`

किन बढ्यो जनआक्रोश ?

-सुमना श्रेष्ठ ।

अस्ति एक जना माननीयले पूर्वराजालाई स्वागत गर्न आएको जुलुस जनताको आक्रोश सडकमा आएको हामीले सम्बोधन गर्न पर्छ भन्नु भो, हो उहाँको विश्लेषण एकदम ठिक हो । त्यो आक्रोश यो भन्दा अघि २०७९ सालको चुनावमा पनि पोखिएको थियो–मतपत्रमा, त्यसैकारण म यो सदनमा आएर बोलिरहेकी छु । त्यो आक्रोश नै त थियो, जसको कारणले नामै नसुनेका हामी जस्ता पात्रहरूलाई जनताले हाम्रो निराशा चिर्न केही गर भनेर हामीलाई यहाँ पठाउनु भयो ।

हामी यहाँ यही व्यवस्थाभित्रै बसेर जनप्रतिनिधिहरूसँग सहकार्य गर्दै देशको अवस्था बदल्छौँ भनेर आएका हौँ । हामीले आफ्नो तर्फबाट सक्दो प्रयास पनि गरिरहेका छौँ । विधयेक आउँदा अध्ययन गर्छौँ, सरोकारवालाहरूसँग छलफल गर्छौँ, संसदीय व्यवस्थाले काम गर्छ भनेर विश्वासमा संशोधन पनि हाल्छौँ तर क्यै वास्ता हुँदैन ढ्यापढ्याप गरेर जस्ताको त्यस्तै पास हुन्छ । हामीले केही काम गर्न खोज्यो स्टन्ट भनिन्छ, यिनीहरू केही हैन, क्यै थाहा छैन यिनीहरूलाई भनेर होच्याउन खोजिन्छ । सानो सानो कुरा उचालेर ट्रोल गरिन्छ, खिल्ली उडाइन्छ ।

विचार गर्नुस् त हाम्रो दलको ओज घटाउन आफ्नो पक्षका बौद्धिक वर्ग परिचालन गर्नु भएन कि, मिडियामा उक्साउनु भएन कि, साइबर सेना परिचालन गर्नु भएन कि, हुँदाहुँदा राज्यको पूरा शक्ति नै लगाउनु भो जनताले विश्वास गरेको एक वैधानिक शक्तिलाई निस्तेज पार्न । त्यत्रो सामाथ्र्यको सानो अंश मात्र हाम्रो कुरा सुन्न, मिलेर सहकार्य गर्न लगाउनु भएको भए आज सदनमा यो व्यवस्थाको बचाउमा शब्द र समय खर्च गर्न पर्थेन होला ।

यो सदनले निकास दिन सकेन, जनतामा निराशा व्याप्त छँदैछ । निराश युवाले कि देश छाड्छ कि सडकमा आउँछ स्वागत जुलुस बनेर । त्यो स्वागत जुलुसका एक अराजक पात्र यहाँका ठूला भनिएका दलहरूले नै हुर्काएको बढाएको हो । हामीसँग तर्क गर्न सकिन्थ्यो, तिमीहरूको यो विचारमा यो खोट छ भनेर भन्नुभएमा हामी समीक्षा पनि गथ्र्यौ होला, तर तपाईँहरूले त्यो आवश्यक ठान्नुभएन । अब आफैंले वरदान दिएको भस्मासुरले तपाईंहरूको टाउकोमा हात राख्न आएको छ, बधाई छ हामी सबैलाई ।

दूध बेचेर मासिक दुई लाख कमाइ

तनहुँ ।  तनहुँको व्यास नगरपालिका–१३ स्थित बेलबास निवासी लेखनाथ बाँस्तोला विगत चार वर्षदेखि व्यावसायिक गाईपालनमा लागेका छन् । गाडी व्यवसायीसमेत रहेका बाँस्तोलाले कोरोना सङ्क्रमणका बेला बन्दाबन्दी (लकडाउन) हुँदा चर्को समस्या खेप्नु परेपछि गाउँ फर्किएर पशुपालन पेसा गरेका हुन् ।

लकडाउन हुनुअघि गाडी व्यवसायबाट राम्रै आम्दानी हुने गरे पनि लकडाउनका कारण व्यवसाय धरासायी बनेपछि आफूले गाउँ फर्केर यो पेसा अँगालेको कृषक बाँस्तोला बताउँछन् । उनका फार्ममा अहिले २२ वटा गाई छन् । जसमध्ये १५ वटा दुहुना गाईबाट दैनिक दुई सय लिटर दूध बिक्री गर्दै आएका छन् । ‘शुरूमा एक करोडको लगानी भएको छ,’ उनले भने, ‘मासिक चार लाखको दूध बिक्री गर्छु, सबै खर्च कटाएर मासिक दुई लाख कमाउँदै आएको छु ।’

त्यसैगरी अर्का दुग्ध व्यवसायी मेघनाथ आचार्यले नौ वटा गाईबाट दैनिक ४० लिटर दूध बिक्री गर्दै आएका छन् । १३ वर्ष वैदेशिक रोजगारीमा रहेका आचार्य स्वदेश फर्किएर गाईपालन व्यवसायमा लागेका हुन् । खर्च कटाएर मासिक ४५ हजार कमाउँदै आएको कृषक आचार्य बताउँछन् । आफ्नो चार रोपनी र भाडामा १२ रोपनी जग्गा लिएर घाँसखेती गरेको छु,’ उनले भने, ‘शुरूमा दश लाख लगानी गरी थालिएको व्यवसायबाट परिवार सन्तुष्ट छौं ।’

गाउँका अधिकांश व्यक्ति पशुपालन र कृषिमा लागेपछि यस क्षेत्रको मुहार फेरिएको छ । आर्थिक क्षेत्रमा सबल बन्नुका साथै अन्यका व्यक्तिका लागि पनि गरे हुँदोरहेछ भन्ने गतिलो सन्देश यस क्षेत्रका पशुपालन कृषकले दिएका छन् ।

गाउँबाट दैनिक एक हजार छ सय लिटर दूध बिक्री हुँदै आएको छ । उत्पादित दूध बेलबास दुग्ध उत्पादक सहकारी संस्थामार्फत दमौली र पोखरामा बिक्री हुने गरेको छ । संस्थामा आबद्ध एक सय जना शेयर सदस्यमध्ये ६५ जना कृषकले पशुपालनबाट दुग्ध उत्पादन गर्दै आएको संस्थाका व्यवस्थापक श्रीप्रसाद साँखीले जानकारी दिए।

उनले भने, ‘कृषकको खरिद मूल्यअनुरूप दैनिक एक लाख ३० हजार मूल्यको दूध सङ्कलन हुने गरेको छ, थोरैमा रू १५ हजारदेखि दुई लाखसम्म मासिक कमाउने गरेका छन् ।’ यहाँ उत्पादित दूधमध्ये दमौलीमा रहेका दुई डिपोबाट छ सय लिटर र बाँकी एक हजार लिटर दूध सुजल डेरी पोखरामा पठाइने गरिएको छ । पोखरा नपठाई स्थानीय बजारमा नै खपत गर्न सकिए यहाँका कृषकले अझै बढी फाइदा लिनसक्ने उनी बताउँछन् ।

दूधका साथै दही, पनिर, नौनी र घ्यू पनि बिक्री गर्ने गरिएको छ । आठ जना कर्मचारीले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन् । यस क्षेत्रका अधिकांश मानिसहरू पशुपालन गरी आत्मनिर्भर बन्न सफल भएका छन् । व्यावसायिक पशुपालन कृषकलाई राज्यले प्रोत्साहन गर्न दाना, चोकरको महँगी नियन्त्रण र उत्पादनका आधारमा अनुदानलाई प्राथमिकता दिन सके अझै प्रभावकारी हुनसक्ने संस्थाका अध्यक्ष केशवबहादुर रानाले बताए।

गाउँ नजिकै दुग्ध सङ्कलन केन्द्र रहेकाले कृषकले बिहान र बेलुका उत्पादन गरेका दूध बिक्री गर्न समेत सहज भएको छ । कृषकका मागबमोजिम बेलबास दुग्ध उत्पादक सहकारी संस्थालाई दुई वटा डिप फ्रिज अनुदानमा सहयोग गरिएको वडाध्यक्ष वसन्तबहादुर आलेले बताए । उनले भने, ‘नगरपालिकाले उत्पादनका आधारमा कृषकलाई प्रतिलिटर दूधमा एक अनुदान प्रदान गर्दै आएकोमा वृद्धि गर्ने योजना बनाएको छ ।’

तिनकुने गैरीगाउँमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ तिनकुने गैरीगाउँ पेट्रोलपम्प अगाडि शनिबार बिहान भएको मोटरसाइकल दुर्घनामा एक जनाको मृत्यु भएको छ ।

बिहान ४ः३० बजेको समयमा प्र ३–०२–००३ प ६२४५ नम्बरको मोटरसाइकललाई टिपरले ठक्कर दिंँदा मोटरसाइकलमा सवार काभ्रे पनौती नगरपालिका ११ घर भई ललितपुर धापाखेल बस्ने वर्ष २६ का सुकराम तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।

उपचारका क्रममा बिहान ५ः३० बजे ट्रमा सेन्टरमा उनको मृत्यु भएको हो । उपरीक्षक बोहराका अनुसार ट्रिपर गौशालातर्फ फरार भएकोमा खोजतलासका क्रममा रा १ ख २६२२ नम्बरको टिपर विमानस्थलको कार्गोभित्र फेला पारी नियन्त्रणमा लिएको तर चालक फरार रहेका छन् ।

दुर्घटनामा मोटरसाइकलमै सवार काभ्रे बेथानचोकका रमेश तामाङ घाइते भएका र उनको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पूर्वविशिष्टलाई सुविधा थप्ने गरि सरकारले गृहकार्य अघि बढाएको छैनः उपप्रधानमन्त्री सिंह

पाल्पा । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले पूर्व विशिष्टलाई सुविधा थप्ने सरकारको कुनै तयारी नभएको बताएका छन् ।

नेपाल पत्रकार महासंघले शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा उपप्रधानमन्त्री सिंहले सरकारले पूर्व विशिष्टलाई सुविधा थप्ने कुनै तयारी नगरेको बताएका हुन् ।

यसअघिका सरकारले अगाडि बढाएको पूर्व विशिष्टको सुविधाको विषय सर्वाेच्च अदालत पुगेपछि कानून बनाएर व्यवस्थित गर्ने गरि निर्देशनात्मक आदेश जारी भएको चर्चा गर्दै उनले भने, ‘पूर्वविशिष्टलाई सुविधा थप्ने गरि सरकारले गृहकार्य अघि बढाएको छैन । वर्तमान सरकारको सुविधा थप्ने सरकारको मनसाय छैन ।’

उपप्रधानमन्त्री सिंहले वर्तमान सरकार आर्थिक समृद्धि र विकासमा केन्द्रिन रहेको र सोही अनुसार काम अघि बढाएको पनि बताए ।

राजनीतिक स्थिरता नभई विकासको कामले गति लिन नसक्ने भएकाले अहिले कांग्रेस, एमालेसिहतका दलहरू मिलेर सरकार बनेको भन्दै उनले जनताको जीवन र जिविका सहज बनाउनु नै सरकारको प्राथमिकता रहेको बताए ।

समृद्धिका लागि विज्ञान प्रविधि

-प्रा डा दिलीप सुब्बा

विज्ञानको प्रभावकारी प्रयोगले मात्रै कुनै पनि राष्ट्रलाई दिगो विकास र समृद्धिको मार्गतर्फ डोहोर्याउन सक्छ । वैज्ञानिक अनुसन्धान, प्रविधिको नवप्रवर्तन र शिक्षामा लगानी गरी समाजलाई आधुनिक, आत्मनिर्भर र दिगो रूपमा विकास गराउन सकिन्छ । विज्ञान बिना समृद्धि सम्भव छैन भन्ने तथ्य विश्वका विकसित र विकासशील राष्टहरुको प्रगतिबाट प्रष्ट हुन्छ । नेपालजस्तो विकासोन्मुख देशको आर्थिक, सामाजिक र दिगो विकासका लागि भने विज्ञान र प्रविधिको भूमिका अत्यन्त महत्वपूर्ण छ । वैज्ञानिक अनुसन्धान, नवीन प्रविधि र डिजिटल रूपान्तरणले नेपालको समृद्धि, पूर्वाधार विकास, स्वास्थ्य सेवा सुधार, कृषि उत्पादकत्व वृद्धि र वातावरणीय सन्तुलनजस्ता क्षेत्रमा ठूलो योगदान दिन सक्छ । विज्ञान र प्रविधिको प्रभावकारी प्रयोगले मुलुकको समृद्धि, औद्योगीकरण तथा दिगो विकासको मार्ग खोल्न सक्छ । सरकारले वैज्ञानिक अनुसन्धान, प्रविधिमा लगानी र प्रविधिमा आधारित नीति निर्माणलाई प्राथमिकता दिएमा नेपाललाई आधुनिक र आत्मनिर्भर राष्ट्र बनाउन सकिन्छ । विज्ञान प्रविधि नेपालको उज्ज्वल भविष्यको आधारस्तम्भ हो ।

राष्ट्रको सर्वाङ्गीण विकासका लागि विज्ञान तथा प्रविधिको विकास र उपयोगको महत्वपूर्ण भूमिका रहन्छ । विश्वमा विकसित राष्ट्रहरुको विकासको मूल आधार नै समयसापेक्ष प्रविधिको विकास रहेको पाइन्छ । जहाँ विज्ञान र प्रविधिको विकास, प्रवद्र्धन र उपयोग भएको छ, त्यहाँको विकासको दर उच्च रहेको छ । तथापि, नेपालमा समयसापेक्ष र जनताको समस्या समाधान गर्न सक्ने किसिमले विज्ञान र प्रविधिको विकास र प्रयोग हुन सकिरहेको छैन । नेपालको संविधानले विज्ञान तथा प्रविधिलाई देशको विकाससँग आवद्ध गर्दै वैज्ञानिक अनुसन्धान एवं विज्ञान र प्रविधिको आविस्कार, उन्नयन र विकासमा लगानी अभिवृद्धि गर्ने तथा वैज्ञानिक, प्राविधिक, बौद्धिक र विशिष्ट प्रतिभाको संरक्षण गर्ने नीति आत्मसात् गरेको छ ।

सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तन नीतिमार्फत वैज्ञानिक अनुसन्धान, प्रविधिको विकास र नवप्रवर्तनलाई दिगो विकासको प्रमुख आधारका रूपमा अघि बढाउने लक्ष्य राखेको छ । नेपालमा विज्ञान र प्रविधिसम्बन्धी नीति पहिलो पटक २०४४ सालमा ल्याइएको थियो । त्यसपछि समयानुसार यसमा संशोधन हुँदै आएको छ । पछिल्लो विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीति २०७६ ले वैज्ञानिक सोच, अनुसन्धान, प्रविधि हस्तान्तरण, तथा नवप्रवर्तनलाई प्राथमिकता दिएको छ । यस नीतिले समेत तथ्यमा आधारित अनुसन्धानमा जोड दिँदै जनचेतना अभिवृद्धि गर्ने र समाजमा विद्यमान अन्धविश्वास र कुरुतीलाई निर्मूल गर्ने रणनीति निर्धारण गरेको छ । यस नीतिले विज्ञान तथा प्रविधिका प्रायः सबै विधाहरुलाई समेट्ने प्रयास गरेको छ । कृतिम बौद्धिकता (एआई), नानो प्रविधि, वायो प्रविधि, परमाणु विज्ञान, इञ्जिनियरिङको अधिकतम उपयोग गरी औद्योगिक उत्पादकत्व वृद्धि, उचित व्यवसायीकरण, दिगो पूर्वाधार विकास, जैविक तथा खनिज स्रोतको उपयोग, वातावरण, जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरण र सुशासन सेवा प्रवाह, साइवर तथा राष्ट्रिय सुरक्षालाई नीतिमा प्राथमिकता क्षेत्रको रुपमा लिइएको छ ।

विज्ञान, प्रविधि र नवप्रवर्तनलाई समृद्ध नेपालको निर्माणका लागि प्रमुख आधारका रूपमा लिइएको छ । सोह्रौँ पञ्चवर्षीय योजनामा योजनाले वैज्ञानिक अनुसन्धान, सूचना प्रविधि र नवप्रवर्तनलाई प्रवद्र्धन गरी दिगो आर्थिक विकास गर्ने लक्ष्य राखेको छ । यस योजनामा विज्ञान प्रविधिसम्बन्धी मुख्य रणनीति र लक्ष्यहरूमा सूचना प्रविधिको विकास, अनुसन्धान तथा नवप्रवर्तन प्रवद्र्धन, कृषि तथा खाद्य सुरक्षामा विज्ञान प्रविधिको प्रयोग, स्वास्थ्य क्षेत्रमा प्रविधिको विस्तार, पूर्वाधार तथा ऊर्जा प्रविधिको प्रयोग, वातावरण तथा जलवायु परिवर्तन न्यूनीकरणका विषयहरुलाई समावेश गरिएको छ ।

नास्टको भूमिका

नेपालमा विज्ञान र प्रविधि क्षेत्रका कार्य गर्ने सर्वोच्च निकाय नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले स्थापनादेखि निरन्तर रुपमा समाजमा वैज्ञानिक चेतना अभिवृद्धि गर्ने, जनतालाई वैज्ञानिक ज्ञानद्वारा सू–सुचित पार्ने र तथ्यमा आधारित जानकारी प्रदान गर्ने कार्य गर्दै आएको छ । विज्ञान र प्रविधि क्षेत्र अन्तरसम्बन्धित विषयवस्तु भएकाले एकल संस्थाभन्दा संस्थाहरुबीच सहकार्य र समन्वयबाट उद्देश्य प्राप्तिमा प्रभावकारी हुन सक्दछ ।

प्रदेशस्तरबाट पनि विज्ञान तथा प्रविधिलाई प्रवद्र्धन गर्न विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गरी सञ्चालनमा ल्याउन प्रारम्भ भइसकेको छ । नेपाली मौलिक प्रविधिलाई समयसापेक्ष परिमार्जन एवं जनोपयोगी बनाउन आवश्यक प्रक्रिया बढाइसकिएको छ ।

नास्टले यसै वर्ष विज्ञान प्रविधि सूचना प्रणाली केन्द्रको स्थापना गरी विज्ञान प्रविधिको सम्पूर्ण सूचनालाई भण्डारण गरी उपयोगमा जोड दिइएको छ । वार्षिक कार्यक्रमका लागि तय गरेका विभिन्न अनुसन्धान तथा विज्ञान प्रविधिका प्रवर्तनात्मक कार्यक्रमलाई निरन्तरता दिइएको छ । यसको लागि विभिन्न विषयगत वैज्ञानिक उपसमितिहरुलाई क्रियाशिल बनाइएको छ । चालु आर्थिक वर्षमा सातवटै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्रको स्थापनाको कामलाई पूर्णता दिई जनशक्तिको व्यवस्था गरेर विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ । संरचना एवं पूर्वाधार विकासतर्फ बितेको आर्थिक वर्षमा बायोमेडिकल रिसर्च ल्याबको निर्माण कार्य सम्पन्न भएको छ भने हाल ‘सेकेण्डरी स्टयान्डर्ड डोसिमेट्री ल्याबरेटोरी’को निर्माण कार्य सम्पन्न हुने प्रक्रियामा रहेको छ ।

विदेशी वैज्ञानिक संस्थाहरुसँगको सम्बन्ध र सहकार्यलाई अघि बढाउने काम भएको छ । सन् १९९० देखि इटालीको वैज्ञानिक संस्थासँग मिलेर लोबुचेस्थित पिरामिड ल्याबको प्रयोग गर्दै उच्च धरातलीय अनुसन्धान कार्य गर्दै आएकामा सन् २०१५ देखि सो कार्य अवरुद्ध भएकाले त्यसलाई सूचारु गर्ने व्यवस्था मिलाइएको छ । सन् २०१९ मा जापानको वैज्ञानिक संस्था क्युटेकसँगको सहकार्यमा नास्टले नेपालकै प्रथम न्यानो स्याटलाइट (नेपाल स्याट १) अन्तरिक्षमा प्रक्षेपण गरेको थियो । त्यस्तै सन् २०२४ मा भारतको अन्तरिक्ष अनुसन्धान संस्था ‘आएएसआरओ’सँग दोस्रो न्यानो स्याटलाइट (मुनाल) चाँडै प्रक्षेपण गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ । भारतको राष्ट्रिय वैज्ञानिक तथा औद्योगिक अनुसन्धान संस्था ‘सिएसआइआर’सँग विज्ञान तथा औद्योगिक अनुसन्धानका बृहत् विषयमा सहयोग र सहकार्य निम्ति समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । यस संस्थासँगको संयुक्त कार्यक्रम तथा प्रविधि हस्तान्तरणबाट नेपाललाई धेरै फाइदा पुग्ने अपेक्षा गरिएको छ ।

यस वर्ष जापानको वैज्ञानिक संस्था ‘सिएसआइएस’सँग ग्लोबल नेभिगेसन स्याटलाइट सिष्टम (जिएनएसएस) प्रणालीलाई नेपालमा प्राकृतिक प्रकोप, आपत्कालीन समस्या पहिचान, यातायात प्रणाली, भूमि व्यवस्थापनजस्ता क्षेत्रहरुमा उपयोग गर्ने गरी समझौता गर्ने काम अघि बढेको छ ।

यसैगरी स्थानीय संस्थाहरुसँग सहकार्य गर्ने काम अघि बढिरहेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषसँग प्रकृति संरक्षण विषयमा सहकार्य गर्न समझदारी पत्रमा हस्ताक्षर गरिएको छ भने उद्योग वाणिज्य महासङ्घसँग सहयोग र सहकार्यको लागि छलफल सुरु भएको छ ।

विज्ञान तथा प्रविधिको प्रयोग स्वस्थ र सुखी जीवन तथा राष्ट्रिय समृद्धिको प्राप्तिको लागि हुनुपर्दछ । यसको निमित्त राम्रो विज्ञान शिक्षा, अनुसन्धान, प्रविधि नवप्रवर्तन आधारभूत आवश्यकता हो । जनताको जीवनस्तर वृद्धि र देशको समृद्धिको निमित्त विज्ञान र प्रविधिको भूमिकालाई सशक्त बनाउने, वस्तुनिष्ठ र ठोस परिणाममुखी कार्यक्रम सञ्चालन गरी नाष्टको प्रतिष्ठामा वृद्धि गरी नाष्टलाई विश्वस्तरीय अनुसन्धान केन्द्रका रुपमा विकास गर्नुपर्ने हुन्छ । भावी योजना निर्माण गर्दा सरकारको चालु आवधिक योजना तथा वार्षिक नीति तथा कार्यक्रम, विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति, दिगो विकासका लक्ष्यलाई मार्गनिर्देशक मानिनेछ । योजना तयार गर्दा नास्टका विषयगत वैज्ञानिक उप–समितिहरु, नास्टबाट आयोजना गरिएका सम्मेलन, गोष्ठी, छलफलका प्रतिवेदन, अन्तर्राष्ट्रिय वैज्ञानिक संस्थासँगको सहकार्य गर्ने समझदारी, विभिन्न मन्त्रालय एवं राष्ट्रिय संस्थाहरुसँग भएका समझदारी र सम्झौता, राष्ट्रिय योजना आयोगसँगको परामर्श, प्राज्ञसभाको सल्लाह सुुझावलाई आत्मसात गरिएको छ ।

योजनाको कार्यदिशा उत्पादन वृद्धि तथा उद्यमशीलताको विकासमा सहयोग पु¥याउने नवीन प्रविधिहरुको विकास, अनुसन्धानलाई औद्योगिक उत्पादनसँग जोड्ने, विज्ञान शिक्षण आधुनिकीकरण, विज्ञान, गणित, इञ्जिनियरिङ विधामा उच्च अध्ययन गरेका जनशक्तिको सङ्ख्यामा उल्लेख्य वृद्धि गर्न सहयोग गर्नु, भौतिकशास्त्र, रसायनशास्त्र र जीवशास्त्र वा फिजियोलोजी विधामा उत्कृष्ट स्तरको अनुसन्धान हुने वातावरण तयार गर्नु नास्टको लक्ष्य रहेको छ । त्यस्तै विज्ञान प्रविधिको राष्ट्रिय सूचना प्रणाली विकास गर्न युवा वैज्ञानिकहरुलाई अनुसन्धान तथा नवप्रवर्तनको पर्याप्त अवसर प्रदान गर्नु, परम्परागत प्रविधिको प्रवद्र्धन, प्रादेशिक अनुसन्धान केन्द्रहरूको प्रभावकारी सञ्चालन, बाञ्छित भौतिक संरचनाको निर्माणतर्फ लक्षित रहेको छ ।

ती योजनाअन्तर्गतका कार्यक्रमलाई कृषि र खाद्य उत्पादन, स्वास्थ्य, विज्ञान शिक्षा, ऊर्जा, वन पैदावार, जलस्रोत, भौतिक पूर्वाधार, सूचना प्रविधि, औद्योगिक उत्पादन, वातावरण, जलवायु परिवर्तन एवं प्राकृतिक प्रकोपका क्षेत्रहरुमा सञ्चालन गर्ने धारणा रहेको छ । अन्तरिक्ष प्रविधि र उच्च धरातलीय अनुसन्धान तथा भूकम्प पूर्वसूचना प्रणालीको स्थापनालाई पनि महत्व दिइएको छ । उत्कृष्टस्तरको अनुसन्धानको लागि सबल र उत्कृष्ट प्रयोगशालाको निर्माण तथा उत्कृष्ट अन्तरराष्ट्रिय प्रयोगशाला एवं वैज्ञानिकहरुसँग सहकार्य गर्ने, प्रविधि नवप्रवर्तन प्रसार र स्थानान्तरणको लागि प्राविधिक भवनको निर्माण, प्रदेशहरुको विशेषताअनुरुप त्यहाँ स्थापित अनुसन्धान केन्द्रहरुको सुदृढीकरण र क्षमता विकास, वैज्ञानिकहरुको क्षमता विकास गर्ने योजना रहेको छ । यी सबै कार्यमा तीनै तहका सरकार, वैज्ञानिक समुदाय र आम नागरिकको सहयोग, सहकार्य र सद्भावको खाँचो पर्दछ ।

(कुराकानीको सम्पादित अंश)

साहित्य र संस्कृतिले हिमवतखण्डका नेपालीलाई एकताको सूत्रमा बाँध्छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भाषा, कला, साहित्य र संस्कृतिले हिमवतखण्डका नेपालीलाई एकताको सूत्रमा बाँध्ने बताएकी छन् ।

मदन भण्डारी कला–साहित्य प्रतिष्ठानले शुक्रबार आयोजना गरेको ‘हिमवतखण्ड कला–साहित्य–संस्कृति सम्मिलन’को उद्घाटन गर्दै पूर्वराष्ट्रपति भण्डारीले मानव सभ्यताको उद्गम हिमवतखण्डका राष्ट्रहरूबीच एकता हुनु जरुरी भएको बताइन् ।

“हिमवतखण्ड भाषा, कला, साहित्य र संस्कृतिका हिसाबले पौराणिक भूगोल हो, यसका बारेमा अध्ययन, अनुसन्धान भइरहेको छ”, उनले भनिन्, “यस्ता सम्मिलनले हिमवतखण्डभित्रको भाषा, कला, साहित्य र संस्कृतिको विकासमा मद्दत पुग्छ, नेपालीलाई एकतामा बाँध्ने काम पनि गर्दछ ।”

उनले भाषा, कला, साहित्य र संस्कृतिले नेपालीलाई भूगोल भिन्न भए पनि कला र साहित्यले भौगोलिक सीमालाई तोड्दै एकतामा सदा बाँध्ने विश्वास गर्दै यस्तो सम्मिलनले यस भूभागको गरिमालाई अझ मजबुत गराउने बताइन् ।

“हिमवतखण्डका बारेमा विश्वले अध्ययन गरिरहेको छ”, पूर्वराष्ट्रपति भण्डारीले भनिन्, “यो खण्डका नेपालीलाई भावनात्मक रूपमा बलियो बनाउन, प्रचीन मौलिक संस्कृतिको योग, ध्यानलाई संरक्षण गर्न जरुरी छ ।”

उनले हिमवतखण्ड नेपालमा सबैभन्दा प्राचीन ग्रन्थ ऋगवेद र सबैभन्दा प्राचीन भाषा संस्कृतको जन्म भएको र यसै भूमिमा चार वेद, उपनिषद्, श्रुति, स्मृति, पुराण तथा अनेकौँ नीतिशास्त्रको प्रादुर्भाव र विस्तार भएको स्मरणसमेत गराइन् ।

पूर्वकुलपति तथा मुन्धुमविद् बैरागी काइँलाले हिमवतखण्ड भौगोलिक र आध्यात्मिक दृष्टिकोणले महत्त्वपूर्ण रहेको र पछिल्लो समयमा पश्चात्य संस्कृतिले आक्रान्त पारेको हुनाले नेपाली भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

काशी हिन्दू विश्वविद्यालयको संस्कृत विभागका प्रमुुख प्रा डा दिवाकर प्रधानले नेपाल–भारतबीच सनातनी सम्बन्ध रहेको र आगमी दिनमा सहकार्य गरेर जान सकिनुका साथै नेपाली भाषा–कला र संस्कृतिको संरक्षण हुने बताए ।

मदन भण्डारी फाउन्डेसनका कार्यवाहक अध्यक्ष उषाकिरण भण्डारीले नेपालीको माटो सुहाउँदो विकास, भाषा, कला, साहित्य र संस्कृतिको विकास गर्ने उद्देश्यले मदन भण्डारी फाउन्डेसनले काम गरिरहेको बताइन् ।

मदन भण्डारी कला–साहित्य प्रतिष्ठान अध्यक्ष तथा सम्मिलन आयोजक समितिका संयोजक डा विजय सुब्बाले हिमवत्खण्ड क्षेत्रका भाषाभाषीका विभिन्न संस्कृति, सभ्यता, ज्ञान र परम्परालाई आत्मसात् गर्दै यहाँका विविध जातजाति तथा समुदायबीच सांस्कृतिक आदानप्रदान गर्ने, संस्कृति, सभ्यता र ज्ञान परम्पराका सम्बन्धमा प्राज्ञिक विमर्श गर्ने उद्देश्यले सम्मिलनको आयोजना गरेको जानकारी दिए । सम्मिलन आजदेखि ३ गतेसम्म चल्नेछ ।

सम्मिलनमा हिमवतखण्डका नेपालका सातवटै प्रदेशका साथै भारत (सिक्किम, पश्चिम बङ्गाल, आसाम, मणिपुर, मेघालय, उत्तराञ्चल), चीन, बङ्गलादेश, म्यान्मार, भुटान, थाइल्यान्डमा बसोबास गर्ने नेपालीहरू सहभागी छन् ।

सम्मिलनमा नेपाल बाहिरबाट १० वटा कार्यपत्र प्रस्तुत गरिनेछ । नेपालबाट सात प्रदेशबाट सातवटा र नेपाली विज्ञहरूबाट पाँचवटा गरी २२ वटा कार्यपत्रका प्रस्तुत गरिनेछ ।

सम्मिलनमा विदेशबाट कलाकारसहित एक सय जना आएका छन् । सहभागी देशभरबाट करिब दुई सय जना तथा आयोजक, सल्लाहकार गरी जम्मा करिब एक हजारको उपस्थिति रहेको छ ।
शनिबार विभिन्न कार्यपत्र प्रस्तुत हुने छभने आइतबार सम्मिलनको समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।

त्रिविका ११ आङ्गिक क्याम्पसमा अघि बढेन निर्वाचन प्रक्रिया

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका ११ आङ्गिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

विद्यार्थी सङ्गठनबीच विवाद हुँदा ११ वटा आङ्गिक क्याम्पसमा निर्वाचन प्रक्रिया नै अगाडि बढ्न नसकेको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए । विद्यार्थी सङ्गठनबीच भर्ना प्रक्रियामा विवाद हुँदा ती क्याम्पसमा निर्वाचन प्रक्रिया अगाडि बढ्न नसकेको उनले बताए ।
निर्देशक अधिकारीका अनुसार देशभरि रहेका ६२ वटा आङ्गिक क्याम्पसमध्ये उपत्यकामा छ र उपत्यका बाहिर पाँच वटा आङ्गिक क्याम्पसमा निर्वाचन प्रक्रिया अगाडि नबढेको हो ।

उपत्यकाका नेपाल ल क्याम्पस, शङ्कर देव क्याम्पस, पब्लिक युथ क्याम्पस, सरस्वती बहुमुखी क्याम्पस, विश्वभाषा क्याम्पस र थापाथली इञ्जिनियरिङ क्याम्पस र उपत्यका बाहिर महेन्द्रनगरको सिद्धनाथ बहुमुखी क्याम्पस, बुटवल बहुमुखी क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस, विराटनगर महेन्द्र मोरङ क्याम्पस र जनकपुरको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा प्रक्रिया रोकिएको हो ।

“निर्वाचन प्रक्रिया अगाडि नबढेका क्याम्पसमा पनि आपसी समझदारीमा निर्वाचन गर्न निर्देशन दिएका छौँ”, उनले भने, “यसपटक हामी सबै आङ्गिक क्याम्पसमा निर्वाचन गर्ने तयारीमा छौँ ।”

विसं २०७९ चैत ५ गते भएको निर्वाचनमा नौ वटा आङ्गिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन । त्रिविले स्ववियु निर्वाचनको प्रचारप्रसारका लागि चैत २ गते राति १२ बजेसम्मका लागि समय तोकेको छ । त्रिविअन्तर्गतका क्याम्पसमा एकैदिन चैत ५ गते निर्वाचन हुँदैछ ।

प्रचण्डलाई ज्ञानेन्द्र शाहीको आग्रहःविदेशीको गुलाम गर्न छाडेर नविनतम समझदारीमा आउनुस्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजा वीरेन्द्रको वंशनाश गरेको जवाफ दिएका छन् ।

शुक्रबार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले दरबार हत्याकाण्ड पूर्वराजा ज्ञानेन्द्रले गराएको आरोप लगाएपछि शाहीले प्रचण्डलाई यस्तो जवाफ दिएका हुन् ।

उनले भारतमा लुकेर राजनीतिक रूपमा भड्काएर १७ हजार नेपाली निमुखा गरिबका छोराछोरी कसले मार्यो भन्दै प्रचण्डलाई प्रश्न गरेका छन् । शाहीले भनेका छन्, ‘भड्किला झुठा भाषण गर्दै हिँड्यौ भने प्रचण्डजी नेपाली जनताले तपाईंलाई माफी दिने छैनन् । त्यसैले भन्छु नविनतम सम्झौतामा आउनुस् विदेशीको गुलाम जति गर्नुभयो गरिसक्नु भो अब देशका लागि केही काम गर्नुस् ।’

यस्तो छ प्रचण्डलाई ज्ञानबहादुर शाहीको जवाफ

प्रचण्डजी २०५२ सालमा राजा वीरेन्द्रकाविरुद्धमा हतियार कसले उठायो तपाईंले उठायो ? षड्यन्त्र गरेर दरबार हत्या गर्दा सबभन्दा बढी फाइदा कसलाई भो तपाईंलाई भयो ? जनताको सेन्टिमेन्ट कसले प्राप्त गर्यो तपाईंले प्राप्त गर्नु भयो ? राजसंस्थालाई नै फाल्नुपर्छ भनेर विदेशबाट Ak 47 ,LMG,SmG , SLR जस्ता आधुनिक हतियार कसले लियो तपाईँले लिनुभयो ? मोबाइल फोन नभएको समयमा स्याटलाईट फोन युरोपियन युनियनले कसलाई बोक्न दियो तपाईलाई ? भारतमा लुकेर राजनीतिक रूपमा भड्काएर १७ हजार नेपाली निमुखा गरिबका छोराछोरी कसले मार्यो तपाईँले मार्यो ? निहत्या नागरिकलाई बाटोबाटोमा बम थाप्दै कसले हत्या गर्यो ? तपाईंले गर्यो । विदेशीको इशारामा मन्दिरका, गुम्बाका पुजारी, लामालाई कसले घाँटी रेट्यो ? तपाईँले रेटयो । ३३ किलो सुन तस्कर कसले गर्यो ? तपाईंले गर्यो । क्यान्टोनमेन्ट घोटाला कसले गर्यो ? तपाईंले गर्यो । सिधा भाषामा भन्दा विदेशीको इसारामा प्रचण्डजी तपाईं र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनाश गर्यौ । तर यस्तै भड्किला झुठा भाषण गर्दै हिँड्यौ भने प्रचण्डजी नेपाली जनताले तपाईंलाई माफी दिने छैनन् । त्यसैले भन्छु नविनतम सम्झौतामा आउनुस् विदेशीको गुलाम जति गर्नुभयो गरिसक्नु भो अब देशका लागि केही काम गर्नुस् ।’

प्रचण्डले पूर्वराजालाई लगाए ‘मूर्ति चोर’को आरोप

मेलम्ची । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धेरै चुरीफुरी नगर्न चेतावनी दिएका छन् ।

शुक्रबार सिन्धुपाल्चोकको मेलम्चीमा पार्टीको नगर सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले पूर्वराजालाई धेरै चुरीफुरी नगर्न चेतावनी दिएका हुन् ।

उनले पूर्वराजालाई मूर्ति चोर र ‘भाइमारा’ को आरोपसमेत लगाए । उनले दरबार हत्याकाण्डको योजनाकार को भन्ने नेपाली जनतालाई थाहा भएको बताए । प्रचण्डले कसैको उक्साहटमा फेरि टाउको उठाउने मुर्खता नगर्नसमेत पूवराजालाई चेतावनी दिए ।

उनले भने, ‘भयानक दरबार हत्याकाण्ड गर्ने मान्छेहरु त उनको परिवारभित्र थिए नि ! सबै बुझेका छन् नेपाली जनताले । त्यसको प्लानर को हुन् भन्ने नेपाली जनतालाई थाहा छ । धेरै चुरीफुरी नगरे हुन्छ । धेरै मुर्खता पहिला पनि भइसकेको छ ।’

उनले दुस्साहसलाई माओवादीले ‘इँटाको जवाफ पत्थरले दिने’ चेतवानी दिए । उनले भने, ‘२५० वर्षसम्म राजा, महाराजाले यो देशलाई कहाँ पुर्याए ? नेपाली जनताले बिर्सिएका छैनन्, मुर्ति चोर को हुन् ? नेपालका ठूलठूला मूर्ति चोरहरू अहिले राजा बन्न खोज्दैछन् । भाइमारा को हो ? आफ्नै वंश मास्नेले अहिले आएर फेरि धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले बिर्सिए भन्ने ठानेको ?’

प्रचण्डले आफूले ५ वर्ष शासन पाएको भए दरबार हत्याकाण्डको पर्दाफास गर्ने बताए । उनले, ‘मैले पहिलाचोटी प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको फेरि एकचोटी छानबिन गर्नुपर्छ भनेको थिएँ । मैले त्यतिबेला पाँच वर्ष शासन गर्न पाएको भए फेरि एकचोटी छानबिन गरेर भाइमारा र राजद्रोही यिनीहरूलाई इतिहासको कठघरामा ठेगान लगाउने विचार थियो ।’ उनले जनताकै तागतका बलमा देशको नेतृत्व लिने पनि बताए ।

मुख्य याममै आएनन् सौराहामा पर्यटक

चितवन। विगतका वर्षमा यो समय सौराहा पर्यटकले भरिन्थे। होटलको अकुपेन्सी पनि राम्रो हुन्थ्यो। तर यसपालि विगत जस्तो भएन। चिनियाँ पर्यटक कम आएसँगै यहाँको पर्यटकीय गतिविधि प्रभावित भयो। विगतमा जस्तो भारतीय र तेस्रो मुलुकका पर्यटक पनि उल्लेख्य आएका छैनन्। स्वदेशी पर्यटकको संख्या पनि न्यून रहेको व्यवसायीले बताएका छन्।

चितवन फरेस्ट रिसोर्टका सञ्चालक दीपक भट्टराई विगतका वर्षमा यतिबेला आफ्नो होटलमा ८० प्रतिशत चिनियाँ पर्यटक हुने गरेकामा यस वर्ष ४० प्रतिशत पनि नपुगेको बताउँछन्। चिनियाँ पर्यटक किन आएनन् भन्ने जानकारी नभएको भन्दै उनले नेपाली नयाँ गन्तव्यहरूमा गएको बताए।

“मनाङ, मुस्ताङ, राराजस्ता हिमाली क्षेत्रका गन्तव्यमा स्वदेशी पर्यटक गएका छन्, यहाँ कम आए,” उनले भने। सौराहामा नयाँ कार्यक्रम दिन नसक्दा पनि एक पटक यहाँ आउने पर्यटक फर्किएर आउन इच्छा नगर्ने उनको भनाइ छ।

सिद्धार्थ भिलासा वनवासका महाप्रबन्धक प्रकाश न्यौपाने खर्चिला चिनियाँ पर्यटक सौराहा नआएको बताउँछन्। चिनियाँ पर्यटकको एक समूहको भनाइलाई उद्धृत गर्दै उनले भने, “काठमाडौँमा फागु खेल्न यस वर्ष भारतीयभन्दा चिनियाँ पर्यटक बढी आए, यहाँ भने आएनन्।”

क्षेत्रीय होटल संघ सौराहाका महासचिव गुणराज थपलिया विगतका वर्षको तुलनामा सौराहा आउने पर्यटक आधाभन्दा कमले घटेको बताउँछन्। चैतको पहिलो सातादेखि असारसम्म यहाँ धेरै पर्यटक आउने गर्दछन्। यो मौसमलाई सौराहाका होटल व्यवसायीहरूले राम्रो यामका रूपमा लिने गर्दछन्।

थपलिया मुख्य रूपमा सडकका कारण पर्यटक कमी भएको अनुमान गर्छन्। काठमाडौँबाट आउने पर्यटकका लागि विस्तार हुँदै गरेको मुग्लिन–नौबिसे सडक, पोखराबाट आउने पर्यटकका लागि मुग्लिन–पोखरा सडक र भैरहवातर्फबाट आउने पर्यटकका लागि नारायणगढ–बुटवल सडकको अवस्था सहज नभएकाले पनि पर्यटक घटेको उनको अनुमान छ। यस्तै भारतको महाकुम्भ मेला पनि पर्यटकको घट्नुका कारण भएको उनको भनाइ छ।

जंगल सफारी लजका सञ्चालक सुमन घिमिरे चिनियाँले यस वर्ष ‘भिजिट नेपाल वर्षका’ रूपमा मनाएको भए पनि नेपाल कम आएको बताउँछन्। नेपालका पर्यटकीय गन्तव्यमा समेत गतिविधि गरेर आकर्षण गर्न नसकेको उनको भनाइ छ।

चीनको छेन्दु–पोखरा उडान भएपछि केही पर्यटक बढ्ने आशा आफूहरूमा रहेको उनले बताए। “सन् २०२५ मा चिनियाँ पर्यटकबाट धेरै आशा गरेको भए पनि हुन सकेन,” उनले भने। नेपालको पर्यटन प्रवर्द्धनका लागि चीन र भारत नै मुख्य रहेको घिमिरेको भनाइ छ।

गत वर्षमा यतिबेला एउटा हात्तीले पर्यटकलाई दैनिक तीन पटक जंगल घुमाउँथ्यो। हात्ती सञ्चालन गर्दै आएको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडा अहिले यो संख्या आधा भएको बताउँछन्। रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) का पूर्वअध्यक्षसमेत रहेका खतिवडा रेस्टुरेन्टको व्यापार पनि आशातीत नभएको बताउँछन्।

संघका अध्यक्ष गंगा गिरी चिनियाँ पर्यटक धेरै आउँदा चिनियाँ पर्यटक धेरै राख्ने होटल भरिने र अन्य पर्यटकले अरू होटल भरिने भए पनि अहिले त्यस्तो नभएको बताउँछन्। गत वर्षहरूमा यतिबेला दैनिक ५०० चिनियाँ पर्यटक सौराहा आइपुग्थे। यो वर्ष १५० देखि २०० मात्रै चिनियाँ पर्यटक आएको उनी बताउँछन्।

एकैदिन एक हजार हाराहारीसम्म भारतीय पर्यटक आउने सौराहामा यतिबेला १५० हाराहारी मात्रै आएका छन्। “एक हजारभन्दा बढी तेस्रो मुलुकका पर्यटक आउने सौराहामा यो वर्ष देख्न मुस्किल छ,” उनले भने।

उनको भनाइमा यस याममा ९९ प्रतिशतसम्म बुकिङ हुन्थ्यो। यस वर्ष ३५ देखि ४० प्रतिशत मात्रै पर्यटक छन्। भूकम्पअघिसम्म तातोपानी नाकाबाट आफ्नै सवारीमा आउने चिनियाँ पर्यटक सडक नबन्दा रोकिएको उनी बताउँछन्। यस्तै हवाई यात्रा महँगो हुँदा पनि चिनियाँसँगै अरू पर्यटक प्रभावित भएको गिरी बताउँछन्।

अहिले आएका पर्यटकमध्ये ६० प्रतिशत नेपाली छन्। “धेरथोर स्वदेशी पर्यटकले सौराहा धानेको छ”,उनले भने। सौराहामा १४८ वटा होटल छन्। जहाँ सात हजार २०० पर्यटक अट्ने क्षमता छ। गिरीका अनुसार ती होटलमा चार खर्ब रुपैयाँभन्दा बढी लगानी छ।

प्रत्यक्ष रूपमा ६ हजार ४०० मजदुरले रोजगारी पाएका छन्। अप्रत्यक्ष रोजगारी पाउनेको संख्या १२ हजारभन्दा बढी छ। बर्सेनि पर्यटक घट्दै गएपछि धेरै होटलको अवस्था नाजुक छ। गिरीले भने, “एउटा ठूलो होटल बैंकको लिलाम निस्किसकेको छ, अरू धेरै लिलामीको चरणमा छन्।”

सगरमाथा संवादको सचिवालयमा प्रधानमन्त्रीको निरीक्षण : तयारी चुस्त–दुरुस्त बनाउन निर्देशन

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने सगरमाथा संवाद कार्यक्रमलाई चुस्त र दुरुस्त बनाउन निर्देशन दिएका छन् ।

 संवादका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सञ्चालनमा आएको सचिवालयमा आज निरीक्षण र अवलोकनपछि प्रधानमन्त्री ओलीले कार्यक्रम आयोजना गर्नुको मुख्य सन्देशको प्रभावकारी प्रवाहसहित व्यवस्थापनसमेत चुस्त दुरुस्त भएको सन्देश अन्तर्राष्ट्रिय समुदायसमक्ष दिन निर्देशन दिए ।

संवाद कार्यक्रमका लागि प्रधानमन्त्री ओलीको अध्यक्षतामा निर्देशक समिति र परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको अध्यक्षता र वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीको सहअध्यक्षतामा व्यवस्थापन समिति गठन गरिएको छ । यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा सचिवालय गठन गरिएको छ ।

सरकारले संवाद कार्यक्रमका लागि छिमेकी मुलुक भारत, चीनसहित विभिन्न मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुुखसहितलाई विशेष अतिथिका रूपमा आमन्त्रण गरेको छ । सचिवालयका सदस्य सचिव डा महेश्वर ढकालले कार्यक्रमको हालसम्मको तयारीबारे छिट्टै पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गर्ने जानकारी दिए ।

यही माघ ८ गते अन्तर्राष्ट्रिय हिमनदी वर्ष, २०२५ का अवसरमा प्रधानमन्त्री ओलीले सो संवाद कार्यक्रम काठमाडौंमा गर्ने घोषणा गरेका थिए । सरकारले पहिलो पटक जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर हरेक दुई वर्षमा यस प्रकारको विश्व संवाद आयोजना गर्न लागेको हो ।

मुग्लिन–पोखरा सडक स्तरोन्नतिः ७३ किलोमिटर कालोपत्र

दमौली । मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पूर्वी खण्डमा हालसम्म ७३ दशमलव ११ किलोमिटर कालोपत्र सकिएको छ। तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा हालसम्म चार लेन र दुई लेन गरी ७३ दशमलव ११ किलोमिटर दूरीमा कालोपत्र भएको हो।

पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार यो खण्डमा चार लेनतर्फ ३४ दशमलव ९८ र दुई लेनतर्फ ३ दशमलव १५ किलोमिटर दूरीमा कालोपत्र सकिएको छ। पाण्डेले भने, ‘हालसम्म कालोपत्र भएको खण्डलाई दुई लेनमा हिसाब गर्दा ७३ दशमलव ११ किलोमिटर दूरी कालोपत्र भएको छ।’

गत फागुन १६ गतेसम्म यस खण्डको भौतिक प्रगति ७८ दशमलव ९५ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ५९ दशमलव २५ प्रतिशत छ। पाण्डेका अनुसार यस खण्डमा चार लेनतर्फ २० दशमलव १६ किलोमिटर दूरीमा अन्तिम कालोपत्रसमेत भइसकेको छ भने दुई लेनतर्फ १२ दशमलव ३२ किलोमिटर खण्डमा अन्तिम कालोपत्र सकिएको छ।

पूर्वी खण्डअन्तर्गत यतिबेला सदरमुकाम दमौली बजारमा समेत कालोपत्र सुरु भएको छ। दमौलीस्थित व्यास नगरपालिका–२ बागबजारमा एकतर्फी कालोपत्र सकेर अर्कोतर्फ कालोपत्रका लागि सडक सम्याउने काम भइरहेको छ। पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ।

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो। पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ।

विद्युत् नियमन आयोगका सदस्यद्वारा शपथ

काठमाडौँ । विद्युत् नियमन आयोगकी सदस्य भागिरथी भट्टराई ज्ञवालीले शपथग्रहण गरेकी छन् । यही फागुन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको सदस्यमा नियुक्त भट्टराईले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको उपस्थितिमा शुक्रबार मन्त्रालयमा शपथग्रहण गरेकी हुन् । उनलाई विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धितालले शपथग्रहण गराएका थिए ।

यसअघि २०७६ सालदेखि २०८१ वैशाखसम्म सोही आयोगको सदस्य पदमा कार्यरत भट्टराईले दोस्रो कार्यकालका लागि शपथग्रहण गरेकी हुन् । आयोग स्थापनाकालमा सदस्य रहेकी उनले सोही समयमा विद्युत उपभोक्ता हक, हित र संरक्षण समितिको संयोजकका रुपमा काम गरेकी थिइन् ।

उनी २०६९ सालदेखि २०७३ सम्म खानेपानी महसुल निर्धारण आयोगको सदस्य भएकी थिइन् । उनी यसअघि ग्लोबल आइएमई बैङ्कको स्वतन्त्र सञ्चालक थिइन् ।

शपथग्रहण समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ढिलै भए पनि नियमन आयोगले पूर्णता पाएको उल्लेख गर्दै उत्पादन बढ्दै जाँदा नियमनकारी निकायको जिम्मेवारी पनि बढ्दै गएको बताए ।

“सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ, उक्त लक्ष्यलाई पूरा गर्न नियमनकारी निकायको जिम्मेवारी अझ बढी छ,” उनले भने । मन्त्री खड्काले प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई ल्याउँदै गर्दा कति शुल्कमा दिने भन्नेबारे आयोगले चाँडो टुङ्ग्याउनुपर्ने बताए ।

महिला टी–२० क्रिकेटमा नेपालद्वारा हङकङ पराजित

काठमाडौँ । युगान्डामा जारी महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ ।

युगान्डाको इन्टेबे क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा ‘टस’ जितेर पहिला ‘ब्याटिङ’ गरेको हङ्कङले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०४ रन बनायो । नेपालले १०५ रनको विजयी लक्ष्य १९ दशमलव ३ ओभरमा चार विकटको क्षतिमा पूरा गर्यो । नेपालका लागि सम्झना खड्काले ४७ रन बनाइन् ।

उनले ४३ बल खेल्ने क्रममा तीन चौका हानिन् । यस्तै पूजा महतोले अविजित २० तथा कप्तान इन्दु बर्माले १८ रन बनाइन् ।

बलिङतर्फ हङकङकी मेहकदीप कौर र लिया वाङ कीले एक एक विकेट लिइन् । यसअघि हङ्कङ्का लागि १०४ रन बनाउने क्रममा शान्जिन शहजदले सर्वाधिक ५४ रन बनाइन् । उनले ४७ बलमा पाँच चौका र एक छक्का प्रहार गरिन् । त्यसैगरी, करी चानले १६ तथा यास्मिन दासवानीले १४ रन जोडिन् ।

बलिङतर्फ नेपालकी राजमती ऐरीले तीन, कप्तान इन्दु बर्माले दुई तथा पूजा महतो र ईश्वरी विष्टले एक एक विकेट लिइन् ।

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले यही चैत ४ गते सचिवालय बैठक बोलाइएको जानकारी दिए ।

अधिकारीका अनुसार बैठकमा पार्टीको सङ्गठनात्मक गतिविधि, समसामयिक राजनीतिक विषयवस्तुलगायत विषयमा छलफल हुनेछ । बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्नेछ ।

महामूर्खको उपाधि मधेसका मुख्यमन्त्री सिंहलाई दिइने

धनुषा ।  यस वर्षको महामूर्ख उपाधि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिने भएको छ।

होली पर्वका अवसरमा मिथिला नाट्यकला परिषद् (मिनाप)ले आयोजना गर्दै आएको प्रमुख सांस्कृतिक कार्यक्रम ‘महामूर्ख सम्मेलन’को दोस्रो दिन शुधक्रबार जनकपुरधाममा उक्त घोषणा गरिएको हो।

रङको र खुसीको पर्व होलीका अवसरमा जनकपुरधामस्थित मिनापले हरेक वर्ष यो सम्मेलन आयोजना गर्दै आएको छ। कार्यक्रममा हास्यव्यङ्ग्य र सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिँदै आएको छ।

उक्त कार्यक्रमको माध्यमबाट मिनापले मिथिलाको कला र संस्कृतिको संरक्षणमा योगदान पुर्‍याउँदै आएको मिनापका पूर्वअध्यक्ष सुनिल मल्लिकले बताए। उनकाअनुसार होली पर्वको पौराणिक गाथा, ख्यालठट्टा र मैथिली भाषामा गाइने जोगिरा गीतको संरक्षण गर्न यो कार्यक्रम आयोजना गरिन्छ।

उनले भने, “मिथिलाञ्चलमा जोगिरा गीत सुनिन लगभग बन्द भएको छ र भोजपुरी गीतको प्रभुत्व बढिरहेको बेला मिनापले पुरानो संस्कृतिलाई बचाउन होली महोत्सव र महामूर्ख सम्मेलन आयोजना गर्दै आएको छ।”

‘महामूर्ख’ उपाधि २०६१ सालदेखि दिन थालिएको हो । विसं २०६१ मा मैथिली कवि नरेश ठाकुर, २०६२ सालमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता शीतल झा, २०६३ सालमा जनकपुर नगरपालिकाका प्रमुख हरिबहादुर बिसी तथा २०६४ सालमा सद्भावना पार्टीका नेता ओमकुमार झालाई महामूर्ख उपाधि दिइएको थियो।

त्यसैगरी, २०६५ सालमा साहित्यकार डा राजेन्द्र विमल, २०६६ सालमा पूर्वमन्त्री रामचन्द्र झा, २०६७ सालमा राजनीतिक विश्लेषक सिके लाल, २०६८ सालमा साहित्यकार रामभरोष कापडी भ्रमर, २०६९ सालमा नेपाली कांग्रेसका नेता रामसरोज यादव तथा २०७० सालमा तमलोपाका नेता डा विजयकुमार सिंहलाई महामूर्ख उपाधि दिइएको थियो।

मोरङमा हात्तीको आक्रमणबाट १३ वर्षमा १६ जनाको मृत्यु

बेलबारी । लेटाङ नगरपालिका–९ जाँतेस्थित जङ्गली हात्तीको आक्रमणबाट गत फागुन २५ गते एक जनाको मृत्यु भयो । ४३ वर्षीय मनबहादुर इवाहाङ लिम्बूको घर नजिकै कोपिला सामुदायिक वनमा हात्तीले आक्रमण गर्दा घटनास्थलमै उहाँको निधन भएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

बेलबारी–११ स्थित लक्ष्मी सामुदायिक वन क्षेत्रमा दाउरा लिन गएकी स्थानीय लक्ष्मी बोगटी गत फागुन २४ गते जङ्गली हात्तीको आक्रमणबाट घाइते भइन् । भागेर ज्यान जोगाउन सफल भएकी बोगटीको हात भाँचिएको छ भने शरीरमा चोटपटक लागेको लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतमले बताए ।

डिभिजन वन कार्यालय मोरङको तथ्याङ्कअनुसार २०६८ सालयता हात्तीको आक्रमणबाट १६ जनाको मृत्यु भइसकेको छ । यस अवधिमा नौ वटा हात्तीको मृत्यु भएको कार्यालयका वन अधिकृत घनश्याम यादवले जानकारी दिए ।

जसमध्ये चार वटा हात्ती प्राकृतिक कारणले, तस्करी चोरी सिकारीबाट दुई वटा, गोली हानेर एउटा वटा, बेवारिसे एउटा र करेन्ट लागेर एउटा हात्तीको मृत्यु भएको कार्यालयले जनाएको छ ।

गत वर्षदेखि मोरङको पूर्वपश्चिम राजमार्ग क्षेत्रमा जङ्गली हात्तीको बिज्याइँ बढेको लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतम बताउँछन् ।

‘हरेक राति जङ्गली हात्ती बस्तीमा छिरेर त्रसित बनाइरहेको, बालीनाली खाइदिएर कृषकलाई हैरान पारेको छ’, बेलबारी–४ काकुमका हरिप्रसाद मिश्र बताउँछन् ।

दिउँसो जङ्गलमा रहने हात्तीका हुल साँझ परेसँगै आहाराको खोजीमा बस्ती पस्ने गरेको मिश्रले बताए । हात्तीले घर भत्काइदिने, बाली खाइदिने र आक्रमण गर्ने डरले सर्वसाधारण रातभर जागा बस्नुपर्ने बाध्यता रहेको उनले बताए।

जङ्गली हात्ती मानव बस्तीमा पस्न थालेपछि प्रदेश वन विकास तथा व्यवस्थापन कार्यक्रमअनुसार ‘एक सामुदायिक वन एक संरक्षण पोखरी’अन्तर्गत वन क्षेत्रमा पोखरी खन्न थालिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

मानव र वन्यजन्तुबीचको द्वन्द्व कम गर्नका लागि वन क्षेत्रमा करिब १५७ दशमलव ८ हेक्टर क्षेत्रमा खानयोग्य फलजन्य प्रजातिका बिरुवा रोपिएको डिभिजन वन कार्यालयले जनाएको छ । फलजन्य प्रजातिमा बेल, अमला, कटहर, बडहर, किम्बु, हर्रोबर्रो, सरिफा, अम्बालगायत बिरुवा रोपिएको कार्यालयले जनाएको छ ।

डब्लुएफपीले म्यान्मामा खाद्य सहायता कटौती गर्ने

याङ्गुन । महत्वपूर्ण कोषको कमीको कारणले म्यान्माका १० लाख भन्दा बढी मानिस अप्रिलदेखि खाद्य सहायताबाट वञ्चित हुने विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले शुक्रबार जनाएको छ।

संयुक्त राज्यले सन् २०२४ सम्म डब्लुएफपीलाई नौ अर्ब ७० करोड कोषमध्ये चार अर्ब चालिस करोड प्रदान गरेको थियो। हाल वाशिङ्गटनको अन्तर्राष्ट्रिय सहायता कोषले उक्त प्रदान गरिने रकम कटौती गरिने जनाएको छ।

सन् २०२१ को सैन्य विद्रोहपछि म्यान्मा गृहयुद्धको चपेटामा परेको छ। डब्लुएफपीले पाँच करोड १० लाख जनसङ्ख्या भएको यस देशका एक करोड ५० लाखभन्दा बढी मानिसले आफ्नो दैनिक खाद्य आवश्यकता पूरा गर्न नसक्ने बताएको छ।

“कोषको गम्भीर अभावका कारण अप्रिलदेखि सुरु हुने गरी म्यान्माका दस लाखभन्दा बढी मानिस डब्लुएफपीको जीवनरक्षक खाद्य सहायताबाट वञ्चित हुने्,” डब्लुएफपीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

डब्लुएफपीले भनेको छ,“यी कटौतीहरू बढ्दो द्वन्द्व, विस्थापन र पहुँच प्रतिबन्धहरूले पहिले नै खाद्य सहायताको आवश्यकतालाई तीव्र रूपमा बढाइरहेको बेलामा आएका छन्।”

आणविक वार्ताका लागि इरानी र रुसी कुटनीतिज्ञ चीनमा

बेइजिङ । चीनले इरानसँगको आणविक कार्यक्रमबारे लामो समयदेखि रोकिएको वार्ता पुनः सुरु गर्नका लागि शुक्रबार रुसी र इरानी कूटनीतिज्ञलाई लागि स्वागत गरेको छ ।

रुसी र इरानी कूटनीतिज्ञको बेइजिङ आगमनसँगै इरानसँगको आणविक कार्यक्रमबारे लामो समयदेखि रोकिएको वार्ता पुनः सुरु हुने बेइजिङले शुक्रबार जनाएको छ ।

सन् २०१५ मा तेहरानको आणविक विकासमा प्रतिबन्ध लगाउने ऐतिहासिक सम्झौताबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा अमेरिका पछि हटेको थियो ।

गत जनवरीमा ह्वाइट हाउस फर्केपछि रिपब्लिकन राष्ट्रपति ट्रम्पले इरानसँग नयाँ आणविक सम्झौताका लागि आह्वान गर्नुभएको छ तर तेहरानले भने जबसम्म दण्डात्मक प्रतिबन्ध जारी रहन्छ तबसम्म त्यस्तो कुनै सम्झौता सम्भव नभएको बताएको छ ।

गत महिना संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकायले इरानले आफ्नो अत्यधिक सम्बर्द्धित युरेनियमको भण्डारमा उल्लेखनीय वृद्धि गरेको बताएपछि यो सम्झौतालाई थप महत्त्व दिइएको थियो ।

बेइजिङले शुक्रबारको वार्ताले ‘सञ्चार र समन्वयलाई मजबुत बनाउने, पुनः चाँडोभन्दा चाँडो वार्ता र संवाद सुरु गर्ने’ आशा व्यक्त गरेको छ ।

चिनियाँ सरकारी प्रसारक सिसी टिभीमार्फत सार्वजनिक विज्ञप्तिमा भनिएको छ, “तीनै जना कूटनीतिज्ञबिच इरानको आणविक मुद्दा र साझा चासोका अन्य विषयमा विचार आदानप्रदान भएको छ ।

चीनका उपविदेशमन्त्री मा झाओसु, रुसी उपविदेशमन्त्री सर्गेई र्‍याबकोभ र इरानी उपविदेशमन्त्री काजेम गारिबाबादीको उपस्थितिमा भएको उक्त छलफलबारे सरकारी सञ्चारमाध्यमले विस्तृत जानकारी दिएका छैनन् ।

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा इरानमाथि लगाइएको प्रतिबन्धको ‘अधिकतम दबाब’ को नीतिलाई पुनः अवलम्बन गरे ।

यसै साता उनले तेहरानलाई पत्र पठाएर आणविक वार्ताका लागि आग्रह गरेका थिए भने इरानले प्रस्ताव अस्वीकार गरे सैन्य कारबाही हुनसक्ने चेतावनी दिएका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीलाई सम्बोधन गरी लेखेको उक्त पत्रको अहिले पुनरावलोकन भइरहेको तेहरानले जनाएको छ ।

‘अन्ततः अमेरिकाले प्रतिबन्ध हटाउनुपर्छ,’ इरानी विदेशमन्त्री अब्बास अराघचीले एक इरानी राष्ट्रिय पत्रिकामा बिहीबार प्रकाशित अन्तर्वार्तामा भने ।

‘जब हामी समान स्तरमा, दबाब र धम्कीबाट मुक्त हुन्छौं, तब हामी प्रत्यक्ष वार्तामा प्रवेश गर्नेछौं र जनताको राष्ट्रिय हितको प्रत्याभूति हुनेछ भन्नेकुरामा विश्वस्त छौँ ।’

वासिङ्टनले बिहीबार इरानी पेट्रोलियम मन्त्री मोहसेन पाकनेजादमाथि प्रतिबन्ध लगाएर आफ्नो दबाब अभियानलाई तीव्र बनाएको थियो ।

अमेरिकी अर्थ मन्त्रालयले इरानी तेल व्यापारलाई चीनमा ओसारपसार गर्ने जहाजका मालिक वा सञ्चालकलाई पनि कालोसूचीमा राखेको छ ।

गत फेब्रुअरीमा संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) को एक प्रतिवेदनअनुसार इरानले आफ्नो अत्यधिक संवर्द्धित युरेनियमको भण्डार ६० प्रतिशत शुद्धतामा वृद्धि गरेको छ ।

इरानका सर्वोच्च नेता खामेनीले यसै साता आफ्नो देशसँग ‘आणविक हतियार नभएको’ र त्यसको खोजी नभएको बताएका थिए  । तेहरानले यसअघि पनि आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि भएको बताउँदै आएको छ ।

भारतीय अन्तरिक्ष मिशन :स्पाडेक्स उपग्रहको सफलतापूर्वक ‘अनडकिङ’ पूरा

नयाँदिल्ली ।  भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले ‘स्पेस डकिङ’ (स्पाडेक्स) मिशनअन्तर्गत दुईवटा उपग्रहहरूको ‘अनडकिङ’ पूरा गरेको जनाएको छ ।

स्पेस डकिङ भनेको दुई अन्तरिक्षयान अन्तरिक्षमा एकसाथ जोडिनु हो । डकिङ स्वचालित वा कम्प्युटरद्वारा नियन्त्रित हुन सक्छ ।

इसरोले स्थानीय समय अनुसार बिहान ९ः२० बजे पहिलो प्रयासमा स्पाडेक्स उपग्रहहरू अनडक गर्ने महत्त्वपूर्ण कार्य पूरा गर्यो ।

अन्तरिक्ष एजेन्सीले उपग्रहहरूको अनडकिङ ४५ डिग्रीको झुकावमा ४६० किलोमिटरको गोलाकार कक्षमा भएको एक विज्ञप्तिमा उल्लेख गरेको छ । साथै, एजेन्सीले उपग्रहहरू अहिले स्वतन्त्र रूपमा परिक्रमा गरिरहेको र उनीहरूको अवस्था सामान्य रहेको जनाएको छ । स्प्याडेक्स जनवरी १६, सन् २०२५ मा डक गरिएका थिए ।

एक वरिष्ठ अधिकारीका अनुसार पछिल्लो अन्तरिक्ष विकासले भारतीय अन्तरिक्ष स्टेशन, चन्द्रमा अभियान र आकाश यान लगायत भविष्यका अभियानहरूको सहज सञ्चालनको लागि मार्ग प्रशस्त गर्नेछ ।

इसरोले डिसेम्बर ३०, सन् २०२४ मा दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशमा अवस्थित बङ्गालको खाडीको तटमा रहेको श्रीहरिकोटाको प्रक्षेपण प्याडबाट दुई उपग्रहहरू–एसडीएक्स०१ र एसडीएक्स०२ सहित ध्रुवीय उपग्रह प्रक्षेपण यान (पीउस्एलभी–सी६०) प्रयोग गरेर स्पाडेक्स मिसन प्रक्षेपण गरेको थियो ।

‘डक गरिएका उपग्रहहरूको इन–अर्बिट कार्यसम्पादनको व्यापक विश्लेषण गरिएको थियो । सम्पूर्ण सञ्चालनलाई ग्राउन्ड स्टेशनहरू मार्फत निगरानी गरिएको,’ इसरोले जनाएको छ ।

‘अनडकिङको यो प्रमुख कोशेढुङ्गा हासिल गरेपछि, आगामी दिनहरूमा उपग्रहहरूसँग थप प्रयोगहरूको योजना बनाइएको छ,’ एजेन्सीले विज्ञप्तिमा उल्लेख गरेको छ ।

योजना बनाउँदा गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धिगरी गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई निर्देशन दिएका छन् ।

आयोगको कार्यसम्पादन र भावी कार्यदिशाका विषयमा शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपाध्यक्षसहित पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री ओलीले पूर्वाधार विकासका काम लगभग पूरा हुने चरणमा रहेकाले अब सीप विकास, उद्यमशीलता, रोजगारीका अवसर सृजना, कृषि क्षेत्रका ठूला उत्पादन र लगानी वृद्धि गर्न आग्रह गरेका हुन् ।

‘हामीले जनतालाई सबल बनाउने बाटो लिनुपर्छ । सहयोग गरेर मात्रै हुँदैन । उत्पादन र आत्मनिर्भरता बढाउने बाटोमा जानुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘जनतालाई कर्मशील बनाउन प्रेरित गर्नुपर्छ । गरिबी घटाउने कामलाई पहिचान गरी मौलिक हकको उपयोग गर्न पाउने आधार तय गर्नुपर्छ । मन्त्रालयहरुलाई उत्पादन र उत्पादकत्व बढाउने ठोस योजना ल्याउन हामीले भन्नुपर्छ । उत्पादकत्व बढेपछि अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न थाल्छ ।’

उनले राष्ट्रिय गौरवका आयोजनाको प्रभावकारी अनुगमन–मूल्याङ्कन, उद्यमशीलताको विकास र जनताको सेवा प्रवाह एवं सुशासनमा सकारात्मक प्रभाव पर्ने कार्यमा लाग्न पनि आग्रह गरे ।

सो अवसरमा आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले १६औँ योजनाको कार्यान्वयन, त्यसका चुनौती, राष्ट्रिय आयोजना बैंकको नयाँ मापदण्ड र परिमार्जन, अधुरा योजनमाथिको व्यवस्थित विश्लेषण, परियोजना विश्लेषणको नयाँ मापदण्ड, समपूरक र विशेष अनुदानको कार्यविधिमा संशोधनलगायत विषयमा अवगत गराएका थिए ।

उनले परिमार्जित मापदण्डबारे प्रदेश र स्थानीय तहसँग पनि अन्तरक्रिया गरिएको जनाउँदै वित्तीय सङ्घीयताको प्रभावकारी कार्यान्वयन गर्न स्थानीय तहलाई स्रोतसाधन सम्पन्न बनाउनुपर्नेमा जोड दिए ।

छलफलमा प्रधानमन्त्रीका आर्थिक तथा विकास मामिला सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए ।

एकीकृत समाजवादीद्वारा आन्दोलन घोषणा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर एकीकृत समाजवादीले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा पार्टीका महासचिव तथा केन्द्रीय आन्दोलन संयोजन कमिटीका संयोजक घनश्याम भुसालले भ्रष्टाचार अन्त्य, सुशासन र जनजीवीकाको विषयलाई लिएर आफूहरुले आन्दोलन घोषणा गरेको जानकारी दिए ।

एकीकृत समाजवादीले आर्थिक सामाजिक रूपान्तणमार्फत् देशको अवस्था परिवर्तन गर्न सरकारलाई ज्ञापनपत्र बुझाउने लगायत आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

जसअनुसार चैत २ देखि ६ गतेसम्म मुलुकको विकास र राजनीतिक निकासबारे पार्टीका मातहत कमिटीसँग छलफल गर्ने कार्यक्रम छ । चैत ७ देखि १५ गतेसम्म विभिन्न संगठनसँग छलफल गर्ने, चैत २२ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको भुसालले बताए ।

त्यस्तै वैशाख १५ गतेसम्म पालिका र वडा तहमा सार्वजनिक संवाद तथा सुझाव संकलन, वैशाख १९ देखि २२ सम्म पालिका र वडा कार्यालयहरूमा ज्ञापन पत्र पेस गर्ने कार्यक्रम रहेको भुसालले बताए । वैशाख २५ गते दोस्रो चरणको कार्यक्रम सार्वजनिक गर्ने एकीकृत समाजवादीले जनाएको छ ।

पूर्वविशिष्टलाई आजीवन सुविधा आवश्यक छैनः नेता खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पूर्वविशिष्टलाई आजीवन सुविधा आवश्यक नभएको बताएका छन् ।

पूर्व विशिष्टलाई आजीवन सेवा सुविधा दिने गरी सरकारले कानुन निर्माण गर्ने तयारी गरेको खबर सार्वजनिक भएपछि खतिवडाले शुक्रबार सामाजिक संजालमार्फत यस्तो बताएका हुन् ।

उनले राजनीतिक नेतृत्व भन्दामाथि जनतालाई राखेर काम गर्न सरकारलाई सुझाव दिएका छन् ।

उनले भनेका छन्, ‘पूर्वविशिष्टलाई आजीवन सुविधा ? यो बेमौसमी बाजा बजाई राम्रो हुन्न । सरकार राम्रो काम गर । यस्ता कार्य वन्द गर । राजनीतिक नेतृत्व भन्दा जनतालाई माथि राख । पूर्वविशिष्टलाई आजीवन सुविधा आवश्यक छैन।’

बाँकेमा जिपको ठक्करबाट एक वृद्धको मृत्यु

नेपालगन्ज । पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जिपले पैदल यात्रीलाई बाँकेको कोहलपुरमा ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

जिपको ठक्करबाट शुक्रबार कोहलपुर नगरपालिका–१५ का ६० वर्षीय अटवारी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायव उपरीक्षक दीपक पातलीले जानकारी दिए । सडक छेउमा पैदल यात्रा गरिरहेका थारुलाई प्र २०३ ००१ च ३९९२ नम्बरको जिपले ठक्कर दिएको हो ।

इलाका प्रहरी कार्यालय, सुनवलको टोलीले जिप चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सरकारको आम्दानीभन्दा खर्च बढी, आठ महिनामा २३ प्रतिशत मात्रै विकास खर्च

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार गत फागुन मसान्तसम्ममा सरकारले सात खर्ब ३८ अर्ब ८२ करोड १३ लाख आम्दानी गर्दा आठ खर्ब ३९ अर्ब ३५ करोड ६० लाख खर्च भएको छ । अर्थात दोस्रो चौमासिकसम्ममा सरकारको आम्दानीभन्दा एक खर्ब ५३ करोड ४७ लाख खर्च बढी छ ।

त्यस्तै, यस अवधिमा सरकारको विकास खर्च पनि निकै कमजोर देखिएको छ । महालेखा नियन्त्रकको तथ्याङ्कअनुसार फागुन मसान्तसम्ममा पुँजीगत खर्च वार्षिक विनियोजनको २३ दशमलव ३७ प्रतिशत मात्रै छ ।

सरकारले चालु आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख बजेट विनियोजन भएकोमा हालसम्म ८२ अर्ब ३३ करोड ६० लाख बराबर मात्रै खर्च भएको देखिएको छ ।

सरकारले चालु आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड ३० लाखको बजेट ल्याएको थियो । फागुन मसान्तसम्म वार्षिक विनियोजनको ४५ दशमलव १२ प्रतिशत अर्थात आठ खर्ब ३९ अर्ब ३५ करोड ६० लाख बराबरको खर्च भएको छ ।

चालु शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख विनियोजन भएकोमा ५१ दशमलव २१ प्रतिशत अर्थात पाँच खर्ब ८४ अर्ब १२ करोड ७८ लाख बराबर खर्च भएको छ ।

वित्तीय व्यवस्थापन शीर्षकमा तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख विनियोजन भएकामा ४७ दशमलव ०७ प्रतिशत अर्थात एक खर्ब ७२ अर्ब ८९ करोड २२ लाख बराबर खर्च भएको छ ।

सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख बराबर राजस्व उठाउने लक्ष्य रहेकामा हालसम्म ५० दशमलव दुई प्रतिशत अर्थात सात खर्ब ३८ अर्ब ८२ करोड १३ लाख बराबर असुली भएको छ ।

जसमध्ये, कर राजस्वतर्फ १२ खर्ब ८४ अर्ब २० करोड ९६ लाख विनियोजन भएकोमा ४९ दशमलव ७४ प्रतिशत अर्थात ६ खर्व ३८ अर्ब ७९ करोड ९० लाख सङ्कलन भएको छ ।

त्यस्तै, गैरकर राजस्वतर्फ एक खर्ब ३५ अर्ब नौ करोड ३४ लाख उठाउने लक्ष्य रहेकामा हालसम्म ६० दशमलव ३६ प्रतिशत अर्थात ८१ अर्ब ५४ करोड ७७ लाख असुली भएको छ ।

सरकारको वैदेशिक अनुदान सङ्कलन पनि निकै कमजोर छ । चालु आर्थिक वर्षका लागि ५२ अर्ब ३२ करोड ६५ लाख वैदेशिक अनुदान उठाउने लक्ष्य रहेकोमा हालसम्म वार्षिक लक्ष्यको १७ दशमलव ५१ प्रतिशत अर्थात नौ अर्ब १६ करोड २५ लाख अनुदान लिइएको छ ।

नासाको स्पेसएक्स मिशनः अन्तरिक्षमा रहेका दुई यात्री पृथ्वी फर्कदै

लस एन्जलस । प्राविधिक समस्याका कारण बुधबार प्रक्षेपण प्रयास रद्द भएपछि नासा र स्पेसएक्सले एजेन्सीको क्रू–१० मिसनलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा प्रक्षेपण गर्ने लक्ष्य राखेका छन् ।

यो मिसन पहिले फ्लोरिडाको नासाको केनेडी स्पेस सेन्टरबाट बुधबार पूर्वी समय अनुसार साँझ ७ः४८ बजे स्पेसएक्स फाल्कन ९ रकेटबाट प्रक्षेपण गर्ने तालिका थियो ।

तर नासाका अनुसार फाल्कन ९ रकेटको ग्राउन्ड सपोर्ट क्ल्याम्प आर्ममा हाइड्रोलिक प्रविधिको समस्याका कारण प्रक्षेपण रद्द गरिएको थियो ।

नासाका अनुसार, मिसन प्रबन्धकहरूले बुधबार साँझ भेट गरे र अन्तरिक्ष यानको उडान मार्गमा उच्च हावा र वर्षाको पूर्वानुमानका कारण प्रक्षेपण प्रयास बिहीबार स्थगित गर्ने निर्णय गरे ।

यो मिसनले चार अन्तरिक्ष यात्रीहरूलाई आइएसएसमा लैजानेछ । गत जुनदेखि अन्तरिक्षमा फसेका नासाका अन्तरिक्ष यात्री सुनी विलियम्स र बुच विल्मोर सहित चार क्रू–९ अन्तरिक्ष यात्रीहरूलाई घर ल्याउनेछ ।

म्याग्दीमा आमाहरुको फुटबल प्रतियोगिता

म्याग्दी । खेलकुदका माध्यमबाट महिला सशक्तीकरण गर्ने उद्देश्यले फागुपूर्णिमाका अवसरमा बेनी नगरपालिका- ४ सिङ्गा तातोपानीमा आमाहरुको फुटबल प्रतियोगिता भएको छ ।

जलमाई भगवती आमा समूहले आयोजना गरेको प्रतियोगितामा तातोपानी, पखेर र सिङ्गाका पाँच वटा आमा समूह सहभागी भएकामा जलमाई भगवती आमा समूह ‘ए’ ले मङ्गला गाउँपालिका- ३ को पखेर आमा समूहलाई एकका विरुद्ध चार गोल गरेकोे छ । यो समूहले खेल जितेर रु १५ हजार हात पारेको छ ।

जलमाई भगवती आमा समूहका सचिव मीना जुग्जालीले ‘आमाहरुको मात्र फुटबल प्रतियोगिता जिल्लामै पहिलोपटक तातोपानीमा भएको हो उनले भने,’खेलकुदमार्फत आमाहरुलाई जागरुक र सामाजिक क्षेत्रमा क्रियाशील बनाउन प्रतियोगिता आयोजना गरिएको हो ।’

आमाहरु लुङ्गी, चोलो, कुर्तासुरुवालको पहिरनमा खेलमैदानमा उत्रिएका थिए । प्राकृतिक चिकित्सालयको रुपमा परिचित तातोपानीमा परम्परागत रुपमा लाग्ने फागुपूर्णिमा मेलालाई यसपटक आमा समूहले निरन्तरता दिएका हुन् ।

मेलामा फाइभ ए साइड पुरुष फुटसल, महिला र पुरुष लठो तान्ने, अन्धनिशान, पुरुष तथा महिला छेलो प्रतियोगिता भएको थियो ।

बजेट अभावमा रोकियो गैँडा गणना

चितवन ।  हरेक पाँच वर्षमा हुँदै आएको गैँडा गणना आर्थिक अभावका कारण यो वर्ष नहुने भएको छ । दाताहरूको सहयोगमा गणना हुँदै आएकामा यस वर्ष सहायता नपाएपछि त्यो रोकिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेलले बताए । सरकारले गैँडाको नियमित अभिलेख राख्न बजेटको व्यवस्था गरेको छैन ।

यस वर्ष गणना गर्न नसकिए पनि निकुञ्जका पोष्टमार्फत एक– एक गैँडाको सङ्केतका आधारमा अवस्था पहिचान गरिने उनले बताए । निकुञ्जको सम्पूर्ण जनशक्ति परिचालन गरेर सम्भवभएसम्म गणना गरिने उनले बताए ।

महानिर्देशक कँडेलले भने, “गणनाजस्तै गरी यकिन सङ्ख्या सार्वजनिक नभए पनि सूक्ष्म रूपमा एकएक गैँडाको चिह्नको आधारमा अवस्था पत्ता लाग्छ ।” विभागले निकुञ्जसँग सहकार्य गर्ने विभिन्न दातृ निकायसँग मिलेर गैँडा गणना गर्दै आएको थियो ।

चितवन, पर्सा, बर्दिया र शुक्ला फाँटामा राष्ट्रिय निकुञ्जमा एक सिङ्गे गैँडा पाइन्छन् । गणनाले सबैभन्दा बढी चितवनमा रहेका देखाएको थियो । उक्त गणनाअनुसार त्यसबेला ७५२ गैँडा थिए । चितवन राष्ट्रिय निकुञ्जमा ६९४ एकसिङ्गे गैँडा थिए । बर्दियामा ३८, शुक्लाफाँटामा १८ र पर्सामा तीन वटा त्यस्ता गैँडा रहेका तथ्याङ्क छ ।

नेपालमा सन् १९५० मा ८००, १९५५ मा ४००, १९६० मा ३००, १९६५ मा १००, १९७० मा १०८, १९७५ मा १४७, १९८० मा ३१०, १९८५ मा ३१०, १९९० मा ३५८, १९९५ मा ४६६ गैँडा रहेका विभागले जनाएको छ । यसैगरी सन् २००० मा ६१२, २००५ मा ४०९, २०१० मा ४३५ र सन् २०१५ मा ६४५ गैँडा थिए । यसअघि सन् २०२१ मा गैँडा गणना गरिएको थियो ।

सुनको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलाको चार हजार रुपैयाँले बढेर १ लाख ७४ हजार ५ सय रुपैयाँ पुगेको छ।

बुधबार भने सुन मूल्य १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि बढेर तोलाको २ हजार ५० रुपैयाँ पुगेको छ।

चैत १५ गते राजावादीलाई काउन्टर दिन काठमाडौंमा वृहत् जनसभा गर्ने समाजवादी मोर्चाको निर्णय

काठमाडौं । समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा वृहत जनसभा आयोजना गर्ने भएको छ ।

शुक्रबार बसेको समाजवादी मोर्चाको बैठकले १५ गतेको जनसभालाई वृहत बनाउने निर्णय भएको नेकपाका नेता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।

यस विषयमा संसदवादी दलहरू र बाहिर रहेका दलहरूसँग छलफल गर्ने, समाजवादतिरको यात्रालाई सहज बनाउने वातावरण बनाउन छलफल गर्ने बैठकले निर्णय गरेको उनले बताए ।

यस्तै, एकपछि अर्को गर्दै परिस्थिति गम्भीर बनेको निष्कर्ष निकाल्दै मोर्चाको बैठकले शनिबार बिहान ११ बजेबाट बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्ने निर्णय गरेको छ । त्यस्तै शनिबार दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गर्ने समेत उनले बताए ।

अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानमा आगलागी

न्युयोर्क पोष्ट । बिहीबार राति अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकन एयरलाइन्सको विमानमा अचानक आगो लागेको छ ।

संघीय उड्डयन प्रशासनका अनुसार, कोलोराडो स्प्रिंग्सबाट उडान भरेको केही समयपछि टेक्सास जाने बोइङ ७३७–८०० विमानका चालक दलका सदस्यहरूले इन्जिन कम्पन भएको रिपोर्ट गरेका थिए । त्यसपछि विमान अवतरण गर्न निर्देशन दिइएको थियो । साँझ ५ः१५ बजे विमान डेनभर विमानस्थलमा अवतरण गरेको थियो ।

अवतरणपछि विमानमा आगो लागेको थियो । विमानमा १७२ यात्रु र ६ जना चालक दलका सदस्य थिए । तत्काल आगलागी नियन्त्रणमा लिएकाले मानवीय क्षति नभएको अधिकारीहरुले बताएका छन् ।

युद्धविराका लागि पुटिनले राखे कडा सर्त

बीबीसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविरामको विषयमा आफू सहमत रहेको तर त्यस्तो युद्धविरामको प्रकृतिबारे कडा सर्तहरू अघि सारेका छन् ।

अमेरिकासँग यो साताको सुरुमा ३०–दिने युद्धविरामका निम्ति तयार भएको भनेर युक्रेनले गरेको सहमतिबारे पुटिनले प्रतिक्रिया दिएका हुन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनको प्रतिक्रियालाई ‘कुटिल’ भन्दै रुसविरुद्ध थप आर्थिक प्रतिबन्धको आह्वान गरेका छन् ।

अमेरिकाले रुसको तेल, ग्यास अनि ब्याङ्किङ क्षेत्रमा थप प्रतिबन्ध लगाएको छ । मस्कोमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा पुटिनले युद्धविराम प्रस्तावबारे भने, ‘विषय सही हो, यसलाई हामी समर्थन गर्छौँ। तर छलफल गर्नुपर्ने केही प्रश्नहरू छन्।’

युद्धविरामले ‘दीर्घकालीन शान्ति स्थापना गर्नुपर्ने र सङ्कटको जरोको समाधान हुनुपर्ने’ पुटिनले बताए । ‘हामीले अमेरिकी तथा साझेदारहरूसँग कुराकानी गर्न आवश्यक छ,’ उनले भने। ‘सायद डोनल्ड ट्रम्पसँग मेरो कुराकानी होला। तीसदिने युद्धविराम हासिल भए युक्रेनीहरूलाई राम्रो हुने छ । हामी त्यसको पक्षमा छौँ तर यसलाई सूक्ष्म ढङ्गले परीक्षण गर्नुपर्छ।’

पुटिनका अनुसार विवादको एउटा विषय रुसको कुस्र्क क्षेत्र हो। त्यहाँ युक्रेनले गतवर्ष आक्रमण गरेर केही भूभाग कब्जामा लिएको थियो ।

पुटिनका अनुसार कुस्र्क अहिले पूर्णरूपमा रुसको नियन्त्रणमा आइसकेको छ र त्यहाँ युक्रेनी फौजलाई तितरबितर’ पारिएको छ ।

युद्धविरामको प्रस्तावप्रति आफ्ना प्रश्नहरू रहेका भन्दै पुटिनले सोधे, ‘ती ३० दिन कसरी उपयोग गरिन्छ ? के युक्रेनका निम्ति पुनः परिचालनको मौका दिएर ? पुनः सशस्त्रीकरण गरेर? मानिसहरूलाई प्रशिक्षित गरेर ? वा ती केही पनि हुँदैनन् ? अनि अर्को प्रश्न–तिनको नियन्त्रण कसरी हुन्छ ?’

रुसी नेताले यति धेरै पूर्वसर्त राखेका छन् कि ‘केही पनि अगाडि नबढ्ने’ जेलेन्स्कीले बताए।

पूर्व विशिष्टलाई आजीवना सेवा सुविधा दिने होइन, भएको पनि घटाउनुपर्छः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले पूर्व विशिष्टलाई आजीवना सेवा सुविधा दिने कानुन बनाउन लागेको भन्दै आपत्ति जनाएका छन् ।

पूर्व विशिष्टलाई सेवा सुविधा दिने सरकारको तयारीप्रति कोइरालाले शुक्रबार सामाजिक संजालमार्फत आपत्ति जनाएका हुन् ।

उनले सरकारको तयारी विनास काले विपरीत बुद्धि भएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘विनास काले विपरित बुद्धिः सरकार कुशासनको दुश्चक्रमा परेको भन्दै नागरिकको बढ्दो आक्रोश, सत्तारुढ पार्टी भित्र नै सरकारको कामको तीव्र विरोध र गलत तत्वहरुले सडक तताइरहेको संवेदनशील अवस्थामा अर्को दुस्कर्मको प्रयासः पूर्व विशिष्टलाई आजिवन सुबिधा । यस्ता कामले व्यवस्था र पार्टीको हित गर्दैन । सरकार, यस्ता काम अघि नबढाउ बरु दिइएको सुविधा पनि घटाऊ ।’

सरकारले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, पूर्वसभामुख र राष्ट्रिय सभाका पूर्वअध्यक्षलाई आजीवन मासिक भत्ता, घर भाडा/घर मर्मत खर्च, सवारीसाधन, सचिवालयमा कर्मचारी र सहयोगी राख्नेसहितका आजीवन सुविधा दिने गरी कानुनको मस्यौदा बनाउँदैछ ।

पूर्वपदाधिकारीको सुविधासम्बन्धी विधेयक तर्जुमाका लागि गृहमन्त्री रमेश लेखकले मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए । मन्त्रिपरिषद्ले सहमति दिएपछि पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, पूर्वप्रधानन्याधीश, पूर्वसभामुख र राष्ट्रिय सभाका पूर्वअध्यक्षलाई आजीवन सुविधा दिने गरी विधेयकको मस्यौदा बनाउन गृह मन्त्रालय जुटेको हो ।

लागूऔषध मुद्दामा पाल्हीनन्दन गाउँपालिका अध्यक्ष गुप्तालाई एक वर्ष कैद र दुई लाख जरिवानाको फैसला

नवलपरासी । लागूऔषध मुद्दामा नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्तालाई एक वर्ष कैद सजाय तोकिएको छ ।

बिहीबार जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले गुप्तालाई एक वर्ष कैद र २ लाख रुपैयाँ जरिवाना तोकेको अदालतका सूचना अधिकारी भेषराज खनालले जानकारी दिए । यसअघि २१ फागुनमा अदालतले गुप्तासहित दुईजनालाई दोषी ठहर गरेको थियो ।

गुप्तासँगै लागुऔषध मुद्दामा कसुरदार ठहर भएका रघुनाथ प्रसाद धोबीलाई दुई वर्ष कैद र चार लाख रुपैयाँ जरिवानाको फैसला भएको छ ।

प्रहरीले २०७९ असोजमा ९०/९० थान डाइजेपाम, नुर्फिन र फेनार्गन लागुऔषध कारोबारमा संलग्न भएको अभियोगमा उनीहरूविरुद्ध मुद्दा चलाएको थियो । गुप्ताले २०७९ वैशामा भएको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका थिए ।

सङ्घीयतासहितको गणतन्त्रको विकल्प छैनः मन्त्री खड्का

संखुवासभा ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्घीयतासहितको गणतन्त्रको विकल्पमा अरु कुनै शासन व्यवस्था नरहेको बताएका छन्।

चैनपुर नगरपालिका–११ लोहाकोटमा निर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दै बिहीबार उनले सङ्घीयताले देशको सुन्दर पक्ष उजागर गरेको बताए।

उनले संसद्का दुई ठूला राजनीतिक दल मिलेर वर्तमान सरकार बनेकाले यो सरकारलाई अल्मलिएर बस्ने छुट नभएको स्पष्ट पारे। मुलुकको राजनीतिक स्थायित्वका लागि सरकार गठन भएको उनको भनाइ थियो।

‘मुलुकमा राजनीतिक परिवर्तन ल्यायौं, अब आर्थिक परिवर्तन गरेर समृद्ध नेपाल निर्माणमा अगाडि बढ्नुछ,’ उनले भने। मन्त्री खड्काले सङ्खुवासभा अथाह सम्भावना बोकेको जिल्ला भएकाले यहाँका स्रोत साधनको उचित प्रयोग गरेर समृद्ध जिल्ला निर्माणमा लाग्नुपर्ने बताए।

उनले जनताको जलविद्युत कार्यक्रममार्फत गरिबीको रेखा मुनिका जनतालाई स्रोतमाथिको अधिकार सुनिश्चित गर्न प्रत्येक घरधुरीलाई आयोजनाको क्षमता हेरेर दुई लाखदेखि पाँच लाखसम्म विना धितो जलविद्युतको शेयरका लागि सहुलियत दरमा ऋणको व्यवस्था गरिने बताए।

स्वास्थ्य क्षेत्र सुधार अभियान निरन्तर रहने

धनुषा। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो स्वास्थ्य क्षेत्र सुधार अभियान निरन्तर रहने बताएका छन्।

बिहीबार जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयको भवन शिलान्यास गर्दै उनले तत्काललाई आफ्नो ध्यान एसइईलाई मर्यादित बनाउनमा केन्द्रित भएको बताए। तर स्वास्थ्य क्षेत्र सुधार अभियान नरोकिने उनको भनाइ थियो।

सो अवसरमा मुख्यमन्त्री सिंहले यातायात जस्तो व्यस्त सेवा प्रदायक कार्यालयको आफ्नै भवन नभएको अवस्थामा यो सुखद् सन्दर्भ रहेको बताए। उनले यातायात कार्यालयका गलत गतिविधि बन्द गरी सेवाग्राहीलाई सेवा प्रवाह गर्न कर्मचारीहरुलाई निर्देशन दिए।

त्यसैगरी मधेश प्रदेशकै श्रम तथा यातायातमन्त्री कौशल किशोर रायले यातायात क्षेत्रका बिचौलिया गतिविधि र दुरुपयोग रोक्न ‘अटोमेटिक ट्रयाल सेन्टर’सहितको कार्यालय भवन बन्न लागेको जानकारी दिए।

कार्यालयको भवनका लागि सीताकुण्डका महन्त राम नरेश दासले एक बिघा जग्गा दान गरेका छन्। मुख्यमन्त्री सिंह, श्रम तथा यातायातमन्त्री राय, यातायात कार्यालय प्रमुख धनञ्जयकुमार सिंहले संयुक्त रुपमा हिन्दु विधिअनुसार भवन निर्माणस्थलको पूजन गरेका थिए।

प्रधानमन्त्री कप क्रिकेटमा एपीएफ दुई विकेटले विजयी

घोराही । दाङको लमहीस्थित देउखुरी अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टीम एपिएफ क्लबले मधेश प्रदेश विरुद्ध दुई विकेटले जित निकालेको छ ।

बिहीबार भएको खेलमा कमलसिंह ऐरीको अलराउण्डर प्रदर्शनमा एपिएफले मधेश प्रदेशलाई पराजित गरेको हो । मधेश प्रदेशले दिएको १६९ रनको लक्ष्य एपिएफले ३६ दशमलव ५ ओभरमा ८ विकेटको क्षतिमा पुरा गर्यो । ऐरीले ३ छक्काको सहयोगमा अविजित २८ रन बनाए । सामान्य लक्ष्य पछ्याउने क्रममा सुमित महर्जन ३५ रनमा पेभेलियन फर्किए पछि केही दबाबमा परेको एपिएफलाई कमलसिंह ऐरीले उत्कृष्ट खेल्दै जित दिलाए ।

मधेश प्रदेशका कमल गुप्ताले १० ओभरमा १ मेडनसहित ४० रन खर्चेर ४ विकेट लिए । प्रदीप पासवानले १ मेडनसहित २८ रन दिएर २ विकेट लिए । रुपेश सिंह र हरिशंकर शाहले १–१ विकेट लिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित ५० ओभरको खेलमा ४० दशमलव ४ आभेरमा सबै विकेट गुमाउँदै १६८ रन बनाएको थियो । मधेशका कप्तान अनिलकुमार साह र मयन यादवले ३१ रन बनाएर खेलिरहेको बेला भुवन कार्कीको बलिङमा यादव बोल्ड आउट भएपछि मधेशको विकेट पतन सुरु भएको थियो ।

नेपाल क्रिकेट सङ्घ क्यानको आयोजना, प्रदेश क्रिकेट सङ्घको समन्वय तथा दाङ क्रिकेट सङ्घको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीयसहित सात प्रदेशका टीम सहभागी छन् ।

दाङसहित रुपन्देहीको सिद्धार्थ क्रिकेट रङ्गशाला र एक्स्ट्राटेक ओभल मैदानमा एकैसाथ सुरु भएको प्रतियोगिताका खेलहरु राउण्ड रोविनका आधारमा भइरहेका छन् । आगामी चैत १६ गतेसम्म चल्ने प्रतियोगिता अन्तर्गत दाङमा १४ वटा खेल हुने तालिका छ ।

युक्रेन युद्धविरामको सम्भावनाप्रति आशावादी ट्रम्प

वासिङ्टन । किएभ र मस्कोले बिहीबार बिहानै ताजा हवाई आक्रमणहरू सुरु गरे पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी वार्ताकारहरूले युक्रेन युद्धमा युद्धविराम सुरक्षित गर्न सक्ने आशा व्यक्त गरेका छन्।

संयुक्त राज्य अमेरिकाले रुसलाई बिना कुनै शर्त शत्रुतालाई रोक्न सहमत होस् भन्ने चाहेको अधिकारीहरूले बुधबार बताएका छन्।

क्रेमलिनले यस साता सहमत भएको अमेरिकी–युक्रेनी प्रस्तावको विवरणको प्रतीक्षा गरिरहेको बताएको छ र विगत तीन वर्षमा दशौँ हजारलाई मृत्युको मुखमा पुर्‍याएको लडाइँ रोक्ने आफ्नो तत्परताको कुनै सङ्केत दिएको छैन।

राष्ट्रपति भ्लादिमिर पुटिनले गत वर्षको आक्रमणमा रूसी क्षेत्र कब्जा गर्न लडिरहेका युक्रेनी सेनाहरूविरुद्ध लाभ हासिल गरेका रूसी सेनाहरूको भ्रमण गरेका थिए।

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आफ्नो देश सम्झौता गर्न तयार रहेको बताए। पुटिनले सम्झौता गर्न अस्वीकार गरेमा अमेरिकाले ‘कडा’ प्रतिक्रिया दिने सङ्केत दिएको छ।

‘हामी अहिले बोलिरहेकै बेला मानिसहरू रुस गइरहेका छन् र आशा छ कि हामी रुसबाट युद्धविराम प्राप्त गर्न सक्छौँ,’ ट्रम्पले आयरल्यान्डका प्रधानमन्त्री माइकल मार्टिनसँगको ओभल अफिस बैठकका क्रममा पत्रकारहरूलाई भने।

ह्वाइट हाउसले गाजा र युक्रेन युद्धका मध्यस्थकर्ता ट्रम्पका दूत स्टिभ विटकोफ यस हप्ता मस्कोमा हुने बताएको छ।

बुधबार ट्रम्पले पुटिनसँग कुरा गर्ने कि नगर्ने उल्लेख गरेनन् तर मस्कोबाट ‘सकारात्मक सन्देश’ आएको भन्दै भने, ‘मलाई आशा छ कि उहाँले युद्धविराम गर्नुहुनेछ।’ 

पाकिस्तानमा रेल बन्धकबाट कम्तीमा २५ जनाको शव बरामद

पाकिस्तान । अधिकारीहरूले बिहीबार पहिलो अन्त्येष्टिअघि पाकिस्तानमा पृथकतावादी बन्दुकधारीहरूद्वारा रेल घेराबन्दीमा मारिएका २१ बन्धकसहित कम्तीमा २५ जनाको शव बरामद गरिएको बताएका छन् ।

सुरक्षा बलका अनुसार बुधबार राति समाप्त भएको दुई दिने उद्धार अभियानमा तीन सय ४० भन्दा बढी रेल यात्रुलाई मुक्त गरिएको थियो ।

पृथकतावादी समूहले दक्षिणपश्चिमी बलुचिस्तानको पहाडी क्षेत्रमा दुर्गम रेलमार्गमा बम विस्फोट गरेर करिब चार सय ५० यात्रु बोकेको रेलमा आक्रमण गरेको थियो ।

अफगानिस्तान र इरानसँगको सीमा नजिकै बलुचिस्तानमा बाहिरी मानिसहरूले प्राकृतिक स्रोतहरू लुटेको आरोप लगाउने धेरै पृथकतावादी समूहमध्ये एक बलुच लिबरेसन आर्मी (बिएलए) ले उक्त आक्रमणको जिम्मा लिएको थियो ।

मृतकको सङ्ख्या फरक फरक आएको छ । सेनाले आधिकारिक बयानमा ‘२१ निर्दोष बन्धक’ विद्रोहीहरूद्वारा मारिएको र उद्धार अभियानमा चार सैनिक मारिएका बताएको थियो ।

बलुचिस्तानका एक रेलवे अधिकारीले बिहीबार बिहान २५ जनाको शव बन्धक स्थलबाट नजिकैको मच सहरमा रेलबाट लगिएको बताए ।

“मृतक १९ जना सैन्य यात्रु, एक प्रहरी र एक जना रेलवे अधिकारीका रूपमा पहिचान गरिएको छ भने चार जनाको शव अझै पहिचान हुन सकेको छैन”, नाम नछाप्ने सर्तमा ती अधिकारीले बताए । अपरेसनको निरीक्षण गर्ने एक वरिष्ठ स्थानीय सैन्य अधिकारीले विवरणको पुष्टि गरे ।

एक सैन्य अधिकारीले नाम नछाप्ने सर्तमा मृतक सैनिकको सङ्ख्या यसअघि बन्धक बनाइएका २७ जना ड्युटी बाहिर रहेकासहित २८ रहेको बताएका थिए ।

घेराबन्दीबाट भागेका यात्रुहरूले सुरक्षामा पुग्न दुर्गम पहाडहरू हुँदै घण्टौँ हिँडेपछि विद्रोहीहरूले मानिसहरूलाई गोली हानेर मारेको देखेको बताए । 

प्रधानमन्त्री मुहम्मद शहबाज सरिफले पनि बलोचिस्तान भ्रमण गर्ने अपेक्षा गरिएको उनको कार्यालयले जनाएको छ । “प्रधानमन्त्रीले अपरेसनका क्रममा सुरक्षाकर्मी र रेल यात्रुहरूको शहादतमा दुःख र शोक व्यक्त गर्नुभयो”, कार्यालयले विज्ञप्तिमा भनेको छ ।

बिएलएले रेलमा आक्रमण गर्न पहाडमा लुकेका ठाउँहरूबाट दर्जनौँ विद्रोहीहरू निस्किएपछि ट्रयाकमा भएको विस्फोटको भिडियो जारी गरेको छ ।

प्रायः सुरक्षा बल र प्रान्त बाहिरका जातीय समूहहरूलाई लक्षित गर्दै विगत केही वर्षमा पृथकतावादी समूहहरूद्वारा आक्रमणहरू बढेका छन् ।

सुरक्षा बलले गरिब बलुचिस्तानमा दशकौँदेखि विद्रोहसँग लडिरहेका छन् तर स्वतन्त्र सेन्टर फर रिसर्च एन्ड सेक्युरिटी स्टडिजका अनुसार सन् २०२३ को तुलनामा गत वर्ष प्रान्तमा हिंसामा वृद्धि भएको थियो ।

युक्रेन युद्धविराम प्रयास, व्यापार युद्धले जी-७ कूटनीतिज्ञको बैठकमा प्रभुत्व जमाउने

चार्लोभिक्स । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बिहीबार जी ७ भेलामा आफ्ना क्यानाडाली समकक्षीसँग भेट्ने तयारी गरेका छन् । यद्यपि युक्रेनमा युद्धविराम सहमत हुने प्रयासहरूले प्रभुत्व जमाउने अपेक्षा गरिएको वार्तामा अमेरिकी विलयको धम्कीको छलफललाई सीमाबाहिर राखिएको छ ।

रुबियो बुधबार सेन्ट लरेन्स नदीको किनारमा रहेको चार्लोभिक्स सहरमा विश्वका औद्योगिक लोकतन्त्रहरूको क्लबका विदेशमन्त्रीहरूसँग भेट गर्न आइपुगेका हुन् ।

यस हप्ताको शुरूमा साउदी बन्दरगाह सहर जेद्दामा किएभका प्रतिनिधिहरूसँग भेटेपछि उनले रुस–युक्रेन युद्धमा तीन वर्षको रक्तपात रोक्ने अमेरिकी नेतृत्वको प्रयासको बारेमा जानकारी दिने अपेक्षा गरिएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कोमा अमेरिकी वार्ताकारहरूले युद्धविराम सुरक्षित गर्न सक्षम हुने आशा व्यक्त गरेका छन् । अधिकारीहरूका अनुसार संयुक्त राज्य अमेरिकाले रुसलाई शत्रुतालाई बिना कुनै शर्त रोक्न सहमत होस् भन्ने चाहन्छ ।

क्रेमलिनले प्रस्तावित युद्धविरामको विवरण पर्खिरहेको बताएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आफ्नो देश सम्झौता गर्न तयार रहेको बताएका छन् भने रुसले सम्झौता गर्न अस्वीकार गरेमा अमेरिकाले ‘कडा’ प्रतिक्रिया दिने सङ्केत गरेको छ ।

बेलायतका विदेशमन्त्री डेभिड लामीले जी७ ले ‘युक्रेनलाई न्यायपूर्ण र दीर्घकालीन शान्ति सुरक्षित गर्न सक्दो सबैभन्दा बलियो स्थितिमा रहेको सुनिश्चित गर्न’ ध्यान केन्द्रित गर्नुपर्ने बताए ।

क्यानाडाकी विदेशमन्त्री मेलानी जोलीले रुबियोसँगको आफ्नो वार्ता ‘युक्रेन र टेबलमा रहेको युद्धविराममा’ केन्द्रित हुने अपेक्षा गरेको बताए ।