विद्युतविहीन भएका छन् । पूर्वी लुइसियाना, पश्चिमी जर्जिया, मध्य टेनेसी र पश्चिमी फ्लोरिडा प्यानह्यान्डलमा आँधीबेहरी निगरानी जारी गरिएको छ ।

दक्षिण–पूर्वमा गम्भीर मौसम जारी रहँदा मध्य मिसिसिपी, पूर्वी लुइसियाना र पश्चिमी टेनेसीका साथै अलाबामा र अर्कान्सासका केही भागहरूमा पनि अचानक बाढी र बाढीको चेतावनी जारी गरिएको छ।

‘डिजिटल मिडिया अलायन्स’को टोलीद्वारा प्रचण्डसँग भेट

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग डिजिटल माध्यमबाट प्रकाशन तथा प्रसारण हुने सञ्चारमाध्यमका प्रतिनिधिहरुको नवगठित ‘डिजिटल मिडिया अलायन्स’को टोलीले भेट गरेको छ ।

शनिबार खुमलटारस्थित प्रचण्ड निवासमा टोलीले प्रचण्डसँग भेटवार्ता गरेको हो । भेटमा अध्यक्ष प्रचण्डले डिजिटल मिडियाहरू संस्थागत भएकोमा खुसी प्रकट गर्दै अहिलेको डिजिटल युग भएकोले डिम्यानले दूरदराजका शोषित पीडित जनताहरूको आवाज बोल्ने विश्वास व्यक्त गरे ।

प्रचण्डले भने, ‘समाजमा बढ्दो नकारात्मकता र निराशालाई आशामा बदल्न पनि तपाईंहरूको संस्थाले सकारात्मक भूमिका खेल्नेछ । गणतन्त्रलाइ सस्थागत गर्न तपाईहरुको डिम्यानले अझै थप सकरात्मक भूमिका खेल्ने छ । तपाईंहरुजस्तो युवालाई मेरो पूर्णसाथ रहने छ।’

त्यसक्रममा संस्थाका अध्यक्ष मोहराज पौडेल र महासचिव युवराज कँडेलले डिजिटल मिडिया र सस्थाको भूमिकाकोबारेमा जानकारी गराएका थिए । भेटमा संस्थाका सल्लाहकार विजन दुवाडी, उपाध्यक्ष मोनिका सिंह, उपाध्यक्ष महेश पौडेल, सचिव अर्जुन विष्ट, कोषाध्यक्ष कमल सरगम, सदस्य गोपीकृष्ण चापागाई र नरेन्द्र महरा सहभागी थिए ।

विकसित राजनीतिक घटनाक्रमको समीक्षा गर्न राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे समीक्षा गर्न यही चैत ३ गते केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ ।

समसामयिक राजनीति तथा अन्तरराष्ट्रिय परिस्थितिको समीक्षाका साथै पार्टीको कार्यक्रम, नीति, विचार, सिद्धान्त, मूल्यमान्यता, आदर्श र निर्णयलाई जनतासमक्ष पुर्याउन आवश्यक रणनीति तयार गर्न बैठक आह्वान गरिएको केन्द्रीय सदस्य देवेन्द्र प्रधानले जानकारी दिए ।

पार्टीले उठाउँदै आएका राजनीतिक मुद्दा स्थापित गर्न जनसमुदायबीच सन्तुलित, स्वस्थ र मजबुत सम्बन्ध विस्तारका निम्ति कार्यक्रम ल्याउन बैठकमा छलफल गरिने नेता प्रधानले जानकारी दिए ।

प्रस्तावित युद्धविराम वार्तापछि रुस र युक्रेनद्वारा हवाई आक्रमण जारी

किएभ । रुस र युक्रेनले शनिबार रातभर भारी हवाई प्रहारहरू आदान–प्रदान गरेका छन्। दुवै पक्षले आ–आफ्नो क्षेत्रमा एक सयभन्दा बढी शत्रु ड्रोनहरू प्रहार भएको रिपोर्ट गरेका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्धमा ३० दिने युद्धविरामको अमेरिकी प्रस्तावको विवरणहरूबारे छलफल गर्न अमेरिकी दूत स्टिभ विटकफसँग भेट गरेको २४ घण्टाभन्दा कम समयमा यो आक्रमण भएको हो।

बिहीबार एक पत्रकार सम्मेलनमा बोल्दै पुटिनले सिद्धान्ततः युद्धविरामलाई समर्थन गर्ने तर यसमा सहमत हुनुअघि स्पष्ट पारिनु पर्ने धेरै विवरणहरू प्रस्तुत गरे।

किएभले पहिले नै युद्धविराम प्रस्तावलाई समर्थन गरिसकेको छ। यद्यपि युक्रेनी अधिकारीहरूले मस्कोले त्यस्तो सम्झौतामा प्रतिबद्ध हुनेछ कि छैन भन्ने बारेमा सार्वजनिक रूपमा आशङ्का व्यक्त गरेका छन्।

शनिबार एक वक्तव्यमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले मस्कोलाई सीमा नजिक सेना जम्मा गरेको आरोप लगाए। “रुसी सेनाको निर्माणले मस्कोले कूटनीतिलाई बेवास्ता गर्न चाहन्छ भन्ने सङ्केत गर्दछ। यो स्पष्ट छ कि रुसले युद्धलाई लम्बाइरहेको छ”, उनले भने।

युक्रेनी नेताले अमेरिकी भनाइपछि रूसको कुस्र्क क्षेत्रमा किएभको सेनाले आफ्नो उपस्थिति कायम राखेको कुरामा जोड दिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ‘हजारौँ’ युक्रेनी सेना रूसी सेनाले घेरिएको बताएका थिए।

“कुस्र्क क्षेत्रको तोकिएको क्षेत्रहरूमा हाम्रो सेनाको अभियान जारी छ”, जेलेन्स्कीले भने, “हाम्रा सैनिकहरूले कुस्र्क क्षेत्रमा रुसी र उत्तर कोरियाली समूहहरूलाई रोकिराखेका छन्। हाम्रा सैनिकहरूको कुनै घेराबन्दी छैन।”

अर्कै ठाउँमा युक्रेनको वायुसेनाले शनिबार रुसले रातभर एक सय ७८ वटा ड्रोन र दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको बताएको छ। यो आक्रमण शाहेद–प्रकारका आक्रमणकारी ड्रोनहरू र हवाई सुरक्षालाई भ्रमित पार्न डिजाइन गरिएका नक्कली ड्रोनहरूको मिश्रण थियो। करिब एक सय ३० वटा ड्रोनलाई गोली हानेर खसालिएको थियो भने थप ३८ वटा आफ्नो लक्ष्यको बाटोमा हराएका थिए।

रुसले ऊर्जा सुविधाहरूमा आक्रमण गरी ठूलो क्षति पुर्‍याएको युक्रेनको निजी ऊर्जा कम्पनी डिटिइकेले जनाएको छ।

रुसले ड्निप्रोपेट्रोभस्क र ओडेसा क्षेत्रमा ऊर्जा पूर्वाधारमा प्रहार गरेको डिटिइकेले शनिबार एक विज्ञप्तिमा जनाएको छ। केही बासिन्दा बिजुलीबिना बस्न बाध्य भएका थिए।

“क्षति उल्लेखनीय छ। ऊर्जा कर्मचारीहरू पहिले नै जमिनमा काम गरिरहेका छन्। हामी घरहरूमा सकेसम्म चाँडो बिजुली बहाल गर्न सम्भव सबै कुरा गरिरहेका छौँ”, ऊर्जा कम्पनीले भन्यो।

यसैबीच रुसको भोल्गोग्राड क्षेत्रमा गभर्नर आन्द्रेई बोचारोभले ड्रोनको भग्नावशेष खस्दा सहरको क्रास्नोर्मेस्की जिल्लामा लुकोइल तेल प्रशोधन केन्द्र नजिकै आगलागी भएको पुष्टि गरे तर थप विवरणहरू प्रदान गरेनन्।

स्थानीय मिडिया आउटलेटहरूले नजिकका विमानस्थलहरूले अस्थायी रूपमा उडानहरू रोकेको बताएका छन्। कुनै हताहत भएको रिपोर्ट गरिएको छैन।

भोल्गोग्राड रिफाइनरीलाई मस्कोले तीन वर्षअघि युक्रेनमा पूर्ण आक्रमण सुरु गरेदेखि धेरै अवसरहरूमा किएभको सेनाले लक्षित गरेको छ। सबैभन्दा पछिल्लो ड्रोन आक्रमण फेब्रुअरी १५ मा ड्रोन भएको थियो।

चित्रकार शशिविक्रम शाहलाई ‘आदर्श गुरु सम्मान’

काठमाडौँ । भीमदर्शन रोका स्मृति कोषले शनिबार काठमाडौँमा एक समारोहकाबीच छ दशकदेखि सिर्जनामा सक्रिय वरिष्ठ चित्रकार शशिविक्रम शाहलाई ५० हजार एक रुपैयाँ राशिको आदर्श गुरु सम्मान प्रदान गरेको छ ।

उनलाई सिद्धार्थ वनस्थली स्कुलका प्राचार्य रुपक राजवंशी, साहित्यकार रोचक घिमिरेले सम्मान पत्र र खादा ओढाउँदै सम्मान गरे । कोषले आजै काभ्रेको पनौतीमा रहेको सहारा ज्येष्ठ नागरिक समाजलाई पनि त्यति नै रकमसहित सम्मान गरेको छ ।

सम्मानित भएपछि कलाकार शाहले आफूलाई सिर्जनामा लाग्न जाँगर थपिएको बताए । उनी स्वदेशमा मात्र नभई विदेशमा पनि परिचित छन् । बेलायतको टेक मोर्डन आर्ट ग्यालरीमा उनको मात्र चित्र राखिएका छन् ।

साहित्यकार रोचक घिमिरेले स्रष्टा सम्मानलाई समाजले निरन्तरता दिनुपर्नेमा जोड दिए भने । प्राचार्य राजवंशीले भीमदर्शन रोकाको शैक्षिक योगदानको चर्चा तथा कलाकार शाहका कलाकृतिको समीक्षा गरेका थिए ।

इन्धनको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा पाँच रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर चार रुपैयाँले घटाइएको निगमले जनाएको छ ।

मूल्य घटेसँगै काठमाडौँ उपत्यकामा पेट्रोलको मुल्य प्रति लिटर १६३ र डिजल तथा मट्टीतेल प्रति लिटर १५१ भएको निगमले जनाएको छ ।

जलवायु परिवर्तनका असर घटाउन बाह्य सहयोग अपरिहार्यः मन्त्री ठकुरी

काठमाडौं ।  वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको असरबाट मुलुक नराम्ररी प्रभावित भएको वास्तविकता प्रस्तुत गर्दै त्यसलाई घटाउन बाह्य सहयोग अपरिहार्य भएको बताएका छन् ।

आफ्नो सम्मानमा लन्डनस्थित नेपाली दूतावासले शुक्रबार साँझ आयोजना गरेको स्वागत समारोहमा उनले जलवायु परिवर्तनको असर देशको कृषि, पर्यटन र दैनिक जीवनमा परिरहेकाले त्यसलाई घटाउन बेलायत जस्ता नेपालको विकासका साझेदारहरुको सहयोग आवश्यक भएको बताए ।

जलवायु परिवर्तनका असर घटाउने तथा जैविक विविधता संरक्षण नेपालको मात्र नभई अन्तर्राष्ट्रिय समुदायको चासोको विषय भएको बताउँदै मन्त्री ठकुरीले नेपाल र बेलायतबीचको समुधुर सम्बन्धलाई अझ प्रगाढ तुल्याउनु पर्नेमा जोड दिएका थिए ।

मन्त्री ठकुरीको निजी सचिवालयका अनुसार गोर्खा सैन्यका कारण नेपाल–बेलायत सम्बन्ध अझ उन्नत रहेको चर्चा गर्दै उनले दूतावासका कर्मचारी तथा कूटनीतिक नेतृत्वलाई मातृभूमिको चौतर्फी विकासलाई केन्द्रमा राखेर काम गर्न अनुरोध गरे ।

हालै जारी भएको अध्यादेशले विदेशी लगानी प्रोत्साहन गरेको र अन्य ऐनकानुन पनि लगानीमैत्री भएकाले मातृभूमिको औद्योगिक विकासका खातिर पुँजी जुटाउने दिशामा सक्रियताका साथ काम गर्न मन्त्री ठकुरीले सुझाए । नेपाली राजदूत चन्द्रकुमार घिमिरेले बेलायत र नेपालबीचको दुई शताब्दीभन्दा पुरानो कूटनीतिक सम्बन्धको चर्चा गर्दै द्विपक्षीय हित, साझा चासो र आपसी लाभ प्रवद्र्धन गर्न आफू प्रतिबद्ध रहेको बताए ।

आइजिपी कप क्रिकेटको उपाधि मधेस प्रदेशलाई

काठमाडौं । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशलाई पाखा लगाउँदै मधेस प्रदेश प्रहरीले चुमेको छ ।

नेपाल प्रहरी खेलकुद समितिले मुलपानी क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा मधेस प्रदेश प्रहरीले लुम्बिनी प्रदेशलाई १४ रनले पराजित गरेको हो ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले विजयी टिमका खेलाडी तथा अफिसियललाई पदक, प्रमाणपत्र, ट्रफी र नगद पुरस्कार प्रदान गरे ।

त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै उनले सुरक्षा निकाय जस्तो शारीरिक र मानसिक रूपमा तन्दुरूस्त रहनुपर्ने सङ्गठनमा खेलकुदको महत्व अझ अधिक रहेको बताए ।

उनले नेपाल प्रहरीका खेलाडीले राष्ट्रको प्रतिनिधित्व गरेर राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका प्रतियोगितामा सहभागी हुने अवसर पाउनु सङ्गठनका निम्ति गौरवको विषय भएको बताए ।

गत फागुन २७ गतेदेखि भएको प्रतियोगितामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र सातवटै प्रदेश प्रहरी कार्यालय गरी आठ टोली मैदानमा उत्रेका थिए ।

साहित्यकार सुवेदीका चार कृति लोकार्पण

काठमाडौँ । वरिष्ठ साहित्यकार होमनाथ सुवेदीले सिर्जना र सम्पादन गरेका चारवटा कृति लोकार्पण गरिएका छन् ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरद्वारा शनिबार आयोजित कार्यक्रममा ‘नन्दिनी शोक महाकाव्य’, ‘नन्दादेवी स्मृतिग्रन्थ’, ‘नन्दा शोक खण्डकाव्य’ र ‘सेती गजल खण्डकाव्य’ विमोचन गरिएका हुन् ।

त्यस अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले श्रष्टा सुवेदीलाई ‘नेपाली डायस्पोरा स्वर्ण तारा सम्मान’ प्रदान गरे । कार्यक्रममा सुवेदीद्वारा रचित ‘नन्दा शोक खण्डकाव्य र सेती गजल खण्डकाव्य समेटिएका श्रव्य सामग्रीसमेत विमोचन गरियो । वरिष्ठ साहित्यकार सुवेदी अनेसासका संस्थापक अध्यक्ष हु्न् ।
कार्यक्रममा कुलपति राईले साहित्यकार सुवेदीका रचनाले नेपाली भाषा र वाङ्मयलाई अन्तराष्ट्रियजगत्मा पुर्याउन योगदान गरेको धारणा राखे ।

उनले साहित्यको अध्ययन र लेखनले शोकलाई सिर्जनामा रूपान्तरण गर्न सकिन्छ भन्ने सुवेदीका कृतिबाट उदाहरण प्रस्तुत भएको बताए ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक जवलाल सापकोटाले अन्तरराष्ट्रियस्तरमा नेपाली वाङ्मयलाई विकास गर्दै नेपाली भाषाको श्रीवृद्धिमा पुर्याएको योगदान महत्वपूण रहेको र उहाँ ‘साहित्यिक दोभान’ भएको टिप्पणी गरे ।

कार्यक्रमका अन्य वक्ताहरूले विशाल भावना बोकेको सङ्क्षिप्त साहित्यिक विधा कवितालाई साधना र शब्दको खेलका रूपमा चित्रित गरे । उनीहरूले सुवेदीका कृतिमा आख्यानभन्दा अनुभूति प्रधान रहेको टिप्पणी गरे ।

विद्युतीय सवारीसाधन सञ्चालनसँगै सस्तियो पोखरा-बागलुङ यात्रा

गण्डकी । गण्डकी यातायात सेवा प्रालिले पोखरा-बागलुङ र पेखरा म्याग्दी चल्ने विद्युतीय माइक्रो बसको भाडादर समायोजन गरेको छ। कम्पनीले विद्युतीय गाडी सञ्चालन गरेको एक वर्ष पुगेको अवसरमा भाडादर घटाएको हो।

पोखरा–बागलुङ यसअघि  चार सय ५० लिने गरिएकामा शुक्रबारदेखि रु ५० घटाएर रु चार सय कायम गरिएको प्रालिका अध्यक्ष उमेश केसीले जानकारी दिए। म्याग्दी–पोखराको भाडा रु पाँच सय ५० बाट घटाएर रु पाँच सय कायम गरिएको उनले बताए।

बागलुङदेखि पोखराका लागि गत वर्ष फागु पूर्णिमाका दिन विद्युतीय माइक्रो बस सेवा सञ्चालन गरिएको थियो। सुरुवाती चरणमा दुईओटा बसबाट सेवा सञ्चालन गरेको बागलुङ–पोखराका लागि हाल २० ओटा माइक्रो बस सञ्चालनमा छन्। कम्पनीले म्याग्दीको बेनीबाट पोखराका लागि पनि पाँच वटा बस सञ्चालन गरेको छ।

बागलुङ– नारायणगढका लागि पाँच ओटा बस सञ्चालनमा ल्याइएको छ। विद्युतीय सवारीसाधनको माग बढेपछि कम्पनीले सेवालाई थप व्यवस्थित गराउन भाडादर घटाएको हो । विद्युतीय गाडीले वातावरण प्रदूषणमा कमी आउने, इन्धनमा लाग्ने खर्च नहुने र नेपालमै उत्पादित विद्युत्को प्रयोग हुने हुँदा यो यात्राका लागि सहज र सस्तो हुने गरेको छ।

पछिल्लो समय प्रदेश राजधानी पोखरासहित गण्डकीका सहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो छ । यातायात व्यवसायीले सार्वजनिक सेवाका लागि पनि विद्युतीय सवारीसाधन भित्र्याउन थालेका छन् ।

प्रदूषणमुक्त र सञ्चालन खर्च कम आउने हुँदा विद्युतीय सवारीसाधनप्रति आकर्षण बढेको हो । विद्युतीय गाड़ी सुविधायुक्त र वातावरणमैत्री छन् । बिजुलीको नियमित उपलब्धता, चार्जिङ स्टेशन विस्तार आदिमा सरकारले ध्यान दिनुपर्ने यातायात व्यवसायीको माग छ ।

प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार मझौला र साना विद्युतीय सवारीसधान बढी प्रयोगमा आइरहेका छन् । गण्डकी प्रदेशमा ठूला विद्युतीय बस भने सञ्चालनमा आइसकेका छैनन् । माइक्रो बस, कार, भ्यान र स्कुटरको सङ्ख्या बढ्दो छ।

कास्की, बागलुङ, तनहुँ र नवलपुरमा रहेका यातायात कार्यालयमा विद्युतीय सवारीसाधन दर्ता गर्न सकिने मन्त्रालयले जनाइएको छ। चार्जिङ स्टेनसन भएका ठाउँमा मात्र सवारीसाधनको दर्ता र सञ्चालनमा अनुमति दिने गरिएको छ। 

सन् २०२६ को अन्त्यमा स्टारशिप मङ्गल ग्रह प्रस्थान गर्ने

वासिङटन । सन् २०२६ को अन्त्यमा टेस्लाको मानवनिर्मित रोबोट अप्टिमससहित आफ्नो विशाल स्टारशिप रकेट मङ्गलग्रहका लागि प्रस्थान गर्ने स्पेसएक्सका संस्थापक एलन मस्कले शनिबार बताएका छन् ।

विश्वको सबैभन्दा ठूलो र शक्तिशाली रकेट ‘स्टारशिप’ मस्कको मङ्गल ग्रहको उपनिवेशीकरणको दीर्घकालीन दृष्टिकोणको कुञ्जी हो।

“स्टारशिप अर्को वर्षको अन्त्यमा अप्टिमसलाई लिएर मङ्गल ग्रहको लागि प्रस्थान गर्छ । यदि ती अवतरणहरू राम्रो भयो भने सन् २०२९ सम्ममा मानव अवतरण सुरु हुन सक्छ, यद्यपि मानव अवतरण सुरु हुन सन् २०३१ सम्म लाग्ने सम्भावना बढी छ,” मस्कले सामाजिक सञ्जाल एक्समा भनेका छन् ।

टेस्लाका कार्यकारी प्रमुखसमेत रहेका मस्कले गत वर्ष एक कार्यक्रममा कम्पनीको अप्टिमस रोबोट सार्वजनिक गरेका थिए ।

उनले कुनै दिन सानातिना काम गर्न सक्ने र मित्रता पनि गाँस्नसक्ने प्रदान गर्ने ‘डान्सिङ रोबोट’ लाई २० हजारदेखि ३० हजार डलरसम्ममा बिक्री गर्न सकिने बताए ।

‘स्ट्याच्यू अफ लिबर्टीभन्दा लगभग १०० फिट अग्लो ४०३ फिट अग्लो स्टारशिप अन्ततः पूर्ण रूपमा पुनः प्रयोग गर्न सकिने गरी डिजाइन गरिएको छ ।

नासाले आफ्नो आर्टेमिस कार्यक्रमका लागि मुन ल्यान्डरको रूपमा स्टारशिपको परिमार्जित संस्करणको पनि प्रतिक्षा गरिरहेको छ, यसले यस दशकमा अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमामा फर्काउने लक्ष्य राखेको छ।

स्पेसएक्सले ती मिसनहरू पूरा गर्नु अघि यसले यान विश्वसनीय छ, चालक दलका लागि सुरक्षित छ र जटिल ‘इन–ऑर्बिट रिफ्युलिङ’ गर्न सक्षम छ भन्ने प्रमाणित गर्नुपर्छ । गहिरो अन्तरिक्ष अभियानहरूको लागि यो हुनु महत्त्वपूर्ण छ।

स्पेसएक्सले यसै महिना ‘स्टारशिप प्रोटोटाइप’को पछिल्लो परीक्षण उडान एक ज्वालामुखी विस्फोटमा परिणत भएपछि एक धक्काको सामना गर्नुपरेको थियो । यसको कक्षीय परीक्षणमा यसले सफलतापूर्वक कक्षमा प्रवेश गरेको थियो । यो अघिल्लो प्रयासको निकटको पुनरावृत्ति थियो।

टेस्लाले बिरामी कामदारको तलब रोकेको जर्मन युनियनको दाबी

फ्र्याङफर्ट । जर्मनीको बर्लिन नजिकै रहेको टेस्लाको कारखानाले बिरामी बिदामा रहेका कामदारलाई तलब दिन इन्कार गर्नेलगायतका गलत कार्य गरेको जर्मनीको एक प्रमुख युनियनले आरोप लगाएको छ ।

अर्बपति एलन मस्कको नेतृत्वमा रहेको टेस्लाले कर्मचारीको मेडिकल प्रमाणपत्रमाथि प्रश्न उठाउँदै आएको र पछि ‘तलब रोक्का गरिएको’ आइजी मेटल युनियनले आरोप लगाएको हो ।

टेस्लाले कथित ‘ओभरपेमेन्ट’ को कारण ‘ऋण’ मा फसेको हवाला दिँदै कहिलेकाँही उनीहरूलाई जागिरबाट अवकाश दिनेगरी पारस्परिक सम्झौतामा हस्ताक्षर गर्न प्रोत्साहित गर्नेगरेको पाइएको छ युनियनले भनेको छ।

जर्मनीको टेस्लाका लागि यो आरोप निकै कठिन समयमा आएको छ, जहाँ कम्पनीले जनवरीदेखि कारको बजारमा कारोबारको हिस्सा गुमाइरहेको छ ।

जर्मनीमा हालै सम्पन्न संसदीय चुनावमा अति दक्षिणपन्थी एएफडी पार्टीलाई समर्थन गरेको भन्दै मस्कको आलोचना भइरहेको छ । जर्मनीको बर्लिनमा टेस्लाका चार वटा कारमा बिहीबार रातिदेखि शुक्रबारसम्म आगलागी भएको प्रहरीले जनाएको छ ।

आईजी मेटलका अनुसार ११ हजारभन्दा बढीलाई रोजगारी दिने कारखानामा काम गर्ने कामदारले विवादमा युनियनको सहयोग लिने औसतभन्दा २१ गुणा बढी सम्भावना छ ।

टेस्लाको व्यवस्थापनले ‘बिल्ड ट्याब्लोइड’लाई बताएअनुसार हरेक महिना करिब एक दर्जन यस्ता मुद्दाहरू हुने गरेका छन् । कम्पनीले बिल्डलाई भनेको छ, “यहाँ सामूहिक कार्यको कुरा गर्नु भनेको वास्तविकताको जानाजानी विकृति हो।”

टेस्लाले प्रतिक्रियाका लागि एएफपीले गरेको अनुरोधमा कुनै जवाफ दिएको छैन । 

दक्षिण अफ्रिकाका राजदूतलाई देश निकाला गर्ने अमेरिकाको घोषणा

वासिङ्टन । अमेरिकाले वासिङटनका लागि दक्षिण अफ्रिकाका राजदूत इब्राहीम रसुलले अमेरिका र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई घृणा गरेको आरोप लगाउँदै देश निकाला गर्ने घोषणा गरेको छ ।

‘अमेरिकाका लागि दक्षिण अफ्रिकाका राजदूतलाई अब हाम्रो महान देशमा स्वागत छैन,’ राजदूतलाई देश निकाला गर्ने घोषणा गर्दै अमेरिकी विदेशमन्त्री मार्को रुबियो लेखेका छन् । दक्षिण अफ्रिकी राष्ट्रपतिको कार्यालयले आफ्नो देशका राजदूतलाई देश निकाला गर्ने अमेरिकी निर्णय ‘खेदजनक’ भएको प्रतिक्रया दिएको छ ।

‘इब्राहीम रसुल अमेरिकालाई घृणा गर्ने र घृणा गर्ने एक जातिगत राजनीतिज्ञ हुन्,’ ट्रम्पलाई उदृत  गर्दै विदेशमन्त्री रूबियोले भनेका छन्, ‘उनले हामीसँग छलफल गर्ने केही पनि आधार छैन र उहाँलाई अमेरिकामा ‘अस्वीकार्य व्यक्ति’ का रूपमा घोषणा गरिएको छ । उहाँलाई अमेरिकामा ‘अस्वीकार्य व्यक्ति’ (पर्सना नन ग्राटा) मानिनेछ ।’

कुटनीतिमा कुटनैतिक शिष्टाचार अन्तर्गत विशेष सुविधा दिइएकोमा त्यस्तो सुविधाको दुरुपयोग गर्ने, कुटनीतिक मर्यादा उल्लंघन गर्ने व्यक्तिलाई ‘होष्ट कन्ट्री’ले अस्वीकार्य व्यक्ति घोषणा गर्न सक्दछ । वासिङटन र प्रिटोरियाबीचको बढ्दो तनावबीच पछिल्लो घटनाक्रमबीच अमेरिकाले राजदूतलाई देश निकालाको निर्णय गरेको हो ।

ट्रम्पले गत फेब्रुअरीमा दक्षिण अफ्रिकालाई दिइने अमेरिकी सहयोग रोक्का गरेका थिए । गत साता ट्रम्पले दक्षिण अफ्रिकाका किसानलाई अमेरिकामा बसोबास गर्न स्वागत गरिएको भन्दै सरकारले गोराहरूको भूमि ‘जफत’ गरिरहेको आरोप दोहोर्‍याएका थिए ।

‘सुरक्षाको कारणले दक्षिण अफ्रिकाबाट आएका कुनै पनि किसान परिवारलाई त्यस देशबाट पलायन हुनुपरेमा नागरिकताको द्रुत मार्गको व्यवस्था गर्दै उनीहरूलाई अमेरिकामा आमन्त्रित गरिनेछ,’ ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन् ।

ट्रम्पका निकट सहयोगी तथा दक्षिण अफ्रिकी मूलका अर्बपति इलन मस्कले दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाको सरकारमाथि ‘खुलेआम रंगभेदी स्वामित्वसम्बन्धी कानुन’ रहेको आरोप लगाउँदै आएका छन् ।

दक्षिण अफ्रिकामा भूमिको स्वामित्व एक विवादास्पद मुद्दा हो । रंगभेदको अन्त्यको तीन दशकपछि पनि अधिकांश खेतीयोग्य जमिनहरू श्वेत समुदायको स्वामित्वमा छन् । पछिल्लो समय दक्षिण अफ्रिकी सरकारमाथि सुधारहरू कार्यान्वयनको दबाब बढ्दो छ ।

गत महिना दक्षिण अफ्रिकामा आयोजित जी-२० को एक कार्यक्रममा रामाफोसाले अमेरिकी राष्ट्रपति ट्रम्पले जनवरीमा पदभार ग्रहण गरेलगत्तै ‘सकारात्मक’ कुराकानी भएको बताएका थिए । तर पछिल्लो समय भने उनको ट्रम्पसँग सम्बन्ध तनवापूर्ण बनेको छ ।

दरबार हत्याकाण्डबारे मैले जनताको आवाज मुखरित गरेको होः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डबारे आफूले जनताको आवाज मुखरित गरेको बताएका छन् ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले शुक्रबार सिन्धुपाल्चोकमा बोलेको विषय जनताको मनको कुरा भएको बताए ।

उनले आफू भूमिगत हुँदा पनि यही कुरा बोलेको र त्यही कुरालाई अहिले स्मरण गराएको बताए । उनले भने, ‘दरबार हत्याकाण्डपछि हामी भूमिगत हुँदा पनि यही कुरा बोलेको थिएँ । मैले छानबिन आयोग बनाउन जरुरी छ भनेर त्यतिबेलै भनेको थिएँ । अहिले फेरि पुनरुत्थानको कोसिस भइरहेको बेलामा तिनै कुरालाई आवश्यक ठानेर बोलेको हुँ । मैले जनतालाई लागेको छ भन्ने भाषाले बोलेको छु ।’

शुक्रबार मेचलम्चीमा आयोजित कार्यक्रममा प्रचण्डले पूर्वराजालाई मूर्ति चोर र ‘भाइमारा’ को आरोपसमेत लगाएका थिए ।

उनले भनेका थिए, ‘भयानक दरबार हत्याकाण्ड गर्ने मान्छेहरु त उनको परिवारभित्र थिए नि ! सबै बुझेका छन् नेपाली जनताले । त्यसको प्लानर को हुन् भन्ने नेपाली जनतालाई थाहा छ । धेरै चुरीफुरी नगरे हुन्छ । धेरै मुर्खता पहिला पनि भइसकेको छ ।’

प्रतिक्रियावादीको षड्यन्त्रलाई विफल पार्न न्यायप्रेमी जनसमुदायलाई समाजवादी मोर्चाको आह्वान

काठमाडौं । समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा हुने विरोध प्रदर्शनमा सहभागी हुन आम जनसमुदायलाई आह्वान गरेको छ ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मोर्चाले प्रतिगमत र प्रतिक्रियावादी शक्तिहरुको षड्यन्त्रविरुद्ध जनसभामा सहभागी हुन आह्वान गरेको हो ।

मोर्चाले राज्य सञ्चालकको स्वेच्छाचारिताको कारणले देशले अप्ठेरो र संकटग्रस्त अवस्थाको सामाना गर्नुपर्ने आरोपलगाएको छ ।

मोर्चाले विज्ञप्तिमा भनेको छ, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकासमा देखिएको ठहराव र राज्यसत्ताको बागडोर सम्हालेकाहरूको अलोकतान्त्रिक रबैया र गतिविधिका कारण नेपाली जनताका अधिकारहरू एकपछि अर्को कुण्ठित हुँदै गैरहेका छन् । राज्य सञ्चालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र सङ्कटपूर्ण अवस्थाको सामना गरिरहेको छ । भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र सङ्कटग्रस्त छ । नेपाली जनताको जनजीविका कहालीलाग्दो अवस्थामा छ ।’

त्यस्तै मोर्चाले सरकार विचौलिया दलालहरूको स्वार्थसिद्धिमा केन्द्रित भएको पनि आरोप लगाएको छ ।

एकीकृत समाजवादीको ‘समाजवादी अभियान’ सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सुशासन, रोजगारीलगायत विषय केन्द्रित देशव्यापी समाजवादी अभियान सुरु गरेको छ ।

आगामी वैशाख २२ गतेसम्म सञ्चालन हुने अभियानमा विभिन्न क्षेत्रका सङ्घ,सङ्गठन तथा व्यक्तिहरुसँग वडा, गाउँ, प्रदेश र केन्द्रस्तरमा छलफल गरिने केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले बताए ।

अभियानका क्रममा शिक्षा, स्वास्थ्य, पर्यटन तथा पूर्वाधारलगायत क्षेत्रमा विज्ञबाट सुझाव सङकलन गरिने छ ।

जनताका विकासका चाहना पूरा नभएका बेला उनीहरूका असन्तुष्टि सम्बोधन गर्न तथा देशको वर्तमान अवस्थाबारे उनीहरुलाई अवगत गराउन अभियान उपयोगी हुने विश्वास उनले व्यक्त गरे ।

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक खर्ब नौ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा एक खर्ब ९ अर्ब २२ करोड ८५ लाख राजस्व सङ्कलन गरेको छ । एक खर्ब ३९ अर्ब ७३ करोड राजस्व सङ्कलनको लक्ष्य थियो ।

भन्सार प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार राजस्व सङ्कलनमा क्रमशः सुधार भएको छ । चालु आर्थिक वर्ष बाँकी चार महिनामा राजस्व सङ्कलनमा थप सुधार हुने उनको विश्वास छ । अन्य क्षेत्रको तुलनामा यहाँ पेट्रोलियम पदार्थ र सवारीसाधनबाट राजस्व सङ्कलन अधिक हुने गरेको छ ।

वीरगञ्ज भन्सारले चालु आवको साउनमा १२ अर्ब १५ करोड भदौमा १३ अर्ब ४२ करोड,असोजमा १३ अर्ब ४७ करोड कात्तिकमा ११ अर्ब १० करोड र मङ्सिरमा भने १४ अर्ब ४० करोड राजस्व सङ्कलन गरेको थियो ।

यसैगरी, पुसमा चालु आवको सबैभन्दा धेरै अर्थात् १५ अर्ब ४७ करोड र माघमा १४ अर्ब ४४ करोड र फागुनमा १४ अर्ब ६३ करोड राजस्व असुली भएको थियो ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाललाई थप चार करोड १८ लाख डलर दिने

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले नेपाललाई उपलब्ध गराएको विस्तारित कर्जा सुविधा (एक्सटेन्डेड क्रेडिट फेसिलिटी–ईसीएफ) को पाँचौँ समीक्षा सम्पन्न गरेको छ ।

यो समीक्षासँगै आइएमएफले नेपाललाई इसिएफअन्तर्गतको करिब पाँच अर्ब ८१ करोड (चार करोड १८ लाख अमेरिकी डलर बराबर) निकासा गर्ने भएको छ ।

आइएमएफ कार्यकारी बोर्ड बैठकपछि जारी विज्ञप्तिअनुसार नेपालले राजनीतिक अस्थिरता तथा गत असोज महिनाको बाढीका कारण उत्पन्न अवरोधका बाबजुद पनि उल्लेखनीय प्रगति गरेको छ ।

त्यस्तै, पुँजीगत खर्चमा वृद्धि, भूकम्प तथा बाढी पहिरोपछिको पुनःनिर्माण, लचिलो र सहुलियतपूर्ण मौद्रिक नीति, जलविद्युत् उत्पादनमा भएको वृद्धिलगायत कारणले यसवर्ष नेपालको आर्थिक वृद्धिलाई थप टेवा पुग्ने आइएमएफले जनाएको छ ।

विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलन निकै कमजोर भएपछि नेपालले सन् २०२२ मा ३९ करोड ५९ लाख अमेरिकी डलर बराबरको इसिएफ सुविधा लिएको थियो । जुन नेपालले पाउने विशेष अधिकार (स्पेस ड्रइङ राइट) कोटाको १८० प्रतिशत बराबर हो । बजेट वित्तपोषणका लागि चार वर्षमा विभिन्न किस्तामा भुक्तानी गर्नेगरी आइएमएफले यो सुविधा उपलब्ध गराएको थियो ।

आइएमफ समीक्षा टोलीका प्रमुख सर्वत जहानको नेतृत्वमा गत पुस अन्तिम साता प्रनिनिधिमण्डल नेपाल आएको थियो ।

नेपालको अर्थतन्त्रमा आन्तरिक माग कमजोर हुनुका साथै विभिन्न चुनौतीहरूको सामना गरिरहेको आइएमएफको विज्ञप्तिमा उल्लेख छ । ‘चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर चार दशमलव दुई प्रतिशत पुग्ने अनुमान छ । बाढी पहिरोलगायत विपद्पछिको आपूर्ति व्यवस्थामा देखिएको समस्या चाँडै सुल्झिने र औसत मुद्रास्फीति नेपाल राष्ट्र बैंकको राखेको पाँच प्रतिशतको वाञ्छित सीमा वरिपरि रहनेछ’, आइएमएफले भनेको छ, ‘सरकारको राजस्व सङ्कलन प्रयासले विकास खर्चलाई टेवा पुर्याउनुका साथै वित्तीय स्थायित्व कायम गर्न सघाउनेछ । तथापि, पुँजीगत खर्च कार्यान्वयनको ढिलाइ, वित्तीय क्षेत्रका कमजोरीहरू तथा राजनीतिक अस्थिरता जस्ता जोखिमहरू कायमै छन् ।’

कार्यकारी बोर्ड बैठकमा आइएमएफ उपप्रबन्धनिर्देशक बो लीले नेपालको राजनीतिक अनिश्चितता तथा केही समय अघिका बाढीजन्य विपद्का बाबजुद आर्थिक सुधार कार्यक्रम कार्यान्वयनमा अपेक्षित प्रगति गरेको धारणा राखेको विज्ञप्तिमा उल्लेख छ ।

तथापि आर्थिक परिदृश्यमा विविध जोखिमहरू रहेका कारण नीति निर्माताहरूले स्थायित्व कायम गर्न सचेत रहनुपर्ने आवश्यकता आइएमएफले औंल्याएको छ ।

‘वित्तीय स्थिरताका लागि आर्थिक वृद्धिलाई गति दिने, पुँजीगत खर्च खर्च सामाजिक सुरक्षालाई सुदृढ पार्न आन्तरिक राजस्व संकलनलाई बढावा दिनुपर्ने हुन्छ’, आइएमएफ उपप्रबन्ध निर्देशक लीलाई उदृत गर्दै विज्ञप्तिमा भनिएको छ, ‘नेपाल राष्ट्र बैंक ऐनमा सुधार गरी यसको प्रशासनिक स्वायत्तता र उत्तरदायित्वलाई थप बलियो बनाउनुपर्ने आवश्यकता छ । वित्तीय क्षेत्रको जोखिम न्यूनीकरण गर्न बचत तथा ऋण सहकारीहरूको व्यवस्थापन सुधार, वित्तीय नियमनलाई अन्तरराष्ट्रिय मापदण्डअनुसार परिष्कृत गर्ने तथा ऋण पोर्टफोलियो समीक्षा कार्य अघि बढाउन आवश्यक छ ।’

नेपाल फाइनान्सियल एक्शन टास्क फोर्स (एफएटीएफ) को ग्रे सूचीमा परेपछि सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी विषयमा पनि चनाखो हुनुपर्ने आवश्यकता आइएमएफले औंल्याएको छ । यसका लागि नियामकीय सुधारलाई प्राथमिकता दिन सुझाव दिइएको छ ।

‘नेपालमा लगानीमैत्री वातावरण विकास गर्न, व्यवसाय सञ्चालनको लागत घटाउन, सुशासन बढाउन र भ्रष्टाचार नियन्त्रणका लागि संस्थागत सुदृढीकरण आवश्यक छ । साथै, जलवायु परिवर्तनजनित प्राकृतिक विपत्तिहरूको असर न्यूनीकरणका लागि पहल गर्न अति आवश्यक छ’, आइएमएफले भनेको छ ।

सर्बियाको राजधानीमा भ्रष्टाचारविरुद्ध विशाल र्‍याली

बेलग्रेड । सर्बियाको राजधानी बेलग्रेडमा शनिबार दशौँ हजार भ्रष्टाचारविरोधी प्रदर्शनकारीहरू भेला भएका छन्।

गत नोभेम्बरमा नोभी साड सहरमा रेलवे स्टेसनको छत भत्किँदा १५ जनाको मृत्यु भएपछि सुरु भएको भ्रष्टाचार विरोधी आन्दोलनको यो सबैभन्दा ठूलो विरोध प्रदर्शन हो ।

राष्ट्रपति अलेक्जेन्डर वुकिचको सङ्कटग्रस्त सरकारका समर्थकहरू पनि राजधानीमा भेला भइरहेका छन् यसले त्यहाँ झडपको जोखिमबारे चिन्ता बढ्दै गएको छ।

युरोपेली सङ्घ र संयुक्त राष्ट्रसङ्घ दुवैले शुक्रबार सरकारलाई प्रदर्शन गर्ने अधिकारको सम्मान गर्न अपील गरेका छन् ।

रेलवे स्टेशनको दुर्घटनाले कथित भ्रष्टाचार र निर्माण परियोजनाहरूमा ढिलासुस्तीको कारण लामो समयदेखि तिक्ततालाई प्रज्वलित गरहेको छ ।

हप्तौँदेखि विद्यार्थी नेतृत्वले सर्बियाका प्रमुख सहरमा र्याली निकाल्दै आएका छन् । उनीहरूले आफ्नो भ्रष्टाचार विरोधी अभियानलाई ग्रामीण वस्ती र शहरहरूमा पनि लगेका छन् जुन लामो समयदेखि भुसिकको सरकारको समर्थनको मेरुदण्ड हो।

विद्यार्थी नेतृत्वको आन्दोलन शनिबार बेलग्रेड फर्केपछि सरकारमाथि थप दबाब बढ्ने सम्भावना छ । आन्दोलनका कारण प्रधानमन्त्रीसहित केही उच्च पदस्थ अधिकारीहरूले हालैका महिनाहरूमा राजीनामा दिइसकेका छन्।

तर सरकारका समर्थकहरू पनि राजधानीमा भेला भइरहेका छन् । दक्षिणपन्थी समूह र लडाकू (मिलिशिया) सदस्यलगायत समूहहरूले सरकारको पक्षमा संसद नजिकै ब्यारिकेडहरू खडा गरेका देखिएको छ ।

यसले गर्दा शनिबार संसदसम्म मार्च गर्ने तयारीमा रहेका विद्यार्थी नेतृत्वको प्रदर्शनकारीसँग मुठभेड हुने डर बढेको छ ।

शुक्रबार साँझ दङ्गा प्रहरी ब्यारिकेड र खेती गर्ने ट्याक्टरले घेरिएको शिविर नजिकैबाट बाहिर निस्केको थियो।

व्यापक विरोधप्रदर्शन गर्न पछि नहट्ने कसम खाएर प्रदर्शनकारीहरू शहरभित्र पस्न थालेपछि वुसिकले एक राष्ट्रिय टेलिभिजन सम्बोधनको क्रममा भने, “म सर्बियाको राष्ट्रपति हुँ र म सडकमा यो देशको नियम बनाउन दिने छैन।”

उनले हिंसात्मक गतिविधि नगर्न सबै पक्षलाई आह्वान गर्दै अत्यधिक बल प्रयोग नगर्न प्रहरीलाई निर्देशन दिएका छन् ।

राजधानीमा प्रदर्शनमा उत्रिएका विद्यार्थी प्रदर्शनकारीलाई स्वागत गर्न शुक्रबार राति सर्बियाका विभिन्न शहरबाट हजारौँको सङ्ख्यामा अभियानका समर्थक, शुभचिन्तक तथा आन्दोलनकारी बेलग्रेडका सडकमा लामबद्ध भएका छन् ।

रास्वपा सांसदद्वयको अभिव्यक्तिप्रति नेता केसीको आपत्ति

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा केदारनरसिंह केसीले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले सार्वजनिक जग्गासँग नाम जोडेर आफ्नो चरित्रहत्या गर्न खोजेको आरोप लगाएका छन् ।

शनिबार पत्रकार सम्मेलन गरी केसीले गत फागुन २८ मा प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठले दिएको अभिव्यक्ति राजनीतिक पूर्वाग्रहका साथ आएको बताएका हुन् ।

“साविक मनमैजु गाविस वडा नं ९ हाल तारकेश्वर नगरपालिका वडा नं १० लोकतान्त्रिक चोकमा रहेको कित्ता नं ६१ र ६२ मेरो तथा मेरो परिवारका नाममा र कित्ता नं ६३ सार्वजनिक जग्गा हो, मलाई सरकारी जग्गा एक कित्ता पनि चाँहिदैन, मेरो चरित्रहत्या गर्ने मनसायका साथ संसदमा आवाज उठाउँदा म दुःखीत भएको छु”, डा केसीले भने ।

उनले सांसदको अभिव्यक्तिले आफ्नो राजनीतिक चरित्रहत्या भएको भन्दै कानुनी उपचारमा जानेसमेत स्पष्ट पारे । डा केसीले आधार र प्रमाणबिना कपोलकल्पित र भ्रमपूर्ण प्रश्न संसदमा उठ्नु गलत भएको समेत बताए ।

पत्रकार सम्मेलनमा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले स्थानीय जनप्रतिनिधिसँग समन्वय नगरी व्यक्तिगत चरित्रहत्या र मानहानी हुने हिसावले संसदमा कुरा उठाउनु गलत भएको बताए ।

नगरप्रमुख महर्जनले सार्वजनिक जग्गा संरक्षणका लागि तारकेश्वर नगरपालिका लागिरहेको भन्दै राजनीतिक पूर्वाग्रह राखेर आम नागरिकलाई भ्रम फैलाउने काम जनप्रतिनिधीबाटै भइरहेकोमा चिन्ता व्यक्त गरे । 

“म सङ्घीय सांसद र प्रदेश सांसदहरुलाई भन्न चाहन्छु, आउनुहोस् सार्वजनिक जग्गा कहाँ कहाँ मिचिएको छ बसेर नापजाँच गरौँ”, नगरप्रमुख महर्जनले भने । भूगोल नभएको कुरालाई लिएर संसदमा प्रस्तुत हुनु गलत भएको उनको भनाइ थियो ।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ का क्षेत्रीय सभापति श्यामकृष्ण खड्गी, नेकपा (एमाले)का नेता लब बस्नेत, कांग्रेसका नेता इन्द्रमान महर्जन, तारकेश्वर वडा नं १० का वडाअध्यक्ष कुमार राईलगायतले लालपुर्जाले प्रष्ट पारिसकेको विषयमा संसदजस्तो जिम्मेवार थलोमा बोल्नुले संसदको गरिमा घटाएको बताएका थिए । 

इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

इनरुवा । सुनसकारीको इटहरी उपमहानगरपालिका–१२ मा शनिबार बिहान मोटसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक विराटनगर १० का २४ वर्षीय पुरन चौधरी रहेका सुनसरीका प्रहरी नायब उपरीक्षक युवराज खतिवडाले जानकारी दिए ।

इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्र १–०२–०४८प ३८७० नम्बरको मोटसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटना हुँदा मोटरसाइकल चालक पुरन चौधरी र त्यसमा सवार उदयपुर कटारी–२ का २८ वर्षीया उमा सुनुवार घाइते भएकामा पुरन चौधरीको उपचारको क्रममा मृत्यु भएको छ भने सुनवारको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उपभोक्ताको न्यायिक उपचारका लागि उपभोक्ता अदालत उद्घाटन

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले उपभोक्ता अदालत उद्घाटन गरेका छन् । उपभोक्ता अदालत उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ४४ बमोजिम गठन गरिएको हो । 


विश्व उपभोक्ता अधिकार दिवस, २०८१ तथा अदालत सद्घानका अवसरमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश राउतले उपभोक्ताको अधिकारलाई संविधानले मौलिक हकका रूपमा स्थापित गरिसकेको र गुणस्तरीय वस्तु तथा सेवामा उपभोक्ताको न्यायिक उपचार पाउने अधिकार सुनिश्चित भएको बताए ।


प्रधानन्यायाधीश राउतले उपभोक्ता अदालतको कार्यक्षेत्र व्यापक भएकाले यसको अधिकार क्षेत्र थप स्पष्ट पार्दै लैजानुपर्ने आवश्यकता औल्याए । साथै अदालतले प्रभावकारी न्याय सम्पादन गरेर उपभोक्ताको विश्वास जित्नुपर्नेमा उनले जोड दिए ।


‘अदालतले उपभोक्ताको विश्वास जित्दै स्थापित हुनुपर्ने जिम्मेवारी पनि छ’, उनले भने, “त्यसैले अदालतले न्यायिक सक्रियता देखाउँदै परिणाममुखी काम गर्न आवश्यक छ ।’


त्यसअवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वच्छ र प्रतिस्पर्धी बजार प्रवद्र्धन गर्न तथा उपभोक्ताको अधिकार सुनिश्चित गर्न उपभोक्ता अदालतको स्थापना भएको बताए ।


उनका अनुसार प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै सरकार उपभोक्ता हितका लागि निरन्तर अनुगमन गरिरहेको छ । चाडपर्वमा प्रभावकारी अनुगमनको व्यवस्था गरिएको र उपभोक्ता अधिकार संरक्षणका लागि अदालतको भूमिका महत्वपूर्ण हुनेमा उनले विश्वास व्यक्त गरे ।


मन्त्री भण्डारीले सरकारको प्राथमिकतामा नै उपभोक्ता अदालतको स्थापना रहेको उल्लेख गर्दै यसको न्यायिक प्रक्रियालाई सहज बनाउन आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाए ।


अदालतको कार्यान्वयनमा देखापर्ने सम्भावित चुनौतीहरू सम्बोधन गर्न सरकारले आवश्यक नीति तथा कार्यक्रम ल्याउने जानकारी पनि उनले दिए ।


महान्यायाधिवक्ता रमेश वडालले उपभोक्ता अदालतको स्थापना न्यायिक सुधारको दिशामा महत्वपूर्ण कदम भएको बताए । उनले उपभोक्ता संरक्षण दिवस सबै नागरिकका लागि सरोकारको विषय भएको उल्लेख गर्दै उपभोक्ता अदालतमा आउने मुद्दाहरूका प्रकारबारे स्पष्टता आवश्यक रहेको बताए । 


“उत्पादन मिति मेटाइएका सामान, डिजिटल उपभोक्ता अधिकारलगायतका अनेक खालका उजुरीहरू अदालतमा आउनेछन् । आमनागरिकलाई यी विषयमा जानकारी हुन आवश्यक छ”, उनले भने । उपभोक्ता अदालतमा सरकारका तर्फबाट मुद्दाको बहस पैरवी विशेष अदालतका सरकारी वकिलहरूले गर्ने पनि उनले स्पष्ट पारे । 


प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिका सभापति अब्दुल खाँनले उपभोक्ता हक कार्यान्वयनका चरणमा रहेको बताए ।


उनले उपभोक्ता अधिकार संरक्षणमा अझ जिम्मेवार बन्न सरकारलाई निर्देशन दिएको उल्लेख गर्दै नवगठित उपभोक्ता अदालतको प्रभावकारी कार्यान्वयनका लागि ठोस नीति आवश्यक रहेको औंल्याए ।


उनले सबै सीमा नाकामा गुणस्तर परीक्षण प्रयोगशाला (ल्याब) स्थापना गर्न सरकारलाई निर्देशन दिइसकेको बताए । 


काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाभित्रका उपभोक्तासम्बन्धी मुद्दाको कारबाही तथा किनारा गर्ने क्षेत्राधिकारसहित उपभोक्ता अदालत गठन भएको हो । उपभोक्ता अदालतमा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश रामप्रसाद शर्मालाई अध्यक्षको जिम्मेवारी दिइएको छ ।


त्यस्तै, न्याय समूहअन्तर्गत राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत गेहेन्द्रराज रेग्मी र सामान्य प्रशासन समूहका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत आनन्दराज पोखरेललाई सदस्य तोकिएको छ ।

रूसी क्षेत्रमा रहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न पुटिनको निर्देशन

किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी नेताले युद्धविरामको पहललाई बिथोल्न खोजेको आरोप लगाएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुस्र्क (रूसी भू–भाग) मा रहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न आह्वान गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी सेनाको जीवन रक्षा गर्न पुटिनलाई आग्रह गरेको भोलिपल्ट पुटिनको युक्रेनी सेनालाई आत्मसमर्पण गर्न आह्वान गरेका हुन् ।

गत अगष्टमा युक्रेनले कब्जा गरेको अधिकांश भूभाग पुनः कब्जा गर्दै रुसले विगत एक हप्तादेखि कुस्र्कको पश्चिमी सीमा क्षेत्रमा तीव्र प्रतिकार गरेको छ ।

कुस्र्कमा भएको हार युक्रेनको तीन वर्ष लामो युद्धका लागि शान्ति वार्तामा महत्त्वपूर्ण ‘बार्गेनिङ’को रूपमा यस क्षेत्रमा आफ्नो पकड प्रयोग गर्ने योजनामा ठूलो धक्का हुनेछ ।

रुसी टेलिभिजनमा प्रशारण भएको सम्बोधनमा पुटिनले भने, “हामी अमेरिकी राष्ट्रपति ट्रम्पको आह्वानप्रति सहानुभूति राख्छौँ ।”

पुटिनले भने, “यदि उनीहरूले हतियार त्यागेर आत्मसमर्पण गरे भने उनीहरूलाई जीवन र सम्मानजनक व्यवहारको प्रत्याभूति हुनेछ ।”

ट्रम्पले युक्रेनका हजारौँ सैनिकलाई रुसी सेनाले पूर्णरुपमा घेरेको र निकै खराब र कमजोर अवस्थामा रहेको बताए ।

उनले भने, “मैले राष्ट्रपति पुटिनलाई उनी (रूसी जमिनमा रहेका युक्रेनी सेना) हरूको जीवन रक्षा गर्न जोडदार अनुरोध गरेको छु । यदि, रूसले त्यहाँ उनीहरूविरूद्ध आक्रमण गरेमा यो एक भयानक नरसंहार हुनेछ, जुन दोस्रो विश्वयुद्धपछि कहिल्यै देखिएको थिएन।”

युक्रेनको सैन्य नेतृत्वले उक्त आरोपको खण्डन गरेको छ । युक्रेनका सैन्य जनरल स्टाफले सामाजिक सञ्जालमा लेखेका छन्, “हाम्रो युनिटलाई घेराहाल्ने वा अन्य कुनै खतरा छैन ।”

जेलेन्स्कीले किएभमा पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा अवस्थाबारे थप समीक्षा गर्दै भने, “कुस्र्क क्षेत्रको अवस्था पक्कै पनि धेरै कठिन छ तर अभियानको अझै पनि महत्व छ।”

उनले पूर्वी सैन्य बदोवस्तीका सामानको केन्द्र रहेको पोक्रोभ्स्कमा नियन्त्रण कायम राख्न लडिरहेका युक्रेनी सेनामाथिको दबाब कम गर्दै रुसलाई अग्रपङ्तिमा रहेका अन्य क्षेत्रबाट सेना फिर्ता बोलाउन बाध्य पारिएको बताए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना राजदूत स्टिभ विटकोफ र पुटिनबीच बिहीबार भएको भेटवार्ताबारे जानकारी दिँदै अमेरिका र युक्रेनबीच ३० दिनका लागि युद्धविराम गर्ने प्रस्ताव गरेका छन् ।

“हामीले हिजो रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग निकै राम्रो र फलदायी छलफल गरेका थियौँ र यो भयानक र रक्तपातपूर्ण युद्धको अन्त्य हुने निकै राम्रो सम्भावना छ,” ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल (ट्रुथ सोसल प्लेटफर्म) मा भनेका छन् ।

चीनसँगको सहकार्यलाई प्रगाढ बनाउँदै पारिस्परिक हितमा लगानी बढाउनुपर्छः सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपालको दिगो विकासका लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।


फाउण्डेसन फर पिस, डेभलपमेन्ट एण्ड सोसोलिजमले शनिबार काठमाडौंमा आयोजना गरेको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई ) र नेपाल चीन सहकार्यसम्बन्धी ‘काष्ठमण्डप डायलग’मा सभामुख घिमिरेले लगानी सम्भावनालाई सही रूपमा पहिचान गरी बिआरआईअन्तर्गत नयाँ परियोजनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।  


सभामुख घिमिरेले असल मित्र र निकट छिमेकीका रूपमा नेपालले चीनको प्रगतिमा गौरव गर्नुका साथै बृहत् आर्थिक साझेदारीमार्फत चीनको अद्वितीय विकास र समृद्धिबाट लाभ हासिल गर्न चाहेको स्पष्ट पारे । 


“नेपालको विकास प्रयासमा रहेको चीनको साथ, सहयोग र सहकार्यको हामी उच्च प्रशंसा गर्न चाहन्छौँ”, उनले भने, “नेपाल सन् २०२६ भित्र अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुने परिप्रेक्ष्यमा सहज स्तरोन्नति र सोको दीगोपनाका लागि चीनबाट महत्वपूर्ण सहयोग रहने अपेक्षा गरेका छौँ ।”


 नेपाल र चीनको ऐतिहासिक सम्बन्ध आपसी विश्वास, समझदारी र मैत्रीपूर्ण सहकार्यमा आधारित रहेको उल्लेख गर्दै सभामुख घिमिरेले बीआरआईमार्फत दुवै देशबीचको सहकार्य अझै मजबुत हुँदै गएको बताए ।


उनले भने, “यो पहल नेपालका लागि केबल पूर्वाधार विकासको माध्यम मात्र नभई आर्थिक वृद्धिका नयाँ ढोका खोल्ने अवसरका रुपमा लिनुपर्दछ ।”


  नेपालले आफ्नो भौगोलिक अवस्थितिलाई उपयोग गर्दै ‘ट्रान्जिट हब’का रुपमा स्थापित हुनसक्ने औँल्याउँदै उनले यसका लागि दुवै देशबीच भौतिक पूर्वाधार विकास सडक, रेलमार्ग, ऊर्जा, सूचना प्रविधि तथा व्यापारिक सहकार्यलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । 


        सभामुख घिमिरेले सात दशकअघि कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्ध निरन्तर विकसित र सुदृढ हुँदै आएको बताए ।


“हाम्रो नीति शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त अर्थात् पञ्चशीलद्वारा निर्देशित छ”, उनले भने, “दुई देशबीचको सुमधुर सम्बन्धलाई थप सुदृढ र घनीभूत तुल्याउँदै लैजान हामी सदा तत्पर रहँदै आएका छौँ ।”


 सभामुख घिमिरेले ‘एक चीन सिद्धान्त’लाई दृढतापूर्वक पालना गर्नुका साथै यसप्रति नेपालको प्रतिबद्धता बलियो रहिआएको स्पष्ट पारे ।


चीन विगत लामो समयदेखि नेपालको एक भरपर्दो र महत्वपूर्ण विकास साझेदार मुलुकको रूपमा रहिआएको उल्लेख गर्दै सभामुख घिमिरेले नेपाल सरकार र नेपाली जनता चिनियाँ सरकार र जनताका तर्फबाट नेपालको विकास प्रयासमा हुँदै आएको सहयोग र सहकार्यका लागि आभारी रहेको बताए । 


नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले बीआरआई अवधारणा विश्वव्यापी विकास परियोजनाका रुपमा रहेको जनाउँदै पूर्वाधार विकास, सम्पर्क सञ्जाल विस्तारलगायतमा बीआरआईले अभूतपूर्व अवसर प्रस्तुत गर्ने बताए ।


बीआरआईलाई चिनियाँ ऋणको पासोका रुपमा केहीले टिप्पणी गर्ने गरेको सन्दर्भ उल्लेख गर्दै उनले बीआरआई परियोजना विश्वका अधिकांश मुलुकका लागि वरदानसावित भएको जिकिर गरे । 


 “बीआरआई नेपालका लागि महत्वपूर्ण प्रगति र समृद्धि हासिल गर्ने अवसर हो, यसलाई गम्भीरतापूर्वक विचार गर्नुपर्छ र सम्भावित फाइदाहरू बुझ्नुपर्छ”, नेता खनालले भने ।


नेपालका लागि चिनियाँ राजदूत छन सङले पूर्वाधार, सूचना प्रविधि, औद्योगिकीकरण, नवप्रवर्तन र नवीनतम् ज्ञानको खोज, अनुसन्धानमा गरिरहेको प्रगतिका बारेमा जानकारी दिँदै नेपालको विकास प्रयासमा चीन सदैव सकारात्मक रहेको बताए । 


 डायलगअन्तर्गत नेपालमा बीआरआई कार्यान्वयनः अवसर र चुनौतीलगायत विषयमा नेपाल र चीनका व्यवसायी, प्राध्यापकलगायतले छलफल गर्ने कार्यक्रम छ ।

घाइते नेइमार ब्राजिलको विश्वकप छनोटमा नखेल्ने

ब्राजिल । ब्राजिलका स्टार स्ट्राइकर नेयमार जाँघको चोटका कारण सन् २०२६ मा हुने विश्वकप फुटबलका लागि मार्चमा हुने कोलम्बिया र अर्जेन्टिनाविरुद्धको छनोट खेलमा नखेल्ने भएका छन् ।

नेयमार चोटका कारण करिब डेढ वर्ष ब्राजिली टोलीबाट बाहिर रहेका थिए तर फेब्रुअरीमा सान्तोसमा फर्किएका थिए ।

ब्राजिल दक्षिण अमेरिकी विश्वकप छनोटमा पाँचौँ स्थानमा झरेपछि डोरिभल जुनियरको प्रशिक्षणमासन् २०२३ को अक्टोबरमा उनले अन्तिम पटक ब्राजिलको प्रतिनिधित्व गरेको टोलीमा ७९ गोल गरेका थिए । उनी ब्राजिलका हालका खेलाडीमध्ये सर्वाधिक गोलकर्ता हुन् ।

ब्राजिलले मार्च २० मा ब्रासिलियामा कोलम्बियाको सामना गर्नेछ भने त्यसको पाँच दिनपछि ब्यूनस आयर्समा प्रतिद्वन्द्वी तथा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाको सामना गर्नेछ ।

३३ वर्षीय नेयमारले दुई साताअघि १४ महिनापछि पहिलो गोल गर्दै सान्तोसका लागि खाता खोलेका थिए ।

श्रीलङ्काद्वारा बाली नस्ट गरी किसानलाई सताउने वन्यजन्तुको गणना र नियन्त्रण प्रयास सुरू

श्रीलंका । श्रीलङ्काले बाँदर, मयूरलगायतका वन्यजन्तुको राष्ट्रव्यापी गणना शनिबारदेखि सुरू गरेको अधिकारीहरूले बताएका छन् ।

बालीनालीमा क्षति पुर्याई किसानलाई पीडा दिएपछि उनीहरूको नियन्त्रणका लागि सही अनुमान लगाउन किसानपीडक वन्यजन्तुको गन्ती थालिएको हो ।

शनिबार बिहान पाँच मिनेटको अवधिमा करिब ४० हजार स्थानीय अधिकारीहरू जङ्गली बँदेल, लोरिस, मयूर र बाँदरगणना गर्न खेतबारी र वस्ती वरपर तैनाथ गरिएको थियो।

उत्तर–मध्य जिल्ला अनुराधापुरामा किसान परिवारहरू खुला चौरमा भेला भएर जनावरहरूको गणना गरे र कृषि मन्त्रालयले उपलब्ध गराएको पानामा रेकर्ड गराए ।

मन्त्रालयका अधिकारी अजित पुष्पकुमाराले राजधानी कोलम्बोमा पत्रकारसँग भने, “हामीले दोहोरो गणना नहोस् भन्नका लागि बालीनाली नस्ट गरी किसानलाई सताउने वन्यजन्तुको छोटो समयमा गणना गरिरहेका छौँ ।”

उनले भने, “गणनाको परिणाम करिब ८० प्रतिशत सही हुनेछ भन्नेमा हामीले आशा गरेका छौँ । यी जनावरहरूको सङ्ख्या थाह पाएपछि हामी तिनीहरूसित जुध्न अर्को कदम चाल्न सक्छौं।“
कोलम्बोबाट २०० किलोमिटर उत्तरमा पर्ने अनुराधापुराका बासिन्दाहरू वन्यजन्तु गणनाको तयारीका लागि बिहान सबेरै खेतमा निस्केका थिए ।

“हामीसँग धेरै उत्साही सहभागीहरूबाट धेरै सफल गणना भएको छ । उनीहरू ती किसान हुन्, जसले लगातार बालीनालीमा क्षति व्यहोर्नुपरेको थियो ।” अनुराधापुराको मिहिन्तले क्षेत्रमा गणना गर्ने कृषि विभागका कर्मचारी चामिन्दा दिसानायकेले भने, “हाम्रो गणनामा २२७ टोक बाँदर र ६५ बैजनी रंगका लङ्गुर दर्ता भएका छन् ।”

यसैबीच विपक्षी सांसद नलिन बन्दाराले जनगणनाको आलोचना गर्दै यसलाई ‘पैसाको बर्बादी’ भनेका छन् ।
“यो पूर्ण असफलता हो, पैसाको बर्बादी हो। रातको समयमा खेतबारीमा आक्रमण गर्ने कीराहरूबारे के भन्न सकिन्छ? उनीहरूको गणना भइरहेको छैन,” बन्दाराले भने, “गणनाका लागि नयाँ प्रविधि प्रयोग गर्न सकिन्थ्यो।”

अधिकारीहरूका अनुसार एक तिहाइभन्दा बढी बालीनाली हात्तीलगायत जङ्गली जनावरले नष्ट गर्ने गरेका छन् तर श्रीलङ्कामा हात्तिलाई पवित्र मानिएकाले यसलाई यहाँको कानुनले संरक्षण गरेको छ ।

हात्ती धान खेती र फलफूल खेतीमा आक्रमण गर्ने प्रमुख जनावर भए पनि शनिबारको गणनामा यसलाई समावेश गरिएको छैन ।

सन् २०२३ मा तत्कालीन कृषिमन्त्रीले चिनियाँ चिडियाखानामा करिब एक लाख टोक मकाक निर्यात गर्ने प्रस्ताव गरेका थिए तर वातावरणविद्को विरोधपछि बाँदरको विक्री योजना रोकिएकोे थियो ।

श्रीलङ्काले सन् २०२३ मा आफ्नो संरक्षित सूचीबाट बाँदरका तीनवटै प्रजातिका साथै मयूर र जङ्गली सुँगुरलगायत थुप्रै प्रजातिलाई हटाएको थियो।

विद्यालय शिक्षा विधेयकलाई तत्काल पारित गर्नुपर्छः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्दोलनरत शिक्षकका मागलाई सरकारले शीघ्र सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् ।

विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नुपर्ने माग गर्दै आन्दोलनरत नेपाल शिक्षक महासङ्घको प्रतिनिधिमण्डल शनिबार भएको भेटमा प्रचण्डले शिक्षकका जायज मागलाई बेवास्ता गर्न नहुने बताए ।

‘अहिले जति संशोधन दर्ता भए पनि कतिपय एउटै प्रकृतिका छन्। उपसमिति बनाएर भए पनि तत्काल पारित गर्नेतर्फ जान सकिन्छ,’ विधेयकलाई तत्काल पारित गर्नुपर्नेमा जोड दिँदै भने,’ मुख्य कुरा इच्छाशक्तिको हो । शिक्षा र शिक्षकका विषयलाई सरकारले प्राथमिकता दिनुपर्छ।’

शिक्षकका माग र समग्र शैक्षिक क्षेत्रबारे एउटै दृष्टिकोण बन्न नसकेको बताउँदै अध्यक्ष दाहालले देशको समृद्धिको मुख्य आधार शिक्षा नै भएकाले माग सम्बोधनमा गम्भीर हुन सरकारलाई आग्रह गरेको उनको निजी सचिवालयले जनाएको छ । साथ उनले विधेयक पारित गराउन माओवादी केन्द्रको विशेष भूमिका रहने प्रतिबद्धता व्यक्त गरे ।

बिस्कुट उद्योगको छानामा गुन्द्रुकको ‘बिस्कुन’

नारायण न्यौपाने, भक्तपुर । भक्तपुर निकोशेरास्थित इम्पेरियल फुड्स प्रालिको छानामा अहिले गुन्द्रुकको बिस्कुन सुकाइएको छ । केही समयअघिसम्म उद्योग वरपरका बस्तीमा घ्यूसहित बनाउँदै गरेको कुकिजको बास्ना चल्ने गरेको थियो । तर, अहिले गुन्द्रुक मगमगाउन थालेको छ । उद्योगले खाजाका रूपमा कोदोसहितका विभिन्न परिकारका ‘अर्गानिक’ बिस्कुट पनि उत्पादन गर्दै आएको छ ।

पछिल्लो समय उद्योगको छानाभरि रायोका साग र मुलाको सिन्की सुकाइएको देखिन्छ । साग र गुन्द्रुक ओल्टाइपल्टाइ गर्न चार पाँच जना महिला निरन्तर लागि परेको देखिन्छ । उद्योगका सञ्चालक पशुपति भुसाल भन्छन्, ‘विदेशमा रहेका साथीभाइले हाम्रा पुराना चिजवस्तु ‘च्याख्ला, कोदो, मकै, गुन्द्रुक, तिलको छोप, टिमुर, अकबरे खुर्सानी, मास दालसहितका गेँडागुडी पठाइदेऊ’ भन्ने माग भएपछि छानालाई गुद्रुकमय बनाएको हुँ ।’

पुरानो पेसाबाट बाहिरिएको नभई समयअनुरूप पेसा–व्यवसायलाई विविधीकरण गर्ने क्रममा नेपाली गुन्द्रुकको बजारीकरणमा लागेको उनको भनाइ छ ।

अहिले रुचाइएको खानपिनले मानिस पुनः पुरानै युगमा प्रवेश गरेको हो की भन्ने भान भएको छ । विगतमा बाआमा र हजुरबाले खाएको कोदो, गुन्द्रुक, जौ र फापरको पीठोको माग अहिले विदेशमा पनि ह्वात्तै बढेको छ । नेपालीको बसोबास बाहुल्य भएका मुलुकमा गुन्द्रुकको माग अधिक छ । गुन्द्रुकको झोल र अचारलाई नेपाली भान्सामा लोकप्रिय परिकारका रुपमा लिने गरिन्छ । पछिल्लो समय चौरासी बेञ्जन थालीमा पनि गुन्दु्रक अनिवार्य मानिएको छ । छिटो झट्पट् तरकारी बनाउन पर्‍यो भने गुन्द्रुक नै खोजिन्छ ।

गन्द्रुकका बारेमा विद्यावारिधी गरेका टीकाबहादुर कार्की मुख्यतः गुन्द्रुक नेपालकै स्थानीय उत्पादन भएको बताउँछन् । यद्यपि, जापान र चीनमा विभिन्न साग तथा युरोपलगायतका मुलुकमा बन्दागोभीमा नुन राखेर नेपाली गुन्द्रुकसँग मिल्दोजुल्दा खाद्यवस्तु उत्पादन हुँदै आएको छ ।

जिब्रोलाई ट्वाक्क छुने अमिलो र स्वादिलो ‘तिउन’ गुन्द्रुक नै हो । नेपाली भान्सामा जाडो होस् वा गर्मी सदाबहार उमालिने तिउन गुन्दु्रक नै हो । नेपालका गाउँबस्तीदेखि शहरका सुपरमार्केटसम्मका पसलमा प्याकिङमा गुन्द्रुक बिक्री हुने गरेको छ । जाडो वा गर्मी, ढिँडो होस् वा भात गुन्द्रुकको झोलसँग ‘सर्‍याप्प’ मुछेर खाँदाको फूर्ती र आनन्द बेग्लै हुन्छ । स्वादको त बयान नै गर्न सकिन्न ।

‘नेपाली गुन्द्रुकमा पाइने अमिलोपन स्वादका हिसाबले अनुपम छ, त्यसकारण पनि गुन्द्रुकको लोकप्रियता बढ्दो छ,’ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका पूर्वमहानिर्देशक कार्की भन्छन् ।

यस वर्ष काठमाडौं उपत्यकामा रायो साग निकै सस्तो भयो । त्यसो त भक्तपुर आफैंमा मुलुकभर रायो र काउलीलगायत हरिया सागपात प्रशस्त उत्पादन हुने जिल्लाका रुपमा कहलिएको छ । प्रतिकिलो १५ सम्म रायको राम्रो पनि पाइयो ।

उद्योगका संस्थापक भुसाल भन्छन्, ‘महँगोमा उद्योगले केजीको ८० सम्ममा खरिद गरेको थियो । खासगरी रायो, तोरी, सस्र्यूं, काउली, मुला आदिको गुन्द्रुक बनाइन्छ । सागको भाउ नेपाली बजारमा खासै चर्को छैन, सस्तै पाइन्छ । त्यस उद्योगले एक पटकमा एक हजार किलोसम्म साग खरिद गर्दै आएको छ । किसानलाई पनि एकै ठाउँमा आफ्नो उत्पादन दिँदा नै सहज भयो । स्थानीयस्तरबाटै पर्याप्त उपलब्ध भइरहेको छ ।’

गुन्द्रुक बनाउन कम्तीमा पनि १५ देखि २० दिनको प्रक्रिया पूरा गर्नुपर्छ । साग किन्ने, केलाउने, धोइपखाली गर्ने, सीधा घाममा सुकाउने, थिच्ने र फेरि सुकाउने, तौल गर्ने, प्याकिङ गर्ने र माग आएबमोजिम बजारसम्म पुर्‍याउने काम उद्योगले गर्दै आएको छ । देख्दा सामान्य लागे पनि सबै चरण पूरा गर्ने विषय जटिल नै छ । बाहिर पठाउँदा अझ सचेत हुनुपर्छ ।

उद्योग सञ्चालक भुसाल सरसफाइमा विशेष ध्यान पुर्‍याइएको बताउँछन् । ‘यहाँ उत्पादन गरिएको गुन्द्रुकमा शुद्धता र गुणस्तर कायम छ,’ उनले भने । नेपालका सबै जिल्ला र गाउँबस्तीमा गुन्द्रुक बनाइन्छ, पकाइन्छ र मीठो मानेर खाइन्छ ।

गुन्द्रुक सहजरूपमा विदेश निर्यात गर्न सञ्चालक भुसालले सरकारका संयन्त्रसँग कुराकानी गरिरहेका छन् । गुन्दु्रक तयार गर्ने प्रक्रिया केही लामो भएको र त्यसमा खटाउन पर्ने जनशक्तिका कारण लागत मूल्य बढी नै हुने गरेको छ । त्यस उद्योगले दालजन्य गेँडागुडीका अतिरिक्त रायोको गुन्द्रुक र मुलाको सिन्की तयार गर्दै आएको छ ।

प्रारम्भमा एक सय किलो रायोको सागबाट सुरु गरेकामा दैनिक एक हजार पाँच सय किलोसम्म साग खरिद गर्न सफल भएको छ । एक सय किलो रायो सागबाट करिब १० किलो गुन्दु्रक तयार हुने सञ्चालक भुसालको भनाइ छ । तोरीको गुन्द्रुकको विदेशमा ठूलो माग छ । तर काठमाडौं उपत्यकाले त्यो माग धान्न सक्ने अवस्था छैन । सरकारले त्यसका लागि तराई–मधेसका कुनै क्षेत्र विशेषलाई ‘पकेट’ क्षेत्र घोषणा गर्न आवश्यक देखिएको उनको भनाइ छ ।

उद्योगले आफ्ना उत्पादनको विविधीकरण गर्ने उद्देश्यले शुरू गरेको गुन्द्रुकका लागि अहिले सूर्यविनायक, सानोठिमी र बोडे इलाकाबाट साग सङ्कलन भइरहेको छ । गुन्द्रुकका लागि छिप्पिएको र ठूला पात भएको साग राम्रो मानिन्छ । रायोका साग पनि विभिन्न प्रकारको पाइन्छ । मीठो गुन्द्रुक बनाउने र गुणस्तर कायम गर्ने सवालमा पाका पुराना पुस्ता स्वयम् विषय विज्ञकारूपमा रहेको उद्योगी भुसाल बताउँछन् । उद्योगले उनै पुराना पुस्ताका कामदारलाई प्रशिक्षक बनाएर गुन्द्रुक र सिन्की तयार गरिरहेको छ ।

थकाली भान्सामा गुन्द्रुक अनिवार्य नै मानिन्छ । आलु–गुन्द्रुक, गुन्द्रुक–भट्टमास, तितौरा, गुन्दु्रक बोडी, आँपको चानासँग पनि गुन्द्रुक मिसाएर पकाइन्छ । गुन्द्रुकमा पनि हरियो सागमा पाउने गुण छ । विश्वका कयौँ मुलुकले खाद्य परीक्षण गरी गुन्द्रुकलाई खानयोग्य भनेर प्रमाणित गरिसकेको छ ।

कलिलो र छिपिएको साग र निर्धारण गरिएको प्रक्रिया पूरा गरेका आधारमा गुणस्तर हुने गर्छ । भाटभटेनी, मार्ट र अन्य स्टोरमा नमूनाका लागि पठाइसकिएको उनको भनाइ छ । गुन्द्रुक प्रतिकिलो सात सयदेखि एक हजार पर्छ । ‘यसमा काम गर्ने सपनादेखि रहेको छु । त्यो पूरा हुनेमा उत्साहित नै छु । गुन्दु्रकसँग सबै चिजवस्तुमा उत्पादनको लोगो लगाएर गाडीभरि बजारमा पठाउने कोसिसमा छु । त्यसका लागि रातदिन खटिरहेको छु,’ व्यवसायी शान्ता अधिकारी भन्छन् ।

कोरोनाअघि ऋण लिएर लगानी गरियो, त्योअनुरूपको प्रतिफल त भएन । व्यापार सबै क्षेत्रमा घटेको छ । ब्याज घटेको छैन । त्यसमै रहँदा ऋणबाट उम्कन नसक्ने अवस्था भएपछि गुन्द्रुक र आँटोपीठोतिर लागेको उनको अनुभव छ । व्यापार गर्ने सन्दर्भमा स्वदेशै प्राथमिकता दिए पनि मालसामान बजारमा पठाएपछि पैसा उठिहाल्छ भन्ने सुनिश्चित छैन । बाहिर पठाउँदा पैसा ‘एड्भान्स’मा आउने भएपछि त्यसलाई मध्यनजर गरी अघि बढिरहेको अधिकारीको भनाइ छ ।

उद्योगले प्रतिदिन करिब एक सय ५० किलोसम्म गुन्द्रुक निकालिरहेको छ । जाडोयाममा प्रशस्तै साग प्राप्त भए पनि अरु मौसममा त्यसको व्यवस्थापन कसरी मिलाउने भन्ने प्रश्न छ । कसैलाई हेपेर गाली गर्नुपर्‍यो भने ‘यो गुन्द्रुकले केही गर्न सकेन’ भन्दा यसको महत्त्व नबुझेको हो कि भन्ने भान पर्न सक्छ । हुन त नेपाली समाजमा ‘जात फाल्नु गुन्द्रुकको झोलमा’ भन्ने अर्गानिक उखान नै छ ।

गुन्द्रुकमा पोटासियम, भिटामिन सी, आइरन, सोडियम धेरै पाइने र रेसादार भएकाले कोलेस्ट्रोललाई घटाउन योगदान पुर्‍याउने विश्वास गरिएको छ । त्यसो त सरस्वती घरेलु तितौरा उद्योग गोकर्णेश्वर, भाटभटेनी फुड्स उद्योग, पहाडी फुड्स प्रालि रुपन्देही, एन्जल कृषि फार्म दक्षिणकालीबाट उत्पादित गुन्द्रुक भाटभटेनीलगायत ठूला मार्टहरुमा उपलब्ध हुँदै आएको छ ।

खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागका वरिष्ठ अनुसन्धान अधिकृत हुमाकुमारी बखिम भन्छिन्, ‘गुन्द्रुक तयार गर्दा सरसफाइ र सुकाउने विषयमा अली बढी ध्यान पुर्‍याउनपर्छ ।’ गुन्द्रुक गुन्द्री, नाङ्लो, माद्रो र त्रिपालमा सुकाउने गरिन्छ । त्यसरी खुल्ला सुकाउँदा कपाललगायत वस्तु पर्नसक्ने हुँदा जालीदार कपडाले छोप्नु बुद्धिमानी हुनेछ ।

घरघरमै विभिन्न प्रक्रिया अपनाएर बनाइने भएकाले गुणस्तरमा एकरुपता नभए तापनि स्वच्छता र सरसफाइको हिसाबले एकरूपता हुनुपर्छ । गुन्द्रुकमा लाभदायक मानिने जीवाणु, मिनिरल र फाइबरको स्रोत मानिने भएकाले स्वास्थ्य र पौष्टिकताका हिसाबले पनि राम्रो मानिएको छ । अरु उन्नत जातका तुलनामा हाम्रा रैथाने रायोको गुन्द्रुक स्वादिलो र गुणस्तरीय मानिन्छ ।

इलामको रोङ गाउँपालिकाले आफैं उद्योग सञ्चालनको अनुमति लिएर सञ्चालन गर्दै आएको छ । पुराना बन्द भएका चिया उद्योगलाई गुन्द्रुक उत्पादन गर्नका लागि पुनःस्थापना गरिएको छ । चिसो याममा गुन्द्रुकको तिउन बढी खाइन्छ भने गर्मीमा अचार बढी रुचाइन्छ । आलु, प्याज, गोलभेँडा, भटमास मिसाएको गुन्द्रुकको स्वाद त बयान गरिसाध्य नै हुन्न । विभागका अनुसार, पछिल्लो समय गुन्द्रुक बाहिर निकासी गर्ने क्रममा जाँच परीक्षणका लागि आउने क्रम बाक्लिएको छ ।

तर यहाँ सामान्य परीक्षण जलाम्स् अर्थात् पानीको मात्रा कति छ भनेर परीक्षण गरिन्छ । अमिलो भएकाले हानिकारक जीवाणु कमै रहन्छ । नेपाली परम्परागत खाद्यवस्तुको आफ्नै खाले पौष्टिक तत्त्व र महत्त्व छ । प्रत्येकले घरमा बनाइँदै खाएको हो । उपलब्धताको पहुँच र बनाउन सजिलो भएकाले पनि रोजाइमा परेको हो । सहरीकरण बढ्दै गएको, बसाइँसराइँ तीव्र हुँदा कार्य व्यवस्थाले सहरीयाले बनाउन नभ्याउँदा यसको बजार विस्तार बढ्दै गएको छ ।

विदेशमा रहेका नेपालीले आफ्नो गाउँ र देशको परम्पराको परिचय र जीब्रोको स्वाद रहेको गुन्द्रुकप्रतिको चाहना बढेको छ । यातायातलगायत सुविधा र विकासको एउटा पाटोकारुपमा यो सहर भित्रिएन पाएको छ ।
गुन्दु्रकका लागि इलाम, धनकुटा, दोलखा, म्याग्दी, स्याङजा, बागलुङ, ओखलढुङ्गा, भोजपुर, सिन्धुलीलगायत पहाडी जिल्ला प्रख्यात छ । खाद्य सुरक्षाका लागि पनि गुन्द्रुकले टेवा पुर्‍याउँछ । सागको बजारीकरण नहुँदा त्यसलाई खाँदेर गुन्द्रुक बनाउँदा खाद्य सुरक्षामा योगदान दिन्छ ।

‘गुदु्रकलाई पकाउन्न पर्दैन’ भन्ने नेपाली समाजको उखानजस्तै तत्काल तरकारी उपलब्ध नहुँदा भातको भाडमा सिधैँ गुन्द्रुक मिसाएर तरकारीका रूपमा खान सकिन्छ । तिल, सिलाम, आलस र फिलिङ्गेको छोपमा अमिलो र सुकेको खुर्सानी मिसाएर क्षणभरमै स्वादिलो अचार तयार हुन्छ । नेपालीको बाक्लो बसोबास रहेका क्षेत्र अमेरिका, जापान, अष्ट्रेलिया, खाडीमुलुकमा सञ्चालित नेपाली होटल र रेष्टुराँमा मासको दाल, तितौरा र गुन्द्रुकको अत्यधिक माग रहेको छ ।

व्यवसायी शान्ता अधिकारी छिट्टै दुई सय किलो गुन्द्रुक जापान निर्यात गर्ने तयारी गरिरहेको बताउँछिन् । त्यस उद्योगले एक सय र दुई सय ग्रामका बेग्लाबेग्लै प्याकेट बनाएको छ । ठूलो परिणाममा माग भएमा तत्काल पुर्‍याउन सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

सरकारले गुन्दु्रक उत्पादनलाई पकेट क्षेत्र तोकेर सहुलियत दरमा ऋण सहयोग उपलब्ध गराएमा फलदायी हुनेछ व्यवसायी बताउँछन् । काम पाइएन भनेर विदेश पलायन भइरहेका युवा पुस्तालाई भुसालले गुन्द्रुक उत्पादन र बजारीकरणका लागि गरिरहेको प्रयास प्रेरणाको स्रोत बन्न सक्छ । सो उद्योगमा लक्ष्मी तामाङले विशेषज्ञका रुपमा काम गरिरहनुभएको छ । गरिबका घरमा बाध्यताको तिउन अहिले उच्च घरनाका लागि भान्छाको महत्त्वपूर्ण परिकार बनेको छ । 

टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस  । अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ । टेक्सास राज्य संसद्को प्रतिनिधिसभाको १३ मार्च बिहीबार सम्पन्न बैठकले ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ को मान्यता दिने संकल्प प्रस्ताव ५३० पारित गर्दै उक्त घोषणा गरेको हो । उक्त संकल्प प्रस्ताव पारित भएपछि टेक्सस राज्य संसद्बाट ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ ले औपचारिक मान्यता पाएको छ ।

‘नेपाली लुम्बिनी एड्भोकेसी डे’सम्बन्धी प्रस्ताव पाकिस्तानीमूलका टेक्ससका राज्य सांसद सुलेमान लालानीले संसद् बैठकमा पेस गरेका थिए । उक्त प्रस्ताव संसद् बैठकबाट पारित हुँदा अमेरिका भ्रमणमा रहेका नेपालको लुम्बिनी सर्किटअन्तर्गत पर्ने पाँच वटा नगरपालिकाका मेयरहरू पनि उपस्थित थिए ।

प्रस्तावमा लुम्बिनीलाई बौद्धधर्मका लागि एक अत्यन्त पवित्रस्थल भएको भन्दै सिद्धार्थ गौतमको जन्मस्थलको रूपमा मान्यता प्राप्त रहेकोमा विशेष जोड दिइएको छ । यस क्षेत्रलाई संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)को विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको तथा बौद्ध धर्मावलम्बीको प्रमुख आध्यात्मिक गन्तव्य रहेको उल्लेख गरिएको छ ।

टेक्सासको ८९ औँ संसद्को प्रतिनिधिसभाले मार्च १३, २०२५ लाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ को रूपमा औपचारिक मान्यता दिएको र लुम्बिनीको प्रचार प्रसारको लागि भ्रमण गर्ने नेपाली मेगरहरुको प्रतिनिधिमण्डललाई हार्दिक स्वागत गर्ने समेत संकल्प प्रस्तावमा उल्लेख गरिएको छ ।

लुम्बिनी सर्किटअन्तर्गतका पाँच वटा नगरपालिकाका मेयरहरूसहितको प्रतिनिधिमण्डल अमेरिकाको टेक्ससमा रहेको अवसरमा गैरआवासीय नेपाली सङ्घ अमेरिकाका उपाध्यक्ष तथा पर्यटन विभागमा प्रमुख नेत्र पाण्डे, नागरिक अगुवा प्रभात दीक्षितले उक्त संकल्प प्रस्ताव पारित गराउन पहल गरेका थिए ।

नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले हरेक वर्ष १३ मार्चमा टेक्सस राज्यमा नेपाली समुदायको तर्फबाट ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ मनाइने गैरआवासीय नेपाली संघ अमेरिकाका उपाध्यक्ष तथा पर्यटन विभागमा प्रमुख नेत्र पाण्डेले बताए ।

कोरला नाकामा आन्तरिक पर्यटकको आकर्षण

मुस्ताङ । पछिल्लो समय नेपाली स्वदेशी पर्यटकका लागि उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उत्तरी कोरला नाका निकै चर्चामा छ । 

कोरला नाकामा पुगेर त्यहाँको दजगजा सीमास्तम्भमा फोटो खिच्नेदेखि नेपाली भूमिबाट उत्तरतर्फ अवस्थित चीनको स्वशासित क्षेत्र तिब्बतको पठार भूमिमा निर्माण भइसकेका भव्य संरचना अवलोकन गर्ने नेपाली स्वदेशी पर्यटकको क्रेज ह्वात्तै बढेको छ ।

 त्यसो त चीनसँग सिमाना जोडिएको कोरला नाका क्षेत्रको पठार भूमि र त्यहाँबाट देखिन मनोरम दृश्यहरूले त्यहाँ पुग्ने जोकोही पर्यटक माहित नहुने त कुरै भएन । त्यसैका कारण गर्मीयाम सुरु भएसँगै अहिले दैनिक एक सयभन्दा बढी मात्रामा नेपालका स्वदेशी पर्यटक कोरला नाकासम्म पुगेर फर्किने गरेका छन् ।

 भारतीय नाकाबन्दीपछि एकाएक निकै नै चर्चामा आएको कोरला नाका पुगेर फर्किनेको ताँतीनै लाग्ने गरेको छ । जसका कारण उपल्लो मुस्ताङका पर्यटन व्यवसाय निक्कै नै उत्साहित भइरहेका छन् । 

भारतीय नाकाबन्दी अघि गुमनाम रहेको उत्तरी कोरला नाकाले चर्चा जति बेला पायो, त्यसको कारण थियो उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजना । तत्कालीन सरकारले उत्तरी नाकाहरूमा पनि व्यापारिक मार्ग खोल्नुपर्ने योजना बनाएपछि आर्थिक वर्ष २०७३/०७४ सालदेखि (बेनी–जोमसोम–कोरला) सडक स्तरोन्नति सुरुआत गरिएको थियो ।

दुई सय दुई किमी (बेनी–जोमसोम–कोरला) सडकअन्तर्गत करिब १०५ किलोमिटर कालोपत्र भइसकेको र बाँकी ९९ किलोमिटर सडक ग्राभेल भइसकेकाले नेपाली पर्यटकलाई कोरला नाकासम्म पुग्न निकै नै सहज भइसकेको छ । जसका कारण नेपाली पर्यटक बस, जीप र मोटरसाइकल यात्रा गर्दै कोरला नाकासम्म पुग्न गरेका हुन् ।

बेनी–जोमसोम सडक ७४ किमी र जोमसोम–कोरला ११० किमी सडक एकदिनमै कोरला नाकासम्म पुग्न सक्छन् । सडक सहज भइसकेकाले नेपाली युवायुवतीको कोरला नाकामा लर्कोनै लाग्ने गरेको लोमान्थाङ गाउँपालिकाका प्रशासन प्रमुख विकास केसीले जानकारी दिए। कोरला नाका अवलोकन गर्ने पर्यटकका कारण उपल्लो मुस्ताङको पर्यटन व्यवसायलाई निकै ठूलो टेवा पुगेको प्रशासन प्रमुख केसीको भनाइ छ ।

शुक्रबार कोरला नाकाको अवलोकन गरी फर्किएका पोखरा माधव क्षेत्रीले कोरला नाकालाई नेपाल सरकारले व्यवस्थित तुल्याउन आवश्यक रहेको औँल्याए ।

“सडकको अवस्थामा निकै राम्रो सुधार भएको पायौँ, यति ठूलो नाकामा पर्यटक तथा स्थानीय नागरिकको सुविधाका लागि भरपर्दो पूर्वाधार भएको पाइएन”, क्षेत्रीले भने, “चीनतर्फ लोभलाग्दो भव्य संरचना बनिसकेको रहेछ, हाम्रोतिर खै कहिले बन्ने ? ।”

 स्याङ्जाका अर्को पर्यटक रामजी पौडेलले उत्तरी कोरला नाका पर्यटन र नेपाल–चीनको व्यापारिक मार्ग भएकाले त्यहाँ अथाह सम्भावना रहेको कोरला नाकाबाट चीनको मानसरोवर यही नाकाबाट पुग्न छिटो र सजिलो भएकाले यसतर्फ सरकारले अग्रसरता देखाउन आवश्यकता रहेको औँल्याए।

राष्ट्रिय गौरवको कोरला सडक स्तरोन्नतिसँगै उपल्लो मुस्ताङमा नेपाली स्वदेशी पर्यटकको आगमनदर बर्सेनि वृद्धि भइरहेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए । कोरला क्रेजका कारण पर्यटक बढेसँगै उपल्लो मुस्ताङमा स्तरीय सुविधा सम्पन्न होटल थपिँदै जान थालेको कार्यालय प्रमुख पौडेलले उल्लेख गरे । 

त्यसो त मुस्ताङमा बर्सेनि पाँच लाख बढी स्वदेशी पर्यटक मुक्तिनाथको दर्शन गर्न आउँछन् । जसमध्ये एक तिहाइको सङ्ख्यामा स्वदेशी पर्यटक कोरला नाकासम्म पुगेर फर्किने गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । (नेपाल–चीन) कोरला नाका गत वर्षको कात्तिक २७ गते उपल्लो मुस्ताङका नागरिकका लागि खुला गरेको थियो । 

कोरलास्थित तिब्बती बजारमा पुगेर मालसामान किनमेल गर्न चीन पक्षले कोरला नाका खुला गरेको हो । त्यसो त चीन पक्षले दीर्घकालीन रूपमा कोरला नाकालाई व्यापारिक ट्रान्जिट प्वाइट बनाउने उद्देश्यले चीनले आफ्नो भूमिमा दर्जनौँ भव्य प्रशासनिक भौतिक संरचना निर्माण गरिसकेको छ । नाका खुले पनि सरकारले भन्सार र अध्यागमन कार्यालयको गतिविधि सक्रिय बनाउन नसक्दा त्यहाँका स्थानीय नागरिक तथा पर्यटकलाई समस्याको विषय बनेको छ ।

कोरला नाकामा पुग्ने पर्यटकका लागि खाजानास्ता खाने ठाउँका साथै, शौचालय नहुँदा निकै समस्या हुने गरेको छ । यस्तै उपल्लो मुस्ताङका नागरिकलाई कोरला नाकामा व्यावसायिक सुविधाजनक पूर्वाधार निर्माण गर्न नसक्दा त्यहाँ व्यापार गरी बसेका स्थानीयले त्रिपालमै बसेर व्यापार व्यवसाय चलाउँदै आइरहेका छन् ।

चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको कोरला नाका अवलोकनका लागि बर्सेनि स्वदेशी पर्यटकको लर्को लागेपनि विदेशी पर्यटक उपल्लो मुस्ताङ जान सक्दैन । सरकारले अन्नपूर्ण संरक्षित क्षेत्रअन्तर्गत रहेको उपल्लो मुस्ताङ जान पाँच सय डलर शुल्क तिरेर १० दिनको प्रवेश अनुमति पाउँछन् ।

यसैका कारण उपल्लो मुस्ताङ जाने विदेशी पर्यटकको सख्या निकै नै न्यून रहेको छ । मुस्ताङ भित्रिएका विदेशी पर्यटकको तथ्याङ्कअनुसार बर्सेनि एक लाख ।भन्दा बढी पर्यटकले मुस्ताङ भ्रमण गर्दा करिब तीन  प्रतिशत मात्रै पर्यटक उपल्लो मुस्ताङको भ्रमण गर्ने गरेको एक्यापको तथ्याङ्कमा उल्लेख छ ।

किन बढ्यो जनआक्रोश ?

-सुमना श्रेष्ठ ।

अस्ति एक जना माननीयले पूर्वराजालाई स्वागत गर्न आएको जुलुस जनताको आक्रोश सडकमा आएको हामीले सम्बोधन गर्न पर्छ भन्नु भो, हो उहाँको विश्लेषण एकदम ठिक हो । त्यो आक्रोश यो भन्दा अघि २०७९ सालको चुनावमा पनि पोखिएको थियो–मतपत्रमा, त्यसैकारण म यो सदनमा आएर बोलिरहेकी छु । त्यो आक्रोश नै त थियो, जसको कारणले नामै नसुनेका हामी जस्ता पात्रहरूलाई जनताले हाम्रो निराशा चिर्न केही गर भनेर हामीलाई यहाँ पठाउनु भयो ।

हामी यहाँ यही व्यवस्थाभित्रै बसेर जनप्रतिनिधिहरूसँग सहकार्य गर्दै देशको अवस्था बदल्छौँ भनेर आएका हौँ । हामीले आफ्नो तर्फबाट सक्दो प्रयास पनि गरिरहेका छौँ । विधयेक आउँदा अध्ययन गर्छौँ, सरोकारवालाहरूसँग छलफल गर्छौँ, संसदीय व्यवस्थाले काम गर्छ भनेर विश्वासमा संशोधन पनि हाल्छौँ तर क्यै वास्ता हुँदैन ढ्यापढ्याप गरेर जस्ताको त्यस्तै पास हुन्छ । हामीले केही काम गर्न खोज्यो स्टन्ट भनिन्छ, यिनीहरू केही हैन, क्यै थाहा छैन यिनीहरूलाई भनेर होच्याउन खोजिन्छ । सानो सानो कुरा उचालेर ट्रोल गरिन्छ, खिल्ली उडाइन्छ ।

विचार गर्नुस् त हाम्रो दलको ओज घटाउन आफ्नो पक्षका बौद्धिक वर्ग परिचालन गर्नु भएन कि, मिडियामा उक्साउनु भएन कि, साइबर सेना परिचालन गर्नु भएन कि, हुँदाहुँदा राज्यको पूरा शक्ति नै लगाउनु भो जनताले विश्वास गरेको एक वैधानिक शक्तिलाई निस्तेज पार्न । त्यत्रो सामाथ्र्यको सानो अंश मात्र हाम्रो कुरा सुन्न, मिलेर सहकार्य गर्न लगाउनु भएको भए आज सदनमा यो व्यवस्थाको बचाउमा शब्द र समय खर्च गर्न पर्थेन होला ।

यो सदनले निकास दिन सकेन, जनतामा निराशा व्याप्त छँदैछ । निराश युवाले कि देश छाड्छ कि सडकमा आउँछ स्वागत जुलुस बनेर । त्यो स्वागत जुलुसका एक अराजक पात्र यहाँका ठूला भनिएका दलहरूले नै हुर्काएको बढाएको हो । हामीसँग तर्क गर्न सकिन्थ्यो, तिमीहरूको यो विचारमा यो खोट छ भनेर भन्नुभएमा हामी समीक्षा पनि गथ्र्यौ होला, तर तपाईँहरूले त्यो आवश्यक ठान्नुभएन । अब आफैंले वरदान दिएको भस्मासुरले तपाईंहरूको टाउकोमा हात राख्न आएको छ, बधाई छ हामी सबैलाई ।

दूध बेचेर मासिक दुई लाख कमाइ

तनहुँ ।  तनहुँको व्यास नगरपालिका–१३ स्थित बेलबास निवासी लेखनाथ बाँस्तोला विगत चार वर्षदेखि व्यावसायिक गाईपालनमा लागेका छन् । गाडी व्यवसायीसमेत रहेका बाँस्तोलाले कोरोना सङ्क्रमणका बेला बन्दाबन्दी (लकडाउन) हुँदा चर्को समस्या खेप्नु परेपछि गाउँ फर्किएर पशुपालन पेसा गरेका हुन् ।

लकडाउन हुनुअघि गाडी व्यवसायबाट राम्रै आम्दानी हुने गरे पनि लकडाउनका कारण व्यवसाय धरासायी बनेपछि आफूले गाउँ फर्केर यो पेसा अँगालेको कृषक बाँस्तोला बताउँछन् । उनका फार्ममा अहिले २२ वटा गाई छन् । जसमध्ये १५ वटा दुहुना गाईबाट दैनिक दुई सय लिटर दूध बिक्री गर्दै आएका छन् । ‘शुरूमा एक करोडको लगानी भएको छ,’ उनले भने, ‘मासिक चार लाखको दूध बिक्री गर्छु, सबै खर्च कटाएर मासिक दुई लाख कमाउँदै आएको छु ।’

त्यसैगरी अर्का दुग्ध व्यवसायी मेघनाथ आचार्यले नौ वटा गाईबाट दैनिक ४० लिटर दूध बिक्री गर्दै आएका छन् । १३ वर्ष वैदेशिक रोजगारीमा रहेका आचार्य स्वदेश फर्किएर गाईपालन व्यवसायमा लागेका हुन् । खर्च कटाएर मासिक ४५ हजार कमाउँदै आएको कृषक आचार्य बताउँछन् । आफ्नो चार रोपनी र भाडामा १२ रोपनी जग्गा लिएर घाँसखेती गरेको छु,’ उनले भने, ‘शुरूमा दश लाख लगानी गरी थालिएको व्यवसायबाट परिवार सन्तुष्ट छौं ।’

गाउँका अधिकांश व्यक्ति पशुपालन र कृषिमा लागेपछि यस क्षेत्रको मुहार फेरिएको छ । आर्थिक क्षेत्रमा सबल बन्नुका साथै अन्यका व्यक्तिका लागि पनि गरे हुँदोरहेछ भन्ने गतिलो सन्देश यस क्षेत्रका पशुपालन कृषकले दिएका छन् ।

गाउँबाट दैनिक एक हजार छ सय लिटर दूध बिक्री हुँदै आएको छ । उत्पादित दूध बेलबास दुग्ध उत्पादक सहकारी संस्थामार्फत दमौली र पोखरामा बिक्री हुने गरेको छ । संस्थामा आबद्ध एक सय जना शेयर सदस्यमध्ये ६५ जना कृषकले पशुपालनबाट दुग्ध उत्पादन गर्दै आएको संस्थाका व्यवस्थापक श्रीप्रसाद साँखीले जानकारी दिए।

उनले भने, ‘कृषकको खरिद मूल्यअनुरूप दैनिक एक लाख ३० हजार मूल्यको दूध सङ्कलन हुने गरेको छ, थोरैमा रू १५ हजारदेखि दुई लाखसम्म मासिक कमाउने गरेका छन् ।’ यहाँ उत्पादित दूधमध्ये दमौलीमा रहेका दुई डिपोबाट छ सय लिटर र बाँकी एक हजार लिटर दूध सुजल डेरी पोखरामा पठाइने गरिएको छ । पोखरा नपठाई स्थानीय बजारमा नै खपत गर्न सकिए यहाँका कृषकले अझै बढी फाइदा लिनसक्ने उनी बताउँछन् ।

दूधका साथै दही, पनिर, नौनी र घ्यू पनि बिक्री गर्ने गरिएको छ । आठ जना कर्मचारीले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन् । यस क्षेत्रका अधिकांश मानिसहरू पशुपालन गरी आत्मनिर्भर बन्न सफल भएका छन् । व्यावसायिक पशुपालन कृषकलाई राज्यले प्रोत्साहन गर्न दाना, चोकरको महँगी नियन्त्रण र उत्पादनका आधारमा अनुदानलाई प्राथमिकता दिन सके अझै प्रभावकारी हुनसक्ने संस्थाका अध्यक्ष केशवबहादुर रानाले बताए।

गाउँ नजिकै दुग्ध सङ्कलन केन्द्र रहेकाले कृषकले बिहान र बेलुका उत्पादन गरेका दूध बिक्री गर्न समेत सहज भएको छ । कृषकका मागबमोजिम बेलबास दुग्ध उत्पादक सहकारी संस्थालाई दुई वटा डिप फ्रिज अनुदानमा सहयोग गरिएको वडाध्यक्ष वसन्तबहादुर आलेले बताए । उनले भने, ‘नगरपालिकाले उत्पादनका आधारमा कृषकलाई प्रतिलिटर दूधमा एक अनुदान प्रदान गर्दै आएकोमा वृद्धि गर्ने योजना बनाएको छ ।’